`

जापान सरकारको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

Nepal One HD १२ फागुन २०८१ १६:२६
शिक्षा

काठमाडौँ। जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित चन्द्रावती माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरूले नवनिर्मित भवन हस्तान्तरण गरेका हुन्।

जापान सरकारको ग्रासरूट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी) को अनुदान सहायताअन्तर्गत करिब ८५ लाख रुपैयाँको सहयोगमा उक्त भवन निर्माण गरिएको हो।

सो अवसरमा जापानी राजदूत मायदाले परियोजनामा संलग्न सबैको प्रयासको लागि बधाई तथा प्रशंसा व्यक्त गरेको काठमाडौँस्थित जापानी दूतावासले जनाएको छ।

उक्त विद्यालय विसं २०१७ मा स्थापना भएको थियो। सो विद्यालयमा हाल करिब तीन सय ३० विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । उक्त विद्यालय सो क्षेत्रकै प्रमुख शैक्षिक संस्थाका रूपमा रहीआएको छ। विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यापन हुँदै आएको छ।

जीर्ण विद्यालय भवनका कारण विद्यार्थीको पठनपाठनमा समस्या झेल्दै आएका थिए। नवनिर्मित भवनमा सुविधासम्पन्न कक्षा कोठा, छात्राछात्रका लागि बेग्लाबेग्लै शौचालयलगायत सुविधा रहेको दूतावासले जनाएको छ।


प्रतिक्रिया