`

बङ्गलादेशको गार्मेन्ट उद्योगमा सुधारको सङ्केत देखिएको व्यवसायीको भनाइ, श्रमिक आन्दोलन भने जारी

ढाका, । बङ्गलादेशका गार्मेन्ट उद्योगीहरूले नयाँ सरकारको आगमनसँगै व्यवसायमा सुधार भएको बताएका छन् ।

मालिकहरूले व्यवसाय उकालो लागेको बताइरहँदा निराश श्रमिकहरू भन्छन् कि कडा परिश्रमपछि प्राप्त गरेको छुटले उनीहरूको परिस्थितिमा परिवर्तन गर्न खासै केही गरेको छैन, र जीवन पहिलेजस्तै कठिन छ।

आफ्नो पूरा नाम प्रयोग गर्दा आफ्नो जागिर नै धरापमा पर्ने बताउँदै गार्मेन्टमा काम गर्ने २४ वर्षीया खातुनले भने, “अहिले पनि पहिलेजस्तै शोषण छ । उल्लेख्य केही भएको छैन ।”

विश्वकै दोस्रो ठूलो गार्मेन्ट उत्पादक मुलुकले महिनौँ लामो हिंसाका कारण कम्पनीको उत्पादन पटक–पटक रोकिएको थियो ।

केही महिना यता देशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । राम्रो सुविधा र बढी तलबको माग गर्दै गार्मेन्ट फ्याक्ट्रीमा प्रदर्शन जारी छ ।

बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए) ले अक्टोबरमा ४० करोड अमेरिकी डलर घाटा व्यहोरेको जनाएको थियो । यस्तो कठिन अवस्थामा श्रमिकका सबै मागलार्इ सम्बोधन गर्न नसकिने भन्दै पाँच प्रतिशत ज्याला बढाउने सहमति सरकारसँग गरेको थियो ।

श्रमिक आन्दोलनका कारण सयौँ कारखानाहरू बन्द भएका छन् र दशौं हजारले रोजगारी गुमाएका छन् । गार्मेन्टलाई चाहिने दक्ष जनशक्ति आकर्षक आम्दानीको लोभमा खाडी मुलुक तथा अन्य विकशित मुलुकतर्फ पलायन हुने क्रम जारी छ ।

तर सेप्टेम्बरमा पाँच प्रतिशत तलब वृद्धि गर्ने सहमति भएपछि उद्योग पुनरुत्थानका लागि कतिपय श्रमिक संघ तथा संगठनले कामलाई सञ्चालन गर्न व्यवसायीलाई सहयोग गर्ने बताएपनि अझै कतिपय संगठन आन्दोलित नै छन् । 

जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका विकासका चाहना पूरा गर्न उनीहरूले अनुभूत गर्नेगरी सरकार काममा जुटेको बताएका छन् ।

आज बेँसीसहर नगरपालिका–७ मा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति लमजुङको १२औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले शिक्षा, स्वाथ्य, खानेपानी, भौतिक पूर्वाधार तथा सञ्चार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सृजना गर्न सरकार प्रतिबद्ध भएर लागेको बताए । अन्तरमन्त्रालय समन्वय गरेर विकास–निर्माणका काम कार्यान्वयन गर्न सरकार लागिपरेको उनले बताए ।

उनले भने, “कांग्रेस र एमाले मिलेर देशको अर्थतन्त्र सुधारेर सुशासन कायम गर्दै जनतालाई उनीहरुको सरकारले राज्य सञ्चालन गरिरहेको अनुभूति गराउनेगरी काम गरिरहेको छ । देशको विकासलाई नै केन्द्रमा राखेर सम्माननीय प्रधानमन्त्रीको निर्देशनअनुसार सरकार क्रियाशील छ ।”

सरकारका प्रवक्ताको जिम्मेवारीसमेत सम्हालेका मन्त्री गुरुङले डुम्रे–बेँसीसहर–चामे सडकको स्तरोन्नतिदेखि लमजुङको समग्र विकासलाई पनि आफूले ध्यान दिएको बताए । उनले भने, “सञ्चार मन्त्रालयले सूचना तथा सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राखेको छ, यसको उपयोगबाट समृद्धिको मार्गमा अग्रसर हुन सहज हुन्छ ।”

साथै उनले लमजुङ प्याब्सनलाई निजी विद्यालयमा ‘डिजिटल सिस्टम’ लागू गर्न आग्रह गरे ।

न्यायाधीश सामु रविले भने- बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान !

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई तारेखमा छोड्न न्यायाधीशलाई आग्रह गरेका छन् ।

बिहीबार जिल्ला अदालत कास्कीको इजलासमा सभापति लामिछानेले सहकारी प्रकरणमा आफू पनि पीडित भएकाले बाहिरै बसेर मुद्दा लड्ने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

बिहीबार सरकारी वकिलको जवाफी बहस सकिएपछि न्यायाधीश नितिज राईले लामिछानेलाई बोल्न दिएका थिए । लामिछानेले भने, ’म पनि सहकारी प्रकरणको पीडित हुँ । बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान् ।’

उनले आफ्नो दलले सहकारी पीडितका पक्षमा अन्य दलभन्दा धेरै काम गरिरहेको पनि बताए । उनले भने, ‘थुनाबाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्, बरु हरेक पटक तारेखमा आउँदा सहकारी पीडितका पक्षमा के–के गरेँ भन्ने रिपोर्टसहित आउनेछु ।’

सरकारी वकिलेको जवाफी बहस सकिएपछि अब अदालतले प्रतिवादीहरुलाई पुर्पक्षमा पठाउने कि तारेखमा छाड्ने आदेश सुनाउने छ ।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज आदेश आउँदै

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीमा सरकारी वकिलको जवाफी बयान सकिएको छ ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले थुनछेक बहस सकिएकाले आज साँझसम्ममा इजलासबाट थुनछेकको आदेश हुनसक्ने जानकारी दिइन् । 

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस सुरु भएको थियो ।

उक्त मुद्दाका आरोपी एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए ।

आज सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधीवक्ता काफ्लेलगायतले जवाफी बहस गरेको जिल्ला अदालतले जनाएको छ । प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश आजै हुने न्यायाधिवक्ता काफ्लेले बताइन् ।

लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायत जोडिएका छन् । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा रहेको न्यायाधिवक्ता काफ्लेले बताइन् ।

बढ्यो कालीमाटी तरकारी बजारमा तरुलको व्यापार

काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारमा तरुल खरिद गर्दै उपभोक्ता । कालीमाटी बजारमा प्रतिकेजी तरुल  ८० देखि  १०० रुपैयाँसम्ममा बिक्री भएको व्यापारी बताउँछन् । माघे सङ्क्रान्ति नजिकिदै गर्दा बजारमा तरुल प्रशस्त भित्रिएको छ । माघे सङ्क्रान्तिका दिन घिउ, चाकु, तिलको लड्डुसँगै तरुल खाने परम्परा रहेको छ । यी खाने कुराहरु खाएमा शरीर न्यानो हुने जनविश्वास रहेको छ ।

तस्बिर: हरिराम भेटुवाल, चन्द्रकला क्षेत्री/रासस

सहकारीका प्रबन्धकलाई कुटपीट गरेको आरोपमा वडाध्यक्षसहित पाँच जना पक्राउ

तनहुँ । तनहुँको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् ।

वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष प्रकाश श्रेष्ठ, इश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठ रहेका छन् ।

विसं २०७६ मा २८ लाख रुपैयाँ ऋण लिएपछि सावा, ब्याज एक पटक पनि नतिरेको, पटक पटक चिठी तथा फोनमार्फत जानकारी गराउँदा बेवास्ता गरेपछि सहकारीले सहकारी नियम र प्रक्रियाअनुसार जग्गा लिलामी गरेको सहकारीका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।

‘घरमा चिठी पठाउँदा नबुझ्ने र उल्टै कर्मचारीलाई धम्काएर पठाउने गरेपछि बाध्य भएर सञ्चालक समितिले कानुनी प्रक्रिया अगाडि बढाएर जग्गा लिलामी गरेको थियो’, उनले भने ।

सहकारीका अध्यक्ष श्रेष्ठले सञ्चालक समितिले गरेको निर्णय प्रबन्धकले कार्यान्वयन गर्ने कानुनी प्रक्रिया रहकाले वडाध्यक्ष श्रेष्ठले प्रबन्धकलाई हातपात गरेको उल्लेख गरे ।

सोमबार बिहान ९ बजे खाना खाइरहेको ठाउँमा आएर आफू र आफ्नो परिवारलाई पाँच जनाले कुटपीट गरेको सहकारीका प्रबन्धक रामबाबु गैह्रेले जानकारी दिए । परिवार माथि साङ्घातिक हमला भएपछि सबै जना त्रासमा बस्नुपरेको उनले बताए ।

पक्राउ परेका वडाध्यक्ष श्रेष्ठसहित पाँच जनालाई जिल्ला अदालत कार्यालयबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।

गाउँको विद्यालय, जहाँ पढ्छन् शहरका विद्यार्थी

बागलुङ । बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् ।

गाउँमा जनसङ्ख्या खट्दै गएपछि विद्यालयमा विद्यार्थीसमेत घट्दै गएका छन् तर जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यामिक विद्यालयमा भने त्यसको कुनै असर परेको छैन । बरु बजारबाट विद्यार्थी गाउँको विद्यालयमा पढ्न आउँछन् ।

पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक पर्ने गणेश माविमा विद्यार्थीको चाप बढ्दो छ । बजारका निजी विद्यालय छोडेर गाउँमा आउने विद्यार्थीले यस विद्यालयको गरिमालाई थप बढाएको छ । यस विद्यालयमा झण्डै एक सय बढी विद्यार्थीहरू अहिले अन्य जिल्लाबाट आएर अध्ययनका गरिरहेका छन् ।

नारायणस्थान गाउँका विद्यार्थीले मात्रै नभई अन्य ठाउँबाट पढ्न आएका बालबालिकाले गणेश माविमा चाप बढेको हो । गत वर्षको तुलनामा यस वर्ष करिब ३५ विद्यार्थी कम छन् । यद्यपि चाप भने उस्तै छ । आर्थिक वर्ष २०८१÷८१ मा यस विद्यालयमा सात सय ५० विद्यार्थी अध्ययनरत रहेकोमा चालु वर्ष ७१५ जना रहेका छन् ।

कक्षा कोठा अभाव हुँदा कक्षा ११ र १२ बिहानमा सञ्चालन गर्नुपरेको प्रधानाध्यापक एकनाथ रिजालले बताए । पुस्तकालयको अभाव हुँदा बालबालिकालाई चाहे अनुसार सुविधा दिन नसकेको उनको भनाइ छ । हाल कक्षा ११ र १२ मा ६५ जना विद्यार्थी अध्ययनरत छन् ।

हरेक वर्ष नारायणस्थानभन्दा बाहिर ठाउँबाट आउने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयले जनाएको छ । विद्यालयले शैक्षिक गुणस्तर बढाउन थालेपछि तीन वर्षयता ३०० जना विद्यार्थी निजी विद्यालय छोडेर यहाँ आएका छन् ।

पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण शहरका निजी विद्यालयमा भए पनि यहाँ कुश्माको शहरबाट अध्ययन गर्ने बढिरहेका छन् । सहजरुपमा शिक्षण सिकाइ गर्नका लागि १५ बढी विद्यार्थी भएको कक्षामा ‘सेक्सन’ छुट्टाएर पठनपाठन गराउँदै आएको छ । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पनि निजी विद्यालयबाट यहाँ विद्यार्थीको आकर्षण बढेको हो ।

विद्यालयको शैक्षिक गुणस्तर समेत गण्डकी प्रदेशमा नै अब्बल मानिदै आएको छ । यस विद्यालय आव २०७६/७७ मा नेपाल सरकारको नमुना विद्यालयमा छनोट भएको थियो । विद्यालयले बिदा कटौती गर्दा विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् ।

विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेसँगै शैक्षिक गुणस्तरमा पनि जोड दिइएको विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले बताए । विद्यालयले शनिबारबाहेक दशैँमा १० दिन र तिहारमा एक साता मात्रै बिदा गर्ने गरेको उनको भनाइ छ ।

विद्यालयले एसइइसहित अन्य परीक्षामा शतप्रतिशत नतिजा प्राप्त गर्ने हुँदा अन्य विद्यालयबाट आउने विद्यार्थीको आकर्षण बढेको रिजालले बताए । उनका अनुसार छिमेकी जिल्ला पर्वतको कुश्मा बजारबाट दैनिक दर्जनौँ विद्यार्थी झोलुङ्गे पुल र यान्त्रीक पुल तरेर यहाँ पढ्न आउने गर्दछन् । पर्वत मात्र नभई पोखरा, बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिकादेखि विद्यार्थीहरु यस विद्यालयमा आउने गर्दछन् ।

यस विद्यालयमा निःशुल्क होस्टेलको सुविधा छ भने यहाँ बस्ने विद्यार्थीले खानाको मात्रै शुल्क तिरे पुग्छ । अहिले १५० जना विद्यार्थीले आवासीय सुविधा लिएर अध्ययन गरिरहेका छन् ।

शिक्षक, कर्मचारी र यस ठाउँको समुदायले विद्यालयप्रति निकै चासो दिएकाले गर्दा विद्यार्थीको आकर्षण बढेको छ । यस ठाउँबाट धेरै मानिस बसाइँसराइ गरेर बाहिर गए पनि छिमेकी गाउँहरुबाट आउने सङ्ख्या बढी हुँदा विद्यार्थीको सङ्ख्यामा कमी छैन । टाढाका विद्यार्थी ल्याउनका लागि विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएको छ । गरिब विद्यार्थीलाई निःशुल्क आवासीय सुविधासमेत दिइएको छ ।

नेपाल सरकारको नमुना विद्यालयमा छनोट गरेपछि आव २०७८/७९ देखि पाँच वर्षसम्म सात करोड ५० लाख रुपैयाँ बजेट कार्यान्वयनको चरणमा रहेको विद्यालयले जनाएको छ । विद्यालयले १५ वर्षअघि अङ्ग्रेजी माध्यममा अध्यापन थालेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको थियो ।

अहिले विद्यालयमा भौतिक संरचनाको अभाव रहेको छ । नमुना विद्यालय अनुदान कार्यक्रमअन्र्तगत पाँच वर्षमा आउने सात करोड ५० लाख मध्ये पाँच करोड भौतिक पूर्वाधार तथा दुई करोड ५० लाख शैक्षक गुणस्तरमा खर्च गर्न थालिएको छ ।

विसं २०३७ सालमा स्थापना भएको विद्यालयमा कक्षा चारदेखि अनिवार्य कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला लगायतका अतिरिक्त कक्षासमेत सञ्चालनमा छन् । १८ जना दरबन्दीका शिक्षक रहेको विद्यालयमा अन्य शिक्षक तथा कर्मचारी गरी ५० जना कार्यरत रहेका छन् ।

दरबन्दी बाहेकका शिक्षक तथा कर्मचारीलाई निजी स्रोतबाट तलब खुवाइएको अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द शर्माले बताए ।

विद्यार्थीमैत्री शिक्षण सिकाइ, अङ्ग्रेजी माध्यममा पढाइ, कम्प्युटर कक्षा, विविध सिर्जनात्मक शैली र अभ्याससहित पठनपाठन, सुविधा सम्पन्न पुस्तकालय अतिरिक्त कक्षा तथा क्रियाकलाप र चुस्त व्यवस्थापनका कारण गणेश मावि देशकै नमुना विद्यालयको रूपमा स्थापित अध्यक्ष शर्मा दाबी गर्छन् ।

यस विद्यालयमा ‘बोर्डिङ स्कूल’मा भन्दा राम्रो पढाइ हुने हुँदा कुश्माबाट आएर पढ्ने गरेको कक्षा ८ मा अध्ययनरत छात्र अंकित खत्रीले बताए ।

दूरीका हिसाबले गशेण माविमा आउन एक घण्टा बढी लाग्ने भए पनि शिक्षण सिकाइ राम्रो हुने हुँदा आफू बजारमा नपढेर गाउँको विद्यालयमा आएको उनको भनाइ छ । विद्यालयको वातावरणसमेत पढ्नका लागि निकै अनुकल रहेको सुनाउँदै परियारले यसभन्दा माथिल्लो कक्षा पनि यहीँबाटै उत्तीर्ण गर्ने बतााए ।

बागलुङ नगरपालिकाले आगमी पौस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्न थालेको छ । त्यसअघि नै यस विद्यालय बालमैत्री बनिसकेको छ । विद्यालयमा पढाइ राम्रो हुने हुँदा अन्य जिल्ला र पालिकाबाट अभिभावकले कोठा भाडामा लिएर आफ्ना छोराछोरीसमेत पढाउने गरेका छन् ।

यस्तो छ ‘केटी हराएको सूचना’ को ट्रेलर

काठमाडौं । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।

सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरमा स्थान दिइएको छ। ट्रेलरले फिल्मले पहाडी–मधेशी मेलमिलापको खोजी गरेको देखाएको छ।

फिल्ममा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा छन् । फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिका छन् । फिल्म माघ ११ गतेदेखि प्रदर्शन हुँदैछ ।

निकुञ्जमा घाँसेमैदान व्यवथापनको काम सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको काम सुरु गरेको छ । चलु आर्थिक वर्षमा दुई सय ५० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्ने योजना अनुसार अहिले काम सुरु गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार ३७ लाख ५० हजार खर्चमा घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिएको हो ।

निकुञ्जभित्र कसरा, लामिताल, सुखिभार, भिम्ले, डुमरिया, बुढी राप्तीलगायत क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम गरिने उनले जानकारी दिए । उनले भने, ‘वन्यजन्तुलाई चरन क्षेत्र व्यवस्थापनका लागि हरेक वर्ष घाँसेमैदान व्यवस्थापनका काम हुँदै आएको छ ।’

घाँसेमैदान व्यवस्थापनका लागि घाँस काट्ने उपकरणसँगै मजदुर लगाएर मैदान व्यवस्थापन थालिएको निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिए । अहिले कसरा क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको भन्दै हालसम्म ६० हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम सकिएको उनले जानकारी दिए । 

निकुञ्ज नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जसमध्ये आठ हजार नौ सय ५५ दशमलव दुई हेक्टर क्षेत्रफल घाँसेमैदानका लागि उपयुक्त मानिन्छ ।

गत वर्ष ४० लाख ७० हजार खर्च गरेर तीन सय ७० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम गरिएको थियो । कोभिड अघिसम्म घाँसेमैदान व्यवस्थापनमा धेरै बजेट विनियोजन हुने गरेको भए पनि अहिले निकै न्यून बजेटमा काम हुने गरेको थापामगरले बताए ।

आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बिहीबार बताएका छन्।

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा रहेको श्री वेङ्कटेश्वर स्वामी मन्दिरको दर्शनका लागि प्रवेश द्वारमा टोकन लिन ठूलो भीड जम्मा भएका समय एकाएक भागदौड मच्एिको थियो ।

“हजारौँ धर्मावलम्बी भेला भएको मन्दिर परिसरमा भएको दुर्भाग्यपूर्ण घटनामा छ जना भक्तजनको ज्यान गएको छ । दिवङ्गत आत्माको शान्तिका लागि म भगवानसँग प्रार्थना गर्दछु,” राज्यको सत्तारुढ तेलुगु देशम पार्टीका प्रवक्ता प्रेमकुमार जैनले घटनाको पुष्टि गर्दै दुःख व्यक्त गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनिएको छ, “यस दुःखद् घडीमा घटनामा ज्यान गुमाएका भक्तजनप्रति श्रद्धाञ्जलि अपृण गर्दछु, साथै, घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्य र आपन्तजनप्रति समवेदना व्यक्त गर्दछु ।”

भारतका प्रमुख धार्मिक चाडहरूमा भीडभाड व्यवस्थापन र सुरक्षाको कमीका कारण धार्मिक स्थलहरूमा घातक दुर्घटनाहरू हुने गरेका छन्।

गत वर्ष जुलाईमा उत्तर प्रदेशमा हिन्दू धर्मावलम्बीको धार्मिक जमघटका क्रममा १२१ जनाको मृत्यु भएको थियो ।

सन् २०१६ मा दक्षिणी केरला राज्यको एक मन्दिरमा नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतशबाजी प्रदर्शनका कारण भएको विस्फोटमा परी ११२ जनाको मृत्यु भएको थियो । 

कोशी प्रदेश सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने

मोरङ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा बिहीबार बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो ।

प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने, कानुन, सोही समितिमा परिमार्जित मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरिएको उनले बताए ।

अन्य निर्णयमा कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश बीउबिजनसम्बन्धी व्यवस्था गर्न बेनेको विधेयक प्रदेशसभामा पेस गर्ने आजको बैठकले निर्णय गरेको प्रदेश सरकार प्रवक्ता भण्डारीले उल्लेख गरे ।

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता

काठमाडौं । कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औं परराष्ट्र सचिवका रूपमा बुधबार अपराह्नदेखि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

‘हाम्रो देश चुनौती र अवरको दोसाँधमा छ । ती चुनौतीको सामना गर्दै अवसरलाई राष्ट्रको हितमा उपयोग गर्न निष्ठापूर्वक लाग्नेछु’, परराष्ट्र सचिवको कार्यभार सम्हालेपछि उनले बिहीबार बिहान भने । देशलाई समृद्धिको दिशामा अग्रसर गराउन आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि सचिव राईले व्यक्त गरे ।

सन् १९९६ मा निजामती सेवामा प्रवेश गरेका परराष्ट्र सचिव राई सन् २००५ मा उपसचिवका रूपमा परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले परराष्ट्र मन्त्रालयमा संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय सङ्गठनहरू र अन्तर्राष्ट्रिय कानुन महाशाखाको सहसचिवका रूपमा सेवा गरेका थिए ।

मार्च २०१९ देखि जुन २०२३ सम्म उनी संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि तथा डिसेम्बर २०१४ देखि डिसेम्बर २०१८ सम्म दक्षिण अफ्रिकाका लागि नेपालको राजदूत थिए । कायममुकायम सचिव हुनुअघि उनले परराष्ट्र मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए ।

सार्वजनिक सेवाको प्रारम्भिक वर्षमा सचिव राईले सन् २००३ देखि २००५ सम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सन् २००२ देखि २००३ सम्म सामान्य प्रशासन मन्त्रालयमा सेवा गरेका थिए । सन् १९९६ मा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा शाखा अधिकृतको रुपमा उनले निजामती सेवा प्रारम्भ गरेका हुन् ।

सन् १९७० मा संखुवासभाको चिचिला गाउँपालिकामा जन्मिएका परराष्ट्र सचिव राईले जर्मनीको पोट्सडाम विश्वविद्यालयबाट सार्वजनिक व्यवस्थापन र त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले उनलाई परराष्ट्र सचिवमा पदोन्नति गरेको हो ।

आगलागीमा परी सोलुखुम्बुमा एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका- २ थुम्लिङमा गएराति भएको आगलागीमा परी एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हीराकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए ।

बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको अनुमान गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी घिमिरे, प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे र चिकित्सकसहितको टोली घटनास्थल पुगेको छ ।

आगलागीबाट जलेर चिन्न नसक्ने अवस्थामा रहेका खालिङको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रजिअ घिमिरेले बताए ।

लेखा समिति सभापतिका स्वकीय सचिव अनिल पोखरेल पक्राउ

विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् ।

प्रहरीले पोखरेललाई बिहीबार बिहान विराटनगरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले पोखरेललाई पक्राउ गरिएको र अब अनुसन्धान सुरु हुने जानकारी दिए ।

पोखरेलमाथि एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । घटना सार्वजनिक भएपछि सभापति पोखरेलले स्वकीय सचिवलाई गतसाता बर्खास्त गरेका थिए ।

सहकारी ठगी प्रकरणमा सभापति पोखरेलकी पत्नी अञ्जला फरार रहेकोमा बुधबार अदालतमा उपस्थित भएकी थिइन् । अदालतले कोइरालालाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । धरौटी बुझाएर उनी बुधबारै रिहा भएकी थिइन् ।

संविधान संशोधनबारे प्रधानमन्त्रीको भनाईको आशय बुझ्नुपर्छः नेता भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले संविधान संशोधन २०८७ सालमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको बचाउन गरेका छन् ।

बिहीबार सामाजिक संजालमार्फत भट्टराईले प्रधानमन्त्रीको आशय त्यस्तो नभएको बताएका हुन् । उनले संविधान संशोधनको निम्ति आवश्यक संख्या पुर्याउन २०८७ सालसम्म पर्खिनु पर्ने हुनसक्छ भनेर प्रधानमन्त्रीले परिस्थितिको विश्लेषण गरेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठक समापनमा बोल्दै संविधान संशोधन आगामी २०८७ सालमा हुने बताएका थिए । प्रधानमन्त्रीको भनाईप्रति सत्तारुढ नेपाली कांग्रेसले आपत्ति जनाइसकेको छ ।

यस्तो छ खिमलाल भट्टराईको भनाई
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा बोल्नु भएको कुरालाई लिएर नेपाली काँग्रेसका नेताहरु र अन्य विभिन्न सामाजिक संजालहरु उद्वेलित भएको देखियो । केन्द्रीय कमिटीको बैठकमा उहाँको सम्बोधन सुनेको मैले बुझेको कुरा यस्तो होः

संविधान संशोधनको लागि सरकारले आन्तरिक तयारी गरिराखेकै छ । यसको आवश्यकता र औचित्यको विषयमा अध्यक्षको कुनै फरक विचार छैन भन्ने स्पष्ट नै छ । तर अहिले संविधान संशोधनका लागि दुवै सदनमा चाहिने दुई तिहाई बहुमत नेकपा (एमाले) र नेपाली काँग्रेससँग छैन । राष्ट्रियसभामा समेत दुई तिहाई नभई संविधान संशोधन संभव छैन । आउने राष्ट्रियसभाको चुनावमा पनि गणितीय संख्या पुग्नेगरि जित्न मुश्किल छ । त्यसैले संविधान संशोधनको निम्ति आवश्यक संख्या पुर्याउन २०८७ सालसम्म पर्खिनु पर्ने हुनसक्छ भनेर परिस्थितिको विश्लेषण गर्नु भएको हो ।

आवश्यकताको सिद्धान्त अनुसार सही र सामयिक विषयमा संशोधन गर्न सत्तारूढ दलहरु तयार छँदैछन् । यसको अलावा अरु दलहरु समेत तयार हुँदा संशोधनको प्रक्रियामा ढिलाई हुने प्रश्नै छैन ।कमरेड अध्यक्षको सम्बोधनको मूल मर्म यही नै हो । सात बुँदामा संविधान संशोधनको बुँदा के देखेका थिए कतिपयले आफ्नो अतिवादी विचारको प्रचार थालेका छन् । त्यो चाहिँ संभव छैन ।

लस एन्जलसको डढेलोमा परी पाँच जनाको मृत्यु

बीबीसी । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको डढेलोमा परी पाँच जनाको मृत्यु भएको छ भने एक हजार भन्दाबढी घर जलेका छन् ।

लस एन्जलस काउन्टी फायर चीफ एन्थोनी मार्रोनका अनुसार डढेलो अहिले १० हजार ६०० एकड जमिनमा फैलिसकेको छ । डढेले धेरैतिर फैलिएकाले नियन्त्रणमा आउन सकेको छैन ।

क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रमा पर्ने प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको थियो ।

डढेलोका कारण ३० हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । विमान र दमकलहरूले आगो निभाउने प्रयास गरिरहेका छन् । तर सुक्खा अवस्था र १६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझ फैलाएको छ ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा निरन्तर भूकम्पको पराकम्प

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटकको भूकम्पका पराकम्प गएको छ । मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना पराकम्प निरन्तर गइरहेका छन् ।

बुधबार बिहान ३ः३० बजे र ५ः३० बजे खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा भूकम्पका पराकम्प महसुस गरिएको छ । त्यसपछि बिहान ९ः३० बजे थाम्बुचे क्षेत्रमा र साँझ ५ः३० बजे लुक्ला तथा पैयाँ क्षेत्रमा पनि पराकम्पका झट्का अनुभव गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले पराकम्पका कारण स्थानीय बासिन्दामा त्रास बढेको जानकारी दिए ।

उनले भने, ‘खुम्बु क्षेत्र जहाँ मङ्गलबार गएको भूकम्पको केन्द्र तिब्बत् नजिक पर्छ, त्यहाँ धेरै पराकम्प गइरहेका छन्, जसले गर्दा स्थानीयवासीमा त्रास उत्पन्न गराएको छ तर सम्भावित सहयोगका लागि हाम्रा प्रहरीहरू स्थानीयवासीसँगै छन् ।’

पराकम्पले छिनछिनमा धक्का दिन थालेपछि स्थानीयवासी घरभित्र छिर्नसमेत डराइरहेको स्थानीय पासाङ शेर्पाले बताए । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बिहान ६ बजेर ५० मिनेट जाँदा नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो ।

यस भूकम्पका पराकम्प नै खुम्बु क्षेत्रमा महसुस भएको अनुमान गरिएको छ । खुम्बु तिब्बत्को नजिकपर्ने भएकाले त्यस क्षेत्रमा बढी पराकम्पको धक्का महसुस गरिएको हुनसक्ने बताइएको छ ।

पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो

पर्वत । आवश्यक संरक्षण र उपयोग गर्न नसक्दा पर्वतका वन क्षेत्रमा पाइने करोडौँ मूल्यका जडीबुटीको चोरीनिकासी बढ्दै गएको पाइएको छ ।

जडीबुटी संरक्षण, प्रवर्द्धन, सङ्कलन र निकासी गर्ने आधिकारिक निकायको बेवास्ताका कारण दैनिकजसो चोरीनिकासी बढ्दै गएको हो ।

जिल्लाका उच्च पहाडी भेगमा रहेका जङ्गलमा बहुमूल्य औषधीय गुणयुक्त जडीबुटी प्रशस्तमात्रामा रहेको छ । जिल्लाको जलजला र मोदी गाउँपालिकामा पर्ने हम्पाल क्षेत्र, मोदी र कुश्मा क्षेत्रमा पर्ने पञ्चासे, डहरे, चिसापानी, गोल्र्याङ ठूला जङ्गल क्षेत्र हुन् ।

यी क्षेत्रमा अल्लो, सत्तुवा, नागबेली, पाखनभेद, रक्तमूल, भूतकेश, चिराइतो, पदमचाल, बज्रदन्ते, लोठसल्ला प्रशस्तमात्रामा पाइन्छ । यसैगरी सुनाखरी, चिराइतो, अर्गेली, टिमुर, ढकायो, चुत्रो, लोक्ता, सिल्टिमुर, धसिङ्ग्रे, खोटो, हर्रोबर्रोलगायत सयौँ प्रकारका जडीबुटीसमेत प्रशस्तै पाइन्छ । डिभिजन वन कार्यालय पर्वतका अनुसार जडीबुटी पकेट क्षेत्र तोकेर संरक्षण गर्न नसक्दा ठूलोमात्रामा नोक्सानी भइरहेको छ ।

जिल्लामा कुन जडीबुटी कति परिमाणमा पाइन्छ भन्ने यकीन नभए पनि चोरीनिकासीकै कारण जडीबुटीको आनुवंशिक स्रोतसमेत नष्ट हुने खतरा बढेको जनाएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने तीन हजार मिटर उचाइसम्म फैलिएका सामुदायिक वन सहस्रधारा सामुदायिक वन, खर्सुबास सामुदायिक वन, रेसापातल सामुदायिक वन, ठूला टाउका गैँडाखर्क सामुदायिक वन, छिपछिपे सिलिङ्गे सामुदायिक वनमा औषधीय जडीबुटी प्रजातिका वनस्पति पाइन्छ ।

पर्वतको मोदी–४ लेस्पारका ७३ वर्षीय वृद्ध टेकबहादुर पुनले जडीबुटीको प्रयोग गरी गाउँलेको उपचारसमेत गर्दै आएका छन् । पुनले चिन्ता व्यक्त गर्दै भने, “पर्वतका सामुदायिक वनमा धेरै प्रकारका जडीबुटी पाइने भए पनि अहिले उचित संरक्षणको अभावले कतिपय नासिँदै गाएका छन् भने चोरी हुनेक्रम पनि बढेको छ ।”

पहिले प्रशस्तै पाइने धेरै प्रकारका जडीबुटी अहिले थोरैमात्रामा देखिने गरेको उनको भनाइ छ । गाउँमा बस्ने मानिसको सङ्ख्या घट्दै जानु र भएकालेसमेत चासो नदिएका कारण बहुमूल्य जडीबुटी जोखिममा पर्दै गएको उनको गुनासो छ ।

खर्सुबास सामुदायिक वन उपभोक्ता समूह मोदी–४ क्याङका अध्यक्ष नरसिं पुनले जडीबुटीको उचित संरक्षण हुन नसक्दा धेरै प्रकारका जडीबुटी चोरीनिकासी हुने र जङ्गलमै खेरजाने तर गाउँलेलाई कुनै लाभ नहुने गरेको बताए ।

डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत रामबहादुर विकले जिल्लामा वनजन्य जडीबुटी प्रशस्तै पाइने भएर पनि बजेट र कार्यक्रम नहुँदा यस क्षेत्रमा कुनै कार्य हुन नसकेको बताए ।

वनजन्य जडीबुटीबाट आर्थिक लाभ लिन सबैभन्दा पहिले कुन स्थानमा कुन जातिको प्रजाति कतिमात्रामा पाइन्छ सोहीअनुसार पहिले पकेट क्षेत्र तोकिनु पर्दछ विकले भने, “जडीबुटीको विस्तृत स्रोत सर्वेक्षण गरिनुहुन सकेको छैन ।”

डिभिजन वन कार्यालय, पर्वतमा चालु आर्थिक वर्षमा जडीबुटी संरक्षण र प्रवद्र्धनसम्बन्धी एउटै कार्यक्रम नसमेटिएको उनको भनाइ छ ।

जिल्लामा वन उपभोक्ता समूह गठन भई १४ हजार चार सय २२ हेक्टर वन क्षेत्रमा करिब ४४ हजार एक सय चार घरधुरीका स्थानीय समुदाय वनसँग जोडिएको भए पनि अहिलेसम्म समुदायस्तरबाट जडीबुटी संरक्षण र प्रवर्द्धनमा प्रत्यक्ष जोडिएर आम्दानी गर्न नसकेको उनको भनाइ छ ।

६५ हजार घुस रकमसहित नवलपरासीमा विद्यालयका सहायक लेखापालसहित दुई जना पक्राउ

काठमाडौं । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले गुप्ता र कहारलाई ६५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

उनीहरूले भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा बुटवल कार्यालयबाट गएको टोलीले रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

सेवाग्राहीबाट ६५ हजार रूपैयाँ घुस लिइरहेको अवस्थामा लेखापाल गुप्ताको कार्यकक्षबाट बुधबार उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताएका छन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सचिवालय स्थापना

काठमाडौँ ।  कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालयको स्थापना भएको छ ।

राष्ट्रिय खेलकुद परिषदद्वारा बुधबार आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयको उद्घाटन गरे । उनले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने  प्रतियोगिताको तयारीको सुरुवात भएको बताए ।

खेलकुदमन्त्री चौधरीले प्रतियोगिता हुन तीन महिना बाँकी रहेकाले सो समयसम्म सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसक्ने बताए । उनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेटको फाइल अर्थमन्त्रालयमा आजै पुगेको बताए ।

उनले प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गर्ने भनिएपनि त्यस विषयमा आगामी माघ ३ गते बस्ने बोर्ड बैठकले निर्णय गर्ने जानकारी दिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेललाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्राथमिकतामा राखिने उनले उल्लेख गरे ।

खेलकुदमन्त्री चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) बाट राजीनामा दिने राष्ट्रिय खेलकुद सङ्घका पदाधिकारीलाई कारबाहीमा केही छुट हुनसक्ने बताए । बोर्ड बैठकले सर्वोच्च र उच्च अदालतको आदेश विपरीत कार्य गर्ने सङ्घका पदाधिकारीलाई कारबाही गर्नसक्ने चेतावनी उनले दिए ।

त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा आवासीय समस्याका कारण २४ वटा खेल आयोजना गर्ने र बाँकी खेल अन्य स्थानमा गर्ने सम्भावना रहेको बताए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म गर्ने तय भएको छ ।

तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन

ल्हासा । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल ६४६ परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।

क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार सबैभन्दा ठूलो पराकम्पनको म्याग्निच्युड ४.४ थियो र यो केन्द्रविन्दुबाट करिब १८ किलोमिटर टाढा थियो ।

भूकम्पमा १२६ जनाको मृत्यु भएको छ र अन्य १८८ जना घाइते भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुनस्र्थापना गरिएको छ ।

चाइनिज रेड क्रस सोसाइटी (आरसिएससी) ले मङ्गलबार राति भूकम्प प्रभावित क्षेत्रहरूमा दोस्रो चरणको राहत सामग्री पठाएको छ । यसमा कपडाको पाल, सिरक र फोल्डिङ बेड लगायत चार हजार तीन सय वस्तुहरू समावेश छन् ।

आरसिएससीद्वारा आपत्कालीन सरसफाई शौचालय, खाना पकाउने गाडी र क्याम्पर गाडीलगायत अन्य आपतकालीन प्रतिक्रिया सामग्रीहरू सहित ५० भन्दा बढी उद्धारकर्मीहरू पनि प्रभावित क्षेत्रमा पठाइएका छन् ।

लेखा समितिका सभापति पोखरेलकी पत्नी अञ्जला १० लाख धरौटीमा रिहा

विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला १० लाख धरौटी बुझाएर रिहा भएकी छन् ।

सहकारी ठगी कसुरमा बुधबार मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले कोइरालासँग १० लाख धरौटी माग गरेको थियो । अदालतको आदेशलगत्तै १० लाख रूपैयाँ बुझाएर रिहा भएकी हुन् ।

सहकारीसम्बन्धी कसुरमा मुद्दा चलाइएपछि कोइराला बुधबार अदालतमा उपस्थित भएकी थिइन् । उनी अदालतमा उपस्थित भएपछि उनीसँग बयान लिनुका साथै थुनछेक बहस भएको थियो ।

मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा कोइराला २६ जनाविरुद्ध मुद्दा दायर भएको छ। उक्त सहकारीमा अन्जला २०७२/०७३ देखि सञ्चालक समितिमा थिइन् । २२ करोड २८ लाख २७ हजार ७ सय रकम हिनमिना भएको दाबी गर्दै मुद्दा दर्ता भएको थियो ।

अर्थतन्त्रलाई थप चलायमान बनाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दियो यस्तो सुझाव

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ । आयोगका अध्यक्ष बुधबार रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउने गरी तत्काल गर्नुपर्ने विषयहरु उल्लेख गरिएको छ । जसमा सरकारी दायित्व र अन्य बक्यौता रकम भुक्तानी दिने, वित्तीय क्षेत्रका वास्तविक समस्याग्रस्त ऋणीहरुलाई सहजीकरण गर्ने, व्यापारिक उधारो नियमन गर्न कानुन निर्माण गर्ने लगायत छन् ।

यसैगरी प्रतिवेदनमा समस्याग्रस्त सहकारीबाट देखिएको समस्या सम्बोधन गर्ने, चालू आर्थिक वर्षको बाँकी अवधिमा पूँजीगत खर्च वृद्धि गर्ने , जाजरकोट भुकम्प लगायत विपद्जन्य घटनाबाट क्षति पुगेको भौतिक पूर्वाधारको पुनर्निर्माणको काममा तीव्रता दिने, सरकारले जग्गा प्राप्तिको कारबाही चलाएको वा प्रक्रिया टुंगो लागेका जग्गाको मुआव्जा वितरणमा तीव्रता दिने तथा स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई थप सहजीकरण गर्ने विषयमा सुझाव दिइएको छ ।

चालू आर्थिक वर्ष नयाँ ठेक्का नलगाई निर्माण सम्पन्न कामहरूको भुक्तानीलाई प्राथमिकता दिने, बहुवर्षिय ठेक्का लागेर सिर्जित दायित्व पुरा गरेर बजेट उपलब्ध हुन सक्ने भएमात्र नयाँ आयोजनाहरू आउने वर्षको बजेटमा राख्न सुझाव दिइएको छ।

सरकारले विभिन्न क्षेत्रमा प्रदान गरेको अनुदानले उत्पादन र रोजगारीमा पारेको प्रभावको आधारमा स्रोतको उपलब्धतालाई मध्यनजर गर्न र सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान कार्यक्रममा पुनरावलोकन गर्न पनि सुझाव दिइएको छ।

स्वास्थ्य बीमाको प्रिमियम बढाउने र को पेको अनुपात बढाउन सुझाव छ । कोभिड अगाडि राम्रो अवस्थामा रहेको व्यवसाय अहिले समस्यामा रहेको तर पछि सुधार हुने अवस्था रहेमा विषय हेरिकन एक वर्षसम्म कर्जा पुनर्तालिकीकरण गर्न अवसर दिने, घरजग्गाको बजार शिथिल रहेको र बैंकहरूको गैरबैकिङ सम्पत्ति बढ्दै गएको सन्दर्भमा सार्वजनिक निजी साझेदारीमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न आवश्यक कानुन जारी गर्न आयोगको सुझाव छ ।

प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न बचत तथा ऋण सहकारी संस्थाहरूको कार्यक्षेत्र एक स्थानीय तहको भौगोलिक क्षेत्र भन्दा बढी हुन नदिने गरी कानुनी व्यवस्था गर्ने, सहकारी संस्थाले कम्पनीलाई वा कुनै संगठित संस्थालाई सदस्य बनाउन निषेध गर्ने, प्राकृतिक व्यक्ति मात्र सदस्य हुन पाउने व्यवस्था गर्ने. बचत तथा ऋण सहकारी संस्थाहरूमा वित्तीय संस्थामा जस्तै एकल कर्जा सीमाको कानुनी व्यवस्था गर्ने, तत्कालको लागि एकै व्यक्तिलाई एउटा वा एक भन्दा बढी तमसुकबाट हुने कुल ऋण लगानी संस्थाको कुल शेयर पूँजीको दश प्रतिशत भन्दा बढी हुन नदिने व्यवस्था गर्ने लगायतका सुझाव दिइएको छ।

आयोगले चालू आर्थिक वर्षको बाँकी अवधिमा पुँजीगत खर्च वृद्धि गर्न दश करोड भन्दा बढी रकम विनिजोजन भएका सबै आयोजनाको नियमित अनुगमन र स्थलगत रूपमा समस्याको समाधान गर्ने अधिकारसम्पन्न टोली परिचालन गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।

सरकारले अर्थतन्त्रबारे सुझाव दिन गत असोजको तेस्रो हप्ता विज्ञ र निजी क्षेत्रको प्रतिनिधित्व रहने गरी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको थियो ।

मूलपानी र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न ससदीय समितिको निर्देशन

काठमाडौं ।  सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकले मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाबारे खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका कर्मचारीसँग छलफल गरेको थियो।

मन्त्री चौधरीले बजेट अभावमा मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणमा विलम्ब भएको स्पष्टीकरण दिए।

समिति सभापति सोनाम गेल्जेन शेर्पाले मुलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणको लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने र वातावरणीय प्रभाव मूल्याङ्कन (इआई) चाँडो टुङ्गाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताए।

समितिको आजको बैठकले राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्ति व्यवस्थापनलगायत पूर्वतयारीका काम पूरा गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ।

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

काठमाडौँ ।  मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने भएको छ। युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनका बारेमा आज यहाँ मण्डला थिएटर, चुलाचुली रङ्गमञ्च र एक थिएटर नेपालले संयुक्त रूपमा आधिकारिक घोषणा गरेका हुन्।

पृथ्वीको पहिलो नारी मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेर निर्माण गरिएको नाटकमा पछिल्लो समय मुक्कुम्लुङ संरक्षण र आन्दोलनसम्मका घटना क्रमलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

पछिल्लो समय ताप्लेजुङको मुक्कुम्लुङमा ‘मक्कुम्लुङ संरक्षण’ अर्थात् ‘नो केवलकार’ आन्दोलन चलिरहेको छ । मुक्कुम्लुङ याक्थुङ (लिम्बू)हरूको पवित्रस्थल रहेको, यहाँ केवलकार स्थापना गरिँदा मुक्कुम्लुङ र लिम्बूहरूको सम्बन्ध विस्थापन हुने र त्यहाँ प्रकृतिको दोहन हुने भएकाले स्थानीयसहित सरोकार भएकाले ‘नो केवलकार’ आन्दोलन गरिरहेका छन् ।

सोही आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै मुक्कुम्लुङको महत्व बुझाउन नाटक निर्माण गरिएको एक थिएटरका अध्यक्ष विष्णु मोक्तानले बताए।

निर्देशक सुब्बाले भने, “यो नाटक, नाटक मात्रै होइन । आन्दोलन पनि हो ।” नाटकका लेखक गीलु रातोसका अनुसार मुक्कुम्लुङलाई याक्थुङ समुदायले आफ्नो शिर मान्ने गर्छन् । अहिले त्यही शिर माथि भएको दमनविरुद्ध सर्जकहरूको आन्दोलनका रूपमा यस नाटकलाई लिन सकिने उनले बताए।

अनिल सुब्बा, गीलु रातोस र विष्णु मोक्तानको संयुक्त लेखन रहेको नाटकमा विष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बू, सौजन सेनेहाङ, मणि के राई, भूमिका थारूलगायत कलाकारको अभिनय रहने छ।

विपीन जोशीको रिहाइका लागि पहल गर्न इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासलाई हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेकी छन् ।

बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री राणाले राजदूत बाससँग जोशीलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न आग्रह गरेकी हुन् ।

हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री राणाले इजरायली राजदूतसँग जानकारी लिएकी थिइन् ।

उनले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न इजरायल सरकारलाई आग्रह गरेकी छन् । जवाफमा राजदूत बासले हमासको नियन्त्रणमा रहेका बृद्धवृद्धा, महिला तथा बालबालिका समेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरूको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरूलाई नियन्त्रण मुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको बताएका थिए ।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । त्यसक्रममा केहीलाई अपहरण गरी लगेका थिए । त्यसमा नेपाली विद्यार्थी जोशी पनि परेका थिए ।

जोशीको रिहाइको लागि सरकारले कतारी राजा नेपाल भ्रमणमा आउँदा पनि कुरा उठाएको थियो । तर जोशीको अहिलेसम्म अवस्था अज्ञात छ ।

पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन

नवलपरासी । पूर्णरूपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो ।

निरन्तरको प्रयासपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध सडक दिउँसो २ बजेदेखि एकतर्फी सञ्चालनमा आएको बताउँदै उनले सवारीसाधनलाई सवारी पासको आधारमा आलोपालो सञ्चालनमा ल्याइएको उल्लेख गरे ।

सूचना अधिकारी बोहराले बुटवल–नारायणगढमा निर्माण भइरहेका दाउन्ने क्षेत्रमा एकतर्फी सडक सञ्चालन चुनौतीपूर्ण बनेको बताए । मङ्गलबारदेखि पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु, लगातारको शीतलहरले यात्रा चुनौतीपूर्ण बनेपछि आज बिहान उक्त खण्डमा सवारी आवागमन राकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुईतर्फी सडक सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, प्रहरी, स्थानीयलगायतले निरन्तर सडक मर्मत र सफा गरिरहेका छन् ।

विद्युत् उत्पादनमा लगानी गर्न निजी क्षेलाई ऊर्जामन्त्री खड्काको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार सुनिश्चित भएकाले विद्युत् क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । 

विद्युत् नियमन आयोगबाट हुने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आयोगद्वारा निर्माण गरिएको ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम’ को बुधबार शुभारम्भ गर्दै मन्त्री खड्काले उत्पादित विद्युत् बजारीकरणको समस्या नरहेकाले ऊर्जा क्षेत्रमा लगानी गर्न सबैलाई आग्रह गरे ।

ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्य पूरा गर्न यस्ता प्रविधिले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । विद्युत उत्पादनमा देखिएका समस्यालाई विस्तारै सरकारले सहजीकरण गर्दै लैजाने उनको भनाइ छ ।

मन्त्री खड्काले मुलुकको विकासको प्रमुख आधार ऊर्जा क्षेत्र भएकाले यसको विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

“स्रोतमाथिको अधिकार सबैको बराबर हुन्छ, जलविद्युत्मार्फत सरकारले गरिब तथा विपन्न परिवारलाई न्यूनतम दुई लाखदेखि अधिकतम पाँच लाखसम्मको शेयर दिएर न्यून आय भएका नागरिकको आर्थिकस्तर उकास्न खोजेको छ”, उनले भने ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले ऊर्जा विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न आयोगको जिम्मेवारी महत्वपूर्ण रहने बताए । “बढी सेवाग्राही आउने कार्यालयमा अनलाइन प्रणालीको विकास गर्दा काम छिटो, छरितो र सहज हुन्छ”, उनले भने । साइबर सुरक्षाको समस्या हल गर्दै अनलाइन प्रणालीलाई व्यवस्थित ढङ्गले अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले सरकारले ल्याएको ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मुलुकको जलविद्युत् विकासमा ऐतिहासिक भएको बताए । 

विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले आयोगमार्फत प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाई गुणस्तरीय, जिम्मेवार तथा जवाफदेही बनाउन, अन्तर्राष्ट्रिय अभ्यासलाई अवलम्बन गर्दै सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउन अनलाइन प्रणालीका शुभारम्भ गरिएको बताए ।

अध्यक्ष धितालले आगामी दिनमा आयोगबाट प्रदान गरिने सम्पूर्ण सेवा तथा कामकारबाही पूर्णरूपमा प्रविधिमैत्री गर्ने अभियानमा आयोग प्रतिबद्ध रहेको स्पष्ट पारे ।

आयोगका सदस्य गौतम डङ्गोलले अनुमतिपत्र प्राप्त व्यक्ति तथा सङ्गठित संस्थाले आयोगबाट सम्पादन हुने शेयरको सार्वजनिक निष्काशन, विद्युत् खरिद बिक्री सम्झौतामा सहमति तथा संशोधन तथा शेयर संरचना परिवर्तनसम्बन्धी सम्पूर्ण कामकारबाही अनलाइन प्रणालीमार्फत हुने जानकारी दिए । 

वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

सप्तरी विष्णुपुर गाउँपालिका–७ का  ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका  ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभियुक्त कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट  ७२ लाख ४८ हजार एक सय ५० र राजेशले आठ लाख ९० हजार लिएर सम्पर्कविहीन भएका थिए ।

पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौँ महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर  पठाइएको छ ।

नेप्सेमा ६ अर्ब ४० करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक ६ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय ५३ दशमलव ३८ को विन्दुमा कायम भएको हो ।

तीन सय पाँच कम्पनीको एक करोड ५५ लाख दुई हजार सात सय ७१ कित्ता शेयर ७२ हजार एक सय २० पटक खरिदबिक्री हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार सात सय ८४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

आजको कारोबारमा विकास बैंक दुई दशमलव ५३, वित्त चार दशमलव ७७, जलविद्युत् शून्य दशमलव २६, जीवन बिमा शून्य दशमलव ४०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४० र लघुवित्त उपसमूह एक दशमलव ५९ प्रतिशतले बढेका छन् । अरु सबै समूहको उपसूचक घटेको छ । 

बैंकिङ शून्य दशमलव २६, होटल तथा पर्यटन शून्य दशमलव शून्य छ, लगानी शून्य दशमलव ३८, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव १३, व्यापार एक दशमलव ५६ र अन्य समूह शून्य दशमलव २६ प्रतिशतले घटेका छन् ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको  २२ करोड ५३ लाख ४९ हजार पाँच सय ९७ को कारोबार भएको छ ।

भारतमा गतवर्ष सवारी दुर्घटनामा परी एक लाख ८० हजारको मृत्यु

नयाँदिल्ली । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ ।

भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमध्ये ६६ प्रतिशत १८ देखि ३४ वर्ष उमेर समूहका रहेका छन् । मृत्यु हुनेमा करिब १० हजार विद्यालयमा अध्ययनरत छात्रछात्रा रहेको उल्लेख गर्दै उनले विद्यालय तथा अन्य शैक्षिक संस्थाअगाडि यातायातको उचित व्यवस्था नहुँदा मृत्यु भएको बताए ।

गडकरीले मानव जीवन बचाउनका लागि सडक दुर्घटनाका पीडितहरूको नगदरहित उपचारको नयाँ योजना सुरु गरिएको पनि बताए ।

उनले भने, ‘सडक दुर्घटनामा परी घाइते भएकाहरूको नगदरहित उपचारको लागि हामीले नयाँ योजना सुरु गरेका छौं ।’

दुर्घटना लगत्तै २४ घण्टाभित्र प्रहरीमा सूचना जाँदा भर्ना भएका बिरामीको सात दिनको उपचार खर्च वा उपचारको लागि अधिकतम एक लाख ५० हजार भारतीय रुपैयाँ (एक हजार ७४७ अमेरिकी डलर) सम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

सडक दुर्घटनाका घटनामा मृत्यु भएका व्यक्तिका लागि दुई लाख भारतीय रुपैयाँ (दुई हजार ३०० अमेरिकी डलर) पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

गण्डकी । कास्कीको मादी गाउँपालिका–२ स्थित कप्रुडाँडाको पर्यटकीय सम्भावनालाई अध्ययन गरी पाँच वर्षअघि सडक सञ्जाल विस्तार भएसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र मादी गाउँपालिकाको सहकार्यमा पर्यटकीय सम्भावनाको अध्ययन गरी कप्रुडाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न थालिएको हो ।

दश वर्षअघिसम्म कप्रुडाँडा भेँडीगोठ र गाईभैँसीको चरन क्षेत्र थियो । गोठालाहरूले पशुवस्तु लिएर जाने स्थल अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको स्थानीय बताउँछन् । पर्यटकीय सम्भावना र चुनौतीबारे अध्ययन गरी पर्यटक लक्षित सुविधा सम्पन्न सडक, होटललगायत पूर्वाधार विकास गरेसँग यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको कप्रुडाँडास्थित होटल मिडनाइट क्याम्परर्सका सञ्चालक हिमाल गुरुङले बताए ।

‘वरपर ढपक्क ढाकिएका गुराँसे जङ्गलको बीचमा खुल्ला भूभाग, यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यसँगै मनास्लु हिमाल, अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, माछापुच्छ्रे«, मर्दी, बुद्ध, हर्क गुरुङलगायत हिमालको दृश्य एकसाथ नियाल्न सकिन्छ । यो ठाउँ पछिल्लो पाँच वर्षको अन्तरालमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बनेको छ’, उनले भने ।

यहाँको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी पाँच वर्षअघि बाटो पुगेको थियो । महामारीले दुई वर्ष पर्यटकीय गतिविधि प्रभावित भए पनि त्यसयता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको होटल सञ्चालक हिमाल गुरुङले उल्लेख गरे । ‘यहाँ धेरै वर्ष अघि गोठ थिए, अहिले गोठ पनि छैनन्’, उनले भने, ‘यो पुरातात्विक ठाउँ पनि हो । क्होलोसोथारमा घले राजाको राज हुँदा कर उठाउन राजाले आफ्ना दूतलाई कप्रुडाँडासम्म पठाउँथे भन्ने इतिहास रहेको ज्येष्ठ नागरिकहरू बताउँछन् ।’

स्थानीयका अनुसार गाउँको सिरानस्थित गोलो आकारको समथर भूभाग यस ठाउँमा पहिलेपहिले गाउँलेहरू गाईभैँसी चराउन आउँथे । ‘गाउँलेहरू घाँसदाउरा गरेर साँझमात्र घर फर्कन्थे । त्यसैले यो ठाउँ यहाँको परम्परागत जनजीविकासँग पनि जोडिएको छ । यहाँबाट करिब १० घण्टाको पैदलयात्रामा गुरुङ जातिको उद्गमस्थल क्होलासोथार पुग्न सकिन्छ’, यहाँका पर्यटन व्यवसायी भुपाल गुरुङले भने ।

पर्यटन व्यवसायी गुरुङका अनुसार कोरोना महामारीमा सामाजिक सञ्जालसहित अन्य माध्यमबाट प्रचारप्रसारका गतिविधि गरिएसँगै अहिले दैनिक एक सयदेखि एक ५० जनासम्म पर्यटक यहाँ पुग्ने गरेका छन् । वरपर जङ्गलैजङ्गलले घेरिएकाले विभिन्न प्रजातिका चराचुरुङ्गीका साथै रमणीय दृश्य, सुन्दर हिमालहरू अवलोकन गर्न पर्यटक आउने गरेका उनले जानकारी दिए ।

पदयात्रा र हाइकिङ रुचाउने पर्यटकहरू कास्कीको पर्यटकीय गुरुङ गाउँ ताङतिङबाट करिब चारदेखि छ घण्टाको पदयात्रा गरेर कप्रुडाँडा पुग्छन् । पछिल्लो समय यहाँ पुग्ने मोटरबाटो बनेपछि कतिपय निजी सवारीसाधन लिएर यहाँ आउने गरेका पर्यटन व्यवसायी गुरुङले बताए । पोखराका साथै काठमाडौँ, भक्तपुर, बुटबललगायत स्थानबाट पनि हिमाल हेर्न आन्तरिक पर्यटक यहाँ आउने गरेका उनले उल्लेख गरे।

यस वर्षको क्रिसमस (पुस १० गते) बुटवलबाट १० जना युवा मोटरसाइकल लिएर यहाँ आएका थिए । यसअघि सामाजिक सञ्जालबाट जानकारी पाएको बताउँदै यहाँ आएपछि देखिएका हिमाली दृश्य, मनमोहक प्राकृतिक सुन्दरता, स्थानीय परिकारका स्वादसहितका खानालगायतले थप प्रभावित बनाएको युवा सुमन थापाले उल्लेख गरे ।

‘मोटरसाइकलबाट आउन सकिने कप्रुडाँडा हिमाल हेर्न, गुरुङ सम्पदा र रहनसहन बुझ्न, वातावरणीय सुन्दरता नियाल्न उत्कृष्ट गन्तव्य रहेछ’, अनुभव सुनाउँदै उनले भने, ‘यस्ता ठाउँहरूको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनतर्फ सरोकार भएका निकाय र राज्यले ध्यान दिनु आवश्यक छ । यसले मुलुकको पर्यटन प्रवर्द्धन हुनुका साथै आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ ।’

विशेषतः केही वर्षयता हिउँ परेका समयमा पोखरा र आसपासका क्षेत्रबाट यहाँ आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने होटल व्यवसायी बताउँछन् । हिउँ परेपछि डाँडाका होटेलदेखि तल रहेको ताङतिङ गाउँमा पनि पर्यटकको घुइाचो अत्यधिक हुने होटल मिडनाइट क्याम्परर्सका सञ्चालक गुरुङले जानकारी दिए । ‘हिउँ परेको समयमा ताङतिङ वा कप्रुमा बास बसेर भोलिपल्ट दिनभर हिउँ खेली पर्यटकहरू फर्कने गर्दछन्’, उनले भने ।

पर्यटकको आगमन बढ्न थालेपछि कप्रुडाँडामा चारवटा सुविधासम्पन्न होटेल सञ्चालनमा ल्याइएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए । उनका अनुसार यहाँ आएका पर्यटकलाई बेलुकाको चिया मकै, खाना, सुत्ने टेन्टको व्यवस्थासँगै भोलिपल्ट बिहानको खाजा, चियासमेत गरी रु एक हजार पाँच सयको प्याकेज निर्धारण गरिएको छ ।

समुद्री सतहबाट दुई हजार नौ सय मिटर उचाइमा रहेको कप्रुडाँडालाई गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गअन्तर्गत समेट्दै यसको प्रवर्द्धनमा जोड दिएको सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताए । पदयात्रा मार्गअन्तर्गत यही पुसको दोस्रो साता सिक्लेसबाट कपुचे–कोरी–ठूलोलेक–क्होलासोथार हुँदै कप्रुडाँडा र त्यहाँबाट याङ्जाकोटसम्मको प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न गरिएको उनले जानकारी दिए ।

सङ्घका अध्यक्ष गुरुङका अनुसार क्होलासोथार पुगेका पदयात्रीहरू त्यहाँबाट करिब चार घण्टा हिँडेर पुगिने तप्रामा बिहानको खाना खाएपछि थप पाँच घण्टा डाँडैडाँडा, पहाड, जङ्गल र हिमाल हेर्दै कप्रुडाँडा पुग्दछन् । गुराँसे जङ्गल, रङ्गीवीरङ्गी फूल, चराचुरुङ्गीको आवाजसँगै हिमालको दृश्यावलोकन गर्दै पदयात्रा गर्नु यहाँको विशेषता रहेको उनले बताए ।

भेँडीगोठ, नुन लिन जाने मार्ग, बस्तीसँगको परम्परागत सम्बन्धलगायत कारणले कप्रुडाँडालाई गुरुङ सम्पदा पदमार्गका रूपमा प्रवर्द्धन र विकास गर्न खोजिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किशमकुमारी गुरुङले बताइन् ।

पछिल्ला समय जथाभावी बाटो खन्ने नाममा विभिन्न पदमार्गहरू छोटिएको अवस्थामा कप्रु र आसपासका क्षेत्रलाई गुरुङ सम्पदा पदमार्गसँग जोड्दै यी स्थलहरूको प्रवर्द्धन र विकासलाई सङ्घले प्राथमिकतामा राखी विविध गतिविधि गर्दै आएको सङ्घ गण्डकी प्रदेशका अध्यक्ष गुरुङले जानकारी दिइन् । सङ्घको यस काममा स्थानीय, प्रदेश र सङ्घीय सरकारका साथै सरोकार भएका सबैले सहयोग र समन्वय गर्नुपर्नेमा उनले जोड दिइन् ।

कार्टरको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अमेरिकी संसद भवनमा लगियो

वासिङटन । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई बृहत सैन्य सम्मानसहित अमेरिकी संसद् भवनमा ल्याइएको छ । उनको पार्थिव शरीर स्थानान्तरणको दृष्य हेर्न चोक र अन्य विभिन्न स्थानमा उनका शुभचिन्तक र प्रशंसकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।

सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल अमेरिकी राष्ट्रपति बनेका र १०० वर्षको उमेरमा डिसेम्बर २९ मा निधन भएका कार्टरले राष्ट्रपतिबाट विदा भएपछि मानवीय सहयोगका लागि गरेको कार्यका लागि उनको उच्च प्रशंसा हुनेगरेको छ ।

उनको मानवीय सहयोग र अधिकारका लागि गरेको कामका लागि उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

जन्मथलो जर्जियाबाट सुरु भएको औपचारिक शवयात्रा हिउँले ढाकिएको अमेरिकी संसदमा (युएस क्यापिटल) मङ्गलबार पुर्याइएको हो । उनको पार्थिव शरीरलाई त्यहाँ बिहीबारसम्म राखिनेछ ।

प्रसारणकर्ता पीबीएसले लाइभ प्रशारणमा सर्वसाधारणले भवनहरूको छत, झ्याल र कौसीबाट दिवङ्गत राष्ट्रपतिलाई श्रद्धाञ्जलि अर्पण गरेको देखिएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भनेका छन्, “राष्ट्रपति कार्टरको पार्थिव शरीर संसद्मा ल्याइपुर्याइएको छ र मैले राष्ट्रपति कार्टरको पार्थिव शरीरमा त्यहाँ नै श्रद्धाञ्जलि अर्पण गरेको छु ।”

अमेरिकी वायु सेनाको जेटमा वासिङ्टन ल्याई पुर्याइएको अमेरिकी झण्डा ओढाइएको कार्टरको शव राखिएको बाकस (कास्केट) अमेरिकी नेभी मेमोरियलबाट अन्त्येष्टिका लागि बन्दूकगाडीमाथि राखेर क्यापिटोल हिलसम्म पुर्याइएको थियो ।

पेन्सिलभेनिया एभिन्यूमा हालै आएको हिउँदे आँधीबेहरीपछि बाटोमा हिउँ जमेका कारण उक्त क्षेत्रमा संघीय कार्यालय र विद्यालयहरू बन्द भएका छन् । हिउले सेताम्मै भएको सडक सफा गर्दै सयौँ अमेरिकी सेनाका सदस्यहरूले मृत शरीरलाई संसद् भवनमा पुर्याएका थिए ।

शवयात्रामा कार्टरको परिवार, कंग्रेसका सदस्यहरू र प्रधान न्यायाधीश जोन रोबट्र्स र उपराष्ट्रपति कमला ह्यारिससहित अन्य महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्टर क्यापिटोलमा राजकीय सम्मानका लागि अन्त्येष्टि समारोहका लागि पुर्याइएका १३ औं पूर्व अमेरिकी राष्ट्रपति हुन् ।

वासिङ्टनको पूर्व राष्ट्रपति ड्वाइट डि आइजनहावर, रोनाल्ड रेगन, जेराल्ड फोर्ड र जर्ज एच डब्लु बुसको अन्त्येष्टि गरिएको एपिस्कोपल चर्च नेसनल क्याथेड्रलमा बिहीबार कार्टरको अन्त्येष्टि गरिनेछ ।

अन्त्येष्टिमा वर्तमान राष्ट्रपति बाइडेनले आफ्ना नेतासाथीले उनको जीवनमा गरेका स्मरणीय कामको सम्झना गर्नेछन् । चारै जना जीवित पूर्व राष्ट्रपतिहरू बिल क्लिन्टन, जर्ज डब्लु बुस, बाराक ओबामा र ट्रम्प अन्त्येष्टि समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ।

बाइडेनले बिहीबार (जनवरी ९) अर्थात् कार्टरको अन्त्येष्टिको दिनलाई राष्ट्रिय शोकको दिन घोषणा गरेका छन् भने त्यस दिन संघीय सरकारका कार्यालयहरू बन्द रहनेछन् ।
उनले शोक मनाउन कै लागि राष्ट्रिय झन्डालाई ३० दिनसम्म आधा झुकाउन निर्देशन दिएका छन् ।

अमेकिी राष्ट्रपति भई १०० बर्षसम्म बाँच्ने कार्टर पहिलो अमेरिकी राष्ट्रपति हुन् । उनलाई सनु २०२३ को फेब्रुअरीदेखि जर्जियाको प्लेन्सस्थित आफ्नो गृहनगरमा ‘होस्पिस केयर’ राखिएको थियो, जहाँ उनको मृत्यु भएको थियो र उनलाई उनकी स्वर्गीय पत्नी, पूर्व प्रथम महिला रोजालिन कार्टरको समाधिसँगै समाधिस्थ गरिनेछ ।

खालिदा जियालाई उपचारका लागि विशेष एयर एम्बुलेन्समा लण्डन लगियो

बंगलादेश । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जिया उपचारका लागि मंगलबार साँझ लण्डन प्रस्थान गरेकी छन् ।

ढाका ट्रिब्युनका अनुसार राति ११ः४६ बजे उनी हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका अमिरले पठाएको विशेष रोयल एयर एम्बुलेन्समा लण्डन प्रस्थान गरेकी हुन् ।

राती ८ बजे आफ्नो गुलशन निवासबाट उपचारका लागि लण्डनतर्फ निस्केकी ७९ वर्षीय जिया कलेजो सिरोसिस, मुटु रोग, मिर्गौलालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुन् । उनलाई उपचारका लागि लण्डनक्लिनिकमा भर्ना गरिने बताइएको छ ।

जियाका साथमा उनका चिकित्सक, परिवारका सदस्य र सहयोगीहरू थिए भने कतार सरकारका डाक्टरहरूको टोली पनि विमानमा सवार भएको थियो । जियालाई लण्डन लैजान कतारको रोयल एयर एम्बुलेन्स सोमबार साँझ ७ः४० बजे ढाका आइपुगेको थियो ।

जियालाई लण्डन लैजाने तयारी भएको सूचनासँगै उनले प्रस्थान गर्नुअघि ठूलो सङ्ख्यामा बीएनपी नेता र कार्यकर्ताहरू गुलशनस्थित जियाकोे निवास फिरोजा नजिकै भेला भएका थिए।

बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर साँझ सवा ६ बजे फिरोजामा पुगेकी थिए भने उनले भेला भएका समर्थक र शुभेच्छुकलाई व्यवस्थित रहन र सडक खाली राख्न आग्रह गरेका थिए ।

लण्डन भ्रमणलाई बीएनपीका वरिष्ठ नेताहरूले राजनीतिक यात्राभन्दा पनि चिकित्सकीय भ्रमणको रूपमा व्याख्या गरेका छन्। खालिदा जियाले राम्रो स्वास्थ्य सेवा प्राप्त गर्नु र लामो समयपछि आफ्नो परिवारसँग पुनर्मिलन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको बताइन् ।

ढाका ट्रिब्यूनका अनुसार बीएनपीका स्थायी समिति सदस्य तथा वरिष्ठ नेता इकबाल हसन महमुदले बिएनपी नेतृ तथा बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जिया आफ्नो उपचारपछि स्वस्थ भई फर्कने र पार्टी र देशको नेतृत्व गरिरहन तयार हुने आशा व्यक्त गरेका छन् ।

नेता महमुदले जियाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भने, “उहाँ हामीकहाँ स्वस्थ भएर फर्कनुहुनेछ पार्टीको नेतृत्व सम्हाल्नुहुनेछ । हामी सबै उहाँको सुस्वास्थ्यको प्रार्थना गर्दछौँ ।”

इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी

इस्लामावाद। पूर्व प्रधानमन्त्री खानलाई रावलपिण्डीको अडियाला जेल बाट बनिगाला स्थित उनको निवासमा नजरबन्दमा राख्ने सम्झौता गरिएको पिटिआईका संस्थापक खानकी बहिनी अलिमा खानले हालै खुलासा गरेकी छन् ।

पाकिस्तानी सरकारले विपक्षी दल र विशेषगरी पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) सँगको वार्तामा सरकारी हस्तक्षेप र जेलमा रहेका आफ्ना नेता इमरान खान सँग पार्टीको पहुँचमा प्रतिबन्ध लगाएको आरोप लागेपछि वार्ता अवरुद्ध भएको छ ।

 विज्ञप्ति जारी गर्दै अलीमा खानले खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गन्दापुर मार्फत आफ्ना दाई लाई धेरै अफर आएको दाबी गरिन् ।

उनले भनिन्, “सम्भवतः नजरबन्दको बदलामा इमरान खान चुप लागेर बस्नुपर्छ भन्ने सुझावका साथ यो प्रस्ताव आएको हो ।” यति लामो समय जेलमा बिताए पछि आफ्नो भाइले यस्तो सम्झौता कसरी स्वीकार्ने भनी उनले सरकार सँग प्रश्न गरेकी छन् ।

गत हप्ता सरकार र पि.टि.आई. दुवैले इमरान खानलाई बनिगाला वा अन्य कुनै स्थानमा स्थानान्तरण गर्ने सहमति नभएको जनाएका थिए । सरकार सँग वार्ता जारी रहँदा पि.टि.आई. वार्ताकारहरूले आफ्ना नेतालाई ‘निगरानी रहित पहुँच’ को लागि जोड दिइरहेका छन् । डिसेम्बरको अन्त्यमा वार्ता पुनः शुरु भएपछि पि.टि.आई.का प्रतिनिधिहरूले विशेष गरी बैठक कक्षको कथित निगरानी प्रति विमति जनाउँदै आएका छन् । उनीहरूले मङ्गलबार नेता खानलाई भेटेका थिए ।

पि.टि.आई.का नेता ओमार अयूबले टोलीले विशेष गरी निगरानी बिना प्रवेशका लागि अनुरोध गरेको तर सरकारका प्रतिनिधिले उक्त अनुरोधलाई अस्वीकार गरेको स्पष्ट पारेका छन् । अयुबले जासुसी उपकरणको उपस्थितिले जेलमा रहेका नेता सँगको वार्तामा बाधा पुर्‍याएको र खुला र स्पष्ट संवाद हुन नसकेको दाबी गरेका छन् ।

पि.टि.आई.का अन्तरिम अध्यक्ष ब्यारिस्टर गोहर अली खानले तनाव समाधान गर्नुपर्नेमा जोड दिँदै विपक्षीको लिखित माग पूरा गर्न नसकेको र बताए । पि.टि.आई.ले मे ९ र नोभेम्बर २६ मा भएको हिंसाको अनुसन्धानका लागि राजनीतिक बन्दीहरूको रिहाई र न्यायिक आयोग गठन जस्ता दुई मुख्य मागहरू यस अघि नै साझा गरिसकेको छ।

ब्यारिस्टर सलमान अकरम राजाले सरकारले नेता खानलाई निर्वाध प्रवेश गर्न नदिएकोमा चिन्ता व्यक्त गर्दै यसलाई सरकारी शङ्कास्पद नियतको सङ्केतको रूपमा उल्लेख गरेका छन् ।

यसैबीच, खानले जेलमा भएको अमानवीय व्यवहारलाई सम्बोधन गर्न कानूनी प्रणालीको सहारा लिएका छन् । पूर्व प्रधानमन्त्री खानले आफ्ना कानूनी टोली मार्फत् इस्लामावादको विशेष न्यायाधीश केन्द्रीय अदालतमा जेल प्रशासनले जेल निर्देशिका र सम्बन्धित कानून अन्तर्गत आधारभूत अधिकार बाट बञ्चित गरेको आरोप लगाउँदै एक याचिका दायर गरेका थिए ।

आफ्नो निवेदनमा इमरान खानको कानूनी टोलीले बेलायतमा रहेका आफ्ना छोराछोरीलाई साप्ताहिक फोन कलमा प्रतिबन्ध लगाउने र आफ्नो निजी चिकित्सकलाई भेट्न अनुमति दिन इन्कार गर्ने लगायत धेरै गुनासाहरू उल्लेख गरेका छन् । उक्त निवेदनमा उनले पत्रिका, पठन सामग्री वा टेलिभिजनमा पहुँच नदिइएको पनि उल्लेख गरेका छन् ।

शान्ति प्रक्रिया माओवादीलाई सिध्याउने हतियार बनाइयोः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया माओवादीलाई सिध्याउने हतियार बनाइएको बताएका छन् ।

बुधबार ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कठिन भएको बताए । उनले नेकपा एमालेले शान्ति प्रक्रिया टुंगिन लागेका बेला रोक्ने गरेको आरोप लगाए ।

उनले माओवादीलाई तह लगाउने सिध्याउने अन्तिम हतियार यही नै हो टुङ्ग्याउन हुन्न भन्ने सोच भएको प्रवृत्तिले समस्या भएको बताए ।

उनले भने, ‘यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन एउटा राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ जुन टुंगिन लागेका बेला गएर रोक्छ । माओवादीलाई तह लगाउने सिध्याउने अन्तिम हतियार यही नै हो टुङ्ग्याउन हुन्न भन्ने सोच भएको प्रवृत्ति छ ।’

उनले अब पनि शान्ति प्रक्रिया टुंगो नलागे अर्को १८ वर्षसम्म पनि टुङ्गो नलाग्ने बताए । उनले भने, ‘यसको समाधान पीडितहरूले बेलाबेलामा यो कुरा उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु । किनभने अन्तिममा सडक नै हुने हो कि जस्तो मलाई लागेको छ । पीडितहरू एकताबद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोचे बर्बाद हुने भयो भन्ने ठाउँमा नपुर्याएसम्म यो अर्को १८ वर्ष जान नि बेर छैन ।’

अहिले पनि संक्रमणकालीन न्यायको बिषय टुंग्याउन कठिन हुनुमा राजनीति नै कारक रहेको उनले बताए ।

बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । बाक्लो हुस्सुका कारण  पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । 

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् ।

हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । आज विहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उनले बताए । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताए ।

बक्यौता रकम भुक्तानीका लागि प्रधानमन्त्रीलाई निर्माण उद्योग परिषद्को आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहित पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मुल्यबृद्धिलाई ध्यान दिएर ठेक्काहरूमा मूल्य समायोजनलगायतका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउने गरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए ।

सबैभन्दा कम रकममा ठेक्का दिने प्रक्रियाले कतिपय ठाउँमा गुणस्तरीय निर्माण कार्य हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई आग्रह गरे । सरकारलाई गुणस्तर मापदण्ड पूरा नभएका कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट गर्दै उनले लागत अनुमान गर्दा सम्भावित जोखिमलाई ध्यानमा राखिएको बताए ।

उनले सरकारले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै विगतमा भूकम्पपछिको पुनः निर्माणलाई सफलतापूर्वक सम्पन्न गरेको स्मरण गरे ।

आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी) तीन दशमलव चार प्रतिशतमा खुम्चिएको छ । गत असोजको  बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिले आर्थिक वृद्धिदर सङ्कुचित भएको हो । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकामा तीन दशमलव चार प्रतिशत मात्र हासिल भएको हो ।

अर्थतन्त्रमा योगदान गर्ने विभिन्न १८ क्षेत्रमध्ये १७ वटाको वृद्धिदर धनात्मक छभने निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत तथा ग्याससँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै छ । यो क्षेत्र २१ दशमलव चार प्रतिशतले बढेको छ । यातायात तथा गोदाम क्षेत्र छ दशमलव सात प्रतिशत योगदान रहेको छ ।

पहिलो त्रैमासमा आवास तथा भोजन सेवा क्षेत्र ६ दशमलव तीन, वित्तीय तथा विमा क्षेत्र पाँच दशमलव सात, प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव चार र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अङ्कले सङ्कुचनमा रहेको अनुमान छ । निर्माण क्षेत्र शून्य दशमलव तीन प्रतिशतले नकारात्मक रहेको छ ।

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने अनुमान छ । धानलगायतका वर्खे बालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदेबाली र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको जनाइएको छ । 

समयमा मलको उपलब्धता, उन्नत बीउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षाका कारण कृषिजन्य उत्पादनमा वृद्धि हुने अपेक्षा गरिए पनि बाढी र पहिरोका कारण कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसकेको हो ।

अर्थतन्त्रको दोस्रो ठुलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्र पहिलो त्रैमासमा शून्य दशमलव पाँच प्रतिशतले मात्र वृद्धि हुने  अनुमान छ । कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशा उन्मुख भएको कार्यालयले जनाएको छ ।

समीक्षा अवधिमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर दुई दशमलव तीन, शिक्षा क्षेत्र शून्य दशमलव चार, स्वास्थ्य क्षेत्र चार दशमलव एक र घरजग्गा कारोबार क्षेत्र तीन दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

‘अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कूल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन् । यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो’, कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।

मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार नौ सय ९० संकलन भएको छ। चालु आर्थिक वर्षमा दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ।

यही पुस १८ गतेदेखि २३ गतेसम्म दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए।

उनले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकार भएका व्यक्तिको उपस्थितिमा दानपेटिका खोली गणना गरिएको बताए।

दानपेटिकामा संकलित दानलाई क्लोज सर्किट (सिसि) क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारी खटाएर गणनाको व्यवस्था मिलाइएको थियो। मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरूले श्रद्धाले यहाँ दान दिने गर्छन्। दानबापत संकलित आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको कोषका कोषाध्यक्ष भट्टराईले बताए।