`

दक्षिण कोरियाका लागि नेपाली राजदूत तुम्बाहाम्फेद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । मङ्गलबार  सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् ।

प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेको सिओलस्थित नेपाली राजदूतावासले बुधबार जनाएको छ ।

त्यस अवसरमा उनले नेपाल  र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन  उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वपूर्ण हुने बताउँदै आगामी मेसम्ममा त्यस्ता भ्रमणका निम्ति सहजीकरण गर्न दूतावासलाई अवसर मिल्ने विश्वास व्यक्त गरिन् । 

आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै राजदूत तुम्बाहाम्फेले गणतन्त्र कोरियामा रहेका एक लाखभन्दा बढी नेपाली कामदारले दुई देशबीच जनस्तरको सम्बन्धलाई प्रवद्र्धनका साथै कोरियाको अर्थतन्त्रमा योगदान गरेका बताइन् ।

कार्यवाहक राष्ट्रपतिले राजदूत तुम्बाहाम्फेलाई गणतन्त्र कोरियाका लागि नेपालको राजदूतका रूपमा स्वागत गर्दै नेपाल–कोरिया सम्बन्ध प्रवद्र्धनमा सक्दो सहयोग गर्ने बताए । साथै उनले राजदूत तुम्बाहाम्फेको सफल कार्यकालको कामना पनि गरे ।

उनले कार्यवाहक राष्ट्रपतिमार्फत नेपाल सरकार र आफ्नो तर्फबाट २९ डिसेम्बरमा गणतन्त्र कोरियामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गरिन् ।

त्यस अवसरमा नेपाली दूतावासका उपप्रमुख पुष्पराज भट्टराई तथा गणतन्त्र कोरियाका विदेशमन्त्री चो ताई युल, शिष्टाचार प्रमुख र विदेश मन्त्रालयका अन्य उच्च अधिकारीको उपस्थिति थियो ।

लेखा समितिका सभापति पोखरेलकी पत्नी अञ्जला अदालतमा उपस्थित

विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलीकी पत्नी अञ्जला कोइराला बुधबार अदालतमा उपस्थित भएकी छन् ।

कोइराला बुधबार जिल्ला अदालत मोरङमा उपस्थित भएकी हुन् । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कोइराला अदालतमा उपस्थित भएको जानकारी दिए ।

मोरङको उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी कोइराला यसअघि फरार थिइन् । गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर गरेको थियो । विराटनगरको विराट रात्रि माविकी शिक्षिका रहेकी कोइराला मुद्दा दायरपछि फरार थिइन् ।

जिल्ला अदालतका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासमा उनको थुनछेक बयान हुने भएको छ । बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।

किन हामी सधैं भारत र चीनलाई हेरर नेपाललाई हेर्छौं ?

डा.युवराज संग्रौला ।

१. ‘देउवालाई २ पटक सभापति बनाएको भारत अहिले उनलाई असहयोग गर्न चाहान्छ।’ यो भनाइ हो अमरेश सिंहको एउटा टिभीमा ।

२. ‘योगीले राजासँग माफी मागे।’ अर्को टिभीम ।

३. ‘भारत नेपाल चीनको नजिक गएको देख्न चाहन्न।’ थुप्रै नेपाली टिभीमा ।

४. यी र यस्तै छलफल नेपालमा हुन्छन् । किन हामी सधैं भारत र चीनलाई हेरर नेपाललाई हेर्छौं ? हामीले हेर्ने त नेपाल हो नि ? किन हामी नेपालमा उभिएर विश्वलाई हेर्न चाहन्नौं ? किन हामी अरुलाइ हेरेर आफ्नो अस्तित्व बिर्सन्छौं ? शासकले मात्र होइन नागरिकले पनि देश प्रतिको कर्तव्य छोडेको किन दख्दैनौं ? किन हामी सधैं नेपाल स्वतन्त्र होइन कि भन्ने मनोविज्ञानबाट ग्रस्त छौं ?

हाम्रो इतिहास लामो छ।
यलम्बरले नेपाल राज्यलाई संगठित गरे । न्याय प्रणाली, करप्रणाली र कृषिको शुभारम्भ गरे । मानदेवले टुक्रिन लागेको नेपाल एकीकरण गरे, र शक्तिशाली बनाए । अंशुबर्माले नेपालको शासनमा दख्खल गर्न पुगेका मगधबाट आएका गुप्तहरुको दख्खल समाप्त गरि दक्षिणको प्रभावबाट मुक्त गरे नयाँ संवत् पनि चलाए । उनले नेपालको राष्ट्रवादलाई प्रवद्र्धन गरे । नरेन्द्रदेवले चीनसँग व्यापार शुरु गरे र उतर र दक्षिणसँग व्यापारमा प्रतिस्पर्धा गरेर धनी हुन सकिने देखाए । सिंजाका राजाले कैलाशसम्म नेपालको सभ्यता पुर्याए । सिम्रौनगढका राजा शिवदेवले गयासुद्धिनसँग लडेर काठमाडौं जोगाए । प्रताप मल्लले काठमाडौंलाई उन्नत बनाए । भुपतेन्द्र मल्लले बास्तुकलाको अनुपम वैभव निर्माण गरे । पृथ्वीनारायणले आधुनिक नेपालको जग हाले । भिमसेन, अमरसिंह, भक्ति थापाले नेपालको स्वतन्त्रता कायम राख्न अनुपम योगदान गरे । जंगबहादुरले पनि योगदान गरे । बिपी, केआई सिंह, टंक प्रसादले, पुष्पलाल र मनमोहन अधिकारीले निरंकुश राणा शासनबाट जनतालाई मुक्त गर्न योगदान गरे । अर्थात् नेपालको यो लामो इतिहासमा अनेक व्यक्तिको भूमिका छ । हाम्रो आफ्नै पहिचान छैन र ?

५. तर ००७ सालमा आएको परिवर्तनले जनताको स्वतन्त्रता ल्याएपनि राष्ट्रको स्वतन्त्रतामा बादल लाग्यो, नेपालको शासनमा भारतको अधिनले । क्याबिनेटमै भारतीय सचिव अनि राजा त्रिभुवनका पिए पनि भारतीय । राजा महेन्द्रले यो क्रम भङ्ग गरे । नेपालको सम्बन्धमा अन्तर्राष्ट्रियकरण भयो । तर उनको यो गौरव दरवारले कायम गर्न सकेन । २०४६ सालमा बहुदल आयो, तर यसले त कुलिनतन्त्र जन्मायो ।

६. आजसम्म ७० वर्ष ज्यादा भयो, तर जनताको अवस्था उस्तै छ । उद्योग छैनन् । कृषि समाप्त भयो । नागरिक श्रम निर्यात गरेर देश बाँचेको छ। आजसम्म आइपुग्दा ‘राज्यको स्वनिर्णयको क्षमता ध्वस्त भएको छ।’ अर्थतन्त्र पनि ध्वस्त भएको छ।

७. हामीले देशको स्वाधीनता जोगाउन कसरी सकिन्छ होला भन्ने कुरामा छलफल गर्नै चाहेनौं । देशको अर्थतन्त्र समृद्ध पार्न उत्पादनमा क्रान्ति ल्याउन कसरी सकिन्छ भन्ने कुरामा छ्लफल गर्नै चाहेनौं । काठमाडौंमा सीमित रहेको नेपाललाई कसरी मधेसमा, पूर्वमा पश्चिममा सुदूरपश्चिममा पुर्याउन सकिन्छ भन्ने छलफल गर्नै चाहेनौं ।

बस हाम्रो छलफल भारत र चीनकाबारेमा केन्द्रित गर्यौं । हामी नेपालमा बस्ने मान्छे मात्र किन भयौं ? किन नागरिक हुन सकेनौ ? किनभने हामीले भूराजनीतिको चुनौतीलाई कहिल्यै महशुस गरेनौं । आज हरेक मान्छे अभियानमा छन् । उनीहरु वर्तमान शासक बदल्न चाहन्छन् । पुरानाले विचार, देशभक्ति र राजनीतिक संस्कार त्यागी दिए । तर परिवर्तन खोज्नेलाई पनि विचारको कुनै चासो छैन । कसरी बनाउन सकिन्छ देश ? यही प्रश्नको छलफलले नेपालको भविष्य निर्माण गर्नेछ ।

त्रिवेणीका किसान सुन्तलाखेतीमा आकर्षित

त्रिवेणी । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका पछिल्लो समय व्यावसायिक सुन्तलाखेती गर्ने किसानको सङ्ख्या बढेको छ । पालिकाभर एक सय तीन किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् ।

पालिकामा यस वर्ष किसानले एक सय ९४ मेट्रिक टन सुन्तला उत्पादन गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार गाउँबाटै प्रतिकिलो ५२ रुपैयाँका दरले सुन्तला बिक्री भएको छ ।

उनका अनुसार पालिकावासीले यस वर्ष सुन्तला बिक्रीबाट एक करोड एक लाख आठ हजार आठ सय रुपैयाँ आम्दानी गरेका छन् । केही स्थानमा सुन्तला बिक्री हुन बाँकी रहे पनि अधिकांश किसानले सुन्तला बिक्री गरिसकेको छन् ।

व्यावसायिक सुन्तलाखेती गर्ने एक सय तीन जना किसानमध्ये २२ जना किसानको सुन्तला असिनाले क्षति पुर्याएको थियो । असिनाले क्षति नपुर्‍याएका ठाउँमा भने किसानले सुन्तलाबाट राम्रो मनग्य गरेका छन् ।

व्यावसायिक सुन्तलाखेती गर्ने प्रत्येक किसानले चार रोपनी क्षेत्रफलभन्दा बढी जग्गामा सुन्तलाखेती गर्दै आइरहेका छन् । एक रोपनी क्षेत्रफलमा छ क्विन्टलसम्म सुन्तला उत्पादन हुने गरेको कृषि शाखा प्रमुख पुनले जानकारी दिए । पालिकाभर तीन सय २४ रोपनी अर्थात् १६ दशमलव दुई हेक्टरमा सुन्तलाखेती भइरहेको छ । व्यावसायिक रूपमा पालिकाको वडा नम्बर १, ४, ५, ६ र ७ का किसानले सुन्तला उत्पादन गर्दै आएका छन् ।

सुन्तलाखेतीबाट गत वर्षभन्दा यस वर्ष राम्रो आम्दानी भएको त्रिवेणी –४ जुगेपानीका ५२ वर्षीय किसान चन्द्रबहादुर खड्काले बताए । यो सिजनमा सुन्तला बिक्रीबाट सात लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको खड्काको भनाइ छ ।’सुन्तला बिक्री गर्न समस्या छैन, खरिद गर्न व्यापारी घरमै पुग्छन्, घरबाटै सात लाख ८३ हजारको सुन्तला बेचेँ’, खड्काले भने ।

प्रतिकिलो ६२ रुपैयाँ का दरले घरबाटै सुन्तला बिक्री गरेको उनले बताए । यसपटक एक सय ४२ क्विन्टल सुन्तला बिक्री गरेको उनले बताए । यस वर्ष सुन्तला राम्रो उत्पादन भएको र मूल्य पनि राम्रै पाएको खड्काको भनाइ छ । अन्य खेती छाडेर उनले व्यावसायिक रूपमा सुन्तला र अलैँचीखेती गर्दै आएका छन् ।

शुद्ध खानेपानीको व्यवस्था गर्न सरकार क्रियाशील छः खानेपानीमन्त्री यादव

धनगढी । खानेपानीमन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध खानेपानीको व्यवस्था गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा बुधबार भएको कार्यक्रममा उनले सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्याबारे जानकारी लिन आफू कैलाली आएको बताए ।

आम नेपालीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उच्च प्राथमिकता दिएर तदनुरुप काम गरिरएको मन्त्री यादवले बताए ।

उनले ‘एक घर एक धारा’को अवधारणालाई साकार पार्न आफू प्रतिबद्ध रहेको बताए । पछिल्लो समय चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहान सुक्दै गएकमा उनले चिन्ता व्यक्त गरे ।

सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए ।

अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको वर्ष एक हजार चार सय २८ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको उनले बताउ । ‘अघिल्लो वर्ष नौ हजार एक सय ७७ विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुगेका थिए,’ उनले भने, ‘गत वर्ष अहिलेसम्मकै सबैभन्दा विदेशी पर्यटकले मनास्लुको भ्रमण गरेका छन् ।’

मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकमा दक्षिण एशीयाली क्षेत्रीय सहयाग संगठन (सार्क) राष्ट्रका भन्दा तेस्रो मुलुकका विदेशी पर्यटकको संख्या बढिरहेको उनको भनाइ छ । सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट एक हजार तीन सय ३५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको पाइएको छ ।

‘गत वर्ष मनास्लु भ्रमण गर्ने विदेश पर्यटकमध्ये एक हजार एक सय ८१ जना जर्मनी नागरिक, सात सय ९६ जना अमेरिकी नागरिक रहेको कार्यालयको तथ्यांक छ, सार्क राष्ट्रमध्ये भारतबाट सबैभन्दा धेरै एक सय ५९ जना पर्यटकले मनास्लु पदयात्रा गरेका छन्,’ अधिकृत ओझाले भने ।

त्यस्तै नेदरल्याण्ड्स, जर्मनी, बेलायत, अष्ट्रेलिया, स्पेन, चीनलगायत देशबाट विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुग्ने गरेको उहाँको भनाइ छ । मनास्लु पदमार्गमा घुम्न जाने पर्यटकले नुब्री भ्यालीतर्फ कुल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनस्लु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास गरेर मनाङ पुग्न सक्ने छन् ।

त्यस्तै चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित श्रृगी हिमाल, राजेन गुम्बालगायत गुम्बाको अवलोकन गर्न पाउनेछन् । मनास्लु क्षेत्रमा प्राकृतिक सौन्दर्यतासँगै पर्यटकले हिमचिुतवा, नाउर, घोरल, डाँफे, मुनाल, चौँरी सामिप्यतामा समेत रमाउने अवसर पाउने गर्दछन् ।

क्यालिफोर्नियाको डढेलो प्रभावित क्षेत्रबाट दशौँ हजार मानिसको उद्धार

बीबीसी । तीव्र गतिमा फैलिरहेको डढेलोका कारण संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अवस्थित प्यासिफिक प्यालिसेड्सबाट दशौँ हजार मानिसहरूको उद्धार गरिएको छ ।

अग्नि नियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको बताएका छन् । विमान र दमकलहरूले आगो निभाउने प्रयास गरिरहेका छन् । तर सुक्खा अवस्था र १६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझ फैलाएको छ ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले तीव्र वेगको हावाले अन्यत्र पनि डढेलो फैलिन सक्ने चेतावनी दिएका छन् । मानिसहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहँदा ठाउँठाउँमा सवारी आवागमन प्रभावित भएको थियो । कतिपय मानिसहरू आफ्ना सवारीसाधन छाडेर भागेका छन्। केही सवारीसाधनलाई डोजर प्रयोग गरेर हटाइएको छ ।

लस एन्जलस अग्निनियन्त्रण विभागकी प्रमुख क्रिस्टिन क्रलीले हवाई निरीक्षण गर्दा आगलागी फैलिएको क्षेत्र एकहजार २६० एकरभन्दा बढी पुगेको बताइन् । उनका अनुसार भीषण हावा, सुक्खा र साना रूख अनि पातपतिङ्गरका कारण आगो अझै फैलिएको छ ।

क्रलीले १० हजार भन्दा बढी घर र १३ हजार भवन जोखिममा रहेका बताइन् । मङ्गलबार स्थानीय समयानुसार १०ः३० बजे सुरु भएको डढेलोले तीव्र हावा र सुक्खा अवस्थाका कारण भयानक बनेको थियो । सान्टा आना नामक शक्तिशाली हुरीले उक्त डढेलोलाई तीव्र गतिमा फैलाएको विवरणहरू आएका छन् ।

संखुवासभाको गुफापोखरीमा हिमपात

सङ्खुवासभाको चैनपुर नगरपालिका-१ मा करिब दुई हजार ९ सय मिटर उचाइस्थित गुफापोखरीमा हिमपातपछि सेताम्मे आसपासको क्षेत्र । जिल्लाको गुफा,मङ्गलबारे,किमाथाङ्कालगायत माथिल्लो भेगमा मङ्गलबार रातिदेखि हिमपात भएको हो ।

तस्बिर : भविन कार्की / रासस

पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा आज रातभर गरिने धनुर्मास पूजाको तयारी पूरा भएको छ ।

धनुर्मास पूजाका आवश्यक सबै सामग्री तयार पारिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

धनुर्मास पूजा गर्नुअघि आज बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

परम्पराअनुसार आज राति १२ बजेदेखि बिहानसम्म धनुर्मास पूजा गरिने कोषका प्रवक्ता कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । आज रातभर धनुर्मास पूजा गरेपछि बुधबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ ।

बुधबार अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उनले सुनाए । टाढाटाढाबाट पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई दर्शन गर्न दिने उद्देश्यले मन्दिर खुला राखिने कोषका संस्कृति महाशाखा प्रमुख ईश्वर भण्डारीले बताए। उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने धार्मिक विश्वाससमेत पशुपति क्षेत्रमा रहेको छ ।

यसै विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा आरती गरिन्छ । बिहीबार बिहानदेखि भने नियमित एवं विशेष पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

नेपोभिट टायलद्वारा जय ट्रफी मेन्स एलाइट कपमा सहभागी खेलाडीलाई सम्मान

वीरगञ्ज (पर्सा) । नेपोभिट टायलले जय ट्रफी मेन्स एलाइट कपमा सहभागि खेलाडीलाई वीरगञ्जमा सम्मान गरेको छ । नेपोभिट टायलका निर्देशक शम्भुनाथ झाले जय ट्रफी मेन्स एलाइट कपमा वीरगञ्जमा सहभागी भएका क्रिकेट खेलाडीलाई खादा र ढाका टोपी लगाएर सम्मान गरेका हुन् ।

निर्देशक झाले नेपाली खेलाडीले क्रिकेट खेलमा छुट्टै पहिचान स्थापित गरेको बताउँदै आगामी दिनमा पनि नेपोभिट टायलले नेपाली क्रिकेको विकासमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे । नेपोभिट टायल नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको जनकपुर बोल्ट्स टोलीको प्रायोजकको रूपको रूपमा रहेको थियो ।

सोही अवसरमा भर्खरै वैवाहिक जीवनमा बाँधिएका क्रिकेट खेलाडी आरिफ शेख र आसिफ शेखलाई पनि सम्मान गरिएको थियो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारालाई सम्मान गरिएको थियो ।

महासङ्घका लेखा समितिका संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासङ्घ बाराका अध्यक्ष रमेश सुवेदी र नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतलाई पनि सम्मान गरिएको थियो ।

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एकवर्ष थप

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ बसेको मन्त्रिपरषद बैठकले सशस्त्र प्रहरी बलका चार डीआइजीको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको हो ।

यसरी म्याद थप हुने डीआईजीहरुमा शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङ छन् । सशस्त्र प्रहरी बल नियमावलीमा डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा रहेको छ ।

सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद बैठकले यस्तो सुविधा उपभोगको अवसर दिएको हो । सशस्त्र मुख्यालयको सिफारिसअनुसार गृह मन्त्रालयले दुई साता अघि नै डीआईजीहरुको एक वर्ष समय थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमा दर्ता गरेको थियो ।

भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या १२६ पुग्यो

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको दिंङ्ग्री काउन्टीमा मंगलबार मंगलबार बिहान ६ः५० बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाकाअनुसार मंगलबार साँझ ७ बजेसम्म १२६ जनाको मृत्यु भएको र १८८ जना घाइते भएका छन् ।

भूकम्पले तिब्बतमा एक हजार भन्दाबढी घरमा क्षति पुगेको बताइएको छ । राष्ट्रपति सी चिनफिङले ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।

सिजाङ भूकम्पबाट भएको क्षतिप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै भनेका छन्,’म सिजाङ भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’

अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनताप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

पूर्वराष्ट्रपति भण्डारीद्वारा भूकम्पले चीनमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र चीनको तिब्बत केन्द्रविन्दु भएर मंगलबार गएको शक्तिशाली भूकम्पका कारण ठूलो सङ्ख्यामा चिनियाँ नागरिकको ज्यान जानुका साथै घाइते भएको र भौतिक पूर्वाधारको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराष्ट्रपति भण्डारीले दुःखको यस घडीमा चीनका राष्ट्रपति सी चिन फिङ, चीन सरकारमार्फत भूकम्पमा परि ज्यान गुमाएका शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी हुन् ।

“दुःखको यस संवेदनशील घडीमा नेपाल र नेपाली जनता चिनियाँ जनताको साथमा छौँ । छोटो समयमै घाइतेहरूको उपचार र उद्दार कार्य पूरा भइ जनजीवनलाई सामान्य बनाउन चीन सरकारलाई सफलता मिल्नेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु”, पूर्वराष्ट्रपति भण्डारीले लेखेकी छन् ।

फ्रान्सेली दक्षिणपन्थी नेता जीन–मारी ले पेनको ९६ वर्षको उमेरमा निधन

पेरिस । फ्रान्सको दक्षिणपन्थी आन्दोलनका ऐतिहासिक नेता जीन–मारी ले पेनको मङ्गलबार ९६ वर्षको उमेरमा निधन भएको छ ।

केही हप्तादेखि स्याहार केन्द्रमा रहनुभएका ले पेनको मङ्गलबार मध्याह्न (११०० जीएमटी) मा ‘आफन्तहरूको उपस्थितिमा’ निधन भएको परिवारले विज्ञप्तिमार्फत जनाएको छ ।

नेसनल फ्रन्टका सह–संस्थापक ले पेनले सन् २००२ मा कडा आप्रवासन विरोधी मुद्दाका साथ राष्ट्रपति चुनावको दोस्रो चरणमा पुगेर फ्रान्सलाई तरङ्गित बनाएका थिए ।

उनीमाथि प्रायः जातिवाद र यहुदी विरोधी भएको आरोप लगाइन्थ्यो र उनले यहुदी नरसंहारलाई इतिहासको विवरणका रूपमा खारेज गरेको कुरा कुख्यात छ । 

उनकी छोरी मरिन ले पेनले सन् २०११ मा पार्टीको नेतृत्व सम्हाले र आफ्नो आन्दोलनलाई उनको चरमपन्थी प्रतिष्ठाबाट टाढा राख्ने प्रयासमा जीन–मारीलाई चार वर्षपछि पार्टीबाट निष्कासन गरे । 

नेसनल र्याली (आरएन) नाम परिवर्तन भएपछि पार्टीले उल्लेखनीय प्रगति गरेको छ । यसले गत वर्षको युरोपेली संसद् चुनावमा ठूलो सफलता हासिल गर्यो र त्यसपछि फ्रान्सको आम निर्वाचनमा सबैभन्दा ठूलो एकल पार्टी बन्यो । 

आरएन पार्टीका प्रमुख तथा मरिन ले पेनका दाहिने हात जोर्डन बार्डेलाले सावधानीपूर्वक शब्दमा जीन–मेरी ले पेनले ‘सधैँ फ्रान्सको सेवा गरेको’ बताए । 

“इन्डोचाइना र अल्जेरियामा फ्रान्सेली सेनाको सिपाही, राष्ट्रिय सभा र युरोपेली संसद्मा जनताको प्रतिनिधिका रूपमा उहाँले सधैं फ्रान्स र यसको पहिचान र सार्वभौमिकताको रक्षा गर्नुभयो”, २९ वर्षीय बार्डेलाले एक्समा भने, “आज म उहाँको परिवार, उहाँका प्रियजनहरू र निस्सन्देह मरिनको शोकको सम्मान गर्नुपर्दछ भनेर दुःखका साथ सोच्दैछु ।” 

यसैबीच राष्ट्रपति इम्यानुएल म्याक्रोनले फ्रान्सेली दक्षिणपन्थी नेता जीन–मारी ले पेन ‘ऐतिहासिक व्यक्तित्व’ थिए भन्दै उनको परिवारप्रति समवेदना व्यक्त गरेको राष्ट्रपतिको कार्यालय एलिसीले बताएको छ । 

“हाल नेसनल र्याली पार्टीका रूपमा रहेको दलका सह–संस्थापक ले पेन ‘दक्षिणपन्थको एक ऐतिहासिक व्यक्तित्व’ हुनुहुन्थ्यो”, एलिसीले एक संक्षिप्त वक्तव्यमा भन्यो, “फ्रान्सको राजनीतिक जीवनमा उहाँको भूमिकाको इतिहासले निर्णय गर्नेछ ।”

भूकम्पका कारण नेपालमा ११ जना बेहोस्, दुई घाइते, चनाखो हुन अनुरोध

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएका प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विभिन्न जिल्लामा १३ जना घाइते भएका र दुई घर पूर्ण, एक आंशिक र ११ घरमा सामान्य क्षति भएको विवरण प्राप्त भएको जानकारी दिए ।

यद्यपि विवरण सङ्कलनका लागि प्रहरीहरू खटाइएकाले थप खुल्न बाँकी रहेको पनि उनले बताए । उनले भूकम्पका कारण काठमाडौँमा एक, बारामा ११ र काभ्रेमा एक जना घाइते पनि जानकारी दिए ।

काठमाडौँमा भाग्दा घाइते भएका, बारामा ११ जना भूकम्प आएपछि बेहोस भएका र काभ्रेका एक जना माथिबाट ढुङ्गा खसेर घाइते भएका अधिकारीले जानकारी दिए ।

ओखलढुङ्गामा एक घर पूर्ण र दुई घरमा सामान्य तथा सङ्खुवासभामा एक घरमा सामान्य क्षति भएको पनि उनले बताए । उनका अनुसार सोलुखुम्बुम एक पूर्ण र एक आंशिक तथा तीन घरमा सामान्य क्षति भएका तथा ताप्लेजुङमा तीन, सिन्धुपाल्चोकमा एक र रामेछापमा एक घरमा सामान्य क्षति भएको छ ।

चनाखो हुने अनुरोध

यसैबीच सरकारले छिमेकी मित्रराष्ट्र चीनको तिब्बत (सिचाङ) स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्रविन्दु बनाएर गएको ७.० म्याग्नेच्युडको भूकम्पबाट भएको क्षतिबारे जानकारी गराउन सार्वजनिक अनुरोध गरिएको छ ।

गृहमन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त भूकम्पबाट नेपालमा हालसम्म कुनै मानवीय क्षति भएको जानकारीप्राप्त नभएको जानकारी गराउँदै विवरण सङ्कलन भइरहेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले विज्ञप्ति जारी गर्दै भूकम्पको केन्द्र नजिकका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको खबर प्राप्त भएका जानकारी दिए ।

उक्त भूकम्पका परकम्प निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकोले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलाई निर्देशन भएको उनले बताए ।

“सबै नागरिकलाई चनाखो रहन तथा कुनै खालको क्षति भएको भए आफ्नो स्थानीय तह, नजिकैका सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । विपद्मा परी मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्राधिकरणले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

अब भरभराउँदो आजको एमाले खोजौँः अध्यक्ष ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि समूह नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको बताएका छन् ।

एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि मंगलबार समापन मन्तव्य व्यक्त गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरु नरहेकाले त्यस्ता पूर्वसमूहहरु खोज्नतिर नलाग्न आग्रह गरे ।

‘एमालेमा अब कुनै पनि पूर्वसमूह छैनन् । हामी पूर्वसमूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ ।’, अध्यक्ष ओलीले भने, ‘हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो । हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ ।’

स्वस्थ एवं रचनात्मक आलोचना पार्टीभित्र ग्राह्य हुने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने ढङ्गको गुटबन्दी र अराजकता कदापि स्वीकार्य नहुने अध्यक्ष ओलीले चेतावनी दिए ।

उनले मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र कांग्रेसको सहकार्यमा बनेको वर्तमान सरकारले देश र जनताका पक्षमा हरसम्भव काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आफूहरु चुनावदेखि चुनावसम्मको ‘केवल’ सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।

अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताहरुलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका असल कामको प्रचार गर्न आव्हान गरे ।

उनले असंलग्न परराष्ट्र नीति र सन्तुुलित छिमेक नीतिमा सरकार सदैव अडिग रहेको स्मरण गराउँदै छिमेकी देशको विकासबाट हामीले पनि लाभ लिनुपर्ने बताए । उनले देशको राजनीतिक नक्सामा समेटिएको नेपाली भूमि फिर्ता लिइने अठोट पनि व्यक्त गरे ।

यही पुस २१ गतेदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक राजनीतिक प्रतिवेदन र सङ्गठन सुधारका योजना पारित गरेर टुङ्गिएको छ ।

गाजामा युद्धविराम सम्बन्धी ‘प्राविधिक बैठकहरू’ जारी रहेको मध्यस्थकर्ता कतारको पुष्टि

दोहा । इजरायल र हमासबीच गाजामा युद्धविरामलाई सुदृढ पार्ने उद्देश्यले वार्ता जारी रहेको र पक्षहरूबीच ‘प्राविधिक बैठकहरू’ भइरहेको मध्यस्थकर्ता कतारको विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ । 


“दुवै पक्षबीच प्राविधिक बैठकहरू अझै पनि भइरहेका छन्”, मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सम्झौताको विवरणमा तल्लो स्तरका अधिकारीहरूसँगको बैठकलाई उल्लेख गर्दै भने, “अहिले कुनै प्रमुख बैठकहरू भइरहेका छैनन् ।” 


मध्यस्थकर्ताहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिका गाजामा विनाशकारी सङ्घर्ष अन्त्य गर्न असफल भएका इजरायल र हमासबीचको वार्तामा महिनौँदेखि संलग्न छन् ।


अन्सारीले जारी बैठकहरूमा ‘धेरै मुद्दाहरू छलफल भइरहेको’ भन्दै तर ‘वार्ताको अखण्डताको रक्षा गर्न’ विवरणहरूमा जान अस्वीकार गरे । 


गत हप्ताको अन्त्यमा हमासले दोहामा अप्रत्यक्ष वार्ता पुनः सुरु भएको बताएको थियो भने इजरायलले कतारको राजधानीमा वार्ता जारी राख्न वार्ताकारहरूलाई अधिकार दिएको बताएको थियो । 


डिसेम्बरमा मध्यस्थताको अघिल्लो चरण दुवै पक्षले एक अर्कालाई दोष दिँदै समाप्त भएको थियो । हमासले इजरायलमाथि ‘नयाँ शर्तहरू’ राखेको आरोप लगाएको थियो भने इजरायलले हमासमाथि सम्झौतामा ‘बाधाहरू’ खडा गरेको आरोप लगाएको थियो ।


डिसेम्बरमा ग्यास–धनी खाडी इमिरेटले संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पको चुनावी विजयपछि वार्तामा ‘गति’ फर्किरहेको छ भन्ने आशावादिता व्यक्त गरेको थियो । 


एक महिनाअघि दोहाले आफ्नो मध्यस्थता रोकेको र हमास र इजरायलले ‘इच्छा र गम्भीरता’ देखाएपछि पुनः सुरु हुने बताएको थियो । 

ब्राजिलद्वारा इन्डोनेसियालाई ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा

ब्राजिल । ब्राजिलले इन्डोनेसिया ब्रिक्स समूहको पूर्ण सदस्य भएको घोषणा गरेको छ । सन् २०२५ मा ब्रिक्सको अध्यक्षता गर्ने ब्राजिलले सन् २०२३ मा जोहानेसबर्ग शिखर सम्मेलनमा इन्डोनेसियाको उम्मेदवारीलाई नेताहरूले समर्थन गरेको बताएको छ ।

ब्राजिलको विदेश मन्त्रालयले ब्रिक्समा इन्डोनेसियाको प्रवेशलाई स्वागत गरेको छ । यसले इन्डोनेसिया र अन्य ब्रिक्स सदस्यहरूले विश्वव्यापी शासन संस्थाहरूको सुधारलाई समर्थन गर्ने बताएको छ ।

“ब्राजिल सरकारले इन्डोनेसियालाई ब्रिक्समा प्रवेश गरेकोमा स्वागत गर्दछ । सबैभन्दा ठूलो अर्थतन्त्र र दक्षिणपूर्व एशियामा सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रको रूपमा इन्डोनेसियाले अन्य ब्रिक्स सदस्यहरूसँग विश्वव्यापी शासन संस्थाहरूको सुधारको लागि महत्त्वपूर्ण योगदान गर्दछ,”ब्राजिलको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

इन्डोनेसियाले नयाँ सरकारको स्थापनापछि मात्र ब्रिक्समा सामेल हुने आफ्नो रुचिबारे समूहलाई औपचारिक रूपमा जानकारी गरायो ।

ब्रिक्स देशहरूले सन् २०२४ मा इन्डोनेसियाको सदस्यतालाई सर्वसम्मतिले अनुमोदन गरेको विज्ञप्तिमा भनिएको छ ।

ब्रिक्स औपचारिक समूहको रूपमा सन् २००६ मा जि–८ आउटरिच शिखर सम्मेलनको बैठक पछि सुरु भयो । सन् २००६ मा न्यूयोर्कमा विदेश मन्त्रीहरूको पहिलो बैठकमा समूहलाई औपचारिकता दिइएको थियो ।

पहिलो ब्रिक्स शिखर सम्मेलन सन् २००९ मा रूसको येकातेरिनबर्गमा भएको थियो । सन् २०१० मा न्यूयोर्कमा भएको ब्रिक्स विदेश मन्त्रीहरूको बैठकमा दक्षिण अफ्रिकालाई समावेश गरी ब्रिकलाई ब्रिक्समा विस्तार गर्ने सहमति भएको थियो ।

‘ममी’को ‘म त यसै नक्कली’

काठमाडौं । समर निरौलाको डेब्यु फिल्म ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘म त यसै नक्कली’ बोलको गीतमा समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको छ ।

हर्क साउदको शब्द रचना रहेको गीतमा एसडी योगीको संगीत रहेको छ। गीतमा रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री प्रिंयका कार्की र दीया मास्के फिचर्ड छन्।

विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । माघ २५ गते रिलिज हुने सिनेमामा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका रहेको छ।

सिनेमामा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ।

केन्द्रीय समिति बैठकले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर विजयको आधार तयार गरेको प्रचण्डको दाबी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक बताएका छन् । 

तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकको अन्तिम सत्रलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले यो ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताएका हुन् ।

बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोसेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रमभङ्ग गरेको उनले जिकिर गरे ।

उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई उहाँले सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको जानकारी दिए । 

छ महिना अभियान, अर्को छ महिनापछि महाधिवेशन 

बैठकले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार सश्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ ।

छ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष दाहालले घोषण गरे । अभियानबाट व्यापक रूपमा जनताको सुझाव आउने भएकाले छ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने उनले स्पष्ट गरे ।

माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिमरूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष दाहालले जानकारी दिए । 

बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । समितिले चाँडै एकता वार्ताको पहल गर्ने निर्णय गरेको छ । 

बैठकले अध्यक्ष दाहालद्वारा प्रस्तुत ‘पार्टी रूपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता’  शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ ।  प्रस्तावमा पदाधिकारी र सदस्य गरी एक सय १८ जनाले सुझाव दिएका थिए ।

नेपाल-चीनबीचको सम्बन्ध सौहाद्रपूर्ण छः कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको बताएका छन् ।

‘फाउन्डेसन अफ ट्रान्स हिमालयन एन्ड रिसर्च स्टडिज’ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘बीआरआईमार्फत नेपालको पर्यटन र कृषि क्षेत्रको उन्नतिका निम्ति अवसरको खोजी’ विषयक कार्यक्रममा मन्त्री अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध जहिल्यै सौहाद्रपूर्ण रहेको बताएका हुन् ।

उनले भने, ‘नेपाल र चीनबीच भौगोलिक, राजनीतिक तथा व्यापार र पारवहनको सम्बन्ध प्रगाढ छ । विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएकाले चीनको विशेषज्ञता यस क्षेत्रको विकासका लागि महत्वपूर्ण छ ।’ 

नेपालका लागि चीनका राजदूत छन् सङले नेपालमा कृषि तथा पर्यटनलगायत परियोजनाहरुमा चिनियाँ लगानीकर्ता इच्छुक रहेको बताए ।

उनले भने, ‘हालै मात्र चिनियाँ उद्यमीको टोली नेपाल आएको थियो । उहाँहरु लगानी गर्न हौसिनुभएको छ ।’  नेपालको धेरै जनसङ्ख्या कृषिमा आश्रित भएकाले यसको विकासमा थप जोड दिनुपर्ने राजदूत सङले बताए । 

कृषि तथा खाद्य सुरक्षाविज्ञ डा यमुना घलेले कार्यपत्र प्रस्तुत गर्दै कृषि तथा पर्यटन क्षेत्रमा नेपालको सम्भावना अधिक रहेको बताइन् ।

उनले भनिन्, ‘बीआरआईसँग सम्बन्धित लगानीले न्यून आय भएका देशहरूमा कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्न मद्दत गरेको छ । नेपालमा पनि कृषि र पर्यटनको अत्यधिक सम्भावना छ । राँगा र भैँसीको मासु निर्यात सम्झौता चीनसँग भइसकेको छ ।’

पर्यटकीयस्थल घोडेपानीमा हिमपात

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार दिउँसो हिमपात भएको छ ।

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो । घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको जानकारी दिए ।

“दिउँसो करिब एक घण्टा हिउँ परेको थियो,” उनले भने, “ओसिलो ठाउँ र डाडामा हिउँ जमेको छ ।” हिमपातपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन् ।

आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ । करिब तीन महिनापछि वर्षा भएको हो । हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिचाइँका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकहरूले बताएका छन् ।

एमाले केन्द्रीय कमिटीद्वारा १४ बुँदे प्रस्ताव पारित

काठमाडौं । नेकपा एमालेले अहिलेको गठबन्धन सरकार बनेपछि जनतामा आशा जागेको निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कमिटी बैठकले काङ्ग्रेससँगको गठबन्धन सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको निष्कर्ष निकाल्दै यसले जनतामा उत्साह जगाएको ठहर गरेको हो । बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नयाँ सरकार बनेपछि धेरै उपलब्धि प्राप्त भएको बताए ।

उनले बेरोजगारी, भ्रष्टाचार लगायतका समस्याविरुद्ध सक्रियतापूर्वक लाग्न बैठकले सरकारको ध्यानाकर्षण गराएको बताए । बैठकमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष केपी शर्मा ओलीले अहिले एमालेमाथि चौतर्फीरूपमा प्रहार भइरहेको बताएका थिए ।

उनले जति नै प्रहार भएपनि दृढताका साथ दह्रो भएर उभिने समेत बताए । एमालेले देशमा महान् काम गरिरहेको भन्दै अध्यक्ष ओलीले त्यसको रिस डाह गर्नेहरूले अनेक लाञ्छना लगाएर कमजोर बनाउने प्रयास गरिरहेको दाबी समेत गरे ।

यस्ता प्रयासविरुद्ध एक ढिक्का भएर लड्न उनले पार्टीका नेताकार्यकर्तालाई आव्हान पनि गरेका छन् । अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदन पारित गर्दै एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

बैठकले  संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले १४ बुँदे प्रस्ताव पारित गरेको छ ।

बूढानीलकण्ठमा देउवा र लिङ्देनबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

सभापति देउवलाई भेट्न राप्रपा अध्यक्ष लिङ्देन मंगलबार दिउँसो देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् । भेटमा दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

शासकीय जिम्मेवारी लिएका दलहरू नै संघीयताप्रति अनुदारः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै राजनीतिक दल संघीय व्यवस्थाप्रति अनुदार देखिएका बताएका छन् ।

मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक छलफलमा महामन्त्री थापाले शासकीय जिम्मेवारी लिएका दलहरू नै संघीयताप्रति अनुदार रहेको बताएका हुन् । उनले नयाँ, पुराना र क्षेत्रीय दल सबै संघीयताप्रति अनुदार देखिएको आफूले पाएको बताए ।

महामन्त्री थापाले संघीय कानुन नबनाए सररकार छाड्छु भनेर कसैले नभन्ने र सरकारमा गएपछि ऊ नै अनुदार देखिने गरेको बताए ।

उनले भने, ‘निजामती विधेयक र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर आजसम्म कसैले भनेको सुनेको छैन । कसैले भन्दैन । सबैले बाहिर भन्छन् । सरकार चलाउने ठाउँमा गइसकेपछि अधिकारलाई कसरी मुठीमा राखिराख्ने भन्नेमै हुन्छौँ। यसले गर्दा दुर्घटना हुन्छ ।’

उनले मधेस र माओवादी आन्दोलनको पनि निकै ठूलो महत्त्व रहेको बताए । उनले संघीयताको विषयमा कांग्रेस एमालेमा बहस गर्नुपर्ने बताए ।

सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर र भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले मंगलबार अमेरिकी दूतावास र भारतीय दूतावासमा पुगेर अमेरिकाका पूर्वराष्ट्रपति कार्टर र भारतका पूर्वप्रधानमन्त्री डा सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकपुस्तिकामा हस्ताक्षर गरे ।

नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । मंगलबार नेप्से ६ दशमलव १६ अङ्कले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो ।

मंगलबार तीन सय पाँच कम्पनीको एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर ६६ हजार छ सय २६ पटक खरिदबिक्री हुँदा  पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २७, होटल तथा पर्यटन शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ । 

लगानी समूहको उपसूचक स्थिर देखिँदा अरु समूहका उपसूचक भने बढेका छन् । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ६५ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ८०, जलविद्युत् शून्य दशमलव ४२, जीवन बीमा शून्य दशमलव ६७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव ५९ प्रतिशतले बढेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’

काठमाडौँ । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ । 

खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए । भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उनले उल्लेख गरे ।  

मंगलबार बिहान चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पको  धक्का काठमाडौँसहित मुलुकको पूर्वी भेगमा महसुस भएको अधिकारीले बताए ।

‘पटकपटक भूकम्प गइरहेको स्थानमा भूकम्पको शक्ति जम्मा भइरहेको हुन्छ । उक्त ठाउँमा स–साना भूकम्प गइरहेका हुन्छन् भने भविष्यमा ठूलो भूकम्प जान सक्ने सम्भावना हुन्छ,’ उनले भने, ‘तर अहिलेसम्म भूकम्प जाने भविष्यवाणी भने गर्न सकिएको छैन ।’

प्रधानमन्त्री कप महिला क्रिकेटमा डडेल्धुराद्वारा कञ्चनपुर पराजित

बैतडी । बैतडीमा जारी प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा डडेल्धुराले कञ्चनपुरलाई पराजित गरेको छ । डडेल्धुराले कञ्चनपुरलाई ६ विकेटले हराएको हो ।  

दशरथ चन्द क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुरले १६ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ८८ रन बनायो । डडेल्धुराले ८९ रनको विजयी लक्ष्य १७ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा प्राप्त ग¥यो । 

डडेल्धुराका लागि रविना धामीले अविजित १६ र हेमा भट्टले १५ रन बनाइन् । बलिङतर्फ कञ्चनपुरकी मञ्जु विष्टले दुई विकेट लिइन् । 

यसअघि पहिला ब्याटिङ गर्ने क्रममा कञ्चनपुरकी रेवती धामीले सर्वाधिक ४१ रनको योगदान दिइन् । बलिङतर्फ डडेल्धुराकी हिरा साउदले तीन विकेट लिइन् । उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।  

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही पुस १९ गतेदेखि उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता पुस २५ गतेसम्म चल्ने छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता आगामी माघ १ गतेदेखि कैलालीको धनगढीमा हुने तय भएको छ ।

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

सोलुखुम्बु । भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । 


खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिइन् । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । 


प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक/एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ । 


आज बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर  ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।  

भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो

बीबीसी । भूकम्पका कारण तिब्बत क्षेत्रमा कम्तीमा ९५ जनाको मृत्यु भएको र सयौँ घरहरू भत्किएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चिनियाँ निकायहरूका अनुसार नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्पहरू मापन गरिएको छ ।

नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा म्याग्निट्यूड ७ मापन गरिएको उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ। चिनियाँ निकायहरूले भने उक्त भूकम्पको म्याग्निट्यूड ६.८ भएको जनाएका छन् ।

भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा सयौँ भवनहरू भत्किएका र १३० जना घाइते भएको पुष्टि चिनियाँ अधिकारीहरूले गरेका छन्। उक्त क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ ।

बार अध्यक्ष घिमिरेविरुद्धको मुद्दामा भाषणको अडियो झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा अडियो र भिडियोलगायत सामाग्री झिकाउने आदेश दिएको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले घिमिरेको अडियो र भिडियो झिकाउन आदेश दिएको हो ।

उनलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्चका उपरजिस्ट्रार गोविन्द प्रसाद घिमिरेले तयार गरेको प्रतिवेदन दसैँअघि दर्ता भएको थियो ।

सोही प्रतिवेदनको पहिलो सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले उनलाई सात दिनभित्र आफैं वा आफ्नो वारेसमार्फत लिखित जवाफ बुझाउन भनेको थियो । सर्वोच्चको उक्त आदेश पछि उनले बारका तर्फबाट लिखित जवाफ पेस गरेका थिए ।

नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै उपरजिस्ट्रार घिमिरेले उनलाई अवहेलनामा कारबाही गर्नुपर्ने प्रतिवेदन तयार पारेका थिए ।

बार अध्यक्ष घिमिरले उमेर हदका कारण अवकाश लिन लागेका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सम्मिलित न्याय परिषद्ले सर्वोच्चमा २ न्यायाधीश मात्र सिफारिस गरेकोमा विरोध गर्दै भाषण गरेका थिए ।

भारतले ‘स्पेस डकिङ’ मिशन बिहीबार प्रक्षेपण गर्ने

नयाँदिल्ली । भारतले आफ्नो बहुप्रतीक्षित ‘स्पेस डकिङ प्रयोग’ (स्पाडेक्स) मिशन दुई दिनका लागि स्थगित गरेको घोषणा गरेको छ । स्पेसडकिङ तब हुन्छ, जब दुई अन्तरिक्ष यान अन्तरिक्षमा जोडिन्छन् ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार मङ्गलबार बिहान हुने भनिएको परीक्षण अब बिहीबार सारिएको छ ।

“स्पेस डकिङ प्रक्रियालाई आज पहिचान गरिएको असफल परिदृश्यको आधारमा ग्राउन्ड सिमुलेशनहरू मार्फत थप प्रमाणीकरण आवश्यक छ,” इसरोले जनाएको छ ।

इसरोले ३० डिसेम्बरमा ध्रुवीय उपग्रह प्रक्षेपण वाहन (पिएसएलभी–सी६०), एसडीएक्स०१ (चेजर) र एसडीएक्स०२ (लक्ष्य) का साथ स्पाडेक्स मिशन प्रक्षेपण गर्यो ।

चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द

ल्हासा । चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६८ म्याग्निच्युडको भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ ।

हालसम्म भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।

डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेशनको विद्युत् कटौती भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ ।

जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो

बर्लिन। गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्यांकले सोमबार देखाएको छ।

समग्रमा, सन् २०२४ मा युरोपको सबैभन्दा ठूलो कार बजारमा लगभग २ दशमलव ८ लाख नयाँ विद्युतीय कार दर्ता भएको थियो। यो अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले कम भएको केबिए संघीय यातायात प्राधिकरणले जनाएको छ।

तीमध्ये, केवल तीन लाख ८० हजार ६०९ विद्युतीय कार थिए, जुन १३ दशमलव ५ प्रतिशतको बजार हिस्सा बराबर छ।

इवाई विश्लेषक कन्स्टान्टिन गलले भन्नुभयो,“सन् २०२३ को अन्त्यमा सरकारी अनुदान फिर्ता लिएपछि जर्मनीमा विद्युतीय कारहरूको माग सुस्त भएको छ। नयाँ इभि मोडलहरूको उच्च मूल्य, कमजोर चार्जिङ पूर्वाधार र दायरा सीमितताहरूले पनि धेरै उपभोक्ताहरूलाई विद्युतीय कार छनौट गर्न निरुत्साहित गरेको छ।”

विद्युतीय कारहरूको घट्दो बिक्रीले जर्मनीको फराकिलो अटो उद्योगले सामना गर्ने चुनौतीहरूलाई रेखांकित गर्छ। यस क्षेत्रले कमजोर माग र विद्युतीय सवारी साधन समस्यासँग सङ्घर्ष गरेको छ । निर्माता र आपूर्तिकर्ताहरूले गत वर्ष धेरै रोजगार कटौतीको घोषणा गरेको थियो।

फेब्रुअरी २३ गते हुने निर्वाचनअघि अटो उद्योगको संकट राजनीतिक मुद्दा बनेको छ।

केही आलोचकहरूले जर्मनीको सामान्य आर्थिक मन्दीलाई विद्युतीय सवारीसाधनमा सँग जोडेका बताएका छन्। यसले विद्युतीय कार निर्माताहरूलाई कमजोर बनाएको छ।

अर्थ कार निर्माताहरूले आगामी वर्ष बिक्रीमा सामान्य वृद्धि भन्दा बढी आशा गर्न सक्ने अवस्था नरहेको उनले बताए।

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

बागमती । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ ।

मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो ।

अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको काम सकिएर डिपिआर निर्माण भइरहेको नेपाल आयल निगमका प्रवक्ता इञ्जिनियर मनोज ठाकुरले जानकारी दिए ।

‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययनको काम भइसकेको छ’, प्रवक्ता ठाकुरले भने, ‘टोलीले अध्ययन गरेर अहिले डिपिआर तयार गरिरहेको छ ।’

पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्नेगरी काम अघि बढ्ने उनको भनाइ छ । अमलेखगञ्जबाट लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार भई सञ्चालमा आएपछि पश्चिमी र उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव नहुने उनको विश्वास छ ।

यसैगरी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन विस्तारको काम सकिएसँगै पाइप लाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरु गरेको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन विस्तारको सम्पूर्ण काम सकिएको र तत्काल परीक्षणका लागि पाइप लाइनबाटै पेट्रोल र मट्टितेल ल्याइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए ।

‘पाइप लाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइप लाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टितेल ल्याएका छौँ’, उनले भने, ‘पाइप लाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।’ त्यो सँगै पाइप लाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्न आवश्यक तयारी भइरहेको उनको भनाइ छ ।

दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पाइप लाइनको उद्घाटन गर्ने वा कसरी नियमित आयात सुरु गर्ने विषयमा छलफल भइरहेको जनाउँदै उनले जनवरी २०२५ देखि पाइप लाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने बताए ।

गेटामा पहिला तीन सय शय्याको अस्पताल सञ्चालन गरौँ, त्यसपछि विश्वविद्यालयः स्वास्थ्यमन्त्री पौडेल

कैलाली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गरेका छन् ।

मंगलबार कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अुनगमनका क्रममा उनले भने, ‘विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि बढाउनुस् । पहिले जे हुन्छ, त्यो गर्दैँ जाउँ पहिला अस्पताल, त्यसपछि एमबीबीएस सञ्चालन गर्न मिल्छ ।’

उनले विश्वविद्यालय सञ्चालनका आफ्नै प्रकृया रहेको बताए । उनले भने, ‘विश्वविद्यालय बन्न सक्दा राम्रो हुन्छ । लागत बढी छ । राज्यले त्यो लागत उपलब्ध गराएर विश्वविद्यालय सञ्चालन गर्नुपर्छ ।;

उनले अस्पताल, मेडिकल सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न गाह्रो हुने बताए । नियमावली परिवर्तन गर्नुपर्ने भएपनि तत्काल १० जना छात्रवृत्तिका चिकित्सक र २० जनासम्म नर्सिङ कर्मचारी पठाउने उनले जानकारी दिए । ‘यसलाई तीन सय शय्याको अस्पताल सञ्चालन गरौँ । यसले विश्वविद्यालयको काम रोकिने होइन,’ उनले भने ।

मन्त्री पौडेलले गेटा अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिए । गेटामा करिब सात अर्बका भौतिक संरचना निर्माण भएका छन् । हाल यहाँ ५० शय्याको अस्पताल सञ्चालनमा छ ।

भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

सोलुखुम्बु ।  मंगलबार विहान गएको भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ । 

भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।  

ललितपुरको कल सेन्टरमा सीआइबीको छापा, ५३ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।

सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो ।

हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उनले बताए । अभियुक्तहरूबाट ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान मोबाइल फोन पनि बरामद भएको छ । उनीहरुले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उनले बताए ।