नेपाल र भारतका विदेश सचिवस्तरीय द्विपक्षीय बैठक सम्पन्न
काठमाडौँ। नेपाल र भारतका विदेश सचिवस्तरीय द्विपक्षीय बैठक आपसी हितका विविध विषयमा छलफल गर्दै सम्पन्न भएको छ ।परराष्ट्रसचिव अमृतबहादुर राई र भारतका विदेश सचिव विक्रम मिश्रीबीच प्रतिनिधिमण्डलस्तरीय बैठक आज यहाँ भएको हो । बैठकमा नेपाल र भारतबीचको घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ र फलदायी बनाउने विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
बैठकमा आगामी उच्चस्तरीय भ्रमणको तयारी, हवाई, रेल, सडक तथा पुललगायतका पूर्वाधारमार्फत सम्पर्क सञ्जाल विस्तार र सुदृढीकरण तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा सहजीकरणका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राससलाई जानकारी दिनुभयो ।
यसैगरी बैठकमा विकास सहकार्यलाई थप प्रभावकारिता बनाउने, ऊर्जा क्षेत्रमा विद्यमान सहकार्यलाई थप विस्तार र सुदृढीकरण र दुई देशका जनताबीचको सम्बन्ध र आपसी सम्पर्कलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको उहाँले बताउनुभयो । यसबाहेक बैठकमा नेपाल–भारत सम्बन्धका समग्र आयामहरूमा समेत छलफल भएको थियो ।
परराष्ट्रसचिव राईको मैत्रीपूर्ण निमन्त्रणामा विदेश सचिव मिश्री नेपालको औपचारिक दुई दिने भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो ।
भ्रमणका क्रममा विदेश सचिव मिश्रीले आजै अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र पूर्वाधार मन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको थियो ।
विदेश सचिव मिश्रीले भोलि बिहान प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेट गर्नुहुने बताइएको छ । विदेश सचिव मिश्री नेपाल भ्रमण सम्पन्न गरी भोलि नै दिन नयाँदिल्ली फिर्ता हुने कार्यक्रम रहेको छ ।
