`

अध्यादेश प्रतिपक्षीसँग सल्लाह गरेर ल्याउनुपथ्र्योः वामेदव गौतम

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा सरकारले प्रतिपक्षलाई पनि साथ लिनुपर्ने बताएका छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा गौतमले अध्यादेश सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएपनि प्रतिपक्षीको सल्लाहमा जारी गर्नु उचित हुने बताएका हुन् ।

उनले अध्यादेश नानी बाबुहरूले घर पुतली खेले जस्तो विषय नभएको बताए । उनले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै सर्तहरू पूरा गर्नुपर्ने बताए । उनले भने, ‘अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना हो । तर प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै सर्तहरू पूरा गर्नुपर्छ ।’

गौतमले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने दाबी गरे । उनले समाजवाद ल्याउन नसकेको खण्डमा मृत्युदण्डका लागि समेत आफू तयार रहेको बताए ।

उनले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताए । उनले भने, ‘समाजवादको संरचना निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न चाहन्छु। मलाई मृत्युदण्ड दिइयोस् यदि समाजवाद निर्माण हुन सकेन भने ।’

राष्ट्रियसभाको बैठकमा सांसद भट्ट अकस्मात बिरामी परेपछि…

काठमाडौँ । राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चलान भइरहेका बेला अस्वस्थ भएका छन् । आसनग्रहण गरिरहेका अवस्थामा एक्कासी ढल्न खोजेपछि सभाअध्यक्ष नारायणप्रसाद दाहालले सांसद भट्टको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद भट्टलाई उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पुर्याइएको थियो ।

रक्तचाप र मधुमेहको समस्या देखिएका सांसद भट्टको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको र चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिहेको स्वास्थ्यकर्मी भीमराज सिंहले जानकारी दिए ।

टाइगर कप भलिबलको महिलातर्फको उपाधि आयोजक पोखरालाई

पोखरा । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालामा आइतबार भएको फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो ।

पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौ सेट धकेलिएको थियो ।

पाँचौं सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो । पहिलोपटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमै उपाधि चुमेको हो ।

उपाधि जितेको टाइगर ग्रुपले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो । फाइनलमा पराजित भएको एपिएफले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।

सोमालियामा आइएसका ‘प्रमुख’ नेता लक्षित अमेरिकी कारबाहीमा कैयौँ आइएस लडाकूको मृत्यु

मोगादिशु । सोमालियाको अर्धस्वायत्त पुन्टल्याण्ड क्षेत्रको सरकारले अमेरिकी सेनाको कारबाहीमा इस्लामिक स्टेट (आइएस) समूहका ’प्रमुख व्यक्तिहरू’ मारिएका आइतबार बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार राति हवाई आक्रमणको घोषणा गर्दै ट्रुथ सोसल प्लेटफर्ममा आफूले सोमालियामा आइएसका वरिष्ठ आक्रमण योजनाकार र अन्य आतङ्ककारीमाथि सटीक सैन्य हवाई आक्रमणको आदेश दिएको बताएका थिए ।

सोमालियामा अलकायदासँग सम्बन्धित अल–शबाबको तुलनामा आइएसको उपस्थिति तुलनात्मक रूपमा कम छ, तर बढ्दो गतिविधिबारे विज्ञहरूले चेतावनी दिएका छन् ।

सोमालियाको उत्तरी क्षेत्रमा पन्टल्याण्ड डिफेन्स फोर्सेजले गत डिसेम्बरदेखि आइएसविरुद्ध अभियान सञ्चालन गरिरहेको छ । उक्त कट्टरपन्थी समूहले गोलिस पर्वतमा आफ्नो उपस्थिति स्थापित गरेको बताइएको छ ।

“हालैका हवाई आक्रमणले आइएसआइएसभित्रका प्रमुख व्यक्तिहरूलाई निष्प्रभावी बनाएको छ, जुन हाम्रो अभियानको दोस्रो चरणमा प्रवेश गर्दै गर्दा भएको महत्वपूर्ण प्रगति हो,” क्षेत्रीय सरकारले आइतबार आईएस समूहको वैकल्पिक नाम प्रयोग गर्दै भनेको छ।

उसले हवाई हमलामा अमेरिकी संलग्नतालाई ‘अमूल्य’ भनेको छ र ‘हार्दिक कृतज्ञता’ व्यक्त गरेको छ तर वक्तव्यमा आक्रमणको बारेमा थप विवरण दिइएको छैन।

मोगादिशुमा सोमालीसरकारले जारी गरेको वक्तव्यमा बारी क्षेत्रमा सोमाली र अमेरिकी सरकारहरूले संयुक्त रूपमा आइएसविरूद्धको कारबाहीको समन्वय गरेको र यसले ‘आईएसका वरिष्ठ नेताहरू’ लाई लक्षित गरेको उल्लेख गरिएको छ।

राष्ट्रपति हसन शेख मोहमुदलाई शनिबार राति भएको आक्रमणका बारेमा जानकारी गराइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

उनले एक्समा आइतवार एक पोस्टमा आक्रमणपछि वासिङ्टनप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन् ।

उनले भने, “आतङ्कवादले पुन्टल्याण्ड राज्य र सम्पूर्ण सोमालियामा न त साथी भेट्टाउनेछ, न त आश्रयका लागि कुनै ठाउँ नै पाउनेछ ।”

अमेरिकी रक्षामन्त्री पीट हेगसेथले हवाई आक्रमणमा धेरै लडाकू मारिएको प्रारम्भिक अनुमान गरिएको बताए । उनले आक्रमणमा कुनै पनि सर्वसाधारणलाई क्षति नपुगेको बताए ।

नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणको वार्ताका सम्बन्धमा सोमबार अमेरिकी अधिकारीहरूसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री नेतन्याहूले आइतबार अमेरिकी राष्ट्रपतिका मध्यपूर्वदूत स्टिभ विटकोफसँग कुराकानी गरेको र अमेरिकी अधिकारीहरूसँग ‘वासिङ्टनमा हुने भेटवार्तामा थप छलफल गर्ने’ सहमति जनाएका छन्।

हमास र इजरायलका मध्यस्थकर्ता र प्रतिनिधिमण्डलबीच भएको ४२ दिने पहिलो चरण अर्को महिना समाप्त हुनेछ भने दोस्रो चरणको औपचारिक वार्ताको मिति तय गरिएको छैन ।

विटकोफले इजरायलका प्रधानमन्त्री नेतन्याहूसँग दोस्रो चरणको वार्ता अघि बढाउनका लागि छलफल गर्नुअघि प्रमुख मध्यस्थकर्ता कतार र इजिप्टसँग कुरा गर्ने बताइएको छ ।

दोस्रो चरणमा बाँकी रहेका बन्दीको रिहाई र युद्धको स्थायी अन्त्यका बारेमा थप छलफल हुने अपेक्षा गरिएको छ । यसको नेतन्याहू सरकारका धेरै सदस्यहरूले विरोध गरेका छन् ।

इजरायलबाट १५ महिनाभन्दा बढी समयदेखि बन्धक बनाइएका ३३ व्यक्तिको रिहाइका बदलामा इजरायलमा बन्दी रहेका करिब एक हजार ९०० प्यालेष्टिनीको रिहाइको लागि जनवरी १९ मा इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत हमास र उसको सहयोगी इस्लामिक जिहादले अहिलेसम्म १८ जना बन्धकलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई सुम्पेका छन्

हमास स्रोतका अनुसार आगामी शनिबार बन्धकको पाँचौं समूह र प्यालेष्टिनी कैदीबीच आदानप्रदान हुनेछ ।

युद्धविरामको छ हप्ताको पहिलो चरण ३३ बन्धक र एक हजार ९०० प्यालेष्टिनीको आदानप्रदान कसरी हुन्छ भन्ने कुराले दोस्रो चरणको सम्झौताको वातावरण बन्नेछ । 

नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।

नेदरल्यान्ड्सकी कप्तान बबेते डी लीडेले ४१ रन बनाइन् । नेपालकी सीता राना मगरले ५ विकेट लिइन् । शृङ्खलामा नेपालको यो तेस्रो खेल हो । नेपाल उद्घाटन खेलमा नेदरल्यान्ड्ससँग ४ विकेटले र शनिबार थाइल्यान्डसँग २० रनले पराजित भएको थियो ।

आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

काठमाडौँ। आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरु रौतहट, बर्दिया, चितवन र सर्लाहीबाट पक्राउ परेका हुन् ।

चन्द्रपुर नगरपालिका–४ चिडियादह टोलबाट सोही ठाउँका ३१ वर्षीय सागर श्रेष्ठ र बर्दिया बढैयाताल गाउँपालिका–२ फुटाहसाघुनघारीबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना तथा चितवनको कालिका नगरपालिका–६ गुम्बा चोकबाट चार सय ५० ग्राम गाँजा बोकेका १८ वर्षीय किशोर र नियन्त्रित लागूऔषध लिएका सोही स्थानका २७ वर्षीय समीर परियारलाई पक्राउ गरिएको हो ।

यसैगरी, भरतपुर महानगरपालिका–४ लङ्कुलक्ष्मी पथबाट गाँजा करिब ५० ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल, प्रोमेथ, बोमिन र नगद रु ९५ हजार ७ सय ५ सहित ४ जनालाई पक्राउ गरिएको छ ।

नक्कली नोटसहित पक्राउ

यसैबीच, सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट भारतीय मुद्रा पाँच सय दरका एक थान र एक सय दरका २९ थान नक्कली नोटसहित भारत सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेशकुमार सोनीलाई पक्राउ गरिएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख पक्राउ

म्याग्दी । सहकारीको रकम ठगीको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । म्याग्दीको बेनीस्थित कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनाको आरोपमा थापा पक्राउ परेका हुन् ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले एक वर्ष अघि गरेको छानबिन प्रतिवेदनमा थापाको योजनामा सर्वसाधारणले बचत गरेको डेढ अर्ब रुपैयाँ हिनामिना भएको उल्लेख थियो । तर एमालेबाट जिसस प्रमुख निर्वाचित उनी अहिलेसम्म पक्राउ परेका थिएनन् ।

घुससहित पक्राउ परेका किताबखानाका शाखा अधिकृत प्रसाईंसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीका शाखा अधिकृत प्रसाई, कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पेन्सनपट्टा बनाई दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले प्रसाईलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा शाखा अधिकृत प्रसाई, कार्यालय सहयोगी अधिकारी र बिचौलिया न्यौपानेसमेतको मिलोमतोमा सेवाग्राहीको नियमानुसार पेन्सनपट्टा (निवृत्तभरण अधिकार पत्र) बनाई दिनको लागि बिभिन्न बहाना बनाई तीन लाख रुपैयाँ घुस र रिसवत लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

अध्यक्ष साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवले गत मुद्दा दर्ता गराएका हुन् ।

रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले आफ्ना फेसबुक आइडीबाट ‘न्यायाधीश नेताका झोले कार्यकर्ता’ भनेर टिप्पणी गरेका थिए ।

आजपा अध्यक्ष साह र महासचिव त्रिभुवन साह उपर गत शुक्रबार मुद्दा दर्ता भएको हो । साह उपर अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि छ ।

बाटो खाली गराउने क्रममा नगर प्रमुख यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश भएको थियो । अदालतको आदेश आउनुअघि नै साहले आफूलाई आदालत परिसरमै ज्यान मार्ने धम्की दिएको नगर प्रमुख यादवले दाबी गरेका छन् ।

हामीले गर्ने कार्यशैली, कार्य पद्धति, सिस्टममा तालमेलको अभाव छः मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आवश्यक्ताहरु असीमित भएकाले कार्य गर्ने पद्धतिमा तालमेलको अभाव रहेको बताएका छन् ।

आइतबार नापी कार्यालय चावहिलको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले काम गर्ने सिस्टममा तालमेल नमिल्दा चाहेजस्तो कामहरु हुन नसकेको बताएका हुन् ।

उनले भने, ‘हामीलाई असीमित आवश्यकताहरुको जरुरत छ । हामीले गर्ने कार्यशैली, कार्य पद्धति, सिस्टम अलि भिन्न छ । तालमेलको अभाव छ । जसले कामहरुमा चाहे अनुसारको हुन सकिरहेको छैन ।’

उनले व्यक्तिगत स्वार्थका कारण कसैले काम गर्न नहुने बताए । उनले नापी कार्यालयका कर्मचारीहरुलाई जनताको हित विपरित र जनतालाई अफ्ठयारो पार्ने गरी काम नगर्न आग्रह गरे ।

नेपालले टस हारेर नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौँ । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आजको खेलमा नेपालले टस हारेर नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्नेभएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेदरल्याण्ड्सकी कप्तान बाबेट डी लिडेले टस जितेर ब्याटिङ रोजिन ।  

जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा हार बेहारेको थियो । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो । 

पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स आफ्नो दोस्रो खेलमा थाइल्यान्डसँग आठ विकेटको पराजित भएको थियो ।

बन्दले कोशी प्रदेशको जनजीवन प्रभावित

विराटनगर । पाथीभरामा केबलकार निर्माणको निर्णय खारेजीको माग गर्दै संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण संथाका साथै विभिन्न राजनीतिक दहरुको आह्वानमा भएको बन्दको प्रभाव कोशी प्रदेशमा देखिएको छ । आइतबार र सोमबार घोषणा गरिएको बन्दको प्रभावका कारण जनजीवन समेत प्रभावित बनेको छ ।

बन्दले खारगरि यातायातका क्षेत्रमा प्रभाव परेको देखिन्छ । संघर्ष समितिका आन्दोलनकारीहरु सडकमा निस्कीएर केवलकार चाहिँदैन, मुकुलुङको संरक्षण गर, सरकारी दमन अन्य गर लगायतका नारा लगाइरहेका छन् ।

केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायत संघसंस्था आन्देलनमा उत्रिएका हुन् ।

चीनद्वारा नयाँ अमेरिकी भन्सार महसुलको ‘जवाफी कदम’ को चेतावनी

बेइजिङ । चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमा लगाइएको नयाँ करको ‘दृढतापूर्वक विरोध’ गरेको र ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न सम्बन्धित जवाबी कदम’ चाल्ने वाचा गरेको बताएको छ ।


शनिबार प्रमुख व्यापार साझेदारहरू विरुद्ध व्यापक कदमहरू सार्वजनिक गर्दै ट्रम्पले चिनियाँ आयातमा विद्यमान शुल्कमा थप १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।


आइतबार एक विज्ञप्तिमा चीनको वाणिज्य मन्त्रालयले वासिङ्टनको ‘गलत अभ्यासहरू’ को आलोचना गर्दै बेइजिङ ‘यसप्रति अत्यन्त असन्तुष्ट र दृढतापूर्वक विरोध गर्दछ’ भनेको छ ।


मन्त्रालयले बेइजिङले विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा मुद्दा दायर गर्ने र ‘संयुक्त राज्य अमेरिकाले एकपक्षीय रूपमा लगाएको करले विश्व व्यापार सङ्गठनका नियमहरूको गम्भीर उल्लङ्घन गर्छ’ भनी तर्क गरेको बताएको छ ।


“यी शुल्कहरू अमेरिकाको आफ्नै समस्याहरू समाधान गर्न मात्र असहयोगी नभई सामान्य आर्थिक र व्यापारिक सहयोगलाई पनि कमजोर बनाउँछन्”, मन्त्रालयले भनेको छ, “संयुक्त राज्य अमेरिकाले अन्य देशहरूलाई हरेक पालोमा कर लगाउने धम्की दिनुको सट्टा फेन्टानिल जस्ता आफ्नै मुद्दाहरूलाई वस्तुनिष्ठ र तर्कसङ्गत रूपमा हेर्ने र व्यवहार गर्नेछ भन्ने चीनलाई आशा छ । ”


“बेइजिङले अमेरिकालाई आफ्नो गलत अभ्यासहरू सुधार गर्न, चीनलाई आधा बाटो भेट्न, आफ्ना समस्याहरूको सामना गर्न, स्पष्ट संवाद गर्न, सहयोगलाई बलियो बनाउन र समानता, आपसी लाभ र आपसी सम्मानको आधारमा मतभेदहरू व्यवस्थापन गर्न आग्रह गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।


“व्यापार युद्ध वा भन्सार युद्धमा कुनै विजेता हुँदैन”, विज्ञप्तिमा चीनको विदेश मन्त्रालयले भनेको छ, “थप भन्सार महसुल लगाउने अभ्यास रचनात्मक छैन र यसले लागू औषध नियन्त्रणमा भविष्यको द्विपक्षीय सहयोगलाई अनिवार्य रूपमा प्रभावित र क्षति पुर्याउनेछ ।”

यातायात कार्यालय जुम्लाद्वारा छ महिनामा ६७ लाख राजस्व सङ्कलन

जुम्ला । जिल्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा  ६७ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुससम्ममा सो कार्यालयले  ६७ लाख ४४ हजार राजस्व संकलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए ।

निमित्त कार्यालय प्रमुख महतका अनुसार चालु आवको छ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ रु. १० लाख ४२ हजार, चालक अनुमतिपत्र (लाइसेन्स) सवारीसाधन दर्ता किताब (ब्लुबुक) दस्तुर रु. ३० लाख ३५ हजार र सवारी साधन करतर्फ  २६ लाख ६६ हजार राजस्व संकलन भएको छ ।

यस्तै, चालु आवको सो अवधिमा पुस मसान्तसम्म एक सय १३ वटा सवारीसाधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ । कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारीसाधन गरी तीन हजार दुईसय ३३ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आइतबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।

‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल दुई पोस्टर सार्वजनिक

काठमाडौं । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल दुई पोस्टर सार्वजनिक भएको छ ।

रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्दैछन् । आगामी फेब्रुअरी ११ बाट छायांकनमा जाने फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु छन् ।

पोस्टरमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवर छन् । कलाकारहरुलाई खुशीको भावमा प्रस्तुत गरिएको छ ।

अडिसनमार्फत छनोट भएका यी कलाकारहरु नयाँ हुन् । निर्देशक बस्नेतका अनुसार फिल्मको छायाँकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायाँकन नेपालमा हुनेछ ।

फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स र नवीन घायलको अभिनय छ ।

फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुप का लक्ष्मण सापकोटा निर्माता र एसिया प्यासिफिक इ कलेजका गणेश केसी कार्यकारी निर्माता छन् । मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद फिल्ममा छ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शीर्ष स्थानमा नौ अंकको अग्रता कायम गरेको छ । गएराति बर्नमाउथको ११ खेलसम्मको अपराजित यात्रा समाप्त गर्दै लिभरपुलले २–० गोलको जित दर्ता गरेको हो ।

खेलको ३१औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । बर्नमाउथका कुकले गाक्पोलाई फउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

जसलाई सालाहले पोस्टको तल्लो दायाँ कुनामा प्रहार गर्दै यो सिजन आफ्नो २०औं गोल पूरा गरे । खेलको ३८औं मिनेटमा बर्नमाउथले बराबरी गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्री (भार)ले डेविड ब्रुक्सको गोललाई अफसाइड घोषणा गरेको थियो । दोस्रो हाफमा बर्नमाउथका क्लुइभर्टले उत्कृष्ट मौका गुमाए ।

ट्याभर्नियरको प्रहार पोस्टमा लागेर फर्केको बलमा क्लुइभर्टले गरेको प्रहार बाहिर गएको थियो । लिभरपुलले खेलको ६०औं मिनेटमा अर्को गोल गरेको थियो ।

जोन्सले उत्कृष्ट काउन्टर–अट्याकमा दायाँतर्फ रहेका सलाहलाई पास दिए । जसलाई सालाहले आफ्नो ट्रेडमार्क शैलीमा बललाई डिफेन्डर कट गर्दै गोल गरेका थिए ।

‘ह्वाइटहाउसको विज्ञप्तिले मेक्सिको सरकारको ’अपमान’

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना देशमा उत्पादित सामग्रीहरूमा कर लगाएपछि मेक्सिकोकी राष्ट्रपति कलाउडीया सेनाबाउमले कडा भाषामा अमेरिकी निर्णयको प्रतिवाद गरेकी छन् ।

सामाजिक संजाल एक्समा लेख्दै उनले ह्वाइटहाउसको विज्ञप्तिले मेक्सिको सरकारको ‘अपमान’ गरेको बताएकी छन् । ट्रम्प प्रशासनले मेक्सिको सरकार र मेक्सिकोका लागुपदार्थ कारोबारी संस्थाहरूबीच ‘अमान्य किसिमको गठजोड’ रहेको आरोप लगाएका थिए ।

‘यदि त्यस्तो गठबन्धन अस्तित्वमा छ भने यस्ता आपराधिक समूहहरूलाई शक्तिशाली अस्त्रहरू विक्री गर्ने काम अमेरिकी बन्दुक उत्पादकहरूले गर्छन्,’ उनले लेखेकी छन् ।

मेक्सिकोले हालैका वर्षहरूमा त्यस्ता सङ्गठित गिरोहहरूलाई रोक्न गैरकानुनी ढङ्गले हुने हतियारको तस्करी रोक्न माग गर्दै आएको थियो ।

उनले मेक्सिको मूठभेडको पक्षमा रहेको भन्दै आफूले दुवै देशका अधिकारी सम्मिलित संयुक्त कार्यदल बनाएर जनस्वास्थ्य र सुरक्षाका क्षेत्रमा काम गर्न प्रस्ताव गरेको पनि उल्लेख गरिन् ।

तर मेक्सिकोकी राष्ट्रपतिको सबैभन्दा महत्त्वपूर्ण घोषणा अन्त्यमा रहेको थियो। उनले देशका अर्थ सचिवलाई ‘प्लान बी’ अर्थात् वैकल्पिक योजना कार्यान्वयनमा ल्याउन आदेश दिइन् । त्यसमा ‘मेक्सिकोको स्वार्थ रक्षाका लागि आयातमा लाग्ने शुल्क र भन्सारबाहेकका व्यवस्था’सहितका बारेमा निर्णय गर्न आदेश दिइन् ।

यस्ता कदममा अमेरिकी उत्पादनमा २५ प्रतिशत आयात शुल्क हुने अपेक्षा गरिएको छ। मेक्सिकोकी राष्ट्रपतिले त्यो आफ्नो सरकारको जवाफी प्रतिक्रियाको मुख्य पक्ष हुने बताउँदै आएकी छन् ।

अमेरिकी उत्पादनमा आयात शुल्क लगाउने क्यानडाको निर्णय

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना देशमा उत्पादित सामग्रीहरूमा थप २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेपछि क्यानडा र मेक्सिकोले पनि त्यस्तै कर अमेरिकी उत्पादनहरूमा समेत लगाउने घोषणा गरेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकामा उत्पादित १५५ अर्ब डलर बराबरका सामाग्री आयात गर्दा २५ प्रतिशत भन्सार लगाइने घोषणा गरेका हुन् ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए । त्यसपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमले अमेरिकामाथि पनि त्यस्तै प्रकारको शुल्क आफ्नो मुलुकले लगाउने बताएकी थिइन् ।

चीनले व्यापार युद्धमा कसैले नजित्ने भन्दै राष्ट्रिय स्वार्थ रक्षामा आफू प्रतिबद्ध रहेको जनाएको छ । ह्वाइटहाउसका अनुसार राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको आदेशले क्यानडा र मेक्सिकोबाट आयात गरिने वस्तुमा २५ प्रतिशत र चीनबाट आयात गरिने वस्तुमा १० प्रतिशत शुल्क लगाएको छ ।

तर क्यानडाबाट हुने ऊर्जा आयातमा भने १० प्रतिशत शुल्क घोषणा गरिएको छ । सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा ट्रम्पले गैरकानुनी आप्रवासन र घातक लागुऔषधको खतराका कारण आफूले आपत्कालीन आर्थिक शक्तिको प्रयोग गरेको उल्लेख गरेका छन् ।

उनले चीनले फेन्टनिल (औषधि)लाई प्रयोग हुन दिएको र मेक्सिको र क्यानडाले सीमा वारपार हुने आप्रवासन रोक्न पर्याप्त कदम नचालेको आरोप लगाए ।

अर्थविद्हरूले राष्ट्रपति ट्रम्पको कदमले अमेरिकामा खाद्यान्न र इन्धनको मूल्य वृद्धि गराउनसक्ने र क्यानडा र मेक्सिकोलाई मन्दीतर्फ धकेल्नसक्ने चेतावनी दिएका छन् ।

सम्बन्ध विच्छेदको निर्णय एकदम सोचेर लिएको हो(भिडियो)

काठमाडौं । गायिका एलिना चोहानले सम्बन्ध विच्छेदको निर्णय एकदम सोचेर लिएको बताएकी छन् ।

शुक्रबार पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेदका लागि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी एलिनाले शनिबार सामाजिक संजालमा भिडियो सन्देश जारी गरी दुई जना सल्लाह गरेर नै यो निर्णय लिएको बताएकी हुन् । उनले यस विषयमा विष्णुलाई गाली नगर्न समेत आग्रह गरेकी छन् ।

हेर्नुस् भिडियो

गण्डकी प्रदेश टाइगर कप भलिबलको फाइनलमा

कास्की । टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।

गण्डकी प्रदेश भलिबल सङ्घद्वारा पोखरा रङ्गशालामा आयोजित प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै घरेलु टोली गण्डकी फाइनलमा प्रवेश गरेको हो ।

पोखरा रङ्गशालामा शनिबार दोस्रो क्वालिफायरको प्रतिस्पर्धात्मक खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–१ सेटको जित निकाल्दै गण्डकी उपाधि नजिक पुगेको हो ।

गण्डकीले आइतबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेलमा पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पियो । 

तेस्रो र चौथो सेटमा गण्डकी पुनः उत्कृष्ट प्रदर्शन गर्न सफल भयो ।  गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको हो । गण्डकीसँग पराजित भएको आर्मीले तेस्रो स्थानमा चित्त बुझाएको छ । तेस्रो बनेको आर्मीले  एक लाख ८५ हजार पाँच सय ५५ प्राप्त गरेको आयोजकले जनाएको छ । 

यसैगरी, आजै सम्पन्न भएको महिलातर्फको दोस्रो क्वालिफायरको खेलमा टिपटप न्यू डायमन्ड स्पोटर््स क्लबमाथि जित निकाल्दै आयोजक टाइगर ग्रुप अफ पोखरा फाइनलमा पुगेको छ । न्यू डायमन्डलाई आयोजक टोलीले ३–१ सेटले पराजित गर्न सफल भयो ।

पहिलो सेट १६–२५ ले गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँगको भेट पक्का गरेको हो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो २५–१५ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्यो । आयोजक टोलीले अब उपाधिका लागि आइतबार एपिएफसँग खेल्नेछ ।  

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् । द्वितीय टोलीलाई समान रु दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय टोलीले रु एक लाख ८५ हजार पाँच सय ५५ ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउनेछन् भने दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

भारतमा भएको दुर्घटनामा महाकुम्भबाट फर्कँदै गरेका पाँच नेपालीको मृत्यु

जलेश्वर । भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ ।

त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका पाँच जनाको महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा आज दिउँसो स्कारर्पियो दुर्घटनामा गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उहाँकी पत्नी ५० वर्षीया इन्दु देवी, जिल्लाको मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषा जिल्लाको गङ्गुली बस्ने भाञ्जी ३० वर्षीया अर्चना झा रहेका छन् । गाडी चालक सिरहा घर भएको नाम, थर नखुलेका एक व्यक्ति रहेका जलेश्वर नगरपालिका–७ का वडा सदस्य सुल्तान कवारीले जानकारी दिए ।

सोही घटनामा परी मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीय जगतारण देवी र नातिनी सात वर्षीया सृष्टि झा गम्भीर घाइते भएका छन् । उनीहरूको मुजफ्फरपुरमै उपचार भइरहेको खबर प्राप्त भएको वडा सदस्य कवारीले बताए । उनीहरू सबैजना एकैपरिवारका रहेका छन् ।

उनीहरु सवार बी आर३२पी ए ४६६१ नम्बरको गाडी मुजफ्फपुरको सदरथाना क्षेत्रको मादापुर सडकमा रहेको मधुवनी मन्दिर नजिकै दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तुलालप्रसाद जैसवारले पाँच जना मृत्यु भएको र चार जना घाइते भएको खबर आए पनि विस्तृत विवरण प्राप्त नभएको बताए ।

मोन्टी देसाईसँगको सम्झौता नविकरण नगर्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ । क्यान र देसाईबीचको आपसी सहमतिमा सम्झौता नवीकरण नगरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । भारतीय क्रिकेटर देसाईलाई क्यानले २०७९ माघ २३ मा प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।

उनी प्रमुख प्रशिक्षक भएर आउँदा नेपाली टिम आईसीसी विश्वकप लिग २ मा खराब अवस्थाबाट गुज्रिरहेको थियो । देसाईकै प्रशिक्षणमा नेपालले लिगका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै विश्वकप ग्लोबलमा छनोट भएको थियो भने मात्र एक दिवसीय मान्यता पनि जोगाएको थियो । देसाईको पालामा नेपालले क्रिकेटमा पाएको सबैभन्दा ठूलो उपलब्धि टी २० विश्वकपमा छनोट र एसिया कपमा छनोट हो ।

मञ्चबाट बोलेर ओर्लिएका वडाध्यक्ष मियाँको हृदयघातबाट निधन

मध्यविन्दु ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ । 

शनिबार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण उनको मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरीले जानकारी दिए ।

राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा  चिकित्सकले उनलाई मृत घोषित गरेका सदस्य गिरीले बताए । 

सैतीस वर्षका उनका श्रीमती, तीन छोरी र एक छोरा छन् । राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका सहसचिवसमेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित भएका थिए ।

दुम्कीवासमा बस दुर्घटनामा एक जनाको मृत्यु, नौ घाइते

मध्यविन्दु । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवास जङ्गलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् । 

विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासस्थित डिभिजन वन कार्यालय नजिकै यात्रु बस र इभि हाइस एकापसमा ठोक्किँदा भारतको पश्चिम बङ्गाल राज्यको मिधिनिपुरका ४० वर्षीय शङ्करको मृत्यु भएको हो ।

हाइसमा सवार अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए । 

काठमाडौँबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडाँै जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको इभि हाइस एकापसमा ठोक्किएका हुन् ।

हाइसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयलाई पाथीभरा केबलकार निर्माणमा देखिएको समस्या समाधानको पहल गर्ने जिम्मेवारी

काठमाडौँ । गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ । 

गृह मन्त्रालयले केबलकार नियमनको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले यस्तो जिम्मेवारी दिइएको गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषय समेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बन्दुकधारीको आक्रमणमा सिरियामा १० गाउँलेको मृत्यु

लेबनान । सिरियामा बन्दुकधारीहरूले अलावाइट गाउँका १० जनालाई गोली हानी हत्या गरेको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हाम्रा ग्रामीण इलाकाको अर्जाह गाउँका १० नागरिक शुक्रवारको आक्रमणमा मारिएको बताएको छ ।

“बन्दुकधारीहरूले भाग्नु अघि गाउँका मानिसहरूलाई गोली हाने ।”अब्जर्भेटरीका प्रमुख रामी अब्देल रहमानले बन्दुकधारीहरू सुन्नी मुस्लिमहरू रहेको थिए ।

सिरियाली अखबार अल–वतानले सुरक्षा बलहरूले हत्याको पछाडि अपराधीहरूलाई खोज्न अर्जाह क्षेत्रलाई घेरेको बताएको छ । उक्त आक्रमणमा मारिनेहरूमा पूर्व अफिसर र सिपाहीहरू थिए । 

ठमेलमा आगलागीबाट ६५ लाखको क्षति

काठमाडौँ ।  ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा  ६५ लाख बराबरको धनमाल नष्ट भएको छ । 


काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।


प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।

राजनीतिबारे गलत भाष्य बनाउन खोजिँदैछ : उपप्रधानमन्त्री सिंह 

काठमाडौँ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिबारे गलत भाष्य निर्माण गर्न खोजिएको बताएका छन् ।

विश्व निकेतन माविको ७९औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले पढाइ तथा अन्य क्षेत्रमा अब्बल भएकाका लागि प्रशस्त ठाउँ रहेको बताए । “राजनीतिलाई देखाएर यहाँ केही हुँदैन भनेर विदेश जाने प्रवृत्ति बढ्दै गएको छ”, उनले भने ।

विश्व निकेतन मावि उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै देशका सबै विद्यालयका लागि नमूना बनेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । विद्यालयको स्थापनामा आफ्ना पिता गणेशमान सिंहको स्मृतिसमेत जोडिएको उल्लेख गर्दै उनले विद्यालयको उत्थानका लागि सक्दो सहयोग गर्दैआएको बताए । 

विसं २००३ मा एउटा सत्तलबाट पठनपाठनको सुरुआत भएको उक्त विद्यालयले उत्कृष्ट शैक्षिक नतिजा दिँदैआएको छ ।  

झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी

 झापा । झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा यी नयाँ बिरामी फेला परेका हुन् ।

आर्थिक वर्ष २०७९/८० मा एक सय ६० तथा आव २०८०/८१ मा एक सय २२ नयाँ कुष्ठरोगी फेला परेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् ।

कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक–एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच–पाँच नयाँ बिरामी फेला परेको दासले जानकारी दिए ।

यस्तै, झापा गाउँपालिका र बाह्रदशीमा दुई–दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेको पनि उनले बताए ।

हात्तीपाइले संक्रमण उच्च

जिल्लामा हात्तीपाइले रोगको सङ्क्रमण समेत उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताए । जिल्लामा हाल हात्तीपाइले रोगीको संख्या करिब दुई हजार दुई सय रहेको उनले जानकारी दिएका छन् ।

प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आएको छ । प्रादेशिक अस्पताल भद्रपुरका डा. सुजन काफ्लेले आर्थिक वर्ष २०७९/८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरङ्ग (ओपिडी) सेवा सुरु भएको बताए ।

‘हात्तीपाइले रोगको उपचारका लागि सरकारले वार्षिक दुई लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ’, उनले भने, ‘बिरामीलाई यातायात खर्च दिन्छौँ, तर रकम पर्याप्त हुँदैन । विपन्न वर्गका धेरै बिरामी छन्, आर्थिक अभावले उनीहरू उपचार गराउन आउँदैनन् ।’

माओवादीप्रति जनलहर बढ्दै गएको प्रचण्डको दाबी

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) चितवनले शनिबार आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताए । 

उनले अहिले देशभरी माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताए ।

आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरुले सरकारबाट हटाएको जनताले प्रष्टरुपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताए ।

सरकारमा रहेर थालिएको सुधारको नयाँ थालनी, सरकारबाट निस्केपछि देशब्यापीरुपमा लिइएको पहलकदमी तथा सदन र सडकमा विपक्षी मोर्चाको तर्फबाट देश र जनताको पक्षमा लिइएको पहलकदमीले जनतामा नयाँ आशाको जागृत हुँदै गरेको उनले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले लामो समयदेखि राजनीतिक आन्दोलनमा संलग्न नेताहरुको पार्टी प्रवेश र ध्रुवीकरणले माओवादी केन्द्रलाई बलियो बनाउने मात्र होइन, मुलुकै अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण योगदान पुग्ने बताए । 

उनले आफूहरु एकीकृत समाजवादीसँग समाजवादी मोर्चा र बिपक्षी मोर्चामा रहेर सहकार्य गरिरहेको उल्लेख गर्दै यो प्रवेश र ध्रुवीकरणले कुनै असर नपार्ने बताए । बरु यसले माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रियालाई सहज बनाउने विश्वास पनि व्यक्त गरे ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष गङ्गा लामा, केन्द्रीय सल्लाहकार अरुणपीडित भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य कृष्णराज न्यौपानेसहितका नेता कार्यक्रकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।

नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल थाइल्याण्डसँग पराजित गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो ।

यसअघि पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । नेपालले दिएको १०२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । यसअघि नेपालले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १०१ रन बनाएको थियो ।

हमासद्वारा गाजामा थप तीन इजरायली बन्धक मुक्त

बीबीसी । प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट दुईजना गाजासिटीबाट एक जना गरि तीन जना इजरायली बन्धक मुक्त गरेको छ ।

रेडक्रसलाई बुझाइएका ३४ वर्षीय यार्देन बिवास र फ्रान्सको समेत नागरिकता भएका ५३ वर्षीय ओफर काल्दरोन इजरायल आइपुगेको इजरायली डिफेन्स फोर्सेस आईडीएफले जनाएको छ । शनिबार नै अर्का बन्धक ६५ वर्षीय किथ सिगल पनि गाजासिटीबाट मुक्त भएका छन्।

उनी इजरायल र अमेरिकाको दोहोरो नागरिकता भएका व्यक्ति हुन् । उनीहरू ज्यानुअरी १९ मा इजरायली र हमासबीच युद्धविराम सम्झौता भएयता चौथो चरणमा छाडिने बन्धक हुन् ।

युद्धविराम सम्झौता अनुसार इजरायलले त्यसको बदलामा १८० जना भन्दा धेरै प्यालेस्टिनी बन्दीहरूलाई छाड्दैछ । इजरायलले शनिबार छाड्नेमा १०० भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू गाजाका छन् र करिब ७० जना भन्दा धेरै लामो अवधिको वा आजीवन कारावास सजाय तोकिएका व्यक्तिहरू हुन् ।

बिवासकी श्रीमती र दुई छोराहरूको बन्धक रहेकै अवस्थामा गाजामा मृत्यु भएको ठानिएको छ। बन्धक बनाइँदा उनका एक छोरा चार वर्षका र अर्का १० महिनाका थिए ।

हमासले इजरायली हवाइ हमलामा परेर सन् २०२३ को नोभेम्बरमा उनीहरूको मृत्यु भएको दाबी गरे तापनि इजरेलले अझै त्यसको पुष्टि गरेको छैन । सिगलकी बन्धक श्रीमतीलाई समेत सन् २०२३ कै अस्थायी युद्धविरामका क्रममा गाजाबाट मुक्त गरिएको थियो।

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेश परिमार्जन गर्न एमालेको सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न सुझाएको छ ।

शनिबार प्रधानमन्त्री निवासमा एमालेको केन्द्रीय सहकारी विभागका प्रमुख खगराज अधिकारी र महासङ्का अध्यक्ष ओमदेवी मल्लले बेग्लाबेग्लै सुझावपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरी अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेशमार्फत लिइएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्था परिवर्तनयोग्य विषयहरुबारे ध्यानाकर्षण गराएका हुन् ।

कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालकमा दुई कार्यकाल भन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने र बहाल रहन नसक्ने अध्यादेशको व्यवस्थालाई संशोधन गरी एकै पदमा लगातार दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने व्यवस्था गर्न माग गरिएको छ ।

सुझावपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयकमार्फत प्रस्तुत विषयमा छलफल गरिने र सत्तासाझेदार दलसँग पनि सरकारको ध्यानाकर्षण गराइएका विषयमा परामर्श गर्नुपर्ने बताए ।

टाइगर कप भलिबलमा टाइगर ग्रुप पोखरा फाइनलमा

कास्की । आयोजक टोली टाइगर ग्रुप पोखरा पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा शनिबार भएको दोस्रो क्वालिफायरमा टाइगर ग्रुप पोखराले टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबलाई ३–१ सेटले पराजित गरेको हो । 

पहिलो सेट १६–२५ अङ्कले गुमाएको टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९ अङ्कले, तेस्रो सेट २५–१५ र चौथो सेट २५–२३ अङ्कले आफ्नो पक्षमा पारेको हो । टाइगर गु्रपले उपाधिका लागि आइतबार सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

पराजित भई तेस्रो भएको न्यू डायमण्डले रु एक लाख ८५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ । 

प्रतियोगितामा पुरुषतर्फ दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश भलिबल सङ्घ र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ ।  खेलको विजेताले उपाधिका लागि आइतबार नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान रु पाँच लाख ८५ हजार पाँच सय ५५ तथा द्वितीय हुने टोलीलाई समान  दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछन् ।

महिला तथा पुरुषतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीलाई जनही २५ हजार सात सय ७७ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

महिला त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले थाइल्याण्डलाई १०२ रनको लक्ष्य दिएको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १०१ रन बनाएको हो ।

नेपालका लागि कविता कुँवरले २५ रन बनाउँदा विन्दु रावलले पनि २५ रन नै जोडिन् । कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।महिला त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य

सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लाग्योः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

अर्घाखाँची । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने कार्यमा नलागेको बताएका छन् ।

शनिबार सन्धिखर्कमा आयोजित पत्रकार भेटघाटमा उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारको आलोचना गर्दै सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लागिरहेको आरोप लगाएका हुन् ।

उनले भने, ‘परिवर्तनका लागि जति आह्वान गरे पनि, सरकार जनताको पक्षमा काम गर्न सकेको छैन। भ्रष्टाचार नियन्त्रणको लागि कुनै वास्तविक प्रयास भएको छैन। सरकारको नीति र कार्यले जनतामा विश्वास पैदा गर्न सकेको छैन ।’

समाजवादको आधार तय गर्ने काम जनताको जागरण अभियानबाटै सम्भव भएको उनको भनाई थियो ।

बागलुङ बजारमा ३० करोडको लगानीमा खुल्यो इला होटल तथा रिसोर्ट

गलकोट । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनको विकासबाट नै मुलुकको समृद्धि हासिल गर्न सम्भव हुने बताएका छन् ।

बागलुङ बजारमा इला होटल तथा रिसोर्टको उद्घाटन गर्दै उनले पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको सराहना गरे । साथै उनले सार्वजनिक निजी क्षेत्र साझेदारीबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

मन्त्री पाण्डेले लगानीको वातावरण सरकार लागिपरेको उल्लेख गर्दै अधिकभन्दा अधिक पर्यटक भित्राउन पर्याप्त भौतिक पूर्वाधार आवश्यक भएको बताए  । पर्यटकीय पूर्वाधार निर्माणका निम्ति सरकारले निजी क्षेत्रलाई सहयोग गरिरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमा लगानी प्रोत्साहन तथा रोजगारी सृजनालाई प्राथमिकता दिएर आफू त्यसमा निरन्तर लागिरहेको बताए ।

आइएमई ग्रुपका अध्यक्षसमेत रहेका उनले पर्यटन र जलविद्युत् क्षेत्रमा हुने लगानीले राष्ट्रलाई समृद्धिको मार्गमा उन्मुख गराउने बताए । अध्यक्ष ढकालको ३० करोडको लगानीमा उक्त पूर्वाधार निर्माण भएको हो ।

त्यस अवसरमा सांसदहरू दीपक गिरी, जीवन परियार, बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेललगायत वक्ताले बागलुङ बजारमा निर्मित सुविधासम्पन्न पूर्वाधारका माध्यमबाट स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गर्न सहज हुने बताए ।

पाथीभरामा केवलकार बन्नु विकास होइन

-गणेश कार्की

मुक्कुम्लुङ (पाथीभरा) मा जे भइरहेको छ, सरल भाषामा भन्ने हो भने फिल्ममा कुनै खलनायकले फगतः कमाइका लागि कुनै गाउँमा गएर गर्ने तिकडम र अतिक्रमण भन्दा अलग छैन । सोच्नुहोस् त, कसैको सांस्कृतिक पहिचान, सभ्यता जोडिएको क्षेत्रलाई केवल पैसाका लागि संरचना खडा गर्न तम्तयार हुनु, राज्यले निर्माणकर्तासँग गरेको सम्झौता हालसम्म पनि लुकाएर अपारदर्शी सम्बन्ध स्थापित गर्नु र विरोध गर्ने स्थानीयहरूमाथि गोली नै चल्नु कुनै फिल्ममा खलनायकले गर्ने व्यवहारभन्दा अलग छ र ?

देशभर व्यापार चाहिदैन, विकास चाहिन्छ । मानव सभ्यताले विकासमात्रले गरेको हानी देखेर दिगो विकासको अवधारणा ल्याएको पनि निकै भइसक्यो । त्यो अवधारणाले भन्छ – विकासले वर्तमान पुस्ताको आवश्यकताहरू पूरा गर्ने क्रममा भावी पुस्ताले आफ्ना आवश्यकताहरू पूरा गर्ने क्षमतामा असर नपर्ने सुनिश्चित गर्नु पर्छ । स्रोत र साधनको यसरी प्रयोग गरिनु पर्छ कि त्यसले त्यहाँको जीवनस्तर बढाओस् तर स्रोतको अखण्डतामा कुनै हानी नगरोस् । अर्थात्, जरो नउखेलि र बोटलाई असर नपुर्याइ त्यसको पैदावारको मात्रै उचित र हदैसम्मको उपयोगीता गरिनु पर्छ ।

मुक्कुम्लुङ (पाथीभरा) मा केवलकार बन्नु विकास होइन, व्यापार हो । विकासको पहिलो उद्देष्यमा स्थानीय पर्छन्, व्यापारमा पैसा । यसो त, व्यापार आफैमा सहि वा गलत होइन, प्रक्रिया र अन्तर्यले त्यसलाई व्यापार वा अतिक्रमण वा तस्करी बनाउँछ । स्थानीयलाई विश्वासमा नलिई, दिगो विकासको अवधारणालाई आत्मसाथ नगरि गरिएका काम अतिक्रमण वा तस्करी बन्छ । मुक्कुम्लुङ (पाथीभरा) मा जे भइरहेको छ, त्यो व्यापार नै हो भन्न सकिने गरि प्रमाणित छैन ।

मुक्कुम्लुङ (पाथीभरा) मा ‘जरै उखेलेर’ भोलिलाई र स्थानीयलाई समेत असर गर्ने गरि अपारदर्शी ढंगले बनाउन लागिएको संरचना सहि हो भन्न सकिदैन ।