`

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुने

गण्डकी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही महिनाभित्र नियमित उडान सुरु हुने बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले हिमालयन एयरलाइन्सले पोखरा–ल्हासा उडानको तयारी गरिरहेको बताए ।

‘हिमालयन एयरलाइन्सले केही महिनाभित्रै उडान सुरु गर्दैछ, त्यसका लागि स्वीकृति लिने प्रक्रिया अन्तिम चरणमा पुगको छ, नेपाल एयरलाइन्सलाई पनि अन्यत्रको उडान कटौती गरेर भएपनि पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न सरकारले अनुरोध गरिरहेको छ’, मन्त्री पाण्डेले भने ।

भारतसहित अन्य मुलुकमा पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान सेवा सुरु गर्न सरकारले पहल गरिरहेको उनले बताए ।

हालै भारतका नागरिक उड्डयनमन्त्री र चीनका राजदूतसँग भएको भेटमा पनि उक्त विषयमा गम्भीरताका साथ छलफल गरिएको पाण्डेले जानकारी दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै उनले विमानस्थल सञ्चालन हुन सक्दैन भनेर निराशा बाँड्न नहुने बताए ।

‘पचासौँ वर्षलाई हेरेर विमानस्थल निर्माण गरिएको हो, निराश हुनुपर्ने कुनै कारण छैन, विमानस्थल सञ्चालन गर्न सम्भव छ र हुन्छ’, मन्त्री पाण्डेले भने, ‘पोखरा मुलुकको पर्यटकीय केन्द्र भएकाले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हुँदा अर्थतन्त्र सबल हुनुका साथै पर्यटन प्रवद्र्धन हुने अपेक्षा लिएका छौँ ।’

चीनका विभिन्न गन्तव्यबाट चार्टर उडान भएपछि विमानस्थलको प्राविधिक पक्षलाई लिएर गरिएका आशङ्का पनि हटेको उने बताए ।

‘व्यवसाय विविधीकरण गरिएन भने निगमको अस्तित्व सङ्कटमा पर्नसक्छ’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमको व्यवसायमा विविधीकरण हुन नसके संस्थाको अस्तित्व नै सङ्कटमा पर्नसक्ने बताएका छन् ।

निगमको ५५ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले पेट्रोलियम पदार्थको आपूर्ति श्रृङ्खलामा निगमले महत्वपूर्ण भूमिका खेलिरहेको भए पनि यसैमा मात्र सीमित रहन नहुने बताएका हुन् ।

मन्त्री भण्डारीले ऊर्जा क्षेत्रमा नयाँ नयाँ विकल्पहरू प्रयोगमा आइरहेको अवस्थामा अब तेल मात्रै बेचेर रमाउने अवस्था नरहेकातर्फ सचेत गराए ।

“अत्यावश्यक वस्तुका रूपमा रहेको पेट्रोलियम पदार्थको उपयोग र यसको व्यवसाय घट्दो अवस्थामा छ । स्वच्छ ऊर्जाका नयाँ प्रविधि र त्यसको प्रयोग बढ्दै गएसँगै निगमको व्यवसाय घट्नु स्वभाविक हो । यस्तो अवस्थामा विकल्प खोज्न नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको छ । तेल मात्रै बेचेर मुनाफामा रमाउने दिन धेरै रहँदैन । यसर्थ संस्थाको कार्यक्षेत्र बढाउन आवश्यक छ”, उनले भने ।

पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने, ढुवानी र वितरण प्रणालीलाई भरपर्दो तथा प्रविधिमैत्री बनाउन पनि मन्त्री भण्डारीले निगमलाई निर्देशन दिए । पेट्रोलियम पदार्थमा इथानोल मिसायर प्रयोग गर्ने, घरायसी प्रयोजनका ग्यास सिलिण्डरमा मात्रै अनुदान दिने तथा पाइपलाइनबाटै ग्यास आपूर्ति गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेर आवश्यक काम गरिरहेको उनको भनाइ छ ।

बढी जोखिममा रहेका निगमका थानकोट डिपो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र धनगडी विमानस्थलको डिपो सार्ने काम चाँडो गर्न पनि उनले निगमलाई निर्देशन दिए । यस्तै, दैलेखमा पेट्रोलियम उत्खननका लागि अध्ययन चलिरहेकामा त्यहाँ पेट्रोलियम पदार्थ रहेकाबारे सकारात्मक प्रतिवेदन आएको उद्योगमन्त्री भण्डारीले जानकारी दिए ।

कार्यक्रममा उद्योगसचिव कृष्णबहादुर राउतले पनि निगमको क्षमता विस्तार तथा व्यापार विविधीकरणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । भण्डारण क्षमता बढाउने, पाइपलाइन विस्तार तथा गुणस्तरीय पेट्रोलियम पदार्थको सहज उपलब्धताका लागि निगमको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।

निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले आगामी दिनमा नवीनतम प्रविधिको प्रयोग गर्दै निगमको प्रणालीलाई थप प्रविधियुक्त र व्यवस्थित बनाइने बताए । उनले हरित तथा स्थायी ऊर्जाका स्रोत प्रवर्द्धनमा निगमले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“बिटुमिन, लुब्रिक्यान्ट्स, प्लास्टिक चिप्स, ग्रीज, ग्रानुअल्सजस्ता वस्तुको व्यापारका लागि निगमले जोड दिइरहेको छ । काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा हाइड्रोजन ऊर्जाको विकास र प्रयोगका लागि काम गरिरहेका छौँ । यस्ता कार्यबाट निगमको व्यापारमा विविधीकरण आउने अपेक्षा गरेका छौँ”, कार्यकारी निर्देशक भट्टले भने ।

उनले निगमको भण्डारण क्षमता, पाइपलाइन विस्तार, डिपोहरूको आधुनिकीकरणका साथै मानव संशाधनका क्षेत्रमा विकास तथा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको बताए ।

वैदेशिक रोजगारी त्यागेर जुनारखेती

मन्थली ।  रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेका छन्। जुनारखेतीबाट प्रशस्त र दोहोर आम्दानी हुने भएपछि यहाँका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका हुन्।

जुनार बगैँचाभित्र तोरी भटमासलगायत कोसेबाली र अन्य तरकारीबाली उत्पादन गरी आम्दानी लिन सकिने तथा जुनारबाट पनि आम्दानी लिन सकिने भएकाले यसतर्फ आकर्षित भएको रामेछाप–६ ओख्रेनीका जुनार कृषक हिमाल तामाङले बताए।

लामो समय खाडी मुलुकमा बसेर काम गरेको भन्दै लेखपढ नभएका र सीप नभएका आफू जस्तालाई त्यहाँ सजिलो काम पाउन मुस्किल हुने उनले अनुभव सुनाए।

बर्सेनि बिरुवा थप्दै र उत्पादन वृद्धि गराउँदै जाने हो भने यहीँ विदेशको जति कमाउन सकिने उनको भनाइ छ। आफू भारतको गुजरातमा २५ वर्ष बसेर काम गरेको अनुभव सुनाउँदै त्यहाँको आम्दानी चित्त नबुझेर स्वदेशमा केही गर्ने अठोटका साथ फर्किएर जुनारखेती सुरु गरेको तामाङले बताए।

यसअघि आफू वैदेशिक रोजगारीका क्रममा चार वर्ष मलेसिया बसेर धेरै दुःख गर्दा पनि सन्तोषजनक आम्दानी नभएकाले स्वदेशमा फर्केर जुनारखेती गर्न थालेको रामेछाप–७ सुकाजोरका अर्का कृषक रामकुमार कार्कीले बताए।

रामेछाप नगरपालिकामा हिमाल तामाङ, टेकबहादुर तामाङ, प्रेमबहादुर तामाङ, रामकुमार कार्कीलगायत दजनौँ कृषक वैदेशिक रोजगारीबाट सन्तुष्ट नभएर जुनारखेती गर्ने गरेका छाप नगरपालिकाका वरिष्ठ कृषि शाखा प्रमुख कृष्णबहादुर भुजेलले जानकारी दिए। उनका अनुसार अरुको तुलनामा उनीहरूको बगैँचा र जुनारका दाना राम्रा छन्।

गत वर्ष जिल्लामा ५२० हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएको बताउँदै यस वर्ष ५४० हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापकी भवानी बस्नेतले जनाइन्। उनले जिल्लाका विभिन्न पालिकामा वैदेशिक रोजगारीबाट फर्केर जुनार र सुन्तलाखेती गर्नेको सङ्ख्या बढ्दै गएको उल्लेख गरिन्।

बजारको समस्या नभएकाले यसको व्यवसाय सहज बनेको भन्दै बस्नेतले प्रशस्त उत्पादन, बजारीकरणको समस्या नहुनु, मुनाफा बढीलगायत कारणले युवाको जुनारखेतीप्रति आकर्षण बढेको दाबी गरिन्।

दैनिक रूपमा विदेशिने हजारौँको युवालाई कृषिकर्ममा विभिन्न अनुदान दिएर सङ्घीय तथा प्रदेश सरकारले लगाउनसके वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्ने मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले बताए।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापकीय पक्षलाई सबल बनाउन नयाँ ऐन आवश्यक रहेको सांसदहरुको भनाई

काठमाडौँ । राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् ।

‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ सँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा’ समितिमा बिहीबार भएको छलफलमा उनीहरूले विश्वविद्यालयको व्यवस्थापकीय पक्षलाई सबल बनाउन नयाँ ऐन आवश्यक भएको बताए ।

सांसद नरबहादुर बिष्ट र सांसद रुक्मिणी कोइराला लगायत सांसदले अधिवक्ता चक्रमान विश्वकर्माले अध्ययन गरेको ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ र त्यसअन्तर्गत बनेका प्रत्यायोजित विधानहरूको कार्यान्वयन’ प्रतिवेदनका आधारमा समितिमा पर्याप्त छलफल हुनुपर्ने बताए ।

अधिवक्ता विश्वकर्माको अध्ययनले ‘त्रिभुवन विश्वविद्यालयलाई आर्थिक भार पर्ने गरी कर्मचारी कल्याण कोष, औषधोपचार कोष, कर्मचारी सापटी कोषजस्ता कोषहरू विनियम बनाई स्थापना गरिएको देखिएकाले यस्ता कोषहरू विनियममा नराखी ऐनबाट व्यवस्था गर्नुपर्ने’ लगायत सुझाव दिएको छ ।

अध्ययन प्रतिवेदनमा “त्रिभुवन विश्वविद्यालयका विभिन्न पदाधिकारीहरूको पारिश्रमिक, सेवा, सर्त तथा सुविधाहरू नियममा उल्लेख गर्नुपर्नेमा नियममा तोकिएबमोजिम उल्लेख गरी विनियमहरूमा आफ्नो पारिश्रमिक, सेवा, सर्त तथा सुविधाहरू आफैँ तोकिनु विधिसम्मत नभएकाले यस्ता विषय नियममा नै उल्लेख गर्नुपर्ने ’ भनिएको छ ।

सुप्रिम सहकारी ठगीमा रविलाई प्रतिवादी बनाउन प्रहरीको राय

बुटवल । रुपन्देहीमा प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले शुक्रबार रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितविरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।

लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं एसपी रन्जीतसिंह राठौरले जानकारी दिएका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने कार्तिक २७ गते भैरहवास्थित सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका थिए ।

सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख बढी बचत रकम हिनामिना गरेको दाबी गर्दै गत वैशाख ३ गते लामिछाने सहित २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो। जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको उल्लेख थियो ।

लामिछाने बिहीबार ६५ लाख रुपैयाँ धरौटी बुझाएर कास्की जिल्ला अदालतबाट छुटेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा त्यहाँ उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

उनीविरुद्ध स्वणलक्ष्मी सहकारीको मुद्दा दर्ता भएको छ । उनी अब काठमाडौं, रुपन्देही, चितवन र पर्सा अदालतमा हाजिर हुनुपर्नेछ ।

कुलमानद्वारा कार्यसम्पादन मूल्यांकनमा ९८.९९ अङ्क दाबी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन विवरण मूल्याङ्कनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेका छन् ।

प्रबन्ध निर्देशक घिसिङले गत आर्थिक वर्षमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अङ्क दावी गरी मूल्याङ्कनका लागि मुख्य कार्यसम्पादन सूचकाङ्क समेटिएको विवरण पेश गरेका हुन् । मन्त्रिपरिषद्को २०७८ साउन २५ निर्णयबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त गरिएको थियो ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ मा प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भएको थियो ।

ऊर्जा मन्त्रालयबाट आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा गरेको कार्यसम्पादनका क्रममा प्रबन्ध निर्देशक घिसिङको क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अङ्क प्राप्त गरेका थिए । कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा प्राप्ताङ्कका आधारमा घिसिङले प्रोत्साहन भत्ता पाउने व्यवस्था छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।

प्राधिकरणले वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत पुर्याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवम् सुदृढीकरण, उत्पादनतर्फका ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत बृद्धि तथा अतिरिक्त भएको विद्युत् निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखेको बताइएको छ ।

उर्जा मन्त्रालयले सोमबार घिसिङलाई ९ बुँदे स्पष्टिकरण सोधेको थियो । उनले यही बिचमा आफूले गत आर्थिक वर्षमा गरेको कामको उपलब्धि सार्वजनिक गरेका हुन् ।

नियुक्तिको तीन वर्षमा कार्यसम्पादन मूल्याकंनमा ५० प्रतिशत अंक नल्याएमा नियुक्ति अन्त्य गर्न सकिने प्रावधान रहेको भन्दै मन्त्रालयले अहिले घिसिङले पेस गरेको कागजातका आधारमा कार्यसम्पादन मूल्यांकन नै गर्न नसकिने भएकाले किन नियुक्त रद्द नगर्ने भनी स्पष्टीकरण सोधिएको छ ।

सरकारले सहमतिका आधारमा संविधान संशोधन गर्नेतर्फ ध्यान दिनुपर्छः नेता साउद

राँझा (बाँके) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले जनतालाई शान्ति, सुरक्षा र समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकमा समृद्धि, शान्ति र सुशासन कायम गर्ने उद्देश्यसहित संसद्का दुई ठूला दलको गठबन्धन सरकार बनेकाले सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए।

‘दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले पनि काम गर्न नसके जनतामा थप निराशा आउनेछ । यसर्थ सरकारले जनमुखी काम गर्न आवश्यक छ । त्यसका लागि पार्टीबाट आवश्यक सहयोग गर्न हामी तयार छौँ’, साउदले भने ।

वर्तमान सरकार गठनपछि शेयर बजारसँगै अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि अर्थतन्त्रका समग्र चुनौती सामना गर्ने गरी प्राथमिकता निर्धारण गरेर काम गर्न उनले आग्रह गरे ।

पूर्वमन्त्री साउदले सरकार निर्माणताका दुई दलबीच भएको सहमतिअनुसार सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा संविधान संशोधन गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू डा.डिला सङ्ग्रौला, अब्दुल सत्तार, चम्फा खड्का, नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेललगायत उपस्थित थिए ।

कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

कञ्चनपुर । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि सात दिनसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छदेखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो ।

विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका अधिकृत जनकबहादुर कुँवरले बताए । उनका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि पुस २१ देखि २९ गतेसम्म जिल्लाका एक सय दुईजना स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण तालिम सञ्चालन भइरहेको छ ।

यसपछि शिक्षक, पालिकाका स्रोतव्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, अन्य स्वास्थ्यकर्मीहरूलाई तालिम दिने कार्यक्रम रहेको अधिकृत कुँवरले जानकारी दिए ।

शुक्लाफाँटा स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले समयमै रोगको पहिचान र निदानका लागि पाठेघरको मुखको जाँच नियमित गराउनुपर्ने बताए । उनले ३० वर्षमाथिका महिलाले पाँच–पाँच वर्षमा र एचआइभी सङ्क्रमित महिलाले हरेक तीन वर्षमा पाठेघरको मुखको नियमित जाँच गराउन आग्रह गरे ।

नेपालमा गरिएका विभिन्न अध्ययनले क्यान्सर रोगको दर र जोखिम दिनानुदिन बढ्दै गएको देखाएका छन् । त्यसमा पनि महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै हुने गरेको पाइएको छ । ‘एचपिभी’ भाइरस मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कका क्रममा सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, श्लेष्म झिल्ली वा तरल पदार्थको सम्पर्कमार्फत सर्ने गरेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

तिब्बतका भूकम्पपीडितलाई नेपाली समुदायको ३७ लाख सहयोग

काठमाडौँ । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ ।

ल्हासास्थित रेडक्रस कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई सहायता रकम हस्तान्तरण गरेका हुन् ।

ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले महावाणिज्यदूतावास, कल्याणकोष र नेपाली समुदायप्रति आभार व्यक्त गरेका थिए ।

त्यस अवसरमा अध्यक्ष लियो र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।

छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन मलाला पाकिस्तान आउने

इस्लामावाद । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफ्नो जन्मथलो पाकिस्तानमा आयोजना हुने छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन इस्लामावाद आउने भएकी छन् ।

युसुफजईलाई सन् २०१२ मा पाकिस्तानी तालिवानले गोली हानी हत्या गर्ने प्रयास गरेपछि विदेशमा जीवन बिताउँदै आएकी छन् । आक्रमणपछि पनि उनले पाकिस्तानी किशोरीहरूको शैक्षिक तथा अन्य अधिकारका लागि आवाज बुलन्द गर्दै आएको छ तर पाकिस्तानको विरलै मात्र भ्रमण गर्ने गरेकी छन् ।

“म विश्वभरका मुस्लिम नेताहरूसँग छात्रा शिक्षासम्बन्धी महत्वपूर्ण सम्मेलनमा सामेल हुन पाउँदा उत्साहित छु,” उनले शुक्रबार एक्समा एक पोस्टमा लेखेकी छन् ।

“आइतबार म सबै बालिकालाई विद्यालय जान पाउने अधिकारको रक्षा गर्ने र तालिबानलाई अफगान महिला र बालिकाविरुद्ध गरेको अपराधका लागि किन जवाफदेही बनाउनुपर्छ भन्ने विषयमा सम्बोधन गर्नेछु,” उनले लेखेकी छन् ।
मलाला फन्ड च्यारिटीका प्रवक्ताले उनी व्यक्तिगत रूपमा शिखर सम्मेलनमा सहभागी हुने पुष्टि गरेका छन्।

मुस्लिम समुदायमा बालिका शिक्षामा केन्द्रित रहेर शनिबार र आइतबार राजधानी इस्लामावादमा दुई दिने शिखर सम्मेलन हुनेछ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले उद्घाटन गर्ने समारोहमा ४४ देशका मन्त्री तथा राजदूतका साथै संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्कका प्रतिनिधि सहभागी हुनेछन् ।

यस शिखर सम्मेलनले मुस्लिम समुदायको शिक्षाको माध्यमबाट बालिकाहरूको सशक्तीकरणको साझा प्रतिबद्धतालाई पुष्टि गर्नेछ।

सन् २०१२ मा अफगानिस्तानसँग सीमा जोडिएको स्वात उपत्यकामा पाकिस्तानी तालिवान लडाकूले विद्यालयको बसमा आक्रमण गरेपछि दिएको प्रतिक्रियापछि युसुफजाई चर्चामा आएकी थिइन् । अफगान तालिबान र नेटो सेनाबीच सीमापार युद्ध चर्किरहेको समय पाकिस्तानी तालिवानको नेतृत्वमा यस क्षेत्रमा बर्बर आतङ्क फैलिएको थियो ।

हत्या प्रयासपछि उनलाई संयुक्त अधिराज्य (बेलायत)मा लगियो र बालिका शिक्षाको लागि विश्वव्यापीरूपमा आवाज उठाएका कारण १७ वर्षको उमेरमा सबैभन्दा कम उमेरको नोबेल शान्ति पुरस्कार विजेता बनेकी थिइन् ।

लस एन्जलस डढेलो: कम्तीमा १० जनाको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको अधिकारीले बताएका छन् ।

लस एन्जलस काउन्टी मेडिकल एक्जामिनरले बिहीबार अबेर १० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो शहरको ठूलो भाग भग्नावशेषमा परिणत भएका बेला क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको जानकारी आएको हो ।

आगो निभाउने अभियान रातभर चलिरह्यो। आगो निभाउनका लागि पानी छर्किने हेलिकोप्टरका चालकले हावाको सुस्तताले आगो निभाउने अभियानलाई साथ दिएको बताएका छन् । यद्यपि, नयाँ डढेलोहरू निस्कने क्रम जारी रहेको छ ।

लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले रातको समयमा कफ्र्यू लगाउने योजना रहेको र राज्यको नेसनल गार्डले प्रभावित क्षेत्रमा गस्ती गरिरहेको बताएका छन् ।

गभर्नर गेभिन न्युसमले हजारौं को सङ्ख्यामा सेनाका सदस्य र सरकारी कर्मचारीहरू तैनाथ गरिएको बताएका छन् ।

उनले भने, “हामी आगामी दिनमा समुदायको सुरक्षाका लागि नेसनल गार्ड सेवाका सदस्यसहित सबै तैनाथ गरिरहेका छौँ । यसले सहरमा हुनसक्ने सम्भावित लुटपाटका घटनालाई नियन्त्रण गर्न सकिनेछ ।”

लुनाका अनुसार अधिकारीहरूले उद्धार क्षेत्रमा गस्ती गरिरहेका छन् र त्यहाँ नबस्ने जो कोहीलाई पनि परिचय पत्रका आधारमा पक्राउ गर्नेछन् ।

सबैभन्दा ठूलो डढेलो प्यासिफिक पालिसाडेस आसपासको करिब २० हजार एकड (आठ ८०० हेक्टर) क्षेत्रमा फैलिएको छ भने अल्टाडेना वरपरको अर्को आगलागीले १३ हजार ७०० एकड जमिन जलेर नष्ट भएको छ।

अग्निनियन्त्रकले प्यासिफिक पालिसेड्समा लागेको आगोको छ प्रतिशत परिधिमा रहेको र त्यसको परिधिमा आगोलाई नियन्त्रण गर्न थालेको बताएका छन् ।

पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न चाहेको बताएका छन्।

सन् २०२२ को फेब्रुअरीदेखि रुसी आक्रमणको चपेटामा परेको युक्रेनमा शान्ति स्थापना गर्ने आफ्नो अभियानका क्रममा प्रतिबद्धता जनाएपछि उनले पदभार ग्रहण गर्नुभन्दा डेढ हप्ताअघि यस्तो अभिव्यक्ति दिएका हुन्।

फ्लोरिडाको पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको भेटमा ट्रम्पले भने, ‘उहाँ भेट्न चाहनुहुन्छ र हामी यसका लागि बन्दोबस्त गर्दै छौँ। राष्ट्रपति पुटिनले भेट्न चाहेको कुरा सार्वजनिक रूपमा पनि बताउनुभएको छ। हामीले रुस–युक्रेन युद्ध अन्त्य गर्नुपर्छ। यो एक रक्तरञ्जित घटना हो।’

ट्रम्पले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस प्रस्ताव सार्वजनिक गरेका छैनन्, तर संयुक्त राज्य अमेरिकाले किएभलाई पठाएको ठुलो परिमाणको सैन्य सहायताको बारम्बार आलोचना गर्दै आएका छन्।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘सेल्सम्यान’को रूपमा खिल्ली उडाउँदै आएका छन् भने पुटिनको विरलै आलोचना गर्ने र कहिलेकाहीँ प्रशंसासमेत गर्ने गरेका छन्।

राष्ट्रपति जो बाइडेनको नेतृत्वमा युक्रेनलाई पठाइएको ठुलो सैन्य सहायताको आलोचना गर्नुका साथै ट्रम्पले पश्चिमी सैन्य गठबन्धन नेटोमा अमेरिकाको निरन्तर संलग्नतामाथि शंका व्यक्त गरेका छन्।

बाइडेनको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिका युक्रेनको सबैभन्दा ठुलो युद्धकालीन समर्थक रहँदै आएको छ र फेब्रुअरी २०२२ देखि ६५ अर्ब डलरभन्दा बढीको सैन्य सहायता प्रदान गर्दै आएको छ।

भोजपुरमा खाद्य गोदामबाट चामल वितरण सुरु

भोजपुर। खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज भएको छ। गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल वितरण गरिएपछि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई राहत मिलेको हो।

गत असोज ७ गतेदेखि आगामी माघ २ गतेसम्म स्थानीय नागरिकलाई प्रतिकिलो पाँच छुटमा चामल वितरण भइरहेको जिल्लास्थित व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोषकुमार शाहले जानकारी दिए। गोदामबाट अहिले २५ किलो स्टिमजिरा मसिनो चामल दुई हजार एक सय २५ र अरुवा सोना मन्सुली चामल प्रतिबोरा एक हजार पाँच सयमा बिक्री भइरहेको छ।

स्थानीयको मागलाई पूर्ति गर्न विगतका वर्षभन्दा यस वर्ष चामलको मात्रा बढाइएको प्रमुख शाहले बताए। गत वर्षसम्म वार्षिक रूपमा एक हजार क्विन्टल चामल आउने गरेकामा एक हजार पाँच सय क्विन्टल पुर्‍याइएको उनले जानकारी दिए।

‘स्थानीयको मागलाई ध्यानमा राखेर आउने चामलको मात्रा बढाएका छौँ’, प्रमुख शाहले भने, ‘आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकतामा राखेर चामल बिक्री गरिरहेका छौँ। औसतमा मासिक रूपमा एक सय २५ क्विन्टलसम्म चामल वितरण भइरहेको छ।’

स्थानीयको मागअनुसार गोदामबाट चिनी पनि वितरण थालिएको प्रमुख शाहले बताए। गोदाममा अहिले स्थानीयलाई वितरणका लागि १० क्विन्टल चिनी मौज्दात रहेको उनको भनाइ छ।कार्यालयबाट खाद्यसामग्री वितरणले नागरिकलाई राहतसँगै बजार मूल्यलाई सन्तुलनमा राख्न भूमिका निर्वाह गर्ने विश्वास लिइएको उनले बताए।

कार्यालयबाट सार्वजनिक बिदाका दिनबाहेक अन्य समयमा नियमित रूपमा चामल वितरण भइरहेको प्रमुख शाहले जानकारी दिए। उनले भने, ‘विगतमा चाडबाडका समयकम बढीमात्रामा चामल वितरण हुन्थ्यो। स्थानीयको सहजताका लागि नियमित रूपमा वितरण गरिरहेका छौँ। यसले दुर्गम क्षेत्रबाट आएका नागरिक बढी लाभान्वित भएका छन्।’

देशभरबाट पाँच महिनामा पाँच हजार आठ सय फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। उनका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो।

प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले साउनदेखि मङ्सिरसम्म पक्राउ परेकामा सबैभन्दा बढी मधेश प्रदेशका एक हजार पाँच सय ९४ प्रतिवादी रहेका जानकारी दिए । काठमाडौँ उपत्यकाबाट एक हजार दुई सय ५३ जना प्रतिवादी पक्राउ परेका छन्।

कोशीबाट सात सय ३५, बागमतीबाट दुई सय ६५, गण्डकीबाट पाँच सय छ, लुम्बिनीबाट एक हजार ३५, कणालीबाट एक सय ६९ र सुदूरपश्चिम प्रदेशबाट दुई सय ३५ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए।

केन्द्रीय अनुसन्धान ब्यूरोले ५४ जना पक्राउ गरेको छ । निजहरूबाट ४३ करोड पाँच लाख ४२ हजार जरिवानासमेत तोकिएको छ । निजहरूबाट कूल कैद एक हजार नौ सय ६८ वर्ष नौ महिना आठ दिन भुक्तानी गर्न बाँकी रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए।

प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष टोली परिचालन गर्दै आएको छ । सोही क्रममा उक्त सङ्ख्यामा प्रतिवादी पक्राउ गरी अदालतमा पेस गरिएको बताउँदै प्रवक्ता अधिकारीले अदालतको आदेशअनुसार जरिवाना तिराउर कारागारसमेत पठाइएको बताए। 

यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । आइसीसी यू–१९ महिला विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ गरिएको छ । शनिबार मलेसिया जाने टोलीलाई शुक्रबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राजधानीमा आयोजित एक कार्यक्रममा बिदाइ गरेका हुन् ।

यू-१९ महिला खेलाडीलाई मन्त्री चौधरीसहित क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, सिनियन टिमकी कप्तान इन्दू वर्मालगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री चौधरीले प्रतियोगितामा नेपाली टीमले उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए । क्यानका उपाध्यक्ष रोशन सिंहले नेपाली महिला टीमले इतिहास बनाएको उल्लेख गर्दै नेपालले यो टिमबाट ठूलो अपेक्षा राखेको उल्लेख गरे ।

सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिइकन खेल्न आग्रह गरे । महिला यू-१९ विश्वकप माघ ५ गतेदेखि सुरुहुँदै छ । नेपालले समूह चरणमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग खेल्ने छ ।

नेपालको पहिलो खेल बंगलादेशसँग हुने छ । त्यसअघि विश्वकपकको अभ्यास खेलमा नेपालले वेस्टइन्डिज र अमेरिकासँग खेल्ने तालिका पनि रहेको छ । नेपालले पुस २९ मा वेस्टइन्डि र माघ २ गते अमेरिकासँग अभ्यास खेल्ने छ ।

संसद्लाई संसद्जस्तै रहन दिऔँ

-डा. शोभाकर पराजुली

नेपालले संसदीय संरचना र संसद्को सर्वोच्चतासहितको शासकीय प्रणाली अपनाएको छ दशकभन्दा धेरै समय भइसकेको छ । तथापि संसदीय सर्वोच्चतालाई साँचो हृदयले आत्मसात् गर्न नसक्दा आमनागरिकले त्यसको प्रभावकारिता महसुस गर्न सकेका छैनन् ।

संसद् भनेको खासगरी जनताको थलो हो । जननिर्वाचित प्रतिनिधिहरूले जनताका मुद्दाबारे सरकारलाई खबरदारी गर्ने र जनहितमा ऐन, कानुन निर्माण गर्ने थलोका रूपमा यसलाई बुझ्ने गरिन्छ । कामकाजी भाषामा भन्ने हो भने संसद् जनताको जीवनसँग गाँसिएको एउटा लोकतान्त्रिक अभ्यासको थलो हो । लोकतन्त्रको एउटा उत्कृष्ट अभ्यासका रूपमा रहेको चुनावमार्फत जनताले आफ्ना प्रतिनिधि रोजेर पठाउँछन् । देशभरिबाट चुनिएर आएका तिनै प्रतिनिधिहरूलाई सांसद र उनीहरूले मन्थन गर्ने थलो भनेको संसद् हो । यसलाई प्रतिनिधिसभा वा तल्लो सदन पनि भन्ने चलन छ ।

यसरी जनताले आफैँ प्रत्यक्ष नभए पनि आफ्ना प्रतिनिधिमार्फत नीतिगत तहमै आफ्नो प्रतिनिधित्व महसुस गरेका हुन्छन् तर यसरी चुनिएर आएका प्रतिनिधहरूले नै जनतालाई महसुस हुने गरी काम नगर्दा आमनागरिकमा संसद्प्रति नै भरोसा रहँदैन । यसथ संसद् भनेको लोकतन्त्र निखार्ने एउटा प्रतिनिधिमूलक थलो पनि हो, जहाँ बसेर जनप्रतिनिधिहरूले सरकारलाई खबरदारी गर्न सक्छन् । जनताको जीवनसँग गाँसिने र उनीहरूलाई महसुस हुनेगरी ऐन, कानुन बनाउन सक्छन् । हाम्रा सांसदहरूले भने विस्तारै लोकतन्त्रको यो उच्चतम परिभाषा बोकेको संसद्को मान्यतालाई नै बिथोल्न थालेका छन् । त्यसैले ‘भोट हाल्नका लागि हाल्दिएको’ भनेर नागरिकले पनि वास्ता गर्दैनन् । जनता र जनप्रतिनिधिबीच नजिकको सम्बन्ध हुनुपर्नेमा टाढा हुन जाँदा संसद्ले जनविश्वास गुमाउँदै गएको त छैन भन्ने प्रश्न उठ्न दिनु हुँदैन ।

नेपालमा पहिलोपटक २०१५ सालमा आमनिर्वाचन भयो । राणा शासनको अन्त्यपछि नेपाली कांग्रेसले नै एउटा सार्वभौम संसद्को माग अघि सारेको थियो । यद्यपि, त्यो बेला ‘क्रान्तिकारी’हरूले संविधानसभाकै गठन हुनुपर्ने भनेका थिए तर राणासँगको सम्झौतापछि राणा–कांग्रेसको संयुक्त सरकार बन्यो । त्यो अन्तरिम सरकार पनि संविधानसभा बनाउने कि संसदीय निर्वाचन गर्ने भन्ने अलमलमै बित्यो । यो अलमलका आठ वर्षपछि अन्ततः २०१५ फागुन ७ मा पहिलोपटक संसदीय निर्वाचनको घोषणा भयो । नेपालको शासकीय राजनीतिक इतिहासमा यो पहिलो चुनाव ४५ दिनसम्म चलेको थियो । त्यसपछि विसं २०१६ असार १६ गते मध्यरातमा मात्रै संसद्को पहिलो बैठक बोलाइएको थियो ।

नेपालमा संसदीय राजनीतिको इतिहासमा यो पहिलो कोसेढुङ्गा थियो । तथापि यो संसद्ले आफ्नै पूरै शैशवकाल पनि बाँच्न पाएन । संसदीय अभ्यास तङ्ग्रिन पनि नपाउँदै १८ महिनापछि राजा महेन्द्रले संसद् र संसद्बाट निर्वाचित सरकारमाथि प्रतिबन्ध लगाए । जनताको प्रजातान्त्रिक अभ्यास गर्ने थलो खोसियो । जननिर्वाचित प्रधानमन्त्री अनि देशका गन्यमान्य नेताहरूलाई पनि राजाले जेल हाले । त्यसपछिका करिब ३० वर्ष राजाले ल्याएको त्यही पञ्चायती व्यवस्थासँगै जनमतले नभएर राजाको हुकुमी शासन चल्यो । त्यतिबेला पनि पञ्चायती भारद्वारहरूको पञ्चायती सभाहरू त हुन्थे तर ती अधिकार खोसिएका जनताका लागि कुनै कामका थिएनन् । ती त बरु दरबार रिझाउने र जनतामाथि शासन लाद्नेहरूको मात्रै पञ्चायत थिए ।

विसं २०४६ को जनआन्दोलनपछि फेरि संसद् पुनःस्थापित भयो । र २०४८ सालमा संसदीय निर्वाचन भयो । त्यसपछिका संसद्हरू पनि धेरै खलबलिए । एउटै पार्टीको बहुमतको सरकारले पूरा समय चल्न नसकेको मात्र होइन दुईभन्दा बढी पार्टीका सरकारहरुले पनि स्थिरता दिन सकेनन् । बहुदलीय शासन व्यवस्था भएका कारण न संसद् स्थिर भयो न सरकार नै । पटक पटक फेरिने सरकारहरूले नै संसद्लाई पटक पटक बिथोल्ने अनि बराल्ने काम गरे । विसं २०५२ पछि २०६२/६३ सम्म कुनै पनि संसद्ले आफ्नो पूरा कार्यकाल काम गर्न सकेनन् । यो वा त्यो बहानामा कहिले संसद् भङ्ग गरियो । कहिले बिथोलियो । माओवादी सशस्त्र युद्धका बेला २०५९ सालमा त फेरि राजा ज्ञानेन्द्रले संसद् विघटन गरी ‘कु’ गरे । फेरि महेन्द्रकै शैलीमा जनताका अधिकार खोसिए र राजनीतिक दलहरूमाथि एक प्रकारको प्रतिबन्ध लाग्यो ।

राजाको यो दुष्प्रयास लामो समय चलेन र सक्ने कुरा पनि थिएन । राजनीतिक ‘कू’ का विरोधमा फेरि अर्को जनआन्दोलन भयो । यो बेला पनि नेपाली कांग्रेसले संसद् पुनःस्थापनालाई आफ्नो ‘बटमलाइन’ बनाएको थियो । खासगरी तत्कालीन नेपाली कांग्रेसका सभापति तथा आन्दोलनका कमाण्डर स्व गिरिजाप्रसाद कोइरालाले संसद् पुनःस्थापनाको अडान लिनुभएको थियो । त्यहीअनुसार सबै संसदीय दलहरू मिलेर जनआन्दोलनको नेतृत्व लिए र जेठ ११ गते राजा ज्ञानेन्द्रले संसद्सहित जनताका सारा अधिकारहरू फिर्ता गरे । एउटा बहुदलीय लोकतान्त्रिक राष्ट्रमा संसद्को शक्ति कति हुन्छ भन्ने उदाहरण नेपालमा पटक पटक पेस भएका छन् । यो त्यही संसद् थियो जसले राजतन्त्र अन्त्य भएको घोषणा गरेको थियो । राजा र राजसंस्थाको सदियौँको विरासत यही संसद्ले अन्त्य गरिदिएको थियो । त्यतिमात्रै होइन, हतियार उठाएर सत्ता कब्जाको सपना बोकेर युद्धमा हिँडेको माओवादीलाई पनि यही संसदीय राजनीतिले नै यो बाटोमा ल्याइदियो ।

त्यसपछि विसं २०६४ र २०७० मा संविधानसभाको निर्वाचन भयो । यो संविधानसभाले २०७२ सालमा संविधान जारी गर्यो र त्यसपछि २०७४ सालमा करिब २० वर्षपछि नेपालमा पुनः संसदीय चुनाव भयो । यो बेला देशमा गणतन्त्र आइसकेको थियो । देशको शासकीय पद्धति पनि परिवर्तन भइसकेको थियो र सङ्घीयतामा गइसकेको थियो । स्थानीय तह र प्रदेशदेखि सङ्घसम्मको निर्वाचन निकै उत्साहप्रद रह्यो । तथापि त्यसपछिका संसद्मा पनि सांसदहरूले आफ्नो संसदीय मर्यादालाई जोगाइराख्न सकेनन् । न संसदीय दलहरूले आफ्ना विधि र मान्यताहरूको ख्याल गरे । त्यसपछि पनि विभिन्न बहानामा संसद् भङ्ग गर्नेजस्ता असंवैधानिक कदमहरू जबर्जस्ती चालिए । धन्न न्यायालयले त्यसलाई रोक्दै संसद् विघटनको परिकल्पनामा समेत रोक लगाइदियो । सांसदहरू आफैँले बनाएको संविधानमा संसद् विघटनको परिकल्पना थिएन । वा जुनसुकै शब्दहरू वा धारा, उपधाराहरू राखिए पनि मर्म भने त्यस्तो थिएन । त्यसपछिका संसदीय गतिविधि हेर्ने हो भने ती पनि चित्त बुझ्दा छैनन् । संसदीय मर्यादा, मान्यता, मर्म र संसदीय अभ्यासको विश्वव्यापी नियम र प्रचलनहरूलाई हाम्रा संसादहरूले आत्मसात् गरेको देखिँदैन ।

एउटा दलले अर्को दलको विरोधमा वा सामान्य कुरामा पनि संसद्को बैठकहरू अवरुद्ध हुँदा त्यसले कति क्षति पुर्‍याउँछ भन्ने कुनै गणितीय हिसाब हुँदैन तर त्यसको असर भने जनताको दीर्घजीवनमा निकै नकारात्मक तरिकाले परिरहेको हुन्छ । एकातिर संसदीय दल र संसदीय अभ्यासप्रति आम जनताको भरोसा टुट्दै जान्छ । जनताको जीवनलाई सम्बोधन गर्ने नीति, ऐन, कानुन निर्माण अवरुद्ध भइरहेका हुन्छन् । संसद् अवरुद्ध हुँदा वा त्यसको नियमितता बिथोलिँदा सरकारलाई खबर गर्ने थलो हुँदैन र सरकार एकाङ्की हुनजान्छ । संसद् भनेको शक्ति पृथकीकरणको एउटा अभिन्न अङ्ग पनि हो । संसद् बिना सरकार निरङ्कुश हुँदै जान्छ र शासकीय महत्काङ्क्षाहरू नकारात्मकतातिर बढ्दै जान्छन् । प्रतिपक्षले आफ्ना कुराहरू राख्न पाउँदैनन् । जनताका समस्याहरू सुनाउने थलोको अभाव हुन जान्छ । एक प्रकारले संसद् बिथोलिँदा सारा जनताको आशा र भरोसा पनि बिथोलिइरहेको हुन्छ । तसर्थ संसद्लाई विशुद्ध जनताको मात्रै थलो बनाऔँ । यसलाई राजनीतिक स्वार्थ पूरा गर्ने हतियारका रुपमा धारिलो बनाउने प्रयास नगरौँ ।

संविधान संशोधन हुन्छः संचारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनै तलमाथि नहुने बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले काम गर्न बाधा पुगाइरहेका ११ वटा कानूनहरू संशोधनमा ल्याउने भनेर कानूनविद्हरू रहेको कार्यदल बनाएको भन्दै संविधान संशोधन हुने बताएका हुन् ।

उनले भने, ‘संविधान संशोधन हुन्छ, गरिन्छ, गर्ने हो । किनभने हाम्रो राजनीतिक सहमतिमा नै यही कुरा थियो । यसमा तलमाथि गर्ने कुनै पनि कुरा छैन ।’

उनले नीतिगत रूपले संविधान संशोधनको विपक्षमा नभएको भन्दै त्यसका लागि कार्यदल बनाएर अगाडि बढेको बताए ।

उनले भने, ‘नीतिगत रूपले हामी संविधान संशोधनको विपक्षमा होइन । अस्ति भर्खर दुई दलको आठ सदस्य उच्च राजनीतिक संयन्त्रले पनि निर्देशन दिएको छ । संविधान संशोधन गर्न, संघीयता र संविधान कार्यान्वयनको समस्या पहिलाउन, संसदमा अहिलेसम्म भइरहेको १९ वटा विधेयकहरू जुन बाँकी छन् त्यसलाई यही अधिवेशनबाट पारित गर्नको लागि के के गर्नु पर्छ भनेर कार्यदलहरू गठन भएको छ ।’

केन्द्रीय कमिटी बैठक समापनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन २०८७ मा हुने बताएका थिए ।

गुल्मीमा सुन्तला उत्पादन बढ्यो

गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् ।

जिल्लामा यस वर्ष २४ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए । गत वर्ष  २३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित सुन्तलामध्ये यस पटक  १३ करोडभन्दा बढी सुन्तला जिल्ला बाहिर लगेर बिक्री गरिएको कार्यालय प्रमुख धितालले बताए ।

गुल्मीबाट गत वर्ष  १२ करोड बराबरको सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो । मल उपलब्ध हुनु तथा सिँचाइको सुविधा, सुन्तलाको बोट काँटछाँट गर्नु र सुन्तलाको क्षेत्र विस्तार हुँदै गएका कारण उत्पादनमा वृद्धि भएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गङ्गा पोख्रेलले बताइन् ।

जिल्लामा कृषकले सुन्तलाको बगैँचामा बिजु बिरुवा लगाउने गरेका छन् । कलमी बोटले भन्दा बिजु बिरुवाले लामो समयसम्म फल दिने भएका कारण यहाँका कृषकले बिजु बिरुवा लगाउँदै आएका छन् । सुन्तलाका फेद र जरा कुहिने समस्याबाट पीडित बनेको धुर्कोट गाउँपालिका–२ का कृषक शिवलाल खनालले बताए। सुन्तला बगैँचामा समयमै मलखाद र सूक्ष्मतत्वको प्रयोगबाट उत्पादनमा वृद्धि हुने उनको भनाइ छ ।

जिल्लाका १२ वटै पालिकामा व्यावसायिक रूपमा सुन्तलाखेती गरिँदै आएको छ । जिल्लाका ९३ वडामध्ये ३७ वडामा सुन्तला जात फलफूल जोन कार्यक्रम लागू छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह, धुर्कोट गाउँपालिकाको पिपलधारा र सत्यवतीको लिम्घालगायत ठाउँमा चक्लाबन्दी गरी सुन्तला खेती सुरु गरिएको छ ।

गुल्मीको सुन्तलाको माग अत्यधिक छ । सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँचीलयागतका स्थानबाट व्यापारी बगैँचामै पुग्ने गरेका छन् । अहिले बजारमा गुल्मीको सुन्तला प्रतिकिलो रु ८० देखि रु एक सयसम्ममा बिक्री हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रले सुन्तलाका विभिन्न जात पहिचान गरी तिनको व्यवसायीकरण गर्न सुरु गरेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सुन्तलाको उत्पादन वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको छ । परियोजनावाट सुन्तलाको बगैँचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाई र बोट काँटछाँट लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको परियोजना प्रमुख पोख्रेलले बताए ।

सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटको रेमी, सत्यवती र मदानेको भनभने मुख्य पकेट क्षेत्रका रूपमा रहेका छन् ।

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

बिहीबारको तुलनामाशुक्रबार प्रतितोला सुनमा आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि पाँचले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ ।

त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी रु ११ लाख ७५ हजारका दरले तोकेको थियो । प्रशासनको धरौटी खातामा पीडितका लागि ‘अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेड’ले तत्कालै रु ५३ करोड जम्मा गरिदिएको थियो ।

आयोजनाको प्रवेशमार्गमा झण्डै चार सय परिवारको घरजग्गा परेको छ । सर्वोच्चको परमादेशपछि गृह मन्त्रालयलाई पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए । विसं २०८१ जेठ २२ गते अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्गको ब्रेक थ्रु गरेर सुरुङमार्गको काम सकिएको घोषणा गरिएको थियो ।

रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित

चन्द्रपुर। रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जंगली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन्। हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन्।

विगत वर्षमा केही दिन आएर बसेर जाने जंगली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको स्थानीयले बताएका छन्। हात्तीले मकैबारी, केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेका छन्। हात्तीले बढीजसो केराबारी नष्ट गरेको पाइएको छ।

हात्तीको बथानले रौतहटको चन्द्रपुर–३ गैँडाटार र चन्द्रपुर ३ जुडिबेलामा लगाइएको केराखेतीमा क्षति पुर्‍याएको छ। हात्तीले पटक–पटक गरेर करिब एक बिघामा लगाएको केराखेती नष्ट गरेको चन्द्रपुर–३ गैँडाटारका किसान लालबाहादुर दोङले जानकारी दिए। फल्ने बेला भएको करिब ७०० केराको बोट नष्ट गरेको उनको गुनासो छ। दोङले चन्द्रपुर–२ जुडिबेलामा जमिन भाडामा लिएर केराखेती गर्दै आएका छन्। केराखेतीको बीमा नहुँदा समस्या भएको उनको भनाइ छ। जुडिबेलामा उनीसहित हर्क घिसिङ, चमेली मायालगायतको बिसौँ बिघा जमिनमा लगाएको केराबारी हात्तीले नष्ट गरेको छ।

यसैगरी चन्द्रपुर–३ गैँडाटारमा पनि हात्तीले केराबारीमा विध्वंस मच्चाएको छ। सो गाउँका हरिशरण गौतमको १३ कट्ठामा लगाएको ४०० बोट, दीपक गौतमको ८५ बोट, सम्पूर्ण चौहानको २५० बोट र अनिल भण्डारीको ५० बोट केरा नष्ट गरेको स्थानीय दीपक गौतमले जानकारी दिए। उनका अनुसार खडानन्द गौतमको पाँच कट्ठाको मकै, सोमप्रसाद गौतमको तीन कट्ठाको मकै र बाबु योञ्जनको चार कट्ठाको मकैखेतीमा हात्तीले क्षति पुर्‍याएको छ।

हात्तीको बथानले चन्द्रपुर नगरपालिकामा आठ र फतुवा विजयपुर नगरपालिका–११ मा चार घर भत्काएको छ। हात्तीले चन्द्रपुर–३ गैँडाटारमा सात र वडा नम्बर २ जुडिबेलामा एउटा घर भत्काएको स्थानीयले जानकारी दिएका छन्। गैँडाटारमा सन्तबहादुर रुम्बा, मीना राई, छेनामसिंह लोप्चन, बली माया लोप्तन, बोम्जन साइँला, सुबास ठोकर र साइँला गोलेको घर हात्तीले भत्काएको स्थानीय राजु धामीले जानकारी दिए।

यसैगरी कालापानी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा निर्माण गरेको उद्यान र पानीघट्टमा पनि हात्तीले क्षति पुर्‍याएको छ। फतुवा विजयपुर नगरपालिका–११ भैसही र बुटवा बस्तीमा हात्तीले चार घर भत्काएको छ। स्थानीय विजय चौधरीका अनुसार उदय चौधरी, मिलन मगर, हरिशरण मैनालीलगायत स्थानीयको घरमा हात्तीले क्षति पुर्‍याएको हो।

हात्ती नियन्त्रण गर्न डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले ‘इनालाइजर’ (वन्यजन्तुलाई हल्का झट्का दिने उपकरण) प्रयोग गर्नुपर्ने बताए। हात्तीले क्षति पुर्‍याएका व्यक्तिलाई कार्यालयले क्षतिपूर्ति दिने भएको छ। हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्काएका, बालीमा क्षति भएको यकिन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको प्रमुख साहको भनाइ छ।

झापामा सीमास्तम्भ मर्मत गरिँदै

बनियानी (झापा)- झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए।

मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नं ९५/१२ बाट मर्मतसम्भार कार्य थालिएको उनले बताए। झापामा भारतसँग नेपालको सीमा जोडिएको एक सय ४४ दशमलव दुई किलोमिटर क्षेत्रअन्तर्गत रहेका एक सय सात सीमास्तम्भ मर्मतसम्भार गरिनेछन् ।

सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल (एसएसबी), स्थानीयवासीको उपस्थितिमा सीमास्तम्भ मर्मत सुरु गरिएको हो ।

सीमा क्षेत्रमा रहेका सीमास्तम्भमध्ये सन् २०१४ पछि निर्माण गरिएका बिजोर नम्बरका सीमास्तम्भ सशस्त्र प्रहरी बल नेपालले र जोर नम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बलले मर्मतसम्भार गर्ने निर्णयानुसार गत वर्षदेखि दुवैतर्फ सीमास्तम्भ मर्मत कार्य हुँदै आएको छ ।

पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापानमा प्रधानमन्त्रीलाई राप्रपाको निम्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार साँझ बालुवाटार भएको भेटमा विविध पक्षमा लामै कुराकानी भएको लिङ्देनले जानकारी दिएका छन् ।

राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीका अवसरमा पौष २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा ओलीसँग लिङ्देनको भेट भएको हो ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि दुई नेताबीच छलफल भएको बताइएको छ । राप्रपाले पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दै छ।

अमेरिकामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियाको चान्टिलीमा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान एउटा होटल बाहिरको पोखरीमा कार डुब्दा दुई ननेपालीको मृत्यु भएको हो ।

दुर्घटनामा कार चालक ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो । बिहान ७ः३० बजे सेन्टरभ्यू ड्राइभमा रहेको विन्डहम होटलको विन्गेट नजिकैको हिउँबाट चिप्लिएर कार पोखरीमा खसेको प्रहरीले जनाएको छ ।

रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ६ जनाले धरौटी रकम बुझाएका छन् ।

लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । स्रेस्तेदार खनालका अनुसार धरौटी रकम बुझाएसँगै उनीहरु रिहा भएका छन् ।

न्यायाधीश नितिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई  ६५ लाख, छविलाल जोशीलाई  ८८ लाख, लीला पछाईंलाई  ३७ लाख, मीना गुरुङलाई  पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिवादी लीला पछाईंले भने बिहीबार धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहने अदालतले जनाएको छ ।

लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले पार्टी र परिवारको जिम्मा लगाइने, शुक्रबार उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने जनाइएको छ । अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश आएको हो ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा चलाएको छ । धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने स्रेस्तेदार खनालले बताए ।

रवि लामिछाने धरौटीमा रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई बिहीबार ६५ लाख धरौटी मागेको थियो ।

धरौटी बुझाएर उनी साँझ रिहा भएका हुन् । जिल्ला अदालत कास्कीले काठमाडौ जिल्ला अदालतमा आफैं उपस्थित हुने सर्तमा लामिछानेलाई रिहा गरेको हो । रविविरुद्ध काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

दुर्गा प्रसाईं तीन लाख धरौटी बुझाएर रिहा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आपराधिक लाभ र संगठित अपराध कसुरमा अदालतले ३ लाख धरौटी माग गरेको छ ।

बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंसँग तीन लाख धरौटी माग गरेको हो । प्रसाईं धरौटी बुझाए रिहा भएका छन् ।

त्यस्तै अदालतले हरिचन्द्र फुयालसँग पनि तीन लाख धरौटी मागेको छ । प्रसाईंले नै फुयाललाई भारतमा धम्क्याउनका लागि परिचालन गरेको आरोप लागेको थियो ।

रविसहित सातैजनासँग धरौटी माग

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

बिहीबार नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख, छविलाल जोहीलाई ८८ लाख, लिला पछाईंलाई ३७ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङ र मीना गुरुङलाई पाँच–पाँच लाख र कृष्ण गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

रवि भने धरौटी बुझाए पनि फेरि पक्राउ पर्नेछन् । किनकी उनको काठमाडौं, चितवन, पर्सा र रुपन्देहीमा मुद्दा बाँकी छन् । त्यसैले कास्की प्रहरीले उनी छुटेमा आफूलाई बुझाउन यसअघि नै अदालतलाई आग्रह गरिसकेको छ ।

कात्तिक २ गते पक्राउ परेका रविविरुद्ध सहकारीकासाथै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग पनि लगाएको थियो । उनीसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड बिगो मागदाबी गरिएको थियो ।

छविलाल जोशीसँग ८८ लाख धरौटी माग

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका समापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बिहीबार न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग ६५ लाख धरौटी मागेको हो ।

प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ६ विकेटले पराजित गरेको हो । 

  दशरथ चन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले २० ओभरमा सवै विकेट गुमाएर ७१ रन बनायो ।

बहत्तर रनको विजयी लक्ष्य बैतडीले १२ दशमल दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । बैतडीका लागि कप्तान ऋतु कनौजियाले अविजित २२ र जानकी थापाले अविजित १४ रन बनाइन् । बलिङतर्फ  कञ्चनपुरकी मन्जु विष्टले दुई विकेट लिइन् । 

यसअघि पहिला ब्याटिङ गर्ने क्रममा कञ्चनपुरका लागि रेवती धामीले ४१ रनको योगदान दिइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ बैतडीका लागि जानकी थापाले दुई विकेट लिइन् । उनी वुमन अफ दी फाइनल घोषित भइन् ।

बैतडीकी ऋतु कनौजिया प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर, बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकी जयन्ती भण्डारी उदीयमान खेलाडी घोषित भइन् ।

विजेता तथा उपविजेता खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत राष्ट्रिय टोली तयारीका निर्देशक एवं ओलम्पियन दीपक विष्ट, क्यानका केन्द्रीय सदस्य धिरेन्द्र सावद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहरालगायतले पुरस्कार प्रदान गरे । 
समापन समारोहमा क्यान अध्यक्ष चन्दले  क्रिकेटलाई सबैको साझा खेल बनाइने बताए । क्रिकेटलाई व्यावशायिक बनाइनुका साथै भविष्यमा महिला प्रिमियर लिग पनि आयोजना गरिने उनले बताए । 

ओलम्पियन विष्टले क्रिकेटले नेपाललाई विश्वभरी चिनाएको बताए  । क्रिकेटको विकासका लागि उल्लेख्य काम गरेकामा क्यान नेतृत्वको उनले प्रशंसा गरे । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही पुस १९ गतेदेखि सुरू भएको प्रतियोगितामा प्रदेशका सात जिल्लाको टोली सहभागी थिए । 

नेपाल वायु सेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौँ  । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधबारको बैठकले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरी एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ ।

सांसद शिशिर खनालको संयोजकत्वमा गठित उपसमितिमा समितिका सदस्यत्रय छिरिङ ल्हामु लामा (तामाङ), योगेश गौचन थकाली र सुनिता बराल छन् । 

 बैठकले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको बृहत्तर विकासको कार्ययोजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ ।

पर्यटन प्रवद्र्धनका निम्ति विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाकाको संरक्षण तथा जातीय र धार्मिक सङ्ग्रहालय स्थापना गर्नुपर्नेमा बैठकले जोड दिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए ।  

पुरातात्विक सम्पदा उत्खननका साथै मन्त्रालयअन्तर्गत सार्वजनिक–निजी साझेदारीमा सञ्चालित आयोजनाको  प्रभावकारिता अध्ययन गरी त्यसको जानकारी समितिलाई उपलब्ध गराउन पनि उक्त मन्त्रालयलाई  बैठकले निर्देशन दिएको छ । 

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन गर्न सम्बद्ध निकायहरुबीच सम्झौता गर्ने, नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई कार्यान्वयन गर्ने, राष्ट्रिय महत्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई शीघ्र अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि बजारीकरण योजनासहितको रणनीतिक कार्ययोजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ ।

देशका विभिन्न जिल्लामा रहेका वायु सेवा निगमको स्वामित्वका जग्गा तथा भौतिक सम्पत्तिको उपयोग योजना तयार गरी चाँडोभन्दा चाँडो कार्यान्वयन गरेर समितिलाई जानकारी दिन निर्देश गरेको छ ।

त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले  निगममा  समस्या समाधान गर्न आफू क्रियाशील रहेको बताएका थिए ।

मन्त्री पाण्डेले निगमका विमान निर्धारित समयमा नै विमान उड्छन् भन्ने सन्देश प्रवाह गर्न जरुरी भएको बताए । नेपाल वायु सेवा निगमलाई सुधार गर्न आफ्नो र मन्त्रालयका तर्फबाट हरसम्भव प्रयत्न भइरहेको उनले दोहोर्याएका थिए ।
  
समितिका सदस्य माधवकुमार नेपालले नेपाल वायु सेवा निगमका कामलाई गुणस्तरीय बनाउन सुझाव दिदै निजीकरणले मात्र समस्या समाधान नहुने तर्क गरे ।

निजी विमान कम्पनी नाफामा जाने तर नेपाल वायुसेवा निगम घाटामा जानुको कारणको अध्ययन गरी सुधारका कदम अविलम्ब चाल्नुपर्नेमा जोड दिएका थिए । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमबीचको सम्बन्ध सुमधुर नहुँदा पनि समस्या बढेको उनले बताएका थिए । 

अख्तियारमा घुस रकमसहित पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार सापकोटाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सापकोटा अछामको मेल्लेख गाँउपालिकाको प्रमुख प्रशासकीय हुँदा आयोगको कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेका थिए ।

एक लाख रुपैयाँ घुस लिएर पुगेका सापकोटा गत २८ मंसिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयबाट पक्राउ परेका थिए ।

आयोगको कार्यालय कञ्चनपूरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजात सहितको खाम दिंदा उनलाई अनुसन्धान अधिकृतले आफैंले खोलेर दिनु भन्दा उनले बोकेको हरियो रंगको झोला भित्र रहेको पहेंलो खाममा एक लाख रुपैयाँ रहेकोमा यो के को पैसा हो ? भनी सोधपुछ गर्दा मुद्दा मिलाईदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको भनी सापकोटाले भनेका थिए ।

त्यसपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो । सापकोटाले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुँदा उनले मेसिनरी सामान खरिदमा घुस लिएको आरोप छ ।

एकवर्षमा चार हजार भन्दाबढी विदेशी पर्यटकद्वारा उपल्लो मुस्ताङ भ्रमण

म्याग्दी । सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगामन वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को लोमान्थाङ कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख उमेश पौडेलले सन् २०२३ मा तीन हजार चार सय ८४ विदेशी पर्यटक यहाँ आएका बताउँदै सन् २०२४ मा चार हजार ६१ जना विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरेका जानकारी दिए ।

उनका अनुसार सडक सञ्जाल विस्तार, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दश गन्तव्यमा समेटिनु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल सञ्चालन, अनलाइनमार्फत रुट परमिट लिने प्रणाली सुरुलगायत कारणले यहाँ पर्यटक आगमन बढेको हो ।

सन् २०२२ मा तीन हजार एक सय १२, सन् २०२१ मा तीन सय ३२, सन् २०२० मा ६२ र सन् २०१९ मा तीन हजार नौ सय १८ विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका एक्याप कार्यालयले जनाएको छ । सन् २०१७ मा हालसम्मकै बढी चार हजार एक सय १५ विदेशी नागरिक यहाँ पुगेका कार्यालय प्रमुख पौडेलले जानकारी दिए।

कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन् । बौद्ध तथा हिन्दु धर्मावलम्बीहरूको साझा तीर्थस्थल दामोदरकुण्ड पनि उपल्लो मुस्ताङमा अवस्थित छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ गाउँ विकास समिति र वारागुङ मुक्तिक्षेत्र–५ को साङ्तालाई सुरक्षा संवेदनशिलताका कारण सरकारले निषेधित क्षेत्र तोकेको छ । मनाङ र गोरखाका केही भूगोल पनि निषेधित क्षेत्रमा समेटिएका छन् ।

उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन थप ५० डलरका दरले शुल्क तिर्नुपर्ने एक्यापका प्रमुख पौडेलले जानकारी दिए ।

लोमान्थाङ गाउँपालिका–१ मा पर्ने नेचुङ भन्दा माथि पर्यटकलाई जान रोक लगाइएको छ । सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमतिसहित निर्धारित शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो ।

निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताए । निषेधित क्षेत्रमा शुल्कमा केही छुटको व्यवस्थाका लागि प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेको भन्दै पर्यटकको आगमन बढे स्थानीयको आर्थिकस्तर सुधार हुँदै जाने उनले उल्लेख गरे । 

कैलालीमा माटोका भाँडा बनाउने व्यवसायी समस्यामा

कैलाली । पछिल्लो समय कैलालीमा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन् ।

युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने माटो सहजै नपाउनुलगायत कारणले कालिगड पेसा सङ्कटमा परेसँगै व्यवसायी समस्यामा परेका हुन् ।

दक्ष कालिगडको कमी, भाँडा बनाउन आवश्यक पर्ने माटो सहजै पाउन छोडेपछि पूर्वी नेपालको विर्तामोड र भारतबाट माटोका विभिन्न तयारी भाँडा ल्याएर बिक्री गरिरहेको भाँडा व्यवसायी गणेश शाहले बताए ।

‘पहिले धनगढीमा माटोका भाँडा बनाउने कालिगड जहातही हुन्थ्ये, माटो पनि आवश्यकताअनुसार सहजै उपलब्ध हुन्थ्यो । स्थानीयस्तरमा बनाइएको भाँडा बिक्री गर्न सहज पनि थियो’, उनले भने, ‘पछिल्लो समय बमहिरबाट तयारी अवस्थामा भाँडा ल्याएर बिक्री गर्दा उपभोक्ता विश्वास पनि कम गर्ने भएकाले व्यापार घटेको छ।’

भारतबाट ल्याउने गरेका माटोको भाँडा भन्सार तिरेर आयात गर्नुपर्ने भएकाले महङ्गो पनि पर्न गएको भन्दै शाहले यसरी व्यापार गर्दा मुनाफा पनि नहुने बताए ।

आधुनिकतासँगै बजारमा विभिन्न आकर्षक स्वरुपमा प्लाष्टिकका रङ्गीविरङ्गी भाँडा सहजै पाइन थालेपछि पहिलेको तुलनामा माटोका भाँडाले बजार पाउन छोडेको धनगढीको कृष्णनगरकी व्यवसायी नीलमदेवी कलवाराले उल्लेख गरे । ‘केही वर्ष पहिले दैनिक रु पाँच हजारदेखि रु १० हजारसम्म कारोबार हुन्थ्यो, अहिले दैनिक रु एक हजारदेखि रु तीन हजारसम्मको कारोबार हुन्छ’, उनले भने ।

लामो समयदेखि माटोका भाँडासम्बन्धी व्यवसाय गर्दै आएकी कलवाराले पछिल्लो समय बिक्री घटेसँगै व्यवसाय सङ्कटमा पर्न थालेको गुनासो गरे । ‘पहिलेको तुलनामा कारोबार घटेपछि जीविकोपार्जनमा समस्या हुन थालेकोछ । यो व्यवसायबाट खर्च चलाउन मुस्किल हुन थालेपछि अहिले गर्मी मौसममा गन्नाको जुस र जाडोमा अण्डा ठेला राखी बिक्री गर्न थालेकी छु’, उनले भने ।

स्थानीयस्तरमा भाँडा बनाउने माटो पाउन छोडेपछि भारतको लख्खिमपुरसहितका सहरबाट तयारी भाँडा ल्याएर बिक्री गरिरहेको कलवाराले जानकारी दिए । ‘पहिले माटोका भाँडा बनाउने भट्टा यहाँ थुप्रै थिए, हिजोआज माटो पाउन छोडेपछि बाहिरबाट भाँडा ल्याउदा महँगोमा बिक्री गर्नु पर्दछ’, उनले भने ।

प्लास्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज हुने, जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडाको व्यापार घटेको धनगढीका व्यवसायी अरविनप्रसाद कलवाराले बताए। ‘पहिलेभन्दा अहिले व्यापार धेरै घटेको छ, यही अवस्था रहे यो पेसा लोप हुने जोखिम बढेको छ’, उनले भने ।

स्थानीय सरकारले माटोका भाँडा बनाउने सीप पुस्तान्तरण गर्न र यो पेसा संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्नेमा कलवाराले जोड दिए । ‘माटोबाट निर्मित भाँडा टुटफुट बढी हुने भएकाले प्रयोगकर्ता घट्ना थालेका छन् । घरघरमा सिमेन्टका गमला लगेर बिक्री गरिँदा पनि माटोका भाँडाको माग घटेको हो’, उनले भने ।

अहिले प्रतिग्राग्री रु दुई सयदेखि रु पाँच सय, प्रतिगमला एक सयदेखि रु दुई सय, प्रतिखुत्रुक्के रु ३० देखि रु तीन सय, प्रतिकलश रु १५ देखि रु ५० मा बिक्री भइरहेको उनले जानकारी दिए ।

चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि

बेइजिङ । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ ।

चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ ।

हालैका वर्षहरूमा बेइजिङको उदार अनुदानबाट प्रेरित चिनियाँ विद्युतीय सवारीसाधनको बजारले व्यापक वृद्धि पाएको छ ।

सीपीसीएका अनुसार गत वर्ष कूल खुद्रा बिक्रीको करिब आधा अर्थात् ४७.६ प्रतिशत हिस्सा विद्युतीय गाडीले ओगटेको थियो ।

सीपीसीएको तथ्याङ्कअनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री सङ्ख्या १३ लाख भन्दा बढी पुगेको छ । यो वर्षभरीको तुलनामा ३७.५ प्रतिशतले बढी हो र यो लगातार पाँचौं महिना १० लाखभन्दा बढीको बिक्री हो ।

विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएको छ । शेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेको थियो ।

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । बिहीबार नेप्से १८.१४ अंकले घटेर २६३५.०९ अंकमा बन्द भएको छ ।

नेप्से सूचक घटेपछि राताम्मे भएको बजारमा होटल तथा पर्यटन समूहबाहेकका सबै उपसमूहको सूचक घटेका छन् ।

होटल तथा पर्यटन समूहको भने ०.९९ प्रतिशतले सूचक बढेको हो । आज कारोबारमा आएका ३०८ प्रकारका धितोपत्र मध्ये ५५ वटा धितोपत्रको सेयरमूल्य बढेको छ भने १८० वटाको मूल्य घटेको छ।

जसमा बराही हाइड्रो र हिमालयन पावर पार्टनरको मूल्यमा १० प्रतिशतको बृद्धि देखिदा रिभरफल्स, न्यादी हाइड्रो धेरै कमाउनेको तेस्रो र चौथौँ स्थानमा छन्।

बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । आज ७ अर्ब ३० करोडको कारोबार भएको छ ।

एसइई सञ्चालन प्रदेशलाई नै हस्तान्तरण गर्ने तयारीमा छौंः शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएका छन् ।

शिक्षा पत्रकार सञ्जाल (इजोन) आयोजनामा बिहीबार आयोजित कार्यक्रममा उनले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू क्रियाशील रहेको बताइन् ।

उनले भनिन्,“हालै सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले शैक्षिक संस्थामा बन्द, हड्ताल गर्न नपाइने निर्णय गरेको छ । अन्य राजनीतिक दलबाट पनि यस्तै प्रतिबद्धता आएपछि शिक्षा क्षेत्र राजनीतिक प्रभावबाट मुक्त गराउन सकिन्छ ।”

शिक्षा क्षेत्रका सबै विषयलाई सम्बोधन गर्ने र संविधानले व्यवस्था गरेअनुरुप आधारभूत तहको शिक्षा अनिवार्य गर्न आफू लागेको बताउँदै उनले माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन प्रदेशलाई नै हस्तान्तरण गर्ने तयारीमा आफू रहेको जानकारी दिइन् ।

“अब कक्षा १० र १२ को परीक्षा एउटै निकायले लिने गरी राष्ट्रिय परीक्षा बोर्ड बनाउने र कक्षा १० को परीक्षा सञ्चालनको जिम्मेवारी सम्बन्धित प्रदेशलाई नै हस्तान्तरण गर्ने तयारीमा छौँ’, उनले भनिन् ।

यसैगरी विद्यालयको दिवा खाजामा स्थानीय उत्पादन र गुणस्तरीयता कायम गर्न पनि सरकारले काम गरिरहेको बताइन् । यसका लागि २०८३ सालसम्मको कार्य योजना बनाइएको जानकारी पनि मन्त्री भट्टराईले दिइन् । निःशुल्क शिक्षाको कार्यान्वयनको सुरुवात आगामी बजेटदेखि राजिष्ट्रेसन, बिलम्ब शुल्क र प्रमाणपत्रमा लिइने शुल्कको खारेजीबाट गर्न लागिएको पनि उनले बताइन् ।

विदेशी विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका ५९ क्याम्पस र नौ सय वटा शैक्षिक परामर्शदातृ संस्थालाई नियमन गरिने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

चिकित्सा शिक्षातर्फ एमबिबिएसमा राप्ती, पोखरा र मधेश प्रदेशमा एक सय ५० जनाको कोटा थपिएको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा सञ्चालन हुने चिकित्सा शिक्षासम्बन्धी कार्यक्रमलाई व्यविस्थित गर्न सरकार लागेको तथा निजामती कर्मचारी सरह शिक्षकलाई पनि औषधि उपचारमा छुट दिने तयारी गरिएको मन्त्री भट्टराईले बताइन् ।

मन्त्री भट्टराईका अनुसार शिक्षा र स्वास्थ्य मन्त्रालयको समन्वयमा विद्यालयमा सङ्क्रामक रोग र प्रजनन स्वास्थ्यसम्बन्धी पाठ्यसामग्री अनिवार्य गरिएको छ । विद्यार्थी घरमा अभिभावकको निर्देशमा गरेका कामको पनि सिकाइको उपलब्धीकै रुपमा मुल्याङ्कन गरिने छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, विधिविज्ञान प्रयोगशाला र बिपी कोइराला मेमोरियल प्लानेटेरिम, अब्जर्भेटरी तथा विज्ञान सङ्ग्रहालय विकास समितिको क्षमता वृद्धि गर्दै उच्च प्रतिफल हासिल गर्नसक्ने बनाउने गृहकार्य भइरहेको छ ।

उत्तरी सिरियामा टर्की र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्की समर्थित समूह र कुर्द नेतृत्वको सेनाबीच भएको भिडन्तमा ३७ जनाको मृत्यु भएको छ ।

संयुक्त राज्य अमेरिकाले बुधबार सिरियामा कुर्दिश लडाकुहरू विरुद्ध आक्रमण बढाउनबाट रोक्न नेटो सहयोगी राष्ट्र टर्कीएको चिन्तालाई सम्बोधन गर्न काम गरिरहेको बताएको छ ।

सिरियाली युद्ध अनुगमन संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर) ले कुर्दिश नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेज र टर्कीए समर्थित नेसनल आमीबीच पछिल्लो केही घण्टायता मनबिजको ग्रामीण इलाकामा भीषण लडाई भएको जनाएको छ । उक्त क्षेत्रमा टर्कीएएले हवाई आक्रमणसमेत सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ।

“दोहोरो झडपमा परी ३७ जनाको मृत्यु भएको छ,” बेलायतस्थित अब्जरभेटरीले जनाएको छ । टर्की समर्थित लडाकुमध्ये छ जना एसडीएफ लडाकु र पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको छ ।

मनबिजको ग्रामीण इलाकामा गत महिनादेखि जारी झडपमा परी कम्तीमा ३२२ जनाको मृत्यु भएको उक्त संस्थाले जनाएको छ ।

गत महिनाको अन्त्यतिर कुर्दिश नेता र दमास्कसका अधिकारीहरूबीच भएको ‘सकारात्मक’ बैठकपछि अब्दीको यो टिप्पणी आएको हो ।

इस्लामवादी नेतृत्वको विद्रोहीहरूले नोभेम्बर २७ मा सिरियाली राष्ट्रपति बशर अल असदलाई अपदस्थ गर्ने आक्रमण सुरु गरेपछि उत्तरी सिरियामा टर्कीएए समर्थित समूहहरूले एसडीएफसँग आफ्नो लडाइँ फेरि सुरु गरेका थिए ।

मनबिज क्षेत्रमा युद्धविराम स्थापना गर्ने अमेरिकी नेतृत्वको प्रयासका बावजुद अङ्कारा समर्थक समूहले उत्तरी अलेप्पो प्रान्तको कुर्दिश नियन्त्रित मनबिज र ताल रिफातकब्जा गर्न सफल भएका छन् ।

ट्रम्पले कार्यभार सम्हाल्नुअघि जर्मनीमा युक्रेनका सहयोगी राष्ट्रहरूको रक्षा बैठक

जर्मनी । पश्चिमी सहयोगीहरू र युक्रेनी अधिकारीहरू राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित बिहीबार जर्मनीको एक अमेरिकी आधार शिविरमा भेला भएका छन् ।

यसलाई अमेरिकामा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले राष्ट्रपतिको सपथ लिनुभन्दा पहिले हुने उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) गठबन्धन सदस्यहरूको अन्तिम बैठकका रूपमा हेरिएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले रामस्टीन एयर बेसमा हुने २५ औँ वार्तामा किएभका लागि पर्याप्त नयाँ सैन्य सहायता प्याकेजको घोषणा गर्ने अपेक्षा गरिएको छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफू बैठकमा सहभागी हुने बुधबार अबेर मात्र बताएका थिए ।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियससँगै युक्रेनरक्षा सम्पर्क समूहको बैठकमा नेटोका महासचिव मार्क रुट र युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लास पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

करिब तीन वर्ष लामो युद्धमा संलग्न रूसी र युक्रेनी सेनाले जनवरी २० मा ट्रम्पको सपथग्रहणअघि नै आ–आफ्नो स्थान सुरक्षित गर्न खोजिरहेका छन् ।

किएभका लागि अमेरिकी सैन्य सहायताको आलोचना गर्दै आएका ट्रम्पले सत्तामा आएपछि युद्धको शीघ्र अन्त्य गर्ने वाचा गरेका छन् तर युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस प्रस्ताव गरेका छैनन् ।

राष्ट्रपति जो बाइडेनको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिका युक्रेनको सबैभन्दा ठूलो युद्धकालीन समर्थक भएको छ ।

अमेरिकाले फेब्रुअरी २०२२ देखि ६५ अर्ब डलरभन्दा बढीको सैन्य सहायता प्रदान गरेको छ भने एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीका अनुसार सहायताको बारेमा ‘पर्याप्त घोषणा’ बिहीबारको बैठकमा आउने सम्भावना छ।

जर्मनी युक्रेनको दोस्रो ठूलो समर्थक हो । जर्मनीसँगबाट युक्रेनले अहिलेसम्म करिब ३० अर्ब अमेरिकी डलर प्राप्त गरेको छ।

अस्टिनले बुधबार एएफपीसँग कुरा गर्दै युक्रेनमा अमेरिकी नेतृत्व ‘आवश्यक’ रहेको र किएभका लागि निरन्तर सैन्य सहयोग जारी हुनु महत्वपूर्ण रहेको बताए ।