`

सामाजिक सञ्जालसम्बन्धी विधेयक परिमार्जन हुन्छः उपमहासचिव ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद् र सञ्चारक्षेत्रसँग छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जन गरिने बताएका छन् ।

प्रेस चौतारी नेपाल ललितपुरको बिहीबार छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउनकै लागि सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक ल्याउन लागिएको जानकारी बताएका हुन् ।

उनले सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नुपर्ने बताए । तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेजस्ता कार्यलाई स्वीकार्न नसकिने उनको भनाइ छ ।

ज्ञवालीले आफ्नो पार्टी सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउने बताए ।

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल सरकारद्वारा राष्ट्रिय सभामा दर्ता गरिएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका प्रावधानहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गरी अध्यादेशका गलत बाछिटाहरूले नेपाली राजनीतिलाई दूषित बनाउँदै गर्दा त्यसकै सेरोफेरोमा आएको विधेयक पछाडिको नियत सही नदेखिएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘एक्काइसौँ शताब्दीको समाजले पाएका प्रमुख उपलब्धिहरुमध्ये एक हो सामाजिक सञ्जाल । अभूतपूर्व रूपमा मानिसहरूलाई जोड्ने माध्यमका रूपमा मात्र होइन, सञ्चारको सबैभन्दा बलियो खम्बाका रूपमा पनि यसको औचित्य दिनप्रतिदिन बढ्दो छ । सर्वसाधारणको सहज पहुँच भएको सामाजिक सञ्जालले वाक् स्वतन्त्रता तथा पारदर्शितालाई आधार स्तम्भ बनाएर सही अर्थमा लोकतन्त्रलाई सबैको पहुँचमा पुर्याउन मद्दत गरेको छ । आफूलाई मन लागेको कुरा हरेकले भन्न पाउने र भनेको कुरा धेरै माझ पुर्याउन मिल्ने सामाजिक सञ्जालको सबैभन्दा दरिलो पक्षलाई नजरअन्दाज गरेर नकारात्मक कुराहरूमा मात्र केन्द्रित हुनु कदापि सही होइन ।’

रास्वपाले सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई सार्वजनिक बहस र छलफलबाट छलेर हतारहतार दर्ता गर्नुले सरकारको नियतमा रहेको खोटलाई उजागर गरेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, विधेयकका प्रावधानहरूले स्पष्ट रूपमा वाक् तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, आलोचनात्मक अभिव्यक्तिलाई दण्डनीय बनाउने र नागरिक अधिकारमाथि नियन्त्रण लगाउने अलोकतान्त्रिक अभीष्ट प्रकट गरेका छन् । संसदीय व्यवस्थामा सङ्ख्यात्मक बहुमतको आडमा नागरिक स्वतन्त्रता संकुचित पार्ने खालका विधेयक पारित गर्न खोज्नु लोकतन्त्रकै भद्दा मजाक हो ।’

गलत कृयालापविरूद्ध उत्रिन अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई प्रचण्डको आह्वान

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताएका छन् ।

अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरुले बिहीबार उनको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष दाहालले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताए ।

भेटका क्रममा अध्यक्ष दाहालले भने, ‘आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित युवाको ऊर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई र राजनीतिक आन्दोलनको सेवा गर्न सही ढङ्गले प्रयोग हुने विश्वास लिएको छु ।’

उनले सम्पूर्ण निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै देश विकास, समाज रूपान्तरण र सुशासनका पक्षमा लाग्न तथा गलत कृयालापविरूद्ध उत्रिन आह्वान गरे ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजय सापकोटा, महासचिवमा रोशन थापा मगर, कोषाध्यक्ष फुलमाया राना मगरसहितको केन्द्रीय समिति निर्वाचित भएको थियो ।

इजरायली बन्धक बर्जरलाई हमासले लगायो रेडक्रसको जिम्मा

जेरुसेलम । प्यालेस्टिनी लडाकू समूह (हमास)ले इजरायली महिला बन्धक अगम बर्जरलाई बिहीबार सुपुर्दगी गरेको छ ।

गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत तीन इजरायली र पाँच थाई बन्दीलाई बिहीबार रिहा गर्ने योजना अनुसार नै उनलाई रिहा गरिएको हो । अन्य दुई इजरायली र पाँच थाई बन्धकलाई पनि आजै रिहा गरिनेछ ।

उत्तरी गाजा पट्टीको जबालियाको एक मञ्चमा हमास लडाकूहरूले परेड गरेपछि सैन्य पोशाकमा सजिएका बर्जरलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरिएको थियो।

इजरायली सेनाले बर्जर इजरायल फर्किएको र उनको ‘प्रारम्भिक स्वास्थ्य परीक्षण’ पछि परिवारको जिम्मा लगाइने बताएको छ ।

यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बिहीबार रिहा हुने तीन जना इजरायलीहरू आर्बेल येहुद, बर्जर र गादी मोसेस रहेको जनाएको थियो ।

हमास र सहयोगी लडाकू समूह इस्लामिक जिहादका स्रोतहरूले जबालिया शरणार्थी शिविर र खान युनिसमा हुने बताएको बन्धक आदानप्रदानको औपचारिक कार्यक्रम अघि इस्लामिक जिहाद समूहले मोसेस र येहुदले एकअर्कालाई अँगालो हालेको र मुस्कुराइरहेको भिडियो फुटेज प्रसारण गरेको थियो।

रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु

किएभ । युक्रेनको पूर्वी शहर सुमीमा सोभियत कालीन आवासीय ब्लकमा युक्रेनका विभिन्न शहरलाई लक्षित गरी गरिएको रुसी ड्रोनले लाग्दा कम्तीमा चार जनाको मृत्यु भएको युक्रेनी गृह मन्त्रालयले जनाएको छ ।

रूसले सन् २०२२ को सुरुमा युक्रेनमा आक्रमण गरेयता दैनिकजसो दर्जनौँ ड्रोन वा क्षेप्यास्त्रले युक्रेनी भूगोलमा गाउँ र सहरमा रहेका वस्तीका साथै महत्वपूर्ण भौतिक संरचनालाई लक्षित गर्दै आएको छ ।

आपतकालीन सेवाहरूले वितरण गरेको तस्बिरमा भवनको छेउमा एउटा प्वाल परेको र उद्धारकर्मीहरूले जीवित व्यक्तिहरूको खोजी गर्दै भवनको भग्नावशेष खनेको देखाइएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “यो एक भयानक त्रासदी र भयानक रूसी अपराध हो।”

उले अगाडि भनेका छन्, “विश्वले यस आतङ्कको विरूद्धमा रूसलाई दबाब दिन नरोकोस् । यो अति आवश्यक छ ।”

युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले सुमीमा चार जनाको मृत्यु हुनुका साथै एक बालकसहित नौ जना घाइते भएको बताएका छन् ।

यो शहर रूसी हवाई आक्रमणमा नियमित रूपमा लक्षित गरिएको उत्तरपूर्वी युक्रेनमा रूसको सीमामा अवस्थित छ । युद्ध अघि त्यहाँ दुई लाख ५५ हजार ६७२ मानिसहरू बस्थे।

युक्रेनी वायु सेनाका अनुसार मस्कोले ८१ वटा ड्रोनले आक्रमण गरेको र इरानी ड्रोनजस्तै नमूनाको शाहेद पनि रहेको थियो ।

उनीहरुको एयर डिफेन्स एकाईले सुमी र राजधानी किएभ नजिकैका विभिन्न क्षेत्रमा रहेका ३७ वटा ड्रोन खसालेको थियो ।

‘ब्ल्याक सी’मा रहेको ओडेसाको दक्षिणी क्षेत्रमा रुसी ड्रोनले युक्रेनको महत्वपूर्ण निर्यात केन्द्रमध्ये एक इजमेल बन्दरगाह शहरलाई निशाना बनाएको अधिकारीहरूले बताएका छन्। 

महिला त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको हो ।

नेदरल्याण्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा मात्र १३७ रन बनाउन सक्यो । नेपालका लागि ओपनर सीता राना मगरले २८ रन बनाउँदा कविता जोशीले २७ रन बनाइन् । पूजा महतोले विस्फोटक ब्याटिङ गरिन् ।

उनले १४ बलमा २ चौका र २ छक्कासहित २४ रन जोडिन् । कप्तान इन्दु बर्मा ७ रनमै आउट हुँदा कविता कुँवरले ८ र रुबिना क्षेत्रीले ११ रन बनाइन् ।

यस्तै, विन्दु रावल ३ रनमा अविजित रहिन् । यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । अब शुक्रबार थाइल्याण्ड र नेदरल्याण्ड्सबीच खेल हुनेछ ।

निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सिर्जना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन्।

नेपाल चेम्बर अफ कमर्सद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले निर्यात बढाउन ठुलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यसअनुसारको व्यापार वृद्धि गर्न सक्नुपर्नेमा जोड दिए।

पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले बहुतै असहज राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका वेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नति गर्ने तयारीमा भएको जनाए।

पूर्वाधार विकासका क्रममा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउँदै अन्य विमानस्थल विस्तारका साथै नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गराउने काम भइरहेकाले यी सबै उद्योग–व्यवसायको विकास तथा मुलुकलाई सम्पन्न बनाउन थालिएको स्पष्ट पारे।

‘अहिले हामीले व्यापारको जुन आँकडा तयार गरिरहेका छौँ । त्यो वास्तविक छैन । खपतका लागि किनेको वा आयात गरेको कार्यलाई मात्रै व्यापार मान्न सकिँदैन,’ उनले भने, ‘हामी विज्ञान र प्रविधिको प्रयोग गरेर विभिन्न सामाजिक क्रियाकलाप र उत्पादन बढाउन लाग्नुपर्नेछ। अहिलेको सरकार अर्थतन्त्रको विकासका लागि अत्यन्तै गम्भीरताका लागि लागिरहेको छ।’

नेपाललाई न्यून आय भएको मुलुकबाट स्तरोन्नति गराउन सबै जुट्नुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफू सप्रिउँ र देशलाई पनि सपारौँ भन्ने लक्ष्यका साथ चेम्बर एस्क्पो भएकामा खुसी व्यक्त गरे।

सिरहाका तीन अस्पतालाई स्वास्थ्य उपकरण सहयोग

सिरहा । सिरहाका तीन अस्पतालाई करोडौं मुल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त भएको छ । ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले ती अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

स्वास्थ्य सामग्री प्राप्त गर्नेमा जिल्लाको धनगढीमाई नगरपालिका—९ स्थित नैनपुर अस्पताल, सुखीपुर नगरपालिका–८ स्थित आधारभूत अस्पताल र अर्नमा गाउँपालिका–१ महनौरस्थित महनौर अस्पताल रहेका छन् । संस्थाले बुधबार तीन वटै पालिकाका प्रमुखसहित जनप्रतिनिधि, समाजसेवी तथा स्वास्थ्य कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरी समग्री हस्तान्तरण गरेको थियो ।

स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच र सुधारमा योगदान पुर्‍याउने उदेश्यसहित आफ्नो संस्थाले सिरहासहित देशका अन्य जिल्लामा पनि स्वास्थ्य उपकरण, औषधीजस्ता समग्री सहयोग गर्दै आएको ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ नेपालका महासचिव मो मेराज खानले बताए।

‘यस संस्थाले विशेषगरी दलित, अति विपन्न र आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई प्रत्यक्षरूपमा लाभ पुर्याउने उद्देश्यसहित सरकारी अस्पताललाई प्राथमिकतामा राखेर सहयोग गर्दै आइरहेको छ’, महासचिव खानले भने, ‘त्यसैअनुरुप यहाँका अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।’

महासचिव खानले अमेरिकन सहयोगमा सञ्चालित यस परियोजना मधेश प्रदेशका सिरहा, महोत्तरी र सर्लाहीसहित देशभरका ४२ जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै सामाजिक सेवाका कार्यमा सक्रिय रहँदै आएको जानकारी दिए। संस्थाले दिएका सामग्री तथा उपकरणले अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण सहयोग पुग्ने अस्पताल प्रशासनले जनाएको छ ।

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन् ।

आज उनले भिडियो सन्देश जारी गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध दिइने एचपीभी खोपका बारेमा विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीमार्फत घरपरिवारसम्म सन्देश प्रवाह गर्न भूमिका निर्वाह प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

सन्देशमा मन्त्री भट्टराईले विद्यालय केन्द्रित खोप केन्द्रबाट दिइने भएकाले लक्षित किशोरी सबैले आ–आफ्नो विद्यालय वा नजिकैको विद्यालयमा सम्पर्क गरेर खोप लगाउन अनुरोधसमेत गरेकी छन् ।

सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका सबै छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका किशोरीलाई खोप अभियान सञ्चालन गर्दै छ ।

आगामी वर्षदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नियमित खोप सेवामा समावेश गदै कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई दिइने सरकारको तयारी छ ।

नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुनेमा पाठेघरको क्यान्सर पहिलो कारण भएको तथ्य विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

धरान चिनाउने बुढासुब्बा गोल्डकप

धरान । यतिबेला धरानमा बुढासुब्बा गोल्डकपको चर्चा निक्कै भइरहेको छ । धरानलाई चिनाउने थुप्रै मिथक छन् तर खेलकुदको सहर भनेर चिनाउने एउटै मात्र प्रतियोगिता भनेको बुढासुब्बा गोल्डकप हो । 


कोशी पहाडको प्रवेशद्वार धरानलाई थुप्रै मिथक र विषयले चिनिन्छ, सौखिन, फेसनेवल र लाहुरेको शहर भनेर चिनिएको धरानलाई पछिल्लो समय खेलकुदप्रेमीको शहर भनेर चिन्न थालिएको छ । खेलकुदको शहर भनेर चिनाउने कार्यमा बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको भूमिका महत्वपूर्ण रहेको छ ।  


बुढासुब्बा गोल्डकप मेरो सपनाजस्तै हो पूर्वराष्ट्रिय खेलाडी साथै धरान फुटबल क्लबका मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले भने, “शुरुवाती समयमा खेलाडी हुँदा धरानमा एउटा गोल्डकप बनाउछु भनेर सपना बोकेर हिडे त्यो सपना आज पूरा भएको छ ।”


उनले भने, “धरान बुढासुब्बा गोल्डकप आज एउटा प्रतिष्ठाको रूपमा उभिएको छ । २०५५ सालमा सालमा धरान फुटबल क्लबको स्थापना गरी २०५५ सालदेखि बुढासुब्बा गोल्डकपको आयोजना गरी निरन्तर सञ्चालन हुँदै आएको एक मात्र प्रतियोगिताले धरानलाई खेलकुलको शहर भनेर परिचित गराउन मुख्य भूमिका भने बुढासुब्बा गोल्डकपले खेलेको छ ।’


राईले धरानमा धरान फुटबल क्लबको स्थापना गरी अन्तर्राष्ट्रियस्तरको फुटबल बुढासुब्बा गोल्डकप प्रतियोगिता सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको अनुभव सुनाए । सानै उमेरबाट फुटबल खेलप्रति रुचि राख्दै राष्ट्रिय खेलाडीको रूपमा आफ्नो ‘करियर’ सुरु गरेको उनले बताए ।


उनले भने, ‘यहाँसम्म पुग्दा सहज भने पक्कै थिएन सबैको साथ सहयोग र हौसलाले गर्दा धरान फुटबल क्लबले पहिलोपटक बुढासुब्बा गोल्डकपको आयोजना गरेको हो । उनको अनुभवले धरानमा फुटबलको विकासमा महत्वपुर्ण भुमिका र योगदान पुर्याएको छ ।’


अध्यक्ष राईकै पहलमा २०५९ सालमा धरान उपमहानगरपालिका–१७ मा पूर्वाञ्चल एन्फा एकेडेमी टेक्निकल सेन्टरको स्थापना भएको हो । जुन एकेडेमीले अहिले सयौँ खेलाडी उत्पादन गरिरहेको छ ।


उनले भने, ‘बुढासुब्बा गोल्डकप सुरू भएसँगै धरानमा फुटबल र खेलप्रतिको क्रेज बढ्दै गयो । अन्य खेलको पनि महत्व छ तर बुढासुब्बा गोल्डकप नेपालकै पुरानो र सम्मानीत फुटबल क्लबमध्ये एक मानिन्छ । बुढासुब्बा गोल्डकपले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा धरानलाई चिनाएको छ ।’


बुढासुब्बा गोल्डकपले धरानलाई मात्र चिनाएन, धरानका खेलाडीसमेतलाई चिनायो । नेपालका ‘ए’ डिभिजन क्लबमा धरानका खेलाडीले प्राथमिकता पाए अहिले सयौँ खेलाडीले फुटबल ‘करिअर’ बनाएको राईको अनुभव छ । 


धरान प्राकृतिक सौन्दर्य र संस्कृतिको विविधता भएको ठाउँको रूपमा परिचित छ । यसमा थप पहिचान दिलाउने काम भने बुढासुब्बा गोल्डकपले गरेको छ । धरान उपमहानगरपालिका–१५ का सागर घिमिरे सानै उमेरदेखि खेलाडी बन्ने सपना बोकेर चार वर्षको उमेरदेखि फुटबल खेल खेल्न सुरु गरेको सुनाउँछन् ।


फुटबल खेलमै आफ्नो भविष्य देखेका घिमिरे अहिले बुढासुब्बा गोल्डकपको कोचसमेत बनिसकेका छन् । सानै उमेरदेखि खेलमा रुचि राख्ने उनी फुटबल खेल्न सिक्नका लागि हरेक खेलकुद मैदान पुग्ने गरेको अनुभव सुनाउँछन् । 


पछिल्लो समय युवा पुस्ताका लागि फुटबल खेल मनोरञ्जनका लागि मात्र नभएर करियर स्वास्थ्य प्रेरणा र सामाजिक सम्पर्कको लागि महत्वपूर्ण माध्यमको रूपमा विस्थापित भएको छ ।


उनले भने, ‘घर परिवारमा कोही पनि खेलप्रति रुचि नराख्ने परिवारमा म मात्र हो खेलप्रति रुचि भएको, सानो उमेरमा साथीभाइले खेलेको फुटबल देख्दा आकर्षित भए यसरी नै खेलप्रतिको मेरो ‘क्रेज’ बढ्दै गयो ।’


पूर्वखेलाडी घिमिरेले बुढासुब्बा गोल्डमै २३ पटक कोचको भूमिका निर्वाह गरिसक्नु भएको बताए । ‘यसको सबै श्रेय भने बुढासुब्बा गोल्डकपलाई जान्छ’, उनले भने, “जुन समय मलाई लाहुर बन्ने सपना नभएको चाहिँ हैन, तर धरान फुटबल क्लबबाट फुटबल खेल्न शुरु गरे त्यसपछि लाहुर बन्ने सपना छोडेर खेलाडी भन्ने सोचले अगाडि बढ्न थाले अहिले ताइवान, भुटान, चीनलगायतका देशमा भाग लिई फुटबल लिगहरू खेलिसकेको छु ।’


  यस खेलले सफल खेलाडीलाई राम्रो आर्थिक लाभ प्रसिद्ध र अवसर पनि रहेकाले फुटबल खेललाई पेशाको रूपमा अपनाउन सकिने भएको कारण पनि पछिल्लो पुस्ताका युवाहरू खेलमा बढी आकर्षित हुँदै गएको उनको भनाइ छ ।


फुटबल खेलले विशेषगरेर शारीरिक रूपमा स्वास्थ्य रहनका साथै यस खेलले सहनशीलता, शक्ति गतिशीलता र मानसिक रूपमा पनि तन्दुरुस्त बनाउन ठूलो भूमिका खेलिरहेको उनले बताए ।


बुढासुब्बा गोल्डकप प्रतियोगिताले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको छ । धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले भने, ‘यो खेलको नाम बुढासुब्बा मन्दिरसँग जोडिएको छ । जुन धरानको ऐतिहासिक धार्मिक स्थल हो, धरानलाई खेलकुदको सहरका रूपमा मात्र बुढासुब्बा गोल्डकपले चिनाएन पर्यटनको केन्द्रका रूपमा पनि स्थापित गर्न ठूलो योगदान पुर्याएको छ ।’


उनले भने, ‘नेपालका प्रतिष्ठित क्लबसँगै अन्तर्राष्ट्रिय टिमको सहभागिता हुन्छ यो खेल क्षेत्रको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि साथै स्थानीय युवा पुस्तालाई प्रेरित गर्न महत्वपूर्ण भुमिका खेलेको छ ।’


प्रत्येक वर्ष आयोजना हुने बुढासुब्बा गोल्डकप खेलकुदको प्रवद्र्धन गर्न मात्र नभएर धरानको आर्थिक, सामाजिक, र सांस्कृतिक पक्षसमेतलाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको अध्यक्ष तामाङले बताए । 


बुढासुब्बा गोल्डकपले खेलकुदको विकाससँगै युवा खेलाडीलाई दिने ‘प्लेटफर्म’ र राष्ट्रिय फुटबलको स्तर सुधारमा ठूलो योगदान पुर्याउँदै आइरहेको छ । अध्यक्ष तामाङले भने, ‘बुढासुब्बा गोल्डकप खेलले खेलाडीलाई अन्तराष्ट्रियस्तरमा चिनाउनका साथै फुटबल खेललाई लोकप्रिय बनाउनमा ठुलो टेवा पुगेको छ ।’


फुटबललाई मात्रै खेल र मनोरञ्जनको एक साधन हो भन्ने सोच हाबी छ । यसले प्रचुर सम्भावना भएर पनि यहाँ खेल पर्यटनको अवधारणा फस्टाउन सकेको छैन । जुन स्थानीय सरोकारवालाले खासै ध्यान दिएको पाइँदैन । 


उनले भने, ‘प्रत्येक वर्ष बुढासुब्बा गोल्डकप सञ्चालन हुन्छ, वर्षका एक करोडको लगानीमा खेल सञ्चालन हुने गरेको छ, जसमा स्थानीय सरकारबाट १० प्रतिशत सहयोग हुने गरेको छ भने बाँकी हङ्कङ, बेलायत, सिङ्गापुरलगायत देश विदेशमा रहनुभएको व्यक्तिबाट हुने चन्दा र सहयोगबाट सञ्चालन हुने गरेको छ ।’


बुढासुब्बा गोल्डकपले खेलको विकासमा टेवा त पुग्ने नै भयो अध्यक्ष तामाङ धरानको पर्यटन प्रवद्र्धनमा यसले पनि निक्कै सहयोग पुग्ने बताउँछन् । गोल्डकप सञ्चालन हुँदा सहभागी खेलाडी टिमका र अफिसियलले धरानका होटल एक सातासम्म खचाखच हुन्छ ।


यतिबेला समय फुटबल हेर्न सनुसरीका विभिन्न ठाउँ साथै प्रदेशका मोरङ, धनकुटा, झापा, इलाम, पाँचथर, सङ्खुवासभालगायतका जिल्लाबाट खेलप्रेमी दर्शक खेल हेर्न आउने गरेको क्लबका अध्यक्ष तामाङको भनाइ छ । 


बुढासुब्बा गोल्डकपले नेपाली फुटबलमा नै नयाँ लहर ल्याएको बरिष्ठ पत्रकार हर्ष सुब्बाले बताए । बुढासुब्बा गोल्डकप शुरु भएसँगै धरानमा दर्जनौँ गोल्डकप खेल शुरु भएको उनको भनाइ छ । उनले भने, ‘पहिले राम्रो खेलाडी बन्नको लागि काठमाडौँ , पोखरालगायतका ठाउँमा गएर खेलको तालिम लिनुपर्ने अवस्था थियो ।’


पछिल्लो समय बुढासुब्बा गोल्डकप शुरु भएसँगै यसले ल्याएको लहरले काठमाडौँ मात्र नभएर बाहिरी देशका खेलाडीसमेत बुढासुब्बा गोल्डकपले चिनाउने गरेकाले बुढासुब्बा गोल्डकप धरानको मात्र नभएर नेपालकै उदाहरणीय गोल्डकपको रूपमा विस्थापित भएको उनले बताए ।


बुढासुब्बा गोल्डकपको सुरु भएसँगै धरानमा गोधुली फुटबल क्लब, हाम्रो धरान, भेट्रान, भेट्रान फुटबल, सुवास राई स्मृति कप, नगरपालिका महिला कपलगायत दर्जनौं फुटबल खेल शुरु भएकाले बुढासुब्बा गोल्डकप उदाहरणीय गोल्डकप फुटबलको रूपमा लिन सकिन्छ । यसले नेपालको फुटबलमा ठूलो युगान्तकारी परिवर्तन दिएको उनको भनाइ छ । 


बुढासुब्बा गोल्डकपले नेपाली फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको उनले बताए । उनले भने, ‘बुढासुब्बा गोल्डकपले सयौँ राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ भने यस गोल्डकपले नयाँ पुस्ताका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर र प्लेटफर्मको बुढासुब्बा गोल्डकपले दिएको छ ।’


बुढासुब्बाको गोल्डकपको २५ औँ संस्करण 

बुढासुब्बा गोल्डकपको २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण संस्करण यही माघ १९ गतेबाट शुरु हुने भएको छ । प्रतियोगिताको लागि आर्थिक समिति खेलाडी, समिति प्रचारप्रसार समिति सुरक्षा समितिलगायतका समिति बनाइएको अध्यक्ष तामाङले बताए । साथै, खेल अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त पारिने उनले बताए । उनले भने,’क्लबका तर्फबाट ५० जनाभन्दा बढी सुरक्षा स्वयंसेवक, निजी सुरक्षा गार्डसमेतको व्यवस्था गरिएको छ ।’
  
क्लबले खेलको तालिकासमेत सार्वजनिक गरिसकेको छ । १९ गते पहिलो खेल सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज र चार पटकको बिजेता पुलिस क्लबबीच हुने अध्यक्ष तामाङले बताए । 


धरान उपमहानगरपालिका–१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ । प्रतियोगितामा एनआरटी क्लब काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, युके एफसि भारत, मच्छ्रिन्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब रहने आयोजकले जनाएको छ ।


प्रतियोगिताका विजेताले ट्रफीसहित १० लाख र उपविजेताले नगद  पाँच लाख पुरस्कार पाउनेछन् । यसमा उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले १५ हजार सर्वाधिक गोलकर्ताले  ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउने अध्यक्ष तामाङले बताए ।

नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको विशाल लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि १५८ रनको लक्ष्य विशाल दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५७ रनको योगफल बनाएको हो ।

नेदरल्याण्ड्सका लागि रोविन रिकेले सर्वाधिक ५९ रनको योगदान दिइन । उनले ४८ बलमा आठ चौकासहित ५९ रन बनाएकी हुन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रन बनाइन । स्ट्रि कालिसले ३५ बलमा २९ रन जोडिन भने र हेटर सिगेसर्ले १९ बलमा २३ रन जोड्दै आउट भइन् ।

नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र इश्वरी विष्टले समान एक–एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

काठमाडौंको टुँडिखेलमा सोनाम ल्होसार मनाउँदै तामाङ समुदाय(फोटोफिचर)

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् ।

आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउँदैछन् ।

तस्बिरः हरिराम भेटुवाल/रासस

क्यालिफोर्नियामा सञ्चालित कन्सुलर सेवाबाट एक हजार ५०० लाभान्वित

टेक्सास(अमेरिका) । नेपाली राजदूतावास वासिङटन डिसीद्वारा क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा आयोजना गरिएको राहदानी कन्सुलर सेवा शिविरबाट एक हजार पाँच सय १५ नेपाली प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

उक्त शिविरमा एक हजार ५०६ जनालाई राहदानी सेवा र नौ जनालाई अधिकृत वारेशनामा सेवा दिइएको दूतावासले जनाएको छ । सुरुमा जनवरी महिनाको २२ तारेखदेखि पाँच दिन शिविर सञ्चालन गर्ने भनिए पनि सेवाग्राहीको चाप बढेपछि तीन दिन थप गरेर सेवाग्राहीलाई सेवा दिइएको थियो ।

उक्त राहदानी कन्सुलर सेवा शिविरमा क्यालिफोर्निया राज्यका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली समुदायमा अतिरिक्त आसपासका राज्यबाट पनि नेपाली सेवाका लागि क्यालिफोर्नियाको सान् फ्रान्सिस्को पुगेको गैरआवासीय नेपाली संघ क्यालिफोर्नियाका अध्यक्ष हरि ओझाले बताए ।

नेपालीहरूको बाक्लो बसोबास रहेको क्यालिफोर्नियामा कन्सुलर सेवा शिविर सञ्चालन गर्नका लागि नेपाली समुदायमा संस्थाहरूले विगत लामो समयदेखि पहल गर्दै आएका थिए । शिविरको गैरआवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्याप्टर र नेपाली एशोसिएशन अफ नर्दन क्यालिफोर्निया(नान्स) ले शिविर व्यवस्थापनमा सहयोग गरेका थिए ।

शिविरको समापन गर्दै दूतावासका कार्यवाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणले नेपालीलाई घरआँगनमै सेवा प्रदान गर्ने नेपाल सरकारको नीतिअनुसार दूतावासलेवर सञ्चालन गर्दै आएको बताए ।

भौगोलिक क्षेत्र ठूलो भएका कारण दूतावास कार्यालयबाट सरल र सहज रूपमा सेवा प्रदान गर्न कठिनाइ भएकाले नेपाल सरकारले क्यालिफोर्नियाको सान् फ्रान्सिस्को र टेक्सासको ड्यालसमा दूतावास सेवा कार्यालय स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकोसमेत उनले बताए ।

शिविरको समापन कार्यक्रममा क्यालिफोर्नियाका अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, गैरआवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष ओझा, नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया (नान्स)का अध्यक्ष प्रितेश कार्की र श्री गुरुङले आफ्नो धारणा राखेका थिए ।

भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशाला लगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी आफैले लिनसक्ने व्यवस्था गरेको छ । अस्पतालले एक मेसिन खरिद गरी बिरामीको परीक्षण रिपोर्ट आफै लिन मिल्ने व्यवस्था गरेको हो ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले परीक्षण रिपोर्ट लिन लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य गर्न मेसिन जडान गरिएको बताए । उनका अनुसार करिब सात लाखमा मेसिन खरिद गरी जडान गरेर सञ्चालनमा ल्याइएको छ ।

अस्पतालका इञ्जिनीयर चन्द्रमणि बस्यालले आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गरेर लिन सक्ने व्यवस्था गरिएको बताए । उनले भने, “नमूना परीक्षण गर्न दिएका बिरामीले बिलमा भएको क्युआर कोड स्क्यान गरी रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिन्छ ।” क्युआर कोड स्क्यान गरी रिपोर्ट प्रिन्ट गर्न मिल्ने मेसिनको परीक्षण सफल भएसँगै बिरामीको सेवा सुरु गरिएको उनले बताए ।

मेसिनबाट एक मिनेटमा तीन वटासम्म रिपोर्ट निकाल्न सकिने बस्यालले जानकारी दिए । उनका अनुसार थप एउटा मेसिन पनि थप खरिद गर्ने अस्पतालको योजना रहेको छ । रिपोर्ट प्रिन्ट गर्ने मेसिन प्रयोगमा आएसँगै प्रयोगशाला रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने उनले बताए ।

अस्पतालले प्रयोगशालामा नमूना सङ्कलन गर्दा बिलसँगै क्युआर कोड दिने गरेको छ । सोही क्युआर कोड मेसिनमा देखाएपछि मेसिनले रिपोर्ट दिने गर्दछ । रिपोर्ट तयार हुन लाग्ने समयपछि मेसिनमा गएर क्युआर कोड स्क्यान गरेपछि रिपोर्ट हेर्न र प्रिन्ट गरेर लैजानसमेत सकिने व्यवस्था गरिएको छ ।

मोबाइल प्रयोगकर्ताले क्युआर कोड मोबाइलमै स्क्यान गरेर पनि रिपोर्ट हेर्न सकिने बस्यालले बताए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बिरामीको चाप अधिक भएपछि स्वचालित मेसिन ल्याइएको बताए । उनले भने, “हामीले बिरामीलाई थप सहज रुपमा सेवा दिन यो मेसिन प्रभावकारी हुने विश्वास लिएका छौं ।” पछिल्लो समय भरतपुर अस्पतालले आफ्नो सेवामा धेरै सुधार गर्दै आएको छ ।

अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामीले बहिरंग सेवा लिने गरेका छन् । अस्पतालको थप सेवाका लागि चार वटा भवन निर्माण हुँदै गरेको उनले बताए । अस्पतालमा ट्रमा सेन्टर, सरुवा रोग नियन्त्रण भवन, क्याथ ल्याब र नर्सिङ कलेज निर्माणको क्रममा रहेका छन् । यी भवन निर्माणको काम सम्पन्न भएसँगै बिरामीलाई थप सहज हुने प्राडा पौडेलको भनाइ छ ।

यातायात कार्यालय हेटौंडाद्वारा ६ महिनामा २९ करोड एक लाख राजस्व सङ्कलन

बागमती। यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१-८२ को छ महिनाका अवधिमा २९ करोड एक लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र बितरणलगायतबाट चालु आव २०८१-८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले २९ करोड एक लाख ७५ हजार छ सय ५१ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको छ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट १७ करोड ३८ लाख २१ हजार एक सय ४९, सवारी करबाट चार करोड ५३ लाख ६८ हजार तीन सय ३१, यातायात क्षेत्रको आम्दानीबाट रु चार करोड ५६ लाख ७० हजार आठ सय ११, सङ्घीयता तर्फ एक करोड ८१ लाख २५ हजार एक सय ८० तथा बेरुजुबाट रु आठ हजार दुई सय ५० राजस्व संकलन भएको छ ।

यस्तै चालु आव को सो अवधिमा मोटरसाइकल एक हजार दुई सय ८० वटा, साना सवारी पाँच सय १३ वटा, टेम्पो-ई–रिक्सा तीन सय ३७ वटा, ठूला तथा मझौला सवारी तीन सय २१ वटा र ट्याक्टर पाँच गरी दुई हजार चार सय ५८ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए।

यस अवधिमा नयाँ दुई हजार एक सय ६३ र वर्ग थप एक हजार चार सय ४८ गरी तीन हजार छ सय ११ जनालाई सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।

यस्तै सो अवधिमा दुई हजार नौ सय ८४ नवीकरण, ४९ वटा प्रतिलिपि र ३९ वटा नवीकरण र प्रतिलिपि दिइएको जनाएको छ ।

सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा विभिन्न शीर्षकमा ५६ करोड सात लाख १७ हजार राजस्व संकलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।

गान्धीको अनशन उनको अन्तःस्करणको आवाज थियो

-सञ्जय पन्थी

महात्मा गान्धी जीवनका अन्तिम दिन साह्रै निराश हुन पुगेका थिए । दैनिक बिहान र साँझ प्राथना गर्थे । प्राथनापछिको व्याख्यानमा आफ्नो मृत्युको पुकारा गरिरहन्थे । कारण, देशमा स्वतन्त्रतापछिको बर्बरताको साक्षी बन्नु पर्दा उनी दुःखी थिए । हिन्दू र मुस्लिम समुदायबीच द्वन्द्व चलिरहेको थियो । भारत अशान्त थियो । राजनीतिमा आफैंले विश्वास गरेका व्यक्ति शासक थिए तर उनको विचारको सुनुवाइ भइरहेको थिएन ।

गान्धीको जीवनमा २४ वर्षसँगै व्यतीत गरेका स्व नारायणभाइ देसाईका अनुसार गान्धीको जीवनको अन्तिम आमरण अनशन १३ जनवरी १९४८ मा बिहान ११ः५५ बजे बिडला हाउस दिल्लीमा भएको थियो । त्यसो त जातीय दङ्गा र विभाजनले अक्रान्त तत्कालीन भारतमा समाधानका अथक सूत्र उनी साबित थिए । त्यसैले उनले जनवरी १२ मा नै आफ्नो अनशन घोषणा गरे, दिल्लीमा हिंसा नरोकिएका भन्दै शान्तिका लागि उनी अनशन बसेका थिए । उनले भनेका थिए– मेरा सबै अपिलहरू व्यर्थ साबित भएका छन् । मलाई डर छ कतै यो हिंसा विस्फोट हुने त हैन । त्यसैले भोलि बिहानदेखि मेरो अनिश्चितकालीन अनशन शुरु हुनेछ । म अहिंस्रक व्यक्ति हुँ र अहिंस्रक व्यक्ति असहाय हुन सक्दैन, उसले हार स्वीकार गर्न सक्दैन र त्यसैले म आफूलाई क्रूसमा अर्पण गर्दैछु । म अहिंसाको साधक भएकाले ममा कुनै कमी छ कि भनेर परीक्षण गर्नको लागि पनि मैले यो साधना गर्नुपर्छ ।

गान्धीजीको अनशनको दिन, बिडला हाउसमा भारतीय र विदेशी पत्रकारको यति ठूलो भीड थियो कि त्यस अनशनले एउटा नयाँ आयाम थियो, जुन उनको कलकत्ता अनशनमा त्यति व्यापक थिएन । पत्रकार छक्क परे किन गान्धीजीले अचानक एक दिन अगाडि नै यो उपवास किन घोषणा गरे ? केही मानिस भन्दै थिए कि गान्धीजीले मुस्लिमका लागि यो अनशन गरे, केही मानिस भन्दै थिए, कि गान्धीजीले पाकिस्तानले आफ्नो ५५ करोड रूपैयाँ दिलाउन । तर बिडला भवनको आँगनमा घाम तापेर सुतिरहेका ७८ वर्षीय गान्धीका लागि यी कुरा सामान्य थिए । गान्धीजीलाई देशवासीको पीडा राम्ररी जानकारी थियो र सायद त्यसैले उनले हिंसा विस्फोटको खतरा महसुस गरेका थिए । हिंसालाई नजिकबाट उनले नियालिरहेका थिए । उनले आफ्नो ज्यान बलिदान दिएर भए पनि यो देश र दिल्ली बचाउनु पर्छ भन्ने महशुस गरे ।

गान्धीको अनशन उनको अन्तःस्करणको आवाज थियो, केबल उनले मात्र महशुस गरे । हिंसाको ज्वालामा उनले घोर अन्धकार महसुश गर्दैं उनले त्यस्तो निर्णय गर्नुपरेको थियो । त्यसो त उनले सधैँ आफ्नो उपवासको कारण सार्वजनिक गर्थे । उनले आफैंँले त्यो व्रतका शर्तहरू तय गरे र जनतासामु राखे । उनले यसलाई आत्मनिरीक्षण वा आत्मशुद्धिको सबैभन्दा ठूलो माध्यम बनाए । ७८ वर्षीय बृद्ध गान्धी १३ जनवरी १९४८ देखि १८ जनवरी १९४८ सम्म दिल्लीमा आमरण अनशन बसे । त्यसले हङ्गामा नै मच्चियो । १९४८ मा आफ्नो अन्तिम आमरण अनशनमा गान्धीले सम्पूर्ण विश्वलाई दिएको स्पष्ट सन्देश यो थियो कि ‘आत्मविश्वासले भरिएको व्यक्ति कहिल्यै डराउँदैन ।’ त्यसैगरी, आत्मविश्वासले भरिएको देश पनि डराउँदैन । गान्धीका उपवासको बारेमा विश्वभर व्यापक अनुसन्धान भएको छ र भइरहेको छ ।

अनि जो डराउँदैन, उसको मनमा कसैप्रति घृणा हुँदैन । डर कमजोरीको सङ्केत हो । नैतिक आत्मविश्वासको कमीबाट डर उत्पन्न हुन्छ । स्व नारायणभाई देसाईका अनुसार गान्धीको अन्तिम उपवासलाई केही मानिसले जे सुकै भनुन्, तर सारा संसारले यो विश्वास गर्छ कि गान्धीको अन्तिम उपवासले देशलाई अराजकताको आगोबाट बचाएको थियो । गान्धीले जस्तै उपवास बस्नु सबैको वशको विषय र शक्ति हुँदैन । उपवास बस्नको लागि, व्यक्तिले आफ्ना विश्वासजनबाट अधिकार प्राप्त गर्नुपर्छ; त्यसको लागि, व्यक्तिले आफ्नो सम्पूर्ण जीवन मानिसहो सुख–दुःखमा समर्पित गर्नुपर्छ । स्वतन्त्रतापछि कुनै पनि नेताले त्यसो गर्न सक्दैनथ्यो र गरेनन् पनि ।

गान्धी शान्ति प्रतिष्ठान दिल्लीका अध्यक्ष कुमार प्रशान्तले, गान्धी आफ्नो हत्या हुनुभन्दा एक वा दुई दिन अघि उनले अर्को कठिन काम गर्ने सोचिरहेको घटना सुनाउँछन् । उनी चाहँदैनथे कि भारतको छिमेकमा सधैँको लागि स्थायी शत्रु रहोस् । त्यसकारण, तिनीहरूले मारिएका र पाकिस्तानबाट धपाइएका हिन्दू र सिखहरूलाई फिर्ता लिनेछन्, र मारिएका र यहाँबाट धपाइएका मुस्लिमलाई पाकिस्तानबाट फिर्ता ल्याउनेछन् । त्यसैले उनले सुशीला नायरलाई जिन्नाहकहाँ पठाएका थिए । शर्त थियो, कि उनी हिन्दू र सिखहरूसँग पासपोर्ट र भिसाबिना पाकिस्तान आउन चाहन्छन् । यदि जिन्नालाई यो गलत र गैरकानुनी लाग्यो भने उनले उनलाई पक्राउ गरेर जेल हाल्न सक्थे । जब सुशीला नायर जिन्नाह कहाँ पुगिन्, जिन्नाह त्यस बखत भनेका थिए, तिमी गिरफ्तारीको कुरा गर्छौ, गान्धी पाकिस्तानमा जतिबेला पनि जहाँ चाहन्छन् त्यहाँ आउन वा जान सक्नेछन् । तर म अनुरोध गर्दछु कि यहाँ गान्धीजीको सुरक्षाको जिम्मेवारी पाकिस्तान प्रहरीले लिनुपर्छ किनभने यदि पाकिस्तानमा गान्धीजीलाई केही भयो भने पाकिस्तानको नाम नक्साबाट मेटिनेछ । दुर्भाग्यवश गान्धीले यो गर्नु परेन । तर पाकिस्तान भारतका लागि सधैँको लागि समस्या बन्यो । आज पनि भारतमा गान्धी जस्तैं– बन्ने चाहना र आकांक्षी देखिन्छन् तर कोही उपवास बस्यो भने पनि केही हुदैन; त्यो अवस्था पनि छैन ।

गान्धीको जतिसुकै विरोध गरे पनि आज कतिपय व्यक्ति गान्धी बन्ने चाहना राख्ने छन् र त्यस्तो चाहना राख्ने सधैँ रहनेछन् । उनी हाम्रो सबैभन्दा ठूलो आदर्श हुन् । सम्पूर्ण संसारको लागि एक आदर्श साबित छन् । यसमा विश्वका लागि हरेक नेताले आफूलाई उनीसँग तुलना गर्छन् । गान्धी वर्तमान भारतसँग जोडिएका र कहिल्यै विस्मृत नहुने पात्र हुन् । हामी विश्वास गर्न सक्दैनौं कि मोहनदास गान्धी १९४७ भन्दा पहिले अस्तित्वमा थिए वा आज ।

त्यसदिन पनि गान्धीको नित्य प्रार्थनाको समय साँझ ५ बजे थियो । तर त्यस दिन गृहमन्त्री बल्लभभाइ पटेल भेट्न आएकाले १५ मिनेट ढिलाइ भएको थियो । कुराकानीको विषय गम्भीर भएकाले पनि उनले भेटघाटलाई अतिरिक्त समय दिए । प्राथनाका लागि जुटेका करिब दुई सय ५० जना धैर्यधारण गरिरहेका थिए ।

भेटघाटपछि उनी नातिनी आभा र मनुको काँधमा हात राखेर प्राथनासभातर्फ लम्किरहेका थिए । सँगसँगै ढिलाइ भएकामा आफ्ना सेविका एवं नातिनीलाई झपार्दै थिए । नातिनीले भनिन्, ‘त्यति महत्वपूर्ण व्यक्तिसँग गम्भीर विषयमा छलफल चलेको थियो, कसरी तपाईंलाई प्राथनाको समय भयो भनेर अत्याउन सक्थ्यौँ र ?’ गान्धीले जवाफ फर्काए, ‘नर्सको कर्तव्य बिरामीलाई समयमै औषधि सेवन गराउनु हो, ढिलाइ भयो भने बिरामी मर्न पनि सक्छ ।’

त्यही नै उनको जीवनको अन्तिम संवाद हुन पुग्यो । उनी मञ्चतर्फ उक्लँदै उपस्थित जनको नमस्ते फर्काउँदै थिए । गान्धी तीन–चार सिँढी मात्र के चढेका थिए, नाथुराम गोड्से भीडमा हत्याको तयारीसाथ प्रतीक्षारत रहेछ । उसले केही झुकेजस्तो गरी गोजीबाट बन्दुक निकालेर गान्धीको छातीमा गोली बर्सायो । गान्धीले अन्तिम समयमा ‘हे राम, हे राम’ मात्र भनिरहे । उनको तत्काल निधन भइहाल्यो ।

देसाईका अनुसार छैटौँ पटकको प्रयासमा उनको हत्या भएको हो । आज त्यही दिन हो, ३० जनवरी । विश्वकै इतिहासमा क्रूर अनि बीभत्स दिनका रूपमा दर्ज छ । सन् १९४८ जनवरी ३० तारिखको साँझ ५ः१७ (भारतीय समय) मा गान्धीको अकल्पनीय हत्या भयो । गान्धीलाई मुस्लिम धर्मावलम्बीको पक्षपोषण गरेको आरोप लागेको थियो । उनको हत्यासँग जोडिएको सवालमा भारतमा अहिलेसम्म राजनीति हुँदै अएको छ । गान्धीको हत्याराको पक्षपोषण गर्ने शक्ति (दल) भाजपा अहिले भारतको सत्तामा छ । हत्यारा नाथुराम गोड्से थियो भने योजनाकार वीर सावरकार ।

उनको हत्याको पहिलो प्रयास सन् १९३४ मा पुनाको एक सम्मान समारोहमा गरिएको थियो । तर गान्धी बच्न सफल रहे । दोस्रोपटक सन् १९४४ जुलाई २२ तारिखका दिन गोड्सेले नै आगाखान प्यालेसमा छुरा प्रहार गरेको थियो । तेस्रो प्रयास सन् १९४४ मै सेवाग्राम आश्रममा भएको थियो । दोस्रो प्रयास भएको केही दिनमा फेरि अर्का पात्र माधवराव सदाशिव गोलकर त्यसरी नै छुरा प्रहार गर्दा समातिएको थियो । चौथो प्रयास सन् १९४६ जुन ३० मा फेरि त्यही समूहले प्रयास गरे पनि सफल हुन सकेको थिएन । पाँचौँ प्रयास सन् १९४८ जनवरी २० तारिख थियो । दिल्लीस्थित विडला भवनको गान्धीको प्राथनासभामा सुतली बम प्रहार गरिएको थियो । उक्त घटनामा मदनलाल पहवा नामक युवकलाई पक्राउ गरिएको थियो । पहवाको साबिती बयानले गान्धीको हत्यामा उसलाई परिचालन गर्ने व्यक्ति सावरकर नै रहेको पुष्टि हुन्छ ।

३० जनवरी १९४८ मा भारतको स्वतन्त्रता आन्दोलनका नेता एमके गान्धी (महात्मा गान्धी) को नयाँ दिल्लीको बिडला हाउस (अहिले गान्धी स्मृति)को परिसरमा हत्या भएको थियो । त्यसबेलादेखि, जनवरी ३० लाई भारतमा शहीद दिवसको रूपमा मनाइन्छ । गान्धी जीवित छैनन् तर उनको छाप जनजनमा अझै छ । त्यसैले गान्धी भारतको राजनीतिमा अदृश्य शक्ति हुन् । भारतमा जब–जब निर्वाचन हुन्छ, गान्धीका बारेमा बहस हुन्छ ।

उनको हत्यारा नाथुराम विनायक गोडसे थिए, जो अति दक्षिणपन्थी हिन्दू सङ्गठन, हिन्दू महासभाका सदस्य थिए । गोडसेसँगै, हत्या र षड्यन्त्रको लागि अन्य आठ जनालाई अभियुक्त र गिरफ्तार गरिएको थियो । २७ मे १९४८ मा मुद्दा सुरु भयो र अदालतले एक जनाबाहेक सबै प्रतिवादीलाई आरोपित रूपमा दोषी ठहर गर्यो । हत्याको षड्यन्त्र र विस्फोटक पदार्थ ऐनको उल्लङ्घनको लागि आठ जनालाई दोषी ठहराइयो । नाथुराम गोडसे र नारायण आप्टेलाई फाँसी दिएर मृत्युदण्डको सजाय सुनाइयो र बाँकी छ जनालाई आजीवन कारावासको सजाय सुनाइयो ।

(लेखक अहिंसा र गान्धी विषयका अध्यता हुनुहुन्छ ।)

मनाङका किसान सामूहिक खेतीमा आकर्षित

मनाङ । मनाङका किसानहरू सामूहिक खेतीतर्फ आकर्षित भएका छन् । खेतीयोग्य भूमि कम रहेकोले स्थानीयवासी सामूहिक खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यहाँ उत्पादित खाद्यवस्तु जिल्लाभित्रै खपत हुने हुँदा सामूहिक खेतीतर्फ किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र प्रमुख मदन रेग्मीले बताए । ‘मनाङ आउने पर्यटकलाई यहीँ उत्पादित खाद्यवस्तु उपयोग गरिने भएकाले किसानलाई प्रोत्साहन मिलेको छ,’ उनले भने, ‘यसले हामीलाई उत्साहित बनाएको छ ।’

उनका अनुसार केही कृषक समूहले बाँझो जमिन भाडामा लिएर पनि खेती गरिरहेका छन् । यसले खेतीयोग्य भूमिको उपयोग वृद्धि भएको उनी बताउँछन् ।

सामूहिक खेती गर्दा बीउ, मल, सिँचाइमा ज्ञान केन्द्रले सहयोग गर्ने भएकाले सहज भएको नासोँ गाउँपालिका–१ तालछहरा कृषि समूहका अध्यक्ष रोशनी घलेले बताइन् । उन भनिन्, ‘बाँझो जग्गा पनि उपयोग हुने र ज्ञान केन्द्रबाट अनुदान पाइने भएकाले सहज भएको छ ।’ सामूहिक खेतीले महिलालाई आर्थिक रुपमा सबल बनाउनसमेत सहयोग पुगेको उनको बुझाइ छ ।

यहाँ हाल दुई वटा मिश्रित समूह छन् भने नौ वटा महिलाका मात्रै कृषक समूह छन् । नासोँ गाउँपालिका–१ तालगाउँ, नासोँ–२ नाचे गाउँ, नासोँ–३ खोत्रोपाखा र निगालाघारी, नासोँ–४ ओडार गाउँ, चामे गाउँपालिका–२ थानचोक, चामे–१ तिमाङ, चामे–५ वडा, मनाङ ङिस्याङमा तीन वटा समूहमार्फत सामूहिक खेती भइरहेको छ ।

यहाँ आलु, करु, गहुँ, फापर, उवा, कोलु बोडीलगायतका रैथाने बाली उत्पादन हुने गरेको छ । यहाँका किसानले प्रविधिको प्रयोग गर्दै रैथाने अन्नबाटै पर्यटकका लागि खाना, नास्ताका रुपमा खाद्यान्न उपयोग गर्ने गरेका छन् ।

पोखरा–मुग्लिन आयोजनाअन्तर्गत पोखरा–जामुने खण्डमा २८ किलोमिटर कालोपत्र

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ ।

‘तनहुँमा साढे दुई किमी कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ,’ उनले भने, ‘आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।’

तनहुँमा २०.८ किमी र कास्कीमा १८.०८ किमी सडक कालोपत्र भइसकेको छ । चार लेन दुवैतर्फ तनहुँमा १०.०८ र कास्कीमा ४.३९किमी र तनहुँमा दुई लेन (एकतर्फी) ७.९८ किमी र कास्कीमा ६.०७किमी सडक कालोपत्र भएको इन्जिनियर नेपालले जानकारी दिए । तनहुँमा २.७४ किमी र कास्कीमा ७.६२ किमी गरी कुल १०.३६ किमि सडक कालोपत्र हुन बाँकी रहेको उनले बताए ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो । ‘आयोजनाको पछिल्लो भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ, जनवरी महिनाको प्रगति भने थप हुन बाँकी छ’, इन्जिनियर नेपालले भने, ‘पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिँहचोक, बुढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको छ, तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको छ ।’

कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको हो । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए ।

वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको उनको भनाइ छ । ‘सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम द्रुत गतिमा भइरहेको छ’, इन्जिनियर नेपालले भने, ‘निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।’ कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भएपनि पछिल्लो समय कामले गति लिएको उनको भनाइ छ ।

३८.८८ किमी दुरीको पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो ।

कुल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । ४१.४५ किमी को पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो ।

पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले छ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा उक्त खण्डको ठेक्का लिएको थियो । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडकलाई चार लेनमा स्तरोन्नति गर्न लागिएकामा पूर्वी खण्ड (जामुने–मुग्लिन)मा भने कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ ।

अवैध आप्रवासीलाई क्युबास्थित ‘ग्वान्टानामो बे’ पठाउन ट्रम्पको आदेश

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आवश्यक कागजात नभएका विदेशी आप्रवासीहरूलाई राख्न क्युबास्थित कुख्यात अमेरिकी सैनिक बन्दी केन्द्र ‘ग्वान्टनामो बे’ मा हिरासत केन्द्र बनाइने बताएका छन् ।

ट्रम्पले त्यहाँ ३० हजार गैरकानुनी आप्रवासीहरू राख्ने मिल्ने स्थान बनाइने बताएका हुन् । उनले क्युबास्थित अमेरिकी जलसेनाको आधार अखाडा रहेको उक्त स्थानमा त्यहाँ रहेको उच्च सुरक्षायुक्त सैनिक जेलभन्दा अलग्गै त्यस्तो नयाँ आप्रवासी हिरासत केन्द्र बनाइने र त्यसमा ‘अमेरिकी जनताका लागि खतरा बनेका सबैभन्दा खराब अपराधी गैरकानुनी आप्रवासीहरूलाई’ राखिने बताएका छन् ।

ग्वान्टनामो बेस्थित सैन्य जेलमा थुनुवाहरूलाई ‘चरम र अमानवीय’ खालका यातना दिइने गरेको भनेर मानवअधिकारवादीहरूले व्यापक आलोचना गर्दै आएका छन् ।

ट्रम्पले आफ्नो आदेशअनुसार पूर्वाधार बनेपछि आवश्यक कागजात नभएका आप्रवासीहरूलाई थुनामा राख्ने क्षमता दोबर हुने बताए ।

बुधवार नै ट्रम्पले नियुक्त गरेका, बोर्डर त्सार, भनिने सीमा सुरक्षा सम्बन्धी सर्वोच्च अधिकारी टम होमनले ग्वान्टानामो बे स्थित हालका संरचनालाई विस्तार गरिने र त्यसको सञ्चालन आप्रवासन र भन्सार मामिलाको एक निकाय आइसिइ ले गर्ने बताएका छन् ।

त्यस्तो बन्दी केन्द्र तयार पार्न कति खर्च लाग्छ र त्यो कहिलेसम्म निर्माण भैसक्छ भन्ने विषय स्पष्ट भैसकेको छैन । क्युबाका राष्ट्रपति मिगेल डियास–कनेलले ट्रम्पको निर्णयको निन्दा गर्दै त्यसलाई ‘अवैध रूपमा कब्जा गरिएको’ आफ्नो भूभागमा भइरहेको ‘क्रूर कार्य’ भनेका छन् ।

सन् २००१ को सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा भएको हमलापछि आतङ्ककारी गतिविधिमा संलग्न ठानिएका संदिग्धहरूलाई अनिश्चित कालसम्म हिरासतमा राख्न उक्त जेलको प्रयोग हुँदै आएको छ ।

ट्रम्पले चोरी वा हिंसात्मक गतिविधिको आरोपमा पक्राउ परेका अवैध आप्रवासीलाई अदालतमा सुनुवाइ हुनुपूर्व हिरासतमा राख्न आवश्यक पर्ने एउटा कानुनमा हस्ताक्षर गर्नुअघि त्यस्तो घोषणा गरेका थिए।

अमेरिकामा विमान र हेलिकप्टर ठोक्किएर दुर्घटना भएको स्थानमा १८ शव फेला

बीबीसी । वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान सेनाको हेलिकप्टरसँग आकाशमा ठोक्किएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ ।

बुधबार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोक्किएपछि अमेरिकन एयरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको थियो । चालकदलका चार र ६० जना यात्रु रहेका उक्त विमान क्यान्सास राज्यको विचिटाबाट प्रस्थान गरेको थियो ।

विमान खसेको ठाउँमा खोजी र उद्धार अभियान सुरु भएको छ । सरकारी निकायहरूले उक्त दुर्घटनामा कति जना हताहत भए भन्ने औपचारिक जानकारी दिइसकेका छैनन् । तर प्रहरी स्रोतले विमान खसेको स्थानमा १८ वटा शव फेला परेको जनाएको छ ।

अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् । उक्त हेलिकप्टर तालिममा प्रयोग गरिएको अमेरिकी सेनाले पुष्टि गरेको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विमान दुई टुक्रा भएको छ भने डुङ्गा र गोताखोरहरूले विमान र हेलिकप्टरमा सवार मानिसहरूको खोजी गरिरहेका छन् । दुर्घटनाग्रस्त हेलिकप्टर पानीमा उत्तानो परेर खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ओखलढुंगामा जिप दुर्घटना, तीन जनाको मृत्यु

खोटाङ । खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । 


केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारीअनुसार पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७ः३० बिरामी लिएर काठमाडौँ हिँडेको थियो । आगलागीमा परी गम्भीर घाइते हुनुभएकी माया गुरुङलाई लिएर काठमाडौँ जाँदै गरेको सुमो गएराति दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । 


मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा आज बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थामा स्थानीयले देखेपछि ट्राफिक प्रहरी कार्यालय हर्कपुरलाई जनकारी दिएका थिए । सुमो चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने भेटिएका छैनन् । उनी फरार रहेको हुनसक्ने प्रहरीको अनुमान छ । 


सुमोमा चालकसहित चारजना मात्रै सवार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । “सुमो दुर्घटनाका बारेमा आज बिहानमात्र जानकारी प्राप्त भयो । घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको छ”, उनले भने, “चालक भेटिएका छैनन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।” 


उपचारमा पठाइएका बिरामीसहित एकै परिवारका तीनैजनाको मृत्यु भएको खबरले आफन्त तथा गाउँले शोकमा परेका छन् ।

शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाको ‘शिक्षक डायरी’

डडेल्धुरा । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भागेस्वर गाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू भएको छ ।

शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्नमा सघाउ पुर्याउने उद्देश्यले शिक्षक डायरी लागू गरिएको हो । शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारुपहरू शिक्षक डायरीमा उल्लेख गरिएको छ ।

शिक्षणलाई प्रभावकारी बनाउन तथा शिक्षकको पेसागत विकासका लागि विद्यालयमा अनिवार्य रूपमा शिक्षक डायरी लागू गरिएको पालिकाका शिक्षा शाखा प्रमुख गणेश पौडेलले बताए ।

“शिक्षकले वर्षभरि अध्यापन गर्ने विषयवस्तुको शैक्षिक योजना बनाई प्रभावकारीरूपमा तोकिएको समय सीमाभित्र सम्पन्न गर्न शिक्षक डायरीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ”, उनले भने, “नियमितरूपमा शिक्षक डायरी प्रयोग गर्दा शिक्षकमा हरेक शैक्षिक सूचनाको खोज गर्ने बानीको विकास हुन्छ । बाल मनोविज्ञानको ख्याल गरी योजना तयार पार्न, शैक्षिक सामग्री तयार गर्न, विभिन्न शिक्षण विधिमध्ये उपयुक्त छनोट गरी प्रयोग गर्न, शिक्षणको कार्यलाई सरल तरिकाबाट सम्पन्न गर्न सकिन्छ ।”

डायरीमा पेसाप्रति समर्पित कर्तव्यनिष्ठ शिक्षकले पालना गर्नुपर्ने महत्वपूर्ण जानकारी सङ्ग्र्रह गरिएको शिवशङ्कर मावि भागेश्वर–५ रुपालीगाडका प्रधानाध्यापक मोती नाथले बताए ।

उनले भने, “यसबाट शिक्षकको क्षमतामा वृद्धि हुन्छ नै । विद्यार्थीको पढाइप्रतिको मोहलाई बढाउन सकिन्छ । शिक्षकको मूल्याङ्कन हुने भएकाले अध्ययपनकार्यलाई कसरी गुणस्तरयुक्त बनाउन सकिन्छ भनेर शिक्षकले अब मेहनत गर्नेछन् ।”

उनले भने, “शिक्षकले पाठ्ययोजनासहित प्रस्तुत नहुँदा पाठ्यक्रमको मर्मअनुसार पठनपाठन हुन सक्दैन । डायरीमा यिनै कुरालाई दर्साइएको छ । हामीलार्ई कर्तव्यप्रति निर्वाहमा इमानदार हुन मद्दत पुर्याएको छ ।” डायरीमा उल्लेख गरिएका कुरा महत्वपूर्ण रहेको भुवनेश्वरी प्रावि डुङ्री डडेल्धुराका प्रधानाध्यापक वसन्ती भट्टले बताइन् ।

शिक्षक डायरीमा पालिकाका सम्पूर्ण शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयवस्तुलाई समावेश गरिएको पालिका अध्यक्ष हेमराज चटौतले बताए ।

उनका अनुसार डायरीमा नगरपालिकाको प्रशासनिक तथा राजनीतिक विभाजन, नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयको तथ्याङ्कगत विवरण, वार्षिक शैक्षिक क्यालेण्डर, शिक्षासँग सम्बन्धित वेबसाइट, पाठ्यक्रमसम्बन्धी जानकारी, विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य, पाठ्यक्रमको संरचना, मूल्याङ्क प्रक्रिया उल्लेख गरिएको छ । यसैगरी डायरीमा विद्यार्थीको वैयक्तिक विवरण राख्ने व्यवस्था गरिएको छ ।

विद्यार्थीको नाम, जन्ममिति, आमाबुबाको नाम, अभिभावकको नाम, ठेगाना र सम्पर्क फोन नम्बर राख्ने व्यवस्था गरिएको छ ।

विद्यालयमा पढाइ भएको दिन, विद्यार्थीको उपस्थितिको विवरणसँगै अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थीको विवरण राख्नका लागि डायरीमा व्यवस्था गरिएको छ । डायरीमा शिक्षकको समयतालिका, शैक्षिक योजना बनाउनका लागि स्थान उपलब्ध गराइएको छ ।

विद्यालयमा हुने एकाइ परीक्षाको अभिलेख राख्ने, त्रैमासिक, अर्धवार्षिक र निरन्तर मूल्याङ्कनको अभिलेख र निरन्तर मूल्याङ्कन फारामसमेत डायरीमै राखिएको छ । भागेस्वर गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय छन् ।

अध्यादेशलाई संसदबाट अस्वीकार गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । संसदका विपक्षी दलहरु सरकारले ल्याएको अध्यादेशकाविरुद्ध एक भएर उभिने भएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलको बैठकले शुक्रबारदेखि सुरू हुने हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशविरूद्ध एक भएर उभिने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशलाई संसदबाट अस्वीकार गर्ने निर्णय भएको जानकारी दिए । उनले भने,‘अध्यादेश प्रक्रियागत हिसाबले नै गलत छ भन्ने हाम्रो निष्कर्ष हो । यसविरुद्ध विपक्षी दलहरु एकठाउँमा उभिन्छौं ।’

त्यस्तै बैठकले राष्ट्रियता, जनजीविका र महंगी नियन्त्रणलगायतका विषयमा संसदमा सशक्त आवाज उठाउने निर्णय गरेको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत नेताहरूको सहभागिता थियो । संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले घटेर १ लाख ६० हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ३० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अमेरिकामा यात्रुवाहक विमान र हेलिकप्टर आकाशमा ठोक्किए

बीबीसी । वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान अर्को हेलिकप्टरसँग आकाशमै ठोक्किएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ।

स्थानीय समयानुसार बुधबार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एयरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको थियो । चालक दलका चार र यात्रु ६० जना सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट प्रस्थान गरेको थियो ।

एफएएले विमान रेगन वाशिङ्टन नेशनल एयरपोर्टको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको हो । अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् ।

दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ भएको र त्यसमा तीन सैनिक रहेका एक अधिकारीले बताएका छन् ।

एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई ती सैनिकहरूको अवस्था अज्ञात रहेको जानकारी दिएका छन् । वाशिङ्टन डीसीमा तापक्रम निकै कम भएकाले उद्धारकार्य चुनौतीपूर्ण हुने देखिएको छ।

सुशीला अधिकारीद्वारा रचित ‘उठ नेपाली, जुट नेपाली’

काठमाडौँ । कवयित्री सुशीला ढकाल अधिकारीले रचना गरेको राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली, जुट नेपाली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीद्वारा स्वरबद्ध गीत अधिकारीको आफ्नै युट्युब च्यानल सिर्जनाको चौतारीमार्फत बुधबार सार्वजनिक गरिएको हो ।

राष्ट्रभावले ओतप्रोत शब्दमा सिर्जित उक्त गीत सहिद दिवसको अवसर पारी भिडियो सार्वजनिक गरिएको गीतका रचनाकार अधिकारीले जानकारी दिइन् ।

मनोहर सुनामले सङ्गीत संयोजन गरेको उक्त गीत मिक्सिङ प्रकाश मिश्र र भिडियोको छायाङ्कन वीरेन्द्र भाटले गरेका हुन् ।

पूर्वराष्ट्रप्रमुख र उपप्रमुख पार्टीको कार्यकारी पदमा फर्कने कुरा उचित होइनः उपमहासचिव ज्ञवाली

लुम्बिनी । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकमा राजनीतिक स्थिरताका लागि अहिलेको सरकार बनेको बताएका छन् ।

उनले राजनीतिक स्थिरतासहित विकास र समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउन एमाले र नेपाली कांग्रेससहितको गठबन्धन सरकार बनेको बताए ।

ज्ञवालीले प्रेस चौतारी, रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटमा वर्तमान गठबन्धन सरकार बनेपछि अस्थिरताका सदाबहार खेलाडीलाई छटपटी भएको र जनताले त्यस्ता शक्तिका कुनै पनि प्रयासलाई साथ नदिने बताए ।

उनले वर्तमान गठबन्धन सरकार गठन भएपछि केही निराशा चिर्नेगरी सरकारले काम गरेको बताए । “यो सरकार बनेपछि केही देखिने उपलब्धि भएका छन्, रोकिएका विकासका काम अघि बढेका छन्”, उनले भने, “राजस्व बढेको छ, आयात, निर्यात बढेको छ, अर्थतन्त्र चलायमान भएको छ, निजी क्षेत्रमा उत्साह र भरोसा बढेको छ ।”

ज्ञवालीले संसदमा दर्ता भएको सामाजिक सञ्जाल नियमन विधेयकले सबैलाई मर्यादामा राख्ने बताए । उनले यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र गलत सूचनाबाट सबैलाई जोगाउन विधेयक ल्याइएको स्पष्ट पारे । “सत्य सूचनालाई रक्षा गरिएन भने गलत सूचनाले दिग्भ्रमित पार्छ”, उनले भने, “अराजकतालाई निरूत्साहित पार्नु जरूरी छ ।”

देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको  ज्ञवालीको भनाइ छ । उनले राष्ट्रपति र उपराष्ट्रपति मुलुकको अभिभावक र संविधानको संरक्षक रहेको बताए ।

उनीहरू पूर्वराष्ट्रप्रमुख र उपप्रमुख मुलुकको अभिभावकको भूमिकाको जिम्मेवारीमा रहनुभएको व्यक्ति पार्टीको कार्यकारी पदमा फर्कने कुरा उचित नभएको र एमालेले यस विषयमा कुनै छलफल खुला नगरेकोसमेत स्पष्ट पारे ।

अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् ।

प्रतिस्पर्धी हेमन्त राईलाई ७३ मतले पछि पार्दै सापकोटा अध्यक्षमा विजयी भएका हुन् । सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका उम्मेदवार हुन् ।

अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो । महासचिवमा रोशन थापा मगर निर्वाचित भइसकेका छन् । मगर माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मानिकट प्यानलका हुन् ।

अध्यक्षः विजयप्रकाश सापकोटा
उपाध्यक्षः अटल आचार्य
उपाध्यक्षः मदन ढकाल
उपाध्यक्षः विराज थापा
उपाध्यक्षः दीपा जैशी
उपाध्यक्षः ममता अधिकारी
उपाध्यक्षः सन्दीप पुन
उपाध्यक्षः कृष्णबहादुर सुनार
उपाध्यक्षः अभिमन्यु यादव
उपाध्यक्षः उमेश कंडेल
महासचिवः रोशन थापामगर
उपमहासचिवः विपिन पोखरेल
उपमहासचिवः गजेन्द्र यादव
उपमहासचिवः निर्मला गौतम
उपमहासचिवः भगवान बास्तोला
उपमहासचिवः रेशम अधिकारी
उपमहासचिवः प्रकाश अधिकारी
उपमहासचिवः रामचन्द्र भट्ट
उपमहासचिवः निरोज श्रेष्ठ
उपमहासचिवः जटिल कार्की
सचिवः प्रेम जैशी
सचिवः वीरेन्द्र जिसी
सचिवः शिशिर बस्याल
सचिवः सम्झना राई
सचिवः तिर्सना आलेमगर
सचिवः सम्कृति पुन
सचिवः आर्टिस्ट मोक्तान
सचिवः आशा उपरकोटी
सचिवः अमर मण्डल
सचिवः जीतेन्द्र भण्डारी
सचिवः युन्छो हाङ्ग मावो
कोषाध्यक्षः फूलमाया रानामगर

डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर

बेइजिङ । उच्च–प्रविधि चिपहरूमा अमेरिकी निर्यात नियन्त्रणले अनजानमै स्टार्टअप डिपसिकको एआई च्याटबटको सफलतालाई बल पुर्‍याएको छ। यसले एआईमा विश्वव्यापी प्रभुत्वका लागि चीनलाई रोक्न वासिङ्टनले केही गर्न नसक्ने भन्ने डर उत्पन्न गरेको छ।

पूर्वी चिनियाँ शहर हाङझोउमा रहेको यस कम्पनीले आफ्नो आर१ प्रोग्रामले लगानीकर्ता र उद्योग विशेषज्ञहरूलाई चकित पारेको छ। यसले अमेरिकी प्रतिस्पर्धीहरूसँग देखिने गरी कम लागतमा प्रतिस्पर्धा गर्न सक्छ।

यो एआई विकास गर्न प्रयोग गरिने विशाल लर्निङ (सिकाइ) मोडेलहरूलाई सञ्चालन गर्न आवश्यक उन्नत चिपहरूमा चिनियाँ कम्पनीहरूको पहुँचलाई रोक्ने कडा अमेरिकी नियमका बाबजुद भएको हो।

डिपसिकका संस्थापक लियाङ वेनफेङले ‘उच्च–स्तरीय चिपहरूमा प्रतिबन्ध’ यसको काममा ठूलो बाधा साबित भएको स्वीकार गरेका छन्।

तर विश्लेषकहरूका अनुसार यी प्रतिबन्धहरूले अमेरिकी प्रविधि प्रभुत्व सुनिश्चित गर्ने लक्ष्य राखे पनि उनीहरूलाई पार गर्न चतुर तरिकाहरू विकास गर्न कम्पनीलाई उत्प्रेरित गरेको हुनसक्छ।

कम्पनीले आफ्नो ठूलो लर्निङ मोडेल सञ्चालन गर्न कम–उन्नत एच८०० चिप प्रयोग गरेको बताएको छ। यी चिपहरू सन् २०२३ को अन्त्यसम्म चीनलाई निर्यात गर्न अनुमति दिइएको थियो।

“चिपहरूमा चीनको पहुँचमा प्रतिबन्धले डिपसिक टिमलाई ठूलो कम्प्युट प्रशिक्षण लागत बिना नै प्रतिस्पर्धी हुनसक्ने बढी कुशल मोडेलहरू प्रशिक्षण गर्न बाध्य पार्यो”, जर्ज वासिङ्टन विश्वविद्यालयका जेफ्री डिङले भने।

उनका अनुसार डिपसिकको सफलताले ‘अन्य देशलाई अग्रणी मोडेलहरू विकास गर्नबाट रोक्न अमेरिकी निर्यात नियन्त्रणहरू अप्रभावकारी छन्’ भन्ने देखाएको छ।

“कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) जस्तो सामान्य–उद्देश्यका प्रविधिलाई बोतलमा थुन्न असम्भव छ भन्ने इतिहासले हामीलाई बताउँछ”, उनले भने।

डिपसिक यस तरिकाले नवप्रवर्तन गर्न बाध्य भएको पहिलो चिनियाँ कम्पनी होइन। प्रविधि दिग्गज हुवावेले अमेरिकी प्रतिबन्धहरूलाई सम्बोधन गर्न आफ्नो व्यवसाय पुनः व्यवस्थित गरेपछि हालका वर्षहरूमा नाफामा फर्किएको छ।

तर सिलिकन भ्याली र वासिङ्टनमा यस्तो आतङ्क फैलाउने यो पहिलो कम्पनी हो।

उद्यम पूँजीपति मार्क एन्ड्रिसनले यसलाई ‘स्पुतनिक क्षण’ को रूपमा वर्णन गर्नुभएको छ। स्पुतनिक संयुक्त राज्य अमेरिका र यसको प्रमुख भू–राजनीतिक प्रतिद्वन्द्वीबीचको विशाल प्रविधि अन्तरलाई उजागर गर्ने सोभियत उपग्रह प्रक्षेपणको सन्दर्भ हो।

– लागतको अंश –

वर्षौंसम्म धेरैले एआईमा अमेरिकी वर्चस्व स्वाभाविक मानेका थिए। यो क्षेत्र ओपनएआई र फेसबुक–मूल कम्पनी मेटा जस्ता ठूला सिलिकन भ्याली नामहरूको प्रभुत्वमा थियो।

चीनले लाखौँ लगानी गरेको र सन् २०३० सम्म एआई प्रविधिमा विश्व नेता बन्ने प्रतिबद्धता जनाए पनि यसका प्रयासहरू प्रशान्तभरि चिन्ता बढाउन पर्याप्त थिएनन्।

प्रविधि दिग्गज बाइडुको अर्नी बट सार्वजनिक हुँदा च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने प्रयास प्रभावशाली हुन सकेन। यसले ठूला प्रविधि कम्पनीहरूका लागि बेइजिङको कडा नियामक वातावरणले कुनै वास्तविक नवप्रवर्तनलाई रोक्नेछ भन्ने धेरैको विचारलाई पुष्टि गरेजस्तो देखियो।

त्यो जो बाइडेनको प्रशासनको नेतृत्वमा कडा शासनसँग जोडिएको थियो। यसको उद्देश्य एआई ठूला भाषा मोडेलहरूलाई सञ्चालन गर्न आवश्यक उच्च–प्रविधि चिपहरूको चिनियाँ खरिदलाई सीमित गर्ने थियो। तर डिपसिकले ती धेरै धारणाहरूलाई उल्टाइदिएको छ।

“यसले नवप्रवर्तनका लागि आवश्यक कम्प्युटेशन पावर, डाटा प्रोसेसिङका बारेमा धेरैले राखेका लामो समयदेखिका धारणाहरूलाई उल्टाइदिएको छ”, येल लो स्कूलको पल त्साई चाइना सेन्टरकी कानून अनुसन्धान विद्वान् र वरिष्ठ फेलो सैम स्याक्सले भने, “त्यसैले प्रश्न के हो भने के हामी लागतको अंश र गणनाको अंशमा अत्याधुनिक एआई प्राप्त गर्न सक्छौँ ?”

डिपसिकको मोडेलले लागत कटौती र दक्षतामा जोड दिएको छ भने एआईप्रतिको अमेरिकी नीति लामो समयदेखि मापनको अनुमानमा आधारित छ।

जर्ज वासिङ्टन विश्वविद्यालयका डिङका अनुसार “राम्रो र राम्रो प्रदर्शन हासिल गर्न समस्यामा बढी र बढी कम्प्युटिङ शक्ति र प्रदर्शन थप्ने।”

यो राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टारगेट उद्यम पछाडिको केन्द्रीय विचार हो, जापानी विशाल सफ्टब्याङ्क र च्याटजीपीटी निर्माता ओपनएआईको नेतृत्वमा आर्टिफिसियल इन्टेलिजेन्सका लागि पूर्वाधार निर्माण गर्न पाँच खर्ब डलरको पहल।

तर डिपसिकको आर१ च्याटबटको सफलताले नवप्रवर्तन धेरै सस्तोमा आउन सक्छ भन्ने सुझाव दिन्छ। डिपसिकका विकासकर्ताहरूले मात्र ५६ लाख डलरमा निर्माण गरिएको दाबी गरेका छन्।

केहीले सावधानी अपनाउन आग्रह गर्छन् र कम्पनीका लागत–बचत उपायहरू यति नवीन नहुन सक्छ भनेर जोड दिन्छन्।

“डिपसिक भी३को प्रशिक्षण लागत प्रतिस्पर्धात्मक भए पनि ऐतिहासिक दक्षता प्रवृत्तिभित्र पर्छन्”, आर१ को अघिल्लो संस्करणका सन्दर्भमा र्यान्ड कर्पोरेशनका एसोसिएट सूचना वैज्ञानिक लेनार्ट हेइमले भने, “एआई मोडेलहरू समयसँगै प्रशिक्षण गर्न निरन्तर सस्तो हुँदै गएका छन् – यो नयाँ होइन, हामीले पूर्वाधार, अनुसन्धान र विकासको पूर्ण लागत चित्र पनि देख्दैनौँ।”

– जागरण आह्वान –

तथापि ट्रम्पले डिपसिकलाई सिलिकन भ्यालीका लागि एक ‘जागरण आह्वान’ का रूपमा वर्णन गर्नुभएको छ र उनीहरू ‘जित्नका लागि प्रतिस्पर्धामा लेजर–केन्द्रित’ हुन आवश्यक छ भनेका छन्।

पूर्व अमेरिकी प्रतिनिधि मार्क केनेडीले डिपसिकको सफलताले ‘अगाडि बढ्ने निर्यात नियन्त्रणको प्रभावकारितालाई कमजोर पार्दैन’ भने।

उनले वासिङ्टनले ‘एआई चिपहरूमा प्रतिबन्ध विस्तार’ र चिनियाँ कम्पनीले कुन प्रविधिमा पहुँच पाउन सक्छन् भन्ने बारेमा बढी निगरानी गरेर अर्को कदम चाल्न सक्ने बताए।

तर विल्सन सेन्टरको वाहबा इन्स्टिच्युट फर स्ट्राटेजिक कम्पिटिशनका निर्देशक बनेका केनेडीले यसले आफ्नै उद्योगलाई बलियो बनाउन पनि सक्ने बताए।

“विशुद्ध रूपमा रक्षात्मक उपायहरूको सीमिततालाई ध्यानमा राख्दै यसले घरेलु एआई लगानी बढाउन, गठबन्धनलाई बलियो बनाउन र चीनको एआई इकोसिस्टममा अनैच्छिक रूपमा थप राष्ट्रहरूलाई नधकेली नेतृत्व कायम राख्न सुनिश्चित गर्न नीतिहरू परिष्कृत गर्नसक्छ”, उनले भने।

मर्केटर इन्स्टिच्युट फर चाइना स्टडिज (एमइआरआइसिएस) का विश्लेषक रेबेका अर्सेसाटीले भने, “चीनभन्दा पछि पर्ने वास्तविक डरले अब त्यो धक्कालाई उत्प्रेरित गर्न सक्छ।”

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

जुबा । दक्षिण सुडानमा विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिएका छन् ।

राजधानी जुबाका लागि उडेको विमान स्थानीय समयअनुसार करिब १०ः३० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो ।

‘विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो । विमानमा २१ जना सवार थिए । अहिले त्यहाँ एक जनामात्र बाँचेका छन्’, गतवेच विपालले भने ।

ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी)ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनले बताए ।

उनले उक्त दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको बताउँदै यसबारे छानबिन गरिने जानकारी दिए ।

चैत्र २४ गते काठमाडौंमा विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले देशमा देखिएका वर्तमान समस्याहरुको विरुद्धमा चैत्र २४ गते जनप्रदर्शनसहितको सभा गर्ने भएको छ ।

बुधबार बसेको समाजवादी मोर्चाको बैठकले चैत २४ मा काठमाडौंमा जनप्रदर्शनसहित सभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । उनले चैत्र २४ ऐतिहासिक दिन भएकाले काठमाडौंमा भव्य र शान्दार रुपमा सभा गर्ने बताए ।

यस्तै, चैत्रको पहिलो साता १ देखि ५ गतेभित्र मधेसमा एउटा जनसभा गर्ने पनि निर्णय गरेको उनले जानकारी दिए । उनले समाजवादी मोर्चाको विचार नीति र उद्देश्यलाई आम जनतासम्म पुर्याउन समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सरकारले सदन छलेर अध्यादेश ल्याएको भन्दै रास्वपाले सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारले ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टी संसदीय दल बैठकले सरकारले सदनलाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैठकले रास्वपा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धिकरणको समेत मुद्दा दायर गरेर सांसद पद निलम्बन गर्ने काम गरेको भन्दै त्यसको समेत सदनमा विरोध गर्ने निर्णय गरिएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

त्यस्तै बैठकले पार्टी सभापति विरुद्धको राजनीतिक प्रतिशोधको विषय उठान गर्ने, सहकारीका मुद्दा, अर्थतन्त्रका विषय,असन्तुलित परराष्ट्र नीतिका विषयमा समेत सदनमा सशक्त रुपमा आवाज उठाउने निर्णय गरेको परियारले बताए ।

उनले सरकार गठनका समयमा भएको सात बुँदे समझदारीको समेत विरोध गर्ने निर्णय गरिएको जानकारी दिए ।

नेवारी परिकारः धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षण

मलेखु (धादिङ) । नेवारी खानाको परिकार धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षणका रूपमा परिचित बनेको छ । समयबजी, नेवारी खाजा सेट, छोइला, भुटन, योमरी, सपुमिचा, बारालगायत विभिन्न स्वादका परिकारले महोत्सवमा पुगेका सबैको ध्यान आकर्षित गराएको हो ।

महोत्सवको मञ्च नजिकै झिङ्गु नेवाः समाज धादिङले सञ्चालन गरिरहेको नेवारी खाजा स्टलमा नेवारी स्वाद चाख्ने र ‘वासा’मा रम्नेहरूको घुइँचो देखिन्छ ।

स्टलमा खटिएर स्वाद चखाउँदै गरेका हरिकुमार श्रेष्ठले भने, “यहाँ आइपुग्नुहुने सबैले नेवारी खानेकुरा चाखौँ न भन्नुहुन्छ, व्यापार सोचेभन्दा धेरै नै राम्रो छ ।” महोत्सवमा अन्य खाजाका परिकार खुवाउने स्टल भए पनि मौलिक स्वाद लिन खोज्ने ग्राहक नेवारी खाजा स्टलमा आइपुग्ने गरेका उनले बताए ।

एकपटक स्वाद चाखेर फर्किएका अर्को पटक परिवारलाई लिएर आउने गरेका झिँगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । नेवारी परिकार अन्य खाना, खाजाको भन्दा फरक स्वाद हुने भएकाले पनि अवलोकनमा आइपुग्नेको रोजाइमा परेको उनको भनाइ छ ।

“नेवारी परिकार धादिङका बजारमा सहजै नपाइने र पाइए पनि नाम मात्रैका हुन्थये”, गल्छी गाउँपालिका–८ बाट महोत्सव अवलोकनमा आएका कान्छोनारायण श्रेष्ठले भने, “यहाँ आउँदा अर्गानिक नेवारी परिकारका स्वाद खान पाइयो ।”

सुरुका दिनमा खासै चहलपहल नभए पनि दोस्रो तेस्रो दिनदेखि भ्याइनभ्याइ भएको व्यापारी श्रेष्ठले बताए । उनले भने, “यहाँ आउने ग्राहकले अन्य परिकारको तुलनामा यमरी सबैभन्दा बढी मन पराइदिनुभएको छ ।” हेर्दा ममः जस्तै लाग्ने तथा ममः पकाउने भाँडोमा उसिनेर तयार पारिने योमरी बनाउन निक्कै समय खर्चिनुपर्ने उनको भनाइ छ ।

सयौँ वर्षदेखि योमरी पुन्हीका दिन नेवार समुदायले योमरी बनाई खाने प्रचलन भए पनि विस्तारै बजारमा योमरी बनाई बेच्ने चलन आएपछि अरु समुदायको पनि यो परिकारप्रति आकर्षण बढेको हो । अध्यक्ष श्रेष्ठका अनुसार दैनिक रु ७० हजारदेखि ८० हजारसम्म कारोबार हुने गरेको छ ।

नेवारी खाजाको प्रचारप्रसारका लागि महोत्सवमा स्टल राखिएको र यसबाट भएको केही आम्दानी समाजको कोषमा राखिने समाजका अध्यक्ष श्रेष्ठले बताए । नेवारी खाजा सदरमुकामवासीका लागि नयाँ परिकार नभए पनि जिल्लाका गाउँबस्तीबाट आएकाको लागि भने नौलो खाजा बन्न पुगेको छ ।

“पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ । केही समय अगाडि सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय गजुरीले नेवारी परिकार बनाउने तालिम उपलब्ध गराएपछि सदरमुकाम धादिङबेँसीमा नेवारी खानाको परिकारको लोकप्रियता अझ बढेको हो”, उनले भने ।

गत मङ्सिर २९ र ३० गते धादिङबेँसीमा झिगु नेवाः समाजले प्रथम धादिङबेँसी सडक नेवा खाना उत्सव आयोजना गरेर सदरमुकामवासीलाई नेवारी खानाको स्वाद चखाएको थियो । 

एचपिभी खोप अभियानको अभिनेत्री मनिषा कोइराला सद्भावनादूत घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका लागि वरिष्ठ अभिनेत्री एवं समाजसेवी मनिषा कोइरालालाई सद्भावनादूत घोषणा गरेको छ । मन्त्रालयले बुधबार एक कार्यक्रम आयोजना गरी उनलाई सद्भावनादूत घोषणा गरेको हो ।

कार्यक्रममा अभिनेत्री कोइरालाले आफू क्यान्सरबाट पीडित भएर निको भएको बताउँदै निरोधात्मक पूर्वतयारी गरे पाठेघरको मुखको क्यान्सरबाट हुने जोखिमबाट बच्न सकिने उल्लेख गरिन् । खोपको प्रोत्साहन गर्ने सामाजिक काममा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताउँदै उनले यस अभियानमा सबैलाई हातेमालो गरेर अघि बढ्न आग्रह गरिन् ।

सङ्घीय सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान यही माघ २२ गतेदेखि सुरु गर्दैछ । आगामी फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने यस अभियानअन्तर्गत १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई एचपिभी खोप लगाइँदैछ ।

एचपिभी खोप लगाएमा पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित हुन सकिने र खोप प्रारम्भिक किशोर अवस्थामा लगाएमा प्रभावकारी हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस सन्दर्भमा प्रारम्भिक किशोरावस्था भन्नाले १० देखि १४ वर्षको उमेरलाई बुझाउँछ ।

मन्त्रालयले यही माघ २२ गते (विश्व क्यान्सर दिवसका) दिन खोप अभियानको सुरूआत गर्ने जनाएको हो । नेपालमा औसतमा हरेक दिन छ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र चारजना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको जानकारी दिए । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीलाई एचपिभी खोप दिइने र ३० वर्षभन्दा माथिको उमेर समूहका कम्तीमा ९० प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने उनले उल्लेख गरे । उनका अनुसार पाठेघरको मुखको क्यान्सर पहिचान भएका कम्तीमा ९० प्रतिशत महिलाको उपचार गरिने छ ।

यो वर्ष देशव्यापी रूपमा एचपिभी खोप अभियान सञ्चालन गरिँदैछ । यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपिभी खोप दिइनेछ । 

मन्त्री पौडेलले भने, “मुलुकलाई सबैखाले क्यान्सरमुक्त बनाउन उपचारात्मक मात्र होइन अब निरोधात्मक अभियानमा लागेका छौँ । धेरै मृत्यु हुने गरेको पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउन यो अभियान सुरु गरेका हौँ ।”

एचपिभी खोप सेवालाई आगामी वर्षदेखि नियमित अभियानका रूपमा सञ्चालन गरिने मन्त्री पौडेलले जानकारी गराए । अभियानअन्तर्गत विद्यालय जाने कक्षा ६ का छात्राहरू र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई हरेक वर्ष एचपिभी खोप दिइने मन्त्रालयले जनाएको छ ।

एचपिभी खोपका लागि लक्षित गरेका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने भएकाले खोप सेवा पनि मुख्यतः विद्यालय केन्द्रित हुनेछ । विद्यालयहरूमा खोप सेवा सञ्चालनपछि स्वास्थ्य संस्था र बाह्य खोप केन्द्रहरू तथा वडा कार्यालयबाट समेत यो खोप प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यस वर्ष सञ्चालन हुने एचपिभी खोप अभियानमा १८ हजार नौ सय विद्यालय र आठ हजार दुई खोप केन्द्रहरूबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार खोप दिने स्वास्थ्यकर्मीहरू करिब २७ हजार र स्वयम्सेवक ५४ हजारभन्दा बढी परिचालन हुनेछन् ।

खोप अभियानका लागि १७ लाख ७० हजार २० मात्रा एचपिभी खोप प्राप्त भएको जानकारी दिँदै उनले यो खोप प्रदेश तहमा पुर्याइसकिएको र अभियान सञ्चालन अगाडि सम्बन्धित स्वास्थ्य संस्थामा पुग्नेगरी खोप वितरण गरिने बताए ।

अभियानका लागि गाभीबाट सहयोग र नेपाल सरकारको सहलगानी रहेको छ । हरेक वर्ष नियमित खोप कार्यक्रममा एचपिभी खोप समावेश गरी दिगो रूपमा खोप दिने लक्ष्य नेपाल सरकारले लिएको छ ।

मन्त्रालयले एचपिभी खोप सुरक्षित र प्रभावकारी रहेको र नेपालमा खरिद–आपूर्ति गरिने एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनले गुणस्तरयुक्त प्रमाणित खोप भएको जनाएको छ । नेपालमा खोप सञ्चालन गर्नका लागि औषधि व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको छ ।

शिक्षा विकासको मूल आधार होः राष्ट्रपति पौडेल

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासको प्रमुख आधार रहेको बताएका छन् । बुधबार लमजुङको मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्तीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा बिना विकास सम्भव नहुने भएकाले शिक्षा अनिवार्य आवश्यकता भएको बताए ।

राष्ट्रपति पौडेलले शिक्षालाई प्राविधिक, गुणस्तरीय र व्यवस्थित गर्दै समयअनुसार अघि बढ्नु अहिलेको आवश्यकता रहेको भन्दै यसमा सबैले समन्वय गर्नुपर्नेमा जोड दिए ।

उनले  निष्ठा, प्रतिष्ठा र राजनीतिबाट कति पनि विचलित नभई आज यहाँसम्म आइपुगेको बताउँदै यसमा मध्यनेपालवासीको पनि योगदान रहेको भन्दै प्रशंसा गरे ।

उनले भने, “गाउँगाउँमा बाटो, बिजुली, शिक्षा, सञ्चारलगायत पूर्वाधार पुगेको छ, ग्रामीण विकासको लहर आएको छ । विकासको मेरुदण्डका रूपमा रहेका युवाहरू विदेश पलायन हुनबाट रोक्न गुणस्तरीय शिक्षा दिनुपर्छ । स्वदेशमा रोजगारीका अवसर सृजना गर्नुपर्छ ।”

राष्ट्र भन्नु नै जनता रहेको र जनता यसरी बाहिरिरहे मुलुक उजार अवस्थामा पुग्ने जनाउँदै राष्ट्रपति पौडेलले युवालाई स्वदेशमा रोक्न रोजगारी आवश्यक रहेको धारणा राखे । ठूलो त्याग र बलिदान गरेर ल्याएको सङ्घीय लोकतन्त्र गणतन्त्र शासन प्रणालीको जगमा राष्ट्रको सांस्कृतिक, सामाजिक, आर्थिक विकास हुने उनको भनाइ छ ।

अस्थिर राजनीतिले देश विकासमा बाधा पुग्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले राजनीतिक दलहरू एकजुट भएर आपसी सहकार्य र समन्वयबाट मुलुकको विकास गर्ने बेला आएको बताए । सबै एकजुट भएर सुशासन कायम गर्दै देश विकासका लागि भ्रष्टाचार, विकृति, विसङ्गति हटाउन जरुरी रहेकामा उनले जोड दिए ।

एपीएफ क्लबलाई एन्फा राष्ट्रिय महिला लिगको उपाधि

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

एपीएफका लागि सबिता राना मगरले दुई तथा सरु लिम्बुले एक गोल गरिन्, भने अनु लामाले अर्को गोल थपिन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। एपीएफका लागि खेलको ६४औं मिनेटमा सबिता राना मगरले गोल गर्दै अग्रता दिलाइन् । त्यसपछि पहिलो गोल भएको पाँच मिनेटमै, खेलको ६९औं मिनेटमा सरु लिम्बुले गोल गरी एपीएफको अग्रता २–० बनाइन् ।

८३औं मिनेटमा सबिता राना मगरले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् । खेलको अतिरिक्त समयमा अनु लामाले गोल गर्दै एपीएफलाई ४–० को शानदार जित दिलाइन् ।

सामाजिक सञ्जाल विधेयकप्रति महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएको भन्दै आपत्ति प्रकट गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘महासंघलगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएरमात्र विधेयक अगाडि बढाउन महासंघ नेपाल सरकार र संघीय संसद्सँग आग्रह गर्दछ ।’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने भन्दै महासंघले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

डिल्लीबजार कारागारबाट १४ वर्षअघि फरार अभियुक्त काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको डिल्लीबजार कारागारबाट भागेका फरार अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कारागारबाट भागेका ओखलढुंगाका ४५ वर्षीय पेशलराज बुढाथोकीलाई बुधबार काठमाडौंको टोखाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।

बुढाथोकीविरूद्ध वैदेशिक रोजगार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०६६ साउन १९ गते तीन वर्ष कैद र तीन लाख जरिवाना सुनाइएको थियो । त्यसपछि उनी फागुन २५ गते कारागार कार्यालय डिल्लीबजारमा पठाइएको थियो । तर उनी २०६७ साउन २९ गते फरार भएका थिए ।

केपी ओली कप फुटबल फागुन दोस्रो सातादेखि  हुने, विजेतालाई १५ लाख

काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो सातादेखि हुने भएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनाम हुने प्रतियोगिता आगामी फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष  क्षितिज थेबेले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घद्वारा सूचीकृत ‘ए’ डिभिजनका क्लब र विदेशी गरी १० टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा उपाधि विजेता टोलीले १५ लाख ११ हजार १११ रुपैयाँ पाउनेछ भने उपविजेताले  पाँच लाख पाउनेछ । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई  एक लाख प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही  ५० हजार पाउने छन् । प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ घोषित हुने खेलाडीले १५ हजार पाउनेछ । त्यस्तै हरेक खेलको विजेता टोलीले  २५ हजार पाउने छन् ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् भने त्यसअघिका खेल सातदोबाटोमा हुनेछन् । 

प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत, बीमा रकम पाँच लाख पुर्याउन सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका छन् ।

मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारिएको कार्ययोजनासहितको प्रतिवेदन स्वास्थ्यमन्त्री पौडेलले बुधबार प्रधानमन्त्रीसमक्ष बुझाएका हुन् ।

कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै पाँच लाख पुर्याउने गरी तयारी गरिरहेको बताउँदै आएका छन् । प्रधानमन्त्रीसमक्ष पेस भएको प्रतिवेदनमा पनि स्वास्थ्य बीमा रकम पाँच लाखसम्म पुर्याउन सकिने आधार समावेश छन् ।

मन्त्रिपरिषद्बाट निर्णय भएमा संसद्को आगामी अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ ।