`

लगानी र बजार माग बढ्नेमा परिसङ्घको आशङ्का

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटले अहिलेको अर्थतन्त्रको अवस्थाका सुधारका लागि केही सकारात्मक प्रयास गरे पनि लगानी प्रोत्साहन हुने र बजारको माग बढ्नेमा आशङ्का रहेका धारणा नेपाल उद्योग परिसङ्घले दिएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै परिसङ्घले बजेटबारे आफ्नो यस्तो धारणा सार्वजनिक गरेको हो ।

“मन्दिरमा रहेको अर्थतन्त्रलाई समृद्धितर्फ लैजान लगानी बढाउनुपर्ने अवस्थामा पुँजीगत खर्च घटाइएको छ । आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न तयारी वस्तु र कच्चापदार्थको भन्सार दर कम्तीमा दुई तहको फरक हुनुपर्नेमा एक तहमात्रै फरक गरेर सरकारले आफ्नै नीतिसमेत सम्बोधन गरेको छैन । मन्दीमा रहेको अर्थतन्त्रलाई प्रस्तुत बजेटले निकास दिनेमा हाम्रो आशङ्का छ”, परिसङ्घले विज्ञप्तिमा भनेको छ । निजी क्षेत्रको लगानी वृद्धि गर्न परिसङ्घले दिएका सुझाव बजेटमा सम्बोधन नभएको पनि उसको भनाइ छ ।

बजेटमा समावेश भएका विषयको प्रभावकारी कार्यान्वयनमा शङ्का रहेको परिसङ्घको धारणा छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका अधिकांश व्यवस्था कार्यान्वयन नभएको तथ्य उसले सार्वजनिक गरेको छ ।

“बजेटमा घोषणा हुने तर कार्यान्वयन पक्ष निकै कमजोर रहने वास्तविकता परिसङ्घले सञ्चालन गरेको बजेट वाच कार्यक्रमको तथ्यलेसमेत देखाएको छ । चालु आव  बजेटमा समावेश भएका निजी क्षेत्रसँग सम्बन्धित ६२ विषयमध्ये चैत्र मसान्तसम्ममा १६ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन भएका छन्”, परिसङ्घले भनेको छ, “बजेटमा समावेश गरिने तर कार्यान्वयन नहुने विषय गम्भीर चिन्ताको विषय बन्दै आएको छ ।”

कार्यान्वयनमा आशङ्का जनाए पनि बजेटका धेरै कार्यक्रम राम्रा रहेको विज्ञप्तिमा उल्लेख छ । पूर्वाधार परियोजनामा स्वदेशमा उत्पादित वस्तु प्रयोग गर्ने, जग्गाको हदबन्दीसम्बन्धी कानुनमा पुनरावलोकन गर्ने, सार्वजनिक–निजी साझेदारीमा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन, वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गर्ने, ढुङ्गा, गिट्टी निकासी गर्न आधार तयार गर्ने, साइट क्लियरेन्स भएका आयोजनालाई मात्रै बजेट विनियोजन गर्ने, स्टार्टअप व्यवसायमा लगानी प्रोत्साहन गर्नेलगायतका विषय स्वागतयोग्य रहेको परिसङ्घले जनाएको छ ।

त्यस्तै, उत्पादनमूलक तथा निर्यातजन्य उद्योगका लागि सहजरुपमा जग्गा उपलब्ध गराउने, सूचना प्रविधि र नवप्रवर्तनमा आधारित उद्योगका लागि लचिलो श्रम नीति अवलम्बन गर्नेलगायतका विषय पनि सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ । विदेशी लगानीबाट आर्जित आयलाई पुनःलगानी गर्दा स्वीकृति लिनु नपर्ने, सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको सीमा हटाउने, सूचना प्रविधि क्षेत्रलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न निर्यातबाट प्राप्त विदेशी मुद्राको १० प्रतिशतसम्म सटही सुविधा उपलब्ध गराइने व्यवस्था सकारात्मक रहेको परिसङ्घको धारणा छ ।

त्यसैगरी, विकास निर्माण आयोजनामा वनसँग जोडिएका विषयमा बजेटमार्फत सकारात्मक कुरा ल्याइएको परिसङ्घको भनाइ छ । “वातावरणीय प्रभाव मूल्याङ्कन प्रस्ताव पेस भएको ३० दिनभित्र निर्णय दिनुपर्ने, कटान गर्ने रुखमा १० प्रतिशतसम्म फरक भए पनि पुनःस्वीकृति लिनु नपर्ने, वन क्षेत्रको प्रयोग र रुख कटानीको स्वीकृति एकैपटक दिने, स्वीकृति प्राप्त भएको १५ दिनभित्र रुख कटानको आदेश दिनुपर्ने व्यवस्थाले परियोजनाको लागत बढ्न नदिने मात्र नभई समयमै परियोजना सम्पन्न गर्नसमेत मद्दत गर्ने हाम्रो विश्वास छ”, परिसङ्घले भनेको छ ।
       
बजेटले अर्थतन्त्र सुधारका केही नयाँ सङ्केत गरे पनि कर नीतिमा देखिएको अस्थिरताले लगानी बिग्रनसक्नेमा परिसङ्घले चिन्ता व्यक्त गरेको छ । लगानी अभिवृद्धिका लागि नीतिगत स्थिरता चाहिनेमा सरकारले प्रत्येक वर्ष भन्सार, अन्तःशुल्कलगायत करका दर परिवर्तन गर्दा लगानीको वातावरण अनिश्चित हुँदै गएको परिसङ्घको भनाइ छ । 

“विसं २०५४ मा सरकारले एउटा मात्र कर (भ्याट) लगाउँछौँ, त्यसलाई स्वीकार गरिदेउ, त्यसपछि हामी अरु कर लगाउँदैनौँ भनेर निजी क्षेत्रलाई करमा सहमति गराएको थियो । अहिले अनेक प्रकारका कर लगाइएको छ । यसले लगानीको वातावरण बिग्रन सक्नेतर्फ परिसङ्घ चिन्ता व्यक्त गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
 

सरुवा र बढुवाका लागि नाजायज लाभ लिए जेल जानुपर्ला : गृहमन्त्री श्रेष्ठ

काठमाडौं -​​​​​​​ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ नलिन आग्रह गरेका छन्। उनले एक कार्यक्रममा आज लाभ लिने र दिने दुवैलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको बताउँदै त्यसो गर्नेहरूलाई कारबाही हुने उनले प्रस्ट पारे। ‘सरुवा र बढुवाका लागि माथि लिने काम बन्द भयो । मन्त्रालयको कसैले लिएको थियो भने बन्द भयो। विचौलियाले पनि पैसा लिन्छन् भन्ने सुन्दैछु। खबरदार! कोही कसैले बढुवा र सरुवाको निम्ति नाजायज लाभ लिएको छ भने दिनेलाई पनि जेल हाल्छु, लिनेलाई पनि जेल हाल्छु,’ उनले भने।

मुलुक यसरी नचल्ने बताउँदै उनले जनतालाई यसरी नै शासन दिने हो भने सही नहुने बताए। आफूलाई निष्पक्ष राख्न खोज्दा विभिन्न अप्ठ्यारा आउने गरेको पनि श्रेष्ठले बताए।

रोजगारीका लागि परीक्षा दिनेहरूले सम्बन्धित निकायमा भनिदिनपर्‍यो भनेर दिनदिनै भन्ने गरेको पनि श्रेष्ठले सुनाए । ‘त्रिविमा प्राध्यापकको लागि परीक्षा दिएर आउनुहुन्छ। सेवा आयोगमा भनिदिनुपर्‍यो भन्नुहुन्छ। शिक्षक सेवा आयोग र लोकसेवा आयोगमा पनि त्यही भन्नुहुन्छ, भन्दिनपरो भन्नुहुन्छ,’ उनले भने, ‘त्यसो त हुन्न भन्दा तपाईंले नेपालमा राजनीति गरेर खानुहुन्न, फेरि चुनाव हार्नुहुन्छ भन्नुहुन्छ। १०० पटक चुनाव हार्न तयार छु तर लोकतान्त्रिक र निष्पक्ष मूल्यमान्यता छोड्दिनँ।’

सरकारले भ्रष्टाचार नियन्त्रणका लागि दृढ कदम चालिरहेको र कुन पार्टीका नेता पर्छन् भन्ने वास्ता नगरेको बताए। 

‘केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पु¥याउने उद्देश्य छ’

काठमाडौँ – सरसफाइ अभियन्ता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जनस्वास्थ्य तथा सरसफाइ विज्ञ खेम शर्माले केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा फोहरमैला व्यवस्थापन सङ्घ नेपालद्वारा यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विज्ञ शर्माले केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पु¥याउने उद्देश्यका साथ देशविदेशमा बस्ने सम्पूर्ण नेपालीलाई समावेश गरी तीनै तहका सरकारको सहभागितामा ‘स्वच्छ नेपाल स्वस्थ नेपाली’ नाराका साथ राष्ट्रिय सरसफाइ अभियान यसै वर्षदेखि सुरु गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म विभिन्न मन्त्रालय, विभाग एवम् कार्यालयहरूले निर्माण गरेका जनस्वास्थ्य र सरसफाइसम्बन्धी नीति, नियम एवम् निर्देशिका आगामी साउन १ गतेदेखि थप प्रभावकारी रूपमा अगाडि बढाउन प्रधानमन्त्रीबाट निर्देशन भइसकेको छ ।”

विज्ञ शर्माले विश्व मजदुर दिवसको दिन केही महत्वपूर्ण निर्णयहरूसमेत भएको जानकारी गराउनुभयो । यसै वर्षदेखि लागू हुने गरी राष्ट्रका उच्च तहबाट वार्षिक रूपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा कम्तीमा दुई प्रतिशत मजदुरलाई समावेश गर्ने नीति सरकारले लिएको उहाँको भनाइ छ ।

विज्ञ शर्माले सम्पूर्ण मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा, सर्त र सुविधा निश्चित तथा वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय गराउने प्रतिबद्धता व्यक्त गर्दै सरसफाइमा खटिने सम्पूर्ण मजदुरलाई दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र संस्थाले अनिवार्यरूपमा आफ्ना मजदुरलाई पेसागत तालिम, आधुनिक सामग्री र सुरक्षासहितको उचित पोसाकको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी आर्थिक वर्ष २०८०÷८१ देखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य रूपमा लागू गर्न पहल गरिने उहाँले बताउनुभयो । विज्ञ शर्माले समग्र सरसफाइकर्मीले भोग्दै आएका समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रत्येक नागरिक स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक हक सरसफाइकर्मीको सहयोगबिना असम्भव भएको उल्लेख गर्दै उहाँले सरकारले सरसफाइलाई बजेटमा समेत प्राथमिकता दिएको बताउनुभयो । ७९ कम्पनीको छाता सङ्गठन फोहरमैला व्यवस्थापन सङ्घ नेपालले हाल तीन हजारभन्दा बढी सरसफाइकर्मीलाई प्रत्यक्षरूपमा रोजगारी प्रदान गर्दै आएको छ । सङ्घले काठमाडौँ महानगरको ७९ र काठमाडौँ उपत्यकाको ९० प्रतिशत फोहरमैला व्यवस्थापन गर्दै आएको छ ।

चार सय ५० भन्दा बढी ढुवानीका साधनको प्रयोग गर्दै करिब चार सय किलोमिटर सडकको सफाइ, करिब चार लाख घर÷निकाय, प्रतिष्ठानलगायतलाई सेवा पु¥याउँदै आएको छ । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा आज प्रभातफेरीको आयोजना गरिएको थियो । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ । सन् १९७२ मा स्विडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले तय गरेको यो दिवसलाई सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण : के के भए सहमति र सम्झौता

काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री दाहालको यो पहिलो भारत भ्रमण हो ।

प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, अर्थमन्त्री डा प्रकाश शरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल हुनुहुन्छ ।

भ्रमणका क्रममा परम्परागत न्यानोपन तथा सौहाद्र्रताका साथ दुवै प्रधानमन्त्रीले द्विपक्षीय विषयमा व्यापक छलफल गर्नुभएको थियो । वार्ताका क्रममा राजनीतिक, आर्थिक, व्यापार, ऊर्जा, सुरक्षा तथा विकास सहकार्यलगायतका विषयवस्तुलाई समेट्दै दुवै प्रधानमन्त्रीले भारत र नेपालबीचको द्विपक्षीय एजेन्डाका सम्पूर्ण पक्षको समीक्षा गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू तथा उपराष्ट्रपति जगदीप धनकडसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

त्यस्तै, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री दाहालसँग दिल्लीमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

दुवै प्रधानमन्त्रीले दुई देशबीच रहेको उत्कृष्ट सहकार्यको उल्लेख गर्नुभयो । जुन सहकार्य कोभिड–१९ महामारीले निम्त्याएको विषम परिस्थितिको बेला पनि कायम थियो । दुई देशबीचको बलियो आर्थिक तथा व्यापार साझेदारीमाथि प्रकाश पार्दै दुवैले अन्य सम्झौतालगायत भारतको आन्तरिक जलमार्गमा पहुँच प्रदान गर्ने संशोधित पारवहन सन्धिमा हस्ताक्षर गरेकामा स्वागत गर्नुभएको थियो ।

विद्युत् व्यापारमा महत्वपूर्ण उपलब्धि

ऊर्जा क्षेत्रमा सहकार्यका लागि सन् २०२२ अप्रिलमा जारी गरिएको संयुक्त दृष्टिकोणपत्रको स्मरण गर्दै ऊर्जा क्षेत्र सहकार्यमा हासिल प्रगतिप्रति दुवै प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गर्नुभएको थियो । यसमा जलविद्युत् परियोजनाको विकास, विद्युत् प्रसारण, पूर्वाधार तथा ऊर्जा व्यापार समावेश छन् । दुवै प्रधानमन्त्रीले नेपालबाट भारततर्फ चार सय ५२ मेगावाटसम्म भएको विद्युत् निर्यात र नेपालमा नौ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाको निर्माणमा भएको प्रगतिको प्रशंसा गर्नुभएको थियो ।

दुवै पक्षले दीर्घकालीन ऊर्जा व्यापारका लागि सहमति जनाएका थिए । जसअनुसार दुवै पक्ष नेपालबाट भारतमा हुने विद्युत् निर्यातको परिमाण १० वर्षको अवधिभित्र १० हजार मेगावाट पु¥याउन र यसका लागि आपसी सहयोगलाई प्रोत्साहित गर्न आवश्यक सबै उपायहरु अवलम्बन गर्न सहमत छन् ।

सो अवसरमा प्रधानमन्त्रीद्वयले संयुक्त रुपमा चार सय केभी गोरखपुर–बुटवल प्रसारण लाइनको भूमिपूजन कार्य गर्नुभयो । चार सय ८० मेगावाटको फुकोट–कर्णाली परियोजनाको निर्माणका लागि एनएचपिसी र भियुसिएल लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर तथा छ सय ६९ मेगावाटको तल्लो अरुणको निर्माणका लागि सतलज जलविद्युत् निगम र नेपाल लगानी बोर्डबीच सम्पन्न परियोजना विकास सम्झौताको दुवै पक्षले स्वागत गरेका थिए ।

नेपालबाट बङ्गलादेशसम्म भारतीय ग्रिडमार्फत ४० मेगावाटसम्मको विद्युत् निर्यात गर्न पहिलो त्रिपक्षीय विद्युत् कारोबारलाई सहजीकरण गर्ने भारत सरकारको निर्णयलाई नेपाली पक्षले स्वागत गरेको छ । दुवै पक्षले ऊर्जा क्षेत्रलगायत बृहत् उपक्षेत्रीय सहयोगका लागि आफ्नो प्रतिबद्धता जाहेर गरे । यसले सबै सरोकारवालाहरुको पारस्परिक हितका लागि अर्थतन्त्र बीचको अन्तर सम्बन्धलाई बढाउनेछ ।

पञ्चेश्वर आयोजनाको डिपिआर अन्तिम रुप दिने सहमति

महाकाली सन्धिमा परिकल्पना गरिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना नेपाल र भारतका नागरिकको आकाङ्क्षाअनुरुप हो । यस सन्दर्भमा दुवै सरकारका सम्बन्धित अधिकारीहरुले तीन महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई छिट्टै अन्तिम रुप दिन द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको छ । पञ्चेश्वर विकास प्राधिकरणले अन्तिम डिपिआर दुवै सरकारलाई बुझाउनेछ । उक्त आयोजनाका लागि आवश्यक पर्ने वित्तीय व्यवस्था दुई सरकार र तिनीहरुका सम्बन्धित निकायले गर्नेछन् । दुवै सरकारले डिपिआर स्वीकृत गरेपछि एक वर्षभित्र कार्यान्वयनको ढाँचा टुङ्गो लगाइनेछ ।

दुवै पक्षले टनकपुर लिङ्क क्यानल निर्माणको स्वागत गर्दै नेपालतर्फ आवश्यक पर्ने संरचनाको उपलब्धताका आधारमा चरणबद्ध रुपमा टनकपुर ब्यारेजबाट नेपालको सिँचाइ कमान्ड एरियामा नहरबाट पानी छोड्ने सहमति भएको छ । यस सम्बन्धमा दुवै पक्षका प्राविधिक टोली सम्पर्कमा रहनेछन् ।

भेरी करिडोर, निजगढ–इनरुवा र गण्डक नेपालगञ्ज प्रसारण लाइन र यससँग सम्बन्धित सबस्टेसनहरु भारतीय लाइन अफ क्रेडिटअन्तर्गत छ सय ७९ दशमलव आठ (६७९.८)मिलियन अमेरिकी डलर अनुमानित लागतमा लगानी गर्ने भारत सरकारको निर्णयलाई दुवै पक्षले स्वागत गरेका छन् ।

दुई देशका प्रधानमन्त्रीले विकास साझेदारीले हासिल गरेको सकारात्मक गतिको सराहना गर्नाका साथै प्रमुख परियोजनाहरुको कार्यान्वयनको समीक्षा गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री मोदीलाई भारतको सहयोगमा अघि बढिरहेका सबै परियोजनालाई समयमै सम्पन्न गराउन नेपाल सरकारले पूर्णरुपमा सहजीकरण गर्नेबारे आश्वस्त पार्नुभयो ।

यसैगरी, भारत सरकारको अनुदान सहयोगमा भारत र नेपालबीच निर्माणाधीन एकीकृत जाँच चौकीमार्फत कनेक्टिभिटीलाई थप गति प्रदान गर्न दुई प्रधानमन्त्रीले भारतको रुपैडिहा र नेपालको नेपालगञ्जमा निर्माण हुने एकै किसिमका एकीकृत जाँच चौकीको उद्घाटन गर्नुभयो । त्यस्तै, दुई प्रधानमन्त्रीले भारतको सुनौली र नेपालको भैरहवामा एकीकृत जाँच चौकीको निर्माणका लागि भूमिपूजन सम्पन्न गर्नुभयो । भ्रमणका क्रममा भारत सरकारको अनुदान सहयोगमा नेपालको दोधारा चाँदनीमा एकीकृत जाँच चौकीको निर्माणका लागि एक समझदारीपत्रमा हस्ताक्षर पनि भयो । यी एकीकृत जाँच चौकीले यातायातको सुविधालाई सहज बनाई जनता–जनताबीचको सम्पर्कका साथै दुई देशबीचको व्यापार, वाणिज्य तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गर्नेछ ।

रेल सम्पर्क सञ्जालमा उपलब्धि

रेल कनेक्टिभिटीलाई थप सुदृढ बनाउने प्रयासअनुरुप दुई देशका प्रधानमन्त्रीले भारत सरकारको अनुदान सहयोगमा निर्मित जोगबनी–विराटनगर रेलमार्गअन्तर्गत भारतको बथनाहादेखि नेपाल भन्सार यार्डसम्म उद्घाटनस्वरुप गरिएको सीमापार यात्रुवाहक रेल सञ्चालनको अध्यक्षता गर्नुभयो । यसले पूर्र्वी नेपालको व्यापारिक केन्द्रका रुपमा रहेको विराटनगरमार्फत दुई देशबीच व्यापार एवम् वाणिज्य सम्पर्कलाई थप बलियो बनाउनेछ । गत वर्षको अप्रिलदेखि सञ्चालनमा आएको जयनगर–कुर्था यात्रुवाहक रेल सेवालाई थप विस्तार गर्न कुर्था–बिजलपुरा रेलखण्ड नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । उक्त रेलखण्ड चाँडै सञ्चालनमा आउनेछ ।

भ्रमणका क्रममा रक्सौल–काठमाडौँ रेलमार्गको अन्तिम स्थलगत सर्भे प्रतिवेदन पनि नेपाली पक्षलाई हस्तान्तरण गरिएको छ । नेपाली रेल अधिकारीहरुको क्षमता अभिवृद्धिका लागि भारतका रेलवे प्रतिष्ठानहरुमा तालिमको प्रबन्ध र जयनगर–कुर्था रेलखण्डको पूर्वाधार मर्मतका लागि अनुदानको व्यवस्थाका लागि नेपाल सरकारको अनुरोधबमोजिम भारत सरकारले सोही अनुरुप गर्ने सहमति जनाएको छ । गत वर्षको अप्रिलमा भारत र नेपालका प्रधानमन्त्रीले संयुक्तरुपमा जयनगर–कुर्था रेलखण्डको उद्घाटन गर्नुभएको थियो ।

ऊर्जा कनेक्टिभिटीका सम्बन्धमा दुवै प्रधानमन्त्रीले सन् २०१९ को सेप्टेम्बरमा उद्घाटन भएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनका फाइदाबारे चर्चा गर्नुभयो । यो सहकार्यलाई थप सुदृढ बनाउन दुवै प्रधानमन्त्रीले चितवनमा निर्माण हुने दोस्रो चरणको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्नुभयो । भ्रमणका क्रममा सिलिगुडीदेखि झापासम्मको पेट्रोलियम पाइपलाइन निर्माण, अमलेखगञ्जदेखि चितवनसम्म तेल पाइपलाइन विस्तार र चितवन र झापामा दुईवटा ग्रिनफिल्ड टर्मिनल निर्माणका लागि एक समझदारीपत्रमा हस्ताक्षर भयो ।

दुवै पक्षले भारत र नेपालबीच डिजिटल वित्तीय कनेक्टिभिटीलाई अझ मजबुत बनाउने निर्णय गर्‍यो । यस सम्बन्धमा सीमापार डिजिटल भुक्तानी सहजीकरणका लागि भारतको एनपिसिएल र नेपालको एनसिएचएलबीच समझदारीपत्र आदानप्रदान भयो ।

दुवै प्रधानमन्त्रीले गत वर्षको फेब्रुअरीमा भारतबाट नेपालतर्फ युरिया र डिएपीको आपूर्तिका लागि भएको समझदारीको चर्चा गर्नुभयो । यस सहकार्यलाई थप बलियो पार्न दुवै प्रधानमन्त्रीबीच नेपाल र भारतका किसानलाई आवश्यक मल उपलब्ध गराउने गरी एवम् दुवैतर्फ पर्याप्त बजारको सुनिश्चितताका लागि नेपाल र भारतका सार्वजनिक एवम् निजी क्षेत्रको सहभागितमा नेपालमा मल उद्योग स्थापना गर्ने सहमति भएको छ । दुई देशका प्रधानमन्त्रीले सम्बन्धित निकायहरुलाई त्यस्तो उद्योग स्थापनाका लागि आवश्यक तयारी एवम् अध्ययन गर्न निर्देशन पनि दिनुभयो ।

महाकालीमा दुई पुलको निर्माण गर्ने निर्णय

भारत सरकारले अनुदानमा नेपालका सिर्सिया र झुलाघाटमा महाकाली नदीमा भारतको चम्पावत र पिथौरागढ जोड्ने दुईवटा पुलको निर्माण गर्ने निर्णय गरेको छ । यी पुलले भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम प्रदेशबीच सम्पर्क विस्तार गर्न मद्दत गर्नेछ ।

कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले दुवै पक्षबीच ‘नानो फर्टिलाइजर’ र प्राकृतिक खेती जस्ता द्विपक्षीय सहकार्यको नवीन आयामबारे छलफल भयो । कृषि तथा पशुपक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैँसी नेपाल सरकारकलाई उपलब्ध गराइँदैछ ।

भारत सरकारले अनुदान सहयोगमा नेपाललाई दक्षिण एसिया स्याटलाइटको सेवा प्रदान गर्न एउटा ग्राउन्ड स्टेसनको निर्माणका साथै तीन सयवटा टर्मिनल उपलब्ध गराउने भएको छ । यो प्रयासले अन्तरीक्ष क्षेत्र तथा अन्तरीक्ष प्रविधि एप्लिकेसन विशेषगरी दूरसञ्चार तथा प्रसारण, टेलिमेडिसिन, दूरशिक्षा, ई–गोभर्नेन्स, बैंकिङ तथा एटिएम सेवा, मेटोरोलोजिकल डाटा प्रसारण, विपद् उद्धार, अनुसन्धानलगायत क्षेत्रमा क्षेत्रीय सहकार्यलाई प्रवद्र्धन गर्नेछ ।

प्रधानमन्त्री मोदीले ‘इन्टरनेसनल बिग क्याट एलाइन्स’को संस्थापक सदस्य भएकामा नेपाललाई बधाई दिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले यही जेठ १९ गते मध्यप्रदेशको इन्दौर र उज्जैनको भ्रमण गर्नुभएको थियो । यी सहरकोे भ्रमणले दुई देशबीचको गहिरो धार्मिक एवम् सांस्कृतिक सम्बन्धलाई प्रतिबिम्बित गरेको छ ।

नेपाल भारतको छिमेक पहिलो नीतिको एक प्रमुख साझेदारका रुपमा रहेको छ । नेपालका प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको उच्चस्तरीय भ्रमण तथा भेटघाटको परम्परालाई निरन्तरता दिएको छ । जसले सदियौँ पुरानो सम्बन्धलाई मजबुत बनाउन मद्दत गरेको छ । भ्रमणका दौरान भएका फलदायी छलफलले दुई देशबीचको समझदारी र द्विपक्षीय एजेन्डाका विविध पक्षको दृष्टिकोणलाई फराकिलो पार्नाका साथै दुई देशबीचको गहिरो साझेदारीलाई नयाँ मोड दिन सघाउ पुर्‍याएको छ ।

चुरेकाछका महिलामा आङ खस्ने र पाठेघरको समस्या

महोत्तरी – महोत्तरीको चुरेकाछ बस्तीमा आङ खस्ने र पाठेघरको समस्या भएका धेरै महिला भेटिएका छन् । बर्दिबास–४ माईस्थानको कामीडाँडा बस्तीमा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले महिलाका लागि आयोजना गरेको दुईदिने स्वास्थ्य शिविरमा चार सय महिलामा आङ खस्ने र पाठेघर समस्या पाइएको हो ।

 बिहीबार र शुक्रबार गरी दुई दिन सञ्चालित शिविरमा सात सय ५८ महिलाले स्वास्थ्य जाँच गराएका छन् । जसमध्ये चार सयमा आङ खस्ने र पाठेघरको मुखको क्यान्सर देखिएको रेडक्रस उपशाखा बर्दिबासले जनाएको छ । शिविरमा आङ खस्ने र पाठेघरको मुखको क्यान्सर तथा यसको रोकथामबारे (भिसिटी) बारे जाँच गरिएको थियो ।

जाँच भएकामध्ये १९ जनाको पाठेघरको शल्यक्रिया गरिने र आङ खस्ने समस्या भएका १५ महिलालाई रिङ लगाइने जाँचमा संलग्न महिला रोग विशेषज्ञ डा दीपक शाहलाई उद्धृत गर्दै रेडक्रस उपशाखा बर्दिबासका सभापति रेवन्त कार्की ‘सुदीप’ले जानकारी दिनुभयो ।

रेडक्रस उपशाखाले शिविरका लागि बर्दिबास नगरपालिका क्षेत्रको भित्री बस्ती चुरेकाछ नजिक चयन गरेको थियो । नगरपालिका भनिए पनि चुरेकाछका बासिन्दा स्वास्थ्य जाँच र उपचारबाट बञ्चित हुने गरेकाले यस क्षेत्र शिविरका लागि छनोट गरिएको उहाँले बताउनुभयो ।

 “मधेस प्रदेशमा भए पनि चुरेकाछका बस्तीहरु पहाडी परम्परा र चलनका छन्, यहाँका महिलाको जीवन डोको/नाम्लो, घाँस/दाउरा र घरको बुहार्तनमा बित्छ”, कार्कीले भन्नुभयो, “त्यसैले स्वास्थ्य जाँच र उपचारको अवसरबाट बञ्चित हुने चुरेकाछ क्षेत्रमा शिविर राखिएको हो ।” 

 तामाङ, मगर, कामी, सार्की र दमाईंलगायत दलित समुदायको बाहुल्यताको रहेको यस क्षेत्रका महिलाले बढी गर्भधारण गर्ने र बच्चा जन्माउने पाइएकाले यहाँका महिलामा आङ खस्ने र पाठेघरसम्बन्धी समस्या बढी हुने सम्भावना देखेपछि यहाँ शिविर राखिएको कार्कीको भनाइ छ ।

शिविरमा जाँचपछि चिकित्सकको सिफारिसअनुसार बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको छ । त्यसैगरी, रिङ लगाउने तथा शल्यक्रिया सुविधायुक्त अस्पतालमा एक साताभित्रै निःशुल्क उपलब्ध गराइने रेडक्रस उपशाखाले जनाएको छ ।

मुख्यतः महिलाका लागि पाठेघरको मुखको क्यान्सर जाँच, पिसाब चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने रोगको प्रतिरोधात्मक उपचार, पाठेघर जाँच, थर्मोकुलस सेवा, फिस्टुलाको शल्यक्रिया र भिडियो एक्स–रेसहितका जाँच सेवाका लागि महिला केन्द्रित शिविर आयोजना भएको सभापति कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा आँखा जाँच र उपचार सेवा पनि सञ्चालन गरिएको थियो ।

कामीडाँडा मावि परिसरमा सम्पन्न शिविरमा विद्यालयका तीन सय १० छात्रछात्राको आँखासहित विभिन्न जाँच  र चार सय १० सर्वसाधारणको आँखा जाँच र उपचार गरिएको आँखा विशेषज्ञ डा दीना ठाकुरले बताउनुभयो । जाँच गराएका छात्रछात्रामध्ये १२ जनालाई चस्मा उपलब्ध गराइएको छ । त्यसैगरी, आँखा जाँच गराएका सर्वसाधारणमध्ये २७ जनाको मोतिविन्दुको शल्यक्रिया गरिने डा ठाकुरले जानकारी दिनुभयो ।

 शिविरमा बाल स्वास्थ्य जाँच, आँखा जाँच तथा उपचार बालरोग विशेषज्ञ डा अनिल शाह र आँखा विशेषज्ञ डा दीना ठाकुर नेतृत्वको चिकित्सक टोलीले गरेको हो । महिलातर्फको जाँच र उपचार वरिष्ठ महिला विशेषज्ञ डा दीपक साह र डा कैलाश मण्डल, वरिष्ठ रेडियोलोजिस्ट डा अजय यादव र दक्ष स्वास्थ्यकर्मी (नर्स, अहेब)सहित १८ सदस्यीय चिकित्सक टोलीले गरेको रेडक्रस उपशाखाका सभापति कार्कीले जानकारी दिनुभयो ।

 शिविर सञ्चालनमा प्राविधिक सहयोग सामुदायिक सेवा प्रतिष्ठान भक्तपुर, आर्थिक सहयोग बर्दिबास नगरपालिका र अन्य व्यवस्थापकीय सहयोग बर्दिबास हेल्प फाउन्डेसन, रोटरी क्लब अफ बर्दिबास र कामीडाँडा मावि परिवारले गरेको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ ।

‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौँ – देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

“आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने देखिन्छ । तसर्थः तराईका भू–भागमा तातो हावा र लूबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ”, बुलेटिनमा उल्लेख छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लूचल्ने सम्भावना रहेको बताउनुभयो । “विगत दुई दिनदेखि तराईका अधिकांश भू–भागमा लू चलिरहेको छ । समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा तापक्रम ४० डिग्री नाघेर तातो हावा तथा लू चलेको छ । नेपालगञ्जलगायत क्षेत्रमा तापक्रम ४० डिग्री हाराहारी छ, यसले गर्मी बढेको छ”, उहाँले भन्नुभयो ।

लू चल्नका लागि लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापत्रम बढेमा लू चलेको मानिन्छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद् झाको भनाइ छ ।

साथै पहाडी भू–भागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रत्र ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।

तातो हावा तथा लूबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुःख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ, जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन पनि महाशाखाले सुझाएको छ ।

काठमाडौँमा अझै तीन दिन वर्षा नहुने

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ ।

मौसमविद् झाका अनुसार अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । तराई क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको छ ।

काठमाडौँमा अबको तीन दिनसम्म वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताउनुभयो । कर्णाली, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ ।

काठमाडौँमा शुक्रबार र आज न्यूनतम तापक्रम १७ डिग्री र अधिकतम तापक्रम समान ३२ डिग्री सेल्सियस रहेको छ ।

विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको राससमा सम्बन्धित जिल्लाबाट समाचार सम्प्रेषण भएका छन् । तराई मधेसमा ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भएको बताइएको छ ।

गगनलाई देउवाको जवाफ : एउटा व्यक्तिलाई गाली गरेर पार्टी ठूलो बन्दैन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताउनु भएको छ।

शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उहाँले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताउनु भएको हो ।

कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताउँदै देउवाले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको पनि बताउनु भयो ।

‘गाली गरेर कहाँ पार्टी बन्छ। लडाई गर्ने हो ? अफ्ठ्यारोमा गयो भने के गर्ने। अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ,’ सभापति देउवाले भन्नुभयो, ‘अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन। एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन। सबै एक भएर गए पार्टी बलियो हुन्छ।’

उहाँले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पार्नुभयो। पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने पनि उहाँले बताउनु भयो। 

‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ। सत्य कुरा हो। अहिले सबै ठाउँमा नेविसंघले जितेको छ,’ सभापति देउवाले भन्नुभयो, ‘यो पनि सत्य कुरा हो। सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ। अब यसलाई अघि बढाउनुछ।’

कपास विकास समिति खारेजीले किसान चिन्तित, खेती अन्योल

खजुरा – सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बाँकेको खजुरास्थित कपास विकास समिति खारेज गर्ने भएपछि बाँके र बर्दियाका किसान चिन्तित बनेका छन् । पहिलेदेखि नै कपास खेती गर्दै आएका र यस वर्ष पनि कपास खेती गर्ने योजना बनाएका उनाीहरु अन्योलमा परेका छन् ।

“गठनादेश २०३७ अनुसार केन्द्रीय रूपमा स्थापना भएको कपास विकास समिति सरकारको नीति तथा कार्यक्रम पूर्ण खारेजीमा राखिनु दुर्भाग्यपूर्ण छ”, खजुराका शतिश निरौलाले भन्नुभयो । समितिअन्तर्गत रहेका करोडौँ रुपैयाँका उपकरणलाई उपयोग गर्दै कपाससँगै धागो उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्न सकिने उहाँको भनाइ छ ।

केही वर्षदेखि कपास खेती गर्दै आउनुभएका राप्तीसोनारीका हरिराम थारूले कपास खेतीबाट पर्याप्त आम्दानी भएको बताउनुभयो । उहाँले यस वर्ष यहाँका अरू किसानले पनि कपास खेती गर्ने योजना बनाएको उल्लेख गर्दै समिति खारेजीले खेती गर्ने योजना अन्योलमा परेको बताउनुभयो ।

बाँकेको खजुरामा केन्द्रीय कार्यालय रहेको कपास विकास समितिले चालु आर्थिक वर्ष २०७९/८० मा रू तीन करोडको कपास बिक्री गरेको छ । यो कपास खेती गर्ने उपयुक्त समय भएकाले कपास खेती गर्नका लागि तीन सय किसान छनोट गरी आवश्यक बीउ र विषादी खरिद गरिएको समितिका अध्यक्ष हेमन्तराज काफ्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गोदामको सबै कपास बिक्री भयो, माग उस्तै छ । यहाँका किसानले कपास खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । माथि उठ्न खोजिरहेको कपासलाई खारेज गरिनु दुःखद् हो । रू १० करोड पुँजी पुगिसकेको थियो भने पछिल्ला दिनमा निरन्तर नाफामा गइरहेको थियो ।”

पछिल्लो समय कपासको माग बढे्काले मागअनुसार आपूर्ति गर्न नसकिरहेको समितिका अध्यक्ष काफ्लेले बताउनुभयो । चालु आर्थिक वर्षमा किसानबाट एक सय टन कपास खरिद गरेकामा सबै बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष काफ्लेले भन्नुभयो, “खजुरामा कपास रहेको जानकारी पाएपछि विराटनगरस्थित धागो उद्योगले मासिक १५ टनका दरले खरिद गर्दै आएको छ, अन्यलाई भने माग अनुसार कपास दिन सकिएको छैन ।”

लामो समयसम्म सुस्ताए पनि केही वर्षदेखि सक्रिय भएको कपास विकास समितिलाई सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत खारेज गरेपछि यहाँका स्थानीय र कर्मचारीहरू चिन्तित छन् । विसं २०७२ देखि समितिको गोदाममा रहेको कपास गत वर्ष सबै बिक्री गरिएको समितिले जनाएको छ ।

समितिको आन्तरिक स्रोत वार्षिक रू आठदेखि १० करोड रहेको र बिक्री वितरण पनि राम्रै हुन थालेको हालको अवस्थामा एकाएक समिति नै खारेजी हुनु दुःखद भएको अध्यक्ष काफ््लेको भनाइ छ । बीस वर्षपछि बर्दियाको खैरापुर क्षेत्रमा करिब २० बिघा जमिनमा कपास लगाउन किसान तयार भए पनि सरकारले गरेको निर्णयले समितिसँगै किसान पनि अन्योलमा परेका छन् ।

समितिमा २० जना कर्मचारीको दरबन्दी रहेकामा हाल तीनजना कार्यालय सहयोगीसहित आठजना कर्मचारी कार्यरत छन् ।समितिको नियमावली एक वर्षदेखि मन्त्रालयमै थन्किएको छ । करिब २० वर्षदेखि नयाँ दरबन्दी थप भएको छैन । किसानबाट एक सय टन कपास खरिद गर्दा त्यसलाई बजारमा लैजानका लागि तयार गर्दा करिब ३० टन मात्रै हुने समितिले जनाएको छ ।

समितिको केन्द्रीय कार्यालय रहेको स्थानमा नौ बिघा, बर्दियाको तारातालमा तीन बिघा, जमुनीमा पाँच दशमलव पाँच बिघा र दाङको टरिगाउँमा तीन बिघा गरी २० दशमलव पाँच बिघा जग्गा छ । लालपुर्जा नभए पनि बर्दियाको कुम्भरमा करिब नौ सय २५ बिघा जग्गा प्रयोग गर्दै आएको समितिले जनाएको छ ।

उक्त जग्गा अतिक्रमण भई त्यहाँ हाल बसोबास भइरहेको छ । समितिका अध्यक्ष काफ्लेले कुम्भरमा रहेको जग्गामध्ये बसोबास गरिरहेकालाई दिएर पनि कम्तीमा पाँच सय बिघा जमिनमा कपास खेती गर्न सकिने भन्दै एकाएक समिति खारेजीको निर्णयले सबै योजना अन्योलमा परेको बताउनुभयो । “समितिको सक्रियतामा कपास खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । सरकारले वार्षिक रू दुई करोड अनुदान दिँदै आएको छ”, उहाँले भन्नुभयो । समितिमा लामो समयदेखि थन्किएको कपास बिक्री भएको भन्दै हाल समिति नाफामा रहेको अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

केन्द्र सरकारले बजेटमार्फत समिति खारेजीको विषय लुम्बिनी प्रदेशसभाको बैठकमा उठाइएको छ । प्रदेशसभा सदस्य अम्बिका काफ्लेले त्यसबारे संसद्मा प्रश्न उठाएको भन्दै यस विषयमा छलफल गरिने बताउनुभयो ।

सरकारले बजेट वक्तव्यअनुसार कपास विकास समिति, अतिरिक्त हुलाक कार्यालय, महिला तथा बालबालिका विभाग, नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति, विभिन्न मेडिकल कलेज पूर्वाधार विकास समिति, विभिन्न ताल संरक्षण विकास समितिलाई खारेज गरिने छ ।

भारतबाट ‘एयर रुट’ प्राप्त हुन्छ भन्ने विश्वास छ –अर्थमन्त्री डा महत

इन्दौर (मध्यप्रदेश), २० जेठ (रासस) :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहन्छ । भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, मुख्यसचिव एवं सचिवहरूसहित उद्योगी, व्यवसायीहरूको सहभागिता छ । भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक सहकार्यका विविध विषयमा समझदारीसमेत भएको छ ।

सरकारले ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायतलाई मुख्य उपलब्धि मानेको छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणमा केन्द्रित रहेर भ्रमणदलमा सहभागी अर्थमन्त्री डा प्रकाशशरण महतसँग राष्ट्रिय समाचार समिति (रासस) का विशेष समाचारदाता रमेश लम्सालले भारतको इन्दौरमा गर्नुभएको कुराकानीको सम्पादित अंशः

–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण दलमा यहाँ पनि सहभागी हुनुहुन्छ । प्रधानमन्त्रीको यस भ्रमणलाई यसलाई कसरी लिनुभएको, हामी कति सफल रह्यौँ ?

भ्रमण अन्यन्तै सौहार्दपूर्ण र उपलब्धिमूलक रह्यो । नयाँदिल्ली र मध्यप्रदेशमा अत्यन्त ठूलो सौहार्दता र स्वागत भयो ।

–भ्रमणका क्रममा नेपालले उठाउँदै आएको ऊर्जा व्यापारका विषयमा प्रगति भएको देखिन्छ, यसलाई कसरी हेर्नुभएको छ ?

ऊर्जाका क्षेत्रमा महत्वपूर्ण समझदारी भएको छ । खासगरेर दीर्घकालमा १० हजार मेगावाटसम्म विद्युत् भारतले किन्ने समझादरी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले पनि संयुक्त पत्रकार सम्मेलनमा बोल्नुभएको छ । यसले नेपालको ऊर्जा विकास र समग्र अर्थतन्त्रलाई चलायमान गर्न ठूलो मद्दत गर्छ । भोलिका दिनमा व्यापार घाटा कम गर्न विद्युत् व्यापार कोशेढुङ्गा सावित हुनेछ । अहिले नेपालको जलविद्युत् क्षेत्रमा लगानी बढिरहेको छ, भारतले पनि दुई ठूला आयोजनामा लगानी गर्ने समझदारी भएको छ । फुकोट कर्णाली र तल्लो अरुणमा लगानी गर्ने निर्णय भएको छ ।

यसबाट विद्युत्को उत्पादन बढ्ने र सँगसँगै बजार पनि सुनिश्चित हुनेछ । भोलिका दिनमा विद्युत्को निर्यातबाट ठूलो विदेशी मुद्रा आर्जन गर्ने र व्यापार घाटा कम गर्ने ठूलो सम्भावना छ । सँगसँगै आन्तरिक खपत बढाएर, विद्युतीय सवारीसाधन, विद्युतीय चुलो उपयोग गरेर हरित अर्थतन्त्रलाई बढवा दिन र आयात प्रतिस्थापन गर्ने र विद्युत्को निर्यात बढाउने दुवैमार्फतबाट व्यापार घाटा कम गर्न ठूलो मद्दत हुन्छ । यस्तै बङ्गलादेशसँग पनि अहिले ५० मेगावाट निर्यात गर्ने सुरुआत भएको छ । त्यहाँ पनि विद्युत् व्यापारको ढोका खोलेको छ ।

–भ्रमणका क्रममा ‘केनेक्टिभिटी’का अन्य क्षेत्रमा पनि समझदारीमा पुगेका छौँ, यसबाट हामीले अपेक्षा गरेका विषय भारतका तर्फबाट सम्बोधन भयो भन्न सकिन्छ ?

एयर ‘कनेक्टिभिजी’मा हामीले स्पष्ट कुरा राखेका छौँ । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थलमा भारतबाट कनेक्टिभिटी बढोस् भनेका छौँ । गौतमबुद्ध विमानस्थलमा एयर रुटका कुरा भएको छ । लो अल्टिच्यूडमा उडान गर्ने साना विमानलाई आउन दिनेमा उहाँहरु सकारात्मक देखिनुभएको छ । हाइ अल्टिच्यूडको पनि रुट प्राप्त हुन्छ भन्ने हामीलाई विश्वास छ ।

–भारतीय पक्षको चासो के थियो ? एयर रुटका सम्बन्धमा किन सहमति भएन ?

यससम्बन्धमा निर्णयमा पुग्न सकिएन, तर लो अल्टिच्यूडमा उहाँहरु तयार भइसक्नुभएको छ, अन्ततः उहाँहरु हाइ अल्टिच्यूड पनि हुन्छ । एयर कनेक्टिभिटी समझदारी थप ठाउँबाट हुने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग सहज हुनेमा सहमति बन्छ । यसका आधार भ्रमणले तयार गरेको छ ।

–सरकारले राष्ट्रिय हितलाई ध्यानमा राखेर भारतसँग महत्वपूर्ण समझदारी गरिरहेको छ, तर काठमाडाँैले फरक दृष्टिकोणले हेरिरहेको देखिन्छ, यसलाई कसरी लिने ?

नकारात्मक कोणबाट हेर्ने प्रवृत्ति पनि छन् । तर हामीले कामबाट नै ती प्रवृत्तिलाई निरुत्साहित गर्न सक्छौँ । हरेक कुरालाई शङ्काको दृष्टिकोणबाट मात्रै हेर्नु उपयुक्त हुँदैन । खासगरी भारतसँगको सम्बन्धलाई लिएर बढी शङ्का गर्ने प्रचलन छ । तर नेपाल र हामीले राष्ट्रिय स्वार्थ र आवश्यकतालाई मध्यजनर राखेर जुनसुकै देशसँग सम्बन्ध राख्ने हो । भारतसँगको सवालमा पनि नेपालको आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर सम्बन्ध विकास गर्ने हो । त्यहीअनुसार भएको छ । हरेक विषयलाई शङ्काको कोणबाट मात्र हेर्न हुँदैन । सीमामा देखिएको समस्याका विषयमा पनि प्रधानमन्त्री मोदी स्वयंले संयुक्त पत्रकार सम्मेलनमा स्पष्ट ढङ्गबाट समाधान गर्छौँ भन्नुभएको छ । त्यसले पनि थप विश्वास पैदा भएको छ ।

–हामीले अपेक्षा गरेका आधारमा भ्रमण सफल रह्यो भन्ने हो ?

भ्रमण एकदमै सफल र उपलब्धिमूलक रह्यो ।

–यहाँले भर्खंरै बजेट प्रस्तुत गर्नुभएको छ, बजेटमाथि अनेकखालका टिप्पणी भइरहेका छन्, यसलाई कसरी लिनुभएको छ ?

बजेटका सम्बन्धमा हरेक खालका टिप्पणी हुने गर्छ । शेयर मार्केटमा के गर्यो भन्ने आइरहेको छ । त्यसमा हामीले सेयरमा लागनीकर्तालाई फेरि आयकरमा कर लगाउने भनेको छैन । शेयर कारोबारलाई नै व्यवसाय बनाउनेका लागि ‘रिपोर्ट’ गर्नुहोस्, त्यसमा अझ छुट हुन्छ भनेका हौँ । शेयर बजारमा लगानी गरौँ, आम्दानी होला भनेर लगानी गर्नुभएको कसैलाई पनि आयकरको दायरामा ल्याइएको छैन भन्ने भ्रम हो ।

अन्य करका दर पनि हामीले व्यापारिक घरानालाई फाइदा दिने, कसैलाई बेफाइदा गर्नेभन्दा पनि समग्र अर्थतन्त्रलाई चलायमान गराउने गरेर मात्रै तय गरेका हौँ । विद्युतीय सवारीमा कम क्षमता भएकालाई एउटा, बढी क्षमता भएकालाई अलिकति बढी, अझ बढी क्षमता भएकालाई झन् बढी त्यसरी गरेका छौँ, कसैलाई पनि अप्ठ्यारो पार्ने गरेर र विद्युतीय सवारीसाधनलाई निरुत्साहित गर्ने गरी केही भएको छैन ।

महानगरको पहिलो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु हो : सुनिता डंगोल

काठमाडौं – काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताउनुभएको छ।

शनिबार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

कार्यवाहक प्रमुख डंगोलले नगरवासीलाई रोग लागेपछिको उपचारभन्दा पनि रोग लाग्न नै नदिने उपायहरुको बारेमा महानगरले काम गरिरहेको बताउनुभयो । उहाँले देश विकासका लागि जनप्रतिनिधिहरुको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले धेरैजना जनप्रतिनिधिहरु प्रेसर र मधुमेहको रोगी रहेको भन्दै यस कार्यक्रमले धरै सहयोग पुग्ने बताउनु भयो ।

‘धेरैजना प्रतिनिधिहरु प्रेसरको पेसेन्ट हुनुहुन्छ। धेरैजना प्रतिनिधिज्युहरु औषधि खानुहुन्छ, डायबिटिजको औषधि खानुहुन्छ। त्यो लाइफस्टाइलसँग जोडेर यो तालिम दिनसके जब जनप्रतिनिधिहरु स्वस्थ हुनुहुन्छ। तब समाजमा अझ धेरै काम गर्न सकिन्छ।’ कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘जनप्रतिनिधिको भुमिका र त्यो काम कारबाहीमा एकदमै एपिसिएन्ट रुपमा काम गर्न सकिन्छ। किनभने हामी सबैलाई थाहा छ, स्वास्थ्य रहे हामी सबै छौँ, स्वास्थ्य नरहे केही पनि छैन, जतिसुकै काम गर्छु भन्ने इच्छाशक्ति भएर मात्रै पनि पुग्दैन। त्यसैले पनि यो कार्यक्रम जनप्रतिनिधिका लागि नै गरिएको हो ।’

कार्यवाहक प्रमुख डंगोलले जनप्रतिनिधिहरुको जीवनशैलीसँग जोडेर यस किसिमको स्वास्थ्य केन्द्रित तालिमहरु दिनसके त्यसले धेरै फाइदा पुग्ने बताउनुभयो। उहाँले मानिस स्वास्थ्य रहेमात्रै सबैखाले काम गर्न सकिने र इच्छाशक्तिले मात्रै काम गर्न नसकिने जिकिर गर्नुभयो । उहाँले स्वास्थ्यसम्बन्धित तालिमबाट जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रका बासिन्दाहलाई सचेत बनाउन सक्ने बताउनुभयो । आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र मधुमेह नियन्त्रणका लागि कार्यक्रम ल्याउन सहयोग पुग्ने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘आजको यो तालिम र अभिमुखीकरण कार्यक्रमबाट आफ्नो जीवनशैली सुधार्न पनि केही न केही कुरा लिएर जानुहुनेछ। आफ्नो मात्रै नभइ आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र घर घरको रोग मधुमेहलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा पनि यहाँहरुले वडामा जनचेतनामुलक काम गर्दा स्वास्थ्य र घरसँग जोडिएको कार्यक्रम वडामा लैजान सहज हुनेछ । त्यसैले पनि हामी रोग लाग्न नै नदिनेतर्फ जान सक्छौँ । रोग लाग्न नै नदिनु पहिलो हाम्रो प्राथमिकता हो ।’

कार्यवाहक प्रमुख डंगोलले यस्ता कार्यक्रमहरुले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताउनु भयो।

गुल्मीका स्थानीय तहको घरभाडामा रू ३९ लाख खर्च

तम्घास – गुल्मीका स्थानीय सरकारले घरभाडामा वार्षिक रू ३९ लाखभन्दा बढी रकम खर्च गर्ने गरेको पाइएको छ । हालसम्म भाडामा बस्दै आएका जिल्लाका पाँच पालिकाले उक्त रकम घरभाडामा खर्च गरेका हुन् ।

स्थानीय तह स्थापना हुँदा सबै पालिका भाडाकै घरमा थिए । छ वर्षको अवधिमा केही पालिकाले प्रशासकीय भवन तयार गरे भने केहीले अस्थायी संरचना बनाएर कार्यसम्पादन सुरु गरेका छन् । जिल्लाका इस्मा, मुसिकोट, कालिगण्डकी, चन्द्रकोट र गुल्मीदरबार पालिकाले वार्षिक रू ३९ लाख चार हजार घरभाडामा खर्च हुने गरेको जिल्ला समन्वय प्रमुख दोर्णबहादुर खत्रीले बताउनुभयो ।

कालीगण्डकी गाउँपालिकाको कार्यालय स्थापना भएदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । अहिले कालीगण्डकीले घरभाडाबापत मासिक रू ६० हजारका दरले वार्षिक रू सात लाख २० हजार खर्चंदै आएको कार्यालयले जनाएको छ । गुल्मीदरबार गाउँपालिकाको कार्यालय पनि भाडाकै घरबाट सञ्चालन भइरहेको छ । गुल्मीदरबारले पनि मासिक रू ६० हजारका दरले वार्षिक रू सात लाख २० हजार घरभाडामा खर्चने गरेको पालिकाका सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिनुभयो ।

मुसिकोटले मासिक रू ६६ हजार चार सयका दरले वार्षिक रू सात लाख ९६ हजार आठ सय घरभाडामै खर्च हुने सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनुभयो । इस्मा गाउँपालिकामा स्थानीय सरकारको पहिलो कार्यकालको अन्तिममा पालिकाको केन्द्र वडा नं ५ रजस्थलको रातापोखरा हुने गरी टुङ्गो लागेर कार्यालय बने पनि सञ्चालन हुन सकेन । हाल रजस्थल दोबाटमा घर भाडामा लिएर मासिक रू ३३ हजार भाडा तिर्ने गरेको पालिका कार्यालयले जनाएको छ ।

चन्द्रकोट गाउँपालिकाको कार्यालय चन्द्रकोट बहुमुखी क्याम्पसबाट सञ्चालन गरिएको छ । स्थापनाको समयमा निजी घरमा भाडा लिएर कार्यालय सञ्चालन गरेको चन्द्रकोटले केही समयपछि क्याम्पसमा कार्यालय सारेको थियो । अहिले चन्द्रकोटको मासिक रू एक लाख छ हजारका दरले वार्षिक रू १२ लाख ७२ हजार रकम घरभाडामा खर्च हुने सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिनुभयो । गत वैशाखसम्म मासिक रू ९७ हजार भाडा रहेकामा अहिले भाडा वृद्धि गरिएको उहाँले बताउनुभयो ।

मुसीकोट नगरपालिकामा नयाँ बन्दै गरेको प्रशासकीय भवनको काम अन्तिम चरणमा पुगेको छ । चन्द्रकोट गाउँपालिकाका–४ शान्तिपुरमा पालिकाको भवन बन्दैछ । जिल्ला समन्वय प्रमुख दोर्णबहादुर खत्रीले आगामी चार वर्षमा सबै पालिकाका भवन बनाउने गरी समन्वय भइरहेको बताउनुभयो । “कतिपय पालिकाका भवन निर्माणाधीन छन्, कतिपयको जग्गाको अन्तिम टुङ्गो लागेको छ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधिको यो कार्यकालभरि सबै पालिकाका भवन बनिसक्नेछन् ।”

वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय रू २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ ।

आर्थिक विधेयकमा भएका व्यवस्थाबारे आन्तरिक राजस्व विभागले शुक्रबार थप स्पष्ट पार्दै आगामी आर्थिक वर्षमा तिर्नुपर्ने आयकरसम्बन्धी विवरण सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाले रू २० लाखभन्दा बढीको वार्षिक करयोग्य आम्दानी भएका व्यक्तिका लागि आयकरको दर परिमार्जन गरेको छ । रू २० लाखभन्दा माथि रू ५० लाखसम्मको करयोग्य आयमा ३६ प्रतिशत आयकर लाग्नेछ । त्यस्तै रू ५० लाखभन्दा माथिको जुनसुकै करयोग्य आयमा ३९ प्रतिशत कर लाग्नेछ । वार्षिक रू २० लाखभन्दा कम करयोग्य आय भएका व्यक्तिका लागि भने करका दर यथावत राखिएका छन् ।

हाल एकल व्यक्तिले रू पाँच लाखसम्म र दम्पतीको हकमा रू छ लाखसम्मको करयोग्य आयमा एक प्रतिशत आयकर तिर्नुपर्छ । तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरणबापतको आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा भने एक प्रतिशत कर आयकर नलाग्ने व्यवस्था रहेको छ ।

एकल व्यक्तिले रू पाँच देखि रू सात लाखसम्म र दम्पत्तिको हकमा रू छ लाखदेखि रू आठ लाखसम्मको करयोग्य आयमा १० प्रतिशत आयकर तिर्नुपर्छ । एकल व्यक्तिको हकमा रू सात लाखभन्दा बढी र रू १० लाख सम्म तथा दम्पतीको हकमा रू आठ लाखदेखि रू ११ लाखसम्मको आयमा २० प्रतिशत आयकर तिर्नुपर्छ । एकल व्यक्तिको हकमा रू दश लाख देखि रू २० लाख र दम्पत्तिको हकमा रू ११ लाखदेखि रू २० लाखसम्मको आयमा ३० प्रतिशत आयकर लाग्ने व्यवस्था रहेको छ ।

वार्षिक करयोग्य आय गणना गर्दा विभिन्न शीर्षकको रकम गणना गर्नु नपाउने अर्थात् छुटको व्यवस्था पनि आर्थिक विधेयकमा राखिएको छ । प्राकृतिक व्यक्तिको आयमा समावेश नहुने रकम वा खर्चमा छुट हुने रकम पनिको सीमा सरकारले तोकिदिएको छ ।

कुनै व्यक्तिले अवकाश कोषमा योगदान गर्दा वार्षिक रू तीन लाख वा निजको निर्धारणयोग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकममा आफ्नो करयोग्य आयबाट घटाउन सकिने व्यवस्था रहेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्दा भने रू पाँच लाख वा निजको निर्धारणयोग्य आयको एक तिहाइमा जुन कम हुन्छ, सो रकमसम्मको आफ्नो करयोग्य आयबाटबाट घटाउन सक्ने व्यवस्था छ ।

दुर्गमभत्ता सुविधा पनि करयोग्य आयबाट घटाउन मिल्छ । त्यस्तै नेपालका विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई प्राप्त हुने वैदेशिक भत्ताको ७५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन सकिने राजस्व विभागले जनाएको छ ।

निवृत्तिभरणबाट भएको आयमा व्यक्तिले पाउने छुट सीमामा २५ प्रतिशत घटाउन पाइनेछ । त्यस्तै, अपाङ्ग व्यक्तिले आफ्नो करयोग्य आयमा थप ५० प्रतिशत रकम घटाउन पाउनेछन् । बीमाबापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा रू ४० हजारमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाइन्छ । स्वास्थ्य बीमावापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा रू पाँच हजारमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाइन्छ ।

व्यक्तिले आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमावापत तिरेको वार्षिक प्रिमियम वा रू पाँच हजारसम्मको रकममा जुट घटी हुन्छ त्यस्तो रकम पनि करयोग्य आयबाट घटाउन पाइन्छ । औषधि उपचार खर्चबापत बिलबमोजिमको वास्तविक खर्च रकमको १५ प्रतिशत वा रू सात सय ५० मा जुन घटी हुन्छ, उक्त रकम पनि कर मिलान गर्न सकिने व्यवस्था रहेको छ ।

गुडिरहेको गाडीबाट खस्दा एक महिलाको मृत्यु

भक्तपुर – गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको उहाँले बताउनुभयो । गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाद्वारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।

गाडी चालक काभ्रे भुम्लु गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुर पहरीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ : प्रधामन्त्री दाहाल

इन्दौर – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहन्छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् । ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत रहेका छन् । दुवै देशका प्रधानमन्त्रीबाट समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको छ । भारत भ्रमणमा केन्द्रित रहेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय समाचार समिति (रासस) का विशेष समाचारदाता रमेश लम्सालले भारतको इन्दौरमा गर्नुभएको कुराकानीको सम्पादित अंश :

–प्रधानमन्त्रीज्यू, यहाँको चौथो भारत भ्रमणलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

यो भ्रमण पहिलेका तुलनामा बढी फलदायी, दूरगामी प्रभाव पार्ने, नेपालको राष्ट्रिय हितमा केन्द्रित रह्यो । मुख्यतः आर्थिक क्रियाकलापमा सकारात्मक सन्देश दिने सफल भ्रमणका रुपमा मैले महसुस गरेको छु ।

–भ्रमण सफलताका आधारहरु के के हुन् ?

पहिलो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मेरा बीचमा खुलेर जसरी कुरा भयो, एउटा विश्वासको राम्रो वातावरण बन्यो । त्यो स्तरमा विगतमा खुलेर कुराकानी त्यति हुने गर्दैनथ्यो । यो हिसाबले पनि यसलाई मैले भिन्न र मौलिक ठानेको छु । तीन पटक नै ‘वान टु वान’ वार्ता भएको त होइन, ‘वान टु वान’ त एक पटक नै हो । अरु कार्यक्रममा जाने क्रममा पाँच/सात मिनेट हामी दुई जना मात्रै बसेर कुरा गर्ने अवसर भयो । त्यसअर्थमा पनि हरेक पटक अलि खुलेर विश्वासको वातावरण बनाउने र केही परिणाम निस्कने किसिमले जानुपर्छ भन्ने बन्यो ।

दोस्रो, हामीकहाँ समस्या भनेर भन्ने गरिरखेका थियौँ, नेपाली जनताको मनमा पनि त्यो कुरा गहिरोसँग थियो । सीमा समस्या हल हुन्छ कि हुँदैन, के होला भन्ने प्रश्न थियो, छ पनि, त्यसमा यसपटकको नयाँपन के देखियो भने सिमानाको समस्या सदाका निम्ति हल गर्नुपर्छ, भन्ने कुरा भयो । प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा मैलेभन्दा पनि पहिले सिमानाका समस्या समाधान गर्नुपर्छ भनेर बोल्नुभयो । नेपाल–भारत सम्बन्धलाई हिमालयको उचाइसम्म पु¥याउनुपर्छ भन्ने जसरी राखियो, त्यसले नयाँ सन्देश दिएको छ ।

–भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई ‘सुपरहिट’ बनाउने र हिमालजस्तै उचाइ दिने भन्नुभएको छ, यसको अर्थ के हुन सक्छ ?

उहाँ पहिलो पटक सन् २०१४ मा नेपाल भ्रमणका क्रममा सदनमा बोल्दा ‘हिट’को अर्थ लगाएर नेपाल–भारत सम्बन्धको चर्चा गर्नुभएको थियो । बीचमा जुन ‘गति’मा जानुपथ्र्यो, गएन । अब त्यसलाई ‘सुपरहिट’ बनाउनुपर्छ भनेर उहाँले त्यतिबेलाको आफ्नो सफल भ्रमणलाई जोडेर भन्नुभएको मैले महसुस गरेको छु । नेपाल–भारत सम्बन्धलाई धेरै नै माथि लानुपर्छ भनेर भन्ने नै त्यसको अर्थ हो । यो दुई शब्दको प्रयोगबाट भारतीय प्रधानमन्त्री निकै विश्वासको साथमा अब नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा रहेको मैले ठानेको छु ।

सिमानाका समस्या समाधान गर्नुपर्छ, यसलाई अड्काइराख्नु हुँदैन भन्नेमा दुवै देश एउटास्तरमा आइपुग्नु नै ठूलो कुरा लाग्छ । प्रधानमन्त्री मोदी र मेराबीचमा कुरा हुँदा भारत र बङ्गलादेशले सीमा समस्या हल गरेको चर्चा हामीले गरेकै हो । स्वयं प्रधानमन्त्री मोदीले लामो समयको मेहनत र गृहकार्यपछि त्यो सफलता प्राप्त भएको हो भनेर बताउनुभयो । नेपाल–भारतबीचको सीमा समस्यालाई राखिराख्न हुँदैन, यसलाई समाधान गर्नुपर्छ । बङ्गलादेश मोडल पनि एउटा अवसर हुनसक्छ, अर्को पनि हुन सक्छ । नेपालले इतिहासको तथ्यतथ्याङ्कका आधारमा आफ्नो भनेको भूमिलाई भारतले छाड्दा पनि समाधान भई नै हाल्छ । अर्को कुरा धेरै ठाउँमा अप्ठ्यारो प¥यो भने सट्टपट्टा गर्ने चलन पनि छ । तर अहिले नै यी विकल्पबारे हामी औपचारिक ढङ्गले प्रवेश गरेका छैनौँ । नेपालमा पनि केही सीमासम्बन्धी जानकारले बङ्गलादेश जाने बाटो हामीलाई दिने हो भने समस्या समाधान भइहाल्छ भनेर ल्याउने गर्नुभएको छ । तर यी विकल्प अहिले भारत सरकारसँग औपचारिकरुपले प्रवेश गरेको विषय होइनन् । जे भए पनि सिमानाका समस्या अब हल गर्नुपर्छ भन्ने प्रतिबद्धताको तह अहिले नेपाल–भारतको अर्को उचाइमा पुगेको छ । यो सत्य हो ।

–भारतसँगको विद्युत् व्यापारमा केही महत्वपूर्ण निर्णय भएका छन्, १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरेर बिक्री गर्ने अवस्था सिर्जना भएको हो ?

नेपालमा लामो समयदेखि बिजुली उत्पादन गर्ने तर बजारको सुनिश्चित नहुँदा उत्पादन मात्रै गरेर के हुन्छ भन्ने प्रश्न लगानीकर्ता र नेपाली विज्ञको मनमा रहँदै आएको प्रश्न हो । भारतसँग दीर्घकालीन व्यापार सम्झौता होस् भन्ने नेपालको चाहना हो । यसपटक त्यो विषयमा सम्झौता सम्पन्न भयो । १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने स्वयं भारतीय प्रधानमन्त्री मोदीले आफैँले प्रष्ट भाषामा भन्नुभयो । त्यसको औपचारिकता करिबकरिब केही दिनभित्र सबै टुङ्गिन्छ । यो ठूलो उपलब्धि हो ।

बजारको सुनिश्चिताको अभावले लगानीकर्तालाई लगानी गर्न जुन समस्या हुन्थ्यो, त्यो अब रहेन । अब हामीले छिटोछिटो उत्पादन गर्ने दिशातर्फ जान सकिन्छ भन्ने मलाई लाग्छ । जे भए पनि यो समझदारी नेपालको राष्ट्रिय हित र दीर्घकालीन हितका निम्ति धेरै नै महत्वपूर्ण सहमति हो । यसले नेपालको अर्थतन्त्रलाई नयाँ गति दिन्छ भन्ने मेरो विश्वास हो । पश्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने, एक वर्षमा मोडालिटी निर्माण गर्ने भनेर भनिएको छ, त्यसलाई संयुक्तरुपले घोषणा गरिएको छ । २६ वर्षदेखि रोकिएको कामलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रिया सुरु भएको छ । यो नेपालका लागि खुसीको कुरा हो । नेपाल, भारत र बङ्गलादेशका बीचमा विद्युत् व्यापारका सम्बन्धमा जे सहमति बन्यो । भारत र बङ्गलादेश, नेपाल र बङ्गलादेश, नेपाल र भारतबीच सबैका बीचमा सहमति भइसकेको छ । यो पनि नेपालको विद्युत् व्यापारका क्षेत्रमा यसले धेरै महत्वपूर्ण भूमिका खेल्छ । यो नेपालको राष्ट्रिय हितमा भएको अर्को महत्वपूर्ण उपलब्धि हो ।

–१० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने घोषणा केबल घोषणामै सीमित हुने हो कि भन्ने आशङ्का उब्जेको छ, यो कसरी अगाडि बढ्छ ?

यसमा कसैले पनि आशङ्का गर्नु कुनै ठाउँ छैन । दुईवटा प्रधानमन्त्रीले औपचारिक वार्तापछि आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएको हो । भारतले केही प्राविधिक कारणबाट ‘क्याबिनेट’ बैठक बस्न बाँकी हो भनेर हामीलाई विश्वास दिलाएको छ । प्रधानमन्त्री मोदीजस्तो शक्तिशाली नेताले घोषणा गरेको कुरामा शङ्का गर्नु हाम्रै कमिकमजोरी हो जस्तो हुन्छ । शङ्का गर्ने कुनै ठाउँ छैन, यो अगाडि बढ्छ ।

–हवाई प्रवेश बिन्दुको विषय नेपालले उठाएको थियो, यस सन्दर्भमा के कुराकानी भयो ?

एयर रुटका विषय नेपालले धेरै पहिलेदेखि उठाउँदै आएको विषय हो । यसपटक पनि मैले धेरै तयारीका सन्दर्भमा पनि सम्बन्धित मन्त्रालय र अधिकारीलाई यस विषयमा छलफल गर्न पहिले पनि दिल्ली पनि पठाएको हो । कुराकानी पनि भएको हो । सिमराबाहेक हामीलाई सिधैँ अन्तर्राष्ट्रिय एयर रुटका रुपमा कम्तीमा एउटा रुट दिन भनेको हो । त्यहीस्तरमा त यो पुगेन अहिले, तर कम ‘अल्टिच्यूड’का जहाज भारतका विभिन्न सहर र नेपालगञ्ज जोड्ने भन्ने भएको छ, यो प्रारम्भिक राम्रो सङ्केत चै हो । हामीले खोजेको जस्तो त होइन । प्रधानमन्त्री मोदीसँग कुरा हुँदा पनि मैले भनेको छु, कम ‘अल्टिच्यूड’बाट जहाज उड्न दिने सहमतिले एउटा सङ्केत त गरेको छ, नेपालको आवश्यकता र चाहनलाई सम्बोधन गरेको छैन, हामी के आशा गर्छौँ भने छिट्टै फेरि ‘हाइअल्च्यिूड’ जहाज पनि आउने गरी महेन्द्रनगर वा नेपालगञ्ज जता भए पनि एउटा एयर रुट प्राप्त हुने विश्वास गर्छौँ भनेका छौँ । मसँगको कुराकानीमा भारत सकारात्मक भएको पाएको छु । जे भए पनि एयर रुटको विषय जुन स्तरमा छलफल भयो र प्रारम्भिकरुपमा जुन सहमति भएको छ, नेपालका लागि महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ ।

–भारतको सबैभन्दा सफा सहर इन्दौरको भ्रमण गर्नुभयो, यहाँको फोहर व्यवस्थापनसम्बन्धी अभ्यासका बारेमा पनि जानकारी लिनुभयो । नेपालमा फोहर व्यवस्थापन चुनौतीका रुपमा हेरिएको छ । यसबाट केही सिक्न सकिन्छ ?

इन्दौर भारतकै प्रमुख सफा सहरमा दर्ज भएको छ । इन्दौरबाट केही सिक्न सकिन्छ हेरौँ भन्ने उद्देश्यबाट पुगिएको हो । हिजो हामीले त्यसको अवलोकन पनि ग¥र्यौँ । प्रस्तुति पनि हेरियो । यसबाट हामीले पाठ सिक्ने कुरा छन् । मैले के महसुस गरेँ भने सबैभन्दा ठूलो कुरा सरकारको प्रतिबद्धता हो । सरकार कति दृढ इच्छाशक्तिका साथ अगाडि जान चाहन्छ भन्ने महत्वपूर्ण देखेँ । मध्यप्रदेश सरकार र इन्दौर नगरपालिकाको जुन पहलकदमी र प्रतिबद्धता देखेँ, यो धेरै ठूलो हो । सफा सहर बनाउन हर व्यक्तिले मेहनत गर्नुपर्छ भन्ने मनोभावना र चेतना पैदा गर्ने कुरा महत्वपूर्ण रहेछ । हाम्रा सन्दर्भमा आमजनतामा चेतना ल्याउनुपर्छ भन्नेमा पनि यो सम्बन्धित छ ।

–भारत भ्रमणबाट प्राप्त उपलब्धिका बारेमा नेपाली जनतालाई भन्न बाँकी केही छन् ?

यसपटकको भारत भ्रमणको दीर्घकालीन र रणनीतिक अर्थ र महत्व रहेको मैले मसहुस गरेको छु, कताकता नेपालमा हरेक कुरालाई नकारात्मक र शङ्काका नजरले हेर्ने भएका छौँ । तर मलाई लाग्छ, यसपटक अलिकति सकारात्मक ढङ्गले सोच्ने, विषयलाई आवश्यकताभन्दा बढी राजनीतिकरण नगरी विकास, समृद्धि र आर्थिक क्रियाकलापलाई गति दिने कुरामा केन्द्रित हुन आवश्यक छ । त्यसअर्थमा यस भ्रमण ऐतिहासिक नै भएको छ ।

मन्त्रालयको काम नीति निर्माण गर्ने हो, ठेक्कापट्टा गर्ने होइन : मन्त्री जोशी

चितवन – बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मन्त्रालयको काम नीति बनाउने भएकाले ठेक्कापट्टाका विषयमा ध्यान नदिने बताउनुभएको छ । ज्येष्ठ नागरिक सङ्घ चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले ठेक्कापट्टाको काम आफू नेतृत्वको मन्त्रालयले नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रालयको काम भनेको नीति, नियम र कानुन बनाउने हो । ठेक्कापट्टा गर्ने होईन ।” आफूले अहिले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधारका लागि नीतिगत कम गरिरहेको उहाँको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारसँगै सेवामा समेत सुधार आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रदेश स्वास्थ्य मन्त्रालयले नीतिगत सुधारकै क्रममा असहाय तथा विपन्न नागरिकका लागि अस्पताललाई १० प्रतिशत निःशुल्क श्यया उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशका १३ जिल्लाका अस्पतालका लागि निर्देशन गरिएको छ । यो कार्यान्वयनमा आउँछ ।” कार्यान्वयन नगर्ने अस्पताललाई कारबाही गरिने उहाँले जानकारी दिनुभयो ।

प्रचलित मापदण्डबमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कूल श्ययाको १० प्रतिशत श्यया छुटाई निःशुल्क उपचार अनिवार्यरुपमा गराउन लागिपरेको उहाँले बताउनुभयो ।

प्रदेश सरकार जनताका पक्षमा छ भन्ने आभास हुने गरी काम गर्न लागिएको बताउँदै उहाँले सरकार हरेक नागरिकका पक्षमा रहने बताउनुभयो । ज्येष्ठ नागरिकप्रति सरकार सधैँ सकारात्मक भएको भन्दै उहाँले ज्येष्ठ नागरिकबाट अहिले पुस्तान्तरणका कार्य हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तान्तरणले हाम्रो धर्म संस्कृति संरक्षण गर्ने भएकाले यसको पक्षमा सरकार हुनेछ ।”

कार्यक्रममा भूमि आयोग चितवनका अध्यक्ष बद्रीप्रसाद तिमिल्सिना, राम जानकी आश्रमका महासचिव रामेश्वर खनाल, सङ्घका अध्यक्ष केदारनाथ तिमिल्सिना र उपाध्यक्ष माधव घिमिरेले ज्येष्ठ नागरिकका समस्याका बारेमा बोल्नुभएको थियो ।

ग्रान्डी अस्पतालद्वारा सात हजार बिरामीलाई आइसियु सेवा

काठमाडौँ – ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले १० वर्षको अवधिमा सात हजार एक सय ५६ बिरामीलाई आइसियु (सघन उपचार कक्ष) मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ ।

सन् २०१३ जुनदेखि बिरामीलाई आइसियु सेवा प्रदान गरेको ग्रान्डीले १० वर्षको अवधिमा सात हजार एक सय ५६ बिरामीलाई आइसियु सेवा प्रदान गरेको हो । आइसियु सेवा प्रदान गरेको १० पूरा भएको अवसरमा शुक्रबार साँझ आयोजित कार्यक्रममा अस्पतालका आइसियु शाखाप्रमुख डा सुवास आचार्यले ग्रान्डीले आइसियु सेवा प्रदान गरिएका बिरामीमध्ये ६ हजार एक सय १४ बिरामीलाई बचाउन सफल भइएको बताउनुभयो । आइसियुमा भर्ना हुने बिरामीमध्ये ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला रहेका छन् ।

ग्रान्डीले कोरोना महामारीको समयमा सात सय ४३ बिरामीलाई आइसियुमार्फत सेवा प्रदान गरेको थियो । जसमध्ये ८० प्रतिशत बिरामीलाई बचाउन सफल भएको डा आचार्यले बताउनुभयो । ग्रान्डीले गत वर्षबाट चिकित्सा शिक्षा आयोगबाट ग्रान्डीले आइसियु फेलोसिप प्रदान गर्दै आएको छ ।

कार्यक्रममा अस्पतालका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले नेपालमै अन्तरराष्ट्रिय स्तरको विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ग्रान्डी स्थापना गरिएको बताउनुभयो । उहाँले सबैको साथ, सहयोग र समर्थनका कारण ग्रान्डीले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो ।

“नाफा कमाउनभन्दा सेवा प्रदान गर्ने उद्देश्यका साथ हामीले अस्पताल सञ्चालनमा ल्याएका हौँ, सामूहिकरूपमा काम गरेमा हामी सफल हुन्छौँ, ग्रान्डीलाई सफल बनाउने जिम्मा अस्पतालका डाक्टर, नर्स र कर्मचारीको हो”, अध्यक्ष कुँवरले भन्नुभयो ।

निजी क्षेत्रको लगानीमा विसं २०६९ पुस १९ मा स्थापना भएको ग्रान्डीले विभिन्न ३० भन्दा बढी विधामा बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद बिजुक्छेले जानकारी दिनुभयो । ग्रान्डीले ३० शय्यामार्फत बिरामीलाई आइसियु सेवा प्रदान गर्दै आइरहेको छ ।

एनआरएनएमा  ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार

काठमाडौँ – गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र बहालवाला महासचिव गौरीराज जोशीबीच भेटवार्ता भएको छ ।

अमेरिका भ्रमणमा रहनुभएका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो। भेटमा सङ्घलाई अब एक ढिक्का बनाउने विषयमा कुराकानी भएको छ ।

१० औँ महाधिवेशनका बेला विवाद भएपछि घलेले कोरियाका विनोद कुँवरको नेतृत्वमा छुट्टै  ‘एनआरएनए’ को घोषणा गर्नुभएको थियो । त्यसयता उहाँको संस्थापन पक्षसँग सम्बन्ध ‘चिसिए’को थियो । घलेले केही दिनअघि मात्र क्यानडामा आफ्नो पक्षको सम्मेलन गर्नुभएको थियो । टोरोन्टोमा दुई दिने सम्मेलन सकाएर उहाँ अमेरिकी भ्रमणमा निस्कनुभएको हो ।

भेटमा महासचिव जोशीले विगतका तिता–मीठा कुरालाई बिर्सिएर अब एकताको विकल्प नरहेको बताउँदै यसका लागि सकारात्मक भूमिका निर्वाह गर्न घलेलाई आग्रह गर्नुभएको थियो। जवाफमा घलेले आफू एकता विरोधी नभएको बताउँदै सङ्घलाई एक ढिक्का बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।घलेले आगामी महाधिवेशनको विषयमा पनि महासचिव जोशीसँग चासो राख्नुभएको थियो। घलेले सबै पञ्जीकृत सदस्यलाई मतदानको अधिकार दिनुपर्ने अडान राख्नुभएको थियो । सम्मेलन प्रत्यक्ष र अनलाइन दुवै माध्यमबाट हुनुभएपछि सबै सदस्यलाई भोट हाल्ने व्यवस्था मिलाउन उहाँले जोड दिनुभएको थियो। 

घलेले विगतको अधिवेशनको कुरा उठाउँदै त्यस बेला आफूले पाएको जिम्मेवारी पूरा मात्र गरेको बताउँदै सङ्घ फुटाउन आफूमाथि लागेको आरोपको बचाउ गर्नुभएको थियो । उहाँले विधान विपरीत जाने छुट कसैलाई नभएको बताउनुभयो 

आगामी महाधिवेशन एकताको महाधिवेशन गर्नुपर्ने जोशीको आग्रहमा घलेले आफूले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा खनाल

काठमाडौँ – नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा लिलाराज खनाल निर्वाचित हुनुभएको छ । युनियनको शुक्रबार राति सम्पन्न प्रथम अधिवेशनबाटखनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

युनियनको उपाध्यक्षमा पुष्कर बुढाथोकी, समावेशी उपाध्यक्षमा नीरज तामाङ, महिला उपाध्यक्षमा सीता न्यौपाने, महासचिवमा साइँला तामाङ, सचिवमा अमृत पौडेल, केशव ढुङ्गाना र विष्णु पन्थी, कोषाध्यक्षमा शङ्कर अर्याल र सहकोषाध्यक्षमा पुनिता झा सर्वसम्मत निर्वाचित हुनुभएको युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो ।

सदस्यमा कुवेर गिरी, सम्वेग बस्नेत, दीपेन्द्र अधिकारी, रामहरि पराजुली, सुन्दर पाण्डे, कुमार भण्डारी, सीता शर्मा, सुशीला सिग्देल, मुक्तिनाथ आचार्य, तुलसीराम भण्डारी, नवराज कार्की, दीपक घिमिरे र रमा भुर्तेल निर्वाचित हुनुभएको छ ।

यस्तै, लेखा समितिको संयोजकमा नारायण अधिकारी, सदस्यमा भावना हमाल र लक्ष्मी गौतम निर्वाचित हुनुभएको महासचिव पौडेलले जानकारी दिनुभयो । उपत्यका प्रदेश प्रतिष्ठानको अधिवेशन सकिएसँगै सबै प्रदेशमा युनियनको संरचनाले पूर्णता पाएको छ ।

प्रेस युनियनमा उपत्यका तथा प्रतिष्ठान प्रदेशसहित राज्यका सात प्रदेश गरी आठ प्रदेशको व्यवस्था गरिएको थियो । उपत्यका तथा प्रतिष्ठान प्रदेशअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला शाखा, साँघु उपशाखा र अन्य आठ सञ्चारमाध्यममा गठित प्रतिष्ठान शाखा गरी कूल १२ शाखा छन् ।

प्रेस युनियनको नयाँ केन्द्रीय समिति गठन भएपछि यसअघि सात प्रदेशमा र ३० जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन् । बाँकी जिल्लामा पनि यही जेठ महिनाभित्रमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो ।

रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैंक

त्रिवेणी – नवलपुरको कावासोतीमा रहेको सामुदायिक बीउ बैंकले रैथाने बालीको संरक्षण गर्दै आएको छ । रैथाने बाली क्रमशः लोप हुँदै जान थालेको अवस्थामा सामुदायिक बीउ बैंकले यसको संरक्षण गर्दै आएको हो ।

कावासोती–१४, त्रिभुवनटारमा रहेको बीउ बैंकमा हाल धानका मात्रै विभिन्न ४५ प्रजाति रहेको बीउ बैंकका अध्यक्ष पार्वती भण्डारीले बताउनुभयो । “धेरैजसो हाम्रै पुर्खाले लगाउने गरेको धान अहिले हराउँदै जान थालेका छन्, त्यस्ता प्रजाति लोप नहोस् भनेर बीउ उत्पादन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

कनक जिरा, बकुल्ले अनदी, मगर अनदी, थापा चिनी, आम ज्योति, पहेले धान, घिउपुरी, झिनुवा, आँप झोते, चमेली, मिठाइ, छ्याङा, कालो नुनिया, बासमती, दूधराज, वार, सावित्री लगायतका धानको बीउ बैंकमा संरक्षण गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

अन्नबालीसँगै लहरेबाली, कोसेबाली, तेलहन, दलहन बालीका विभिन्न प्रजातिका बीउ संरक्षण गरिएको र सिजनअनुसार किसानलाई बिक्री वितरण गर्ने गरिएको उहाँले बताउनुभयो । सामुदायिक बीउ बैंकमा ९५३ घरपरिवार आबद्ध छन् । उनीहरूले बीउ बैंकमा रहेका रैथाने प्रजातिका बीउ लिएर खेती गर्ने गरेका छन् । साथै स्थानीय प्रजातिको बीउ उत्पादनमा समेत सहयोग गर्दै आएका छन् ।

रैथाने बालीको खेती गर्दा धेरै विषादी प्रयोग गर्न नपर्ने, उत्पादन कम भए पनि मूल्य धेरै पाइने, यस्ता प्रजातिबाट पोषण धेरै प्राप्त हुने र प्रतिकूल वातावरणसमेत सहन सक्ने हुनाले अहिले क्रमशः किसान रैथाने प्रजातिका बालीतर्फ आकर्षण बढ्दो क्रममा रहेको बीउ बैंकका सचिव दानबहादुर महतोले बताउनुभयो ।

लीबर्डको सहयोगमा बीउ बैंक स्थापना गरिएकोमा हाल स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट समेत रैथाने बालीको संरक्षणमा सहयोग प्राप्त हुने गरेको उहाँले बताउनुभयो । सामुदायिक बीउ बैंकले जग्गा भाडामा लिएर आफैँ बीउको उत्पादन गर्दै आएको छ । धानको बीउ आफै उत्पादन गर्ने गरिएको भए पनि अन्य रैथाने प्रजातिका स्थानीय तरकारी, दलहन बालीको बीउ भने स्थानीय कृषकले उत्पादन गर्दै आएका छन् ।

बीउ बैंकबाट स्थानीय जातका बीउ लगेर उत्पादन गर्ने र उत्पादनपश्चात् धेरै भएको बीउ पुनः बीउ बैंकमा बिक्री गर्ने गरेका छन् । बीउ बैंकबाट किसानले सस्तोमा बीउ प्राप्त गर्छन् । धेरै उत्पादन भएमा बीउ बैंकले कृषकबाट बीउ खरिद गरिदिने हुनाले केही कृषकले बीउ बेचेर आम्दानीसमेत गर्ने गरेका छन् ।

रैथाने जात धान कनक जिरा, बकुल्ले अनदी, घिउपुरी, झिनुवा, आँप झोते लगायतका धानका बीउको माग धेरै हुने गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । सिजनअनुसारका अन्य बीउको समेत माग हुने गरेको उहाँले बताउनुभयो ।

बीउ बैंक स्थापना भएर स्थानीय रैथाने जातको बीउ संरक्षण र उत्पादनमा लागेसँगै यस क्षेत्रका किसान क्रमशः स्थानीय जातका बाली लगाउन थालेका छन् । स्थानीय जातका बालीमा रोगको प्रकोप कम देखिने र उत्पादनसमेत राम्रो हुँदै आएको कृषकको भनाइ रहेको छ ।

रैथाने जातको प्रवद्र्धनका लागि नगरपालिकाबाट समेत आवश्यक सहयोग प्रदान गर्दै आइएको कावासोती नगरपालिका कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताउनुभयो । रैथाने बालीको उत्पादनले खाद्यान्न अभाव घटाउन सहयोग पुग्ने भएकाले स्थानीय प्रजातिका बालीको संरक्षण र उत्पादनलाई जोड दिनुपर्ने उहाँको भनाइ छ ।

गाउँपालिकाको आयस्रोतको माध्यम बन्दै झरना

भरतपुर – चितवनमा बिहीबार र शुक्रबार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ । चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ । बढ्दो गर्मी छल्न यहाँका स्थानीयहरु इच्छाकामना गाउँपालिका-६ जलविरेस्थित लामो झरनामा जान थालेका छन् । गर्मी बढेसँगै झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

नारायणगढ-मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको एक सय दुई मिटरभन्दा लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ ।

वीरगञ्जबाट आउनुभएकी शिला महतोे झरनाको चिसो पानीमा रम्दै पौडी खेल्न पाउँदा आनन्दको महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलोपटक आएकी हुँ, यहाँको झरना देखेर मन लोभिएको छ”, सामाजिक सञ्जालमार्फत झरना बारेमा थाहा पाएर साथीहरुसँग घुम्न आएको उहाँले सुनाउनुभयो ।

विसं २०६९ देखि लामो झरनामा पर्यटकको आगमन बढ्न थालेको हो । झरना अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौँ, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सालगायतका जिल्लाबाट पर्यटक आउँछन् । नारायणगढ-मुग्लिन सडकखण्ड प्रयोग गर्ने लामो दूरीका सवारीसाधन पनि यहाँ रोकिएर झरना अवलोकन गर्न पुग्ने गर्छन् ।

गत वर्षहरु भन्दा यस वर्ष पर्यटकको आगमन बढेको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले बताउनुभयो । “यहाँ पौडी खेल्न र नुहाउन आउनेका सङ्ख्या बढ्दो छ, उहाँले भन्नुभयो”, “बिदाको दिन र शनिबार औसतमा पाँच सय र अन्य दिन करिब दुई सय पर्यटक यहाँ आउने गरेका छन् ।”

झरनामा क्यानोनिङ, क्लाइम्बिङ, स्वीमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङका लागि पर्यटक आउने गरेको उहाँले बताउनुभयो । झरना अवलोकनका लागि इच्छाकामनाका बासिन्दाले प्रतिव्यक्ति रु २५ र अन्य स्वदेशीले प्रतिव्यक्ति रु ५० प्रवेश शुल्क तिर्नुपर्छ । विदेशीले प्रतिव्यक्ति रु १०० तिर्नुपर्ने व्यवस्था गरिएको छ । प्रवेश शुल्कबाट प्राप्त भएको सबै रकम इच्छाकामना गाउँपालिकाले लिने गरेको छ ।

झरना पुग्ने सडक निर्माणसँगै शौचालय, चेन्जिङ रुम र तलाउ निर्माण गरिएको छ । अन्य भौतिक संरचना र झरनाको सौन्दर्यकरणका काम पनि गर्ने तयारी गरिएको छ । “झरनाको प्राकृतिकस्वरुप नबिग्रने गरी जिपलाइन निर्माणको तयारी गरेका छौँ, गुरुङले भन्नुभयो, पर्यटकीय गतिविधि बढाउने अन्य संरचना पनि निर्माण गर्ने योजनामा छौँ ।” यहाँ झरनाकै कारण होटल बढेका छन् भने व्यवसाय पनि बढेको गुरुङ बताउनुहुन्छ ।

इच्छाकामना गाँउपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जलविरे झरना पर्यटकको रोजाइको गन्तव्य बनेको बताउनुभयो । उहाँले प्रदेश सरकारको सहयोगमा सिँढी, रेलिङ र पौडी पोखरी निर्माण गरिएको जानकारी दिनुभयो ।

“यो झरना गाउँपालिकाको आन्तरिक आयस्रोतको माध्यम बनेको छ”, उहाँले भन्नुभयो, “वार्षिक रु २५ लाखसम्म आम्दानी हुने गरेको छ ।” अध्यक्ष गुरुङले यहाँ पर्यटकलाई केही समय रहने वतावरण तयार गर्ने गरी काम भइरहेको बताउनुभयो । उहाँले कर्मचारी राखेर दैनिक झरना वरपरको सरसफाइ गरिरहेको जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षमा नजिकै रहेको गाउँहरुमा पर्यटकलाई लैजाने र त्यही बाटो हुँदै इच्छाकामना मन्दिर पुर्‍याउने योजना गाउँपालिकाले बनाएको अध्यक्ष गुरुङले बताउनुभयो ।

काँकडभिट्टा नाकामा भारु नोट सटहीमा सकस

झापा – पूर्वीनाका काँकडभिट्टामा भारु नोट टहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो ।

एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो । त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका छन् ।

पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले काँकडभिट्टामा भारुको कारोबार हुन छाडेको र मनी एक्सचेञ्जरले पनि भारु साट्दा अतिरिक्त कमिसन असुल्न थालेको बताउनुभयो । उहाँले भारु एक लाख सटही गर्दा रु चार हजार कमिसन दिनुपरेको दावी गर्नुभयो ।
उहाँले काँकडभिट्टाबाट छुट्ने लामो तथा छोटो दूरीको यातायात सेवा प्रदान गर्दै आएका भाडाका बस, माइक्रो तथा साना गाडीमा ‘भाडा तिर्दा भारु नोट नदिनुहोला’ भन्ने सूचना टाँस्न सुरु भइसकेको जानकारी दिनुभयो । स्थानीय पेट्रोल पम्पमा पनि भारु नोटमा भुक्तानी नलिइने सूचना टाँसिएको छ ।

काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, केचना, बाहुनडाँगीलगायतका सीमानाका र बजारमा विगतमा जस्तो भारुमा लेनदेन अब हुन छाडेको छ । नेपाली व्यवसायीले सेवा तथा वस्तुको भुक्तानी लिँदा र दिँदा भारु नोट लिन छाडेका छन् ।

भारतबाट लुकीछिपी ठूलो मात्रामा भारुका नोट नेपाल भित्रिएको र नेपाली बजार चर्को आर्थिकमन्दीको मारमा रहेको कारण बिक्री घट्दा बजारमा भारुको सटहीमा समस्या उत्पन्न भएको सटहीको अनुमति प्राप्त मनी एक्सचेन्जर व्यवसायी बताउँछन् ।

मेची मनी एक्सचेन्जर व्यवसायी सङ्घका अध्यक्ष विष्णु मैनालीले बजारमा भारु नोट छ्याप्छ्याप्ती भएको जनाउँदै सटहीका लागि व्यवसायीसँग पर्याप्त नेपाली रुपैयाँ नभएको बताउनुभयो ।

“भारु सटही हुनछाडेको भन्ने हल्ला मैले पनि सुनेको छु, तथापि सटही नै बन्द भएको वा भारु चल्नै छाडेको भन्ने कुरा सत्य होइन”, सङ्घका अध्यक्ष मैनालीले भन्नुभयो, “बोर्डरमा जोसँग पनि भारु नोट हुन्छ । नेपालमा व्यवसाय मन्दीका कारण ठप्पजस्तै छ । यस्तो बेला भारु किन्न आउने कोही छैनन् । भारु बेच्ने धेरै भए, किन्ने नहुँदा समस्या देखिएको मात्र हो ।”

उहाँले काँकडभिट्टामै ३२ वटा अनुमतिप्राप्त मनी एक्सचेञ्जर व्यवसायी भएको जनाउँदै नेपाल राष्ट्र बैंकले तोकेको सटही दरभन्दा तलमाथि गरेर कसैले पनि कारोबार गर्न नहुने बताउनुभयो । आर्थिकमन्दीका कारण मनी एक्सचेन्जर व्यवसाय सङ्कटबाट गुज्रिरहेको र कतिपय व्यवसायी पलायनको अवस्थामा पुगिसकेको अध्यक्ष मैनालीले बताउनुभयो ।

भारु नोट सटहीमा कठिनाइ हुँदा भारतमा रोजगार गरेर फर्कने नेपाली सीमा क्षेत्रमा सकसमा परेका छन् । भारतको सिलगुडी, सिक्किम, मेघालय, मुम्बई, कोलकाता, केरला र चेन्नईमा रोजगारी गर्ने नेपाली काँकडभिट्टा नाका भएर स्वदेश फर्किने गर्छन् ।

मेघालयबाट फर्केका दैलेख दुल्लुक किसनकुमार शाहीले एउटा होटलको सहयोगमा प्रतिहजार रु ४० का दरले ‘बट्टा’ दिएर मनी एक्सचेञ्जरबाट मुस्किलले भारु सटही गरेको बताउनुभयो ।

भारतको आसाम, पश्चिम बङ्गाल, सिक्किम र विहारबाट झापाको आँखा अस्पतालमा ठूलो सङ्ख्यामा आउने भारतीयले उपचार खर्च भारुमै दिँदै आएका छन् । काँकडभिट्टा क्षेत्रमा क्यासिनो व्यवसायमार्फत पनि ठूलो मात्रामा भारु नोट नेपाल भित्रिने गरेको छ ।

उडिसा रेल दुर्घटना: २३३ जनाभन्दा बढीको मृत्यु, ९ सयभन्दा बढी घाइते

नयाँ दिल्ली – ओडिसाको बालासोर जिल्लामा शुक्रवार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २३३ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

आजतकका अनुसार सो क्रममा ९ सयभन्दा बढी घाइते भएको बताइएको छ । 

कोरोमण्डल एक्सप्रेसका पटरीबाट रेल खसेको थियो त्यसपछि यो अर्को लाइनमा विपरीत लाइनबाट आउँदै गरेको अर्को रेलसँग ठोक्कियो। जसका कारण यो दर्दनाक दुर्घटना भएको हो । 

ओडिसा रेल दुर्घटनाको छानबिन गर्न आदेश दिइएको छ। दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त (सीआरएस)एएम चौधरीले यो ठुलो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका छन् ।

ओडिसाका मुख्य सचिवका अनुसार हालसम्म २ सय ३३ जनाको मृत्यु भएको प्रमाणित भएको छ । सोही क्रममा रेल दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि गोपालपुर, कान्तपाडा, बालासोर, भद्रक र सोरोका अस्पतालमा भर्ना गरिएको छ । जानकारी अनुसार राहत तथा उद्धार कार्य जारी रहेको छ ।

पटरीबाट खसेको डिब्बामा कैयौँ यात्रु फसेका थिए भने स्थानीयले आकस्मिक सेवाका कर्मचारीलाई उद्धार गर्न सहयोग गरिरहेका थिए तर अन्धकारले काममा बाधा पुगेको थियो । 

राष्ट्रिय रिङ रेस्लिङ आज

काठमाडौँ – नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुने भएको छ ।

प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । जसमा हेभीवेट विजेताले रु एक लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले एक लाख २५ हजार, हार्डकोर म्याच विजेताले रु एक लाख, फिमेल म्याच विजेताले रु ८० हजार र लाइट वेट विजेताले रु ६५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिष्पर्धाका लागि नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुपी ग्याङ, एक्स हिरो, सुजल, सीजे वल्र्ड, आकृति, तनु र कम्ब्याट कर्मा रिङमा उत्रने छन् ।

सञ्जय महर्जन र राकेश विकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् भने कार्यक्रम प्रस्तोतामा जीवन तामाङ रहनेछन् । प्रवेश निःशुल्क रहेको एकदिने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने अवस्था आएको छ : उपमहासचिव पोखरेल

खोटाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

विकास र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन भ्रष्टाचार घातक रोगका रुपमा देखापरेको उल्लेख गर्नुहुँदै पार्टी स्कुल विभाग प्रमुखसमेत रहनुभएका पोखरेलले भ्रष्ट मानसिकताविरुद्ध सबैतिर सङ्घर्ष गर्न जरुरी रहेको औँल्याउनुभयो ।

“भ्रष्टाचारविरुद्ध एउटा सशक्त अभियान जरुरी छ । अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धका कदम अगाडि बढाएको छ”, उपमहासचिव पोखरेलले भन्नुभयो, “अरु क्षेत्रमा देखा परेका भ्रष्टाचारविरुद्ध पनि पार्टी कार्यकर्ताले सशक्त अभियान चलाउन आवश्यक छ । भ्रष्ट मानसिकताविरुद्ध भित्र र बाहिर सबैतिर सशक्तरुपमा सङ्घर्ष गर्न जरुरी छ ।”

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको माध्यमिक तहको दुई दिने पार्टी स्कुल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमहासचिव पोखरेलले प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई सद्भावना भ्रमणको अर्थमा बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीको भ्रमणलाई धेरै हौसिने वा नकरात्मक ढङ्गले प्रस्तुत नगर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

“हामीलेछिमेकी राष्ट्रसँगको सम्बन्धलाई महत्वका साथ अगाडि बढाए मात्रै हामी अगाडि बढ्न सक्छौँ”, उपमहासचिव पोखरेलले भन्नुभयो, “यो पक्षलाई हेरेर प्रधानमन्त्री भारत भ्रमणमा जानुभएको छ । म त्यसलाई वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्न सबैमा आग्रह गर्न चाहन्छु ।”

दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पार्टी तथा सरकार लागिपरेको उहाँको भनाइ छ । “पार्टीले अघि सारेको कार्यदिशा सफल पार्न उच्च, माध्यमिक र आधारभूत तह गरी तीन तहको पार्टी स्कुल कार्यक्रम सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो ।

पार्टी स्कूल कार्यक्रमलाई प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । “पछिल्लो समय सामाजिक सञ्जाल हेरेर नेता तथा कार्यकर्ताले आफ्नो अवधारणा बनाउने गरेका छन् । फेसबुके विश्लेषणले काम दिँदैन”, उहाँले भन्नुभयो, “अहिले राष्ट्र र राष्ट्रियतामाथि विभिन्न क्षेत्रबाट हमला भइरहेको छ । यसलाई संरक्षण गर्न सबै नेता तथा कार्यकर्ता गम्भीर हुन जरुरी छ ।”

सो अवसरमा अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टङ्क राई, बाम विश्लेषक एवं पूर्वसांसद हरि रोका, संविधानसभा सदस्य एवं माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, डाक्टर धनप्रसाद सुवेदी, ध्रुव श्रेष्ठ, रमेश सुनुवार र रामदीप आचार्यलगायतले सहजीकरण गरिरहनुभएको छ ।

कार्यक्रममा पार्टीको वैचारिक, राजनीतिक र सङ्गठनात्मक कार्यदिशा, पहिचान र सङ्घीयता, संस्कृति र सांस्कृतिक रुपान्तरण, समावेशिता र समानुपातिक नीति, स्थानीय सरकार सञ्चालन ऐन, राजनीतिक अर्थशास्त्र, दर्शनशास्त्रको अवधारणा र माक्र्सवादी दर्शनलगायतका बारेमा कक्षा सञ्चालन भइरहेको माओवादी केन्द्र खोटाङका जिल्ला समन्वय समिति संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको सभाहलमा जारी कार्यक्रममा पार्टीको जिल्ला समन्वय समिति, स्थानीय तहका पार्टी प्रमुख तथा प्रतिनिधि, पार्टीबाट निर्वाचित दशवटै स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता छ । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम समापनपछि सहभागी नेता तथा कार्यकर्ताले आ–आफ्नो क्षेत्रमा गएर पार्टी स्कुल कार्यक्रम सञ्चालन गर्नुपर्ने जनाइएको छ ।

दिवा खाजाले सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता

लहान – सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो ।

यसअघि खाजावापतको रकम अभिभावकलाई दिने गरिएको थियो । अहिले विद्यालयले साप्ताहिक तालिका बनाएर ‘जङ्कफुड’ प्रतिबन्ध गरी पोषणयुक्त खाजा खुवाउन सुरु गरेको छ ।

खाजाको सूचीमा फलफूल, मासु, खिर, जाउलो, चिउरा-भुजा, तरकारीलगाय रहेको श्री आधारभूत विद्यालय लहानका प्रधानाध्यापक जितेन्द्र महतोले बताउनुभयो ।

“खाजा नियमित खुवाउन थालेपछि विद्यार्थी सङ्ख्या पहिलेको तुलनामा धेरै नै बढेको छ । यसबाट विद्यार्थी खुसी पनि छन्”, महतोले भन्नुभयो, “विद्यालय सञ्चालन हुने अवधिभर नानी बाबुहरु बस्न थालेका छन् । यसले गर्दा हामीलाई उत्साही बनाएको छ ।”

विद्यार्थी नियमित हुन थालेपछि पढाइमा पनि सुधार हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवतीप्रसाद चौधरीको भनाइ छ ।

विद्यालय अनुगमनका क्रममा विद्यार्थी सङ्ख्या कम देखिएपछि भइरहेका कामलाई फरक रुप दिन गरिएको प्रयासको नतिजा सुखद् भएको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ नगरपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको हो । विद्यार्थीलाई नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जङ्कफुडको प्रयोगलाई घटाउन ल्याइएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ ।”

नियमित सामुदायिक विद्यालयमा अनुगमन बढाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरीकुमार यादवले बताउनुभयो ।

बालबालिकाका लागि दिवा खाजा कार्यक्रम स्वास्थ्य, शिक्षा, सामाजिक न्याय तथा समानताको पक्षबाट महत्वपूर्ण मानिन्छ । लहानमा ५९ सामुदायिक, १२ वटा धार्मिक विद्यालयका कक्षा ६ सम्मका ११ हजार एक सय ६ विद्यार्थीमा खाजा वितरण गर्न सुरु गरिएको हो । प्रत्येक विद्यार्थीबापत सरकारले एक दिनको रु १५ दिने गरेको छ ।

एक सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी

मङ्गलबारे – पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो ।

समितिका अनुसार फागुनमा रु २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा रु २० लाख ६४ हजार सात सय ४३ र वैशाखमा रु १८ लाख ८५ हजार एक सय पाँच भेटी सङ्कलन भएको छ । त्यस्तै जेठमा हालसम्म रु पाँच लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ ।

यसअघि मन्दिरमा हुने रकम समितिले पारदर्शीरुपमा सार्वजनिक नगरेको भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए । रकम अपारदर्शी भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परिसकेको छ ।

नयाँ समिति आएपछि सङ्कलित रकम सार्वजनिक गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताउनुभयो । “पाथीभरा मन्दिर व्यवस्थापनको स्वामित्व परिवर्तन भएकोे एक सय दिनमा रु ६६ लाख ६१ हजार तीन सय ७८ भेटी सङ्कलन भएको छ । यसले नयाँ समितिलाई काम गर्ने हौसला थपेको छ”, उहाँले भन्नुभयो ।

स्थानीय तह निर्वाचनपछि पहिलो कार्यकालमै कार्यविधि निर्माण भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । हाल मन्दिर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले लिएको छ ।

यसअघि मन्दिरमा सङ्कलित रकम पारदर्शी नभएको भन्दै आवाज उठेपछि गाउँपालिका र सर्वदलीय बैठकले मन्दिरको पुरानो समितिको हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्र पठाउने निर्णय गरेको छ ।

यसअघिको समितिले पछिल्लो छ वर्षसम्म मन्दिरको आयव्यय सार्वजनिक गरेको थिएन । राजनीतिक दल र स्थानीय तहले जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा पुरानो समितिको विवरण सार्वजनिक गराउने प्रयासमा गर्दै जेठ १४ गते सार्वजनिक सुनुवाइ तोके पनि कार्यक्रम भने सञ्चालन हुन सकेन ।

लेखा परीक्षकले समयमै आवश्यक सम्पूर्ण कागजात प्राप्त गर्न नसकेका कारण प्रतिवेदन तयार हुन नसक्दा सार्वजनिक सुनुवाइ हुन सकेको थिएन । यसअघिको समितिले भने यही जेठ ३२ गते सार्वजनिक सुनुवाइ गर्ने बताएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले पालिकाले पठाएको पत्रका आधारमा पुरानो समितिलाई समय तोकेरै साधारणसभा गर्न लगाउने र संस्थाको लेखा परीक्षण प्रतिवेदन हेरेपछि फरक परेमा कानुनी प्रक्रिया अघि बढाइने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्कने

काठमाडौँ – भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा जानुभएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लाग्नुभएको हो ।

भारत भ्रमणको क्रममा पहिलो दिन प्रधानमन्त्री दाहालले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्नुभएको थियो भने उहाँ सोही दिन नयाँ दिल्लीस्थित नेपाली राजदुतवासले आयोजना गरेको रात्रि भोजमा सहभागी हुनुभएको थियो । 

जेठ १८ गते प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो । सोही दिन नेपाल–भारतका बिचमा ७ बुँदे सहमतिसमेत भएको थियो । मुख्यतः सो सहमतिमा नेपालको जलविद्युत भारतमा निर्यात गर्ने विषयलाई प्राथमिकता दिएको थियो । भारतसँग भएको सहमति अनुसार १० वर्षमा भारतले १० हजार मेगावाट बिजुली खरिद गर्ने जनाएको थियो । 

जेठ १९ गते महाराष्ट्रको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा उनी पूजा अर्चना गर्न पुग्नुभएको थियो। भारतका १२ ज्योतिर्लिङ्ग मध्ये एक महाकालेश्वर मन्दिरमा पूजा अर्चना गरेका प्रचण्डले नेपालबाट लगिएको १०८ केजी रुद्राक्ष तथा ५१ हजार रुपैयाँ दानसमेत गर्नुभयो ।

उहाँले सो क्रममा मन्दिर भित्र पूजापाठसहित श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै आरती समेत गर्नुभएको थियो । उहाँले दिउँसो इन्दौर देवगुराडिया ट्रेचिङ ग्राउन्डमा स्थापित एसियाको सबैभन्दा ठुलो नेप्रा र सिएनजी प्लान्टको अवलोकन गर्नुभएको थियो ।  

आज पनि प्रधानमन्त्री प्रचण्ड बिहानभरि व्यस्त रहनुहुने छ । बिहान महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरेपछि विज्ञान प्रविधि सम्बन्धी विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्नेछन् भने स्पेसल इकोनोमजी जोनको भ्रमण सकेपछि प्रधानमन्त्री प्रचण्ड अपराह्न १२ बजेपछि आफ्नो औपचारिक कार्यक्रम सम्पन्न गर्नुहुनेछ ।  

उहाँ साँझ ४ बजे नेपाल एयरलाइन्सको विमानमार्फत मुम्बईबाट स्वदेश फर्कनुहुनेछ ।  

कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताउनुभयो । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो ।

मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ को परीक्षण गरेको र कोभिड-१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताउनुभयो । उहाँले अब कोभिड-१९ को कडाइको रुपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिनुभयो ।

मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको र अधिकांश मानिसले कोभिड-१९ को पूर्णमात्रा खोप लगाइसकेको अवस्था र छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को सङ्क्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ परीक्षण र कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाएको हो ।

मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालिन निर्देशक डा चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने गरिने उल्लेख गरेको छ । मन्त्रालयले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ ।

जातजातिको सङ्ख्या बढ्यो

काठमाडौँ – नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुगेको छ । साथै मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो ।

विसं २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको हो । कार्यालयका अनुसार विसं २०६८ को जनगणना अनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरुको सङ्ख्या न्यून भएइकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमण : द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप सबल बनाउने प्रतिबद्धता

नयाँदिल्ली – नेपाल र छिमेकी मित्रराष्ट्र भारतबीच रहिआएको सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्धका विविध पक्षमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समक्षकी नरेन्द्र मोदीबीच नयाँ दिल्लीको हैदरावाद हाउसमा बिहीबार भएको द्विपक्षीय भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय वार्तामा मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

सो अवसरमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका व्यापक क्षेत्रबारे समीक्षा भएको छ । व्यापार र पारवहन, जलविद्युत्, ऊर्जा व्यापार र प्रसारण लाइन, अन्तरदेशीय रेल्वे, पक्की पुल, पेट्रोलियम पाइपलाइन र एकीकृत जाँच चौकी, सिँचाइ, बाढी नियन्त्रण, कृषि, संस्कृति तथा नागरिक उड्डयनलगायत क्षेत्रको समीक्षा भएको हो । समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको छ । दुवै पक्षबीच निर्माणाधीन परियोजनाको समीक्षा गर्दै ती परियोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ ।

सो अवसरमा दुई प्रधानमन्त्रीले संयुक्तरूपमा विभिन्न परियोजनाको उद्घाटन र शिलान्यास गर्नुभएको थियो । रेलमार्गको कुर्था–बिजलापुर खण्ड हस्तान्तरण, बथनहा–विराटनगर कार्गो रेल, भैरहवा–सुनौली एकीकृत जाँच चौकीको शिलान्यास, नेपालगञ्ज–रुपैडिया एकीकृत जाँच चौकीको उद्घाटन, दोस्रो चरणको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास एवं ४०० केभी बुटवल–गोरखपुर प्रसारण लाइनको शिलान्यास गर्नुभएको हो ।

त्यसैगरी दुई प्रधानमन्त्रीको उपस्थितिमा आदानप्रदान सम्झौताहरु भएका छन् । नेपाल र भारतबीचको पारवहन सन्धि, दोधरा–चाँदनीमा एकीकृत जाँच चौकी निर्माण गर्ने समझदारी, पेट्रोलियम पूर्वाधार निर्माण गर्ने समझदारी, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतको सुष्मा स्वराज वैदेशिक सेवा संस्थानबीच समझदारी, ४५० मेगावाट क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजना निर्माणसम्बन्धी समझदारी, ६६९ मेगावट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता र अन्तरदेशीय भुक्तानीका लागि नेपाल क्लियरिङ हाउस र भारतको नेशनल पेमेन्ट कम्पनीबीच समझदारी भएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी मोदीबीच थप हवाई रुट सञ्चालनका लागि नेपालले गरेको आग्रहका विषयमा छलफल भएको छ । प्रधानमन्त्री दाहालले भारतको हवाई प्रवेश मार्गको सकारात्मक जवाफको स्वागत गर्नुभएको छ । नेपाललाई महेन्द्रनगरबाट द्विपक्षीय उडानहरू र थप हवाई प्रवेश मार्गको स्वीकृति प्राप्त भएको छ । उहाँले अन्तर्राष्ट्रिय अवतरण प्रणाली(आइएलएस) प्रक्रियालाई सञ्चालन गर्न भारतको सकारात्मक प्रतिक्रियाका लागि पनि आग्रह गर्नुभएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र उडान विस्तारका लागि सुरक्षा र दक्षताका लागि पनि प्रधानमन्त्री दाहालले भारतसँग आग्रह गर्नुभएको थियो ।

दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौताले विद्युत् व्यापारको प्रक्रियालाई व्यवस्थित बनाउनुका साथै यसलाई थप अनुमानयोग्य बनाउने विषयमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् । त्यसैगरी भारतका प्रधानमन्त्री मोदीले आगामी १० वर्षमा नेपालबाट भारतमा हुने जलविद्युत् आयातको मात्रा १० हजार मेगावाट पु¥याउने भारतको लक्ष्य रहेको बताउनुभएको छ ।

नेपालका प्रधानमन्त्री दाहालले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ४५६ मेगावाटसहित थप १२ सय मेगावाट जलविद्युत्को निर्यातको स्वीकृतिका लागि भारतका प्रधानमन्त्री नरेन्द्रलाई आग्रह गर्नुभएको थियो । भ्रमणका क्रममा नेपालबाट भारतीय ग्रिडमार्फत बङ्गलादेशसम्म ४० मेगावाट विद्युत् विद्युत् कारोवारलाई सहजीकरण गर्ने भारतको निर्णयको प्रधानमन्त्री दाहालले स्वागत गर्नुभएको छ । विद्युत् निर्यात ऊर्जा क्षेत्रलगायत उपक्षेत्रीय तहमा बृहत् सहयोगका लागि दुवै पक्ष प्रतिबद्ध छन् ।

नेपालका प्रधानमन्त्री दाहालले चौथो लाइन अफ क्रेडिट (एलओसी–आइभी) अन्तर्गत प्रस्तावित प्रसारण लाइन परियोजनाहरूको स्वीकृतिका लागि भारत सरकारलाई धन्यावाद व्यक्त गर्नुभयो । दुवै प्रधानमन्त्रीले नेपाल–भारत सीमा नाका क्षेत्रमा हुने बाढी र डुबानको समस्याबारे पनि छलफल गर्दै विद्यमान द्विपक्षीय संयन्त्रलाई मनसुन सुरु हुनुअघि नै बाढी र डुबानको प्रभावकारी रोकथामका लागि आवश्यक उपायहरू अवलम्बन गर्ने निर्देशन दिनुभएको छ ।

महाकाली सन्धिमा परिकल्पना गरिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना (पीएमपी) नेपाल र भारतका जनताको आकांक्षाअनुरूप भएको बताउँदै दुवै प्रधानमन्त्रीले यस सन्दर्भमा दुवै सरकारका सम्बन्धित अधिकारीहरूले तीन महिनाभित्र पीएमपीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई छिट्टै अन्तिम रूप दिन द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको गर्नुभएको छ । पञ्चेश्वर विकास प्राधिकरण(पिडीए)ले अन्तिम डिपीआर दुवै सरकारलाई बुझाउने छ भने दुई सरकारका सम्बन्धित निकार्यहरूले पीएमपीका लागि वित्त व्यवस्था गर्नेछन् । दुवै सरकारले डीपीआर स्वीकृत गरेपछि कार्यान्वयनको मोडालिटी एक वर्षभित्र टुङ्ग्याउनेछ ।

उहाँहरुले टनकपुर लिंक नहर निर्माणको स्वागत गर्दै नेपाली पक्षको सुविधाको तत्परताका आधारमा यस नहरबाट टनकपुर ब्यारेजबाट नेपालको सिँचाइ कमाण्ड एरियामा चरणबद्ध रूपमा पानी छोड्ने सहमति गरेका थिए । दुई देशका प्रधानमन्त्रीले दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेपालले सामना गरिरहेको व्यापार घाटालाई प्रधानमन्त्री दाहालले नेपालको कृषि तथा प्राथमिक उत्पादनको भारतीय बजारमा पारस्परिक पहुँचका लागि अनुरोध गर्नुभएको थियो । दुवै देशका प्रधानमन्त्रीले व्यापार सन्धिको पुनरावलोकनसहित व्यापारका समस्या समाधानका लागि वाणिज्य सचिवस्तरीय संयन्त्रलाई चाँडो बोलाउन निर्देशन दिनुभएको छ ।

दुवै देशका नेताले परीक्षण प्रयोगशालाको स्वीकृतिसम्बन्धी एमओयूलाई छिट्टै टुङ्गोमा पु¥याउन सम्बन्धित अधिकारीलाई सर्टिफिकेटको पारस्परिक मान्यता निर्देशन दिनुभएको छ । नेपालका प्रधानमन्त्री दाहालले नेपाली जुट उत्पादनमा काउन्टरभेलिङ शुल्क हटाउन आग्रह गर्नुभएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्ने र भारतको अनुदान सहयोगमा सिलिगुडीदेखि झापासम्म पाइपलाइन नयाँ क्रसबोर्डर पेट्रोलियम निर्माणका लागि दुवै पक्षबीच सहमति भएको छ ।

भ्रमणका क्रममा नेपाल भन्सार यार्डको वथनाहादेखि विराटनगरसम्मको कार्गो रेल सेवालाई दुवै प्रधानमन्त्रीले झण्डा देखाएर शुभारम्भ गर्नुभएको छ । नेपालका प्रधानमन्त्री दाहालले भारतीय अनुदान सहयोगमा जयनगर–कुर्थादेखि बिजलपुरासम्मको यात्रुवाहक रेल सेवा विस्तारलगायत सीमापार रेलमार्ग निर्माण गरेकोमा भारतका प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । नेपाल–भारत रेलमार्गहरू दिगो सञ्चालनका लागि नेपाली रेलवे कर्मचारीहरूको तालिम र क्षमता अभिवृद्धि गर्ने भारतको प्रस्तावलाई प्रधानमन्त्री दाहालले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री दाहालले जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको काममा तीव्रता दिन, सुदूरपश्चिम प्रदेशमा प्राविधिक इन्स्टिच्युट स्थापना गर्न र धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणका लागि भारतको अनुदान सहयोगका लागि अनुरोध गर्नुभएको छ । त्यसैगरी भारतीय पक्ष महाकाली नदीको सिरसा (परशुरामधाम–पूर्णागिरि माई) र झुलाघाटमा दुई वटा मोटरेबल पुल अनुदान सहयोगमा निर्माण गर्न सहमत भएको छ । दुवै मुलुकका प्रधानमन्त्री अनुसन्धान र विकास, क्षमता निर्माण, प्राकृतिक खेती र उपयोगसहित कृषि क्षेत्रमा सहकार्यलाई प्रवर्द्धन गर्न सहमत हुनुभएको छ ।

प्रधानमन्त्री दाहालले उन्नत जातका पशुहरू उपहार प्रदान गरेकामा भारत सरकारलाई धन्यवाद दिँदै विशेषगरेर उखु र कफी बालीका लागि जर्मप्लाज्मका लागि अनुरोध गर्नुभएको छ । गत फेब्रुअरीमा भारतबाट नेपाललाई युरिया र डिएपी आपूर्ति गर्नेबारे भएको सहमतिप्रति दुवै प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभएको छ । दुवै मुलुकका बजारलाई पर्याप्त मात्रामा आश्वस्त पार्दै नेपाल र भारतका किसानलाई मलको आवश्यकता पूरा गर्न दुवै मुलुकका सार्वजनिक र निजी क्षेत्रका निकायहरुको साझेदारीमा नेपालमै मल कारखाना स्थापना गर्न दुवै प्रधानमन्त्री सहमत हुनुभएको छ । त्यस्तो मल कारखानाको सम्भाव्यता पत्ता लगाउन दुवै प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

दुई प्रधानमन्त्रीबीच सीमा विवादका विषयमा पनि छलफल भएको छ । प्रधानमन्त्री दाहालले भारतका प्रधानमन्त्री मोदीलाई द्विपक्षीय कूटनीतिक संयन्त्र स्थापना गरेर सीमा विवाद समाधान गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले जी–२० र साङ्घाई कोअपरेसन अर्गनाइजेसनको अध्यक्षता गरेकामा भारतको प्रशंसा गर्नुभएको छ । उहाँले निकट भविष्यमा नेपालको भ्रमण गर्न दिनुभएको निमन्त्रणालाई भारतीय प्रधानमन्त्री मोदीले हार्दिकताका साथ स्वीकार गर्नुभएको छ ।

आजको मौसम: अत्यधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुरोध

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशका  पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

देशको अधिकांश भू–भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहनुका साथै कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले अत्यधिक गर्मी तथा मेघ गर्जन र चट्याङबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०८० जेठ २० गते (शनिवार)
दिउँसो:  
देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०८० जेठ २१ गते (आइतबार)
दिउँसो: 
 देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

२०८० जेठ २२ गते (सोमबार)
दिउँसो:  
देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

बागमती प्रदेशसभाको बैठक : नीति तथा कार्यक्रम पारित

मकवानपुर – बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

उक्त नीति तथा कार्यक्रममाथि जेठ १७ गतेदेखि १९ गतेसम्म तीन दिन लगातार छलफल भई ८१ प्रदेशसभा सदस्यले सरकारलाई मार्ग निर्देशनसहित सुझाव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले छलफलमा उठेका विभिन्न प्रश्नको जवाफ दिनुहुँदै प्रदेश आगामी आवको बजेटमा सबै सदस्यको सुझावलाई समेटिने बताउनुभयो ।

उहाँले सरकारको आगामी आवको नीति तथा कार्यक्रम जनमुखी, जनताप्रति जवाफदेही बोध गर्ने खालको तर्जुमा गरिएको र त्यसलाई प्रदेशको १३ वटै जिल्लामा क्रमशः स्रोतसाधन परिचालन गरी कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले नीति तथा कार्यक्रमलाई अझ प्रभावकारीरूपमा अघि बढाउन प्रत्येक सामुदायिक विद्यालयमा एक नर्सको व्यवस्थापन गर्ने र प्रदेशको १३ वटै जिल्लामा खरको छाना भएका नागरिकलाई अब क्रमशः जस्ताको छानो उपलब्ध गराउँदै लैजाने नीति अवलम्बन गरिने जानकारी दिनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले सामुदायिक विद्यालयमा नीतिगत कार्यक्रम तर्जुमा गरी शिक्षालाई गुणस्तरीय, जवाफदेही र दक्ष जनशक्ति उत्पादनका लागि शिक्षकलाई सीपमूलक तालिम उपलब्ध गराउँदै लैजाने उद्देश्य रहेको बताउनुभयो ।

प्रदेशका सबै जिल्लाको माध्यमिक शिक्षातर्फ शिक्षकलाई सीपमूलक तालिम उपलब्ध गराई आगामी आव २०८०/८१ देखि विज्ञान प्रविधिको ज्ञान, प्रयोगशाला र वैज्ञानिक अनुसन्धानका लागि योजना र बजेट छुट्याएर कार्यान्वयन गर्दै लैजाने दृढता व्यक्त गर्नुभयो ।

उहाँले प्रदेशको दुर्गम भेगमा रहेका सर्वसाधारणलाई स्वास्थ्य उपचारका लागि गुणस्तरीय सेवा प्रदान गर्न प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी दक्ष चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालालाई अत्याधुनिक सेवा प्रदान गर्न सरकारले नीति तर्जुमा गरी कार्यान्वयन गर्दै लैजाने बताउनुभयो ।

अधिकांश प्रदेशसभाका सदस्यको भावना कदर गरेर कृषि उत्पादनको लागि सिँचाइको दीर्घकालीन प्रवर्द्धन गर्ने र प्रदेशको पायक पर्ने स्थानमा रासायनिक मल कारखाना स्थापना गर्ने लक्ष्य रहेको र आगामी आवदेखि सो सम्बन्धमा अनुसन्धान सुरु गर्ने जानकारी उहाँले दिनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य मधुसुदनप्रसाद पौडल, एकालाल श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुरेन्द्रराज गोरसाईं र सिर्जना सैजूले नीति तथा कार्यक्रममाथि राख्नुभएको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत गरिएको थियो । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

जुम्ला – जुम्लामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।

मृत्युक सुनारको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो २ बजेतिर यहाँको तातोपानी गाउँपालिका–६ चिमलडाँडाबाट ढुङ्गा बोकेर रावतवाडा जाँदै गरेको लु ४ त ७९४८ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको हो । ट्याक्टर सडकभन्दा ५० मिटर तल खसेको छ ।

दुर्घटनापश्चात फरार चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

आगामी वर्षको बजेट उत्पादनमा केन्द्रित गछौँ : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले सरकारले आगामी वर्ष २०८०/८१ को वार्षिक बजेट उत्पादन वृद्धिमा केन्द्रित गर्ने बताउनुभएको छ । सरकारको नीति कार्यक्रम तथा बजेटका विषयमा आज पोखरामा सञ्चारकर्मीसँगको छलफलमा उहाँले साधन स्रोत सिमित भएकाले धेरै उत्साहित हुने अवस्था नरहे पनि उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै जनताका विकास निर्माणका चाहना पूरा गरिने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “जति साधन स्रोत छ, त्यसलाई अधिकतम उपयोग गर्दछौँ र उत्पादनमा बजेट केन्द्रित गर्ने योजना बनाएका छौँ । अनुत्पादक क्षेत्रमा बजेट राख्दैनौँ, कहाँ कहाँ घटाउन सकिन्छ भनेर खोजी गरी रहेका छौँ । मितव्ययी बन्छौँ ।”

मुख्यमन्त्री पाण्डेले स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिने योजना रहेको सुनाउनुभयो । सरकारले आगामी वर्ष सडक, खानेपानी, सिँचाइलगायत पूर्वाधार निर्माणतर्फ बजेटको सिलिङ तोकेर लगानी गर्ने र खुद्रा योजनामा बजेट खर्च नगरिने उहाँले स्पष्ट पार्नुभयो । सामुदायिक भवनलाई निर्माणलाई जोड दिने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

सांसद विकासलाई कोषलाई निरन्तरता दिने कि नदिने भन्ने बारेमा सत्तापक्ष र प्रतिपक्ष सबैसँग छलफल भइरहेको उहाँले बताउनुभयो । “सांसद विकास कोषको बजेट सांसदले खर्च गर्ने होइन, विनियोजित अनुसारको योजना छनोट गर्ने हो । सांसद पनि जनतासँग जोडिएका हुन्छन् । कतिपय प्रतिवद्धता हुन्छन् । त्यसलाई पूरा गर्नका लागि सांसद विकास कोष रहन सक्छ । छलफल भइरहे पनि टुङ्गो लागेको छैन ।” मुख्यमन्त्री पाण्डेले भन्नुभयो । सरकारले सञ्चार क्षेत्रका लागि समेत बजेटमा व्यवस्था गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले सरकारले सञ्चार विधेयक छिटो ल्याउन माग गर्नुभयो । सञ्चारमाध्यमको दर्ता, नविकरण लगायतका कार्य प्रदेशमै हुने व्यवस्था गर्न उहाँको आग्रह थियो । कार्यक्रममा सहभागी सञ्चारकर्मीले पत्रकारका लागि तालिम, महासङ्घका जिल्ला शाखाका भवन निर्माण, लेखनवृत्ति, सञ्चार उपकरण खरीदमा अनुदानलगायतका कार्यक्रम प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश गर्न माग गर्नुभएको थियो ।

शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बसह

काठमाडौँ – जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान आज सकिएको छ । उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा आज पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको हो । बिहीबारसम्म १५ जना अभियुक्तको बयान सकिएको थियो । आइतबारदेखि सबै अभियुक्तको थुनछेक बहस सुरु हुनेछ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार सबै अभियुक्तको बयान आज सकिएको छ । आइतबारदेखि थुनछेक बहस प्रारम्भ हुनेछ । उक्त प्रकरणमा प्रतिवादी बनाइएका १२ जना भने अझै फरार छन् ।

प्रहरी सङ्गठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा जरुरी : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सङ्गठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई आज प्रहरी प्रधान कार्यालयमा सम्मान गर्दै गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।

“प्रहरी सङ्गठनलाई अझै प्रभावकारी र सफल बनाउन अझै गम्भीररूपमा आत्मसमीक्षा गर्नैपर्ने बेला आएको छ”, श्रेष्ठले भन्नुभयो, “देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने छ । जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो । नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिने छ ।”

प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसर पारेर नेपालीले सगरमाथाको सफल आरोहण गर्नुभएको हो । हाल इन्टरपोलमा एक सय ९५ रास्ट्र सदस्य छन् । इन्टरपोलले सतवार्षिकीमा नेपालले भने सगरमाथाको आरोहण गरेर मनाउने निर्णय लिएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले आरोही नेपालीलाई बधाई पनि दिनुभयो ।

“नेपाल प्रहरी र नेपाल सरकारलाई जुन गौरव गर्ने अवसर दिनुभएको छ त्यसको लागि पुरुषोत्तम नेपालीलाई बधाई तथा शुभकामना दिन चाहन्छु,” श्रेष्ठले भन्नुभयो, “नेपाल प्रहरीले हरेक क्षेत्रमा सफलता प्राप्त गर्दै गौरव गर्ने भूमिका निर्वाह गरेको छ ।”

ठगी तथा सङ्गठित अपराधमा नेपाल प्रहरीले गरेको कामबाट आम जनता खुसी भएको बताउँदै उहाँले दबाबमा नपरी कुनै निर्दोष नफसोस् र कुनै दोषी नउम्कियोस् भन्नेमा सचेत रहन आग्रह गर्नुभयो । सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारीरूपमा अगाडि बढाइरहेको भन्दै राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिन आफू नहिच्किचाउने श्रेष्ठले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

इन्दोर – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गर्नुभएको छ ।

सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले स्रोतबाट नै छ भागमा विभाजन गरेर फोहरको व्यवस्थापन हुँदै आएको बताउनुभयो ।

कूल एक अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ । केन्द्रमा फोहर व्यवस्थापनका लागि मासिक एक करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिृकत सिंहले जानकारी दिनुभयो ।

सो केन्द्रले फोहरलाई व्यस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक तीन करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उहाँको भनाइ छ । उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । ती ग्यास इन्दोर सहरमा चल्ने सवारी साधानमा प्रयोग गरिँदै आइएको छ ।

केन्द्रको अवलोकनपश्चात प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधिहरु पठाइ फोहर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताउनुभयो ।

स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर नगर निगमले फोहर व्यवस्थापनमा गरेको काम विश्वमै नमूनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहाल केन्द्रको अवलोकन गर्न आज बिहान भारतको राजधानी नयाँ दिल्लीबाट मध्यप्रदेशको इन्दोर पुग्नुभएको हो । इन्दोर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री दाहालको सम्मानमा आजै मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्नुभएको छ ।

प्रधामन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही जेठ १७ गते भारत जानुभएको हो ।

राष्ट्रसेवकका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउन सुझाव

काठमाडौँ – शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ ।

सामुदायिक विद्यालयप्रतिको स्वामित्व र अपनत्व अभिवृद्धि हुन नसकेको र शिक्षामा व्यापारिकरण बढेकाले उक्त व्यवस्था हुनुपर्ने तर्क अघि सारिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव एवम् शैक्षिक अनुसन्धानकर्ता ईश्वरीप्रसाद पोखरेलले कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने र शिक्षामा लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।

मन्त्रालयको नीति तथा योजना शाखामा आफू रहँदा भएका विभिन्न अध्ययनको निचोड प्रस्तुत गर्दै पोखरेलले अझै विद्यालयको पहुँच नआएका लक्षित वर्गलाई शिक्षाको मूल प्रवाहमा ल्याउन राज्यका तर्फबाट ठोस पहल हुनुपर्ने बताउनुभयो ।

उहाँले प्रविधिक तथा व्यावसायिक शिक्षा परिषद्ले आफैँले पाठ्यक्रम निर्माण, कक्षा सञ्चालन, परीक्षा सञ्चालन गर्नु नीतिसङ्गत नभएकाले परिषद्मातहतका परीक्षालाई राष्ट्रिय परीक्षा बोर्डको मातहतमा ल्याउन माग गर्नुभयो । उहाँले आफूले गरेका अध्ययनका निचोडलाई माथिल्लो निकायबाट उचित सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सरकारको प्रस्तावित बजेटले शिक्षक र विद्यालय कर्मचारीका मुद्दालाई सम्बोधन गर्न नसकेकाले सामुदायिक विद्यालयको सुधारमा धोका भएको टिप्पणी गर्नुभयो । शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले शिक्षामा रुपान्तरणका लागि गरिएको अध्ययन र निष्कर्षलाई तीनै तहका सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

ऐन कार्यान्वयन र बचत सुरक्षाको माग गर्दै सहकारीकर्मी आन्दोलित

काठमाडौँ – सहकारी क्षेत्र सुधारको माग राख्दै सहकारीकर्मी आन्दोलित भएका छन् । राष्ट्रिय सहकारी महासङ्घले गठन गरेको ‘सहकारी समस्या समाधान सहजीकरण कार्यदल’को नेतृत्वमा चरणवद्ध आन्दोलन घोषणा गरेका सहकारीकर्मीले आज सहकारी विभागमा धर्ना दिए ।

सहकारी ऐन तथा नियमावलीमा भएका व्यवस्था कार्यान्वयन, सहकारी क्षेत्र नियमनका लागि छुट्टै अधिकारप्राप्त नियामक स्थापना, समस्यामा परेका सहकारीका बचतकर्ताको बचत सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने, सहकारी विधेयकमा राखिएको बचतको सीमा हटाउनुपर्ने, हाल कार्यान्वयनमा रहेको सन्दर्भ ब्याजदर खारेज गर्नुपर्नेलगायतका माग उनीहरूका छन् ।

सहकारी क्षेत्रको वित्तीय जोखिम न्यूनीकरण र सदस्यको बचत सुरक्षाका लागि सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याइनुपर्ने आन्दोलनरत सहकारीकर्मीको माग छ । ऐन तथा नियमावलीमा भएका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष स्थापनालगायतका माग राखिएका छन् ।

सहकारी ऐन तथा नियमावलीमा भएको सन्दर्भ ब्याजदरको व्यवस्था खारेज गरिनुपर्ने तथा बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारी संस्थामा पनि बजारअनुसार नै ब्याज निर्धारण गरिनुपर्ने माग सहकारी अभियानको छ । सहकारी सङ्घ संस्थाको अनुगमनका लागि ‘दोस्रो तहको नियामक संस्था’ स्थापना गरिनुपर्ने, सहकारी संस्थाबाट ऋण लिई नतिर्ने मनसाय भएका ऋणीको एकाघर सगोल परिवारको चल अचल सम्पत्ति रोक्का राख्न पाउने व्यवस्था कार्यान्वयन गर्ने, स्थानीय तहदेखि केन्द्रीय तहसम्म सहकारी संस्थाहरुको दर्ता, कार्यक्षेत्र विस्तार र सेवाकेन्द्र स्वीकृतिमा तत्कालै रोक लगाउनुपर्ने लगायतका माग राखिएका छन् ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानको पहिलो जिम्मेवारी स्वयम् सहकारी सङ्घ–संस्थाको रहेको तथा ऐन र नियमावलीका व्यवस्था कार्यान्वयनको विभिन्न चरणमा रहेकाले अहिलेको आन्दोलनको कुनै औचित्य नरहेको सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे बताउँनुहुन्छ ।

“उहाँहरूले जुन कुरा उठाएर आन्दोलन गरिरहनुभएको छ, त्यो कुनै आन्दोलन गर्नुपर्ने विषय नै होइन । त्यो आन्दोलनको कुनै अर्थ पनि छैन किनभने सहकारीमा जतिपनि समस्या देखिएका छन्, त्यो सरकारका तर्फबाट आएका समस्या होइनन् । उहाँहरु आफैँ सहकारीको सञ्चालन र आफैँ आन्दोलन गरिरहनुभएको छ भने त्यसमा विभागको कुनै प्रतिक्रिया छैन”, रजिष्ट्रार घिमिरेले रासससँग प्रतिक्रिया दिनुहुँदै भन्नुभयो ।

विद्यमान कानुनी व्यवस्था कार्यान्वयन र नियामकीय संस्थाका रुपमा विभागले गर्नुपर्ने काम भइरहेको उहाँको दावी छ । “सहकारी ऐन, नियमावली कार्यान्वयनको क्रममा छन् । कार्यान्वयनका प्रक्रिया चलिरहेकै छन् । कतिपय कुरा मन्त्रालयमा छलफल चलिरहेका छन्”, उहाँले भन्नुभयो, “अहिलेको परिस्थितीमा उहाँहरूले आन्दोलन गर्ने समय नै होइन । समग्र सहकारी क्षेत्रका समस्या समाधानका लागि प्रयास थालिएको प्रयास बारे विभागले जेठ १२ जानकारी पनि गराईसकेको छ । हामीले हाम्रो तर्फबाट गर्नुपर्ने काम गरिरहेका छौँ ।”

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडका वरिष्ठ उपाध्यक्ष तथा सहकारी समस्या समाधान कार्यदलका संयोजक ओमदेवी मल्ल भने सहकारी क्षेत्रका समस्या समाधानका लागि पछिल्लो पाँच/छ वर्षदेखि दिइएका सुझाव सरकारले कार्यान्वयन नगरेका कारण अहिले बाध्य भएर आन्दोलनमा जानुपरेको बताउनुहुन्छ । त्यस्तै सरकार र मातहतका निकाय तथा सहकारी अभियानले गर्नुपर्ने कामको समीक्षा गरिनुपर्ने उहाँको भनाइ छ ।

“हामीले अहिले गठाएका विषय अहिले मात्रै आएका होइनन् । विगत पाँच/छ वर्षदेखि ज्ञापनपत्र बुझाउने र आफ्ना माग राख्ने गरिरहेका थियौँ । सुनुवाई नभएपछि अहिले बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्यो”, मल्लले भन्नुभयो, “अहिले एक पक्षले अर्कोलाई आलोचना गर्नेभन्दा पनि सरकारले गर्नुपर्ने र सहकारी अभियानले गर्नुपर्ने के–के विषय छन् भनेर समीक्षा गरिनुपर्छ ।”

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै जिल्लाबाट सुझाव सङ्कलन गरेको र सोहिअनुसार विभिन्न १३ बुँदे माग सरकारलाई बुझाएको उहाँको भनाइ छ । सहकारीकर्मीको आन्दोलनलाई सबै ठूला राजनीतिक दलको समर्थन रहेको पनि उहाँको जिकिर छ । “हामीले नौ वटा राजनीतिक दलका प्रमुख नेता र सम्बन्धित दलको सहकारी विभाग हेर्ने नेतासँग छलफल गर्दा उहाँहरुले पनि आन्दोलनका माग जायज छन् र विरोध कार्यक्रममा समर्थन छ भन्नुभएको छ ।”, मल्लले भन्नुभयो ।

आर्थिकरुपले समस्यामा परेका सहकारी संस्थाको व्यवस्थापनको जिम्मा सरकारले लिएर नागरिकको बचत फिर्ता पाउने ‘ग्यारेन्टी’ गरिनुपर्ने पनि उहाँको भनाइ छ । “नागरिकको सुरक्षाको जिम्मेवारी सरकारको पनि हो । समस्यामा परेका सहकारीको बचत सुरक्षा गर्ने जिम्मेवारी सरकारका तर्फबाट पनि निभाइनुपर्छ । सँगसँगै नयाँ सहकारी खोल्न कडाइ गर्ने र नियमनलाई पनि बलियो बनाउन आवश्यक छ ।”, मल्लले भन्नुभयो ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र त्यसको समाधानको उपाय खोज्ने उद्देश्यले राष्ट्रिय सहकारी महासङ्घको गत चैत १२ गतेको बैठकले सहकारी समस्या समाधान सहजीकरण कार्यदल गठन गरेको थियो । सहकारीकर्मीको धर्ना तथा आन्दोलनको नेतृत्व गरिरहेको उक्त कार्यदलले यही जेठ २ गते १५ दिने ‘अल्टिमेटम’ दिएर सरकारलाई मागपत्र बुझाएको थियो । त्यस्तै, जेठ ८ गते पत्रकार सम्मेलनमार्फत् आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आज शान्तिपूर्ण धर्ना दिएका सहकारीकर्मीले जेठ २१ गतेदेखि सहकारी विभाग बानेश्वर र सबै प्रदेशका सहकारी महाशाखामा धर्ना बस्ने कार्यक्रम रहेका छन् । महासङ्घसँगै जिल्ला सहकारी सङ्घ, काठमाडौँ जिल्ला बहुद्देश्यीय सहकारी सङ्घ लिमिटेडलगायतका सङ्घसंस्था पनि आन्दोलनमा जोडिएका छन् ।

तीस हजारभन्दा बढी सहकारी सङ्घसंस्थामार्फत् रू सात खर्बभन्दा बढी पूँजी परिचालन भएको सहकारी क्षेत्रले एक लाख जनालाई प्रत्यक्ष र १० लाख जनालाई अप्रत्यक्षरुपमा रोजगारी दिइरहेको दावी सहकारी अभियानले गर्दै आएको छ । ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन नहुँदा यो क्षेत्र धराशायी हुँदै गएको र बचतकर्ताको जोखिम बढेपछि बाध्य भएर आन्दोलनमा जानुपरेको कार्यदलको भनाइ छ । त्यस्तै, सहकारीको सिद्धान्त, मूल्य, मान्यता विपरित चलिरहेका सहकारी संस्थाका सञ्चालन तथा व्यवस्थापकले रकम अपचलन गर्दा समग्र सहकारी क्षेत्रप्रति नै अविश्वास बढ्दै गएकाले त्यस्ता संस्थाको सघन अनुगमन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग पनि सहकारीकर्मीका छन् ।

सहकारीको दिगोपनका लागि सहकारी अभियानसँगको समन्वयमा छुट सुविधा र प्रोत्साहनसहितको ‘एकीकरण प्याजेक कार्यक्रम’ तत्काल घोषणा गर्नुपर्ने, विद्यमान असहज परिस्थितीका कारण कर चुक्ता लिन बाँकी रहेका सहकारी संस्थालाई आगामी असार मसान्तसम्म म्याद थप गर्नुपर्ने, कार्यालय सञ्चालनमा समस्या परेका सहकारी सङ्घ संस्थालाई सञ्चालनमा ल्याउन दुई वर्षको कुलिङ अवधि लागु गर्नुपर्ने माग पनि कार्यदलको रहेको छ । त्यस्तै सहकारी सङ्घ–संस्था निर्वाधरुपमा सञ्चालन गर्न तत्काल सबै जिल्ला प्रशासन कार्यालयमा सुरक्षासम्बन्धी परिपत्र गरिनुपर्ने माग रहेको छ ।

किसानलाई राहत दिन समावेशी आयोगको सिफारिश

काठमाडौँ – राष्ट्रिय समावेशी आयोगले किसानसँग सम्बन्धित अनुदान र राहतजस्ता विषयमा नेपाल सरकार समक्ष नीतिगत सिफारिश गरेको छ ।

आयोगले आज पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार किसानको वर्गीकरण गर्न, अनुदान, कर छुट, सहुलितपूर्ण कर्जा, कृषि औजारको उपलब्धता, रसायनिक मलमा जस्तै प्रांगारिक मलमा पनि उत्पादकलाई अनुदान दिन सिफारिश गरिएको हो ।

आयोगका कार्यबाहक अध्यक्ष विष्णुमाया ओझाले रैथाने बीउ, बिरुवाको संरक्षण र प्रवद्र्धन, वैदेशिक कृषि प्रवद्र्धन, नश्ल जातीको अध्ययनलगायतमा सुझाव दिइएको बताउनुभयो । आयोगले कृषि तथा पशुपक्षी मन्त्रालयलाई दिएको सिफारिशमा कृषि ऐन ल्याउन, कृषिसम्बन्धी निित निर्माणमा किसानको सहभागिता गराउन पनि भनिएको छ ।