दाङको समृद्धिका लागि १० पालिकामा नागरिकका सुझाव हस्तान्तरण
दाङ । नागरिक स्तरबाट दाङ जिल्लाको विकासका विषयमा सुझाव संकलन गर्ने उद्देश्यसाथ ‘हाम्रो दाङ, हाम्रो जिम्मेवारी’ अभियानअन्तर्गत आयोजित ‘दाङको समृद्धिमा नागरिकको आवाज’ कार्यक्रमबाट संकलित सुझावहरू घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाका नगरप्रमुखहरूलाई औपचारिक रूपमा सोमबार हस्तान्तरण गरिएको छ ।
साथै, दाङका सबै स्थानीय तहहरूलाई पनि औपचारिक इमेलमार्फत ती सुझावहरू पठाइएको अभियानका संयोजक प्रदीप मजगैयाँले जानकारी दिए ।
जेठ ५ गते घोराहीमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रबाट आएका १२० भन्दा बढी सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, वातावरण, पर्यटन, लैङ्गिक समानता, समावेशी सेवा र सुशासन जस्ता विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए। सुझावहरू नागरिकको प्रत्यक्ष अनुभवमा आधारित रहेकाले नीति निर्माणमा प्रभावकारी बन्ने विश्वास आयोजकको छ ।
संयोजक मजगैयाँले भने, ‘संकलित सुझावहरूलाई प्रदेश र संघीय सरकारसमक्ष पनि औपचारिक रूपमा पेश गरिनेछ, जसबाट नीति, योजना र बजेट निर्माण प्रक्रियामा नागरिकको आवाज समेटिने अपेक्षा गरिएको छ।’
कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादको माध्यम तयार गरेको भन्दै सहभागीहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूका अनुसार यस्तो खालको खुला बहसले नागरिक सरोकारका विषयहरू उजागर गर्न सघाउ पुर्याउनेछ ।
कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, युवाहरू, महिलाहरू, अपाङ्गता भएका व्यक्ति, पत्रकार, व्यवसायी, चिकित्सकको सक्रिय उपस्थिति रहेको थियो ।

