सौर्य सिमेन्टद्वारा उदयपुरको कटारीमा विद्यालय र स्वास्थ्य केन्द्र भवन हस्तान्तरण


उदयपुर । सौर्य सिमेन्ट इन्कोर्पोरेटेड लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत कटारी नगरपालिकाको दुई वडामा निर्माण सम्पन्न गरिएका सार्वजनिक संरचना हस्तान्तरण गरेको छ ।
कम्पनीले वडा नम्बर ७ स्थित सरस्वती आधारभूत विद्यालय, मर्जेतपुरमा दुई कोठे पक्की विद्यालय भवन र वडा नम्बर ८ मा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण गरी आइतबार औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।
विद्यालय भवन उद्घाटनका लागि आयोजित कार्यक्रममा कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सशक्त बनाउने शौर्य सिमेन्ट यस्तो प्रयासलाई सराहना गरे ।
उनले सौर्य सिमेन्टको सामाजिक उत्तरदायित्वले विद्यालयको संरचना बनेको भन्दै अब संरचना जस्तै शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको भन्दै त्यसका लागि अभिभावकको सक्रियता जरुरी रहेको बताए ।
कार्यक्रममा सौर्य सिमेन्टका सिनियर भाइस प्रेसिडेन्ट राजन झाले सामाजिक उत्तरदायित्वलाई स्थानीय तहसँग सहकार्य गरेर अघि बढाइएको जनाउँदै भने, ‘देशको समृद्धिका लागि आर्थिक र राजनीतिक क्षेत्र दुवै सबल हुनुपर्छ।’ उनले कम्पनीले निर्माण क्षेत्रमा हुने असर न्यूनीकरणका लागि इन्जिनियरको टोली खटाएर अध्ययन र समाधानको प्रयास गरिरहेको पनि बताए।
त्यस अवसरमा वडाध्यक्ष तथा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक सुविन ढुंगानाले विद्यालय र सामुदायिक विकासमा सहयोग गरेकोमा धन्यवाद दिँदै खानी क्षेत्र नजिकको नदी उचाइ र सम्भावित जोखिमप्रति पनि सौर्यलाई सजग रहन आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक जयबहादुर तामाङले कम्पनीले २०५६ सालदेखि विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विद्यालय परिवारको तर्फबाट सम्मान गरेका थिए। ‘शिक्षक व्यवस्थापनदेखि भौतिक सामग्रीसम्ममा सहयोग पाएका छौं,’ उनले भने।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर मगरले पनि उद्योगको निरन्तर सहयोगप्रति आभार प्रकट गरे। कार्यक्रममा उद्योगले विद्यार्थीहरूलाई खेल तथा शैक्षिक सामग्री वितरण गर्नुका साथै सहभागी अतिथिलाई मायाको चिनो प्रदान गरेको उद्योगका मार्केटिङ प्रमुख अनुज महतले जानकारी दिए।
यसै दिन वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको प्राथमिक स्वास्थ्य केन्द्र भवन पनि हस्तान्तरण गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले भवन हस्तान्तरणसँगै सेवा विस्तार सुरु हुने जानकारी दिए ।
कार्यक्रममा मेयर श्रेष्ठले स्वास्थ्य पहुँचका लागि यो भवन महत्वपूर्ण हुने बताए। वडाध्यक्ष नविन्द्र तामाङले वडाको भूगोल ठूलो भएकाले यस्तो केन्द्रले सेवा वितरणमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै, अब वडालाई एम्बुलेन्सको आवश्यकता रहेको समेत औंल्याए।