`

अर्जुन ट्रफी क्रिकेटमा डडेल्धुराको दोस्रो जित

बैतडी । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरा विजयी भएको छ ।

पहिलो खेलमा डिसिए धनगढीलाई ८ विकेटले पराजित गरेको डडेल्धुराले लगातार दोस्रो जित निकाल्ने क्रममा बोस्टर्न क्रिकेट एकेडेमी झापालाई ७७ रनले हरायो ।

जितका लागि पाएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा झापाले १५ ओभरमा ९ विकेटको क्षतिमा ६६ रनमा सीमित भयो । उसका लागि सोनम बुढाथोकीले १७ र दीपु भुजेलले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ डडेल्धुराका कुशल भुर्तेलले ४, अजय चौहानले २, कप्तान सन्दीप जोरा, अजय चौहान र रवि विष्टले १/१ विकेट झारे ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको डडेल्धुराले खराब मौसमका कारण १५ ओभरमा झारिएको खेलमा निर्धारित ओभरमा तीन विकेट गुमाएर १४३ रन जोड्यो ।

डडेल्धुराका लागि आयुषमान बम र कप्तान सन्दीप जोराले अर्धशतक प्रहार गरे । २३ रन जोड्दा २ विकेट गुमाएर धर्मराएको पारीलाई आयुषमान र सन्दीपले सम्हाले । यी दुवैबीच ८३ रनको महत्त्वपूर्ण साझेदारी भयो ।

तीस बलको सामाना गरेका जोरा ५१ रनमा आउट हुँदा चार छक्का र चार चौका प्रहार गरे । ओपनर आयुषमान ५७ रनमा नटआउट रहे । उनले ३६ बलमा ७ चौका र एक छक्का प्रहरा गरे । अविजित रहेका किरण ठगुन्नाले १० बलमा २ छक्का र एक चोकोको मद्दतमा २१ रन जोडे ।

ओपनर कुशल भुर्तेल २ रनमा आउट भए । विनोद भण्डारी ५ रनमा पवेलियन फर्के । बलिङमा झापाका अरुण ऐरीले दुई तथा पवन कार्कीले एक विकेट लिए । डडेल्धुराका आयुषमान बम प्लेयर अफ द म्याच चुनिए ।

जितसँगै डडेल्धुरा दुई खेलबाट चार अङ्कतालिकाको शीर्ष स्थानमा कायमै छ । साथै डडेल्धुरा सेमिफाइनल नजिक पनि पुगेको छ ।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५०–५० हजार पाउने छन् । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद रु १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

धनगढीमा क्रिकेट खेलको विकासका लागि महत्वपूर्ण योगदान गरेका प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार बम विस्फोटमा परी १५ जनाको मृत्यु भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ । आक्रमणमा १४ महिला एक पुरुष गरी १५ जनाको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

ह्वाइट हेल्मेट उद्धारकर्तालाई उदृत गर्दै सानाले आफ्नो समाचारमा लेखेको छ, “स्थानीय सडकमा ‘नरसंहार’ भएको र ‘कृषि मजदुरहरू चढेको गाडी नजिकै कार बम विस्फोट’ भएको थियो । आक्रमणमा परी १४ महिला र एक पुरुषको मृत्यु भएको र १५ जना महिला घाइते भएको र केहीको अवस्था गम्भीर रहेका छन् ।

सिरियामा तत्कालिन राष्ट्रपति बसर अल असद्को अन्त्यका लागि सन् २०११ मा सुरु भएको आन्दोलनले पछि गृहयुद्धको रूप लिँदा पाँच लाखभन्दा बढी सिरियालीको मृत्यु भएको र कूशल जनसङ्ख्याको करिब आधा जनसङ्ख्या आन्तरिक वा बाह्य रूपमा विस्थापित बनेको थियो ।

राजनीतिक सुधारको दिशामा केही प्रारम्भिक कदमहरूको बाबजुद, पूर्व राष्ट्रपति असदले सिरियाको शक्तिशाली सैन्य र सुरक्षा सेवाहरू प्रयोग गरी राजनीतिक असहमतिलाई दबाउन अन्ततः आफ्नो पिताको अधिनायकवादी शासन शैलीलाई जारी राखेपछि उहाँप्रतिको आक्रोश चुलिएको पाइन्छ ।

गृहयुद्धमा असदको क्रूर प्रतिक्रियाका कारण ठूलो मात्रामा मृत्यु र विनाशपछि अन्ततः डिसेम्बर २०२४ मा उहाँलाई पदच्युत गरिएको थियो ।

लामो समय असदलाई सहयोग गर्दै आएका केही तत्कालिन सरकारका सहयोगी लडाकु समूह र असदप्रति बफादार समूहले नयाँ सरकारविरूद्ध उनीहरूको राम्रो प्रभाव रहेको स्थानमा यदाकदा आक्रमण गर्ने गरेका छन् ।

डिसेम्बर २०२४ मा हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा विद्रोहीहरूले दमास्कसलाई बलपूर्वक नियन्त्रणमा लिएपछि असदको शासनको अन्त्य भएको र एचटीएसले अन्तरिम सरकार गठन गरेको छ ।

नयाँ सरकार गठनको केही दिनपछि सन् २०१२ को संविधानलाई निलम्बित गरी नयाँ संविधान जारी गर्न संविधानको मस्यौदा तयार गरिरहेको छ ।

इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सहयोगी मुलुकलाई धेरै खर्च गर्न माग गरिरहेका बेला युरोपेली सङ्घका नेता, बेलायतका प्रधानमन्त्री र नेटो प्रमुखबीच यस सम्बन्धमा सोमबार ब्रसेल्समा छलफल भएको छ ।

उनीहरूबीच आक्रामक रूसको सामना गरिरहेको युरोपको प्रतिरक्षा बढाउने प्रयासबारे छलफल भएको बताइएको छ ।

ब्रसेल्समा भएको भेलालाई ‘ट्रिपल फस्र्ट’ को रूपमा हेरिएको छः अमेरिकी राष्ट्रपतिको शपथपछि पहिलो पटक युरोपेली सङ्घका २७ नेताहरूबीच भेट भएको छ । यो रक्षासम्बन्धी उनीहरूको पहिलो समर्पित वार्ता र इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछि बेलायती प्रधानमन्त्रीसँग पहिलो वार्ता हो ।

करिब तीन वर्षअघि रूसले युक्रेनमाथि चौतर्फी आक्रमण सुरु गरेयता युरोपेली राष्ट्रहरूले आफ्नो सैन्य बजेट बढाएका छन् ।

तर मस्कोले आगामी वर्षहरूमा आफैमाथि आक्रमण गर्न सक्ने चेतावनीहरू बढ्दै जाँदा अधिकारीहरू अझै पनि आफूलाई पर्याप्त मात्रामा हतियारहरू जम्मा गर्न नसकेको स्वीकार्छन्।

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनले बहसलाई नयाँ झट्का दिएको छ । युरोपले अब अमेरिकी सुरक्षामा मात्र भर पर्न नहुने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।

ट्रम्पले नेटो राष्ट्रहरूले आफ्नो वर्तमान रक्षा खर्चको लक्ष्यलाई दोब्बर भन्दा बढी अर्थात् जीडीपीको पाँच प्रतिशतमा पु¥याएको दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा रुसको युद्धको शीघ्र अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ट्रम्पले युरोपेली मुलुकहरूलाई किनारा लगाउँदै किएभलाई खराब सम्झौतामा धकेल्न सक्ने आँकलनहरू भएका छन् ।

वासिङ्टन युरोपबाट पछि हट्ने सम्भावना मात्र होइन, ट्रम्पको अमेरिकी मित्रराष्ट्रहरूलाई कर वृद्धि गर्ने प्रत्यक्ष चेतावनीले उनीहरूलाई झकझकाएको छ ।

गत साता विभिन्न राजधानीको भ्रमण गरेका डेनमार्कका प्रधानमन्त्रीले ट्रम्पले ग्रीनल्याण्डबारे सार्वजनिक गरेको भनाइलाई लिएर चाहेको भन्ने कुरामा साझा धारणा बनाउने अपेक्षा गरिएको छ ।

निश्चित रूपमा, ईयूमा कर लगाउने ट्रम्पको धारणाबारे छलफल हुनेछ । भेलाले इयूलाई कर वृद्धि लक्षित भएमा ‘दृढतापूर्वक’ जवाफ दिने प्रतिज्ञा गरेको छ ।

रूसको बढ्दो खतरालाई ध्यानमा राख्दै, रक्षामा कदम चाल्नु पर्ने आवश्यकतामा युरोपेली मुलुकहरूले बृहत् सहमति गरेका छन् तर समस्या के हो भने उनीहरूलाई वास्तवमा कुन हदको समस्याका लागि तयार बन्ने भन्ने अनिश्चितता छ ।

इयूका एक अधिकारीले भने, “यो छलफलमा सहभागी सबैका लागि के कुरा स्पष्ट छ भने रक्षामा लगानी बढाउनुपर्छ।”

“यो प्रश्न यदि भन्ने होइन कसरी भन्ने हो,” ती अधिकारीले भने ।

ब्रसेल्सले आगामी दशकमा रक्षा क्षेत्रमा थप ५०० अर्ब युरो (५१० अर्ब अमेरिकी डलर) लगानी गर्नुपर्ने अनुमान गरेको छ ।

मुख्य विभाजन रेखाहरू आवश्यक लगानीलाई कसरी वित्त पोषण गर्ने भन्नेमा रहेको छ । के इयूले आफ्नो नगदलाई इयूका लागि हतियारहरूमा मात्र खर्च गर्ने ? वा यसमा नेटोले कस्तो भूमिका खेल्ने भन्ने वरिपरि घुम्छ ।

त्यहाँ एक भौगोलिक विभाजन पनि छ। रूसको नजिकका देशहरूले पहिले नै ‘पश्चिम’ ले भन्दा धेरै काम गरिरहेका छन्।

कोष प्रमुख प्रश्न हो र धेरै सदस्य राष्ट्रहरूले ठूलो संयुक्त ईयू ऋणको लागि दबाब दिइरहेका छन्।

तर, यसै महिना चुनाव हुन लागेको जर्मनीले उक्त संवेदनशील विषयमा हुने छलफललाई बन्द गर्ने प्रयास गरेको छ ।

इयूका एक कूटनीतिज्ञले भने, “चिन्ताको विषय के हो भने वित्त पोषणको बारेमा छलफल गरिएन भने यसले आवश्यकतालाई सम्बोधन गर्ने छैन ।

समस्या के हो भन्ने सबैलाई थाहा छ समाधान पनि थाहा छ तर यसलाई प्रस्तुत गर्न कसैले चाहँदैन । चर्चा गर्ने तर समाधानका लागि अग्रसरता नदेखाउँदा समस्याको निराकरण हुने सम्भावना रहँदैन ।”

परिवर्तनको कुनै सङ्केत नदेखिएपछि इयू राष्ट्रहरूले समूहको ऋण दिने शाखा ईआईबीलाई रक्षा कम्पनीहरूलाई ऋण दिने सीमा घटाउन आह्वान गरेका छन् ।

हतियारको विषयमा लामो समयदेखि आफ्नै उद्योगको बढी हेरचाह गरेको आरोप खेप्दै आएको फ्रान्सले इयूमा हतियार खरिद गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

अरूले देशले छिटो भन्दा छिटो आपूर्ति गर्न सक्नेलाई हेर्नुपर्छ भन्ने कुराको विरोध गर्छन्।

उनीहरूको एउटा तर्क संयुक्त राज्य अमेरिकाबाट खरीद गर्ने र ट्रम्पलाई पक्षमा राख्ने एउटा उपाय हुनसक्ने रहेको छ ।

नेटोसँग श्रम विभाजन पनि चर्चामा छ किनकि ईयूका केही राष्ट्रले ब्रसेल्सलाई देशहरूको लागि आवश्यक लक्ष्यहरू निर्धारण गर्न दिनुपर्र्ने बताएका छन् । यसले नेटोलाई चिढ्याएको छ।

ट्रान्साटलांटिक सम्बन्धलाई लिएर शङ्का उब्जिरहँदा थुप्रैले आफ्नो पुरानो मित्र बेलायतसँग सम्बन्ध बढाउन चाहेका छन्।

बेलायतले इयू छोडेको पाँच वर्षपछि प्रधानमन्त्री केइर स्टार्मर युरोपेली सङ्घको समस्यामा छलफलका लागि तयार देखिएका छन् ।

ब्रेक्जिटपछि युरोपेली परिषद्को बैठकमा भाग लिने पहिलो बेलायती नेता स्टार्मरले युरोपेली सङ्घका नेताहरूलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि ‘निरन्तर भार वहन गर्न’ र ‘हाम्रो महाद्वीपमा रूसको बढ्दो विध्वंस र विनाशको अभियानबाट युरोपलाई सुरक्षित राख्न थप भार वहन गर्न’ आह्वान गर्ने योजना बनाएका छन्।

ब्रेक्जिटको विवादपछि सम्बन्धलाई ‘रिसेट’ गर्न खोजेका स्टार्मरले बेलायत–इयूबीचको सम्भावित रक्षा र सुरक्षा सम्झौताबारे पनि छलफल गर्नेछन् ।

यसले बेलायतलाई आफ्नो शक्तिशाली सैन्य र ठूलो प्रतिरक्षा उद्योगसँग अलि नजिक ल्याउन सक्छ तर ब्रेक्जिटको तीतो विरासत भने कायमै छ ।

युरोपेली सङ्घका धेरै कूटनीतिज्ञहरूले माछा मार्ने अधिकारसम्बन्धी विवाद समाधान नभएसम्म र ब्रसेल्सले प्रस्ताव गरेको युवा गतिशीलता योजनाको विरोधलाई लण्डनले नत्यागेसम्म प्रगति हुन नसक्ने बताएका छन्।

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को विवादास्पद मर्जरसँग सम्बन्धित विभिन्न आरोपबाट सोमबार पुनः सफाइ मिलेको छ।

लीलाई गत वर्षको एक सुनुवाइमा अभियोगबाट मुक्त गरिएको थियो, तर अभियोजकहरूले उक्त फैसलाविरुद्ध अपिल गरेका थिए।

एएफपीले प्राप्त गरेको अदालती कागजातमा भनिएको छ, ‘प्रस्तुत गरिएका प्रमाणहरू तर्कसङ्गत शङ्काभन्दा बाहिर आरोप प्रमाणित गर्न पर्याप्त थिएनन्।’

लीलाई स्टक प्राइस हेरफेर, विश्वासघात र ‘एकाउन्टिङ फ्रड’लगायतका आरोपबाट सफाइ दिइएको हो।

यो मुद्दा सन् २०१५ मा निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसङ सी एन्ड टी र चेइल इन्डस्ट्रिजबीच भएको मर्जरसँग सम्बन्धित छ।

लीले सियोलको अदालत छाड्ने क्रममा कुनै पनि प्रश्नको जवाफ दिएनन् तर उनका वकिलहरूले पत्रकारहरूलाई भने, ‘हामी ‘अदालतको बुद्धिमत्तापूर्ण निर्णयको लागि हृदयदेखि धन्यवाद’ दिन्छौँ।

‘यो मुद्दाको अनुसन्धान र सुनुवाइ प्रक्रिया सुरु भएको धेरै लामो समय भइसकेको छ,’ लीको कानुनी टोलीले भनेको छ।

‘हामी आशा गरेका छौँ कि यस फैसलासँगै प्रतिवादीहरू अब आफ्नो उचित कर्तव्य र जिम्मेवारीमा फर्कन सक्नेछन्।’

सन् २०१७ मा पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई पदच्युत गर्ने व्यापक अनुसन्धानपछि लीलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो।

दक्षिण कोरियाको विशाल प्रविधि कम्पनी सामसङ समूहको हार (गहना) मानिने सामसङ इलेक्ट्रोनिक्सका वर्तमान कार्यकारी अध्यक्षलाई सन् २०२१ को अगष्टमा पेरोलमा रिहा गरिएको थियो।

दक्षिण कोरियाका तत्कालीन राष्ट्रपतिले उहाँलाई आममाफी दिएको दुई महिनापछि सन् २०२२ को अक्टोबरमा उहाँ औपचारिक रूपमा कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए। 

३७ जना एसपीको पदस्थापन(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयले बढुवा भएर आइतबार मात्रै दज्र्यानी चिन्ह प्रदान गरिएका एसपीहरुलाई आइतबार जिम्मेवारी प्रदान गरेको हो ।

एसपी कुलदीप चन्दलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा मनोहर प्रसाद भट्टले जिम्मेवारी पाएका छन् ।

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन ८ र ९ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

बैठकमा पार्टीको संगठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, बामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गरिने छ ।

यही माघ ३० गते गर्ने भनिएको अधिवेशन केही दिनपछि गर्ने तालिका हेरफेर गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने बैठकमा पार्टीका नेताहरुलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गरिने जनाइएको छ ।

बैठकमा सबै जनवर्गीय संगठनका कार्य प्रगति तथा ती संगठनका अधिवेशनबारे निर्णय गरिने छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्ने छ । केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डा, कार्यसूची अनुमोदन स्थायी कमिटी बैठकले तय गर्ने छ ।

ओपनएआईद्वारा च्याटजिपिटीका लागि नयाँ ‘डिप रिसर्च’ टूल घोषणा

टोकियो । चीनको डिपसिक च्याटबटले एआई क्षेत्रमा प्रतिस्पर्धा तीव्र पारेसँगै अमेरिकी टेक दिग्गज ओपनएआईले सोमबार टोकियोमा उच्च–स्तरीय बैठकहरू अघि ‘डिप रिसर्च’ नामक च्याटजिपिटी टूल सार्वजनिक गरेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता–एआई) को नवागन्तुक डिपसिकले सिलिकन भ्यालीलाई तरङ्गित पारेको छ । केहीले यसको उच्च कार्यसम्पादन र कथित कम लागतलाई अमेरिकी डेभलपरहरूका लागि जागरण आह्वान भनेका छन् ।

ओपनएआईको नयाँ टुलले ‘एउटा मानिसलाई धेरै घन्टा लाग्ने कामलाई दश मिनेटमै पूरा गर्छ ।’ यसको च्याटजिपिटीले सन् २०२२ मा जनचेतनामा जेनेरेटिभ एआईको उदयलाई अगाडि बढाएको थियो ।
“तपाईंले यसलाई एउटा प्रम्प्ट दिनुहोस् र च्याटजिपिटीले सयौँ अनलाइन स्रोतहरू खोज्ने, विश्लेषण गर्ने र संश्लेषण गरी अनुसन्धान विश्लेषकको स्तरको व्यापक प्रतिवेदन तयार गर्नेछ”, कम्पनीले विज्ञप्तिमा भन्यो ।

प्रत्यक्ष प्रसारण गरिएको भिडियोमा ओपनएआई शोधकर्ताहरूले कसरी उपकरणले जापानमा हिउँको छुट्टीका लागि स्की उपकरणहरू सिफारिस गर्न मद्दत गर्न वेब खोजी डेटालाई क्रन्च गर्न सक्छ भनेर देखाएका थिए ।

ओपनएआईका प्रमुख साम अल्टम्यानले ‘प्रो’ च्याटजिपिटी प्रयोगकर्ताहरूले महिनामा एक सय पटक पहुँच गर्न सक्ने गहन अनुसन्धान ‘गणना–गहन र ढिलो’ भएको बताएका थिए ।

“तर यस्तो विस्तृत प्रकारका जटिल, मूल्यवान कार्यहरू गर्न सक्ने यो पहिलो एआई प्रणाली हो”, उनले सामाजिक मिडिया प्लेटफर्म एक्समा लेखे ।

अल्टम्यान टोकियोमा छन् । टोकियामा उनले सोमबार जापानका प्रधानमन्त्री शिगेरु इशिबा र जापानी टेक लगानी दिग्गज सफ्टब्यांक ग्रुपका प्रमुख मासायोशी सनसँग भेट्ने छन् ।

नयाँ प्रकारको हार्डवेयर

अल्टम्यान र सनले सोमबार टोकियोमा करिब पाँच सय व्यवसायसँग एक फोरम पनि आयोजना गर्नुहुनेछ जसमा उहाँहरूले जापानको एआई पूर्वाधारलाई बढावा दिने योजनाहरू घोषणा गर्ने अपेक्षा गरिएको छ ।
निक्केई व्यवसाय दैनिकका अनुसार यसमा लगानीको मात्रा निर्दिष्ट नगरी एआई डाटा सेन्टरहरू र तिनीहरूलाई सञ्चालन गर्न पावर प्लान्टहरू निर्माण गर्ने समावेश हुनेछ ।

सफ्टब्यांक र ओपनएआई संयुक्त राज्य अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधारमा पाँच खर्ब डलर लगानी गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको स्टारगेट अभियानको हिस्सा हुन् ।
जापानी प्रधानमन्त्री इशिबा यस हप्ताको अन्त्यमा नेताहरूको पहिलो व्यक्तिगत बैठकका लागि ट्रम्पसँग भेट्न वासिङ्टन जानुहुने अपेक्षा गरिएको छ ।

छुट्टै, अल्टम्यानले निक्केईलाई उहाँ एप्पलका पूर्व प्रमुख डिजाइन अधिकारी जोनी इभसँगको साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर ‘नयाँ प्रकारको हार्डवेयर’ विकास गर्न चाहेको बताए । तर निक्केईका अनुसार अल्टम्यानले प्रोटोटाइप सार्वजनिक गर्न केही वर्ष लाग्ने सङ्केत गरे ।

अल्टम्यानले अखबारलाई डिपसिक ‘एक राम्रो मोडल’ हो जसले एआई तर्क प्रविधिको गम्भीर प्रतिस्पर्धालाई उजागर गर्छ, तर यसको ‘क्षमताको स्तर नयाँ छैन’ भने ।

डिपसिकको कार्यसम्पादनले एआई पावरिङ च्याटजिपिटी जस्ता अग्रणी अमेरिकी प्रविधिको क्षमताहरूलाई रिभर्स–इन्जिनियरिङ गरेको आरोपहरूको लहर निम्त्याएको छ ।

गत हप्ता ओपनएआईले चिनियाँ कम्पनीहरूले सक्रिय रूपमा यसको उन्नत एआई मोडलहरूको प्रतिलिपि बनाउने प्रयास गरिरहेको र यसले अमेरिकी अधिकारीहरूसँग नजिकको सहकार्यलाई प्रेरित गरेको चेतावनी दिएको थियो ।

केही एक्स प्रयोगकर्ताहरूले डिपसिकको तथाकथित ‘थिङ्किङ मोड’ र डिप रिसर्चले आफ्ना प्रतिवेदनहरू सङ्कलन गर्न लिने समयका साथै समान नामहरूको तुलना गरेका थिए ।

ओपनएआईले अल्टम्यानको अर्को गतिविधिको विवरण सार्वजनिक नगरे पनि मिडिया रिपोर्टहरूले उनी मङ्गलबार सियोलमा जाने अपेक्षा गरिएको र त्यहाँ उनले आईटी समूहका प्रमुख काकाओलाई भेट्ने बताएका छन् ।

भोजपुरको टक्सारस्थित सरस्वती गुफा ओझेलमा

भोजपुर । श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२, टक्सारको सरस्वती गुफा भने यसको महत्व नबुझ्दा ओझेलमा पर्दै गएको छ । यस्ता धार्मिक महत्व बोकेका स्थानभन्दा पनि विद्यालयस्तरमा नै सरस्वती पूजा गर्ने प्रचलनले ऐतिहासिक कुरा ओझेलमा परेका हुन् ।

सदमुकामदेखि आघा घण्टाको दुरीमा रहेको टक्सारको सरस्वती गुफा अहिले आएको आधुनिक जीवन शैली र विकसित प्रविधितर्फ उन्मुख युवा पिँढीका कारण ओझेलमा पर्दै गएको हो । सरस्वती गुफामा बसेर सात दाना अक्षता नचपाई निल्दा बुद्धि बढ्ने विश्वास विगतमा रहे पनि हाल यसको महत्व कम हुँदै गएको स्थानीयको भनाइ छ । 

विगतमा साना बालबालिकालाई अक्षर चिनाउनका लागि सरस्वती पूजाका दिन यही गुफामा लगिने गरिएको भए पनि अहिले भने सो परम्परालाई निरन्तरता दिन छाडिएको स्थानीय सानुकाजी शाक्यले बताए । उनले भने,“ढुङ्गाले बनेको गुफाको भित्र भागमा सरस्वतीको पूर्ण आकृति भएको ढुङ्गा रहेको छ, सोही कारण पनि यो गुफाको महत्व देखिएको छ ।”

विसं १९९० को भूकम्पअघिसम्म भोजपुर सदरमुकाममा रहेको प्रसिद्ध सिद्धकाली मन्दिर शिवथानबाट भित्र–भित्र हँुदै साँधुहरु टक्सारको सोही सरस्वती गुफाबाट बाहिर निस्कने गरेको भनाइ अहिले पनि टक्सारका बुढापाकाको मुखबाट सुन्न पाइन्छ । भूकम्पको धक्काले गुफा प्रवेशको मार्गमा अवरोध खडा भएपछि सहज रुपमा आवत–जावत गर्न समस्या भएको हो । 

बाटो सफा गरेर गुफा प्रवेशमा सहजता ल्याउने हो भने गुफाको महत्व बढ्नाका साथै गुफा धार्मिकस्थलका रुपमा विकसित हुने स्थानीय शिक्षक दीपेन्द्र श्रेष्ठले बताए । विद्यालयमा नै सरस्वती पूजा हुने गरेको र साना बालबालिकालाई पनि विद्यालयमा नै लगेर अक्षरारम्भ गराउने गरिएकाले यसको महत्व कम भएको शिक्षक श्रेष्ठको धारणा छ । 

सरस्वती गुफा धार्मिक पर्यटकीय हिसाबले पनि महत्व बोकेको स्थल भएकाले यसका लागि पर्यटन मन्त्रालयले पनि चासो देखाउनुपर्ने स्थानीयको माग छ । स्थानीय विमल रणपहेलीले भने, “यस्ता इतिहास बोकेका स्थानको संरक्षणमा पर्यटन मन्त्रालयले पनि ध्यान दिनुपर्छ, यसका लागि जिल्ला तहका माथिल्लो निकायमा पुगेकाहरुले पनि पहल गर्नुपर्छ ।”

सो स्थानको भित्री भागमा सरस्वतीको पूर्ण आकृति भएको ढुङ्गा रहेकाले गर्दा सो गुफाको नाम सरस्वती गुफा रहन गएको किंवदन्ती रहेको पाइन्छ । अहिलेको परिवर्तित अवस्थामा पुराना परम्परा र संस्कृतिको संरक्षण संवद्र्धन हुनुपर्नेमा त्यसतर्फ कसैको पनि ध्यान नगएका कारण सरस्वती गुफाजस्ता धार्मिकस्थल नाममा मात्र सीमित बन्दै गएको स्थानीय टक्सारवासीको गुनासो रहेको छ । 

विगतमा सरस्वती पूजा गर्नका लागि मन्दिरहरुमा भीड बढ्ने गरेको भए पनि अहिले आएर घरघरमै र विद्यालयका विद्यार्थीले स्कुलमा नै पूजा गर्न थालेपछि पनि यस्ता ऐतिहासिक गुफाको महत्व कम हँुदै गएको स्थानिय अमृका ताम्राकारको धारणा छ । 

चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा पोथी गैँडा स्थानान्तरण

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट दुई पोथी गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार र आइतबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो ।

दुवै गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा ल्याएर छोडिएको छ । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ वर्षको पोथी गैँडालाई ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए ।

उनका अनुसार शनिबार र आइतबार स्थानान्तरण गरिएका दुवै गैँडा निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीमा रहेका गैँडा हुन् ।

शनिबार डार्ट गरीएको गैँडालाई आइतबार बिहान र आइतबार डार्ट गरिएको गैँडालाई आइतबार साँझ निकुञ्जको पूर्वी सेक्टरमा ल्याएर छाडिएको उनले जानकारी दिए । यस वर्ष चारवटा गैँडा आन्तरिक स्थानान्तरण गर्ने योजनाका साथ गैँडा स्थानान्तरणको काम गरिएको हो ।

निकुञ्जले गत वर्ष ६ गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो । प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो ।

झापामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा सोमबार बिहान सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए ।

टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले जाँच गर्दा मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँका विभिन्न स्थानमा आठ दिनसम्म विद्युत् अवरुद्ध हुने

काठमाडौँ। आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले आजदेखि ८ दिनसम्म दिउँसो बिजुली अवरुद्ध हुने भएको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै ८ दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ ।

जसअनुसार आज भत्केको पुल (चाबहिल)वरिपरिका क्षेत्र, २२ गते कलंकी मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र, २७ गते जोरपाटी फिडर अन्तरगत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ ।

पोखरामा कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु

पोखरा । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले सोमबार कार्यक्रमको उद्घाटन गरेका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा भएको कार्यक्रममा सातवटै प्रदेशका सभापति, प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी एवं कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश समितिका पदाधिकारी सहभागी रहेका गण्डकी प्रदेश प्रचार–प्रसार उपसमितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन

गण्डकी । गण्डकी प्रदेशमा यस वर्ष चार अर्ब १७ करोड २७ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

प्रदेशका नौ जिल्लामा पाँच हजार सात सय तीन हेक्टरमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले जानकारी दिए ।

‘किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्यका आधारमा यो वर्ष चार अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ’, उनले भने, ‘सबैभन्दा बढी स्याङ्जामा एक अर्ब ७१ करोड ६३ लाख ९० हजार रुपैयाँ बराबरको सुन्तला फलेको छ ।’ कृषि अर्थ विज्ञ पौडेलका अनुसार तनहुँमा ६४ करोड २० लाख, गोरखामा ४० करोड २० लाख, पर्वतमा ३८ करोड ३६ लाख, म्याग्दीमा ३४ करोड २१ लाख, बागलुङमा २६ करोड ४६ लाख, कास्कीमा २५ करोड ९६ लाख, नवलपुरमा १३ करोड ३९ लाख र लमजुङमा तीन करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको हो ।

यस वर्ष स्याङ्जामा १९ सय ५० हेक्टर, तनहुँमा नौ सय ६८ हेक्टर, गोरखामा सात सय ४६ हेक्टर, पर्वतमा चार सय ६५ हेक्टर, म्याग्दीमा चार सय २५ हेक्टर, बागलुङमा तीन सय ७७ हेक्टर, कास्कीमा पाँच सय ४१ हेक्टर, एक सय ६१ हेक्टर र लमजुङमा ८० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको हो । यसवर्ष ११ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको निर्देशनालयले जनाएको छ । दुई वर्षअघि ५० हजार आठ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यो वर्ष बढेर ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

बर्सेनि सुन्तलाखेतीको क्षेत्रफल विस्तार पनि भइहेको छ । देशमै सबैभन्दा धेरै सुन्तलाखेती हुने स्याङ्जाले बर्सेनि उत्पादनको ठूलो हिस्सा ओगट्छ । गण्डकीमा मुस्ताङ र मनाङ जिल्लामा भने सुन्तलाखेती हुँदैन ।

किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्य ६७ रुपैयाँका आधारमा उत्पादनको कूल मूल्य निर्धारण गरिएको कृषि अर्थ विज्ञ पौडेलले जानकारी दिए । सुरुमा केही कम मूल्य परेपनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ बढाउँदै लैजान्छन् ।

जिल्लागत रुपमा पनि सुन्तलाको औसत मूल्य फरक–फरक रहेको छ । किसानको बगैँचाबाट बजारमा आएपछि पाउने बिक्री मूल्यको त लेखाजोखा नै नहुने निर्देशनालयले जनाएको छ । जिल्लाहरुले पठाएको प्रतिवेदन र आँकडा विश्लेषण गरेर प्रदेशभरिको उत्पादन सार्वजनिक गर्ने गरिएको हो । नयाँ बोटले फल दिन थाल्नु, उत्पादन क्षेत्र विस्तार, बगैँचाको सही व्यवस्थापन जस्ता कारणले सुन्तला उत्पादनमा बर्सेनि वृद्धि हुँदै आएको निर्देशनालयले जनाएको छ ।

मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा गरी कूल आठ हजार पाँच सय १६ हेक्टरमा सुन्तलाखेतीले ओगटेको छ । रोगकिराको प्रकोप, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि, सुरक्षित भण्डारण र ढुवानी, बजारको अभाव जस्ता समस्या सुन्तला किसानले बेहोर्दै आएका छन् । बोट सुकेर मर्ने रोग, औँशे किरालगायतले पनि सुन्तलाखेतीमा क्षति पुर्‍याउने गरेको छ ।

सुन्तलाखेती विस्तार र व्यवसायीकरणका लागि सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालित छन् । बागलुङ, पर्वत र म्याग्दीका केही स्थानीय तहलाई समेटेर सुन्तला ‘जोन’ बनाइएको छ ।

‘सुन्तला जोन’मा बागलुङको बिहुँ, सिगाना, पर्वतको बाँसखर्क, सालिजा, लेखफाँट, म्याग्दीको बास्कुनालगायतका गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम लागू भइरहेको छ ।

सुरुमा केही स्थानीय तहका सीमित वडामा मात्र सञ्चालन गरिएको उक्त कार्यक्रमलाई पछि जिल्लाभर विस्तार गरिएको हो ।

स्याङ्जाका करेनडाँडा, जैसीडाँडा, राङ्खोला, अर्जुनचौपारीलगायत गाउँ सुन्तलाखेतीका लागि बढी चिनिन्छन् । तनहुँको म्याग्दे गाउँपालिका, गोरखाको सहिद लखन गाउँपालिकामा पनि सुन्तला उत्पादन राम्रो हुन्छ ।

यहाँ उत्पादित सुन्तला पोखरालगायत प्रदेशभित्रैका सहरी क्षेत्रमा बढी खपत हुन्छ । व्यापारीले नारायणगढ, काठमाडौँलगायत ठाउँमा पनि बिक्रीका लागि पुर्‍याउँछन् । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका अगुवा सुन्तला किसान मेखबहादुर खत्रीका अनुसार यो वर्ष बाँसखर्कमा मात्र १८ करोड ४४ लाख ४७ हजार रुपैयाँको सुन्तला उत्पादन भयो ।

त्यहाँ १५ सय रोपनी जमिनमा सुन्तलाखेती गरिएकामा फल दिने बोट २६ हजार सात सय छ र हुर्कदैँ गरेका बोटको सङ्ख्या २४ हजार चार सय ४५ रहेको उनले बताए । कूल ५१ हजार एक सय ५१ बोट रहेकामा सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झण्डै ४० करोड रुपैयाँ हाराहारी पुग्ने अनुमान गरिएको छ । अगुवा कृषक जतबहादुर खत्रीको बगानमा वर्षमा ३५ लाख रुपैयाँ बराबरको सुन्तला फल्ने गरेको छ । उनले २५ रोपनी जमिनमा सुन्तलाखेती गर्दै आएका छन् ।

अगुवा किसान शान्तबहादुर छिन्तेलले वार्षिक २३ लाख र हेमबहादुर अर्मजाले १९ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन गर्दै आएका छन् । तेजबहादुर खत्री र नरबहादुर पाइजाले सुन्तलाको नर्सरी सञ्चालन गर्दै आएका छन् ।

‘व्यवासायिक सुन्तलाखेतीले बाँसखर्कका किसानको जीवनस्तर नै बदलिएको छ, सुन्तला बेचेर वर्षको पाँच लाखदेखि ४० लाख रुपैयाँसम्म कमाउने किसान यहाँ हुनुहुन्छ’, अगुवा किसान मेखबहादुर खत्रीले भने । बाँसखर्कको सुन्तला पोखरा, मुग्लिन, नारायणगण, काठमाडौँलगायत ठाउँमा जाने गरेको उनको भनाइ छ ।

उनकाअनुसार जलजला–१ को मालगाउँ र घुमाउने तालको केही ठाउँबाहेक बाँसखर्कको अधिकांश क्षेत्रमा सुन्तलाखेती हुँदै आएको छ । विसं १९९७/९८ तिर बाँसखर्कको बजारमारे र वीरमारेमा केही सुन्तलाका बोट देखिएको र त्यसपछि समयक्रममा सुन्तलाखेती विस्तार हुँदै आएको उनले बताए । विसं २०२८ मा कृषि विकास बैङ्कले सुन्तलाखेती गर्ने किसानलाई ऋण दिन थालेपछि बाँसखर्कमा सुन्तलाखेती सुरु भएको गाउँका अगुवा किसान बताउँछन् ।

पोखरासम्म सडक पहुँच विस्तार भएपछि विसं २०५२/५३ देखि बाँसखर्कका किसानले व्यावसायिक रुपमा सुन्तलाखेती सुरु गरेका हुन् । दुई सय ३९ घुरधुरी रहेको बाँसखर्कका अधिकांश किसान सुन्तलाखेतीमा आबद्ध छन् । किसानले सुन्तलाखेतीको विकल्प देख्न छाडिसकेका छन् ।

गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठले सुन्तलाको पकेट क्षेत्र विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्दै आएको बताए । ‘सरकारले सुन्तलाखेती गर्ने किसानलाई सीप र प्रविधि हस्तान्तरणमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने योजना ल्याएको छ’, उनले भने ।

पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित

ताप्लेजुङ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ ।

गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो ।

आन्दोलनरत पक्षले केबलकार निर्माणको काम तत्काल रोक्नुपर्ने, गिरफ्तार गरिएका प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई रिहा गर्नुपर्ने, काफ्लेपाटीमा रहेको सशस्त्र र नेपाल प्रहरीको टोली प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माकाअनुसार वार्ता र संवाद भइरहेको छ ।

“प्रदेश र सङ्घीय सरकारमार्फत पनि वार्ता र समन्वय हुनेछ । जिल्लाबाट पनि गरिँदै छ”, उनले भने, “जिल्लामा शान्ति सुरक्षा प्रवाह, अलपत्र परेका यात्रुको उद्धारलगायत काम गरिरहेका छौँ । आज पनि केही तीर्थयात्री र पर्यटक जिल्ला भित्रिएका छन् । उहाँहरूलाई सुरक्षा दिने छौँ ।”

पाथीभरा केबलकार नालीबेली

फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २ दशमलव ७ किमी केबलकार निर्माण भइरहेको छ । आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् राख्नुपर्ने माग गर्दै आएका छन् ।

ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेडाँडामा मोटर बाटोको ट्याक पुगेपछि उद्घाटन गर्न तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य शाह २०४४ पुस १९ मा फुङलिङ पुगेका थियो । त्यस क्रममा ओलाङचुङगोलाका व्यापारी छवाङ तेन्जिङ शेर्पाले पाथीभरामा केबलकार बनाउनुपर्छ भन्ने प्रस्ताव गरेका थिए । छवाङ, सोनाम तेन्जिङ र फुर्बु वालुङले २०५४ मा कञ्चनजङ्घा केबलकार प्रालि दर्ता गरे ।

केबलकार निर्माणको तल्लो स्टेसन बनाउन काफ्लेपाटीमा ९२ रोपनी जमिन भएका ध्रुवनारायण श्रेष्ठ २०४३ सालका विराटनगर उपमहानगर प्रमुखले २०७२ मा पाथीभरा देवी केबलकार दर्शन प्रालि कम्पनी दर्ता गरे । त्यसअघि नै सङ्घाइ ग्रुपका सुभाष सङ्घाइले त्रिवेणी केबलकार कम्पनी दर्ता गरिसकेका थियो ।

सङ्घाइले केबलकार निर्माणका लागि सरकारबाट अनुमति लिन फुङलिङ नगरपालिका, तत्कालीन फुरूम्बु, फावाखोला गाविस र पाथीभरा क्षेत्रका छ वटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षबाट सिफारिस लिएका थियो ।

फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार २०७५ जेठ १३ पाथीभरा माता दर्शन केबलकार प्रालिलाई निर्माणको अनुमति दियो । अनुमति लिएको केही वर्षमा ध्रुवनारायण श्रेष्ठको पाथीभरा देवी केबलकार दर्शन प्रालि कम्पनी यती समूहले स्वामित्व लिएपछि श्रेष्ठ बाहिरिए ।

यती समूहले अहिले आइएमई ग्रुपलाई कम्पनी बिक्री गरेको छ । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष समेत रहेका चन्द्र ढकालले यसको नेतृत्व गरेका छन् । उनले यसअघिका विवादका विषयमा आफू जानकार नभएको र सातै प्रदेशमा एक–एक वटा केबलकार बनाउने आफ्नो योजनाअनुसार पाथीभरामा पनि केबलकार स्थापना गर्न लागेको बताए ।

दुई दशमलव ७५ किमी लामो दूरीको केबलकार निर्माणका लागि रू तीन अर्ब लगानी गर्ने योजना रहेको उनले बताए । “हामीले व्यापारभन्दा आर्थिक विकास र रोजगारीको प्राथमिताका दिएका छौँ ।” उनले भने, “राष्ट्रियस्तरबाटै समाधान गरेर लगानीको वातावरण बनाइदिनुपर्छ ।”

विवादको सुरुवात

पाथीभराको गुरूयोजना बनाउन पुरातत्व विभागको टोली बोलाइएको थियो । उक्त टोलीमा आएका कर्मचारीले मूर्तिहरू राखेर सांस्कृतिक अतिक्रमण भएको र पाथीभरालाई प्राकृतिक रूपमै राख्न यसलाई हटाउनुपर्ने अभिव्यक्ति दिएका थियो । त्यही अभिव्यक्तिपछि पहिला यसको नाम मुक्कुमलुङ रहेको र अतिक्रमण भएर पाथीभरा नाम राखिएको आवाज उठ्न थाल्यो । अहिले श्री लिम्बूको नेतृत्वमा मुक्कुमलुङ संरक्षण समिति, खगेन्द्र फेम्बुको नेतृत्वमा पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति रहेको छ ।

‘मुक्कुमलुङ’ लाई अतिक्रमण गरेर ‘पाथीभरा’ बनाइएकाले ‘मुक्कुमलुङ’ नै राख्न आन्दोलनरत पक्षले सरकारलाई पटकपटक ज्ञापनपत्र पनि बुझायो । मुक्कुमलुङमा सांस्कृतिक अतिक्रमण गरिएको र लिम्बू समुदायको मुन्धुमीस्थल भएको उनीहरूको दाबी छ ।

आन्दोलनरत समूहको एकमात्र माग मुन्धुमीस्थलमा कुनै पनि हालतमा ठूला पूर्वाधार बनाउन नदिने रहेको छ । विवादमा अहिले ‘नो कोशी’ आन्दोलन पनि सामेल छ । पहिचान पक्षधर नेता अहिले मुक्कुमलुङ संरक्षण अभियानमा जोडिएका छन् ।

गत माघ १२ मा बलुडाँडामा गोली चलेपछि विवाद राष्ट्रिय मुद्दाको रूप लिएको छ । पाथीभरामा केबलकार निर्माणको विषयमा विवाद हुँदा गत शनिबार फुङलिङ नगरपालिका–११ बलुडाँडामा केबलकार निर्माणको विरोध गर्दै मुक्कुम्लुङ बचाउ सङ्घर्ष समितिले गरेको प्रदर्शनमा झडप हुँदा प्रहरीको गोली लागि चार जना घाइते भएका थिए ।

प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मङ्गल लावती घाइते भएका हुन् । यमाबहादुर लिम्बू र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो । प्रहरीले गोली चलाएपछि आन्दोलनले राष्ट्रिय मुद्दाको रूप लिएको छ ।

नो केबलकार समूहहरूले गत मङ्गलबारदेखि मेची राजमार्ग, तमोर कोरिडोर, तथा ताप्लेजुङमा सदरमुकाम आउने सडकमा यातायात बन्द गरेको थियो । आन्दोलनरत पक्षले थप माघ २० र २१ गते नौ जिल्ला लिम्बूवान बन्दको घोषणा समेत गरेको छन् ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभालगायतको जिल्ला बन्दको घोषणा गरेको हो । २० र २१ गतेसम्म आन्दोलनरत पक्षको मागको सम्बोधन नगरे २२ गतेदेखि अनिश्चितकालीन लिम्बूवान आमहड्ताल घोषणा गरिने जनाइएको छ ।

वार्ता टोली गठन

यता सरकारले पाथीभरा (मुक्कुम्लुङ)क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ ।

वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाई समेत आन्दोलनका कार्यक्रम फिर्ता लिई संवादमार्फत समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री रमेश लेखकले आवश्यक पहलकदमी लिई ताप्लेजुङ र छिमेकी जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यलगायतसँग नियमित संवाद तथा समस्या समाधानका लागि पहल गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारको कार्यविभाजन नियमावली, २०७४ बमोजिम रज्जुमार्ग, केबलकारसम्बन्धी नीति, कानून र मापदण्डको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित देखिएकाले केबलकार निर्माणको विषयमा स्थानीय रूपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ ।

समस्या बहुपक्षीय सरोकार रहेको तथा शान्ति सुरक्षा व्यवस्थापन गर्नुपर्ने भएकाले अन्य सरोकारवाला निकायसहितको समन्वय र सहजीकरण गृह मन्त्रालयबाटै गर्न उपयुक्त हुने व्यहोराको पत्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त भएको गृह मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ । 

ग्रामीमा शीर्ष कन्ट्री एल्बम सम्मान बियोन्सेलाई

लस एन्जलस । बियोन्सेले आइतबार आफ्नो संस्कृति–हल्लाउने ‘काउब्वाइ कार्टर’ का लागि वर्षको सर्वश्रेष्ठ कन्ट्री एल्बमको ग्रामी जितिन् । यो एल्बमले लामो समयदेखि अश्वेत कलाकारहरूलाई किनारा लगाएको आरोप लागेको न्यासभिल–केन्द्रित उद्योगको आलोचना गरेको छ ।

ग्रामी इतिहासमा सबैभन्दा सम्मानित कलाकारका लागि यो रातको दोस्रो पुरस्कार थियो । लस एन्जलसमा आयोजित प्रमुख सङ्गीत पुरस्कार समारोहमा अझै चार अवसर बाँकी छन्, जसमा उत्कृष्ट एल्बम र रेकर्ड पुरस्कारहरू समावेश छन् जुन उनलाई अहिलेसम्म प्राप्त भएको छैन ।

र्यापर केन्ड्रिक लमार र पप गायिका चार्ली एक्सएक्सले प्रि–शोमा तीन–तीन पुरस्कार जित्नुभयो । कार्यक्रममा दर्जनौँ सुनौला ग्रामोफोनहरू वितरण गरिएको थियो ।

“मैले वास्तवमै यसको अपेक्षा गरेको थिइनँ”, स्पष्ट रूपमा कम्पित आवाजमा बियोन्सेले मञ्चमा भनिन्, “कहिलेकाहीँ शैली भनेको हामी कलाकारहरूलाई हाम्रो स्थानमा राख्ने कोड शब्द हो ।”

“म मान्छेहरूलाई उनीहरू जे कुरामा जोशिलो छन् त्यो गर्न र दृढ रहन प्रोत्साहित गर्न चाहन्छु”, उनले ए–लिस्टरहरूले भरिएको भीडमा भनिन् । श्रीमान् जे–जेड र छोरी ब्लू आइभीले दर्शकदीर्घाबाट ताली बजाइरहेका थिए । “म अझै पनि आश्चर्यमा छु । यो सम्मानका लागि धेरै धन्यवाद ।”

– च्यापेल रोनको उद्योगलाई कठोर पाठ –

सर्वश्रेष्ठ नयाँ कलाकारका लागि प्रतिष्ठित पुरस्कार च्यापेल रोनलाई गयो । उनले मिडवेस्टर्न कलाकारको उल्कामय वर्ष पूरा गरेकी छन् र उनी सङ्घर्षरत गायिकाबाट एकैरातमा सङ्गीतको आइट गर्ल बन्न पुगिन् ।

तर त्यो उनको अनुभव थिएन । आफ्नो स्वीकृति भाषणमा उहाँले कसरी महामारीको समयमा उनको लेबलले उनलाई छोड्यो र काम खोज्न सङ्घर्ष गर्नुपर्यो भन्ने कुरा बताइन् ।

“मैले आफैँलाई भनेकी थिएँ कि यदि मैले कहिल्यै ग्रामी जितेँ र सङ्गीतका सबैभन्दा शक्तिशाली मान्छेहरूको अगाडि यहाँ उभिन पाएँ भने म कलाकारहरूबाट लाखौँ डलर कमाउने लेबल र उद्योगलाई जीवनयापनयोग्य ज्याला र स्वास्थ्य सेवा प्रदान गर्न माग गर्नेछु, विशेष गरी विकासशील कलाकारहरूलाई”, उनले भनिन्, “मेरो कलाप्रति यति प्रतिबद्ध महसुस गर्नु र प्रणालीद्वारा विश्वासघात र अमानवीय महसुस गर्नु विनाशकारी थियो, लेबलहरू, हामीसँग तपाईंहरू छन्, तर के तपाईंहरूसँग हामी छौँ ?”

गत वर्षकी विजेता भिक्टोरिया मोनेटले डोची, बेन्सन बुन, टेडी स्विम्स, शाबोजी र राय लगायत रोनका केही साथी मनोनीतहरूबाट रोमाञ्चक मेडलीपछि त्यो ट्रफी प्रस्तुत गरिन् ।

सब्रिना कार्पेन्टरले उत्कृष्ट पप भोकल एल्बमको पुरस्कार जितिन् । यो उनको मनोनीत हिटहरू ‘एस्प्रेसो’ र ‘प्लिज प्लिज प्लिज’ को पुरानो हलिउड–प्रेरित प्रदर्शनको स्ल्यापस्टिक पछिको रातको दोस्रो पुरस्कार हो ।

यसैबीच डोएचीले सर्वश्रेष्ठ र्याप एल्बमको पुरस्कार स्वीकार गर्दा भावुक भाषण दिइन् । यो पुरस्कार जितेकी कार्डी बीले पनि उनलाई पुरस्कार दिँदा आँसु थाम्न सकिनन् ।

“धेरै अश्वेत महिलाहरू जो अहिले मलाई हेरिरहनुभएको छ – म तपाईंलाई भन्न चाहन्छु, तपाईं यो गर्न सक्नुहुन्छ”, उनले भनिन्, “कसैलाई पनि तपाईंमाथि कुनै रूढीवादी विचार प्रक्षेपण गर्न नदिनुहोस् जसले तपाईंलाई भन्छ कि तपाईं यहाँ हुन सक्नुहुन्न, कि तपाईं धेरै कालो हुनुहुन्छ वा तपाईं पर्याप्त बुद्धिमान हुनुहुन्न, वा तपाईं धेरै नाटकीय हुनुहुन्छ वा तपाईं धेरै ठूलो स्वर भएको हुनुहुन्छ । तपाईं ठीक त्यही हुनुहुन्छ जो तपाईं हुनुपर्छ ।”

हिप–हप कवि पुरस्कार विजेता लामारले क्लब दिवा चार्ली एक्ससीएक्सले गरे जस्तै तीन ग्रामी स्कोर गरिन् । उनीहरू दुवै रातको शीर्ष पुरस्कारका लागि दावेदार हुन् ।

– आगलागी राहत –

आइतबारको समारोह लस एन्जलस सहरको सम्मानमा पनि थियो । यो मनोरञ्जनको एक विश्वव्यापी राजधानी हो र यो सहर हालै विनाशकारी र घातक डढेलोबाट प्रभावित भएको छ ।

यो रात प्रि–ग्रामी कार्यक्रम र प्रमुख लाभ कन्सर्टको धेरै भाग जस्तै आगलागीबाट प्रभावित सङ्गीत उद्योगका सदस्यहरूका लागि कोष सङ्कलनको रूपमा पनि काम गर्यो। सिबिएसमा प्रसारित गरिएको समारोहभरि चन्दा सङ्कलनको लागि क्यूआर कोड प्रदर्शित गरिएको थियो ।

सेरिल क्रो र जोन लिजेन्ड लगायत सुपरग्रुपले कार्यक्रम सुरु गर्न रेन्डी न्युम्यानको ट्र्याक ‘आई लभ एलए’ को प्रस्तुति दिइन् ।

आफ्नो पुरस्कार स्वीकार गर्नुअघि रोनले आफ्नो हिट र लस एन्जलसप्रतिको प्रेमपत्र ‘पिङ्क पोनी क्लब’ को उत्साहजनक, रोडियो–सर्कस प्रदर्शनका साथ भीडलाई आफ्नो खुट्टामा राखेकी थिइन् ।

दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् ।

वसन्तपञ्चमी तथा सरस्वती पूजाको आवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले सरस्वतीले उत्तेजना र दुष्कर्मको अन्धकार हटाउन् भन्दै विद्याकी देवी सरस्वतीप्रति नमन गरेका हुन् ।

उनले लेखेका छन्– ‘आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौँ । श्रीपञ्चमी, सरस्वती पूजा– बालबालिकाको अक्षरारम्भ गर्ने दिन । बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू वसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ ।’

उनले प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिने गरेको उल्लेख गर्दै सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको उल्लेख गरेका छन् ।

जनताको खुसीलाई ध्यान दिएर काम गर्नुपर्छः सांसद थनैत

काठमाडौँ । हामी राजनीतिकर्मीका लागि मुलुक र जनता नै सबैभन्दा ठूला हुन् । देशको विकास नै राजनीतिको प्रमुख केन्द्रविन्दुमा रहनुपर्छ । जनताको खुसीलाई ध्यान दिनुपर्छ । जनतालाई खुसी तुल्याउने हिसाबले काम गर्नुपर्छ ।

नेपालको संविधानको प्रस्तावनामा नै नेपाललाई बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुपहिचानयुक्त मुलुकका रुपमा चित्रण गरिएको छ । समानुपातिक र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प पनि गरेको छ । यही मान्यतालाई हामी सबैले व्यवहारिक रुपमा कार्यान्वयन गराउन प्रतिबद्ध हुनुपर्छ ।

संविधानमा सामाजिक न्यायको हक तथा महिलाको हक, दलितको हकलगायत आर्थिक, सामाजिक तथा राजनीतिक अधिकार सहितको झण्डै तीन दर्जन बराबरका मौलिक हक तथा अधिकारको व्यवस्था गरिएको छ ।

आर्थिक, सामाजिक तथा पछाडि परेका महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडावर्ग, लैङ्गिक तथा यौनिक अलपसङ्ख्यक, युवा, किसान, श्रमिक तथा आर्थिक रुपले विपन्नलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने व्यवस्थाको पनि सबल कार्यान्वयन गराउनेतर्फ सरकार र राज्य लाग्नुपर्छ ।

संविधानको धारा ५१ मा रहेको सामाजिक न्याय तथा समावेशीसम्बन्धी नीति, राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायबाट हुनुपर्ने प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने, सङ्घीय संसद्मा एक तिहाई सदस्य महिला हुनुपर्ने सुनिश्चितता गरेको छ । सबै मातृभाषालाई राष्ट्र भाषाका रुपमा मान्यता प्रदान गरिएको छ । संविधानमा भएका यी सकारात्मक प्रावधानहरुको कार्यान्वयनबाट नै नेपाली नागरिक खुसी हुन्छन् भन्ने मेरो धारणा छ ।

संसद्ले अब फटाफटी काम गर्नुपर्छ

सङ्घीय संसद्का अघिल्ला अधिवेशनमा थोरै काम भए । सदन राम्रोसँग चल्न नसकेका कारण अपेक्षित रुपमा कानुन निर्माण हुन पाएन । गत वर्ष विधेयक पारित गर्ने समयमा प्रतिपक्षी दलका तर्फबाट लामो समय सदन अवरोध हुन पुग्यो । अब ढिलासुस्ती गरेर हुँदैन, फटाफटी काम गर्नुपर्छ ।

पिछडिएको क्षेत्रमा सडक निर्माणको कामलाई गति दिएको छु

नवलपुर जिल्लाको निर्वाचन क्षेत्रमा जाँदा जनताको तर्फबाट अनेकन माग रहने गरेको छ । म पिछडिएको समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले पनि पछाडि परेको क्षेत्रमा पक्कै पनि विकास निर्माणको काम अगाडि बढ्छ भन्ने जनअपेक्षा छ । हाम्रो गाउँठाउँमा विकास निर्माणको काम अगाडि बढ्नुप¥यो भन्ने छ ।

बाहिर गएर पढ्न नसक्नेहरु पनि मेरो जिल्लामा धेरै छन् । गाउँघरमै सागसब्जी बेचेर वा सानोतिनो काम गरेर बाबुआमाले पढाएको अवस्था छ । ती विद्यार्थी र अभिभावकको माग छ कि हाम्रो गाउँठाउँमा राम्रो कलेज स्थापना होओस्, घर आँगनमै पढ्न पाइयोस् । लामो बाटो भएर कलेज जाँदा वन्यजन्तुको डर छ । गैँडाले आक्रमण गर्ला कि भन्ने सधैँ त्रास रहने गरेको छ ।

झण्डै आधा शताब्दी पहिले पहाडबाट झरेको मान्छेले राम्रो बाटो हिँडन पाएको थिएन, तर अहिले सांसदका रुपमा मलाई उक्त काममा सक्रियतापूर्वक लागेको भनेर स्थानीयवासी धेरै खुसी भएका छन् । मैले आफ्नो क्षमताले भ्याएसम्म सहज तरिकाले काम गराउने प्रयास गरेकी छु ।

कोही कसैलाई पनि सामान्य भन्दा सामान्य कामका लागि काठमाडौँ आउन नपरोस् भनेर म आफैँ नियमित रुपमा खटिरहेको छु । आफैँ पनि पिछडावर्गको नेता भएको हुनाले मैले सोही वर्गलाई नै सजिलो होओस् भनेर लागिपरेकी छु ।

कृषि क्षेत्रको विकासमा ध्यान दिऔँ

ठूलो मात्रामा नागरिक रोजगारीको खोजीमा विदेशिएका कारण मैले सकेसम्म उनीहरुलाई देशमै राख्नका लागि कृषि क्षेत्रको विकास गर्नुपर्छ भनेर आफ्नो धारणा राख्दै आएको छु । युवा जनशक्ति विदेशिन नपरोस् भनेर कृषि विकास मन्त्रालयमा मैले आफ्नो योजना र अवधारणा पनि बुझाएको छु । कृषि क्षेत्रको विकासका लागि यी र यस्ता योजना बनाएर अगाडि बढौँ भनेर मैले सम्बन्धित निकायलाई घच्घच्याउने काम पनि गरेको छु । कृषक र कृषि क्षेत्रलाई प्रोत्साहन दिएको खण्डमा आफ्नो देशको उत्पादन आफैँमा खपत गर्न सकिन्छ । रोजगारीको अवसरमा पनि वृद्धि हुन्छ भनेर सांसदका तर्फबाट सरकारलाई र सम्बन्धित मन्त्रालयलाई आफ्नो अवधारणा र कार्ययोजना समेत पेस गरेको छु ।

गरिब जनताको हितका लागि हामीले काम गर्नुपर्छ । महङ्गी नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ । गरिब एवं आर्थिक रुपमा विपन्न वर्ग एवम् लक्षित समुदायको हितमा काम गर्नुपर्छ । संविधान संशोधन गर्ने भनेर नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सहमतिका आधारमा अगाडि बढ्दा हाल संविधानमा भएका सकारात्मक व्यवस्था कायम रहोस् भन्ने मेरो चाहना छ । पार्टीमा पनि मैले यही कुरा राख्दै आएको छु ।

पानमा कनालमा चिनियाँ प्रभाव कम गर्न तत्काल कदम चाल्न अमेरिकी विदेशमन्त्रीको चेतावनी

बीबीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबिओले पानामाले तत्कालै पानमा कनालको व्यवस्थापन गर्ने आफ्नो शैली नबदले वाशिङ्टनले कदम चाल्ने बताएका छन् । उनले सो मुलुकले उक्त नहरमाथि ’चीनको प्रभाव र नियन्त्रण कम’ गर्नुपर्ने बताए।

विदेशमन्त्री भएपछिको आफ्नो पहिलो विदेश भ्रमणका क्रममा उनले राष्ट्रपति होसे राउल मुलिनोसँग भेटेका थिए र पानमा कनालको पनि भ्रमण गरेका थिए । उनले एउटा सन्धिका आधारमा जलमार्गको नियन्त्रण अमेरिकाले पानमालाई दिएको उल्लेख गर्दै अहिलेको चिनियाँ उपस्थितिले त्यसको उल्लङ्घन गरेको पनि धारणा राखेका थिए ।

हङ्कङमा आधारित कम्पनीहरूले उक्त नहरको दुवैतर्फको बन्दरगाह पानमालाई हस्तान्तरण गरिनुअघिबाटै सञ्चालन गर्दै आएका छन् । राष्ट्रपति मुलिनोले आफूले रुबिओको प्रतिक्रियालाई धम्कीका रूपमा नलिएको भन्दै उक्त नहर एउटा स्वायत्त कम्पनीले व्यवस्थापन गरिरहेको बताए । उनले अमेरिकी चासोहरू सम्बोधन गर्न प्राविधिक स्तरको छलफलको प्रस्ताव गरेका छन् ।

अमेरिकाका वरिष्ठ कूटनीतिज्ञले पानमाले कदम चाल्नुपर्ने वा अमेरिकाले दुई देशबीचको सन्धि अनुसार आफ्नो अधिकार रक्षाका लागि आवश्यक निर्णयहरू लिने बताएका थिए ।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो मुलुकले पुनः पानमा कनाल नियन्त्रणमा लिने बताउँदै आएका छन्। पानमाका अनुदारवादी राष्ट्रपति होसे राउल मुलिनोसँग पानमा सिटीमा आइतबार रुबिओले भेटेका थिए।

हनुमानढोकाको नासल चोकमा राष्ट्रपतिद्वारा वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा वसन्त श्रवण गरेका छन् । सोमबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले वसन्त श्रवण गरेका हुन् । समारोहमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ। सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलले उक्त अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना पनि गरेका थिए । वसन्त श्रवण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री गण तथा विशिष्ट महानुभावहरूको उपस्थिति थियो ।

वसन्त पञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।

तस्बिर : किरणराज बिष्ट / रासस

पदोन्नती भएका ३७ जना प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । बढुवा भएका ३७ प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी  चिन्ह दिइएको छ । हालै प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेका ३७ जनालाई गृह मन्त्रालय (सचिवस्तर)को आइतबार पदोन्नति गरेको थियो ।

पदोन्नतिसँगै उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच  दर्ज्यानी चिन्ह प्रदान गरे ।

दर्ज्यानी चिन्ह पाउनेहरूमा कुलदीप चन्द, सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेबे, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाई रहेका छन् ।

यस्तै, शरतकुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागाईँ, किशोरकुमार श्रेष्ठ, मुकुन्दप्रसाद रिजाल, पवन कुमार भट्टराई, रविन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निशान थापा, कबित कटुवाल, रामेश्वर पौडेल, रूकेश तण्डुकार, दधिराम न्यौपाने, नवीन कार्की, श्यामकुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण पाण्डेय, लालध्वज सुवेदी र रूगमबहादुर कुँवर रहेका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

बुढासुब्बा गोल्डकपः ‘सडन डेथ’मा धरानलाई हराउँदै युके एफसी सेमिफाइनलमा

सुनसरी । धरान फुटबल क्लबलाई ‘सडन डेथ’मा ७–६ गोल अन्तरले हराउँदै युनाइटेड खर्साङ फुटबल क्लब (युके एफसी) भारत २५ औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयको खेल एक/एक गोलको बराबरीमा सकिएपछि खेल ‘टाइब्रेकर’मा धकेलिएको थियो । टाइब्रेकरमा पनि समान पाँच/पाँच गोल भएपछि खेलको निर्णय सडन डेथबाट भएको हो । सडन डेथमा सातौँ प्रहार गर्न आएका धरानका खेलाडी मनोज राईको प्रहार आकाशिएपछि युके एफसीको जित भएको थियो ।

आज दोस्रो दिन युके एफसी र आयोजक धरान फुटबल क्लबबीच भएको खेलको १७औँ मिनेटमा युकेका हेमराज भुजेलले गोल गर्दै अग्रता दिलाए ।

धरान फुटबल क्लबका विनोद राईले खेलको ४४औँ मिनेटमा गोल गर्दै टोलीलाई एक–एक गोलको बराबरीमा पु¥याएका थिए । आजको खेलको ‘म्यान अफ दी म्याच’ पनि भुजेल भए ।

सट्टेबाजीमार्फत तीन अर्ब भन्दाबढी करोबारमा संलग्न २४ जना पक्राउ

काठमाडौँ । ‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन जुवा (सट्टेबाजी) लगायतमा तीन अर्ब बढी करोबारमा संलग्न २४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा १० भारतीय र १४ नेपाली नागरिक रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। पक्राउ पर्ने नेपालीमा प्यूठानका टङ्कबहादुर पछाई, रवि विष्ट, लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समीर खड्का, विक्रम पछाई, अशोक जिसी, सुजन जिसी र गोपाल बिष्ट, डोटीका तेज बोगटी, सुर्खेतका भीष्म वली र हेमन्त लोहनी तथा दार्चुलाका हेमन्त धामी रहेका छन्।

पक्राउ पर्ने भारतीय नागरिकमा अजितकुमार, मुकेश मण्डल, मनोज कुमार, सुमित खत्री, प्रबात कुमार, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय र मनोजप्रकार कुमार छन्।

उनीहरूले आठभन्दा बढी ‘बेटिङ साइट’को प्रयोग गरी भारतीय बेटिङ खेल्ने ‘एजेन्ट’हरुसँग सामाजिक सञ्जालबाट सम्पर्क गरी ‘अफ लाइन’ अवैध खेल खेलाएको पाइएको छ। यसरी हारजित भएको रकम भारतको विभिन्न बैङ्क खातामै जम्मा गर्ने र निकाल्ने गरी अनलाइन जुवा खेल्ने खेलाउने कार्य भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए।

ललितपुरको सानेपास्थित दुई घर भाडामा लिएर व्यावसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरेको पाइएको छ। खोजतलासका क्रममा उनीहरुलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो । लगत्तै आजै उनीहरुलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको छ।

‘बरामद गरिएका ल्यापटप तथा मोबाइलको प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुले रु तीन अर्ब चार करोड ७३ लाख ५६ हजार बराबरको अनलाइन जुवा कारोबार गरेको देखिएको छ’, प्रहरी उपरीक्षक आचार्यले भने।

उनीहरुमाथि मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद– ५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा आवश्यक अनुसन्धान थालिएको छ। पक्राउ परेकाहरुका साथबाट विभिन्न मोडेलका ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान बैङ्कको एटिएम कार्ड, ८८ थान सिमर्कार्ड, १२ थान चेकबुक, आठ थान भारतीय आधारकार्ड र ६ थान राहदानी बरामद गरिएको छ।

उमागौरी कृषि सहकारीका अध्यक्ष रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

विराटनगर । जिल्ला अदालत मोरङले उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आइतबार न्यायाधीश अरुणकुमार झाको इजलासले रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । आदेशलगत्तै रौनियारलाई कारागार चलान गरिएको छ ।

उक्त सहकारीको ठगी मुद्दामा संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि अभियुक्त हुन् ।

उनी भने यसअघि नै घरौटीमा रिहा भएकी छन् । उक्त सहकारीबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ अपचलन भएको प्रहरी दाबी छ । रौनियार र पोखरेलसहित २६ जनालाई प्रतिबादी बनाएर मुद्दा दर्ता भएको छ । मुद्दा दायर भएका मध्ये २१ जना अझै फरार छन् ।

‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका’ स्वीकृत

काठमाडौं । एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले विद्युतीय रुपमा प्राप्त गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ स्वीकृत गरेका छन् ।

यसबाट एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले विद्युतीय रुपमा प्राप्त गर्ने गरी मन्त्री पौडेलले एकीकृत ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ स्वीकृत गरेका हुन् ।

यस निर्देशिकाको कार्यान्वयनपछि अबः

१) सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरुले अब विद्युतीय चिकित्सा अभिलेख प्रणाली अन्र्तगत एक अर्कासँग बिरामीका तथ्यांक तथा विवरण साझा गर्न मिल्ने गरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्नेछ ।

२) बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनाको अन्त्य हुनुका साथै स्वास्थ्य सम्बन्धी नीति निर्माणमा एकीकृत तथ्यांक प्राप्त हुनेछ ।

३) रोगको निदान तथा उपचार पद्धतीमा बिरामीलाई कम भार पर्नेछ ।

४) एकीकृत तथ्यांकको भण्डारण र व्यवस्थापनले सेवाग्राही र प्रदायक दुवैलाई सहजता हुन गई सेवा प्रवाह द्रुत, चुस्त र प्रभावकारी हुनेछ ।

५) फरक फरक खालका तथ्यांक पहिलो पटक मन्त्रालयको नियन्त्रणमा रहने केन्द्रीकृत प्रणालीमा आबद्ध हुँदा श्रोत छरिने र धेरै प्रणाली सञ्चालनको समस्या हट्नेछ ।

६) राज्यको स्वास्थ्य नीति निर्माण र प्राथमिकता तय गर्न तथ्यांक सहज प्राप्त गर्न सकिनेछ ।


यस निर्देशिकाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालयले सरोकारवाला क्षेत्रबाट सकारात्मक सहयोग र प्रतिक्रियाको अपेक्षा गरेको छ ।

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाली विद्यार्थी अध्ययनका लागि विदेशमा जाँदा ५६ अर्ब ८३ करोड रुपैयाँ बैंकिङ प्रणालीमार्फत बाहिरिएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ५८ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा नेपालीहरुले विदेश भ्रमणमा जाँदा एक खर्ब १ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ९२ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार ६ महिनाको अवधिमा खुद सेवा आय.४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो ।

एक महिनामा भित्रिए ८० हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२५ को पहिलो महिना जनवरीमा करिव ८० हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डकाअनुसार जनवरीमा ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

जनवरीमा भारतबाट २० हजार ४८५, चीनबाट ८ हजार १९१, अमेरिकाबाट ८ हजार ६३, बंगलादेशबाट ५ हजार ४०६, अष्ट्रेलियाबाट ४ हजार ३०१, दक्षिण कोरियाबाट ३ हजार ७५६, बेलायतबाट ३ हजार ५२१ पर्यटक भित्रिएका छन् ।

पुस मसान्तसम्म २३ खर्ब १६ अर्ब बराबरको विदेशी विनिमय सञ्चिति

काठमाडौं । सरकारसँग २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति पुगेको हो ।

विदेशी मुद्रा सञ्चिति गत असारको तुलनामा १३.५ प्रतिशतले बढेको छ । असारमा नेपालसँग २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी मुद्रा रहेकामा पुसमा भारी मात्राले विस्तार भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा मापन गर्दा असारमा विदेशी मुद्रा १५ अर्ब २७ करोड डलरबराबरको मात्र थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा २७ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब ५० करोड कायम भएको छ ।

२०८१ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत छ । आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

निर्माण व्यवसायीबाट कानुनबमोजिम दाबी भएको रकम भुक्तानी हुन्छः अर्थमन्त्री पौडेल

काठमाडौँ ।  उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कानुनबमोजिम दाबी भएको निर्माण व्यवसायीको रकम भुक्तानी गर्न नरोकिने बताएका छन् ।

महिला आर्थिक पत्रकार सङ्घ फेजाले आइतबार आयोजना गरेको कार्यक्रममा उनले अघिल्लो सरकारका पालामा बाँकी रहेको भुक्तानी दायित्व वर्तमान सरकारले निर्वाह गर्नुपर्दा असहज भएको बताए ।

अर्थमन्त्री पौडेलले भने, “अब सरकार निर्माण व्यवसायीको कानुनबमोजिमको बिल भुक्तानी सहज रूपमा दिनसक्ने अवस्थामा पुगेका छौँ । सरकारले कानुनसम्मत रूपमा दाबी गरेको रकम भुक्तानी रोकेको छैन ।”

उनले पुँजीगत खर्च बढाउनतर्फ सरकारले पहल गरिरहेको बताए । “सार्वजनिक खरिद ऐन, वन ऐन, वातावरण ऐनलाई सुधार गरेर पुँजीगत खर्च बढाउनुपर्ने आवश्यक छ । त्यसका लागि नियमनलाई प्रभावकारी बनाउन ध्यान दिनेछौँ”, मन्त्री पौडेलले भने, “पुँजीगत खर्चको तुलात्मक रूपमा मूल्याङ्कन गर्दा गत वर्षको तुलनामा यस वर्ष प्रगति भएको छ तर यो पर्याप्त छैन ।”

उनले बैंकहरूको महत्वपूर्ण हिस्सा घरजग्गा व्यवसायमा लगानी भएको तर यस क्षेत्रमा कारोबार चलायमान हुनसक्दा समग्र अर्थतन्त्रमा समस्या देखिएको बताए ।

“मापदण्ड पूरा गरेर नै बैंकहरूले घरजग्गामा लगानी गरेका छन् । घरजग्गा कारोबार गर्नेहरूलाई मात्रै गाली गरेर अर्थतन्त्र सुधार हुन सक्दैन । यस क्षेत्रमा भएको समस्या समाधान निजी क्षेत्र र सरकारको साझा विषय भएकाले सबै मिलेर समाधान गर्न जरूरी छ”, मन्त्री पौडेलले भने ।

उनले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने र यसले निजी क्षेत्रको मनोबल बढाएको बताए । सरकारले अर्थतन्त्रमा देखिएको समस्या समाधानका निम्ति नीतिगत सुधारमा जोड दिएको र अध्यादेश त्यसैको सशक्त पहल भएको अर्थमन्त्री पौडेलको भनाइ थियो ।

३८ वटा मानव खप्परसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर । विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रानीस्थित २ नम्बर ढाटबाट ३८ वटा मानव कंकाल खप्पर र १० वटा नलीखुट्टासहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का विनोद राय भएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति भरतबाट नेपालतर्फ आउने क्रममा रिक्सामा खानतलासी गर्दा ठूलो परिमाणमा कंकाल खप्पर र नली खुट्टा बरामद गरेको शसस्त्र प्रहरी इलाका प्रहरी कार्यालय, रानीले जनाएको छ ।

उनले ती कंकालहरू के प्रयोजनका लागि ल्याएका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मातृभूमि जागरण अभियानमा लागेको भन्दै एमालेका पाँच नेता पार्टीबाट निस्कासित

काठमाडौं । नेकपा एमालेले अछामका पाँच नेतालाई पार्टीबाट निष्कासन गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य र प्रदेश सल्लाहकार परिषद् सदस्य रहेका पाँच जनालाई निष्कासन गरिएको हो ।

सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवर तथा प्रदेश कमिटी सदस्य जंगबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिएका छन् ।

पार्टीको विधानविपरीत विभिन्न गतिविधिमा संलग्न भएको देखिएकाले पाँच जनालाई निष्कासन गर्ने निर्णय भएको उनले जानकारी दिए । उनीहरू एमालेका पूर्वउपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानमा लागेपछि कारबाहीमा परेका हुन् ।

सिरियाका अन्तरिम राष्ट्रपति साउदी अरब भ्रमणमा

दमास्कस । बशर अल असदको सत्ताच्युत भएपछि सिरियाको अन्तरिम राष्ट्रपति बनेका अहमद अल–शराले पहिलो अन्तर्राष्ट्रिय भ्रमणका लागि आइतबार साउदी अरबतर्फ प्रस्थान गरेका छन् ।

सिरियाली राष्ट्रपति कार्यालयले ’राष्ट्रपति शरारा र असद अल–शैबानी साउदी अरबको पहिलो औपचारिक भ्रमण’ शीर्षकमा एउटा निजी जेटमा सवार शरा र उनका विदेशमन्त्रीको एक्सको तस्वीर पोस्ट गरेको थियो ।

गत डिसेम्बरमा असदलाई सत्ताच्युत गर्न नेतृत्व गरेका शरालाई बुधबार अन्तरिम राष्ट्रपतिमा नियुक्त गरिएको थियो ।

साउदी अरबका राजा सलमान र उनका छोरा राजकुमार मोहम्मद बिन सलमानले शरालाई राष्ट्रपतिमा उनको आधिकारिक नियुक्तिसँगै सवैभन्दा पहिले बधाई दिएका थिए ।

सिरियाली अधिकारीहरूले युद्धले तहसनहस भएको आफ्नो देशको पुनर्निर्माण र अर्थतन्त्रलाई पुनर्जीवित गर्न धनी खाडी मुलुकहरूमाथि भरोसा गरिरहेका छन्।

बिहीबार दमास्कसले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागत गरेको थियो, जसले ‘स्थिरतालाई सुदृढ गर्न र पुनर्निर्माण, विकास र समृद्धि परियोजनाहरूमा अगाडि बढ्नका लागि’ सिरियाली समाजको सबै पक्षको प्रतिनिधित्व गर्ने सरकार गठन गर्न तत्काल आवश्यकतामा जोड दिएका थिए ।

दमास्कसका अनुसार दुवै पक्षबीच पुनर्निर्माणबारे छलफल भएको थियो ।

गत डिसेम्बरमा असदलाई सत्ताच्युत गरेयता सिरियाली नयाँ अधिकारीहरूले कूटनीतिक आगन्तुकहरूको निरन्तर प्रवाह प्राप्त गरेका छन्।

ट्रम्पको भन्सार महसुलको विश्वव्यापी प्रभावबाट जापान चिन्तित

टोकियो । जापानका अर्थमन्त्री कात्सुनोबु कातोले आइतबार प्रमुख व्यापारिक साझेदारहरू क्यानाडा, मेक्सिको र चीनलाई लक्षित गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको व्यापक भन्सार महसुलको विश्वव्यापी व्यापारमा पर्ने सम्भावित असरबारे जापान ‘गहिरो चिन्ता’ मा रहेको बताएका छन् । 

ट्रम्पले क्यानाडा र मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा हुने निर्यातमा मङ्गलबारदेखि २५ प्रतिशत भन्सार महसुल लाग्ने र चीनबाट आउने सामानमा थप १० प्रतिशत भन्सार महसुल लाग्ने बताए ।

यो घोषणाले ऊर्जादेखि अटोमोबाइल र खाद्यान्नसम्म आपूर्ति शृङ्खलामा उथलपुथलको खतरा निम्त्याएको छ ।

“यी भन्सार महसुलले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्छन् भन्ने बारेमा हामी गहिरो चिन्तामा छौँ”, जापानी अर्थमन्त्री कातोले फुजी टिभीको एक आइतबारको कार्यक्रममा भने ।

फुजी टिभीका अनुसार कातोले विदेशी मुद्रा बजारमा ट्रम्पको भन्सार महसुल नीतिको सम्भावित प्रभावहरूको ‘पूर्ण मूल्याङ्कन’ गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए ।

“जापानले यी नीतिहरू र तिनका प्रभावहरूको सूक्ष्म परीक्षण गर्नुपर्छ र उचित कदमहरू चाल्नुपर्छ”, फुजी टिभीले कातोलाई उदृत गर्दै भन्यो ।

गैरकानूनी आप्रवासी र फेन्टानाइलसहितका लागुऔषधको संयुक्त राज्य अमेरिकामा प्रवाह रोक्न असफल भएका देशहरूलाई सजाय दिने उद्देश्यले यी कदमहरू चालिएको ट्रम्पले बताए ।

चीन, क्यानडा र मेक्सिकोले भन्सार महसुलको जवाफ दिने प्रतिज्ञा गरेका छन् । बेइजिङको वाणिज्य मन्त्रालयले ‘सम्बन्धित जवाफी कदमहरू’ चाल्ने र विश्व व्यापार सङ्गठनमा वासिङ्टनविरुद्ध दावी दर्ता गर्ने बताएको छ ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो देशले जवाबी शुल्क लगाउने बताएका छन् भने क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ओटावाले पनि एक खर्ब ५५ अर्ब क्यानेडियन डलर (एक खर्ब छ अर्ब ६० करोड अमेरिकी डलर) मूल्यका केही अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने बताएका छन् ।

रेलमार्ग निर्माणको परियोजनाबाट सरकार पछाडि नहट्ने मन्त्री दाहालको प्रतिबद्धता

झापा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी परियोजनाबाट सरकार पछाडि नहट्ने प्रतिबद्धता जनाएका छन् ।

विर्तामोडमा आइतबार प्रेस चौतारी झापाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले स्रोत व्यस्थापन गरेर चरणचरणमा मुआब्जा वितरण गरी सरकारले रेलमार्गलाई अगाडि बढाउने तयारी गरिरहेको बताए । उनका अनुसार परियोजनाबाट प्रभावितलाई मुआब्जाका लागि स्रोत व्यवस्थापन भइरहेको छ ।

“पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर परियोजनाबाट सरकार पछाडि हट्दैन”, मन्त्री दाहालले भने, “स्रोत सुनिश्चितताका लागि अर्थमन्त्रालयसँग छलफल भइसकेको छ ।”

उनले सरकारको ‘ड्रिम प्रोजेक्ट’का रूपमा विद्युतीय रेलमार्ग रहेको जनाउँदै यसबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको पत्रकारहरूलाई जानकारी दिए ।

सरकारले उक्त परियोजनाका लागि झापा, मोरङ र सुनसरीमा पाँच हजार कित्ताभन्दा बढी जग्गा विसं २०७७ जेठ २४ र २७ गते अधिग्रहण गरेको थियो । जग्गाधनीहरूले अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने भए उचित क्षतिपूर्तिसहित फुकुवा गरिदिन सरकारसँग पटकपटक माग गरेका छन् ।

रेलमार्गका लागि सरकारले झापाको दुई हजार चार सय ५७ कित्ता, मोरङको एक हजार छ सय ३८ कित्ता र सुनसरीको एक हजार तीन सय २९ कित्ता जग्गा सम्बन्धित जिल्लाको मालपोत कार्यालयमार्फत रोक्का राखेको छ ।

मन्त्री दाहालले झापाको भौतिक पूर्वाधार निर्माण धमाधम भइरहेको भन्दै निर्धारित समयमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । उले हुलाकी राजमार्गमा निर्माण रोकिएको कनकाइ पुलको कामसमेत सञ्चालन भइसकेको बताउँदै भने, “सरकारले काममा ढिलाइ गरेको ठेकेदार कम्पनीको ठेक्का रद्द गर्ने तयारी गरेपछि निर्माण कम्पनीले काम थालेको छ, अब कामले गति लिने विश्वास छ ।”

उदयपुरमा फापर, जुनेलो, गहतलगायत अन्नबाली खेती हुन छाड्यो

उदयपुर । उदयपुर जिल्लाको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रूपमा उत्पादन हुँदै आएका फापर, जुनेलो, गहतलगायत अन्नबाली हिजोआज खेती हुन छाडेको छ । ताप्ली, उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा परम्परागत रूपमा खेती हुँदै आएको फापर, जुनेलो, गहत जस्ता अन्नबाली लगाउने किसानको कमी हुन थालेपछि लोप हुने अवस्थामा पुगेको हो ।

रौतामाई गाउँपाालिका–५ रामेटारका किसान पदमबहादुर मगरले २० वर्ष अगाडिसम्म गाउँमा गहत, जुनेलोको प्रशस्त उत्पादन हुने बताउँदै पछिल्लो समय खेती गर्नेको सङ्ख्यामा कमी आएपछि उत्पादन पनि नभएको उल्लेख गरे । पछिल्लो समय बजारसमेत पाउन टाडेको उनको भनाइ छ ।

रौतामाई–४ का किसान नेत्रप्रसाद खत्रीले भने, “करिब १५–२० वर्ष अघिसम्म गाउँघरमा जुनेलो प्रशस्त उत्पादन गरेर बिक्री गर्दथ्यौँ । हिजोआज यसको खेती हुन छाडेपछि खान मन लागेमा अन्यत्र गएर किनेर ल्याउन बाध्य भएका छौँं ।”

उदयपुरगढी गाउँपालिका–४ डुम्रेका किसान बहादुर घले मगरले परम्परागत अन्नबाली गाउँघरबाट लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै भने, “विगतमा आफूहरूले घरबारीमा गहत, पाखाबारीमा चारैतिर जुनेलो खेती गर्दथ्यौँ । अहिले सबै युवा शिक्षा, रोजगारीलगायत कारणले गाउँ छाडेर सहर तथा विदेश जान थालेपछि गाउँमा कसले खेती गर्ने ? जग्गा सबै बाँझै रहन थाल्यो, काम गर्ने जागरिला युवा गाउँघरमा बस्दैनन् ।”

गाउँघरमा परम्परागत खेतीमा सक्रिय व्यक्ति वृद्ध हुनु, युवा कृषि पेसामा आबद्ध नहुनु तथा विदेश वा सहर जानुलगायत कारणले खेती बाँझो हुन थालेको ताप्ली गाउँपालिका–४ का बर्जबहादुर राईले बताए । खेती गर्ने युवा जनशक्तिको अभावमा हिजोआज जुनेलो, फापर, गहत जस्ता अन्नबाली उत्पादन हुने छोडेको उनले उल्लेख गरे ।

राईले भने, “करिब २० वर्ष अगाडिसम्म यहाँका पाखाबारीमा जुनेलो खेती बढी हुने भएकाले गाउँनै जुनेलो मय हुन्थ्यो । हिजोआज यसको खेती गर्ने बुढाबुढी अशक्त भए, कोही बितेर गए, युवाहरू जिल्ला बाहिर र विदेश जान थाले, गाउँ रित्तो हुँदै गयो ।”

जिल्लाको पहाडी क्षेत्रका अधिकांश डाँडापाखा, बारीहरूमा विगतमा प्रशस्त जुनेलो उत्पादन हुने गरे पनि हिजोआज जनशक्ति नहुँदा यसको खेती हुन छाडेको यहाँका कृषक बताउँछन् ।

विगतमा गाउँको पाखा तथा सुख्खाबारीमा अनिवार्य गहत तथा जुनेलोको उत्पादन गरिनेमा पछिल्लो समय युवाले खेतीप्रति चासो नदिनु र गाउँघरबाट युवा अन्यत्र पलाएन हुनुलगायत कारणले परम्परागत बाली लोप हुँदै गएका रौतामाई गाउँपालिकाका पूव अध्यक्ष गजेन्द्र खड्काले बताए ।

उनका अनुसार जुनेलो रौताको सल्ले, हात्तीपाइले र पोखरे क्षेत्रमा अझै पनि केही कृषकले उत्पादन गरिरहेका छन् । फापर र गहत भने लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

उदयपुरगढी गाउँपालिका दनुवारबेँसीका कृषक रितबहादुर तामाङले विगतमा गाउँघरमा फापर, जुनेलो उत्पादन गरेर अन्यत्र बिक्री गर्ने गरिएकामा हिजोआज खेती हुन छाडेपछि आफैँलाई खान पनि खोजेर ल्याउनुपर्ने अवस्था आएको बताए ।

जिल्ला कृिष ज्ञान केन्द्रका सूचना अधिकारी अनु बिसीले विगतमा जिल्लाको पहाडी क्षेत्रका गाउँघरमा उत्पादन हुने फापर, जुनेलो, गहत प्रशस्त उत्पादन हुने गरेकामा पछिल्लो समय र किसानले खेती गर्न छाडेका बताए । प्रत्येक वर्ष जिल्लाको पहाडी क्षेत्रमा अन्नबाली कोदोबाहेक अन्य परम्परागत बालीहरूको उत्पादन घट्दै गएको उनले जानकारी दिए । 

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

बाँके । बाँके जिल्लामा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका छन् । यो वर्ष गरिएको चरा गणनाको नतिजा अनुसार उक्त सङ्ख्यामा जलचर चरा भेटिएका हुन् ।

राप्तिसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ति नदीबाट सुरु गरिएको गणना तथा सर्वेक्षणमा थप ३२ प्रजातिका चरा भेटिएका चरा संरक्षणकर्मी आशिष चौधरीले जानकारी दिए । “जिल्लास्थित राप्ती नदीको कुसुमबाट अगैया क्षेत्र र विभिन्न ताल एवं नदीमा जलचर चराको गणना तथा सर्वेक्षण गर्दा यो वर्ष ३२ प्रजातिका थप चरा भेटिएका हुन्”, उनले भने, “अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ चराको सङ्ख्या बढेको छ ।”

चौधरीले कान्तितालमा हिउँदे आगन्तुक पानी चरा २० प्रजाति र जिल्लाभरि ३२ प्रजातिका भेटिएका जानकारी दिए । जलचरा संरक्षणका लागि सिमसार नदीनालाको संरक्षण र अन्य पूर्वाधार व्यवस्थापन प्रभावकारी बनाउन सके चराको सङ्ख्या थप वृद्धि हुने उनको भनाइ छ ।

चराविद् राम शाहीले पानी चराको बासस्थान र संरक्षणको अवस्थाका बारेमा विस्तृतमा सूचना तथा जानकारी प्राप्त हुने भएकाले चरा गणना गरिएको बताए । उनले बाँकेको राप्तीनदी तटिय क्षेत्र, सुतैया ताल, कान्तितालमा सिलसिले हाँस र जल कौवासँगै अन्य वकुला प्रजातिका चराका लागि बासस्थान सुरक्षित रहेको जानकारी दिए ।

“जलमा बस्ने चरा प्रजाति सुरक्षित तब हुन्छन् जब उनीहरूले बास गर्ने जलाशय सफा र स्वच्छ हुन्छ”, शाहीले भने, “यो वर्ष अघिल्लो वर्षको तुलनामा तालतलैया सफा भएकाले सिलसिले हाँस र जल कौवाको सङ्ख्या बढेको हो ।” ती चखेवासहित साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा रहेका उनले जानकारी दिए ।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले जलचर चराहरूको गणनाबाट यो वर्ष थप ३२ चरा प्रजातिका चराको सङ्ख्यामा वृद्धि भएको बताए । चराको मुख्य बासस्थानका रूपमा रहेको राप्तीनदी र कान्तिताललगायत जलाशय क्षेत्रमा मानवीय गतिविधि र प्रदूषण रोकथान गरेसँगै सङ्ख्या वृद्धि भएको उनको भनाइ छ । कान्तिताल महत्वपूर्ण सिमसार भएको बताउँदै चरा संरक्षण क्षेत्रका रूपमा यसलाई विकसित गर्नुपर्नेमा उनले जोड दिए ।

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले यो वर्षको हिँउदे मौसममा गरिएको चरा गणना र सर्वेक्षणमा नयाँ र चाख लाग्दा चरा भेटिएका बताए । उनले राप्तीनदीको आसपास क्षेत्र, स्थानीय वन, कान्तिताल र सुतैया तालमा आगामी वर्ष चराको सङ्ख्या वृद्धि गर्न उनीहरूको बासस्थानलाई सफा र सुरक्षित राख्न विशेष योजना बनाइने जानकारी दिए ।

बर्सेनि हुने सर्वेक्षण तथा गणनाबाट चराको बासस्थान व्यवस्थापनका लागि अपनाउनुपर्ने उपायका बारेमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । बर्दियामा पनि चराको सर्वेक्षण तथा गणना सकिएको छ । रैथाने चराको गरणा हुन बाँकी रहेको चरा संरक्षणकर्मी चौधरीले बताए । 

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ ।
      
बैठकमा विधयान व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त विधेयक पेस गरेकी हुन् । राष्ट्रियसभामा उत्पति भएको उक्त विधेयकमा दफाबार छलफलका लागि समितिमा पठाइएको थियो ।
       
उक्त विधेयकमा २९ जना सांसदले ७१ वटा संशोधन प्रस्ताव गरेका थिए । सभापति दाहालले विधेयकमा संशोधनसहित विज्ञहरुबाट सुझाव लिइएको र विधेयकको उद्देश्य आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि, आँखाका क्षेत्रमा नयाँ प्रविधिको विकास गर्न, गुणस्तरीय सेवा प्रदान गर्ने र सार्वजनिक विश्वविद्यालय सञ्चालन गर्ने रहेको सदनलाई जानकारी गराइन् ।

समितिले यही माघ १५ गते सो विधेयक समितिबाट पारित गरेको थियो । 

नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल तेस्रो खेलमा पनि पराजित भएको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो ।

नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १२५ रन मात्र बनायो । नेपालका लागि कप्तान इन्दु बर्माले ३० र सम्झना खड्काले २३ रन बनाइन् । पूजा महतोले १८ र कविता जोशीले १४ रन बनाइन् ।

यसअघि नेदरल्याण्ड्सले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १४० रन बनाएको थियो । यसअघि उद्घाटन खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो भने शनिबार भएको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको थियो ।

शेयर बजारमा ६९ अंकको वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । आइतबार नेप्से ६९.८० अंकले बढेर २७२७२.५८ विन्दुमा पुगेको छ । नेप्से परिसूचक उच्च अंकले बढ्दा १२ अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।

आइतबार २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँमा खरिदबिक्री भए । दोहोरो अंकले बढेको सेयर बजारमा आज ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

अध्यादेश प्रतिपक्षीसँग सल्लाह गरेर ल्याउनुपथ्र्योः वामेदव गौतम

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा सरकारले प्रतिपक्षलाई पनि साथ लिनुपर्ने बताएका छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा गौतमले अध्यादेश सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएपनि प्रतिपक्षीको सल्लाहमा जारी गर्नु उचित हुने बताएका हुन् ।

उनले अध्यादेश नानी बाबुहरूले घर पुतली खेले जस्तो विषय नभएको बताए । उनले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै सर्तहरू पूरा गर्नुपर्ने बताए । उनले भने, ‘अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना हो । तर प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै सर्तहरू पूरा गर्नुपर्छ ।’

गौतमले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने दाबी गरे । उनले समाजवाद ल्याउन नसकेको खण्डमा मृत्युदण्डका लागि समेत आफू तयार रहेको बताए ।

उनले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताए । उनले भने, ‘समाजवादको संरचना निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न चाहन्छु। मलाई मृत्युदण्ड दिइयोस् यदि समाजवाद निर्माण हुन सकेन भने ।’

राष्ट्रियसभाको बैठकमा सांसद भट्ट अकस्मात बिरामी परेपछि…

काठमाडौँ । राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चलान भइरहेका बेला अस्वस्थ भएका छन् । आसनग्रहण गरिरहेका अवस्थामा एक्कासी ढल्न खोजेपछि सभाअध्यक्ष नारायणप्रसाद दाहालले सांसद भट्टको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद भट्टलाई उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पुर्याइएको थियो ।

रक्तचाप र मधुमेहको समस्या देखिएका सांसद भट्टको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको र चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिहेको स्वास्थ्यकर्मी भीमराज सिंहले जानकारी दिए ।