`

सरकारले संसदको पहिलो बैठकमै अध्यादेश पेस गर्ने

काठमाडौं । सरकारले ल्याएका अध्यादेश संसद अधिवेशन सुरु भएको पहिलो दिन नै संसदमा पेस गरिने भएको छ ।

सोमबार बसेको सभामुख र पाँच दलका प्रमुख सचेतकको छलफलमा अध्यादेशहरू माघ १८ मा पेस गरेर २२ माघमा संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको एमालेका मुख्य सचेतक महेश बर्ताैलाले जानकारी दिएका छन् ।

यस्तै, मंगलबार बिहान ११ बजे कार्यव्यवस्था बस्ने तय भएको छ । त्यस्तै संसद सचिवालयले हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार पारेको छ ।

माघ २३ र २४ गते सदन बस्ने तय भएको छ । यसैगरी, माघ २५, २६ र २७ गते समितिको बैठक राखिने छ । माघ २८, २९ र ३० गते पनि सदन बस्ने तय भएको छ ।

 प्रचण्डद्वारा तेह्रथुमको चोत्लुङ पार्क अवलोकन

तेह्रथुम । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गरेका छन् । 


रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले आज अवलोकन गरेका हुन् । पार्कको अवलोकनपछि उनले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गरे ।


लालीगुराँस नगरपालिकाको पहलमा निर्माण सुरू गरिएको पार्कमा युमा सङ्ग्रहालय पनि रहेको छ । पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको  लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबुहाङले बताए ।


प्रचण्ड जिल्लास्तरीय राजनीतिक प्रशिक्षणको सिलसिलामा तेह्रथुम आउनुभएको प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का नेता दुर्गाप्रसाद चापागाईंले जानकारी दिए । 


त्यसक्रममा प्रचण्डले लसुनेमा रहेको सहिद धनरुपा कार्कीको घरमा सहिद परिवारसित भेटघाट गरेका छन्। उनले बिहानको खाना पनि सहिद परिवारसँगै खाएका छन्। 

नुन र मुटु रोगको सम्बन्ध

-डा. राजेन्द्र कोजु

 नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो । हामीले बिहानको नास्तादेखि खाना, दिउँसोको खाजा र साँझको खानामा नुनको प्रयोग गरेकै हुन्छौँ । अझ भनौँ नुन हाम्रो जिब्रोको स्वाद हो, जसको अभावमा हामीले खाने भोजन स्वादिष्ट हुँदैन । नुनको अभावमा शरीरमा आलस्यता आउने मात्र होइन, स्वास्थ्यमा अनेक समस्या हुने गर्दछ । 


नुन हाम्रो संस्कृतिसँग पनि जोडिएको छ । जुठो बार्दा नुन नखाने, कतिपय पूजाआजामा अनिवार्य प्रयोग गरिन्छ । यसरी हाम्रो शरीरका लागि अपरिहार्य नुन किन फेरि हानिकारक छ त भन्ने प्रश्न पनि उठ्ने गर्दछ । ठिक्क हुँदा ठीक, बेसी हुँदा हानिकारक हुने भएकाले नुनको प्रयोगमा ध्यान दिनुपर्छ । दैनिक कति नुन हाम्रो शरीरका लागि आवश्यक हो त भन्ने कुरा व्यक्तिको जीवनशैली, ठाउँ र स्वास्थ्य अवस्थाले पनि केही फरक पार्न सक्छ । सामान्यतः दैनिक दुईदेखि तीन ग्रामसम्म नुन (सोडियम) सेवन गर्नु उपयुक्त हुन्छ । बढीमा पाँच ग्राममा सीमित रहनेगरी खान सकिने भन्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि भनेको छ ।  

मुटुसँगको सम्बन्ध

नेपालमा नुन सेवन र मुटु रोगको सम्बन्ध गम्भीर चिन्ताको विषय बनेको छ । आयोडिनयुक्त नुनले थाइराइड जस्ता रोग नियन्त्रण गर्न सहयोग पु¥याए पनि यसको अत्यधिक सेवनले मुटु रोगलाई निम्त्याउन सक्छ । यहाँका मानिसको जीवनशैली, खानपान र स्वास्थ्य शिक्षाको अभावका कारण नुनको अत्यधिक सेवन र यसको कारणले हुने मुटु रोगका समस्या बढ्दो क्रममा छन् । हाम्रो स्वास्थ्यका लागि दुईदेखि तीन ग्राम उपयुक्त हुन्छ तर अधिकांश नेपालीले दैनिक पाँच ग्रामभन्दा धेरै नुन सेवन गर्ने गर्छन् । विशेषगरी अचार, तिख्खर खानेकुरा, तथा प्रशोधित खानेकुराहरू जस्तै, लेज, कुरकुरे, चाउचाउ आदिमा उच्च मात्रामा नुन हुन्छ । ग्रामीण क्षेत्रमा प्राकृतिक खानाको प्रयोग भए पनि, सहरी क्षेत्रमा प्रशोधित खाना र फास्ट फुडको लोकप्रियताले नुन सेवनको दर उच्च देखिएको छ ।


नुन र मुटुरोग बीचको सम्बन्ध धेरै अध्ययनहरूद्वारा पुष्टि भएको छ । नुनमा सोडियमको मात्रा धेरै हुन्छ । अत्यधिक सोडियमले शरीरमा पानी थुप्रिने (पानी धारण गर्ने) समस्या उत्पन्न गराउँछ, जसले गर्दा रक्तचाप बढ्छ । रक्तचापले मुटु र रक्तनलीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ । उच्च रक्तचाप (हाइपरटेन्सन) मुटु रोगको प्रमुख जोखिम कारक हो । नेपालमा हृदय रोग मृत्युको प्रमुख कारणमध्ये एक हो । उच्च रक्तचाप र यसका कारण मुटु रोग हुने समस्या नेपालमा तीव्र रूपमा बढ्दै छ । डब्लुएचओका अनुसार, नेपालमा लगभग ३० प्रतिशत वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छ ।


लामो समयसम्म उच्च रक्तचाप रहिरहेमा मुटुको मांसपेशीमा अनावश्यक दबाब पर्छ । यसले मुटुको असमान्य कार्यक्षमता, हृदयाघात र स्ट्रोकजस्ता समस्या निम्त्याउन सक्छ । नुनको अत्यधिक सेवनले धमनीहरूलाई सख्त (अथेरोस्क्लेरोसिस) बनाउँछ । यो प्रक्रियाले रक्तप्रवाहलाई अवरुद्ध गर्नसक्छ, जसले मुटुमा अक्सिजनको अभाव गराउँछ । धेरै नुन सेवन गर्ने व्यक्तिहरूमा पानी र सोडियमको सन्तुलन बिग्रन सक्छ । यसले मुटुको काम गर्न कठिन बनाउँछ, जसले मुटुको विफलताको सम्भावना बढाउँछ । नेपालमा स्वास्थ्य मन्त्रालयः उच्च रक्तचाप र मुटु रोग नियन्त्रणका लागि केही कार्यक्रम र जनचेतनामूलक गतिविधि गर्दै आएको छ । नुनको उपभोग कम गर्ने रणनीति बनाउन डब्लुएचओले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ ।

अन्य देशमा नुनको प्रयोग

सामान्यतः अधिकांश देशहरूमा औसत नुन सेवन डब्लुएचओको सिफारिस (पाँच ग्राम प्रतिदिन) भन्दा धेरै उच्च छ । विकसित देशहरूले यसबारे धेरै सुधार गरेका छन्, तर विकासशील देशहरूमा अझै जनचेतना र नीतिगत हस्तक्षेप आवश्यक छ । ती देशहरूमा नुनको प्रयोग जनसङ्ख्या, संस्कृति, खानपान र जीवनशैलीका आधारमा फरक छ । विकसित देशहरूमा नुन सेवनमा कमी ल्याउने प्रयास भइरहेको छभने धेरै विकासशील देशहरूमा अझै अत्यधिक नुन सेवन चुनौतीपूर्ण रहेको छ । 


विश्वका विकसित देशहरूमा नुनको प्रयोग कम गर्न राज्यस्तरबाटै पहलहरु भएको पाइन्छ । अमेरिकी सरकारले नुनको प्रयोग कम गर्न जनचेतना अभियान र खाद्य उद्योगमा नयाँ मापदण्ड लागू गरिरहेको छ । ल्याटिन अमेरिका मुलुकहरु ब्र्राजिल, मेक्सिको, अर्जेन्टिनाजस्ता देशहरूमा औसत नुन सेवन उच्च (८–११ ग्राम प्रतिदिन) छ । बेलायत, फिनल्यान्ड, डेनमार्कलगायत युरोपेली देशहरूमा नुन सेवन कम गर्न ठूला अभियान सञ्चालन गरिएको छ । बेलायतमा नुन सेवन कम गर्न पब्लिक हेल्थ इङ्ल्यान्डले फुड म्यान्युफ्याक्चरर्सलाई प्रशोधित खानामा नुन घटाउन निर्देशन दिएको छ । फिनल्यान्डः फिनल्यान्डले १९७० को दशकदेखि ‘लो–सोडियम खाना’ को प्रवद्र्धन गरेर नुन सेवनलाई ३० प्रतिशतले कम गरेको छ । सरकारले जनचेतना र ‘लो–सोडियम सोया सस’ को प्रवद्र्धन गरेर सुधार गर्ने प्रयास गरेको छ । 


छिमेकी मुलुक चीनमा औसत नुन सेवन १०–१२ ग्राम प्रतिदिन रहेकाले त्यसलाई घटाउन सरकारले जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । भारतीयहरूको औसत दैनिक नुन सेवन ८–१० ग्राम गरिरहेका छन् । सरकारको ध्यान आयोडिनयुक्त नुन प्रवद्र्धनमा केन्द्रित रहेकाले, नुन कम गर्ने पहल भएको देखिँदैन । स्वास्थ्य शिक्षाको कमीले गर्दा अधिकांश अफ्रिकी देशहरूमा नुन सेवनको स्तर उच्च छ । भूटान, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्काका ग्रामीण र सहरी क्षेत्रमा नुनको अत्यधिक प्रयोग देखिन्छ ।

कसरी स्वस्थ्य हुने त ?

नुन र मुटु रोगबीचको सम्बन्धबारे जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ । प्रशोधित खाना, जस्तैः चिप्स, तयारी खाना (जङ्क फुड), डिब्बामा बन्द गरिएका खाना आदिमा सोडियम धेरै हुनेहुँदा यस्ता खानेकुराहरुबाट टाढै बस्नु उपयुक्त हुन्छ । नियमित व्यायाम, सन्तुलित आहार र तनाव व्यवस्थापनले मुटु रोगको जोखिम कम गर्न मद्दत गर्छ । यदि तपाईंमा मुटु रोग वा उच्च रक्तचापको इतिहास छभने चिकित्सकसँग परामर्श गरेर नुन सेवनको उचित सीमा निर्धारण गर्नु अत्यन्त महत्वपूर्ण छ ।


घरमा खाना पकाउँदा नुनको मात्रा नियन्त्रण गर्नु र बाहिरका प्रशोधित खानेकुरा कम गर्नुपर्छ । यसका लागि धेरै किसिमका तरकारीको सट्टा एक वा दुई किसिमका तरकारी वा दालको प्रयोग गर्ने, सागपातहरुमा नुनको प्रयोग नगर्ने, एउटा तरकारीमा नुन राखेमा अर्कोमा नराख्नेजस्ता तरिका पनि अपनाउन सकिन्छ ।


नियमित रूपमा रक्तचाप जाँच गर्न र मुटु रोगको प्रारम्भिक उपचार सुनिश्चित गर्ने गरिएमा मुटुजन्य स्वास्थ्य समस्या आउन पाउँदैन । स्थानीय, ताजा र सन्तुलित खाना खाने बानी बसाल्नु, व्यायाम गर्नु र धुम्रपान तथा मद्यपान त्याग्नु जरुरी छ । 


निष्कर्ष
नुन र मुटु रोगको समस्या समाधानका लागि व्यक्तिगत, सामाजिक, र सरकारी तहमा सुधारात्मक कदम उठाउन आवश्यक छ । अन्य देशहरुमा जस्तै नेपालमा पनि नुनको मात्रा घटाउन खाद्य उद्योगलाई मापदण्डअनुसार उत्पादन गर्न निर्देशन दिनुपर्ने देखिन्छ । कम नुन खाएर, स्वस्थ जीवनशैली अपनाएर र जनचेतना अभिवृद्धि गरेर यस समस्या नियन्त्रण गर्न सकिन्छ । बालबालिकाहरुलाई घरमा  नुनको अधिक सेवनको बेफाइदाबारे जानकारी दिने र विद्यालयमा पनि तयारी खानालाई निषेध गर्ने तथा पाठ्यक्रमहरुमा यसबारेमा वियषयवस्तुहरु समावेश गर्न आवश्यक छ ।


(‘मुटुको कथा’ पुस्तकका लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ डा कोजुसँग गरिएको कुराकानीमा आधारित) 

सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि रोकियो बसाइँसराइ

म्याग्दी । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तला खेतीमा रमाइरहेका छन् । उनी यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउँछन् ।

१२ वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोपेका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन् । यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताए ।

‘पहिले घरपरिवारको आर्थिक स्रोतकै लागि ११ वर्ष कतार र तीन वर्ष दुबईमा काम गरेँ, तर अहिले सुन्तलाले उत्पादन दिन थालेपछि विदेश जान छोडेको हुँ, अहिले आफ्नै सुन्तलाबारीमा पसिना बगाउँदा आनन्द लाग्छ,’ मगरले भने ।

केही वर्ष अघिसम्म दोसल्लेका अधिकांश परिवारका लागि रोजगारीका लागि विदेश जानु बाध्यता थियो । तर अहिले गाउँ कृषिबाट आत्मनिर्भर बनेको छ । गाउँका अधिकांश परिवारले व्यावसायिक रूपमा सुन्तला खेती गरिरहेका छन् । कूल ४२ घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा यसवर्ष सुन्तलाबाट एक करोड ६० लाख रुपैयाँ बढी भित्रिएको छ ।

पोखरा र काठमाडौंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले अघिल्लो वर्ष गाउँबाट ८० लाख रुपैयाँको सुन्तला बिक्री भएकोमा यसवर्ष दोब्बरले आम्दानी बढेको जानकारी दिए ।

‘पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्नसमेत कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तला खेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ, कृषिबाटै गाउँलेको जीवनस्तर बदलिएको छ,’ पाइजाले भने ।

उनका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् । परम्परागत रूपमा धान, मकै, कोदो, भटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ । नयाँ बोटलेसमेत फल दिन सुरू गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक तीन करोड बढी रकम भित्रने स्थानीयवासीको अनुमान छ ।

दोसल्लेका सबै घरमा सुन्तला खेती गरिएको छ । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँसराइ गरेकालेसमेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । विभिन्न पेसा, व्यवसायमा लागेकासमेत अहिले दोसल्लेमा सुन्तला खेतीमा लामबद्ध भएका छन् । बेनीमा व्यवसाय गर्दै आभएका विकास श्रेष्ठलेसमेत दोसल्लेमा व्यावसायिक सुन्तला खेती गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरलेसमेत सुन्तला खेतीलाई विस्तार गरेकी छन् ।

खेतीयोग्य जमिन सबैमा सुन्तला रोप्ने अभियान चलेको दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहले जनाएको छ । दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तला खेती हुँदै आएको छ । सुन्तलाबाट राम्रो नगद आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तला खेती विस्तारमा जुटेको स्थानीय मायादेवी गर्बुजाले जानकारी दिइन् ।

‘अन्नबालीबाट गाउँमा नगद आम्दानी भएको थिएन, घरखर्च चलाउन मुस्किल थियो, सुन्तला खेतीले गाउँको मुहारै फेरिएको छ, सबै किसानको आर्थिक अवस्थामा सुधार भएको छ, घरघरमै रोजगारी सिर्जना भएको छ,’ गर्बुजाले भनिन् ।

सुन्तला गाउँको रूपमा विकास भएको दोसल्लेका स्थानीय कामको खोजीमा भौतारिनुपर्ने बाध्यता हटेको छ । बिहानदेखि बेलुकासम्म आफ्नै खेतबारीका सुन्तला बगैँचाको स्याहार गर्ने र आफ्नै घरपरिवारसँग गाउँमै बसेर सुन्तला फलाएर आयआर्जन हुन थालेपछि दोसल्लेबासीको मुहारमा खुसी र जीवनमा सन्तुष्टि छाएको छ । गाउँमा सुन्तला खेतीसँगै आलुलगायतका तरकारीखेती, बाख्रापालन, कुखुरापालन लगायतको व्यावसायिकताले यो गाउँ आत्मनिर्भर र समृद्ध बन्ने बाटोमा छ ।

सुन्तला खेती विस्तार, रोगकीराको उपचार, औजार उपकरण खरिद र सिँचाइ विस्तारमा बाली संरक्षण विभाग पोखरा, कृषि ज्ञान केन्द्र, सुन्तला जोन र अन्नपूर्ण गाउँपालिकाबाट भएको सहयोगले सुन्तलाको व्यावसायिकखेतीमा हौसला थपेको समूहका अध्यक्ष पाइजाले जानकारी दिए । जिल्लामा यसवर्ष ३३ करोड ४६ लाख रुपैयाँको सुन्तला बिक्री भइसकेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए ।

म्याग्दीमा आठ सय २० हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएकोमा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । किसानको बगैँचाबाटै प्रतिकिलो ६० देखि एक सय २० रुपैयाँसम्मको मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन् ।

काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१५ घर भई काठमाडौंको टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान अघि बढाएको छ।

ट्रम्पको धम्कीपछि निर्वासित नागरिकलाई स्वीकार गर्न कोलम्बिया सहमत 

वासिङटन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामूहिक निर्वासन योजनाको अवज्ञालाई सजाय दिन पीडादायी शुल्क लगाउने धम्की दिएको केही घन्टापछि कोलम्बिया अमेरिकी सैन्य विमानमा पठाइएको निर्वासित नागरिकहरूलाई स्वीकार गर्न सहमत भएको छ ।

कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेत्रोले यसअघि नागरिक विमान जस्ता ‘सम्मानजनक’ माध्यमबाट मात्र नागरिकहरूलाई फिर्ता लिने बताएका थिए र निर्वासित कोलम्बियालीहरू बोकेका दुई अमेरिकी सैन्य विमानहरूलाई फिर्ता पठाएका थिए ।

कार्यालयमा फर्केको एक हप्ता नबित्दै ट्रम्पले रिसाउँदै ल्याटिन अमेरिकाको चौथो ठूलो अर्थतन्त्र कोलम्बियाविरुद्ध २५ प्रतिशतको प्रतिबन्ध लगाउने र छिट्टै ५० प्रतिशतसम्म बढाउने धम्की दिएका थिए ।

पेत्रोले सुरुमा प्रतिकार गर्न खोजे र अमेरिकी उत्पादनहरूमा आफ्नै भन्सार महसुल लगाउने प्रयास गर्नुभयो तर अस्थिर आइतबारको अन्त्यसम्म उनी पछि हटे ।

कोलम्बियाका विदेशमन्त्री लुइस गिल्बर्टो मुरिलोले मध्यरातको पत्रकार सम्मेलनमा आफ्नो देशले ‘गतिरोध पार गरेको’ र फर्केका नागरिकहरूलाई स्वीकार गर्ने बताए । 

“कोलम्बिया संयुक्त राज्य अमेरिकाबाट फिर्ता गरिएका सबै गैरकानूनी कोलम्बियाली नागरिकहरूलाई अमेरिकी सैन्य विमानसहित कुनै सीमा वा ढिलाई बिना असीमित स्वीकृति दिन सहमत भएको छ”, ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, “आजको घटनाले अमेरिकालाई फेरि सम्मान गरिएको छ भन्ने विश्वलाई स्पष्ट पार्छ, राष्ट्रपति ट्रम्पले हाम्रो राष्ट्रको सार्वभौमिकताको दृढतापूर्वक रक्षा गर्न जारी राख्नुहुनेछ र उहाँले विश्वका सबै राष्ट्रले संयुक्त राज्य अमेरिकामा गैरकानूनी रूपमा रहेका आफ्ना नागरिकहरूको निर्वासनमा पूर्ण सहयोग गर्ने अपेक्षा गर्नुहुन्छ ।”

ट्रम्पले आफूले करको कार्यान्वयन स्थगित गर्ने बताए ।

संयुक्त राज्य अमेरिकासँग मुक्त व्यापार सम्झौता गरेको र ऐतिहासिक रूपमा ल्याटिन अमेरिकामा वासिङ्टनको सबैभन्दा नजिकको सहयोगी रहँदै आएको कोलम्बियामाथि ट्रम्पले कति छिटो भन्सार महसुल लगाउन सक्छन् भन्ने पहिले नै अस्पष्ट थियो । 

विदेशमन्त्री मार्को रुबियोले बोगोटामा रहेको अमेरिकी दूतावासमा भिसा जारी गर्न स्थगित गर्नुभयो र कोलम्बियाली सरकारी अधिकारीहरू र उनीहरूका नजिकका परिवारका सदस्यहरूको भिसा रद्द गरिने बताए । विदेशमन्त्री रुबियोकी पत्नी कोलम्बियाली–अमेरिकी हुन् ।

ह्वाइट हाउसले भिसा सम्बन्धी उपायहरू निर्वासितहरूको पहिलो विमान फर्कुन्जेलसम्म जारी रहने बताएको छ । ट्रम्पले अमेरिकी विमानस्थलहरूमा कोलम्बियालीहरूलाई थप छानबिन गर्ने वाचासमेत गरेका छन् । 

अछाममा दुई किशोरी मृत्यु प्रकरणमा अनुसन्धानका लागि दुईजना पक्राउ

अछाम । अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि दुई जना पक्राउ परेका छन् ।

शनिबार साँझ ढकारी गाउँपालिका–८ का १५ वर्षीया सरस्वती खड्का र उनकी भदै १४ वर्षीया इश्वरी खड्का ढकारी गाउँपालिकाकै–१ स्थित छिन्ने ओडारको जंगलमा मृत फेला परेका थिए । घटनाको अनुसन्धानका लागि शंकास्पद दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका दुई जनाको नाम भने सार्वजनिक गरेको छैन । प्रहरीकाअनुसार शुक्रबार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू सोही दिनदेखि बेपत्ता भएका थिए।

प्रहरीलाई भने दोस्रो दिन अर्थात् शनिबार साँझ इश्वरीको शव फेला परेपछि खबर गरिएको थियो । ईश्वरीको शव नजिकै सरस्वती पनि मृत फेला परेकी थिइन् । कर्णाली प्रदेश प्रहरी कार्यालय कोहलपुरको केनाइन शाखाबाट ल्याइएको तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको थियो ।

तोलामा तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेको हो ।

आज सुन तोलाको १ लाख ६० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य तोलामा २ सय रूपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५ रूपैयाँले घटेर १ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

दुई दशकदेखि स्थानीयको कब्जामा सरकारी कृषि फार्मको ११ बिघा बढी जग्गा

झापा ।  झापाको शिवसताक्षी–७ स्थित कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र मातहतको फार्मले अतिक्रमण हटाउन बर्सेनि विभिन्न सरोकारवाला निकाय गुहार्दै आएको छ ।

फार्मका कार्यालय प्रमुख एवं वरिष्ठ बाली विकास अधिकृत विनोदकुमार मण्डलका अनुसार सङ्घीय सरकार मातहत रहेर खाद्यान्न, दलहन तथा तेलहन बालीको स्रोत बीउ उत्पादन गर्दै आएको फार्मको ५२ हेक्टर (८४ बिघा) जग्गा रहेको विसं २०५४ मा प्रकाशित राजपत्रमा उल्लेख छ ।

‘राजपत्रमा ५२ हेक्टर जग्गा भएको स्पष्ट उल्लेख छ,’ उनले भने, ‘तर अहिले ३४ हेक्टर क्षेत्रफलभन्दा बढी फार्मले भोगचलन गर्न पाइरहेको छैन । बाँकी रहेको अधिकांश जग्गा अतिक्रमणमा परेको छ ।’ स्थानीय सधियार र सुकुम्बासी गरी ७० परिवारले जग्गा अतिक्रमण गरेको फार्मले जिल्ला प्रशासन कार्यालय झापालाई हरेक वर्ष पठाउने गरेको जग्गाको विवरणमा उल्लेख छ । जग्गा अतिक्रमणमा संलग्न ८० प्रतिशत परिवार सुकुम्बासी नरहेको फार्मले दाबी गरेको छ ।

फार्मको पूर्वोत्तर क्षेत्रमा चन्द्रडाँगी बजार रहेको छ । बजारका १८ परिवारले सीमा अतिक्रमण गरी फार्मको १० कठ्ठा जग्गा हडपेका छन् । दक्षिण र उत्तरतर्फ अतिक्रमण गरेर बस्ती नै बसाइएको छ । अतिक्रमित जग्गामा पक्की र काठका घर बनाइएका छन् ।

फार्मको दक्षिणतर्फ सतासी खोलाको पुल छेउको दुई बिघा जग्गामा नौ परिवार, उत्तर पश्चिमतर्फको खोलापारि ‘ओ’ ब्लकको छ बिघामा छ परिवार, उत्तरतर्फको सुकुम्बासी बस्तीको तीन बिघामा ३७ परिवार र पूर्वतर्फको चन्द्रडाँगी बजार छेउको १० कट्ठा जग्गामा १८ परिवारले अतिक्रमण गरेको फार्मको अभिलेखमा पाइएको छ ।

फार्मको ३४ हेक्टर जग्गाको मात्र धनीपुर्जा भेटिएको उनले बताए । अरू जग्गाको स्वामित्वसम्बन्धी कागजी प्रमाणहरू सशस्त्र द्वन्द्वकालमा माओवादीको बम विष्फोटमा नष्ट भएको उनले जानकारी दिए । बाँकी जग्गाको प्रमाण मालपोत र नापीमार्फत खोजी भइरहेको उनले बताए ।

विसं २०३२ सालमा कनकाई सिँचाइआयोजनाको फिल्ड कार्यालय, कर्मचारी आवास र फार्म प्रयोजनका लागि सरकारले ८४ बिघा जग्गा स्थानीय किसानबाट प्राप्ति गरेको थियो । सिँचाइ मन्त्रालयअन्तर्गत रहेको उक्त जग्गामा स्थापित फार्मको सञ्चालनका लागि विसं २०५० मा चन्द्रडाँगी बीउबिजन तथा दुग्ध विकास समिति गठन गरिएको थियो ।

सरकारले विसं २०७५ भदौ ३१ गते समिति विघटन गरी फार्मलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहत ल्याउने निर्णय गर्यो । त्यसपछि फार्मको नाम कृषि विकास फार्म भएको हो । ‘विभिन्न समयमा कनकाई नदीमा आएको बाढीका कारण विस्थापित भएका परिवारलाई फार्मको जग्गा र भौतिक संरचनामा अस्थायी आश्रय दिइने गरेको रहेछ,’ फार्मका प्रमुख मण्डलले अतिक्रमणको कारण खुलाउँदै भने, ‘उनीहरू फार्मको जग्गामै बस्न थाले । हट्न मानेनन् ।’

थप ६ बन्धक हमासको कब्जाबाट मुक्त हुने

बीबीसी । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमासले यो साता थप ६ जना इजरायली बन्धक मुक्त गर्ने तथा इजरायलले गाजावासीलाई सोमबारदेखि आफ्नो घर रहेको उत्तरी क्षेत्रमा फर्कन दिने बताएका छन् ।

मुक्त हुने भनिएका बन्धकहरूमा इजरायल र हमासबीच विवादको केन्द्रमा रहेकी इजरायली नागरिक अर्बेल यहुद पनि छिन् । उनको विषयलाई लिएर दुई पक्षबीच मतभिन्नता देखिएपछि इजरायलले गाजावासीलाई उत्तरतर्फ जानबाट रोकिरहेको छ ।

हमासले शनिबार चार इजरायली सैनिकलाई मुक्त गरेको थियो तर उसले यहुदलाई मुक्त गरेको थिएन । इजरायलले हमासमाथि युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको छ । उक्त सम्झौताअन्तर्गत प्यालेस्टिनी बन्दीलाई रिहा गरेको बदलामा इजरायली नागरिकलाई पहिले मुक्त गर्नुपर्ने थियो ।

युद्धविराम सम्झौता लागु भएपछि हमासको कब्जाबाट सात जना इजरायली बन्धक र इजरायली जेलबाट २०० जनाभन्दा बढी प्यालेस्टिनी बन्दीहरू मुक्त भएका छन् ।

उत्तरी गाजामा पुग्ने प्रयास गरिरहेका हजारौँ विस्थापित प्यालेस्टिनीहरूलाई दुई दिनदेखि हिँडिरहेको बाटोमा सैन्य अवरोध गरिएपछि उनीहरू अगाडि बढ्न पाइरहेका छैनन् ।

युद्धविराम र बन्धक तथा बन्दीहरूलाई छाड्ने सम्झौता यही जनवरी १९ मा लागु भएको थियो । त्यसयता दुवै तर्फबाट दुई पटक बन्धक तथा बन्दीहरू मुक्त गरेर आदानप्रदान गर्ने कार्य भएका छन्।

सुगम क्षेत्र छाडेर चिकित्सा शिक्षा पढ्न जुम्ला रोज्दै विद्यार्थी

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी यहाँ आइपुगेका छन् ।

चिकित्सा शिक्षा विषयअन्तर्गत एमबिबीएस, बिएनएस, विपिएच, बि–फार्म, बीएसी नर्सिङलगायतका विषय अध्ययन गर्न विभिन्न जिल्लाबाट एक सय चार विद्यार्थी यहाँ आएका हुन् ।

कुनै समयमा डाक्टरको अभावमा उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्यरहेको कर्णाली अहिले विशेषज्ञ डाक्टर उत्पादनको थलो बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नो अब्बल क्षमता स्थापित गरेको छ । सुगम क्षेत्र छाडेर चिकित्सा विषय अध्ययन गर्न प्रतिष्ठानमा आउनेको सङ्ख्या बढेको जनाइएको छ ।

विपिएचमा नयाँ भर्ना भएका जुम्ला कनकासुन्दरी गाउँपालिका–५ का सुरज उपाध्यायले कुनै समय कुम्लोकुटिरो बोकेर काठमाडौँ पढ्नु जानुपर्ने अवस्था अन्त्य भएर र अहिले काठमाडौँबाट भारी बोकी जुम्ला आउनुपर्ने अवस्था बनेको बताए ।

एमबिबीएस पढ्न गर्न प्रतिष्ठानमा आएकी काठमाडौँका प्रतीक्षा ज्ञवालीले प्रतिष्ठानको पठनपाठन, व्यवस्थापनलगायतका सबै पक्ष अब्बल लागेर अध्ययनका लागि जुम्ला रोजेको जानकारी दिइन् ।

प्रतिष्ठानमा विभिन्न सङ्कायतर्फ विद्यार्थी भर्ना भइसकेका छन् । जसमा एमबिबीएसतर्फ–४३ जना, बिपिएचमा–१५, बी फारतर्फ–१४ जना, बीएचसी नर्सिङ–१७ , बीएनएसतर्फ–१५ गरी कूल एक सय चार विद्यार्थी देशका विभिन्न जिल्लाबाट जुम्ला पुगेको स्कुल अफ पब्लिक हेल्थ बिपीएच चौथो वर्षका संयोजक उपप्राध्यापक ओमप्रकाश काफ्लेले बताए ।

लिङ्देन किन भए सडक आन्दोलन गर्न बाध्य ?

काठमाडौं । बहुमत सदस्यहरुले महामन्त्री धवलशम्शेर राणाको राजनीतिक कार्यपत्रको समर्थन गरेपछि राप्रपाका राजेन्द्र लिङ्देन सडक आन्दोलन गर्न बाध्य भएका छन् ।

काठमाडौंमा तीन दिन चलेको केन्द्रीय कार्य समितिको वैठकको दौरान महामन्त्री राणाले अबको बाटो सडक संघर्ष भन्ने लाइन प्रस्तुत गरेका थिए । राजसंस्था, हिन्दू अधिराज्य पुनःस्थापना गर्न समान विचारधारा भएका दल, समूह, व्यक्ति, संस्था तथा अभियानसँग सहकार्य एकता गर्ने राजनीतिक कार्यदिशा प्रस्तुत गरेका थिए।

वैठकमा धारणा राख्ने ८५ प्रतिशत केन्द्रीय सदस्यले आन्दोलन र सहकार्य एकताको समर्थन गरे । अध्यक्ष लिङ्देनलाई उनको आन्दोलन प्रतिको निष्ठा बारे प्रश्न समेत राखे ।

राप्रपाको केन्द्रीय समितिको वैठकले चैतमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने । चैतपूर्व आन्दोनको माहोल सिर्जना प्रदेश र जिल्ला तहमा विभिन्न कार्यक्रम, र्याली गर्ने निर्णय गरेको छ ।

’अध्यक्षज्यू, कार्यकर्ताबीच तपाईँ आन्दोलन चाहन हुन्न भन्ने बुझाइ छ, के त्यो सत्य हो ? के तपाईँ आन्दोलन चाहनु हुन्न ? राप्रपाले लक्ष्य प्राप्त गर्न आन्दोलन नगरे के गर्ने ?’ केन्द्रीय सदस्य भरत पाठकले लिङ्देनलाई सोधे ।

सहायक महामन्त्री प्रेम बलायरले महाधिवेशनको म्यान्डेट बमोजिम राप्रपा आन्दोलनमा जानुको विकल्प नभएको बताए । विधानको पूर्ण पालना हुनुपर्ने उनले बताए ।

सहायक महामन्त्री प्रवीण थोकरले परम्पराको नाममा पुरानो विधान नभई सामूहिक नेतृत्व र सहकार्यको मान्यता बोकेको वर्तमान विधान पालना गर्न अध्यक्षलाई सुझाए । विधानतः विभागहरु गठन गर्ने अधिकार केन्द्रीय समितिमा निहित छ, परम्पराको नाममा अध्यक्षले एकल निर्णय गर्न नमिल्ने बताए ।

केन्द्रीय सदस्य जनकराज पाठकले आमाको दुध खाने बहादुरले पार्टी फुटाएर जाओस् भन्ने अध्यक्षको धारणा भएको बताए । ’हामी सब आमाको दुध खान्छौं तर पार्टी कदापि फुटाउँदैनौं । पार्टीमा ल्याक्टोजिन खानेले मात्र बस्न पाउने हो अध्यक्षज्यू ?’ पाठकले भने ।

अमेरिकी नागरिकलाई तपाईँले कार्यसम्पादन सदस्य मनोनीत गर्नु भएको भन्ने समाचार आएको छ, त्यसो गर्न मिल्छ ? भनेर पाठकले अध्यक्षलाई सोधे ।

केन्द्रीय सदस्य धनसुर शाहीले आमाको दुध नखाने कोही हुनुहुन्छ ? हात उठाउनुहोस् भन्दा वैठकमा कसैले हात उठाएनन् । ’देख्नुभयो अध्यक्षज्यू, आमाको दुध नखाने हामी कोही छैनौं तर कोही पनि पार्टी फुटाउँदैनौ, यही पार्टीमा बस्छौं ।’

प्रचण्ड दुईदिन प्रधानमन्त्री ओलीको जन्मथलो आठराईमा बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेह्रथुम भ्रमणमा निस्किएका छन् । प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । प्रचण्डसँगै पार्टी उपमहासचिव वर्षमान पुन पनि तेह्रथुम प्रस्थान गरेका छन् ।

प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्ने र एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन् । प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन् । उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् । मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा पूर्वाधार निर्माण हुँदै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको एक करोड, नेपाल पर्यटन बोर्डको २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाँच लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्राहलय निर्माण थालिएको हो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आधार शिविर र पञ्चकुण्ड ताल क्षेत्रमा अस्थायी संरचना निर्माण गर्न लागिएको जानकारी दिए ।

“एक्यापमा पर्ने भएकाले स्थायी संरचना निर्माण गर्न नीतिगत समस्या भएपछि पर्यटकको सहजताका लागि अस्थायी संरचना बनाउन थालिएको हो”, उनले भने,“अन्नपूर्ण आधार शिविर र पदमार्गमा चिया तथा खाजा पसल सञ्चालनको गाउँपालिकाले ठेक्का आह्वान गरेको छ ।”

योजनाको सर्वेक्षण, लागत अनुमान तयार र उपभोक्ता समिति गठन भइसकेको अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले बताए । सन्धीखर्क, भुसकेट, पञ्चकुण्ड ताल परिसरमा ४० लाखको लागतमा तीन वटा आश्रयस्थल निर्माण गर्न लागिएको छ ।

हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुुण्डमा खानेपानी र शौचालय निर्माणका लागि ३० लाख विनियोजन भएको छ । फुटफुते झरना परिसरमा चिया पसल र आधार शिविरमा खुला सङ्ग्रहालय निर्माणका लागि  १०/१० लाख विनियोजन भएको छ । खुला सङ्ग्रहालयमा आधार शिविरमा रहेका अभिलेखलाई सङ्कलन र संरक्षण गर्ने लक्ष्य रहेको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर बालकृष्ण पौडेलले बताए

पदमार्ग निर्माण र सुधारका लागि पर्यटन बोर्डको २० लाख, गाउँपालिकाको १० लाख र एक्यापको पाँच लाख बजेट परिचालन गर्ने गरी उपभोक्ता समिति गठन भएको छ । प्रमुख प्रशासकीय अधिकृत कँडेल, सवइञ्जिनियर पौडेल र समुुन्त यादवको टोली गत हप्ता आधार शिविर पुगेर योजना निर्माणस्थलको निरिक्षण गरेर फर्किएको थियो ।

मानव बस्तीदेखि टाढा, होटल र रेष्टुराँ नभएको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर जाने पर्यटकलाई खाना, बस्न र फोहर व्यवस्थापनमा समस्या भएपछि पूर्वाधार निर्माण थालिएको हो ।

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार दसैँ–तिहारको समयमा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए । मौरिस हर्गोज पदमार्गमा झोलुङ्गे पुल, सञ्चार, विद्युुत् सुविधा विस्तार र पर्यटक चेकपोष्ट राख्नका लागि पनि पहल भएको उनले बताए ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।

तीन दिनको छोटो अवधीमा साहसिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । हर्जोगको टोलीले अन्नपूर्ण चढ्न प्रयोग गरेको बाटो पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो ।

सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किमी पदमार्ग तयार भएको छ ।

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

धनगढी । कैलालीमा छाउगोठमा सुतिरहेकी एक महिलामाथि बाघले आक्रमण गरेको छ । कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई गएराति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै छाउगोठमा सुतिरहेकी बिटालुलाई बाघले आक्रमण गरेको बताए । उनको स्वास्थ अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

बडिमालिका क्षेत्रमा हिमपात

बाजुरा जिल्लास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकाको मुख्य मन्दिर । यतिबेला हिउँपरेपछि यो क्षेत्र मनमोहक देखिएको छ ।

तस्बिर :सुशील भण्डारी / रासस

सुडानको अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सुडानको एल फसारमा रहेको साउदी शिक्षण मातृ अस्पतालमा हालै भएको आक्रमणको निन्दा गरेका छन् । आक्रमणमा ७० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

डब्ल्यूएचओ प्रमुखले स्वास्थ्य सेवामा हुने आक्रमण तत्काल बन्द गर्न आह्वान गरे ।

गेब्रेयससले सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्,“सुडानको एल फशरमा रहेको साउदी अस्पतालमा भएको भयानक आक्रमणमा १९ जना घाइते र ७० जना बिरामीको मृत्यु भएको छ । आक्रमणको समयमा, अस्पताल बिरामीहरूले खचाखच भरिएको थियो ।”

यसैबीच, साउदी अरेबियाको विदेश मन्त्रालयले अल फाशरमा रहेको साउदी अस्पताललाई निशाना बनाएको घटनालाई अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको भन्दै निन्दा गरेको छ ।

ट्विटरमा पोष्ट गरिएको एक विज्ञप्तिमा मन्त्रालयले भन्यो, “परराष्ट्र मन्त्रालयले साउदी अरेबियाले एल फशरमा रहेको साउदी अस्पताललाई निशाना बनाएको निन्दा गर्दछ, जसले गर्दा धेरै व्यक्तिको मृत्यु भएको छ । यो अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो ।”

दक्षिण कोरियाली राष्ट्रपतिमाथि ‘विद्रोहको नेतृत्वकर्ता’ का रूपमा अभियोजन

सियोल । दक्षिण कोरियाली अभियोजकहरूले महाभियोग लगाइएका राष्ट्रपति युन सुक योलको मार्सल लको असफल घोषणापछि उनीमाथि आइतबार ‘विद्रोहको मुख्य नेता’ का रूपमा अभियोजन गरेका छन् र निलम्बित नेतालाई हिरासतमा रहन आदेश दिएका छन् ।

युनले डिसेम्बर ३ मा नागरिक शासन निलम्बन गर्ने आफ्नो प्रयासले देशलाई राजनीतिक अराजकतामा डुबाए । यो कदम छ घन्टासम्म मात्र रह्यो र संसद सदस्यहरूले सशस्त्र सैनिकहरूको विरोधमा मतदान गरी यसलाई खारेज गरे ।

त्यसलगत्तै उनलाई महाभियोग लगाइएको थियो र यो महिना गिरफ्तार हुने पहिलो दक्षिण कोरियाली राष्ट्रप्रमुख बने । यो उनको निवासमा सुरक्षा टोलीले उनलाई पक्राउ गर्न विरोध गरेपछि भयो ।

अभियोजनकर्ताहरूले एक बयानमा उनीहरूले ‘युन सुक योललाई विद्रोहको प्रमुख भएको आरोपमा आज हिरासतमा राखेको’ बताएका छन् ।

उनको गिरफ्तारीदेखि नै उनलाई सियोल हिरासत केन्द्रमा राखिएको छ । औपचारिक अभियोजनले उहाँलाई अदालती कारबाहीसम्म हिरासतमा राख्नेछ र यो ६ महिनाभित्र हुनुपर्छ ।

अदालतले दुई पटक अभियोजकहरूले उनीहरूको अनुसन्धान अगाडि बढ्दै गर्दा उनको गिरफ्तारी वारेन्ट विस्तार गर्ने अनुरोधलाई अस्वीकार गरेपछि अभियोग व्यापक रूपमा अपेक्षित थियो ।

“अनुसन्धानका क्रममा प्राप्त प्रमाणको विस्तृत समीक्षापछि (अभियोजकहरू) यो निष्कर्षमा पुगे कि प्रतिवादीलाई अभियोग लगाउन मात्र उचित थियो”, उनीहरूले विज्ञप्तिमा भने ।

युनलाई जेलमा राख्ने आवश्यकतालाई ‘प्रमाण विनाशको निरन्तर जोखिम’ द्वारा न्यायसङ्गत रहेको उनीहरूले बताए । उनीहरूका अनुसार विशेष आरोप – विद्रोहको मुख्य नेता – राष्ट्रपति प्रतिरक्षाको दायरामा पर्दैन । 

युनका वकिलहरूले विद्रोहको आरोप अस्वीकार गरे र अदालतमा यसको विरोध गर्ने प्रतिज्ञा गरे । “युनको मार्सल लको घोषणालाई विद्रोहको रूपमा मान्यता दिन सकिँदैन”, उनीहरूले विज्ञप्तिमा भने, “हामी विश्वस्त छौँ कि कानूनी अदालतमा सत्यको विजय हुनेछ ।”

कञ्चनजङ्घा क्षेत्र स्वदेशी एवं विदेशी पर्यटकका लागि प्रमुख गन्तव्य बन्दै

काठमाडौँ । ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्र विश्वका पर्यटकका लागि महत्वपूर्ण गन्तव्य भएकाले यस क्षेत्रको प्रवद्र्धन गरेर लाभ लिनुपर्नेमा जोड दिइएको छ ।

समृद्ध पहाड र नेपाल चाइना फ्रेन्डशिप फोरमको सहकार्यमा आइतबार आयोजित अन्तरक्रियामा वक्ताहरूले कञ्चनजङ्घा क्षेत्रमा आवश्यक पूर्वाधार विकास एवं प्रचारप्रसारमा जोड दिए । 

विश्वकै तेस्रो ठूलो हिमाल कञ्चनजङ्घा एवं आसपासका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित भएकाले आगामी दिनमा सो क्षेत्र पर्यटकका लागि उपयुक्त गन्तव्य हुने सरोकारवालाहरूको विश्वास छ ।  कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसायी एवं सरकारी निकायले विशेष ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले कञ्चनजङ्घा क्षेत्र पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको र सो क्षेत्रमा भ्रमण गर्नेहरूको सङ्ख्या पनि वृद्धि हुँदै गएको बताए । उनले यस क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समृद्ध पहाडका बोर्ड अफ डाइरेन्टर एवं पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले पर्यटनसँग सम्बन्धित नीतिलाई पर्यटक, समुदाय एवं व्यवसायीमैत्री बनाउनुपर्नेमा जोड दिए । 

समृद्ध पहाडका प्रमुख कार्यकारी अधिकृत सञ्जीव न्यौपानेले कञ्चनजङ्घा क्षेत्रको जैविक विविधता एवं स्थानीयको आर्थिक उत्थानका लागि सबैले मिलेर काम गर्न ध्यानाकर्षण गराए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पछिल्लो समय सूचना प्रविधिको सहज पहुँच भएसँगै पर्यटकले गर्ने छनोट र व्यवसायीले गर्ने लगानीको तादम्यता नमिलेको बताए । 

टानका पूर्वअध्यक्ष ज्योति अधिकारीले विश्व बजारमा कञ्चनजङ्घा क्षेत्रको प्रचारप्रसार गर्न सकेमा स्थानीय जनताको आर्थिकस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल चाइन फ्रेन्ड्शिप फोरमका अध्यक्ष डा कल्याणराज शर्माले अथाह सम्भावना रहेको कञ्चनजङ्घा क्षेत्रमा पर्यटन प्रवर्धनका लागि आवश्यक लगानी र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । 

कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरूले कञ्चनजङ्घा संरक्षण क्षेत्रका प्रतिनिधि एवं स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवद्र्धनका काम अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । 

विजय बराल ‘जनै हराएको बाहुन’ मा अनुबन्धित

काठमाडौं । हिमाल न्यौपाने निर्देशित फिल्म ‘जनै हराएको बाहुन’ मा अभिनेता विजय बराल अनुबन्धित भएका छन् ।

फिल्ममा प्रमुख भूमिकाको लागि विजयलाई अनुबन्ध गरिएको निर्देशक न्यौपानेले बताएका छन् । फिल्मको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् ।

पेपरक्लिप प्रालिले बनाउन लागेको फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।

फिल्मका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन्। फिल्ममा नवीन गुरुङ छायांकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक’ हुन् ।

विभिन्न कार्यक्रम गरी भारतीय दूतावासले मनायो ७६औँ गणतन्त्र दिवस

काठमाडौँ । भारतको ७६औँ गणतन्त्र दिवस काठमाडौंस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रम गरी मनाएको छ ।

आइतबार दूतावासमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनाका साथै नेपालमा रहेका भारतीयहरूलाई शुभकामना व्यक्त गरे ।

कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन प्रत्यक्ष प्रसारण गरिएको थियो ।

त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती र आश्रित परिवारलाई पाँच करोड बराबरको रकम वितरण र सम्मान गरे । साथै भारतीय सशस्त्र बलका दुई सय १९ जना मृतक सदस्यका श्रीमती र आश्रित परिवारलाई २३ करोड २९ लाख वितरण गरिएको थियो ।

यसमा सन् २०२४ मा सेना समूह बीमा (एजीआई) कार्यक्रमअन्तर्गत मृत्यु सेवा लाभ, विस्तारित बिमा लाभ र एजीआई परिपक्वता भुक्तानीहरू समावेश छन् ।

कार्यक्रममा नेपालमा बसोबास गर्ने भूतपूर्व सैनिकहरूका लागि भारत सरकारका कल्याणकारी पहलहरू समेटिएको ‘भूपु–२०२५’ पत्रिकाको पनि अनावरण गरेका थिए ।

दूतावासले नेपालका ६ प्रदेशका २९ शैक्षिक संस्थाहरूलाई २३ लाख पाँच लाख बराबरको पुस्तक प्रदान गरेको छ । साथै सन् २०२४ नोभेम्बर ११ देखि डिसेम्बर ११ सम्म आयोजना गरिएको ‘भारत को जानिये’ (बीकेजे) क्विजमा नेपालबाट शीर्ष ५० स्थान हासिल गर्नेहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

बीकेजे क्विजको उद्देश्य विदेशी नागरिकहरू र विदेशमा बस्ने भारतीय समुदायलाई भारतको ज्ञान र बुझाइलाई गहिरो बनाउन प्रेरित गर्नु रहेको त्यस अवसरमा जानकारी दिइयो ।

समारोहमा दूतावासअन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

सभापति कप फुटबल : एनआरटी सेमिफाइनलमा

काठमाडौँ । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको सभापति कप फुटबल प्रतियोगितामा न्यू रोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको  छ ।

त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा आइतबार भएको चौथो क्वाटरफाइनलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । एनआरटीका लागि कप्तान अन्जन विष्टले दुई तथा रिचार्ड विल्सनले एक गोल गरे । फ्रेन्ड्सका लागि विवेक पौडेलले सान्त्वना गोल गरे ।

खेलको २३औँ मिनेटमा एन्जल महर्जनको ‘पास’मा अन्जनले गोल गर्दै टोलीलाई पहिलो अग्रता  दिलाए । त्यसको पाँच मिनेटपछि अन्जनले व्यक्तिगत दोस्रो गोल गरे । कृतिश रत्न छुन्जुको ‘क्रस’लाई अन्जनले ‘हेडर’मार्फत गोलमा परिणत गरे ।

खेलको दोस्रो हाफको सुरुआतमै रिचार्ड विल्सनले एनआरटीलाई ३–० गोलको अवस्थामा पुर्याए । खेलको ८१औँ मिनेटमा फ्रेन्ड्सका कप्तान विवेक पौडेलले गोल गरे । प्रतियोगिताअन्तर्गत सोमबार पहिलो सेमिफाइनल खेल सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच साँझ ५ः३० बजे हुनेछ ।

रास्वपा सभापति लामिछाने एक करोड धरौटी बुझाएर रिहा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक करोड धरौटीमा रिहा भएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले मागेको एक करोड रुपैयाँ धरौटी बुझाएर रवि आइतबार राति रिहा भएका हुन् ।

जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई १ करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

त्यसलगत्तै रविले उक्त रकमको व्यवस्थापन गरी बैंक ग्यारेन्टी बुझाएका हुन् । यसअघि रविले कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् । चितवन र पर्सामा पनि उनकाविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दायर हँदैछ ।

४० बुँदे माग पूरा नभएको भन्दै राप्रपाद्वारा आन्दोलन घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यसअघि सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै दुईमहिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आइतबार सम्पन्न राप्रपा केन्द्रीय समिति बैठकले विभिन्न १५ वटा निर्णय गर्दै आन्दोलन घोषणा गरेको हो । राप्रपाले जनजीविकाका विषय र ४० बुँदे माग पूरा गर्न दबाब दिने भन्दै फागुन र चैतमा आन्दोलन गर्ने घोषणा गरेको हो ।

त्यस्तै बैठकले विचार मिल्नेहरूसँग पार्टीले मोर्चाबन्दी गर्नेसमेत निर्णय गरेको छ । राप्रपाले सहकारीपीडितको रकम फिर्ताका लागि सरकारको ध्यानाकर्षण पनि गराउने निर्णय गरेको छ ।

 नवजात शिशुको श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुले प्रारम्भिक रुपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत गरेको छ ।

जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए/नभएको परीक्षण अनिवार्य गर्नेगरी नवजात शिशुको श्रवण स्क्रिनिङ, निर्देशिका–२०८१ स्वीकृत गरिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले समयमै उपचार पाएमा बालबालिकामा देखिने नसुन्ने समस्या कम गर्न सकिने विश्वासका साथ देशभरका प्रजनन केन्द्रमा जन्मने बालबालिकाको श्रवणशक्ति परीक्षणसम्बन्धी निर्देशिका स्वीकृत गरेका हुन् ।

मन्त्री पौडेलले भने, “बालबालिकाको जन्मजात सुन्न नसक्ने अपाङ्गता समयमै उपचार पाएमा धेरै हदसम्म रोक्न सकिन्छ भन्ने विज्ञहरुको सुझावका आधारमा निर्देशिका बनाएर परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हौँ ।”

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार अब उक्त निर्देशिकाअनुसार सुत्केरी गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थाले प्रारम्भिक रुपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या भए/नभएको परीक्षण गर्नुपर्ने छ ।

स्वास्थ्यकर्मीले श्रवणसम्बन्धी कुनै जानकारी अभिभावकबाट प्राप्त गरेमा जाँच गरी नाक, कान, घाँटी र अडियोलोजी सेवा भएको नजिकैको स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

जन्मिएको १२ देखि २४ घण्टाभित्र वा ‘फलोअप’का लागि पहिलो पटक आएका बेला प्रजनन क्षमताबारे अभिभावकसँग समेत जानकारी लिएर परीक्षण गर्नुपर्ने निर्देशिकामा भनिएको छ ।

निर्देशिका अनुसार प्रारम्भिक परीक्षण स्थानमा उपचार सम्भव नभएका बालबालिकाका लागि प्रविधियुक्त ‘ओएइ’ उपकरण भएका नाक, कान, घाँटीसम्बन्धी अस्पतालमार्फत परीक्षण र उपचार गर्ने व्यवस्था गरिएको छ । परीक्षण उपकरण विशिष्टीकृत अस्पतालमा विस्तार गर्ने मन्त्रालयको तयारी छ ।

नेपालमा जन्मिएका एक हजार शिशुमध्ये १.८ मा जन्मजात नै श्रवण ह्रासको समस्या देखिने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । विसं २०७८ को जनगणनाअनुसार ५ वर्षमुनिका तीन हजार बालबालिकामा श्रवणशक्तिसँग सम्बन्धित अपाङ्गता देखिने गरेको छ । तर बालबालिकामा हुने ६० प्रतिशत बहिरोपन रोकथाम गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ ।

कांग्रेस संसदीय दलमा अध्यादेशकाबारेमा विज्ञसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशका विषयमा विस्तृत छलफल गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकमा कांग्रेसले अध्यादेशका विषयमा छलफल गरेको हो कांग्रेसले तीन जना विज्ञलाई सहभागी गराएर अध्यादेशका विषयमा राय–सुझाव लिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

अध्यादेशमा केही त्रुटि छन् कि भनेर विज्ञलाई सहभागी गराएर राय सुझाव लिइएको प्रमुख सचेतक घिमिरेले बताए । बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारको काम कारबाही र अध्यादेशको औचित्यमाथि प्रकाश पारेका थिए।

उनले देशको समग्र विकासलाई चलायमान बनाउन र सुशासनलाई बलियो बनाउन सरकारले अध्यादेश ल्याएको बताएका थिए । त्यस्तै बैठकमा कांग्रेस–एमालेबीच बनेका विभिन्न संयन्त्रका विषयमा पनि छलफल भएको थियो। ।

महामन्त्री गगन थापाले संयन्त्रमार्फत सरकारको काम कारबाहीलाई छिटो छरितो बनाउन सहयोगी भूमिका खेलेको बताएका थिए । उनले सरकारलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिएको प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।

यसअघि शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले अध्यादेशकाबारेका एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको थियो ।

रविसँग एक करोड धरौटी माग

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटी मागेको छ । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा अदालतले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।

आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविसँग एक करोड धरौटी मागेको हो । उनलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

त्रिकोणात्मक महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । त्रिकोणात्मक महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

३० जनवरीदेखि ७ फेब्रुअरीसम्म हुने टी२० आई प्रतियोगितामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डले एकअर्कासँग दुई दुई खेल खेल्नेछन् । टोलीमा पूजा महतो र अलिशा कुमारी यादव पनि परेका छन् ।

यस्तै पूर्वकप्तान रुबिना क्षेत्री र सीता रानामगर टोलीमा निरन्तरता पाउँदा बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट छन् ।

आफूले बेलारुसमा लोकतन्त्रको अभ्यास गरिरहेको लुकासेन्कोको दाबी

मिन्स्क । क्रेमलिनका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले आफ्नो देशले ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेको बताएका छन् ।

लुकासेन्कोले आइतबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरेपछि प्रतिक्रिया दिँदै आफ्नो देशले ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेको बताएका हुन् ।

उनले करिब एक हजारको हाराहारीमा रहेका राजनीतिक बन्दीले माफी मागेमा उनीहरूलाई रिहा गर्न सकिने उक्त अवसरमा बताए । तर उनले निर्वासित विरोधीहरूसँग वार्ता गर्ने बिषयलाई अस्वीकार गरे ।

“बेलारुसमा हामी ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेका छौँ,” आफ्नो सातौं कार्यकालका लागि भएको निर्वाचनमा मतदान गरेपछि पत्रकारसँग कुरा गर्दै उनले भने ।
उनले भने, “हामी कसैलाई दबाब दिँदैनौँ र कसैको वाक स्वतन्त्रतामा बन्देज लगाउने छैनौँ ।

जेलमा रहेका आलोचकहरूले माफी माग्नुपर्छ भन्दै उनले भने, “यदि उहाँहरूले माफी माग्नुभएन भने उहाँहरू ठीक भएको दावी हो । प्रशासनले उहाँहरूले गल्ती गरेको अभियोगलाई अदालतले दोषी ठहर गरेपछि मात्रै उहाँहरूलाई जेल सजाय सुनाएको र जेलमा पठाएको हो । रिहाईका लागि उहाँ (विपक्षी) हरूले माफी माग्नुपर्छ।”

पत्रकार सम्मेलनमा लुकासेन्कोले युरोपेली सङ्घको आलोचनालाई पनि नकारेका छन् । युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ काजा कल्लासले लुकाशेन्कोको ‘कुनै वैधता नभएको’ र उनको नेतृत्वमा भइरहेको राष्ट्रपतिको निर्वाचनलाई ‘लोकतन्त्रको घोर अपमान’ भनेका छन् ।

लुकासेन्कोले अन्य देशले निर्वाचनको परिणामलाई मान्यता दिने वा नदिने भन्ने विषयमा आफूलाई कुनै चिन्ता नभएको बताउँदै ‘यो स्वादको विषय’ भएको बताए ।

उनले सन् २०२० को राष्ट्रपतीय चुनावमा आफूविरुद्ध लडेका स्वेतलाना तिखानोभस्कायाजस्ता निर्वासित प्रतिद्वन्द्वीसँग कुरा गर्ने विचारलाई पनि अस्वीकार गरे । उनले भने, “मैले उनीहरूसँग के कुरा गर्नुपर्ला?“

उनले निर्वासनमा रहेकाहरूले आ–आफ्नो छनौट गरेको बताउँदै भने, “हामीले कसैलाई पनि देशबाहिर धकेलेका छैनौं ।”

इजरायली आक्रमणबाट लेबनानमा तीन जनाको मृत्यु, ४४ घाइते

बेरुत । दक्षिणी लेबनानमा आफ्नो घर फर्कन खोजिरहेका लेबनानीहरूको भीडमाथि इजरायली सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ४४ जना घाइते भएका छन् ।

लेबनानी सेनाको एकाइहरूले अल–मुफायलेहा क्षेत्रमा इजरायली आक्रमणको सामना गर्यो, जसको परिणामस्वरूप दुई नागरिक र एक लेबनानी सैनिक घाइते भए ।

आइतवार लेबनानी क्षेत्रहरूबाट इजरायलको फिर्ताको लागि ६० दिनको समयसीमा समाप्त भएको छ ।

इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बीचको द्वन्द्व पछि नोभेम्बरको अन्तमा भएको युद्धविराम सम्झौता अन्तर्गत लेबनानी सेनाले लितानी नदीको दक्षिणी क्षेत्र नियन्त्रणमा लिनेछ ।

युद्धविराम सम्झौताको बावजुद, इजरायली सेनाले लेबनानमा आक्रमण जारी राखेको छ, जसमध्ये केही सीमा क्षेत्रमा मृत्यु र घाइते भएका छन् ।

निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड

काठमाडौं ।  राष्ट्रिय सभाका सांसदहरूले निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबारको बैठकमा सांसदहरूले निकुञ्ज क्षेत्रभित्र हेलिप्याड निर्माण, उडान तथा अवतरणलाई थप व्यवस्थित गर्नुपर्ने धारणा राखेका हुन्।

सांसद गोमादेवी तिमल्सिनाले सरकारले पूर्वाधार विकासका क्षेत्रमा काम अगाडि बढाउँदै गर्दा प्राकृतिक सम्पदालाई जोगाउने र स्थानीय जनताको चाहनालाई पनि ध्यान दिनुपर्नेमा जोड दिइन्। उनले निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने धारणा राखिन्।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले सरकारले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई जोगाउँदै त्यसको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए। सांसद नरबहादुर विष्टले निकुञ्ज र मध्यवर्ती क्षेत्रहरूमा होटेल र अन्य व्यवसाय सञ्चालन, पर्या–पर्यटन प्रवर्द्धनलगायत विषयलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

यसैगरी, सांसद युवराज शर्माले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा, दहत्तर, बहत्तर)को उपभोग, बिक्री–वितरणलाई व्यवस्थापन गर्नुका साथै मध्यवर्ती क्षेत्रभित्र र बाहिर प्रयोग हुने नदीजन्य पदार्थको मूल्यमा एकरूपता हुनुपर्ने बताए।

सांसद रेनु चन्दले सम्बन्धित प्रदेश र स्थानीय तहले वन तथा वातावरणसम्बन्धी कानुन तर्जुमा गर्ने सम्बन्धमा त्यस क्षेत्रका निकुञ्ज कार्यालयका प्रतिनिधिसँग छलफल गरी अघि बढ्नुपर्ने धारणा राखिन्। रासस

सत्तापक्षका सांसदहरूका कारण समितिमा रहेका विधेयकहरूमा ढिलाई भएको माओवादीको आरोप

काठमाडौं । नेकपा माओवादीले सत्तापक्षका सांसदहरूका कारण समितिमा रहेका विधेयकहरूमा ढिलाई भएको आरोप लगाएको छ ।

आइतबार सभामुख देवराज घिमिरेसँग प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँगको छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद अधिवेशन, विधेयकको अवस्था लगायतका बारेमा सभामुखले चासो राखेको भन्दै ढिलो हुनुको कारण सत्ता पक्षकै प्रतिनिधिसँग सोध्न आग्रह गरेका हुन् ।

उनले धेरै सांसद सत्ता पक्षको भएकाले विधेयक अघि बढाउन सत्तापक्षकाले बढी ध्यान दिनुपर्ने बताए । उनले भने, ‘विधेयकहरुको बारेमा विपक्ष दलहरुको तर्फबाट त उपस्थित भएकै छौं । समितिमा हाजिर हेरेपनि हुन्छ । तर सत्तापक्षकै तर्फबाट सरकारकै मन्त्रीहरु उपस्थित नभएर ढिलो भएको हो ।’

उनले अध्यादेशका बारेमा सरकारले संसदलाई राम्रोसँग रेस्पोन्स नगरेको बताए । विधेयक फिर्ता नलिई अध्यादेश ल्याइएकोबारे सभामुखले र संसद सचिवालय पनि सरकारसँग कुरा गर्नुपर्छ भन्ने धारणा राखेको उनले जानकारी दिए ।

चर्च ब्वाइजद्वारा पुलिस पराजित

काठमाडौँ । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा चर्च ब्वाइजले पुलिसमाथि ४–१ को जित निकाल्दै प्रतियोगितामा पाँचाँै जित दर्ता गराएको हो । जितसँगै चर्च ब्वाइजले सात खेलबाट १८ अङ्क जोडेको छ । पराजित पुलिसको समान खेलबाट १३ अङ्क रहेको छ ।

चर्च ब्वाइजको जितमा सनिल मगरले दुई गोल गरे भने अनिशकुमार मगर र सुशान्त थापामगरले एक एक गोल गरे । पुलिसका लािग रोहन पोखरेलले सान्त्वना गोल गरे ।

खेलको चौथो मिनेटमै चर्च ब्वाइजले सुशान्त थापामगरको गोलमार्फत सुरुआती अग्रता लियो । त्यसपछि खेलको २६औँ मिनेटमा चर्च ब्वाइजका अनिशकुमार मगरले गोल गरे । खेलको ३७औँ मिनेटमा सनिल मगरले गोल गरेपछि खेलको पहिलो हाफमा चर्च ब्वाइजले पुलिसमाथि ३–० गोलको अग्रता बनायो ।

खेलको ६९औँ मिनेटमा सनिल मगरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । खेलको ७१औँ मिनेटमा पुलिसका रोहन पोखरेलले सान्त्वना गोल फर्काए ।

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे एडभाइजरी’ जारी

काठमाडौं ।  सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एड्भाइजरी’ जारी गरिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा एड्भाइजरी जारी गरेको हो ।

एड्भाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र सामाजिक सञ्जालको प्रयोगसँग सम्बन्धित विभिन्न सुरक्षात्मक उपायहरू समावेश गरिएका छन् । सरकारी कार्यालयको वेबसाइटमा समस्या देखिने, साइबर हमलामा पर्ने, सूचना चोरी हुनेलगायत समस्या देखिएपछि एड्भाइजरी जारी गरिएको केन्द्रका निर्देशक राजकुमार महर्जनले जानकारी दिए ।

‘सामान्य अज्ञानता वा लापर्वाहीका कारण गम्भीर साइबर समस्या सिर्जना भइरहेका छन् । हामीले यो कुरा प्रयोगकर्तालाई जानकारी गरायौँ भने समस्या घट्ने अपेक्षा छ,’ उनले भने, ‘यो एड्भाइजरी यो सरकारी निकायका कर्मचारीलाई मात्र होइन, सबै नागरिकका लागि हो ।’

सरकारी वेबसाइट वा एप्लिकेसनमा समस्या देखिँदा कुन व्यक्तिलाई सम्पर्क गर्ने भनेर ‘फोकल पर्सन’ तोक्नका लागि पनि केन्द्रले सबै मन्त्रालय, आयोग, विभागलाई पत्राचार गरेको छ । वेबसाइट र नेटवर्क सुरक्षाका लागि नियमित रूपमा वेबसाइट अद्यावधिक गर्ने, सुरक्षा परीक्षण गराउने र डाटाको नियमित ‘ब्याकअप’ राखी व्यवसाय निरन्तरता योजना लागू गर्ने सल्लाह एड्भाइजरीमार्फत दिइएको छ । त्यस्तै, एन्टिभाइरस, डेटाबेस, एप्लिकेसन लाइब्रेरी र अपरेटिङ सिस्टमहरू अद्यावधिक गर्ने र मल्टिफ्याक्टर प्रमाणीकरण लागू गर्न निर्देशन गरिएको छ ।

एड्भाइजरीमार्फत डेस्कटप, ल्यापटप र प्रिन्टर सुरक्षाका लागि लाइसेन्स प्राप्त सफ्टवेयर मात्र प्रयोग गर्न, सिस्टम र बायोसलाई स्वचालित रूपमा अद्यावधिक गर्न र प्रिन्टरहरूलाई इन्टरनेट पहुँचबाट अलग राख्ने उपाय अपनाउन भनिएको छ । पासवर्ड व्यवस्थापनका लागि सजिलै अनुमान गर्न नसकिने पासवर्ड राख्ने, तीन महिनामा कम्तीमा एक पटक परिवर्तन गर्ने र गोपनीयता कायम राख्न मल्टिफ्याक्टर प्रमाणीकरण प्रयोग गर्न सिफारिस गरिएको छ । इन्टरनेट ब्राउजिङ सुरक्षाका लागि सुरक्षित ब्राउजिङ विधिहरूको प्रयोग, अद्यावधिक ब्राउजरको प्रयोग र व्यक्तिगत जानकारी अनधिकृत वेबसाइटमा सेयर गर्न भनिएको छ ।

सामाजिक सञ्जालमा अनधिकृत सामग्री पोस्ट नगर्न र व्यक्तिगत जानकारी सीमित मात्रामा प्रयोग गर्न तथा मोबाइल उपकरणको सुरक्षाका लागि अद्यावधिक गरिएको अपरेटिङ सिस्टम, विश्वसनीय स्रोतबाट मात्र एप डाउनलोड गर्नेलगायत विषयमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ । यी उपायहरूको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित कर्मचारीहरूलाई नियमित रूपमा साइबर सुरक्षा तालिम दिने व्यवस्था गर्न पनि केन्द्रले आग्रह गरेको छ ।

केन्द्रले वेबसाइट अपडेट, डेटा ब्याकअप, सुरक्षित पासवर्ड, मल्टि–फ्याक्टर प्रमाणीकरण, नेटवर्क सेगमेन्टेसन र एन्टिभाइरस अपडेटलगायत कुरामा ध्यान पुर्‍याएर साइबर सुरक्षालाई सुदृढ बनाउन सकिने जनाएको छ । यी सुरक्षात्मक उपायहरूले सरकारी प्रणालीलाई साइबर खतराबाट बचाउने र नागरिक सचेतनासमेत बढ्ने अपेक्षा गरिएको केन्द्रका निर्देशक महर्जनले बताए ।

पासवर्ड व्यवस्थापन

पासवर्ड सुरक्षित बनाउन सहजै अनुमान गर्न नसकिने र बलियो पासवर्ड बनाउने सल्लाह केन्द्रले दिएको छ । यसका लागि ठूला र साना अक्षर, सङ्ख्या र विशेष चिह्नको संयोजन भएको कम्तीमा आठ वर्णको पासवर्ड प्रयोग गर्नुपर्नेछ । त्यस्तै, तीन महिनामा पासवर्ड अनिवार्य रूपमा परिवर्तन गर्नुपर्ने एड्भाइजरीमा उल्लेख छ । व्यक्तिगत जानकारीहरू जस्तैः नाम, जन्ममिति, ठेगाना आदिको प्रयोग पासवर्डका रूपमा नगर्न भनिएको छ । कुनै पनि प्रणालीको डिफल्ट पासवर्ड तुरुन्त परिवर्तन गरी मल्टिफ्याक्टर प्रमाणीकरण प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । त्यस्तै, एउटै पासवर्डलाई विभिन्न सेवा वा प्रणालीमा प्रयोग नगर्न र पासवर्ड गोप्य राखी अनधिकृत व्यक्तिसँग शेयर नगर्न सुझाव दिइएको छ ।

इन्टरनेट ब्राउजिङ सुरक्षा

सरकारी एप्लिकेसन, बैंकिङ सेवा वा अन्य महत्वपूर्ण सेवाहरू प्रयोग गर्दा सधैँ प्राइभेट ब्राउजिङ/इन्कग्निटो मोड प्रयोग गर्नुपर्ने एड्भाइजरीमा उल्लेख छ । त्यस्तै, कुनै पनि वेबसाइटमा लिङ्कमा क्लिक नगरी ब्राउजरको एड्रेसबारमा डोमेन म्यानुअली टाइप गर्ने, ब्राउजरको नवीनतम संस्करण प्रयोग गर्ने र यसलाई नियमित अद्यावधिक गर्न भनिएको छ । ब्राउजरमा पासवर्ड वा भुक्तानीसम्बन्धी जानकारी सुरक्षित नगर्नसमेत सुझाव दिइएको छ । अनधिकृत थर्ड पार्टी सेवाहरू, जस्तैः नर्ड भीपीएन, एक्सप्रेस भीपीएन वा प्रोक्सीहरूको प्रयोग नगर्न र शङ्कास्पद वा पायरेटेड सामग्री डाउनलोड गर्नबाट जोगिन भनिएको छ ।

इमेल तथा फिसिङ आक्रमणबाट सुरक्षा

इमेलमार्फत हुने फिसिङ आक्रमणबाट बच्न अपरिचित व्यक्तिबाट आएका इमेल तुरुन्त नखोल्न र शङ्कास्पद अट्याचमेन्ट वा लिङ्क खोल्नबाट बच्नुपर्ने सल्लाह दिइएको छ । शङ्कास्पद इमेललाई स्पाम रिपोर्ट गरी मेटाउनुपर्ने र आवश्यकबाहेक वेबपेजहरूमा सस्क्राइब नगर्न भनिएको छ । इमेल सेवामा मल्टिफ्याक्टर प्रमाणीकरण सक्रिय गर्ने, सार्वजनिक वाइफाइ प्रयोग गरेर व्यावसायिक इमेल नखोल्ने र सकेसम्म सुरक्षित भीपीएनको प्रयोग गर्नुपर्ने एड्भाइजारीमा उल्लेख छ ।

रिमुभेबल मिडिया सुरक्षाको उपाय

रिमुभेबल मिडिया (यूएसबी, एक्स्ट्रनल हार्ड ड्राइभ आदि) प्रयोग गर्दा यसलाई प्रयोग गर्नुअघि स्क्यान गर्नुपर्ने र त्यसमा भएका संवेदनशील सामग्रीलाई पासवर्ड वा इन्क्रिप्सनका माध्यमबाट सुरक्षित गर्नुपर्ने जनाइएको छ । अनधिकृत स्रोतबाट प्राप्त मिडियाहरू प्रयोग नगर्न र कार्यालयद्वारा स्वीकृत मिडियाहरू मात्र प्रयोग गर्न एड्भाइजरीमार्फत निर्देशन दिइएको छ ।

सामाजिक सञ्जाल सुरक्षासम्बन्धी

सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत जानकारी सीमित राख्न, अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट वा मेसेज स्वीकार गर्नुअघि राम्रोसँग जाँच गर्न र सरकारी जानकारी सार्वजनिक गर्नबाट जोगिन भनिएको छ । सरकारी इमेल ठेगाना सामाजिक सञ्जालमा पोस्ट नगर्न र सामाजिक सञ्जाल खातामा मल्टिफ्याक्टर प्रमाणीकरण लागू गर्न सुझाव दिइएको छ ।

मोबाइल सुरक्षा उपायहरू

मोबाइल उपकरणको सुरक्षाका लागि पछिल्लो अपडेट/प्याच लागू गर्न, एप्लिकेसन विश्वसनीय स्रोतबाट मात्र डाउनलोड गर्न र एप्लिकेसनले मागेको अनुमति ध्यानपूर्वक जाँच्नुपर्ने सल्लाह दिइएको छ । आवश्यकताबाहेक वाइफाइ, ब्लुटुथ, एनएफसी जिपीएसजस्ता सेन्सरहरू निष्क्रिय राख्न र मोबाइलमा एन्टिभाइरस सफ्टवेयर राख्न भनिएको छ । मोबाइल हराएमा ट्र्याक गर्न सकिने सुविधा सक्षम गर्न र आईएमईआई नम्बर सुरक्षित राख्न पनि एड्भाइजरीमा उल्लेख छ ।

कोभिड जनावरबाट भन्दा चिनियाँ प्रयोगशालाबाट उत्पन्न भएको हुन सक्ने ‘सम्भावना अधिक’

बीबीसी । अमेरिकाको बाह्य गुप्तचर निकाय सीआईएले कोभिड–१९ को उत्पत्तिबारे आफ्नो विगतको मूल्याङ्कनलाई परिवर्तन गर्दै त्यो जनावरबाट भन्दा चिनियाँ प्रयोगशालाबाट उत्पन्न भएको हुन सक्ने ’सम्भावना अधिक’ रहेको जनाएको छ ।

यद्यपि उसले त्यस्तो मुल्याङ्कनप्रति न्यून आत्मविश्वास रहेको भन्दै सावधानीपूर्वक प्रतिक्रिया दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नियुक्त गरेका जन र्याटक्लिफले सीआईएको निर्देशकको जिम्मेवारी सम्हालेपछि नयाँ विश्लेषण सार्वजनिक गरिएको हो ।

एक जना अधिकारीले उक्त परिवर्तन उपलब्ध गोप्य जानकारीका आधारमा गरिएको जनाएका छन् । विगतमा चीनले यस्तो अनुमानलाई असहयोगी र राजनीतिक रूपले प्रेरित रहेको बताउँदै आएको थियो ।

कोभिडको उत्पत्तिबारे नयाँ मूल्याङ्कन सार्वजनिक गर्ने कदम अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा नियुक्त गरिएका सीआईएका नयाँ निर्देशक जोन र्याटक्लिफको पहिला निर्णयमध्ये एक हो। उनले बिहीवार मात्र पद सम्हालेका हुन् ।

ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय गुप्तचर निकायको निर्देशकका रूपमा काम गरेका उनले लामो समयदेखि प्रयोगशाला चुहावट भएको भाइरसका कारण कोभिड महामारी फैलिएको भन्ने सिद्धान्तमा विश्वास गर्दै आएका छन् ।

उनले सम्भवतः वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको प्रयोगशालाबाट चुहावट भएको भाइरसका कारण कोभिड सुरु भएको हुन सक्ने दाबी गर्दै आएका छन् ।

उक्त संस्था र त्यसको प्रयोगशाला हुअनान बजारबाट गाडीमा जाँदा ४० मिनेट समय लाग्ने दूरीमा अवस्थित छ। कोरोनाभाइरस पहिलो पटक उक्त बजारमा फेला परेको थियो।

देश चलाउँछु भन्ने मान्छेले पढेका मानिसहरूलाई नेपालमै गरिखान सक्ने व्यवस्थाका लागि प्रतिस्पर्धा गर्नुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को आम निर्वाचनको अहिले नै चर्चा आवश्यक नभएको बताएका छन् ।

अइतबार मीनकुमारी राणा प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८४ को चुनावमा जाने बेलासम्म यसअघिका कांग्रेसका सरकारले गरेभन्दा धेरै काम गर्नुपर्ने बताएका हुन् ।

उनले आगामी निर्वाचनको मिति हेरेर काम नगर्ने छुट कसैलाई नभएको बताए । उनले भने, ‘संघ, प्रदेश र ३३० पालिका प्रमुख र वडाध्यक्ष जितेको कांग्रेसलाई गनगन गर्ने छुट छैन । हामीले त विपी, गिरिजाप्रसाद, मनमोहन अधिकारीहरुले छोटो अवधिमा गरेको भन्दा धेरै काम गर्नसक्नुपर्छ ।’

उनले अब जो प्रधानमन्त्री बने पनि युवाहरूलाई नयाँ अवसर सिर्जना गर्नेमा केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘देश चलाउँछु भन्ने मान्छेले पढेका मानिसहरूलाई नेपालमै गरिखान सक्ने व्यवस्थाका लागि प्रतिस्पर्धा गर्नुपर्छ।’

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से घटेको छ । आइतबार नेप्से १०.४१ अंकले घटेर २ हजार ६४३.९३ विन्दुमा झरेको छ ।

आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर ४.७६ प्रतिशतले ओरालो लागेको छ ।

आज बोटलर्स नेपाल (बालाजु), एनआईसी एशिया डिबेन्चर २०८२/८३, दोल्ती पावर कम्पनी र जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन उपकार लघुवित्त र माथिल्लो मैलुन खोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज ३ सय १८ वटा कम्पनीका १ करोड ५७ लाख कित्ता शेयर ९ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ ।

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए ।

उनले बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताए ।

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको पाइएको हो ।

हृदयाघात चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्चरक्तचाप भएका मानिसमा बढी हुन्छ । तीमध्ये चुरोट पिउने मानिसमा हृदयाघात हुने सम्भावना बढी हुने गरेको शहीद गङ्गलाल हृदय राष्ट्रिय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।

अहिले युवा अवस्थामा नै चुरोट सेवन गर्नेक्रम बढेसँगै हृदयाघातका घटनाहरु पनि धेरै नै हुने गरेको छ । उनका अनुसार सुर्तीजन्यपदार्थको सेवन गर्ने ५० वर्षभन्दा मुनिका आठगुणा, ५० देखि ६५ वर्ष उमेर समूहका लागि पाँचगुणा र ६५ वर्षभन्दा माथिका तीनगुणा बढी हृदयाघात हुने सम्भवाना रहन्छ । यस्तै ४९ वर्ष मुनि सुर्तीजन्यसेवन गर्ने महिलालाई १३ गुणाबढी सेवन नगर्नेको तुलनामा बढी हृदयाघात हुने गरेको छ ।

अध्ययन अनुसार नेपालमा ४८.६ प्रतिशत पुरुष र १५.३ प्रतिशत महिलाले चुरोट सेवन गर्ने गरेका छन् । जाडोयाममा युवाहरुले चुरोट बढी सेवन गर्ने गर्दछन् । उनले चुरोट सेवनलाई छाड्ने हो भने हृदयाघातको सम्भवना पनि कम हुने बताए।

उनका अनुसार चुरोट सेवन गर्न छाडेको २० मिनेटमा मानिसको उच्च रक्तचाप सामान्य हुने, तीन दिनमा श्वास फेर्न सजिलो हुने र एक वर्षमा हृदयाघातको सम्भावना आधा घट्ने हुन्छ। त्यस्तै चुरोट छाडेको १५ वर्षमा सामान्य मानिस जस्तै हृदयाघात हुने गर्दछ।

गंगालाल अस्पतालले सन् २०१८ मा एक हजार छ सय ६० जनामा हृदयाघात भएर आएकामध्ये गरेको पछिल्लो अध्ययनअनुसार ४५ वर्षभन्दा मुनिका ११ दशमलव ८ प्रतिशतलाई हृदयाघात चुरोट सेवनका कारण भएको जनाइएको छ ।

यस्तै उच्चरक्तचाप ३६.६ प्रतिशत, मधुमेह २५.३ प्रतिशत र कोलस्टोरोल ७.८ प्रतिशतलाई हुने गरेको छ । उनले विभिन्न समयमा गरिएको अध्ययन अनुसार ४५ वर्ष मुनिका चुरोट खानेमा हृदयाघात बढदै पाइएको बताए ।

नेपालमा अहिले हृदयाघात बढ्दै गएको पाइएको छ । चुरोटसँगै अस्वस्थ्य खानपान, उच्चरक्तचाप, मधुमेह, कोलस्टोरोलको कारणले मुटुका विरामी बढदै गएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अधिकारीका अनुसार सन् १९९० को तुलनामा सन् २०१७ मा ६० प्रतिशतले मुटुका बिरामी बढ्दै गएको पाइएको छ। सन् ११९० मा हृदयाघातका कारणले ६७ जनाको मृत्यु हुने गरेको थियो भने सन् २०१७ मा सय जनाको मृत्यु हुने गरेको थियो।

अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले हृदयाघात बढिरहेको बताए । ‘चुरोट, हुक्का जस्ता सुर्तीजन्य पदार्थले गर्दा युवाहरुमा मुटुको रोग बढिरहेको छ’, उनले भने, ‘तारेको, भुटेको मासुले पनि हृदयाघात बढाउँछन।’

उनले चुरोट र हुक्काले रगतलाई जमाउने गरेको बताउँछन्, ‘हुक्कालाई मानिसहरुले सामान्य रुपमा लिने गरेका छन् । यो फ्लेवर हो भनेर तान्ने गर्दछ’, उनले भने, ‘तर हुक्काले रक्तनलीको भित्तामा असर पुर्‍याउँछ । अनि हृदयाघात सम्भवना हुन्छ।’

नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउँछ।

जीवनशैलीमा आएको परिवर्तनले पनि हृदयाघात

मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका पनि बिरामी बढिरहेका छन् । डा. भट्टराईका अनुसार निष्क्रिय जीवनशैली, चिन्ता, युवा अवस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो–बोसो खानाले हृदयाघातका बिरामी बढिरहेको छन्। घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयाघातका बिरामी बढिरहेको चिकित्सकले बताएका छन् ।

गंगालाल अस्पतालमा अनुसार अस्पतालमा दैनिक चार जना हृदयाघात आउने गरेका छन् । अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वङ्शाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द भएर हृदयाघात हुने गर्दछ ।

‘धूमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयाघातले आक्रमण गर्छ । यस्तै कोलेस्टेरोल, शारीरिक अभ्यासको कमी पेट बढ्ने, पसिना ननिकाल्ने, तनाव, बाहिरी प्रदूषण र वङशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ’, डा.अधिकारीले भने, ‘स्वस्थ्य जीवनशैली अपनाउने, खाना धेरै नखाने, स्वच्छ खाने, शारीरिक अभ्यास गर्ने, चुरोट नखाने, नियमित व्यायाम गर्न सके हृदयाघातबाट बच्न सकिन्छ।’

मुटु जन्मजात बिग्रेर आउने, घाँटीको दुख्ने रोगबाट सुरु भई पछि मुटुको भल्व बिग्रने रोग (बाथ ज्वरजन्य रोग) जस्ता कारणले पनि मुटुका बिरामी हुने गरेका छन्।

हृदयाघात भएको १२ घण्टामा जीवन बचाउन सकिन्छ

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अधिकारी हृदयाघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउनसके बचाउन सकिने बताउँछन् । केन्द्रले हृदयाघात भएका बिरामीलाई २४ घण्टा नै एन्जिओप्लाष्टी गरेर बचाउने गर्छ । केन्द्रले हृदयाघात भएर आएको एक घण्टाभित्र बिरामीको एन्जिओप्लाष्टी गर्ने उहाँ बताउनुहुन्छ । एउटा एन्जिओप्लास्टी गर्नका लागि रु एक लाख ५० हजार खर्च लाग्छ । त्यति रकम तिर्न नसक्ने गरिब–असहायका लागि केन्द्रले निःशुल्क एन्जिओप्लास्टी गर्ने गरेको छ ।

विश्वमा स्टिमाई, एनेस्टीमाई र अनस्टेवल एन्गिना गरी तीन प्रकारका हृदयाघात हुने गर्दछन् । स्टिमाई (मुटुमा रक्तसंचार हुने नली बन्द हुने) एनेस्टीमाई (रक्तनली केही बन्द भएर हुने हृदयाघात र अनस्टेवल एन्गिना (मुटुको नशा बन्द भएको तर मासु मर्न नथालेर हुने हृदयाघात) । ती तीन हृदयाघातमध्ये पनि सबैभन्दा धेरै स्टिमाई हृदयाघात हुन्छ, जुन भएका मानिसलाई समयमा नै अस्पताल पुर्‍याउनसके बचाउन सकिन्छ ।

यस्तै अर्को अनस्टेवल एन्गिना प्रकारको हृदयाघात पनि नेपालमा देखिने गर्दछ । “हृदयाघात भएको मानिसका मुटुमा रगतको आपूर्ति बन्द भएपछि दुख्न थाल्छ । मुटुको मासु मरिसकुञ्जेल छाती दुख्ने गर्छ । मुटु दुखिरहेका बेलामा नै अस्पतालमा बिरामी पुर्‍याउनसके बचाउन सकिन्छ’, उनले भने, ‘बिरामी आएको १२ घण्टामा मुटुको प्राइमरी एन्जिओप्लास्टी (मुटुको नशा खोल्ने प्रविधि) शल्यक्रिया गरी नसा खोलेर बचाउन सकिन्छ।’

एनेस्टीमाई हृदयाघात भएका बिरामीलाई भने केही समयपछि मात्र उपचार गरिन्छ । त्यस्ता बिरामीलाई भर्ना गरे केही दिनपछि शल्यक्रिया गरेर बचाउन सकिन्छ । केन्द्रले प्राइमरी एन्जिओप्लास्टी गरेका बिरामीलाई चार–पाँच दिनमै अस्पतालबाट घर पठाउँछ ।

केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लास्टी गरेर हृदयाघात भएका बिरामीलाई बचाउने गरेको उनी बताउँछन् । केन्द्रमा सन् २००६ देखि एन्जिप्लास्टी हुँदै आएको छ ।

जाडोमा बढी

जाडोमा हृदयाघात बढी हुने गरेको केन्द्रका निर्देशक डा. रवि मल्लले बताउँछन् । मानिसहरु जाडोमा घरमै बसिरहने, शारीरिक अभ्यास नगर्ने, बिहानी हिँडाइमा पनि नजाने जस्ता क्रियाकलापले नगर्दा मुटुमा समस्या आउने गर्दछ ।

यस्तै जाडोयाममा चुरोट तथा मादकपदार्थ सेवन गर्नाले पनि हृदयाघात हुने सम्भावना हुने गर्दछ । उनले जाडोमा नसा खुम्चिने गर्नाले रगतको आपूर्ति मुटुमा सहज नहुँदा पनि हृदयाघात हुने खतरा बढी हुने गरेको बताए ।

हृदयाघात कसरी हुन्छ ?

मुटुलाई काम गर्नका लागि अक्सिजन आवश्यक पर्छ जुन रगतले दिने गर्छ । मुटुमा रगत आपूर्ति गर्ने नसा हुन्छ जसबाट रगत मुटुमा आउने गर्छ । रगत आपूर्ति बन्द भयो भने हृदयाघात हुन्छ । उमेर बढ्दै जाँदा मुटुको रक्तसञ्चार गर्ने नली साँघुरिँदै जाने र पछि बन्द भई मुटु बन्द हुने गर्छ । अहिले नली साँघुरिँदै जाने र मुटु बन्द भएर हुने हृदयाघात धेरै हुने गरेको छ ।

रगतको आपूर्ति सबै बन्द भएपछि मानिसको छाती दुख्न थाल्छ । धेरैजसो मानिस छाती दुखेपनि घरमै बस्छन् । अनि ढिला आउँछन् । रगतको आपूर्ति बन्द हुनाका साथै निरन्तर छाती दुखेपछि मुटुको मासु मर्ने गर्छ । मासु मरेपछि मुटुले काम गर्न छाड्छ र मानिसको ज्यान जान्छ ।

सात हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

बाजुरा । सङ्घीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध खोप बाजुरका सात हजार बढी किशोरीलाई लगाइने भएको छ ।

जिल्लाका नौ स्थानीय तहका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँका सात हजार आठ सय ९४ किशोरीलाई यही माघ २२ गतेदेखि चार नगरपालिका र पाँच गाउँपालिकामा पाठेघरको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर खड्काले जानकारी दिए । जिल्लामा रहेका किशोरीलाई विद्यालयमा र विद्यालय बाहिर रहेका किशोरीलाई सम्बन्धित पालिकाको स्वास्थ्य शाखामार्फत खोप लगाउन स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए ।

शनिबार जिल्ला खोप समन्वय समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा नौ वटै पालिकामा पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने तयारी भइरहेको खड्काले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने एचपिभीे खोप अभियानमा विद्यालय जाने सात हजार आठ सय ६० र विद्यालय नजाने ३४ किशोरीलाई खोप लगाइने छ । स्थानीय तहका एक सय १८ विद्यालय, ९१ अन्य खोप केन्द्रबाट खोप लगाइने बताउँदै प्रमुख खड्काले अभियानमा दुई सय १० स्वास्थ्यकर्मी र चार सय १८ स्वयम्सेवक खटिने जानकारी दिए ।

देशभर एचपिभी खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । सरकारले देशभरी एकै साथ सञ्चालन गर्न लागेको एचपिभी खोप अभियानमा अन्य जिल्लामा ९५ प्रतिशत लक्ष्य लिइए पनि बाजुरामा भने सतप्रतिशत पुर्‍याउने लक्ष्य राखिएको निमित्त स्वास्थ्य कार्यालय प्रमुख खड्काले उल्लेख गरे । विद्यालय नभएका गाउँ, टोल र पिछडिएका समुदायको पहुँचका लागि थप खोप केन्द्रबाट अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप अभियानलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताए । किशोरीलाई खोपबाट वञ्चित हुन नदिन प्रचारप्रसार र समाचारका माध्यमबाट सञ्चारमाध्यमले समन्वय गर्नुपर्नेमा उनले जोड दिए ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले खोप अभियानलाई सफल बनाउन सबैले सहयोग र समन्वय गर्नुपर्ने भन्दै अभिभावकलाई आफ्ना छोरीलाई खोप लगाउन सम्बन्धित केन्द्रमा पठाउन आग्रह गरे । उनले सरकारले लिएको लक्ष्य र उद्देश्य हासिल गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । किशोरीलाई लगाइने पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको खोपमा स्थानीय तहमा अभिमुखीकरण गरिएको छ ।