समाचार हटाउन दिएको आदेश पुनर्विचार गर्न महासंघको आग्रह


काठमाडौं । नेपाल पत्रकार महासंघले काठमाडौँ जिल्ला अदालतले नेपालखबर डटकम र बिजमाण्डु डटकम अनलाइनमा प्रकाशित समाचार हटाउन दिएको आदेश पुनर्विचार गर्न आग्रह गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी समाचार हटाउन भन्दै अदालतले दिएको अन्तरिम आदेशको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
न्यायाधीश पीताम्बर शर्माको इजलासले मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै समाचार तुरुन्त हटाउन आदेश दिएको थियो ।
‘महासंघ उक्त आदेशप्रति पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै अन्यथा त्यसविरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने प्रष्ट पार्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
समाचारका विषयमा चित्त नबुझे पीडितले उजुरी दिने ठाउँ प्रेस काउन्सिलको क्षेत्राधिकार भएको पनि महासंघले अदालतलाई सम्झाएको छ।