प्रधानमन्त्रीले मुठभेडको भाषा बोल्दासमेत कांग्रेस नबोलेकोमा छक्क छुः शेखर कोइराला


विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल हुनुनर्पेमा आफ्नो विषयमा छलफल हुनु हाँस्यास्पद भएको बताएका छन् ।
मंगलबार विराटनगरमा नेपाल नाई संघको राष्ट्रिय परिषद उद्घाटन गर्दै कोइरालाले पदाधिकारी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको विषय उठ्ला भन्ने लागेको बताए ।
उनले भने, ‘यो दुर्भाग्य हो । मुलुकमा सिरियस कुरा भइरहेको छ । प्रधानमन्त्रीजीले भर्खरै जेठ १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला भन्ने लागेको थियो । उहाँहरुले यसबारेमा कुरा गर्नुभएन । तर कुरा त मेरै बारेमा मात्रै भएछ। के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?’
कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर–राजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यस बारेमा आधिकारिक रुपमा कहिंकतै नबोलेकोमा आफूलाई छक्क लागेको बताए ।