धनगढीमा भन्सार प्रमुखलाई कुटपिट गरेको आरोपमा चार नगर प्रहरी पक्राउ


धनगढी । कैलालीको धनगढीस्थित भन्सार प्रमुखमाथि कुटपिट प्रकरणमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार राति कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तराज तिमिल्सिनामाथि कुटपिट भएको थियो । कुटपिटको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्र सिंह धामी र नगर प्रहरी हवल्दार मणीदत्त भट्ट रहेका छन् ।
उनीहरुलाई सोमबार बिहान धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
उनकाअनुसार भन्सार प्रमुख तिमिल्सिनाले अभद्र व्यवहार शीर्षकमा दिएको किटानी जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको हो ।
चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। नगर प्रहरी निरीक्षक धामीसहितका नगर प्रहरीले शनिबार राति कैलाली भन्सार कार्यालयभित्र प्रवेश गरेर प्रमुख भन्सार अधिकृत धामीमाथि कुटपिट गरेका थिए।
उनीहरुले कुटपिट गरेको सीसीटीभी फुटेज सार्वजनिक भइसकेको छ । घटनापछि भन्सार प्रमुखलाई नेपाल प्रहरीका हवल्दारको कमाण्डमा ४ सदस्यीय सुरक्षा टोली खटाइएको छ ।