`

सरकार र पाथीभरा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति

काठमाडौं । ताप्लेजुङको पाथीभरा(मुक्कुम्लुङ) मा केबलकार निर्माणको विरोधमा अन्दोलनरत पक्ष र सरकारबीच ६ बुँदे सहमति भएको छ ।

गृह मन्त्रालयबाट गठित वार्ताटोली र आन्दोलनरत पक्षका प्रतिनिधिका बीच मंगलबार भएको वार्तामा ६ बुँदे सहमति भएको हो । वार्तामा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ ।

सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति भएको छ । आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्न सरकार सहमत भएको छ ।

त्यस्तै मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने र मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न अर्को वार्ता माघ २७ गते बस्ने पनि दुई सहमति भएको छ ।

अब गल्ती सच्याएर अघि बढ्छौंः प्रचण्ड

म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन् ।

माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटी गरेको स्वीकार गरे ।

उनले भने, ‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, आफ्नो वर्ग र समुदायबाट केही टाढा हुनपुग्यौं । म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौं ।’

यस्तै, उनले पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए ।

उनले भने, ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौं बरु पछि गएर दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौं । अब जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डाका साथ अघि बढ्ने छौं । अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइनेछ । ०८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशब्यापी अभियानमा हिडेको छु र अब चाँडै सिंगो पार्टीपंक्ति देशव्यापी अभियानमा जुट्ने छ ।’

जेठ २ गतेदेखि सगरमाथा संवाद आयोजना गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले २०८२ साल जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संबाद आयोजना गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संबाद आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं उपत्यका मुकाम रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

बैठकले बालसुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधाविहीन बालकालिकाका लागि शैक्षिक कार्यक्रमबीच भएको सम्झौताको अवधि २०८२ साल असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ भने शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूका लागि चालू आर्थिक वर्षमा अधिकृत स्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

बैठकले विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१ स्वीकृत गरेको छ भने आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१, विशेष आर्थिक क्षेत्र (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ।

राष्ट्रपति पौडेल र बेलायती राजकुमारबीच जलवायु परिवर्तनको असरका विषयमा छलफल

काठमाडौँ । बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनी श्रीमती डचेस सोफी नेपाल भ्रमण आएका छन् ।

उनीहरूलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै आगमनका क्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरूले स्वागत गरेका थिए । नेपाल आएलगत्तै उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका छन् ।

भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।

‘जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ’, राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

त्यसक्रममा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौंमा ’जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुन गइरहेको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदै आएका नेपाल भ्रमणले दुई देशबीच रही आएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको बताए । साथै उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गरे ।

भ्रमणका क्रममा उनीहरू काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

‘ब्रिटिस–गोर्खा’ द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी

सोही अवसरमा राष्ट्रपति पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा–ब्रिगेडका’ प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरे  ।

राष्ट्रपति पौडेलले प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गर्दै ‘ब्रिटिस–गोर्खा’ द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी भएको बताए । “ब्रिटिस–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्वपूर्ण योगदान पुर्याएको छ”, राष्ट्रपति पौडेलले भने ।

उनले पूर्वब्रिटिस गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न गठन भएको ‘द्विपक्षीय संयन्त्र’ मा सकारात्मक छलफल भइरहेको विश्वास व्यक्त गरे ।

मक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर भइरहेका गतिविधिप्रति निजीक्षेत्रको आपत्ति, बन्द हड्ताल रोक्न आग्रह

काठमाडौं । नेपालका निजी क्षेत्रका तीनवटा संस्थाले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केबलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा भइरहेका विरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको सर्वसाधारणले सास्ती भोगनु परेको र यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुने बताएका छन्।

‘नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ। उद्योग, व्यापार, बैंकिङ, ऊर्जा, कृषि, पर्यटन, सञ्चारलगायत अन्य विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको छ। तर विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालाहहरूलाई यस विषयमा गम्भीर बन्न, विकास निर्माणको कार्यलाई सहज र निर्वाध रुपमा सञ्चालन गर्ने वानतावरण सिर्जना गर्न आग्रह गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ।

पर्यटनमा निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरिसकेको, हजारौँ नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको अवस्थामा पाथिभरा (मक्कुम्लुङ) मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने बद्धबृद्धा, अशक्त बालबालिकासहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउनुका साथै पूर्वाधार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्द्धन, कृषि, हस्तकलाको विकास मार्फत व्यवसायको प्रवर्द्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने र देशकै पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै केबलकार निर्माणका लागि स्थानीय तह र स्थानीय बासिन्दाहरू सहमत रहेको बन्नु पर्छ भन्ने धारणा राखिरहेको सन्दर्भमा केबलकार बन्न दिनु हँदैन भनेर बाह्य हस्तक्षेप सहित केबलकार निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद मात्र नभइ विकासको प्रवाहलाई रोक्ने प्रयासका रुपमा निजी क्षेत्रले लिएकोसमेत विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोध मात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुनुको साथै नेपालमा लगानी गर्ने लगानीकर्ताहरूलाई यसले नकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।

यस्तै उनीहरूले समस्याको समाधान वार्ताबाट गर्न सकिने जनाउँदै विकासको यो प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथिभरा (मक्कुम्लुङ) केबलकार परियोजनालाई सहज र निर्वाध रूपमा अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई निजी क्षेत्र हार्दिक अपिल गरेका छन्।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका कोशी र गण्डकी र कर्णाली प्रदेशका सभापतिरूले पनि आज छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस विषयमा महासंघ प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएका छन्।

उनीहरूले कोभिड महामारी लगायतका कारण संकटमा परेको अर्थतन्त्रको विकास गरी पुरानै अवस्थामा ल्याउनका लागि नेपाल सरकार र निजी क्षेत्र लागि परिरहेको अवस्थामा विकासका लागि भइरहेका प्रयासमा अवरोध हट्नु पर्ने धारणा राखेका छन्।

राज्यको नियम कानुन तथा प्रणालीले स्वीकृति तथा अनुमति प्रदान गरेर तथा स्थानीय नागरिकको भावना र चाहना बमोजिम नै निर्माणको काम सुरु गर्दैगर्दा उत्पन्न भएको बाह्य परिस्थितिले यो आयोजनालाई जे जसरी अवरोध उत्पन्न गर्न खोजिएको छ यसबाट नेपालको आर्थिक विकासका लागि अत्यावश्यक स्वदेशी एवं विदेशी लगानीका क्षेत्रमा पक्कै पनि सकारात्मक सन्देश दिएको छैन। उनीहरूद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै विज्ञपितमा देशका कैयौँ स्थानमा पर्यटन पूर्वाधारहरूको निर्माण गरी दशौँ हजार व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको तथा राजस्वका माध्यमबाट मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेको देशको व्यावसायिक ग्रुपको अगुवाइमा निर्माण हुन लागेको केबलकार आयोजनाका विरुद्धमा जेजस्ता क्रियाकलापहरू हाल देखिएका छन् त्यसले पक्कै पनि देशमा लगानीको वातावरण बनाउने नभएर भत्काउने काम गरिरहेको छ भन्ने हाम्रो बुझाइ रहेको उल्लेख छ।

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ। लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि आज औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए ।

“विसं २०२९ सालमा कम्पनी स्थापना भए पनि २०६४/६५ सम्म जिएमपीको प्रावधान थिएन, यो प्रावधान आएपछि कम्पनीले औषधि उत्पादन बन्द गरेको थियो”, उनले भने, “विसं २०७४ सालदेखि कम्पनीले सो मापदण्डमा औषधि उत्पादन सुरु गरेपछि आज मात्रै उक्त प्रमाणपत्र प्राप्त भएको हो ।

प्रमाणपत्र प्राप्त गर्नु आफैमा ठूलो उपलब्धी हो उनले बताए। हाल कम्पनीले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), ट्याबलेट र हेमोडालाईसस फ्लूइड (पार्ट-१ र २) अन्तर्गत १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।

कम्पनीले आगामी दिनमा दीर्घरोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधि उत्पादनका योजना बनाएको महाप्रबन्धक पनेरु बताए । सरकारबाट आवश्यक बजेट विनियोजन भए कम्पनीको योजनामा रहेका सबै ९८ वटा प्रकारका औषधि उत्पादन गर्न समेत सकिने उनको भनाइ थियो ।

दीर्घरोगीका लागि औषधि उत्पादन गर्न काठमाडौँ महानगरपालिकासँग सहकार्य सुरु भइसकेको उनले जानकारी दिए। “कम्पनी र काठमाडौँ महानगरपालिकाबीच दीर्घरोगीका लागि औषधि उत्पादनका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ, आजैमात्रै निर्णय भइ अनुसन्धानको काम सुरु भइसकेको छ”, उनले भने ।

निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियानलाई सफल पार्न सबैको साझा प्रयास आवश्यक भएको बताएका छन् ।

विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आज आयोजित देशव्यापी अभियानको शुभारम्भ गर्दै उनले निरोगी नेपाल अभियानलाई सफल बनाउन सम्बद्ध सबैको साझा प्रयास अपरिहार्य भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताउँदै नेपाली नागरिकलाई रोग र अभावबाट मुक्त गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए । उनले कोही बिरामी नहोउन् र बिरामी भइहालेमा सहज र गुणस्तरीय उपचारको प्रबन्ध होस् भन्नेमा सरकार सचेत रहेको समेत उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले निरोगी नेपालको केन्द्रविन्दुमा मानव जाति रहेकाले स्वच्छ र सन्तुुलित खाना मात्र खान सुझाए । उनले सबैको साझा प्रयासबाट कोरोना महामारीलाई पनि परास्त गरिएकाले पाठेघरको मुखको क्यान्सर निर्मूल गर्न सकिने बताए । साथै पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप लागाउने अधिकारबाट तोकिएका समूहका कोही पनि किशोरीहरु वञ्चित नहुुन् भन्ने प्रधानमन्त्रीले कामना गरे ।

आगामी फागुन ६ गतेसम्म सञ्चालन हुने देशव्यापी अभियानमा कक्षा ६ देखि १० कक्षा सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई यो खोप लगाउने लक्ष्य छ ।

महिला टी–२० शृंखलामा नेपालको लगातार चौथो हार

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृङ्खला अन्तर्गत आफनो चौथो खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो।

नेपालको लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन् । ३० बलको सामना गरेको उनले तीन चौका र एक छक्का प्रहार समेत गरिन् । त्यसअघि मैदानमा टस जितेर ब्याटिङ रोजेकको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएको थियो ।

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.०८ अङ्कले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ ।

आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर ९० हजार २०२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ मा कारोबार भएका छन् । आज जलविद्युत् र अन्य उपसमूहबाहेक अन्य उपसमूह घटेको छ ।

आज जोशी हाइड्रोपावर डेभलपमेन्ट बैंकको नौ दशमलव ९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आठ दशमलव २५ प्रतिशत, न्यादी हाइड्रोपावर लिमिटेडको आठ दशमलव १९ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ दशमलव १२ प्रतिशत र कालिका पावर कम्पनीको शेयर मूल्य आठ दशमलव ०५ प्रतिशतले बढेको छ ।

साथै आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ४५ खर्ब छ अर्ब १० करोड ९२ लाख सात हजार ९६१ पुगेको छ ।

चितवनमा रविविरुद्ध सहकारी ठगीको मुद्दा दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनमा ठगी मुद्दा दर्ता भएको छ ।

मंगलबार चितवन जिल्ला अदालतमा रविविरुद्ध सहकारी ठगीको मुद्दा दर्ता भएको हो । यसअघि उनीविरुद्ध यस्तै प्रकरणमा कास्की अदालत, काठमाडौं अदालत र रुपन्देही अदालतमा पनि मुद्दा दर्ता भइसकेको छ ।

चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित यो प्रकरणमा १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

१५ जना र ६ वटा संस्थाविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो । रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ ।

आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो

काठमाडौँ । टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ ।


घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरुको भविष्यसमेत सुखद नदेखिएको जानकारहरु बताउँछन् ।


कुनै समय कुल आम्दानीको झन्डै आधा रकम पूर्वाधार विकासमा खर्च गर्ने टेलिकम कम्पनीहरुले अहिले उक्त खर्चलाई १० प्रतिशतको हाराहारीमा सीमित गरेका छन् । ओभर द टप (ओटिटी) प्लेटफर्मलगायतका कारणले घट्दो आम्दानी, आवश्यक कानुनमा संशोधन नहुनु, चर्को नवीकरण शुल्क र सञ्चालनमा सहजीकरण नहुँदा टेलिकमले पूर्वाधारमा आवश्यक लगानी गर्न हिच्किचाइरहेको टेलिकम क्षेत्रका विज्ञहरुको बुझाइ छ । 


तथ्याङ्क हेर्दा टेलिकम कम्पनीहरुले सन् २००८ देखि २०१६ सम्मको अवधिमा पुँजीगत खर्चमा जोड दिएको देखिन्छ । यस अवधिलाई पुँजीगत खर्चका हिसाबले ‘हाइपर ग्रोथ’ भन्न सकिने विज्ञ बताउँछन् । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेल त्यो समय टेलिकम कम्पनीका लागि लगानीको समय भएको बताउँछन् । पुँजीगत खर्चको अवस्था सन् २०१७ सम्म पनि राम्रै थियो । त्यसपछि भने आम्दानीसँगै आवश्यक पुँजीगत खर्च पनि घट्न थालेको उनको बुझाइ छ । 


हाल सञ्चालनमा रहेको दुईवटा टेलिकम कम्पनीको आर्थिक वर्ष २०७३/७४ मा ९७ अर्ब ३० करोड थियो । आव २०७४/७५ मा आइपुग्दा एक दशमलव ४४ प्रतिशतले बढेर ९८ अर्ब ७१ करोड पुगेकामा त्यसयता आम्दानी निरन्तर ओरालो लागेको छ । नेपाल दूरसञ्चार प्राधिकणका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७९/८० मा आइपुग्दा करिब २६ प्रतिशतले ओरालो लागेर रु ७३ अर्ब १४ करोडमा सीमित भएको छ ।   


निरन्तरको लगानी


टेलिकम व्यवसाय अन्य क्षेत्रहरूको तुलनामा बढी पुँजीगत खर्च हुने क्षेत्रमा पर्छ । गुणस्तरीय सेवा प्रवाह, पूर्वाधार निर्माण, मर्मत तथा स्तरोन्नति, बिटिएस निर्माण, फाइबर अप्टिकल केबल, डाटा सेन्टर, स्पेक्ट्रम शुल्कमा निरन्तर ठूलो खर्च भइरहेको हुन्छ । टेलिकम सेवाका लागि रेडियो स्पेक्ट्रमबापत नेपास सरकारलाई शुल्क तिर्नुपर्ने हुन्छ, जुन निकै महङ्गो पर्छ । फोर जी र फाइभ जीलगायतका सेवा प्रवाहका लागि नयाँ स्पेक्ट्रम आवश्यक पर्छ । यसले पुँजीगत खर्च ह्वात्तै बढाउँछ । 


प्राधिकरणका पूर्वअध्यक्ष कँडेल टेलिकम क्षेत्रमा पुँजीगत खर्चको माग निरन्तर हुने बताउँछन् । “टेलिकम क्षेत्रमा हुने प्रविधिको विकास, सेवा विस्तार तथा गुणस्तर सुधारको काम निरन्तर चलिरहने भएकाले यसमा लगानी पनि प्रत्येक वर्ष आवश्यक छ, थ्री जीबाट फोर जी र त्यसबाट फाइभ जी प्रविधि ल्याउँदा कम्पनीहरुले ठूलो लगानी ल्याउनुपर्ने हुन्छ तर आम्दानी नै नभएपछि सोही अनुसारको लगानी भने ल्याउन नसकिरहेको देखिन्छ”, उनले भने । 


उनका अनुसार फाइभ जीका सेवाका लागि फोर जीको तुलनामा कम्तीमा तीन गुणा बढी खर्च हुन्छ । “नेपाल टेलिकमले रु १९ अर्ब खर्चेर फोर जी सेवा विस्तार गरेको थियो, फाइभ जीको हकमा त्यो झन्डै रु ६० अर्ब पुग्नसक्छ”, उनले भने, “फाइभ जी मात्रै होइन सेवा विस्तार र पूर्वाधार मर्मतसम्भारको खर्च धान्न अहिलेको आम्दानीले टेलिकम कम्पनीलाई समस्या हुन्छ ।” 


टेलिकम क्षेत्रमा पूर्वाधारको आयु औसत ५ देखि ७ वर्ष मात्रै हुने भएकाले पुँजीगत खर्च निरन्तर भइरहने उनको भनाइ छ । “यो यस्तो क्षेत्र हो, जहाँ पुँजीगत खर्च निरन्तर भइरहेको हुन्छ, एकपटक लगानी गरेर ढुक्क हुने अवस्था रहँदैन”, पूर्वअध्यक्ष कँडेलले भन्छन्, “सेवा विस्तार, नयाँ प्रविधिमा लगानी, स्पेट्रम, पूर्वाधार निर्माण तथा मर्मतसम्भारका लागि बर्सेनि ठूलो बजेट विनियोजन गर्नुपर्छ ।” 


दूरसञ्चारविज्ञ विशाल उपाध्याय टेलिकम क्षेत्रमा पुँजीगत खर्चको माग बढे पनि सो अनुसारको आम्दानी बढ्न नसकेको बताउँछन् । यो क्षेत्रमा अहिले पनि आम्दानीको १५ देखि २० प्रतिशत रकम पुँजीगत क्षेत्रमा गर्नुपर्ने अवस्था छ । जबकि उत्पादनमूलक क्षेत्रमा पाँचदेखि १० प्रतिशत, प्रविधि (हार्डवेयर तथा क्लाउड) मा पाँचदेखि १० प्रतिशत, रिटेल क्षेत्रमा दुईदेखि पाँच प्रतिशत र बैङ्किङ क्षेत्रमा आम्दानीको एकदेखि पाँच प्रतिशत मात्रै पुँजीगत खर्च गरे पुग्छ । 


अर्थतन्त्रमा असर


पुँजीगत खर्च कम हुँदाको प्रभाव मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा पनि पर्छ । विश्व बैङ्कको एक अध्ययनले पनि इन्टरनेट लगानीमा हुने प्रत्येक १० प्रतिशतको वृृद्धिले १.३ प्रतिशतको आर्थिक वृद्धि हुने देखाएको छ । आम जनसमुदायसम्म इन्टरनेट सेवा पुगेपछि यसको प्रभावबाट थप आर्थिक वृद्धि हुने उक्त फ्रेमवर्कमै उल्लेख छ । तर टेलिकम कम्पनीहरुको घट्दो पुँजीगत लगानीका कारण अपेक्षाकृत रुपमा इन्टरनेटको पहुँच विस्तार हुन नसक्ने देखिन्छ । तर लगानी नै घट्दो भएपछि त्यसले जिडिपीमा गर्न सक्ने योगदान बढ्न सक्ने देखिन्न ।


तथ्याङ्कअनुसार सन् २०१६ मा मुलुकको अर्थतन्त्रमा कूल तीन दशमलव नौ प्रतिशत टेलिकम क्षेत्रको योगदान रहेकामा सन् २०२३ मा आइपुग्दा एक दशमलव आठ प्रतिशतमा सीमित भएको छ । टेलिकम क्षेत्रको जिडिपीमा योगदान सन् २०१७ मा  तीन दशमलव चार प्रतिशत, सन् २०१८ मा तीन प्रतिशत, सन् २०१९ मा दुई दशमलव सात प्रतिशत, सन् २०२० मा दुई दशमलव चार प्रतिशत, सन् २०२१ मा दुई दशमलव दुई र सन् २०२२ मा एक दशमलव नौ प्रतिशतमा सीमित भएको छ ।


टेलिकम क्षेत्रको आम्दानी मात्रै होइन, यसबाट राज्यले पाउँदै आएको राजस्वमा पनि कमी आएको छ । आव २०७६÷७७ मा नेपाल टेलिकम र एनसेलले समग्रमा रु ६७ अर्ब ४८ करोड राजस्व बुझाएकामा आव २०७९÷८० मा आइपुग्दा रु २० अर्बले घटेर आएर रु ४७ अर्बमा सीमित भएको छ ।  


नेपाल दूरसञ्चार प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल तत्कालै कानुनमा संशोधन नगर्ने हो भने टेलिकम कम्पनीहरु सङ्कटमा पर्ने बताउँछन् । “टेलिकम कम्पनीहरुको आम्दानी निरन्तर घट्दो छ, यसको अर्थ उनीहरु सङ्कटमा पर्दैछन् भन्ने हो, खर्च बढिरहने तर आम्दानी कम हुँदै जाने हो भने यसले टेलिकम क्षेत्रलाई राम्रो गर्दैन”, उनले भने, “सरकारले तत्कालै उनीहरुका समस्या सम्बोधन नगर्ने हो भने समस्या सृजना हुन्छ ।” 


खनाल कुनै एउटा टेलिकमले पुँजीगत खर्च गर्दाको फाइदा उक्त कम्पनीका लागि मात्रै नभई समाजका सबै वर्गलाई हुन्छ । जस्तै एउटा टेलिकमको टावर राख्दा मात्रै पनि घरधनीले मासिक रुपमा भाडा पाउँछन्, राज्यले कर पाउँछ, त्यसबाहेक आम नागरिकले टेलिफोन र इन्टरनेटको सेवा पाउँछन् । टेलिफोन र इन्टरनेटका माध्यमबाट हुने लाभ त छँदैछ । त्यसैले पूर्वाधारमा लगानी गर्नका लागि पनि कम्पनीहरुले पहिले कमाउनु जरुरी भएको उहाँको बुझाइ छ । पूर्वनिर्देशक खनाल अहिले बजारमा तेस्रो टेलिकम कम्पनीको सम्भावना भए पनि टेलिकम कम्पनीहरुको घट्दो आय र बढ्दो खर्चका कारण तत्काल नै नयाँ प्रतिस्पर्धी आउनेमा भने शङ्का रहेको बताउँछन् ।


नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले नयाँ बन्न लागेको दूरसञ्चार ऐनको मस्यौदामा आफूहरूले यस प्रकारको समस्या समाधान हुने गरी सुझाव दिएको बताउँछिन् । उनका अनुसार नयाँ ऐनमार्फत आवश्यक संशोधन नहुने हो भने टेलिकम कम्पनीहरु समस्यामा पर्छन् । “टेलिकम क्षेत्रले अहिले भोगिरहेका समस्या समाधानका लागि नयाँ ऐन निर्माण जरुरी छ, हामीले यसमा आवश्यक सुझाव पनि दिइसकेका छौँ, नयाँ ऐन निर्माणपछि अहिलेका अधिकांश समस्या समाधान हुनेछ भन्ने विश्वास छ”, उनले भनिन् । 


टेलिकम सेवाप्रदायक एनसेलका अनुसार अहिले टेलिकम कम्पनीहरुको कुल आम्दानीको तुलनामा पुँजीगत खर्च बढी गर्नुपर्ने अवस्था छ । कुल आम्दानीको ४८ प्रतिशत राजस्व विभिन्न शीर्षकमा सरकारलाई बुझाउनुपर्छ । १३ प्रतिशत मूल्य अभिवृद्धि कर, १० प्रतिशत सेवा शुल्क र दुई प्रतिशत स्वामित्व कर गर्दा कुल २१ दशमलव २ प्रतिशत करमै जान्छ । बाँकी रकमबाट सञ्चालन खर्च, स्पेक्ट्रम शुल्क, रोयल्टी शुल्क र ग्रामीण दूरसञ्चार कोषमा बुझाउनुपर्ने चार प्रतिशत रकम कटौती गर्दा रकम ३८ प्रतिशत रकम बचत हुन्छ । त्यसबाट लागत कट्टा, वित्तीय खर्च, अनुमतिपत्र नवीकरण शुल्क र किस्ता ऋणको तिर्दा औसतमा आठ प्रतिशत मात्रै रकम बाँकी रहन्छ । त्यसमा पनि संस्थागत कर तिरेपछि पाँच प्रतिशत रकमलाई नाफा मान्न सकिन्छ ।


“केही वर्षअघिसम्म पाँच प्रतिशत भए पनि रकममा ठूलो थियो, टेलिकम सेवा प्रदायकको आम्दानी नै करिब एक खर्ब थियो तर अहिले आम्दानी नै झन्डै २५ प्रतिशतले ओरालो लागिसकेको छभने आगामी वर्षमा अझ घट्ने अध्ययनले देखाएको छ”, दूरसञ्चार विज्ञ उपाध्यायले भने । टेलिकम कम्युनिकेसन पनि खानेपानी, विद्युत्, फोहोर व्यवस्थापनलगायत जस्तै सार्वजनिक सेवा भएको उल्लेख गर्दै उहाँले मुद्रास्फीतिकै आधारमा शुल्क वृद्धि गर्न आवश्यक रहेको बताउँछन् । यद्यपि अन्य सेवामा जस्तो यस टेलिकम कम्पनीहरुले भने हालसम्म मुद्रास्फीतिकै आधारमा शुल्क वृद्धि पाएका छैनन् ।


वार्षिक ६ अर्ब लगानी आवश्यक


टेलिकम क्षेत्रका विज्ञहरु टेलिकम क्षेत्रलाई यही अवस्थामा निरन्तर सञ्चालनका लागि वार्षिक रुपमा ६ अर्बको पुँजीगत खर्च आवश्यक रहेको बताउँछन् । तर टेलिकम कम्पनीले आम्दानी र नाफा घट्न थालेपछि पुँजीगत खर्च पनि घटाउँदै लगेका छन् । पछिल्लो वर्षहरुमा भ्वाइसबाट आम्दानी घटिरको छभने डाटा सेवामा उत्साहजनक वृद्धि भएको पाइँदैन र सेवा प्रदायकहरुले आफ्ना सेवाका शुल्कहरु परिमार्जन गर्दै बढाउन पनि सकेका छैनन् । “आजका दिनमा सेवा सञ्चालन गरिराख्नका लागि मात्रै पनि वार्षिक ६ अर्ब लगानी आवश्यक छ तर अहिले त्योभन्दा कम खर्च भइरहेको छ, यदि आम्दानी नबढ्ने हो भने टेलिकम क्षेत्रले सेवा विस्तार र गुणस्तर सुधारमा खर्च गर्न नसक्ने अवस्था रहन्छ”, प्राधिकरणका पूर्वनिर्देशक खनाल भन्छन् ।

म्यानमा विद्रोही समूहद्वारा हत्याको स्वीकारोक्ति

याङ्गुन । म्यानमाको एक विद्रोही समूहले शुक्रबार आफ्ना सदस्यहरूले देशको पश्चिमी सिमानामा नियन्त्रण कायम राख्न सत्तारूढ जुन्तासँग लडिरहेको बेला घातक हिंसाको दुर्लभ स्वीकार गर्दै दुई कैदीको हत्या गरेको बताएको छ ।

गत वर्षको फेब्रुअरीमा रखाइन राज्यको क्युकताउ बस्तीमा अराकान आर्मी (एए) को आक्रमणका क्रममा ‘सैन्य अनुशासन उल्लङ्घन’ गरेको घटना भएको आतङ्कवादी समूहका प्रवक्ता खैङ थु खाले बताए ।

“हाम्रा स्थानीय (एए) मिलिसियाहरूले आफ्नो क्रोध नियन्त्रण गर्न सकेनन् र म्यानमाका आतङ्कवादी सेनाका सिपाहीहरूले उनीहरूका परिवारलाई अन्यायपूर्वक पक्राउ गरी, यातना दिई र हत्या गरेको प्रतिशोधमा अपराध गरे”, उनले भने ।

सामाजिक सञ्जालमा प्रसारित दुई मिनेटको भिडियो क्लिपमा केही एए वर्दी लगाएका र हतियार बोकेका लगभग सात जना मानिसले भुइँमा रहेका दुई सर्टविहीन मानिसलाई लात हानेको र कुटपिट गरेको देखिन्छ ।

अर्को भिडियोमा तिनै कथित हत्याराहरूले खुकुरी जस्तो चक्कुले कैदीहरूको घाँटी काटेको देखिन्छ ।

खैङ थु खाले शुक्रबार भिडियोहरू प्रामाणिक भएको र अपराधीहरू एए जातीय सशस्त्र समूहका सदस्य भएको स्वीकार गरे ।

म्यानमाको पश्चिममा रहेको रखाइन राज्य जातीय र धार्मिक विभाजनले ग्रस्त छ ।

सन् २०१७ मा सेनाले गरेको रक्तपातपूर्ण कारबाहीले करिब सात लाख ४० हजार रोहिङ्ग्या मुसलमानलाई सीमा पार गरेर बङ्गलादेश प्रवेश गर्न बाध्य पारेपछि यो राज्य विश्वको ध्यानाकर्षणमा आएको थियो ।

सन् २०२१ मा लोकतान्त्रिक रूपमा निर्वाचित आङ सान सुकीको नागरिक सरकारविरुद्ध सैन्य जुन्ताले देशलाई नियन्त्रण लिएको थियो ।

एएले जातीय रखाइन जनताका लागि थप स्वायत्तताको लागि लडिरहेको बताएको छ । यी जनसङ्ख्यालाई रोहिङ्ग्याको निष्कासनमा सेनालाई सहयोग गरेको पनि आरोप लगाइएको छ ।

विद्रोही समूहले डिसेम्बरमा बङ्गलादेश सीमा नजिकैको एक प्रमुख क्षेत्रमाथि पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको थियो । यसले देशभर विपक्षीहरूसँग लडिरहेको जुन्तामाथि थप दबाब खडा गरेको छ ।

मानवअधिकार सङ्गठन फोर्टिफाई राइट्सले बिहीबार प्रकाशित एक प्रतिवेदनमा हत्यासँग सम्बन्धित एएद्वारा गरिएका युद्ध अपराधको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) लाई आह्वान गरेको छ ।

खैङ थु खाले एएले घटनामा संलग्न सबैको पहिचान गरी दण्डित गरेको र समूहले गैरकानूनी हत्यालाई स्वीकार नगर्ने बताए ।

ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता ह्वाइट हाउसको भ्रमण गर्ने तयारी भएको ह्वाइट हाउसका एक अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

जनवरी २७ मा दुई नेताबीच हालैको टेलिफोन वार्ताको केही दिनपछि यो निमन्त्रणा आएको हो । टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो-प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतालाई जोड दिएका थिए ।

जनवरी २७ को कुराकानीमा ट्रम्पले आप्रवासनको बारेमा कुरा गरे भने भारतले थप अमेरिकी–निर्मित सुरक्षा उपकरणहरू किन्ने र द्विपक्षीय व्यापारिक सम्बन्धको महत्त्वमा जोड दिए ।

“दुई नेताले सहकार्य विस्तार र गहिरो बनाउने विषयमा छलफल गर्नुभएको छ, उहाँहरूले इन्डो–प्यासिफिक, मध्यपूर्व र युरोपको सुरक्षासहित विभिन्न क्षेत्रीय मुद्दामा पनि छलफल गर्नुभएको छ”, वार्तापछि ह्वाइट हाउसको वक्तव्यमा भनिएको छ, “राष्ट्रपतिले भारतले अमेरिकी निर्मित सुरक्षा उपकरणको खरिद बढाउने र निष्पक्ष द्विपक्षीय व्यापारिक सम्बन्धतर्फ अघि बढ्ने महत्त्वलाई जोड दिनुभयो ।”

नेताहरूले प्रधानमन्त्री मोदीको ह्वाइट हाउस भ्रमणको योजना र इन्डो–प्यासिफिक क्वाड साझेदारीको बारेमा पनि छलफल गरे । भारतले यस वर्ष पहिलो पटक क्वाड नेताहरूको आतिथ्यता गर्दैछ ।

विशेष गरी दुई देशको महत्त्वपूर्ण व्यापार सम्बन्ध छ । द्विपक्षीय व्यापार सन् २०२३–२४ मा एक खर्ब १८ अर्ब अमेरिकी डलर नाघेको छ र भारतले ३२ अर्ब अमेरिकी डलरको व्यापार बचत हासिल गरेको छ ।

चीनको प्रतिरोध गर्ने प्रयासमा संयुक्त राज्य अमेरिकाको रणनीतिक साझेदार भारत अमेरिकासँग व्यापारिक सम्बन्ध बढाउन र आफ्ना नागरिकहरूलाई कुशल श्रमिक भिसा प्राप्त गर्न सहज बनाउन उत्सुक छ ।

प्रधानमन्त्री मोदी ट्रम्पलाई पुनः निर्वाचित भएकोमा बधाई दिने पहिलो नेतामध्ये एक हुन् । उनले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भएकोमा साथै काँग्रेसको चुनावमा रिपब्लिकन पार्टीको सफलताका लागि बधाई दिँदै नोभेम्बर ६ मा उनीसँग टेलिफोन कुराकानी पनि गरेका थिए ।

प्रधानमन्त्री मोदी र ट्रम्पबीच न्यानो र मैत्रीपूर्ण सम्बन्ध छ । दुई नेताबीचको यो मैत्रीपूर्ण सम्बन्धले विभिन्न वैश्विक मुद्दाहरूमा भारत र अमेरिकाको एकजुट देखाएको छ ।

यो भ्रमण भारत फिर्ता पठाइने आप्रवासीहरू बोकेको एक अमेरिकी सैन्य विमान उडेको केही घण्टापछि आउँदैछ । यो ट्रम्प प्रशासन अन्तर्गत यस्ता उडानहरूको सबैभन्दा टाढाको गन्तव्य हो ।

रोयटर्सका अनुसार अमेरिकी उत्पादनहरूमा भारतको उच्च शुल्कलाई उदृत गर्दै ट्रम्पले विगतमा धम्की दिएको शुल्कबाट बच्न पनि भारत उत्सुक छ ।

हलेसी तुवाचुङमा घरेलु मदिरालाई औद्योगिकीकरण गर्न प्रवर्द्धनको काम सुरु

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सी (घरेलु मदिरा)लाई औद्योगिकीकरण गर्ने गरी प्रवद्र्धनको काम सुरु गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित पेयपदार्थको प्रयोगमा कमी ल्याउने लक्ष्यका साथ वैधानिक रुपमा घरेलु मदिरा उत्पादन गर्न नगरपालिकाले कार्यविधि बनाएर प्रवद्र्धनको काम सुरु गरेको हो ।

परापूर्वकालदेखि उत्पादन तथा प्रयोग हुँदै आएको स्थानीय मदिरालाई व्यावसायिकीरण गर्दै नगरवासी महिलाको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ‘लोकल रक्सी औद्योगिकीकरण कार्यक्रम’ अघि सारिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

“घरेलु मदिरा उत्पादनका लागि नगरभित्रका सहकारी, होमस्टे सञ्चालन गरिरहेका समूह, दर्ता भएका आमा समूह, महिला समूह वा अन्य समूहलाई मात्रै अनुमति प्रदान गरिएको छ, स्थानीय कच्चा पदार्थ कोदो प्रयोग गरेर उत्पादन गरिने घरेलु मदिरा स्वास्थ्यका लागिसमेत कम हानिकारक छ”, उनले भनिन्, “गुणस्तरयुक्त रक्सी उत्पादन, ब्रान्डिङ तथा बिक्री–वितरणका लागि नगरपालिकाले घरेलु मदिरा उत्पादन तथा उपयोग कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको हो, घरेलु मदिरा प्रवर्द्धन कार्यक्रमले नगरवासी महिलाको आयआर्जनमा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।”

मदिरा उत्पादनलाई औद्योगिकीकरण गर्दै उत्पादित मदिरा उपयोगसम्बन्धी निर्माण गरिएको कार्यविधि नगरसभाबाट पारित गरेर पहिलो चरणका लागि नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको छ । घरेलु मदिराको कच्चापदार्थ, भाँडा खरिद, ‘बोटलिङ’ तथा ‘सप्लाइ’मा ८० प्रतिशतसम्म नगद अनुदान दिनेगरी पहिलो चरणमा १० लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ मदिरालाई व्यवस्थित रुपमा उत्पादन तथा बिक्री–वितरणको काम सुरु गर्ने पहिलो स्थानीय सरकार बनेको छ । त्रिधार्मिकस्थल हलेसी आसपासमा सञ्चालन भइरहेका घरबास ‘होमस्टे’मा खपत गर्ने उद्देश्यसहित नगरपालिकाले घरेलु मदिरा उत्पादन गर्ने र बिक्री–वितरण गर्नेगरी प्रवद्र्धन कार्यक्रम ल्याएको हो ।

नगरपालिकाले बनाएको कार्यविधिमा उत्पादकहरुले होमस्टेमा मात्रै आफूले उत्पादन गरेका मदिरा बेच्न पाउनेछन् । उत्पादित मदिरा होमस्टेबाट मात्रै बिक्री–वितरणको व्यवस्था हुने नगरपालिकाले जनाएको छ । होमस्टेबाट किनेर कोसेली वा बिहे, पास्नीजस्ता सांस्कृतिक कार्यमा प्रयोग गर्न सकिने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा उल्लेख भएअनुसार एक व्यक्तिलाई मात्र मदिरा उत्पादन गर्ने इजाजत दिइने छैन ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाका जनजाति महिलाले परापूर्वकालदेखि घरेलु मदिरा उत्पादन गरेर घर खर्च जुटाउने गरेका छन् । नगरको घरेलु मदिरा उत्पादन तथा उपयोगसम्बन्धी कार्यक्रमले घरेलु मदिरा उत्पादन गर्दै जीविका चलाइरहेका महिला बढी लाभान्वित हुने देखिएको नगर प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरणमा कानुनी झन्झट खेप्दै आएका जनजाति महिला नगरपालिकाले कार्यविधि नै पारित गरेर औद्योगिकीकरणको काम थालेपछि हर्षित भएका छन् । जिल्लाका अन्य स्थानीय तहका जनजाति महिलाले घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण गरिरहेका छन् । उनीहरुका लागि अहिलेसम्म अन्य स्थानीय तहले कार्यविधि निर्माण तथा प्रवद्र्धनको काम थालेका छैनन् ।

माझ किरात भनेर चिनिने खोटाङमा सांस्कृतिक कार्य (कुलपितृ, विवाह, मृत्यु, छेवर, पास्नी गुन्यूचोली आदि)मा समेत कोदोको रक्सी प्रयोग गर्ने गरिएको छ । स्थानीय कच्चापदार्थ कोदोबाट उत्पादन गरिने मदिरालाई प्रवद्र्धन गर्न सकेमा जिल्लाको आर्थिक आयस्तर वृद्धिमा समेत सघाउ पुग्ने आकलन गरिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वार्षिक ६१ करोडभन्दा बढीको आयातित मदिरा खपत हुँदै आएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन आचार्यले जानकारी दिए । आयातित मदिरासँगै अन्य पेयपदार्थसमेत सोही अनुपातमा खपत हुँदै आएको छ ।

पछिल्लो समय आयातित पेयपदार्थ प्रयोगमा न्यूनीकरण गर्न जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने स्थानीयले स्वतःस्फूर्तरुपमा प्रतिबन्ध लगाउने कार्य सुरु गरेका छन् । जिल्लाका कतिपय ठाउँका स्थानीयले आयातित पेयपदार्थ सेवन गरेको पाएमा जरिवाना गर्ने निर्णय गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयातित पेयपदार्थ प्रतिबन्ध लगाउने निर्णय पहिलोपटक उल्लङ्घन गर्नेलाई पाँच हजार, दोस्रो पटक गर्नेलाई सात हजार र तेस्रो पटक पनि उल्लङ्घन गर्नेलाई १० हजारसम्म जरिवाना गर्ने गरिएको छ । आयातित पेयपदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्नाका साथै फजुल खर्च भएको भन्दै स्थानीयले प्रतिबन्ध लगाउन थालेका हुन् । 

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ । गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ ।

कार्यक्रमअन्तर्गत पौवादुङमाका छ वटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एक/एक वटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। वितरण गरिएको कुखुरा पालेर उनीहरुले आवश्यक रुपमा अण्डा, मासुको रुपमा प्रयोग गर्न सक्ने अध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाले सुत्केरी, गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरेर यो कार्यक्रम नियमित रुपमा सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए ।

कार्यक्रमअन्तर्गत वर्षमा एकपटक कुखुरा वितरण गरिेने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । वितरण गरिएको पोथी भने उनीहरुले दुई वर्षसम्म पाल्नुपर्ने नियम छ । गर्भवतीले प्रत्येक पटक स्वास्थ्य संस्थामा जाँच गराएवापत एक क्यारेट अण्डासमेत वितरण भइरहेको उपाध्यक्ष राईले बताए ।

कार्यक्रमअन्तर्गत सोमबार पौवादुङमा पाँच सानोदुम्माका १२ जना गर्भवती तथा सुत्केरीलाई एक/एक वटा भाले र दुई वटा अण्डा दिने पोथी वितरण गरिएको छ ।

ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो

भोजपुर । औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ ।

पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र टक (डोली पैसा) छाप्ने टक्सार बजार केही वर्षयता सुनसान छ । यहाँ निर्माण भएका धातुका सामानहरु देश विदेशमा परिचित छन् । राणाकालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक बजार हो टक्सार ।

सदरमुकाम नजिकै रहेको टक्सार कुनै समय व्यापारिक केन्द्रको रुपमा स्थापित बजार पनि हो । यस बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बुढापाकाहरुले बताउने गरेका छन् । १८७२ सालदेखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य रहेको स्थानीयवासी किशोरकुमार ताम्राकारले बताए । यहाँ खानी अड्डा स्थापना गरेर तत्कालीन समयमा पाटनबाट ल्याइएका कालिगडले फलाम र तामाका डोली पैसा बनाउने गरेको उनले जानकारी दिए । अहिले पनि ती पैसाहरु पाउन सकिने उनको भनाइ छ ।

यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका (टक डोली) पैसा राणाकालमा प्रचलित थियो । यहाँ टक काट्ने पहिलो कालिगड देवदत्त शाक्य रहेको ताम्राकारले जानकारी दिए । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यस स्थानमा भित्र्याएका थिए ।

‘यो स्थान टक अर्थात् पैसा बनिने रुपमा चिनिन्छ,’ उनले भने, ‘अहिले पनि यहाँ बनेका टक पाउन सकिन्छ । त्यति मात्र हैन यो स्थान औद्योगिक क्षेत्रको रुपमा समेत परिचित थियो । यहाँका अधिकांश घरमा धातुका सामग्रीहरु निर्माण हुन्थ्यो । तर अहिले यो पेसा पनि लोप हुने अवस्थामा पुगेको छ भने बजार सुनसान बन्दै गएको अवस्था छ ।’

तत्कालीन नेपाल सरकारले १८७२ सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामसहितका पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन गर्न टक्सारमा खानी अड्डा स्थापना गरेको थियो । टक्सारमा टक छाप्ने पेसा शाक्य वंशले गर्दै आएको ताम्राकार बताउँछन् । पैसा काटेर बढी भएको धातु यहाँका कालिगडलाई दिएर धातुका सामग्री बनाउने कामको थालनी भएको उनको भनाइ छ ।

त्यतिबेला यहाँका हरेक घरमा धातु उद्योग तथा धातुका सामग्री बिक्री हुने गर्दथ्यो । ‘यहाँ १८७२ सालमा खानी अड्डा स्थापना गरेर टकमारी गरेको देखिन्छ’, उनले भने, ‘यहाँ पूर्वी क्षेत्रबाट खनिज पदार्थ सङ्कलन गरेर टकमारी गरेको पाइन्छ । टक काटेर बढी भएको धातुलाई यहाँका स्थानीयलाई दिएर धातुका सामग्री बनाउने कामको थालनी भएको देखिन्छ । विभिन्न सरकारी अड्डाहरु स्थापना भएपछि यहाँ बस्ती विस्तार भएको पाइन्छ ।’

विसं २०१३ मा राजा महेन्द्रले टक्सारलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको उनले जानकारी दिए । त्यो समयमा यहाँ दुईदेखि ३०० परिवारको बसोबास रहेको थियो । त्यतिबेला बजारमा मानिसहरुको चाप धेरै हुने गरेको स्थानीयवासीको भनाइ छ । २००७ सालपछि यहाँ रहेका सरकारी अड्डा भोजपुर बजारमा स्थानान्तरण गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको यहाँका जानकारहरु बताउँछन् ।

टक्सारमा बनेका हस्तकलाका सामग्री भूटान, चीनको तिब्बत, भारतको दार्जलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो । यहाँ रहेका हस्तकलाका धातुका सामग्री बन्ने उद्योगहरु पनि बर्सेनि बन्द भइरहेका छन् । यहाँका कालिगडहरुले हातेउद्योगको सहायताले बनाएका काँसका थाल, करुवा, आङ्खोरा, बोकुटालगायत सामग्री अहिले पनि देश–विदेशमा परिचित छन् ।

दशकौँ अघिसम्म दर्जनौँको सङ्ख्यामा रहेका धातु उद्योग अहिले पाँचवटामा समिति भएको स्थानीय कालिगड विमल शाक्यले बताए । यी उद्योगहरुले बजारको मागलाई धान्न समस्या रहेको उनको भनाइ छ । यसलाई पुस्तान्तरण नगरिएमा पेसा नै सङ्कटमा पर्ने अवस्था रहेको उनले बताए । यो पेसाप्रति मानिसको चासो हराउँदा पछिल्लो समयमा आएर टक्सारको मौलिकतासँगै ऐतिहासिक महत्व मेटिने अवस्था आएको उनको भनाइ छ ।

‘टक्सार धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बजार हो’, उनले भने, ‘तर यो बजार सुनसान बन्दै गएको अवस्था छ । विगतमा दर्जनौँको सङ्ख्यामा रहेका धातु उद्योग पाँचवटामा सीमित छन् । यहाँ उत्पादन भएका धातुका सामग्रीको धैरै माग हुन्छ तर हामीले बजारको मागलाई धान्न सकेका छैनौँ ।’

एक समयमा ‘सानो पाटन’ को नामले समेत परिचित यो ठाउँमा रहेका कलात्मक घरहरु पनि भत्किँदै गएका छन् । यहाँको मौलिकता बोकेका धातु उद्योगहरु धमाधम बन्द भइरहेको स्थानीयवासी सुर्जबहादुर उदासले बताए । बसाइँसराइका कारण टक्सारको अतिस्व मेटिँदै गएको उनको भनाइ छ ।

कोइलालगायत कच्चा सामग्रीको अभावका कारण पनि धातु उद्योग सङ्कटमा परेको उनले बताए । ‘टक्सार पूर्व क्षेत्रको एक ऐतिहासिक बजार हो’, उनले भने, ‘तर यो बजारको ऐतिहासिकतासँगै मौलिकता पनि हराउँदै गएको छ ।’ मुख्य रुपमा बसाइँसराइका कारण यो बजार खण्डहर बन्दै गएको अवस्था छ । अधिकांश कलात्मक घर प्रायः खाली छन्भने कतिपय घरहरु भत्किसकेका छन् ।

टक्सारका पम्परागत धातु उद्योग बन्द हुँदा भोजपुर जिल्लाकै चिनारी धमिलिँदै बन्दै गएको उदासले बताए । घर अलपत्र छाडेर यहाँका मानिसहरु काठमाडौँ, धरान विराटनगरलगायत ठाउँमा बस्दै आएको उनको भनाइ छ । यहाँका करिब ५० देखि ६० प्रतिशत मानिसहरु घर छाडेर अन्यत्र बसाइँ गइसकेको उदासले बताए । ‘टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक बजार हो,’ उदासले भने, ‘मिनी पाटन उपनामले चिनिएको यो बजार बसाइँसराइको कारण उजाड बनेको छ । कलात्मक शैलीमा निर्माण गरिएका मठमन्दिर पनि जीर्ण बनेका छन् । बजार सुनसान छ ।’

राणाहरूले टक्सारबाट डोली पैसा चलाएको समयमा नै यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्तिहरू बनाइएको स्थानीय बुढापाकाहरु बताउँछन् । तत्कालीन समयमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर टकसँगै विभिन्न सामग्रीहरु निर्माण गरिन्थ्यो । इतिहास अनुसार १६औँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत रहेको पाइन्छ । माझ किरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यति बेला यहाँ थुप्रै माल, अड्डा अदालतहरु पनि खोलिएको स्थानीय जानकारहरुको भनाइ छ ।

अहिले आएर टक्सारवासी आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजार सुनसान बनेकोे स्थानीयवासी रोशन शाक्यले बताए । पिता पुर्खाले गरी ल्याएको पेसाको निरन्तरतास्वरुप आफूले अहिले धातुका सामग्री बनाउने काम गरिरहेको उनको भनाइ छ । त्यो समयका यहाँ बसोबास गर्ने हुनेखाने वर्ग अन्यत्र गएपछि बजारको थप विकास तथा विस्तारमा बाधा पुगेको उनको भनाइ छ ।

बसाइँ सरेर गएका मानिसहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका त्यस्ता घरहरु जीर्ण बनेको भोजपुर नगरपालिका–१२ टक्सारका वडाध्यक्ष देवी कार्कीले बताए । यहाँको ऐतिहासिकतालाई बचाई राख्न वडाका तर्फबाट आवश्यक काम गरिरहेको वडाध्यक्ष कार्कीको भनाइ छ । मुख्य रुपमा यहाँका धातुका सामग्री बनाउने पेसालाई संरक्षण गर्न आवश्यक रहेको उनले बताए । विगतमा धेरैको सङ्ख्यामा रहेको धातु उद्योग अहिले लोप हुँदै गएको वडाध्यक्ष कार्कीले भनाइ छ । ‘यहाँ परम्परागत रुपमा गरिँदै आएको धातुका सामग्री बनाउने उद्योगहरु बन्द हुँदै गएका छन्,’ वडाध्यक्ष कार्कीले भने, ‘अहिले थोरैको सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा छन् । मुख्य रुपमा बसाइँसराइका कारण टक्सार बजारको विकास हुन सकेको छैन ।’

यहाँको घर छाडेर काठमाडौँ विराटनगरलगायत सहरमा बस्नेहरुले हालसम्म पनि घरजग्गा अलपत्र छाडिदिँदा बस्ती विस्तारमा समस्या रहको उनको भनाइ छ । ‘धेरैले घर छाडेर हिँडेका छन्,’ उनले भने, ‘ती छाडिएका घरहरु भत्किन थालेको अवस्था छ । नयाँ बस्ती विस्तार हुन सकेको छैन ।’ यहाँको सौन्दर्यलाई ध्यानमा राख्दै भावी दिनका कामलाई अघि बढाउने उनले बताए । टक्सारमा शाक्यमुनि बौद्ध विहार रहेको छ । यो बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुन सकेको छैन । टक्सार बजार भोजपुर सदरमुकामबाट करिब दुई किलोमिटरको दूरीमा अवस्थित छ ।

यहाँ नजिकै टक्सार विमानस्थल छ । टक्सार बजारका धातु उद्योगहरुलाई ब्युँताएर यस बजारको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीहरुलाई अभिप्रेरित गर्नुपर्ने खाँचो रहेको स्थानीय जानकारहरु बताउँछन् । यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी देखिएको छ । अहिले बजारको मागलाई यहाँका उद्योगहरुले धान्न सकिरहेका छैनन् । बजारमा जनघनत्व घटेसँगै विभिन्न खालका धातुका सामग्री बनाउने जनशक्ति बाहिर पलायन भएपछि यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ ।

बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौंमा

काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन् । मंगलबार बिहान बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

राजकुमार एडवार्ड भने अर्को फ्लाइटमा आजै दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ । नेपाल भ्रमणमा क्रममा राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेललाई आजै साँझ भेट्ने कार्यक्रम छ । सोफिया विमानस्थलबाट सिधै लैनचौरस्थित बेलायती दूतावास पुगेकी छिन् ।

राजकुमार काठमाडौं आएपछि उनीहरू दुवैजना अपरान्ह चार दुवै जना राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।

प्रधानमन्त्री ओलीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेका छन् ।

बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरे ।

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।

पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलोमा भाइरस सङ्क्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर एक लाख ६४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० मा कारोबार भएको थियो ।

गृहमन्त्रीद्वारा केबलकार निर्माणमा देखिएका समस्याबारे कांग्रेसका कोशी प्रदेशका १४ जिल्ला सभापतिहरू छलफल

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण सम्बन्धमा देखिएका समस्याबारे कांग्रेसका कोशी प्रदेशका १४ जिल्ला सभापतिहरू छलफल गरेका छन् ।

केबलकार निर्माणबारे देखिएका विवादबारे गृहमन्त्रीले मंगलबार बिहान जिल्ला सभापतिहरूसँग छलफल गरेका हुन् । गृहमन्त्री लेखकले विवाद देखिनुको कारण र समाधानका उपायबारे नेताहरूसँग जिज्ञासा राखेका थिए ।

जिल्ला सभापतिहरूले संवादबाटे समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा सरकारले आन्दोलनरत पक्षसँग वार्ता गरिरहेको छ ।

सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच हिजो साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएको उनले बताए ।

गत माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–११, बलुडाँडामा झडप भएपछि आन्दोलन उग्र बनेको थियो ।

म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छः अध्यक्ष प्रचण्ड

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन् ।

बेनी नगरपालिका–४ सिङ्गा र तातोपानीमा मंगलबार विहान आयोजित कार्यक्रममा उनले भौतिक पूर्वाधार र पर्यटन विकासले म्याग्दीको उन्नति हुने बताए ।

“छ वर्षअघि पनि म यहाँको तातोपानी कुण्डमा परिवारसहित आएको थिएँ”, उनले भने,“त्यसबेला यहाँहरूले उठाउनुभएको बेनी–दरवाङ–ढोरपाटन सडक, तातोपानी कुण्डको संरक्षण, प्रवद्र्धन र नदी नियन्त्रणसम्बन्धी केही योजनामा बजेट व्यवस्थापन गरेर थालेका कामलाई निरन्तरता दिएका छौँ ।”

दाहालले दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा बेनी–दरवाङ, बेनी–जोमसोम–कोरला, बेनी बजार संरक्षण योजना सुरु गराएको स्मरण गर्दै पछिल्लो कार्यकालमा तातोपानीको बस्ती संरक्षणका लागि विनियोजन गरेको दुई करोड बजेटबाट १० करोडको बहुवर्षीय योजना कार्यान्वयन सुरु भएकामा खुसी व्यक्त गरे ।

उनले बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान), सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले सिङ्गा र तातोपानीको विकास निर्माणलगायत विषयमा जानकारी गराएका थिए ।

साथै अध्यक्ष दाहालले बेनी नगरपालिका–४ ठूलोखोला, सिङ्गा, बेनीमा सहिद परिवारसँग भेटघाट र साक्षात्कार गरेका छन् । सो क्रममा अध्यक्ष दाहालले सहिद परिवारको अवस्थाका बारेमा जानकारी लिनुका साथै सहिदहरूको योगदानको सधैँ उच्च मूल्याङ्कन हुने बताए ।

बेलायतका राजकुमार आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन लागेका हुन् ।

उनले आजै अपराह्न राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय छ । उनी भोलि ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थानमा पुग्नेछन् । त्यस्तै उनी पोखरा पनि जानेछन् ।

नेपाल भ्रमण सकाएर उनी आइतबार स्वदेश फिर्ता हुनेछन् । बेलायती राजपरिवारका सदस्य एडवर्ड रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान हुन् ।

सीमामा कडाइ गर्ने प्रतिबद्धतापछि ट्रम्पद्वारा मेक्सिको र क्यानडामाथिको थप आयात शुल्क एक महिना स्थगित

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उनले क्यानडा र मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्कको कार्यान्वयन ३० दिन पछि सार्न सहमत भएका छन् ।

ट्रम्पसँगको टेलिफोन कुराकानीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रणका र फेन्टनिल (औषधि) को ओसारपसार रोक्न अमेरिकासँगको सीमामा कडाइ गर्न सहमति जनाएका हुन् । ट्रम्पले आफू प्रारम्भिक परिणामबाट एकदम सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

त्यसअघि उनले मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमसँग पनि यस्तै सहमति गरेका थिए। मेक्सिकोकी राष्ट्रपतिले उत्तरी सीमामा थप १० हजार सैनिक खटाउन सहमति जनाएका थिइन् । त्यसको बदलामा मेक्सिकोमा बन्दुकहरूको प्रवाहलाई सीमित गर्ने अमेरिकाले प्रतिबद्धता जनाएको थियो ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए । उक्त कदमको विरोध गरेका तीनै देशले आफूले पनि त्यस्तै प्रकृतिको आयात शुल्क अमेरिकी उत्पादनहरूमा लगाउने घोषणा गरेपछि विश्व नयाँ व्यापार युद्धमा प्रवेश गर्न लागेको भन्दै टिप्पणीहरू भइरहेका थिए। ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो सीमा योजना अन्तर्गत १.३ अर्ब डलर थप हेलिकोप्टर, प्रविधि र जनशक्ति सीमा क्षेत्रमा खटाउन लगानी गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल एक्समा उनले जनाए अनुसार उक्त रकमबाट फेन्टनिलको प्रवेश अमेरिकामा रोक्न समेत थप स्रोतहरू परिचालन गरिनेछ ।

उनले अग्रपङ्क्तिमा १० हजारभन्दा बढीले सीमा रक्षाका लागि काम गरिरहेको भन्दै क्यानडाले सङ्गठित आपराधिक गिरोहहरूलाई आतङ्कवादी घोषणा गर्ने र सातै दिन चौबीसै घण्टा सीमामा नजर राख्ने उल्लेख गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले गैरकानुनी लागुऔषधलाई अमेरिकामा प्रवेश गर्नबाट रोक्न क्यानडा सहमत भएकाले आफूले आयात शुल्क लगाउने निर्णय स्थगित गरेको ट्रम्पले उल्लेख गरेका छन्।

निफको निर्णायकमा सुरक्षा पन्त र दीपेन्द्र गौचन छनोट

काठमाडौँ । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करणमा निर्णायक मण्डलका दुई सदस्य छनोट गरिएको छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा छोटा चलचित्र तथा वृत्तचित्रतर्फ निर्देशक दीपेन्द्र गौचन र कथानक चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त निर्णायक समितिमा सदस्य छनोट गरिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको र राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गतका चलचित्र फेरबदल भएको अध्यक्ष पाठकले बताए ।

उनले भने, “यस अगाडिका शृङ्खलाभन्दा भव्य बनाउने तयारी गरिरहेका छौँ । यो महोत्सव विश्वभरका चलचित्रकर्मीको भेटघाट र छलफल गर्ने माध्यम बन्नेमा विश्वस्त छौँ ।”

महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई वर्गमा वर्गीकरण गरिएको छ । दुवैमा ‘फिचर’ र लघु चलचित्रका साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिने छ  ।

नेपाली कथानक चलचित्रको प्रतिस्पर्धा हुने ‘नेसनल पानोरमा’ मा जोन योञ्जनको ‘क्रलिङ क्रोज’, दिनेश राउतको ‘पूजार सार्की’ र लक्ष्मण सुवेदीको ‘सतीदेवी’ छनोट भएका छन् ।

नेपाली वृत्तचित्रको प्रतिस्पर्धा विधामा सुविना श्रेष्ठको ‘देवी’, रजिला श्रेष्ठको ‘छेसाङ’, गौरव आयरको ‘मुक्ति’, तासी लाजोमको ‘नो मोनास्ट्री नो भिलेज’, दीपा श्रेष्ठको ‘उड्ने सपना’ र लव प्याकुरेलको ‘गल्र्स रिराइटिङ डेस्टिनी’ रहेको छ ।

यस संस्करणदेखि एआई प्रविधिबाट वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको महोत्सव निर्देशक पाठकले जानकारी दिए ।

‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिस्टेसन अफ योर्स क्यान डिस्ट्रोय दी वल्र्ड’, अर्जेन्टिनाको ‘दी एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरूको ‘दी ड्रिम, दी फग एण्ड दी रेन’ र अमेरिकाको ‘मब पार्ट १’ रहेको छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार पाँचसय अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ । त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासङ्घ’ को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई ५०/५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तरराष्ट्रिय लघु चलचित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ ।

एआई प्रविधिको चलचित्रलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सव आगामी चैत ७ देखि ११ गतेसम्म हुनेछ ।

पेरिस सम्झौताअनुरुप सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पेरिस सम्झौताअन्तर्गत सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सोमबार नविकरणीय उर्जा क्षेत्रको विकासका लागि ‘उर्जा विकास मार्गचित्र–२०८१’ले गरेको ऊर्जा रुपान्तरणबारे विकास साझेदारसँग गरेको छलफलमा उनले शून्य कार्बन उत्सर्जनको लक्ष्य पुरा गर्न सरकारले नविकरणीय उर्जाको विकासमा काम गर्दै आएको बताए ।

“नेपालले नवीकरणीय ऊर्जाको विस्तार, ऊर्जा दक्षता सुधार र जलवायु प्रतिरोधी क्षमतालाई बलियो बनाउन महत्वपूर्ण काम गर्दै आएको छ, यसलाई पूरा गर्न विकास साझेदारले खेलेको भूमिका सराहनीय छ”, उर्जामन्त्री खड्काले भने ।

मन्त्री खड्काले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा भर्खरै सम्पन्न दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रुपान्तरण सम्मेलनले नेपालको ऊर्जा भविष्यबारे गहन छलफल गर्नुका साथै शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सहयोग पुगेको बताए ।

उनले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र प्रतिव्यक्ति एक हजार पाँच सय किलोवाट ऊर्जा खपत गर्ने लक्ष्य सरकारले लिएकाले यसलाई पूरा गर्न कडा प्रयास, लगानी र सहकार्य आवश्यक रहेको उल्लेख गरे । नेपाललाई न्यायपूर्ण ऊर्जा सङ्क्रमणतर्फ अघि बढ्न विकास साझेदारहरुको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

उनले ऊर्जा विकास मार्गचित्रले ऊर्जा क्षेत्रमा कानुनी र नियामक सुधार, अफ–ग्रिड र अन–ग्रिड ऊर्जा पहुँच विस्तार गर्ने, सौर्य, वायु, जैविक ऊर्जा, र फोहरदेखि ऊर्जा जस्ता विविध नवीकरणीय स्रोतलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको स्पष्ट पारे ।

राष्ट्रि«य योजना आयोगका सदस्य डा आरपी विच्छाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नवीकरणीय ऊर्जाको क्षेत्रमा गरेको काम उल्लेखनीय रहेको बताए । उनले शून्य कार्वन उत्सर्जनको लक्ष्यलाई पूरा गर्न नवीकरणीय ऊर्जालाई जोड दिनुपर्ने उल्लेख गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालको ऊर्जा क्षेत्रको विकासमा दातृ निकायले खेलेको भूमिका सराहनीय रहेको बताए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकाल, पूर्वसचिव दिनेशकुमार घिमिरे, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायतले जलवायु परिवर्तन समस्यालाई कम गर्न नवीकरणीय ऊर्जाको विकासमा जोड दिनुपर्ने बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले मन्त्रीपरिषद्ले भर्खरै स्वीकृत गरेको उर्जा विकास मार्गचित्रमा नविकरणीय ऊर्जाको प्रावधानलाई समेटेको भन्दै उक्त मार्गचित्रको कार्यान्वयनका लागि विकास साझेदार निकायको महत्वपूर्ण भूमिका रहेको बताए ।

छलफलमा एसियाली विकास बैंक (एडिबी)सँगै विश्व बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), जर्मन फेडरल इन्टरप्राइज फर इन्टरनेसनल कोअपरेसन (जिआइजेड), अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (युएसएआइडी), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), नर्वेजियन राजदूतावासलगायत एक दर्जन बढी दातृ निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

बेलायत पठाइदिने भन्दै युवाहरुसँग ३७ लाख ५० हजार ठगी गरी फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै युवाहरुलाई ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

बेलायत पठाइदिने भन्दै युवाहरुसँग ३७ लाख ५० हजार रुपैयाँ ठगी गरी फरार रहेका कास्कीको अन्नपूर्ण गाउँपालिकाका मदन भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनलाई टेकुबाट सोमबार पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

फागुन १२ गतेदेखि माओवादीले जनतासँग माओवादी अभियान संचालन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान सुरु गर्ने भएको छ ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्गमा आधारित अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरु गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

अधिकार क्षेत्र बाहिर गएर शैक्षिक कन्सल्टेन्सीलाई काम नगर्न मन्त्रालयको चेतावनी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी) लाई कानुन विपरीतको कार्य नगर्न चेतावनी दिएको छ ।

सोमबार सूचना जारी गरी मन्त्रालयले कतिपय संस्थाहरूले कानुन विपरीत गएर अनुमति दिएको स्थानभन्दा बाहिर गएर सेवा प्रदान गरिरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएको हो ।

मन्त्रालयबाट अनुमति पाएका संस्थाहरूले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ बमोजिम सेवा सञ्चालन गर्न सचेत गराएको छ । मन्त्रालयले निर्देशिका विपरीत सञ्चालन गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

निर्देशिकाले दिएको अधिकार क्षेत्र बाहिर गएर यस्ता कार्य सम्पादन गरेमा सोही निर्देशिकाको दफा ६ बमोजिम संस्थाको स्वीकृति रद्द गरिने समेत मन्त्रालयले चेतावनी दिएको छ ।

सामाजिक सञ्जाल कम्पनीहरुलाई नेपालमा दर्ता गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गरी सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम त्यस्ता कम्पनीलाई नेपालमा दर्ता हुन र सम्पर्क व्यक्ति तोक्न आग्रह गरेको हो ।

निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल कम्पनी सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्ने उल्लेख छ । यस्तै, दफा ६ मा नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ । निर्देशिका अनुसार दर्ता नहुने सामाजिक सञ्जाल कम्पनीलाई मन्त्रालयले प्रतिबन्ध लगाउन सक्ने सूचनामा उल्लेख छ ।

यसबाहेक सामाजिक सञ्जाल कम्पनीले नेपालको पयर्टन प्रवद्र्धनले, सुरक्षा तथा डिजिटल लिट्रेसीको प्रवद्र्धन एवं कन्टेन्ट फिल्टर एवं मोडरेसनका लागि प्रविधिसमेत अँगाल्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

माघ १५ मा राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जालको व्यवस्था गर्न बनेको विधेयकमा पनि सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नियमन गर्न विभिन्न व्यवस्था समेटेको छ ।

नेपालमा फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, टिकटक, युट्युबलगायत विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल सञ्चालनमा छन् । यीमध्ये धेरैजसो कम्पनी नेपालमा दर्ता भएका छैनन् ।

माओवादी प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन गरेको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले दुईवटा नेताहरुको कार्यविभाजन गरेको हो ।

मधेश प्रदेशको जिम्मेवारी उपमहासचिव मातृकाप्रसाद यादवलाई र विशेष प्रदेशमा भने स्थायी समिति सदस्य जयपुरी घर्तीलाई जिम्मेवारी तोकेको छ ।

त्यस्तै कोशीमा हरिबोल गजुरेल, बागमतीमा हितमान शाक्य, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी कमिटी कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएका छन् ।

त्यस्तै सचिव लिलामणि पोखरेललाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको भने प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्मालाई जिम्मेवारी दिइएको छ ।

महिला टी–२० शृङ्खलामा थाइल्यान्डद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौँ । राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा  थाइल्यान्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ दशमलव ५ ओभरमा ६९ रनमा ‘अल आउट’ भयो । नेदरल्यान्ड्सका लागि कप्तान बाबेटी डी लिडेले सर्वाधिक २५ रन जोडिन् । आइरिस विलिङले १३ रन जोडिन् । यस्तै,  क्यारोलिन डी ल्यासले १० रन बनाइन् । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै  ८६ रनको योगफल बनाएको थियो । थाइल्यान्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । फन्नीता मायाले १२ रन जोडिन् । 

नेदरल्यान्ड्सका लागि आइरिस विलिङ, इभा लिच, सिल्भर सिर्गेसले समान दुई–दुई विकेट लिए भने इसा बेल भान डरले एक विकेट लिइन् । नेदरल्यान्ड्सले थाइल्यान्डसँग लगातार दोस्रो हार बेहोरेको हो । यसअघि  नेदरल्यान्ड्समाथि पहिलो भेटमा थाइल्यान्डले आठ विकेटको सानदार जित हासिल गरेको थियो ।

सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान तीनपटक खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले भोलि थाइल्यान्डसँग खेल्नछ ।

न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन् ।

नेपालको संविधानको बमोजिम नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई नियुक्त गरेका हुन् ।

बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू

 बाँके । ‘अहिले म सुर्खेतबाट आउँदै छु, एक्कासि अगाडि गाडीहरु रोकिएको देखेँ, दुर्घटना भएछ भन्ने ठानेको थिएँ, तर ‘ट्राफिक लाइट’ बलेर पो अगाडि गाडी रोकिएका रहेछन्’, सुर्खेत बाङ्गेसिमलका प्रवीणकुमार गिरीले ट्राफिक जाममा रोकिँदै नेपालगञ्जमा लागू भएको ट्राफिक लाइटको अनुभव सुनाए ।

उनी नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत आफन्तलाई भेट्नका लागि आज सुर्खेतबाट नेपालगञ्ज आउँदै गर्दा धम्बोझीमा लागू गरिएको ट्राफिक लाइटको नियमलाई पालना गर्दै जाममा रोकिएका थिए। मोटरसाइकल चालक गिरीले ई–रिक्साका कारण नेपालगञ्जको सडक अस्तव्यस्त हुने हुँदा ट्राफिक लाइटको नियम आफूलाई प्रभावकारी लागेको बताए ।

‘म पहिला आइरहँदा यहाँ ई–रिक्साका कारण धेरै पटक दुर्घटना हुनबाट जोगिएको छु’, उनले भने, ‘ट्राफिक लाइटको नियम लागू भएपछि अब त रिक्सा पनि व्यवस्थित रुपमा चल्ने भएछन्।’

नेपालगञ्जको मुटु मानिने धम्बोझी चोकमा नै ट्राफिक लाइटको नियम लागू भएसँगै पूर्वपश्चिम र उत्तरदक्षिणतर्फबाट तीव्र गतिमा चल्ने सवारी साधन अब ट्राफिक नियमानुसार सुस्त गतिमा चल्न लागेका छन् ।

गत वर्षको चैतमा उक्त ट्राफिक लाइटको परीक्षणकाल सुरु गरिए पनि गत पुसको २८ गतेदेखि नियमित रुपमा लागू भएको ट्राफिक लाइटले सडकलाई मात्र नभई सवारी साधन चालक र यात्रुलाई समेत व्यवस्थित रुपले सडकमा हिँड्न सहयोग गरेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का बासिन्दा बलवीर खड्काले बताए ।

‘ट्राफिक लाइटको नियम लागू भएदेखि यो सहर बल्ल व्यवस्थित सहरजस्तो भएको छ’, उनले भने, ‘पहिला जसलाई जताबाट मन लाग्यो त्यतैबाट बाटो काटेर हिँड्ने बानी थियो, अब भने बल्ल सडकमा नियमअनुसार हिँड्नुपर्ने रहेछ भन्ने कुराको चेतना जागेको छ।’

सुर्खेतका गिरी र बाँकेका खड्काजस्तै नेपालगञ्जमा ट्राफिक नियम लागू भएपछि बच्चालाई स्कुल पुर्‍याउने समयभन्दा आधा घण्टा अगाडि नै निस्कने गरेको नेपलगञ्ज–१० ट्राफिक चोक निवासी सरिता थापाले बताए । ‘पहिला १०–१५ मिनेट अघि छोरीलाई स्कुल पुर्‍याउन निस्कन्थेँ, अहिले जाममा परिन्छ भनेर आधा घण्टा अगाडि नै निस्कने गरेको छु’, उनले भने ।

बाँकेमा पहिलोपटक ट्राफिक लाइटको नियम लागू भएको छ । गत पुसको २८ गतेदेखि ट्राफिक लाइटको नियम लागू भएसँगै यहाँका सवारी साधन चालक र यात्रुहरुले उक्त नियमको पालना गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले बताए ।

‘यहाँ ट्राफिक लाइटको नियम लागू भएको भर्खर भर्खर भएको हुनाले हामीले जरिवानाभन्दा पनि ट्राफिक लाइट र लेनको प्रयोग कसरी गर्ने र कस्तो अवस्थामा गर्ने भनेर सिकाइरहेका छौँ’, उनले भने, ‘विशेष गरी महिला र ग्रामीण भेगतिरबाट आउने सवारी साधन चालकसँगै यात्रुलाई ट्राफिक लाइटको नियम बुझाउन अलि गाह्रो भइरहेको छ।’

उनका अनुसार तीन–चार पटकसम्म सम्झाइबुझाइ गर्दा पनि रातो बत्तीको नियम पालना नगरेका आठ जनालाई जरिवाना स्वरुप चिट काटेर कारबाही गरिएको छ ।

ई–सेवा, खल्ती, ई चलान र राष्ट्रिय वाणिज्य बैंकको माध्यमबाट हालसम्म आठ जनाबाट रु चार हजारसम्मको राजस्व सङ्कलन भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख आचार्यले जानकारी दिए ।

नेपालगञ्जमा ट्राफिक लाइटको नियम लागू भएसँगै जरिवानाभन्दा पनि यात्रुलाई सडक लेनको प्रयोग कसरी र कस्तो अवस्थामा गर्ने भनेर जनचेतना दिने विषयमा आफूहरु केन्द्रित रहेको आचार्यको भनाइ थियो ।

‘रातो बत्ती बल्दा जहिले पनि देब्रे लाइन भएर जाने सवारी साधन चालक र यात्रुहरु रोकिनुपर्दैन, भनेर हामीले अलमलमा परेकालाई सम्झाएर बाटो काट्न सिकाउँदै छौँ’, उनले भने, ‘यहाँका सवारी साधन चालक र यात्रुलाई जरिवानाभन्दा जनचेतनाको आवश्यकता भएको हुनाले हामीले सडक नियमका विषयमा डियुटीकै समयमा जानकारी दिने प्रयास गरिरहेका छौँ।’

प्रमुख आचार्यका अनुसार ट्राफिक लाइटको नियम लागू भएसँगै पहिलाको तुलनामा अहिले धम्बोझीदेखि विपी चोकमा हुने दुर्घटनामा कमी आएको छ । पहिला हप्तामा आठ दश वटा सामान्य दुर्घटना हुन्थ्यो भने अहिले सोही ठाउँमा ट्राफिक लाइटको नियम लागू भएपछि दुर्घटना नभएको ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक आचार्यले बताए ।

उनका अनुसार ट्राफिक लाइटको नियम सञ्चालन भएसँगै हालसम्म रातो बत्ती कारबाहीमा १६५ परेका छन् भने गलत तरिकाले बाटो काट्ने ३२३ जनालाई कारबाही गरिएको छ ।

प्रादेशिक सेवा दिँदै क्यान्सर अस्पताल

चितवन । चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित भएका छन् ।

अस्पतालले कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी र गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिँदै आएको छ ।

अस्पतालले सुर्खेत र धनगढीमा दुईपटक क्याम्पमार्फत सेवा दिइसकेको छ । मङ्गलबार सुर्खेत र बुधबार धनगढीमा तेस्रोपटक सेवा दिँदै छ । गण्डकीमा एक पटकमात्र सेवा दिइएको छ ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार चिकित्सकसहित आठ जनाको टोलीले सेवा दिने गरेको छ । पहिलेनै मिति तय गरेर क्यान्सरका बिरामीको नाम टिपेर एकै पटक सेवा दिने गरिएको छ ।

एक पटकमा १५० हाराहारी क्यान्सरका बिरामीले सेवा लिएको उनले जानकारी दिए । टोलीमा पाँच जना विशेषज्ञ चिकित्सक, दुई नर्स र एक प्रशासनिक कर्मचारी यहाँबाट जाने गर्दछन् भने अन्य सहयोग त्यहीँको अस्पतालबाट लिने गरिन्छ । स्वास्थ्य परीक्षण, नियमित जाँच र शल्यक्रियासम्म त्यहीँको अस्पतालमा गर्ने गरिएको छ ।

जटिल अवस्था भएमा यही बोलाएर उपचार दिने गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा‍. शिवजी पौडेलका अनुसार नाम टिपाएका बिरामीमध्ये धेरै जुन क्यान्सरका छन् त्यहीअनुसारका विभागीयविज्ञ चिकित्सक पठाउने गरिएको छ । यहाँबाट गएको टोलीले त्यहाँका चिकित्सक र स्वास्थ्यकर्मीसँग क्यान्सर रोग सम्बन्धमा छलफल गर्ने गरेको छ ।

रोग पहिचान, उपचारलगायतका बारेमा अनुभव आदानप्रदान गर्ने गरिएको उनले जानकारी दिए । पौडेलले भने, “सम्बन्धित अस्पतालमा भएका स्रोत साधनलाई अधिकतम उपयोग गरेर सकेसम्म त्यहाँ गर्न सकिने उपचार त्यहीँ गर्ने गरेका छौँ ।”

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको आफ्नो योजना तथा प्राथमिकतामा क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गरेका थिए । सोहीबमोजिम विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल धनगढी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सेवा दिएको हो ।

शिक्षक नियुक्तिमा अनियमितता गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको एक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गलत लिखत तयार गरी गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्रप्रसाद सापकोटासहित ९ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गुल्मीको कालीगण्डकी गाउँपालिका– १ स्थित देउराली माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षसमेतको मिलेमतोमा शिक्षक नियुक्तिमा अनियमितता भएको उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा उक्त विद्यालयको माध्यमिक तह (कक्षा ९–१०) को अङ्ग्रेजी, गणित र विज्ञान विषयको शिक्षण सिकाई अनुदान कार्यक्रम अन्तर्गतको रिक्त शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनमा उनीहरूले अनियमितता गरेका थिए ।

उनीहरूले बेपत्ता व्यक्तिको नाममा नक्कली कागजात बनाई नियुक्ति पत्र, हाजिरी भएको पत्र, हाजिरी विवरण बनाई हाजिरी प्रमाणित गरी कालीगण्डकी गाउँपालिका, गुल्मीमा पेश गरी गैरकानूनी रूपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई वार्षिक एकमुस्ट तलब बुझेको झुट्टा फर्जी लिखत तथा भरपाई बनाई लेखापरीक्षण समेत गरी दुरुपयोग गर्ने बदनियतपूर्ण मनसायले कार्य गरी लाभ लिएको देखिएको आयोगले जनाएको छ।

नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने झिनो अङ्कको मात्रै वृद्धि देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई हजार ७३० को विन्दुमा कायम भएको हो ।

आज ३१७ कम्पनीको दुई करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर एक लाख ११ हजार ९१८ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ५४, जीवन बीमा शून्य दशमलव ६७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २७, लघुवित्त शून्य दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव ७८, निर्जीवन बीमा शून्य दशमलव ८२ र व्यापार समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क शून्य दशमलव ३९, वित्त एक दशमलव ०७, होटल तथा पर्यटन शून्य दशमलव ०१, जलविद्युत् शून्य दशमलव ४८ र लगानी समूह शून्य दशमलव ४७ प्रतिशतले घटेको हो ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ । त्यस्तै, ग्रिन डेभलपमेन्ट बैङ्क र रिभर फल्स पावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ३५ करोड ३० लाख ७५ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको छ लाख ३४ हजार ६२० कित्ता शेयर किनबेच भएको छ ।

हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा

गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताबीच एकताबद्ध रुपमा सङ्गठित भएर अब कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार पोखरामा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि एकताबद्ध प्रयास भएमा कांग्रेसले बहुमत ल्याउने बताए ।

‘अहिले हामीले समावेशी एवं समानुपातिक राजनीतिक प्रणाली अवलम्बन  गरेका छौँ, यसबाट कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ’, उनले भने, ‘तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौँ । अझ पार्टीका सबै साथीहरूबीच हार्दिक एकता भयो भने भोलिका दिनमा कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सक्छौँ ।’

उनले संवैधानिक व्यवस्थासहित राज्य सञ्चालनमा मुलुकका सबै जातजाति, भाषा, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको बताए ।    

सभापति देउवाले बिपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद लगायतका नेताहरूले सुम्पनुभएको जिम्मेवारीलाई पूरा गर्न पार्टीमा सुमधुर सम्बन्धसहितको एकता र क्रियाशीलता आवश्यक रहेको बताए ।  

सङ्घर्षको जगमा प्राप्त लोकतन्त्र, सङ्घीयता र समावेशितालाई सुदृढ गर्न जरुरी रहेको उल्लेख गर्दै उनले देश विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिए ।  

प्राप्त अधिकारको सदुपयोग गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै पार्टी सभापति देउवाले सदैव देश र जनताका पक्षमा खटिएर काम गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरे ।

उनले पोखरामा सुरु भएको प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रमले पार्टीको आगामी कार्यदिशा तय गर्नाका साथै विद्यमान समस्याहरूको समाधानका लागि उचित मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका  उपसभापति पूर्णबहादुर  खड्काले पार्टीकोे प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवं निर्र्वाचन क्षेत्रमार्फत सबै ठाउँमा सञ्चालन हुने जानकारी दिए ।

पार्टीको प्रशिक्षण पुस्तिका निर्माण गर्ने सन्दर्भमा तयार गरिएको ‘ड्राफ्ट’ छलफलका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको जानकारी दिँदै प्रशिक्षण प्रतिष्ठानका प्रमुख खड्काले  माघ मसान्तभित्रमा सुझावहरू सङ्कलन गरी पुस्तिकालाई अन्तिम रुप दिने बताए ।

कांग्रेसको एकदिने प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रममा सातवटै प्रदेशका पार्टी सभापति र प्रदेशका प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी, कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी सहभागी छन् ।   

विकासमा अरु मुलुक भन्दा अगाडि जान हामीमा आत्मविश्वास हुनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग र विकासबाट नेपाल अब अरु मुलुकभन्दा अगाडि जानसक्ने दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हामीले विकासमा अरु मुलुक भन्दा अगाडि जान आत्मविश्वास हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘आज ९/१० मा पढ्ने विद्यार्थीले साइन्सका जुन डेमोहरु गर्दछन्, आश्चर्य लाग्दा डेमोहरु गर्दछन् । हामीले आत्मविश्वास मात्रै राख्नुपर्दछ अरु मुलुक भन्दा अगाडि बढ्न सक्छौं ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको पनि बताए ।

अर्जुन ट्रफी क्रिकेटमा डडेल्धुराको दोस्रो जित

बैतडी । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरा विजयी भएको छ ।

पहिलो खेलमा डिसिए धनगढीलाई ८ विकेटले पराजित गरेको डडेल्धुराले लगातार दोस्रो जित निकाल्ने क्रममा बोस्टर्न क्रिकेट एकेडेमी झापालाई ७७ रनले हरायो ।

जितका लागि पाएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा झापाले १५ ओभरमा ९ विकेटको क्षतिमा ६६ रनमा सीमित भयो । उसका लागि सोनम बुढाथोकीले १७ र दीपु भुजेलले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ डडेल्धुराका कुशल भुर्तेलले ४, अजय चौहानले २, कप्तान सन्दीप जोरा, अजय चौहान र रवि विष्टले १/१ विकेट झारे ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको डडेल्धुराले खराब मौसमका कारण १५ ओभरमा झारिएको खेलमा निर्धारित ओभरमा तीन विकेट गुमाएर १४३ रन जोड्यो ।

डडेल्धुराका लागि आयुषमान बम र कप्तान सन्दीप जोराले अर्धशतक प्रहार गरे । २३ रन जोड्दा २ विकेट गुमाएर धर्मराएको पारीलाई आयुषमान र सन्दीपले सम्हाले । यी दुवैबीच ८३ रनको महत्त्वपूर्ण साझेदारी भयो ।

तीस बलको सामाना गरेका जोरा ५१ रनमा आउट हुँदा चार छक्का र चार चौका प्रहार गरे । ओपनर आयुषमान ५७ रनमा नटआउट रहे । उनले ३६ बलमा ७ चौका र एक छक्का प्रहरा गरे । अविजित रहेका किरण ठगुन्नाले १० बलमा २ छक्का र एक चोकोको मद्दतमा २१ रन जोडे ।

ओपनर कुशल भुर्तेल २ रनमा आउट भए । विनोद भण्डारी ५ रनमा पवेलियन फर्के । बलिङमा झापाका अरुण ऐरीले दुई तथा पवन कार्कीले एक विकेट लिए । डडेल्धुराका आयुषमान बम प्लेयर अफ द म्याच चुनिए ।

जितसँगै डडेल्धुरा दुई खेलबाट चार अङ्कतालिकाको शीर्ष स्थानमा कायमै छ । साथै डडेल्धुरा सेमिफाइनल नजिक पनि पुगेको छ ।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५०–५० हजार पाउने छन् । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद रु १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

धनगढीमा क्रिकेट खेलको विकासका लागि महत्वपूर्ण योगदान गरेका प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार बम विस्फोटमा परी १५ जनाको मृत्यु भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ । आक्रमणमा १४ महिला एक पुरुष गरी १५ जनाको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

ह्वाइट हेल्मेट उद्धारकर्तालाई उदृत गर्दै सानाले आफ्नो समाचारमा लेखेको छ, “स्थानीय सडकमा ‘नरसंहार’ भएको र ‘कृषि मजदुरहरू चढेको गाडी नजिकै कार बम विस्फोट’ भएको थियो । आक्रमणमा परी १४ महिला र एक पुरुषको मृत्यु भएको र १५ जना महिला घाइते भएको र केहीको अवस्था गम्भीर रहेका छन् ।

सिरियामा तत्कालिन राष्ट्रपति बसर अल असद्को अन्त्यका लागि सन् २०११ मा सुरु भएको आन्दोलनले पछि गृहयुद्धको रूप लिँदा पाँच लाखभन्दा बढी सिरियालीको मृत्यु भएको र कूशल जनसङ्ख्याको करिब आधा जनसङ्ख्या आन्तरिक वा बाह्य रूपमा विस्थापित बनेको थियो ।

राजनीतिक सुधारको दिशामा केही प्रारम्भिक कदमहरूको बाबजुद, पूर्व राष्ट्रपति असदले सिरियाको शक्तिशाली सैन्य र सुरक्षा सेवाहरू प्रयोग गरी राजनीतिक असहमतिलाई दबाउन अन्ततः आफ्नो पिताको अधिनायकवादी शासन शैलीलाई जारी राखेपछि उहाँप्रतिको आक्रोश चुलिएको पाइन्छ ।

गृहयुद्धमा असदको क्रूर प्रतिक्रियाका कारण ठूलो मात्रामा मृत्यु र विनाशपछि अन्ततः डिसेम्बर २०२४ मा उहाँलाई पदच्युत गरिएको थियो ।

लामो समय असदलाई सहयोग गर्दै आएका केही तत्कालिन सरकारका सहयोगी लडाकु समूह र असदप्रति बफादार समूहले नयाँ सरकारविरूद्ध उनीहरूको राम्रो प्रभाव रहेको स्थानमा यदाकदा आक्रमण गर्ने गरेका छन् ।

डिसेम्बर २०२४ मा हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा विद्रोहीहरूले दमास्कसलाई बलपूर्वक नियन्त्रणमा लिएपछि असदको शासनको अन्त्य भएको र एचटीएसले अन्तरिम सरकार गठन गरेको छ ।

नयाँ सरकार गठनको केही दिनपछि सन् २०१२ को संविधानलाई निलम्बित गरी नयाँ संविधान जारी गर्न संविधानको मस्यौदा तयार गरिरहेको छ ।