`

माघ महिनामा प्रतिनिधिसभाको बैठक ६ दिनमात्र बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संसदको हिउँदे अधिवेशन १८ माघदेखि सुरु हुँदैछ । १८ माघदेखि सुरु हुने हिउँदे अधिवेशनको पहिलो दिन संसदलाई प्रधानमन्त्री केपी शर्मा ओली, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची छ ।

मंगलबार कार्य व्यवस्था परामर्श समितिले प्रतिनिधिसभा र संसदीय समितिका बैठकको कार्यतालिका तयार पारेको छ । कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक माघ महिनामा ६ दिन मात्रै बस्नेछ ।

प्रतिनिधिसभाको बैठक १८, २४, २५, २७, २८ र २९ माघमा बस्नेछ । यस्तै, माघ महिनामा पाँच दिन संसदीय समितिका बैठक बस्नेछन् ।

भारतमा धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु

लखनऊ (भारत) । उत्तरी भारतमा मङ्गलबार धार्मिक जमघटका क्रममा काठको प्लेटफर्म भत्किँदा कम्तीमा पाँच भक्तजनको मृत्यु भएको र ४० जना घाइते भएको एक अधिकारीले बताएका छन् ।

यो घटना राजधानी नयाँदिल्लीको उत्तरमा रहेको बागपत जिल्लामा भएको हो । त्यहाँ जहाँ जैन धर्मका सयौँ भक्तजन मिठाई चढाउन एक मन्दिरमा भेला भएका थिए ।

“एउटा काठको संरचना भत्किँदा पाँच जनाको मृत्यु भएको छ”, जिल्ला प्रशासक अस्मिता लालले भन्नुभयो, “अन्य ४० जना घाइते भएका छन्, तीमध्ये २० जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ ।”

जैन देवता आदिनाथको मोक्षको स्मरणमा हरेक वर्ष यस पर्वको अवसरमा यो प्लेटफर्म निर्माण गरिने एनडिटिभी समाचार नेटवर्कले जनाएको छ ।

“पुजारीहरू लड्डु (मिठाई) चढाउन गएका थिए र प्लेटफर्म त्यसमाथि रहेका सयौँ भक्तजनसहित भत्कियो”, भक्तजनमध्ये एक राकेश जैनले प्रसारणकर्तालाई भने ।

भीड व्यवस्थापन र सुरक्षा कमजोरीका कारण प्रमुख धार्मिक पर्वहरूको समयमा भारतका पूजास्थलहरूमा घातक दुर्घटनाहरू सामान्य छन् ।

गत वर्ष उत्तर प्रदेश राज्यमा एक धार्मिक प्रवचनको अन्त्यमा भएको भागदौडमा १२१ जनाको मृत्यु भएको थियो ।

अर्को घटनामा सन् २०१६ मा दक्षिणी केरल राज्यको एक मन्दिरमा हिन्दू नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको विशाल विस्फोटमा ११२ जनाको मृत्यु भएको थियो ।

मङ्गलबारको दुर्घटना नजिकैको सहर प्रयागराजमा आयोजित प्रार्थना र अनुष्ठान स्नानको हिन्दू पर्व कुम्भ मेलामा लाखौँ भक्तजन सहभागी भइरहेका बेला भएको हो ।

जैन धर्म भारतको एक प्राचीन धर्म हो । यो धर्मलाई भारतको एक अर्ब २५ करोड जनसङ्ख्याको एक प्रतिशतभन्दा कम मानिसले मान्छन् । यस धर्मले अहिंसा, कडा शाकाहारिता र सबै जीवजन्तुप्रति प्रेमको शिक्षा दिन्छ । 

अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू समेत छिटो बनाउँछौंः संचारमन्त्री गुरुङ

काठमाडौं । सरकारले हालै ल्याएका अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट जारी भएका अध्यादेश फास्टट्रयाकबाट पारित गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

उनले अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू समेत छिटो बनाउने निर्णय भएको बताए । उनले भने, ‘सरकारले सिफारिस गरेर राष्ट्रपतिबाट जारी भएको अध्यादेशहरू संसद् सचिवालयमा दर्ता गरिसकेका छौं। त्यो अध्यादेश फास्ट ट्रयाकबाट पारित गर्ने काम यो हिउँदे अधिवेशनमा हुन्छ ।’

उनले अध्यादेश ल्याउनु सरकारको संवैधानिक अधिकार भएकाले यसलाई बदनीयत नभन्न आग्रह गरे ।

उनले भने, ‘संसदबाट छलेर भागेको भए छुट्टै कुरा हो, तर अध्यादेश संसदमा पेस भएर पारित हुन्छ । अनि कसरी बदनीयत भयो त ?’

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदैछ । सोही दिन सरकारले ल्याएका ६ वटा अध्यादेश पेस गर्ने तयारी छ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक करोड भन्दाबढी ठगी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई  पक्राउ परेका छन् ।


सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका–७ घर भएका सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ निवासी २४ वर्षीया विशाखा पौडेललाई ठगेको अभियोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।  


अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै २२ लाख ३८ हजार , दवाडीले जापान पठाइदिने भनेर  दुई जनाबाट  तीन लाख,  विकले सुरेन्द्रले अमेरिका पठाइने वहानामा  ९७ लाख ५४ हजार  र पौडेलले कुवेत पठाइदिन्छु भन्दै   एक लाख ६० हजार ठगेका थिए । 


अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । 


अनलाइन जुवा खेलाएको अभियोगमा दुई जना पक्राउ


यसैबीच, अनलाइन जुवा खेलाएको अभियोगमा रामेछाप खाँडादेवी गाँउपालिका–९ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका–१३ का  २३ वर्षीय हरिचन्द्र भुजेल पक्राउ परेका छन् । 


समाचारकक्षका अनुसार उनीहरूले हालसम्म  दुई करोड ४१ हजार ६ सय ३६  बराबरको कारोबार गरेका प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । साथै प्रहरीले उनीहरूबाट नगद रु ९० हजार, चार थान मोबाइल सेट, सिपियु एक थान कम्प्यूटर,५९ वटा सिमकार्ड,  विभिन्न ब्याङका २७ थान एटिएम कार्ड र सात थान चेकबुक बरामद गरेको छ । उनीहरूलाई पनि जिल्ला प्रहरी परिसर काठमाडौँ चलान गरिएको छ ।

ट्रम्पको आपराधिक मामिलामा काम गर्ने अभियोजकहरू बर्खास्त

वासिङ्टन । अमेरिकी न्याय विभाग (डिओजे) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आपराधिक अनुसन्धानमा काम गर्ने केही अभियोजकहरूलाई बर्खास्त गरेको सिएनएनले यस मामिलासँग परिचित स्रोतहरूलाई उदृत गर्दै रिपोर्ट गरेको छ ।

कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले अधिकारीहरूलाई लेखेको पत्रमा उनीहरूलाई ट्रम्पको एजेन्डा ‘विश्वासपूर्वक’ कार्यान्वयन गर्न ‘विश्वास’ गर्न नसकिने बताएका छन् ।

उनले यी अधिकारीहरूले ट्रम्पको अभियोजनमा ‘महत्त्वपूर्ण भूमिका’ खेलेको र सरकारको उचित कार्यप्रणाली वरिष्ठ अधिकारीहरूले आफ्ना अधीनस्थहरूमा राखेको विश्वासमा निर्भर रहेको कुरामा जोड दिए ।

“तपाईँले राष्ट्रपति ट्रम्पमाथि मुद्दा चलाउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो । सरकारको उचित कार्यप्रणाली गम्भीर रूपमा उच्च अधिकारीहरूले आफ्ना अधीनस्थहरूमा राखेको विश्वासमा निर्भर गर्दछ”, म्याकहेनरीले लेखेका छन्, “राष्ट्रपतिको अभियोजनमा तपाईंको महत्त्वपूर्ण भूमिकालाई मध्यनजर गर्दै विभागको नेतृत्वले तपाईंलाई राष्ट्रपतिको एजेन्डा विश्वासपूर्वक कार्यान्वयन गर्न सहयोग गर्न विश्वास गर्न सक्दैन भन्ने मलाई लाग्छ ।”

यो कदम ट्रम्प प्रशासनले जनवरी ६ का प्रतिवादीहरू विरुद्धको आपराधिक मामिलाहरूको निरीक्षण गरेका अभियोजकहरूको अनुसन्धान गर्न कदम चालिरहेको बेला आएको हो । ट्रम्पले आफ्नो अभियानको प्रमुख प्रतिज्ञाका रूपमा बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो ।

वासिङ्टन डिसीका अन्तरिम अमेरिकी वकिल एड मार्टिनले गत गर्मीमा सर्वोच्च अदालतको निर्णयका कारण खारेज भएका केही दङ्गाकारी विरुद्ध युएस कोड १५१२(सी) अन्तर्गत अवरोध आरोप लगाएका अभियोजकहरूको अनुसन्धान सुरु गरेका छन् ।

यस प्रयासलाई ‘विशेष परियोजना’ भन्दै मार्टिनले सोमबार जारी गरेको मेमोमा अभियोजकहरूले ‘१५१२ आरोपहरूको प्रयोगसँग सम्बन्धित सबै जानकारी, सबै फाइल, कागजात, नोट, इमेल र अन्य जानकारी’ कार्यालयका दुई दीर्घकालीन अभियोजकहरूलाई दिनुपर्ने उल्लेख गरेका छन् । उनीहरूले शुक्रबारसम्म अनुसन्धानको प्रतिवेदन पेश गर्नुपर्नेछ ।

मेमोमा लेखिएको छ, “स्पष्ट रूपमा प्रयोग हाम्रो कार्यालय–एसटी निर्णयको ठूलो असफलता थियो र हामी यसको तहसम्म पुग्न आवश्यक छ ।” यसले जुनमा भएको सर्वोच्च अदालतको निर्णयलाई उल्लेख गरेको छ जसले जनवरी ६ का दङ्गाकारीहरू विरुद्ध अवरोध आरोप लगाउन सङ्घीय अभियोजकहरूको शक्तिलाई सीमित गरेको थियो ।

यो निर्णय अमेरिकी न्याय विभागले पहिले नै उच्च–प्रोफाइल अनुसन्धानसँग सम्बन्धित अधिकारीहरूको पुनर्नियुक्ति गरिसकेको बेला आएको हो । यसमा सन् २०२० को राष्ट्रपतीय चुनाव उल्टाउने प्रयासका लागि ट्रम्प विरुद्धको अहिले खारेज भएको मुद्दा पनि समावेश छ ।

जनवरी ६ का मामिलाहरूमा काम गर्ने अभियोजकहरूले मेमोले अमेरिकी न्याय विभागले ‘अनुसन्धानकर्ताहरूको अनुसन्धान’ गर्न थालेको बताएका छन् । यसलाई ट्रम्पले लामो समयदेखि धम्की दिएका छन् ।

क्यापिटल दङ्गाका मुद्दाहरूमा काम गरेका एक व्यक्तिले सिएनएनलाई अभियोजकहरूलाई यो अनुसन्धानले आपराधिक वा नागरिक आरोपहरू लगाउन खोजिरहेको छ कि छैन भन्ने थाहा नभएको र केहीले आफ्नो बचाउका लागि आफ्नै वकिल राख्न थालेको बताए ।

गत हप्ता पदभार सम्हालेदेखि नै एड मार्टिनले जनवरी ६ का प्रतिवादीहरूलाई सामूहिक माफी दिएकोमा ट्रम्पको प्रशंसा गरेका छन् ।

ट्रोल बनाउनेलाई पाँच लाख रुपैयाँ जरिवानाको प्रस्ताव

काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ ।

सामाजिक संजालको प्रयोगमा कडाइ गर्ने गरी सरकारले संसदमा विधेयक दर्ता गरेको हो । मंगलबार संघीय संसद सचिवालयमा दर्ता गराइएको विधेयकमा सामाजिक सञ्जालबाट हिंसा, घृणा, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षा तथा मुलुकको अखण्डतामा प्रश्न उठाउनेलाई कडा कारबाहीको प्रावधान राखिएको छ ।

विधेयकमा सामाजिक सञ्जालमार्फत अपराध गर्नेलाई २५ लाखदेखि एक करोड रुपैयाँसम्म सजाय हुने प्रस्ताव गरिएको छ । त्यस्तै कानुनविपरीतका सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्न नपाइने, पहिचान खुलाएर मात्र सामाजिक सञ्जाल चलाउन पाइनेसहितका प्रावधान विधेयकमा छ ।

त्यस्तै कसैको मानप्रतिष्ठामा आँच पुर्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउन नपाइने उल्लेख छ । यस्तो गरेमा ५ लाख रुपैयाँसम्मको जरिवानाको प्रस्ताव गरिएको छ । त्यसैगरी प्रचलित कानुनले निषेध गरेका वस्तुको विज्ञापन, अन्धविश्वास फैलाउने तथा जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने विषयको प्रकाशन/प्रसारणलाई पनि दण्डयोग्य कार्य मानिएको छ ।

त्यस्ता सूचना प्रचार गरी भ्रम सिर्जना भएको ठहर भए त्यस्तो सामग्री ल्याउने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पाँच लाख रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै विधेयकमा फेसबुक, एक्सलगायत सामाजिक सञ्जालले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । विधेयक पारित भएर ऐनको रूप लिइसकेको ६ महिनाभित्र अनुमति नलिए संचालनमा रोक लगाइने उल्लेख गरिएको छ ।

सुन्तलाले फेरिएको बाँसखर्कको पहिचान

सन्तोष गौतम, म्याग्दी। पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ५२ वर्षअघि बलबहादुर अर्मजा र बलबहादुर खत्रीले सुन्तलाका बिरुवा लगाउँदा तप्केनी भई खेतीबाली बिग्रन्छ भनेर छिमेकीले उखेलेर फालिदिएका थिए ।

बाँसखर्कमा व्यावसायिक सुन्तलाखेती भित्र्याउँदा काँडा रोपेर खेतबारी बिगार्न खाजेको आरोप खेपेका उनीहरु अहिले जीवित नरहे पनि समाजले सम्झिरहेको छ । अर्मजा र खत्रीको गाउँलाई समृद्ध, आत्मनिर्भर बनाउने पाँच दशकअघिको योजनाको लाभ उनका सन्ततिले मात्र नभएर सिङ्गो बाँसखर्कका बासिन्दाले लिएका छन् । सुन्तलाखेतीले बाँसखर्कवासीको आर्थिक र सामाजिक हैसियत फेरिएको छ ।

“हाम्रो बुबाले २०२८ सालमा रोपेको सुन्तलाको बिरुवा उखेलेर फालिदिएछन्, पछि २०३२ सालमा ल्याएर रोपेको बिरुवाले अहिले पनि फल दिइरहेको छ,” बलबहादुर खत्रीका छोरा नरबहादुरले भने, “बुबा बितेर गएको २२ वर्ष भयो, मैले र भाइले बर्सेनि १० देखि १३ लाखका दरले सुन्तला बेच्छौँ । बुबाको ‘पेन्सन’ हामीले खाइरहेका छौँ ।”

चौबिस वर्ष प्राथमिक तहको स्थायी शिक्षकको जागिर पूरा गरेर सेवानिवृत्त भएका ६२ वर्षीय खत्रीले सुन्तलाखेतीलाई निरन्तरता दिएका छन् । १९९७/९८ सालतिर बजारमारे र विरमारेमा सोखका लागि करेसाबारीमा एक/दुई बोट सुन्तला लगाएको थियो । व्यावसायिक चेतनाको विकास र कृषि विकास बैङ्कले ऋण दिन थालेपछि बाँसखर्कमा २०३० को दशकमा सुन्तलाखेती विस्तार हुन थालेको अगुवा कृषकहरु बताउँछन् ।

लुम्लेको कृषि अनुसन्धान केन्द्रमा काम गर्ने बाँसखर्कका सेवानिवृत्त गोर्खा सैनिकहरुको पहलमा सुन्तलाका बिरुवाको बजारीकरण हुने भएकाले केही कृषकले नर्सरी पनि सञ्चालन गरेका थिए । बलबहादुर अर्मजाले कृषि विकास बैङ्कको बेनी शाखाबाट एक हजार पाँच सय ऋण लिएर सुन्तलाको नर्सरी र बगैँचा स्थापना गरेका थिए । उक्त बगैँचामा अहिले सात सय फल दिने र एक सय हुर्कंदै गरेका सुन्तलाका बोट छन् ।

बलहादुरका जेठा छोरा हेमबहादुरले सुन्तलाखेतीबाट छोराछोरी पढाउने, घरव्यवहार चलाउनेदेखि पोखरामा घर, घडेरी जोड्न सफल भएको बताए । “बुबाले थाल्नुभएको खेतीले भाइले यसपालि ३० लाखको सुन्तला बेचेका छन्, त्यति नै सुन्तला फलेको मेरो बगैँचामा टिप्न बाँकी छ,” उनले भने, “सुन्तला बेचेरै पोखरामा दुई करोड ५० लाखमा घर किनेको छु ।”

यस वर्ष सुन्तला बेचेर २३ लाख आम्दानी गरेका शान्तबहादुर छिन्तेल आफूहरुको आर्थिक हैसियतमा धेरै परिवर्तन आएको बताए । “धान, कोदो र मकैखेती गरेर छ महिना पनि खान पुग्दैनथ्यो, छोरा, छोरी पढाउन र घरव्यवहार चलाउन विदेश जानुपर्ने बाध्यता थियो,” उनले भने, “अहिले आफू आत्मनिर्भर र स्वरोजगार भएर पनि अरूलाई समेत बगैँचामा काम दिनसक्ने भएका छौँ ।”

पूरै गाउँ सुन्तलाखेतीमा

समुुन्द्री सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटरको उचाइमा रहेको बाँसखर्कका दुई सय ३९ घरपरिवार मध्य मालगाउँ र घुमाउने तालबाहेकको बस्तीका दुई सय बढी घरपरिवारले सुन्तलाखेती गरेका छन् । मलगाउँमा किवीखेती पनि सुरु गरिएको छ ।

देशका अन्य ठाउँका बगैँचामा निख्रिएपछि माघ महिनादेखि बाँसखर्कका बगैँचामा सुन्तला टिप्न थाल्छन् । भिरालो पाखामा रहेको बाँसखर्कको बगैँचा लटरम्म फलेका पहेरपुर सुन्तलाले रङ्गिएको छ । हाँगा नुगेर चोके लगाएर अड्याएका छन् । बाटो हिँड्दा सुन्तलाका दाना टाउकोमा ठोकिन्छन् ।

यही माघ महिनाको पहिलो साता गरिएको सर्वेक्षणअनुसार बाँसखर्कको एक हजार पाँच सय रोपनी क्षेत्रफलमा ५१ हजार एक सय ५१ सुन्तलाका बोट छन् । सर्वेक्षणको नेतृत्व गरेका बाँसखर्कको ज्योतिमण्डल माविका प्रअ मेखबहादुर खत्रीले यस वर्ष २६ हजार सात सय छ बोटमा १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको जानकारी दिए ।

गत वर्ष ११ करोड र त्यसअघिको वर्ष १० करोड बराबरको सुन्तला बिक्री भएको थियो । क्षेत्रफल विस्तार, फल लाग्ने नयाँ बिरुवा थपिएको, बगैँचा व्यवस्थापन, अनुकूल मौसम, दाना झर्ने समस्या कम भएको र दाना धेरै लागेकाले उत्पादन बढेको हो । “थप २४ हजार चार सय ४५ सुन्तलाको बोट बगैँचामा हुर्किरहेका छन्,” खत्रीले भने, “सुन्तलाखेतीबाट एउटा परिवारले वार्षिक चारदेखि ४० लाखसम्म आम्दानी गर्छन् ।” सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झन्डै ४० करोड हाराहारी पुग्ने अनुमान गरिएको छ ।

बाँसखर्कका किसानले धान, कोदो, मकै, गहुुँखेतीको विकल्पमा सुन्तलाखेती गरेका छन् । पहिले बाँसको जङ्गल भएको र हिउँदमा गाईभैँसी र भेडाबाख्राको गोठ राख्ने भएकाले बाँसखर्क रहन गएको किंवदन्ती छ । पुरानो बाँसखर्कको पाखो अहिले सुन्तलाखर्कमा परिणत भएको छ ।

सुन्तला बगैँचा अवलोकन गर्न पर्यटकहरु आउँछन् । म्याग्दी र पर्वतलाई समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको प्रवेशविन्दु बाँसखर्क हो । माथिल्लो बाँसखर्कमा घरबास (होमस्टे) पनि सञ्चालन भएको छ ।

सुन्तलाबाट स्वरोजगार र आत्मनिर्भर

बाँसखर्कवासीले सुन्तलाखेतीको विकल्प देख्न छाडिसकेका छन् । अठार वर्ष कतारमा काम गरेर फर्किएका बाँसखर्कका ४२ वर्षीय जीवन न्यौपानेले वार्षिक १५ लाखसम्मको सुन्तला बिक्री गर्छन् । रोजगारीको खोजीमा २० वर्षको उमेरमा विदेसिएका उनले सुन्तलाले आम्दानी दिन थालेपछि प्रवासी बन्नु नपरेको बताए ।

“तीन सय बोट सुुन्तलाबाट वार्षिक १२ देखि १५ लाख आम्दानी हुन्छ,” उनले भने, “सुन्तलाखेती गर्न थालेपछि विदेश जानु परेन, छोराछोरीलाई राम्रो विद्यालयमा पठाएर गाउँमा सम्मानित जीवनयापन गर्न पाएकामा सन्तुष्ट छु ।”

स्नातक तहको शिक्षा हासिल गरेका बाँसखर्ककै ३८ वर्षीय राजन केसीले पनि बाबुबाजेले गरिरहेको सुन्तलाखेतीलाई विस्तार गरेर स्वरोजगार बनेका छन् । राजनको ३८ रोपनी क्षेत्रफलमा रहेको बगैँचामा एक हजार दुई सय सुन्तलाका बोट छन् ।

उनको बगैँचामा यस वर्ष ३५ लाख मूल्यको सुन्तला फलेको अनुमान गरिएको छ । “सँगै उच्च शिक्षा हासिल गरेका केही साथी शिक्षक र सरकारी जागिरे छन्, धेरै विदेश गएका छन्,” राजनले भने, “बुबाबाजेले गर्नुभएको सुन्तलाखेतीलाई निरन्तरता दिएकाले मलाई रोजगारी खोज्न र विदेश जानु परेको छैन ।”

बाँसखर्ककै युवा रमेश खत्री पनि बेनीमा फेन्सी व्यवसायसँगै गाउँमा सुन्तलाखेती गरेर स्वरोजगार बनेका छन् । बुबालाई सुन्तलाखेतीमा साथ दिएका रमेशले विदेश जाने र अन्यत्र रोजगारी गर्ने योजना नरहेको बताउँछन् । जीवन, राजन र रमेश जस्तै बाँसखर्कका धेरै युवालाई सुन्तलाखेतीले स्वरोजगार, आत्मनिर्भर बनाउनाका साथै आम्दानी र रोजगारीका लागि विदेसिनुपर्ने बाध्यताको अन्त्य गरेको छ ।

वडाध्यक्ष जगबहादुर रोकाले विदेशबाट फर्किएका र गाउँमै भएका युवाहरुले व्यावसायिक सुन्तलाखेती गरेर स्वरोजगार बनेको बताए । “सुन्तलाखेतीका कारणले हाम्रो वडाबाट बसाइँसराइ गरेर अन्यत्र जाने र विदेसिने समस्या कम छ,” उनले भने, “कतिपयले सहर र विदेशबाट समेत गाउँ फर्किएर सुन्तलाखेती गरेका छन ।”

‘ब्रान्ड’ बनेको बाँसखर्कको सुन्तला

स्वादिलो र रसिलो हुने भएकाले बाँसखर्कको सुन्तला बजारमा ‘ब्रान्ड’ बनेको व्यापारी श्रीप्रसाद खत्रीले बताए । पोखरा, काठमाडौँ, नारायणघाट, बुटवल, मुग्लिनबजारमा बाँसखर्कको सुन्तला खपत हुने उनले बताए । बेनी, बागलुङ र कुश्मा बाँसखर्कको सुन्तलाको नजिकको बजार हो । जहाँ लगे पनि बाँसखर्कको सुन्तला भनेपछि बजारको समस्या नहुने व्यापारीहरुले बताएका छन् ।

उत्तरी मोहडातर्फ भिरालो जमिनमा फैलिएको बाँसखर्क सुन्तलाखेतीका लागि उत्तम रहेको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले बताए । “यहाँको मुख्य विशेषता भनेको हिमालतिर फर्किएको जमिन छ, सुन्तलाखेतीका लागि सुहाउँदो हावापानी छ, कालो माटो र पारिलो ठाउँ भएकाले सुन्तलाखेती फस्टाएको छ”, करिब एक दशक पर्वतमा बिताएका उनले भने, “अन्यत्र बगान रित्तिसक्दा पनि बाँसखर्कमा माघ÷फागुनसम्मै सुन्तला रहन्छ ।”

अनुकूल भूूगोल, सडक विस्तार, खाद्यान्नबालीको तुलनामा धेरै गुणा बढी आम्दानी हुने, बजारको सुविधा, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण सुविधा र सरकारी निकायको प्राविधिक सहयोगका कारण बाँसखर्कका कृषक सुन्तलाखेतीमा आकर्षित भएका अगुवा कृषक जगतबहादुर खत्रीले बताए ।

कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला ‘जोन’, जलजला गाउँपालिकाको कृषि शाखाले बाँसखर्कमा सुन्तला नर्सरी स्थापना, बिरुवा वितरण, साना सिँचाइ, चिस्यानगृह निर्माण र सुन्तला बजारीकरणमा सघाएका छन् ।

‘बाँसखर्क’ सुन्तलाको रैथाने जात

धौलागिरि क्षेत्रमा खेती हुने सुन्तलाको जातलाई नेपाल कृषि अनुुसन्धान परिषद् नार्कले २०८० सालमा रैथाने ‘बाँसखर्क’ जातको ‘उन्मोचन’ (मान्यता) दिएको छ । जलजला गाउँपालिकाको कृषि शाखाका प्रमुख राजुप्रसाद गौतमले नेपालमा हाल खेती भइरहेका सुन्तलाका अन्य जातभन्दा फरक विशेषता भएको आधारमा बाँसखर्कको सुन्तलालाई रैथानेको मान्यता दिएको बताए ।

राष्ट्रिय फलफूल बाली विकास केन्द्रका अनुसार नेपालमा यसअघि घनकुटा (खोकु) स्थानीय, ओकित्सुवासे, मियागावा वासे, मरकट, योशिदा पोङकान, ओता पोङकान, किन्नो जातको सुन्तलाखेती हुने गरेको थियो । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटामा बाँसखर्कबाट लगिएको जातलाई अन्य २० जातका सुन्तलासँग तुलनात्मक अध्ययन गरिएको थियो ।

एक हजारदेखि एक हजार छ सय मिटरको उचाइ भएको पाखो जग्गामा खेतीका लागि बाँसखर्क जातको सिफारिस भएको छ । यसअघि सिफारिस भएको खोकु स्थानीयभन्दा बढी उत्पादन दिने र करिब १५ दिन छिटो पाक्नेमध्ये मौसमी जात भएको अनुसन्धानमा संलग्न टोलीले पहिचान गरेको छ । दानाका लागि ‘ब्रान्ड’ बनेको बाँसखर्कको सुन्तलाले रैथाने जातको मान्यता पाएपछि यसको बिरुवाको माग बढेको छ ।

कृषि अनुसन्धान निर्देशनालय, लुम्लेले ३०औँ वर्षदेखि र केही नर्सरीहरुले समेत यसै जातको कलमी बिरुवा उत्पादन गरी बिक्री वितरण गरिरहेका थिए । यो जातको सुन्तलाको दानाको तौल करिब एक सय ग्राम र कुल धुलनशील पदार्थ (गुलियोपना) १२ प्रतिशतसम्म पाइन्छ । जुन अन्य जातको तुलनामा बढी हो । यो जातमा क्याङ्कर र डाँठमा प्वाल पर्ने कीरोको प्रकोप कम हुने बताइएको छ ।

समस्या पनि नभएका होइनन्

विसं २०६५ मा बाँसखर्कमा जोडिएको कच्ची सडक स्तरोन्नति नहुनु, सहज सिँचाइका लागि व्यवस्थित संरचनाको अभाव, प्राविधिक जनशक्तिको कमी, मलखाद र बगैँचाको बीचमा रहेको विद्युत्को नाङ्गो तार सुन्तलाखेतीमा देखिएको चुनौती तथा समस्या हुन् । मोहनचोक–मल्लाज–बाँसखर्क र वारिबेनी–मल्लाज–बाँसखर्क जोड्ने सडक घुमाउरो छ ।

स्थानीयवासीको अगुवाइमा एक दशकअघि मार्ग खोलिएको आठ किलोमिटर दूरीको बेनी–बगरफाँट–बाँसखर्क सडक स्तरोन्नति नहुँदा ठूला सवारीसाधन बगानसम्म पुग्न नसक्दा सुन्तला ढुवानी गर्न समस्या भएको छ । ट््याक्टर र जिपबाट कच्ची सडकमा सुन्तला ढुवानी गर्दा च्यापिएर नष्ट हुने गरेको छ ।

बाँसखर्कको माथिल्लो भेगबाट मल्लाज सिँचाइ आयोजनाको नहर भए पनि हिउँदमा पानी नआउँदा सिँचाइ गर्न समस्या भएको छ । मुहान भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरेर हिउँदमा पनि पानी ल्याउन र शाखा पाइपलाइन तथा ट्याङ्की बनाएर सुन्तला बगैँचामा सिँचाइको व्यवस्था मिलाउन कृषकहरुले माग गरेका छन् ।

बाँसखर्कमा आठ वर्षअघि निर्माण भएको चिस्यानगृह नियमित विद्युत् आपूर्ति नहुँदा प्रयोगमा आउन सकेको छैन । सुन्तलाको बगैँचाको बीचमा रहेको बिजुलीको नाङ्गो तारका कारण दुर्घटनाको जोखिम छ । बरानीको पहिरो यहाँको अर्को समस्या हो ।

सुन्तलाखेतीसम्बन्धी प्राविधिक ज्ञान प्रदान गर्ने कृषि प्राविधिकको गाउँमा नियमित उपस्थिति, प्राङ्गारिक र रासायनिक मल तथा सुन्तला बगैँचा व्यवस्थापनका क्रममा बिरुवाका लागि आवश्यक पौष्टिक तत्वको व्यवस्था मिलाउनुपर्ने देखिन्छ । दाना झर्ने समस्या न्यूनीकरण गर्न प्रोट्रिन वेट छर्ने, भरेका दानालाई प्लास्टिकका बोरामा राखेर सुरक्षित व्यवस्थापन र बगैँचा व्यवस्थापनमा निरन्तरता दिनुपर्ने देखिन्छ ।

समाधानका लागि पहल

बाँसखर्कको सम्भावना उजागर गराउन र समस्याको विषयमा माथिल्लो निकायको ध्यानाकर्षण गराउन गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुको उपस्थितिमा यही माघ ११ गते बाँसखर्कमा सुन्तला महोत्सव गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुुप्रसाद आचार्यले बताए ।

“बाँसखर्कमा सुन्तलाखेतीको प्रशस्त सम्भावना छ तर यहाँको सडक, सिँचाइ, विद्युत्, पहिरो नियन्त्रणको समस्या समाधान गर्ने सामथ्र्य गाउँपालिकासँग छैन,” उनले भने, “विकासमा पछि परेको बाँसखर्कको समस्याका बारेमा सरोकारवालालाई ध्यानाकर्षण गराउने उद्देश्यले महोत्सव गरिएको हो ।”

मुख्यमन्त्री सुरेन्द्र पाण्डे, कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री पद्मा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल र सांसदहरुले बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिँचाइ सुविधा, सुन्तलाखेती विस्तार र बजारीकरणमा सघाउने प्रतिबद्धता जनाए ।

“सुन्तला ढुवानीका लागि तपाईंहरुले व्यहोर्दै आइरहेको समस्यालाई हामी छिट्टै सम्बोधन गर्नेछौँ,” मुख्यमन्त्री पाण्डेले भने, “यो वर्ष पनि जलजला गाउँपालिकाको विभिन्न पूर्वाधार योजनाका लागि प्रदेश सरकारले रु ११ करोड बजेट विनियोजन गरेको छ ।”

कृषिमन्त्री श्रेष्ठले सुन्तलाखेती विस्तार र बजार प्रवद्र्धनका लागि बाँसखर्कलगायत जलजला गाउँपालिकामा पहाडी काष्ठफल विकास परियोजना (नाफा) लागू भएको र यसमार्फत कृषकहरुलाई विभिन्न शीर्षकमा अनुदान दिइने बताए । बाँसखर्क र आसपासको क्षेत्रमा सुन्तलाखेती विस्तार, बजार व्यवस्थापन, सहज ढुवानीका लागि सडक स्तरोन्नति, पहिरो नियन्त्रण, सिँचाइको व्यवस्थापन गर्न सकेमा बाँसखर्क नमूना कृषि गाउँका रुपमा विकास हुने प्रशस्त सम्भावना छ ।

सत्ता गठबन्धनको अयोग्यताले आम असन्तुष्टि अझ बढ्ने एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान सत्ता गठबन्धनलाई अराजनीतिक साँठगाँठको संज्ञा दिएको छ ।

पार्टीका निर्णय र अन्तरपार्टी निर्देशन जारी गर्दै एकीकृत समाजवादीले सत्ता गठबन्धनको अयोग्यताले आम असन्तुष्टि बढ्ने निष्कर्ष निकालेको हो । उसले सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको ठहरसमेत गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढिरहेको एकीकृत समाजवादीले बताएको छ ।

एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘संसदलाई छलेर अध्यादेशमार्फत सत्ता सञ्चालन गर्दैछ। यसले भ्रष्टाचार नियन्त्रण गर्ने होइन भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम गरेको छ । देशमा महंगी अकासिएको छ तर सरकार मूल्य नियन्त्रण गर्ने होइन व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर दलाल व्यापारीको पक्षमा उभिएको छ। यसले किसानका समस्या समाधान गर्ने होइन भूमाफियाले हदभन्दा बढी जमीन प्लटिङ (खण्डीकरण) गरेर बेच्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर जग्गा दलाल र भूमाफियाको हितमा काम गर्दैछ ।’

त्यस्तै उसले सरकारले अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको आरोप पनि लगाएको छ । अपानिमा भनिएको छ, ‘सरकारका यस किसिमका गतिविधिले गर्दा आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको छ । हाम्रोसमेत पहलकदमीमा संसदमा रहेका प्रतिपक्षी दलहरू सरकारका उपयुक्त गलत क्रियाकलापका विरुद्ध उभिएका छन् र बैठक बसी छलफल गरेर संयुक्त वक्तव्यमार्फत् साझा धारणा सार्वजनिक गरेका छन् ।’

त्यस्तै एकीकृत समाजवादीले एमालेको सैद्धान्तिक जडता र विसङ्गतिबाट सङ्गठनात्मक निराशा र पलायनतर्फ उन्मुख भएको निष्कर्षसमेत निकालेको छ ।

अपानिमा भनिएको छ, ‘नेकपा (माओवादी केन्द्र) मा सैद्धान्तिक गतिरोध जस्ताको तेस्तै छ । आजकै अवस्था रहन दिनु कम्युनिष्ट आन्दोलनका लागि खतरनाक हुनसक्छ । यस परिस्थितिमा मुलुकको कम्युनिष्ट आन्दोलनले एउटा जिम्मेवार र शक्तिशाली हस्तक्षेपको माग गरिरहेको छ । त्यसका लागि समय कम हुँदै गएको छ ।’

२४ घण्टाभित्र आफूहरुको माग पूरा नगरे अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बहिस्कार गर्ने आवासीय चिकित्सकहरुको चेतावनी

काठमाडौं । आवासीय चिकित्सकहरूले २४ घण्टाभित्र इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको सरकारी सरह पारिश्रमिक नदिइए सेवा बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले मंगलबार विज्ञप्ति जारी गरी माग पूरा नभए अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बहिस्कार गर्ने चेतावनी दिएको हो ।

समितिले स्वास्थ्य र शिक्षामन्त्रीबीच भएको भनिएको सम्झौताले सारा नेपाली चिकित्सकको अपमान गरेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीद्वारा संयुक्त रुपमा गरिएको भनिएको सारा नेपाली डाक्टरहरुको अपमान हुने खालको सिफारिस २४ घण्टाभित्र सच्याइ सम्पूर्ण इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम सकारी सरह कायम गर्न र सम्पूर्ण पीजी कार्यक्रमहरू पूर्णतया शुल्करहित र बोन्डरहित बनाउन अन्तिम चेतावनी दिन्छौं ।’

विगतमा गरेको सम्झौताविपरीत अन्य कुनै निर्णय गरेमा आवासीय चिकित्सकहरू सशक्त रूपमा प्रतिकारमा उत्रने समितिले चेतावनी दिएको छ ।

सूर्यविनायक नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले मंगलबारदेखि आफ्नै नयाँ भवनबाट प्रशासनिक सेवा सुरु गरेको छ । 


यसअघि नगरपालिकाले टङ्कप्रसाद आचार्य प्रतिष्ठानको भाडाको घरबाट प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको थियो ।  आजदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए ।


उनले भने, “नगर प्रमुख, उपप्रमुखको कार्यकक्ष र अन्य महत्वपूर्ण शाखाहरु नयाँ भवनमा सारेर सेवा सुरु भएको छ । भोलि र पर्सिको सार्वजनिक बिदामा सबै शाखाहरु सारेर नयाँ भवनबाटै सेवा सञ्चालन हुन्छ ।”


नयाँ भवनमा ९२ वटा कार्यकक्ष, स्तनपान कक्ष, अपाङ्गमैत्री, पाँच सय सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ, आठजना क्षमता रहेको दुईवटा लिफ्ट, तीन सयजना अट्ने सेमिनार हल, दुईवटा वैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको प्रवक्ता सापकोटाले जानकारी दिए । 


नगर प्रमुख वासुदेव थापाले २०७४ सालमा पहिलो पटक नगर प्रमुखको पदबहाली गर्दा दुई कोठा र दुईजना सरकारी दरबन्दीका कर्मचारी लिएर कार्यालय सञ्चालन गरेको नगरपालिकाले आज आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सुरु गरेको बताए ।


नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन २० करोड ४१ लाख ५२ हजारमा निर्माण गरेको हो । 


मासिक एक लाख २० हजार भाडा तिर्दै आएको नगरपालिकाले सङ्घीय सरकारको दुई करोड, जिल्ला समन्वय समितिको ७५ लाख र बाँकी आफ्नै लगानीबाट भवन निर्माण गरेको जनाएको छ । नगरपालिकाले आगामी ०८३ जेठ मसान्तभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको बताए । 

राष्ट्रपति पौडेलद्वारा सोनाम ल्होसारको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसारको शुभारम्भ गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच राष्ट्रपति पौडेलले दीप प्रज्वलन गरी सोनाम ल्होसरको शुभारम्भ गरेका हुन् । त्यसक्रममा लामा गुरुहरूले विषेश पूजा र मन्त्रोचरण गरेका थिए ।

साथै, तामाङको संस्कृतिक प्रस्तुती ताम्बा र बाम्बोको प्रस्तुति गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे ।

 राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेको बताए ।

राष्ट्रपति पौडेलले तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय पर्व सोनाम ल्होसारको पावन अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको शुभकामना व्यक्त गरे ।

ट्रम्प अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक किनोस् भन्ने चाहन्छन्

बीबीसी । अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकी कारोबार किन्ने भएको छ । बीबीसीकाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक किन्न हुने बिडिङको होड आफूले हेर्न चाहेको उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेपछि ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । जसमा टिकटकलाई ७५ दिनको समय दिइएको थियो । उक्त अवधिमा टिकटक अमेरिकी कम्पनीलाई बेच्नुपर्ने उल्लेख छ । त्यसो नभए प्रतिबन्ध लाग्नेछ ।

अमर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । सहिद सप्ताहअन्तर्गत सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दप्रति आज भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

उनीहरुले अमरत्व प्राप्त गरेको शोभाभगवतीमा काठमाडौँ महानगरपालिकाले श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । सभामा श्रेष्ठ र चन्दको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको हो । तत्कालीन जहानियाँ राणा शासनविरुद्ध विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा विसं १९९७ माघ १५ गते सोही स्थानमा श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको थियो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सहिदले देखाएको निष्ठा र त्यागको आदर्श अनुकरणीय रहेकाले त्यसलाई सबैले अवलम्बन गर्नुपर्ने बताइन् ।

काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले मुलुकमा प्रजातान्त्रिक पद्धति विकास गर्न सहिदको त्याग नयाँपुस्ताका लागि प्रेरणादायी भएको बताउँदै जनतालाई सुखी तथा समृद्ध बनाउन सकेमा मात्र सहिदको सपना पूरा हुने बताए ।

काठमाडौँ महानगरपालिका–१६  का वडाध्यक्ष रोजिना श्रेष्ठले देशमा जनताका अधिकारलाई स्थापित गरी मुलुकलाई लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालन गर्न सकेमा सहिदको आत्माले शान्ति पाउने विचार व्यक्त गरिन् ।

सो अवसरमा महानगरपालिकाका विभिन्न कर्मचारी, स्थानीयवासी, समाजसेवी, शिक्षाविद्लगायतको सहभागिता थियो । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । मंगलबार सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको छ ।

आज एक तोला छापावाल सुनको मूल्य एक लाख ५९ हजार २०० कायम भएको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार १०० मा कारोबार भएको थियो ।

यसैगरी, सोमबार एक हजार ८५० कायम भएको एक तोला चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गाजाका बासिन्दालाई इजिप्ट र जोर्डनमा बसाइँ सार्ने इच्छा दोहोर्याउँदै ट्रम्प

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई इजिप्ट वा जोर्डन जस्ता ‘सुरक्षित’ स्थानहरूमा सार्ने आफ्नो इच्छा दोहोर्याएका छन् । साथै उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वासिङ्टनमा ‘चाँडै नै’ भेट गर्ने बताएका छन् । 

उनले शनिबार इजरायल र हमासबीचको १५ महिनाभन्दा बढी चलेको युद्धले प्यालेस्टिनी क्षेत्रलाई ‘भग्नावशेष’ मा परिणत गरेपछि गाजालाई ‘सफा गर्ने’ विचार अघि सारेका थिए ।

“म तिनीहरूलाई बिना अवरोध र क्रान्ति र हिंसा बिना बस्न सक्ने क्षेत्रमा बसोबास गराउन चाहन्छु”, ती टिप्पणीहरूको बारेमा सोध्दा ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई भने, “तपाईंलाई थाहा छ, जब तपाईं गाजा पट्टीलाई हेर्नुहुन्छ, यो धेरै वर्षदेखि नरक जस्तै छ… यससँग सधैँ हिंसा जोडिएको छ ।”

दुई–राज्य समाधानका लागि यसको अर्थ के हुन्छ भन्ने प्रश्नमा उहाँले नेतन्याहुसँग ‘निकट भविष्यमा’ भेट गर्ने बताए । “उहाँ मसँग भेट गर्न यहाँ आउँदै हुनुहुन्छ”, उनले भने ।

ट्रम्पले हालैका दिनहरूमा जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग पनि वार्ता गरेका छन् । अल–सिसीले ऐतिहासिक रूपमा प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने कुराको विरोध गर्दै आएका छन् ।

“म उहाँले केही लिनुहुन्छ भन्ने चाहन्छु”, ट्रम्पले अल–सिसीका बारेमा भने, “हामीले उहाँहरूलाई धेरै मद्दत गर्यौँ र म पक्का छु उहाँले हामीलाई मद्दत गर्नुहुनेछ, जसरी उहाँहरू भन्नुहुन्छ, यो एक कठिन छिमेक हो, तर म सोच्छु उहाँले यो गर्नुहुनेछ र म सोच्छु जोर्डनका राजाले पनि यो गर्नुहुनेछ ।”

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले प्रेरित युद्धले गाजा पट्टीका करिब २४ लाख बासिन्दा विस्थापित भएका छन् ।

पछिल्लो छ हप्तादेखि युद्धविराम चलिरहेको छ । युद्धविरामले गाजामा रहेका करिब एक हजार नौ सय प्यालेस्टिनी कैदीको सट्टामा ३३ जना बन्धकलाई रिहा गर्न अनुमति दिइएको छ ।

यो पहिलो चरणमा दोस्रो चरणका सर्तहरू अन्तिम बन्धकहरूलाई मुक्त गर्ने र युद्धलाई निश्चित अन्त्यमा ल्याउने उद्देश्यका साथ वार्ता गर्नुपर्नेछ ।

अन्तिम चरणमा गाजाको पुनर्निर्माण र बन्धकमा मृत्यु भएकाहरूको शव फिर्ता गर्ने काम समावेश हुनेछ ।

पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले गाजाको युद्ध–पश्चातको अवधिका लागि विभिन्न योजनाहरू तयार गरेको थियो तर ट्रम्पले अहिलेसम्म तिनको कुनै उल्लेख गरेका छैनन् । 

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन नाट्टाको माग

लुम्बिनी । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’का एयरलाइन्सको बेस बनाउन माग गरेको छ ।

नाट्टाले चीन, बौद्धमार्गी तेस्रो मुलुक र श्रमिक गन्तव्य खाडी मुलुकका लागि भैरहवा बेस न्यारोबडी जहाज सञ्चालन भएमा मात्र दीर्घकालीन हुने निष्कर्ष निकालेको हो ।

बुटवलमा सम्पन्न कार्यशालाले उक्त निष्कर्ष निकालेको हो । संस्थाका अध्यक्ष चन्द्रबहादुर थापा र महासचिव सीता बस्यालले संयुक्त रूपमा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सरकारले अझै प्रभावकारी योजना बनाउनुपर्ने माग गरिएको छ ।

यसैगरी, प्रोत्साहन सुविधासहितको प्याकेज घोषणा गरी सबै आन्तरिक हवाई उडान कम्पनीका कम्तीमा एउटा जहाजबाट निश्चित अवधिका लागि दैनिक अन्तर प्रदेश हवाई कनेक्टिभिटी उडानको व्यवस्था गर्नुपर्ने माग पनि नाट्टाले गरेको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय हवाई यात्रीका लागि बस र होटल सुविधा सहुलियत घोषणा गरी यात्रुमैत्री नीति अवलम्बन गर्नुपर्ने माग पनि गरेको छ । प्लानिङ वर्कसप तथा फेलोसीप कार्यक्रमबाट वर्षभरि गरिने पर्यटकीय कार्यक्रमको सूची निर्धारण गरिएको विज्ञप्तिमा जनाइएको छ ।

लुम्बिनी प्रदेश पर्यटन परिषद्का सदस्य माधव नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यशाला तथा फेलोसीप कार्यक्रमबाट ५० ट्राभल व्यवसायीको सहभागितामा विभिन्न विषयगत समिति पनि गठन गरिएको जनाइएको छ ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन गर्न स्वास्थ्य संस्थालाई थप चुस्त बनाइँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन एकाइले विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा चिकित्सकीय सेवालाई चुस्त बनाउन अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न उच्च प्राथमिकता दिएको छ ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरुपता ल्याउने भन्ने ध्येयले सञ्चालित सो तालिम सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रदान गरिसकिएको छ । यही हप्ता गण्डकी र बागमती प्रदेशका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तालिम सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प , कोभिड–१९ महामारी तथा २०८० साल कात्तिक १७ को जाजरकोट भूकम्पमा नेपालको स्वास्थ्य प्रणालीले प्रदान गरेका सेवा सह्रानीय रहेको जनाइएको छ ।

यो सिकाइ विश्वका लागि पनि सिकाइ भइरहेकाले विश्व स्वास्थ्य संगठनले अन्यत्र पनि कार्यान्वयमा ल्याएको छ । मन्त्रालयले द्रुत प्रतिकार्य टोली तथा आपत्कालीन चिकित्सकीय समूह परिचालनसम्बन्धी निर्देशिका, २०७९ जारी गरिसकेको छ । यही निर्देशिका अनुसार मन्त्रालयले अस्पताललाई हब र स्याटेलाइटमा वर्गीकरणसमेत गरेको छ ।

नेपालको कुनै पनि स्थानमा स्वास्थ्य आपत्कालीन अवस्था र विपद् आएको खण्डमा समयमै रोगको पहिचान, रोकथाम र उपचार गरी रोग र मृत्युदरलाई कम गर्न तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीको परिचालन गर्न सहयोग पुर्याउने द्रुत प्रतिकार्य टोली तथा आपत्कालीन चिकित्सकीय समूहमार्फत काम गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनको आर्थिक एवं प्राविधिक सहयोगमा मन्त्रालयले उक्त तालिम सञ्चालन गरिरहेको हो । विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा अस्पतालमा कार्यरत जनशक्तिको परिचालन, जिम्मेवारी, अस्पतालको सेवालाई कसरी चुस्त बनाउने भन्ने उद्देश्यले आयोजित तालिमलाई उच्च प्राथमिकता दिएको उनले बताए ।

शीतलहरबाट पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित

मोरङ । पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।

चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ ।

महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ । पूर्वी तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको छ ।

चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएको सुन्दरहरैँचा ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्कीले बताए । सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले साँझपख चाँडै चिसो बढ्न थालेपछि बजार समसाँझै सुनसान हुन थालेको उल्लेख गरे ।

न्यानो कपडाका पसलमा भने ग्राहकको भीड बढेको छ । केही सर्वसाधारण स्थानीय यहाँ चिसोले गर्दा दाउरा, गुइँठा, बालेर आगो ताप्न बाध्य छन् । कठ्याङ्ग्रिँदो चिसोसँगै केही नदेखिने गरी हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक सरोज लामिछाने बताउँछन् ।

जिल्ला अस्पतालमा बालबालिका, वृद्ध वृद्धा साथै मुटु, दम, फोक्सो, मधुमेह तथा अन्य दीर्घ रोगी चिसोले गर्दा बढेका स्वास्थ्यकर्मीको भनाइ छ ।

चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल गोठ गाउँले जनाएको छ । बाक्लो हुस्सु लागेपछि जिल्ला सदरमुकाम विराटनगर आउने हवाई उडान खराब मौसमका कारण सेवा प्रभावित हुन थालेको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकहरूले अब निर्वाह भत्ता पाउने

काठमाडौं । निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकहरूले अब निर्वाह भत्ता पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त हस्ताक्षर गरी निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई दिइने निर्वाह भत्ताको निर्णय सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंसिर ९ गते बसेको चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठकले निजी लगानीका मेडिकल कलेजले प्रदान गर्ने निर्वाह भत्ता सम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई दिएको थियो ।

सोही अनुसार विभिन्न सरोकारवालासँग पटक पटक भएको छलफलका आधारमा यो निर्णय गरिएको हो । निर्णय अनुसार सःशुल्क तर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष कम्तीमा २५ हजार, दोस्रो वर्ष कम्तीमा. ३० हजार र तेस्रो वर्ष कम्तीमा ३५ हजार रुपैयाँका दरले निर्वाह भत्ता उपलब्ध गराइनेछ ।

यो व्यवस्था शैक्षिक सत्र २०८१/८२ देखि नै लागू हुनेछ । त्यसैगरी, निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययनपश्चात् दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्ने व्यवस्था मिलाउन नेपाल सरकारले आवश्यक कानुनी प्रबन्ध गर्ने निर्णय पनि गरिएको छ ।

निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल एवम् प्रचलित श्रमसम्बन्धी कानुन बमोजिम मर्यादित सेवा सुविधा उपलब्ध गराउनुपर्नेछ ।

आशिका तामाङमाथिको ज्यादती कुशासनको पराकाष्ठ !

सोविता गौतम ।

देशको भूगोल सुन्दर छ तर जनता गरिबी, अन्याय, र असमानताको साङ्लोमा जेलिएका छन्। भ्रष्टाचारको साम्राज्य यस्तो छ कि सत्ताधारीहरू जनताको दुःख र पीडामाथि सत्ताको सुपारी खेल्दैछन् । एउटा नागरिकले सरकारलाई बारम्बार आग्रह गर्यो— ‘यहाँ ठगी भइरहेको छ, नियन्त्रण गर, हाम्रो आवाज सुन, हाम्रो पीडा बुझ, हाम्रो समस्या समाधान गर।’ तर सरकारलाई त्यो पीडाले छोएन, छुँदै त छोएन। अन्ततः, त्यो नागरिकले सहन नसकेर सडकमा आवाज उठायो। त्यो आवाज आक्रोशले भरिएको पिडा थियो, सरकारले सुन्नै नसक्ने चर्को चिच्याहट थियो । विद्रोहको शैलीमा प्रश्न हुन सक्छ तर नियत केवल सामाजिक न्याय थियो ।

यहाँ सरकारले के गर्यो ? समस्याको समाधान खोज्नुको साटो, त्यो आवाज उठाउनेलाई नै अपराधी करार गर्यो । काखमा दूधेबालक भएकी आमालाई हत्कडी लगायो। सरकारले आमाको ममतामाथि बुट बजार्यो, अबोध बच्चाको काख खोसिदियो। सरकारले आफ्नो दायित्व बिर्सियो। समस्याको जड बनेर, सत्ताको ढालले जनताको आवाजलाई दबाउन थाल्यो। यो केवल दुःखद होइन, यो लज्जास्पद हो । यस्तो शासन गर्दैछ सरकार, जहाँ बोल्ने अधिकार त छ, तर सत्य बोल्दा कैद हुन्छ। आखिर, यो देश त शासकको मात्र रहेछ।
कुशासनको पराकाष्ठ ! आशिका तामाङमाथिको ज्यादती बन्द गर, सरकार !

नेपाल फाइनान्सियल एक्सन टास्कफोर्सको सम्भावित ‘ग्रे लिष्ट’ मा पर्न सक्ने

काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) को सम्भावित ‘ग्रे लिष्ट’ मा पर्न सक्नेबारे चिन्ता व्यक्त गरिएको छ ।

‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने मुख्य नाराका साथ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आयोजना गरेको सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८१ का वक्ताहरूले नेपालले कानुनी सुधारमा उल्लेख्य प्रगति गरेको भए पनि संरचनागत र व्यावहारिक सुधारमा कमजोर हुँदा जोखिम बढेको धारणा राखे ।

सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको कार्यान्वयन पक्ष कमजोर रहेको स्वीकारे ।

“नेपालले कानुन, नियम, आवश्यक संरचना निर्माण, अनुसन्धान, अभियोजन लगायतका काम गरिरहेकै छ । तर एउटा सत्य के हो भने हामीले जति गर्नुपर्ने हो त्यति गर्न सकेका छैनौँ । जसका कारण हामी दुनियाँका सामु बलियो रूपमा प्रस्तुत हुन सकिरहेका छैनौँ”, अर्थमन्त्री पौडेलले भने, “पहिलो र दोस्रो चरणको मूल्याङ्कन पार गरेर आएको नेपाल तेस्रो चरणको मूल्याङ्कनमा बलियो भएर प्रस्तुत हुन सक्नुपथ्र्यो । तर हामी त्यसमा कमजोर भयौँ ।”

सम्भावित जोखिम टार्न सबै निकाय र सरोकारवालाहरूले आ–आफ्नो काम जिम्मेवारीका साथ पूरा गर्नुपर्ने उनको भनाइ छ ।

“निगरानीतर्फ नधकेलियोस् भनेर प्रयास भइरहेको छ । जुन सावधानी र तत्परताका साथ काम हुनुपथ्र्यो, त्यसमा चुकेका छौँ । हामी आफैँले बनाएको कानुन प्रभावकारी कार्यान्वयनमा जोड दिने र अनुसन्धान तथा अभियोजनका काम तदारूकताका साथ गर्ने हो भने हामी सम्भावित जोखिम टार्न सक्छौँ”, अर्थमन्त्री पौडेलले भने ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मामलामा अनुसन्धान र अभियोजन गर्दा निर्दोष नफस्ने र दोषी नउम्कने गरी काम गर्न पनि अर्थमन्त्री पौडेलले निर्देशन दिए । त्यस्तै, यस प्रक्रियामा संलग्न हुने सबै निकाय र सरोकारवाला निकायहरूबीच आवश्यक समन्वय तथा सहकार्य, जनचेतना अभिवृद्धिलगायत काम गर्नुपर्नेमा पनि उनले जोड दिए ।

सम्पत्ति शुद्धीकरण निवारणको विषय नेपालको मात्र नभएर विश्वस्तरकै समस्या रहेको र धेरै मुलुकले यो समस्यासँग जुध्न र वित्तीय स्वच्छता कायम गर्न विभिन्न प्रयास गरिरहेका अर्थमन्त्री पौडेलले उल्लेख गरे ।

‘एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (एपिजी) ले दुई वर्षअघि नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ‘पारस्परिक मूल्याङ्कन प्रतिवेदन’ (म्युचुअल इभालुएसन) गरेर एफएटिएफलाई प्रतिवेदन बुझाएको थियो । जसमा एफएटिएफले ४० वटा सुधारका क्षेत्रहरू औँल्याएको थियो ।

नेपालमा गैर–वित्तीय क्षेत्र नियमनको दायरामा आउन नसक्दा यो क्षेत्रमा सम्पत्ति शुद्धीकरणको बढी जोखिम देखिएको, आतङ्ककारी क्रियाकलापमा भइरहेको वित्तीय लगानीलाई नेपालले ‘ट्र्याकिङ’ गर्न नसकेको, उच्च जोखिमका बाबजुद सम्पत्ति शुद्धीकरणसँग जोडिएका मामिला अनुसन्धान र जाँचबुझमा नेपाल कमजोर देखिएको, कानुनी सुधारको गुञ्जायस देखिए पनि कार्यान्वयनमा चुकेको लगायतका विषय एपिजीले आफ्नो प्रतिवेदनमार्फत औँल्याएको थियो ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारणका लागि कानुनी सुधार र संस्थागत क्षमता विकास गर्न नेपालले उच्च तहको प्रतिबद्धता, पर्याप्त स्रोत साधन परिचालन, अन्तरनिकाय समन्वयलगायत विषयमा ध्यान दिनुपर्ने सुझाव नेपाललाई दिइएको थियो ।

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले अवैध सम्पत्ति शुद्धीकरणको अनुसन्धान र अभियोजनका काममा ढिलासुस्ती हुने गरेको बताए ।

“एउटा निकायले मुद्दा दायर गर्‍यो भने अर्को निकायले फाइल घुमाउने र ढिलासुस्ती गर्ने होइन । सबै निकाय जिम्मेवार भएर काम गरौँ”, उनले भने, “ऐन संरचना, मूल्याङ्कनको प्रक्रिया पर्याप्त छ । तर सक्रियता पर्याप्त छैन । नियम कानुनको कार्यान्वयन पर्याप्त छैन । रिपोर्टिङ प्रभावकारी छैन, समयमा छैन । त्यसकारण हामी अन्तर्राष्ट्रिय समुदायको निगरानीको अवस्थासम्म पुगेका छौँ । अबको एक वर्ष गम्भीर भएर नलागे हामी गम्भीर सङ्कटमा पर्नेछौँ ।”

अवैध र गैरकानुनी काम गरेको छभने जुनसुकै ठूलो मान्छे, वित्तीय घराना पनि पर्न सक्छन् । शासन व्यवस्थामाथि प्रतिघात गर्ने प्रवृत्ति निरूत्साहित गर्नुपर्छ । आ–आफ्नो ठाउँबाट काम गर्नुपर्छ । कार्ययोजना बनाएको छ, त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गरौँ । अनुसन्धान गर्ने १३ वटा निकाय रहेकामा सबैले समन्वयात्मक रूपमा काम गर्नुपर्छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव फणीन्द्र गौतमले नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन त्यति सन्तोषजनक देखिएको बताए ।

यो जोखिमबाट बच्न एउटा मात्र संस्थाको जिम्मेवारी नभई सूचक संस्था, नियामक निकाय र सरोकारवाला निकायहरू एकजुट भएर लाग्नुपर्ने बताए । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजना र एकवर्षे कार्ययोजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नयाँ जोखिम बढिरहेको र सूचना प्रविधिको प्रयोगबाट अवैध सम्पत्तिको शुद्धीकरण गर्ने प्रवृत्ति बढेको बताए । “एउटै खालका जोखिम सधैँ रहिरहँदैनन् । नयाँ–नयाँ जोखिम आइरहेका छन् । ‘डिजिटल’ कारोबारबाट अवैध क्रियाकलाप हुने क्रिप्टोलगायत अवैध क्षेत्रमा लगानी गर्नेजस्ता समस्या देखिन थालेका छन्”, गभर्नर अधिकारीले भने ।

नेपाल एफएटिएफको ग्रे लिष्टमा परेको अवस्थामा पनि चाँडो बाहिर निस्कने गरी आधार तयार पार्नुपर्नेमा उनले जोड दिए ।

“सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपालले धेरैवटा कानुन बनाएको छ । हामीसँग पर्याप्त कानुन छन् । तिनलाई नियमित रूपमा संशोधन र समयानुकूल बनाउने तथा कानुन कार्यान्वयनका लागि आवश्यक संरचना र निकायहरूले नतिजामुखी काम गर्नसक्नुपर्छ”, गभर्नर अधिकारीले भने, “कथंकदाचित हामी लिस्टिङ भयौँ भने पनि त्यसबाट चाँडोभन्दा चाँडो निस्किने आधार तयार पारेका छौँ । ऐनकानुन पर्याप्त बनेका छन्, त्यसको कार्यान्वयन र प्रभावकारिताको विषय महत्त्वपूर्ण हो ।”

अवैध सम्पत्तिको शुद्धीकरण मामलामा कडा कारबाही गर्नुपर्ने पनि उनको भनाइ छ । त्यस्तै, यस विषयमा सबै सरोकारवाला निकाय र व्यक्तिहरूलाई पर्याप्त जानकारी तथा चेतना दिन आवश्यक रहेको उनको भनाइ छ । “यस विषयमा चेतना प्रवर्द्धन कमजोर छ । सबै सरोकारवाला निकायहरूले समन्वयात्मक रूपमा कार्य गरी सुशासन र पारदर्शिता कायम गरिनुपर्छ ।”

महान्यायाधिवक्ता रमेश वडालले अपराध नियन्त्रणका लागि अनुसन्धान तथा अभियोजन प्रक्रिया चुस्त बनाउने र सँगसँगै अपराध नै हुन नदिने अवस्थाको सिर्जना गरिनुपर्नेमा जोड दिए ।

“अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाइरहँदा हामीले अपराध हुनै नदिने अवस्थाको सिर्जना कसरी गर्ने भन्ने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्छ । सम्बन्धित नियामक निकायहरूले ठीक समयमा ठीक काम गर्ने हो भने धेरै हदसम्म समस्या समाधान गर्न सकिन्छ”, वडालले भने । सम्पत्ति शुद्धीकरण निवारणका विषयमा गलत प्रचार हुने गरेको तर वास्तविक कुरा बाहिर नआउने गरेको पनि उनले उल्लेख गरे । त्यस्तै, वैध व्यवसाय गर्नेहरूले यसबाट डराउन नहुने पनि महान्यायाधिवक्ता वडालले बताए ।

“वैध व्यापार व्यवसाय गर्ने व्यक्ति डराउनु पर्दैन । कसुरमा संलग्न नभएको र आपराधिक काम नगरेको व्यक्ति डराउनु पर्दैन”, उनले भने ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले अनुसन्धान र अभियोजनका कार्यमा विभागले पछिल्लो समय उत्कृष्ट कार्य गरेको दाबी गरे ।

“विभागले यो वर्षको पहिलो अर्धवार्षिक अवधिमै १५ वटा मुद्दा दायर गरिसकेको छ । यो सङ्ख्या विगत वर्षहरूको औसत तुलना गर्दा झन्डै दोब्बरभन्दा बढी हो । यिनमा झन्डै ५५ अर्ब बराबरका बिगो माग दाबी लिई मुद्दा दायर भएका छन्”, महानिर्देशक दाहालले भने, “पछिल्लो एक वर्षमा करिब ३० वटा मुद्दा फैसला पनि भएका छन् । स्थापनाकालदेखि हालसम्म विभागले दायर गरेका एक सय १७ वटा मुद्दामा सफलता दर झन्डै ८५ प्रतिशतको हाराहारीमा छ ।”

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐन संशोधनपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीबाट पनि मुद्दा दायर हुन थालेको उनले बताए । पछिल्लो समय नेपाल राष्ट्र बैङ्कलगायत नियामकहरूले पनि सम्पत्ति शुद्धीकरण निवारणको क्षेत्रमा आफ्नो कारबाहीलाई सशक्त तुल्याउँदै गलत गर्नेलाई कारबाहीस्वरूप जरिवाना गरिरहेका उनले उल्लेख गरे ।

“वित्तीय प्रणालीमा व्यापक सुधार भएको छ । तर सुधार एक निरन्तर प्रक्रिया भएकाले पछिल्लो समय देखिएका नवीनतम आपराधिक क्रियाकलापहरू, विशेषतः डिजिटल अपराधहरूले हाम्रो प्रणालीको सुधारलाई चुनौती दिइरहेका छन् । त्यसलाई सामना गरेर अगाडि बढ्न सक्ने सुधार चाहिएको छ”, महानिर्देशक दाहालले भने ।

एफएटिएफले सन् २०२२ मा गरेको पास्परिक मूल्याङ्कनपश्चात् प्राप्त भएका ७७ वटा सुझावहरू समेटेर पाँचवर्षे रणनीतिक कार्ययोजना बनाइ कार्यान्वयनमा ल्याएको पनि विभागले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण मामलामा नेपालले राम्रो गरिरहेको भए पनि अन्तर्राष्ट्रिय रूपमा आफ्नो साख जोगाउन नसक्ने अवस्थामा पुग्नु चिन्ताको विषय रहेको महानिर्देशक दाहालको भनाइ छ ।

“केही कुराहरू हामीले राम्रो गर्नका लागि गरिएका भए पनि नतिजा बिग्रिएका छन् । कतै भूमिका बिग्रिएका छन्भने कतै प्रक्रिया बिग्रिएका छन् । हामीले काम त गरिरहेका छौँ तर चक्काले गुडाएर हैन कि जबर्जस्ती घिसारेर गरिरहेका छौँ”, उनले भने, “अब क्षेत्रगत जोखिम मूल्याङ्कन गरी राष्ट्रिय मूल्याङ्कन प्रतिवेदन तीन महिनाभित्र तयार पार्नुपर्नेछ र त्यसकै आधारमा हामीले हाम्रा नियमन, अनुसन्धान र अभियोजनलाइ तीव्रता दिनुपर्नेछ ।”

मन्त्रिपरिषद्को गत पुस १६ गतेको बैठकले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ जारी भएको दिन पारेर हरेक वर्ष माघ १४ गतेलाई सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार विभागले पहिलोपटक यो दिवस मनाएको हो ।

सङ्कटा फुटबल क्लब सभापति कपको फाइनलमा

काठमाडौँ । मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै सङ्कटा फुटबल क्लब सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा सोमबार सेमिफाइनल खेलमा सङ्कटाले मच्छिन्द्रलाई सडनडेथमा ८–७ गोलले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । 

खेलको निर्धारित ९० औं मिनेटमा खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । सडनडेथमा सङ्कटाका राम थापा, सृजन क्षेत्री, सन्तोष खत्री, साम कालोस, दीप कार्की, अबेक रिचर्ड, रोशन पहारी र बोयटेङ इमानुवेलले गोल गरे । चन्दन दासको पेनाल्टी मच्छिन्द्रका गोलकिपर प्रदीप भण्डारीले बचाए ।

त्यस्तै मछिन्द्रका समीरराज थोकर, दीवाकर चौधरी, सनिश श्रेष्ठ, ओमोलाजा करिम, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, विमल घर्तीमगरले गोल गरे । तर, आयुष घलानको प्रहार दीप कार्कीले रोके भने दयानन्द सिंहको प्रहार गोल पोष्टबाट बाहिरियो ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको उक्त प्रतियोगिताको उपाधि विजेताले रु २६ लाख तथा उपविजेताले  १३ लाख पाउनेछ ।

अध्यादेशमा सबै दलले एउटै मत राख्ने सत्तारुढ दलको निर्णय

काठमाडौं । सत्तारुढ दलले संसदमा एक भएर प्रस्तुत हुने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलहरुको बैठकले संसदमा सत्तारुढ दल एक ढिक्का भएर प्रस्तुत हुने निर्णय गरेको हो ।

बैठकले अध्यादेशमा सबै दलले एउटै मत राख्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । अधिवेशनलाई बढीभन्दा बढी कानुन निर्माण गर्ने अधिवेशनका रूपमा अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको विषयमा ब्रिफिङ गर्दै त्यसको बचाउमा सत्तारुढ दल एकढिक्का भएर संसदमा प्रस्तुत हुनुपर्ने बताएका छन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सबै दल एक ढिक्का हुनुपर्नेमा जोड दिएका थिए ।

सोमबारको बैठक मुख्य रुपमा संसदमा सत्तारुढ दल कसरी प्रस्तुत हुने भन्ने विषयमै केन्द्रित रहेर छलफल भएको थियो । यसअघि कांग्रेस र एमाले आआफ्ना संसदीय दलका बैठक राखेर आआफ्ना सांसदहरूलाई अध्यादेशबारे ब्रिफिङ गरेका थिए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवा, एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतहरू सहभागी थिए।

काठमाडौँ महानगरपालिकाभित्र ४६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र ४६ हजार ९८५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने लक्ष्य राखिएको छ ।

सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो खोप दिइनेछ ।

महानगरपालिकाको स्वास्थ्य विभागले सामुदायिक र संस्थागत गरेर ४९९ वटा विद्यालयका छात्राहरुको संख्या गणना गरेको छ । विभागको विरणमा ७९ वटा सामुदायिक र ४२० वटा संस्थागत विद्यालय छन् । यी विद्यालयहरुमा ४२ हजार ५७ जना छात्रा अध्ययनरत छन् । विद्यालयबाहिर ४ हजार ९२८ जना किशोरीहरु रहेको विवरणमा उल्लेख छ ।

आज बसेको खोप समन्वय समितिको वैठकमा, महिला स्वास्थ्य र खोपका विषयमा कुरा गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, दीर्घ रोग रोकथामका लागि महानगरपालिकाले सञ्चालन गरेका सहभागितामूलक कार्यक्रममा आमनागरिकबाट सहयोग प्राप्त हुने अपेक्षा गरिन् ।

जनस्वास्थ्य कार्यालय काठमाडौँका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टका अनुसार प्रति १ लाख महिलामध्ये ४ भन्दा कम संख्यामा क्यान्सर सीमित गराउने लक्ष्य अनुरुप खोप सेवा सञ्चालन गरिएको हो । ‘विश्व स्वास्थ्य संगठनले शिफारिस गरेको र नेपालका औषधि व्यवस्था विभागमा दर्ता भएको यो खोप सुरक्षित छ ।’ विष्टले भने ।

पाठेघरको मुखको क्यान्सरबाट बच्न ३ चरणका उपाय छन् । १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एच.पि.भी. खोप लगाउनु पहिलो उपाय हो । दोस्रो उपायमा ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउनु पर्छ । तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनु पर्छ । बाल कल्याण महाशाखाका निर्देशक डा. विवेकलाल कर्ण भन्छन्, ‘नेपाल सरकारले यी ३ वटै चरणमा ९० प्रतिशत कभरेज गर्ने लक्ष्य राखेको छ । यसका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण छ ।’

स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीका अनुसार महानगरपालिकामा माघ २२ गते र माघ २५ गते गरेर दुई चरणमा अभियान सुरु हुनेछ । पहिलो चरणमा वडा नं. १, २, ५, ८, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र ३० वडामा खोप सुरु हुनेछ । वडा नं. ३, ४, ६, ७, ९, १०, १३, १४, १५, १६, २६, २९, ३१ र ३२ मा माघ २५ गतेदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ ।

वडा क्लिनिक र स्वास्थ्य प्रवर्धन केन्द्रले विद्यालयहरुसँग समन्वय गरेर खोप केन्द्र निर्धारण गर्नेछन् । जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका फोकल पर्सन मैयाँ सैजुका अनुसार विद्यालयमा खोप लिन छुटेका र विद्यालयभन्दा बाहिरका किशोरीहरुका लागि कार्यक्रमको अन्तिम दिन स्वास्थ्य प्रवर्धन केन्द्रबाट खोप दिइनेछ ।

पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन ४ जना महिलाहरूको मृत्यु भइरहेको छ । महिलाहरुलाई क्यान्सर मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर पहिलो कारण हो । यो क्यान्सर ह्यूमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुन्छ ।

यो भाइरसलाई एच.पि.भी. भाइरस भनिन्छ । एचपिभी भाइरसबाट संक्रमित व्यक्तिसँग यौन सम्पर्क हुँदा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । यसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक

काठमाडौं । सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकमा प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले विष्णुप्रसाद पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतकसमेत सहभागी छन् ।

बैठकको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरूलाई संसदको पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

बैठकमा समसामयिक राजनीतिका साथै सरकार सञ्चालन, संसदको हिउँदे अधिवेशनलगायतका विषयमा छलफल हुने बताइएको छ । यही १८ माघदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ ।

आगामी फागुन महिनामा सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको आसन्न अधिवेशनको ३ हप्ताअघि हतारहतार हतास मनस्थितिमा काम देखाउन सरकारले पाँचवटा अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको छ ।

सोमबार बसेको पार्टी सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्दै अध्यादेशका अन्तर्वस्तुगत सारमाथि रास्वपाका सांसदहरुले गुण–दोषका आधारमा खरो बहस गर्ने निर्णय गरेको हो ।

बैठकले संसदमा दुई तिहाई बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शितभएको निष्कर्ष निकालेको छ । बैठकले केन्द्रीय सचिवालय सदस्य/पदाधिकारीहरुको नेतृत्वमा आगामी फागुन महिनामा सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने निर्णय पनि गरेको छ ।

‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाको काम रोक्न अर्थको निर्देशन

काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यूएसएआइडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिएको हो ।

‘यूएसएआइडी र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ अग्रिमेन्टमार्फत् नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चार वटा आयोजनाहरूमा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थगित भएको युएसएआइडी नेपालले पत्रमार्फत जानकारी गराएको छ’, विज्ञप्तिमा भनिएको छ, “यस अवधिमा स्थगित भएका आयोजनाअन्तर्गत युएसएआइडी स्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराइएको छ ।’

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा परेका ‘यूएसएआइडी हेल्थ डिरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआइडी एग्रीकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआइडी एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ र ‘यूएसएआइडी इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’मा यूएसएआइडीले सहवित्तीय लगानी गरेको छ ।

युएसएआइडीले यी आयोजनामा आउने अनुदान ९० दिनका लागि रोकिएको जानकारी अर्थ मन्त्रालयलाई गराएकाले उसको स्रोतबाट हुने खर्चअन्तर्गतका काम रोक्न निर्देशन दिइएको मन्त्रालयका सहसचिव महेश भट्टराईले जानकारी दिए । ती आयोजनामा नेपाल सरकारबाट स्रोत बेहोर्ने गरी तय भएका कामहरू भने रोकिने छैनन् ।

खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’

काठमाडौँ– जोगवनी नाकादेखि सङ्खुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ।

सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङ्कासम्म पर्ने एक सय ५८ किलोमिटर सडकको ट्र्याक खन्ने काम सम्पन्न भएसँगै उक्त सडकको आज ‘ब्रेक थ्रु’ गरिएको हो।

खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्र्याक खुलाएसँगै आज सङ्घीय सरकारका तीन मन्त्रीको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो।

उक्त सडकको भोटखोला गाउँपालिका–१ च्याम्ताङमा सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो। उक्त सडकको ‘ब्रेक थ्रु’ सँगै भारतदेखि चीनसम्मको कोशी राजमार्गको ट्र्याक खोल्ने कार्यसँगै सडक स्तरोन्नति र चौडा बनाउने काम हुनेछ।

यसअघि उक्त सडक ब्रेक थ्रु गर्न मन्त्री खड्काले निरन्तर पहल गर्दै आएको थियो। उनले गत पुस १२ गते रक्षामन्त्री राई र निर्माणमा संलग्न नेपाली सेनाको टोलीलाई भेटेर सडक चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएको थियो।

कार्यक्रममा मन्त्री खड्काले खाँदबारी–किमाथाङ्का सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका साथै बङ्गलादेशले फाइदा लिनसक्ने उल्लेख गरे।

सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्री खड्काले भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका थिए। किमाथाङ्का क्षेत्र हुँदै अरुण नदीको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य जलविद्युत् आयोजना निर्माण गर्न सकिने मन्त्री खड्काको भनाइ थियो। “यो सडकको पहुँचमार्फत जलविद्युत् विकासमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने हुँदा यो शीघ्र सञ्चालन गर्न आवश्यक छ,” उनले भने।

कार्यक्रममा रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुकको विकासमा महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताए। उनले समयअगावै सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएकामा नेपाली सेनालाई धन्यवाद दिए। मन्त्री राईले पूर्वको किमाथाङ्का नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे। बाँकी रहेको काम चाँडो सम्पन्न गर्ने गरी काम गर्न मन्त्री राईले सेनालाई निर्देशन दिए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडकखण्डको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट अभाव हुन नदिने बताए। उनले उक्त सडकखण्डमा पर्ने पुल निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरे।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले उक्त सडक निर्माणले भोटखोलाको आर्थिक विकासमा सहयोग पुग्ने बताउ। “सडक ब्रेक थ्रुसँगै भोटखोला, सङ्खुवासभा र सिङ्गो मुलुकका लागि सुनौलो दिनको सुरुआत भएको छ,” उनले भने। कार्यक्रममा नेपाली सेनाले आफूले गरेको कामको प्रगतिबारे जानकारी गराएको थियो। सेनाले सडक निर्माणका लागि बजेट अपुग रहेकाले बजेट सुनिश्चित गरे सडक चौडाइको काम चाँडो सम्पन्न गर्न सकिने जनाएको छ। 

निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

चितवन ।  चितवनको सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका छन् । बढ्दो चिसोमा ती हात्ती खुला आकाशमुनि बाँधिएका छन् ।

निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आएको भन्दै ती हात्तीलाई वन क्षेत्रमा राखिएको हो । होटलमा हात्ती राख्न छानो हालिएको भए पनि अहिले राखिएका ठाउँमा त्यो सुविधा छैन । होटल भिष्टा चितवनका सञ्चालक रमेश सिलवाल शीतलहरमा खुला आकाशमुनि हात्ती राख्नुपर्दा बिरामी हुने चिन्ता बढेको बताउँछन् । ‘पहिले पहिले हात्ती पाल्न रहर हुन्थ्यो, अहिले कहर भएको छ,’ उनले भने, ‘पालिएका हात्ती न आफ्नै हात्ती सारमा राख्न पाइएको छ, न बिक्री गर्न पाइन्छ, न कतै पठाउन सकिन्छ ।’ पशुअधिकार भन्दै पर्यटकलाई घुमाउँदा समेत आरोप खेप्नुपरेको उनको गुनासो छ ।

एउटा हात्तीलाई दुईजना माउते आवश्यक पर्दछ । यसका अतिरिक्त हात्तीलाई धान, पराल, भेली, चना, हरियो घाँस आदि जुटाएर पाल्नुपर्दा एक महिनामा एक लाखभन्दा बढी खर्च हुने उनले जानकारी दिए । यो मौसममा जङ्गली भाले हात्ती बस्ती पस्न थालेपछि स्थानीयले एकीकृत रूपमा हात्ती पाल्न दबाब दिँदै आएका छन् । जङ्गली हात्तीले होटल तथा व्यक्तिका घरमा मालिएका पोथी हात्ती खोज्दै बस्ती पस्ने गरेको स्थानीयको भनाइ छ । केही महिनाअघि देखि जङ्गली हात्ती ‘मकुना’ वस्ती छिर्दै आएको छ । पछिल्ला दिनमा निजी हात्ती सञ्चालकमा आफूले पालेका हात्ती कसरी व्यवस्थित गर्ने भन्ने चिन्ता बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएसँगै निकुञ्ज आसपासका क्षेत्रमा हात्ती पाल्न थालिएका हुन् ।

क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराई एकीकृत रूपमा हात्ती पाल्नका लागि सरकारी तवरबाट सहयोग हुनुपर्ने बताउँछन् । यो समस्या अहिलेको मात्र नभएर विगतका वर्षदेखि झेल्दै आएको उनको भनाइ छ । पूर्वअध्यक्ष भट्टराईका अनुसार हात्तीको दैनिक आहार खर्च अत्यधिक बढेको, निकुञ्ज आउने पर्यटकको संख्या घटेको, पशुअधिकारका नाममा हात्ती चढ्नु अपराध हो भन्ने भाष्य सिर्जना गरिएको र जङ्गली हात्तीको आतङ्कका कारण आवश्यक स्याहारसुसारसहित घर कम्पाउन्डमा पाल्न नपाउने भएकाले हात्तीपालकले अहिले अप्ठ्यारो अवस्था झेलिरहनु परेको छ ।

‘जिप सफारी’ सहित हात्ती चढी दुर्लभ एकसिङ्गे गैँडा, बाघ, चराचुरुङ्गीलगायत अनेकौँ जीवजन्तु हेरेर रमाउने पर्यटकका कारण चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको बताउनुहुन्छ, क्षेत्रीय होटल संघका अध्यक्ष गङ्गा गिरी बताउँछन् । यसैगरी, स्थानीय पर्यटन तथा होटल व्यावसायी सिलवालका अनुसार हात्तीपालनमा संलग्न व्यवसायीलाई सहयोगसहित कुनै पनि किसिमको सहुलियत नदिने हो भने यो व्यवसायबाट सबै विस्थापित हुने र त्यसको नकारात्मक प्रभाव निकुञ्ज केन्द्रित होटल व्यवसाय, रोजगारी र राजस्वमा असर पर्ने भएकाले समयमै सम्बन्धित पक्षका ध्यान जान आवश्यक छ ।

स्वदेश तथा विदेशमा समेत कहलिएको यो निकुञ्ज २०३० सालमा स्थापना भएको हो । सुरुका केही वर्ष निकुञ्जका हात्तीले पर्यटक घुमाउने गरेकामा पछिल्ला वर्षहरुमा क्रमशः निजी क्षेत्रबाट पालिएका हात्तीलाई पनि भित्र्याइएको छ । कोभिडको महामारी अघिसम्म एउटा हात्तीको मूल्य भारतीय रु ८० लाखसम्म पर्ने गरेको व्यावसायीहरू बताउँछन् ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले यसरी हात्तीको दैनिक खर्च अत्यधिक हुने गरेको, विशेषगरी विदेशी पर्यटक हात्ती चढ्न छाडेको र यसअघिजस्तो आफ्नो घर कम्पाउन्डमा पाल्न नपाउने अवस्था सिर्जना भएकाले हात्ती पालक व्यवसायी मारमा परेको बताउँछन् ।

पर्यटकीय स्थल सौराहा आउने पर्यटकको संख्या कम हुन थालेपछि क्रमशः घट्दै एक सयबाट अहिले यहाँ ४५ वटा मात्र निजी हात्ती रहेको अध्यक्ष खतिवडाले जानकारी दिए । तीमध्ये ३० वटा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाअन्तर्गत रहेका छन् ।

अध्यक्ष खतिवडाले भने, ‘निजी जग्गामा राख्दा वरिपरि घर हुन्छ । सामुदायिक वा मध्यवर्ती वन क्षेत्रका खाली ठाउँ पाए हामी एकीकृत गरेर हात्ती राख्न तयार छौँ ।’ सधैँका लागि एकीकृत ढङ्गबाट हात्ती राख्ने ठाउँको व्यवस्था भए आबश्यक संरचना व्यवसायी आफैँले बनाउने उनले बताए । हात्ती व्यक्तिको भए पनि कानुनका हिसाबले हात्ती सरकारीसरह नै हुने गर्दछ । हात्तीको किनबेच, ओसारपसार, मरेपछिको व्यवस्थापन लगायतका काममा सरकारको प्रत्यक्ष निगरानी हुने व्यवस्था छ ।

क्षेत्रीय होटल संघका अध्यक्ष गिरी निजी हात्ती आफ्नो जमिनमा नराख भन्न नसकिने उल्लेख गर्दै एकीकृतस्थल व्यवस्थापनका पक्षमा पहल भइरहेको बताउँछन् ।

उनले भने, ‘बाघमारा र चित्रसेन वनक्षेत्रभित्र हात्ती राख्नका लागि ठाउँ छुट्याइ दिनसक्यो भने अहिलेको समस्या समाधान हुन्छ ।’ सफारी पर्यटनमा हात्तीको भूमिका महत्त्वपूर्ण छ । यहाँ आउने पर्यटकले हात्ती चढेर तीनै दुई वनभित्र घुम्ने गर्दछन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त निजी हात्ती व्यवस्थापनको बिषयमा छलफल भइरहेको बताउँछन् । एकीकृत रूपमा हात्ती राख्न सकेमा अहिले देखिएको समस्या केही हदसम्म कमी आउने उनको भनाइ छ । डा. पन्तले सरकारी जमिनमा निजी हात्ती राख्न नीतिगत रूपमा कानुनी व्यवस्था हुनुपर्ने भएकाले सम्बद्ध क्षेत्रका व्यवसायीको मागबमोजिम समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त जनाएका छन् । 

अहिले नै पार्टी राजनीतिमा सक्रिय भइहाल्ने बेला भएको छैनः पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले नै पार्टी राजनीतिमा सक्रिय भइहाल्ने बेला नभएको बताएकी छन् ।

सोमबार विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा पूर्वराष्ट्रपति भण्डारीले अहिलेको अवस्थामा देशमा शान्ति, स्थायित्व र दिगो विकासको लागि आफू सक्रिय रूपमा शिक्षा, युवा, महिला र रोजगारीको विषयमा सक्रिय रूपमा उपस्थिति देखाएको बताइन् ।

पार्टीमा आबद्ध हुने नहुने, कुन पार्टीमा हुने भन्ने कुरा फरक विषय भए पनि राजनीतिबाट कोही अछुत नभएको उनले बताइन्। उनले राजनीति भन्दा कोही टाढा नहुने भएकोले ढिलो चाँडो एमालेमै फर्किने बताइन् ।

उनले हिजो पनि एमालेमा नै जन्मिएको, हुकेको, बढेर यहाँसम्म ल्याएकोले फेरि पनि त्यहीँ फर्किने उनको भनाई थियो ।

उनले भनिन्, ‘नेपालको हितको लागि के के गर्नुपर्छ, त्यसको राष्ट्रिय एजेन्डाहरूमा मेरो चासो हुने नै भयो । मैले जलवायु परिवर्तनको कुरा गरिरहेको छु, म युवा वैज्ञानिकहरूसँग भेट गरिरहेको छु भने त्यसलाई तपाईँहरू कसरी बुझ्नुहुन्छ?’

उनले देशको स्थायित्व, शान्ति र प्रगति होस् भन्ने कुरामा आफूले चासो राखेको बताइन् । उनले भनिन्, ‘वर्गीय, शोषण, श्रमको विरुद्धमा हिजोदेखि नै लागेकोले देशको समग्र विकासको लागि लाग्छु । जहाँसम्म दलीय रूपमा रहेर जिम्मेवारी लिने की नलिने भन्ने कुरामा अहिलेसम्म म प्रवेश गरिसकेको छैन ।’

रोशीद्वारा क्षतिग्रस्त गौरवका आयोजना पुनर्निर्माणको माग

काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले निर्माण भइरहेका ‘गौरवका आयोजना’ गत असोज दोस्रो साता बाढीपहिरोबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माणका लागि माग गरेको छ । गाउँपालिकाले निर्माणाधीन एवं निर्माण सकिएका तीन ठूला गौरवका आयोजना पुनर्निर्माण गर्न सम्बन्धित निकायलाई पत्राचारमार्फत माग गरेको हो ।

गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोका कारण गाउँपालिकामा निर्माण सम्पन्न भएका तीन ठूला आयोजनामा पूर्ण रुपमा क्षति पुगेको थियो । गाउँपालिका अध्यक्ष दिनेश लामाले ‘गौरव’का योजना मानिएका तीन आयोजनाको पुनर्निर्माणका लागि सङ्घ सरकारलाई पत्राचार गरिएको बताए । उनका अनुसार नेपाल सरकारको सम्बन्धित मन्त्रालयले क्षतिग्रस्त ती आयोजनाको प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन् ।

बाढीपहिरोले वडा नं ११ स्थित कालढुङ्गामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने ‘डम्फु जीवन्त सङ्ग्रहालय’सहितको पार्क रोशी खोलाले बगाएको छ । सङ्ग्रहालयमा तामाङ जातिको रहनसहन, वेशभूषा, संस्कृति, रीतिरिवाज तथा सो समुदायले प्रयोग गर्ने सामग्री तथा पुस्तक राख्ने तयारी गरिएको थियो । लामाका अनुसार निर्माण सम्पन्न भएको नौ डायमिटरको डम्फु, सङ्ग्रहालय भवन, पुस्तकालय भवन, वनभोजस्थल, पार्किङस्थल र बगैँचा रोशी खोलाको बाढीले बगाएको थियो ।

१४ करोडको लागतमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको सङ्ग्रहालय भवन निर्माणमा नेपाल सरकारको पाँच करोड तथा गाउँपालिकाको ३८ लाख ६९ हजार खर्च भएको थियो । करिब अन्तिम चरणमा रहेको पार्कका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले पाँच लाख विनियोजन गरेको थियो ।

सङ्ग्रहालय हाताभित्र करिब दुई करोडमा निर्माण गरिएको औद्योगिक ग्रामको प्रशासनिक भवन तथा शीतभण्डार र खानेपानी आयोजनाका संरचना पनि बाढीले बगाएको थियो । उद्घाटनको तयारी भइरहेको ग्रामको संरचना जगैदेखि बाढीले बगाएको छ ।

यस्तै, १ नं वडामा निर्माणको अन्तिम चरणका पुगेको १० शय्याको आधारभूत अस्पतालको भवनसमेत बाढीले बगाएको थियो । नेपाल सरकारको रु छ करोड पाँच लाख २४ हजार लागतमा सम्पन्न हुने अस्पतालको संरचना सम्पन्न गर्न आगामी पुस मसान्तसम्मको समयसीमा थियो ।

यसैगरी, रोशी–११ कालढुङ्गामा करिब ७० रोपनी क्षेत्रफलमा तयार भएको चिस्यान केन्द्रसहित औद्योगिक ग्रामको प्रशासनिक भवनसहितको संरचना पनि बाढीले बगाएको छ । सङ्घीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा निर्माण हुने ग्रामका लागि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक करोड ६८ लाख र गाउँपालिकाको ५४ लाख गरी दुई करोड २२ लाख खर्च भइसकेको थियो ।

बाढीपहिरोमा परी उक्त गाउँपालिकामा छ महिला, तीन पुरुष, एक बालक र तीन बालिका गरी १३ जनाको मृत्यु भएको थियो भने चार सय ८२ घर पूर्ण रुपमा तथा आठ सय ८३ घरमा आंशिक रुपमा क्षति पुगेको थियो । गाउँपालिका कार्यालयको तथ्याङ्कअनुसार बाढीपहिरोले दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियो भने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय र चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो ।

यसैबीच, गाउँपालिकाले घर पूर्ण रुपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालेको छ । पहिलो चरणमा घर पूर्ण रुपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिका अध्यक्ष लामाका अनुसार विभिन्न दाता संस्थाको सहयोगमा वडा नं २ बाट अस्थायी आवास निर्माणको काम सुरु गरिएको तथा वडा नं ९ को नार्के आसपासको क्षेत्रमा हालसम्म ५० वटा निर्माण भइसकेको छ । हाल वडा नं २ मै थप पाँच घर निर्माणाधीन अवस्थामा रहेको लामाले बताए ।

उक्त गाउँपालिकाले विपद् व्यवस्थापनका लागि गत कात्तिक ३० गते नै विशेष गाउँसभामार्फत चालु आर्थिक वर्षमा योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर दुई सय ६६ योजना संशोधन गरेको छभने विपद् कोष दुई करोड ८० लाखको बनाएको जनाएको छ ।

कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद् खर्च, बाढीपहिरोले पु¥याएको क्षतिको तथ्याङ्क सङ्कलन, राहत वितरणलगायत विविध शीर्षकमा खर्च गर्नेगरी संशोधन गरिएको गाउँपालिकाले जनाएको छ । 

आठौँ चेम्बर एक्स्पो यही माघ १७ देखि हुने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा आठौँ संस्करणको चेम्बर एक्स्पो, २०२५ यही माघ १७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेभएको छ ।

अन्तर्राष्ट्रिय स्तरका सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) परियोजनासहित एक्स्पो आयोजना हुन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

स्थानीय उत्पादनको प्रबद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहकार्यमा एक्स्पो आयोजना गर्न लागिएको हो । एक्स्पोमार्फत नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिँदै  व्यावसायीक क्षेत्रलाई एकीकृत गर्ने उद्देश्य लिइएको उनको भनाइ छ । 

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको ‘ब्याकअप’का रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।

व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देशभित्र खपत हुने सफ्टवेयरको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए । 

क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न एक्स्पो सहयोगी हुने एक्स्पो समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए । 

चेम्बर अफ कमर्शका सूचना प्रविधि समति सभापति विज्ञान श्रेष्ठले एक्स्पोमा यसपटक आईटी उत्पादनहरुलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

विगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ताकपडाका सामान,  अटोमोबाइल, विद्युतीय सामग्री, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रशाधन, खाद्यान्न तथा दुग्ध उत्पादन प्रदर्शनीका लागि राखिनेछन् ।

एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया,  मलेसिया, पाकिस्तानलगायतका देशमा उत्पादित वस्तुहरुको समेत प्रदर्शनी हुनेछ । कूल एक सय २५ भन्दा बढी स्टल रहने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

ओझेलमा भक्तपुरका चारधाम

लक्ष्मी गारु, भक्तपुर ।  ख्वप लाय्कू (भक्तपुर दरबार स्क्वायर) परिसरमा अवस्थित पवित्र तीर्थस्थल चार धाम देवस्थल ओझेलमा परेको छ । ख्वप लाय्कूको दक्षिण पश्चिममा अवस्थित चार धामका पाँचै देवस्थल मल्लकालीन राजाहरूको पालामा निर्माण गरिएको भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

भक्तपुरमा चार धामका पाँच देवस्थल रहेका छन् । ख्वप लाय्कू प्रवेश गर्ने मुख्य प्रवेशद्वार खौमा ढोकाको दक्षिणतर्फ रहेको चार धामअन्तर्गत बद्रीनाथ, जगन्नाथ, केदारनाथ, द्वारिकानाथ (गोपीनाथ) र रामेश्वर महादेवको देवस्थल रहेको छ । भक्तपुरको ख्वप लाय्कूमा अवस्थित तलेजु भवानीसहित चार धामका पाँच देवस्थलका देवीदेवताको श्रद्धापूर्वक नियमित पूजापाठ गर्नाले मृत्युपछि वैकुण्ठबास हुने धार्मिक विश्वास स्थानीयहरूको रहेको छ ।

चार धामका सबै देवलमा दैनिक बिहान नित्य पूजा हुन्छ । दिनभरि बन्द हुने यी देवलहरूमा नित्य पुजाका क्रममा मन्दिरभित्रै गएर पूजाआजा र दर्शन गर्न पाइने द्वारिकानाथका पुजारी विनोदराज शर्माले बताए । ‘प्रचार–प्रसार नहुँदा भक्तपुरमा चार धाम छ भन्ने नै आमनागरिकलाई जानकारी छैन । यहाँका स्थानीय पनि खासै पूजाआजा र दर्शन गर्न आउँदैन,’ उनले भने ।

उनका अनुसार द्वारिकानाथको मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाको दिन नसा (भुटेको मकै, गहुँ, लाभा, भटमास) ले भगवान्को आकृति बनाई पूजा गर्ने परम्परा रहेको छ । त्यसैगरी, वर्षको एक दिन पुरोहित राखेर रुद्री पूजा गरी केदारनाथको बुसादाँ (जन्मदिन मनाउने) गर्ने परम्परा छ ।

चार धाममा बालाचतुर्थीमा सतबीज छर्ने परम्परा पनि छ । मल्लकालदेखि चल्दै आएको यो परम्परा अहिले पनि कायमै रहेको पुजारी शर्मा बताउँछन् । चार धाममा महास्नान गराउने परम्परा भने लोप भइसकेको छ । शिखर शैलीमा दाँचीअप्पाले निर्मित देवस्थलको गर्भगृहमा डेढ फिट अग्लो भगवान् विष्णुको मूर्ति छ । मन्दिरमा ढुङ्गाको कलात्मक थाम, कलात्मक काठको ढोका र अगाडि एक जोडा सिंह रहेको छ ।

जगन्नाथ मन्दिर राजा भूपतिन्द्र मल्लकै पालामा निर्माण गरिएको हो । यस मन्दिरमा बायाँ सेतो बलराम, बीचमा रातो सुभद्रा दायाँ, नीलो कृष्णको काठको मूर्ति रहेको छ । यी तीन देवीदेवताको संयुक्त नाम जगन्नाथ हो । हाल यस मन्दिरको पुनःनिर्माण कार्य भइरहेको छ ।

केदारनाथ मन्दिरमा पशुपतिमा जस्तै जलहरी भएको शिवलिङ्ग स्थापना गरिएको छ । राजा भूपतिन्द्रको समयमा निर्माण गरिएको यो मन्दिर पनि दाँचीअप्पाले शिखर शैलीमा निर्माण गरिएको छ । मन्दिरको चारै दिशामा चारवटा बुर्जाहरू जडित एकादश रुद्रका सुनमोलम्बा लगाएको धातुको शिरोभाग मूर्तिहरू, कलात्मक ढुङ्गाको थाम र धातुको गजुरले बनेको छ । मन्दिरको अगाडि ढुङ्गेधारा र पश्चिममा साँढे रहेको छ ।

द्वारिकानाथ (गोपीनाथ) मन्दिर दुईतल्ले झिँगटीको छाना र सुनको मोलम्बा गजुर भएको मन्दिर हो । काठका कलात्मक झ्याल ढोकाहरूले निर्मित मन्दिरमा दायाँबायाँ नृत्य मुद्रामा रहेको कृष्णका जेठी र माइली श्रीमती सत्यभामा र रुकुमणीको बीचमा महाविष्णु ध्यानमा रहेका कृष्णको मूर्ति छ । यसमा माथिको दुई हातमा शङ्ख र गदा र तलको दुई हातले बाँसुरी समाएको छ । दुई गाईमाथि खुट्टा टेकेर आसन बनाएको छ । मूल प्रवेश अगाडि गरुडध्वज स्तम्भ रहेको छ ।

त्यसैगरी, रामेश्वर मन्दिर जलहरीसहितको शिलाको शिवलिङ्ग भएको मन्दिर हो । छ फिट अग्लो प्लेटफर्मको बीचमा शिवलिङ्ग भएको यस मन्दिर चुनासुर्की प्लास्टरले ढलान गरी घोप्टिएको कमलको फूलको आकारका छाना भएको नाग शैलीको मन्दिर हो । यस मन्दिरमा जलहरीसहितको शिवलिङ्ग र शिलाका कलात्मक थामहरू छन् ।

चार धामका रुपमा प्रख्यात देवस्थलमा द्वारिकानाथ, केदारनाथ, बद्रीनाथ र जगन्नाथ पर्दछ । भारतमा चार धाम यात्राका बेला हिउँदमा केदारनाथ जान नसक्ने अवस्थामा रामेश्वरको दर्शन गर्ने प्रचलन रहेको छ । सोही अनुसार भक्तपुरमा चार धाम निर्माण गर्ने क्रममा केदारनाथसँगै रामेश्वरको पनि देवस्थल निर्माण गरिएकाले पाँचवटा धाम रहन गएको पुजारी शर्माले बताए ।

मल्लकालमा राजधानी सहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चार धामको देवस्थलहरूको नित्य र पर्व पूजा गुठी संस्थानमार्फत सञ्चालनमा छन् । त्यसैगरी, मर्मतसम्भार कार्यका लागि स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भइरहेको छ ।

भारतमा जान नसक्ने तथा आर्थिक अवस्था कमजोर भएका र असहाय अशक्तलाई आफ्नै ठाउँमा चार धाममा दर्शन एवं पूजा गर्न सहज भएको छ । आर्थिक रूपले कमजोर, कार्य व्यस्तताले भारतमा जान नसक्नेहरू, वृद्धवृद्धा, बालबालिकाहरूका लागि यही दर्शन पूजन गराउने उद्देश्यले तत्कालीन राजधानीको मुटु भक्तपुरको लाय्कूमा यी देवलहरूको तान्त्रिक विधिपूर्वक प्राण प्रतिस्था गरी स्थापना गरिएको इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।

भक्तपुरमा चार धाम स्थापना गर्र्नुको अर्को कारण तत्कालीन शैव र वैष्यमा कुनै भेदभाव छैन भन्ने सन्देश दिनु पनि रहेको किंवदन्ती रहेको छ । तत्कालीन समयमा शिवका अनुयायी शैव समुदाय र विष्णुका अनुयायी वैष्य समुदायबीच केही मतभिन्नता रहेको अवस्थामा नेपाल मण्डलमा त्यस्तो कुनै बेमेल छैन भन्ने सन्देश दिन दरवार क्षेत्रभित्र चार धामका पाँच देवलको निर्माण गरिएको हुनसक्ने प्राडा श्रेष्ठको कथन छ ।

विष्णुको लोकप्रियता अत्यन्त बढेको त्यतिबेला सामाजिक एकता र सद्भाव झल्काउन एकै स्थानमा चार धाम निर्माण गरेको उनको भनाइ छ । ‘धार्मिक समन्वय सांस्कृतिक एकता र सद्भावको एउटा उत्कृष्ट उदाहरण हो चार धाम । शिव र विष्णुमा कुनै भेदभाव छैन भन्ने भाव यसले दिन खोजेको छ,’ प्राडा श्रेष्ठले भने ।

मल्लकालमा राजधानी सहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चार धामको देवस्थलहरू नृत्य र पर्व पूजा गुठी संस्थानमार्फत सञ्चालनमा छन् । त्यसैगरी, मर्मतसम्भार कार्यका लागि स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भइरहेको छ । चार धामअन्तर्गत बद्रीनाथ, जगन्नाथ र केदारनाथको देवल १९९० सालको भूकम्पले केही क्षति पुर्‍याएको थियो । केदारनाथको गजुरको भागमा क्षति भएर जीर्णोद्धार गरिएको थियो । त्यसपछि २०७२ सालको भूकम्पले पनि केदारनाथको देवलको आधा भाग भत्काए पनि भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरिसकेको छ ।

पछिल्लो अनुसन्धानका क्रममा नेपाल संवत् ३४७ मै जगन्नाथको जीर्ण प्रतिमा फेरिएको पुरानो अभिलेखमा फेला परेको प्राडा श्रेष्ठले बताए । ‘जगन्नाथको देवल राजा यक्ष मल्लको भन्दा पहिला आन्नदेवको समयतिर १२औँ शताब्दीमा स्थापना भएको अनुसन्धानले देखाएको छ । त्यो समय नेपाल मण्डलमा जगन्नाथको मुख्य केन्द्र भक्तपुर र त्यसपछि चार धाम कान्तिपुर र ललितपुरमा विस्तार भएको हो,’ उनले भने ।

भारतको सिक्किममा केही वर्षअघि निर्माण गरेको चार धामको प्रचारप्रसारले अहिले पश्चिम सिक्किममा वार्षिक लाखौँ धार्मिक पर्यटक दर्शनका लागि जाने गरेका छन् । भक्तपुरमा भएको चार धामको पनि प्रचारप्रसार गरी दैनिक रुपमा दिनभरि भक्तजनले दर्शन गर्नसके वार्षिक लाखौँ भक्तजन आउने र यसले आन्तरिक र बाह्य पर्यटन विकासमा थप टेवा पुग्ने देखिन्छ ।

अमेरिकाबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिसन सुरु

न्यूयोर्क। सबैभन्दा धेरै पुरस्कार राशि भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन दुईको अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ ।

संसारका ५ महादेशहरूमा पर्ने १२ देशका १४ शहरहरूमा तय गरिएका डिसनको सुरुवात अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ ।

अमेरिका र क्यानडाका नेपाली जातिका गायन र नृत्यका प्रतिभाहरू सम्मिलित एक भव्य समारोहका बीच आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए ।

विश्वभर छरिएर रहेका नेपाली जातिका कलाकारबीच प्रतिष्पर्धा गराइने यी दुबै शो का विजेताले १ करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख पुरस्कार पाउने छन् ।

शुभारम्भका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले संसारको जुनसुकै कुनामा बसे पनि आफ्‌नो मौलिक संस्कृतिलाई जीवन्त राख्न प्रयत्न गरिरहनु पर्ने बताए ।

उनले नेपाली जातिको अमूल्य संस्कृतिले नै आफूहरूलाई नेपाली बनाएको भन्दै यसलाई जोगाउन विश्वस्तरीय दुई शोहरु सुरु गरिएको बताए ।

नेपाली जातिको संस्कृतिलाई गीत, सङ्गीत र नृत्यका माध्यमबाट अर्को पुस्तासम्म पुस्तान्तरण गर्ने, यही माध्यमबाट नेपाली जातिको एकतालाई संसारभर मजबुत पार्ने र जहाँसुकै बसे पनि नेपाली जातिलाई नेपाल देशसँग जोड्ने उद्देश्यले गैरनाफामूलक संस्था फाउण्डेसनले शो आयोजना गर्दै आएको पनि उनले जानकारी दिए ।

अमेरिकाबाट सुरु भएको अडिसन युरोपका लण्डन र पोर्चुगल, जापानको टोकियो, चीनको हङ्गकङ्गमा फेब्रुअरी १५ र १६ मा हुँदैछ भने अष्ट्रेलियाको सिड्नीमा फेब्रुअरी २३, थाइल्याण्डको बैकक, युएईको दुबईमा फेब्रुअरी २२ र २३ मा हुने जानकारी पनि दिइयो ।

त्यसैगरी, कतारको दोहामा फेब्रुअरी २१ मा र भारतको मुम्बईमा मार्च १ र २ मा अडिसन हुने छन् । भारतको सिलगुडीमा मार्चको ८ र ९ तारिकमा अडिसन सम्पन्न गरेपछि नेपालका विभिन्न चार शहरहरू बिर्तामोड, पोखरा, नेपालगञ्ज र काठमाडौं अडिसन सम्पन्न गरी संसारभरबाट छानिएका प्रतिभाहरूलाई फाउण्डेसनले आफ्‌नै खर्चमा नेपाल लैजाने र बाँकी प्रतिष्पर्धालाई अघि बढाउने छ । दुवै शो हरु नेपाल टेलिभिजनबाट प्रसारण गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

अमेरिका र क्यानडाका गीत र नृत्यका ६० भन्दा बढी प्रतिभाहरूले भाग लिएको सो अडिसनबाट गीततर्फ ६ जना र नृत्यतर्फ ५ जना छनौट गरिएको छ । अमेरिकाको फिल्ड अडिसनका लागि निर्णायकहरुमा गायनतर्फ बरिष्ठ संगीतकार सुशील विश्वकर्मा, गायकहरु केशब पौडेल, अर्जुन रसाइली र संगीतकार मुस्कान बलम्पाकी मगर तथा नृत्यतर्फ नायक दीलिप रायमाझी, शंकर बिसी, रुपेश उप्रेती र पार्वती राई थिए ।

कार्यक्रममा अध्यक्ष अधिकारीले फाउण्डेसनको संस्कृति विभागको प्रमुखमा पेन्सिलभेनिया निवासी ओमराज गुरुंगलाई नियुक्त गरिएको जानकारी पनि दिएका थिए । मेरो डान्स युनिभर्सको अमेरिका अडिसनका दिन इन्ट्रा डान्स स्कूल कोलम्बसका विद्यार्थीहरुले समेत आकर्षक नृत्यहरु देखाएका थिए ।

सरकार ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै अर्थ छैनः प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार भएको बताएका छनत् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रको पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताए ।

“अब नेपालमा विकासको क्रममा अगाडि बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभइकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अब देशलाई स्थिरता दिने सङ्कल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ ।”

प्रधानमन्त्री ओलीले पूर्वसहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गरे । उनले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए चाँडै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले आफूलाई रूघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भने, “मलाई रूघाखोकी लागेको हो । एन्टिबायोटिकले अलि कमजोर बनाएको छ तर हाच्छिउँ गरेको देख्यो भने आइसियु कक्षकमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् ।”

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित सङ्ख्या भएकाहरूको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरूको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे । उनले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख वासुदेव थापालगायतले राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणका ऐक्यबद्धताको मर्मका साथ काम गर्नुपर्नेमा जोड दिए ।

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ६१ अङ्कले घटेर आज दुई हजार छ सय ३३ दशमलव ३२ को बिन्दुमा कायम भएको छ ।

विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७२ लाख ५३ हजार पाँच सय ७६ कित्ता शेयर ८७ हजार पाँच सय ६४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ९२ करोड ४० लाख ६५ हजार आठ सय ८८ बराबरको कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूह शून्य दशमलव ५५, होटल तथा पर्यटन शून्य दशमलव ५१, लगानी शून्य दशमलव ७७, जीवन बीमा एक दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ६७, व्यापार एक दशमलव ८३ र अन्य समूह एक दशमलव ६६ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक समूह शून्य दशमलव ७२, वित्त तीन दशमलव ४६, जलविद्युत् शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६७ र लघुवित्त शून्य दशमलव ०४ प्रतिशतले बढेको छ ।

न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सप्तकोशी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य आठ दशमलव ४६ प्रतिशतले घटेको छ ।
कारोबार रमकका आधारमा आज सबैभन्दा धेरै सिन्धु विकास बैंक लिमिटेडको रू २९ करोड ८३ लाख ७९ हजार आठ सय १३ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी–५० को सबैभन्दा धेरै छ लाख ७५ हजार एक सय ५९ कित्ता शेयर किनबेच भएको छ ।

जापानको ओसाकाद्वारा एक्स्पो २०२५ अगाडि सडकमा धुम्रपान गर्न प्रतिबन्ध

टोकियो । यस वर्षको विश्व एक्सपोअघि थप आगन्तुक–मैत्री बन्ने प्रयासको एक हिस्साका रूपमा जापानी सहर ओसाकाले सोमबार सार्वजनिक सडकहरूमा धुम्रपानमा प्रतिबन्ध लगाएको छ ।

एक्सपो २०२५ मा लगभग १६० देश र क्षेत्रहरूले भाग लिइरहेका छन् । यो प्रत्येक पाँच वर्षमा विभिन्न विश्वव्यापी स्थानहरूमा आयोजित कार्यक्रमको नवीनतम संस्करण हो ।

“विश्व एक्सपो अप्रिलमा सुरु हुँदैछ । हामी संसारभरका धेरै मानिसलाई स्वागत गर्न चाहन्छौँ, त्यसैले हामी ओसाकालाई यस्तो सहर बनाउन चाहन्छौँ जहाँ मानिसहरूले धुवाँमुक्त सडकहरूमा सुरक्षित महसुस गर्छन्”, मेयर हिदेयुकी योकोयामाले जनवरीको सुरुमा भने ।

सोमबारअघि ओसाका स्टेसन वरपरका क्षेत्रसहित छ वटा क्षेत्रमा धुम्रपानमा प्रतिबन्ध लगाइएको थियो । यो सम्पूर्ण सहरमा विस्तार गरिएको छ र उल्लङ्घनकर्ताहरूलाई एक हजार येन (६.४० डलर) जरिवाना लाग्नेछ ।

स्थानीय नियमहरूले पहिले नै जापानका धेरैजसो स्थानमा हिँड्दा धुम्रपान गर्न प्रतिबन्ध लगाएका छन् तर केही सांसदहरूको विरोधले कडा राष्ट्रिय कानूनहरू बन्न रोकेको छ ।

अप्रिलदेखि विस्तृत ओसाका क्षेत्रले ३० वर्गमिटर (३२० वर्गफिट) भन्दा ठूलो बस्ने क्षेत्र भएका भोजनालयहरूमा धुम्रपान गर्न प्रतिबन्ध लगाउनेछ । यद्यपि धुम्रपान कक्ष जस्ता छुट्टै स्थानमा धुम्रपान गर्न अनुमति दिइएको छ ।

हालको राष्ट्रिय कानूनले एक सय वर्गमिटर भन्दा बढीको भोजन क्षेत्र भएका प्रतिष्ठानहरूमा धुम्रपान गर्न प्रतिबन्ध लगाउँछ । एक्सपो २०२५ ले ढिलो टिकट बिक्री र निर्माण बजेटमा सार्वजनिक चिन्ताका साथ सङ्घर्ष गरिरहेको छ ।

छ महिने कार्यक्रमका लागि जनवरीको सुरुसम्म लगभग ७५ लाख टिकट बिक्री भएको थियो । यो आयोजकहरूको लक्ष्यको आधा हो ।

टोकियो ओलम्पिकको तयारीका लागि सन् २०१८ मा राजधानीले सबै रेस्टुरेन्टमा धुम्रपान निषेध गरेको थियो । टोकियोका केही जिल्लामा बाहिर धुम्रपान गर्न अझै अनुमति छ ।

जापानको केन्द्रीय र स्थानीय सरकारहरूले चुरोट करबाट वार्षिक लगभग २० खर्ब येन (१३ अर्ब डलर) कमाउँछन् । विश्वको तेस्रो ठूलो सुर्तीजन्य कम्पनी जापान टोबाकोमा पनि राष्ट्रिय सरकारको एक तिहाइ हिस्सा छ ।

व्यापक विश्वव्यापी प्रवृत्तिसँगै जापानमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गएको छ । सन् २०२३ मा धूम्रपान गर्नेहरूको अनुपात १५ दशमलव सात प्रतिशत रहेको छ ।

जेजु विमानको जेट इन्जिनमा चराको प्वाँखसँगै रगतको दाग भेटिएको दावी

सियोल । गत डिसेम्बरमा दुर्घटनाग्रस्त भएको जेजु एयरको विमानको दुवै इन्जिनमा चराको प्वाँख र रगतको धब्बा फेला परेको सोमबार सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमानमा चालक दलका सदस्यसहित १८१ जना यात्रु सवार थिए ।

दुर्घटनाग्रस्त उक्त विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाइै सख्त घाइते अवस्थामा उद्धार गरिएको थियो । यो दक्षिण कोरियाली भूमिमा भएको सबैभन्दा खराब हवाई दुर्घटना थियो।

दक्षिण कोरियाली र अमेरिकी अन्वेषकहरूले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्, चराको आक्रमण, खराब अवतरण गियर र रनवे अवरोधलाई सम्भावित समस्याको रूपमा परीक्षण गरिएको छ।

दुर्घटनास्थलबाट बरामद गरिएका दुवै इन्जिनको निरीक्षण गरिएको र दुवै इन्जिनमा चराको रगतको धब्बा र प्वाँख फेला परेको प्रतिवेदनमा उल्लेख छ ।

“चालकले धावनमार्ग ०१ नजिक आइपुग्दा चराहरूको एक समूह पहिचान भएको जनाएका र सुरक्षा क्यामेराले एचएल ८०८८ लाई चराहरूको समूहको नजिक आउँदै गरेको भिडियो खिचेको भेटिएको छ,” जेटको दर्ता नम्बर उल्लेख गर्दै रिपोर्टमा भनिएको छ।

विमान दुर्घटना हुनुअघिका क्षणहरुमा इन्जिनले काम गर्न छोडेको थियो वा थिएन भन्नेबारे भने केही बताइएको छैन ।

डिएनए विश्लेषणले प्वाँख र रगत साइबेरियाबाट जाडो याममा कोरिया आउने बैकाल गैरी (बैकल टिल्स) नामक प्रवासी चराहरूको रहेको हुनसक्ने बताएको छ ।

रिपोर्टमा ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर दुबैले विपत्तिको चार मिनेट अघि नै काम गर्न छोडेको भेटिएको उल्लेख गरिएको छ ।

विमानमा मुख्य चालकले (क्याप्टेन) को छ हजार ८०० घण्टाभन्दा बढी उडान गरेको र सहायक चालकले एक हजार ६५० घण्टाभन्दा बढी उडान गरेको अनुभव थियो। दुर्घटनामा दुवैको मृत्यु भएको थियो भने दुई जना परिचारिका मात्र बाँचेका थिए ।

जेजु विमान अवतरणका क्रममा कङ्क्रिटको तटबन्धमा ठोक्किँदा आगोको ज्वालासहित विस्फोट भएको थियो, जसले धावनमार्गको अन्त्यमा किन यस्तो प्रकारको अवरोध राखिएको थियो भन्ने प्रश्न खडा गरेको छ ।

गत हप्ता अधिकारीहरूले राष्ट्रव्यापी विमानस्थलहरूमा यस्ता कङ्क्रिटका अवरोधहरूलाई अन्य सजिले ‘तोड्न सकिने संरचनाहरू’ द्वारा प्रतिस्थापन गर्ने बताएका थिए।

कांग्रेसको तराई–मधेस समन्वय विभागमा १० सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई–मधेस समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् ।

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेका विभागमा सोमबार १० सदस्य मनोनय गरेका हुन् ।

मनोनयन भएका सदस्यमा बाराका कृष्णवर्त सिंह, कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिरहाका अरूणकुमार सिंह, रौतहटका रामकृपाल यादव, काठमाडौँका दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विभागले तरार्ई–मधेस क्षेत्रका पार्टी नेता, कार्यकर्ताबीच समन्वय गरी सङ्गठन सुदृढीकरणमा सक्रिय हुने प्रमुख यादवले बताए ।

जिल्ला अदालत कास्कीको धरौटी रकम धेरै भएको भन्दै रवि लामिछानेद्वारा उच्च अदालतमा पुनरावेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।

आइतबार राति रुपन्देहीबाट पोखरा पुगेका सभापति लामिछानेले सोमबार जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका हुन् ।

लामिछानेको सचिवालयले भनेको छ, ‘कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाईको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी रास्वपा सभापति रवि लामिछानेले उच्च अदालत पोखरामा दफा ७३ बमोजिम निवेदन दर्ता गराउनु भएको छ।’

रविलाई जिल्ला अदालत कास्कीले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तत्कालै बैंक ग्यारेन्टीमार्फत धरौटी तिरेर रवि थुनामुक्त भएका थिए । तर, धरौटी रकम धेरै भएको र आफूलाई साधारण तारेखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन् ।