`

प्रधानमन्त्रीलाई केपी ओलीले भन्नुभयो : छोरीलाई फर्स्ट लेडी माने नातिनी सेकेन्ड लेडी ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा अनेकन कूटनीतिक कमजोरी छताछुल्ल भएको बताउनु भएको छ। 

सोमबर प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले भारत भ्रमणका क्रममा पिएका रुपमा रहेकी छोरीलाई प्रचण्डले फर्स्ट लेडीका रुपमा प्रस्तुत गरेको भन्दै आलोचना गर्नुभयो ।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा पिए छोरी छेउमा देखिन्छिन्। तर परराष्ट्र मन्त्री छैन, परराष्ट्र सचिव छैनन्’, उहाँले भन्नुभयो, ‘फर्स्ट लेडी भनेको श्रीमती हुन्छन्, छोरा वा छोरी हुँदैनन्। फर्स्ट लेडी भनेर परिवारका सदस्यलाई भनिँदैन।’

अध्यक्ष ओलीले यदि भ्रमणमा छोरा लाने हो भने फर्स्ट जेन्टलम्यान भन्ने अवस्था आउने पनि बताउनु भयो । उहाँले भन्नभयो, ‘छोरालाई लाने हो भने फर्स्ट जेन्टलम्यान भन्ने त ? नातिनी लिएर जाँदा सेकेन्ड लेडी भन्ने त । वार्तामा परराष्ट्र मन्त्री हुनुपर्छ, मन्त्रीहरु हुनुपर्छ। शिष्टाचार महापाल हुनुपर्छ।’

प्रधानमन्त्रीको भ्रमणमा अफिसियल मेमेरीका लागि टिपोट समेत नगरिएको भन्दै ‌ओलीले आलोचना गर्नुभयो। उहाँले भ्रमणबारे पनि प्रश्न उठाउनु भयो ।

‘यो भ्रमण फ्यामिली कि लागि हो कि धार्मिक हो कि पर्यटकीय हो कि के हो?’, उहाँले भन्नुभयो, ‘यस्तो खालको कमजोर कूटनीतिक उपस्थिति यसअघि देखिएको थिएन।’

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भारत भ्रमणका क्रममा भएका सम्झौता र  नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धमा सांसदहरुको जिज्ञासामा नेपाल र भारत दुवै पक्ष सँगै बसेर नक्शा राखेर छलफल गर्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।

“भारत भ्रमणका क्रममा कैयाँै विषयमा छलफल भएको छ, राष्ट्रिय हित  र स्वाधिनताको विषयमा हामी चिन्तित छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “नक्शाको विषयमा पनि कुरा भएको छ, म धर्मनिरपेक्षतावादी हुँ, जनताको धार्मिक आस्थालाई अपमान हुने काम गर्नुहँुदैन, मेरो प्राथमिकता चाहीँ फोहर व्यवस्थापन थियो ।” 

प्रधानमन्त्री  दाहालले  नागरिकता विधेयक दुवै सदनले पारित गरेर पठाएको हुनाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएको बताउनुभयो । नागरिकता विधेयक प्रमाणीकरण नहुँदा धेरै नागरिक नागरिकताविहीन भएका उहाँको भनाइ थियो ।

 “दुवै सदनले विधिसम्मत तरिकाले पठाएको विधेयक अर्को संसद्ले मान्दिन भन्न मिल्दैन”, प्रधानमन्त्री  दाहालले भन्नुभयो, “सदनले दुई पटक प्रमाणीकरणका लागि पठाएको हो ।”

बैठकमा सांसद सूर्यबहादुर थापाले अघिल्लो सदनले पठाएको विधेयक वर्तमान सदनलाई जानकारी नदिइकन  प्रमाणीकरण गर्नु कानुनी प्रक्रिया गलत भएको भन्दै संसद्को ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसदहरु विश्वप्रकाश शर्मा र रघुजी पन्तले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष वर्तमान राष्ट्रियसभा र प्रतिनिधिसभा अध्यक्षले प्रमाणित गरेर पठाउनुपर्ने सुझाव दिनुभयो ।

सांसदहरु गोकर्ण विष्ट, पद्म गिरी, प्रेम सुवाल, रघुजी पन्त, योगेशकुमार भट्टराई, राजेन्द्रप्रसाद लिङ्देन, ज्ञानेन्द्रबहादुर शाही, ठाकुर गैरे, शिशिर खनाल, रवि लामिछाने, जुलीकुमारी महतो, सुनिता बराल, बिजुला रायमाझीलगायतले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सीमा सुरक्षा, नागरिकता विधेयक संसद्लाई छलेर प्रमाणीकरण गरेको आरोप लगाउँदै प्रश्न उठाएका थिए । 
 

भारत भ्रमणमा हिन्दुराष्ट्र र राजसंस्थाबारे कुनै छलफलको छैन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा हिन्दुराष्ट्र र राजसंस्थाबारे छलफल नभएको बताउनुभएकाे छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसको जिज्ञासालाई सम्बोधन गर्दै उनले आफ्नो भारत भ्रमणमा नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाबारे छलफल  भएको बताउनुभएकाे हाे । 

दुई देशबीचको आपसी सम्बन्ध र चासोको विषयमा मात्र छलफल भएको भन्दै उहाँले सीमा विवाद समाधानदेखि पारवनका विषयमा कुराकानी भएको जानकारी दिनुभयाे। 

प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : अध्यक्ष ओली

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनाएको बताउनुभएकाे छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले उत्साहित बनाउनुपर्नेमा देशलाई तरंगित बनाएको बताउनुभएकाे हाे । 

यही १७–२० जेठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको भ्रमण गर्नुभएकाे थियाे । सो भ्रमणमा बंगलादेशसम्म जाने बाटोका लागि नेपाली भूमि साट्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले देशलाई तरंगित बनाएको अध्यक्ष ओलीको भनाइ छ । 

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

काठमाडौँ – सङ्घीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन एकाइ रहने प्रस्तावप्रति निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतबाट यही जेठ १५ गते प्रस्तुत बजेटमा आएको उक्त प्रस्ताव पूर्व परामर्श र तयारीबिना आएको भन्दै आयोगले आपत्ती जनाएको छ । उक्त प्रस्तावले संवैधानिक स्वायत्तता र स्वतन्त्रतामाथि प्रहार गरेको भन्दै आयोगले आज सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपालको संविधानको धारा २४६ को उपधारा (१) मा आयोगले निर्वाचन प्रयोजनका लागि मतदाताको नामावली तयार गर्ने व्यवस्थाबमोजिम मतदाता दर्ता, बाह्य मतदाता दर्ता तथा नामावली अद्यावधिकलगायत कार्य जिल्ला निर्वाचन कार्यालयबाट हुँदै आएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ३४ ले निर्वाचनमा मतदाता नामावली सङ्कलन गर्ने, अद्यावधिक गर्ने, मतदान गर्ने प्रक्रिया र मतदाताको मताधिकार सम्बन्धमा मतदातालाई जानकारी गराउन आवश्यकता अनुसार मतदाता जागरण कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी आयोगलाई तोकिकामा ती सम्पूर्ण कार्य ७० जिल्ला निर्वाचन कार्यालय र सात प्रदेश निर्वाचन कार्यालयबाट सम्पादन हुँदै आएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७७ माघ २६ गतेको निर्णयानुसार स्वीकृत भएको निर्वाचन आयोगको नयाँ सङ्गठन संरचना र दरबन्दी विवरण अनुसार सात प्रदेशमा प्रदेश निर्वाचन कार्यालय र ७० जिल्लामा जिल्ला निर्वाचन कार्यालय सञ्चालनमा रही यी कार्यालयमा हाल पाँच सय ५३ जनशक्ति कार्यरत छन् ।

हाल १९ जिल्लामा निर्वाचनको आफ्नै कार्यालय भवन र आठ जिल्लामा भोगाधिकार प्राप्त सरकारी भवन गरी २७ जिल्लामा आयोगको सरकारी भवन छन् । तीन जिल्लामा निर्वाचन कार्यालयको भवन निर्माण भइरहेको छ, भने १२ जिल्लामा भवन निर्माणका लागि आयोगको आफ्नै जग्गा रहेको र सबै जिल्ला निर्वाचन कार्यालयमा चार पाङ्ग्रे सवारीसाधन रहेको आयोगले जनाएको छ ।

यस्तै सबै जिल्ला निर्वाचन कार्यालयमा हालसम्म निर्वाचनमा प्रयोग भएका र पुनः प्रयोग हुने निर्वाचन सामग्री भण्डारण गरी राखिएको छ । यी कार्यालयका लागि वार्षिक रू ३० करोड २१ लाख बजेट खर्च हुँदै आएको छ । बजेटको उक्त प्रस्तावबारे आज आयोगको कान्तिपथस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्त र दुवै निकायका सचिवसहित उच्चाधिकारीबीच छलफल भएको छ ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जिल्ला प्रशासन कार्यालयको मौजुदा कार्यसम्पादन र कार्यबोझले गर्दा सेवा प्रवाह प्रभावकारी हुन नसकेको अनुभूति भइरहेको सन्दर्भमा आयोगको सम्पूर्ण कार्यको दायित्व जिल्ला प्रशासन कार्यालयमार्फत गराउनुपर्दा यसले थप अस्तव्यस्तता निम्त्याउने बताउनुभयो । यसले निर्वाचन व्यवस्थापनको कार्य प्रभावित हुनसक्ने उहाँको भनाइ थियो ।

प्रमुख आयुक्त थपलियाले आयोगले सरकारको कार्यकारी संयन्त्रमार्फत काम गर्ने गराउने कार्यले बालिग मताधिकार र आवधिक निर्वाचनमार्फत जनताको प्रतिस्प्रर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई संस्थागत गर्न क्रमशः अवरोध सिर्जना हुँदै जाने स्पष्ट गर्नुभयो । उहाँले जिल्लास्थित निर्वाचन कार्यालय खारेजीको प्रस्तावले आयोगको संचरना र कार्यशैली एकात्मक शासन प्रणालीको अवधारणा अनुसारको हुन जाने हुँदा सङ्घीय लोकतान्त्रिक शासन प्रणाली अनुसार तीन तहको आवधिक निर्वाचनका लागि नियमित कार्यसम्पादन हुन नसक्ने जनाउँनुभयो ।

प्रमुख आयुक्त थपलियाले आयोगले संविधानको मर्म, मूल्य र मान्यता अनुसार स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्यसम्पादन गर्न सहज नहुने आग्रह गर्नुभयो । साथै जिल्लास्थिति आयोगको संरचना नहुँदा आगामी दिनमा सम्पन्न हुने निर्वाचनमा अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालको निर्वाचनको वैधतामाथि प्रश्न चिन्ह उठ्नसक्ने आयोगको भनाइ छ ।

पञ्चायतकालीन गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा रहेको निर्वाचनसम्बन्धी काम गर्ने शाखाबाट सम्पादन भएकामा निर्वाचन कार्य स्वच्छ र स्वतन्त्र ढङ्गले प्रभावकारी रुपमा सम्पादन हुन नसकेको महसुस गरी आर्थिक वर्ष २०५४/५५ मा पहिलो पटक पूर्वाञ्चलको मोरङ, मध्यमाञ्चलको मकवानपुर, पश्चिमाञ्चलको कास्की, मध्यपश्चिमाञ्चलको बाँके र सुदूरपश्चिमाञ्चलको कैलालीमा राजपत्राङ्गित तृतीय श्रेणीको कार्यालय प्रमुखको नेतृत्वमा जिल्ला निर्वाचन कार्यालयको स्थापना गरिएको थियो ।

“लोकतन्त्रको आधारलाई संस्थागत र मजबुद बनाइ जनतामा निहीत सार्वभौमसत्ताको समुचित प्रयोग गर्न नागरिक अधिकारको प्रत्याभूति दिने निर्वाचन आयोगका जिल्लास्थित संरचनाको कार्य नियमित रहेको सन्दर्भमा खर्च कटौतीको बहानामा यस्ता संरचनालाई निशाना बनाइनु उचित हुँदैन”, प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “संवैधानिक व्यवस्था र कानुनी प्रावधान बमोजिम स्थापना भएका निर्वाचन आयोगका जिल्लास्थित संरचना निर्वाचन आयोगको निर्णय र सिफारिसबिना बजेट वक्तव्यमार्फत खारेज गर्ने प्रस्ताव शक्ति सन्तुलन, नियन्त्रण र शक्ति पृथकीकरणको सिद्धान्त एवं संविधान तथा कानुन प्रतिकूल छ ।”

जिल्ला निर्वाचन कार्यालय खारेज भएमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरी आवधिक रुपमा अन्तिम मतदाता नामावली तयार गर्ने, मतदाता नामावली अभिलेख गरी त्यस्तो नामावली आयोगमा पठाउने र अन्तिम मतदाता नामावली निर्वाचन कार्यालयमार्फत सम्बन्धित स्थानीय तहमा पठाउने कार्य प्रभावित हुनसक्ने आयोगको भनाइ छ ।

मतदाताले मतदाता परिचयपत्रको प्रतिलिपिको लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने र सोको आधारमा आयोगले उक्त परिचयपत्र जिल्ला निर्वाचन कार्यालयमार्फत उपलब्ध गराउने, राष्ट्रियसभा सदस्य निर्वाचनको लागि स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख पदमा तत्काल कायम रहेका व्यक्तिको अद्यावधिक विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट माग गरी अद्यावधिक गर्ने, नियमित रुपमा मतदाता प्रमाणित गरिदिने कार्यसम्पादन गर्ने, निर्वाचित बाहेकका सम्बन्धित उम्मेदवारले पेस गरेको सम्पत्ति विवरण निर्वाचन कार्यालयमा सुरक्षितसाथ राख्ने, मतदानस्थल तथा केन्द्र थपघट गर्नुपर्ने आवश्यकता र औचित्यसहित आयोगमा लेखी पठाउने र मतदानस्थलको नियमित मर्मत–सम्भार र महिला, समावेशी तथा अपाङ्गतामैत्री बनाउन पहल गर्ने कार्य पनि प्रभावित हुने आयोगको भनाइ छ ।

निर्वाचनमा भाग लिने राजनीतिक दल वा उम्मेदवारले सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने, निर्वाचनसम्बन्धी सिलबन्दी गरिएका कागजात निर्वाचन अधिकारीको जिम्मामा सुरक्षितसाथ राखिने र सम्मानित अदालत वा अन्य निकायमा कानुन बमोजिम उपलब्ध गराउने र जिल्लास्थित राजनीतिक दलको विवरण अध्यावधिक गर्ने कार्य पनि प्रभावित हुन सक्ने आयोगले सरकारलाई स्पष्ट पारेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले गरेको चिन्ताप्रति उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले आफू पनि गम्भीर रहेको जनाउँदै सो विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गर्ने आश्वासन दिनुभएको थियो ।

कार्यक्रममा निर्वाचनसम्बन्धी एकीकृत विधेयक, विगतमा ल्याइएको राजनीतिक दलसम्बन्धी अध्याधेश खारेजीपछि देखिएको समस्या, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलनका विषयमा पनि छलफल भएको थियो ।

नेपाली काँग्रेस को नीति महाधिवेशन भदौको अन्तिममा : गगन कुमार थापा

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नीति महाधिवेशन भदौको अन्तिम साता गर्ने बताएका छन् ।

काँग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन दाङ पुगेका महामन्त्री थापाले भने,‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्त्वपूर्ण निर्णयहरू गर्छौ।’

महाधिवेशन सकिएको ६ महिना पछि नीति महाधिवेशन गर्ने भनिए पनि हालसम्म मिति तोकिएको छैन । महाधिवेशन सकिएको डेढ वर्ष बितेको छ ।

मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण गरियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दुई दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिबाट संविधान मिचिएको बताउनुभएकाे  छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उहाँले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधान मिचिएको बताउनुभयाे । 

 संघीय संसदको दुवै सदनले दुईपटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको नागरिकता विधेयक रोकेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको बताउनुभयाे ।  मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन वर्तमान राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

सरकार परिवर्तनसँग आउने नयाँ सरकारले पूर्ववर्ती सरकारले गरेका कार्यलाई निरन्तरा दिनुपर्ने भन्दै उहाँले संसद पनि अविछिन्न उत्तराधिकार संस्था रहेको बताउनुभयाे । 
 

नेपालमा लगानी बढाउन उद्योग मन्त्रीको आग्रह

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उच्च प्रतिफल प्राप्त गर्ने क्षेत्रमा लगानी बढाउन इटाली सरकारसँग आग्रह गर्नुभएको छ ।

इटालीका गैर–आवासीय राजदूत भिन्सेन्जो डि लुकाले आज गर्नुभएको शिष्टाचार भेटमा मन्त्री रिजालले सूचना प्रविधि, पूर्वाधार विकास, सेवा क्षेत्र, जलविद्युत्, कृषि क्षेत्रलगायतमा लगानी बढाउन र विविधिकरण गर्न आग्रह गर्नुभएको हो । इटालीबाट भित्रिएको प्रत्यक्ष विदेशी लगानीको प्रशंसा गर्दै उहाँले नेपालमा लगानी भित्र्याउन राजदूतले अधिकतम प्रयास गर्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग तथा व्यापार र लगानीलगायत विषयमा छलफल भएको थियो । भेटमा मन्त्री रिजालले नेपाल र इटालीले विभिन्न विषयमा साझा धारणा राखेको र बहुपक्षीय फोरममा मिलेर काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि यस्तो सम्बन्ध कायम रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भूकम्प तथा कोभिड–१९ महामारीका समयमा इटाली सरकारले गरेको सहयोगको सरहाना गर्नुभयो । नेपाल अल्पविकसित राष्ट्रको स्थितिबाट स्तरोन्नति हुने चरणमा रहेको उल्लेख गर्दै मन्त्री रिजालले आगामी दिनमा इटाली सरकारले आफ्नो सहयोगको दायरा बढाउने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा गैरआवासीय राजदूत लुकाले नेपालसँग इटालीको व्यापार बढेको उल्लेख गर्दै इटालीमा उत्पादन भएका नयाँ प्रविधिका मेसिन नेपालमा आपूर्ति गर्न सकिने बताउनुभयो । नेपाल र इटालीबीच द्विपक्षीय सम्बन्धबाट ब्यापार लगानी वृद्धि गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो । इटाली सरकारले २०३० सालमा ‘रोम एक्स्पो’ आयोजना गर्न लागेको जानकारी दिँदै राजदूत लुकाले उक्त एक्स्पोमा नेपाली कला संस्कृति र पहिचानसहित नेपालको पनि सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।

नागरिकता विधेयक प्रमाणीकरणबारे स्पष्टीकरण दिइरहेका बेला सदनमा होहल्ला

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणबारे स्पष्टीकरण दिइरहेका बेला सदनमा होहल्ला भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले फेरि सदनमा ल्याउने विकल्प भनेको अघिल्लो सदनले गरेको निर्णयको अपमान भएको बताए ।

त्यसलगत्तै एमालेका सांसद सूर्य थापाले आपत्ति जनाए । सांसद थापाको आपत्तिपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच होहल्ला चल्यो । एमालेका अर्का सांसद रघु पन्तले अदालतले अन्तरिम आदेश दिइसकेको बेलामा प्रधानमन्त्रीले व्याख्या गर्न नमिल्ने बताए ।

प्रधानमन्त्रीले आफ्नो मन्तव्य दिँदा निकै झ्वाँक देखाए : योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीले आफ्नो मन्तव्य दिँदा निकै झ्वाँक देखाएको बताए ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नागरिकता विधेयकको कन्टेनमा बहस गर्न आफूहरू तयार रहेको बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो मन्तव्य दिँदा निकै झ्वाँक देखाउनुभयो । यसरी झ्वाँक देखाउने छुट तपाईंलाई छैन । नागरिकता विधेयक प्रक्रियागत हिसाबले हामीले प्रश्न उठाएका हौं । कन्टेनमा छलफल गर्न हामी तयार छौं ।’

भूमि साटफेरको विषयमा आफैँले बोलेको कुरालाई नढाँट्न उनले सुझाए ।

नागरिकता विधेयकको दोष प्रधानमन्त्रीले लिनुपर्छ: रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता विधेयक राष्ट्रपतिबाट  प्रमाणीकरण गर्न लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍को अधिकार खोसेको बताउनु भएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले विधेयकको विरोध गरिरहेका पार्टीहरूले नागरिकता पाउनु हुँदैन भन्ने कुराको वकालत गरिरहेका भन्ने भाष्य सरकारले बनाएको भन्दै यसको दोष प्रधानमन्त्री लिनुपर्ने बताउनु भएको हो।

सभापति लामिछाने भन्नुभयो, ‘संसदको अधिकार छलेर विधेयक प्रमाणीकरण गराउनुभयो। प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा निर्णय गराएर राष्ट्रपतिमार्फत विधेयक पास गराउँदा संसदको अधिकार मात्रै छिनिएको छैन। यो संसदमा आएको भए महिलामाथि भएको विभेदबारे यो संसदले कुरा उठाउँथ्यो । हामी विभेदबारे बोल्न चाहन्थ्यौँ। महिलामाथि विभेद भएकोबारे आवाज उठ्थ्यो। तर यो विधेयकको विरोध गरिरहेका पार्टीहरूले नागरिकता पाउनु हुँदैन भन्ने कुराको वकालत गरिरहेका छन् भन्ने भाष्य स्थापित भएको छ। यो दोष प्रधानमन्त्रीले लिनुपर्छ।’

उहाँले प्रधानमन्त्रीका कारण यो प्रकरण अदालत पुगेर संसद्को अधिकार हनन भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यहीकारण अब यसको दोषी प्रधानमन्त्री नै हो।’

प्रधानमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य : कला प्रदर्शन गर्न माहिर छन्

काठमाडौँ – नेकपा एमालेका नेता तथा गोकुल बास्कोटाले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा टिप्पणी गर्दै राष्ट्रपतिलाई बडामहाराजधिराज बनाएको हो ? भन्दै प्रश्न गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री कला प्रदर्शन गर्न माहिर रहेको भन्दै व्यंग्य गरेका छन् ।

भारत भ्रमणको विषयमा प्रधानमन्त्रीले सीमाको विषय गिजोलेको उनको टिप्पणी छ ।

उनले भने, ‘बुद्धिजीवी देखाएर बंगलादेश मोडेलजस्तो गर्न खोजेजस्तो देखियो । तपाईंले भन्नुभयो- बंगलादेश मोडलमा कुराकानी भएको छ । बंगलादेश कुनै बेला अग्रेजसँग विभाजन हुँदा भारतकै थियो । तर, नेपाल छुट्टै राज्य हो भारतभन्दा पहिला यो हेक्का हुनुपर्छ । कालापानीबाट सेना हटाउनुपर्छ भन्ने विश्वास थियो तर यसलाई गिजोल्ने काम भएको छ ।’

प्रधानमन्त्री प्रचण्डलाई नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो ? : महेश बर्तौला

काठमाडौँ – नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे दिएको जवाफ सदनलाई ढाँटेको बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले रोष्ट्रममा उभिएर सिंगो देश र सदनलाई ढाँट्नुभयो, झूट बोल्नुभयो । उहाँले भनेकै विषयमा हामीले हिजैदेखि विषयवस्तु राखेका थियौं । उहाँले अन्तर्वार्ताको क्रमममा नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, सुस्ता, कालापानीलगायत विषयलाई सट्टपट्टा गर्न सकिने अभिव्यक्ति दिनुभयो । यो हामीले भनेका होइनौं प्रधानमन्त्रीको मुखबाट आएको विषय हो । नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो ?’

राष्ट्रिय सभाको को बैठक २ घण्टापछि बस्नेगरी सारियो

काठमाडौं – राष्ट्रिय सभाको सोमबारका लागि बोलाइएको बैठक २ घण्टापछि बस्नेगरी सरेको छ ।

सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक अपरान्ह ३ बजेर १ मिनेटमा बस्नेगरी सरेको राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले जानकारी दिए । 

‘मिति २०८० साल जेठ २२ गते सोमबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २२ गते सोमबार अपराह्न ३ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सचिव अर्यालले जारी गरेको सूचनामा उल्लेख छ । 

गण्डकीको नीति तथा कार्यक्रम : दुर्गम पश्चिम बागलुङ क्षेत्रलाई प्राथमिकता

बलेवा – बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य केन्द्रलाई प्रदेश सरकार मातहतमा ल्याएर स्तरोन्नति गरिने भएको हो । जिल्लाको पश्चिम क्षेत्रका बिरामीको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखा अस्पताललाई प्रदेश सरकार मातहत ल्याएर स्तरोन्नति गरिने उल्लेख गर्नुभयो । बुर्तिबाङमा अस्पताल बने पश्चिम क्षेत्रका चार स्थानीय तह लाभान्वित हुनेछन् ।

ढोरपाटन नगरपालिका तथा बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका सर्वसाधारणलाई अस्पताल पुग्न एक सय किलोमिटर टाढा पुग्नुपर्ने बाध्यता छ । यहाँका बिरामीले सदरमुकाम बागलुङ बजार पुग्न बुर्तिबाङ बजारदेखि ९१ किलोमिटरको दूरी पार गर्नुपर्छ भने छिमेकी जिल्ला गुल्मीका अस्पताल पुग्नसमेत घन्टौँ यात्रा गर्नुपर्छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बागलुङ क्षेत्र नं २ प्रदेशसभा ‘ख’का प्रदेशसभा सदस्य दोर्ण कुँवरले सरकारले जिल्लाको पश्चिमको माग सम्बोधन गरेको उल्लेख गर्नुभएको छ ।

“हाम्रो अभ्यास पास भएको छ, बागलुङको पश्चिम क्षेत्रका जनताको आवाज सुनिने गरी नीति तथा कार्यक्रममा उत्तरगङ्गा जलाशययुक्त आयोजनालाई अगाडि बढाउने, सालझन्डी ढोरपाटन सडकको बुर्तिबाङ–ढोरपाटन खण्डको यथाशीघ्र सम्पन्न गर्न, काठेखोला–गल्कोट सुरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन गर्ने, प्राथमिक ट्रमा सेन्टर स्थापना गर्ने र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति नीति तथा कार्यक्रममा समावेश छ”, कुँवरले भन्नुभएको छ ।

प्रदेश सरकारले धौलागिरि अस्पताल बागलुङमा दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्न प्राथमिक ट्रमा सेन्टर स्थापना गर्ने नीतिमा उल्लेख गरेको छ । यहाँ ट्रमा सेन्टर स्थापना गर्ने चर्चा चलेको भने सात वर्ष बितेको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य हरि खड्काको नाममा ट्रमा सेन्टर सञ्चालनका लागि बागलुङ नगरपालिकाले नीति बनाएको थियो । चार वर्षअघि सङ्घ सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गरेको ट्रमा सेन्टरको विषय प्रदेश सरकारको नीतिमा परेको हो ।

यस्तै प्रदेश सरकारले संस्थागत सुत्केरीलाई जोड दिएको छ । प्रदेश प्रमुख गुरुङले ‘संस्थागत सुत्केरी प्रदेश’ घोषणा गर्ने नीति लिएको उल्लेख गर्नुभयो । स्वास्थ्य बीमामा प्रदेशको सहभागिता, पत्रकारका लागि स्वास्थ्य बीमा, १० वर्ष मुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारलगायतका महत्वकाङ्क्षी कार्यक्रम समावेश गरिएका छन् । क्यान्सरको उपचारमा थप रु एक लाख सहयोग, मुटु र बालरोग अस्पताल स्थापना गर्ने नीति सार्वजनिक गरिएको छ ।

‘भैंसी’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं – सभामुख देवराज घिमिरेले भारत भ्रमण पूरा गरी स्वदेश फर्किंदा प्रधानमन्त्री ‘भैंसी चढेर आउनु भयो’ भन्ने शब्द रेकर्डबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिनुभएकाे छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनका क्रममा बोलिएको ‘भैंसी चढेर’ शब्द तथा अन्य सांसदहरुले बोलेको ‘प्रधानमन्त्री भैंसी चढेर आउनुभयो’ भन्ने शब्द हटाउन सचिवालयलाई निर्देशनदिनुभएकाे हाे । 

यस विषयले बैठकमा केहीबेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच नियमापत्ति जनाउन होडबाजी नै चलेको थियो ।

“यो सदनमा मजाक चलिरहेको छ ?” : रवि लामिछाने

काठमाडौं – रास्वपाका सांसद रवि लामिछानेले प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रश्न राख्न कम समय दिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले संवेदनशील विषयबारे प्रश्न राख्न कम समय दिएको भताउँदै भने, “यो सदनमा मजाक चलिरहेको छ ?”

उनले‍ आफ्नो पार्टीका सांसद शिशिर खनालले बोलेको ‘भैँसी चढेर आएको’ शब्दालवी हटाउनुपर्ने कुनै कारण नहरेको पनि बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री स्वयंमले ‘भैँसी चढेको’बारे बोलेको भन्दै उनले रास्वपा सांसदले बोलेको शब्दावली हटाउन नहुने बताएका हुन् ।

यस वर्ष छ सय झोलुङ्गे पुल निर्माण हुने

काठमाडौँ – यस वर्ष देशभर झण्डै छ सय झोलुङ्गे पुल निर्माण गरिने भएको छ । एक दिनमा दुई झोलुङ्गे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम सङ्ख्यामा सम्पन्न हुन लागेको हो ।

पुराना क्रमागत काम भए पनि नयाँ पुलमा बजेट कमीले गर्दा नयाँ ठेक्का आह्वान गर्न नसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । दुई वर्ष पहिले र गतवर्ष सुरु भएका पुल निर्माण सम्पन्न गर्न लागिएको छ । पुल निर्माण तीनै तहबाट हुने भए पनि छुट्टाछुट्टै नभएर आपसी समन्वयमा हुने गरेको विभागको भनाइ छ ।

“स्थानीय तहले साना, प्रदेशले मध्य र सङ्घीय सरकारले लामा पुल निर्माण गर्दै आएको छ”, विभागका उपमहानिर्देशक अशोककुमार साहले भन्नुभयो, “सङ्घले ठूला तथा दुई वटा डाँडा जोड्ने वा प्राविधिक रुपमा कठीन र धेरै स्पान चाहिने पुल बनाउने गर्छ ।” एउटा पुल बनिसक्न कम्तीमा दुईदेखि तीन वर्ष लाग्छ ।

कुनै योजनामा बजेट परेपछि पहिलो वर्ष त्यसको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन गरिने र खरिद प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो । पुल सानो भएमा खरिद प्रक्रियामा गएको एक वर्षमै र ठूलो भएमा दुई वर्षमै सम्पन्न गरिने छ । यस वर्ष ग्रामीण क्षेत्रमा बढी झोलुङ्गे पुल निर्माण गर्ने योजना छ । खासगरी कर्णालीको, सुदूर पश्चिम क्षेत्रमा बढी जोड रहेको उपमहानिर्देशक साहको भनाइ थियो ।

। गत वर्षसम्म विभागले देशभरका तुईन विस्थापित गर्न प्राथमिकता दिएको थियो । अब तुइन हटाउनका लागि झोलुङ्गे पुल बनाउनुपर्ने भएको उहाँले जानकारी दिनुभयो ।
उपमहानिर्देशक साहले भन्नुभयो, “ पहिले पहिचान भएका सबै तुइनका ठाउँमा झोलुङ्गे पुल बनाइसकिएको छ ।” विभागले खासगरी ग्रामीण भेगका नागरिकलाई नदी वारपार गर्न सजिलो होस् भनी पुल निर्माण गर्दै आएको छ । झोलुङ्गे पुल बनेको केही वर्षभित्रै सडक पुल बन्ने ठाउँभन्दा पनि अझै केही वर्ष नबन्ने देखिएको स्थानलाई प्राथमिकतामा राखिएको विभागले बताउँदै आएको छ ।

चार पाँच वर्षमा नै त्यहाँ मोटर गुड्ने पुल बनाइने स्थानमा झोलुङ्गे पुलको औचित्य नभएको उपमहानिर्देशक साहले बताउनुभयो । चालु आब र आगामी आबमा पनि अब तराईमा झोलुङ्गे पुलको योजना कम रहेको छ । काठमाडौँ उपत्यकामा भने त्यस्तो योजना नै छैन ।

‘भैँसी चढेर आएको’ भनेपछि माओवादी सांसदहरूले गरे विरोध

काठमाडौँ – रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ भनेर चर्चा भइरहेको बताएपछि माओवादीले सांसदहरूले उठेर विरोध गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी दिनुभयाे । यसपछि प्रश्नोत्तर कार्यक्रमअनुसार रास्वपा सांसद खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट आउँदा पोखरा विमानस्थलमा अवतरण गर्नुहोला भनेको त भैंसी चढेर आउनु परेकाे भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमा आपत्ति जनाउनुभयाे । उहाँले अमर्यादित शब्द रेकर्डबाट हटाउन माग गर्नुभयाे । 

यसपछि एमालेसहितका सांसदहरु उठेर विरोध जनाए । यसपछि सत्तापक्ष र प्रतिपक्षी सांसदहरुले एकअर्काविरुद्ध हुटिङको शैलीमा प्रस्तुत भए । 

नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने काम समेत सुरु भएको जानकारी गराउनुभएको छ । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का उपाध्यक्ष आरके शर्माको नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको भेटमा उहाँले कार्यविधि तथा नियमावली बनाउने क्रममा गैरआवासीय नेपालीका सुझावलाई मनन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

‘एक पटकको नेपाली, सधैँ नेपाली’ भइरहने र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आफ्नो मन छोएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिन थप सशक्तरुपमा अघि बढ्न सङ्घका प्रतिनिधिलाई आग्रह गर्नुभयो । 

उहाँले गैरआवासीय नेपालीले उठाउँदै आएको मताधिकारको विषय नीति तथा कार्यक्रममार्फत सम्बोधन भइसकेको र केही प्राविधिक विषयमा गृहकार्य भइरहेको जानकारी दिँदै छिट्टै कार्यान्वयनमा आउने विश्वास दिलाउनुभयो । 

भेटमा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली सङ्घमार्फत धन्यवाद व्यक्त गरेकामा खुसी व्यक्त गर्दै लामो रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणीकरण भएको बताउनुभयो । उहाँले गैरआवासीय नेपाली नागरिकताको वितरणको शुभारम्भ एक भव्य कार्यक्रमकाबीच गरिने जानकारी दिनुभयो । 

सङ्घीय संसद्ले दुई पटक पारित गरेर गत भदौमा प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी छाड्नुभएको थियो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गर्नुभएको थियो ।

भेटमा उपाध्यक्ष शर्माले नागरिकता विधेयक प्रमाणीकरणबाट आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकामा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

 उहाँले विश्वभर रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्याउन थप दायित्वबोध भएको उल्लेख गर्दै ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्र सार्थक बन्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले गैरआवासीय नेपालीको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीका लागि समेत वातावरण तयार भएको र यथाशीघ्र नागरिकतासम्बन्धी कार्यविधि बनाई कार्यान्वयनको चरणमा पु¥याउन आग्रह गर्नुभयो ।

सङ्घले गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिका लागि नीति तथा कार्यक्रममार्फत सम्बोधन गरेकामा धन्यवाद व्यक्त गर्दै कार्यान्वयनमा लैजानका लागि समेत अनुरोध गरेको छ । सानासाना विप्रेषणलाई एकीकृत गरेर एक स्वायत्त प्राधिकरण गठन गरी स्वच्छ ऊर्जा तथा राष्ट्रिय गौरवका आयोजनामा सुनिश्चित प्रतिफलसहितको लगानीको वातावरण बनाउन सङ्घको आग्रह छ । 

सो क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीले नागरिकता नियमावली तर्जुमाको चरणमा रहेको जानकारी दिँदै पहिलो गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट प्रदान गर्ने योजना रहेको बताउनुभयो । सो अवसरमा महान्यायाधिवक्ता डा दीनमणि पोखरेलकोसमेत उपस्थिति थियो ।
 

सीमाबारे मैले कहीँपनि विकल्प यो हुन्छ भनेको छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाबारे कहीँ कोही कन्फुजन नहुन अनुरोध गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूले सीमाबारे कहीँपनि विकल्प नदिएको बताएका हुन् ।

उनले भने, ‘मैले कहीँपनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्तावित गरेको छैन । प्रष्ट होस्, ‘कहीँ कोही कन्फुजन नहोस् । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठूलो कुरा हो भन्नेमा म स्पष्ट छु ।’

आफूले सोहीअनुसार आफ्नो भूमिका खेलेको पनि प्रचण्डले बताए । उनले सिधा तथ्य भएको कुरालाई नघुमाउन पनि अनुरोध गरे । तुलनात्मक रुपमा भ्रमण सफल मात्रै नभई ऐतिहासिक भएको पनि प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले खोजे संसदमा ओली र देउवा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रमुख प्रतिपक्षी दलको नेताहरुको खोजी गरेका छन् ।

सोमबार भएको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी दिने क्ममा उनले प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीको खोजी गरेका हुन् ।

उनले समान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने भनेपछि सत्ता र प्रचिपक्षीका नेताहरु उपस्थित हुने परम्परा रहेको बताए । उनले अघि भने, ‘प्रतिपक्षी दलको प्रमुख नेता र सत्ता गठबन्धनको नेता हुनुहुन्न । अलिकति नमिठो महसुस भएको छ ।’

उनी बोल्दाबोल्दै ओली आइपुगे र प्रचण्डले खुसी व्यक्त गरे ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने संसदमा देखिएनन् ।

मृत्यु भइसकेको ऐन ब्यूँताउन सकिन्न : योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मृत भइसकेको नागरिकतासम्बन्धी ऐन राष्ट्रपतिले प्रमाणीकरण गर्न नसक्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै विरोध जनाउँदै एमाले सांसद भट्टराईलै मृत्यु भइसकेको ऐन ब्यूँताउन नसकिने र ब्यूँताउन सकिने भए द्वन्द्वकालमा मारिएका १७ हजार मानिसलाई ब्यूँताउन चुनौती दिनुभयो ।

“नागरिकताको समस्या वर्षाैंदेखिको हो, यो एउटाले अर्को राजनीतिक दललाई आरोप लगाउने विषय होइन, यो दीर्घकालीनरुपमा समाधान गर्नुपर्छ भन्नेमा एमाले स्पष्ट विचार छ”, एमाले सचिव भट्टराईले भन्नुभयो, “नागरिकले नागरिकता पाउनुपर्छ, गैर नागरिकले नागरिकता नपाउन भन्ने मूल कुरा छ, वंशजका आधारमा नागरिकता पाउनुपर्छ भन्ने विषय नै एमालले नै उठाएर संविधानमा राखिएको हो ।”

सर्वोच्च अदालतले आइतबार प्रारम्भिक सुनुवाइ गर्दै उक्त ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरिसकेको छ । “ऐनमा महिला अधिकारमाथि हस्तक्षेप गरिएको छ, त्यसमा हाम्रो गम्भीर ध्यानाकर्षण थियो”, सचिव भट्टराइले भन्नुभयो, “एमालले वैवाहिक अङ्गीकृतलाई सात वर्ष राख्नुपर्छ भनेको र नागरिकता जस्तो विषयमा खेलबाड गर्नु हुँदैन ।”

उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) को अध्यक्ष राष्ट्रले भ्रमणका बारेमा प्रश्न नउठेको, सीमा, मधेसका विषयमा कुरा गर्दा परिस्थिति बिग्रिन्छ कि भन्ने सोचमा छलफल नगरेको आरोप लगाउनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउँदै हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डलाई योगेश भट्टराईको प्रश्न : मृत्यु भइसकेको विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार कसले दियो ?

काठमाडौँ – नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्रीलाई विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । उनले राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साएको आरोप लगाए।

उनले संसदको नियमावलीमा संसदको विशेषाधिकार हनन गर्नेमाथि कारबाही हुनसक्ने बताए।

उनले भने, ‘राष्ट्रपति संसदभन्दामाथि हुँदैन। राष्ट्रपति भनेको संसदको अंग हो। राष्ट्रपतिले संसदबाट पठाएको प्रमाणित गरेको विधेयक प्रमाणीकरण गर्ने अधिकार छ।’

मृत्यु भइसकेको विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्यूताउन नमिल्ने बताए।

उनले भने, ‘मृत्यु भइसकेको विधेयकलाई व्यूझाउने तागत प्रधानमन्त्रीसँग छ भने प्रधानमन्त्रीसँग मेरो अनुरोध छ द्वद्वकालमा मारिका १७ हजार मान्छेलाई पनि ब्यूताइदिउन त एकपटक। यदि ब्यूताउने अधिकार छ भने।’

संसद बैठकमा प्रतिपक्षी दलको विरोध

काठमाडौं – प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले विरोध जनाएका छन् ।

बैठक सुरु भएसँगै एमालेसहित प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाए । यसपछि सभामुख देवराज घिमिरेले एमालेका सांसद योगेश भट्टराईलाई बोल्न समय दिनुभयाे ।  

अहिले सांसद भट्टराईले बोलिरहेका छन् । हालै प्रमाणीकरण गरेको नागरिकता विधेयकले वास्तविक नेपालीले भन्दा बाहिरकाले नागरिकता पाउने गरी ल्याएको उहाँको भनाइ छ ।

सोमबार सुनको भाउ स्थिर

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। साेमबार सुनको भाउमा कुनै फेरबदल भएको छैन। 

योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।

हिजो आइतबार सुनको भाउ १ हजार ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

साेमबार चाँदीको भाउ पनि स्थि रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ। आइतबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो। 

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ – ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने प्रचलन सुरू भएको हो । सो दिवस मनाउन थालेको ५०औँ वर्ष लागेको छ ।

यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा प्लास्टिकजन्य पदार्थको व्यवस्थापनलगायत समष्टिगत वातावरणीय समस्यासँग जुँध्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झक्झकाउन सहयोग पुग्ने बताउनुभएको छ ।

यसवर्ष वैश्विक जगतको सबैभन्दा महत्वपूर्ण वातावरणीय चुनौतीमध्येको एक प्लास्टिक प्रदूषणलाई प्रमुखताका साथ उजागर गर्ने गरी दिवस मनाउन लागिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेकाले त्यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्लास्टिकको अत्यधिक र अव्यवस्थित प्रयोगले ठूलो वातावरणीय समस्या सिर्जना गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले महासागर ल्यान्डफिल साइट, समथर भूमि, पहाडी, उच्च पहाडी र हिमाली क्षेत्र जताततै प्लास्टिकको फोहरले भरिएको र मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पु¥याउने खतरा बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

प्रत्येक वर्ष विश्वव्यापी रूपमा चार सय मिलियन टनभन्दा बढी प्लास्टिकका सामग्री उत्पादन हुने गरेको र यसको ठूलो हिस्सा विभिन्न नदी प्रणाली हुँदै महासागरहरूमा पुग्ने गरेको छ ।

यसले पारिस्थितिक प्रणालीलाई असर पु¥याउन सक्ने देखिएको हुँदा यसको नकारात्मक प्रभावसँग जुध्ने प्रयासस्वरुप संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा ‘प्लास्टिक पोलुसन ट्रिटी’सम्बन्धी कार्य भइरहेको र यसमा नेपालको समेत सहभागिता रहँदै आएको प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आफ्नो अध्यक्षतामा रहेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै लैजाने दृढता व्यक्त गर्नुभएको छ ।

नेपालको संविधान बमोजिम सङ्घ, प्रदेश र स्थानीय तीन वटै सरकारको कार्यक्षेत्रमा रहेको वातावरण संरक्षणको विषय सरकार, गैर (सरकारी क्षेत्र, प्राज्ञिक क्षेत्र, निजी क्षेत्र, आम नागरिक र उपभोक्ता सबैको सक्रिय चासो, चिन्ता र सरोकारको यसमा आवश्यकता पर्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले वातावरण क्षेत्रमा काम गर्ने सबैमा यस दिवसको नारालाई व्यवहारिक कार्यान्वयनमा एकतावद्ध हुन आह्वान गर्नुभएको छ ।

चलचित्रको निर्माण घट्दो

काठमाडौँ – अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष छायाङ्कन भइरहेको चलचित्रको सङ्ख्या कम देखिन्छ । त्यसो त पानी पर्ने समय भएकाले पनि यो समयमा ‘स्टुडियो’भन्दा बाहिर छायाङ्कन सहज हुँदैन । यद्यपि सङ्ख्याकै हिसाबमा पनि कम देखिएको निर्माताको छाता सङ्गठन नेपाल चलचित्र निर्माण सङ्घका अध्यक्ष नवल खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले अन्य क्षेत्रमा समेत मन्दी देखिएको छ । चलचित्र त्यसबाट अछुतो छैन । सबैभन्दा पहिले गाँस, बास र कपास हो । त्यसपछि मनोरञ्जन आउँछ ।” यस अगाडि पनि चलचित्र निर्माणमा लागत बढिरहेको सन्दर्भमा निर्माता सङ्घले चिन्ता व्यक्त गरेको थियो ।

“निर्माण लागत विविध कारणले बढिरहेको छ । बजारबाट न्यूनतम आउने व्यापारको कुनै मापन नै छैन”, उहाँले भन्नुभयो । निर्देशक ज्ञानेन्द्र देउजाले अहिले बजार बुझ्न सहज नरहेको बताउनुभयो । “पहिला चलचित्र निर्माण भएर प्रदर्शन हुँदा यतिसम्म लगानी फिर्ता हुन्छ भन्ने अनुमान गर्न सकिन्थ्यो । हामीले राख्ने कलाकारकै कारण वितरकबाट उठ्ने लागत पनि थियो । अहिले त्यो छैन”, निर्देशक देउजाले भन्नुभयो । उहाँ पनि चलचित्रको पटकथामा व्यस्त हुनुहुन्छ ।

चलचित्र व्यवसाय मात्र होइन, निर्माण पनि घट्न थालेको छ । अहिले भने ‘ह्यासट्याग माया’, ‘दिमाग खराब’, ‘देववाणी’ लगायत केही चलचित्र छायाङ्कनमा छन् । केही निर्माता पर्ख र हेरको अवस्था रहेको बुझिन्छ । आउँदो भदौबाट सम्भावना बोकेका नेपालीसँगै विदेशी चलचित्र प्रदर्शन हुँदैछन् । तिनले गर्ने व्यापारले पनि चलचित्र क्षेत्रको मार्गनिर्देश गर्ने नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताउनुभयो ।

“अहिले चलचित्र भवनमा धेरै तथ्य बुझेर आउने गरेको पाएको छु । चलचित्र हेर्न जाउँ भनेर आइहाल्ने दर्शक कम हुनुहुन्छ”, उहाँले भन्नुभयो, “दसैँ आसपासका चलचित्रले राम्रो व्यापार गरेमा निर्माणमा तिब्रता आउने छ ।” चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष विसं २०७९ मा नेपाली ५२ चलचित्र प्रदर्शन भएका थिए ।

प्रतिनिधिसभाको अवरोध हटाउन सचेतकहरूसँग सभामुखको छलफल

काठमाडौँ –  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन छलफल थाल्नुभएको छ ।  

सभामुख घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लाग्नुभएको हो ।  

प्रमुख प्रतिपक्ष एमालेसहित तीन दलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको विरोधमा हिजो संसद् अवरोध गरेका थिए । संसद्को अवरोध खुलाउन सभामुखले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग पनि वार्ता गर्नुभएको थियो ।  

त्यसक्रममा प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने बताएको सभामुखको सचिवालयले जनाएको छ । सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले आज संसद् बैठकको सुरुमै सम्बोधन गर्नुहुनेछ ।  

कांग्रेस बैतडीको पालिका सम्मेलन जेठ ३० मा

बैतडी – नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै पालिकाको सम्मेलन यही जेठ ३० गते तोकेको छ । यसका लागि सबै पालिकामा प्रतिनिधि खटाइएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

सम्मेलनका पुर्चाैडी नगरपालिकामा कांग्रेस जिल्ला सचिव देवराज जोशी, सिगास गाउँपालिकामा जिल्ला सचिव प्रेमबहादुर चन्द, पाटन नगरपालिकामा जिल्ला उपसभापति वीरबहादुर विष्ट, सुर्नया गाउँपालिकामा प्रदेशसभा ख का क्षेत्रीय सभापति शिवराज भट्ट, डिलाशैनी गाउँपालिकामा जिल्ला सहसचिव दशरथ चाडलाई प्रतिनिधिका रूपमा खटाईएको छ ।

यस्तै दोगडाकेदार गाउँपालिकामा जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, दशरथचन्द नगरपालिकामा जिल्ला उपसभापति खगेन्द्रसिंह धामी, पञ्चेश्वर गाउँपालिकामा प्रदेशसभा क का क्षेत्रीय सभापति विष्णुदत्त भट्ट, शिवनाथ गाउँपालिकामा जिल्ला सहसचिव दीपेन्द्रबहादुर चन्द र मेलौली नगरपालिकामा पूर्वपार्टी सभापति नरेन्द्रसिंह थापालाई प्रतिनिधिका रूपमा खटाइएको सो पार्टीले जनाएको छ ।

पालिका सम्मेलनपूर्व हाल जिल्लामा सबै वडामा वडा सम्मेलन जारी रहेको छ । दोगडाकेदारका सबै वडामा हाल वडा सम्मेलन जारी रहेको पालिका सभापति नन्दराज भट्टले जानकारी दिनुभयो ।

सम्मेलनमा कांग्रेसको सङ्गठनको अवस्था, पार्टीको संरचना, पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, सङ्गठन विस्तारका लागि अपनाउनुपर्ने रणनीतिका विषयमा सम्मेलनमा छलफल हुने गरेको जनाइएको छ । यस्तै पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा पनि सम्मेलनमा छलफल भइरहेको छ ।

सभापति चन्दले भन्नुभयो, “वडातहमा पार्टीको संरचना र पार्टी सुदृढीकरण, सङ्गठन विस्तारका लागि सम्मेलन थालिएको हो । यसले कांग्रेसलाई गतिशील बनाउनका लागि पनि महत्वपूर्ण भूमिका रहनेछ ।”

पालिका सम्मेलन सम्पन्न भएपछि आगामी असार २ गते जिल्ला सम्मेलनको आयोजना गरिने सो पार्टीले जनाएको छ ।

नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान

काठमाडौँ – ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन् ।

विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर करोडौँ रुपैयाँ नोक्सानी पु¥याएका हुन् । ह्याकरले नेपालमा काम गर्दै आएका विदेशी जिडीएस कम्पनीको नाममा नेपाली ट्राभल कम्पनीलाई इमेल पठाउँदै टिकट बिक्री गरेर नोक्सानी पु¥याएका हुन् ।

नोक्सानी पुगेका नेपाली ट्राभल कम्पनीमा देउराली ट्राभल, कोस्मो नेपाल ट्राभल, सी लिङ्क ट्राभललगायत रहेका छन् । प्रत्येक कम्पनीबाट ६० देखि ८० लाखको टिकट विदेशी ह्याकरले ‘इस्यु’ गरेको देखिन्छ ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले जिडीएस कम्पनीका नाममा नेपालका ट्राभल कम्पनीलाई मेल पठाएर विदेशी ह्याकरले रातारात विदेशबाट टिकट काटेको बताउनुभयो । “ह्याकरले जिडीएसको लोगो राखेर मेल पठाएर टिकट बिक्री गरेर ठगी गरेको पाइयो, यो घटना बाहिर आएपछि नेपाली ट्राभल कम्पनी त्रसित छन्”, उहाँले भन्नुभयो ।

ह्याकरले अधिकांश टिकट मोरक्कोतर्फ जारी गरेको देखिएको अध्यक्ष थापाले बताउनुभयो । पीडित ट्राभल कम्पनीले भने साइबर ब्यूरोमा मुद्दा हालिसकेका छन् । नेपालका ट्राभल कम्पनीलाई सेवर, एमाडस, ग्यालिलियोले जिडीएस सेवा प्रदान गर्दै आइरहेका छन् ।

नेपालका ट्राभल कम्पनीलाई जिडीएस सेवा प्रदान गर्दै आइरहेको सेवर नेपाल नेटवर्ककी महाप्रबन्धक अनुपा बुढाथोकीले विदेशी ह्याकरले नेपालमा सेवा दिँदै आएका जिडीएस कम्पनीको लोगो राखेर ट्राभल कम्पनीलाई नक्कली इमेल पठाएर ठगी गरेको देखिएको बताउनुभयो ।

उहाँले जिडीएस कम्पनीमार्फत आएका मेललाई ट्राभल कम्पनीले पासपोर्ड र युजरनेम शेयर गर्नुअगाडि त्यो इमेल आधिकारीक निकायबाट आएको हो की होइन भन्ने निश्चित गरेरमात्र शेयर गर्न आग्रह गर्नुभयो ।

उक्त घटनापछि सेवरले आफ्नो सेवा प्रयोगकर्ता ट्राभल कम्पनीको हितलाई ध्यानमा राखेर आफ्नो ‘सेक्युरेटी फिचर’लाई अझै बलियो र परिस्कृत बनाएको महाप्रबन्धक बुढाथोकीले बताउनुभयो ।

प्रतिनिधिसभाको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरे बिच छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन छलफल सुरु गर्नुभएको छ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गर्नुभएको हो । उहाँले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न प्रधानमन्त्रीसँग आग्रह समेत गर्नुभयो ।

आइतबारको प्रतिनिधिसभा बैठक अवरोध भए लगत्तै सभामुखले प्रधानमन्त्री दाहालसँग टेलिफोन संवाद गरेर सो आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सभामुखले आइतबार साँझ पनि सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गर्नुभएको थियो ।  ‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतीत भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भन्नुभएको थियो,  ‘समयमा नै संवादबाट निकास खोजौँ, अब सदन अवरोध भइरहन सक्दैन ।’ 

सभामुखसँगको संवादमा प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको जनाउँदै आजको संसद्मा आफूले प्रष्टिकरण दिने जनाउनुभयो ।  ‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याउँदै भन्नुभएको छ । 

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीमार्फत विपक्षी दलहरूलाई बजेट पारित गर्ने समय सीमा बुझिदिन आग्रह गर्नुभएको छ । 

भारत भ्रमण जानुअघि नागरिकता  विधेयक प्रमाणित गरेको तथा  सीमा विवाद मिलाउनका लागि बङ्गलादेश जाने सहज बाटो दिए भारतसँग कालापानी साटन मन्जुर रहेको जनाएपछि एमालेलगायत प्रतिपक्ष दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै आइतबारबाट सदन अवरुद्ध गरेका थिए । 

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार ठुलो गोलभेँडा  (नेपाली) २७ रुपैयाँ ५० पैसा, ठुलो गोलभेँडा (भारतीय) ३६ रुपैयाँ ६७ पैसा, गोलभेँडा (लोकल) १५ रुपैयाँ ८० पैसा, रातो आलु ४५ रुपैयाँ २० पैसा, रातो आलु (भारतीय) ३५ रुपैयाँ २० पैसा, रातो आलु (मुडे) ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ ६७ पैसामा किनबेच हुनेछ । 

उता, सुकेको प्याज (भारतीय) ५९ रुपैयाँ २० पैसा, लोकल गाजर ९५ रुपैयाँ, लोकल बन्दा १३ रुपैयाँ ६० पैसा, स्थानीय काउली, रातो बन्दा, हरियो प्याज, घिरौँला र लोकल सिमी ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७६ रुपैयाँ ६ पैसा, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ३६ रुपैयाँमा खरिद बिक्री भइरहेको ५ भने भन्टा डल्लो, मकै बोडी, लौका र तराई परवर ६६ रुपैयाँ ६७ पैसा, मटर कोसा १९६ रुपैयाँ ६७ पैसा, हाइब्रिड घिउ सिमी र लोकल परवर ७५ रुपैयाँ, भटमासकोशा ११५ रुपैयाँ, तितो करेला, फर्सी र रायोको साग ४५ रुपैयाँ तोकिएको छ ।  

त्यस्तै, चिचिण्डो र रुख कटहर प्रतिकेजी ३५ रुपैयाँ, सलगम, न्युरो, हरियो लसुन, गान्टे मूला, ग्याठ कोबी, जिरीको साग र चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ७६ रुपैयाँ, स्कूस ५६ रुपैयाँ, तामा, सौफ, पालूगो, मेथी र चमसूरको साग ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५६ रुपैयाँ, डल्ले च्याउ ३४२ रुपैयाँ, कुरिलो २३३ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको छ । 

ब्रोकाउली ८६ रुपैयाँ, सजिवन ८६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदिना १७० रुपैयाँ, इमली १३५ रुपैयाँ, तोफु ११६ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फुजी स्याउ ३०० रुपैयाँ, कागती १६५ रुपैयाँ, अनार ३८३ रुपैयाँ ३३ पैसा, मालदह आँप ९५ रुपैयाँमा किनबेच हुनेछ भने दसहरी आँप ९६ रुपैयाँ ६७ पैसा, हरियो अङ्गुर २२५ रुपैयाँ, मौसम १६५ रुपैयाँ, जुनार २१० रुपैयाँ, लोकल काँक्रो १०५ रुपैयाँ, लोकल लिची १९० रुपैयाँ, लिची (भारतीय) २२३ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै, किवी ४५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २५५ रुपैयाँ, सुकेको खुर्सानी ४६५ रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ, सुकेको चाइनिज लसुन २३८ रुपैयाँ, सुकेको नेपाली लसुन १७० रुपैयाँ, रहु माछा ३२३ रुपैयाँ ३३ पैसा र मुंगरी ताजा माछा ३३५ रुपैयाँ तोकिएको छ ।

प्राकृतिक वातावरणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यक्तिगत र सामूहिक रूपमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्ने बताउनुभएको छ । 

विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विश्व वातावरण दिवसको सार्थकता, सान्दर्भिकता र महत्त्वले मूर्तरूप लिनका लागि सक्रिय हुनुपर्ने बताउनुभएको हो । 

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई व्यक्तिगत र सामूहिक रूपमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षणमा सक्रियताका साथ लागेमा मात्र विश्व वातावरण दिवसको सार्थकता, सान्दर्भिकता र महत्त्वले मूर्तरूप लिन सक्छ ।”

यस दिवसका अवसरमा ‘प्लास्टिक प्रदूषणविरुद्ध लागौँ’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाउन लागेकोमा खुसी व्यक्त गर्दै उहाँले  प्लास्टिक प्रदूषणले सिङ्गो पृथ्वीलाई पार्ने प्रभावलाई न्यूनीकरण गर्न हामी सबैको हातेमालो अति आवश्यक भइसकेको उल्लेख गर्नुभएको छ ।  

उहाँले बढ्दो बसाई सराइ, महत्त्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो सहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता, जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनको कारणले हुने गरेको अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि आदि संरक्षण र दिगो विकासका लागि चुनौतीहरूलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्ने बताउनुभएको छ । 

“विश्व वातावरण दिवसको सान्दर्भिकता हरेक वर्ष पछिल्लो समय नेपालको वातावरण प्रदूषणले स्वास्थ्य, आर्थिक, सांस्कृतिक र सामाजिक रूपमा पनि गम्भीर प्रभाव परेको बारे भन्दै उहाँले भन्नुभयो, “पृथ्वी र प्रकृति सबैको साझा हो भन्ने मूल मर्म बुझेर वातावरण प्रदूषण न्यूनीकरण गर्न सबै सरोकारवाला सचेत हुँदै सक्रिय सहभागिता अपरिहार्य छ । भावी पीढीलाई प्रकृतिसँग माया र प्रेम गर्न सिकाउँदै वातावरण प्रदूषणले सिङ्गो मानव जातिमाथि पार्ने प्रभावको न्यूनीकरण गर्न सबै पक्ष सचेत भई अग्रसर हुनु पर्दछ ।”

उहाँले शुभकामना सन्देशमार्फत मानव क्रियाकलापले वन, जैविक विविधता सङ्कटमा पर्दै विभिन्न खालका प्राकृतिक प्रकोपहरूको सामना गरिरहनु परेको सन्दर्भमा स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्रकृति र प्राकृतिक वातावरणलाई दिगो संरक्षणमा एकजुट भई लाग्न अपिल गर्नुभएको छ । 

बजेट विनियोजन भएर पनि योजना कार्यान्वयन भएनन्

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ देखिनै बजेट बिनियोजन गरेर वार्षिक योजना पुस्तिका (रातो किताब)मा समावेश गरेको थियो ।

लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा प्रदेश सरकारको वार्षिक योजनामा समावेश भए पनि पुल निर्माण अघि बढ्न सकेको थिएन । वार्षिक योजनामा समावेश हुन थालेको दुई वर्षपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अदिभारा सडक पुल निर्माणको प्रक्रीया अघि बढाएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले स्रोत सुनिश्चितता र थप बजेटको व्यवस्थापन भएपछि पुल निर्माणको ठेक्का प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिनुभयो । “पच्चीस मिटर लामो सडक पुलको डिपिआर तीन वर्षअघिनै बनेको थियो”, उहाँले भन्नुभयो, “चालु आवमै कूल लागतको २० प्रतिशत पुग्ने गरी थप बजेट व्यवस्थापन र बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितता भएको पत्र आएको छ । अब योजना कार्यान्वयनको प्रक्रिया अघि बढाउँछौँ ।”

कूल रु छ करोड नौ लाख लागत अनुमान गरिएको पुल निर्माणका लागि अघिल्लो आव २०७८÷७९ र चालु आव २०७९÷८० मा रु ५०÷५० लाख विनियोजन भएको थियो । कूल लागत अनुमानको २० प्रतिशतभन्दा बढी बजेट विनियोजन र स्रोत सुनिश्चितता भएका आयोजनाको मात्र ठेक्का लगाउन पाउने नीतिगत व्यवस्थाका कारण पुल निर्माणको काम अघि बढ्न सकेको थिएन् ।

चालु आवमा सो पुल निर्माणका लागि अपुग थप रु ९१ लाख थप बजेट व्यवस्थापन गरेर अर्थ मन्त्रालयले हालै बहुवर्षीय योजनाका लागि स्रोत सुनिश्चितता गरी ठेक्का लगाउन सहमति दिएको हो । अदिभारामा मोटरेबल पुल नहुँदा मालिका गाउँपालिकाको वडा नम्बर २ र ३ नम्बर वडाका बासिन्दालाई पालिकाको केन्द्र दरवाङ आउन जान समस्या भएको थियो ।

बर्खामा बाढी र नदीमा पानीको सतह बढ्दा यातायातको साधन सञ्चालन हुन सकेका थिएन् । मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले पुल बनेपछि बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

यसैगरी प्रक्रियामै अल्झिएको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानास्थित अर्चेखोला मोटरेबल पुल र अन्नपूर्ण गाउँपालिकाको भुरुङ–पाउद्वार तातोपानी जोड्ने झोलङ्गे पुल निर्माणका लागि थप चालु आवमै थप बजेटको व्यवस्था गरेर ठेक्का आह्वान गर्ने तयारी भएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले प्रदेशस्तरको बजेटको स्रोत सुनिश्चित समितिले दुईवटै योजनालाई स्रोत सुनिश्चितता र थप बजेट व्यवस्था गर्न अर्थमन्त्रालयमा सिफारिस गरिसकेको बताउनुभयो । “योजनामा समावेश भए पनि स्रोत सुनिश्चितता र २० प्रतिशत बजेट नपुगेका योजनाको सङ्ख्या धेरैनै छ”, उहाँले भन्नुभयो, “प्रदेशभर यस्ता आयोजना पहिचान गरेर तत्काल कार्यान्वयनमा लैजान पहल गरिएको छ ।”

अर्चेखोलामा २५ मिटर लामो मोटरेबल पुल बनाउन रु चार करोड ९० लाख र एक सय २६ मिटर लामो भुरुङ–पाउद्वार तातोपानी झोलुङ्गे पुल बनाउन रु एक करोड ५६ लाख लागत अनुमान गरिएको थियो । चालु आवभित्रनै ठेक्का आह्वान गर्न अर्चेखोलाको पुललाई थप रु ३० लाख र भुरुङ–पाउद्वार तातोपानी झोलुङ्गे पुललाई रु नौ लाख थप बजेट व्यवस्था गरी क्रमागत योजनामा समावेश गर्न अर्थ मन्त्रालयमा सिफारिस भएको हो । अर्थ मन्त्रालयले सिफारिस स्वीकृत गरेपछि ठेक्का प्रक्रिया सुरु गर्ने पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकी – गण्डकी प्रदेश सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आइतबार सार्वजनिक आउँदो आव २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

यीमध्ये सङ्घ सरकारको बजेटमा परेर पनि कार्यान्वयन हुन नसकेको बागलुङको बिहुँ–नरेठाँटी जोड्ने सुरुङ मार्ग प्रदेशको नीति तथा कार्यक्रममा पनि समेटिएको हो । वर्षौंदेखि चर्चामा रहेको उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययन हुन नसकिरहेका बेला प्रदेश सरकारले थप चार स्थानमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो ।

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा रु ५० लाख बजेट छुट्टाएको थियो । आव सकिनै लाग्दा पनि उक्त सुरुङ मार्ग आयोजनाको प्रारम्भिक अध्ययनसमेत हुन सकेको छैन ।

काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने उक्त सुरुङ माग बनेमा लोकमार्गमा घण्टौँ लाग्ने यात्रा केही मिनेटमा छोट्टिनेछ । पर्यटक तथा सर्वसाधारणको आउजाउदेखि त्यस क्षेत्रको आर्थिक÷सामाजिक विकासमा उक्त सुरुङ मार्गले महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

बागलुङ–२ का सासंद देवेन्द्र पौडेलले बजेट अभाव देखाएर मन्त्रालयले काम अगाडि नबढाएको बताउनुभयो । “रातो किताबमै परेको आयोजना हो, अहिलेसम्म अध्ययनको काम अगाडि बढ्नुपर्ने हो, तर मन्त्रालयले बजेटको समस्या देखाउने गरेको छ”, उहाँले भन्नुभयो, “यसमा हामीले पनि सुरुदेखि नै पहल गरिरहेका छौँ ।”

केही वर्षअघि परामर्शदाता कम्पनीका प्रतिनिधि आएर सुरुङ मार्ग बन्ने ठाउँको स्थलगत अवलोकन गरे पनि सम्भाव्यता अध्ययनको काम अघि नबढेको स्थानीयवासीको भनाइ छ । सङ्घ सरकारको प्राथमिकतामा परेको कास्कीको हेम्जा–नयाँपुल सुरुङ मार्गको पनि अझै विस्तृत सम्भाव्यता अध्ययन हुन सकेको छैन ।

पोखरा–बागलुङ राजमार्गमा पर्ने उक्त सुरुङ मार्ग बनेमा डेढ घण्टाको सडक मार्ग १५ मिनेटमा समेटिनेछ । अहिले हेम्जा–नयाँपुलको दूरी ४० किमी छ । सुरुङ मार्गले त्यसलाई सातदेखि आठ किमीमा घटाउने अनुमान गरिएको छ । यसले प्रदेश राजधानी पोखरालाई पर्वतसहित धौलागिरिका चारै जिल्लालाई जोड्छ ।

सडक विभागका सुरुङ मार्ग हेर्ने इन्जिनियर सोनी श्रेष्ठले हेम्जा–नयाँपुल सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन छिट्टै सुरु हुने जानकारी दिनुभयो । “पूर्वसम्भाव्यता अध्ययनको रिपोर्ट आइसकेको छ, अब विस्तृत सम्भाव्यता अध्ययनको काम अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “अध्ययनमै समय लाग्छ, प्रतिवेदन आउनुप¥यो, सुरुङ मार्ग निर्माण कहिले र कसरी सुरु हुन्छ यसै भन्न सकिँदैन ।”

उक्त सुरुङ मार्ग अध्ययनका लागि सङ्घ सरकारले चालु आवमा रु एक करोड ५० लाख बजेट छुट्टाएको थियो । सुरुङ मार्ग अध्ययनका लागि परामर्शदाता कम्पनीसमेत छनोट भइसकेको विभागले जनाएको छ । यसरी नयाँनयाँ सुरुङ मार्गको सम्भाव्यता अध्ययनको घोषणा गर्ने तर समयमा कार्यान्वयन नहुने प्रवृत्तिप्रति सर्वसाधारण बेखुसी छन् ।

घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङ मार्ग निर्माण गर्ने सङ्घ सरकारको नीतिलाई प्रदेशले पनि पछ्याएको हो । सडक विभागले ‘सुरुङ मार्ग विकास कार्यक्रम’मार्फत सुरुङ मार्गको निर्माण र सम्भाव्यता अध्ययनको काम गर्दै आएको छ ।

स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले सुरुङ मार्गदेखि गाँजा खेतीको सम्भाव्यता अध्ययनसम्मको योजना अघि सारेको हो । औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने नीति कार्यक्रममा उल्लेख छ । गाँजा र स्थानीय मदिरालाई ‘ब्राण्डिङ’ गरेर बजारमा बेच्ने प्रदेश सरकारको लक्ष्य छ ।

विश्वकप क्रिकेट छनौट खेल्न आज सन्दीप लामिछाने अफ्रिका जाँदै 

काठमाडौँ  – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदै छन् ।

अदालतमा मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन ।

काठमाडौँ जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई  ‘अपवाद’ का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो। अब उनको तारिख २९ असारमा राखिएको छ । 

लामिछानेका कानुन व्यवसायीले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनुपर्ने भन्दै भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो । जसका कारण लामिछाने अब प्रतियोगिताभर तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनु पर्ने छैन । 

विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउने छन् भने २९ असारमा तारिख बुझेपछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाइ सुरु गरिने गरी अदालतले व्यवस्था मिलाएको छ ।

लामिछाने आज प्रशिक्षक देसाईसँगै  राती २ः०० बजे अफ्रिका जाने बुझिएको छ । 

जलेश्वर नगरपालिकामा कित्ताकाट खुला

जलेश्वर – जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको वर्गीकरण टुङ्ग्याएको छ । जलेश्वर नगरपालिकाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेश साह सोनारले जलेश्वर नगर क्षेत्रभित्रको ‘भू–उपयोग क्षेत्र वर्गीकरण’ गरिएको जानकारी दिनुभयो । भू–उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्ले सो काम सम्पन्न गरेको हो ।

नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रको जग्गालाई कृषि क्षेत्रतर्फ तीन हजार १३५ दशमलव ८९ हेक्टर, व्यावसायिक क्षेत्रतर्फ ७५ दशमलव ३४ हेक्टर, सांस्कृतिक क्षेत्रतर्फ ८ दशमलव ४७ हेक्टर, नदीजन्य÷पोखरी क्षेत्रतर्फ १०६ दशमलव २७ हेक्टर, औद्योगिक क्षेत्रतर्फ १७ दशमलव २६ हेक्टर, सार्वजनिक क्षेत्रतर्फ १७६ दशमलव ११ हेक्टर र आवासीय क्षेत्रतर्फ ९०३ दशमलव ३५ हेक्टर जग्गा वर्गीकरण गरेको हो ।

नगरपालिकाले वर्गीकरण गरेको जग्गा जम्मा ६२ हजार कित्ता रहेको र आइतबारदेखि सबै जग्गाको कित्ताकाट खुला भएको उहाँले बताउनुभयो । जग्गा वर्गीकरण सार्वजनिकीकरण कार्यक्रममा प्रशासकीय अधिकृत मित्रलाल ढकाल, इन्जिनियर पवन कुमार झा, अमिन रामजीवन साह र नापी अधिकृत ज्ञानकुमार यादवले जग्गा वर्गीकरणका बारेमा जानकारी दिनुभएको थियो ।

जग्गा कित्ताकाट खुला भएसँगै जलेश्वर नगरवासीले आजदेखि जग्गासम्बन्धी काम गर्न पाउने भएका छन् ।

मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु

दमौली – पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णु पाण्डेका अनुसार डुम्रे बजारका पाँच घर भत्काउने काम भइरहेको छ । डुम्रे बजार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्र हो । डुम्रे बजार लमजुङ जिल्लाको प्रवेशद्वार पनि हो ।

“डुम्रे बजारका क्षेत्रमा रहेका सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउने काम भइरहेको छ, अहिलेसम्म पाँच घर भत्काइएको छ”, उहाँले भन्नुभयो, “सडक मापदण्डभित्र रहेका सबै संरचना विस्तारै हटाइन्छ ।”

डुम्रे बजारमा धेरै वर्ष पहिला बनेका अधिकांश घर सडक मापदण्डभित्र बनेका छन् । त्यस्ता घरटहरालाई मुआब्जा दिएर भत्काइने योजनाले जनाएको छ । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका पर्दछन् । आँबुखैरेनी र व्यास नगरपालिका क्षेत्रभित्रका घरटहरा पनि हटाउने तयारी भइरहेको जनाइएको छ ।

उहाँका अनुसार यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । उहाँले भन्नुभयो, “घरटहरा भत्काउनका लागि ८३ जनालाई पहिलो किस्ताबापतको रकम भुक्तानी गरिएको छ, पहिलो किस्ता प्राप्तिका लागि अन्यको निवेदन परे पनि बजेट अभावका कारण दिन सकेका छैनौँ”, अपुग रकम असार मसान्तसम्म निकासा भए लाभग्राहीलाई वितरण गर्न सकिने उहाँको भनाइ छ ।

मुग्लिन पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ३० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । सरकारले मुग्लिन पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले सन्देशमा भन्नुभएको छ, “आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ । विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ ।”

यसवर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहँदा प्लास्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले प्लास्टिकजन्य फोहोर वातावरणीय चुनौती बन्न पुगेको उहाँले बताउनुभएको हो । “मानव जातिको महत्वकाङ्क्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास साथै बढ्दो प्रदूषणको चुनौती बनेको छ”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमहरूले वन तथा वातावरणको क्षेत्रमा उपलब्धि हासिल भएको उहाँले बताउनुभएको छ ।

वातावरणको संरक्षण तथा सम्बर्द्धनको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालय, प्रदेश तथा स्थानीय निकाय, सुरक्षा निकाय, विकास साझेदार एवं सबैलाई धन्यवादसमेत दिनुभएको छ ।