बुलबुले उद्यानमा नयाँ ताल निर्माण सुरु, मुख्यमन्त्री कँडेलले गरे शिलान्यास


सुर्खेत । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बुलबुले उद्यानमा नयाँ ताल निर्माणको कार्य प्रारम्भ भएको छ । मंगलबार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गुरुयोजनाअन्तर्गत ताल निर्माण कार्यको शिलान्यास गरेका छन्।
भू-तथा जलाधार व्यवस्थापनका लागि १ करोड १२ लाख ३६ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त ताल ४ हजार २ सय वर्गमिटर क्षेत्रफलमा फैलिनेछ। ताल निर्माणले चरा संरक्षण र जल स्रोत व्यवस्थापनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । शिलान्यास समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले बुलबुले उद्यानलाई अझै आकर्षक बनाउन ताल निर्माण महत्वपूर्ण हुने बताए ।
उनले कामको गुणस्तरमा सम्झौता नगर्न र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । शिलान्यास गर्दा मात्रै तामझाम हुने तर काम अलपत्र पर्ने गुनासो आउन नपरोस्,`उनले भने,`समयमै काम सक्नुस्, भुक्तानीको समस्या हुँदैन । उत्कृष्ट काम गर्ने निर्माण कम्पनीलाई पुरस्कृत गर्ने व्यवस्था गरिनेछ। मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको समग्र पूर्वाधार विकासका लागि इमानदारिता र द्रुतगतिमा कार्यान्वयन आवश्यक रहेको धारणा राखे।
उनले काँक्रेविहार क्षेत्रमा समेत विकास निर्माणका कार्य अघि बढिरहेको जानकारी दिए । ताल निर्माणको जिम्मा स्थानीय प्रवीण निर्माण सेवाले लिएको छ, जसले आगामी २०८२ असार १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ।