`

सरकारले संविधान मिच्यो : पदम गिरि

काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले सरकारले संविधान मिचेको आरोप लगाएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको सुरुमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराएर सरकारले नै संविधान मिचेको आरोप लगाएका छन्।

उनले भने, ‘सरकारले नै संविधानलाई मिचेर अगाडि बढ्ने, मुलुकको राष्ट्रिय अखण्डतालाई नै प्रश्न उठ्ने खालको काम सरकारको तर्फबाट हुन थाल्यो।’

सरकारले संविधानलाई पालना नगरेर उल्टो बाटोमा हिँडेको टिप्पणी गरे।

एमालेले राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै संसदमा प्रधानमन्त्रीको जवाफ मागेको हो।

रेशम चौधरीविरुद्ध मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं –  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको  रिटमाथि आज सुनुवाइ हुने भएो छ। मुद्दाको पेशी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ।

यसअघि गत बुधबार मुद्दाको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको थियो। सो दिन समय अभावले हेर्न नभ्याएकाले मुद्दामाथि सुनुवाइ भइन।

टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा निवेदन दिएकी छन्।  राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको रिटमा उत्प्रेषण परमादेश बदरको माग गरिएको छ।

मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवस २०८० को अवसर पारेर जेलमा रहेका चौधरीको बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि चौधरी थुनामुक्त भएका हुन्।

यसअघि अदालतबाट दोषी ठहर भइ कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि प्रहरी निरीक्षक केशवकी पत्नी शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी थिइन्। 

त्यसपछि राष्ट्रपति पौडेलले उक्त फाइल गृहमन्त्रालयमा फिर्ता पठाएका थिए।

विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए ।

उनलाई जिल्ला अदालत कैलाली,उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका छन्।

महासचिव घनश्याम भुसाललाई पितृशोक

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । उहाँका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।

उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा रहनुभएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

तिलोत्तमा नगरपालिका–९ स्थित निवासमै निधन हुनुभएका भुसालका श्रीमती, चार छोरा र तीन छोरी हुनुहुन्छ ।

राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक स्थगन प्रस्ताव पेश

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बस्न लागेको प्रतिनिधिसभाको वैठक स्थगत गर्न प्रस्ताव पेश गरेको छ ।

राप्रपाले संसदको नियमावली २०७९ को नियम ७४ बमोजिम आइतबारको संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव गरेको हो । अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सो प्रस्ताव पेश गरेका हुन् ।

राष्ट्रपतिले नीति र नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयका छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्न शाहीले माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत

काठमाडौँ – नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरोध गर्ने संकेत गरेको छ । आज ११ बजेदेखि बस्न लागेको संसद्को बैठक अवरोध गर्ने एमालेले संकेत गरेको हो । 

आजको बैठकमा जेठ १५ गते सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । तर, प्रमुख प्रतिपक्ष एमालेले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण र  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक भारतलाई दिएर बङ्गलादेश जोड्ने भूमि भारतबाट लिन सकिनेबारे दिएको अभिव्यक्तिको संसदमा प्रतिवाद गर्ने बताएको छ ।  

एमाले सचेतक महेशकुमार बर्तौलाले दुई विषयमा आफूहरुको असहमति रहेको भन्दै त्यसै अनुसार अगाडि बढ्ने बताउनुभयो ।  उहाँले बन्नुभयो, ‘हामीहरुको दुई विषयमा असहमति छ । त्यसै अनुसार संसदमा प्रतिवाद गर्छौं ।’ 

नागरिकता विधेयक प्रमाणीकरणको विषयमा एमालेले विरोध गर्दै आएको छ । 

आज गण्डकीको नीति कार्यक्रम

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्र्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका प्रवक्ता प्रेम सुवेदीले नीति तथा कार्यक्रम सार्वजनिकीकरणका लागि सबै तयारी पूरा भएको बताउनुभयो । सरकारले यही जेठ १२ गते विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको थियो ।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि यही जेठ १५ र १६ गते बसेको प्रदेशसभा बैठकमा छलफल भएको थियो । प्रदेश सरकारले अगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट आउनुपूर्व सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

घरभाडा नबढाउन सङ्घको अपिल

चितवन – व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र संभावभएमा छुट दिन उद्योग वाणिज्य सङ्घ चितवनले अपिल गरेको छ । आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै सङ्घले यस्तो आग्रह गरेको हो ।

सङ्घले कोभिड–१९ पश्चात् सिर्जित अवस्था एवं बैंक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैंक ब्याजदरका कारण व्यवसायी समस्यामा परेको जनाएको छ । औद्योगिक उत्पादन तथा वितरण अत्यन्त सुस्त भएका कारण सर्वसाधारणको दैनिकीसमेत अप्ठ्यारोे परिस्थितिबाट गुज्रिरहेको उसले जनाएको छ । आर्थिक जटिलताका कारण व्यापार व्यवसाय सञ्चालनरुपमा सञ्चालन हुन नसक्दा र सर्वसाधारणको आयआर्जनमा समेत वृद्धि नहुँदा उद्यमी व्यवसायीलगायत उपभोक्तासमेत प्रभावित भएको सङ्घले जनाएको छ ।

सङ्घले चितवनका विभिन्न व्यापारिक केन्द्रमा घर÷सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीले घर बहालसमेत भुक्तान गर्न नसकेको अवस्था रहेको चर्चा गर्दै घर बहाल समयमा नपाउँदा घर बहालमा आश्रित घरधनीलाई समेत अप्ठ्यारोे परेको उल्लेख गरेको छ ।

सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले जारी गर्नुभएको अपिलमा भनिएको छ, “घर बहाल सम्झौताबमोजिम यस वर्ष घरबहालमा वृद्धि गर्ने समय आएका घरधनीले यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्न सङ्घले सबैमा अपिल गरेको छ ।”

नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन

बैतडी – बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छन् । यसका लागि यहाँका स्थानीय तहले सुझाव सङ्कलनलाई तीव्र बनाइरहेका छन् ।

आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि विज्ञ, राजनीतिक दल, सङ्घसंस्था, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेसाकर्मी कर्मचारी र आम नागरिकबाट राय सुझाव माग गरिएको पुर्चाैडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताउनुभयो ।

आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह सङ्कलन गरिन लागिएको हो । सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने जनाएको छ ।

दोगडाकेदार गाउँपालिकाले पनि एक सूचना जारी गर्दै सुझाव पेस गर्न आग्रह गरेको छ । जिल्लाका अन्य स्थानीय तहहरुले पनि आगामी आवको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन गरिरहेका छन् । राय सुझावकै आधारमा आगामी वर्षको नीति, बजेट तथा कार्यक्रम ल्याइने स्थानीय तहले जनाएका छन् ।

‘हाम्रै कथा र व्यथा हो नीरफूल’ : निर्देशक वल

काठमाडौँ – नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पु¥याएका छन् ।

यसको राम्रो उदाहरण बनेको छ, लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘जारी’ । यो चलचित्रले प्रदर्शनको एकाउन्न दिन पार गर्दै व्यावसायिक रुपमा सफल भएको छ । आउँदो जेठ २६ गते प्रदर्शन हुने चलचित्र ‘नीरफूल’ मा तामाङ संस्कृति समेटिएको छ । उक्त समुदायमार्फत कथा वाचन गरिएको भएता पनि यो जनजातिको मात्र कथा नरहेको चलचित्रका निर्देशक फूलमान वलले जानकारी दिनुभयो ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “चरित्रहरू तामाङ समुदायको भए पनि यसमा तामाङ संस्कृति मात्र देखाउने उद्देश्य होइन । कथा उत्पत्ति भएको ठाउँ तामाङ समुदाय हो तर यो परिवारको बिछोड र मिलनको कथा हो । यो कथालाई हरेक समुदायको मानिसले महसुस गर्न सक्नुहुन्छ ।”

समीक्षक हुँदै निर्देशकसम्मको यात्रा तय गर्दा कमीकमजोरीलाई बुझ्न मदत पुगेको निर्देशक वलले बताउनुभयो । दुई दशक लामो पत्रकारिता यात्रापश्चात् निर्देशनमा उदाउदै गर्नुभएका उहाँले यो यात्रा समीक्षक भएकै कारण सम्भव बताउनुभयो ।

“समीक्षक रहँदा अन्य चलचित्रमा देखिएको कमीकमजोरीलाई केही हदसम्म बुझ्ने मौका पाएको थिएँ । सकभर त्यो गल्ती नगर्ने कोसिस गरेको छु”, निर्देशक वलले भन्नुभयो, “नेपाली चलचित्रमा खोजिएको नयाँपन यसमा हुन् सक्छ । यसमा हाम्रो कथा र व्यथा छ ।”

चलचित्रका अभिनेता दयाहाङ राईले विस्तारै नेपालका विविध संस्कृतिले चलचित्रमा मूलरुपमै स्थान पाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो जरुरी पनि थियो । किनकि हामीसँग हाम्रो मौलिक कथा धेरै छन् । नीरफूलजस्ता चलचित्रले कथामा विविधता ल्याउँछन् ।”

उहाँले यस्ता चलचित्रको महत्व कालान्तरमा अझै बढी हुने बताउनुभयो । ‘जारी’ ले प्राप्त गरेको सफलताले विविध संस्कृतिलाई चलचित्रको पर्दासम्म आइपुग्न व्यावसायिक जोखिमसमेत कम गरिएको उहाँको भनाइ थियो ।

हिमाली भेगमा छायाङ्कन गर्नुपर्ने भएकाले धादिङगको रुबी भ्यालीमा यसको छायाङ्कन गरिएको निर्देशक वलले जानकारी दिनुभयो । “हामीलाई हिउँ नभएको हिमाली भूभाग चाहिएको थियो । त्यहीँ क्रममा त्यहाँ पुग्दा छायाङ्कन गर्ने तय गर्यौं”, निर्देशक वलले भन्नुभयो ।

अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सधैँ बाँचिरहने चलचित्र ‘नीरफूल’ बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ । यसमा हामीले भोगेको समयको कथा भेटिनेछ ।”

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा अभिनेता राईसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय रहेको छ ।

चलचित्रमा पटकथा लेखन निर्देशक वल र सचिन घिमिरे, छायाङ्कन प्रमोद कार्की, सम्पादन निमेश श्रेष्ठ, सङ्गीत सिर्जना अर्जुन पोखरेल र चन्द्रकुमार दोङले गर्नुभएको छ ।

शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुँदै

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपी माथिको थुनछेक बहस आजबाट सुरु हुदैँछ ।

हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । सो थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृह मन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपाने लगायतले बयान लिनुभएको थियो। जुन बयान शुक्रवार सकिएपछि आजबाट थुनछेक बहस सुरु हुन लागेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८जनासहितलाई फरार रहेका ३० जनालाई सङ्गठित अपराध, किर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो। 

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणित गरेको नागरिकता विधेयकमाथि परेको मुद्दाको रिटमा आज सुनवाइ हुने भएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी दर्ता गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनवाइ हुन लागेको हो ।

सर्वोच्चमा दर्ता भएको रिटमा अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ । त्यस्तै, विधेयकमा रहेका प्रावधानहरू समेतमा पुनरावलोकन गर्नुपर्ने भन्दै अदालतबाट अन्तरिम आदेश समेत माग गरिएको छ ।

राष्ट्रपति पौडेलले गत बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसको समर्थन र विरोधमा बहस भइरहेका छन् ।

गर्मी बढेपछि एकसाता विद्यालय बन्द

सिन्धुली – केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।

नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिनुभयो । हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उहाँले बताउनुभयो ।

वन पैदावार सङ्कलन गर्न पाउँदा बाँकेका उपभोक्तामा खुसियाली

जानकी – बाँकेको सामुदायिक वनले वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार सङ्कलन गरेका छन् । सव डिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेको ती वनबाट लामो समयपछि वन पैदावार सङ्कलन गर्न पाउँदा उपभोक्ता खुसी भएका छन् । शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीको मातहतमा रहेको राप्तिसोनारी–८ स्थित त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिले १७ हजार चार सय ४१ क्युफिट वन पैदावार सङ्कलन गरेको छ । यसअन्तर्गत पाँच हजार सात सय ५८ क्युफिट आन्तरिकरुपमा उपभोक्तालाई वितरण गरेको छ । दुई सय १९ जना उपभोक्ता रहेको उक्त वन समुहले चार वर्षपछि रुख कटान गरेको अध्यक्ष उमा बस्नेतले बताउनुभयो ।

त्यसैगरी राप्तीसोनारी–२ कोटही देवी युवा प्रगति वन समुहले १५ हजार सात सय ६६ वन पैदावार सङ्कलन गरेको छ । अध्यक्ष तुल्सीराम भण्डारीका अनुसार चार वर्षपछि कटान गरिएको वन पैदावारमा तीन हजार तीन सय उपभोक्तालाई काठ वितरण गरिएको छ । चार सय ५१ हेक्टर क्षेत्रफलमा रहेको उक्त वन समुहलाई तीन सय १६ घरधुरीले उपभोग गर्दै आएका छन् । विशेष गरेर सामाजिक कार्यमा लगानी गर्दै आएको सो समुहले स्थानीय लक्ष्मी माविलाई रु एक लाख सहयोग गरेको छ । अन्य स्थानीय विद्यालयमा शिक्षकको व्यवस्थापन गर्नुका साथै विद्यार्थीलाई छात्रवृद्धि उपलब्ध गराउँदै आएको छ ।

सोही पालिकाअन्तर्गत वडा नं २ माथेबास जनमुखी वन समुहले पनि वन पैदावार गरेको छ । यसमा दुई सय ९७ रुख कटान गरेको छ । एक सय १० ढलापडाको व्यवस्थापन गरेको छ । दुई हजार सालको रुख कटान गरेको छ । गत चैतबाट सुरु गरिएको वन कटान गरिएको काठ लिलाम प्रक्रियामा रहने अध्यक्ष टोपबहादुर खड्काले बताउनुभयो ।

विसं २०५८ मा दर्ता भएको वनमा सुरुमा बाउबाजेले अन्न उठाएर परम्परातग शैलीमा वन संरक्षण गरेको जनाउँदै उहाँले वैज्ञानिक वनको अवधारणा आएपछि वनको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम लागू गरिएको र सोही कार्यक्रमबाट उत्पादन भएको वन पैदावार नै अहिले आम्दानीको प्रमुख स्रोत भएको बताउनुभयो । चार सय ३४ दशमलव ३४ क्षेत्रफलमा रहेको उक्त वन समुहमा एक सय ७५ जना उपभोक्ता छन् ।

शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीका प्रमुख सुशील सुवेदीका अनुसार हालसम्म एक लाख ९४ हजार छ सय ७१ दशमलव ६१ क्युफिट काठ र छ सय ६३ दशमलव ९१ चट्टान दाउरा घारगद्दी गरिएको छ । पच्चीस प्रतिशत वन पैदावार आपूर्ति समितिलाई छुट्टाएर बाँकी लिलामी प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त सव डिभिजन वन कार्यालयको मातहतमा १९ सामुदायिक वन, एउटा धार्मिक वन र सरकारद्वारा व्यवस्थित चकला वनसहित २१ वन रहेका छन् । उन्नाइस वटामध्ये ११ वनमा वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन पद्धतिबाट वन व्यवस्थापन भइरहेको प्रमुख सुवेदीले बताउनुभयो ।

त्यसैगरी सात सामुदायिक वनमा ढलापडा सङ्कलनलगायत अन्य संरक्षणको काम भइरहेका छन् । समय अभावका कारण यसपालि सरकारद्वारा व्यवस्थित गरिएको वनमा उक्त कार्य योजनाको तयारी अन्तिम चरणमा भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

बाँके जिल्लामा कूल १३ सामुदायिक वनमा वन सम्वर्द्धन प्रणालिमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअनुसार हालसम्म सो सङ्कलनबाट कटान, मुछान र ढुवानीबाट करिब ६० हजारलाई रोजगारी सिर्जना भएको र चार वन प्राविधिकले रोजगारी पाएको प्रमुख सुवेदीले बाउनुभयो । उहाँका अनुसार विगत तीन वर्षदेखि काठदाउरा नपाएका उपभोक्तालाई वन पैदावारको माग पूर्ति हुँदा उपभोक्ता खुसी भएका छन् ।

जिल्ला डिभिजन वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार स्थानीयरुपमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य छ । वैज्ञानिक वन व्यवस्थापन सुरु भएको वनमा स्थानीय सुकेका, ढलेका, रोगी तथा बूढा पुराना तथा उमेर पुगेका रुख कटान गर्ने, कटान भएको क्षेत्रमा पुनरुत्पादनलाई हुर्काउने तथा बढाउने कार्यक्रम लागू गर्दा वनको उत्पादन र उत्पादकत्व बढने उहाँले बताउनुभयो ।

यस वन व्यवस्थाबाट काठ दाउरा सहज उपलब्ध भई वन पैदावारको आपूर्ति निरन्तर र सहज हुने, जैविक विविधता संरक्षण एवं वनको हैसियतमा सुधार आउने, समूहमा हुने आम्दानीले स्थानीय विकासमा टेवा पुग्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र राज्यलाई राजस्व प्राप्त भई प्रादेशिक तथा राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास लिएको उल्लेख गर्दै सहायक वन अधिकृत खड्काले सो वन व्यस्थापनबाट वनको सघन व्यवस्थापन हुने बताउनुभयो ।

विसं २०७३ मा बँकेका १७ सामुदायिक वनमा लागू भएको दिगो विकासमा आधारित वैज्ञानिक वन व्यवस्थापन अहिले १३ सामुदायिक वनमा मात्र लागू भएको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार वैज्ञानिक वन व्यवस्थापनको काम राप्तीसोनारी गाउँपालिकामा मात्रै लागू छ ।

वन प्राविधिक श्याम भण्डारीका अनुसार वन व्यवस्थापन गरेपछि त्यसको अनुगमन गर्नुपर्छ त्यसमा अध्ययन अनुसन्धान हुनुपर्छ अरु ठाउँको वन व्यवस्थापन हेरेर आफ्नो ठाउँमा त्यो लागू गर्न सकिँदैन । ठाउँ भौगोलिक अवस्था त्यहा पायने प्रजाति विशेष आफ्नो आवश्यकता विशेष त्यसको व्यवस्थपन गर्नुपर्छ ।

“दिगो वन व्यवस्थापनको मुख्य पाटो भन्नु नै रुख काट्नु हो । निश्चित उमेरको रुख काटनु त्यसको ठाउँमा नया बोट बिरुवालाई संरक्षण गर्ने वन व्यवस्थापनको मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो, “यसले वन सम्वर्द्धन प्रणाली लागू गर्ने हो । वैज्ञानिक औजार विधि लागू गर्ने त्यसबाट दिगो वन बनाउनु र पारिस्थिकीय सेवा पउनु यसको उद्देश्य हो ।” बाँकेमा डिभिजन वन कार्यालयको मातहतमा छ वटा सव डिभिजन वन कार्यालय छन् ।

यसैबीच, वैज्ञानिक वन व्यवस्थापनका नाममा घना जङ्गलमा भएका काँचा रुख व्यापक मात्रामा फँडानी गरिएको र वन विनास तीव्ररुपमा भएको जनाउँदै यस अगाडिको सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको थियो ।

आज प्रतिनिधिसभा बैठक बस्दै : बजेटमाथि छलफल सुरु हुने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै जवाफ माग्ने भएको छ ।

एमालेले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको जवाफ माग्ने भएको हो ।

नमोबुद्धमा योजना तर्जुमा गर्न बाल भेला !

काभ्रे – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को योजना तर्जुमा गर्न बाल भेलाको आयोजना गर्‍यो । ‘बालमैत्री नगर घोषणा’को तयारीमा जुटेको नगरले बालबालिकाकै अर्थपूर्ण सहभागितामा योजना तर्जुमा गर्न विद्यालयका बालबालिकालाई भेला गरेको थियो । 

कार्यक्रममा ११ माध्यमिक विद्यालय र चार आधारभूत विद्यालयका बाल क्लबका पदाधिकारी र प्रतिनिधिको सहभागिता थियो । भेलामा सहभागी बालबालिकाले विभिन्न भेलामा छलफल गरेर बालमैत्री योजना, बजेट, कार्यक्रम तथा संरचनाका बारेमा छलफल गरी उपयुक्त योजना प्रस्ताव गरेका छन् । भेलामा बाल अधिकारको क्षेत्रमा कार्यरत कृष्ण घिमिरेले सहजीकरण गर्नुभएको छ । 

उक्त अवसरमा नगर प्रमुख कुन्साङ लामाले नेतृत्व र व्यक्तित्व विकास गर्दै बालबालिकालाई मुलुकको नेतृत्व गर्न सक्ने क्षमता बनाउनुपर्ने बताउनुभयो । उहाँले बालमैत्री अभियानबारे घर, परिवार, टोल, छिमेक, विद्यालय र समुदायमा सचेत गराउन बालबालिकालाई अनुरोध गर्दै अभियान सफल बनाउन नगराले उपयुक्त कार्यक्रमसहित बजेट विनियोजन गर्नेसमेत बताउनुभयो । 

नगर उपप्रमुख रत्नबहादुर लामाले बालमैत्री नगर बनाउन नमोबुद्धले जमर्को गरेकोले बालबालिकाका योजना आगामी बजेटमा समेटिने प्रतिबद्धता जनाउनुभयो । उहाँले समुदाय स्तरमा पनि बाल समूह गठन गर्नुपर्नेमा जोड दिँदै विभिन्न खाले प्रशिक्षण पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

नगर प्रवक्तासमेत रहनुभएका ६ नं का वडाध्यक्ष टीकाबहादुर केसीले बजेट विनियोजनको लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ । 

बाल अधिकारको क्षेत्रमा कार्यरत, सुनवल बाल क्लब सञ्जालका पूर्व अध्यक्ष कृष्ण घिमिरेले बालमैत्री नगर घोषणाको लागि नमोबुद्धका जनप्रतिनिधिले देखाएको तदारुकता प्रशंसनीय भएको उल्लेख गर्नुभयो । 

बालमैत्री नगर अभियानअन्तर्गत विभिन्न गतिविधिलाई तीव्रता दिएको नगरले जनाएको छ । यस्तै सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेका छन् । 

नगरपालिकाले हालै ४० सामुदायिक विद्यालय र छ संस्थागत विद्यालयमा बालमैत्री सूचकको अनुगमनसमेत गरेको छ । 

यसैगरी बालमैत्री नगरका लागि सामुदायिक विद्यालय, जनप्रतिनिधि, बालमैत्री शिक्षक, बाल क्लब सञ्जाल, नगरका कर्मचारी तथा वडा सचिवलाई अभिमुखीकरण गरिसकिएको छ । 

बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागितासम्बन्धी ५१  सूचक पूरा गरेको हुनुपर्ने प्रावधान छ । रासस

सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

कास्की – कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ । विसं २०७७ भदौदेखि विद्युत्् आयोजना निर्माण सुरु भएको थियो ।

आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन(प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार ढिलोमा पनि आगामी मङ्सिरभित्रमा आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत् उत्पादन हुनेछ । स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाटनै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जलविद्युत््मा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवद्र्धकको लगानी छ, सुरुआती लागत बढेको छैन । पारदर्शीरुपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौँ, छिट्टै सफलता मिल्नेमा आशावादी छौँ ।”

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।

कोरोना कहरकाबीच सुरु भएको आयोजनामा सुरुआती चरणमा काममा असर पुगेकाले एक वर्ष म्याद थप भएको अध्यक्ष पोखरेलले बताउनुभयो । आयोजनाको म्याद विसं २०८१ साउनसम्म रहेको छ । उहाँले भन्नुभयो, “कोरोनाले काममा असर गर्दा एक वर्ष म्याद थप गर्नुपरेको हो । स्थानीय सरकार, स्थानीयवासी तथा सबैको साथ सहयोगले आयोजना सम्पन्न हुने चरणमा छ । अबको पाँच महिनाभित्रमा आयोजना सम्पन्न भएर विद्युत् उत्पादन हुनेछ ।”

सेती जलविद्युत् आयोजनामा रु पाँच अर्ब लगानी रहेको छ । यसमा रु तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवद्र्धक, स्थानीयवासी तथा आइपियो जारी गरेर पूरा गरिने आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर उपेन्द्र घिमिरेले हेडबक्र्सको काम सकिएर पानी पठाउन सुरु भएको बताउनुभयो । त्यसैगरी पाइपलाइनतर्फ एक सय ५० मिटर जति मात्र काम बाँकी छ । “पावर हाउसको सिभिलको काम सकिएको । स्विचयार्डको काम भइरहेको छ र इलेक्ट्रोमेकानिकलको केही सामान आउन बाँकी रहेको छ”, घिमिरेले भन्नुभयो, “सबै क्षेत्रतर्फ गर्नुपर्ने मुख्य काम सकिएको छ । केही सानातिना काम पूरा गर्नुपर्नेछ ।”

सेती आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिनेछ । विद्युत्गृहबाट सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भइरहेको छ । प्रसारण लाइमा १३ वटा टावर रहनेमा हालसम्म ११ वटामा काम भइरहेको इन्जिनियर घिमिरेले बताउनुभयो ।

आयोजनाको सञ्चालकसमेत रहनुभएका सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङले स्थानीय जनताको सहयोगबाटनै आयोजना सम्पन्न हुने चरणमा पुगेको बताउनुभयो । निर्माणका क्रममा आउने सानातिना समस्या छलफलका माध्यमबाट समाधान गर्दै आयोजनाबाट निकट भविष्यमा विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको उहाँले उल्लेख गर्नुभयो । आयोजनाबाट देशको ऊर्जा क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास गुरुङको छ ।

झोलुङ्गे पुललाई केन्द्रित गरी पर्यटनका योजना

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ । समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ । यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दावी गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत बरादीदेखि साढे दुई किलोमिटर दूरीमा अवस्थित उक्त पुलले पछिल्लो समय पर्यटकलाई आकर्षित गरेकोे छ । सामाजिक सञ्जालदेखि टिकटकबाट उक्त पुलको प्रचार भएपछि यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दो छ । गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत विसं २०७७ मा उक्त पुल निर्माण गरिएको हो ।

‘डि’ टाइपको उक्त पुलको लम्बाइ दुई सय २० मिटर रहेको छ । उक्त पुलमा एकैपटक चार सय ७५ पदयात्री आवतजावत गर्न मिल्छ । बाबिरो÷प्रमिला जेभीले उक्त पुलको निर्माण गरेको हो ।

पुल पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेपछि गाउँपालिका यसको प्रवद्र्धनमा जुटेको छ । झोलुङ्गे पुललाई केन्द्रित गरेर गाउँपालिकाले पर्यटन विकासका योजना अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई जानकारी भएसम्म नेपालको सबैभन्दा अग्लोमध्येको झोलुङ्गे पुल हो भन्ने छ, यो पुललाई केन्द्रित गरेर पर्यटनका योजना बनाउँदैछौँ ।” पर्यटन प्रवद्र्धनका निम्ति झोलुङ्गे पुलसम्म आउने बाटो स्तरोन्नति गर्न लागिएको अध्यक्ष चुमानले बताउनुभयो । साथै झोलुङ्गे पुलमा आधारित रहेर साहसिक खेल सञ्चालन गर्ने योजना बनाइएको चुमानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ बन्जी जम्प, जीप लाइन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर डिपीआर बनाउँदैछौँ, यो एउटा नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने निश्चित छ ।”

अध्यक्ष चुमानका अनुसार झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई लक्षित गरी नजिकै रहेको गुरुङ बस्ती गिरानचौरलाई पर्यटकीय गाउँ बनाउने काम भइरहेको छ । त्यसका लागि चालु आर्थिक वर्षमा रु ३० लाख बजेट विनियोजन भएको थियो । “राजमार्गबाट नजिकै रहेको झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई गुरुङबस्तीसम्म लैजान सकिए त्यहाँका स्थानीयवासीको जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “बिदा र शनिबारका दिन अन्य दिनभन्दा बढी पर्यटकको चहपहल हुन्छ ।”

गाउँपालिकाले झोलुङ्गे पुल नजिकै रहेको आँधीमूलको पर्यटन प्रवद्र्धन गर्ने काम गरिरहेको छ । त्यसका लागि यहाँ कृत्रिम ताल निर्माण गर्ने योजना अगाडी सारिएको छ । अध्यक्ष चुमानले भन्नुभयो, “आँधीमूल पर्यटकीय धार्मिकस्थल हो, २० मिनेटको दूरीमा रहेको आँधीमूलमा कृत्रिम ताल बनाउँदैछौँ । झोलुङ्गे पुल र आँधीमूलको सही व्यवस्थापन गर्न सकिए यहाँका स्थानीयवासीको आर्थिक विकासका निम्ति महत्वपूर्ण भूमिका खेल्नेछ ।”

आँधीमूलमा कृत्रिम ताल बनाउन रु ५० लाख बजेट विनियोजन गरिएको छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ ।

गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी नदीमा मोटरबोट सञ्चालन गर्ने लक्ष्य राखेको छ । मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताउनुभयो । “ यहाँ मोटरबोट सञ्चालन गर्न सकिए राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई आँबुखैरेनीमा भुलाउन सक्छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि ऊर्जा मन्त्रालयमार्फत अनुमति चाहेका छौँ ।”

अध्यक्ष चुमानका अनुसार चिनियाँ अधिकारीसँग पनि यस विषयमा कुराकानी भएको छ । “नेपाल भ्रमणमा आउने अधिकांश चिनियाँ पर्यटक राजमार्ग हुँदै पोखरातर्फ जाँदा उनीहरुलाई आँबुखैरेनीमा एकदिन भए पनि राख्न सकिए यहाँका स्थानीयवासीको जीविकोपार्जनमा पनि सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।

नेपाल भाषा, कला र संस्कृतिको हिसाबले धनी छ : सभामुख घिमिरे

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल भाषा, कला र संस्कृतिको हिसाबले धनी मुलुक भएको बताउनुभएको छ ।

फोकस नेपाल संस्थाले आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घ संस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले नेपाल गरिबीको चपेटामा रहे पनि भाषा, कला र संस्कृतिको हिसाबले धनी मुलुक भएको बताउनुभएको हो ।

“नेपाल जाति, भाषा, कला, संस्कृतिलगायतका हिसाबले समुन्नत छ, यसको प्रचारप्रसार गर्ने काममा सामाजिक सङ्घ संस्थाको महत्त्वपूर्ण भूमिका रहन्छ”, उहाँले भन्नुभयो । निःस्वार्थ सेवाभावका साथ सामाजिक सङ्घ संस्थाले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

सभामुख घिमिरेले समाजसेवा महान कार्य भएकाले त्यसमार्फत समाजलाई माथि उठाउन सकिने बताउनुभयो । उहाँले समाज सेवाको क्षेत्रलाई बहस र छलफलको विषय बनाउँदै अगाडि लैजानुपर्ने उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले भौगोलिक हिसाबले पनि नेपाल समुन्नत रहेको भन्दै त्यसको सदुपयोग गर्न सबै लाग्नुपर्ने बताउनुभयो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक सङ्घ संस्थाले नजिक बनाएको बताउनुभयो । सो अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

महाकालेश्वरको धार्मिक कार्यक्रम सांस्कृतिक कूटनीति हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर धार्मिक कार्यक्रममा सहभागी हुनु सांस्कृतिक कूटनीतिको प्रतीक भएको बताउनुभएको छ ।

भारतको चार दिने चौपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा महाकालेश्वर मन्दिरको धार्मिक कार्यक्रमबारे स्पष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभयो, “महाकालेश्वर मन्दिरमा मुख्य अतिथिले गेरुवस्त्र लगाउनुपर्ने प्रोटोकल रहेछ । मैले लगाउन नमान्ने हो भने भारतका जनताको मनमा चिसो पस्ने भो प्रधानमन्त्रीप्रति । यो एउटा सांस्कृतिक कूटनीतिको रूपमा किन नबुझ्ने ? ”

उहाँले धर्मनिरपेक्षताका नाममा धर्म विरोधी हुन नहुनेसमेत बताउनुभयो । “म मनैदेखि धर्मनिरपेक्षतावादी हो । तर धर्मनिरपेक्ष भनेको धर्म विरोधी हैन नि ! सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनैलाई काखापाखा गर्ने हुँदैन”, उहाँले भन्नुभयो, “म कम्युनिष्ट मात्र होइन प्रधानमन्त्री पनि हो । सबैलाई समेट्नुपर्छ, सबै धर्म र समुदायको सम्मान गर्नु हामी सबैको दायित्व हो ।”

उज्जैनस्थिल धार्मिक पर्यटकीयस्थलको चर्चा गर्दै उहाँले नेपालमा पनि धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सरकारले जोड दिएको बताउनुभयो ।

नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधानको सम्मान तथा संरक्षण गर्नुभएको जनाएको छ ।

संसद्ले सबै प्रक्रिया पूरा गरेर पारित र प्रमाणित गरी दोस्रो पटक प्रस्तुत गरेको विधेयक संविधानको धारा ११३ को उपाधार (४) बमोजिम प्रमाणीकरण गर्न पर्ने संवैधानिक प्रावधानलाई तत्कालीन राष्ट्रपतिले बेवास्ता गरेर अलपत्रमा पारेको कांग्रेसको टिप्पणी छ ।

सो विधेयकलाई संविधानको सोही धाराबमोजिम प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संसद्को सार्वभौमिकताको रक्षा र संविधानको संरक्षण गर्ने संवैधानिक कर्तव्य पूरा गर्नुका साथै संवैधानिक सङ्कट टार्दै राष्ट्रिय एकताको रक्षासमेत गर्नुभएको कांग्रेसले आज विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आज विज्ञप्तिमार्फत संसद्को दुवै सदनबाट दुई पटक पारित भई प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन), २०७९ का सम्बन्धमा दुष्प्रचार र संविधानको अपव्याख्या गरिएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

“विधेयकमै संविधानको धारा ११३(४) बमोजिम प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सुझाई सबै प्रक्रिया पूरा गरी आएको विधेयक जस्ताको त्यस्तै प्रमाणीकरण गरिएको स्पष्ट विषयको आफू खुसी अर्थ लगाई जनतामा भ्रम फैलाउन खोजिएको कुराले संवैधानिक पथमा बाधा उत्पन्न गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

लामो समयदेखि विद्यमान रहेको नागरिकता समस्याको समाधान गरेर लाखौँ पीडित नागरिकको पीडामा मलम लगाउने काम भएको कांग्रेसको भनाइ छ । आफ्नो सबै प्रक्रिया पूरा गरी संसद्ले राष्ट्रपति कार्यालयमा प्रस्तुत गरिसकेको विधेयकलाई फेरि संसद्मै फिर्ता गर्न संविधानमा कुनै व्यवस्था नभएको उल्लेख गर्दै प्रमुख विश्वकर्माले त्यसैले संसद्मै फिर्ता गर्नु हास्यास्पद कुरा हुने जनाउनुभएको छ ।

संसद् अविच्छिन्न उत्तराधिकार भएको संस्था भएको र अघिल्लो संसद्को बहुमतले उक्त विधेयक पारित गरेको उल्लेख गर्दै उहाँले संवैधानिक प्रक्रिया पूरा गरिसकेको विधेयक नयाँ राष्ट्रपतिलाई ‘विधेयक यहाँ छ’ भनेर कसैले सम्झाइदिनुपथ्र्यो, मन्त्रिपरिषदले सम्झाइदिएको मात्र बताउनुभएको छ ।

“कसले सम्झायो र कुन समय पारेर प्रमाणीकरण ग¥यो भन्ने कुरा अर्थहीन हो । यसले त हाम्रो राष्ट्रिय आत्मविश्वासलाई कमजोर र दिग्भ्रमित मात्रै गर्छ । देशमा कानून सबैलाई समानरूपमा लागु हुनुपर्छ र सबैले समानरूपमा न्याय पाउनु पर्छ । ज्यान मुद्दामा सजाय पाएका बालकृष्ण ढुंगेललाई एकदिन पनि सजाय नकाटी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिँदा सञ्चो मानेर बस्नेहरू आफू घटनामा उपस्थित नै नरहेको र केवल उत्पीडन र विभेदमा परेका थारु समुदायको अधिकारको आवाजको नेतृत्व मात्र गरेका रेशम चौधरीलाई सबै राजनीतिक दलको मागअनुसार मन्त्रिपरिषद्को सिफारिसमा बाँकी कैद मिनाहा गरी माफी दिँदा राष्ट्रपति संस्थामाथि नै आक्षेप लगाउँदै हल्ला मच्चाउनु कति उपयुक्त हो ? सत्तामा हुँदा र सत्ताबाहिर रहँदा फेरिने धारणा, मत र अभिव्यक्तिले दल र दलका नेताहरूकै विश्वसनियता कमजोर बनाउने कुरामा सबैको ध्यान पुग्नु जरुरी छ”, विज्ञप्तिमा उल्लेख छ ।

यस्तो परिस्थिति रहँदा रहँदै राष्ट्रपति जस्तो सम्मानित संस्थाका बारेमा अनावश्यक र अनर्गल प्रचार हुनु खेदजनक रहेको कांग्रेसको भनाइ छ । यस्ता दिग्भ्रमित दुष्प्रचारका पछाडि नलाग्न कांग्रेसले सम्पूर्णमा अपिल गरेको छ ।

अनुदानको मल एग्रोभेटलाई बेचिएको भेटिएपछि प्रहरी नियन्त्रणमा

पाल्पा – सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको रासायनिक (युरिया) मल प्रहरीले फेला पारेको छ । पाल्पा रामपुर नगरपालिका–७ स्थित हराभरा कृषि सहकारीले अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएर मल फिर्ता गरेको छ ।

सहकारीले स्याङ्जाको वालिङ भकुण्डेस्थित गरिमा एग्रोलाई बिक्री गरी गाडीमा मल लैजाँदै गर्दा प्रहरीले फेला पारेको हो । वडा प्रहरी कार्यालय वालिङले बिहीबार राति मल फेला पारेर नियन्त्रणमा लिएको हो । सो मल शुक्रबार साँझ करिब ६ बजेको समयमा रामपुर नगरपालिकालाई प्रहरीले बुझाएको छ ।

सहकारीबाट ४० बोरा मल किनेर निजी एग्रोभेटले लगेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको मल लिएर रामपुर नगरपालिकालाई बुझाएको नगरपालिकाका सूचना अधिकारी रामहरी पाण्डेयले जानकारी दिनुभयो । “सेयर सदस्य र वडावासीलाई मात्रै उपलब्ध गराउने मल हो, नियम विपरीत फरक जिल्लामा मल बिक्री भएको पाइएको छ, यस विषयमा सहकारीसँग लिखित स्पष्टीकरण माग्नेछौँ, नगर उपप्रमुखको संयोजकत्वमा स्थानीय मल व्यवस्थापन समितिले छानबिन गर्नेछ” उहाँले भन्नुभयो ।

उपप्रमुख संयोजक रहेको समिति सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, कृषि शाखा प्रमुखसहित तीन सदस्यीय समिति रहनेछ । अनुदानको मल व्यवस्थापन निर्देशिका, २०७७ अनुसार स्थानीय तहमा मल वितरण समिति रहन्छ । समितिको बैठक बसेर यसबारेमा छानबिन गरिने सूचना अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाभित्र जेठ महिना लागेपछि हालसम्म एक हजार एक सय बोरा अनुदानको मल प्राप्त भएको छ । सहकारीले वालिङ भकुण्डेस्थित गरिमा एग्रोलाई प्रतिबोरा रु एक हजार ५० का दरले बिक्री गरेको जनाएको छ । बाहिरी जिल्लाको एग्रोभेटमा मल कसरी कोमार्फत बिक्री भयो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको हराभरा कृषि सहकारी संस्थाका अध्यक्ष गीतादेवी भट्टराईले बताउनुभयो ।

सहकारीले रामपुर–७ स्थित बहखोलामा रहेको पसलबाट बिहीबार राति ९ बजेपछि मल बिक्री गरेको बुझिएको छ । रामपुर नगरपालिकाभित्रका दशवटै वडामा सरकारले उपलब्ध गराएको अनुदानको मल बिक्री गर्ने आधिकारिक सहकारी, सङ्घ संस्था रहेका छन् । सोही संस्थामार्फत मात्रै वडाभित्रका किसानलाई मल उपलब्ध गराइएको छ ।

वडा नं १ का लागि भलायटारमा रहेको ग्रामीण बचत तथा ऋण सहकारी, २ मा दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी, वडा नं ३ मा दर्छा हरियाली साना किसान कृषि सहकारी, ४ मा हातेमालो बचत तथा ऋण सहकारी (हालसालै मान्यता प्राप्त संस्था) र ५ मा सूर्योदय कृषि सहकारी संस्थाबाट मलको कारोबार भइरहेको छ ।

यस्तै वडा नं ६ मा विजयपुर कृषि सहकारी, ७ मा हराभरा कृषि सहकारी, ८ मा बराह कृषि सहकारी, ९ मा अर्बसिङ कृषि सहकारी र वडा नं १० मा आधारशिला महिला कृषि सहकारीले अनुदानको मलका लागि स्वीकृति लिएर मल खरिद बिक्री गर्दै आइरहेका छन् ।

रामपुरमा १५ देखि २० दिनको फरकमा मल भित्रिने गर्दछ । विजयपुर कृषि सहकारी र सूर्योदय कृषि सहकारीले साल्ट्र टे«डिङ कर्पोरेशन कम्पनी र कृषि सामग्री संस्थानमार्फत मल खरिद बिक्रीको अनुमति पाएका छन् भने बाँकी अन्य सहकारी संस्थाले कृषि सामग्री संस्थानमार्फत अनुमति लिएर मलको कारोबार गरिरहेका छन् ।

प्रधानमन्त्रीले राष्ट्रहीत विपरित अभिव्यक्ति दिएको भन्दै एमालेले संसद्‌मा जवाफ माग्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा गैर जिम्मेवार र राष्ट्रहीत विपरीत अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने बताएको छ।

शनिवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा गैर जिम्मेवार पूर्ण अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीले दाहालले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिनुभएको थियो। अहिले प्रधानमन्त्रीको सो अभिव्यक्तिको विरोध भइरहेको छ।

पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भरत भ्रमणका क्रममा देशहीतका कुनै विषय उठान गर्न नसकेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले भारत भ्रमणअघि संसदमा उठान गर्ने भनेका विषयहरू किन उठाउन नसकेको भन्ने प्रश्न गने बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको भारत भ्रमण निराशाजनक भएको र भारत भ्रमण तीर्थाटन जस्तो भएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच भएको बताउनुभयो । एकअर्को प्रसंगमा प्रमुख सचेतक गिरीले प्रमुख सचेतक गिरीले धरातलीय यथार्थलाई नबुझीकन बजेट ल्याइएको दाबी गर्नुभयो ।

बजेट गन्तव्यहीन र प्रतिगमनतिर फर्काएर लैजाने किसिमको रहेको बताउनुभयो । त्यस्तै उहाँले नागरिकता विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक कदम भएको र राष्ट्रपतिलाई असंवैधानिक काम गर्न मन्त्रीपरिषद्ले बाध्य पारेको भन्दै राष्ट्रपतिले ख्याल नगरी संसद् छलेर नागरिकता विधेयक ल्याएकोप्रति विरोध गर्ने बताउनुभयो ।

तेस्रो रारा ट्रेल रनको उपाधि जुम्लाका अधिकारीलाई

मुगु – पर्यटन प्रवर्द्धन र राराको प्रचारप्रसारका लागि तीन विगत वर्षदेखि आयोजना हुँदै आएको रारा ट्रेल रनको उपाधि जुम्लाका शेरबहादुर अधिकारीले हात पार्नुभएको छ ।

रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री बक्स गुल्म र छायाँनाथ रारा नगरपालिकाले संयुक्तरूपमा आयोजना गरेको तेस्रो रारा ट्रेल रनको उपाधि जुम्लाको हिमा गाउपालिका–६ पातरखोलाका अधिकारीले रारा ताल वरिपरि १६ किलोमिटर दौड ५९ मिनेट २० सेकेन्डमा पार गरी प्रथम उपाधि हासिल गर्नुभएको हो ।

उक्त प्रतियोगितामा दुई सय २२ जना खेलाडी सहभागी रहेको श्री बक्स गुल्म हुटु राराका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा जुम्ला कनकासुन्दरी गाउँपालिका–३ का शेरबहादुर बुढाले एक घण्टा १२ सेकेन्डमा पार गरी द्रोस्रो र तेस्रो उपाधि जुम्लाकै पातारासी गाउँपालिका–५ का दीपेन्द्र बोहोराले हात पार्नुभएको छ । बोहोराले एक घण्टा एक मिनेट २१ सेकेन्डमा पार गरेको श्री दल गुल्मले जानकारी दिएको छ ।

त्यसैगरी महिलातर्फ जुम्लाको गुठिचौर गाउँपालिका–३ की राज्यलक्ष्मी रावलले पहिलो उपाधि हात पार्नुभयो । १६ किलोमिटर रावलले एक घण्टा १३ मिनेट ५२ सेकेन्डमा पार गर्नुभएको थियो । यस्तै दोस्रो स्थानमा जुम्लाकै तिला गाउँपालिक–९ की अनिता बुढा एक घण्टा १४ मिनेट २१ सेकेन्डमा र तेस्रो स्थानमा जुम्लाकै पातारासी गाउँपालिका– २ की समिता बुढाले एक घण्टा १६ मिनेट ३७ सेकेन्डमा पार गर्नुभएको थियो ।

विजेता पुरुष तथा महिला खेलाडीलाई प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ४० हजार ३० हजार २० हजार रकम पुरस्कार तथा प्रमाणप्रत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र कर्णाली प्रदेशका अन्य खेलाडी गरी दुई सय २२ जना सहभागीमध्ये पहिलो दोस्रो र तेस्रो पुरुष तथा महिला उपाधि सबै जुम्ला जिल्लाका खेलाडीले हात पारेका छन् ।

तनाब कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका

सिङ्गापुर – संयुक्त राज्य अमेरिकाले दुई महाशक्तिराष्ट्रबीच द्वन्द्व निम्त्याउन सक्ने ‘असमझदारी’ बाट बच्न चीनसँग वार्ता गर्नु ‘आवश्यक’ भएको बताएको छ । 

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सिंगापुरमा भएको रक्षा शिखर सम्मेलनको अवसरमा चिनियाँ समकक्षी ली शाङफुलाई भेटका लागि निमन्त्रणा गर्नुभएको तर बेइजिङले अस्वीकार गरेको पेन्टागनले बताएको छ ।

चिनियाँ प्रतिनिधिमण्डलका एक सदस्यले एएफपीसँग कुरा गर्दै आफ्ना मन्त्रीमाथिको अमेरिकी प्रतिबन्ध हटाउनु वार्ताका लागि पूर्वशर्त भएको बताउनु भएको छ ।
अस्टिनले सङ्ग्रिला डायलग नाम दिइएको सम्मेलनमा भन्नुभयो, “विशेष गरी अमेरिकी र चिनियाँ रक्षा र सैन्य नेताहरूबीच सञ्चारको खुला रेखाहरू आवश्यक छन् ।

“हामी जति धेरै वार्ता गर्छौं, त्यति नै हामी सङ्कट वा द्वन्द्व निम्त्याउन सक्ने परिणाम र गलत अनुमानबाट बच्न सक्छौं ।”

शीर्ष अमेरिकी अधिकारीहरू क्षेत्रीय गठबन्धन र साझेदारीलाई बढावा दिन अधिक आक्रामक चीन र उत्तर कोरियासँगको बढ्दो शत्रुतालाई कम गर्न एसियाको भ्रमणमा छन् । यसै अभियानका लागि उहाँले यो साता जापानको पनि भ्रमण गर्नुभएको थियो । अष्टिनले समझदारी निर्माण गर्न कुटनीतिक पहलका लागि भ्रमणका क्रममा भारत पनि पुग्नुहुनेछ । 

शनिबार आफ्नो सम्बोधनमा अस्टिनले विश्वका दुई शक्तिबाली अर्थतन्त्रका सेनाबीच सङ्कट व्यवस्थापनका लागि राम्रो संयन्त्रमा चीनले थप गम्भीरतापूर्वक संलग्न हुन नचाहेकोमा आफुलाई दुःख लागेको बताउनुभयो । 

आइतबारको बैठकलाई सम्बोधन गर्ने लिलाई सन् २०१८ मा अमेरिकी सरकारले रूसी हतियार खरिद गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो तर पेन्टागनले अस्टिनलाई लीसँँग आधिकारिक कारोबार गर्नबाट नरोकेको बताएको छ ।

अस्टिनको टिप्पणीलाई लिएर तत्काल प्रतिक्रिया दिँदै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल ताङ हेफेईले पेन्टागन प्रमुखले ‘धेरै झूटा आरोपहरू लगाएको’ बताउनुभयो । 

चिनियाँ प्रतिनिधिमण्डलका अर्का सदस्य वरिष्ठ कर्नेल झाओ सियाओझुओले चीनलाई के गर्ने भनेर वासिङ्टनको निर्देशनको कुनै अर्थ नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले चिनियाँ सेनामा जे गरिरहेका छौं, त्यो चीनको सुरक्षाको मूल स्वार्थमा आधारित छ, जुन आधारभूत कुरा हो ।”

झाओका अनुसार लीमाथिको प्रतिबन्ध हटाउनु अस्टिनसँग पर्याप्त वार्ताका लागि पूर्वशर्तमध्ये एक हो ।

वासिङ्टन र बेइजिङबीच ताइवान र कथित चिनियाँ जासुसी बेलुन, जसलाई अमेरिकी लडाकू विमानले खसालेको थियो, लाई लिएर तनाव बढेको छ ।

अस्टिन र लीले शुक्रबार को उद्घाटन सत्रपछिको रात्रिभोजमा पहिलो पटक हात मिलाए र छोटो कुराकानी गरे, तर कुनै ठोस आदान–प्रदान भएन ।

संयुक्त राज्य अमेरिका र चीनबीचको उच्चस्तरीय सैन्य सम्बन्ध महिनौंदेखि विच्छेद भए तापनि अन्य शीर्ष अमेरिकी अधिकारीहरू अझै पनि बेइजिङसँग सम्पर्कमा छन् ।

सीआईएका निर्देशक विलियम बन्र्सले गत महिना चीनको गोप्य भ्रमण गर्नुभएको थियो भने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र उच्च चिनियाँ कूटनीतिज्ञ वाङ यीबीच मे महिनामा भियनामा भेटवार्ता भएको थियो ।

रासस÷एएफपी

आठ बूँदे घोषणापत्र जारी गर्दै युवा रेडक्रस गोष्ठी सम्पन्न

काठमाडौं – काठमाडौं जिल्लास्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी आठ बुँदे तारकेश्वर घोषणापत्र जारी गर्दै आज सम्पन्न भयो ।

‘मनैदेखि सेवाका लागि जुनियर तथा युवा’ भन्ने नाराका साथ जुनियर तथा युवा रेडक्रस स्वयंसेवकहरुले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका गतिविधिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, रक्त सञ्चारका क्षेत्रमा एक घर एक रक्तदाताको अवधारणालाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, काठमाडौं जिल्लाभित्रका उपशाखाहरुसँग समन्वय गरी सबै स्थानीय तहहरुमा जुरेस तथा युरेस समिति गठन गर्ने र सो समितिले स्थानीय तहमा हुने रेडक्रस गतिविधिहरुमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने जस्ता प्रतिवद्धताहरु उक्त घोषणापत्रमा समेटिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको आयोजना र कालीदेवी मावि तारकेश्वर–२ काभ्रेस्थलीको आतिथ्यतामा आयोजित यस गोष्ठीमा ४२ विद्यालय तथा महाविद्यालयका जुनियर तथा युवा सर्कलआबद्ध शिक्षक नायकहरु तथा रेडक्रस स्वयंसेवी विद्यार्थीहरुको सहभागिता थियो ।

उक्त गोष्ठीको उद्घाटन तारकेश्वर नपा–२ का वडाध्यक्ष राधाकृष्ण खड्गीले गर्नुभएको थियो ।
गोष्ठीमा रेडक्रस अभियान र नेतृत्व विकासबारे सहजकर्ता कुशल बस्नेत, रक्त सञ्चार अभिमुखीकरण ः नवप्रवर्तनबारे सहजकर्ता कुनाल मिश्रा र जलवायु परिवर्तन तथा अनुकूलनबारे सहजकर्ताहरु प्रतिभा दवाडी, नवीन भट्टराई र वन्दना पोखरेलले प्रशिक्षण दिनुभएको थियो । गोष्ठीका अवसरमा ‘नयाँ पुञ्ज’ नामक स्मारिकाको विमोचन पनि गरिएको थियो ।

यसप्रकारको जिल्लास्तरीय गोष्ठी ५९ वर्षअघि बैतडी जिल्लाको वीरेन्द्र माविमा पहिलोचोटि आयोजना भएको थियो । जुनियर तथा युवा रेडक्रस सर्कलको स्थापना २०२१ साल फागुन २२ गते भएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणको बयान यस्तो छ (पूर्णपाठसहित)

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म पक्राउ परेका सबैजनाको बयान सकिएको छ ।

यसैबीच, पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान पनि सकिएको छ । बयानका क्रममा उनले आरोप अस्वीकार गरेका छन् । तर, प्रतिवादीहरूमध्ये टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, शमशेर मियाँ र आङटावा शेर्पा भने चिन्ने बताएका छन् । चिनेका प्रतिवादीहरूसँग आफ्नो कुनै लेनदेन र झै झगडा नभएको उनले बताएका छन् ।

यस्तो छ खाँणको बयान :-

१, तपाईंको बाबुआमाको नामथर, तपाईंंको नाम, थर, उमेर, के हो रु स्थायी ठेगाना कहाँ हो रु सम्पर्क नं। के होरु तपाईं कुन पेसा, व्यवसाय वा संस्थामा संलग्न हुनुहुन्छरु विस्तृत विवरणसहित खुलाइदिनुहोस्।

जवाफ – मेरो बुबाको नाम नौइन्द्रबहादुर खाँण, आमाको नाम टोपकुमारी खाँण र मेरो नाम बालकृष्ण खाँण हो। मेरो उमेर ६२ वर्षको भयो। स्थायी ठेगाना लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं ८ भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं। ७ चाबहिलमा बस्दछु। कृषि र समाज सेवा मेरो पेसा व्यवसाय हो।

२. तपाईं आज अदालतमा किन आउनुभएको हो ?

जवाफ( गजेन्द्र बुढाथोकी समेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी मसमेत भएको ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध मुद्दामा अभियोगपत्रसाथ बयानको लागि उपस्थित भएको हुँ।

३. तपाईंलाई तपाईं उपर लागेको अभियोग सुनाइन्छ, सो अभियोग उपर बयान दिन कर छैन, तपाईंंले दिएको दयान तपाईंकोविरुद्धमा प्रमाण लाग्नसक्छ, तपाईं बयान दिन तयार हुनुहुन्छ ?

जवाफ– म बयान दिन तयार छु। मेरो बयान गरी पाऊँ।

४. तपाईंले यो भन्दा अगाडि कुनै फौजदारी अभियोगमा सजाय पाउनुभएको छ छैनरु खुलाइदिनुहोस्।

जवाफ– मैले यसभन्दा अगाडी कुनै पनि फौजदारी कसुरमा सजाय पाएको छैन। हाल कुनै पनि मुद्दा विचाराधिन अवस्थामा समेत छैन।

५. तपाई‌को शारीरिक तथा मानसिक स्वास्थ्य अवस्था कस्तो छरु तपाईंलाई सोधिएको प्रश्नको जवाफ दिन सक्नुहुन्छ/हुन्न ? तपाईंले कानुन व्यवसायी राख्नुभएको छ/छैन ? कानुन व्यवसायी राख्न सक्नुहुन्छ/हुन्न ?

जवाफ- युरिक एसिड, प्रेसर र कोलेस्ट्रोलको औषधी नियमित रुपमा सेवन गरिरहेको छु। आँखासम्बन्धी समस्या छ। म मलाई सोधिएका प्रश्नहरूको जवाफ दिन तयार छु। कानुन व्यवसायी नियुक्त गरेको छु।

६. प्रतिवादीहरूमध्ये क-कसलाई चिन्नुहुन्छ ? निजहरूसँग लेनदेन रिसइबी/झगडा छ/छैन ?

जवाफ –प्रतिवादीहरूमध्ये म टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, शमशेर मियाँ र आङटावा शेर्पालाई चिन्दछु। टोपबहादुर रायमाझीलाई राष्ट्रिय नेता भएकोले, टेकनारायण पाण्डे सचिव भएकोले, नरेन्द्र केसी मेरो पहिलाको निजी सचिव भएको कारणले, शमशेर मियाँलाई हज कमिटीको अध्यक्ष भएको कारणले र आङटावा नेपाली कांग्रेसको नेता भएको कारणले चिन्दछु। चिनेका प्रतिवादीहरूमध्ये कसैसँग लेनदेन, रिसइबी र झैझगडा छैन। अरु प्रतिवादीहरूलाई म चिन्दिनँ। नचिनेका प्रतिवादीहरूसँग रिसइबी र झैझगडा हुने कुरा नै भएन।

७. जाहेरवाला गजेन्द्र बुढाथोकीसमेत विभिन्न जाहेरवालाहरूले तपाईं समेतको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी रकम लिई अमेरिका नपठाई रकम फिर्तासमेत नगरी ठगी गरेको भने बेहोराहरू उल्लेख गरी जाहेरी दिएका छन्। सो सम्बन्धमा तपाईंलाई के थाहा छ ? को को भई के कसरी जाहेरी दरखास्तमा उल्लेख गरे अनुसारको कसुर गर्नुभएको हो ? खुलाइदिनुहोस्।

जवाफ – गजेन्द्र बुढाथोकी समेतका कुनै पनि जाहेरवालाहरूलाई म चिन्दिनँ। मैले चिन्दैन नचिनेका र मसँग कुनै सम्पर्क नै नभएका व्यक्तिहरूसँग ठगी गरेको भन्ने जाहेरी बेहोरा झुट्टा हो। सो सम्बन्धमा मलाई कुनै जानकारी नै छैन। ममाथि लगाइएको उक्त आरोप नियोजित र कपोकल्पित छ।

८. तपाईंलाई सहप्रतिवादीहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, नरेन्द्र केसी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टेकनाथ रिजालसमेतका प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान तथा थप बयानसमेत पढी वाची सुनाइन्छ। निजहरूले गरेको उक्त बयानहरूको सम्बन्धमा तपाईंको के भनाइ छ ? खुलाइदिनुहोस्।

जवाफ– प्रतिवादी टेकनारायण पाण्डेले अनुसन्धानको क्रममा थप बयानमा लेखाएबमोजिम मसँग केशवप्रसाद दुलालको प्रत्यक्ष भेटघाट भएको भनिएको कुरा झुट्टा हो। कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा सरासर झुट्टा हो। टेकनाथ रिजालको अनुसन्धानको क्रममा भएको बयान बेहोरा सम्बन्धमा मलाई कुनै जानकारी भएन। प्रतिवादी नरेन्द्र केसीले अनुसन्धानको बयानमा खुलाएबमोजिमको कागजको सम्बन्धमा को कसलाई किन लेखिएको हो, मलाई कुनै जानकारी भएन। प्रतिवादी आङटावाको अनुसन्धानको बेहोरा सम्बन्धमा मलाई कुनै जानकारी छैन।

९. प्रतिवादी आङटावा शेर्पाले गर्नुभएको कागज बेहोरा सम्बन्धमा तपाईंको भनाइ के छ ? खुलाइदिनुहोस्।

जवाफ– प्रतिवादी आङटावा शेर्पाले लेखाउनुभएको कागज बेहोरा सुनी पाएँ। सो सम्बन्धमा आङटावा शेर्पासँग मेरो कुनै कुरा पनि भएको छैन र बयान बदल्न पनि लगाएको छैन। मैले पीडितलाई रकम फिर्ता गर्न भनी नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई रकम दिएको भन्ने बेहोरा झुट्टा हो। उहाँले केका आधारमा कागजमा यस्तो बेहोरा लेखाउनुभयो, सो सम्बन्धमा जानकारी भएन।

१०. तपाईंले अधिकारप्राप्त अधिकारीसमक्ष गर्नुभएको सबै बयानहरू बेहोरा पढी वाची सुनाइन्छ, सो बयानहरूको बेहोरा तपाईंको हो वा होइन ? र, उक्त बयानहरूमा भएका सहीछापहरू तपाईंका हुन् वा होइनन् ?

जवाफ- मैले अनुसन्धान अधिकारीसमक्ष गरेको भनिएको बयान बेहोरा (नेपाली कागज) देखाइएको साँचो हो। सोमा भएको सहीछापसमेत मेरो हो।

११. अनुसन्धानका क्रममा बुझिएका बालकृष्ण पन्थी, सागरमणि पाठक फणिन्द्रमणि पोखरेल समेतका व्यक्तिहरूले अनुसन्धानको क्रममा गरेको कागज बेहोरा पढी वाची सुनाइन्छ। निजहरूको भनाइ बेहोरा के कसो होरु खुलाइदिनुहोस्।

जवाफ– बुझिएका व्यक्तिहरू बालकृष्ण पन्थी, सागरमणी पाठक र फणिन्द्रमणि पोखरेलको कागज सम्बन्धमा मलाई कुनै जानकारी भएन।

१२. प्रतिवादी नरेन्द्र केसीको अदालतसमक्ष भएको बयानको सम्बन्धमा तपाईंको भनाइ के छ ? खुलाइदिनुहोस्।

जवाफ– उक्त कागजहरू कसले कसलाई सम्बोधन गरी लेखेका हुन्, त्यसको प्रयोजन के हो, मलाई थाहा भएन।

१३. मिसिल संलग्न रहेको गृह मन्त्रालयको च.नं. ८४० मिति २०८०/०१/२६ को पत्रसाथ प्राप्त भएको भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन र गृहमन्त्रालयको च.नं. ८४३ मिति २०८०/०१र/२६ को पत्रसाथ प्राप्त प्रतिवेदन तपाईंलाई देखाइन्छ। दुवै प्रतिवेदन एकै बेहोराका हुन् वा फरक हुन्, के कसो हो ? खुलाइदिनुहोस्।

जवाफ– गृह मन्त्रालयबाट एउटै मितिमा फरक-फरक चलानीमा प्राप्त भएको उक्त प्रतिवेदनहरू हेरी पाएँ। प्रतिवेदनका सम्बन्धमा मलाई कुनै जानकारी भएन। मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरू राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरूको जिम्मेवारी हो। उक्त प्रतिवेदनहरू सम्बन्धमा मलाई कुनै जानकारी भएन।

१४. तपाईंलाई प्रेमराज पन्थीको जाहेरी दरखास्त देखाइन्छ, जाहेरी सम्बन्धमा तपाईंको भनाइ के छ ? खुलाइदिनुहोस्।

जवाफ– प्रेमराज पन्थीलाई म चिन्दिनँ। केशव दुलाललाई समेत म चिन्दिनँ। उनीहरूको बीचमा के कस्तो कुराकानी र लेनदेनको कुरा हुन्थ्यो, सो कुरा मलाई जानकारी हुने विषय नै भएन। यसमा म संलग्न छैन। सो जाहेरी दरखास्त सम्बन्धमा मलाई कुनै जानकारी भएन।

१५. अनुसन्धानका क्रममा ना.सु. सुरेन्द्रराज दाहालले मिति २०८०/०१/२४ मा गरेको कागज पढी वाची सुनाइन्छ, के कसो हो ? खुलाइदिनुहोस्।

जवाफ – अनुसन्धानका क्रममा ना.सु.सुरेन्द्रराज दाहालले गरेको कागज बेहोरा सुनी पाएँ। सुरेन्द्रराज दाहाललाई मैले चिनेको र कहिल्यै कुनै काम गर्दिनू पनि भनेको छैन। कर्मचारी सरुवा सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयको स्पष्ट नीति छ। विभागीय प्रमुख, प्रथम श्रेणीका अधिकृतहरू र प्रमुख जिल्ला अधिकारीहरूको सरुवा मन्त्रीस्तरबाट हुन्छ। तत् मातहत कर्मचारीहरूको सरुवा विभिन्न तहहरूबाट हुन्छ। तसर्थ ना.सु. सुरेन्द्रराज दाहालको सरुवा मैले गरेरगराएको होइन। उनको रमाना पदस्थापनका लागि पनि कुनै अधिकृतलाई भनेको छैन।

१६. गृह मन्त्रालयको च.नं.८४३ मिति २०८०/०१/२६ को पत्रसाथ प्राप्त प्रतिवेदनमा प्रतिवेदनको पृष्ठ ३ को ६ नं. बुँदामा अन्तिम वाक्यको बेहोरा थप गरेको पृष्ठ १० को २.५ नं. बुँदामा फरक बेहोरा देखिएको, पृष्ठ १३ को क्र.नं.(क.अ) नं १४ को ग नं. को दोस्रो पाराग्राफको पृष्ठ १६ को ३.६३.६.१ र ३.६.२ पृष्ठ नं. १७ र पृष्ठ नं.१८ को अन्तमा निष्कर्ष बेहोरा फेरबदल भएको प्रतिवेदन गृह मन्त्रालयको च.नं. ८४३ मिति २०८०/०१/२६को पत्रसाथ प्राप्त भएको देखिन्छ। ती दुई प्रतिवेदनहरूमध्ये कुन प्रतिवेदन आधिकारिक हो ? खुलाइदिनुहोस्।

जवाफ – प्रतिवेदनको सम्बन्धमा मलाई कुनै जानकारी भएन। मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरू राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरूको जिम्मेदारी हो। तसर्थ प्रतिवेदनना फेरबदल भएका बुँदाहरूका सम्बन्धमा राख्नेहरूले नै जिम्मेवारी लिनुपर्ने हो। परिवर्तन सम्बन्धमा सलाई थाहा हुने कुरा भएन।

१७. तपाईंको मोबाइल परीक्षणबाट उक्त मोबाइल रिफ्याक्ट्री भएको देखिन्छ। तपाईंले प्रस्तुत मुद्दासँग प्रमाण लाग्ने तथ्यहरू मोबाइलबाट हटाउनका लागि मोबाइल फर्म्याट गर्नुभएको त होइन ? के कसो हो, खुलाइदिनुहोस्।

जवाफ– यस सम्बन्धमा मलाई कुनै जानकारी भएन। प्रमाण मेटाउने कुनै कार्य गरेको छैन।

१८. काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका बडा नं. ७ मैजुबहालमा रहेको श्यामजंग सिजापतीको घरमा भाडामा बस्ने बालकृष्ण खाँणको कोठा खानतलासी गर्दा कोठामा खैरो रंगको नोटबुक थान–१, कालो रंगको डायरी थान ३, आइप्याड थान–२, सम्पति विवरण फारम पाना–३८, च्यातिएर ३ टुक्रा पारिएको कागज जोड्दा नरेन्द्रजीसमेत लेखिएको भनी लेखिएको कागजको टुक्रा पारिएको कागज फेला परेको भन्नेसमेत बेहोराको बरामदी खानतलासी मुचुल्का मिसिल सामेल रहेको देखिन्छ। सो बरामदी मुचुल्काको बेहोरा के कसो हो ? खुलाइदिनुहोस्।

जवाफ – खैरो रंगको नोटबुक थान–१ कालो रंगको डायरी थान– ३, आइप्याड थान– २, सम्पत्ति विवरण फारम पाना– ३८ बरामद भएको साँचो हो। च्यातिएको कागज टुक्रा सम्बन्धमा मलाई कुनै जानकारी भएन।

१९. तपाईंलाई हिरासतबाट टेकनारायण पाण्डेले तपाईंले पीडितलाई रकम फिर्ता गर्नुपर्ने र प्रतिवादी केशवप्रसाद दुलाल र सानु भण्डारीलाई इन्कारी बयान गर्न लगाउनुभएको भन्ने बेहोराको लिखत मिसिल सामेल रहेको देखिन्छ। सो सम्बन्धमा तपाईंको भनाइ के छ ?

जवाफ – यस बारेमा मैले कसैलाई केही भनेको छैन।

२०. तपाईंउपर मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) अन्तर्गतको कसुरमा सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिमको कसुरमा सोही संहिताको दफा २७६ को उपदफा (३) (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) बमोजिम राज्यविरुद्धको कसुरमा सोही संहिताको दफा ५१ को उपदफा (क) को देहाय (क) बमोजिम सजाय हुन र संगठित अपराध निवारण ऐन, २०७० को दफा (३) को उपदफा (१) (२) र (३) को खण्ड (क) तथा दफा (५) बमोजिमको कसुरमा सोही ऐनको दफा (९) को खण्ड (क) र (ग) बमोजिम सजाय हुन र मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिमको कसुरमा सोही संहिताको दफा ४३ को उपदफा (२) बमोजिम सजाय हुन समेतको अभियोग माग दाबी लिइएको छ र जाहेरवालाहरूको अठ्ठाइस करोड एकासी लाख चौहत्तर हजार रकमसमेत तपाईं समेतबाट दिलाई भराई दिनसमेतको अभियोग माग दाबी लिइएको अभियोगपत्र छ। सो अभियोग माग दाबीबमोजिम तपाईंलाई सजाय हुनुपर्ने होरहोइन ? र, जाहेरवालाहरूको रकम तपाईंसमेतले फिर्ता दिनुपर्ने हो वा होइन ?सम्पूर्ण बेहोरा खुलाइदिनुहोस्।

जवाफ– मैले मउपर दायर भएको अभियोग माग दाबी सुनी पाएँ। मविरुद्ध लगाइएका सबै अभियोग माग दाबीहरू कपोकल्पित र झुटा हुन्। मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन राज्यले रचेको षड्यन्त्र हो। माथि अभियोगमा दाबी लिइएको कुनै पनि कसुरमा मेरो कहीँ कतै संलग्नता छैन। यी कसुरहरू गर्नमा कसैलाई प्रोत्साहन र प्रेरित गरेको छैन। जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षकले ठगीको कसुर र संगठित अपराधको कसुरमा बयान लिएर अन्य कसुर र राज्यविरुद्धको कसुरमा समेत अभियोग लगाइएको छ। यो सरासर स्वच्छ सुनुवाइ र प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो। मलाई फसाउने उद्देश्यले यी सबै झुट्टा आरोप र मुद्दाहरू लगाइएका हुन्। यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु। उक्त कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाइपाऊँ । सफाई पाऊँ।

२१. तपाईंको परिवारमा कति सदस्य हुनुहुन्छ ? आर्थिक अवस्था सम्बन्धमा खुलाइदिनुहोस्।

जवाफ – मेरो परिवारमा म, श्रीमती, छोरा, छोरी र मेरो आमा गरी पाँचजनाको सदस्य छौँ। बुटवलमा एउटा घर छ। सो घरबाट घरभाडा आउँछ। जग्गा जमिनबाट पनि भाडा आउँछ। जग्गा जमिनबाट केही कृषिजन्य उत्पादन हुन्छ। काठमाडौं अनामनगरमा एउटा पुरानो घर छ। सोबाट समेत भाडा आउँछ । कोटेश्वरको सुविधानगरमा भएको जमिनबाट भाडा आउँछ। यी आम्दानीहरूबाट हाम्रो जीवन सहजसँग चलेको छ।

२२. तपाईंको साक्षी प्रमाण केही छ कि ? खुलाइदिनुहोस्।

जवाफ– मेरो निम्न साक्षी प्रमाण बुझी पाऊँ –
(क) चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. ३ बस्ने अन्दाजी वर्ष ६१ को दीर्घमान
(ख) काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३० बस्ने अन्दाजी वर्ष ५९ को राधा घले
(ग) पोलखा जिल्ला, भीमेश्वर नगरपालिका वडा नं.२ बने अन्दाजी वर्ष ४६ को अनुप प्रधान

२३. तपाईंको अरु केही भन्नु छ कि ? 

जवाफ– म पहाड स्याङ्जामा जन्मिएको र हुर्किएको नागरिक हुँ। विद्यार्थीकालदेखि नै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकताका लागि प्रतिबद्ध प्रजातन्त्र र जनाधिकार र स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको लागि संघर्ष गरेको व्यक्ति हुँ। प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्दा विभिन्न समयमा जेलनेल पनि गएको छु। राष्ट्र, राष्ट्रियता, राष्ट्रहित र राज्यविरुद्ध सोच्न पनि सक्दिनँ। म गाउँबाट आएको एउटा व्यक्ति, आफ्नो मेहनत राष्ट्र र जनताप्रतिको समर्पण र प्रजातन्त्रप्रतिको प्रतिबद्धताले उठेको मान्छे हुँ। विद्यार्थीकालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी, जनआन्दोलन २०४६ को समयमा सम्हालेको हुँ। मैले २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेको हुँ।

म २०४८ सालमा प्रतिनिधि सभाको सदस्य २०६४ साल र २०७० संविधान सभाको सदस्य, २०७४ मा प्रतिनिधि सभाको सदस्य तथा विभिन्न मितिमा चारपटकसम्म मन्त्रीको जिम्मेदारी सम्हाल्ने मौका पाएँ। मैले पछिल्लोपटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दा संविधान र कानुनको पालना गर्दै देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्ने भूमिका निर्वाह गरेको छु। म विभिन्न रोगहरूको निवारणको लागि नियमित औषधीहरू सेवन गरिरहे पनि हालसम्म मैले राज्यकोषबाट उपचार खर्चसमेत लिएको छैन। म ईश्वरमा विश्वास गर्दछु। धार्मिक प्रवृत्तिको व्यक्ति हुँ। जनतालाई झुक्याउने, अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिनँ।

२४. माथि उल्लिखित बेहोरा पढी वाची सुनाइन्छ। बेहोरा कसो भयो ? खुलाइदिनुहोस्।

जवाफ– माथि लेखिएका सबै बेहोरा मैले भनेबमोजिम लेखिएको हो।

स्वदेश फर्किएका प्रधानमन्त्री विरुद्ध विमानस्थलमै नाराबाजी

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी भएको छ । 

भारत भ्रमण सकेर फर्किएका प्रचण्डविरुद्ध नागरिकता विधेयक खारेज गर भन्दै सिनामंगल अगाडि केही व्यक्तिले नाराबाजी गरेका हुन् ।

नाराबाजी गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नाराबाजी गर्नेहरू नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीको भनाइ छ ।

अबको वर्ष पार्टी सङ्गठन निर्माण र सुदृढीकरणको हुनेछ– सभापति देउवा

ललितपुर – नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताउनुभएको छ ।

नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उहाँले कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सभापति देउवाले अब आफू पार्टीको सभापति नहुने स्पष्ट गर्दै पार्टीलाई मात्र सहयोग गर्ने बताउनुभयो । “अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ, सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न म आग्रह गर्छु”, उहाँले भन्नुभयो ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : दुई देशको सहमतिले जगायो आशा

बेदकोट – कञ्चनपुरको दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँका स्थानीय हर्षित भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा सहमति भएको छ । लामो समयदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणका लागि भारत सहमत भएपछि अब निर्माणको काम अघि बढ्ने भन्दै स्थानीय आशावादी बनेका छन् ।

“लामो समयदेखि सुक्खा बन्दरगाह चर्चामा मात्रै आइरहेको छ, अहिलेसम्म यसको केही काम अगाडि बढेको छैन”, दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय टीकाराम चन्दले भन्नुभयो, “नेपाल र भारतबीच निर्माणको सम्झौता भएपछि अब निर्माण हुन्छ कि भन्ने आशा पलाएको छ ।”

सम्झौताअनुसार सुक्खा बन्दरगाह भारतले तीन वर्षभित्र बनाउनेछ । सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गर्नुभएको थियो । बन्दरगाह निर्माणका लागि विसं २०६४ मै प्रस्ताव गरिएको थियो । प्रस्ताव भएको झन्डै १० वर्षपछि सरकारले निर्माण प्रक्रिया सुरु गरेको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा सुक्खा बन्दरगाह तीन वर्षभित्र निर्माण गरिने उल्लेख छ । भारतसँग सुक्खा बन्दरगाहका लागि सम्झौता एवं नीति तथा कार्यक्रममा समेटिएपछि यहाँका स्थानीयका साथै निजी क्षेत्रका व्यवसायी खुसी भएका छन् । सम्झौता अनुरुप समयावधिमै काम सम्पन्न गर्ने गरी निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने उहाँहरुको भनाइ छ ।

“वर्षांैदेखि सुक्खा बन्दरगाह निर्माणमा सरकारले चासो देखाएको थिएन, यसपटक भारतसँग निर्माण सम्झौता हुनु खुसीको कुरा हो”, उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले भन्नुभयो, “निर्णय कार्यान्वयनमा जोड दिनुपर्छ ।” सुक्खा बन्दरगाह निर्माणका लागि सरकारले दोधारा चाँदनीका मायापुरी र गौरीशङ्कर सामुदायिक वनको दुई सय ८० बिघा जमिन छनोट गरेको छ । यी दुई वनले वडा नं १, २ र ३ को भूभाग समेट्छन् ।

बन्दरगाह निर्माणका लागि हाल वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम सम्पन्न भइसकेको छ । महाकाली नदीमा बनेको मोटरेबल पुल, छ लेनको सडक लगायतका पूर्वाधारले बन्दरगाह निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतीय पक्षले दोधारा चाँदनी–१ गडिगोठसम्म बन्दरगाहका लागि पहुँचमार्गको ट्र्याकसमेत खोलेको छ । ट्र्याक खोलिएसँगै अब पहुँचमार्ग कालोपत्रको काम अगाडि बढ्ने छ । यो मार्गले नेपाल र भारतलाई व्यापारिकसँगै यातायात सेवालाई पनि जोड्ने छ ।

दुई दशकअघिदेखि चर्चामा रहेको बन्दरगाह निर्माणस्थलको गत फागुन १ गते प्रधानमन्त्री प्रचण्डले निरीक्षण गर्नुभएको थियो । तीन वर्षमा बन्दरगाह निर्माण गर्ने गरी भारतसँग सम्झौता गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको थियो । दोधारा चाँदनीमा बन्दरगाह निर्माण भए सुदूरपश्चिम क्षेत्र व्यापारिक रूपमा भारतसँग जोडिनेछ । यसका साथै भारतको राजधानी नयाँदिल्ली र औद्योगिक नगरी रुद्रपुरसम्म पनि सहज पहुँच हुने तथा यस क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुनेमा स्थानीयको विश्वास छ ।

माइतीघरमा सहकारी पीडितहरुको प्रदर्शन

काठमाडौँ – सहकारी पीडित नागरिकहरुले आफ्नो बचत रकम फिर्ताको माग राखेर आज माइतीघरमा प्रदर्शन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समितिको आह्वानमा पीडितहरुले आफ्नो बचत फिर्ताको माग राख्दै उक्त प्रदर्शन गरेका हुन् ।

उनीहरुले आफ्नो रकम फिर्ताका लागि सरकारले पहल गर्न या सरकारले नै फिर्ता दिनुपर्ने व्यवस्था गर्न माग गरेका हुन् । यसैका दबाबस्वरुप प्रदर्शनमा उत्रिन बाध्य भएको उनीहरुको भनाइ थियो ।

पीडितहरुले आज मध्याह्न माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए । सहकारीहरुले खाएर भागेको बचत फिर्ताको लागि पालिकादेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दासमेत आफूहरुले गरेको बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शन गरेको सङ्घर्ष समितिका अध्यक्ष सुनितासिंह राजभण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सहकारीको बचत फिर्ताको लागि राज्यका सबै निकाय धायौँ तर कतै पनि सुनुवाइ नहुँदा पीडितहरु सडक आन्दोलनमा आउन बाध्य भए ।” सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुले बनाउने निजी ऐन बन्द गर्नुपर्ने पीडितहरुको माग रहेको छ । काठमाडौँ महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाइ कतैबाट पनि नभएको पीडतहरुको गुनासो रहेको छ ।

नेपालमा पछिल्लो समय सहकारीबाट ठगिने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक तथ्याङ्कअनुसार एक सयभन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ताहरु एकै ठाउँमा रहेर यो सङ्घर्ष समिति बनाएको अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो ।

बाटोमा दिनभर मकै पोल्ने, भारी बोक्ने तथा सानातिना ज्याला मजदुरी गरेर जम्मा गरेको दुई चार पैसा जम्मा गरिएका सहकारी नै भागेका या बन्द भएका छन् । यस्तो व्र्गका नागरिकको रकम फिर्ता हुन नसकेपछि उनीहरु निकै मर्कामा परेका छन् ।

आफूहरुले जम्मा गरेको यस्तो सानो तिनो रकम कुनै अवैध कमाइ या कालोधन नभएकाले सरकारले नै पीडितहरुका समस्याको सम्बोधन गर्नुपर्ने पीडितहरुको माग रहेको छ ।

आज माइतीघरमा जम्मा भएका सयौँ पीडितले आफ्नो रोजीरोटीको त कुरै जाओस्, दुःख जिलो गरी जम्मा गरेको सानो रकम पनि झिक्न नपाउने भएपछि परिवार पाल्ने समस्या झनै बढेको बताएका थिए । उनीहरुले सहकारीलाई कारबाही गरेर होस् या सहकारीको अचल अचल सम्पत्ति लिएर होस् सरकारले नै आफूहरुका समस्याको समाधानका लागि रकम फिर्ता गराइदिनुपर्ने बताएका थिए ।

धनुषामा विपद् पूर्वतयारी

जनकपुरधाम – प्रचण्ड गर्मी छल्न अहिले जनकपुरधामका युवा नजिकैको गङ्गासागरमा नुहाउन जान्छन् । यसै क्रममा आज नुहाउन गएका तीन युवा पौडी खेल्न नजानेर पानीमा डुब्छन् ।

यो खबर पाएलगत्तै जिल्ला आपत्तकालीन कार्य सञ्चालन केन्द्र धनुषाले खटाएका तीनवटै सुरक्षा निकायका तालिम प्राप्त उद्धारकर्मीले सुरक्षित रुपमा उद्धार गर्छन् । सोही गङ्गासागरमा रबरबोटमा केही युवा आउँछन् । त्यो रमाइलो पललाई टिकटकमा कैद गर्न व्यस्त युवाले सावधानी नअपनाउँदा डङ्गा सन्तुलन गुमाएर बीच भागमा पल्टिन्छ । डुब्दै गरेका युवा जीवन रक्षाको याचना गर्छन् । यो खबर एकैछिनमा सबैतिर फैलिन्छ र मोटरसहितको डुङ्गा लिएर सुरक्षाकर्मी घटनास्थलमा पुग्छन् ।

त्यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ स्थित जल्लाद खोलामा अचानक बाढी आउँदा केही व्यक्ति डुबिरहेको खबर आउँछ । सुरक्षाकर्मीले तत्कालै उद्धार त गर्छन् तर फर्किने क्रममा आफैँ दुर्घटनामा पर्छन् । त्यस्तो विषम परिस्थितिमा पनि उद्धार टोलीले रबरबोटमा रहेको ‘रिलिफ लाइन’ को प्रयोगगरी सामान्य अवस्थामा ल्याउँछन् र पीडितलाई सुरक्षित स्थानतर्फ लिन्छन् । डुबानका घटना सेलाउन नपाउँदै अविरल वर्षाका कारण जिल्लाको मुखियापट्टी मुसहरनीया गाउँपालिकास्थित मुसहर्निया टोलमा जमुनी खोलाको बाँध फुटेर एक्कासि आएको बाढीले घरैसहित केही मानिसलाई बगाउँछ ।

केही समयपछि तालिम प्राप्त उद्धारकर्मी घटनास्थलमा पुगी नागरिकको उद्धार गर्छन् । जनकपुरधामस्थित गङ्गासागरमा आज यस्तै कृत्रिम अभ्यास गरियो । विपद् जोखिम न्यूनीकरणको तयारी स्वरूप विपद्बाट जोगिन ‘विपद् पूर्वतयारी तथा राहत वितरणसम्बन्धी अभ्यास’का क्रममा यस्ता घटना देखाइएका थिए । घटना कृत्रिम भए पनि तराई–मधेशका अधिकांश जिल्लामा हरेक वर्षायाममा यस्तै दुखद खबर सुनिन्छन् ।

बाढीका दृष्टिकोणले निक्कै जोखिममा रहेको धनुषामा पनि प्रत्येक वर्ष वर्षातको समयमा विभिन्न नदीका बाँध फुटेर धेरै गाउँ बस्ती डुबानमा पर्ने गरेका छन् । मुख्यगरी कमला, जमुनी, औरही, वडहरि, बसही तथा जल्लाद खोलामा आउने बाढीले बर्सेनि ठूलो धनजनको क्षति हुँदै आइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिले दिएको जानकारी अनुसार यहाँका १८ स्थानीय तहमध्ये जनकनन्दनी, मुखियापट्टी मुसहरनिया र धनौजी गाउँपालिका तथा कमला, सबैला, शहीदनगर र नगराइन् नगरपालिका गरी सात स्थानीय तह उच्च जोखिममा छन् । औरही गाउँपालिका तथा धनुषाधाम, गणेशमान चारनाथ र विदेह नगरपालिका तथा जनकपुरधाम उपमहानगरपालिका गरी पाँच मध्यम जोखिम र मिथिला, मिथिला बिहारी, हंसपुर एवं क्ष्ीारेश्वरनाथ नगरपालिका तथा लक्ष्मिनियाँ र बटेश्वर गाउँपालिका गरी छ स्थानीय तह न्यून जोखिममा छन् ।

मौसमविदको आकलन अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को परिच्छेद ८ नियम १८ उपनियम ३ को खण्ड (क) र (घ) बमोजिम विपद् पूर्व तयारीअन्तर्गत आज प्रदर्शनी आयोजना गरिएको हो । जनकपुरधामको गङ्गासागरलाई विभिन्न खोला तथा नदी क्षेत्र मानेर नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले नेपाल रेडक्रस सोसाइटी र राष्ट्रिय सेवादलको सहभागितामा पूर्व तयारी स्वरूप अभ्यास गरिएको हो । त्यसक्रममा रबरबोट, डोरी, लाइफ ज्याकेटसहितका सामग्रीको प्रयोग गरिएको थियो ।

गतवर्ष मात्रै धनुषामा बाढीसहित अन्य विपद्जन्य प्रकोपका कारण दुई सय ३० घटना भएको र विपद्का विभिन्न घटनामा परी १० जनाको ज्यान जानुका साथै रु १३ करोडभन्दा बढी सम्पत्तिको क्षति भएको प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

उहाँले विपद्बाट जोगिन स्थानीय तहसँग मिलेर सबै प्रकारको तयारी भइरहेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलले बाढी तथा डुबानको जोखिमबाट जोगिन यहाँका हरेक युवा तथा बालबालिकालाई खोला, नदी तथा पोखरीमा पौडी सिकाउन आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बाढी, डुबान तथा आगलागीबाट धनुषामा वर्सेनि ठूलो मात्रामा धनजनको क्षति हुने भएकाले हरेक पालिकाले वारुणयन्त्र खरिद गर्नुका साथै विपद् उद्धार सामग्रीको व्यवस्थापनमा जोड दिनुभयो । जिल्लाको महेन्द्रनगरस्थित नेपाली सेनाको गोरखनाथ गणका प्रमुख सेनानी सुरेश देवकोटाले यस पटक विपद्जन्य अवस्थाको सामना गर्न नदी तथा खोलाको स्थलगत अनुगमन गरिएको बताउनुभयो ।

तीनै सुरक्षा अङ्गले जनताको ज्यानको रक्षाका लागि आफ्नो जीवनलाई जोखिममा राखेर भए पनि विपद् प्रतिकार्यमा खटिँदै आएको र आगामी दिनमा हुने त्यस्ता घटनामा सबैको सहकार्य जरुरी रहेको उहाँको भनाइ थियो ।

जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा

जुम्ला – जुम्लामा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आएको छ । यहाँ ज्वरोबाट एक जनाको मृत्यु भएको छ भने अरु कैयौँ बिरामी छन् ।

जिल्लाको विशेष गरी कनकासुन्दरी गाउँपालिका–७ स्थित देयारपाटामा यसको प्रकोप बढी मात्रामा देखिएको थियो । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सुमाइले सो स्थानका ६१ वर्षीय दिपु उपाध्याको भाइरल ज्वरोबाट मृत्यु भएको जानकारी दिनुभएको छ ।

सो क्षेत्रमा भाइरल ज्वरोले ५३ बिरामी परेका र वडाका स्थानीयवासीको उपचारका लागि जनस्वास्थ्य कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली त्यहाँ पुगेको छ । उपचारपछि अहिले सबैको स्वास्थ्यमा सुधार भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले ज्वरो नियन्त्रणमा आएको छ । सूचना अधिकारी सुमाइले बिरामी परेका ५३ जनामध्ये आठको अवस्था गम्भीर रहेको र तीमध्येका दुई जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

उपचारपछि स्थानीयवासीको स्वास्थ्यमा सुधार आएको र बिरामीको अवस्था पनि सामान्य बन्दै गएको बताइएको छ । उनीहरुलाई ज्वरो आउनुका साथै आँखा, टाउको र घाँटी दुख्ने जस्ता लक्षण देखा परेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी सुमाइको भनाइ छ । उक्त वडामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा विशाल रोकायासहित जनस्वास्थ्य कार्यालयका चार जना स्वास्थ्यकर्मी परिचालन गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

कनकासुन्दरीको वडा नं ७ मा एक सय १५ घरधुरी छन् । प्रत्येकको घरघरमै पुगेर स्वास्थ्यकर्मीले उपचार सेवा दिएका कनकासुन्दरी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने

जनकपुरधाम – राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाममा नागरिक अभिनन्दन हुने भएको छ ।

उद्योग वाणिज्य सङ्घ धनुषामा आज भएको सर्वदलीय बैठकमा यही जेठ ३१ गते जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति भएको प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

उहाँले नागरिकताविहीन लाखौँ युवाको समस्या समाधान गरी जनकपुरधाम आउन लाग्नुभएका राष्ट्रपति पौडेललाई मधेसवासीले भव्य स्वागत गर्नुपर्ने प्रस्तावमा सबै दलले सहमति जनाएको बताउनुभयो ।

त्यस अवसरमा मधेस प्रदेशसभा सदस्य रामसरोज यादव राष्ट्रपतिको भ्रमणलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारलाई पहलकदमी लिन प्रयास गरिने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले धनुषाका सबै प्रतिनिधिसभा सांसद र प्रदेशसभा सदस्यहरूसहितको मूल समिति र अन्य उपसमिति बनाएर राष्ट्रपतिको जानकी मन्दिरको पूजापाठदेखि तिरहुतिया गाछीमा हुने भव्य स्वागत र नागरिक अभिनन्दनको तयारी गर्ने निर्णय गरिएको बताउनुभयो ।

बैठकले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन र मूल समारोह समितिको निर्णयअनुसार जनकपुरधामको एउटा चोकमा राष्ट्रपतिद्वारा झन्डा फहराइने निर्णय गरिएको साहले जानकारी दिनुभयो । जनकपुरधाम विमानस्थलबाट जानकी मन्दिर र मन्दिरदेखि तिरहुतिया गाछीसम्म सडकको दुवै छेउमा राष्ट्रिय झण्डासहित उभिएर नागरिक अभिन्दन गर्न सबै दलले आआफ्ना कार्यकर्ता र स्थानीय समाजलाई परिचालन गरिने निर्णय भएको छ ।

सूर्यविनायकमा रास्वपाको वडा समिति गठन

भक्तपुर – राष्ट्रिय स्वत्रन्त्र पार्टी रास्वपाले ११ सदस्यीय वडा समिति गठन गरेको छ ।

शनिबार सूर्यविनायक नगरपालीका वडा नं. ८ मा भएको कार्यक्रममा वडा सभापती सहित ११ जनाको समिति गठन भएको हो । कार्यक्रममा रास्वपाका साधारण सदस्य तथा जेष्ठ नगरीक बुद्धि मान कार्कीको अध्यक्षतामा सम्पन्न भएको सदस्य नजिना भण्डारीले जानकारी दिइन् ।

भन्डारीका अनुसार समितिको वडा सभापतीमा मुरारी बस्नेत, उप– सभापतीमा कपिल बस्नेत, सचिवमा निर्मला उपाध्याय तथा सदस्यहरुमा नजिना भण्डारी, मिलन न्यौपाने, केदार सुवाल, प्रमिला तामाङ, दिलिप कुमार तामाङ, श्री राम थापा र साजन थापा सहितको समिति गठन भएको हो ।

आरडी प्रभास चटौतको अभिनन्दन ग्रन्थ लोकापर्ण

काठमाडौँ – नेपाली वाङ्मयका अथक साधक भाषासेवी प्राज्ञ आरडी प्रभास चटौतबारे लेखिएको ‘आरडी प्रभास चटौत अभिनन्दन ग्रन्थ’ लोकार्पण गरिएको छ । एनडी प्रकास चटौत स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र वरिष्ठ साहित्यकारले संयुक्तरुपमा उक्त कृति सार्वजनिक गर्नुभएको हो ।

पुस्तकमा नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा चटौतले पु¥याउनुभएको योगदान र व्यक्तित्वबारे समाजका विभिन्न विधामा ख्याति कमाउनुभएका विद्वान विदुषिका धारणा समेटिएको छ । पुस्तकमा वरिष्ठ कवि एवं साहित्यकार केदारनाथ व्यथित, माधवप्रसाद घिमिरे, मोहन कोइराला, इश्वर बल्लभ, चूडामणि बन्धु, तारानाथ शर्मा, भुवन ढुङगाना, प्राध्यापक आनन्ददेव भट्ट, प्रा डा खगेन्द्र लुइँटेल, प्रा डा माधवप्रसाद पोखरेल, प्रा महादेव अवस्थी, सिद्धिचरण श्रेष्ठ, प्रा शिवगोपाल रिसाल, सूर्यविक्रम ज्ञावली र रमा शर्माबाट विभिन्न अवसरमा प्रदान गर्नुभएको शुभकामना सन्देश तथा धारणा समावेश छन् ।

विसं २००६ बाट नेपाली साहित्यको उन्नयनमा निरन्तर अतुलनीय योगदान दिँदै आउनुभएका श्रष्टा चटौत आजै ८८ वर्ष प्रवेश गर्नुभएकाले उहाँलाई कार्यक्रममा अभिनन्दनसमेत गरियो । पुस्तकमा उहाँले सुदूरपश्चिमको डोटी क्षेत्रका चारपुस्ता अघिदेखिका भाषा, साहित्य र संस्कृतिसम्बन्धी सङ्कलन गरिएका तथ्य एवं तथ्याङक प्रस्तुत गर्नुभएको छ ।

डा पुष्पराज भट्ट प्रधान सम्पादक रहनुभएको उक्त कृतिमा एक सय ७८ लेख समेटिएका छन् । पुस्तक लोकार्पण गर्दै आयोगका अध्यक्ष मगरले अहिलेको भौतिकवादी संसारमा हराइरहेका भाषा, साहित्य, संस्कृति र शब्दको कसरी जगेर्ना गर्नुपर्छ भन्ने सन्देश पुस्तकबाट प्राप्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कवि र साहित्यकारले आफूले चाहेअनुसारको काव्य संसार निर्माण गर्छन, आध्यात्मले पुनःजीवनको कल्पना गरे पनि विज्ञानवादीले पुनःजीवनलाई स्वीकार्दैन ।” वरिष्ठ साहित्यकार तुलसी दिवसले चटौतले डोटेली भाषालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन तथा दुर्गम क्षेत्रमा रही नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पु¥याउनुभएको चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालको इतिहास शासकको मात्र छ, शासित र विभिन्न जातजातीको पनि इतिहास लेखिनुपर्छ, स्थान विशेषका कला, साहित्य र संस्कृतिलाई उजागर गर्ने पाटोमा सबैबाट योगदान हुनुपर्छ ।” नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले आरडी चटौतले नेपाली वाङ्मयको विकास र विस्तार एवं गुणस्तरीय तुल्याउने विषयमा इतिहास रच्नुभएको बताउनुभयो ।

प्रतिष्ठानका पूर्वकूलपति वैरागी काइलाले एक देश, एक भाषाको लहर चलिरहेका बेला श्रष्टा चटौतले मातृभाषाप्रतिको चिन्ता र जागरणले डोटेली भाषालाई सुगम बनाउने कार्यमा ठूलो योगदान भएको बताउनुभयो ।

पुस्तकका लेखक चटौतले शारीरिक अवस्था र स्वास्थ्यले निकै चुनौती खडा गरिहेको अवस्थामा पुस्तकलाई निष्कर्षमा पु¥याउने हुटुहुटीले सफलता पाएकामा निकै हर्ष व्यक्त गर्नुभयो । एनडी प्रकाशन स्मृति प्रतिष्ठान महेन्द्रनगर प्रकाशक रहेको उक्त कृति सात सय ७८ पृष्ठको छ भने मूल्य रु नौ सय ९९ रहेको छ ।

गरिबी अन्त्य गर्न प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने छ : अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरिबी अन्त्य गर्न विज्ञान र प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा उहाँले विज्ञान र प्रविधिको प्रयोग गर्न सके मुलुकमा विकास तीव्र गतिमा हुने बताउनुभयो । उहाँले विज्ञानका नियमलाई प्रविधिमा विकास गरेर उत्पादन बढाउन सकिने धारणा राख्नुभयो ।

विज्ञानका नियम पत्ता लगाउने र त्यसलाई प्रविधिमा रूपान्तरण गरेर विकासका लागि प्रयोग गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “प्रविधिको विकासले हाम्रो आजको पछौटेपनलाई अगाडि बढाउँछ । कम उत्पादनलाई तीव्र वृद्धिमा लैजान्छ । छोटो धीमा गतिलाई तीव्रता दिन्छ । कम सामर्थ्यलाई बढी सामर्थ्यमा परिणत गर्दछ ।”

उहाँले विज्ञानको नियमअनुसार प्रविधिको विकास हुनुपर्ने भन्दै विज्ञानलाई रूपान्तरणमा परिवर्तन गर्न ‘इनोभेसन’ आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल र सुखी नेपाल’ भन्ने शब्द कुनै सरकार र प्रधानमन्त्रीले उच्चारण गर्न आँट नगरेको बताउनुभयो ।

उहाँले कुनै व्यक्ति नभई सिङ्गो समाजलाई माथि उठाउनका लागि आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले आफूहरूले मानव र समाजको विकास गर्न खोजेको भ बताउनुभयो ।

पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको प्रकाशमानको आरोप

काठमाडौं –​​​ नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको टिप्पणी गरेका छन् । आज पार्टीको ललितपुर जिल्ला कार्यसमितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको बताएका हुन् ।

नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरूबीच समन्वयको आवश्यकता देखिएको पनि बताएका छन् । जनताको इच्छा, आकांक्षाबमोजिमा समयलाई बुझेर पार्टीलाई अघि बढाउनुको विकल्प नरहेको उनले बताए ।

पार्टीलाई संस्थागतरुपमा अघि बढाउनसके अरु कुनै राजनीतिक दलले चुनौति दिन नस्कन्ने उनको भनार्य छ । कांग्रेसले आगामी दिनमा आउने चुनौतीहरु सशक्त रुपमा ट्याकल गर्छ भन्ने इमेज दिनुपर्नेसमेत उनले बताए। नेता सिहले पार्टीभित्र एकले अर्कोलाई दोषारोपण नगरी र हिलो नछयापी काम गर्न पर्ने बताए ।

लगानी र बजार माग बढ्नेमा परिसङ्घको आशङ्का

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटले अहिलेको अर्थतन्त्रको अवस्थाका सुधारका लागि केही सकारात्मक प्रयास गरे पनि लगानी प्रोत्साहन हुने र बजारको माग बढ्नेमा आशङ्का रहेका धारणा नेपाल उद्योग परिसङ्घले दिएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै परिसङ्घले बजेटबारे आफ्नो यस्तो धारणा सार्वजनिक गरेको हो ।

“मन्दिरमा रहेको अर्थतन्त्रलाई समृद्धितर्फ लैजान लगानी बढाउनुपर्ने अवस्थामा पुँजीगत खर्च घटाइएको छ । आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न तयारी वस्तु र कच्चापदार्थको भन्सार दर कम्तीमा दुई तहको फरक हुनुपर्नेमा एक तहमात्रै फरक गरेर सरकारले आफ्नै नीतिसमेत सम्बोधन गरेको छैन । मन्दीमा रहेको अर्थतन्त्रलाई प्रस्तुत बजेटले निकास दिनेमा हाम्रो आशङ्का छ”, परिसङ्घले विज्ञप्तिमा भनेको छ । निजी क्षेत्रको लगानी वृद्धि गर्न परिसङ्घले दिएका सुझाव बजेटमा सम्बोधन नभएको पनि उसको भनाइ छ ।

बजेटमा समावेश भएका विषयको प्रभावकारी कार्यान्वयनमा शङ्का रहेको परिसङ्घको धारणा छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका अधिकांश व्यवस्था कार्यान्वयन नभएको तथ्य उसले सार्वजनिक गरेको छ ।

“बजेटमा घोषणा हुने तर कार्यान्वयन पक्ष निकै कमजोर रहने वास्तविकता परिसङ्घले सञ्चालन गरेको बजेट वाच कार्यक्रमको तथ्यलेसमेत देखाएको छ । चालु आव  बजेटमा समावेश भएका निजी क्षेत्रसँग सम्बन्धित ६२ विषयमध्ये चैत्र मसान्तसम्ममा १६ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन भएका छन्”, परिसङ्घले भनेको छ, “बजेटमा समावेश गरिने तर कार्यान्वयन नहुने विषय गम्भीर चिन्ताको विषय बन्दै आएको छ ।”

कार्यान्वयनमा आशङ्का जनाए पनि बजेटका धेरै कार्यक्रम राम्रा रहेको विज्ञप्तिमा उल्लेख छ । पूर्वाधार परियोजनामा स्वदेशमा उत्पादित वस्तु प्रयोग गर्ने, जग्गाको हदबन्दीसम्बन्धी कानुनमा पुनरावलोकन गर्ने, सार्वजनिक–निजी साझेदारीमा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन, वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गर्ने, ढुङ्गा, गिट्टी निकासी गर्न आधार तयार गर्ने, साइट क्लियरेन्स भएका आयोजनालाई मात्रै बजेट विनियोजन गर्ने, स्टार्टअप व्यवसायमा लगानी प्रोत्साहन गर्नेलगायतका विषय स्वागतयोग्य रहेको परिसङ्घले जनाएको छ ।

त्यस्तै, उत्पादनमूलक तथा निर्यातजन्य उद्योगका लागि सहजरुपमा जग्गा उपलब्ध गराउने, सूचना प्रविधि र नवप्रवर्तनमा आधारित उद्योगका लागि लचिलो श्रम नीति अवलम्बन गर्नेलगायतका विषय पनि सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ । विदेशी लगानीबाट आर्जित आयलाई पुनःलगानी गर्दा स्वीकृति लिनु नपर्ने, सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको सीमा हटाउने, सूचना प्रविधि क्षेत्रलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न निर्यातबाट प्राप्त विदेशी मुद्राको १० प्रतिशतसम्म सटही सुविधा उपलब्ध गराइने व्यवस्था सकारात्मक रहेको परिसङ्घको धारणा छ ।

त्यसैगरी, विकास निर्माण आयोजनामा वनसँग जोडिएका विषयमा बजेटमार्फत सकारात्मक कुरा ल्याइएको परिसङ्घको भनाइ छ । “वातावरणीय प्रभाव मूल्याङ्कन प्रस्ताव पेस भएको ३० दिनभित्र निर्णय दिनुपर्ने, कटान गर्ने रुखमा १० प्रतिशतसम्म फरक भए पनि पुनःस्वीकृति लिनु नपर्ने, वन क्षेत्रको प्रयोग र रुख कटानीको स्वीकृति एकैपटक दिने, स्वीकृति प्राप्त भएको १५ दिनभित्र रुख कटानको आदेश दिनुपर्ने व्यवस्थाले परियोजनाको लागत बढ्न नदिने मात्र नभई समयमै परियोजना सम्पन्न गर्नसमेत मद्दत गर्ने हाम्रो विश्वास छ”, परिसङ्घले भनेको छ ।
       
बजेटले अर्थतन्त्र सुधारका केही नयाँ सङ्केत गरे पनि कर नीतिमा देखिएको अस्थिरताले लगानी बिग्रनसक्नेमा परिसङ्घले चिन्ता व्यक्त गरेको छ । लगानी अभिवृद्धिका लागि नीतिगत स्थिरता चाहिनेमा सरकारले प्रत्येक वर्ष भन्सार, अन्तःशुल्कलगायत करका दर परिवर्तन गर्दा लगानीको वातावरण अनिश्चित हुँदै गएको परिसङ्घको भनाइ छ । 

“विसं २०५४ मा सरकारले एउटा मात्र कर (भ्याट) लगाउँछौँ, त्यसलाई स्वीकार गरिदेउ, त्यसपछि हामी अरु कर लगाउँदैनौँ भनेर निजी क्षेत्रलाई करमा सहमति गराएको थियो । अहिले अनेक प्रकारका कर लगाइएको छ । यसले लगानीको वातावरण बिग्रन सक्नेतर्फ परिसङ्घ चिन्ता व्यक्त गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
 

सरुवा र बढुवाका लागि नाजायज लाभ लिए जेल जानुपर्ला : गृहमन्त्री श्रेष्ठ

काठमाडौं -​​​​​​​ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ नलिन आग्रह गरेका छन्। उनले एक कार्यक्रममा आज लाभ लिने र दिने दुवैलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको बताउँदै त्यसो गर्नेहरूलाई कारबाही हुने उनले प्रस्ट पारे। ‘सरुवा र बढुवाका लागि माथि लिने काम बन्द भयो । मन्त्रालयको कसैले लिएको थियो भने बन्द भयो। विचौलियाले पनि पैसा लिन्छन् भन्ने सुन्दैछु। खबरदार! कोही कसैले बढुवा र सरुवाको निम्ति नाजायज लाभ लिएको छ भने दिनेलाई पनि जेल हाल्छु, लिनेलाई पनि जेल हाल्छु,’ उनले भने।

मुलुक यसरी नचल्ने बताउँदै उनले जनतालाई यसरी नै शासन दिने हो भने सही नहुने बताए। आफूलाई निष्पक्ष राख्न खोज्दा विभिन्न अप्ठ्यारा आउने गरेको पनि श्रेष्ठले बताए।

रोजगारीका लागि परीक्षा दिनेहरूले सम्बन्धित निकायमा भनिदिनपर्‍यो भनेर दिनदिनै भन्ने गरेको पनि श्रेष्ठले सुनाए । ‘त्रिविमा प्राध्यापकको लागि परीक्षा दिएर आउनुहुन्छ। सेवा आयोगमा भनिदिनुपर्‍यो भन्नुहुन्छ। शिक्षक सेवा आयोग र लोकसेवा आयोगमा पनि त्यही भन्नुहुन्छ, भन्दिनपरो भन्नुहुन्छ,’ उनले भने, ‘त्यसो त हुन्न भन्दा तपाईंले नेपालमा राजनीति गरेर खानुहुन्न, फेरि चुनाव हार्नुहुन्छ भन्नुहुन्छ। १०० पटक चुनाव हार्न तयार छु तर लोकतान्त्रिक र निष्पक्ष मूल्यमान्यता छोड्दिनँ।’

सरकारले भ्रष्टाचार नियन्त्रणका लागि दृढ कदम चालिरहेको र कुन पार्टीका नेता पर्छन् भन्ने वास्ता नगरेको बताए। 

‘केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पु¥याउने उद्देश्य छ’

काठमाडौँ – सरसफाइ अभियन्ता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जनस्वास्थ्य तथा सरसफाइ विज्ञ खेम शर्माले केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा फोहरमैला व्यवस्थापन सङ्घ नेपालद्वारा यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विज्ञ शर्माले केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पु¥याउने उद्देश्यका साथ देशविदेशमा बस्ने सम्पूर्ण नेपालीलाई समावेश गरी तीनै तहका सरकारको सहभागितामा ‘स्वच्छ नेपाल स्वस्थ नेपाली’ नाराका साथ राष्ट्रिय सरसफाइ अभियान यसै वर्षदेखि सुरु गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म विभिन्न मन्त्रालय, विभाग एवम् कार्यालयहरूले निर्माण गरेका जनस्वास्थ्य र सरसफाइसम्बन्धी नीति, नियम एवम् निर्देशिका आगामी साउन १ गतेदेखि थप प्रभावकारी रूपमा अगाडि बढाउन प्रधानमन्त्रीबाट निर्देशन भइसकेको छ ।”

विज्ञ शर्माले विश्व मजदुर दिवसको दिन केही महत्वपूर्ण निर्णयहरूसमेत भएको जानकारी गराउनुभयो । यसै वर्षदेखि लागू हुने गरी राष्ट्रका उच्च तहबाट वार्षिक रूपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा कम्तीमा दुई प्रतिशत मजदुरलाई समावेश गर्ने नीति सरकारले लिएको उहाँको भनाइ छ ।

विज्ञ शर्माले सम्पूर्ण मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा, सर्त र सुविधा निश्चित तथा वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय गराउने प्रतिबद्धता व्यक्त गर्दै सरसफाइमा खटिने सम्पूर्ण मजदुरलाई दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र संस्थाले अनिवार्यरूपमा आफ्ना मजदुरलाई पेसागत तालिम, आधुनिक सामग्री र सुरक्षासहितको उचित पोसाकको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी आर्थिक वर्ष २०८०÷८१ देखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य रूपमा लागू गर्न पहल गरिने उहाँले बताउनुभयो । विज्ञ शर्माले समग्र सरसफाइकर्मीले भोग्दै आएका समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रत्येक नागरिक स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक हक सरसफाइकर्मीको सहयोगबिना असम्भव भएको उल्लेख गर्दै उहाँले सरकारले सरसफाइलाई बजेटमा समेत प्राथमिकता दिएको बताउनुभयो । ७९ कम्पनीको छाता सङ्गठन फोहरमैला व्यवस्थापन सङ्घ नेपालले हाल तीन हजारभन्दा बढी सरसफाइकर्मीलाई प्रत्यक्षरूपमा रोजगारी प्रदान गर्दै आएको छ । सङ्घले काठमाडौँ महानगरको ७९ र काठमाडौँ उपत्यकाको ९० प्रतिशत फोहरमैला व्यवस्थापन गर्दै आएको छ ।

चार सय ५० भन्दा बढी ढुवानीका साधनको प्रयोग गर्दै करिब चार सय किलोमिटर सडकको सफाइ, करिब चार लाख घर÷निकाय, प्रतिष्ठानलगायतलाई सेवा पु¥याउँदै आएको छ । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा आज प्रभातफेरीको आयोजना गरिएको थियो । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ । सन् १९७२ मा स्विडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले तय गरेको यो दिवसलाई सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो ।