`

रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ ।

आइतबार अदालतमा उपस्थित भएका लामिछानेको बयानका लागि अधिकारीको इजलास तोकिएको हो । उनी पुस २५ मा कास्की अदालतबाट ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए । आफैं अदालतमा उपस्थित हुने बताएपछि उनलाई प्रहरीले पुनः पक्राउ गरेको थिएन ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ।

राजनीतिक स्थायित्वका लागि ध्रुवीकरण आवश्यकः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई दशक भन्दा कम समय मात्र नेपालका राजनीतिक दलहरुले आफ्नो नेतृत्वमा काम गर्न पाएको बताएका छन् ।

सामाजिक संजालमार्फत महासचिव पोखरेलले त्यो पनि राजनीतिक अस्थिरताको दुश्चक्रको शिकार बनेर वितेको बताएका हुन् । उनले नौ दशकको राजनीतिक दलहरुको संलग्नताको इतिहासमा राणादेखि माओवादीको सशस्त्र द्वन्द्व बाधक बनेको बताएका हुन् ।

उनले भनेका छन्, ‘नेपालको राजनीतिक इतिहासमा नेपाल प्रजा परिषदलाई पहिलो राजनीतिक दल मान्ने हो भने नेपालमा नौ दशकको राजनीतिक दलहरुको संलग्नताको इतिहास भएको छ । यस समयमा राजनीतिक दलहरुले, एक दशक जहाँनिया राणा शासनका विरुद्धको संघर्षका रुपमा, झण्डै एक दशक राजनीतिक संक्रमण कालका रुपमा, त्यसपछिको तीन दशक निरंकुश पंचायती व्यवस्थाका विरुद्धको संघर्षको रुपमा, एक दशक माओवादी नेतृत्वको सशस्त्र द्वन्द्वका समयका रुपमा, त्यसपछिको एक दशक शान्ति प्रकृया र संविधान निर्माणको संक्रमणकालिन समयका रुपमा, बाँकी रहेको दुई दशक भन्दा कम समय मात्र नेपालका राजनीतिक दलहरुले आफ्नो नेतृत्वमा काम गर्न पाएको समय हो । त्यो पनि राजनीतिक अस्थिरताको दुश्चक्रको शिकार बनेर वितेको छ ।’

उनले राजनीतिक स्थायित्वका लागि बलिया राजनीतिक दलहरु निर्माण गर्नेबाटोमा राजनीतिलाई ध्रुविकरण गर्न सहयोगी बन्नुपर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय घेरावन्दी र दबाव आफ्ना ठाउँमा छँदैछ । यी र यस्ता चुनौतिहरुलाई सामना गरेर अघि बढेका दलहरुलाई काम गर्न सकेनन् भनेर प्रचार गर्ने र विगतमा लामो समय शासनमा रहेर असफल भएका र राजनीतिमा कुनै भूमिका र योगदान नभएका समूहहरुलाई अन्धाधुन्ध रुपमा विकल्पका रुपमा अघि सार्ने कुरा नेपालको राजनीतिलाई अस्थिर बनाउने र देशलाई कसैको योजना र स्वार्थ अनुरुप कमजोर बनाउने कुरा हो । तसर्थ राजनीतिमा चासो राख्नेहरुले यी र यस्ता तथ्यहरुप्रति गम्भीर र जिम्मेवार हुनु पर्दछ । राजनीतिक स्थायित्वका लागि बलिया राजनीतिक दलहरु निर्माण गर्नेबाटोमा राजनीतिलाई ध्रुविकरण गर्न सहयोगी बन्नु पर्दछ । तब मात्र राजनीतिले मुलुकको विकास र समृद्धिको यात्रामा गति प्रदान गर्न सक्दछ ।’

सुन तोलामा एक हजार ६ सयले बढ्यो

काठमाडौं । आइतबार नेपाल बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला एक हजार ६ सय रुपैयाँ बढेको हो । मूल्य बढेर आज सुन प्रतितोला एकलाख ५५ हजार सातसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ६० रुपैयाँ पुगेको छ।

पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा फेला

भरतपुर । पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो ।

गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन् । गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताउनुभयो । गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए ।

यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट)बाट सौराहाघाट, सौराहाघाटबाट कसरा पुल, तमोर ताल, लामी ताल, बीस हजार ताल र यससँग सम्बन्धित ताल भण्डारा माछापोखरी, बुढी राप्ती ढुङ्गरे खोला, पटना ताललगायत पूर्वीचितवनको सिमसारमा गरिएको थियो ।

बिडारीले दुई दिन भएको गणनामा सात हजार एक सय ५० चरा समावेश भएको जानकारी दिए। तीमध्ये चार हजार एक सय सात चखेवाचखेवी रहेको उनले बताए ।

अघिल्लो वर्ष सात हजार पाँच सय १७ चरा समावेश भएका थिए । अघिल्लो वर्षभन्दा चखेवाचखेवीको सङ्ख्या घटेको हो । अघिल्लो वर्ष चार हजार तीन सय चार भेटिएको उनले बताए । सौराहाघाटबाट कसराघाटसम्म ४१ प्रजाति भेटिएका छन् ।

यस्तै, लोथरबाट जिन्दगानी घाटसम्म दुई, जिन्दगानी घाटबाट सौराहाघाटसम्म २५, बीस हजार तालमा ३०, बुढीराप्तीमा २६, ढुङ्गरे खोलामा २४, मत्यविकास केन्द्रमा १८, लामी तालमा १६, पटना तालमा १२ र तमोर तालमा चार प्रजातिका चरा भेटिएको उनले बताए ।

सात हजार एक सय ५० चरा समावेश हुँदा पानि हाँसमात्र चार हजार एक सय सातवटा समावेश भएको उनले बताए । जलकौवा सानु एक सय १७ र ठूलो चार सय ६० वटा गणनामा समावेश भएका छन् ।

बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्षसमेत रहनुभएका बिडारीले प्रदूषण, नदीजन्य पदार्थ उत्खनन र बढ्दो मानवीय चहलपहलका कारण जलपन्छीको सङ्ख्या घट्दै गएको बताए । “जलेवा चरा बढेका छन् । चखेवाको सङ्ख्या उस्तैउस्तै छ”, बिडारीले भने ।

प्रदूषण कम भएको क्षेत्रमा तुलनात्मक रूपमा धेरै चरा र वन्यजन्तु भेटिएको उनको भनाइ छ । सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ । नेपाललगायत पूर्वी एसियाका ३५ देशमा प्रत्येक वर्ष अङ्ग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ ।

सोसाइटीले हाल जाडो यामका पानीचरा गणना गरेको हो । चितवनमा छ सय ५२ प्रजाति चरा पाइने उनले बताए । त्यसमध्ये यस वर्ष जिल्लामा एक सय ५९ प्रजाति भेटिए । पानीमा मात्र आश्रित ५५ प्रजाति रहेको उनले बताए ।

रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा दर्ता भएकाले लामिछाने आइतबार जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा उनी पुस २५ गते ६५ लाख धरौटीमा रिहा भएका थिए । जिल्ला अदालतमा सुरुमा उनको बयान हुनेछ ।

त्यसपछि थुनछेक बहस सुरु हुने कानुनी व्यवस्था छ । थुनछेकपछि उनलाई रिहा गर्ने वा थुनामा पठाउने भन्ने आदेश हुन्छ । स्वर्णलक्ष्मी सहकारीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।

‘वसन्त’को ‘साँझ पर्‍यो झमक्क’

काठमाडौं । आगामी चैत २२ गते प्रदर्शनमा आउने चलचित्र ‘वसन्त’को ‘साँझ पर्‍यो झमक्क’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङका अलवा काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायाँकन गरिएको छ ।

चलचित्रमा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

मुम्बईमा रहेर काम गर्दै आएका एकजना नेपाली पत्रकारको मृत्यु

बिष्णुप्रसाद गौतम, मुम्बई । भारतको मुम्बई नजिक बदलापुरमा एक नेपाली पत्रकारको मृत्यु भएको छ । उपचारका क्रममा शुक्रबार राति पत्रबार प्रेमसिंह जालनाको मृत्यु भएको हो ।

जालना नेपालको अछाम साँफेबगर नगरपालिका वडा नम्बर ६ घर भइ महाराष्ट्रको मुम्बई नजिक बदलापुरमा बसोबास गर्दै आएका थिए । दश दिनअघि अचानक मस्तिस्कघात भएपछि उनलाई ठानेको महावीर जैन अस्पतालमा लगिएको थियोे । बेहोस अवस्थामा नै उनको मृत्यु भएको इन्द्रबहादुर सिंहले जानकारी दिए ।

महराष्ट्रमा रहेर लामो समयदेखि उनी पत्रकारिता गर्दै आएका थिए । उनी नेपाली जनसम्पर्क समितिका केन्द्रीय मिडिया प्रभारी पनि थिए । मुम्बईमा हुने विभिन्न कार्यक्रम घटन, विचार उनले हर नेपाली माझ पस्किदै आएका थिए ।

ऊनी विश्वाकर्मा समाजका सदस्य, नेपाली जनसम्पर्क समितिका केन्द्रीय प्रभारी, संयुक्त नेपाली महासंघ को आजीवन सदस्य समेत रहेर काम गरेका थिए । उनका ३ छोरा र एक छोरी छन् । हजारौं नेपाली को माझ नेपाली कांग्रेस को झण्डा ओढाई बैसाली मिनानन्द नगर श्मशानघाट शनिबार उनको अन्त्येष्टि गरिएको छ ।

मन्त्रिपरिषदबाट प्रहरीसम्बन्धी विधेयक संसदमा पेश गर्न स्वीकृति

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक सङ्घीय संसदमा पेस गरिने भएको छ ।


शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले दुवै विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको गृहमन्त्रीको स्वकीय सचिवालयले शनिबार जनाएको छ ।


गृहमन्त्री रमेश लेखकले प्रहरी सङ्गठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक परिमार्जन र संशोधनमा जोड दिँदै आएका थिए ।


प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा लोक सेवा आयोगको सहमतिपछि मन्त्रालयले ती विधेयक मन्त्रिपरिषद्मा पेस गरेको हो ।

खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज निर्माण

खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ । गत असोज–१२ गतेको बाढीले मोटरेबल पक्की पुल बगाएपछि यहाँ अस्थायी बेलिब्रिज जडान गरिएको हो ।

खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार सिमानामा पर्ने फोक्सिङटारमा रु एक करोड दुई लाख ९४ हजारको लागतमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको लोकमार्गको गाईघाट–दिक्तेल योजना कार्यालय प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।

यो सडक खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने प्रमुख मार्गका रूपमा रहेको छ । नयाँ जडान गरिएको बेलिब्रिज ५० मिटर लम्बाई र साढे तीन मिटर चौडाइ रहेको छ ।

पुल बगाएको साढे तीन महिनापछि अस्थायी बेलिब्रिज जडान गरेसँगै खोटाङबाट पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क पुनःस्थापित भएको कार्यालय प्रमुख ज्ञवालीले बताए।

आज बेलिब्रिजको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले दीर्घकालीन रूपमा समस्या समाधान गर्न मोटरेबल पुल निर्माणका लागि पहल भइरहेको बताए।

‘फोक्सिङटार पुल खोटाङवासीको दैनिकीसँग जोडिएको छ । बेलिब्रिजले अस्थायी रूपमा सुविधा भए पनि यसका दीर्घकालीन समाधान भनेको पक्की पुल निर्माण नै हो । त्यसका लागि पहल भइरहेको छ’, उनले भने ।

हिउँदमा बेलिब्रिज जडानसँगै उदयपुर र खोटाङ जिल्लाको सिधा यातायात सम्पर्क जोडिए पनि वर्षामा पुनःसमस्या हुने भन्दै स्थायी पुल निर्माणका लागि स्थानीयले आग्रह गरिरहेका छन् ।

उद्योग वाणिज्य सङ्घ खोटाङका राजनप्रसाद अध्यक्ष आचार्यले तत्कालका लागि अस्थायी बेलिब्रिज जडान भएपछि तराईका जिल्ला आवतजावत गर्न र व्यापारीलाई दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको बताए।

‘फोक्सिङटार पुल बगाएपछि मध्यपहाडी लोकमार्गको घुर्मी–कटारी हुँदै सामान ढुवानी गर्नुपर्ने बाध्यता थियो । अस्थायी भए पनि आजबाट त्यो हटेको छ तर वर्षायाममा फेरि उही नियति दोहोरिने भएकाले समयमै पक्की सडक निर्माण गर्न आवश्यक छ । त्यसमा सरोकार भएकाहरूको ध्यानाकर्षण गर्न चाहन्छु’, उनले भने।

फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न र खोल्नका लागि सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले मङ्सिर–२८ गते ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यसअघि लामो समयपछि यहाँ एक सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल निर्माण गरिएको थियो । दश वर्ष लगाएर बनाएको पुल विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो तर दुई वर्षमै पुल बगाएपछि फेरि समस्या भएको छ ।

संसदको बैठक चाँडै आह्वान हुने सभापति खतिवडाको विश्वास

काठमाडौँ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद्को बैठक यथाशीघ्र आह्वान हुने विश्वास व्यक्त गरेका छन् । 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार आयोजना गरेको जलपान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै सभापति खतिवडाले संसद् समयमा सञ्चालन नहुँदा कतिपय विधेयक अलपत्र परेका बताए । सरकारले यथाशीघ्र संसद बैठक आह्वान गर्ने उनले विश्वास व्यक्त गरे ।

सभापति खतिवडाले कतिपय विधेयकका बारेमा राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको जनाउँदै एउटा संसदपछि अर्को संसद छ महिनाभित्र बोलाउनुपर्ने संवैधानिक अवस्था अनुसार यथाशीघ्र बैठक आह्वान गर्नुपर्नेमा जोड दिए ।

“म सभापति रहेको समितिमा छलफलको क्रममा रहेको निजामती विधेयकका बारेमा सरकारको कुनै धारणा आएको छैन, निजामति कर्मचारी उमेर ६० वर्ष राख्ने विषय छलफलका क्रममा रहेको छ, सरकारले ल्याएका कतिपय विधेयकलाई असहमति जनाउने संसद्को अधिकार हुन्छ”, उनले भने । 

सभापति खतिवडाले भने, “सरकारले सबैसँग छलफल गरी सहमतिका आधारमा संविधान संशोधन गर्ने जनाइरहेकाले सरकारले चाँडै संविधान संशोधनको विषयलाई अगाडि बढाउने विश्वास लिएको छु ।”

मकवानपुरमा कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

मनहरी । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् ।

शनिबार दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।


वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नंको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नंको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६ मा ठोक्किँदा दुर्घटना भएको थियो ।


कारमा सवार तीन र स्कार्पियोमा सवार १० जना गम्भीर घाइते भएका जनाउँदै प्रहरी प्रवक्ता अर्यालले घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताए । स्कार्पियो चालकको पहिचान खुल्न नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था गम्भीर रहेकाले उपचारका लागि एलाइभ अस्पताल भरतपुर पठाइएको अर्यालले जानकारी दिए ।

चीनमा अन्तर्राष्ट्रिय सञ्चार केन्द्र स्थापना

चाङचुन । उत्तरपूर्वी चीनको जिलिन प्रान्त र बाँकी विश्वबीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले शनिबार प्रान्तको राजधानी सहर चाङचुनमा अन्तर्राष्ट्रिय सञ्चार केन्द्रको उद्घाटन गरिएको छ ।

प्रान्तको प्रचार विभागका अधिकारी बाई युका अनुसार नयाँ केन्द्रलाई आपसी समझदारी र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने प्लेटफर्मको रूपमा डिजाइन गरिएको छ । साथै, अन्तर्राष्ट्रिय सञ्चारको प्रभावकारिता बढाउने प्रयास गरिएको छ ।

जिलिन हजारौं वर्षको समृद्ध सांस्कृतिक सम्पदाको घर मात्र होइन तर चीनको उद्घाटनको लागि महत्वपूर्ण उत्तरी प्रवेशद्वार पनि हो । उत्तरपूर्वी एसियामा सांस्कृतिक आदानप्रदानको प्रमुख केन्द्र पनि हो ।

प्रान्तले वन्यजन्तु संरक्षणमा प्रकाश पार्नको लागि अन्तर्राष्ट्रिय सञ्चार केन्द्र पनि सुरू गर्यो । चीनले आधिकारिक रूपमा सन् २०२१ मा उत्तरपूर्वी चीन बाघ र चितुवा राष्ट्रिय निकुञ्ज स्थापना गरेको थियो ।

अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द

सान फ्रान्सिस्को । संयुक्त राज्य अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ।

डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै पाँच रनवेहरू दुई घण्टा भन्दा बढीका लागि बन्द गरिएको बताएको छ । डेल्टा विमानले पनि इन्जिनमा समस्या आएपछि एटलान्टामा उडान रद्द गर्नुपरेको थियो ।

डलास–फोर्ट वर्थ (टेक्सास) र शार्लोट डगलस (उत्तरी क्यारोलिना) पनि उडानहरू खराब मौसमबाट प्रभावित भएका थिए । फ्लाइटअवेयरका अनुसार दुबै एयरपोर्टहरूमा एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरियो ।

संयुक्त राज्य अमेरिका यस हप्ताको सुरुमा आँधीको चपेटामा परेको थियो । यहाँ कम्तिमा पाँच जनाको ज्यान गएको र सयौं उडानहरू रद्द भएको थियो । केही ठाउँमा तापक्रम शून्य डिग्री फरेनहाइट (–१८ डिग्री सेल्सियस) भन्दा तल झर्यो र हजारौं मानिसहरू बिजुलीविहीन भए ।

तस्बिरमा राप्रपा र राप्रपा नेपालको चियापान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा(नेपाल)ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका छन् ।

राप्रपाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका हुन् । प्रधानमन्त्री ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गरेका थिए ।

त्यसैगरी प्रधानमन्त्री ओली राप्रपा नेपालले आयोजना गरेको चियापानमा पनि सहभागी भएका थिए । प्रधानमन्त्री राप्रपा नेपालद्वारा आम्रपाली ब्यैङ्क्युुट, बालुवाटारमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका हुन् ।

आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् । 


शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग सङ्घको २५औँ वार्षिक साधारणसभामा धारणा राख्ने क्रममा मन्त्री लेखकले सरकारले स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको समेत उल्लेख गरे ।


“सरकारले अध्यादेशमार्फत शासकीय सुधार, उद्योग व्यवसायको सहज सञ्चालन र सुशासनसँग सम्बन्धित कानून संशोधन गरेको छ”, उनले भने ।


मन्त्री लेखकले गैरआवासीय नेपालीको लगानीसम्बन्धी केही निर्णय समेत गरेको बताए । “सूचना प्रविधिको प्रयोग गरी सेवा निर्यातको सहजीकरणका लागि कानुन संशोधन गरिएको छ”, उनले भने ।


उक्त अध्यादेशले आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा नेपाल ल्याउनका लागि सहज हुने उनको भनाइ थियो ।

सबैमा उपचारको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्याउन सरकार लागेको बताएका छन् ।

नेपाली कांग्रेस तनहुँले शनिबार बिपी स्मृति भवन दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पैसा अभावले उपचार नपाउने अवस्थाको अन्त्य गर्दै सबैमा उपचारको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध भएको बताए ।

उनले स्वास्थ्य बीमाको पहुँच र रकमको वृद्धि गरी उपचारमा सहजता कायम गरिने समेत उल्लेख गरे । बिरामीको जीवन रक्षामा मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार नरोकिने पौडेलको भनाइ थियो ।

स्वास्थ्य बीमालाई एक लाखबाट वृद्धि गरी पाँच लाख पुर्याउन स्रोत व्यवस्थापनमा सरकार लागेको मन्त्री पौडेलले जानकारी गराए ।

उनले भने,“स्वास्थ्य बीमालाई पाँच लाख पुर्याउँछौँ मात्र भनेका होइनौँ, कसरी स्रोत जम्मा गर्ने भन्ने विषयको गृहकार्य गरिरहेका छौँ, मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने प्रक्रियामा अगाडि बढिसकेका छौँ ।”

निजी संस्था र नागरिकबाट उठ्ने करको केही रकम बीमा कोषमा ल्याउने तयारी भएको उनले बताए ।

जटिल रोग लागेका बिरामीलाई एक लाखले उपचार सम्भव हुँदैन, जसले गर्दा बीमाको रकम वृद्धि गरी पाँच लाख पुर्याउने योजना तयार भएको उनको भनाइ थियो ।

स्वास्थ्य बीमाको स्रोत व्यवस्थापनमा नागरिक, सरकार, विभिन्न सङ्घसंस्थाको योगदानलाई सुनिश्चित हुने गरी कार्यक्रम ल्याइने पौडेलले बताए ।

नख्खुडोल पुल मर्मत नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य

ललितपुर । बाढीबाट क्षति पुगेको नख्खुडोल पुल मर्मत नहुँदा स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैंवु जोड्ने नख्खु खोला पुल गत असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको थियो ।

बाढीले प्वाल पारेको पुल फलामको सहायताले दुई पाङ्ग्रे सवारी गुड्न सक्ने गरी अस्थायीरुपमा एकतर्फी सञ्चालनमा ल्याइको छ । ललितपुर महानगरपालिका–२५ का स्थानीय उमेश थापा नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन् ।

साँघुरो पुलमा अहिले प्रायःजसो दुईपाङ्ग्रे सवारी साधानको जाम हुने गरेको छ । नख्खुडोलका स्थानीय कमल राईले कार्यालय समयमा पुलमा अत्यधिक जाम हुँदा समस्या भइरहेको बताए ।

उनले भने, ‘बाढीले क्षति गरेको चार महिना बित्न आँटिसक्यो, अहिलेसम्म जीर्ण अवस्थामा रहेको नख्खुडोल पुल अझै मर्मत भएको छैन । यसले गर्दा आवातजावत गर्न निकै असहज भएको छ ।’

पुल मर्मतका लागि ललितपुर महानगरपालिकाले ६७ लाख विनियोजन गरेको छ । ललितपुर महानगरपालिका–२५ का वडाध्यक्ष दौलतकुमार खत्रीले पुल मर्मत चाँडै सुरु गरिने बताए ।

ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महतले ठेक्का प्रक्रियामा केही ढिलाइ भएकाले पुल मर्मतमा विलम्ब भएको स्वीकार गरे । उनले भने, ‘अहिले अस्थायी रुपमा मोटरसाइकल आवातजावत गर्न मिल्ने बनाइएको छ । पुल मर्मतमा ढिलासुस्ती हुँदा स्थानीयलाई आवातजात गर्न असहज भएको पक्कै हो, अब छिट्टै समस्याको समाधान हुन्छ ।’

राप्रपाले पृथ्वी जयन्तीमा दरबारमार्गदेखि सिंहदरबारसम्म निकाल्यो र्‍याली(फोटोफिचर)

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको सम्झनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा र्याली निकालेको छ ।

राप्रपाले शनिबार दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्याली निकालेको हो । र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत पार्टीका नेता कार्यकर्ता सहभागी भएका थिए ।

तस्बिरः किरणराज विष्ट, हरिराम भेटुवालरासस

दूधरास–छिल्लीकोट दौड प्रतियोगितामा सेनाका रामजी बस्नेत प्रथम

तुलसीपुर । राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ ।

नेपाली सेनाको १९ नं बाहिनी अड्डाको समन्वय, तुलसीपुर उपमहानगरपालिका र रणसिंहदल गणको संयुक्त आयोजनामा आज १२ किलोमिटरको दौड प्रतियोगिता भएको हो । लिगलिग कोटको राजा दौडबाटै छानिने प्रथाको सम्झना तथा छिल्लीकोट पर्यटकीय क्षेत्रको विकास गर्न प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

दौडमा रणसिंह दल गण दाङमा कार्यरत रामजी बस्नेत पहिलो भए । उनले ५१ मिनेट ३१ सेकेण्डमा पार गरेका थिए । उनले २० हजार प्राप्त गरे । दोस्रो भएका विशालकुमार महतले १५ हजार र तेस्रो भएका एकेन्द्र कार्कीलाई १० हजार र सान्तवना पुरस्कार खगिसरा रावलले पाए ।

त्यसअवसरमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले छिल्लीकोट गढीका रुपमा रहेको बताए । उनले यसको ऐतिहासिक दरबार क्षेत्रको उत्खनन् आवश्यक भएको समेत उल्लेख गरे । उनले छिल्लीकोट क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि साहसिक खेल जीपलाइन, घरबास सञ्चालनमा आएको र खानेपानी, विद्युत् र सडक पूर्वाधार निर्माणकै चरणमा भएको बताए ।

दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यसप्रकारका प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा राखे । तुलसीपुर उपमहानगरपालिका–१९ वडाध्यक्ष प्रेमनाथ योगीले राष्ट्रिय एकता दिवसले छिल्लीकोटको इतिहासलाई परिचित गराउने बताए । छिल्लीकोटमा दुई सय ९३ वर्ष राज गरेको इतिहास छ ।

विसं १५५० देखि छिल्लीकोटमा मेघनाथ शाहले राज्य गरेको र अन्तिम राजा वीरभद्र शाह थिए । यहाँ विसं १८४३ सालसम्म राज्य गरेको ऐतिहासिक तथ्य छन् । विसं १८४३ कात्तिक १९ गते दामोदर पाण्डे, जगतजित पाण्डे, सर्दार प्रबल राना, सुब्बा फौदसिंह खत्रीसहितको टोलीले विनायुद्ध छिल्लीकोट राज्यलाई एकीकरण गरी नेपालमा गाभिएको थियो ।

पाकिस्तानमा कोइला खानीमा विस्फोट हुँदा चार जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ । फसेका आठ जनाको उद्धार गर्ने प्रयास जारी रहेको एआरवाई न्यूजले जनाएको छ ।

एआरवाई न्यूजका अनुसार २७ घण्टाभन्दा बढी समयदेखि उद्धार कार्य जारी रहेको छ । अधिकारीहरूले फसेका खानीमा पुग्न अथक प्रयास गरिरहेका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले खानीबाट थप तीन शव निकालिएको पुष्टि गरेसँगै बरामद हुने शवको कुल सङ्ख्या चार पुगेको छ ।

घटना बिहीबार स्थानीय समय अनुसार ४ बजे भएको थियो, जब ग्यास विस्फोटको कारण कोइला खानीको एक भाग भत्किएको थियो, जसमा १२ जना कामदार भित्र फसेका थिए ।

एआरवाई न्यूजले रिपोर्ट गरेको अनुसार फसेका कामदारहरू लगभग चार हजार ३०० फिट जमिनमुनि रहेको विश्वास गरिन्छ । अहिलेसम्म बरामद गरिएका शवहरू तीन हजार फिट गहिराइमा थिए । विस्फोटका कारण खानी भत्किएको थियो र उद्धार टोलीहरूले खानीमा पुग्न वैकल्पिक मार्ग निर्माण गर्न काम गरिरहेका छन् ।

एआरवाई न्यूजका अनुसार चुनौतीपूर्ण मौसमका कारण सहयोगमा जटिलता आएको छ ।

यस्तै एउटा घटना मार्च सन् २०२४ मा बलुचिस्तानको हरनाईमा रहेको कोइला खानीमा १८ जना खानीमा फसेको थियो । उद्धारकर्ताहरूले सफलतापूर्वक १२ शवहरू निकाले र छ जना घाइतेहरूलाई उद्धार गरियो ।

श्रीलङ्काको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि

कोलम्बो । श्रीलङ्काले सन् २०२४ मा पर्यटनबाट करिब ३.१७ करोड अमेरिकी डलर कमाएको श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यो सन् २०२३ को पर्यटन आम्दानीको तुलनामा ५३ दशमलव २ प्रतिशतले वृद्धि हो, जुन करिब दुई अर्ब सात करोड डलर रहेको तथ्याङ्कले देखाएको छ ।

सीबीएसएल तथ्याङ्कले सन् २०२४ मा २० लाखभन्दा बढी पर्यटकले श्रीलङ्का भ्रमण गरेको देखाएको छ, जुन २०२३ को तुलनामा ३८ दशमलव १ प्रतिशतले बढेको छ ।

श्रीलङ्का सरकारले सन् २०२५ मा ३० लाख पर्यटक भित्र्याएर पाँच अर्ब डलर पर्यटन राजस्वको लक्ष्य राखेको छ ।

जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

जुम्ला । जुम्ला  जिल्लाका आठ वटै स्थानीय तहका आठ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने भएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब आठ हजार आठ सय २९ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन भइरहेको छ । देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । जुम्लाको हकमा फागुनदेखि सामुदायिक विद्यालय खुल्ने भएकाले त्यसैअनुसार कार्यालयले खोप कार्यक्रम सञ्चालनका लागि स्थानीय तहका स्वास्थ्य शाखासँग छलफल भइरहेको छ ।

कार्यालय प्रमुख सापकोटाले भने, ‘विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका एक हजार पाँच सय ८६ जना र विद्यालयभित्रका सात हजार दुई सय ४३ गरी आठ हजार आठ सय २९ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको छ ।’

कार्यालयको तथ्याङ्कअनुसार जिल्लाको चन्दननाथ नगरपालिकाका एक हजार आठ सय ७९ जना, गुठीचौर गाउँपालिकामा पाँच सय २०, हिमामा एक हजार १३ र कनकासुन्दरीमा नौ सय ६७ जनालाई खोप लगाइने छ ।

त्यस्तै पातारासी गाउँपालिकामा एक हजार एक सय ५८, सिंजामा नौ सय सात, तातोपानीमा एक हजार एक सय ५३ र तिलामा एक हजार दुई सय ३२ जना छात्रालाई खोप लगाउने योजनाबारे छलफल भइरहेको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाको भनाइ छ ।

विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता

काठमाडौं ।  जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वातावरणीय बहाव (ई–फ्लो) कायम गर्न आवश्यक पहल हुन नसकेको भन्दै जलस्रोतविद्हरुले चिन्ता व्यक्त गरेका छन्।

वातावरणीय बहाव भन्नाले नदी वा खोलाको पारिस्थितिकीय प्रणाली र यस प्रणालीमा निर्भर मानव जीविकोपार्जन कायम राख्न आवश्यक पानीको बहावको मात्रा, समय र गुणस्तरलाई बुझाउँछ ।

दक्षिण एसियाका सन्दर्भमा नदीको बहावसँग सांस्कृतिक र अध्यात्मिक आवश्यकता पनि यससँग जोडिएको छ । वातावरणीय बहावको कार्यान्वयनका लागि मानव विकास, नदिको प्रयोग वा डाइभर्सन नगरी प्राकृतिक वा पुरानै बहावमा पुनस्र्थापित गर्न आवश्यक छैन, तर यसको सट्टा, खानेपानी, सिँचाइ वा ऊर्जामा मात्र केन्द्रित व्यवस्थापनभन्दा नदी तथा खोलाबाट प्राप्त हुने प्रत्यक्ष वा अप्रत्यक्ष व्यापक लाभको पूर्ति हुने उद्देश्य राखिएको हुन्छ ।

जलविद्युत्, सिँचाइ वा खानेपानी आयोजनासँग जोडिएका अधिकांश नदीनालामा खासगरी हिँउद र सुक्खा याममा वातावरणीय बहाव नगण्य वा शून्यमा झर्ने गरेको पाइएको छ । खोलानालाको यस्तो दोहन रोक्दै नदीलाई स्वस्थ राख्न तीनै तहका सरकार र स्थानीय समुदायले गम्भीर हुन आवश्यक रहेकामा विज्ञहरूले जोड दिएका हुन् ।

अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था (इमी) का अनुसार नेपालमा करिब छ हजार नदीनाला छन् । तीमध्ये अधिकांश हिमालको हिउँ पग्लिएर बग्ने गरेका छन् । पछिल्लो समयमा नेपालका कैयौँ नदीमा जलविद्युत् आयोजना बनिसकेका छन् भने धेरै नदीमा त्यस्ता आयोजना बन्ने तयारी थालिसकिएको छ । केही ठूला नदीमा सिँचाइ आयोजनासमेत बनिरहेका छन् ।

२३ वर्षअघि बनाइएको नेपालको जलविद्युत् नीतिमा हरेक आयोजनाले कम्तीमा १० प्रतिशत वातावरणीय बहाव कायम गर्नुपर्ने व्यवस्था गरिएको छ तर निकै कम नदी आयोजनाले मात्रै वातावरणीय बहाव कायम राख्न कम्तीमा १० प्रतिशत पानी बहन दिने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

जलविद्युत् उत्पादनका लागि नदीको पूरै बहाव सोझ्याएर पानीविहीन बनाइएका विभिन्न नदी खण्डमा माछा र अन्य जलचर मात्र होइन स्थानीय किसान समुदाय सिँचाइ सुविधा पाउनबाट वञ्चित हुनेक्रम बढिरहेको छ । देशका नदीमा पर्याप्त वातावरणीय बहाव कायम गर्दै नदीको स्वास्थ्य संरक्षण तथा नदी तटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली जोगाउन धेरै काम गर्न बाँकी रहेकामा विज्ञहरुले जोड दिएका छन् ।

इमी र जलस्रोत तथा सिँचाइ विभागले  हालै राजधानीमा आयोजना गरेको कार्यशालामा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका सहायक प्राध्यापक दीपनारायण शाहले प्रस्तुत गरेको अध्ययनमा हाम्रो देशमा सञ्चालित करिब ८० प्रतिशत जलविद्युत् आयोजनाले वातावरणीय बहाव कायम गर्न कम्तीमा १० प्रतिशत नदीको पानी बग्न दिनुपर्ने नियमको पालना नगरेका उल्लेख छ ।

‘हामीले हालै ५० वटा जलविद्युत् केन्द्रको अध्ययन गरेका थियौँ । अधिकांशले वातावरणीय बहाव कायम राख्न आवश्यक पानी छोडेका छैनन् ।’

इमीको अर्को अध्ययनअनुसार नियम, निर्देशिका र अनुगमनको अभावका कारण वातावरणीय बहावबारे नियमको पालना हुन नसकेको हो । जलविद्युत्मा निर्भर देशका तीन हजार मेगावाट क्षमताका करिब एक सय ६० जलविद्युत् केन्द्र निर्माण भइसकेका छन् भने १० हजार मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणाधीन छन् । करिब आठ हजार मेगावाट क्षमताका आयोजना निर्माण गर्न आवश्यक सर्वेक्षण भइरहेको छ ।

काठमाडौँ विश्वविद्यालयकी सहायक प्राध्यापक रामदेवी तचमो शाहको भनाइमा हरेक नदीको स्वास्थ्य जोगाउन वातावरणीय बहाव कायम राख्ने नियमको पालना हुनुपर्छ । त्यसका लागि जनतालाई सचेत गराउने तथा सरोकारवालाहरूलाई प्रशिक्षण दिन जरुरी छ ।

कार्यशालामा सहभागी विज्ञ तथा अधिकारीहरूले जलविद्युत्, सिँचाइ वा खानेपानी आयोजना निर्माण गर्नेक्रममा दिगो हिसाबले हरेक नदीलाई जीवित राख्ने  सुनिश्चित गरेर मात्रै पानीको उपभोग गर्नुपर्नेमा जोड दिए ।

उनीहरूका भनाइमा नेपालको संसद्मा विचाराधीन नयाँ जलस्रोत विधेयकमा वातावरणीय बहावको विषयलाई सम्बोधन गरिएमा मुलुकका नदीनालाको दिगो संरक्षण हुन सक्छ ।

पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवाली मुलुकका नदीनालासँग जोडिएका आयोजनालाई दिगो बनाउनका लागि तिनको ‘स्थानीयकरण’ गर्नु सर्वोत्तम उपाय हुनेछ । त्यसक्रममा परियोजनाहरु निर्माण गर्नुअघि गरिने वातावरणीय प्रभाव मूल्याङ्कन अर्थात् इआईए बनाउँदा र यसको कार्यान्वयन गर्दा जतिसक्दो धेरै स्थानीयवासीका चासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिन्छन् ।

आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटीसम्बन्धी अध्यादेशले विदेशी लगानी भित्रिने बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्राउन सहज बनाउने कानुन राष्ट्रपतिसमक्ष सिफारिस गरेको र यसले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘आइटीको क्षेत्रमा काम गर्नेहरुलाई खुसीको खबर ! नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानुनी अप्ठ्याराहरु थिए । अब नेपाली आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा भित्राउन पाउने भएका छन् । हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्राउन सहज बनाउने कानुन सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गरेको छ । यसले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने हाम्रो विश्वास छ ।’

जनप्रतिनिधिका आवाज दबाएर गरिने अधिनायकवादी ‘अध्यादेश शासन’ अस्वीकार्य छ

सुमना श्रेष्ठ ।
दुई तिहाइको सरकार आफ्नै, कर्मचारी सङ्गठनहरू आफ्नै, डेलिभरी दिन नसक्ने पनि आफैं, अनि कर्मचारीले काम गरेन भन्ने पनि आफैं, तर ‘हामी कर्मचारीसँग जुधिरहेका छौँ’ भनेर जनताको आँखामा छारो हाल्ने पनि आफैं….

खासमा आजको दुई तिहाइको सरकारले गर्नुपर्ने दलीय कर्मचारी सङ्गठनको खारेजी, पार्टीहरुले गर्नुपर्ने विघटन थियो । तर, अध्यादेशमार्फत ‘७ दिन भित्र फाइल टुङ्ग्याउने’ अव्यवहारिक कुरा गरिरहेको छ सरकारले । हरेक फाइल टुङ्गिन ७ दिन लाग्छ भन्ने पनि होइन, हरेक फाइलको अध्ययन ७ दिनभित्रै सकिन्छ भन्ने पनि छैन। ७ दिनभित्र कुनै आयोजनाको डीपीआर कसरी अध्यन गर्न सकिन्छ भन्नुस् त ? यो त कुनै मिडिया हाउसले पत्रकारलाई ‘हरेक ७ दिनमा एउटा अनुसन्धानात्मक रिपोर्ट बनाऊ’ भनेको जस्तै भयो । यसले ‘हामी कर्मचारीसँग जुधिरहेका छौँ’ भनेर जनताको आँखामा छारो हाल्नेबाहेक कुनै योगदान गर्छ जस्तो मलाई लाग्दैन ।

अर्कोतिर गैरआवासीय नेपालीसम्बन्धी ऐन लागू छ । गैरआवासीय नेपालीको आर्थिक हक संविधानमै सुनिश्चित छन् । ती हक प्रचलन गर्न आवश्यक नियमावली र कार्यविधि बनाउन छोडेर आएको अध्यादेशले ‘न्युजमेकिङ’ बाहेक के योगदान गर्ने रहेछ? बुझ्न सकिएन । कामै सुरु नभएको योगमाया विश्वविद्यालयमा अध्यादेशबाट बाधा अड्काउ फुकाउनुपर्ने के आइलाग्यो ? आर्थिक वर्षको बजेटहरूमै भएका नेपाली सूचना प्रविधि कम्पनीसम्बन्धी सहजीकरण र सुधारका प्रावधान कार्यान्वयन भएका छैनन् । कानुन माथि कानुन थपेर हैन कानुन कार्यान्वयनका समस्या समाधान गरेर पो सुशासन आउने होला ।

हुन त कानुन बनाउन बसेका हामी सांसदले नै अझै अध्यादेशको पूर्णपाठ हेर्न पाएका छैनौँ–हेडलाइनका भरमा आँकलन गर्नु परेको छ। लोकतन्त्रमा संसद छलेर अध्यादेश कहीँ नभएको जात्रा हो। संसद्को आउँदो अधिवेशनमा यी अध्यादेश र सरकारको निरंकुशताबारे छलफल हुने नै छ ।

मध्यरातको अन्धकारमा बनेको सरकारले मध्यरातको अन्धकारमै अध्यादेश ल्याएछ। संसद छ, संसदम ा सत्तापक्षको दुईतिहाई छ, तर सरकार संसदबाट तर्सिन्छ र अध्यादेशबाट देश चलाउने तानाबाना बुन्छ। कारण स्पष्ट छः सरकार संसदमात्र होइन जनताको प्रतिक्रियासँग पनि डराएर भागिरहेको छ।
अध्यादेशका शीर्षक त आकर्षक नै देखिन्छ, प्रधानमन्त्रीज्यूको सचिवालयले ‘प्रेस नोट’ पनि आकर्षक नै पठाएछ तर हिजो मध्यरातमा आएका कुनै पनि अध्यादेशले कुनै पनि समस्याको व्यवहारिक समाधान दिने छैनन् । यी अध्यादेशको प्रयोजन सरकारविरुद्ध बनिरहेको जनमतलाई ‘बोल्ड निर्णय गरेछ अध्यादेश मार्फत’ भन्ने हौवा फैलाएर सत्ता टिकाउने मात्रै हो।

अस्ति भर्खर आएको सहकारीसम्बन्धी अध्यादेशजस्तै भित्र दुई लाइन पनि सङ्गति नमिलेको, नियमावलीमा समेटे पनि हुने विषय लोकरिझ्याईँ र प्रचार हेतु ‘ऐन’मा राखेको, राजनीतिक मुद्दा फिर्ता लिन ल्याइएको केही नेपाल ऐनलाई संशोधन विधेयकको दफा ६४ जस्तै घातक प्रावधान यी अध्यादेशभित्र पनि घुसाउन खोजिएको स्पष्ट छ।

पुरानै कानुनका अल्पविराम, पूर्णविराम, ‘र’, ‘वा’ भन्ने शब्दमा समेत खेलेर आफ्नो सत्ता टिकाउने कुत्सित उद्देश्य पुरा गर्ने बानी परेको यो सरकार २०० प्रतिशत गलत बाटोमा छ। यो सरकारले स्थिरताको भ्रमपूर्ण भाष्यमा दुईतिहाई जनमतको अवमूल्यन गरेको छ, संविधान संशोधनको आशामा देशलाई बन्धक बनाएर दुई दलीय अधिनायकवादतिर धकेलिरहेको छ।

अवश्य पनि हामीलाई सुशासन र सेवा प्रवाहका लागि थुप्रै कानुनमा सुधार चाहिएको छ तर जनताको सार्वभौमसत्ताको अभ्यास गरेर कानुन बनाउने वैधानिक निकाय सांसदलाई बन्दी बनाएर, जनता र जनप्रतिनिधिका आवाज दबाएर गरिने अधिनायकवादी ‘अध्यादेश शासन’ हामीलाई अस्वीकार्य छ।

विमान दुर्घटना हुँदा कोलम्बियामा १० जनाको मृत्यु

बोगोटा । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधवार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । सो जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए ।

एन्टिओक्वियाको जोखिम व्यवस्थापन विभागका निर्देशक कार्लोस रियोस पुएर्टाले भने,“दुर्भाग्यवश, त्यहाँ कोही पनि बाँचेका छैनन् । हामीसँग साइटमा ३७ जना कर्मचारीहरू काम गरिरहेका छन् । प्रतिकूल मौसमी अवस्थाले रिकभरी प्रक्रियालाई जटिल बनाएको छ ।”

“हामीले यो प्रक्रियालाई सकेसम्म छिटो र प्रभावकारी बनाउन प्रयास गरिरहेका छौं,” उनले भने ।

प्यासिफिक ट्राभलले विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । “हामी सधैं तिनीहरूको साथमा रहनेछौं । यस दुखद घटनाबाट उत्पन्न हुने हरेक आवश्यकतालाई पूरा गर्नेछौं ।”

समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः  पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको भौगोलिक अखण्डता, शान्ति, अग्रगति र समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्नेमा जोड दिएका छन् ।

पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिँदै उनले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई थप सुदृढ गर्न सकिने बताएका हुन् ।

खनालले एकीकरणका योद्धाहरुले आनुधिक नेपाल निर्माणमा पुर्याएको योगदानका स्मरण समेत गरेका छन् । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य तथा सुख शान्तिको कामना गर्दै उनले स–साना राज्यहरुलाई एकीकरण गर्ने हाम्रा वीर पुर्खाहरूको साहस, पराक्रम र दूरदर्शिताको परिणाम स्वरुप नेपाल आज एक स्वाधिन, अखण्ड र सार्वभौम मुलुकका रुपमा तथा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रका रुपमा विश्वमा परिचित रहेको विचार व्यक्त गरे ।

राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ

मनाङ । मनाङको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प) र थोराङ्ला भञ्ज्याङसम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएसँगै सौर्य ऊर्जाको बाध्यता हटेको छ । 

मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारमा चार हजार दुई सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखेर विद्युत् आपूर्ति दिन थालेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि धेरै सहज भएको बताए ।

उनले भने, “राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीका साथै स्थानीयलाई सहज भएको छ, विद्युत् उपयोगमा वृद्धि भएको छ, पानी उमाल्न पनि बिजुली नै प्रयोग गर्न थालेका छौँ, जसले गर्दा ग्यासको खपत कम भएको छ ।”

प्राधिकरणले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत तिलिचो तालको बेस क्याम्पसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याएको जनाएको छ । 

लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुको राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्यु ३३/११ केभी सबस्टेसनमा पुगेको छ । सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेस क्याम्पमा पुर्याइएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ । राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएको बेला साना जलविद्युत केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए ।

मस्र्याङ्दी करिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा दुई सय २० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई त्यहाँबाट विद्युत् प्रवाह भइरहेको र मनाङको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।

राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ निर्माण सुरू भएको छ ।

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह परिसरमा स्विचयार्ड निर्माणका लागि फाउण्डेशन तयार पार्न थालिएको हो ।

स्विचयार्डका उपकरणले विद्युत्गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ । राहुघाट जलविद्युत् आयोजनाको सिभिल महाशाखा प्रमुख रविन कट्टेलले एआइएस (एयर इन्सुलेटेड) प्रविधिको स्विचयार्ड निर्माण गर्न लागिएको जानकारी दिए ।

‘सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) ले स्विचयार्डको फाउण्डेशन तयार पार्ने कामलाई तीव्रता दिएको र हाइड्रोमेकानिकल ठेकेदार भारत हेवी इलेक्ट्रिकल्स (भेल)ले जडान गर्ने उपकरण तयार पारेर आयात थालेको छ’, उनले भने, ‘आगामी २०८२ असार १५ भित्र राहुघाट निर्माण सम्पन्न गर्ने कार्ययोजनासहित निर्माणलाई तीव्रता दिएका छौँ ।’

राहुघाटबाट उत्पादन हुने विद्युत् लिलो (लुप इन, लुप आउट) प्रविधिबाट दुई सय २० केभी क्षमताको कालीगण्डकी कोरिडोर दाना–कुश्मा प्रसारण लाइन (डबल सर्किट) मार्फत केन्द्रीय ग्रिडमा जोडिने भएको छ । चार वटा प्रसारण लाइनको टावर निर्माण भइसकेको छ ।

विद्युत्गृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने एक सय २८ मिटर लामो टेलरेस डग निर्माण सकिएको छ ।

विद्युत्गृहबाट निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । टर्वाइन, जेनेरेटरका पाट्स जडान गर्ने काम थालिएको छ । आयोजनाको जग्गा अधिग्रहणदेखि हालसम्मको भौतिक प्रगति ७७ दशमलव १६ प्रतिशत रहेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए ।

‘बाँधमा ब्यारेज, छ हजार दुई सय ७० मिटर लामो मुख्य सुरूङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माण सकिएको छ’, उनले भने, ‘डिसेन्डर (पानी थिग्राउने पोखरी), पावर इन्टेक, मुख्य सुरूङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको छ ।’

मुख्य सुरूङको चार वटा अडिटबाट करिब दुई हजार तीन सय मिटर लाइनिङ (ढलान र प्लास्टर) सकिएको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्ध जलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृहबाट निर्माणाधीन छ ।

आयोजनाको सिभिल ठेकेदारसँग विसं २०७४ मङ्सिर महिनामा ठेक्का सम्झौता भएको थियो । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो ।

पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना २०७० मा सकिनुपर्ने थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्‍याइएको हो ।

प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका छन् ।

एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शाहसँगै त्यस अभियानमा योगदान दिनुभएका सबै पुर्खाहरूको स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राज्य एकीकरणको नेतृत्व गर्नुहुने शाह र त्यस अभियानमा आफ्नो ज्यानको प्रवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।’

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौँ । आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीहरूले आज गच्छेअनुसारका विविध स्वरूप र शैलीमा स्मरण गरिरहेका छन् ।

कसरी सम्झने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई ? आजका दिन सांस्कृतिक लगायतका विविध कार्यक्रमको आयोजना गर्नुका साथै उनको शालिकमा पुष्पगुच्छा अर्पण एवं स्मृति दिवसका कार्यक्रमहरूको आयोजना गरी श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।

तर नेपालका वरिष्ठ कवि तथा सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा उनको स्मरण गरे । नेपाल एकीकरणको इतिहासमा पृथ्वीनाराणसँगै जोडिएको ऐतिहासिक डाँडा चन्द्रागिरि पुगेर त्यहाँस्थित पृथ्वीनारायणको शालिकसामु रचना बाचन गरी कविहरूले उनीप्रति श्रद्धाभाव प्रकट गरेका हुन् ।

पृथ्वीनारायण शाह आफ्नो मावली घर नुवाकोट यही डाँडाको बाटो हुँदै जाने क्रममा हालको भालेश्वर मन्दिर वरपरबाट उपत्यकाको सुन्दरता देखेपछि कीर्तिपुरसहितको काठमाडौँ खाल्डोलाई गोरखा राज्यअन्तर्गत एकीकरण गर्ने कामना गरेका इतिहासकारहरू बताउँछन् । त्यसैले यो ऐतिहासिक चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्सले पृथ्वीनारायण शाहको शालिक निर्माण गरेको छ र बर्सेनि पुस २७ मा उहाँको स्मरणमा विविध कार्यक्रमको आयोजना हुने गर्दछ ।

जसले देख्यो सुनौलो सपना चार किल्ला तोडेर
उसैले उन्यो इन्द्रेणी माला सयौँ फूल जोडेर
जसले रच्यो, नेपालको नक्सा, सयौँ देश जोडेर
धर्तीको स्वर्ग छैन कहीँ अन्त नेपाल छोडेर ।

वरिष्ठ कवि एवं गीतकार एसपी कोइरालाले पृथ्वीनारायण शाहलाई यी शब्दहरूले सम्झिए । चार किल्ला तोडेर सुनौले सपना देख्ने र सयौँ फूल जोडेर इन्द्रेणी माला उन्ने व्यक्तिका रूपमा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै कविले नेपाल धर्तीकै स्वर्ग रहेको र यस्तो अन्यत्रै कतै नभएको भाव पोखे । सयौँ देशलाई जोडेर एउटै देश नेपालको नक्सा बनाउने सपना पृथ्वीनारायण शाहले देखेर नै नेपाल देशको जन्म भएको उनको सिर्जनाको भाव छ ।

अर्का वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठ आफ्नो सिर्जनामा पृथ्वीनारायण शाहलाई यसरी सम्झनुहुन्छ‐

जोडेर धेरै मनहरू
फोडेर धेरै किल्लाहरू
यो देश बनाउने
अपराधी मै हुँ
गुमनाम तिमीलाई
नाम दिएर
स्वाभिमान तुल्याउने
अपराधी पनि मै हुँ
जजस्ले आँखा लगाए
यो माटोमाथि
गर्दन रेटेर तिनीहरूको
खुँडा पखाल्ने पनि मै हुँ
हो, यो देश बनाएर
अपराध गरेको भन्छौ भने
त्यो अपराधी पनि मै हुँ
हो, यो देश बनाउने
अपराधी मै हुँ ।

केही समययता देशमा पृथ्वीनारायण शाहको योगदान र इतिहास विस्मृतितिर गएको भान भइरहेकै छ । त्यसैप्रति भरपुर ब्यङग्य गरेका छन् उनका यी शब्दहरूले । समाजले कहिलेकाहीँ ओकल्ने गरेका उनीप्रतिका अनादरलाई कवि श्रेष्ठका यी शब्दहरूको श्रेष्ठता र भाव पर्याप्त छ । धेरै मनहरू जोडेर र धेरै किल्लाहरू फोडेर यो देश बनाउने व्यक्तिका रूपमा कविले पृथ्वीनारायण शाहलाई चिनाउन चाहन्छन् ।

अर्का वरिष्ठ कवि डा नवराज लम्सालको यो सिर्जना पृथ्वीनारायण शाहले ठूला दुःखले आर्जेको भूमिको सुरक्षामा समर्पित छ । उनका यी शब्दहरूले चाहे जस्तोसुकै अवस्था र परिस्थिति आए पनि देशको साँधसीमामा कसैलाइ पनि ढिम्कन नदिन नेताहरूलाई कडा निर्देश गर्दछन् ।

रोक्ला रोकोस जमिन जल जे रोकियोस रोक्न देऊ
छेक्ला छेकोस वर र पर जे छेकियोस छेक्न देऊ
बोल्ला बोलोस वचन बिटुलो बोल्छ जे बोल्न देऊ
नेताजी हो, तर मुलुकको साँधसीमा नदेऊ ।

पछिल्लो समय नेपालको साँध सिमाना मिचिएका समाचारहरू यदाकदा आउने गरेकाप्रति यी शब्दहरूले जनता जगाउन खोजेका छन् । कवि डा लम्साल देशको नेतृत्वमा रहने नेताहरूलाई यसरी ब्युँझाउन खोज्छन्‐

आमा बेची कुन मखमली शान किन्छौ र सस्तो
नेताजी हो अब त बुझ हो झुक्किने खेल यस्तो ।

अर्का वरिष्ठ कवि किशोर पहाडी देशलाई एउटा ठूलो आकाशसँग तुलना गर्छन् । उनको भावना छ‐ देश आकाश हो, त्यो पनि सानो नभएर ठूलो आकाश । त्यसैले यस्तो ठूलो आकाशरूपी देशका सर्जकप्रति उहाँको सिर्जनाले नमन गरेको छ । उनको सिर्जना भन्छ‐

देश ठूलो आकाश हो
जहाँ केही ताराहरू अन्धकारमा सुत्ने गर्छन्
जहाँ केही चराहरू गुँडमा लुक्ने गर्छन्
केही चराहरू निस्फिक्री उड्ने गर्छन्
हो, देश यस्तै ठूलो आकाश हो ।

‘खै एकताको बल’ शीर्षकको वरिष्ठ कवयित्री प्रभा भट्टराई आचार्यको कविताले नेपालमा एकताको बल घट्दै गएको सङ्केत गर्दछ । नेपालमा यतिखेर धेरै जाति र धर्म भएर पनि नेपाली हुन बिर्सिएका नेपालीको अवस्थालाई उनले लयबद्ध कवितामा प्रस्तुत गरे । उनको सिर्जना भन्छ‐

त्यो माझी, म सतार, यो गुरूङ, यो नेवार, यो बाहुन
थारू त्यो, खस यो, दरै दलित यो, शेर्पा कि भोटे कुन ?
मै हूँ मात्र सबै अलग अलगै चल्दै छ है खल्बल
नेपाली हुन बिर्सिए स्वजनले खै एकताको बल ?

नेपालमा हिजोआज खस्कँदै गएको एकताको बल प्रसस्त मात्रामा झल्किाएको छ यो कवित्व भावले । पृथ्वीनारायण शाहले चार जात छत्तीस वर्णको साझा फूलबारी भनेर दिएको सन्देश नेपाल र नेपालीको राष्ट्रिय एकताको बलका लागि थियो । तर आज जात र वर्ण धेरै भए पनि एकताको बल भने झन् कमजोर हुँदै गएको पाठ यो कविताले सिकाएको छ ।

‘समय, सपना र स्वर’ शीर्षकको कवितामा कवयित्री एलिसा ढुंगानाले पृथ्वीनारायण शाहलाई समयले खोजेको राजाका रूपमा स्मरण गर्न चाहनुहुन्छ । उहाँका शब्दहरू भन्छन्‐

निर्वाचित निरंकुशताले आजित म
पल्टाइरहेछु विशाल नेपालको इतिहास
र देख्छु,
प्रेम, एकता र सत्यमा अडिग
समयले खोजेको राजा
पृथ्वीनाराण शाह ।

त्यसैगरी वरिष्ठ कवि मणि लोहनीले मानचित्रमा उभिएर शीर्षकको सिर्जनामा मानिसले बनाएका नक्साभित्रका धर्साहरूले कहिल्यै मानिसलाई आफ्नो हुन नदिएका र सिमानाका नाममा सदैव छुट्टाइरहेका भाव पोखे । अर्का वरिष्ठ कवि एवं चलचित्र निर्देशक राजेन्द्र शलभले स्वतन्त्रता शीर्षकको सिर्जनामा स्वतन्त्रताको घेरालाई मानिसले नै सधैँ खुम्चाउने दुस्प्रयास गरिरहेको अभिव्यक्ति राखे।

उनीहरूले आफ्ना सिर्जनाहरूमार्फत् नेपालको इतिहास र वर्तमानको व्याख्या गर्दै मुलुक निर्माणको महत्व र राष्ट्रिय एकतामा पृथ्वीनारायण शाहको योगदान र बलिदानको स्मरण गरे ।

उनीहरूका सिर्जनामा नेपालीहरूलाई नेपाली बनाएर विश्वभर चिनाउने युगपुरूष पृथ्वीनारायण शाहको हामी सबैले उच्च सम्मान गर्नुपर्ने भाव रहेको थियो ।

त्यस अवसरमा चन्द्रागिरि हिल्सका मानव संशाधन प्रमुख झलकराज शर्माले पृथ्वीनारायण शाहसँग प्रत्यक्ष जोडिएको चन्द्रागिरिमा उनको शालिक निर्माण गरेर इतिहासलाई जिवन्त राख्ने प्रयास गरिएको बताए ।

कार्यक्रमको अन्त्यमा कवि एसपी कोइरालाले सर्जकहरूका सिर्जनामा पृथ्वीनारायण स्वयम् उपस्थित भएर नेपालीहरूलाई प्रश्न सोधेजस्तो लागेको अनुभव सुनाएका थिए ।

सिंहदरबारको मूलगेट अगाडि यसरी मनाइयो पृथ्वीजयन्ती

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।

प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

तस्बिर : किरणराज बिष्ट /रासस

तीन वटा अध्यादेश ल्याउने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले केही ऐन संशोधन गर्ने अध्यादेश, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

केही ऐन संशोधन गर्ने अध्यादेश सार्वजनिक सेवा प्रवाहमा सहजताका लागि ल्याउन लागेको सरकारले बताएको छ । एनआरएनएसम्बन्धी अध्यादेशमा गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले १० वर्षसम्म नेपाल बस्दा भिसा निःशुल्कको व्यवस्था गरिनेछ ।

अध्यादेश ल्याउनुअघि शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग कानुनमन्त्री र मुख्यसचिव सँगै लगेर भेट गरेका थिए ।

पोर्न स्टारलाई रकम दिएको मुद्दामा ट्रम्पलाई सफाइ

न्युयोर्क । ह्वाइट हाउसमा पहिलो अपराधी बन्नबाट जोगिन अमेरिकी राष्ट्रपति–निर्वाचितको अन्तिम प्रयासका बावजुद एक न्यायाधीशले शुक्रबार डोनाल्ड ट्रम्पलाई पोर्न स्टारलाई दिइएको गुप्त रकम लुकाएको मुद्दामा बिना शर्त रिहाइको सजाय सुनाएका छन् ।

सन् २०२४ मे महिनामा दोषी ठहर गरिएको व्यावसायिक रेकर्ड जालसाजीका ३४ मुद्दामा जेल सजायको सम्भावना भए पनि न्यायाधीशले ट्रम्पलाई जेल वा जरिवानाबाट मुक्त गरे  ।

यसको सट्टा न्युयोर्कका न्यायाधीश जुआन मर्चनले उपलब्ध सबैभन्दा हल्का फौजदारी सजाय– बिना शर्त रिहाइ– दिए । यो तुलनात्मक रूपमा दुर्लभ उपाय हो ।

“यस अदालतलाई पहिले कहिल्यै यस्तो अद्वितीय र उल्लेखनीय परिस्थितिको साथ प्रस्तुत गरिएको थिएन”, न्यायाधीश मर्चनले भने, “मुलुकको सर्वोच्च पदमा हस्तक्षेप नगरी दोषी ठहर गर्न अनुमति दिने एकमात्र कानूनी सजाय बिना शर्त रिहाइ हो ।”

ट्रम्प भर्चुअल रूपमा आफ्नो सजाय सुनुवाइमा उपस्थित भए । न्यायाधीश, वकिल र मिडियाले म्यानहट्टनको अदालत कक्षमा खचाखच भरिएका थिए जुन विभाजनकारी रिपब्लिकनद्वारा मुद्दाको उच्च नाटक, कानूनी झगडा र कटु व्यक्तिगत आक्रमणको पृष्ठभूमि थियो ।

“यो निकै डरलाग्दो अनुभव भएको छ । मलाई लाग्छ यो न्युयोर्क र न्युयोर्कको अदालत प्रणालीका लागि ठूलो धक्का हो”, आरोपमुक्त हुनुअघि ट्रम्पले भने, “मैले चुनाव हारौँ भन्ने अभिप्रायले यो मेरो प्रतिष्ठालाई हानि पुर्याउनका लागि गरिएको थियो ।”

पूर्वराष्ट्रपति आफ्नो पछाडि दुईवटा ठूला अमेरिकी झण्डा लिएर अदालत कक्षमा पर्दामा देखापरे । सेतो धर्काहरू भएको रातो टाई लगाएका थिए र छोटो कार्यवाही चलिरहँदा अधीर भएर हेरिरहेका थिए ।

सजाय सुनाउनुअघि अभियोजक जोशुआ स्टिनग्लासले ट्रम्पलाई ‘पूर्वनियोजित र निरन्तर छल’ गरेको अभियोगमा दोषी ठहर गरिएको बताए । “यस मुद्दामा फैसला सर्वसम्मत र निर्णायक थियो र यसको सम्मान गरिनुपर्छ”, उनले भने ।

सुनुवाइमा ट्रम्पलाई साक्षीहरूको शृङ्खलाले बयान दिएको हेर्न बाध्य पारियो । उनीहरूले ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावअघि पोर्न स्टार स्टोर्मी ड्यानियल्सलाई उनीहरूको यौन सम्बन्ध सार्वजनिक नगर्न दिइएको गैरकानूनी भुक्तानी धोखापूर्ण ढङ्गले लुकाएको बताए । अन्ततः ट्रम्पले सन् २०१६ को निर्वाचन जिते ।

न्युयोर्क राज्यको अपील अदालतले सुनुवाइमा ढिलाइ गर्ने उनको प्रयासलाई खारेज गरेपछि ट्रम्पले फौजदारी कार्यवाही निलम्बनको माग गरेका थिए ।

तर सर्वोच्च अदालतले सजाय सुनुवाइ अघि बढ्न सक्ने फैसला गर्यो । अभियोजकहरूले ट्रम्पसँग न्युयोर्कमा अपील गर्ने मार्गहरू बाँकी हुँदा सर्वोच्च अदालतले मुद्दा सुन्नु गलत भएको तर्क गर्दै दोस्रो कार्यकालको सपथग्रहण हुन १० दिन बाँकी छँदै सजाय रोक्ने प्रयासको विरोध गरे ।

– पहिलो राष्ट्रपतीय दोषसिद्धि –

बिना शर्त रिहाइ कुनै दण्ड वा प्रतिबन्ध नभएको उपाय हो । यसले जुरीको दोषी निर्णयलाई समर्थन गर्दछ र यो कुनै अपराधका लागि दोषी ठहर भएका पहिलो पूर्वराष्ट्रपतिका रूपमा ट्रम्पको बदनामी हो । अठहत्तर वर्षीय ट्रम्पलाई सम्भावित रूपमा चार वर्षसम्म जेल सजाय हुन सक्थ्यो ।

“उहाँ न्यायाधीश, जुरी, न्याय प्रणालीलाई माझ औँला देखाउँदै हुनुहुन्छ र हाँस्दै हुनुहुन्छ”, सजाय सुनाउनुअघि पेस विश्वविद्यालयका कानून प्राध्यापक तथा पूर्व अभियोजक बेनेट गर्शमनले भने ।

अदालत बाहिर ट्रम्प समर्थकहरूले आफ्नो आदर्श व्यक्तिको नाम अङ्कित विशाल ब्यानर बोकेका थिए र यसलाई तेज हावाले हल्लाइरहेको थियो ।

“ट्रम्प दोषी हुनुहुन्छ”, लेखिएको होर्डिङको पछाडि ट्रम्प विरोधी प्रदर्शनकारीहरूको सानो धर्ना पनि थियो ।

ट्रम्पका वकिलले रिपब्लिकनले आफ्नो सजायलाई अपिल गर्दा सजाय स्थगित गर्नुपर्ने तर्क गरेका थिए, तर न्युयोर्क राज्यका सहयोगी न्यायाधीश एलेन गेस्मरले यसलाई अस्वीकार गरे  ।

ट्रम्पले बारम्बार अभियोजनलाई ‘विच हन्ट’ भनेका थिए । यसलाई स्टिनग्लासले ‘डरलाग्दो प्रभाव पार्न डिजाइन गरिएको’ बताउनुभयो । “यी प्रतिवादीले आपराधिक न्याय प्रणालीको बारेमा जनताको धारणालाई स्थायी क्षति पुर्याएको छ”, करियर अभियोजकले भने  ।

ट्रम्पका वकिल टोड ब्लान्चेले भने, “म (अभियोजन पक्ष) ले भर्खरै भनेका धेरै कुराहरूसँग धेरै असहमत छु ।”

सन् २०२० को हारलाई उल्ट्याउन खोज्ने क्रममा आफ्ना समर्थकहरूले युएस क्यापिटलमा दङ्गा गरेको चार वर्षपछि सोमबार ट्रम्पलाई सन् २०२४ को राष्ट्रपतीय चुनावको विजेताका रूपमा प्रमाणित गरिएको थियो ।

विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने खोलामा पुल भाँचिएर अवरुद्ध सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेशी शाहका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो ।

शुक्रबार अपराह्न विनयी पुलमा रहेको पूर्वपट्टिको फलामको भाग भाँचिदा राजमार्ग अवरुद्ध भएको थियो । उक्त पुल भाँचिदा बुटवलबाट चितवनतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट एनएल शून्य एक एएच नम्बरको ७४ चक्के टेलर पुलको बीचमा फसेको छ । उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

विनयी खोलाको पुल भासिएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलाको पुल भासिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल  भाँसिदा सडक अवरुद्ध भएको जानकारी दिएका छन् ।

उनले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए । भारतीय ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो । पुल भासिएसँगै पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ ।

कांग्रेस सभापति देउवाद्वारा पार्टीका ३७ विभागमा सचिव मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीको ३७ विभागमा सचिव मनोनित गरेका छन् ।

सभापति देउवाले शुक्रबार प्रदेश समन्वय विभागको सचिवमा डा रघु काफ्ले, महिला विभागमा कविता इटनी, सूचना, सञ्चार तथा प्रचार विभागमा गोपाल झा, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागमा इञ्जिनियर समीक्षा चौधरी, उद्योग तथा व्यापार विभागमा धु्रव खड्का, सहकारी विभागमा चन्द्रप्रसाद ढकाल, पेशागत तथा वुद्धिजीवी विभागमा विजय तुम्वाहाम्फे, तराई–मधेस समन्वय विभागमा मनोजकुमार दास, दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा दीपक सोनी, धर्म–संस्कृति समन्वय विभागमा इन्द्रमान तुलाधर, वित्तीय संस्था समन्वय विभागमा सिए दिलमानसिंह चन्दलाई मनोनित गरेको पार्टी कार्यालयले जनाएको छ ।

त्यसैगरी थारू विभागमा हल्लुप्रसाद चौधरी, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा हेमलाल पुन, स्थानीय तह समन्वय विभागमा लेखनाथ पोखरेल, निर्माण व्यवसाय समन्वय विभागमा एडी लामा, कानुन विभागमा अधिवक्ता कलमबहादुर खत्री, खेलकुद विभाग राजन केसी, शुभेच्छुक संस्था समन्वय विभागमा निर्मला क्षेत्री, संसदीय मामिला विभागमा वासु कार्की, गैरसरकारी संस्था समन्वय विभागमा प्रल्हादवावु पन्त, आदिवासी जनजाति विभागमा पासाङ शेर्पा, भू.पू. सैनिक विभागमा सुनिता लामिछाने, स्वास्थ्य विभागमा ईश्वर कार्की मनोनित भएका छन् ।

पिछडिएको क्षेत्र समन्वय विभागमा उत्तम सिम्खडा, आपूर्ति तथा उपभोक्ता विभागमा मनोहरि तिवारी, श्रमिक तथा ट्रेड युनियन विभागमा डीपी अर्याल, आर्थिक नीति तथा योजना विभागमा नवीन खनाल, विज्ञान तथा सूचना प्रविधि विभागमा इ.सरोज धिताल, पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा विपिन किरण, अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागमा भोजराज श्रेष्ठ, भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभागमा वीरेन्द्र थापा, व्यावसायिक सीप विकास विभागमा सुभाष कोइराला, पूर्वआप्रवासी समन्वय विभागमा सुभाषप्रसाद लोहनी, साहित्य, कला तथा संस्कृति विभागमा रिसवदेव घिमिरे, बालबालिका तथा किशोर–किशोरी समन्वय विभागमा रञ्जिता यादव, मानव अधिकार विभागमा डा वासुदेव गिरी र उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा खगेन्द्र आचार्य मनोनित भएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवनमा भएको भेटमा उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याललगायत वरिष्ठ सरकारी अधिकारी सहभागी थिए ।

ओली नेतृत्वको सरकार अब लामो समय जाँदैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँगको संवादलाई तीव्र बनाएका छन् ।

बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका प्रचण्डले शुक्रबार पनि अध्यक्ष नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि छलफल गरेका छन् ।

शुक्रबार प्रचण्ड र अध्यक्ष नेपालबीच समाजवादी मोर्चालाई पुनरजागृत गराउने विषयमा कुरा भएको छ । अध्यक्ष नेपालले समाजवादी मोर्चालाई सक्रिय बनाइने र माघ २ गते मोर्चाको बैठक बोलाइएको उनले जानकारी दिए ।

दुई नेताबीच छलफल चलिरहँदा शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि उक्त छलफलमा सहभागी भएका थिए ।

संविधान संशोधनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको फरक अभिव्यक्ति आएपछि प्रचण्डले पछिल्लो समय समाजवादी मोर्चालाई सक्रिय बनाउने र अन्य विपक्षी दललाई पनि एकठाउँमा ल्याउन छलफल अघि बढाएका छन् ।

नेताहरुको छलफलपछि अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकार लामो समय नजाने बताए । प्रचण्डको भनाई थियो, ‘अप्राकृतिक भएकाले अब यो गठबन्धन चल्दैन।’

राप्रपा अध्यक्ष लिङ्देनले पनि सरकारको अहिलेकै नेतृत्व र व्यवस्थाले जनताको उत्थान नहुने भएको विकल्प खोज्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक समापनका अवसरमा २०८७ मा मात्र संविधान संशोधन हुने बताएका थिए । प्रधानमन्त्रीको भनाईपछि कांग्रेस पनि बिच्किएको बताइन्छ ।

सरकार गठन हुँदा कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो । जसको दोस्रो बुँदामा संविधान संशोधनको विषय उल्लेख छ ।

तर सहमति विपरित प्रधानमन्त्रीको भनाई आएको भन्दै कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् । सत्तारुढ दुई दलमा खटपटको संकेत पाएपछि प्रचण्डले विपक्षीलाई एकठाउँमा ल्याउन वार्ता र संवादलाई तीव्रता दिन थालेका छन् ।

‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न सचिव अर्यालको निर्देशन

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिभिजन प्रसारणमा ‘आला कार्ट’ मूल्य प्रणालीमा आएको विवाद समाधान गर्न सूचना तथा प्रसारण विभागका पदाधिकारीलाई निर्देशन दिएकी छन्।

सिनामङ्गलस्थित प्रसारण विभागमा आज आयोजित पत्रकारिता अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रममा उनले ‘आला कार्ट’ मूल्य प्रणालीबारे स्वदेशी तथा विदेशी च्यानलहरूको चासो बढेको भन्दै जतिसक्दो चाडो समस्या समाधान गर्न आग्रह गरेकी छन्।

सचिव अर्यालले समस्या समाधानका लागि विभागका महानिर्देशक र सहसचिवको समिति बनाउन निर्देशन दिइन्।

‘यस्ता विषयलाई सधैँभरि अनिर्णयको अवस्थामा राखिरहनुहुँदैन,’ उनको भनाइ थियो, ‘कुन तहको समिति बनाएर समाधान गर्न सकिन्छ, त्यसबारे सोचौँ। विभागका महानिर्देशक वा सहसचिव बसेर भए पनि यो विषयलाई टुङ्गोमा पुर्‍याउनुपर्छ।’

सचिव अर्यालले विभागलाई अनुगमनका कार्यक्रम थप प्रभावकारी बनाउन अनुरोध गर्दै विभागले तय गरेका वार्षिक कार्यक्रम तोकिएको समयमै पूरा गर्न, सम्बन्धित ऐन, निर्देशिका, कार्यविधि समसामयिक बनाउन सुझाव दिइन्।