गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरिँदै


गाजा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा पुगेको बताएका छन् ।
इजरायलले केही समयदेखि गरेको कडा घेराबन्दी केही सहज बनाएपछि राहत सामग्री गाजामा प्रवेश गर्न थालेको थियो । तर राहत लादिएका १५ भन्दा बढी ट्रकहरू बाटोमै लुटिए, जसले अवस्था अझ भयावह बनाएको छ ।
गाजा क्षेत्र लामो समयदेखि युद्धको चपेटामा छ । युद्धका कारण त्यहाँ खाद्यान्न र औषधिको अभाव छ । इजरायलले हमास नामक समूहलाई नष्ट गर्न भन्दै फेरि ठूलो सैन्य कारबाही सुरु गरेको छ ।
शुक्रबार मात्रै इजरायली हवाई आक्रमणमा परी गाजाका विभिन्न भागमा १६ जनाको ज्यान गएको र धेरै घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ ।
गुटेरेसले भने, ‘गाजाका मानिसहरू अहिले यस्तो स्थिति झेलिरहेका छन्, जुन सम्भवतः यो युद्धको सबैभन्दा क्रूर अवस्था हो ।’ उनले इजरायललाई राहत सामग्रीको ढुवानी सहज रूपमा प्रवेश गराउन अनुरोध गरेका छन् ।
उनका अनुसार हालसम्म करिब ४ सय ट्रकमध्ये केवल ११५ ट्रक मात्र गाजामा पुग्न सकेका छन् । ‘अहिलेसम्मको राहत भनेको, जताततै आगो लागिरहेको बेलामा एक थोपा पानी हाल्नुजस्तै हो । जब कि गाजालाई ठूलो मात्रामा सहायता चाहिएको छ ।’
विश्व खाद्य कार्यक्रमले गाजाको दक्षिण भागमा राहत बोकेको १५ ट्रक लुटिएको जानकारी दिएका छन् । ती ट्रकहरूले स्थानीय बेकरीमा रोटी पकाउनका लागि खाद्यान्न पुर्याउँदै थिए । संस्थाले भोक, निराशा र राहत आउँछ कि आउँदैन भन्ने डरले अहिलेको अवस्था झनै असुरक्षित बनाएको बताएको छ । इजरायललाई राहत छिटो र बढी मात्रामा प्रवेश गराउन आग्रह गरिएको छ ।
इजरायली सेनाले भने गाजामा रहेको हातहतियार गोदाम, सैन्य अड्डा र लुकेर बसेका लडाकु स्थानमा कारबाही गरिएको बताएको छ । सेनाले ७५ भन्दा बढी स्थानमा आकाशबाट बम प्रहार गरिएको जनाएको छ ।
गाजासँग सिमाना जोडिएका इजरायली बस्तीहरूमा पनि रकेट आक्रमणको डरका कारण सावधानी अपनाइएको छ । गाजाको उत्तरमा रहेको अल-आव्दा अस्पतालमा इजरायली ड्रोनबाट गराइएको आक्रमणमा तीन जना स्वास्थ्यकर्मी घाइते भएका छन् । दक्षिण गाजामा धेरै घरहरू भत्किएको र कालो धुवाँ उठिरहेको दृश्य एएफपीका पत्रकारले देखेका छन् ।
यो युद्ध पुनः मार्च ५ गतेबाट सुरु भएको हो, जब इजरायलले हमासमाथि कारबाही दोहोर्यायो । त्यसयता गाजामा तीन हजार६७३ जना मारिएका छन् । यो युद्ध सुरु भएको कात्तिकयता गाजामा कुल ५३ हजार ८२२ जनाको ज्यान गइसकेको छ, जसमा धेरैजसो सर्वसाधारण रहेका छन् ।