`

सरकार दिगो शान्ति, सुशासन र आर्थिक समृद्धिको यात्रामा प्रतिबद्ध छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको बताएका छन् ।

राष्ट्रिय सहिद दिवसका अवसरमा संघीय सरकारद्वारा बुधबार सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा उनले सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व भएको उल्लेख गरे ।

गृहमन्त्री लेखकले संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्दै राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै सबै मिलेर न्याय, समानता र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने कार्यमा जुट्नुपर्नेमा जोड दिए ।

संविधानको रक्षा, संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण आजको राष्ट्रिय आवश्यकता हो भन्दै गृहमन्त्रीले सबैले सहमति, समन्वय र सहकार्यका माध्यमबाट संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्दै जानुपर्ने बताए । उनले वर्तमान सरकार नागरिकको पक्षमा रहेको भन्दै कानुनी शासन स्थापना सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमबाट संविधानले परिकल्पना गरेअनुसार मुलुकमा दिगो शान्ति स्थापना, सुशासनसहितको विकास र समृद्धिको यात्रालाई पूर्णता दिन सकिने धारणा राख्दै सरकार सोही बाटोमा दृढतापूर्वक लागेको बताए ।

उनले भने, ‘म सरकारको तर्फबाट पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, मुलुकमा दिगो शान्ति, शुसान, विकास र समृद्धि स्थापना गर्ने विषयमा कुनैपनि बाधा, अवरोध र कठिनाइले रोक्ने छैन । हामी अविचलित रूपमा जनताका पक्षमा काम गर्दै अघि बढ्नेछौँ र सहिदका सपना सकार पार्नेछौँ ।’

गृहमन्त्रालय नागरिकको सुरक्षाको प्रत्याभूति गर्न, शान्ति, स्थिरता र विधिको शासन कायम गर्न निरन्तर क्रियाशील रहेको बताउँदै मन्त्री लेखकले मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति, अपराध नियन्त्रण तथा सामाजिक न्यायको प्रवर्द्धनमा सरकार निरन्तर लागिरहेने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्न सबै राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिँदै उनले लोकतन्त्रको रक्षा गर्दै सहिदहरूको बलिदानलाई सार्थक तुल्याउने कार्यमा सहकार्य गर्न सबैमा आह्वान गरे ।

बङ्गलादेशमा अवामी लिगद्वारा आमहड्ताल र नाकाबन्दीको आह्वान

ढाका । बङ्गलादेशको अवामी लिगले शेख हसिनाविरुद्ध लगाइएका ‘झुटा मुद्दा’ र देशमा धार्मिक अल्पसङ्ख्यकमाथि भइरहेको उत्पीडनको विरोधमा आमहडताल र राष्ट्रव्यापी नाकाबन्दीलगायत राजनीतिक कार्यक्रमको घोषणा गरेको छ।

पार्टीले मङ्गलबार राति एक विज्ञप्ति जारी गर्दै आफ्नो आगामी आन्दोलनको कार्यक्रम र मागको खाका प्रस्तुत गर्दै यदि अधिकारीहरूले उनीहरूको गतिविधिमा बाधा पुर्‍याउने प्रयास गरेमा कडा कदम चाल्ने बताएको छ ।

पार्टीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “कार्यक्रमहरू निम्नानुसार सञ्चालन गरिनेछः शनिबार (फेब्रुअरी १) देखि बुधवार (फेब्रुअरी ५) सम्म पार्टी सदस्यहरूले पर्चाहरू वितरण गर्नेछन् भने बिहीबार (फेब्रुअरी ६) मा विरोध प्रदर्शन र जुलुस निकालिनेछ । फेब्रुअरी १० मा दोस्रो विरोध प्रदर्शन तथा जुलुश गर्ने र फेब्रुअरी १६ मा पार्टीले देशव्यापी नाकावन्दी गर्नेछ र फेब्रुअरी १८ मा बिहानैदेखि साँझसम्म ‘आम हडताल’ गरिनेछ ।”

‘देशका जनताको राजनीतिक र लोकतान्त्रिक अधिकार प्राप्तिका लागि यी कार्यक्रमहरूमा कुनै प्रकारको अवरोध आएमा थप कडा कार्यक्रम घोषणा गरिने’ अवामी लिगले चेतावनी दिएको छ ।

मुख्यतया शेख हसिनाविरुद्ध लगाइएका कानुनी मुद्दाहरू फिर्ता लिन माग गर्दै पार्टीको विरोध प्रदर्शन घोषणा गरिएको हो ।

आन्दोलनका कार्यक्रममा पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर गरिएको ‘झूट्टा हत्या मुद्दा’, र ‘अवैध आईसीटी न्यायाधिकरणलगायत सबै प्रकारका गैरकानुनी’ मुद्दाहरू खारेज गर्न भनिएको छ ।

यसबाहेक, अवामी लिगले विशेष गरी “हिन्दू–बौद्ध–इसाईहरू सहित धार्मिक अल्पसंख्यकहरूको आक्रमण र नरसंहार र विभिन्न धार्मिक तीर्थस्थलहरूमा आक्रमण र तोडफोड“ लाई सङ्केत गर्दै आफ्नो आन्दोलनलाई बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यकहरूको हिंसा र उत्पीडनको प्रतिक्रियाको रूपमा तयार पारेको बताएको छ ।

पार्टीले वर्तमान् प्रशासनद्वारा भइरहेका भनिएका हत्या रोक्न र सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न पनि माग गरेको छ ।

गत अगस्ट ५ मा शेख हसिनालाई सत्ताच्युत गरेपछि अवामी लिगको यो पहिलो ठूलो सडक परिचालन हो । यद्यपि, पार्टीले यी विरोध प्रदर्शनहरू कार्यान्वयन गर्न महत्त्वपूर्ण तार्किक र राजनीतिक चुनौतीहरूको सामना गरिरहेको छ । आवामी लिगका धेरै नेता र कार्यकर्ताहरू कानुनी कारबाही र लक्षित आक्रमणको डरका कारण हाल देशभित्र वा विदेशमा विस्थापित बनेका छन् ।

सदस्यहरूको ठूलो सङ्ख्या विस्थापित बनेको अवस्थामा घोषित प्रदर्शनहरूमा सहभागिता र तिनीहरूको प्रभावकारिता अनिश्चित छ ।

एसियामा करोडौँ मानिसले सर्प वर्ष मनाउँदै

बेइजिङ । एसियाभरका करोडौँ मानिसले बुधबार आफ्ना परिवारसँग चन्द्र नयाँ वर्ष मनाउँदै ड्रागनको वर्षलाई बिदाइ गरी सर्पको वर्षको स्वागत गरेका छन् ।

चिनियाँहरूले सन् २०२५ को वसन्त महोत्सवका लागि लगातार आठवटा सार्वजनिक बिदा पाउँछन् । यसमा खाना बाँड्ने, परम्परागत प्रदर्शनहरू हेर्ने र पटाका तथा आतसबाजी गर्ने अवसर पाउँछन् ।

वार्षिक रूपमा हुने यस जनसङ्ख्या स्थानान्तरणमा लाखौँ मानिस आफ्ना प्रियजनहरूसँग बिदा मनाउन घर फर्किने क्रममा देशभरका रेल स्टेशन र विमानस्थलहरू हप्तौँदेखि भीडभाडले भरिएका छन् । यसले यस वर्ष रेकर्ड बनाउने अपेक्षा गरिएको छ ।

दक्षिण कोरिया, सिङ्गापुर, भियतनाम र थाइल्यान्डसहित पूर्वी र दक्षिणपूर्वी एसियाका धेरै भागमा उच्च सडकहरू, सपिङ मलहरू, कार्यालयहरू र घरहरू चाडपर्वको रातो ब्यानरहरूले सजाइएको छ ।

ताइवानमा बुधबार बिहान, सबै उमेरका मानिस टापुभरका मन्दिरहरूमा फलफूल, मिठाई, क्र्याकर र बदाम चढाउन, ध्यान गर्न र प्रार्थना गर्न भेला भएका थिए ।

“हाम्रो परम्परा भनेको यस वर्षको राम्रो भाग्यका लागि मन्दिरमा गएर प्रार्थना गर्नु हो”, ३६ वर्षीया चेन चिङ–युआनले आफ्नी आमासँग ताइपेईको लोङ्सन मन्दिर भ्रमण गर्दै भने, “कुनै विशेष कुरा माग्नु आवश्यक छैन, केवल सहज, शान्तिपूर्ण, सुरक्षित र स्वस्थ वर्षको कामना गर्ने र सबै ठिक होस् भनेर प्रार्थना गर्ने ।”

७३ वर्षीय लिन यु–सुनले आफ्नो परिवारसँग लोङ्सन मन्दिर भ्रमण गर्दा ‘प्रार्थना गर्दा हामीलाई आध्यात्मिक सान्त्वनाको अनुभूति’ हुने बताए । केही मन्दिर–यात्रीहरूले सौभाग्यको खोजीमा पहिलो धूप बाल्ने दौडमा सहभागी भएर नयाँ वर्षको स्वागत गरे ।

“म बूढो हुँदा पछुतो नहोस् भनेर मैले यसमा सहभागी हुने निर्णय गरेँ”, ताइवानको मध्य–पश्चिमी युनलिन काउन्टीको फुसिङ मन्दिरमा प्रतियोगिता जितेपछि काओ मेङ–शुनले भने, “म जबसम्म जवान छु र ऊर्जा छ, यो कार्य गर्ने र यसको सदुपयोग गर्ने उत्तम समय हो ।”

ए–बमको ८०औँ वार्षिकोत्सव मनाउन ट्रम्पलाई जापान भ्रमणको निमन्त्रणा

टोकियो । हिरोसिमा र नागासाकीका मेयरहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो विश्वयुद्धको आणविक बम विष्फोटको ८०औँ वार्षिकोत्सव मनाउन यस वर्ष भ्रमण गर्न आमन्त्रित गरेको अधिकारीहरूले बुधबार बताएका छन् ।

ट्रम्पलाई लेखिएको संयुक्त पत्रमा मेयरहरूले उनलाई ‘हिबाकुसा (बम पीडित) हरूको प्रत्यक्ष गवाही सुन्न, उनीहरूको शान्तिको प्रबल चाहनालाई हृदयङ्गम गर्न र आणविक हतियारको अमानवीयताका बारेमा आफ्नो बुझाइलाई गहिरो बनाउन’ आग्रह गरेका छन् ।

बुधबार एएफपीसँग साझा गरिएको जनवरी २८ को पत्रमा भनिएको छ, “तपाईंले आणविक निर्भरताको धारणाबाट मुक्त भई आणविक हतियारको उन्मूलन र दीर्घकालीन विश्व शान्तिको प्राप्तिमा बलियो नेतृत्व लिनुहुनेछ भन्ने हाम्रो हार्दिक आशा छ ।”

संयुक्त राज्य अमेरिकाले सन् १९४५ अगस्ट ६ र ९ मा जापानी सहर हिरोसिमा र नागासाकीमा एक–एक वटा आणविक बम खसालेको थियो । यो युद्धमा आणविक हतियार प्रयोग गरिएको एकमात्र घटना हो । केही दिनपछि जापानले आत्मसमर्पण गरेको थियो ।

हिरोसिमामा करिब एक लाख ४० हजार र नागासाकीमा करिब ७४ हजार मानिसको मृत्यु भएको थियो । यसमा विस्फोटबाट बाँचेका तर पछि विकिरणको असरबाट मृत्यु भएका धेरै मानिसहरू समावेश छन् ।

वासिङ्टनले बम विस्फोटका लागि कहिल्यै माफी मागेको छैन ।

सन् २०१० मा अमेरिकी राजदूत जोन रुस वार्षिक हिरोसिमाको सम्झनामा सहभागी हुने पहिलो अमेरिकी प्रतिनिधि बने र दुई वर्षपछि नागासाकी कार्यक्रममा गए ।

बाराक ओबामा सन् २०१६ मा हिरोसिमा आउने पहिलो अमेरिकी राष्ट्रपति बने । त्यसपछि सन् २०२३ मा जो बाइडेन आए ।

जापानी मिडियाका अनुसार दुवै मेयरले आमन्त्रित गरे तापनि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा भ्रमण गरेनन् ।

गत वर्ष नागासाकीका मेयर शिरो सुजुकीले इजरायली राजदूतलाई समारोहमा निमन्त्रणा नगरेर विवाद निम्त्याएका थिए । सुजुकीले यो निर्णय ‘राजनीतिक होइन’ तर गाजा द्वन्द्वसँग सम्बन्धित सम्भावित विरोध टार्न भएकामा जोड दिए ।

अमेरिका, इजरायल, बेलायत लगायतका राजदूतहरू विरोधस्वरूप समारोह बहिष्कार गरी टोकियोमा आयोजित सानो स्मृति कार्यक्रममा सहभागी भएका थिए ।

गत वर्षको नोबेल शान्ति पुरस्कार हिरोसिमा र नागासाकीबाट बचेका मानिसहरूको आणविक हतियार प्रतिबन्धका लागि दबाब दिने आधारभूत आन्दोलन निहोन हिडान्क्योलाई प्रदान गरिएको थियो। 

उर्जामन्त्रीविरुद्धको उजुरी छलफलको विषयमा बोलाइएको पूर्वाधार समितिको बैठक कोरम नपुगेपछि स्थगित

काठमाडौँ । संसदको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । २५ सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

बिहान ११ः३० बजे बोलाइएको बैठकमा १० सदस्यको मात्र उपस्थिति रह्यो । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आफ्ना सदस्यहरुको संसदीय समितिमा हुने उपस्थिति र खेल्ने भूमिकाका आधारमा मूल्याङ्कन हुने बताइरहेका बेला कोरम नपुगेर बैठक स्थगित हुन पुगेको छ ।

सरकारका प्रतिनिधिको अनुपस्थिति भएमा बैठक नचलाइने अभ्यासअनुसार बैठकमा आमन्त्रण गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ भने समितिमा उपस्थित थिए ।

उपयुक्त समयमा अर्को बैठक बस्ने समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए । समितिमा २५ सदस्य छन् । बैठक सञ्चालनका लागि न्यूनतम १३ जना उपस्थित हुनुपर्छ । आजको बैठकमा ऊर्जा मन्त्रालयसँग सम्बन्धित समितिमा परेका उजुरीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।

दक्षिण कोरियामा एयर बुसानको विमानमा आगलागी, १७६ जनाको सकुशल उद्धार

सियोल । दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् ।

दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

विमानका १६९ यात्रु, छ जना चालकदलका सदस्य र एक जना इन्जिनियरलाई एस्केप स्लाइड प्रयोग गरेर बाहिर निकालिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय अग्नि नियन्त्रण निकायले जारी गरेको विज्ञप्तिमा उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको जनाएको छ । अग्नि नियन्त्रण निकायले घटनास्थलमा दमकल र दमकलकर्मीहरू परिचालन गरेको एक घन्टापछि स्थानीय समयानुसार राति ११ः३१ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको बतायो ।

आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन । यातायात मन्त्रालयले उक्त विमान ए३२१ मोडेलको रहेको बताएको छ ।

मङ्गलबारको घटना दक्षिणी दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको यात्रु विमान दुर्घटना भएको एक महिना पछि आएको हो । जेजु एयरको विमान दुर्घटनामा विमानमा सवार १८१ जना मध्ये दुई जना बाहेक सबै मारिएका थिए । यो दक्षिण कोरियाको उड्डयन इतिहासमा सबैभन्दा घातक दुर्घटनामध्ये एक थियो ।

बोइङ ७३७–८०० विमान डिसेम्बर २९ मा ल्यान्डिङ गियर खुल्न नसकेपछि विमानस्थलको धावनमार्गबाट चिप्लिएर कङ्क्रिटको संरचनामा ठोक्किएर आगोको लपेटामा परेको थियो । उक्त उडान बैंककबाट फर्किएको थियो र दुई थाई नागरिक बाहेक सबै पीडित दक्षिण कोरियाली थिए ।

सोमबार जारी गरिएको दुर्घटनाको पहिलो प्रतिवेदनमा अधिकारीहरूले विमानको इन्जिनमा चराहरू ठोक्किएको प्रमाण फेला पारेको पुष्टि गरेका छन् । यद्यपि अधिकारीहरूले दुर्घटनाको कारण निर्धारण गरिसकेका छैनन् ।

मूर्तिकार बलिराम पण्डितको जोशजाँगरः जसले महायज्ञका लागि बनाउँदैछन् १०११ मूर्ति

वीरगञ्ज । उमेरले ५५ वसन्तपार गरेर बुढ्यौलीले छोए पनि मूर्तिकार बलिराम पण्डितको जोशजाँगर भने कुनै तन्नेरीको भन्दा कम छैन । विगत ३० वर्षदेखि उनका हातले देवदेवताका विभिन्न स्वरुप र आकृति भएका मूर्ति बनाउँदै आएका छन् । यतिबेला उनलाई आफ्नो जीवनभरकै सबैभन्दा बढी मूर्ति बनाउने अवसर जुरेको छ ।

वीरगञ्ज महानगरपालिका–१६ बसपार्कभन्दा झण्डै दुई किलोमिटर दूरीमा अवस्थित विश्रामपुर गाउँपालिका–५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ मा पण्डित नेतृत्वको टोलीले एक हजार ११ वटा देवदेवताका मूर्ति बनाउने जिम्मेवारी पाएको छ ।

‘विगत ३० वर्षदेखि विभिन्न स्वरुप र आकृतिका देवदेवताका प्रतिमा बनाउँदै आइरहेको थिए’, पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठ्ठाका पण्डितले भने, ‘पहिलो पटक एक हजार ११ वटा देवदेवताको मूर्ति बनाउने अवसर पाउँदा मनमा छुट्टै उमङ्ग र उत्साह थपिएको छ।’ उनलाई बनाउन १८ जना कालिगड सहयोगीका रूपमा डेढ महिनादेखि खटिरहेका छन् ।

मूर्तिकार पण्डितले एक हजार ११ मध्ये विभिन्न भगवानका लिला समेट्निे खालका मूर्ति तयार पारिने जानकारी दिए । रामलिला, कृष्णलिला, शिवलिला, ५२ अवतार, सूर्य लिला, कुरुक्षेत्र, हुनमानका लिला, भिष्मपीता, लङ्कालगायत एक हजार ११ मूर्ति तयार पारिने भन्दै पौराणिक कथा तथा ग्रन्थका गतिविधिलाई मूर्तिमा समावेश गर्न लागिएको उनले बताए।

मूर्तिकार पण्डितले सामान्यता सानो मूर्तिको रु एक हजार पाँच सयदेखि रु पाँच हजार मूल्य पर्ने भन्दै सोही अनुसार मूर्ति बनाउन लागिएको उल्लेख गरे । उनले एक हजार ११ मूर्ति बनाउन करिब रु २५ लाख रकम लाग्ने अनुमान गरे ।

‘माटोलाई कुदेँर भगवानको आकार बनाउँदा छुट्टै आत्मसन्तुष्टि मिल्छ’, पण्डितले भने, ‘हामी पुस्तौदेखि यही काम गर्दै रमाइरहेका छौँ । यही माटोबाट हुने कलात्मक आकृतिका कारण पाँच जनाको परिवारलाई हाँसीखुसी पाल्दै आइरहेको छु।’ उनले सबै खर्च कटाएर वार्षिक रु चार लाखसम्म बचत हुँदै आएको जानकारी दिए ।

पण्डितले मूर्ति बनाएरै तीन छोरी र दुई छोरालार्ई उच्च शिक्षा दिँदै आइरहेको बताए । ‘विगतमा मैलै २१, ५१, एक सय एक, दुई सय एक सङ्ख्यामा मूर्ति बनाएको थिए,’ उनले भने, ‘यतिधेरै मूर्ति भने पहिलो पटक बनाउन लागेको हुँ।’

महामहोत्सव महायज्ञ मूल व्यवस्थापन समितिका अनुसार महायज्ञ आगामी माघ २४ गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ। मूल व्यवस्थापन समितिका सदस्य सुमित यादवले महायज्ञमा एक हजार ११ मूर्ति बनाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘महायज्ञ सामाजिक कार्य गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो’, उनले भने ।

महायज्ञ प्रसारप्रसार समितिका संयोजक राज सर्राफले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । महायज्ञमार्फत सामाजिक कार्य गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको उनले बताए ।

लौरेपालो गरेर हुर्काइएको ‘राम्चेवन’ पर्यटकीय गन्तव्य बन्दै

रामपुर। लौरेपालो शब्द अहिले कतै सुनिँदैन। यो शब्द सुन्दा आश्चर्यजनक लाग्छ । लौरेपालेको जीवन्त कथा जोडिएको छ, राम्चे सामुदायिक वनसँग । पाल्पाको रामपुर नगरपालिका–५ मा रहेको राम्चे सामुदायिक वनको नाम लिँदा लौरेपालोको रोचक स्मरण उपभोक्तामा ताजै छ । तर अहिले लौरेपालेको चलन यहाँ छैन ।

वनले नयाँ स्वरुप धारण गरेर एउटा पर्यटकीय केन्द्रको रुपमा विकसित बनेको छ । अहिले यहाँको पर्या–पर्यटनले पर्यटकलाई आकर्षित बनाएको छ । रामपुरको केन्द्र भागमा अवस्थित रहेकाले हराभरा, पर्यटक लोभ्याउने वनको दृश्यले मनलाई आनन्दमय बनाइरहेको हुन्छ ।

पर्यटनको गहना बनेको राम्चेवन अहिले उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनेको देख्न पाउँदा खुसी हुन्छन्, ७४ वर्षीय नगिलाल पौडेल । उजाड नाङ्गो डाँडोलाई स्थानीयवासीले संरक्षणमा जोड दिएकाले वनको शीतलता, स्वच्छ हावापानी उपभोग गर्न, पर्यटकीय विकासको रुपमा उपभोग गर्न पाइँदैनथ्यो, एउटा पर्यटक घुम्ने मात्र भई यहाँ प्राकृतिक वस्तुको अध्ययन अवलोकन गर्ने, प्रकृतिको संरक्षण गर्ने थलो बनेको पौडेल बताउँछन् ।

‘अवलोकन गर्न लायकको नमूना बनेको छ, आफ्नै जीवनकालमा नाङ्गो डाँडोको रुपमा देखेको वन अहिले यति धेरै परिवर्तन देख्न पाउँदा म एउटा भाग्यमानी उपभोक्ता हुँ भन्ने आफैँलाई गर्व महसुस भएको छ’, उनले भने, ‘२०३९ सालमा उजाडिएको नाङ्गो डाँडो मात्रै थियो, रुख बिरुवा लगाएर यसलाई हराभरा बनाएर भविष्यमा एउटा नमूना वन बनाउन सकिन्छ भनेर स्थानीय बासिन्दा लागेपछि अहिले आफ्नै जीवनकालमा परिवर्तन देख्दा गरे के नहुने रहेछ र ?’, उनले भने।

स्थानीयको सक्रियतामा २०३९ सालदेखि वन संरक्षणको प्रयास थालिएको हो । त्यस समय वनको संरक्षणका लागि पञ्चायत समितिमा रहेर काम गरेका पौडेलले सामुदायिक वनको रुपमा दर्ता भएपछि समिति, उपाध्यक्ष, अध्यक्ष पदमा विभिन्न समयमा सक्रियताका साथ सेवा गरे ।

स्थानीयले संरक्षण नगरेको भए यो वन नाङ्गै डाँडा रहन्थ्यो । उनी भन्छ, ‘चरिचरन गर्न जङ्गलतिर गएका पशु नाङ्गो डाँडोमा छर्लङ्ग देखिन्थे, गाईबाख्रा माथितिर पठाएर हामी तल फाँटमै बसेर हेरिन्थ्यो, अहिले भने घनाघोर, हराभरा, पर्यापर्यटनको रुपमा वन विकास भएको छ, संरक्षणमा उपभोक्ता सबै सचेत छन्।’

करिब एक सय दुई हेक्टर क्षेत्रफलमध्ये पाँच हेक्टर क्षेत्रफल पर्या–पर्यटन क्षेत्र छुट्टाएर पर्यटकीय पूर्वाधार विकासका कार्यहरु गरिरहेको वन उपभोक्ता समूहका अध्यक्ष दयाराम गैरेले बताउनुभयो । जिल्ला डिभिजन वन कार्यालयको सहयोगमा दृश्यावलोकन (भ्युटावर) स्तम्भ, वनभोज गर्ने स्थान, शौचालय, रुखघर, झुला, पानीको फोहोरा, रामसीता र हनुमानको मूर्ति, प्रतीक्षालय, खानेपानीको सुविधा, पक्की पैदलमार्ग, फूलवारी तयार पारिएको अध्यक्ष गैरेले बताउनुभयो ।

करिब तीन सय ५० जना अट्ने क्षमताको सभाहल रहेको छ । यहाँ विभिन्न सङ्घसंस्थाको सभा, समारोह, गोष्ठीजस्ता कार्यक्रम हुने गरेको छ । उहाँका अनुसार पर्यटकीय क्षेत्रमा दिनमा एक सय बढी अवलोकन गर्न आउने गर्छन् । शनिबार र बिदाको दिन धेरै भीड हुने गर्दछ । हाल भ्युटावर क्षेत्र प्रवेश र पर्या–पर्यटन क्षेत्र रेखदेखका लागि वन समूहबाट हेरालु राखिएको छ । “रामपुरको बजार नजिकै भएकाले यस क्षेत्रमा पछिल्लो समय धेरै टाढाबाट घुमघाम तथा वनभोज गर्न आउने क्रम बाक्लिदै गएको छ, तल बाक्लो वस्ती भएकाले दिउँसो र साँझको समय वनको शीतलता खोज्न आउनुुहुन्छ”, अध्यक्ष गैरेले भन्नुभयो ।

बेझाड बजारदेखि सजिलै साना तथा ठूला गाडीमा पुग्न सकिने भएकाले अहिले राम्चेवन धेरैको रोजाइमा पर्छ । यहाँको प्राकृतिक वातावरणमा घुमेर मनलाई आनन्दित पार्न युवा समूहको आकर्षण अझ बढ्दो पाइन्छ। रामपुरको मुख्य बजार बेझाड बजारदेखि करिब दुई सय ५० मिटर माथि पर्छ । गत वर्ष वनको स्रोतबाट दुईवटा झुला, रुखघर, रामसीता र हनुमानको मूर्ति निर्माण कार्य गएिको छ ।

वनभित्र साल, चिलाउने, साज, साज, जामुनो, अमला, सर्पगन्ध, हर्रोबर्रोजस्ता प्रमुख प्रजाति छन् । यहाँ मृग, कालिज, कुखुरा, बाघजस्ता वन्यजन्तु छन् । प्रत्येक उपभोक्ताबाट वनको हेरचाह, रेखदेख भइरहेको छ । वन समूहमा हाल तीन सय २१ घरधुरी संख्या रहेको छ ।

सरकारले पर्यावरण र पर्यटन प्रवद्र्धनका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अगाडि सारेकाले पनि सोही अनुरुप यस राम्चे सामुदायिक वनले धमाधम पर्यटकीय क्षेत्र विकासका काममा जोड दिएको छ ।

विसं २०५४ देखि वनभोजस्थलका रुपमा विकास गर्न थालियो । वनमा पर्यापर्यटनको उद्देश्यले २०६५÷६६ देखि वनभोजका रुपमा निकै चहलपहल हुँदै गयो । २०७२ मा दृश्यावलोकन स्तम्भ सञ्चालनमा आएपछि पर्यटकको थप आकर्षण बढ्दै जान थाल्यो।

रामपुर उपत्यका, स्याङ्जाको चापाकोट, तनहुँको घिरिङ्ग क्षेत्रलगायतका विभिन्न कालीगण्डकी बेँसीको उपत्यकाको वारिपारिको दृश्य यहाँको पाँच तलाको दृश्यावलोकन स्तम्भबाट छर्लङ्ग देख्न सकिन्छ ।

विसं २०१३ मा वनहरु सरकारीकरण भएपछि वन मासेर जग्गा बनाउने काम भएकाले २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि नयाँ वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार सामुदायिक वन दिने भनी व्यवस्था भएअनुरुप वनलाई विधिवत रुपमा समुदायमा हस्तान्तरण गरी संरक्षण र उपभोग गर्न पाउने नीतिका साथमा उपभोक्ता समूह दर्ता भएको हो ।

विसं २०३०/३२ देखि राम्चे वनको अवधारणा आएको हो । तत्कालीन रामपुर गाउँ पञ्चायतले राम्चे वनलाई संरक्षण गर्नुपर्छ भन्ने धारणा ल्याएर वडाको कार्यालय सहयोगी खटाएर वनको रेखदेख गर्न थालियो । विसं २०४७ मा सामुदायिक वनका रुपमा हस्तान्तरण गरिएपछि धेरै सुधार हुँदै हराभरा बन्न सकेको छ ।

जङ्गली जनावरको डर, त्रास, आक्रमण सहेर आफूले दैनिक सेवा गरेर हुकाईएको वनमा हिजोआज वनभोज, घुमघामका लागि पर्यटक भित्रिदा रमाइलो अनुभूति गर्नुहुन्छ, ८० वर्षीया चन्द्रकला नेपाली । जीवनको धेरै समय उनले वनको रेखदेखको जिम्मेवारी लिएर बिताइन् ।

साना बिरुवा अहिले बढेर ठूला भएको देख्दा आफूले जन्माएको सन्तान हुर्काए सरह नै वनप्रति माया बसेको उनले सुनाए । ‘बिहान ४ बजे उठेर वनको रेखदेख गर्न जान्थेँ, जङ्गली जनावरको डर हुन्थ्यो । चितुवा, बाँदरलगायतका जनावरको आक्रमणबाट बचेर घर फर्केका दिन धेरै छन्, दैनिक सबै वन हेरेर घर फर्कदा साँझ रात पथ्र्यो, निकै दुःख गरेर हुर्काएको वन अहिले यति धेरै परिवर्तन र ठूलो वन बनेको देख्दा खुशी लागेको छ’ उनले भने ।

वन समूहको आयस्रोत

वनमा उत्पादन भएका दाउरा, काठपात बिक्री नै आयस्रोत रहेको छ । साथै पर्या–पर्यटनबाट पनि वनले आयआर्जन गरिरहेको छ । काठपात, दाउराबाट वन समूहले वार्षिक रुपमा सरदरमा रु छ लाख बराबरको आयआर्जन हुने गरेको छ । गतवर्ष मात्रै काठपात, दाउरा बिक्री गरेर रु नौ लाख आम्दानी गरेको जनाइएको छ ।

वार्षिक रुपमा पर्या–पर्यटन, सभाहल, वनभोजबाट करिब रु एक लाख आम्दानी हुने गरेको छ । विपन्न वर्गको आयस्तर उकास्न करिब दुई हेक्टर क्षेत्रफलमा अम्रिसो, घाँसपात लगाइएको छ । यसबाट विपन्न व्यक्तिले आयआर्जन गरिरहेका छन् ।

नयाँ उपभोक्ता सदस्य बन्न चाहनेको हकमा उपभोक्ता समितिले निश्चित मापदण्ड तोकेको छ । एकाघर परिवारबाट छुट्टाभिन्न भएका सदस्यलाई सामान्य शुल्क रु तीन सय तोकिएको छ भने नयाँ उपभोक्ता बन्नेलाई हाल रु २५ हजार प्रवेश शुल्क बुझाउनुपर्नेछ ।

हाल वनको अवस्था

उपभोक्ता समितिले संरक्षण गरेका सालका रुख हर्लक्कै हुर्केका छन् । सालका रुखको उमेर ३५ वर्षको भयो । सरदरमा ४० इन्च गोलाइका रुखहरु तयार भएका छन् । दशवटा ब्लक विभाजन गरेर वनको संवद्र्धन भइरहेको छ ।

प्रत्येक वर्ष झाडी सुधारबाट निस्केको काठपात, दाउरा उपभोक्तालाई निःशुल्क वितरण गरिन्छ। उपभोक्तालाई सुलभ मुल्यमा काठ, दाउरा उपलब्ध गराइन्छ । प्राकृतिक रुपमा निस्केका बिरुवालाई संरक्षण गरिदै अहिले वनले पर्यटकीय क्षेत्रको रुपधारण गरेको छ। उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्व तथा विभिन्न समय समयमा घाँस, दाउरा, स्याउला उपलब्ध गराइएको छ।

प्राकृतिक विपत्तिमा उपभोक्तालाई निःशुल्क काठ, दाउरा निःशुल्क वितरण गरिनेछ । धार्मिक, सामाजिक कार्यका लागि उपभोक्ताको निवेदनको आधारमा काठदाउरा उपलब्ध छ । वन समूहले आर्जन गरेको आम्दानीबाट २५ प्रतिशत रकम विपन्न वर्गको हितमा खर्चिइएको छ भने २५ प्रतिशत वन सम्बद्र्धनमा लगानी र बाँकी रकम सडक, पँधेराजस्ता सामाजिक क्षेत्रमा खर्चिने गरिएको छ ।

बिरुवा हुर्काउन लौरेपालो

बिरुवा हुर्काउन वन समूहले उपभोक्ताबाट लौरेपालो सुरु गर्‍यो । प्रत्येक घरधुरीबाट दैनिक दुई जनाको पालो कायम गरेर वनको रेखदेख गरिन थालियो । यो कार्य करिव एक दशक चल्यो । बिरुवा बढ्दै जान थालेपछि वन समूहले लौरेपालो छाडेर उपभोक्ताभित्रबाट निश्चित पारिश्रमिक दिने गरी एक जना हेरालु राखेको जनाइएको छ ।

लौरेपालो टोलअनुसार विभाजन गरेर गरिन्थ्यो । यो निरन्तर चलिरहन्थ्यो । बिहानदेखि साँझसम्म दैनिक दुई जना उपभोक्ताले वन घुमेर रेखदेख गर्नु पर्दथ्यो । वनबाट फर्केपछि साँझ पालोअनुसार अर्को उपभोक्ताको घरमा लैरो बुझाउनुपर्ने चलन थियो। भोलिपल्ट सो लौरो लिएर जानुपर्ने नियम अनुसार सबै उपभोक्ताले अनिवार्य वन रेखदेख गर्नुपर्‍यो ।

नयाँ योजना यस्ता छन्

यहाँ आउने पर्यटकलाई लक्षित गरेर मिनि चिडियाखाना निर्माण गरिने वन समूहको योजना छ । त्यसको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । बेलखोल्सीमा बाँध बाँधेर पोखरी निर्माण गरी सिमसार क्षेत्र बनाइनेछ ।

पानी सञ्चित गर्न, वन व्यवस्थापन र वनभित्र रहेका पानीका मूल संरक्षणका लागि सिमसार क्षेत्र बनाउने तयारी छ । यस क्षेत्रमा पर्यटक लक्षित सिमसार क्षेत्रको माथि वारपार गर्न काठको झोलुङ्गे पुल, वन समूहको कार्यालय भवन परिसरमा उद्यानसहितको बृहत् पार्क निर्माण गरिने योजना रहेको जनाइएको छ ।

गीतकार शाहलाई ‘बिजुलीमाया वनः श्रेष्ठ’ पुरस्कार

मनहरी । यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार वरिष्ठ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ ।

भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले मङ्गलबार साँझ हेटौँडामा एक कार्यक्रम आयोजना गरी नेपाली गीतसङ्गीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै शाहलाई नगद एक लाख राशिसहित १६ औँ संस्करणको पुरस्कार प्रदान गरेको हो ।

शाहलाई समर्पण तथा साङ्गीतिक समारोहका प्रमुख अतिथि साहित्यकार नगेन्द्र थापा तथा पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन् ।

शाहले पाँच दशकदेखि निरन्तर आधुनिक गीत, सङ्गीत र चलचित्रका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ । नेपाली गीत सङ्गीतको क्षेत्रमा स्वदेश तथा विदेशमा महत्वपूर्ण योगदान गर्दै आएका कलाकार तथा सर्जकहरूको साधनाको उच्च कदर गर्दै व्यवसायी श्री कन्हैयाकृष्ण श्रेष्ठले ममतामयी आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा २०६४ सालमा अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गरेको थियोे ।

यसअघि उक्त पुरस्कारबाट अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की दावा ग्याल्मो, दीपक जङ्गम, किरण प्रधान, राजेन्द्र थापा सम्मानित भइसकेको छ ।

चलचित्र निर्माण, निर्देशन एवं अभिनयमा समर्पित शाहले विसं २०३२ देखिको निरन्तर नेपाली गीत लेखनको यात्रामा लाग्दै आएको हो । शाहद्वारा लिखित ‘पर्खी बसे आउँला भन्नी’, ‘बाँदल बनाइदेऊ’, ‘गहिराइमा डुब्दै नडुब’लगायत कालजयी गीतहरू चर्चित छन् । 

स्टार्टअप व्यवसाय गर्ने युवालाई सहुलियतपूर्ण ऋण र अनुदान दिनुपर्छः सभापति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय युवाहरुको स्टार्टअप व्यवसायतर्फ आकर्षण बढेको बताएका छन् ।

बुधबार नेपाल स्टार्टअप र एसएमई समिट कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरेको भन्दै युवाहरु पछिल्लो समय स्टार्टअप व्यवसायतर्फ आकर्षित भएको बताएका हुन् ।

उनले भने, ‘पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो छ । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गर्दैछन् । यस्ता उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ ।’

उनले स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता रहेको पनि बताए ।

कालीकोटमा प्रथम टी–२० पुरुष क्रिकेट प्रतियोगिता सुरु

मान्म । बुधबारदेखि कालीकोटमा प्रथम कालीकोट टी–२० पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । यही माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आगामी फागुन २५ गते लुम्बिनी प्रदेशमा हुने प्रधानमन्त्री पुरुष कपलाई लक्षित गरी आयोजना गरिएको हो ।

जिल्ला क्रिकेट सङ्घका अनुसार प्रतियोगिताले कर्णाली प्रदेशमा क्रिकेटको विकासमा टेवा पुर्याउनुका साथै कालीकोटलाई खेलकुदका माध्यमबाट चिनाउने लक्ष्य राखेको छ ।

विजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्लेयर अफ द म्याच, प्लेयर अफ द सिरिज र इमर्जिङ प्लेयरलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष खड्गजङ्ग शाहीले जानकारी दिए ।

जिल्लामा पहिलोपटक आयोजना गरिएको खुला टी–२० क्रिकेट प्रतियोगिताले स्थानीय खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्ने अवसर दिनुका साथै खेलप्रेमीलाई हौसला प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीबाट सहिद स्मारक र सहिदगेटमा पुष्पहार अर्पण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिदगेट पुगी सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सहिद दिवसका अवसरमा बुधबार उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा उनीहरुको शालिकमा पुष्पहार अर्पण गरे ।

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ । विसं २००७ पछि हरेक वर्षे माघ १६ गते विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाउने गरिएको छ ।

सो क्रममा उपप्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका सांसद, नेपाल सरकारका मुख्यसचिव, सुरक्षा अङ्गका प्रमुख, काठमाडौँ महानगरपालिकाका उपप्रमुखलगायले सहिदहरूप्रति श्रद्धाञ्जली प्रकट गरे । प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सिंहदरबार परिसरमा आजै सहिद दिवस विशेष समारोह आयोजना गरिनेछ । 

राष्ट्रिय योजना आयोगद्वारा अनुदान लिन प्रस्ताव माग

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव माग गरेको छ ।

प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिन आगामी फागुन १५ गतेभित्र योजना तथा कार्यक्रमको विस्तृत विवरणसहितको प्रस्ताव पेश गरिसक्न भनेको हो ।

अघिल्ला वर्षहरुमा आयोगले समपूरक र विशेष अनुदानका योजनाको प्रस्ताव पुस मसान्तभित्र माग गरिसक्थ्यो ।

तर यसपटक राष्ट्रिय विकास समस्या समाधान समितिले समपूरक र विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्न निर्देशन दिएपछि प्रस्ताव माग गर्न ढिला भएको थियो । आयोगका सहप्रवक्ता डा दिवाकर लुईंटेलकाअनुसार कार्यविधि संशोधन भएर कार्यान्वयनमा आएसँगै अनुदानका लागि प्रस्ताव माग गरिएको हो ।

‘समपूरक अनुदानमा सङ्घले ५० प्रतिशत योगदान गर्ने र बाँकी ५० प्रतिशत सम्बन्धित प्रदेश तथा स्थानीय तहले व्यहोर्ने यसअघिको व्यवस्था संशोधन गरी २० देखि ८० प्रतिशतसम्म व्यहोर्नुपर्ने व्यवस्था ल्याइएको छ । सोहि व्यवस्थाअनुसार आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रमको माग गरिएको हो’, लुईंटेलले भने ।

विशेष अनुदानसम्बन्धी कार्यविधि, २०८१ ले यो शीर्षकमा अनुदान दिँदा योजना तथा कार्यक्रमको लागत तोकेको छ । गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रममा २५ लाख लेखि तीन करोड लागत हुनुपर्नेछ ।

त्यस्तै, उपमहानगरपालिका र महानगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रमको लागत अनुमान न्यूनतम २५ लाख देखि अधिकतम पाँच करोड सम्म तोकिएको छ ।

सङ्घीय विशेष अनुदानअन्तर्गत प्रदेश सरकारबाट कार्यान्वयन हुने आयोजना वा कार्यक्रमको लागि कुल लागत अनुमान  पाँच करोड देखि १० करोड तोकिएको छ । विशेष अनुदानअन्तर्गतका पूर्वाधार आयोजना तीनवर्षभित्र र अन्य कार्यक्रम सालबसाली रुपमा सम्पन्न गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

त्यस्तै, समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०८१ अनुसार गाउँपालिका वा नगरपालिकाले एक करोड देखि सात करोडसम्मको लागतको आयोजना तथा कार्यक्रमका लागि सङ्घ सरकारसँग अनुदान माग गर्न सक्छन् । त्यस्तै, उपमहानगरपालिका र महानगरपालिकाले तीन करोड देखि १५ करोड र प्रदेशले १० करोड देखि तीस करोडसम्मका आयोजनाका लागि प्रस्ताव हाल्न सक्छन् ।

प्रदेश र स्थानीय तहले अनलाईन प्रणालीबाट मात्रै समपूरक र विशेष अनुदानसम्बन्धी प्रस्ताव हाल्न पाउने व्यवस्था रहेको सहप्रवक्ता लुईंटेलले बताए । त्यस्तै, यस्ता आयोजना तथा कार्यक्रममा अनुदान लिनका लागि प्रस्ताव पेश गर्दा कार्यविधिले तोकेको प्रक्रिया र कागजातहरु आवश्यक हुने उनको भनाई छ ।

‘अनुदानका लागि आयोजना तथा कार्यक्रम प्रस्ताव गर्दा विस्तृत कागजात पेश गर्नुपर्ने हुन्छ । कार्यविधिले तोकेको प्रक्रिया नपुर्याइकन परेका प्रस्तावहरु अनुदानका लागि योग्य हुँदैनन्’, उनले भने ।

कार्यविधिअनुसार यी शीर्षकमा अनुदान लिनका लागि आयोजनाको सम्भाव्यता अध्ययन, ड्रइङ, डिजाईन, स्पेसिफिकेसनसहितको विस्तृत विवरणको लागत अनुमान पेश गर्नुपर्ने हुन्छ ।

त्यस्तै, वातावरणीय अध्ययन प्रतिवेदनलगायतका कागजात चाहिन्छन् । अनुदान माग गर्नका लागि स्थानीय तहको हकमा सम्बन्धित कार्यपालिकाको निर्णय र प्रदेशको हकमा सम्बन्धित प्रदेश योजना आयोगको सिफारिसमा प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेको हुनुपर्ने व्यवस्था कार्यविधिमा छ ।

देश बनाउन सबैको इमानदार प्रयास आवश्यक छ, ‘स्टन्ट’बाजीबाट चल्दैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै ‘स्टन्टबाजी’बाट देश नचल्ने बताएका छन् ।

नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा बुधबार आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मु्क्त बनाउनुपर्ने बताएका हुन् ।

उनले राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सर्बेसर्बा हुँ भन्ने भ्रम पाल्न नहुने स्पष्ट गरे ।

‘संसदले न्यायपूर्ण कानुन बनाउनुपर्छ । सम्बन्धित निकायहरु त्यसअनुसार चल्नुपर्छ । सन्तुलत र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफैँ कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘देशप्रति साँच्चै इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागिरहेको छ, यसमा कानुन व्यवसायीहरूबाट सक्रिय साथसहयोग प्राप्त हुने विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले सम्मेलनबाट प्राप्त निष्कर्षसहितको रायसुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवा कानुन व्यवसायीले कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताए ।

उनले विद्यमान सरकार कानुन व्यवसाय र युवाहरुको साथमा रहेको स्पष्ट गर्दै यस क्षेत्रको भलाइ र उन्नतिका पक्षमा कानुन निर्माणलगायतका काममा उचित ध्यान दिने विश्वास दिलाए ।

अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिबाट पनि सम्बोधन गरिएको कार्यक्रममा युवा कानुन व्यवसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

महानगरद्वारा सहिद दिवसमा सहिद स्मारक पार्कमा स्मृतिसभा आयोजना

काठमाडौँ । सहिद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौँको लैनचौरस्थित सहिदपार्कमा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा स्मृति सभा आयोजना गरिएको छ ।

स्मृति सभा सुरु हुनु अघि शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरि जमल, कान्तिपथ, केशरमहल हुँदै लैनचौर पुगेको थियो ।

श्रद्धाञ्जली सभामा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सहिदहरुको बलिदानीबाट प्राप्त नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशीलोकतन्त्रजोगाउन नेतृत्वतहको साझामत हुनुपर्ने बताइन् ।

राष्ट्रियता र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गरेका सहिदहरु विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथ प्रदर्शक भएको उनको भनाइ थियो ।

माफी मागेर शासक सामु झुक्नुभन्दाप्रजातन्त्रका लागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइँदै आएको छ ।

वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्वमा गठित समितिले सहिद सप्ताह कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसवर्ष माघ १० अर्थात् पहिलो दिन शुक्रराजशास्त्रीले सहादत प्राप्त गरेको स्थान टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदीकिनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गरेको स्थान रहेका सहिदहरुका सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो ।

४ सहिदका सालिकमध्ये महानगरपालिकाले २०७५ सालमा शास्त्रीको र २०७६ सालमा माथेमा, श्रेष्ठ र चन्दको पूर्ण कदको सालिक स्थापना गरेको हो ।

राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेबीचमा ४ जना सहिदलाई प्राणदण्ड दिइएको थियो ।

सहिदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापनाका लागि बलिदान दिने सहिदहरूप्रति श्रद्धा सुमन व्यक्त गरेकी छन् ।

सहिद दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत पूर्वराष्ट्रपति भण्डारीले निरङ्कुश राणा शासनको अन्त्यका लागि जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्री, दशरथ चन्द, गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमालगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूको योगदान अमर रहेको बताएकी छन् ।

“सहिद दिवसमा सहिदहरूको बलिदान र योगदानको कदर गर्दै राष्ट्र निर्माणमा लाग्न र सहिदहरूको सपनालाई साकार बनाउन सम्पूर्ण राजनीतिक दलका नेतृत्व, नागरिक समाजलगायत सम्पूर्णमा प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएकी छु”, एक्समा उनले लेखेकी छन् ।

बागलुङको ‘कालो टीका’ अभियानले घरमा सुत्केरी हुने घटे

बलेवा (बागलुङ) । स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा नपर्ने तथा केही समस्या भए तत्काल उपचारको व्यवस्था गर्न सकिने भएकाले ‘होम डेलीभरी’लाई शून्यमा झार्ने अभियानस्वरुप यहाँका आमा समूहले घरमा कालो टीका लगाइदिने गरेका छन् ।

निसीखोला गाउँपालिकाका अधिकांश वडाका समुदायमा रहेका आमा समूहले यो विधिलाई अवलम्बन गरेका छन् । त्यसबाहेक अन्य पालिकामा पनि ‘साथ’ विधिका रूपमा यो अभ्यास भएको छ । निसीखोला–६ तिर्खापानी आमा समूहकी सदस्य निरुता बुढा गत कात्तिक १४ गते घरमै सुत्केरी भएपछि आमा समूहले उनको घरमा कालो टीका लगाइदिएको हो ।

पति सन्तोष बुढासहित घरपरिवारले जान नदिएपछि उनी घरमै सुत्केरी भएकी थिइन् । त्यसपछि गाउँको आमा समूहले बनाएको सामाजिक नक्सामा उनको घरमा कालो टीका लगाइदिएको हो ।

तिर्खापानीकै मनदेवी घर्तीले पनि घरमै सन्तान जन्माइन् । भिडियो एक्सरे गर्नुपर्ने भएपछि निसी स्वास्थ्य चौकीले उनलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रेफर गरेको थियो । तर घर फर्केर जोखिम मोल्दै कात्तिकको १२ गते उनले छोरालाई जन्म दिइन् ।

पति देवीराज गोठ जानुपरेकाले उनलाई घर कुर्न राख्दा स्वास्थ्य संस्था नगएकी हुन् । अहिले मनदेवीको घरमा पनि कालो टीका लागेको छ । उनको यो पटकको चौथो सन्तान हो । यसअघिका तीन सन्तान जन्माउने बेलामा त उनी झन् गर्भजाँचमा पनि आइनन् ।

गर्भवती भएपछि आठपटकसम्म गर्भजाँच गराउनुपर्ने र स्वास्थ्यसंस्थामै पुगेर सुत्केरी हुनुपर्ने सरकारी ‘प्रोटोकल’ उनीहरुले उल्लङ्घन गरेपछि महिला स्वास्थ्य स्वयंसेविकासहित आमा समूह बैठकपछि घरमा कालो टीका लगाउने गरिएको छ । यो समस्या निसीखोलाका अधिकांश वडामा छ । कतिपयले प्रोटोकल पूरा गर्नै खोज्दैनन् भने कतिपयले भौगोगिक कठिनाइ देखाएर समस्या परेको गुनासो गर्छन् ।

“कालो टीका लाग्नुलाई नराम्रो सङ्केत मानिन्छ”, निसी स्वास्थ्य चौकीकी अनमी ज्ञानकुमारी बुढाले भनिन्, “होम डेलीभरी घटाउने यो सामाजिक विधि हो ।” घरमै सुत्केरी भएको थाहा पाएपछि तत्काल स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य अवस्था बुझ्ने र उपचार गराएको बुढाले बताइन् ।

उच्च रक्तचाप, बच्चा उल्टो भएका वा अन्य कुनै जटिल समस्या आउने देखिएमा रेफर गर्ने र नभए पनि उनको शारिरीक अवस्था हेरेर आवश्यक सुझाव दिने काम स्वास्थ्य चौकीमा हुने गरेको छ ।

निसीको तिर्खापानी, लुप्राङसहित अधिकांश वडाका ग्रामीण बस्तीका महिला गर्भ अवस्थामा पनि खेतीपाती, लेकको गोठमा जाने चलन छ ।

वस्तुभाउ चराउन लेकमा जाने चलनले पनि प्रोटोकलअनुसार गर्भजाँचमा नआउनेहरू प्रशस्त भएको बुढाले बताइन् । घरपरिवारले चासो नराख्ने, कामले फुर्सद पनि नपाउनेहरू बढी मात्रामा होम डेलिभरीमा परेको उनले बताइन् ।

कालो टीका नलाग्नका लागि सुत्केरीपछि पनि पाँच वर्षसम्मका बालबालिकालाई सबै खोप पूरा गर्ने र आमाले आइरन चक्की खाने प्रावधान पूरा गर्नुपर्छ । स्वास्थ्य प्रोटोकल पूरा नगर्नेलाई दबाब पर्ने भएकाले कालो टीका लगाउने गरिएको निसीखोला–३ स्कुलटोल आमा समूहकी अध्यक्ष कौशिला चन्दले बताइन् ।

निसीमा घरमै सुत्केरी हुने र गर्भजाँच नगर्नेको सङ्ख्या अत्यधिक छ । स्वास्थ्य चौकीले पनि लागत राख्नै कठिन भएको इन्चार्ज गणेश खड्काले बताए ।

उनकाअनुसार आर्थिक वर्ष २०७९/८० मा एक सय आठ जना सुत्केरी हुने सूचना प्राप्त भएकामा २८ जना मात्र स्वास्थ्य संस्थामा आएका थिए । बाह्र जना घरमा सुत्केरी भएका थिए । चालु वर्षको छ महिनामा १६ जना स्वास्थ्य संस्थामा र दुई जना घरमा नै सुत्केरी भएका उनले बताए ।

पर्यटकीयस्थल बुलबुलेताल र आसपासको क्षेत्र

सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीयस्थल बुलबुलेताल र आसपासको क्षेत्र । ताल विस्तार गरेसँगै मोटरबोट सञ्चालनमा आएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ ।

तस्बिर :सुरेश आचार्य / रासस

कञ्चनपुरमा चारवटा विद्यालय भवन एकैसाथ निर्माण हुँदै

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चारवटा सामुदायिक विद्यालयका चार वटा विद्यालय भवन निर्माण थालिएको छ । सङ्घीय सरकारको दुई करोड २४ लाखको लागतमा निर्माण थालिएको हो ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीका अनुसार वडा नम्बर ४ को पिपलाडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय, वडा नं ७ स्टेशनपुरमा रहेको धर्मजनता माध्यमिक विद्यालय, वडा नं १ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यालय र वडा नं ७ सिमलफाँटामा रहेको कृष्ण माध्यमिक विद्यालयमा भवन निर्माणकार्य अगाडि बढाइएको छ ।

चारकोठे भवन निर्माणका लागि प्रतिभवन रु ५६ लाखका दरले बजेटको व्यवस्था गरिएको छ । निर्माण हुने भवन वातावरणमैत्री एवं अपाङ्गमैत्री हुने प्राविधिक सहायक जोशीले बताए ।

“चालु आवभित्रै भवन निर्माणकार्य सक्नेगरी काम अगाडि बढाइन लागेको छ”, उनले भने । नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय माध्यमिक विद्यालयमा भवन निर्माणको शिलान्यास गरी कार्यारम्भ गरेका छन् ।

शुक्लाफाँटा नगरपालिकामा सामुदायिक विद्यालय २८ र संस्थागत विद्यालय २५ गरी ५३ विद्यालय सञ्चालनमा छन् । विद्यालयमा १५ हजार बढी विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाको साक्षरता प्रतिशत भने ९५ दशमलव ५४ छ ।

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ ।

आज बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो । मेला भर्न नेपालका विभिन्न स्थान र भारतको विहार तथा उत्तर प्रदेशबाट भक्तजन आएका छन् ।

माघे औँसीका दिन नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणीधाममा स्नान गरेर सूर्यको आराधना गरेमा चिताएका पूरा हुने तथा पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास छ ।

मेलालाई व्यवस्थित गर्न विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहको संयोजकत्वमा गठित उपसमितिले आवश्यक व्यवस्था गरेको तथा सशस्त्र प्रहरी बलसहितको सुरक्षाकर्मीको टोली परिचालन गरेको छ ।

“स्वर्ण भद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीका घाटहरू स्नानका लागि व्यवस्थित बनाइएको छ”, वडाध्यक्ष शाहले भने, “नारायणी नदीमा डुङ्गा तरेर चितवन निकुञ्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को लागेको छ ।” श्रद्धालुहरु गएराति जागा भएर आज स्नानपछि पूजाअर्चना गरेर गन्तव्यतर्फ लागेका छन् ।

प्रयागराजको कुम्भमेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु

बीबीसी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलाका क्रममा भागदौड मच्चिएको छ । त्यस क्रममा धेरै मानिसहरू हताहत भएका छन् ।

प्रयागराजका एक चिकित्सकले समाचारसंस्था एएफपीलाई उक्त घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताएका छन् । यद्यपि प्रशासनले अहिलेसम्म कसैको मृत्यु भएको जानकारी दिएको छैन । बुधवार मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा अमृतस्नान हुन लागेका बेला उक्त घटना भएको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो । भारतीय समाचारसंस्था पीटीआईले सामाजिक सञ्जाल एक्समा एउटा भिडियो पोस्ट गरेको छ।

त्यसमा घाइतेहरूलाई सेक्टर २४ स्थित अराइल उपकेन्द्रीय अस्पतालमा लगिएको देखिन्छ । उक्त घटनापछि सबै अखाडाहरूले मौनी अमावस्याको स्नान कार्यक्रम रद्द गरेको सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले बुधवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै भागदौडका कारण कार्यक्रम रद्द गरिएको बताएका छन् ।

कुम्भमेलाको आरम्भको कथा समुद्र मन्थन गर्दा उत्पन्न अमृतको घडा (कुम्भ)का लागि देवता र दानवहरूबीच युद्ध भएको पौराणिक प्रसङ्गसँग जोडिएको देखिन्छ । अमृत पिएर अमर हुन पाउने लोभमा देवासुर सङ्ग्राम हुँदा उक्त कुभ्मबाट केही थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक गरी चार स्थानमा खसेको किंबदन्ती छ ।

कुम्भमेलाको व्यवस्थापन गर्ने अधिकारीहरूले मौनी अमावस्याका बेला अमृतस्नानका बेला ८ देखि १० करोड श्रद्धालु प्रयागराज पुग्ने गरेको बताएका छन् ।

पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिकको मृत्यु

इस्लामावाद ।  पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सेनाको एउटा चेकपोस्टमा भएको आक्रमणमा दुई सैनिक र पाँच सशस्त्र विद्रोहीहरूको मृत्यु भएको सेनाले जनाएको छ ।

सशस्त्र विद्रोहीहरूले प्रान्तको किला अब्दुल्ला जिल्लाको गुलिस्तान क्षेत्रमा रहेको सुरक्षा बलको चौकीलाई निशाना बनाएको सैन्य सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले एक विज्ञप्तिमार्फत जनाएको छ ।

त्मघाती आक्रमणकारीहरू सहित सशस्त्र विद्रोहीहरूको एक समूहले चेकपोस्टमा प्रवेश गर्ने प्रयास गरेको आईएसपीआरले विज्ञप्तिमा उल्लेख गरेको छ । सशस्त्र विद्रोहीहरूले विस्फोटक पदार्थले भरिएको गाडी पोस्टको पर्खालमा ठोकेका थिए ।

यस क्षेत्रमा अन्य सशस्त्र विद्रोहीहरूको उपस्थिति समाप्त गर्न सेनाको अपरेशन चलिरहेको छ ।

इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते

बेरुत ।  लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ ।

सोमबार इजरायली आक्रमणको क्रममा एक व्यक्तिको मृत्यु र अन्य २६ जना घाइते भएका थिए । आइतबार बिहानदेखि सयौं लेबनानी बासिन्दाहरू आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन् ।

लेबनानी बासिन्दाहरू इजरायलले लगाएको अवरोधहरू पार गर्दै पैदल यात्रा गरेर आफ्नो घरतिर लागेका छन् । तर, इजरायली सेनाले सिमानामा फर्किएका नागरिकहरूलाई नै गोली हानेको छ ।

सन् २०२४ नोभेम्बर २७ मा लागू भएको हिजबुल्लाह र इजरायली सेनाबीच जारी युद्धविराम सम्झौताको बावजुद यी घटनाहरू आएका छन् ।

के छ प्रहरी सङ्गठनसम्बन्धी संसदमा दर्ता भएको विधेयकमा ?

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधन र एकीकरण गर्न बनेको विधयेक मंगलबार सङ्घीय संसद सचिवालयमा दर्ता गरिएको छ ।

गृहमन्त्री रमेश लेखकले सरोकार भएका निकायहरूसँग आवश्यक छलफल र  सहमतिपछि मन्त्रिपरिषद्बाट स्वीकृति लिएर दुवै विधयेक सङ्घीय संसद्मा दर्ता गरिएको जानकारी दिए ।

उनले शान्ति सुरक्षा, अमयनचयन र सुशासनका साथै पद बहालीसँगै आफूले प्रहरी सङ्गठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमितामा राखेर विधयेक परिमार्जन तथा संशोधनका लागि सङ्घीय संसद्मा पेस गरिएको बताए ।

“प्रहरी ऐन, २०१२ र सशस्त्र प्रहरी ऐन, २०५८ मा भएका प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरी नयाँ प्रहरी ऐन तर्जुमा गर्न तथा सम्मानित सर्वोच्च अदालतबाट प्रहरी कर्मचारीको सेवा सर्त सम्बन्धमा विभिन्न मितिमा भएका निर्देशनात्मक आदेश कार्यान्वयन गर्नाका साथै प्रहरी सेवालाई नेपालको संविधान तथा प्रचलित कानुन, लोकतन्त्र र कानुनी शासन र मानव अधिकारप्रति प्रतिबद्ध, लैङ्गिक संवेदनशील, जवाफदेही, उत्तरदायी, प्रभावकारी तथा व्यावसायिक बनाउन विधयेक संसद्मा पेस गरिएको छ”, गृह मन्त्रालयको कानुन महाशाखाका प्रमुख, सहसचिव भरतमणि रिजालले भने ।

उनले नेपाल प्रहरी ऐन, २०१२ र सशस्त्र प्रहरी ऐन, २०५८ संशोधनपश्चात् दुवै सङ्गठनलाई थप सुदृढ र कार्य सञ्चालनमा सहज हुने अपेक्षा गरिएको बताए ।

गृह मन्त्रालयले दुवै प्रहरी ऐनलाई प्रतिस्थापन गरी प्रहरी सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समाविष्ट गरिएको जनाएको छ । प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरेपछि दुवै प्रहरी सङ्गठनको बृहत्तर हित हुने विश्वास व्यक्त गरिएको कानुन महाशाखा प्रमुख रिजालले जानकारी दिए ।

विधयेकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ३० वर्षे सेवा अवधि हटाइने, कार्यालय सहयोगी र प्रहरी जवानले १६ वर्ष तथा प्रहरी सहायक हबल्दारदेखि प्रहरी नायब निरीक्षकसम्मले १८ वर्षे सेवा अवधिपछि अवकाश लिन पाउने लगायतका विषय समेटिएका छन् ।

यस्तै, प्रहरी महानिरीक्षकको उमेर हद ६० वर्ष र सेवाअवधि तीन वर्ष राखिएको छ भने प्रहरी अतिरिक्त महानिरीक्षकको उमेर हद ५९ वर्ष र सेवाअवधि तीन वर्ष राखिएको छ । “विसं २०१२ सालमा बनेको प्रहरी ऐन ६९ वर्षसम्म सारभूत विषयमा नियावलीबाट चलेको थियो”, गृहमन्त्री लेखकले भने,“अब विधयेक पारित भए नियमित कामकाजका साथै सेवा प्रवाहमा पनि सहज हुनेछ ।”

प्रस्तुत विधयेकमा नेपाल प्रहरी सेवाको गठन, प्रशासन र सञ्चालन, प्रहरी महानिरीक्षकको नियुक्ति, काम, कर्तव्य र अधिकार, प्रहरी सेवाको पदपूर्ति, सरुवा र काज, तलब, बढुवा, भत्ता तथा अन्य सुविधा, उपदान तथा निवृत्तिभरण, आचरण, विभागीय सजाय तथा पुनरावेदन, मुद्दाको अनुसन्धान र दायरी, प्रहरी विशेष अदालत तथा बिदासहितको व्यवस्था समावेश गरिएको उनले बताए ।

नेपालको संविधानले परिकल्पना गरेबमोजिम प्रहरी सङ्गठनलाई प्रादेशिक क्षेत्राअधिकार तथा प्रदेश प्रहरीसम्म विस्तारसहितको संवैधानिक मर्मअनुकूल हुने गरी व्यवस्था गर्न तथा प्रहरी सम्बन्धमा विश्वका अन्य देशले अपनाएका असल अभ्याससमेत अनुकरण गरी प्रहरीको सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाइ विधयेक संसद्मा पेस गरिएको हो ।

नागरिकतासम्बन्धी विधयेक पनि सङ्घीय संसद्मा 

गृहमन्त्री रमेश लेखकले आज नै नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद् सचिवालयमा दर्ता गरे । नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप व्यवस्थित बनाउनुपर्ने र नागरिकता प्रदान गर्ने विषयमा अदालतबाट विभिन्न समयमा आदेशसहितको विषयलाई सम्बोधन गरी कार्यान्वयन गर्नुपर्ने भएकाले संशोधन विधेयक दर्ता गरिएको मन्त्रालयले जनाएको छ ।

तत्कालीन अवस्थामा नेपालको अन्तरिम संविधान, २०६३ मा जन्मको आधारमा नागरिकता प्रदान हुने व्यवस्था भई सोहीबमोजिम जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नेपालको नागरिकता प्रदान हुँदै आएकामा बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्कोको जन्मको आधारमा नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा आमा सम्पर्कविहीन रहेको व्यक्तिका सन्तानलाई नेपाली नागरिकता प्रदान गर्न नेपाल नागरिकता ऐन, २०६३ को विद्यमान व्यवस्थामा परिमार्जन गर्नुपर्ने भएकाले उक्त विषय पनि विधेयकमा समावेश राखिएको गृह मन्त्रालय कानुन महाशाखाका प्रमुख रिजालले बताए ।

कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर बाबु सम्पर्कमा नरहेको भनी स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानेर वंशजका आधारमा नागरिकता प्रदान गर्ने विषय पनि विधेयकमा सम्बोधन गरिएको उनले बताए ।

“कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा सोहीबमोजिम नेपाली नागरिकता प्रदान गर्न तथा १६ वर्ष उमेर पूरा नभएका बालबालिकालाई नाबालक परिचयपत्र प्रदान गर्ने सहितका विषयलाई नेपाल नागरिकता ऐनमा समावेश गर्नुपर्ने भएकाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्नुपरेको हो । यसले संविधान र कानूनबमोजिम नागरिकता प्राप्तिमा सहजता प्रदान गर्नेछ”, उनले भने ।

सरकारले पाथीभरा घटनामा घाइते भएकाहरूको उपचार खर्च ब्यहोर्ने

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले घाइतेको उपचार खर्च ब्यहोर्ने निर्णय गरेको हो । बैठकले घटनाबारे थप बुझेर समाधानका लागि वार्ता समिति पनि गर्ने निर्णय गरेको गरेको छ ।

पाथीभरामा सोमबार केबुलकार निर्माणको विषयमा स्थानीय र प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका थिए। त्यस्तै भागदौडमा एक जना गम्भीर घाइते भएका छन् । पाथीभरामा केबुलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् ।

‘नो केबुलकार समूह’ को नामबाट सोमबार प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । घटनाबारे मंगलबार गृहमन्त्री रमेश लेखकले आइजिपी वसन्त कुँवरसँग पनि ब्रिफिङ लिएका थिए । मुक्कुमलुङ संरक्षण र केबुलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरूले १५ माघदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका छन्।

फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न अदालतको आदेश

काठमाडौँ । बुधबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन तत्कालका लागि रोक्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।

डायस्परा इन्टरटेन्टमेन्ट प्रालिले चलचित्र विकास बोर्ड र फिल्म निर्माता दुई कम्पनीविरुद्ध फिल्मको नाम र कथा हुबहु चोरी गरेको भन्दै मुद्दा हालेको थियो ।

अदालतले छलफलको टुंगो नलागेसम्म फिल्म प्रदर्शन गर्नु र नगराउनु भनी आदेश दिएको छ । इजलासले फिल्म कम्पनीलाई छलफलका लागि २२ गते अदालतमा बोलाएको छ ।

हात्ती आतङ्कको दिगो समाधानको प्रतीक्षामा रौतहटका किसान

रौतहट । जङ्गली हात्तीको विध्वंशले रौतहटका किसानहरू प्रताडित छन् । गत असार महिनादेखि जङ्गली हात्ती रौतहटको चन्द्रपुर, बृन्दावन, गुजारा र फतुवा विजयपुर नगरपालिकाको जङ्गल नजिकैको गाउँमा बसिरहेका छन् । हात्तीको उपद्रोले रौतहटमा–२ दर्जनभन्दा बढी घर भत्किसकेका छन् भने लाखौँ मूल्य बराबरको अन्न, तरकारी र फलफूल नष्ट भएको छ ।

हात्तीको आक्रमणले रौतहटमा एक महिलाले ज्यान गुमाउनु परेको छ भने एक घाइते भएका छन् । गत कात्तिक १६ गते फतुवा बिजयपुर–११ रागीबुटुवा बस्ने ७० वर्षीया पातलीमाया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको थियो । तामाङको घर हात्तीले पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । जङ्गली हात्तीले एक्कासी घरमा आक्रमण गर्दा उनका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका थिए ।

हात्तीले गत कात्तिकयता चन्द्रपुर–२ जुडिबेलामा मात्रै एक दर्जनभन्दा बढी घर भत्काएको छ । ‘‘बस्न नहुने गरी घर भत्कायो तर हामी भने भागेर बाँच्न सक्यौँ’’, स्थानीय खिकप्रसाद पन्त भने । पुलामीटोलका राजेन्द्र ठाकुरको पनि घर हात्तीको आक्रमणले पुर्ण रूपमा क्षति भएको थियो । राति सुतिरहेको बेलामा हात्तीले घर भत्काएको ठाकुरले बताए । बलमपाखी टोलका तारजन मगरको पनि हात्तीले घर पूर्णरूपमा भत्काएको छ ।

यस्तै चन्द्रपुर–३ गैँडाटारमा हात्तीले एकैरात सात घर भत्कायो । हात्तीले रौतहटमा दर्जनभन्दा बढी घर भत्काएको छ । फतुवा विजयपुर नगरपालिकामा—११ का भैसही र बुटवा बस्तीमा चार घर भत्काएको स्थानीय अजय तिमलसिनाले जानकारी दिए । हरेक वर्ष धान पाक्ने बेला आउने हात्ती धान काटिसकेपछि जाने गरेको थियो तर यसपालि गाउँमै बस्नाले यहाँका मानिसहरू असुरक्षित महसुस गरिरहेको छन् । हात्तीले घर भत्काइसकेपछि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्ले पीडितहरूका घरमै पुगेर जस्तापातासहित खाद्यान्न सहयोग गरेका थिए ।

जङ्गली हात्तीले खासगरी केराखेतीमा धेरै क्षति पुर्‍याएको छ । रौतहटको चन्द्रपुर—३ गैँडाटार र जुडिबेलामा लगाइएको केराखेतीमा क्षति पुर्‍याएको छ । हात्तीले पटकपटक गरेर करिब एक बिगाहामा लगाएको केराखेती नष्ट गरेको चन्द्रपुर–३ गैँडाटारका किसान लालबहादुर दोङले जानकारी दिए । फल्ने बेला भएको करिब सात सय केराको बोटमा हात्तीले नष्ट गरेको उनको भनाइ छ । केराखेतीमा बीमा नहुँदा पनि समस्या भएको उनको भनाइ छ ।

वृन्दावन नगरपालिका–१ बलरीखोरमा पनि हात्तीले हरेक राति विध्वंश मच्चाइरहेको स्थानीय सुरेन्द्र पटेलले जानकारी दिएका छन् । केही दिनयता गाउँका बासिन्दा हात्तीका कारण रातभर जाग्रम गर्न बाध्य भएका पटेल बताउँछन् । हात्ती आउने तथा प्रभावित क्षेत्रमा पोलपोलमा बत्ती र चोकचोकमा आगोको व्यवस्था, हात्ती नियन्त्रणका लागि नियमित गस्ती र गस्तीका लागि इन्धनको व्यवस्था, हात्तीले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गर्ने, क्षति पुगेका घर तथा किसानलाई राहतको व्यवस्था गर्ने, घाइते भएकालाई तत्काल उद्धारका लागि एम्बुलेन्स खरिद गर्नेलगायतका निर्णयहरू गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहले जानकारी दिए ।

सङ्घीय सांसद देवप्रसाद तिमल्सिना र प्रदेशसभा सदस्य युवराज भट्टराईले हात्ती व्यवस्थापनका लागि सङ्घीय तथा प्रदेशस्तरबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । प्रभावित क्षेत्रका किसान र स्थानीय बासिन्दालाई राहत तथा उद्धारमा सरकारका तर्फबाट भरपर्दो सहयोग पुर्‍याउने उनले आश्वासन दिएका छन् । बर्सेनि हात्तीको समूह रौतहटको गैँडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जङ्गलसहिया गाउँहरू, वृन्दावनको बलरी, फतुवा बिजयपुर नपाको रागी बुटुवालगायत गाउँहरूमा पस्ने गरेक छ । गत वर्ष मात्रै हात्तीको आक्रमणबाट चन्द्रपुरका घाँस, दाउरा गर्न गएका दुई महिलाले ज्यान गुमाएका थिए । हात्ती आतङ्कले गर्दा यहाँका बासिन्दा घाँस दाउरा गर्न जङ्गल जान समेत छाडेका छन् ।

यसैबीच रौतहटको दक्षिणी भेगतर्फ नीलगाई र बँदेलले किसानहरूको बालीमा क्षति पुर्‍याएको छ । केही वर्षदेखि जिल्लाको कटहरिया, देबाही, लालबकैया, विजयपुर, मौलापुरका किसानका नदी किनारका खेतमा लगाइएको मकै, धान, उखु, आलु, गहुँ, केरा, धनियाँलगायत बालीमा निलगाइले क्षति पुर्‍याउँदै आएको छ । लालबकैया नदीको दुवै किनारमा रहेका खरघारी र उखुबारीको आडमा लुकेर ठूलो संख्यामा नीलगाई र बँदेल बस्छन् । दिउँसो बाहिर निस्केर बालीमा चर्छन् । स्थानीयहरू वन्यजन्तुबाट बाली जोगाउन खेत नजिक र नदी छेउमा मचान बनाएर बस्न थालेका छन् । वन्यजन्तु नियन्त्रण गर्न कसैले पनि चासो नदिदा आफूहरूको बाली जोखिममा परेको किसानहरूयको गुनासो छ ।

चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष तामाङलाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद सजाय

काठमाडौं । विशेष अदालतले काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

मंगलबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तामाङलाई दोषी ठहर गरेको हो । इजलासले उनलाई ६ महिना कैद र बिगो चार लाख कायम गरी त्यति नै जरिवाना हुने फैसला सुनाएको छ ।

उद्योगको ठाउँसारीका लागि सिफारिस गर्न उनले चार लाख घुस लिएको आरोपमा अख्तियारले मुद्दा चलाएको थियो ।

वडाध्यक्ष तामाङले ललितपुर महानगरपालिका–२२ नख्खुमा रहेको पी थ्री प्रोडक्टस् तथा भिष्ठा आइकोनिक प्रोडक्सन प्रालिको स्थानान्तरण गरी चन्द्रागिरि–२ वसुन्डोलमा ठाउँसारी गर्न र विद्युत् जडान समेतको सिफारिस लिनका लागि बिचौलियामार्फत घुस मागेका थिए ।

उनले त्यही वडाका ध्रुवबहादुर कडायतमार्फत दुई लाख रुपैयाँ नगद र दुई लाखको चेक लिएको उजुरीपछि अख्तियारले गत असार २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अमेरिकाका लागि ‘आइरन डोम’ मिसाइल सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश

मायामी (अमेरिका) । राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाका निम्ति इजरायलले हजारौँ रकेट रोक्न प्रयोग गरेको जस्तै ‘आइरन डोम’ वायु सुरक्षा प्रणालीको योजना सुरु गर्न कार्यकारी आदेश जारी गरेका छन् ।

ट्रम्पले रक्षामन्त्रीलाई ६० दिनभित्र ब्यालिस्टिक, हाइपरसोनिक र उन्नत क्रुज क्षेप्यास्त्रहरुबाट सुरक्षा गर्न डिजाइन गरिएको ‘अर्को–पुस्ताको क्षेप्यास्त्र सुरक्षाकवच (नेक्स्ट–जेनेरेसन मिसाइल डिफेन्स शिल्ड)’को कार्यान्वयन योजना पेस गर्न आदेश दिएका छन् । यसमा अन्तरिक्ष–आधारित अवरोधकको विकास पनि समावेश छ ।

सन् २०२४ को चुनावी अभियानमा ट्रम्पले बारम्बार अमेरिकाका निम्ति इजरायलको आइरन डोम प्रणालीको संस्करण निर्माण गर्ने वाचा गरेका थिए । तथापि, उनले यो प्रणाली छोटो दूरीको खतराका निम्ति डिजाइन गरिएको तथ्यलाई बेवास्ता गरे । यसले यसलाई संयुक्त राज्य अमेरिकाका निम्ति मुख्य खतरा रहेको महादेशीय क्षेप्यास्त्रविरुद्ध रक्षा गर्न अनुपयुक्त बनाउँछ ।

ट्रम्पले यसअघि मायामीमा रिपब्लिकन कांग्रेसको ‘रिट्रिट’मा यो प्रणाली संयुक्त राज्य अमेरिकामा निर्माण गरिने बताएका थिए । हमास र लेबनानको हिजबुल्लाह समूहले प्रहार गरेका रकेटहरु खसाल्न इजरायलले आफ्नो आइरन डोम प्रणाली प्रयोग गरेको छ ।

“उनीहरुले लगभग हरेक रकेटलाई खसाल्छन्,” ट्रम्पले मायामी बैठकमा भने, “त्यसैले मलाई लाग्छ, संयुक्त राज्य अमेरिका पनि यसको हकदार छ । ”उनले सोमबार अमेरिकी सेनासँग सम्बन्धित अरु केही आदेशमा पनि हस्ताक्षर गरे । यसमा लैंगिक अल्पसंख्यक (ट्रान्सजेन्डर) व्यक्तिहरुलाई सशस्त्र बलमा प्रतिबन्ध लगाउने मार्ग तय गर्ने एउटा आदेश पनि समावेश छ ।

पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय

इस्लामाबाद । पाकिस्तानले मंगलबार अनलाइन दुष्प्रचारलाई अपराधीकरण गर्दै तीन वर्षसम्मको कारावास सजायको व्यवस्था गरेको कानून पारित गरेको छ । यो निर्णयलाई पत्रकारहरूले असहमतिमाथि कारबाही गर्न डिजाइन गरिएको बताएका छन् ।

यो कानूनले ‘जानाजानी’ अनलाइनमा त्यस्तो जानकारी फैलाउने जो–कोहीलाई लक्षित गर्छ, जसलाई उनीहरूले ‘झूटो वा नक्कली र डर, त्रास वा अशान्ति वा अस्थिरताको भावना सिर्जना गर्न सक्ने’ विश्वास गर्ने सम्भावना छ ।

मंगलबार पत्रकारहरू विरोधमा ग्यालरीबाट बाहिर निस्किएपछि सिनेटले अनुमोदन गर्नुअघि गत हप्ता थोरै चेतावनीका साथ राष्ट्रिय सभाको माध्यमबाट कानून द्रुत गतिमा पारित गरिएको थियो ।

पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्टका सदस्य वरिष्ठ पत्रकार आसिफ बशीर चौधरीले सरकारले पत्रकारहरूलाई उनीहरूसँग परामर्श गर्ने आश्वासन दिएको तर उनीहरूलाई ‘धोका दिएको र पिठ्युँमा छुरा प्रहार गरिएको’ बताए ।

“हामी वास्तवमै दुष्प्रचार विरुद्धको कानून चाहन्थ्यौँ तर यदि यो खुला छलफलमार्फत नभई डर र दबाबमार्फत गरिँदैछ भने हामी यसलाई हरेक उपलब्ध मञ्चमा चुनौती दिनेछौँ”, चौधरीले भने, “तानाशाही शासनमा पनि यो सरकारले जसरी कानून जबरजस्ती संसद्मा पारित गरिएको थिएन ।”

विधेयक अब स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाइनेछ ।

विश्लेषकहरूका अनुसार धाँधली आरोपले ग्रस्त चुनावपछि र पाकिस्तानका सबैभन्दा लोकप्रिय नेता, पूर्व प्रधानमन्त्री इमरान खानलाई उनको पार्टीले राजनीतिक प्रेरित भनेका भ्रष्टाचारका विभिन्न आरोपमा जेलमा राखिएपछि सरकार वैधानिकताको संर्घषमा छ ।

खानका समर्थक र वरिष्ठ नेताहरूले पनि हजारौँको घेराबन्दीसहित कडा दमनको सामना गर्नुपरेको छ ।

गत फेब्रुअरीको चुनावपछि मतदान धाँधलीको आरोप लगाउने पोस्टहरू फैलिएपछि सामाजिक सञ्जाल साइट एक्स बन्द गरिएको छ ।

टेलिभिजनमा खानको नाम सेन्सर गरिएको छ र सम्पादकहरूले आफ्ना कार्यक्रमहरूको बढ्दो निगरानीको जानकारी दिएका छन् ।

खानको पाकिस्तान तहरीक-ए–इन्साफ पार्टीका सदस्य सिनेटर सैयद शिब्ली फराजले नयाँ कानूनलाई ‘अत्यन्त अप्रजातान्त्रिक’ बताए र यसले उहाँहरूका कार्यकर्ताहरूको ‘राजनीतिक उत्पीडनलाई बढावा दिने’ बताए।

तथापि सरकारका मन्त्री तनवीर हुसेनले विधेयक सामाजिक सञ्जालको निगरानीमा केन्द्रित हुने बताए। “भविष्यमा सामाजिक सञ्जालमार्फत समाजमा हुने अराजकता नियन्त्रण हुनेछ भन्ने मलाई विश्वास छ”, उनले भने ।

मानव अधिकार संगठनको धारा १९ अनुसार पछिल्लो दशकमा विश्वव्यापी रूपमा फौजदारी कानूनसहित ‘गलत सूचना’ कानूनको प्रसार भएको छ । यसले सरकारहरूलाई अनलाइन भाषण नियन्त्रण गर्न र प्रहरीलाई ‘नक्कली समाचार’ नियन्त्रण गर्न सक्षम बनाएको छ ।

अभिव्यक्ति र सूचनाको स्वतन्त्रतालाई विश्वव्यापी रूपमा बढावा दिने यस समूहका अनुसार यस्ता कानूनहरूले पत्रकारितामा बाधा पुर्‍याउन सक्छन् ।

स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको पेसागत हकहित समेटिने बताएका छन् ।

मंगलबार नेपाल नर्सिङ सङ्घको ६३औँ वार्षिकोत्सव तथा साधारणसभामा उनले स्वास्थ्य सेवा ऐनको मस्यौदा बनिरहेको जानकारी दिँदै भने, ‘ऐनको मस्यौदा बन्दै छ । नर्सिङको हकहितका लागि पनि विषय समेट्छौँ । सम्भवतः यही ‘सेसन’ मा पास गर्छौं ।’

नर्सिङ जनशक्ति पलायन हुन नदिन सुविधा वृद्धि गर्ने, सुरक्षित वातावरणमा काम गर्ने अवसर प्रदान गर्ने, राम्रो काम गर्नेलाई प्रोत्साहन र पुरस्कृत गर्ने, व्यक्तित्व विकासमा ध्यान दिएर काम गर्ने वातावरण तयार गरिने मन्त्री पौडेलले बताए । उनले व्यक्तिगत पहुँचका आधारमा नभई पदोन्नतिका विधिका आधारमा गरिनुपर्ने बताए ।

मन्त्री पौडेलले भने, ‘श्रम ऐनले तोकेको दक्ष जनशक्तिलाई २२ हजारभन्दा तल दिन पाइँदैन । यसबारे रिपोर्ट गरेमा प्रमाणका आधारमा अस्पतालको सम्बन्ध खारेज गर्छौं । धेरैले रिपोर्ट गर्न डराउनुहुन्छ । आफ्नो अधिकारकोल लागि आफैँ लड्नुपर्छ ।’

नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले नर्सहरू विकराल अवस्थामा काम गरिरहेको बताउँदै यसमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘विश्वव्यापी नै नर्सहरूको खडेरी भइरहेको अवस्था छ । नर्सजस्तो प्राविधिक जनशक्तिलाई दैनिक ज्यालादारीमा काम गराइरहेका छन् । तलब भत्ता, सेवा सविधा न्यून छ । तलब सरकारले भनेअनुसार पाएका छन् वा छैनन् भन्नेमा अनुगमन हुनुपर्छ ।’

नर्सिङ सङ्घकी पूर्वअध्यक्ष तारा पोखरेलले नर्सहरूलाई देशमै बस्ने वातावरण सरकारले मिलाउनुपर्ने धारणा राखिन् ।

उनले भनिन्, ‘देशभर एक लाख २० हजार बढी नर्सले लाइसेन्स लिइराख्दा ५० हजार नर्स पनि छन् वा छैनन् भन्नेमा शङ्का छ किनकी नेपालमा काम गर्ने वातावरण छैन । दैनिक ज्यालादारीमा काम गर्ने भए कसले काम गर्छ ? नर्सहरू पलायन भइरहेका छन् । सबै पलायन भए के देशले नर्सलाई आयात गर्न खोजेको हो ? नर्सहरू पलायन हुन नपरोस् ।’

नेपाल चिकित्सक सङ्घका अध्यक्ष अनिलविक्रम कार्कीले नर्सबिना चिकित्सकहरू जहिल्यै पनि अपुरो हुने बताए ।

उनले नर्स र चिकित्सकलगायत स्वास्थ्यकर्मीको जनशक्तिको आवश्यकताबारे नबुझिएको बताए । उनले भने, ‘हाम्रो राजनीतिक नेतृत्वले स्वास्थ्यको जनशक्तिलाई बुझ्नै चाहेन । स्वास्थ्यका जनशक्तिलाई प्राथमिकतामा नराखेका कारण स्वास्थ्य क्षेत्र पछि परेको हो ।’

६ महिनाको क्रियाकलाप हेर्दा सरकार अप्राकृतिक रुपले गठन भएको पुष्टि भयोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ६ महिनामा गरेको क्रियाकलाप हेर्दा सरकार अप्राकृतिक रुपले बनेको पुष्टि भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको सभालाई सम्भोधन गर्दै प्रचण्डले सरकार भ्रष्टाचारीहरुको रक्षाका निम्ति र सामाजिक अन्याय कायम गर्ने उद्देश्यद्वारा गठन भएको पुष्टि भएको बताएका हुन् ।

उनले भने, ‘सरकारले आफैं प्रतिवद्धता गरेको मान्यता विपरीत पनि गठन भएको हो । त्यसैले सरकार, अप्राकृतिक, अलोकतान्त्रिक छ र सरकार आफैंमा गलत उद्देश्यले बनेको छ । गएको ६ महिनामा सरकारले गरेको क्रियाकलापले त्यो देखाइरहेको पनि छ ।’

अध्यक्ष प्रचण्डले सरकारले अध्यादेश अलोकतान्त्रिक र निरङकुश तरिकाले ल्याएको आरोप लगाए । अध्यादेश प्रतिगमनतिरको यात्राको पाइलाहरु नै हो भन्ने महसुस भएपछि तत्काल अधिवेशनको आह्वान गरेको उनले बताए ।

दार्चुलामा उकु महलको उत्खननसँगै अनुसन्धान सुरु

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका– ७, उकुमा रहेको ऐतिहासिक उकु महलको उत्खननसँगै अनुसन्धान सुरु गरिएको छ । पुरातत्त्व विभागको टोलीले उकु पुगेर उत्खनन र भग्नावशेषको अनुसन्धान सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष हीरासिंह धामीको अध्यक्षतामा कार्यक्रम गर्दै पुरातत्त्व विभागको टोलीले उत्खनन कार्य थालनी गरेको छ । लामो समयदेखि संरक्षण र पुनर्निर्माणको पर्खाइमा रहेको उकु महलको उत्खनन र अनुसन्धान थालिएसँगै संरक्षणमा समेत ध्यान पुग्ने स्थानीयको अपेक्षा छ ।

उकु महलको सम्भावनाबारे उत्खनन गर्न पुरातत्त्व विभागका पुरातत्व अधिकृत हरि भुसाल, लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमालकुमार उप्रेती र पुरातत्त्व विभागकै अधिकृत राकेश परिवारले कामको थालनी गरेका छन् ।

उकु महलले जिल्लामा धार्मिक तथा सांस्कृति पर्यटनको ठूलो सम्भावना बोकेको पुरात्व अधिकृत उप्रेती बताउँछन् । महलको भग्नावशेषमा अहिले पनि शिलालेखमा लेखिएका चट्टान स्पष्ट देख्न सकिन्छ । चट्टानमा शिलालेख लेखिएको र ढुङ्गा कोरेर आकर्षक मूर्ति बनाएका भेटिएका छन् ।

गत वर्ष पनि केही काम भएको थियो । यस वर्ष थप एक महिना काम गर्ने गरी पुरातत्त्व विभागको टोली आएको भुसालले जानकारी दिए । आगामी ११ फागुनसम्म उत्खनन र अनुसन्धान सक्ने गरी विभागको टोली पुगेको छ । उकु भग्नावशेष वरिपरि, मन्दिर क्षेत्र, घर खेत सबैतिरका चट्टानसमेत सङ्कलन गर्ने काम भइरहेको छ । अहिले पनि भग्नावशेष क्षेत्रमा भेटिएका सबै शिलालेख सुरक्षित स्थानमा सार्ने काम भइरहेको भुसालले बताए ।

उनले भने, ‘सबै प्रकारका अभिलेख सुरक्षित राख्ने काम भइरहेको छ, सुरक्षित तवरले अभिलेख राखेर अनुसन्धान गर्छौं ।’ प्रारम्भिक रूपमा हेर्दा थुप्रै शिलालेखहरू भेटिँदै छन् । उकु महलको संरक्षण र अनुसन्धानका लागि पटकपटक ताकेता भएसँगै पुरातत्त्व विभागले काम थालनी गरेको हो ।

अहिले भइरहेको उत्खनन र अनुसन्धानबारे जिल्ला प्रशासन कार्यालय तथा सरोकारवालाई जानकारी गराउने तयारी भएको भुसालको भनाइ छ । यो अवधिमा उकु भग्नावशेष क्षेत्रमा फोटो खिच्न, भिडियोग्राफी र टिकटक बनाउन पुरातत्त्व विभागको अनुमति लिन भनिएको छ ।

‘यो ऐतिहासिक अनुसन्धान कार्य गर्दै छौँ’, भुसाल भन्छन्, ‘यो खोजबाट यहाँको वास्तविकता पत्ता लगाएर संरचना कस्तो बनाउने भन्ने विषयमा निर्णयमा पुगिन्छ, गत वर्ष उत्खननका क्रममा एउटा मन्दिर भेटिएको थियो, प्रारम्भमा हेर्दा यहाँ निकै धेरै शिलालेख भेटिने अवस्था छ, यसको पूरै उत्खनन भएपछि यहाँको सांस्कृति, धार्मिक पर्यटकीय महत्व झनै बढ्छ ।’

स्थानीय सरकारले चासो देखाएसँगै पुरातत्त्व विभागले काम थालनी गरेको गाउँपालिका अध्यक्ष धामीले बताए । उकुमा भएको भग्नावशेषको अभिलेखीकरण र व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने गरी टोली आएको छ । गत वर्ष सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले समेत उकु महलका बारेमा चासो दिँदै ज्ञापन बुझाएका थिए ।

सबै क्षेत्रको सहयोगमा अहिले उकु महलको उत्खनन र अनुसन्धानसम्म पुगेको अध्यक्ष धामीको भनाइ छ । ‘हामीले यसको प्रचार–प्रसारमा ल्याउन तथा संरचना निर्माणका लागि पुरातत्त्व विभागलाई अनुरोध गरेका थियौँ,’ उनले भने, ‘यहाँको इतिहासलाई फेरि एकपटक बिताउने प्रयास गरिएको छ ।’

परापूर्वकालको पुरानो दरबारको भग्नावशेषका रूपमा रहेको ठाउँको अध्ययन तथा अन्वेषण र संरक्षणको काम सुरु भएपछि स्थानीय पनि खुसी भएका छन् । स्थानीय धनबहादुर पालले ओझेलमा परेको उकु महलको काम अघि बढेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘थोेरै भए पनि संरक्षणका लागि सरकारले ध्यान दिएको छ, यो निरन्तर हुनुपर्छ, महलको उत्खनन र संरक्षण नहुँदा थुप्रै मूर्ति तथा शिलालेख चोरी हुनुका साथै टुटफुट भएका छन् ।’

उकु महलको भग्नावशेषस्थलमा विभिन्न शिलालेख लेखिएका चट्टान छरिएर रहेका अवस्थामा जीर्ण बन्दै गएका थिए । परापूर्वकालमा कत्युरी राजाको राजधानीका रूपमा यसलाई निर्माण सुरु गरिएको किंवदन्ती छ । कतुडी राजवंशको अन्त्यपश्चात् १२औँ शताब्दीमा पाल राजा भारतको अस्कोट क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको हुन सक्ने इतिहासका जानकारको भनाइ छ ।

हालसम्म पनि उकु, लाली क्षेत्र र उकुसँग सीमा जोडिएको भारतको अस्कोटमा पनि पालको बसोबास रहँदै आएको छ । इतिहासबारे जानकार प्रकाशचन्द्र मिश्र उकु भग्नावशेष नाग पाल राजाले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति शिलालेख जम्मा गरेको बताउँछन् । उक्त क्षेत्रमा ऐतिहासिक किल्ला, ढुङ्गामा कुँदिएका विभिन्न भगवान्‌का मूर्ति देख्न सकिन्छ । अस्कोटको इतिहासअनुसार परापूर्वकालमा अभयपाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएको इतिहास छ ।

मिश्रले भने, ‘यो ऐतिहासिक महत्त्वको स्थल हो, यहाँ भेटिने कोटघर, देवस्थल, दरबारका किल्ला र विभिन्न आकृतिका ढुङ्गाले इतिहास र संस्कृति दर्शाइरहेको देखिन्छ ।’ दार्चुला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजले पुष्टि गरेको बताइन्छ ।

रविको मुद्दामा उच्च अदालतले मगायो कैफियत प्रतिवेदन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख घरौटीमा छाड्ने आदेशविरुद्ध लामिछानेले पुनरावलोकनका लागि दिएको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । मंगलबार न्यायाधीश मिलनकुमार राईको एकल इजलासले यस्तो आदेश गरेको हो ।

जिल्ला अदालत कास्कीले पुस २५ गते ६५ लाख रुपैयाँ धरौटी मागेपछि लामिछानेले आदेश त्रुटिपूर्ण रहेको भन्दै बदरको मागगरी उच्च अदालत पोखरामा सोमबार निवेदन दर्ता गराएका थिए ।

लामिछानेले सहकारीबाट ऋण लिन आफू उपस्थित नभएको, कुनै निवेदन नगरेको र आफ्नो खातामा रकम नगएको प्रमाणित भइसकेको उल्लेख गरेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी माग्ने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका लामिछानेले दोष जीबी राईमाथि नै लगाएका छन् ।

जङ्गी अड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आजदेखि ‘नेपाली सेना फोटो तथा वृहत् प्रदर्शनी–२०८१’ सुरु भएको छ ।

महाशिवरात्रि तथा सेना दिवसको सन्दर्भ पारेर आयोजित उक्त प्रदर्शनीको प्रधान सेनापति अशोकराज सिग्देलले मंगलबार जङ्गी अड्डामा शुभारम्भ गरे ।

यही माघ १८ गतेसम्म चल्ने  प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरण राखिएका छन् ।

त्यसका साथै सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयको विविध प्रस्तुति रहनेछ ।

सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले नेपाली सेनाका शान्ति सुरक्षा, विकास निर्माण, प्रकृति संरक्षण, विपद् प्रतिकार्य र विश्व शान्तिलगायत विभिन्न युनिट कार्यजिम्मेवारीबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जानकारी दिए ।

आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुने  प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रदर्शनीबाट आमनागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई नेपाली सेनाका विभिन्न गतिविधिका बारेमा जानकारी हासिल गर्न सहज हुने विश्वास लिइएको सेनाले जनाएको छ ।

पृथ्वी मावि बाक्सिलालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले कब्जा  गरेको छ ।

तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार तेस्रो पटक विजयी भएपछि सोमबार पृथ्वी माविले शिल्ड कब्जा गरेको हो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७०, पाँचौँ संशोधन २०८० मा उल्लेख भएअनुसार लगातार तीन पटकसम्म रनिङ शिल्ड प्रतियोगितामा विजयी हुनेले सो रनिङ शिल्ड सधैंका लागि राख्न पाउने व्यवस्था छ ।

चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो कराँते र तेक्वान्दोसहित २६ स्वर्ण, २१ रजत २५ कास्य पदक ल्याएर पृथ्वी माविले उपाधि आफ्नो पोल्टामा पारेको हो । 

यही माघ ११ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ स्वर्ण, तीन रजत, एक कास्य पदकसहित शुक्रजित मावि दोस्रो र तीन स्वर्ण, छ रजत र एक कास्य पदकसहित जालपा मावि बाक्सिला तेस्रो भएको छ । 

प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद ५० हजार, ४५ हजार र ४० हजार नगद पुरस्कारको साथमा शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिका प्रमुख समिर राई, प्रमुख प्रशासकीय अधिकृत शौधन राईलगायतले पुरस्कार वितरण गरेका छन् ।

प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित नौवटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनोट भएका विद्यार्थीहरुले नवौँ जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

केपिलासगढी गाउँपालिकासँगै हलेसी तुवाचुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ र बराहपोखरी गाउँपालिकाले पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरिसकेका छन् ।

नेपालमा पाठेघरको क्यान्सरले दैनिक चार जनाको मृत्यु

काठमाडौं ।  नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु हुने गरेको छ ।

नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सरपछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरका कारण बर्सेनि २ हजार १ सय ६९ जनालाई हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । तीमध्ये ६१ प्रतिशत अर्थात् १ हजार ३ सय १३ जनाको बर्सेनि मृत्यु हुने गरेको उनले बताए ।

ह्युमन पापिलोमा भाइरस (एचपीभी)को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हुन् । जिल्लामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको छ ।

खोप अभियानअन्तर्गत जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालयबाहिर रहेका ५४ हजार ९ सय ९९ छात्रा तथा किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

झापामा एचपीभी खोप अभियानका लागि ७ सय ५५ खोप केन्द्र, ७ सय ८१ जना स्वास्थ्यकर्मी र १ हजार ५ सय १५ जना स्वयंसेविका परिचालन हुनेछन् । ७ सय ५५ खोप केन्द्रमध्ये ५ सय ५७ विद्यालय १ सय ४० स्वास्थ्य संस्था र ४० वटा बाह्य केन्द्र रहनेछन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्यूएचओ)ले सन् २०३० सम्ममा यो रोग निवारणका लागि एकीकृत रूपमा तीन तहको उपाय अवलम्बन गर्न सिफारिस गरेअनुसार नेपाल सरकारले १० देखि १४ वर्षसम्मको किशोरीलाई खोप लगाउने भएको हो ।

गत आर्थिक वर्ष २०८०–०८१ मा सातवटै प्रदेशका १० हजार बालिकालाई एचपीभी खोप लगाइएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार महिलामा हुने क्यान्सरमध्येमा पाठेघरको मुखमा हुने क्यान्सर चौथो मुख्य क्यान्सरको रुपमा देखिएको छ । विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने यो रोगबाट हरेक वर्ष ३ लाख ११ हजार (५५ प्रतिशत) महिलाको मृत्यु हुने गरेको छ ।

शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । मंगलबार नेप्से २४.५० अङ्कले बढेर २ हजार ६ सय ५७.७७ विन्दुमा पुगेको छ ।

नेप्से दोहोरो अङ्कले बढेको दिन सबै समूहको शेयरमा वृद्धि भएको छ । सबैभन्दा धेरै विकास बैंक समूहको शेयर ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन दोल्ती पावर कम्पनीको शेयर भने झन्डै साढे ८ प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो झन्डै ९ अर्बको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ९ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।

राजदूत तिमिल्सिनाद्वारा मलेसियाका सुल्तानसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । मलेसियाका लागि नेपालका राजदूत डा नेत्रप्रसाद तिमिल्सिनाले क्वालालम्पुरस्थित राजप्रासादमा मंगलबार आयोजित विशेष समारोहमा त्यहाँका राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरे ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजदूत तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजा इब्राहिमको सुस्वास्थ्य एवं दीर्घायुका साथै मलेसियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा मलेसियाका विदेशमन्त्री दातोसिरी उतामा हाजी मोहम्मद बिन हाजी हसन, विदेश मन्त्रालयका उच्चअधिकारीका साथै नेपाली राजदूतावासका पदाधिकारीको उपस्थिति थियो ।

राजदूत तिमिल्सिनासहित अन्य राष्ट्रका पाँचजना राजदूतले पनि सोही समारोहमा आ–आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

कसैले मिति नतोक्दा हुन्छ, ८४ अघि सरकार ढल्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनपछि मात्र सरकार परिवर्तन हुने बताएका छन् ।

मंगलबार पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनपछि मात्र सरकार ढल्ने बताएका हुन् । माओवादी अध्यक्ष प्रचण्डले सरकार छिटै ढल्नै बताइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाई आएको हो ।

प्रधानमन्त्रीले भने, ‘यो सरकार राति ढल्छ, भोलि बिहानै ढल्छ, यो साता ढल्छ अर्को महिना सरकार ढल्छ भनेर मिति तोकेका तोकेकै छन् । यो गठबन्धन सरकार २०८४ मंसिरको निर्वाचनपछि मात्र ढल्छ ।’

उनले संसदमा अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत हुने पार्टीका सांसदहरुलाई निर्देशन दिए । उनले जनताका कुरा संसदमार्फत राख्ने भएकाले सत्य र तर्कसंगत कुरा बोल्न नहिच्किचाउन निर्देशन दिए ।

प्रधानमन्त्रीले सरकारले ल्याएको अध्यादेशले २९ वटा कानुनलाई छोएको जानकारी दिँदै ६० दिनभित्रै प्रतिस्थापन विधेयक ल्याएर कानुन बनाउने बताए। अध्यादेशमा केही छुटपुट भए संसदमार्फत सच्याउने प्रतिबद्धता उनले व्यक्त गरे।