`

तिहारमा राष्ट्र बैंकले बेच्दै सुनका असर्फी र चाँदीका सिक्का, किन्न यस्तो छ व्यवस्था

Nepal One HD १९ कार्तिक २०८३ ११:४६
अर्थ समाचार

काठमाडौं । तिहार नजिकिएसँगै सुनचाँदीका सिक्का किन्ने तयारीमा रहेकाहरूका लागि नेपाल राष्ट्र बैंकले बिक्री खुलाउने भएको छ। राष्ट्र बैंकले कात्तिक १९ र २० गते दुई दिन सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने तयारी गरेको छ।

राष्ट्र बैंकको टक्सार महाशाखाले सार्वजनिक गरेको सूचनाअनुसार प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी खरिद गर्न पाइनेछ। त्यस्तै, १० ग्राम तौलका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन बढीमा दुईवटासम्म किन्न सकिने व्यवस्था गरिएको छ।

सिक्का बिक्री बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित आफैँ उपस्थित हुनुपर्नेछ।

भुक्तानीका लागि नगद र क्यूआर दुवै माध्यम प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। तर, सुनचाँदीको मूल्य भने बिक्री हुने दिन बिहान करिब ११ बजेपछि मात्रै निर्धारण गरिनेछ। मूल्य सार्वजनिक भएपछि मात्र खरिद प्रक्रिया अघि बढ्नेछ।

राष्ट्र बैंकले मौज्दात रहेसम्म मात्रै सिक्का बिक्री गर्ने स्पष्ट पारेको छ। त्यसैले तिहारको धनतेरस र लक्ष्मीपूजाका लागि असर्फी तथा मेडालियन किन्ने योजनामा रहेकाले तोकिएको समयमै टक्सार महाशाखा पुग्नुपर्नेछ।

धनतेरसमा सुनचाँदी खरिद गर्ने र लक्ष्मीपूजामा सिक्का चढाउने परम्परालाई ध्यानमा राखेर राष्ट्र बैंकले हरेक वर्ष यस्तो बिक्री गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *