बालेनलाई एमाले सांसदको खुलापत्र : ‘सामाजिक सञ्जालका आश्वासनले मात्रै देश चल्दैन’
काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकार सञ्चालनको शैली र मुलुकको समग्र अवस्थाबारे सचेत गराएकी छन् ।
उनले संसदीय समितिको बैठकमै प्रधानमन्त्रीका नाममा लेखिएको पत्र पढेर सुनाउँदै सामाजिक सञ्जालका अभिव्यक्ति र आश्वासनले मात्रै देश सञ्चालन नहुने बताएकी हुन् ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले देश र जनताको भविष्यप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीलाई जिम्मेवार नेतृत्व, स्पष्ट कार्ययोजना र समयमै निर्णय लिन आग्रह गरिन् ।
‘देश सञ्चालन सामाजिक सञ्जालका अभिव्यक्ति र आश्वासनले मात्र सम्भव हुँदैन । यसका लागि जिम्मेवार नेतृत्व, स्पष्ट कार्ययोजना, दूरदर्शी सोच र समयमा लिइने सही निर्णय आवश्यक हुन्छ,’ उनले पत्रमा उल्लेख गरेकी छन् ।
सिद्धिकीले पछिल्लो समय देशका विभिन्न क्षेत्रमा अन्योल, अस्थिरता र अनिश्चितता बढेको अनुभूति आम नागरिकले गरिरहेको बताइन् । नागरिकमा बढ्दै गएको चिन्ता र असुरक्षाको भावनालाई सरकारले सामान्य रूपमा लिन नहुने उनको भनाइ छ ।
उनले सरकारको प्राथमिकतामा नागरिकको सुरक्षा, शान्ति–सुशासन, रोजगारी, आर्थिक स्थायित्व र संविधानको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख गरेकी छन् । देशलाई थप अन्योल र जोखिमतर्फ जान नदिन सरकारले समयमै सचेत कदम चाल्नुपर्ने उनको आग्रह छ ।
‘वर्तमान परिस्थितिलाई गम्भीरतापूर्वक लिनुहोस्, राजनीतिक अभिव्यक्तिभन्दा कामलाई प्राथमिकतामा दिनुहोस्,’ प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले भनेकी छन्, ‘निकायलाई जिम्मेवार बनाउनुहोस् र जनतामा विश्वास जगाउने ठोस कदम चाल्नुहोस् ।’
सरकारका काममाथि प्रश्न उठाउनु वा सचेत गराउनु विरोध नभई देशप्रतिको जिम्मेवारी भएको पनि उनले स्पष्ट पारेकी छन् । उनका अनुसार अहिलेको समय आरोप–प्रत्यारोपमा बिताउने नभई सम्भावित संकटबाट देशलाई जोगाउने हो ।
पत्रको अन्त्यमा उनले देशमा शान्ति कायम होस्, नागरिक सुरक्षित रहून् र राष्ट्र सही दिशामा अघि बढोस् भन्ने सबैको साझा चाहना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई देश र जनताको हितलाई सर्वोपरि राखेर गम्भीरतापूर्वक अघि बढ्न आग्रह गरेकी छन् ।
