`

क्यानडा, मेक्सिको र चीनबाट हुने आयातमा नयाँ भन्सार दर लगाउँदै अमेरिका

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आफ्नो देशमा हुने आयातमा शनिबरबाट नयाँ आयात शुल्क घोषणा गर्ने तयारी गरेका छन् ।

यस्तो शुल्क मेक्सिको र क्यानडाका लागि २५–२५ प्रतिशत र चीनका लागि १० प्रतिशत पुर्याउन लागिएको ह्वाइटहाउसले जनाएको छ।

तर ट्रम्पले शुक्रबार बताए अनुसार क्यानडामा उत्पादन हुने तेलले कम आयात शुल्क बेहोर्ने र त्यो केही पछि अर्थात् १८ फेब्रुअरीबाट कार्यान्वयनमा आउने बताएका छन्।

ट्रम्पले भविष्यमा युरोपेली सङ्घ ईयूका लागि समेत आयात शुल्क लगाउने योजना रहेको बताएका छन्। उनले युरोपेली देशहरूको समूहले अमेरिकाप्रति राम्रो व्यवहार नगरेको बताएका छन्।

ह्वाइटहाउसकी प्रेस सेक्रेटरी करोलाइन लेभिटले क्यानडा र मेक्सिकोले तिर्नुपर्ने त्यस्तो भन्सार शुल्क ‘उनीहरूकहाँबाट आएर अमेरिकामा वितरण गर्न दिइएको दशौँ लाख अमेरिकीहरूको ज्यान लिने गैरकानुनी फेन्टनिल नामक औषधि’ को जवाफ भएको बताएकी छन्।

ट्रम्पले यो कदम अमेरिकी सीमासम्म आइपुग्ने ठूलो सङ्ख्यामा रहेका कागजातविहीन आप्रवासीलाई सम्बोधन गर्न र छिमेकीसँगको व्यापार घाटा कम गर्न चालिएको बताएका छन्।

आफ्नो चुनावी प्रचारप्रसारका क्रममा ट्रम्पले चीनमा निर्मित उत्पादनहरूमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी दिएका थिए। तर आफ्नो नयाँ कार्यकालको पहिलो दिनमै उनले त्यससम्बन्धी कुनै अपर्झट निर्णय गरेनन्।

बरु उनले आफ्नो प्रशासनलाई यस विषय अध्ययन गर्न आदेश दिए। सन् २०१८ यता अमेरिकामा चीनबाट हुने आयात खस्किएको छ।

अर्थशास्त्रीहरूले त्यस्तो आँकडालाई केही हदसम्म ट्रम्पले आफ्नो पहिलो कार्यकालमा बढाएको भन्सार शुल्कसँग जोडेर हेर्ने गर्छन्। 

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना बेपत्ता

सियोल । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुईवटा डुङ्गा डुब्दा तीन जना बेपत्ता भएका छन् ।

योनहाप समाचार एजेन्सीका अनुसार हालसम्म चालक दलका १२ सदस्यलाई उद्धार गरिएको छ ।
स्थानीय समयअनुसार बिहान ९ः२५ बजे चालक दलका सदस्य सहितको ३२ टन तथा २९ टन वजनको डुङ्गा टापु जेजुमा डुबेको हो ।

उद्धार गरिएकामध्ये एकलाई हृदयघात भएको अवस्थामा अस्पताल लगिएको र प्राथमिक उपचार गरिएको थियो ।

बाँकी तीन जना चालक दलका सदस्यहरुको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

टस जितेर थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ,।  त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज थाइल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्याण्डले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई आठ विकेटले पराजित गरेको थियो ।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, बिन्दु रावल, ममता चौधरी, सम्झना खड्का, सिता राना मगर, मनिषा

उपाध्याय, कविता कुँवर, इश्वरी बिष्ट, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रोमा थापा, अलिसाकुमारी यादव र रेवती धामी  रहेका छन् ।

देश विकास सरकारको प्रमुख लक्ष्य होः मन्त्री पाण्डे

ढोरपाटन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान सरकारको प्रमुख लक्ष्य विकास भएको बताएका छन् ।

शनिबार बिहान नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताए ।

वर्तमान सरकार गठनपछि मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भएको उल्लेख गर्दै उनले पर्यटनको विकासबाट देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउन सकिने बताए ।

उनले सत्ता साझेदार दलबीच कुनै समस्या नभएको तथा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान सरकार बनेको बताए ।

बागलुङ कालिका, पञ्चकोट र मुक्तिनाथ क्षेत्रका कारण धौलागिरि अञ्चलमा धार्मिक पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना रहेको मन्त्री पाण्डेले बताए ।

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

नयाँदिल्ली । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ ।

अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम अनुमानअनुसार ६.४ प्रतिशत रहकोे अनुमान गरिएको छ ।

सर्वेक्षण गत आर्थिक वर्षको अर्थतन्त्रको अवस्थाको विवरण दिने प्रि–बजेट दस्तावेज हो । अर्थमन्त्रीले शनिबार सङ्घीय बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

ट्रकमा राखेर सैनिक मुख्यालयबाट सेनाको हेलिकप्टर त्रिभुवन विमानस्थल लगिँदै

नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा लगिँदै । सेना दिवसको अवसरमा सैनिक मुख्यालय भद्रकालीमा आयोजित प्रदर्शनीका लागि सो हेलिकप्टर ल्याइएको थियो ।

तस्बिर : हरि लामिछाने / रासस

विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही ।गैरसरकारी संस्था महासंघ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक संघ-संस्थाहरूले विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम गर्न सरकारलाई आग्रह गरेका छन् ।

सरकारले विवाहको हद उमेर घटाएर १८ वर्ष कायम गर्ने अध्ययादेश संसद्‍मा पेस गरेको छ । सर्लाहीका १५ वटा संघ संस्थाका प्रतिनिधिले सरकारसँग विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम राख्न आग्रह गरेका हुन् ।

गैसस महासंघको केन्द्रीय सदस्य लक्ष्मी सिंह नेतृत्वको एक टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठमार्फत ध्यानाकर्षण पत्र बुझाएको हो ।

संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा बालविवाहले बालबालिका र किशोर-किशोरीको शारीरिक, मानसिक र सामाजिक जीवनमा पर्ने नकारात्मक प्रभाव पर्ने उल्लेख गरिएको छ ।

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

ढोरपाटन (बागलुङ)। अग्ला पहाड र थुप्रै जंघार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले बिस्तारै सुगमतर्फ उन्मुख छ ।

एक दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन् । सडकले प्रकृति र ढोरपाटनको सुन्दरतासँग रमाउन आउने पर्यटकलाई सामान्य भए पनि सहज भएको छ । कच्ची सडकका कारण बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि करिब दुई घण्टामा उपत्यका पुग्न सकिन्छ ।

राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन’ सडकले ढोरपाटन उपत्यका जोडिएको छ । रूपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोडिएपछि अब विकट क्षेत्रमा समृद्धि आउने आश पलाएको छ । विसं २०६७ सालदेखि सुरु भएको सडक आयोजनाले ढोरपाटन उपत्यका जोडिएको हो ।

सडक आयोजनाको काम सुस्त गतिमा भए पनि ढोरपाटन तराईसँग सिधा जोडिएको छ । पहाडको एक कुनामा रहेको ढोरपाटन तराईसँग जोडिनु सिंगो बागलुङवासीका लागि ठूलो अवसर पनि हो ।

रूपन्देहीको सालझण्डीदेखि सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ गरी पाँच जिल्लालाई छिचोल्दै ढोरपाटन जोडेको छ । सालझण्डीदेखि ढोरपाटनसम्म एक सय ९७ किलोमिटर लामो रहेको यस सडक बागलुङमा मात्रै ६१ किलोमिटर पर्छ । बागलुङको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडेको यस सडकले भारतीय पर्यटक भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

तराई र पहाडलाई जोडेको सालझण्डी–ढोरपाटन सडकले दुवै क्षेत्रमा उत्पादन हुने वस्तु बजारीकरण गर्न टेवा मिल्ने ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताए । ढोरपाटनमा बर्सेनि करोडौँको आलु र स्याउ उत्पादन हुने तर सडकको अवस्था खराब हुँदा बजार पुर्‍याउन समस्या भएको उनको भनाइ छ ।

निर्माण कम्पनीले सडक स्तरोन्नति नगर्दा यहाँ हजारौँ नागरिक र पर्यटकले सास्ती खेप्नुपरेको भन्दै यसतर्फ माथिल्लो सरकारको ध्यान जान जरुरी रहेको उपाध्यक्ष कायत बताउछन् । उनले भने, “ढोरपाटन सिधा तराईसँग जोडिएको छ, यो हाम्रो लागि गौरवको विषय हो, यो सडक कालोपत्र भयो भने यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने छ, यसै पनि ढोरपाटन चर्चित छ, भविष्यमा पर्यटनमार्फत नै यस क्षेत्रका नागरिकको जीवनस्तर उकासिन्छ भन्ने विश्वास छ, तराईसँग सिधै ढोरपाटन जोडिने हुँदा बसाइसराइ पनि रोकिने छ ।”

ढोरपाटन नगरपालिका–९ का खिमबहादुर पुन मगरले पहिले आफूहरू पैदल हिँडेर ११ दिनमा बुटवल पुगेर नुन, चामल र लत्ता कपडा ल्याउने गरेको स्मरण गर्दै अहिले सडक आएपछि गाउँभरि पसल खुलेको बताए । पछिल्लो दुई दशकमा ठूलो परिवर्तन आएको भन्दै कच्ची सडकका कारण ढुवानी र यात्रा गर्न असहज भएको उनको भनाइ छ । आफूहरूले यसरी विकास होला भन्ने कल्पना नगरेको पुन मगर बताउछन् ।

“बटौली पुगेर नुन बोकेको अस्ति भर्खरजस्तो लाग्छ, अहिले उ बेलाको जस्तो नुन चामल ल्याउन बटौली जानुपर्दैन, अचेल त घरै अगाडि गाडी गुड्छन्, चाहिने सामान सबै यही ल्याउँछन्”, उनले भने, “पहिले आलु, स्याउ र सिमी बिक्री हुँदैनथ्यो, अहिले गाडीमा हालेर बजार पठायो भने पैसा आउँछ, यो सडक (सालझण्डी–ढोरपाटन) पिच भयो भने सिधै तराईमा पठाउन सकिने छ, तराईको उत्पादन पनि ढोरपाटनमा सहजै आउने छ ।”

सालझण्डी–ढोरपाटन सडकले प्रसिद्ध धार्मिकस्थल लुम्बिनी र ढोरपाटन जोडेको हुँदा अब पर्यटक आगमनमा वृद्धि आउने होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले बताए । तराई र पहाड ओहोरदोहोर गर्न यो सडक निकै छोटो हुने हुँदा व्यापारिक तथा अन्य गतिविधि बढ्ने उनको भनाइ छ ।

अहिले ढोरपाटन उपत्यकादेखि बुकी पाटन जाने पर्यटक कम भएको भन्दै सडकको विस्तारपछि धेरै पुग्ने भण्डारी बताउछन् ।

उनले भने, “ढोरपाटन नेपालमा मात्र नभएर विश्वमै परिचित छ, वन्यजन्तुको सिकार खेल्न अहिले धेरै जसो विदेशी पर्यटक आउँछन्, सडकको सहजता बढ्दै गयो भने नेपाल भरबाट सिकारीहरू यहाँ आउने छ, पर्यटकीय हिसाबले ठूलो सम्भावना बोकेको हुँदा केही वर्षपछि ढोरपाटनमा पर्यटकले गुल्जार भन्ने छ, लुम्बिनी, ढोर बराह दर्शन गरेर उत्तरगङ्गामा स्नान गर्ने बढ्ने छ ।”

सालझण्डी–ढोरपाटन सडक आयोजनाको काम कछुवा गतिमा हुँदा पर्यटक र स्थानीयले हैरानी खेप्नुपरेको छ । आयोजना सुरु भएको १४ वर्षमा ३० प्रतिशत मात्रै सकिएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनालाई द्रुत गतिमा अगाडि बढ्न जरुरी छ । सिकार आरक्ष जोड्ने मुख्य मात्रका रूपमा रहेको यस सडक ट्रयाक खुलेदेखि स्तरोन्नति हुन सकेको छैन । यस सडक हालसम्म १८ किलोमिटर मात्रै कालोपत्र भएको छ ।

त्यसमध्ये रुपन्देहीमा साढे चार किलोमिटर र अर्घाखाँचीमा साढे १३ किलोमिटर मात्रै सडक कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इञ्जिनियर कृष्टिना थापाले जानकारी दिइन्। अहिले पाँच वटै जिल्लाको विभिन्न खण्डमा ग्राभेलिङसहितको काम भइरहेको उनको भनाइ छ ।

बागलुङको बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किमी ग्राभेल हुँदैछ भने रूपन्देही र पाल्पाको खण्डअन्तर्गत कञ्चनखोलादेखि खुर्सानेसम्म साढे १३ किलोमिटर कालोपत्र भइरहेको थापाले बताइन् । पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पतौटसम्मको २२ किलोमिटर, अर्घाखाँचीको माटेदेखि भण्डारासम्म सात किलोमिटर र गुल्मीको पुर्कोटदहदेखि सिर्सेनीसम्मको १९ किलोमिटर कालोपत्र भइरहेको उनको भनाइ छ ।

सिर्सेनीदेखि गुल्मीको अर्खबाङसम्मको ८ दशमलव २ किलोमिटर सडकसमेत कालोपत्र भइरहेको उनले बताइन् । अब अर्घाखाँची खण्डमा १८ किलोमिटर, गुल्मी र बागलुङखण्डमा सात/सात गरी ३२ किलोमिटर सडक स्तरोन्नतिको काम अझै सुरु नभएको उनको भनाइ छ ।

बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास

धुलिखेल। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आएका छन् । बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि विस्थापित उनी बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य छन् ।

प्रकाशसँगै त्यहाँका सात घर परिवार लुइचे पाखामा त्रिपालको सहारामा बस्दै आएका छन् । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बागमती खोलामा गएको बाढीले भएको घरखेत सबै बगाएपछि उनीहरु बिचल्लीमा परेका हुन् ।

भएको सबै सम्पत्ति बगाएपछि सिङतान परिवार गाउँपालिका र सहयोग संस्थाले दिएको खाद्यान्न र लत्ताकपडाको सहायतामा गुजारा चलाइरहेका छन् । अन्यत्र एक टुक्रा पनि आफ्नो जमिन नभएपछि अब सरकारले अन्त व्यवस्थापन नगरिदिएसम्म त्यही बस्ने सिङतानले बताए ।

त्रिपालले बेरेको बासस्थान अगाडि ढुङ्गा गाडेर बनाएको ओदानमा छोरीलाई नुहाउन पानी तताइरहेकी सुकुमाया सिङतानको पीडा पनि कम छैन । भएको सबै अन्नपात र घर खेत बगाएपछि सोही टहराको सहारामा दिनहरू बिताइरहेकी उनले बाढीपहिरोबाट आफूहरू विस्थापित भएपछि निर्धक्क रूपमा बस्न र खाना लाउन समस्या भएको बताइन् ।

बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँको बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले दिएको त्रिपाल खाद्यान्न र ओढ्नका लागि कम्बललगायतको सामग्री उपलब्ध गराएपछि त्यसैको सहारामा दिन बिताउँदै आएको उनीहरूको भनाइ छ ।

पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका प्रकाश सिङतानलगायत भक्तबहादुर सिङतान, बुद्धबहादुर, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको मुस्लो पसेको चनौटे बस्ती हेर्दै खुला आकासमुनि त्रिपालको बासमा आश्रय लिइरहेका छन् ।

बर्खामा बाढी आएर बगाउला कि भन्ने पीर, अब हिउँद लागेपछि हावाहुरीले उडाउने पो हो कि भन्ने पीरले सताउन थालेको उनीहरू बताउँछन् । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विस्थापित परिवारको अन्य ठाउँमा एक टुक्रा पनि जमिन नभएको कारण जग्गाजमिनको व्यवस्थापन गर्न सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिरहेको बताए ।

‘अहिलेको अवस्थामा सरकारले घर बनाउन बजेट दिए पनि उनीहरूसँग एक टुक्रा आफ्नो भन्ने जमिन छैन’, अध्यक्ष थिङले भने, ‘जिल्ला प्रशासन र सहरी विकास तथा भवन विभागबाट जग्गाको व्यवस्थापन कस्तो छ भनेर पत्र आएपछि हामीले सामुदायिक वन क्षेत्रभित्र पर्ने तर रूख बिरूवा केही नभएको खाली जग्गा विकल्पमा हुनसक्छ भनेर सुझाव लेखेर पठाएका छौँ ।’

अहिलेसम्म पनि सङ्घीय सरकारले अस्थायी घर निर्माण गर्न दिने भनेको ५० हजार रुपैयाँ र स्थायी आवास निर्माणको जिम्मा लिएर काम गरेका कुनै पनि सङ्घ संस्थाको सहयोग प्राप्त नभएको पालिकाले जनाएको छ । पालिकाभित्र ५० घरधुरी पूर्ण क्षति भएकामा ती घरपरिवारको लागि पनि कुनै व्यवस्थापन गर्न नसकेको अध्यक्ष थिङले बताए ।

गाउँले जीवन, सम्पत्तिको नाममा रहेको त्यही सानो घर, नजिकै बस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, अन्न उब्जाउ गर्ने बारी र खेत सबै बगाएपछि चनौटेका बस्ती नै विस्थापित भएको छ । जहाँ विद्यालयमा अध्ययनरत बालबालिका रहेका छन् ।

कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति मृत फेला

धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत फेला परेका छन् । भीमदत्त नगरपालिका– १८ स्थित वडा कार्यालय नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गणेश चन्दले अहिले घटनास्थलमा जिल्लाका एसपी चक्रराज जोशीको कमाण्डमा टोली घटनास्थलमा पुगेको जानकारी दिए ।

मृतक कलौनी भीमदत्त नगरपालिकाका कांग्रेस सभापति तथा निकै लोकप्रिय नेता थिए । उनको हत्या भएको आशंकासमेत गरिएकोले प्रहरीले सोही ढङ्गले पनि अनुसन्धान थालेको छ ।

अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियामा अर्को विमान दुर्घटना

बीबीसी । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियामा जहाज दुर्घटना भएको छ । उडिरहेको जहाज भवनमा ठोक्किएर दुर्घटना भएको हो । बीबीसीकाअनुसार दुर्घटनापछि घर र सवारी साधनमा आगलागी भएको थियो । केही मानिसहरु पनि घाइते भएका छन् ।

जहाजमा रहेका यात्रुको अवस्थाबारे जानकारी नआएको प्रहरीले जनाएको छ । जहाज दुर्घटना रुजवेल्ट मलबाट केही टाढा भएको थियो । यो पेन्सिलभेनिया शहरको घना बस्ती भएको क्षेत्रमा पर्छ । यसअघि गत बिहीबार वासिङटन डीसीमा अमेरिकन एयरलायन्सको विमान हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी मूल्य पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४/४ रुपैयाँ मूल्य बढाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्छ । डिजेल र मट्टितेल प्रतिलिटर १६०/१६० रुपैयाँ पर्छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ ।

पतिले शंका गरेपछि एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेद मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले पतिसँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् ।

गत ५ वैशाखमा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि विवाह भएको थियो ।

तर, विवाहपछि अस्ट्रेलिया गएकी चौहान नेपाल फर्किएपछि उनीहरूबीच राम्रो सम्बन्ध नरहेको चर्चा थियो । सम्बन्धविच्छेदको मुद्दामा चौहानले आफूमाथि सापकोटाले शङ्काउपशङ्का गरेको, काममा बाधा दिएको, चरित्रमाथि शङ्का गरेको आरोप लगाएकी छिन् । उनले मानाचामल नलिने गरी मुद्दा दायर गरेकी छिन् ।

सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्न सक्छौँ : नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्नसक्ने बताएका छन् ।

राष्ट्रियसभाको आजदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले देश बनाउने जिम्मा पाउँदा देश र जनताको हितमा कति काम गरेँ भन्ने कुरा प्रष्टसँग जनतालाई भन्नसक्ने हिसाबकिताब आफूसित हुनुपर्ने बताए ।

उनले भने, “संविधान कार्यान्वयनबाट जनतालाई हामीले जे उपलब्धि दिने भनेका छौँ, त्यो दिन सक्यौँ कि सकेनौँ भन्ने गम्भीरतापूर्वक समीक्षा गर्न सकौँ । जहाँ कमजोरी भएको छ त्यसलाई हामीले सुधार गरेर अघि बढ्न सकौँ । त्यही बाटोमा एकताबद्ध रुपमा हिँड्न सकौँ ।” उनले सत्तामा रहँदा एउटा कुरा तथा प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त नभएको र आफ्नो कार्यकालमा देश र जनताको हितमा व्यापक काम गर्न सकियोस् भन्ने भावना राख्नुपर्ने बताए ।

अझै पनि सबैको समग्र मानसिकता सङ्घीयताबमोजिम अधिकारको विकेन्द्रीकरण हुन नसकेको नेता सिटौलाको भनाइ थियो । उनले भने, “अहिले पनि हाम्रो मानसिकता केन्द्रीकृत शासन प्रणालीमा अड्किएको छ । पार्टी सञ्चालन गर्दा होस् वा राज्य सञ्चालन गर्दा केन्द्रकृीत भावना नै देखिन्छ । स्थानीय सरकारले काम गर्नसक्ने अवस्था देखिएको छैन । पार्टीको सङ्कुचित भावनाले माथि उठेर काम गर्न सकेका छैनौँ ।” 

सरकारले धेरै राम्रो काम गरेको छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको राजनीतिक र आर्थिक क्षेत्रको सुधारका लागि यो सरकार गठन गरिएको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच सातबुँदे सहमति भएर सरकार गठन भएकाले सहमति कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले संविधान कार्यान्वयन गर्ने कानुन निर्माणका लागि आवश्यक विधेयकहरु चाँडै संसदमा पेस गर्न आग्रह गरे ।

उनले भने, ‘संसदमा कानून निर्माणको विषयले राम्रो गति लिन नसकेको गुनासो सुनिने गरेको छ । संसदमा संविधानको कार्यान्वयनसँग र नागरिकको प्रत्यक्ष सरोकारका विधेयक विचाराधीन छन् । मैले अघि नै भनी सकेँ लोकतन्त्रको आधारभूत मान्यता विधिको शासन हो । कानुन निर्माणको थलो संसद नै हो ।’

सभापति देउवाले सरकारले ६ महिनाका अवधिमा गरेका काम राम्रा भएको दाबी गरे । उनले भने, ‘कुनै पनि सरकारको मूल्यांकन गर्न ६ महिनाको सहकार्य पर्याप्त हुँदैन । सरकारले यस अवधिमा गरेका काम राम्रा छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने अनुभूति गरेको छु।’

देउवाले संविधान संशोधनका विषयमा दलहरूबीच छलफल गरेर अघि बढ्नुपर्ने बताए ।

यस्तो छ संसदमा प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र दुर्बल पक्ष, अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने स्पष्ट गरेका छन् ।

‘यसका लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकारपक्षीय दलहरूसँग छलफल गरिनेछ । विभिन्न पक्षसँग सघन विमर्श गरी संविधान संशोधन विषयको पहिचान गरिनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘पहिचान गरिएका विषयमाथि संसद्मा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दल र सरोकारवालासँग छलफल गरिनेछ । हामी स्पष्ट छौँ, पार्टीहरूका आ–आफ्नै धारणा र पोजिसन हुनसक्छन् । मिलेका कुरामा साझा धारणा बनाइनेछ, नमिलेका कुरामा बहस र छलफल गरिनेछ ।’

उनले संविधान संशोधन विधेयक ल्याउने काम सरकारको भएको र बहस/छलफलमा आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाइ त्यसैका आधारमा संशोधन प्रस्ताव तयार पार्ने बताए ।

अध्यादेश सुशासन र विकासका लागिः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि अध्यादेश ल्याएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमा आएपछि नीतिगत सुधार गर्नु आवश्यक ठानेर ठोस कार्ययोजना तय गरी नीतिगत सुधारको प्रक्रियालाई तीब्रता दिन अध्यादेश जारी गरेको बताएका हुन् ।

उनले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिबृद्धि गर्न ११, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धि १२, भूमि तथा वन सम्बन्धि ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा अध्यादेश मार्फत् संशोधन गरिएका बताए ।

उनले भने, ‘अध्यादेशमार्फत् एकैपटक यी कानून संशोधन गरिएपछि, मिडियाकै शब्द सापटी लिएर भन्छु– सुशासन र व्यवसायिक वातावरण निर्माणमा ‘देशले अभूतपूर्व सुधारको थालनी’ गरेको छ ।’

प्रधानमन्त्रीले अध्यादेश कार्यान्वयन भएपछि सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोकिने उल्लेख गरे । कानुनमा तोकिएको अवधि बाहेकका सबै काम ७ दिन भित्र सक्नै पर्ने कानुनी व्यवस्था गरिएको उनले बताए ।

उनले भने, ‘आजका मितिबाट हामीसँग ६० दिन छ– यसलाई अस्वीकार गर्ने वा जस्ताको तस्तै पारित गर्ने। या भनौं त्यसमाथि पनि थपघट गर्नेगरी प्रतिस्थापन विधेयक पारित गर्ने– के गर्ने ? यो सम्मानित सदनको जिम्मा भयो।’

उनले ‘अध्यादेशको सन्दर्भमा धेरै सांसदले ‘कन्टेट नभई, प्रोसेस’मा प्रश्न गरेको बताए । उनले भने, ‘संसदलाई छलेर किन अध्यादेश ल्याएको ? त्यस्तो प्रश्न सोध्ने साथीहरुलाई पनि थाहा छ– अध्यादेश ल्याउने भनेको संसद् नचलेकै बेलामा हो । संविधानले नै संसद् नचलेका बेला मात्रै अध्यादेश ल्याउने व्यवस्था गरेको छ, हैन र?’

प्रधानमन्त्री ओलीले अब अध्यादेश संसदको सम्पत्ति भएको बताए।

कांग्रेस र एमाले मिल्दा बारम्बार विश्वासको मत लिनुपर्ने तामासा अन्त्य भयोः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट आफूहरू मुक्त भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको बताएका हुन् ।

उनले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको बताए । उनले भने, ‘विगत छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ ।’

उनले जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको बताए ।

संसदमा असल अभ्यासलाई निरन्तरता दिन सभामुख घिमिरेको आग्रह

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को आजदेखि सुरु भएको पाँचौँ अधिवेशन कानुन निर्माण र जनसरोकारका मुद्दाको सम्बोधनलगायत विषयमा फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।

अधिवेशन प्रारम्भ भएलगत्तै प्रतिनिधिसभाका सदस्यलाई स्वागत गर्दै सभामुख घिमिरेले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिइने भएकाले सदनमा व्यक्त विचारलाई परिस्कृत गर्दै नीतिनिर्माणसम्म पुगिने बताएका हुन् ।

सभामुख घिमिरेले भने, ‘संसद्मा विवाद, छलफल र बहस हुनु नौलो होइन तर हाम्रा निचोड सहमतिको सङ्गमस्थल बन्नुपर्दछ । जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित नभई, राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्नुपर्छ ।’

सत्तापक्ष र प्रतिपक्ष दुवैले तर्क र विचारको सम्मानजनक आदानप्रदानबाट संसद्लाई प्रभावकारी बनाउन दायित्व निर्वाह हुने बताउँदै उनले परस्पर सम्मान, सहकार्य र एकताबाट नै मुलुकका विद्यमान समस्या निरुपण गर्न र नीतिनिर्माणका लागि ऐतिहासिक सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘विगतका असल अभ्यासलाई निरन्तरता दिँदै राष्ट्र र जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।’

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता लिन अनुमति

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१’ संसद्‌बाट फिर्ता लिन अनुमति दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्बाट उक्त विधेयक फिर्ता लिन समितिको अनुमतिका लागि प्रस्ताव मागेकोमा बहुमतबाट स्वीकृत भएको हो ।

यो विधेयक संसद्मा दर्ता भएर समितिमा छलफलका क्रममा थियो तर सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६’ लाई अध्यादेशमार्फत संशोधन गरेपछि संसद्बाट फिर्ता लिन सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको थियो । समितिमा छलफलका क्रममा रहेको विधेयकलाई सरकारले अध्यादेशमार्फत ल्याएको भन्दै प्रतिपक्ष दलहरूले यसमा विरोधसमेत जनाएका थिए ।

अर्थमन्त्री पौडेलले भने संवैधानिक र कानुनी व्यवस्थाभित्र बसेर यो अध्यादेश ल्याइएको बताउँदै अध्यादेशमाथि सदनमा छलफल हुने भएकाले विधेयकलाई फिर्ता गरिनुपर्ने बताए ।

“सरकारले संसद् छल्नका लागि अध्यादेश ल्याएको होइन । संसद् नचलेको अवस्थामा केही महत्वपूर्ण काम गर्नका लागि अध्यादेशमार्फत कानुन ल्याउन सकिने व्यवस्था छँदैछ”, उनले भने, “अध्यादेशमा भएका विषयमाथि पनि संसद्मा पर्याप्त छलफल हुने नै छ । साथै प्रक्रिया पु¥याएरै यसलाई पारित गर्ने नगर्ने विषय टुङ्गो लाग्नेछ ।”

सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गरेर मुख्यगरी ‘बजेट क्यालेण्डर’ संशोधन गरेको छ । अध्यादेशको व्यवस्थाअनुसार राष्ट्रिय योजना आयोगबाट प्राप्त विवरणका आधारमा बजेट सीमा र बजेट तर्जुमासम्बन्धी मार्गदर्शन तयार गरी फागुन १५ गतेभित्र पठाउनुपर्नेछ । बजेट तर्जुमा गर्दा स्रोतको उपलब्धता, खर्चको आवश्यकता र खर्च गर्नसक्ने क्षमतासमेतका आधारमा प्रस्ताव भएको बजेट रकम, कार्यक्रम वा क्रियाकलाप थपघट वा परिमार्जन गरी बजेटलाई अन्तिम रूप दिनसक्ने व्यवस्था ल्याइएको छ ।

प्रस्तावित बजेट तथा कार्यक्रममा सारभूत रूपमा थपघट वा परिमार्जन भएमा सोको जानकारी सम्बन्धित लेखा उत्तरदायी अधिकृतलाई दिनुपर्ने पनि अध्यादेशमा उल्लेख छ । यस्तै, स्वीकृत कुनै कार्यक्रम संशोधन , स्वीकृत कार्यक्रमभित्रको विनियोजित रकम अन्य कुनै कार्यक्रममा खर्च गर्न परेमा सम्बन्धित मन्त्रालयको सिफारिसमा संशोधन गर्न सक्ने व्यवस्था ल्याइएको छ ।

आर्थिक वर्षको बीचमा वैदेशिक अनुदान तथा ऋण सम्झौता भई तत्काल सञ्चालनमा रहेको आयोजनामा थप रकम समावेश गर्नुपरेमा विनियोजन ऐनमा समावेश भएको वैदेशिक सहायतातर्फको कूल रकममा नबढ्ने गरी रकमान्तर वा स्रोतान्तर गर्नसक्ने अध्यादेशमा उल्लेख छ ।

त्यस्तै, नयाँ व्यवस्थाअनुसार सशर्त, समपूरक वा विशेष अनुदानबापत प्रदेश वा स्थानीय तहमा भएको वित्तीय हस्तान्तरण रकम आर्थिक वर्षभित्र खर्च नभई बाँकी भएमा सोही आर्थिक वर्षभित्र सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ । रासस

हिउँदे अधिवेशनको पहिलो बैठकमै रास्वपाको अवरोध

काठमाडौँ । संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार दिउँसो एक बजेदेखि प्रतिनिधिसभा बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेर विरोध गरेका छन् ।

सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढ्न सुरु गर्न लागेपछि रास्पवपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।

सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरिरहे पनि रास्वपाका सांसदहरुले उठेर विरोध गरिरहेका छन् ।

उनले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोही क्रममा आफ्ना धारणा राख्न रास्वपाका सांसदलाई आग्रह गरेका छन् । तर रास्वपाका सांसदहरुले मानिरहेका छैनन् ।

इन्डोनेसियामा वन फँडानीमा वृद्धि, ओरङ्उटान प्रजाति थप सङ्कटमा

बैंकक । इन्डोनेसियामा सन् २०२४ मा वन फँडानी फेरि बढेको एक स्थानीय वातावरणीय गैरसरकारी संस्थाले शुक्रबार जनाएको छ ।

इन्डोनेसियाको वन फँडानीको दर विश्वकै उच्च दरमध्ये एक रहेको छ । इन्डोनेसियामा काठको प्रयोग, पाम तेलको खेती, र बढ्दो महत्वपूर्ण खनिजहरूको खननलगायतका विविध कारणले जङ्गलको फँडानीमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।

देशको बाँकी वन क्षेत्रहरू खतरामा परेका र सङ्कटापन्न प्रजातिहरूका महत्त्वपूर्ण वासस्थान साथै प्रमुख ‘कार्बन सिङ्क’हरू रहेका छन् ।

गैरसरकारी संस्था औरिगा नुसानताराको प्रतिवेदनअनुसार सन् २०२४ मा इन्डोनेसियामा दुई लाख ६१ हजार ५७५ हेक्टर मुख्य वन क्षेत्र र सहायक जङ्गलहरू नष्ट भएको छ । यो अघिल्लो वर्षको तुलनामा चार हजार बढी हो ।

सरकारले विकासका लागि खुला गरेको क्षेत्रमा सबैभन्दा बढी नोक्सानी देखिएको यो तेस्रो वर्ष भएको समूहले जनाएको छ ।

“यो चिन्ताजनक छ, किनकि यसले कानुनीरूपमा वन फँडानी बढाएको देखिन्छ,” औरिगा नुसानताराका अध्यक्ष टाइमर मनुरुङले भने ।

उनले देशको नयाँ राजधानी निर्माण हुँदा सबैभन्दा बढी जङ्गल क्षति भएको कालिमान्तन र सुलावेसीमा वनको ‘तत्काल’ संरक्षणको आवश्यकता रहेको बताए ।

इन्डोनेसियाली वातावरणविद्हरूले लाखौं हेक्टर वनलाई खाद्य र ऊर्जा उपयोगका लागि रूपान्तरण गर्ने सरकारी योजनाबारे चिन्ता व्यक्त गरिरहेका बेला यो प्रतिवेदन आएको हो ।

अक्टोबरमा पदभार ग्रहण गरेका राष्ट्रपति प्राबोवो सुबियान्तोले देशमा खाद्य र ऊर्जा आत्मनिर्भरता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसमा जैविक ईन्धनको विस्तार गरेर ईन्धन आयात कम गर्ने पनि समावेश छ।

वातावरणीय समूहहरूले यी योजनाहरूले देशको वनहरूमा विपत्ति निम्त्याउने चेतावनी दिएका छन् । यिमध्ये धेरै ओरङ्उटानजस्ता खतराको सूचीमा रहेका सङ्कटापन्न प्रजातिहरूको घर हो।

“हामी राष्ट्रपति प्राबोवोलाई बाँकी रहेका सबै प्राकृतिक वनको संरक्षणका लागि राष्ट्रपतिद्वारा निर्देशन जारी गर्न आग्रह गर्दछौं,” टाइमरले भने ।

इसिबीद्वारा प्रमुख व्याजदरमा २५ प्रतिशत अङ्कको कटौती

फ्रयाङ्कफर्ट । युरोपेली केन्द्रीय बैङ्क (इसिबी) ले बिहीबार प्रमुख ब्याजदरमा २५ प्रतिशत अङ्कले कटौती गर्ने निर्णय गरेको छ ।

ब्याजदर कटौतीपछि निक्षेप सुविधा, मुख्य पुनर्कर्जा सञ्चालन र सीमान्त कर्जा सुविधाको ब्याजदर घटाएर क्रमशः २.७५ प्रतिशत, २.९ प्रतिशत र ३.१५ प्रतिशतमा झार्ने इसिबीले जनाएको छ ।

मुद्रास्फीतिको दृष्टिकोणको अद्यावधिक मूल्याङ्कन, अन्तर्निहित मुद्रास्फीतिको गतिशीलता र मौद्रिक नीति प्रसारणको शक्तिमा आधारित रहेर ब्याजदर घटाउने निर्णय भएको हो ।

मुद्रास्फीतिलाई दिगो रूपमा मध्यम स्तर अर्थात् २ प्रतिशतमा ल्याई आफ्नो जिम्मेवारीलाई पछ्याउन कटिबद्ध रहेको दोहोर्‍याउँदै इसिबीले आफ्नो भविष्यको मौद्रिक नीतिहरू निर्धारण गर्न आफ्नो तथ्याङ्क र बैठकको समीक्षा र दृष्टिकोणमा अडिग रहने कुरामा जोड दिएको छ ।

“यूरोपेली अर्थतन्त्रले अझै पनि सङ्कटको सामना गरिरहेको छ तर बढ्दो वास्तविक आय र प्रतिबन्धात्मक मौद्रिक नीतिको क्रमशः लोप हुँदै गएको प्रभावले समयको साथ माग वृद्धिलाई सहयोग गर्नेछ,” विज्ञप्तिमा भनिएको छ।

युरो क्षेत्रमा मुद्रास्फितिको चिन्ता कम हुँदै गएपछि केन्द्रीय बैङ्कले मौद्रिक नीतिलाई खुकुलो बनाउने अपेक्षा बजार अवलोकनकर्ताले गरेका छन् ।

सांसद पद निलम्बन फुकुवाका लागि रविद्वारा सभामुखलाई निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन् । शुक्रबार सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा सभामुखलाई भेटेर सभापति लामिछानेले सांसद पद निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन् । संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ ।

यसअघि लामिछानेले संसदीय दलको कार्यालयमा पुगेर रास्वपाका सांसदहरूसँग भेट गरेका थिए । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेपछि संसद सचिवालयले लामिछानेलाई गत ८ पुसमा सांसद पदबाट निलम्बन गरेको थियो ।

लामिछानेलाई पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा चलेसँगै उनी सांसद पदबाट निलम्बित भएका थिए ।

सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरण मुद्दा लागेका रविलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए । त्यस्तै उनी जिल्ला अदालत काठमाडौंबाट र रुपन्देहीबाट समेत धरौटीमा छुटेका छन् ।

अमेरिकाको हवाईमा सातौँ पटक ज्वालामुखी विस्फोट

बीबीसी । संयुक्त राज्य अमेरिकाको हवाईस्थित किलोवेअ ज्वालामुखी फेरि विस्फोट भएको छ । उक्त ज्वालामुखी केही साताको अवधिमा सातौँ पटक विस्फोट भएको दृश्य देखिन्छ ।

ज्वालामुखी विस्फोट भएपछि बगेको लाभाले उक्त पर्वत वरिपरि आकर्षक र चम्किलो आकृति बनाएको थियो । स्थानीय अधिकारीहरूका अनुसार लाभाका कारण नजिकै रहेका घर वा अन्य भौतिक संरचनामा भने कुनै क्षति भएको छैन ।

ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै  ट्रम्प

वासिङटन । क्यानाडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  ब्रिक्स राष्ट्रहरूमा सतप्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्याएका छन् ।

यसअघि ट्रम्पले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका ब्रिक्स राष्ट्रहरूलाई अमेरिकी डलरको प्रतिस्पर्धी मुद्रा सिर्जना गरेमा सतप्रतिशत कर लगाउने धम्की दिएका थिए ।

“ब्रिक्स देशहरूले डलरबाट टाढा जाने प्रयास गरिरहेको र हामी हेरेर बस्ने अवस्था अब समाप्त भएको छ”, उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “हामी यी देखिने रूपमा शत्रुवत देशहरूबाट प्रतिबद्धता माग्नेछौँ कि उनीहरूले न त नयाँ ब्रिक्स मुद्रा सिर्जना गर्नेछन्, न त शक्तिशाली अमेरिकी डलरको प्रतिस्थापन गर्न कुनै अन्य मुद्रालाई समर्थन गर्नेछन्, अन्यथा उनीहरूले सतप्रतिशत भन्सार महसुलको सामना गर्नुपर्नेछ” ।

ब्रिक्स भन्सार महसुलबारे ट्रम्पको टिप्पणी पद आसीन भएलगत्तै तोकिएको फेब्रुअरी १ को समय सीमाभन्दा केही दिनअघि आएको छ । जसअनुसार छिमेकी क्यानाडा र मेक्सिकोले अमेरिकी सीमा पार गर्ने अवैध आप्रवासीहरू र घातक फेन्टानलको प्रवाहमाथि कडा कारबाही नगरे तिनीहरूमाथि २५ प्रतिशत भन्सार महसुल लगाउने बताए । 

ट्रम्पले छुट्टै ब्रिक्स समूहको सदस्य चीनमाथि व्यापार असन्तुलन र अमेरिकी फेन्टानल आपूर्तिमा कथित भूमिकाका कारण फेब्रुअरी १ देखि नै वस्तुहरूमा थप १० प्रतिशत कर लगाउने धम्की दिएका छन् ।

सुन तोलामा २३ सय र चाँदीको ३० रुपैयाँले बढ्यो मूल्य

काठमाडौँ । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाली बजारमा प्रतितोला सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी एक हजार आठ सय ८५ मा कारोबार भएको थियो ।

बेलचौतारा–मुस्ताङ पुल : चार वर्षमा ३० प्रतिशत प्रगति

तनहुँ । बेलचौतारा–मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका छन् । चार वर्षमा जम्मा ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

मूल्य अभिवृद्धि करसहित १५ करोड ५९ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले कोभिडकालमा भएको आर्थिक क्षतिका कारण निर्धारित समयमा काम पूरा नभएको बताएको छ ।

यसैबीच, पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले भने निर्माण कम्पनीलाई हालसम्म रु।आठ करोड १३ लाख भुक्तानी भइसकेको बताएका छन् ।

‘टेल फाउण्डेशन’मा निर्माण हुने पुलको लम्बाइ एक सय ५० दशमलव ४ मिटर हुनेछ । चार वटा स्पानमध्ये हालसम्म एउटा मात्र बनेको छ ।

अमेरिकामा दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ फेला

बीबीसी । अनुसन्धानकर्ताहरूले संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा दुर्घटनामा परेको यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ फेला पारेका छन् ।

स्थानीय समयानुसार बुधबार राति वाशिङ्टनस्थित विमानस्थलमा अवतरण गर्न लागेको अमेरिकी एयरलाइन्सको यात्रुवाहक विमान आकाशमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो ।

उक्त विमानमा यात्रा गरिरहेका चालक दलका सदस्यसहित ६४ जना र सैन्य हेलिकप्टरमा रहेका तीन जना कोही पनि जीवित नरहेको ठानिएको छ । हाललाई दुर्घटनास्थलमा भइरहेको खोजी कार्य स्थगित गरिएको अधिकारीहरूले बताएका छन् ।

उक्त दुर्घटनापछि विमानस्थलमा कर्मचारी अभाव तथा विमान अवतरण गर्दै गर्दा दुर्घटनाका सम्भावित अवस्थालाई बेवास्ता गरिएको भन्दै विभिन्न प्रश्न उठेका छन् । तर उक्त दुर्घटना भएका बेला वाशिङ्टनस्थित विमानस्थलमा एक मात्र एयर ट्राफिक कन्ट्रोलर रहेको पाइएको छ ।

वाशिङ्टनको आकाश विश्वका सबैभन्दा नियन्त्रित हवाई क्षेत्रमध्ये एकमा पर्छ । अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन्।

यातायात सुरक्षासम्बन्धी अमेरिकी राष्ट्रिय निकाय एनटीएसबीले दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन ३० दिनभित्र आउने बताएको छ ।

दुर्घटनास्थलनजिकै रहेको एनटीएसबीको प्रयोगशालामा ब्ल्याक बक्स लगिने छ र त्यसको जाँच हुने छ ।बगोताखोरहरूले बिहीवार दिनभरि पोटोम्याक नदीमा पसेर खोजी कार्य गरेका थिए। तर उनीहरूले वाशिङ्टनको समयानुसार बिहीवार साँझदेखि खोजी कार्य स्थगित गरेका छन् ।

स्थानीय अग्निनियन्त्रक निकायका प्रमुख जोन डनेलीले विमान खसेको स्थानबाट कम्तीमा २८ वटा शव निकालिएको बताएका थिए ।

रेशम फिलिलीको ‘फेरि जालमा’

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘फेरि रेशम फिलिली’को दोस्रो गीत ‘फेरि जालमा’ सार्वजनिक गरिएको छ ।

२०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो । यही गीतका कारण त्यो बेला फिल्म ‘रेशम फिलिली’ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको थियो । तर, फिल्म प्रदर्शनको दोस्रो दिन नै भुइँचालो गएपछि फिल्मको प्रदर्शन रोकिएको थियो ।

त्यसबेला प्राकृतिक विपत्तिका बाबजुद पनि राम्रो व्यापार गरेको फिल्मको सिक्वेल निर्माण गरिएको छ । फिल्मको मात्रै नभई त्यतिवेला भाइरल भएको गीत ‘जालमा’को समेत दोस्रो भाग अर्थात् रि–क्रियट गरिएको छ । सोही गीत बिहीबार एक कार्यक्रमका बीच रिलिज गरिएको हो । कालीप्रसाद बाँस्कोटाको संगीतमा तयार भएको गीतको शब्द मानस राजले लेखेका हुन् ।

गायनमा काली र सोमिया बराईली रहेका छन् । गीतको भिडियामा प्रदिप लामाको कोरियोग्राफी र शिवराम श्रेष्ठले छायाँकन गरेका छन् । गीतमा फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट छन् ।

संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो एक बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा अधिवेशन सुरु हुँदैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ ।

सङ्घीय संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

यस्तै सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् । अधिवशेन सुरु भएको दिन यसअघि जस्तै दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेश गर्नुहुने छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१”, “निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१” र “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेश गर्नुहुने छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले “सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” र “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेश गर्ने छ । बैठकमा सभामुखले विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी राष्ट्रियसभाको बैठकमा उल्लेखित कार्यसूचि बाहेक मिडिया काउन्सिल विधेयक, २०८० र नवीरकणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । दुबै सदनमा विभिन्न विधेयक विचाराधीन हुनुका साथै थप नयाँ विधेयकसमेत दर्ता गरिएका छन् । संसद्मा सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् । ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ ।

राज्यका अरू निकाय सरह न्यायाधीशलाई पनि स्वेच्छाचारी हुने हक र स्वतन्त्रता छैन

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले अदालतको आदेशको स्वच्छ टिप्पणी गर्दा न्यायाधीश समाजले जनाएको आपत्तिको प्रतिरक्षा गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गरी वरिष्ठ अधिवक्ता त्रिपाठीले न्यायाधीश पनि सार्वजनिक व्यक्ति भएकाले उसले गरेको काम कारबाहीबाट स्वच्छ टिप्पणी गर्न पाइने दाबी गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यका अरू निकाय सरह न्यायाधीशलाइ पनि स्वेच्छाचारी हुने हक र स्वतन्त्रता छैन। न्यायाधीश पनि सार्वजनिक जबाफदेहिताको पद हो । न्यायाधीश पनि सार्वजनिक जबाफदेहिताको पद हो तसर्थ न्यायाधीश पनि आफ्नो कार्य वा अकार्यका लागि सार्वजनिक जवाफदेहिता एव प्रश्नबाट भाग्न मिल्दैन । यो निरन्तर सार्वजनिक निगरानीमा रहन्छ ।’

यस्तो त्रिपाठीले जारी गरेको विज्ञप्ति

आयोजक बागमतीलाई पराजित गर्दै संकटालाई सभापति कप फुटबलको उपाधि

काठमाडौं । संकटाले सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले उपाधि जितेको छ ।

निर्धारित ९० मिनेटमा गोलरहित र पेनाल्टी सुटआउटमा ३–३ को बराबरीपछि सडन डेथमा संकटाले बाजी मारेको हो । समग्रमा संकटाले ४–३ को जित निकाल्यो । सडन डेथमा दीपले गौरव श्रेष्ठको पेनाल्टी रोक्दै संकटालाई आफ्नो कप्तानीमा उपाधि दिलाए ।

उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पार्यो । बागमतीले भने १३ लाख रुपैयाँमा चित्त बुझायो । नेपाली कांग्रेसनिकट लोकतान्त्रिक खेलकुद महासंघले आयोजना गरेको प्रतियोगिताको फाइनल हेर्न पार्टी सभापति शेरबहादुर देउवा, नेता गोलमान श्रेष्ठलगायत त्रिपुरेश्वर पुगेका थिए ।

मोर्चा बनाएर अघि बढ्न मधेसकेन्द्रित दलले बनाए कार्यदल

काठमाडौं । मधेसकेन्द्रित आठ दल मोर्चा बनाएर अघि बढ्ने भएका छन् । बिहीबार बसेको आठ मधेशकेन्द्रित दलको बैठकले संयुक्त कार्यदल बनाई मोर्चा बनाउने प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको हो ।

कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरदसिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मण लालकर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह सदस्य रहेका छन् ।

कार्यदलले साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा लगातयका कार्य गर्ने जनमतका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि आन्दोलनको घोषणा गरिएको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत पहिलो चरणको आन्दोलनबारे जानकारी दिइएको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबुक वालमा आयतकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेख्नेछन् ।

‘लाज शरणम्’ को टिजर सार्वजनिक

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम्’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा फिल्ममा अभिनय गरेका अधिकांशजसो कलाकारलाई देखाइएको छ । कुमार कट्टेल (जिग्री)को निर्देशन रहेको यो फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, महेश त्रिपाठी, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राई लगायतको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा नवीन श्रेष्ठ छन् । ‘लाज शरणम्’ महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ।

अध्यादेश प्रक्रियागत हिसाबले नै यो बेठिक रहेको माओवादीको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले अध्यादेश अस्वीकार गर्ने सूचना संसदलाई दिने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।

उनले अध्यादेश ल्याउने प्रक्रिया लोकतन्त्रलाई सबलीकरण गर्ने गरी नआएको माओवादीको निष्कर्ष रहेको छ ।  उनले जनतालाई छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भनेपनि समितिमा छलफल नगरेको बताए ।

उनले भने, ‘सरकारले जसरी छिटोभन्दा छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भन्ने कुरा पहिला नै ल्याएको विधेयक समितिमा छ । त्यहाँबाट लाँदा सजिलो हुन्थ्यो । त्यसलाई फिर्ता नलिइ अध्यादेश जारी गरिसकेपछि मात्रै फिर्ताको चिठी लेखेर लिएर गएको छ । प्रक्रियागत हिसाबले नै यो बेठिक छ । हामीले यसलाई अस्वीकार गर्छौं ।’

उनले माओवादी संसदमा सशक्त रुपमा प्रस्तुत हुने बताए । उनले सामाजिक सञ्जालको विधेयकको विषयमा अध्ययन गरेर नागरिकको आवाजलाई दबाउन नदिने गरी बहस गर्ने बताए ।

सूचना प्रविधि क्षेत्रबाट वार्षिक १० खर्ब भन्दाबढी आम्दानी गर्न सकिने

काठमाडौँ । सूचना प्रविधि क्षेत्रका जानकारहरुले नेपालले सूचना प्रविधि (आईटी) जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् ।

नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनको आजको समूहगत छलफलमा उनीहरुले यस्तो बताएका हुन् ।

कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी नेपाल ‘स्टार्टअप’ र ‘एसएमई’ सम्मेलनको दोस्रो दिनको ‘उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी’ शीर्षकको सत्रमा भएको छलफलका वक्ताहरुले आईटीमा थोरै लगानी गर्नसके राम्रो परिणाम हात पार्न सकिने बताएका हुन् ।

इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आइटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको बताए । आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्नसकेमा वार्षिक १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने उनको भनाई थियो ।

उनले भने, “अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं । हरेक आईटी कलेजहरुमा कोटा नछुट्याइ सहजै आईटी पढन सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौं ।” अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन प्राडा महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यवसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताए । उनले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्ने उल्लेख गरे । यसका लागि त्रिभुवन विश्वविद्यालयले निरन्तर आफ्नो तर्फबाट काम गरिरहेको पनि उनले जानकारी गराए ।

उनले थपे, “सरकारले नीति त ल्याउँछ तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोडने भन्ने बिषय समेटिएको छैन । हरेक संकायमा प्राविधिक र व्यवसायिक सिप सिकाउने गरी पाठ्यक्रम निमार्ण गर्ने र त्यसलाई व्यवहारिक रुपमा लागु गर्न आवश्यक छ ।”

सीनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समयअनुसार सपना देख्ने, लगानी गर्ने, र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्रान्डीङसहितको प्रचार गर्न आवश्यक भएको बताए । उनले देशको भुगोल अनुसारको उत्पादित सामग्रीको राज्यले प्रवद्र्धन गर्न सकेको अवस्थामा समग्र आर्थिक रुपान्तरण गर्न सहज हुने उल्लेख गरे ।

योङ इनोभेसनका संस्थापक विभूषण बिष्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यहीअनुसार सेवा निर्यात गर्न सकिने बताए ।

उनले भने, “उद्यमशीलता एक माइन्डसेट हो । उद्यमी र सर्वसाधारण मानिसबीच के भिन्नता छ भने सामान्य मानिसले समस्या देखिरहेको हुन्छ भने उद्यमीले अवसर देखिरहेको हुन्छ । त्यो समस्या समाधान गर्ने प्रयास गरिरहेको हुन्छ । कुनै पनि उद्यमीले त्यसलाई कार्यान्वयन नगरेसम्म त्यो अवसर वा त्यो ‘आइडीया’को मूल्य शून्य नै रहन्छ । शिक्षामा उद्यमशीलतालाई जोड्न आवश्यक छ र उद्यमशीलता पढेको व्यक्तिले मात्रै स्टार्टअप गर्नुपर्छ भन्ने हुँदैन ।”

त्यस्तै खिम्भु टेकका सीईओ कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचीको विषय छानेर काम गर्न सकेको अवस्थामा मात्रै सफलता हात पार्न सकिने बताइन् ।

उनले भनिन्, “सुरुमै उद्यमशील बन्ने आधारको लागि सिप विकास आवश्यक छ । जे विषयमा क्षमता छ, त्यसैका लागि प्रयत्न गनुपर्दछ ।” कांग्रेस केन्द्रीय कार्यालयमा बुधबारदेखि सुरु भएको सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवद्र्धनसमेत हुने विभागका संयोजक उर्मिला थपलियाको विश्वास छ ।