ऊर्जामन्त्रीको विरोध गर्नेलाई जिम्मेबारीबाट हटाउन कुलमानलाई निर्देशन


काठमाडाैँ । ऊर्जामन्त्री दीपक खड्काले दूधकोसी जलविद्युत आयोजना प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई हटाउन ठाडो आदेश दिएको पाइएको छ । मन्त्री खड्काले आफ्नाबारेमा सामाजिक सञ्जालमा ‘गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण’ गरेको आरोप लगाउँदै तत्काल जिम्मेवारीबाट हटाउन आदेश दिएका हुन् ।
मन्त्रालयले फागुन ८ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्राचार गरी गुरुङलाई हटाउन आदेश दिएको छ ।
पत्रमा लेखिएको छ, ‘तहाँ प्राधिकरणअन्तर्गत सञ्चालित दूधकोसी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मा. मन्त्रीज्यूका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशनसमेत भइसकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१/११/८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ।’ पत्रमा भनिएको छ ।
