पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना
काठमाडौँ। पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिवाना गरिएको छ।
बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम जरिवाना गरिएको अध्यागमन विभागले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्र र घटनासम्बन्धी विवरण अध्ययन गर्दा एजेन्सीले प्रचलित कानुन उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ।
घटनामा संलग्न गाइडको व्यावसायिक आचरण र इजाजतपत्रसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न पर्यटन विभाग तथा बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई पत्राचार गरिएको विभागले जनाएको छ।
विभागले पदयात्रा अनुमति नलिई पर्यटकलाई कुनै पनि क्षेत्रमा नलैजान तथा जारी अनुमति र सर्तको पूर्ण पालना गर्न ट्रेकिङ एजेन्सी र गाइडलाई आग्रह गरेको छ। अनुमति उल्लङ्घन गर्ने र सम्बन्धित निकायको निर्देशन अवज्ञा गर्नेमाथि कानुनबमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।
