`

बजेट निर्माणमा राजश्वमारा ‘मुसा’को प्रवेश भयो : शंकर पोखरले

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरलेले बजेट निर्माणमा राजश्वमारा ‘मुसा’को प्रवेश भएको बताउनुभएको छ ।  आज सामाजिक सञ्जालमा लेख्दै उहाँले करका दर निर्धारण गर्न पूर्व कर्मचारी वा व्यापारिक घरनाका प्रतिनिधि नै खुलेआम रूपमा राख्न थालेपछि अर्थतन्त्र संकटमा पर्यो भनेर रोइलो गर्नुको के अर्थ रह्यो र ? भनी प्रश्न गर्नुभएको छ । 

‘विगतमा कर निर्धारणमा आवान्छित व्यक्तिको संलग्नताकै कारणले दुवै छिमेकीको अर्थतन्त्र सकारात्मक रहेको अवस्थामा नेपाल आर्थिक मन्दीमा गयो । मूलकको राजश्वनै घट्न गएको समयमा निश्चित व्यापारिक घरनाको सम्पत्ति एक वर्षमा झण्डै आधा खर्वको हाराहारीमा वृद्धिहुन पुग्यो’, उहाँले लेख्नुभएको छ,’यसबाट पाठ सिके होलान् भनेको त यसपालि त झन् प्रधानमन्त्रीकै निर्देशनमा आवान्छित व्यक्तिलाई संलग्न गराइ राजश्वका दर निर्धारण गरिएको जानकारी आउनु अत्यन्त दुःखद पक्ष हो ।’ 

महासचिव पोखरेलले बजेट निर्माणको गोप्य सूचना चुहाइएको/पूर्वयोजना अनुरुप सेटिङ गरिएका कारण  राज्यले गाडीको आयातमा अर्बौंको राजश्व गुमाएको बताउनुभएको छ । बजेट भाषणको पूर्वसन्ध्यामा भन्सारबाट अस्वाभाविक रूपमा आयात गरिएका सामानहरू सेटिङका परिणामहरु रहेको उहाँले उल्लेख गर्नुभएको छ ।  

‘अघि पछि एकदिनमा कति सामान आउँथ्यो र बजेटको पूर्वसन्ध्यामा किन अस्वाभाविक सामान आयो यसको छानबिन हुनु आवश्यक छ । संसदले अस्वाभाविक रूपमा आयात भएका वस्तुको कर पुरानै अवस्थामा फर्काउन सक्नु पर्दछ’,उहाँले लेख्नुभएको छ । 

महासचिव पोखरेलले आगामी आर्थिकको वर्षको बजेटमा जनताको भान्सारजीवनलाई महँगो बनाउने र सभ्रान्तहरुले प्रयोग गर्ने विलासिताका वस्तुहरुमा करछुट दिने काम भएको बताउनुभयो । कर निर्धारणको सिद्धान्तका हिसाबले गलत भएको भन्दै उहाँले निश्चित वस्तुको आयातकर्ताको प्रभाव बजेटमा परेको स्पष्ट देखिएको बताउनुभयो ।  

‘विगतमा सुर्तिजन्यवस्तुमा लाग्दै आएको करको दरको औसतवृद्धिको तुलनामा यसपटक अत्यन्त न्युनदरमा वृद्धि गरेर मिलोमतो गर्ने काम भएको देखिन्छ’,उहाँले लेख्नुभएको छ,’छिमेकी मुलुकहरुको तुलनामा नेपालमा सुर्तीजन्य पर्दार्थलाई सस्तो बनाउने कुरा जनताको स्वास्थमाथिको खेलबाड हो ।’ 

महासचिव पोखरेलले नियोजित अपराधका लागि सरकारलाई संसदीय कठघरामा उभ्याउन, छानबिन गर्न र अपराध गर्नेलाई दण्डित गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।  

भिरबाट लडेर मृत्यु

सिमकोट – हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ ।

आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली –१ कल्खे गाउँका दानीको मृत्युु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताउनुभयो ।

कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए । सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुख नजिक भेटिएको स्थानीय परबहादुर थापाले बताउनुभयो । दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए । दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो ।

‘जलवायु परिवर्तनको न्यूनीकरणसँगै अनुकूलित हुनु सिकौँ’

गण्डकी – वातावरण र प्राणी जगतमा देखिएको चुनौतीको सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको यहाँ आयोजित विभिन्न कार्यक्रममा जोड दिइएको छ ।

एकाउन्नौँ विश्व वातावरण दिवसको अवसरमा पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा वक्ताले जलवायु परिवर्तनको न्यूनीकरणसँग अनुकूलित हुँदै अघि बढ्नुको विकल्प नभएको बताएका हुन् । ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथका आयोजित कार्यक्रममा वक्ताले नकुहिने र जलाउँदा विषालु ग्यास उत्सर्जन हुने प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउने अभियानमा सबै जुट्नुपर्नेमा जोड दिएका थिए ।

पोखरा महानगरपालिका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले नयाँ पोखरा सामुदायिक उपभोक्ता वन समूह उज्यालो डाँडा काहुमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै समूहले वन र वातावरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो ।

वन क्षेत्रलाई मुलुकको समृद्धिको अभियानमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले वन तथा वातावरण संरक्षणमा सबैसँग सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गनुभयो ।

पोखराबाट नजिकमा अवस्थास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको काहुडाँडालाई रङ्गीचङ्गी फूलहरुको डाँडाका रुपमा परिणत गरी थप पर्यटकको आकर्षण बढाउने लक्ष्यका साथ गुलमोहर, कल्की, जमारन्दा, टेकोमा, लालीगुराँसलगायत विभिन्न जातका सात सयभन्दा बढी बिरुवा रोप्ने कार्यक्रम रहेको वन समूहका अध्यक्ष इन्द्रकुमारी आचार्यले जानकारी दिनुभयो ।

त्रिपन्न घरधुरी उपभोक्ता एक सय ७५ रोपनी क्षेत्रफल रहेको उक्त वनको संरक्षणका लागि गण्डकी प्रदेश सरकारको २० लाख र स्थानीय जनसहभागी १२ लाख गरि कूल ३२ लाखको लागतमा वन क्षेत्रको संरक्षणका लागि पक्की पर्खाल लगाउने कार्य सुरु भएको उहाँको भनाइ छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदी, पोखरा–११ का वडाअध्यक्ष प्रेम कर्माचार्य, वातावरण महाशाखाका निर्मल भण्डारी, वातावरण प्रेमी चन्द्रबहादुर गुरुङलगायतले वातावरण सन्तुलन राख्न वन क्षेत्रको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।

डिभिजन वन कार्यालय कास्कीबाट निःशुल्करुपमा उपलब्ध गराइएका बिरुवा रोप्ने कार्यक्रममा वन उपभोक्तासहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं विद्यार्थीको बृहत् सहभागिता थियो ।

अवसरमा डिभिजन वन कार्यालय कास्कीको आयोजना एवं पोखरा–२८ मैदीपोखो सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा वृक्षरोपण कार्यक्रमको आयोजना गरियो ।

उक्त वन क्षेत्रमा विगतमा गएको ठूलोपहिरोको संरक्षणका लागि बायोइञ्जिनियरिङ प्रविधिको प्रयोगसहित बाँसरोपण अभियान सुरु गरिएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे वृक्षरोपण कार्यक्रमको शुभारम्म गर्दै नेपालमा ४५ प्रतिशत वन क्षेत्र रहेको उल्लेख गर्दै यसबाट वातावरणीय तथा कार्बन सञ्चितिमा महत्वपूर्ण योगदान रहेको विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा स्थानीय मुरली बाँसका पाँच सयभन्दा बढी बिरुवा रोपिएको थियो । पहिरो क्षेत्रमा अघिल्लो वर्षसमेत बाँस, तेजपातलगायतका विभिन्न प्रजातिका तीन सय बिरुवा रोपिएको थियो । रोपिएका बिरुवामध्ये ८० प्रतिशत हुर्केको सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी दिनुभयो ।

विश्व वातावरणका अवसरमा पोखरा सहर तथा आसपासका क्षेत्रमा विभिन्न विद्यालयका विद्यार्थी, सङ्घसंस्था लगायतले फोहर सङ्कलन एवं व्यवस्थापनसँगै वातावरणसम्बन्धी विविध चेतनामूलक कार्यक्रमको आयोजना गरेको थिए ।

प्रधानमन्त्री प्रचण्ड आज खप्तड जाँदै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन् । 

खप्तडमा आज देखी सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उदघाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन । 

सो सम्मेलनमा बिश्व प्रसिद्ध योग गुरु रामदेव,  पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दैँ आएका महायोगी जगत्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ ।

सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको छ भने साे सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ ।

डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ। २२ पाटन, २५ मैदान र ५२ वटा थुम्काले भरिपूर्ण एवं जैविक विविधताको फूलबारी खप्तडमा सयौँ प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडीबुटी पाइन्छन्।

भन्सार महसुल वृद्धिले स्वदेशी घिउ तेल उद्योग सङ्कटमा

काठमाडौँ –  आगामी आर्थिक वर्षको बजेटमार्फत भन्सार महसुल वृद्धि गर्ने सरकारको नीतिले उद्योग बन्द हुने अवस्थामा पुगेको घिउ तेल उद्योगीले बताएका छन् । 

नेपाल वनस्पति घिउ तेल उद्योग उत्पादक सङ्घले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर सरकारको नीतिले २६ घिउ तेल उद्योग बन्द हुने अवस्था सिर्जना भएको बताएका हुुन् । 

सङ्घका अध्यक्ष विकास दुगडले भन्सार महसुल १० प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिरेर नेपाली उद्योगले व्यापार गर्न नसक्ने भन्दै तत्काल भन्सार महसुल घटाउनुपर्ने बताउनुभयो । 

भारतबाट चोरी तस्करी भएर खाने तेल भित्रिएको अवस्थामा एक प्रतिशत रहेको भन्सार महसुललाई बजेटले १० प्रतिशत बनाएकाले नेपाली उद्योगले महँगो भन्सार तिरेर तस्करीको तेलसँग प्रतिस्पर्धा गर्न नसक्ने दुगडले जानकारी दिनुभयो । 

“सरकारले हाम्रो समस्या समाधान गर्छ भन्ने विश्वास छ,” दुगडले भन्नुभयो, “गत वर्ष पनि सरकारले हाम्रो माग सम्बोधन गरेको थियो अहिले पनि सुन्छ ।” भारत सरकारले कच्चा तेलको भन्सार महसुल घटाएको अवस्थामा नेपाल सरकारले कच्चा तेलको भन्सार बढाउनु उपयुक्त नभएको उहाँको भनाइ छ । 

स्वदेशी बजारमा वार्षिक तीन लाख टन खाने तेलको माग छ । भन्सार महसुल १ प्रतिशत हुँदा पनि नेपाली उद्योगले अहिलेसम्म दुई लाख टन मात्रै तेल बिक्री  गर्ने गरेको उद्योगीको भनाइ छ । सङ्घका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ५० हजार टन खाने तेल अवैध माध्यममा भित्रिएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा तेलको कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात हुने गर्छ । अबैध तेलले बजार कब्जा गरिरहेको अवस्थामा भन्सार महसुल बढ्ने हो भने नेपाली उद्योग टिक्कै नसकी बन्द हुने भन्दै उद्योगी व्यवसायीले महसुल दर घटाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल परिसङ्घका अध्यक्ष विष्णुप्रसाद अग्रवालले देशमा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने घिउ तेल उद्योगलाई संरक्षण गर्ने गरी भन्सार महसुल घट्नुपर्ने बताउनुभयो । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न आयात हुने तेलको कच्चा पदार्थमा भन्सार महसुल बढाएको छ । स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा उद्योगीले कच्चा पदार्थ आयात गरेर तेल उत्पादन गरी वितरण गर्ने गरेका छन् । 

आयातित कच्चा प्रदार्थ प्रशोधन गरेर भ्यालुएड गरी खाने तेल निर्यातसमेत हुने गर्छ । सनफ्लावर, भटमास तेल र पाम तेल निर्यात हुने गर्छ ।    यो समाचार गोरखापत्र दैनिकमा छ ।

गर्मी बढेपछि पाँचदिन विद्यालय बन्द

दमौली – अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो ।

केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएका कारण उक्त दुई वडाका विद्यालयमा शैक्षिकसत्र २०८० को वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिनुभयो ।

अन्य वडामा भने चिसो ठाउँ भएकाले विद्यालय बन्द गर्नु नपरेको उहाँले बताउनुभयो । अत्यधिक गर्मी बढेपछि जिल्लाका विभिन्न पालिकाले विद्यालयमा बिदा दिएका छन् ।

व्यास नगरपालिका–५ स्थित परासर माध्यमिक विद्यालयले आजदेखि गर्मी बिदा दिएको छ । व्यास नगरपालिकाको जेठ १९ गतेको निर्णयअनुसार गर्मी बढेकाले २६ गतेसम्म बिदा दिइएको विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले जानकारी दिनुभयो ।

गर्मी बढी नै भएको तथा विद्यालयमा सुख्खा मौसमका कारण खानेपानीको अभावसँगै पठनपाठनमा असजिलो भएकाले विद्यालय व्यवस्थापन समितिको आइतबारको निर्णयअनुसार बर्खे बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको उहाँले बताउनुभयो ।

व्यास नगरपालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालय व्यवस्थापन समितिको निर्णय गराई बिदा दिनसक्ने निर्णय गरेको नगरपालिकाका शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिनुभयो ।

बिदाका क्रममा स्वअध्ययन गर्न, सिकाइ बोझ नहुने गरी गृहकार्य दिन, सिर्जनशील सिकाइ क्रियाकलाप दिन र दिउँसोको समयमा घर बाहिर नजान सुझाव दिन अनुरोध गरिएको छ ।

आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

जनकपुरधाम – मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नोे नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट दीगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोतसाधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ लक्षित हुने यसअघि प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेको छ ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकार गत वर्ष पुस २९ गते गठन भएको थियो भने सरकारमा जनता समाजवादी पार्टी (जसपा)सहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी छन् ।

गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा रु एक करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । चालु आवको साउनदेखि जेठ २१ गतेसम्म रु एक करोड पाँच लाख २१ हजार पाँच सय आठ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिनुभयो । 

“गत वर्षको असारसम्म कोषको आम्दानी रु दुई करोड ९० लाख ८२ हजार २३५.६० थियो”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको हालसम्म रु एक करोड ५१ लाख एक हजार एक सय ३८ आम्दानी भएकामा विभिन्न शीर्षकमा रु ४५ लाख ७९ हजार छ सय ३० खर्च भएको छ ।” 

सबैभन्दा बढी मण्डप भेटी रु २४ लाख ७६ हजार चार सय ९९ र मेलापर्वको भेटी रु २६ लाख ९१ हजार छ सय ३८ आम्दानी भएको छ । आव २०७८÷७९ मा रु ४० लाख ८५ हजार पाँच सय २२ भेटीसहित रु ९१ लाख ८२ हजार पाँच सय ६९ आम्दानी भएको थियो । 
 
यज्ञ दर्तामा रु चार लाख ३५ हजार छ सय दुई, यात्री निवासबाट रु छ लाख ५९ हजार १०, ब्याज आम्दानी रु १३ लाख २७ हजार ३९, दान दातव्य रु १५ लाख १२ हजार सात सय २२, जिन्सी बिक्रीबाट रु दुई लाख ९८ हजार तीन सय ७१, स्टल भाडाबाट रु पाँच लाख दुई सय ६०, पार्किङ शुल्कबाट रु एक हजार नौ सय ५० र विविध शीर्षकमा रु ३७ हजार २० आम्दानी भएको कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिनुभयो । 

गत वैशाख २० देखि यही जेठ २१ गतेसम्म रु छ लाख ४४ हजार छ सय ९७ भेटी सङ्कलन भएको छ । गत वैशाख महिनामा रु पाँच लाख २२ हजार दुई सय २५ भेटी सङ्कलन भएको थियो । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । 

हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्नेछ । अन्य समय दैनिक पूजाआजा हुने मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । 

“गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन् ।”

मन्दिरको आम्दानीबाट हालै रु दुई लाख ३० हजार सात सय ५० खर्चेर गलेश्वर बजारको २.५ किमी सडक र मन्दिर परिसरमा सोमबार ५५ वटा सडक बत्ती जडान गरिएको थियो । गत वर्ष गलेश्वर मन्दिरमा पित्तलको छाना छाउन रु ३१ लाख ७५ हजार, सामुदायिक भवन बनाउन रु २१ लाख ९९ हजार, कालीगण्डकीबाट पानी ल्याएर ११ धारा बनाउन रु चार लाख खर्च गरेको थियो ।  

जडभरत संस्कृत माविका तीन जना शिक्षकको तलबका लागि मासिक रु ७२ हजार, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्नक्षेत्रका भान्छेलाई मासिक रु १७ हजार तलब मन्दिरको आम्दानीबाट दिने गरिएको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । 

विसं २०६७ सम्म भक्तजनले मूल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालिग्राम, कुण्डलगायत क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगदसहित जिन्सी सामग्रीको कुनै लेखाजोखा हुने गरेको थिएन । 

भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । 

धर्मशाला, सभाहल, बाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, १०८ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् । तेह्र वर्षअघिसम्म रु ३१ लाख रहेको कोषको आम्दानी हाल करिब रु चार करोड पुगेको छ । 

आज प्रधानमन्त्रीले राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ – सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक पनि बस्दै छ । बैठक आज बिहान ११ः११ बजे संसद् सचिवालयले जनाएको छ ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुनेछ ।  

सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका थिए । आज प्रधानमन्त्रीले राष्ट्रियसभामा जवाफ दिने कार्यसूची रहेको छ । 

बालबालिकालाई श्रम गराए कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बालबालिकालाई श्रम नगराउन आग्रह गरेको छ । कानुनले १४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि प्रकारको बालश्रममा लगाउन नपाइने जनाएको छ ।

१८ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन प्रतिबन्ध गरेकाले कानुनको पालना गर्न महानगरले आग्रह गरेको हो । 

कानुनको उल्लङ्घन गर्दै बालबालिकालाई श्रममा राखेको भएमा सोको जानकारी १५ दिनभित्र महानगरपालिका अन्तर्गतको सामाजिक विकास विभागलाई गराउन महानगरले भनेको छ ।  

कानुन विपरीत रहने गरी कसैले होटेल, ग्यारेज, सवारीसाधन कारखाना आदिमा बालश्रम गराएको पाइएमा महानगरले कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइनेसमेत जनाएको छ । 

लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

लुम्बिनी – पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् ।

    सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए  । गत वर्षकोभन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार चार सय ८६ ले बढी छ ।

    सन् २०२३ को जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार चारसय १३ जना राहदानी लिएका, तीन लाख २४ हजार दुई सय ६८  नेपाली र एक लाख ११ हजार आठ सय ६१  भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्याङ्क छ । गत वर्ष दुई हजार छ सय ८७ राहदानी लिएका, दुई लाख ८९ हजार पाँचसय ९४ नेपाली र ६९ हजार सात सय ७५  भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका जनाइएको छ । 

    यस पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका आठ हजार दुइ सय ४७, श्रीलङ्काका पाँच हजार सात सय २१, म्यान्माका पाँच हजार तीन सय ९८, भियतनामका तीन हजार दुई सय ३५, कोरियाली दुई हजार छ सय २९, चिनिया एक हजार दुई सय आठ र अन्य देशका सात हजार छ सय ७५ जना राहदानीका नागिरकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । 

    गत वर्ष सन् २०२२ मा यिनै पाँच महिनाको आगन्तुक गणना गर्दा तेस्रो मुलुक ९६ देशका राहदानी दुई हजार छ सय ८७, नेपाली दुई लाख ८९ हजार पाँच सय ९४ र भारतीयको सङ्ख्या ६९ हजार सात सय ७५ रहेको थियो । तेस्रो मुलुकका राहदानी लिएकाको गणना गर्दा भियतनामी छ हजार नौ सय २३, थाई चार हजार तीन सय ८०, श्रीलङ्कन एक हजार आठ सय ८५, म्यान्मा एक हजार चार सय ९५ तथा अन्य नौ हजार दुई सय ५९  छन् ।

    कोरोनाको अवधि सन् २०२१ मा ६८ देशका एक हजार एक सय ९७ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए । त्यसैगरी सन् २०२० को जनवरीमा १३ हजार एक सय सात, फेब्रुअरीमा २१ हजार छ सय ६७ र मार्च महिनामा आठ हजार तीन सय ६३ जना त्यसपछि नोभेम्बरमा ३ र डिसेम्बर महिनामा २३ तथा विशिष्ट दुई हजार एक सय ६६ गरी कूल ४५ हजार तीन सय २९ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए । 

    सन् २०२१ मा चार लाख ६३ हजार छ सय ६३ जना नेपाली र ४३ हजार सात सय ३२ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०२० मा  दुई लाख १० हजार ३३ जना नेपाली र ३७ हजार दुई सय छ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका  कोषले उपलब्ध गराएको सूचनामा उल्लेख छ । 

    त्यसअघि २०१९ मा भने नेपाली, भारतीय र तेस्रोमुलुक गरी कूल १५ लाख ५८ हजार तीन सय २६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । लुम्बिनी, नेपालको पश्चिमी क्षेत्रस्थित एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । यो स्थानलाई बौद्धधर्मको जन्मस्थल मानिन्छ र विश्व सांस्कृतिक धरोहरस्थलको सूचीमा युनेस्कोले समावेश गरेको छ । यहाँ हालका वर्षमा पर्यटक वृद्धिसँगै पर्यटन व्यवसायले पनि वृद्धि गरेको लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हुसेनी लोधले बताउनुभयो । 

    लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले लुम्बिनीमा पर्यटक सङ्ख्याको  वृद्धि पर्यटन उद्योगका लागि एक सकारात्मक सन्देश रहेको बताउनुभयो । 

    उहाँले भन्नुभयो, “यसले स्थानीय अर्थतन्त्रलाई वृद्धि गराउँछ भने रोजगार र आयसम्बन्धी अवसर प्रदान गर्दछ ।” यो तथ्याङ्क मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नेको मात्र हो । मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक पनि धेरै रहेको उहाँले बताउनुभयो ।
 

आजको मौसमः मध्य तथा पूर्वी तराइका भू-भागहरूमा अत्याधिक गर्मी र लु चल्ने

काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ ।

दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका केही तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको ‍एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

विशेष गरी मध्य तथा पूर्वी तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू-भागहरूमा तातो हावा र लू  चलिरहेको अवस्था छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका केही तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी तथा मधेश प्रदेशका तराईका एक-दुई स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ । तसर्थ, अत्याधिक गर्मी, मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैन : अर्थ मन्त्रालय

काठमाडौँ – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमा गर्दा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ ।

मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त विधेयक स्थापित अभ्यासबाट आएको र आमसञ्चारमाध्यममा उल्लेख गरिएका व्यक्ति अनधिकृत नभएको स्पष्ट पारेको हो ।

रामकृष्ण श्रेष्ठको कामको अनुभव र दक्षताका कारण सेवा निवृत्तपछि पनि आर्थिक विधेयकको मस्यौदा टाइप गर्ने काममा लगाइएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘चालु आर्थिक वर्षमा पनि निजलाई सूचना प्रविधि सहायक कर्मचारीका रूपमा करारमा नियुक्त गरिएको र विगतका वर्षहरूमा जस्तै आर्थिक विधेयक ०८०/८१ को मस्यौदा टाइप गर्ने कार्यमा संलग्न गराइएको ब्यहोरा जानकारी गराइन्छ ।’

‘अनलाइन खबर’ अनलाइनमा करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नतासम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । समाचारमा नाम उल्लेख गरिएका रामकृष्ण श्रेष्ठ निजामती सेवामा लामो समय भन्सार विभागमा रही आर्थिक विधेयकको मस्यौदा टाइप गर्ने काम गरिरहेका सेवा निवृत्त कर्मचारी भएको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले विज्ञप्तिमा जनाउनुभएको छ ।

‘बजेट तर्जुमा दिग्दर्शनले तोकेको पादधिकारीको उपस्थितिमा मात्र छलफल गरी आर्थिक विधेयकलाई अख्तियार प्राप्त पदाधिकारीले अन्तिम रूप दिएपश्चात् कम्प्युटर टाइप, हार्मोनाइज्ड कोड मिलान तथा आर्थिक विधेयकको शुद्धाशुद्धि परीक्षण गर्न आवश्यक कर्मचारी संलग्न गराई जिम्मेवारीपूर्वक तोकिएका कार्य गर्ने गराउने गरिएको हो, यो स्थापित अभ्यास हो’, प्रेस विज्ञप्ति उल्लेख छ ।

कर्णालीको नीति : प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरिने

सुर्खेत – कर्णाली प्रदेश सरकारले प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित तथा नियन्त्रण गर्दै वातावरणमैत्री विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले नीति कार्यक्रममा प्रदेशमा वातावरणमैत्री विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । त्यसका लागि प्रादेशिक वातावरण मापदण्ड र सूचकहरू निर्माण गरी कार्यान्वयन गर्ने नीति लिइएको छ ।

सडक निर्माण गर्दा लागत अनुमानमा नै सडक आसपास वृक्षरोपण गर्नुपर्ने बायोइन्जिनियरिङ प्रणाली तथा प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनमा उल्लेख भएका सुझावहरू अनिवार्य पालना गर्ने व्यवस्था मिलाइने पनि उल्लेख गरिएको छ ।

वनपैदावार, विशेष घाँसजन्य वनस्पति र खेर जाने काठ दाउरालाई प्रशोधित गरी बनाइने जिरो कार्बन बनाउन सहयोग गर्ने गरी कार्यक्रम सञ्चालन गरिने बताइएको छ । ‘दिगो वन व्यवस्थापन : स्वच्छ र समृद्ध जीवनयापन’ भन्ने सोचअनुरुप वन क्षेत्रको दिगो वृद्धि गरी सहज र सरल आपूर्ति एवं वन क्षेत्रबाट हुने राजस्व सङ्कलनमा वृद्धि गरिने लक्ष्य राखिएको छ । प्रदेश सरकारले हरित रोजगारी सिर्जना गर्ने नीति लिएको जनाएको छ । जलवायु परिवर्तनले विश्वव्यापी पुर्याएको असर न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख छ ।

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भावी पुस्तालाई असर नहुने गरी प्रकृतिको प्रयोग हुनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री शर्माले प्लास्टिकजन्य प्रयोगलाई निरुत्साहित गर्दै लैजाने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी दिँदै मानवीय जीवनको सुख र दिगोपनाका लागि प्रकृतिको दोहोन नभई उपयोग गर्नुपर्ने तर्क गर्नुभयो ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले पछिल्लो समय मानिसको गलत क्रियाकलापका कारण जलवायु परिवर्तन नकारात्मक प्रभाव परेको बताउनुभयो । जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणमा ध्यान हुनुपर्नेमा जोड दिँदै उहाँले वातावरण प्रदूषण रोक्न प्लास्टिकको विकल्प खोज्नुपर्ने बताउनुभयो ।

दिवसका अवसरमा मन्त्रालयको आयोजनामा वीरेन्द्रनगरमा वृक्षरोपण गरिएको छ भने अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका योजना शाखाप्रमुख इन्दिरा न्यौपानेले जानकारी दिनुभयो । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल गरौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइएको छ ।

प्रवीण हत्या प्रकरण : राजुलाई जन्मकैद, गोविन्दलाई तीन वर्ष र प्रकाशलाई डेढ महिना कैद फैसला

दमौली – तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको आजको इजलासले अभियुक्त भानु नगरपालिका–६ का अछामीलाई जन्मकैदको फैसला सुनाएको हो ।

साथै अभियुक्तबाट पीडितका परिवारलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । अभियुक्त अछामी विसं २०७७ जेठ ८ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

अभियुक्त भानु नगरपालिका–६ का गोविन्दबहादुर मगरलाई तीन वर्ष कैद र रु ३० हजार क्षतिपूर्तिको फैसला भएको छ । सोही प्रकरणका अभियुक्त भानु नगरपालिका–५ का टाइसन भन्ने प्रकाश मल्ललाई डेढ महिना कैद र रु सात हजार पाँच सय जरिवानाको फैसला भएको स्रेस्तेदार कुँवरले बताउनुभयो ।

बन्दीपुर गाउँपालिका–३ का धनबहादुर घर्ती, भानु नगरपालिका–१ का दीपक भण्डारी र भानु नगरपालिका–१ का अङ्कित अधिकारीलाई भने अदालतले सफाइ दिएको छ । विसं २०७७ जेठ ८ गतेको आदेशअनुसार टाइसन भन्ने प्रकाश मल्ल रु ५० हजार र भानु नगरपालिका–६ का गोविन्दबहादुर मगर रु एक लाख धरौटी लिएर तारेखमा रिहा भएका थिए ।

भानु नगरपालिका–१ का प्रवीण गुरुङ विसं २०७७ वैशाख ९ गते रातिदेखि हराएका थिए । उनको शव वैशाख १० गते साँझ भानु नगरपालिका–५ नावरुङस्थित खोल्सामा फेला परेको थियो । गुरुङको हत्या अभियोगमा मृतकका बुबा बुद्धिराज गुरुङले अभियुक्त विरुद्ध किटानी जाहेरी दिनुभएको थियो ।

तत्कालीन वडाध्यक्ष प्रकाश मल्लले फार्ममा काम गर्दै आएका भन्सारका धनबहादुर घर्तीलाई कामबाट निकालेपछि घर्तीले वैशाख ९ गते भान्जा पवन घर्तीलाई सामान लिनका लागि बोलाउनुभएको थियो । सामान लिन पवनसँगै उहाँका साथीहरू दीपक भण्डारी, अङ्कित अधिकारी र प्रवीण गुरुङ पनि नावरुङ पुग्नुभएको थियो । नावरुङमा स्थानीयवासी गोविन्द थापामगरले सञ्चालन गरेको होटलमा खाजा खाने क्रममा चर्को स्वरमा बोल्न थालेपछि स्थानीय युवा र प्रवीण गुरुङसहितको टोलीबीच झगडा परेको थियो । सोही रातदेखि प्रवीण बेपत्ता हुनुभएको पीडित परिवारको भनाइ छ ।

समाजको विश्वासिलो शक्ति पत्रकारिता : मुख्यमन्त्री कार्की

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज परिवर्तनमा नेपाली पत्रकारिताको भूमिक महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिद्वारा आज यहाँ आयोजित ‘प्रादेशिक सम्मेलन’को उद्घाटन गर्दै उहाँले पत्रकारिता क्षेत्र सचेत रहेकै कारण सरकार पनि बलियो भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

पत्रकारिता क्षेत्रको सचेतना र इमान्दारिताले समाज पनि निकै महत्वपूर्ण परिर्वतन आएको बताउँदै उहाँले सञ्चारमाध्यमले आफू अनुकूल व्याख्या गर्न नहुने तर्क गर्नुभयो । मुख्यमन्त्री कार्कीले समाजलाई एकीकृत बाटोमा लैजान पत्रकारिता क्षेत्रले सत्य एवं तथ्यलाई जोड दिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “जनताको विश्वासिलो शक्तिको रुपमा रहेको पत्रकारिता क्षेत्रमा वैचारिक भित्रता भए पनि राज्य निर्माणमा एक हुनुपर्छ ।” महासङ्घले सञ्चालन गरेको शुद्धीकरण अभियानले यो क्षेत्रलाई अझ बलियो र व्यवस्थित बनाउने विश्वास व्यक्त गर्दै उहाँले सञ्चार क्षेत्रको यथोचित विकास गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासङ्घ केन्द्रीय समितिका अध्यक्ष विपुल पोखरेलले महासङ्घले क्रियाशील पत्रकारिता सुनिश्चितता गर्न शुद्धीकरण अभियान सञ्चालन गरेको भन्दै सदस्य प्राप्ति र अन्त्यको अधिकार जिल्ला शाखाको हुने स्पष्ट पार्नुभयो । उहाँले नैतिक र चरित्र निर्माण गर्न शुद्धीकरण अभियानले मद्दत गर्ने भन्दै प्रदेश सरकारले निर्माण गर्ने बजेट, नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको भूमिका स्पष्ट रुपमा लेख्नुपर्ने सुझाव दिनुभयो ।

महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता भट्टराई, महासचिव रोशन पुरी, केन्द्रीय सदस्य अमर खड्का, पत्रकारहरु बन्धु पोखरेल, मीनकुमार नवोदित श्रेष्ठ, अविजाल विष्ट, विक्रम लुँइटेल र लवदेव ढुङ्गानाले पत्रकारिता क्षेत्रलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित, अर्को बैठक मङ्गलबार ११ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । पूर्वसांसद टिवडेवालको धुम्बाराहीस्थित हेम्स अस्पतालमा उपचारको क्रममा गत वर्ष चैत २२ गते असामयिक निधन भएको थियो ।

उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाट विसं २०७० को संविधानसभामा समानुपातिक सदस्य निर्वाचित हुनुभएको थियो । पूर्वसांसद एवं राज्यमन्त्री पाण्डेको ७२ वर्षीयाको उमेरमा गत मङ्गलबार असामयिक निधन भएको थियो । नेपाली कांग्रेसबाट विसं २०४८/५१ मा प्रतिनिधिसभा सदस्य, २०६४ सालको संविधानसभा निर्वाचन, २०७४ सालको प्रतिनिधिसभामा समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ पूर्वमहिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री पनि हुनुहुन्थ्यो ।

प्रतिनिसभाको अर्को बैठक जेठ २३ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ । बैठकमा आव २०८०/८१ को राजस्वको आयव्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल आगामी बैठकमा जारी रहने सभामुख घिमिरेले जानकारी दिनुभयो ।

पाकिस्तानको पञ्जाबमा भ्यान र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १३ जना घाइते

इस्लामावाद – पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मण्डी बहाउद्दिन जिल्लामा सोमबार भ्यान र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् । 

जिल्लाको गुजरात सडकमा आज बिहान एउटा सवारीसाधन मोडिदा दुर्घटना भएको र दुई महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनालगत्तै उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई अस्पताल पुर्याएको उद्धार सेवाले जनाएको छ ।

पाकिस्तानमा मुख्यतया खराब सवारी साधन, जीर्ण सडक  र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण सडक दुर्घटनाहरू प्रायः हुने गर्दछ।

जबरजस्ती धर्म परिवर्तन गराउनुहुँदैन : मन्त्री आचार्य

ललितपुर – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपालमा व्यक्तिले आफ्ना इच्छाअनुसार धर्म मान्न पाउने अधिकार रहेको तर जबरजस्ती धर्म परिवर्तन गराउन नपाउने बताउनुभएको छ ।

ललितपुरमा आज आयोजित ‘लोकतन्त्रमा धर्म तथा आस्थाको स्वतन्त्रता’ विषयक कार्यशालामा उहाँले राज्यको धर्म नभएको र धार्मिक स्वतन्त्रताको निम्ति राज्य सधैँ गम्भीर रहेको बताउनुभयो । ट्रान्सफर्म फाउण्डेशन नेपाल, नेपाल ख्रीष्टियन समाज र एनसिएफले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री आचार्यले भन्नुभयो, “ख्रीष्टियन समाज कल्यान परिषद्मा दर्ता भएको गैरसरकारी संस्था भएका कारणले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र समाजमा दुःखमा परेकालाई निरन्तर सहयोग गरिरहेको छ ।”

सांसद गङ्गा कार्कीले राज्यको कुनै पनि धर्म नभएमा सबै धर्मलाई एउटै दृष्टिले हेर्न सक्ने बताउनुभयो । उहाँलले भन्नुभयो, “विभिन्न धर्ममा राम्रा कुरासँगै विकृति पनि छन् ।” सांसद प्रकाश पन्तले कुनै पनि व्यक्तिले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारको पनि ख्याल गर्नुपर्ने र एउटाले अर्काको अस्थित्व स्वीकार गर्नुपर्ने बताउनुभयो ।

‘वातावरण प्रदूषणमा संलग्नलाई कानुनी दायरामा ल्याउ’

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन नेपाल सरकारलाई आग्रह गरेको छ । आज विश्व वातावरण दिवसका अवसरमा आयोगले विज्ञप्ति जारी गर्दै स्वच्छ वातावरणीय हक सुनिश्चित गर्न सो आग्रह गरेको हो ।

स्वच्छ वातावरणीय अधिकारको सुनिश्चितताका लागि आयोगले विगतमा गरेका सिफारिस एवम् सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणको संवैधानिक तथा कानुनी हकको कार्यान्वयनका लागि पनि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको समन्वयात्मक पहल हुनुपर्ने जनाएको छ ।

मानवअधिकारमुखी विकास पद्धतिमा जोड दिन, प्रकृतिको अनियन्त्रित र अवैज्ञानिक दोहन र वातावरण प्रदूषण रोक्ने सम्बन्धमा प्रभावकारी र अर्थपूर्ण कार्यक्रम बनाउन तथा वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन आयोगले सो विज्ञप्तिमार्फत नेपाल सरकारलाई आग्रह गरेको छ ।

यसैगरी आफ्ना उद्योग, व्यवसाय सञ्चालन गर्दा वातावरणमा पर्ने असरबारे सजग हुन आयोगले सम्पूर्ण व्यावसायिक समुदाय र निजी क्षेत्रलाई समेत आग्रह गरेको छ । नेपालमा समय समयमा वायु प्रदूषण, ध्वनि प्रदूषण, डढेलो, वन विनाश, बाढी, पहिरो, तापक्रम वृद्धि, जलवायु परिवर्तनको प्रभाव, पानीको मुहान सुक्ने, प्राकृतिक प्रकोप, विपत्ति, मानवीय क्षति तथा आन्तरिक विस्थापनलगायतका वातावरणीय समस्या देखिँदै आइरहेको आयोगले विज्ञप्तिमार्फत स्मरण गराएको छ ।

आयोगद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, “विकासमा मानव अधिकारमुखी पद्धतिको अवलम्बन नहुँदा वातावरण प्रदूषण बढेको छ । प्लास्टिकजन्य सामग्रीको अत्यधिक र अव्यवस्थित प्रयोग, गिट्टी, बालुवा, ढुङ्गाजस्ता प्राकृतिक स्रोतको अनियन्त्रित उत्खनन, चुरे क्षेत्र दोहन, अस्पतालजन्य तथा घरबाट निस्कने फोहरमैलाको अव्यवस्थित विसर्जन, उद्योगजन्य प्रदूषण, अव्यवस्थित सहरीकरण, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको प्रभावकारी कार्यान्वयन नहुनुलगायतका कारण वातावरणीय समस्या देखिएको आयोगको अध्ययनबाट पाइएको छ ।”

“वातावरणीय प्रदूषणका कारण विश्वका मानव मात्र नभई जीवजन्तु र वनस्पतिसमेत प्रभावित बन्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । वातावरणीय समस्याको न्यूनीकरण तथा समाधान गर्ने एवं सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको हकको संरक्षण गर्नु तीनै तहका सरकारको दायित्व हुन्छ”, सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाइते

पर्वत – म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा नौ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन् । उनीहरूको नाम ठेगाना खुलिसकेको छैन ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिनुभयो । अन्यको अवस्था भने सामान्य रहेको छ । अहिले सबै जना घाइतेको उपचार पर्वत अस्पतालमा भइरहेको छ । पानी परेर चिप्लो भएको सडकमा तीव्र गतिमा गुडेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।

कामपाको तीन विद्यालयमा सञ्चालन हुन सकेन शिक्षामा सीप कार्यक्रम

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सुरु गरेको शिक्षामा सीप कार्यक्रम तीन माध्यमिक विद्यालयमा सञ्चालन हुन सकेको छैन ।

कामपाले गत वैशाख १२ देखि सुरु गरेको शिक्षामा सीप कार्यक्रम सञ्चालन हुन नसकेको विद्यालयमा केन्द्रीय कारागारमा रहेको जगन्नाथ माध्यमिक विद्यालय, नन्दी रात्रि माध्यमिक र केन्द्रीय बहिरा माध्यमिक विद्यालय रहेका छन् ।

जगन्नाथका विद्यार्थीलाई विद्यालय बाहिर लैजान नमिल्ने, नन्दी रात्रि माविका विद्यालय रातिको समयमा सञ्चालन हुँदा समय अपुग हुनाले र केन्द्रीय बहिरा विद्यालयमा विद्यार्थीको आवश्यकताअनुसार शिक्षक उपलब्ध गराउन नसक्दा ती विद्यालयमा शिक्षामा सीपअन्तर्गत अतिरिक्त कार्यक्रम सञ्चालन हुन नसकेको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो ।

कामपाले यही शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको माध्यमिक तह कक्षा ९ देखि १२ सम्म सीपमूलक कार्यक्रम थालनी गरेको छ । कामपामा ८९ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । उन्साठ्ठी माध्यमिक विद्यालयमध्ये ५६ वटामा मात्र शिक्षामा सीप कार्यक्रम सञ्चालन भइरहेको छ ।

पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित कामपाले उक्त कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रमका लागि चालु आवका लागि रु एक लाख विनियोजन गरिएको थियो भने आगामी आवका लागि प्रत्येक विद्यालय रु दुई लाखका दरले बजेट विनियोजन गर्ने कामपाको तयारी छ ।

कार्यक्रमअन्तर्गत ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली, काष्ठकला, पाक कलालगायत १० क्षेत्र निर्धारण गरिएका छन् । फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान वायरिङ एण्ड इलेक्ट्रिकल, विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने परम्परागत कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिएको छ । सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेर मान्यता प्राप्त संस्था र निकायबाट प्रशिक्षण प्रशिक्षक तालिम लिएका व्यक्ति उक्त कार्यक्रमको प्रशिक्षक भएका छन् ।

दक्ष जनशक्ति उत्पादन गर्न कामपाले ११औँ नगरसभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिएको छ ।

उडिरहेको जहाजमा फोटो र भिडिओ खिच्ने बुद्ध एअरका पाइलटलाई कारबाही

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एअरका एक पाइलट फोटो र भिडियो खिचेको भन्दै कारबाही गरेको छ ।

प्राधिकरणले उडिरहेको जहाजमा पाइलटले फोटो भिडिओ खिचि हवाई सुरक्षामा आँच आउने गतिविधि गरेकाले कारबाही गरिएको बताएको छ।

प्राधिकरणका प्रवक्रा जगन्नाथ निरौलाले जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै एक्टिभ ड्युटीबाट हटाइएको बताउनु भयो । उहाँका अनुसार यस विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण सोधेको छ। पाइलटको नाम भने खुलाउन नमिल्ने उहाँले बताउनु भयो।

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन – भरतपुर महानगरपालिका–१५ जानकी चोकमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय वीरेन्द्र राउत रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ना ३ च ११९ नम्बरको बोलेरोले बा ८५ प ३६२७ नम्बरको मोसालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते राउतको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजकुमार नेपाली घाइते भएको कार्यालयले जनाएको छ । घाइते नेपालीको अवस्था खतरामुक्त छ । घाइते नेपालीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

१० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही : मन्त्री बस्नेत

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कारबाही गर्ने बताउनुभएको छ । नेशनल बाथरोग सेन्टरको १०औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कानुनअनुसार कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्टाइ निःशुल्क उपचार नगर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिनुभयो ।

यही जेठ २१ गते मन्त्रालयले सबै अस्पताल र सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्री बस्नेतले विपन्न, गरिब र असहाय बिरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको भन्दै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय बिरामीको लागि १० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अस्पतालहरूले विपन्नलाई निःशुल्क उपचार गरे नगरेको स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने भनाइ छ ।

“अस्पतालले १० प्रतिशत शय्यामा गरिब, विपन्नलाई निःशुल्क उपचार दिएको छ वा छैन अनुगमन गर्छौँ । यदि ति अस्पतालले निःशुल्क उपचार नगरेको पाइएकामा कारबाही गछौँ”, उहाँले भन्नुभयो । आर्थिक अभावको कारणले कुनै पनि बिरामीले औषधि उपचार गर्न नपाएर ज्यान गुमाउन नपरोस्मा भन्दै त्यस्ता बिरामीका लागि मन्त्रालयले आकस्मिक उपचार कोषको व्यवस्था गर्ने बताउनुभयो ।
रोग लागेपछि उपचारमा ठूलो धन राशि खर्च गर्नुको सट्टा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले आहार, बिहार र शारीरिक व्यायाम ठीक ढङ्गले गर्न सके बाथलगायत धेरै रोगबाट बच्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ बाथरोग विज्ञ डा विनित वैद्यले नेशनल बाथरोग सेन्टरले सरकारले पनि हातेमालो गरेर बाथरोग नियन्त्रण र रोकथाम गर्ने सक्ने बताउनुभयो । सेन्टरका कार्यकारी निर्देशक रोशन कक्षपतिले आगामी पाँच वर्षभित्र सेन्टरले थप सात जिल्लामा सेवा विस्तार गर्ने जानकारी दिनुभयो । सो अवसरमा बस्नेतले नेशनल बाथरोग सेन्टरले सञ्चालन गर्न लागेको थर्मोग्राफी सेवा शुभारम्भ गर्नुभयो ।

भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ । गोरखा सांस्कृतिक समाजको आठौँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै सरकारले भ्रष्टाचार विरोधी अभियान र सुशासनलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

“स्वार्थ, भ्रष्टाचार र व्यक्तिवादी प्रवृत्तिको विरुद्ध अभियानलाई बुलन्द पार्नका लागि लेखक, कलाकार, साहित्यकार र पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ”, उहाँले भन्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले लामो सङ्घर्षपछि प्राप्त उपलब्धिलाई बचाउँदै नेपाललाई विकास र समृद्धिको बाटोमा लैजानका लागि सरकार दृढ रहेको बताउनुभयो । समृद्ध मुलुक निर्माण गर्न सरकार अगाडि बढेको उहाँको भनाइ छ । उहाँले गोरखालाई नमूना जिल्ला बनाउनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मौलिक पहिचान र संस्कृतिको रक्षामा लाग्ने कलाकारहरु अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले गोरखाको कला, संस्कृतिको, भाषा, भेषभूषाको रक्षा गर्दै गोरखालाई सांस्कृतिक नगर निर्माण गर्नका लागि सरकारले ‘गोरखा सम्पदा वस्ती’ निर्माण गर्न लागेको उल्लेख गर्नुभयो । गोरखाको सांस्कृतिक पहिचानको रक्षा गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले नेपाल निर्माणमा ऐतिहासिक भूमिकादेखि लोकतान्त्रिक आन्दोलनमा गोरखाको महत्वपूर्ण भूमिका रहेकाले गोरखा विश्व जगतमा स्थापित हुन सकेको बताउनुभयो । संस्कृति बचाउने जिम्मा लेखक, कलाकार र पत्रकारको भएको मन्त्री श्रेष्ठको भनाइ थियो ।

गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुमन पण्डितले गोरखाबाट काठमाडौँ आएर छरिएर रहेका साहित्यकार, गीतकार, सङ्गीतकार, गायक, गायिका, चित्रकार, मूर्तिकार नाट्यकर्मी, पत्रकार तथा कला संस्कृतिको क्षेत्रमा क्रियाशिल सम्पूर्णलाई गोलबन्ध गरी आठ वर्ष पहिले गोरखा सांस्कृतिक समाज स्थापना गरिएको जानकारी दिनुभयो ।

सो समाजले साधारणसभा तथा अधिवेशनका क्रममा मेल्मादेवी सङ्गीत सम्मान वरिष्ठ गायक रामचन्द्र अर्याल, शान्ति मास्के कला सम्मान वरिष्ठ कलाकार रश्मी भट्ट, युवा प्रतिभा सम्मान मरिचमान श्रेष्ठ (बल्छी धु्रर्वे) र पत्रकार सम्मान वरिष्ठ पत्रकार राजेन्द्र बानियाँलाई प्रदान गरेको थियो । उहाँहरुलाई दोसल्ला, नगद रु पाँच हजार पाँच सय ५५ र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।

राष्ट्रपतिद्वारा पूर्वमन्त्री पाण्डेको परिवारलाई समवेदना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री मीना पाण्डेको परिवारजनलाई समवेदना पठाउनुभएको छ । पाण्डेको ७२ वर्षीया उमेरमा जेठ १३ गते निधन भएको थियो ।

राष्ट्रपति पौडेलले समवेदना सन्देशमा सादा र सरल जीवन शैलीकी धनी पाण्डेका योगदानले हरेक नेपालीलाई प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । पाण्डेको निधनले लोकतान्त्रिक आन्दोलन र मुलुकलाई अपूरणीय क्षति पुगेको राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले पुरुषलाई समेत आन्दोलनमा होमिन कठिन अवस्थामा पाण्डेले आफूलाई लोकतन्त्रको आन्दोलनमा समाहित गर्नु सबैका लागि गौरवको विषय भएको सन्देशमा उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलका तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारको तर्फबाट छोरी अवज्ञा पौडेल र संज्ञा पोखरेलले पाण्डेको निवास गौशालामा पुगेर दुःख व्यक्त गर्नुभएको हो ।

पौडेलले पठाएको सन्देशमा भनिएको छ, “विसं २०३६ को जनमत सङ्ग्र्रह घोषणा गराउन बाध्य पार्ने विद्यार्थी आन्दोलनमा पाण्डेले नेतृत्वदायी भूमिका निर्वाह गरेको र सो बेलाको विद्यार्थी आन्दोलनमा पाण्डे पक्राउ परेको मेरो मानसपटलमा अझै ताजै छ ।” बिपी, गणेशमानजस्ता नेताहरूले प्रवासको जीवन भोगेको देखेपछि आफूमा थप विद्रोही भावना पलाएको भनेर बेलाबेलामा आफूहरूलाई सुनाउने गरेको पनि राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ ।

सङ्घीयता कार्यान्वयनमा पिआइएस पोर्टल महत्वपूर्ण : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय किताब खाना ललितपुरद्वारा तयार गरिएको ‘प्रादेशिक पिआइएस पोर्टल हस्तान्तरण’ कार्यक्रममा उहाँले पोर्टलको निर्माणबाट प्रदेशका र स्थानीय निकायका कर्मचारीको मनोबल उच्च भएको धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले पोर्टलमा कर्मचारीको व्यक्तिगत विवरण व्यवस्थित राख्ने एवं सेवापछि पाउनेपर्ने सम्पूर्ण विषयका अभिलेखीकरणबारे जानकारी दिनुभयो । उहाँले प्रदेशमा राष्ट्रिय किताब खानाको स्थापनाले सङ्घीय संरचनाको कार्यान्वयनलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले हस्तान्तरण भएको प्रादेशिक पोर्टललाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि मुख्यमन्त्री कार्यालय तथा सम्बन्धित महाशाखालाई निर्देशन दिनुभयो ।

प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले प्रदेश पोर्टल सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पाटो भएको धारणा राख्नुभयो । राष्ट्रिय किताब खानाका उपनिर्देशक सुशीला अर्यालले पोर्टलले प्रदेशको जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो । उपनिर्देशक अर्यालले मुख्यमन्त्री कार्यालयका सचिव माधवप्रसाद पोखरेललाई उक्त पोर्टल हस्तान्तरण गर्नुभएको थियो ।

‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहर सङ्कलन

काठमाडौँ – यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समापन समारोहमा ती हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदरपत्र प्रदान गर्नुभयो । उक्त सफाइ टोलीमा संलग्न पूmर्वा शेर्पा र आङ्कामी शेर्पाको भने हिमाल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो ।

प्रधानसेनापति शर्माले सो अवसरमा उहाँहरूका प्रतिनिधिलाई कदरपत्र प्रदान गर्दै दुवैका सन्ततिलाई १२ कक्षासम्म पढाइका लागि लाग्ने सम्पूर्ण खर्च सेनाले व्यहोर्ने घोषणा गर्नुभयो । वातावरण दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा हिमाल आरोहणका क्रममा ज्यान गुमाउनको आत्माको चिरशान्तिको कामना गर्दै लामा गुरुले शान्ति पाठ गर्नुभयो ।

कार्यक्रममा प्रधानसेनापति शर्माले विकट र प्रतिकूल अवस्थामा पनि फोहर सङ्कलन र आरोहणको साहसिक कार्य पूरा गरेको भनी अभियानमा संलग्न सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “अभियान प्रकृति र पर्यावरण जोगाउने कार्यसँग जोडिएको छ, प्रकृति संरक्षणको विषय तत्काल लाभ नदेखिए पनि भावी पुस्ताका लागि ठूलो सम्पत्ति हुनेछ, आफूले गरेको फोहर आफैँले व्यवस्थापन गर्ने कार्यलाई कडाइका साथ लागू गर्नुपर्छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मानिसको जीवन पद्धतिसँग जोडिएको तथा प्रकृतिको दीगोपन र पर्यावरण जोगाउनुपर्छ भन्ने उद्देश्य रहेको अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय प्रमुख सुन्दरकुमार पाण्डेले हिमालको स्वच्छता कायम गर्ने उद्देश्यले सञ्चालन भएको अभियानमा सरकारी तथा गैरसरकारी संस्थाबाट महत्त्वपूर्ण साथ सहयोग प्राप्त भएको बताउनुुभयो । हिमाल सफाइ कार्य जटिल र साहसिक भएको जनाउँदै उहाँले हिमाललाई वातावनुकूलित तुल्याउने पहिलो शर्त रहेको बताउनुभयो ।

अभियान सञ्चालनका क्रममा स्थानीय शेर्पाले केही समय भए पनि रोजगारी प्राप्त गरेको तथा अरु आरोहीलाई पनि उत्प्रेरणा प्राप्त भएको सो अवसरमा जानकारी दिइयो ।

नेपाल वातावरण पत्रकार सङ्घका अध्यक्ष रोशनी अधिकारीले वातावरण संरक्षण र हिमालको सुन्दरता कायम राख्ने सिलसिलामा सञ्चालन भएको अभियान फोहर सङ्कलन र पर्यावरण संरक्षणका लागि प्रचारप्रसारका हिसाबले महत्त्वपूर्ण सावित हुने धारणा व्यक्त गर्नुभयो ।

सफा हिमाल अभियानका क्रममा बिरामी भएका छमध्ये चार जनाको अहिले भारतको मुम्बईमा उपचार भइरहेको छ । अभियानबाट जैविक विविधता र पर्यावरण संरक्षणमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ । सेनाले सन् २०१९ बाट सुरु गरेको सफा हिमाल अभियानका क्रममा हालसम्म एक सय नौ टन फोहर सङ्कलन भइसकेको छ ।

सफा र स्वच्छ वातावरणसहितको पृथ्वी भावी पुस्तालाई हस्तान्तरण गर्नु आजको चुनौती भएको त्यसमा संलग्न व्यक्तिले प्रतिक्रिया दिनुभएको छ । पर्यटन व्यवसायी लाक्पा सोनाम शेर्पाले जलवायु परिवर्तनबाट उत्पन्न सङ्कटबाट प्रभावित हिमालको ओज र चमक कायम राख्न अभियान कोसेढुङ्गा सावित हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हिमाल आरोहणबाट राजस्वमा ठूलो योगदान पु¥याएको छ । हिमालको सुन्दरता कायम राख्न बनेका ऐन, नियम र अनुगमन कडाइका साथ हुनुपर्छ ।”

सो अवसरमा अभियानमा संलग्न विभिन्न क्षेत्रमा महानुभावलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरियो ।

बजेटमाथि सामान्य छलफल प्रारम्भ

काठमाडौँ – प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा उक्त छलफलमाथि सांसदहरूले दलीय आधारमा आफ्ना धारणा व्यक्त गरिरहुनभएको छ । मन्त्री डा महतले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गर्नुभएको थियो ।

शोक प्रस्ताव पारित

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज उक्त शोक प्रस्ताव सर्वसम्मपतिले पारित गरेको व्यहोरा जानकारी गराउनुभएको हो । संविधानसभा सदस्य टिवडेवाल २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उहाँकोे हेम्स अस्पताल, धुम्बाराहीमा उपचारको क्रममा २०७९ साल चैत २२ गते बुधबार निधन भएको थियो । बैठकले टिवडेवालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ २३ गते ११ बजेर ११ मिनेटमा बस्नेछ ।

जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

ललितपुरको बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले विधान अधिवेशनलाई सफल बनाउन राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको हो ।

जसपाको राजनीतिक समिति सदस्य न्हुच्छेलाल महर्जनलाई समितिको उपसंयोजकको जिम्मेवारी तोकिएको छ । समिति समस्यमा महेश चौरसिया, सीताराम साह, योगेन्द्रराय यादव, पवन राय, विनोद विश्वकर्मा, सुरेश मण्डल, पासाङ शेर्पा, धनेश्वर साह, अर्जुन लम्साल, दुर्गामणि सुवेदी, ओमकृष्ण श्रेष्ठ, मनिकर कार्की, विश्वासदीप तिगेला, उपेन्द्र साहलाई चयन गरिएको छ ।

जसपा नेपालका प्रवक्ता मनिस सुमन र प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतलाई उपसमितिको आमन्त्रित समस्य राखिएको छ ।

जसपाले आगामी असार १०, ११ र १२ गतेका लागि काठमाडौँमा प्रथम विधान अधिवेशन आह्वान गरेको छ । यसअघिको केन्द्रीय समिति बैठकले उक्त विधान अधिवेशनमा पार्टी सम्बद्ध देशैभरीबाट सहभागी हुने सात सय ७८ जना प्रतिनिधिको चयन गरिसकेको छ ।

पार्टीले अभ्यासमा ल्याएका विभिन्न सांगठनिक संरचना बारे विधान अधिवेशनले टुंगो लगाउनेछ ।

नागरिकता विधेयक पुनः संसदमा ल्याउनुपर्छ : नेता ओली

काठमाडौँ – प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले अघिल्लो संसदले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गर्नु विधिसम्मत नभएको र त्यसलाई पुनः संसदमा ल्याउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँको भनाई थियो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमण सफल हुन नसकेको टिप्पणी पनि गर्नुभयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमण फितलो प्रदर्शन भएको आरोप पनि लगाउनुभयो ।

भारतसँगको द्विपक्षीय वार्तामा बस्दा नेपालको परराष्ट्र मन्त्रालयको प्रतिनिधित्व नदेखिएको तथा महत्वपूर्ण वार्ताका समयमा समेत मन्त्री, सचिव, शिष्टाचार महापाल पनि बैठकस्थलमा नदेखिने गरेकाले भारतको औपचारिक भ्रमण फितलो हुन पुगेको उहाँले आरोप थियो ।

पूर्वप्रधानमन्त्री नेता ओलीले असंलग्न परराष्ट्र नीतिलाई नेपालले विर्सन नहुने सुझाव पनि दिनुभयो ।

बङ्गलादेश र भारतले जमिन लेनदेन गरेर सीमा समस्या समाधान नभएको दृष्टान्त पेश गर्दै नेता ओलीले जमिन दिएर बङ्गलादेश मोडेलमा सीमा समस्या हल गर्न खोजिएको भन्ने चर्चा बजारमा सुनिएकाले यस्तो कुरा सोच्न पनि नसकिने उहाँले बताउनुभयो ।

यस्तै उच्चस्तरीय भ्रमणका समयमा आफ्ना छिमेकीसँग आफ्नो जमिन मिचिएकोदेखि लिएर आफूलाई परेका सबै अप्ठ्यारोहरुलाई राख्नुपर्ने उहाँको सुझाव थियो । नेता ओलीले नेपाली भूमि लिपुलेक, लिम्पियाधुराको सीमाको नक्शा दुवै सदनबाट सर्वसम्मतले पारित भएको र ब्रिटिश संसदमा रहेको प्रमाणले पनि यसको पुष्टि गर्ने बताउनुभयो ।

बाथरोग उपचारमा संलग्न संस्था र पीडितलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ – नेशनल बाथरोग सेन्टरले ‘बाथरोगको जनचेतना घरघरमा पुर्‍याउँ, सामाजिक उत्तरदायित्व पूरा गरौँ’ भन्ने नाराका साथ आज आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ ।

काठमाडौँ, ललितपुर, पोखरालगायतका आठ स्थानबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो सेन्टरले अब थप सात स्थानमा सेवा बिस्तार गरी बाथरोगको उपचार गर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आज यहाँ सेन्टरको वार्षिकोत्सव उद्घाटन गर्दै औषधोपचारसहित जनचेतना जगाएर बाथरोग पीडितका पक्षमा सक्रियरूपमा खटिने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सक्दो सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

जनताको मौलिक अधिकारका रूपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री बस्नेतले स्वस्थ आहारविहार र जीवनशैली अपनाइ रोग लाग्न नदिनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले काठमाडौँसहित मुलुकका प्रमुख आठ सहरबाट सेवा प्रवाह गर्दै आएकामा अब थप सात वटा सहरमा सेवा बिस्तार गरिने जानकारी दिनुभयो । उहाँले अहिले काठमाडौँबाट दैनिक दुई सय बिरामीलाई उपचार गराउँदै आएकामा सेवा बिस्तारपछि छ सय जनाको उपचार गरिने जानकारी दिनुभयो ।

बाथरोग विशेषज्ञ विनित वैद्यले विश्वस्वास्थ्य सङ्गठनका अनुसार नसर्ने रोगअन्तर्गतको बाथरोगबाट १० प्रतिशत जनता प्रभावित हुने भएबमोजिम नेपालमा करिब ३० लाख जनता यस रोगबाट प्रभावित हुनसक्ने बताउँदै त्यसको आधा जनसङ्ख्यामात्र स्वास्थ्योपचारका क्रममा आएका छन्, भन्नुभयो । सो अवसरमा अस्पतालमा स्थापनाकालदेखि कार्यरतसहित वर्ष उत्कृष्ट जनशक्तिलाई पुरस्कृत गरिएको थियो ।

प्रधानमन्त्रीलाई केपी ओलीले भन्नुभयो : छोरीलाई फर्स्ट लेडी माने नातिनी सेकेन्ड लेडी ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा अनेकन कूटनीतिक कमजोरी छताछुल्ल भएको बताउनु भएको छ। 

सोमबर प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले भारत भ्रमणका क्रममा पिएका रुपमा रहेकी छोरीलाई प्रचण्डले फर्स्ट लेडीका रुपमा प्रस्तुत गरेको भन्दै आलोचना गर्नुभयो ।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा पिए छोरी छेउमा देखिन्छिन्। तर परराष्ट्र मन्त्री छैन, परराष्ट्र सचिव छैनन्’, उहाँले भन्नुभयो, ‘फर्स्ट लेडी भनेको श्रीमती हुन्छन्, छोरा वा छोरी हुँदैनन्। फर्स्ट लेडी भनेर परिवारका सदस्यलाई भनिँदैन।’

अध्यक्ष ओलीले यदि भ्रमणमा छोरा लाने हो भने फर्स्ट जेन्टलम्यान भन्ने अवस्था आउने पनि बताउनु भयो । उहाँले भन्नभयो, ‘छोरालाई लाने हो भने फर्स्ट जेन्टलम्यान भन्ने त ? नातिनी लिएर जाँदा सेकेन्ड लेडी भन्ने त । वार्तामा परराष्ट्र मन्त्री हुनुपर्छ, मन्त्रीहरु हुनुपर्छ। शिष्टाचार महापाल हुनुपर्छ।’

प्रधानमन्त्रीको भ्रमणमा अफिसियल मेमेरीका लागि टिपोट समेत नगरिएको भन्दै ‌ओलीले आलोचना गर्नुभयो। उहाँले भ्रमणबारे पनि प्रश्न उठाउनु भयो ।

‘यो भ्रमण फ्यामिली कि लागि हो कि धार्मिक हो कि पर्यटकीय हो कि के हो?’, उहाँले भन्नुभयो, ‘यस्तो खालको कमजोर कूटनीतिक उपस्थिति यसअघि देखिएको थिएन।’

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भारत भ्रमणका क्रममा भएका सम्झौता र  नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धमा सांसदहरुको जिज्ञासामा नेपाल र भारत दुवै पक्ष सँगै बसेर नक्शा राखेर छलफल गर्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।

“भारत भ्रमणका क्रममा कैयाँै विषयमा छलफल भएको छ, राष्ट्रिय हित  र स्वाधिनताको विषयमा हामी चिन्तित छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “नक्शाको विषयमा पनि कुरा भएको छ, म धर्मनिरपेक्षतावादी हुँ, जनताको धार्मिक आस्थालाई अपमान हुने काम गर्नुहँुदैन, मेरो प्राथमिकता चाहीँ फोहर व्यवस्थापन थियो ।” 

प्रधानमन्त्री  दाहालले  नागरिकता विधेयक दुवै सदनले पारित गरेर पठाएको हुनाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएको बताउनुभयो । नागरिकता विधेयक प्रमाणीकरण नहुँदा धेरै नागरिक नागरिकताविहीन भएका उहाँको भनाइ थियो ।

 “दुवै सदनले विधिसम्मत तरिकाले पठाएको विधेयक अर्को संसद्ले मान्दिन भन्न मिल्दैन”, प्रधानमन्त्री  दाहालले भन्नुभयो, “सदनले दुई पटक प्रमाणीकरणका लागि पठाएको हो ।”

बैठकमा सांसद सूर्यबहादुर थापाले अघिल्लो सदनले पठाएको विधेयक वर्तमान सदनलाई जानकारी नदिइकन  प्रमाणीकरण गर्नु कानुनी प्रक्रिया गलत भएको भन्दै संसद्को ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसदहरु विश्वप्रकाश शर्मा र रघुजी पन्तले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष वर्तमान राष्ट्रियसभा र प्रतिनिधिसभा अध्यक्षले प्रमाणित गरेर पठाउनुपर्ने सुझाव दिनुभयो ।

सांसदहरु गोकर्ण विष्ट, पद्म गिरी, प्रेम सुवाल, रघुजी पन्त, योगेशकुमार भट्टराई, राजेन्द्रप्रसाद लिङ्देन, ज्ञानेन्द्रबहादुर शाही, ठाकुर गैरे, शिशिर खनाल, रवि लामिछाने, जुलीकुमारी महतो, सुनिता बराल, बिजुला रायमाझीलगायतले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सीमा सुरक्षा, नागरिकता विधेयक संसद्लाई छलेर प्रमाणीकरण गरेको आरोप लगाउँदै प्रश्न उठाएका थिए । 
 

भारत भ्रमणमा हिन्दुराष्ट्र र राजसंस्थाबारे कुनै छलफलको छैन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा हिन्दुराष्ट्र र राजसंस्थाबारे छलफल नभएको बताउनुभएकाे छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसको जिज्ञासालाई सम्बोधन गर्दै उनले आफ्नो भारत भ्रमणमा नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाबारे छलफल  भएको बताउनुभएकाे हाे । 

दुई देशबीचको आपसी सम्बन्ध र चासोको विषयमा मात्र छलफल भएको भन्दै उहाँले सीमा विवाद समाधानदेखि पारवनका विषयमा कुराकानी भएको जानकारी दिनुभयाे। 

प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : अध्यक्ष ओली

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनाएको बताउनुभएकाे छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले उत्साहित बनाउनुपर्नेमा देशलाई तरंगित बनाएको बताउनुभएकाे हाे । 

यही १७–२० जेठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको भ्रमण गर्नुभएकाे थियाे । सो भ्रमणमा बंगलादेशसम्म जाने बाटोका लागि नेपाली भूमि साट्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले देशलाई तरंगित बनाएको अध्यक्ष ओलीको भनाइ छ । 

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

काठमाडौँ – सङ्घीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन एकाइ रहने प्रस्तावप्रति निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतबाट यही जेठ १५ गते प्रस्तुत बजेटमा आएको उक्त प्रस्ताव पूर्व परामर्श र तयारीबिना आएको भन्दै आयोगले आपत्ती जनाएको छ । उक्त प्रस्तावले संवैधानिक स्वायत्तता र स्वतन्त्रतामाथि प्रहार गरेको भन्दै आयोगले आज सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपालको संविधानको धारा २४६ को उपधारा (१) मा आयोगले निर्वाचन प्रयोजनका लागि मतदाताको नामावली तयार गर्ने व्यवस्थाबमोजिम मतदाता दर्ता, बाह्य मतदाता दर्ता तथा नामावली अद्यावधिकलगायत कार्य जिल्ला निर्वाचन कार्यालयबाट हुँदै आएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ३४ ले निर्वाचनमा मतदाता नामावली सङ्कलन गर्ने, अद्यावधिक गर्ने, मतदान गर्ने प्रक्रिया र मतदाताको मताधिकार सम्बन्धमा मतदातालाई जानकारी गराउन आवश्यकता अनुसार मतदाता जागरण कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी आयोगलाई तोकिकामा ती सम्पूर्ण कार्य ७० जिल्ला निर्वाचन कार्यालय र सात प्रदेश निर्वाचन कार्यालयबाट सम्पादन हुँदै आएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७७ माघ २६ गतेको निर्णयानुसार स्वीकृत भएको निर्वाचन आयोगको नयाँ सङ्गठन संरचना र दरबन्दी विवरण अनुसार सात प्रदेशमा प्रदेश निर्वाचन कार्यालय र ७० जिल्लामा जिल्ला निर्वाचन कार्यालय सञ्चालनमा रही यी कार्यालयमा हाल पाँच सय ५३ जनशक्ति कार्यरत छन् ।

हाल १९ जिल्लामा निर्वाचनको आफ्नै कार्यालय भवन र आठ जिल्लामा भोगाधिकार प्राप्त सरकारी भवन गरी २७ जिल्लामा आयोगको सरकारी भवन छन् । तीन जिल्लामा निर्वाचन कार्यालयको भवन निर्माण भइरहेको छ, भने १२ जिल्लामा भवन निर्माणका लागि आयोगको आफ्नै जग्गा रहेको र सबै जिल्ला निर्वाचन कार्यालयमा चार पाङ्ग्रे सवारीसाधन रहेको आयोगले जनाएको छ ।

यस्तै सबै जिल्ला निर्वाचन कार्यालयमा हालसम्म निर्वाचनमा प्रयोग भएका र पुनः प्रयोग हुने निर्वाचन सामग्री भण्डारण गरी राखिएको छ । यी कार्यालयका लागि वार्षिक रू ३० करोड २१ लाख बजेट खर्च हुँदै आएको छ । बजेटको उक्त प्रस्तावबारे आज आयोगको कान्तिपथस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्त र दुवै निकायका सचिवसहित उच्चाधिकारीबीच छलफल भएको छ ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जिल्ला प्रशासन कार्यालयको मौजुदा कार्यसम्पादन र कार्यबोझले गर्दा सेवा प्रवाह प्रभावकारी हुन नसकेको अनुभूति भइरहेको सन्दर्भमा आयोगको सम्पूर्ण कार्यको दायित्व जिल्ला प्रशासन कार्यालयमार्फत गराउनुपर्दा यसले थप अस्तव्यस्तता निम्त्याउने बताउनुभयो । यसले निर्वाचन व्यवस्थापनको कार्य प्रभावित हुनसक्ने उहाँको भनाइ थियो ।

प्रमुख आयुक्त थपलियाले आयोगले सरकारको कार्यकारी संयन्त्रमार्फत काम गर्ने गराउने कार्यले बालिग मताधिकार र आवधिक निर्वाचनमार्फत जनताको प्रतिस्प्रर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई संस्थागत गर्न क्रमशः अवरोध सिर्जना हुँदै जाने स्पष्ट गर्नुभयो । उहाँले जिल्लास्थित निर्वाचन कार्यालय खारेजीको प्रस्तावले आयोगको संचरना र कार्यशैली एकात्मक शासन प्रणालीको अवधारणा अनुसारको हुन जाने हुँदा सङ्घीय लोकतान्त्रिक शासन प्रणाली अनुसार तीन तहको आवधिक निर्वाचनका लागि नियमित कार्यसम्पादन हुन नसक्ने जनाउँनुभयो ।

प्रमुख आयुक्त थपलियाले आयोगले संविधानको मर्म, मूल्य र मान्यता अनुसार स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्यसम्पादन गर्न सहज नहुने आग्रह गर्नुभयो । साथै जिल्लास्थिति आयोगको संरचना नहुँदा आगामी दिनमा सम्पन्न हुने निर्वाचनमा अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालको निर्वाचनको वैधतामाथि प्रश्न चिन्ह उठ्नसक्ने आयोगको भनाइ छ ।

पञ्चायतकालीन गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा रहेको निर्वाचनसम्बन्धी काम गर्ने शाखाबाट सम्पादन भएकामा निर्वाचन कार्य स्वच्छ र स्वतन्त्र ढङ्गले प्रभावकारी रुपमा सम्पादन हुन नसकेको महसुस गरी आर्थिक वर्ष २०५४/५५ मा पहिलो पटक पूर्वाञ्चलको मोरङ, मध्यमाञ्चलको मकवानपुर, पश्चिमाञ्चलको कास्की, मध्यपश्चिमाञ्चलको बाँके र सुदूरपश्चिमाञ्चलको कैलालीमा राजपत्राङ्गित तृतीय श्रेणीको कार्यालय प्रमुखको नेतृत्वमा जिल्ला निर्वाचन कार्यालयको स्थापना गरिएको थियो ।

“लोकतन्त्रको आधारलाई संस्थागत र मजबुद बनाइ जनतामा निहीत सार्वभौमसत्ताको समुचित प्रयोग गर्न नागरिक अधिकारको प्रत्याभूति दिने निर्वाचन आयोगका जिल्लास्थित संरचनाको कार्य नियमित रहेको सन्दर्भमा खर्च कटौतीको बहानामा यस्ता संरचनालाई निशाना बनाइनु उचित हुँदैन”, प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “संवैधानिक व्यवस्था र कानुनी प्रावधान बमोजिम स्थापना भएका निर्वाचन आयोगका जिल्लास्थित संरचना निर्वाचन आयोगको निर्णय र सिफारिसबिना बजेट वक्तव्यमार्फत खारेज गर्ने प्रस्ताव शक्ति सन्तुलन, नियन्त्रण र शक्ति पृथकीकरणको सिद्धान्त एवं संविधान तथा कानुन प्रतिकूल छ ।”

जिल्ला निर्वाचन कार्यालय खारेज भएमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरी आवधिक रुपमा अन्तिम मतदाता नामावली तयार गर्ने, मतदाता नामावली अभिलेख गरी त्यस्तो नामावली आयोगमा पठाउने र अन्तिम मतदाता नामावली निर्वाचन कार्यालयमार्फत सम्बन्धित स्थानीय तहमा पठाउने कार्य प्रभावित हुनसक्ने आयोगको भनाइ छ ।

मतदाताले मतदाता परिचयपत्रको प्रतिलिपिको लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने र सोको आधारमा आयोगले उक्त परिचयपत्र जिल्ला निर्वाचन कार्यालयमार्फत उपलब्ध गराउने, राष्ट्रियसभा सदस्य निर्वाचनको लागि स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख पदमा तत्काल कायम रहेका व्यक्तिको अद्यावधिक विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट माग गरी अद्यावधिक गर्ने, नियमित रुपमा मतदाता प्रमाणित गरिदिने कार्यसम्पादन गर्ने, निर्वाचित बाहेकका सम्बन्धित उम्मेदवारले पेस गरेको सम्पत्ति विवरण निर्वाचन कार्यालयमा सुरक्षितसाथ राख्ने, मतदानस्थल तथा केन्द्र थपघट गर्नुपर्ने आवश्यकता र औचित्यसहित आयोगमा लेखी पठाउने र मतदानस्थलको नियमित मर्मत–सम्भार र महिला, समावेशी तथा अपाङ्गतामैत्री बनाउन पहल गर्ने कार्य पनि प्रभावित हुने आयोगको भनाइ छ ।

निर्वाचनमा भाग लिने राजनीतिक दल वा उम्मेदवारले सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने, निर्वाचनसम्बन्धी सिलबन्दी गरिएका कागजात निर्वाचन अधिकारीको जिम्मामा सुरक्षितसाथ राखिने र सम्मानित अदालत वा अन्य निकायमा कानुन बमोजिम उपलब्ध गराउने र जिल्लास्थित राजनीतिक दलको विवरण अध्यावधिक गर्ने कार्य पनि प्रभावित हुन सक्ने आयोगले सरकारलाई स्पष्ट पारेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले गरेको चिन्ताप्रति उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले आफू पनि गम्भीर रहेको जनाउँदै सो विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गर्ने आश्वासन दिनुभएको थियो ।

कार्यक्रममा निर्वाचनसम्बन्धी एकीकृत विधेयक, विगतमा ल्याइएको राजनीतिक दलसम्बन्धी अध्याधेश खारेजीपछि देखिएको समस्या, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलनका विषयमा पनि छलफल भएको थियो ।

नेपाली काँग्रेस को नीति महाधिवेशन भदौको अन्तिममा : गगन कुमार थापा

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नीति महाधिवेशन भदौको अन्तिम साता गर्ने बताएका छन् ।

काँग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन दाङ पुगेका महामन्त्री थापाले भने,‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्त्वपूर्ण निर्णयहरू गर्छौ।’

महाधिवेशन सकिएको ६ महिना पछि नीति महाधिवेशन गर्ने भनिए पनि हालसम्म मिति तोकिएको छैन । महाधिवेशन सकिएको डेढ वर्ष बितेको छ ।