`

विश्वकप क्रिकेट छनौट खेल्न आज सन्दीप लामिछाने अफ्रिका जाँदै 

काठमाडौँ  – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदै छन् ।

अदालतमा मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन ।

काठमाडौँ जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई  ‘अपवाद’ का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो। अब उनको तारिख २९ असारमा राखिएको छ । 

लामिछानेका कानुन व्यवसायीले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनुपर्ने भन्दै भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो । जसका कारण लामिछाने अब प्रतियोगिताभर तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनु पर्ने छैन । 

विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउने छन् भने २९ असारमा तारिख बुझेपछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाइ सुरु गरिने गरी अदालतले व्यवस्था मिलाएको छ ।

लामिछाने आज प्रशिक्षक देसाईसँगै  राती २ः०० बजे अफ्रिका जाने बुझिएको छ । 

जलेश्वर नगरपालिकामा कित्ताकाट खुला

जलेश्वर – जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको वर्गीकरण टुङ्ग्याएको छ । जलेश्वर नगरपालिकाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेश साह सोनारले जलेश्वर नगर क्षेत्रभित्रको ‘भू–उपयोग क्षेत्र वर्गीकरण’ गरिएको जानकारी दिनुभयो । भू–उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्ले सो काम सम्पन्न गरेको हो ।

नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रको जग्गालाई कृषि क्षेत्रतर्फ तीन हजार १३५ दशमलव ८९ हेक्टर, व्यावसायिक क्षेत्रतर्फ ७५ दशमलव ३४ हेक्टर, सांस्कृतिक क्षेत्रतर्फ ८ दशमलव ४७ हेक्टर, नदीजन्य÷पोखरी क्षेत्रतर्फ १०६ दशमलव २७ हेक्टर, औद्योगिक क्षेत्रतर्फ १७ दशमलव २६ हेक्टर, सार्वजनिक क्षेत्रतर्फ १७६ दशमलव ११ हेक्टर र आवासीय क्षेत्रतर्फ ९०३ दशमलव ३५ हेक्टर जग्गा वर्गीकरण गरेको हो ।

नगरपालिकाले वर्गीकरण गरेको जग्गा जम्मा ६२ हजार कित्ता रहेको र आइतबारदेखि सबै जग्गाको कित्ताकाट खुला भएको उहाँले बताउनुभयो । जग्गा वर्गीकरण सार्वजनिकीकरण कार्यक्रममा प्रशासकीय अधिकृत मित्रलाल ढकाल, इन्जिनियर पवन कुमार झा, अमिन रामजीवन साह र नापी अधिकृत ज्ञानकुमार यादवले जग्गा वर्गीकरणका बारेमा जानकारी दिनुभएको थियो ।

जग्गा कित्ताकाट खुला भएसँगै जलेश्वर नगरवासीले आजदेखि जग्गासम्बन्धी काम गर्न पाउने भएका छन् ।

मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु

दमौली – पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णु पाण्डेका अनुसार डुम्रे बजारका पाँच घर भत्काउने काम भइरहेको छ । डुम्रे बजार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्र हो । डुम्रे बजार लमजुङ जिल्लाको प्रवेशद्वार पनि हो ।

“डुम्रे बजारका क्षेत्रमा रहेका सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउने काम भइरहेको छ, अहिलेसम्म पाँच घर भत्काइएको छ”, उहाँले भन्नुभयो, “सडक मापदण्डभित्र रहेका सबै संरचना विस्तारै हटाइन्छ ।”

डुम्रे बजारमा धेरै वर्ष पहिला बनेका अधिकांश घर सडक मापदण्डभित्र बनेका छन् । त्यस्ता घरटहरालाई मुआब्जा दिएर भत्काइने योजनाले जनाएको छ । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका पर्दछन् । आँबुखैरेनी र व्यास नगरपालिका क्षेत्रभित्रका घरटहरा पनि हटाउने तयारी भइरहेको जनाइएको छ ।

उहाँका अनुसार यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । उहाँले भन्नुभयो, “घरटहरा भत्काउनका लागि ८३ जनालाई पहिलो किस्ताबापतको रकम भुक्तानी गरिएको छ, पहिलो किस्ता प्राप्तिका लागि अन्यको निवेदन परे पनि बजेट अभावका कारण दिन सकेका छैनौँ”, अपुग रकम असार मसान्तसम्म निकासा भए लाभग्राहीलाई वितरण गर्न सकिने उहाँको भनाइ छ ।

मुग्लिन पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ३० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । सरकारले मुग्लिन पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले सन्देशमा भन्नुभएको छ, “आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ । विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ ।”

यसवर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहँदा प्लास्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले प्लास्टिकजन्य फोहोर वातावरणीय चुनौती बन्न पुगेको उहाँले बताउनुभएको हो । “मानव जातिको महत्वकाङ्क्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास साथै बढ्दो प्रदूषणको चुनौती बनेको छ”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमहरूले वन तथा वातावरणको क्षेत्रमा उपलब्धि हासिल भएको उहाँले बताउनुभएको छ ।

वातावरणको संरक्षण तथा सम्बर्द्धनको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालय, प्रदेश तथा स्थानीय निकाय, सुरक्षा निकाय, विकास साझेदार एवं सबैलाई धन्यवादसमेत दिनुभएको छ ।

पाल्पा सत्यवती जीप दुर्घटना : मृतक चार जनाको पहिचान

पाल्पा – पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ । अहिले मृतक सबैको पहिचान खुलेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँभm सो स्थानामा दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन् । संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ । दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको प्रनाउ थापाले बताउनुभयो ।

आज विश्व वातावरण दिवस मनाइँदै

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदै छ । 

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।

नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्य रूपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आम सर्वसाधारणमा अनुरोध गरेको छ ।

शरणार्थी प्रकरण : आरोपीमाथि आज पनि थुनछेक बहस हुने 

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । 

काठमाडौँ जिल्ला अदालतमा आइतबारदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो ।  

न्यायाधीश न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गर्नुभएको थियो। 

पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस गर्नुभएको थियो । सो थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र सोपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने छ ।

आजको मौसम: तराईको भू–भागमा तातो हावा चल्ने, देशभरि तापक्रम नघट्ने

काठमाडौँ – हाल देशमा पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

देशको तराईका केही भू–भागहरूमा तातो हावा र लू चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिन्छ। कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । तसर्थ, अत्यधिक गर्मी तथा मेघ गर्जन र चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
२०८० जेठ २२ गते (सोमबार)
दिउँसो: 
 सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

राती: देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

२०८० जेठ २३ गते (मङ्गलवार)
दिउँसो:
  देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

२०८० जेठ २४ गते (बुधवार)
दिउँसो:  देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ–गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

मधेस प्रदेशसभा : विनियोजन विधेयकमाथि छलफल सुरु

जनकपुरधाम – मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।

प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी राखेको प्रस्तावपछि छलफलमा भाग लिनुहुँदै प्रदेशसभा सदस्यहरूले आगामी आवको बजेट समृद्ध मधेसका लागि हुनुपर्नेमा जोड दिनुभयो । बैठकमा प्रमुख प्रतिपक्ष दल तथा सत्तापक्षीय सदस्यले आआफ्नो धारणा राख्नुभयो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले प्रस्तुत विधयेकका सिद्धान्त र प्राथमिकता अघिल्ला आवकै निरन्तरता भएको भन्दै त्यसले प्रदेशका अहिलेका आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताउनुभयो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले प्रदेशका निमुखा जनताका माग र मुद्दालाई सम्बोधन नगर्ने भन्दै नेता ठाकुरले विज्ञहरूसँग बृहत् छलफल गरेको भए यस्तो नहुने धारणा राख्नुभयो ।

प्रदेशसभा सदस्य मनोजकुमार सिंहले प्रदेश सरकारले जल, जमिन र जनतालाई प्राथमिकतामा राखेर कृषि, युवा तथा नदी नियन्त्रणका लागि बजेट ल्याउन सुझाव दिनुभयो । उहाँले अहिले मधेसका अधिकांश युवा लागुऔषध दुर्व्यसनीमा फस्दै गएकोले त्यसमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । प्रदेशसभा सदस्य श्यामप्रसाद पटेलले प्रस्तुत विधेयकमा भने जस्तै कृषि, पर्यटन र प्रदेशका सम्भावनालाई सम्बोधन गर्ने गरी बजेट, नीति तथा योजना ल्याउन आग्रह गर्नुभयो ।

अर्का सदस्य रामअषिश यादवले जनताद्वारा चुनिएका जनप्रतिनिधि र यहाँको सरकारले मधेश प्रदेशको विकासका लागि राजश्व वृद्धि, कूल गार्हस्थ्य उत्पादनका क्षेत्रहरूको योगदान वृद्धि, प्रभावकारी योजनामा लगानी वृद्धिको लक्ष्यसहितको नीति आवश्यक रहेको बताउनुभयो । उहाँले मधेस प्रदेशमा पर्या—पर्यटन संरक्षणको विषय पनि विधेयकमा प्रष्टरूपमा आउनुपर्ने र सोहीअनुसार बजेटको व्यवस्था हुनेपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी जीवछीकुमारी यादवले मधेसको अवस्था, यहाँका घरेलु उद्यमी, महिला तथा कृषिको उत्थानका लागि सिँचाइलगायतका ठोस योजना ल्याउन सरकारलाई आग्रह गर्नुभयो । प्रदेशसभा सदस्यहरू जवाहरलाल कुशवाह, किरणकुमारी, मालाकुमारी कर्ण, जनार्दन सिंह क्षेत्री, प्रमोदकुमार जयशवाल, शेषनारायण यादवलगायतले सीमित साधनस्रोतबाट असीमित आवश्यकतालाई सम्बोधन, कन्या आवासीय विद्यालय, आयातमुखी नभई निर्यातमुखी अर्थतन्त्रको आधार तयार गर्न, बेरोजगारीको अन्त्य गर्न आफ्नै माटोमा सुन फलाउने र बहुसङ्ख्यक गरिब नागरिकको हित हुने योजना ल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसअघि शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरू अनिरुद्रकुमार सिंह, कनिश पटेल, किरणकुमारी, प्रमोदकुमार जयशवालले प्रतिफल दिने गरी योजना तथा कार्यक्रम तर्जुमा, भारतीय नयाँ संसद् भवनमा राखिएको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु राखिएको बारेमा सङ्घीय सरकारको ध्यानाकर्षण, सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल व्यवस्थापन तथा पर्सा, बारा रौतहटमा सिँचाइका लागि बनाइएका नहरमा समयमा पानी नआउने समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक भोलि दिनको १ बजे बस्नेछ ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : शिक्षा र स्वास्थ्य प्राथमिकता  (पूर्णपाठ)

गण्डकी – गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशभित्रका अस्पतालहरूको स्तरोन्नतिदेखि गुणस्तरीय शिक्षासम्मका विषयलाई सरकारले जोड दिएको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशभित्रै विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्ने नीति लिइएको उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले प्रदेशमा बालबालिकाको उपचारका निम्ति सुविधा सम्पन्न बाल अस्पताल सञ्चालनका लागि साझेदारी गरिने बताउनुभयो ।

प्रदेशभित्रका अस्पतालको स्तरोन्नतिका लागि गरिएको अध्ययन प्रतिवेदनसमेतका आधारमा स्तरवृद्धि गर्न आवश्यक देखिएका अस्पतालको स्तरोन्नति गरिने प्रदेश प्रमुख गुरुङले बताउनुभयो । सरकारले गोरखाको आँपपिल अस्पताल र बागलुङको बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई प्रदेश सरकार मातहत ल्याउन पहल गर्ने भएको छ ।

दश वर्षमुनिका बालबालिका तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रदेश सरकार मातहतका अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रहरूमा ओपीडी सेवा र प्रयोगशाला परीक्षण निःशुल्क गरिने सरकारले जनाएको छ । गण्डकीमा ‘डायलायसिस सेवा ः नागरिकको स्वास्थ्य सेवा’ भन्ने अवधारणाअनुसार डायलायसिस झन्झटमुक्त बनाउँदै पालो कुर्नुपर्ने अवस्थालाई शून्यमा झार्ने सरकारको योजना छ ।

भरतपुर क्यान्सर अस्पतालका साथै अन्य सरकारी अस्पतालहरूसँग सम्झौता गरी सबै खालको क्यान्सरको उपचारमा रु एक लाखसम्मको थप आर्थिक सहायता प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । निजी क्षेत्रबाट प्रदान गरिएको स्वास्थ्य सेवालाई मानक निर्धारण तथा नियमन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था गरिने सरकारले जनाएको छ ।

दिगो विकास लक्ष्यले निर्दिष्ट गरेअनुसार रोक्न सकिने मातृ मृत्युलाई प्रदेश सरकारको लक्ष्य हासिल गर्न सबै जिल्लामा विशेषज्ञ चिकित्सकसहितको ‘कम्प्रिहेन्सिभ इमर्जेन्सी अब्स्ट्रेटिक एण्ड नियोन्टल केयर’ सेवाको सुनिश्चितता गर्ने सरकारको योजना छ ।

प्रदेशमा हुन सक्ने विपद् तथा महामारी न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र पुनःस्थापनाका लागि आवश्यक प्रबन्ध गरिने प्रदेश प्रमुख गुरुङले बताउनुभयो । ‘हाई अल्टिच्युड सिकनेस’को आपत्कालीन उपचारका लागि जिल्लास्थित अस्पतालहरूको जिम्मेवारीमा आवश्यक प्रबन्ध मिलाइने सरकारले जनाएको छ ।

स्वास्थ्य सेवालाई शहीद, बेपत्ता परिवार, द्वन्द्व पीडित, गरिब, दलित, अपाङ्गता भएका तथा उत्पीडित समुदायका व्यक्तिहरूलाई सर्वसुलभ र पहुँचयोग्य बनाउनुका साथै स्वास्थ्य बीमा कार्यक्रममा प्रदेशको सहभागितालाई प्रभावकारी बनाउने सरकारको योजना छ ।

गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुहरूलाई आपत्कालीन स्वास्थ्य अवस्थामा उद्धारका लागि एयर एम्बुलेन्सको व्यवस्था गरिने बताउँदै प्रदेश प्रमुख गुरुङले स्वास्थ्य संस्था बाहिर सुत्केरी दरलाई शून्यमा झार्दै संस्थागत सुत्केरी प्रदेश बनाउन विशेष अभियानको थालनी गरिने बताउनुभयो । स्थानीय तहसँगको समन्वयमा ग्रामीण अल्ट्रा साउन्ड सेवालाई विस्तार गरिने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशमा रहेका स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली तथा परिवार स्वास्थ्य प्रोफाइललाई विस्तार गरी प्रदेश मातहत अस्पतालहरूमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली पूर्ण रुपमा लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न अस्पतालको क्षमता अभिवृद्धि गरी तनहुँ, स्याङ्जा र बाग्लुङ्गमा प्राथमिक ट्रमा उपचार केन्द्र स्थापना गरिने सरकारले उल्लेख गरेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधा सम्पन्न बनाई सबै प्रकारका विशिष्टकृत परीक्षण सरल र सहज रुपमा हुने व्यवस्था मिलाउने सरकारले भनेको छ ।

नसर्ने रोगको बढ्दो भारलाई कम गर्न र जनस्वास्थ्य प्रवद्र्धनका कार्यक्रम गर्न स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन केन्द्र सञ्चालन गर्ने सरकारको योजना छ । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरूको आत्मसम्मान कार्यक्रम, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, विद्यालय नर्स कार्यक्रमलगायतको सञ्चालन एवम् विस्तार गर्ने कार्यक्रममा उल्लेख गरेको छ ।

शिक्षासम्बन्धी प्रदेश कानुन तर्जुमा गरिने बताउँदै प्रदेश प्रमुख गुरुङले गुणस्तरीय शिक्षाका लागि अध्ययन तथा अनुसन्धानमा आधारित रही विद्यालय शिक्षाको गण्डकी प्रदेशस्तरीय मापदण्ड तय गरिने बताउनुभयो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र स्तरीकरणको सूचकसहित मापदण्ड विकास गरी कार्यन्वयनमा ल्याउने सरकारको योजना छ । गण्डकी विश्वविद्यालयलाई बजारको मागमा आधारित विशिष्टिकृत जनशक्ति उत्पादनमा केन्द्रित रहने गरी संस्थागत क्षमता विकास गरिने गुरुङले बताउनुभयो ।

दुर्गम तथा छरिएका बस्ती क्षेत्रका विद्यालयमा आवश्यकताअनुसार ठूला विद्यालय, लिड विद्यालय, आवासीय विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई प्रोत्साहन गर्ने र यस आर्थिक वर्षमा प्रत्येक जिल्लामा यस्ता प्रकृतिका विद्यालय सञ्चालनमा स्थानीय तहसँग साझेदारी गर्ने योजना छ ।

प्रदेशको आवश्यकताअनुसार अनुसन्धान, नवप्रवद्र्धन र आविष्कारसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिइने प्रदेश प्रमुख गुरुङले जानकारी दिनुभयो । प्रविधिमैत्री साक्षरताका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै उहाँले डिजिटल गण्डकी प्रदेश कार्यक्रमअन्तर्गत युवा तथा विद्यार्थीलाई प्रविधिमा दक्ष बनाउन प्रविधिमैत्री सिकाइलाई जोड दिइने बताउनुभयो ।

विद्यार्थीमा अन्तरनिहित विशिष्ट प्रतिभाको पहिचान र प्रस्फुटन गराउने उद्देश्यका साथ ‘फ्राइडे फर फ्यूचर’ कार्यक्रम सञ्चालन गर्ने भन्दै उहाँले सामुदायिक शिक्षालयको सुधारका निमित्त अभिभावक शिक्षा तथा शैक्षिक जागरण अभियान सञ्चालन गरिने बताउनुभयो ।

प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने सरकारको कार्यक्रम छ । अति विपन्न, दलित, अपाङ्गता भएका व्यक्ति, जहेन्दार, द्वन्द्वपीडित र शहीद परिवारका सन्ततिलगायत लक्षित समूहका विद्यार्थीहरूको उच्च शिक्षामा पहुँच विस्तार, तह पूरा गर्ने दर वृद्धि गर्नका लागि छात्रवृत्ति कार्यविधि तयार गरी कार्यन्वयनमा ल्याउने सरकारले जनाएको छ । सरकारले सामुदायिक क्याम्पससँग प्रदेश सरकार, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम आदि सञ्चालन गर्ने भनेको छ ।

सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कार्यक्रम एवं स्थानीय तहसँगको सहकार्यमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना तथा सञ्चालन र सुदृढीकरणका कार्यक्रमलाई निरन्तरता दिने सरकारको कार्यक्रम छ ।

गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रुपमा विकास गर्न सुविधासम्पन्न क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढाइने प्रदेश प्रमुख गुरुङले बताउनुभयो । खेल्छ गण्डकी कार्यक्रम एवं एक स्थानीय तह, एक खेलमैदान निर्माण कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा भनिएको छ ।

उद्यमी युवा, समृद्ध प्रदेश निर्माणमा टेवा भन्ने नाराका साथ युवामा सकारात्मक सोच, सीप, क्षमता, उद्यमशीलता तथा नेतृत्व विकासमा सहयोग र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने सरकारले जनाएको छ ।

कृषिलाई जोड दिँदै सरकारले प्रदेश सरकारको ‘साझेदारी ः बाँझो रहन्न खेतबारी’ भन्ने अभियानका साथ बाँदर प्रभावित क्षेत्रलाई केन्द्रित गरी प्रदेशभित्र उच्च सम्भावनाको क्षेत्र रहेको दुग्ध तथा मासुजन्यलगायत निर्यात प्रवद्र्धन हुने बाली वस्तु उत्पादनमा आत्मनिर्भर बन्न विशेष कार्यक्रम ल्याउने जनाएको छ । किसानलाई उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँदै बजारको सहजीकरण र सुनिश्चितता गर्ने सरकारको योजना छ । ‘सिँचाइ पूर्वाधार ः कृषि विकासको आधार’ भएकाले कृषि उत्पादन पकेट क्षेत्रहरूमा सिँचाइ सुविधा विस्तार गर्न अन्तर मन्त्रालय समन्वयमा सिँचाइ पूर्वाधारहरू निर्माण गर्ने व्यवस्था मिलाइने प्रदेश प्रमुख गुरुङले बताउनुभयो ।

आर्थिक विकासको आधार, उद्यमशीलता र रोजगार नारालाई परिष्कृत रुपमा लागू गर्न स्थानीय तहहरूको क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ ।

पर्यटन क्षेत्रको विकास, विस्तार, प्रवद्र्धन र व्यवस्थापनका लागि पर्यटनसम्बन्धी विविध क्रियाकलापमा निजी क्षेत्रको अधिकतम सहभागितालाई प्रोत्साहन गरिने सरकारले जनाएको छ । समुन्नतिका लागि वन व्यवस्थापन भन्ने मूल ध्येयका साथ प्रदेशको अधिकार क्षेत्रभित्रका सबै प्रकारका वनहरूको संरक्षण, सम्बद्र्धन, व्यवस्थापन र उपयोगका लागि आवश्यक कानून तर्जुमा गरी कार्यान्वयन गरिने सरकारले जनाएको छ ।

प्रदेशमा सबै घरपरिवारलाई आधारभूतस्तरको खानेपानी सेवा पु¥याउन सञ्चालित एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिँदै जीर्ण खानेपानी आयोजनाहरूको मर्मतसम्भार गरी आगामी दुई वर्षमा शतप्रतिशत लक्ष्य हासिल गरिने प्रदेश प्रमुख गुरुङले बताउनुभयो ।

प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई सहकारिता, सहअस्तित्व र समन्वयको मर्मअनुरुप मूर्त रुप दिन मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमलाई निरन्तरता दिने सरकारले उल्लेख गरेको छ । प्रदेश सरकारका गतिविधिलाई नागरिक सामु पहुँच अभिवृद्धि गर्न जनतासँग मुख्यमन्त्री कार्यक्रम कार्यान्वयन गरिने प्रदेश प्रमुख गुरुङले बताउनुभयो । प्रदेशभित्रका पत्रकारको स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नुका साथै पत्रकार लेखनवृत्ति कार्यक्रम सञ्चालन गर्ने सरकारले जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रम बारे टिप्पणी गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले सिद्धान्त र प्राथमिकतासँग नीति तथा कार्यक्रमको तालमेल नदेखिएको बताउँदै यसले विद्यमान चुनौतीको समाधान गर्न नसक्ने जिकिर गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता हरिबहादुर चुमानले नीति तथा कार्यक्रम विगतको समीक्षा गर्दै आएको बताउँदै अधिकांश कार्यक्रम अग्रगामी खालका रहेको बताउनुभयो । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले नीति तथा कार्यक्रमले नयाँ उत्साह र आशा जगाएको धारणा राख्नुभयो ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा : थुनछेक बहस सुरु

काठमाडौँ – जिल्ला अदालत काठमाडौँमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तको थुनछेक बहस सुरु भएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बसहमा आज जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस भएको छ । सरकारी वकिलका तर्फबाट काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले नेतृत्व गर्नुभएको छ ।

उक्त प्रकरणमा पक्राउ परेका १८ अभियुक्तकै थुनछेक बहस हुनेछ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न पाँच वटा कसुरमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । उक्त प्रकरणका १२ जना अझै फरार अवस्थामा छन् ।

पाल्पामा जीप दुर्घटनामा तीनको मृत्यु

पाल्पा – पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप रैनादेवीछहरा गाउँपालिका–८ सत्यवतीमा आज साँभm ५ बजेको समयमा दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले बताउनुभयो । घाइतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाइएको वडाध्यक्ष रानाले बताउनुभयो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मुझुङ, प्रहरी चौकी बल्ढेङ्गढी र इलाका प्रहरी सालझण्डीबाट प्रहरी जवान उद्धारमा खटिएका छन् । यो समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशसभा : आर्थिक ऐन संशोधन गर्न बनेको विधेयक पारित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ आज सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसअघि विधेयकमाथि आजको बैठकमा भएको छलफलमा प्रदेशसभा सदस्य प्रकाशबहादुर बम, ओमविक्रम भाट, वीरवहादुर थापा, टीका थापा र जुनाकुमारी दानीले भाग लिनुभएको थियो ।

पारित विधेयकमा निजी तथा सार्वजनिक विद्युतीय सवारी साधनमा कर लगाउने व्यवस्था गरिएको छ । प्रदेशमा विद्युतीय सवारी साधनमा कर लगाउने यो नयाँ व्यवस्था हो । पारित विधेयकमा निजी विद्युतीय सवारी साधनतर्फ मोटरसाइकल र स्कुटरमा रु एक हजारदेखि रु तीन हजार कर लाग्ने व्यवस्था छ ।

यस्तै निजी कार, जीप, भ्यान, माइक्रो बस र बसमा रु १० हजारदेखि रु ३० हजारसम्म र सार्वजनिक विद्युतीय सवारी साधनतर्फ कार, जीप, भ्यान, माइक्रोबस र बसमा रु दुई हजारदेखि रु १५ हजारसम्म कर लगाउने व्यवस्था गरिएको छ ।

काभ्रेमा विपद् प्रतिकार्य जनशक्ति तयार

काभ्रे – जिल्लास्थित नेपाली सेनाको कालीजङ गणले सामुदायिक विपद् प्रतिकार्यका लागि जनशक्ति तयार पारेको छ । काभ्रेपलाञ्चोकका १३ मध्ये १० स्थानीय तहमा चार दिने ८० विपद् प्रतिकार्य जनशक्ति तयार पारिएको हो ।

तालिममा ‘विपद्को परिचय र विपद् व्यवस्थापन चक्र, विपद् प्रतिकार्यका लागि आवश्यक सामग्री, सीप तथा कला, बाढीपहिरो, डुबान, आगलागी जस्ता विपद्का घटनाको दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय स्रोत-साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्ने विधि र विपद्को समयमा आधुनिक उपकरणको प्रयोगका बारेमा जानकारी गराइएको गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोकका अधिकांश भू-भाग पहाडी क्षेत्र, जिल्ला भएर बग्ने तीन ठूला नदी विपद्को हिसाबले जोखिमयुक्त मानिन्छ । यस्तै वर्षायाममा पहिरोको जोखिम, पुराना घर, बजार क्षेत्रमा बाक्लो बस्ती तथा जङ्गल इलाका धेरै भएकाले हुनसक्ने आगलागीका घटना हुँदै आएको घटनाक्रमले देखाएको छ ।

विपदका घटनामा तत्काल उद्धारकर्मी पुग्न सम्भव नहुँदा कैयौँ मानिसको ज्यान जान सक्ने सम्भावनालाई न्यूनीकरण गर्न स्थानीयद्वारा नै प्रतिकार्य गर्नसक्ने क्षमताको विकास गर्न उक्त तालिमको आयोजना गरिएको सिंहले बताउनुभयो । उहाँका अनुसार विपद्का क्रममा उद्धारकर्मीको उपस्थितिबिना स्थानीयद्वारा ‘फस्ट रेस्पोन्डर’ का रुपमा स्थानीय युवाको क्षमता अभिवृद्धि गरिएको हो ।

यस्तै प्राथमिक उपचार तथा मेडिकलसम्बन्धी प्रशिक्षण र अभ्यास तथा शिक्षार्थीबाट ‘डेमोन्स्ट्रेशन’ गरिएको छ । यसअघि गणले गत वैशाख अन्तिम साता काभ्रेपलाञ्चोकस्थित सुनकोशी नदीमा विपद् प्रतिकार्य संयुक्त अभ्यास गरेको थियो । गणले ‘मनसुन–३’ नामकरण गर्दै अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको व्यक्तिको उद्धार प्रदर्शन गरेको हो ।

यस्तै मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप सुरक्षाकर्मी उद्धारको पूर्वाभ्यास गर्दै आएका थिए । जेठ पहिलो साता काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सशस्त्र प्रहरीद्वारा सुनकोशी नदीमा शुक्रबार उद्धारको पूर्वाभ्यास गरेका थिए भने नेपाली सेनाले गत वैशाख अन्तिम साता सोही स्थानमा सोही प्रकृतिको अभ्यास गरेको थियो ।

संयुक्त पूर्वाभ्यासमा सशस्त्र प्रहरी अधिकृत तथा जवानद्वारा बाढीमा बगेको, डुबेको, पहिरोमा फसेको तथा बाढीमै फसेका व्यक्तिलाई उद्धार गरिएको थियो । साथै, प्रहरी आफँैं उद्धारका क्रममा बाढीमा फसेको र आफैं जोगिन सफल भएकोसमेत प्रदर्शन गरिएको थियो ।

दुई जिल्ला विपद्को उच्च जोखिममा रहेकाले संयुक्त पूर्वाभ्यास गरिएको जनाइएको छ । यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्वतयारी अवस्थामा रहन काभ्रेका स्थानीय तहलाई निर्देशन दिइसकेको छ ।

समितिले बाढी, डुवान तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणार्थ सहजीकरण गर्न आग्रह गरेको हो ।

साथै, अत्यावश्यक खाद्य तथा गैरखाद्य सामग्री भण्डारण गर्ने, बाढीको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ–दाउरा सङ्कलन गर्नेजस्ता कार्यलाई निषेध गर्ने, महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भई उच्च जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिने, आपत्कालीन प्रतिकार्यका लागि सामग्रीसहित खोज तथा उद्धार कार्यमा तत्काल खट्न सक्नेगरी जिल्लास्थित सुरक्षा निकाय तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।

भारतको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ भएको सरकारी अधिकारीको भनाइ

नयाँ दिल्ली – भारतमा शनिबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संशोधित सङ्ख्या २७५ रहेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।

भारतको पूर्वी राज्य उडिसाका एक उच्च सरकारी अधिकारीले शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ पुगेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मृत्यु हुनेको सङ्ख्या २८८ भनी यस पहिले अपुष्ट रूपमा सञ्चारमाध्यमबाट आएको तर आइतबार संशोधित सङ्ख्या २७५ जना भएको पुष्टि भएको छ ।”

जिल्ला प्रशासकद्वारा रेल दुर्घटनामा ज्यान गुमाएका केही व्यक्तिको दुई पटक गणना गरिएको पाइएको छ । अन्तिम गणनाबाट मृत्यु हुनेहरूको सङ्ख्या संशोधन गरी २७५ भएको पुष्टि गरिएको छ ।

ओडिसाका मुख्य सचिव प्रदीप जेनाले २७५ मध्ये ८८ जनाको मात्र पहिचान भएको बताउनुभयो ।

अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७५ घाइतेमध्ये करिब ८०० जना उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भारतका सङ्घीय रेलमन्त्री अश्विनी वैष्णवले रेल दुर्घटनाको कारण ‘पोइन्ट मेशिन’ र विद्युतीय ‘इन्टरलकिङ’ प्रणालीमा गरिएको परिवर्तन भएको बताउनुभएको छ ।

वैष्णवले भन्नुभयो, “दुर्घटनाको लागि जिम्मेवार व्यक्तिहरूको पहिचान गरिएको छ र रेलवे लाइनलाई पुन ः स्थापित गर्ने प्रयासहरू अहिले जारी छन् ।

दुर्घटनास्थलमा आइतबार साँझसम्ममा कम्तीमा दुई वटा रेललाइन सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नुहुँहैन : उपप्रधानमन्त्री श्रेष्ठ

पाटन – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु नभएको बताउनुभएको छ ।

आज ललितपुर महानगरपालिका–२१ को आयोजनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा रुद्रायणी देवगणमा नव प्रवेशी आठ देव गणको सम्मानमा आयोजित कार्यक्रममा उहाँले आधुनिकताको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढेको बताउँदै पहिचान छोडेर यान्त्रिक नक्कल गर्न नहुने बताउनुभयो ।

“पहिचान र संस्कृतिको रक्षा गर्नुको सट्टा यान्त्रिक नक्कल गर्दा कति पीडा हुन्छ भन्ने कुरा मैले भोगेको छु । आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु होइन । आधुनिक संस्कृतिको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढ्यो, यसले हामीलाई विस्तारै आफ्नो भाषा, संस्कृति बिर्साएर अङ्ग्रेजीमा नक्कल गर्नेतिर धकेल्यो । हामी मातृभाषा भन्दा अङ्ग्रेजीमा गर्व गर्न थाल्यौँ । यसको परिणाम हामीले आफ्नो पहिचान र संस्कृति भुल्दै गयौँ”, उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठका अनुसार हाम्रो पहिचान र संस्कृति बनाउने काम हामीले नगरे कसैले गर्दैन । “तीनै तहको सरकार, स्थानीयहरु र गुठीहरु मिलेर यसको रक्षा र जगेर्ना गर्नुपर्छ”, उहाँले भन्नुभयो, “खोकनावासी नेवार समुदायले जातीय पहिचान र संस्कृति जगेर्ना गर्न गर्नुभएको योगदानको सम्मान गर्न चाहन्छु ।”

मन्त्री श्रेष्ठले हरेक जातिको आफ्नै पहिचान र संस्कृति हुने उल्लेख गर्दै यसको रक्षा गर्न सके गर्व गर्न सकिने र अरुको उत्पीडन नहुने बताउनुभयो । उहाँले पहिचानको रक्षा गर्न नसक्दा आर्थिक मात्रै नभई विभिन्न सांस्कृतिक र पहिचानका दृष्टिकोणबाट पनि पीडित हुनुपर्ने तर्क गर्नुभयो ।

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले खोकनालाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर समुन्नत र समृद्धिको खोकना, राष्ट्रको समुन्नत र समृद्धिको एउटा अङ्गको रूपमा अगाडि बढाउन यो १२ वर्षे मेला सफल होस् भन्ने कामना गर्नुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कला संस्कृति यहाँको पहिचान तथा इज्जत भएको बताउँदै यसलाई बचाउन गरेको पहलप्रति खोकनावासीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मूर्त तथा अमूर्त सम्पदा बचाउन महानगरले महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।

रुद्रायणी मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष तथा देवगण वेखनर महर्जनले गाईजात्राको भोलिपल्टदेखि एक महिनासम्म रुद्रायणीदेवीलाई गुफा राखिने र गुफाबाट निकालेसँगै मेला सुरु हुने बताउनुभयो । देवगण महर्जनका अनुसार खोकनाबाट सुरु भएको जात्रा बुङमती, पाटन, हनुमानढोकामा देखाइन्छ, त्यसपछि रुद्रायणी मन्दिर परिसरमै देखाएपछि सम्पन्न हुन्छ ।

काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित खोकनाका ४६ जना देवगणमध्ये आठ नयाँ देवगणलाई आज सम्मान गरिएको हो । योसँगै ४३ जना देवगण पुगेको वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी गराउनुभयो । अध्यक्ष महर्जनका अनुसार अझै तीन देवगणको व्यवस्थापन हुन बाँकी छ ।

चीनमा हिमाली पहिरोमा परी कम्तीमा चौध जनाको मृत्यु, पाँच बेपत्ता

चेङ्दु, चीन – चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ ।

प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनामा अन्य पाँच जना बेपत्ता भएका स्थानीय सञ्चर विभागले जनाएको छ ।

शहरको जिनकोहे जिल्लाको योङसेङ टाउनशिपको एक जङ्गल क्षेत्रमा बिहान ६ बजेतिर पहिरो खसेको थियो ।

घटनापछि बेपत्ताको खोजी गर्न एक सय ८० जनाभन्दा बढीको उद्धार टोली घटनास्थलमा खटाइएको र उनीहरूको खोजीकार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।(रासस÷सिन्ह्वा)

निर्माण व्यवसायीले असार ४ गतेदेखि देशभर आन्दोलन चर्काउने

काठमाडौं – सरकारले आफ्ना महत्वपूर्ण मागहरू सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ । आइतवार महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले म्याद थप, भुक्तानी, मूल्य समायोजन लगायतका व्यवसायीहरूको अत्यन्त महत्वपूर्ण मागहरू बारे आगामी आर्थिक बर्षको बजेटमा सम्बोधन नभएको भन्दै आक्रोस पोखे ।

उनले माग पुरा नभए असार ४ गतेदेखि देशभर आन्दोलन चर्काउने घोषणा गरे । यदी आन्दोलन गर्नु पर्ने अवस्था सिर्जना भएमा, काठमाडौंमा आगामी मंसिर ५ देखि ९ सम्म हुन लागेको ४६ औं इफाप्का सम्मेलनको तयारीमा ठूलो गतिरोध आई अन्तर्राष्ट्रिय समुदाय समक्ष मुलुकको प्रतिष्ठामा नै आँच आउने खतरा तर्फ पनि उनले ध्यानाकर्षण गराएका छन् ।

हाल इफाप्काको अध्यक्ष समेत रहेका सिंहले नेपालमा निर्माण कार्य गर्न अत्यन्त कठीन रहेको दृष्टान्त दिँदै विश्वमा सफल भएका विदेशी निर्माण कम्पनीहरू पनि जटिल कानूनी प्रक्रियाले गर्दा नेपालमा असफल प्रमाणित भइसकेको बताए ।

मूल्य समायोजनसहित एकमुष्ट रुपमा २०८१ असार मसान्तसम्म सबै आयोजनाहरूको म्याद थप गर्नुको विकल्प नभएको उनको भनाई छ । माग पूरा गर्ने प्रतिबद्धता जनाउने तर व्यवहारमा कार्यान्वयन नगर्ने सरकारी रवैयाका कारण व्यवसायीहरूको धैयर्ताको बाँध फुटेको बताएका अध्यक्ष सिंहले मुलुकको निर्माण उद्योग धराशायी गर्न सरकार नै लागि परेको आरोप लगाए ।

अध्यक्ष सिंहले चरम आर्थिक अभावका कारण निर्माण व्यवसायीहरूले ‘आत्मदाह’ गर्ने क्रम सुरु भएको भन्दै आन्दोलनमा उत्रिनुको विकल्प नभएको बताए । यस्तै उक्त पत्रकार सम्मेलनमा महासंघका सल्लाहकार जयराम लामिछानेले व्यवसायीहरूको माग सम्बोधन नभए असार मसान्तपछि सबै निर्माण कम्पनीहरू कालो सूचीमा परी मुलुकको निर्माण उद्योग नै समाप्त हुने चेतावनी दिए ।

त्यसैगरि, महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले कुनै पनि दृष्टिकोणबाट राज्यमा काम गर्न सक्ने अवस्था नरहेपनि विदेशी व्यवसायीहरूको तुलनामा स्वदेशी व्यवसायीहरूले राम्रो काम गरेको दाबी गरेका छन् ।व्यवसायीहरूको ७० अर्बभन्दा बढी रकम भुक्तानी नभएको भन्दै आयोजनाहरू समयमै सम्पन्न नहुनुमा राज्यकै बढी दोष भएको महासंघका महासचिव रोशन दाहालले औल्याए।

पूँजीगत खर्च बढाउने, आवश्यक सबै प्रक्रिया पूरा गरेपछि मात्र बजेट विनियोजन गर्ने, आयोजना प्रमुखलाई जिम्मेवार एवं जवाफदेही बनाउने, निर्माण व्यवसायीको अभिलेखसार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत् अद्यावधिक गर्ने, करमा दिएको छुट लगायतका बजेटका केही बुँदा भने सकारात्मक रहेको पनि उनको टिप्पणी रहेको छ ।

पन्ध्र मुर्रा राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार गरिने

काठमाडौँ – भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ ।

वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगाबाट तीन वर्षपश्चात वार्षिक कम्तीमा एक लाख ५० हजार डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै भएको भारत भ्रमणका दौरान भारत सरकारबाट नेपाललाई मुर्रा राँगो उपलब्ध गराउने सम्वन्धमा समझदारी भएको थियो । मन्त्रालयले सो विषयका सन्दर्भमा थप स्पष्ट पार्दै यसअघि सन् २०१८ मा नेपालमा भएको नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको निर्णयानुसार नेपाल सरकारबाट विभिन्न समयमा औपचारिक÷अनौपचारिक तवरबाट भारत सरकारसँग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगो नेपाल सरकारलाई उपलब्ध गराउन अनुरोध गरिएको जनाएको छ ।

यसै सम्बन्धमा जुन २०२० मा भारतको पशुपालन मन्त्रालयललाई उच्च प्रजनन मान भएका बीउ राँगो आपूर्तिका लागि औपचारिकरूपमा नेपाल सरकारबाट प्रस्ताव गरिएकोमा नेपालले निर्धारण गरेको प्राविधिक मापदण्ड बमोजिमको १५ वटा उच्च नश्लका मुर्रा जातका पाडाहरू उपलब्ध गराउन सम्बद्ध भारतीय पक्षबाट प्रतिबद्धता प्राप्त भएको हो ।

यस पटकको भारत भ्रमणका क्रममा नेपाललाई १५ वटा उच्च प्रजनन मानका मुर्रा राँगो उपलब्ध गराइने विषय नेपालस्थित भारतीय राजदूतावासको यही जेठ १९ गते जारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक भएको हो । यसरी प्राप्त हुने उच्च प्रजनन मानका १५ वटा मुर्रा राँगो नेपाल सरकारलाई वस्तुगत सहायतास्वरूप निःशुल्क उपलब्ध हुने मन्त्रालयका सह–सचिव एवं प्रवक्ता प्रकाशकुमार सन्जेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसको प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिकहरू छिट्टै भारतस्थित सम्बन्धित सरकारी फार्ममा जाने तयारी भइरहेको छ । प्राविधिक पक्ष टुङ्गिएपश्चात भारतीय पक्षबाट नेपालको भन्सार नाकासम्म ती उच्च प्रजनन मानका मुर्रा राँगाहरू उपलब्ध हुनेछन् । यसरी प्राप्त राँगाहरूलाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू (पोखरा, नेपालगञ्ज र लहान) मा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यका लागि उपलब्ध गराइने व्यवस्था गरिने छ ।

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

सुर्खेत – कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ ।

प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ दीर्घकालीन सोच अनुरुप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादनमा लक्षित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले वार्षिक १० हजारलाई रोजगारी दिने उद्देश्य अनुरुप कर्णाली समृद्धिका लागि अभियान सञ्चालन गरिने बताउनुभयो । विगतदेखि कार्यान्वयनमा रहेका मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिइएको छ भने प्रदेशलाई आर्गानिक प्रदेशको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सुर्खेत विमानस्थल पुनःविस्तार

कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको योजना पुनःल्याएको छ । यसअघि पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल विस्तारको विषयलाई हटाउनुभएको थियो । त्यसको सट्टा भेरीगङ्गामा नयाँ विमानस्थल निर्माण गर्ने तयारी गरिएको थियो ।

निजी क्षेत्रले नयाँ विमानस्थल निर्माण गर्न समय लाग्ने भएको भन्दै वर्तमान विमानस्थललाई नै विस्तार गरिनुपर्ने बताउँदै आएका थिए । प्रदेश प्रमुख परियारले विमानस्थल विस्तारका लागि सङ्घीय सरकारसँग सहकार्य गरिने बताउनुभयो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मङ्गलगढी चोकमा आकाशे पुलको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै वीरेन्द्रनगरका सडकमा ट्राफिक बत्तीको व्यवस्थापन गर्नुका साथै प्रदेश सरकार तथा स्थानीय तहको सहकार्यमा आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गभर्नर अधिकारीसमक्ष अध्ययन प्रतिवेदन हस्तान्तरण

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष नेपाल भारत–अन्तरदेशीय डिजिटल कारोबारसम्बन्धी अध्ययन प्रतिवेदन बुझाइएको छ ।

नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) ले गरेको सो अध्ययन राष्ट्र बैंकमा एक कार्यक्रमबीच इमानका अध्यक्ष रोयल आचार्यले हस्तान्तरण गर्नुभएको हो ।

प्रतिवेदन ग्रहण गर्दै गभर्नर अधिकारीले अन्तरदेशीय डिजिटल कारोबारले भारतबाट नेपाल आउने पर्यटकलाई थप सहज वातावरण सृजना गर्ने डिजिटल कारोबारसम्बन्धी अध्ययन गरेकोमा इमानलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

“विशेषगरी भारतबाट नेपाल आउने पर्यटकहरूलाई पेमेन्टको समस्या छ । अझ नेपालबाट भारत जाने विद्यार्थी र तीर्थ यात्रुहरूलाई अफ्ठ्यारो पर्ने गर्दथ्यो’, गभर्नर अधिकारीले भन्नुभयो, “अब अन्तरदेशीय डिजिटल कारोबारले गर्दा पेमेन्टमा थप सहयोग पुग्नेछ । यसका लागि हामी थप होमवर्क गर्दैछौँ । यसमा इमानले गरेको अध्ययन प्रतिवेदन हाम्रा लागि सहयोगी हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।”

यस्तै इमानले सो प्रतिवेदन नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीलाईसमेत आज हस्तान्तरण गरेको छ । इमानको प्रतिवेदन बुझ्दै अध्यक्ष केसीले महत्त्वपूर्ण अध्ययनका लागि धन्यवाद व्यक्त गर्नुभयो । इमानको टोलीले दुई साताअघि भारतको नयाँदिल्ली र विभिन्न स्थानमा पुगी अध्ययन गरेको थियो ।

एसका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने एमालेमा प्रवेश

काठमाडौँ – माधव कुमार नेपालले नेतृत्व गर्नुभएको नेकपा एकीकृत समाजवादी पार्टीमा झड्का लागेको छ ।

एस पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने पार्टी विभाजनको दुई वर्षपछि नेकपा एमालेमा फर्किएका छन् । न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतले पार्टीमा स्वागत गरेका छन् ।

केही समयअघि नेकपा एसको नीति तथा कांग्रेसपरस्त प्रवृत्तिसँग असहति जनाउँदै राजीनामा दिएका न्यौपाने एमालेमा समाहित भएका हुन् ।

श्रम र वैदेशिक रोजगारसँग जोडिएका मुद्दा तत्काल सम्बोधन गर्छौं : मन्त्री भण्डारी

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय कटिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले श्रम बजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउन मन्त्रालय क्रियाशील रहेको उल्लेख गर्नुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “श्रम क्षेत्रको सुधारका लागि गरेको प्रतिबद्धताप्रति मन्त्रालय सजग छ, उठेका विषय सम्बोधन गर्न र लक्षित नतिजा हासिल गर्न हामी प्रयत्नशील छौँ । सेवा शुल्कबारे उठेका प्रश्न कार्यदलमार्फत सम्बोधन गरिनेछ ।”

स्थानीय तहसँगको सहकार्यमा श्रम क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गरिने बताउँदै उहाँले तोकिएको मापदण्ड पालना नगर्ने वैदेशिक रोजगारदाता कम्पनीलाई कारबाहीको दायरामा ल्याइने दृढता व्यक्त गर्नुभयो । नेपालसँग दौत्य सम्बन्ध स्थापना भएका मुलुकमा वैदेशिक रोजगारका लागि श्रमिक पठाउने विषयमा अध्ययन र गृहकार्य गर्न तत् तत् देशमा रहेका दूतावास र निगमलाई पहल र प्रयत्न गर्न सुझाव दिइएको पनि सो अवसरमा जानकारी दिइयो ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगार र श्रम क्षेत्रलाई व्यवस्थित एवं पारदर्शी गर्न नवीनतम प्रविधिको प्रयोगमा जोड दिइने बताउनुभयो । सङ्घीयताको मर्म र भावनाअनुरूप सबै स्थानीय तहबाटै श्रमसम्बन्धी कार्य प्रभावकारी तुल्याइने बताउँदै उहाँले विगतका तुलनामा केही सुधारका कार्यक्रम अघि बढे पनि अझ थुप्रै काम गर्न पर्ने आवश्यकतामा जोड दिनुभयो ।

वैदेशिक रोजगारी विभागका महानिर्देशक मदन राउतले सबै क्षेत्रका ठगीसम्बन्धी विषय विभागसँग जोडेर हेर्ने प्रवृत्तिले पनि यस क्षेत्रलाई थप बदनाम तुल्याएको बताउनुभयो । मन्त्रालयका सहसचिव राजिव पोखरेलले वैदेशिक रोजगार र श्रम क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई रोक्न निकट भविष्यमै टिम बनाएर कार्य प्रारम्भ गर्ने विश्वास दिलाउनुभयो । वैदेशिक रोजगारमा रहेकालाई सामाजिक सुरक्षामा समावेश गर्ने घटना निकै महत्त्वपूर्ण रहेको जनाउँदै मन्त्रालयले त्यसमा हालसम्म एक लाख ३० हजार सामेल भइसकेको जानकारी दिएको छ ।

सो अवसरमा रोजगारीमा जान लागेका व्यक्तिलाई प्रवेशाज्ञाको अवधिका आधारमा श्रम स्वीकृत दिन उपयुक्त हुने अध्ययनले देखाएको जानकारी दिइयो । नेपालले निकट भविष्यमै जमर्नी र रुमानियासँग पनि श्रम सम्झौताका लागि पहल भइरहेको जानकारी दिइयो ।

नेपाली महिला फुटबल टोली म्यानमार जाँदै

काठमाडौँ – एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आज विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली महिला फुटबल टोली आज साँझ म्यानमार प्रस्थान गर्दैछ ।

दोस्रो चरणको छनोट खेलका लागि नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई रहेका छन् । त्यस्तै समूह ‘ए’ मा अष्ट्रेलयिा, भियतनाम, इरान र लेबनान रहेका छन् ।

नेपालले पहिलो खेल यही जेठ २३ गते आयोजक म्यानमारसँग खेल्नेछ । दोस्रो खेल जेठ २५ गते चीनसँग तथा तेस्रो खेल जेठ २७ गते चाइनिज ताइपेईसँग खेल्नेछ । यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट खेलबाट नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन गर्नबाट रोक लगाएको छ ।

संविधान बमोजिम निष्क्रिय भइसकेको विधेयक प्रमाणीकरण गर्नु गैरसंवैधानिक भएको जिकिर गर्दै उहाँहरुले रिट दायर गर्नु भएकाे थियाे ।

रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गरेको छ ।

रास्वपाका सांसद विराजभक्त श्रेष्ठले डेङ्गु रोग फैलन नदिन यसवर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराउनुभएको सो पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।

गत वर्ष नेपालका ७७ वटै जिल्लामा डेङ्गु रोग फैलिएको, २८ हजार एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको र ३८ जनाको मृत्यु भएको उल्लेख श्रेष्ठले यो वर्ष बेलैमा सावधानी अपनाउन माग गर्नुभएको छ ।
“यो सरुवा रोगको नियन्त्रण, रोकथाम, उपचारलगायत पूर्वसावधानीको समयमै तयारी एवं पहल गर्न सरकारलाई जिम्मेवार एवं उत्तरदायी बनाउनका लागि संसद्बाट निर्देशन जारी हुन आवश्यक देखिएको छ”, सङ्कल्प प्रस्तावमा भनिएको छ ।

सङ्कल्प प्रस्तावमा डेङ्गु रोगका विषयमा व्यापक जनचेतना जोगाउनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न, रोग सार्ने लामखुट्टे नियन्त्रणका लागि जनस्वास्थ्य निरीक्षकलाई देशभर परिचालन गर्न सरकारलाई निर्देशन दिन माग गरिएको छ ।

त्यस्तै वर्षायाम सुरु हुनुअगावै महामारी रोकथाम एवं प्रतिकार्यका लागि आवश्यक तयारी गर्न, उपचारका लागि अस्पतालको क्षमता वृद्धि गर्न र निजी क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र अन्य सङ्घसंस्थाको साधनस्रोत र क्षमताको अत्यधिक परिचालन गर्न पनि निर्देशन माग गरिएको छ ।

प्रतिनिधिसभाको बैठक अब सोमबार मात्रै बस्ने

काठमाडौँ – नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुको विरोधका कारण रोकिएको संसद् बैठक अब सोमबार मात्रै बस्ने भएको छ। संघीय संसद्‍मा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले एक सूचना निकाल्दै अब अर्को बैठक सोमबार बिहान ११ बजे मात्रै बस्ने जानकारी दिनुभयाे । 

आइतबार बिहान ११ बजे बसेको संसद् बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीसहितले अवरोध गर्दै नाराबाजी गरेका थिए। 

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक असंवैधानिक बाटोबाट प्रमाणीकरण गरेको भन्दै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरु आन्दोलित छन्।  

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणकै क्रममा अतिक्रमित नेपाली भूमि कालापानी भारत लाइ दिने र  पूर्वी नाकाबाट बंगलादेश जाने बाटो लिन सकिने विवादित अभिव्यक्ति दिए पछि त्यसकाे पनि  बिराेध हुँदै आएकाे छ ।  आइबार नै बसेको राष्ट्रियसभाको बैठकमा पनि एमालेले अवरोध गरेपछि बैठक  साँझसम्मलाई रोकिएको छ।

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

नवनियुक्त आवासीय राजदूतमा मलेसियाका लागि डिल्लीराज पौडेल, ब्राजिलका लागि निर्मलराज काफ्ले, भरतकुमार रेग्मी अष्ट्रिया, मिलनराज तुलाधार रुसी महासङ्घ, प्रा डा राम स्वार्थ राय डेनमार्क र सुशीलकुमार लम्साल इजिप्ट रहनुभएको छ ।

त्यसैगरी उल्लेखित राजदूत क्रमशः पौडेललाई ब्रुनाई दारुसलाम, काफ्लेलाई गणतन्त्र चिलि, रेग्मीलाई क्रोएसिया, तुलाधारलाई गणतन्त्र काजखस्तान, रायलाई लितुआनिया र लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रिय योजना आयोगले पायो पूर्णता

काठमाडौँ – नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।

नवनियुक्त सदस्य ढुङ्गानाले आज आयोगका उपाध्यक्ष डा मिनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको शपथ लिनुभयो । यही जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको महिला सदस्यका रुपमा ढुङ्गानालाई नियुक्त गरेको थियो । सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय ढुङ्गानासँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) मा समेत काम गरेको अनुभव छ । उहाँले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसक्नुभएको छ ।

यसअघि आयोगको सदस्यमा डा रामकुमार फुयाँल, डा जयकान्त राउत, डा प्रभु बुढाथोकी, डा आरपी विच्छा र डा रमेश पौडेल नियुक्त भइसक्नुभएको छ । नवनियुक्त सदस्य ढुङ्गानाले आयोगमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाउनुभएको छ ।

यसअघि नियुक्त भइसक्नुभएका सदस्यमध्ये डा फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्याङ्क साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको थियो भने डा राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसैगरी डा बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा विच्छालाई स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुद साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ ।

विश्व रक्तदाता दिवस साताव्यापी हुने

काठमाडौँ –  ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) ले विश्व रक्तदाता दिवस २०८० (२०२३) का उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ ।

ब्लोदानको शुक्रबार बसेको बैठकले ‘नियमित रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ यही जेठ २४ देखि ३१ गतेसम्म रक्तदान–रक्ततत्वसम्बन्धी विभिन्न कार्यक्रम गर्न संस्था–सहयोगदातालाई आह्वान गरेको छ ।

साताव्यापी कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न स्वयंसेवी रक्तदाता तथा रगत र रक्ततत्वसम्बन्धी कार्य गर्ने सबै सङ्घसंस्थालाई आह्वान गरिएको ब्लोदानका केन्द्रीय सदस्य तथा प्रचारप्रसार विभागका सदस्य रवि रिमालले जानकारी दिनुभयो ।

सन्दीप लामिछानेलाई भोलि दक्षिण अफ्रिका पठाउने क्यानको तयारी

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।

जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई सन्दीप दक्षिण अफ्रिका पठाउने भएको हो।

यसअघि गत मङ्गलवार राष्ट्रिय टोली नेपालबाट प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप सो टोलीमा छुटेका थिए । प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप रोकिएका हुन् ।

जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा छ । तर याी बीचमा लामिछानेको मुद्दाको पेसी परेको भन्दै क्यानले उनलाई टोलीसँगै पठाएको थिएन ।

नेपालको समग्र हितको रक्षापछि संसद्को गतिरोध अन्त्य हुन्छ : अध्यक्ष ओली

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसद्को गतिरोध अन्त्य हुने बताउनुभएको छ । 

नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति लगायतका विषयमा संसद् अवरोध भएपछि अध्यक्ष ओलीले संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि सेटल हुने बताउनुभयो । 

प्रतिपक्षी दलहरूले विरोधका कारण सङ्घीय संसद्को दुई सदनको बैठक अवरुद्ध भएको थियो । 

राष्ट्रियसभाको बैठक भोलिलाई सारियो

काठमाडौँ – राष्ट्रियसभाको आज बस्ने भनीएको बैठक सोमबारलाई सरेको छ ।

आइतबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि २९ मिनेटका लागि स्थगित भएको बैठक भोलिमात्रै बस्ने गरी सरेको हो । बैठक भोली अपराह्न १:०१ बजे राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बताए ।

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिकरूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदन अवरोध गरेको थियो ।

प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित

काठमाडौँ – विपक्षी दलहरुले विरोध गरेपछि प्रतिनिधि सभाको बैठक एक घण्टाको लागी स्थगित भएको छ ।

आइतबार बसेको बैठक सुरु भएर औपचारिक कार्यमा प्रवेश गर्न नपाउँदै सांसदहरुले उठेर नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

“राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन, हुन सक्दैन” : राजेन्द्र लिङदेन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले भारत भ्रमणको मुखमा किन नागरिकता विधेयक प्रमाणीकरण गर्नुप¥यो भन्दै प्रश्न गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठक अवरोध गर्न उत्रिएका लिङदेनले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिले मन्त्रिपरिषद्को कारिन्दाको भूमिका खेलेको आरोप लगाए ।

उनले भने, “राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन, हुन सक्दैन,” “सिद्धान्तमा हामीले जतिसुकै निष्पक्ष र अभिभावक भने पनि दलको निर्देशनमा चल्छ भनेका थियौँ, अहिले त्यही भयो ।”

उनले यत्रो दिन किन नागरिकता विधेयक प्रमाणीकरण गर्नु परेन र अहिले भारत भ्रमणको मुखमा गर्नुप¥यो भन्दै प्रश्न गरे ।

“बाउआमा नेपाली नागरिक भएका छोराछोरी नागरिकता पाउनबाट वञ्चित भएका हजाराँ नागरिकले नागरिकता पाउनुपर्छ । नागरिकता ऐन संशोधन हुनुपर्छ भन्नेमा हाम्रो कसैको दुई मत छैन,” लिङदेनले भने, “जुन प्रक्रियाबाट, जुन समयमा नागरिकता विधेयक प्रमाणित गरियो, त्यसको विरुद्धमा राप्रपा छ ।”

उनी रेशम चौधरीको आममाफीविरुद्ध पनि उभिए । “एउटा व्यक्तिलाई अदालतका तीनवटै तहले दोषी प्रमाणित गरेर फैसलाको पूर्णपाठ नआउँदैखेरि आममाफी दिने कुराले कस्तो खालको नजिर बस्छ रु,” उनले प्रश्न गरे ।

अब टुलुटुलु हेरेर बस्दैनौँ : सन्तोष परियार

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अब टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रपतिले गरेको निर्णय असंवैधानिक भएको हुँदा अब रास्वपा त्यसलाई नसच्याउँदासम्म सडक र सदनबाटै आन्दोलन गर्न तयार रहेको चेतावनी दिए ।

सरकारले संविधान मिच्यो : पदम गिरि

काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले सरकारले संविधान मिचेको आरोप लगाएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको सुरुमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराएर सरकारले नै संविधान मिचेको आरोप लगाएका छन्।

उनले भने, ‘सरकारले नै संविधानलाई मिचेर अगाडि बढ्ने, मुलुकको राष्ट्रिय अखण्डतालाई नै प्रश्न उठ्ने खालको काम सरकारको तर्फबाट हुन थाल्यो।’

सरकारले संविधानलाई पालना नगरेर उल्टो बाटोमा हिँडेको टिप्पणी गरे।

एमालेले राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै संसदमा प्रधानमन्त्रीको जवाफ मागेको हो।

रेशम चौधरीविरुद्ध मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं –  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको  रिटमाथि आज सुनुवाइ हुने भएो छ। मुद्दाको पेशी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ।

यसअघि गत बुधबार मुद्दाको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको थियो। सो दिन समय अभावले हेर्न नभ्याएकाले मुद्दामाथि सुनुवाइ भइन।

टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा निवेदन दिएकी छन्।  राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको रिटमा उत्प्रेषण परमादेश बदरको माग गरिएको छ।

मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवस २०८० को अवसर पारेर जेलमा रहेका चौधरीको बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि चौधरी थुनामुक्त भएका हुन्।

यसअघि अदालतबाट दोषी ठहर भइ कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि प्रहरी निरीक्षक केशवकी पत्नी शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी थिइन्। 

त्यसपछि राष्ट्रपति पौडेलले उक्त फाइल गृहमन्त्रालयमा फिर्ता पठाएका थिए।

विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए ।

उनलाई जिल्ला अदालत कैलाली,उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका छन्।

महासचिव घनश्याम भुसाललाई पितृशोक

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । उहाँका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।

उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा रहनुभएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

तिलोत्तमा नगरपालिका–९ स्थित निवासमै निधन हुनुभएका भुसालका श्रीमती, चार छोरा र तीन छोरी हुनुहुन्छ ।

राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक स्थगन प्रस्ताव पेश

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बस्न लागेको प्रतिनिधिसभाको वैठक स्थगत गर्न प्रस्ताव पेश गरेको छ ।

राप्रपाले संसदको नियमावली २०७९ को नियम ७४ बमोजिम आइतबारको संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव गरेको हो । अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सो प्रस्ताव पेश गरेका हुन् ।

राष्ट्रपतिले नीति र नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयका छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्न शाहीले माग गरेका छन् ।