`

प्रधानमन्त्री दाहालद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

इन्दोर – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गर्नुभएको छ ।

सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले स्रोतबाट नै छ भागमा विभाजन गरेर फोहरको व्यवस्थापन हुँदै आएको बताउनुभयो ।

कूल एक अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ । केन्द्रमा फोहर व्यवस्थापनका लागि मासिक एक करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिृकत सिंहले जानकारी दिनुभयो ।

सो केन्द्रले फोहरलाई व्यस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक तीन करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उहाँको भनाइ छ । उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । ती ग्यास इन्दोर सहरमा चल्ने सवारी साधानमा प्रयोग गरिँदै आइएको छ ।

केन्द्रको अवलोकनपश्चात प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधिहरु पठाइ फोहर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताउनुभयो ।

स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर नगर निगमले फोहर व्यवस्थापनमा गरेको काम विश्वमै नमूनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहाल केन्द्रको अवलोकन गर्न आज बिहान भारतको राजधानी नयाँ दिल्लीबाट मध्यप्रदेशको इन्दोर पुग्नुभएको हो । इन्दोर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री दाहालको सम्मानमा आजै मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्नुभएको छ ।

प्रधामन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही जेठ १७ गते भारत जानुभएको हो ।

राष्ट्रसेवकका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउन सुझाव

काठमाडौँ – शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ ।

सामुदायिक विद्यालयप्रतिको स्वामित्व र अपनत्व अभिवृद्धि हुन नसकेको र शिक्षामा व्यापारिकरण बढेकाले उक्त व्यवस्था हुनुपर्ने तर्क अघि सारिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव एवम् शैक्षिक अनुसन्धानकर्ता ईश्वरीप्रसाद पोखरेलले कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने र शिक्षामा लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।

मन्त्रालयको नीति तथा योजना शाखामा आफू रहँदा भएका विभिन्न अध्ययनको निचोड प्रस्तुत गर्दै पोखरेलले अझै विद्यालयको पहुँच नआएका लक्षित वर्गलाई शिक्षाको मूल प्रवाहमा ल्याउन राज्यका तर्फबाट ठोस पहल हुनुपर्ने बताउनुभयो ।

उहाँले प्रविधिक तथा व्यावसायिक शिक्षा परिषद्ले आफैँले पाठ्यक्रम निर्माण, कक्षा सञ्चालन, परीक्षा सञ्चालन गर्नु नीतिसङ्गत नभएकाले परिषद्मातहतका परीक्षालाई राष्ट्रिय परीक्षा बोर्डको मातहतमा ल्याउन माग गर्नुभयो । उहाँले आफूले गरेका अध्ययनका निचोडलाई माथिल्लो निकायबाट उचित सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सरकारको प्रस्तावित बजेटले शिक्षक र विद्यालय कर्मचारीका मुद्दालाई सम्बोधन गर्न नसकेकाले सामुदायिक विद्यालयको सुधारमा धोका भएको टिप्पणी गर्नुभयो । शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले शिक्षामा रुपान्तरणका लागि गरिएको अध्ययन र निष्कर्षलाई तीनै तहका सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

ऐन कार्यान्वयन र बचत सुरक्षाको माग गर्दै सहकारीकर्मी आन्दोलित

काठमाडौँ – सहकारी क्षेत्र सुधारको माग राख्दै सहकारीकर्मी आन्दोलित भएका छन् । राष्ट्रिय सहकारी महासङ्घले गठन गरेको ‘सहकारी समस्या समाधान सहजीकरण कार्यदल’को नेतृत्वमा चरणवद्ध आन्दोलन घोषणा गरेका सहकारीकर्मीले आज सहकारी विभागमा धर्ना दिए ।

सहकारी ऐन तथा नियमावलीमा भएका व्यवस्था कार्यान्वयन, सहकारी क्षेत्र नियमनका लागि छुट्टै अधिकारप्राप्त नियामक स्थापना, समस्यामा परेका सहकारीका बचतकर्ताको बचत सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने, सहकारी विधेयकमा राखिएको बचतको सीमा हटाउनुपर्ने, हाल कार्यान्वयनमा रहेको सन्दर्भ ब्याजदर खारेज गर्नुपर्नेलगायतका माग उनीहरूका छन् ।

सहकारी क्षेत्रको वित्तीय जोखिम न्यूनीकरण र सदस्यको बचत सुरक्षाका लागि सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याइनुपर्ने आन्दोलनरत सहकारीकर्मीको माग छ । ऐन तथा नियमावलीमा भएका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष स्थापनालगायतका माग राखिएका छन् ।

सहकारी ऐन तथा नियमावलीमा भएको सन्दर्भ ब्याजदरको व्यवस्था खारेज गरिनुपर्ने तथा बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारी संस्थामा पनि बजारअनुसार नै ब्याज निर्धारण गरिनुपर्ने माग सहकारी अभियानको छ । सहकारी सङ्घ संस्थाको अनुगमनका लागि ‘दोस्रो तहको नियामक संस्था’ स्थापना गरिनुपर्ने, सहकारी संस्थाबाट ऋण लिई नतिर्ने मनसाय भएका ऋणीको एकाघर सगोल परिवारको चल अचल सम्पत्ति रोक्का राख्न पाउने व्यवस्था कार्यान्वयन गर्ने, स्थानीय तहदेखि केन्द्रीय तहसम्म सहकारी संस्थाहरुको दर्ता, कार्यक्षेत्र विस्तार र सेवाकेन्द्र स्वीकृतिमा तत्कालै रोक लगाउनुपर्ने लगायतका माग राखिएका छन् ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानको पहिलो जिम्मेवारी स्वयम् सहकारी सङ्घ–संस्थाको रहेको तथा ऐन र नियमावलीका व्यवस्था कार्यान्वयनको विभिन्न चरणमा रहेकाले अहिलेको आन्दोलनको कुनै औचित्य नरहेको सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे बताउँनुहुन्छ ।

“उहाँहरूले जुन कुरा उठाएर आन्दोलन गरिरहनुभएको छ, त्यो कुनै आन्दोलन गर्नुपर्ने विषय नै होइन । त्यो आन्दोलनको कुनै अर्थ पनि छैन किनभने सहकारीमा जतिपनि समस्या देखिएका छन्, त्यो सरकारका तर्फबाट आएका समस्या होइनन् । उहाँहरु आफैँ सहकारीको सञ्चालन र आफैँ आन्दोलन गरिरहनुभएको छ भने त्यसमा विभागको कुनै प्रतिक्रिया छैन”, रजिष्ट्रार घिमिरेले रासससँग प्रतिक्रिया दिनुहुँदै भन्नुभयो ।

विद्यमान कानुनी व्यवस्था कार्यान्वयन र नियामकीय संस्थाका रुपमा विभागले गर्नुपर्ने काम भइरहेको उहाँको दावी छ । “सहकारी ऐन, नियमावली कार्यान्वयनको क्रममा छन् । कार्यान्वयनका प्रक्रिया चलिरहेकै छन् । कतिपय कुरा मन्त्रालयमा छलफल चलिरहेका छन्”, उहाँले भन्नुभयो, “अहिलेको परिस्थितीमा उहाँहरूले आन्दोलन गर्ने समय नै होइन । समग्र सहकारी क्षेत्रका समस्या समाधानका लागि प्रयास थालिएको प्रयास बारे विभागले जेठ १२ जानकारी पनि गराईसकेको छ । हामीले हाम्रो तर्फबाट गर्नुपर्ने काम गरिरहेका छौँ ।”

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडका वरिष्ठ उपाध्यक्ष तथा सहकारी समस्या समाधान कार्यदलका संयोजक ओमदेवी मल्ल भने सहकारी क्षेत्रका समस्या समाधानका लागि पछिल्लो पाँच/छ वर्षदेखि दिइएका सुझाव सरकारले कार्यान्वयन नगरेका कारण अहिले बाध्य भएर आन्दोलनमा जानुपरेको बताउनुहुन्छ । त्यस्तै सरकार र मातहतका निकाय तथा सहकारी अभियानले गर्नुपर्ने कामको समीक्षा गरिनुपर्ने उहाँको भनाइ छ ।

“हामीले अहिले गठाएका विषय अहिले मात्रै आएका होइनन् । विगत पाँच/छ वर्षदेखि ज्ञापनपत्र बुझाउने र आफ्ना माग राख्ने गरिरहेका थियौँ । सुनुवाई नभएपछि अहिले बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्यो”, मल्लले भन्नुभयो, “अहिले एक पक्षले अर्कोलाई आलोचना गर्नेभन्दा पनि सरकारले गर्नुपर्ने र सहकारी अभियानले गर्नुपर्ने के–के विषय छन् भनेर समीक्षा गरिनुपर्छ ।”

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै जिल्लाबाट सुझाव सङ्कलन गरेको र सोहिअनुसार विभिन्न १३ बुँदे माग सरकारलाई बुझाएको उहाँको भनाइ छ । सहकारीकर्मीको आन्दोलनलाई सबै ठूला राजनीतिक दलको समर्थन रहेको पनि उहाँको जिकिर छ । “हामीले नौ वटा राजनीतिक दलका प्रमुख नेता र सम्बन्धित दलको सहकारी विभाग हेर्ने नेतासँग छलफल गर्दा उहाँहरुले पनि आन्दोलनका माग जायज छन् र विरोध कार्यक्रममा समर्थन छ भन्नुभएको छ ।”, मल्लले भन्नुभयो ।

आर्थिकरुपले समस्यामा परेका सहकारी संस्थाको व्यवस्थापनको जिम्मा सरकारले लिएर नागरिकको बचत फिर्ता पाउने ‘ग्यारेन्टी’ गरिनुपर्ने पनि उहाँको भनाइ छ । “नागरिकको सुरक्षाको जिम्मेवारी सरकारको पनि हो । समस्यामा परेका सहकारीको बचत सुरक्षा गर्ने जिम्मेवारी सरकारका तर्फबाट पनि निभाइनुपर्छ । सँगसँगै नयाँ सहकारी खोल्न कडाइ गर्ने र नियमनलाई पनि बलियो बनाउन आवश्यक छ ।”, मल्लले भन्नुभयो ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र त्यसको समाधानको उपाय खोज्ने उद्देश्यले राष्ट्रिय सहकारी महासङ्घको गत चैत १२ गतेको बैठकले सहकारी समस्या समाधान सहजीकरण कार्यदल गठन गरेको थियो । सहकारीकर्मीको धर्ना तथा आन्दोलनको नेतृत्व गरिरहेको उक्त कार्यदलले यही जेठ २ गते १५ दिने ‘अल्टिमेटम’ दिएर सरकारलाई मागपत्र बुझाएको थियो । त्यस्तै, जेठ ८ गते पत्रकार सम्मेलनमार्फत् आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आज शान्तिपूर्ण धर्ना दिएका सहकारीकर्मीले जेठ २१ गतेदेखि सहकारी विभाग बानेश्वर र सबै प्रदेशका सहकारी महाशाखामा धर्ना बस्ने कार्यक्रम रहेका छन् । महासङ्घसँगै जिल्ला सहकारी सङ्घ, काठमाडौँ जिल्ला बहुद्देश्यीय सहकारी सङ्घ लिमिटेडलगायतका सङ्घसंस्था पनि आन्दोलनमा जोडिएका छन् ।

तीस हजारभन्दा बढी सहकारी सङ्घसंस्थामार्फत् रू सात खर्बभन्दा बढी पूँजी परिचालन भएको सहकारी क्षेत्रले एक लाख जनालाई प्रत्यक्ष र १० लाख जनालाई अप्रत्यक्षरुपमा रोजगारी दिइरहेको दावी सहकारी अभियानले गर्दै आएको छ । ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन नहुँदा यो क्षेत्र धराशायी हुँदै गएको र बचतकर्ताको जोखिम बढेपछि बाध्य भएर आन्दोलनमा जानुपरेको कार्यदलको भनाइ छ । त्यस्तै, सहकारीको सिद्धान्त, मूल्य, मान्यता विपरित चलिरहेका सहकारी संस्थाका सञ्चालन तथा व्यवस्थापकले रकम अपचलन गर्दा समग्र सहकारी क्षेत्रप्रति नै अविश्वास बढ्दै गएकाले त्यस्ता संस्थाको सघन अनुगमन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग पनि सहकारीकर्मीका छन् ।

सहकारीको दिगोपनका लागि सहकारी अभियानसँगको समन्वयमा छुट सुविधा र प्रोत्साहनसहितको ‘एकीकरण प्याजेक कार्यक्रम’ तत्काल घोषणा गर्नुपर्ने, विद्यमान असहज परिस्थितीका कारण कर चुक्ता लिन बाँकी रहेका सहकारी संस्थालाई आगामी असार मसान्तसम्म म्याद थप गर्नुपर्ने, कार्यालय सञ्चालनमा समस्या परेका सहकारी सङ्घ संस्थालाई सञ्चालनमा ल्याउन दुई वर्षको कुलिङ अवधि लागु गर्नुपर्ने माग पनि कार्यदलको रहेको छ । त्यस्तै सहकारी सङ्घ–संस्था निर्वाधरुपमा सञ्चालन गर्न तत्काल सबै जिल्ला प्रशासन कार्यालयमा सुरक्षासम्बन्धी परिपत्र गरिनुपर्ने माग रहेको छ ।

किसानलाई राहत दिन समावेशी आयोगको सिफारिश

काठमाडौँ – राष्ट्रिय समावेशी आयोगले किसानसँग सम्बन्धित अनुदान र राहतजस्ता विषयमा नेपाल सरकार समक्ष नीतिगत सिफारिश गरेको छ ।

आयोगले आज पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार किसानको वर्गीकरण गर्न, अनुदान, कर छुट, सहुलितपूर्ण कर्जा, कृषि औजारको उपलब्धता, रसायनिक मलमा जस्तै प्रांगारिक मलमा पनि उत्पादकलाई अनुदान दिन सिफारिश गरिएको हो ।

आयोगका कार्यबाहक अध्यक्ष विष्णुमाया ओझाले रैथाने बीउ, बिरुवाको संरक्षण र प्रवद्र्धन, वैदेशिक कृषि प्रवद्र्धन, नश्ल जातीको अध्ययनलगायतमा सुझाव दिइएको बताउनुभयो । आयोगले कृषि तथा पशुपक्षी मन्त्रालयलाई दिएको सिफारिशमा कृषि ऐन ल्याउन, कृषिसम्बन्धी निित निर्माणमा किसानको सहभागिता गराउन पनि भनिएको छ ।

अबको मिसन ‘सुशासन’ : मन्त्री गुरुङ

वालिङ – नेपाली कांग्रेसका उपसभापति एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अबको बाटो सुशासनको भएको बताउनुभएको छ । कांग्रेस प्रथम भीरकोट नगरसम्मेलनलाई आज स्याङ्जाको बयरघारीमा सम्बोधन गर्नुहुँदै उहाँले भ्रष्टाचारीलाई कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।

“भ्रष्टाचारी प्रवृत्ति भएका जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ, कारवाही हुनैपर्छ”, उहाँले भन्नुभयो, “अनुसन्धानलाई अझै प्रभावकारी ढङ्गले अगाडि बढाऔँ, दोषी कोही उम्किन नपाउन् ।” भुटानी शरणार्थीलगायत फाइलमा आफूहरुले प्रधानमन्त्रीलाई साथ दिएको दावी गर्दै उहाँले यस अभियानलाई निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभयो ।

“भ्रष्टाचार प्रवृत्तिको अन्त्य गर्दै देशलाई अब सुशासनको बाटोमा लैजानु आवश्यक छ”, उहाँले भन्नुभयो, “देशमा सुशासन भएको प्रत्याभूति जनतालाई दिनुपर्ने भएकाले अब बोलेर हैन कामबाट देखाउनुपर्ने बेला आएको छ ।” नागरिकता विधेयकले आमाको नामबाट नागरिकता नपाएका, बाबु आमा नेपाली नागरिक भएर पनि छोराछोरीले नागरिकता नपाएका र गैर आवासीय नेपालीले नेपालको नागरिकता पाउने तर राजनीतिक नेतृत्व गर्न नपाउने गरी तीनवटा कुरा समेटिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य राजु थापाले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारवाही गर्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारको आरोप लागेका कसैलाई पनि कांग्रेसले नबोक्ने र दोषी ठहरिएमा कारवाही भएरै छाड्ने बताउनुभयो । भ्रष्टाचारीलाई कांग्रेसले ढाकछोप गर्ने, बोक्ने होईन बरु अनुसन्धान प्रक्रियामा सघाउने उहाँले बताउनुभयो । नागरिकता विधेयक अहिलेको आवश्यकता भएको दावी गर्नुहुँदै यसकाबारेमा पढेर, बुझेरमात्रै गाउँ गाउँमा रहेका नागरिकलाई बुझाउन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश, जिल्ला, क्षेत्र, नगर तहका नेता कार्यकर्ताले आ–आफ्नो धारणाहरु ब्यक्त गरेका थिए ।

‘नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक र संसद्‍को अपमान’ : प्रदीप ज्ञवाली

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक पारित गरेर ससद्कै अपमान गरेको निष्कर्ष निकालेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।  

एमालेले राष्ट्रपतिलाई  नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाउने मन्त्रीपरिषद्को निर्णय शक्ति पृथकीकरणको सिद्धान्त र लोकतान्त्रिक अभ्यासको मान्यताविपरीत भएको ठहरसमेत गरेको छ ।  

‘राष्ट्रपतिको कदम सर्वोच्च अदालतबाट समेत प्रतिपादित सिद्धान्तविपरीत रहेको छ। निर्धारित समयमा प्रमाणीकरण नभएर निष्क्रिय भइसकेको अवस्थामा नयाँ जनादेश आइसकेपछि संसद्‍मै ल्याउनुपर्ने विधेयक प्रमाणीकरण गरिँदा संसद्‍को अपमान भएको छ। संसद्को विशेषअधिकार खोसिएको छ।’ बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भन्न्ुभयो ।

 एमाले कुनै पनि नागरिक नागरिकताबाट बञ्चित नहुन् भन्ने पक्षमा रहे पनि असंवैधानिक प्रक्रियाबाट अघि बढाइएको यो कदमले समस्याको समाधान दिन नसक्ने उहाँले बताउनुभयो ।  प्रधानमन्त्रीको विदेश भ्रमणअघि नागरिकता विधेयक प्रमाणीकरणले यसमा घरेलुभन्दा विदेशीको चासो रहेको पुष्टि भएको उहाँले बताउनुभयो । 

एमालेका यी ६ सचिव जस्ले पाए प्रदेश इन्चार्जको जिम्मेवारी

काठमाडौं – नेकपा एमालेले केन्द्रीय नेताहरुको जिम्मेवारी व्यापक हेरेफेर गर्दै उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले बागमती प्रदेशबाहेक अन्य ६ प्रदेशको इन्चार्ज तोकेको हो ।

बैठकले कोशी प्रदेशमा रघुबीर महासेठ, मधेशमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्ज तोकेको हो । बागमतीमा भने केन्द्रीय कार्यालयले हेर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे । प्रदेश इन्चार्ज तोक्दा सोही भूगोलभन्दा बाहिरका नेताहरुलाई पठाइएको छ ।

​​​​​​​

‘जिल्ला तथा पालिका इन्चार्जमा पनि हेरफेर गरिएको छ । वाग्मती इन्चार्ज सचिवालयले पछि निर्धारण गर्ने छ,’ सचिव योगेश भट्टराईले भन्नुभयाे , ‘विभागीय प्रमुखको जिम्मेवारी पनि हेरफेर गरिएको छ । सबै केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको छ ।’एमालेले विभाग प्रमुख राजेन्द्र गौतमलाई बनाएको छ । यसअघिको विभागीय प्रमुख पृथ्वीसुब्बा गुरुङलाई संसदीय विभागको प्रमुख बनाइएको छ ।

एमालेको संगठन विभाग प्रमुखमा काशिनाथ, प्रचार विभागमा राजेन्द्र गौतम

काठमाडौं – नेकपा एमालेले संगठन विभाग प्रमुखमा काशिनाथ अधिकारीलाई जिम्मा दिएको छ । यसअघि खगराज अधिकारी विभााग प्रमुख रहेकोमा वागमती इन्चार्ज रहेका अधिकारीलाई संगठनको जिम्मा दिइएको हो ।

केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले प्रचार तथा प्रकाशन विभागमा राजेन्द्र गौतमलाई जिम्मा दिएको छ । यसअघि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ थिए ।

एमालेले जिल्ला इन्चार्जमा स्थायी कमिटी सदस्यलाई पठाउँने र केन्द्रीय सदस्यहरुले पालिका इन्चार्जको जिम्मेवारी लिने निर्णय समेत गरेको छ ।

गर्मी बढेसँगै चितवनका छ पालिकाका विद्यालय बन्द

चितवन – जिल्लाका छ पालिकाले विद्यालय बन्द गरेका छन् । गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

चितवनमा आजको अधिकतम तापक्रम ३९ डिग्री मापन गरिएको छ । सबै पालिकाले स्थानीय बिदा र वर्षे बिदाबाट कटौती हुने गरी पाँच दिन विद्यालय बन्द गरेका छन् । चार वटा पालिकाले आजदेखि जेठ २४ गतेसम्म विद्यालय बन्द गरेका हुन् । जेठ १९ गते स्थानीय बिदा र २१ गतेदेखि २४ गतेसम्म वर्षे बिदामा कट्टी हुनेगरी विद्यालय बन्द गरिएको पालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

रत्ननगर, खैरहनी, राप्ती र माडीले यसरी बिदा गरेका हुन् । भरतपुर महानगरपालिका र कालिका नगरपालिकाले जेठ २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गरेका हुन् । वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको ती पालिकाका शिक्षा शाखाद्वारा जारी सूचनामा उल्लेख छ ।

खैरहनी नगरपालिकाले नियमित सञ्चालन भइरहेका परीक्षालाई भने यथावत सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिनुभयो । गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान असहजता सिर्जना भएकाले विद्यालय बन्द गरिएको पालिकाले जनाएको छ ।

एमालेमा थपिए १३ जना केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं –  नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य थपेको छ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंहसहित १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हाे । 

यी हुन् एमालेले थपेको केन्द्रीय सदस्यको नाम

१. मुकुन्द न्यौपाने, काठमाडौं

२. प्रेमबहादुर सिंह, कालिकोट

३. भागवत विश्वासी, दाङ

४.  चूडामणि जंगली, कास्की

५. हेमराज राई, भोजपुर

६. ठम्मर विष्ट, सुर्खेत

७. उमाशंकर अरगरिया, धनुषा

८. अजय गुप्ता, रौतहट

९. इकवाल मियाँ, बारा

१०. गणेश खनाल, गुल्मी

११. प्रेम तामाङ, रसुवा

१२. यामबहादुर परियार, चितवन

१३. सुरेन्द्र मानन्धर, काठमाडौं

प्रचण्डलाई बास्कोटाको व्यंग्य : हिजो रातै रातो, आज गेंरूरंग, वाह ! क्या चेन्ज आएछ

काठमाडौं – भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको मध्यप्रदेश उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गर्नुभएपछि एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले व्यंय गर्नु भएको छ।

प्रधानमन्त्री प्रचण्डले गेरुवस्त्र लगाएर मन्दिरमा १०० किलोग्राम रुद्राक्ष समेत चढाएर पूजा गरेपछि नेता बास्कोटाले क्या चेन्ज आएछ भन्दै कटाक्ष गर्नुभएको छ।

नेता बास्कोटाको सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘वाह ! क्या चेन्ज आएछ। हिजो हिजो रातै रातो, आज गेंरूरंग। सिद्धान्तको रंग खैरो जीवनको रंग हरियो भन्थे मदनले‍। प्रभुको ईच्छा वा पूर्वीय जीवनदर्शन र सांस्कृतिक मान्यताको बोध ! समयले थप बताउँला।’

उहाँले प्रभुको ईच्छा वा पूर्वीय जीवनदर्शन र सांस्कृतिक मान्यताको बोध लगाउला कि नगराउला भनेर प्रश्न समेत गर्नुभएको छ।

पूजाका क्रममा प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा. प्रकाशशरण महत पनि सहभागी हुनुहुन्थ्यो ।

इन्दोरमा प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गर्नुभएको थियो भने मन्दिरमा राज्यपाल नै पुग्नुभएको थियो ।

अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन

काठमाडौं –  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । 

आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उहाँले कूल शय्याको १० प्रतिशत गरिब, असाहय, विपन्न बिरामीलाई निःशुल्क उपचार सेवाको व्यवस्था गर्न निर्देशन दिनुभयो । “सरकारले सबै सरकारी, निजी अस्पताललाई स्वीकृति दिँदा कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार व्यवस्था गर्नुपर्दछ भनेर सम्झौता गरेको हुन्छ”, उहाँले भन्नुभयो, “हाम्रो सूचनामा धेरै अस्पतालले कार्यान्वयन गरेका छैनन् । सबै अस्पतालसँग एक वर्षमा को–को, कस्ता बिरामीको कसका सिफारिसमा १० प्रतिशत निःशुल्क उपचार गर्नुभयो । त्यो तथ्याङ्क हामी माग्दछौँ ।” 

उहाँले १० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कानूनअनुसार कारबाही गर्ने बताउनुभयो । “जुन जुन अस्पतालले १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था गरेको छैन । ती अस्पताललाई कानूनअनुसार कारबाही गर्दछाँै”, उहाँले भन्नुभयो, “जनताले पाउने त्यो अधिकार दिलाएर नै छाड्छाँै ।” 

मन्त्रालयले पनि अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याई उपचार गर्न दुई पटक निर्देशन दिँदै पत्राचार गरिसकेको छ । मन्त्री बस्नेतले ठूला मानिस मन्त्री, सांसदले भनेपछि अस्पतालमा शय्या पाउने परम्परालाई तोड्दै विपन्न गरिब सबैले अस्पतालमा भनेको बेला शय्या पाउने बताउनुभयो । 

 बिरामीले उपचार गर्दा शय्या नपाइने अवस्था रहेको भन्दै उहाँले अस्पतालमा रहेका शय्या सघन उपचार कक्ष ९आइसियु०, भेन्टिलेटर कति खाली रहेको छ भन्ने कुरा वेबसाइटमा राख्न निर्देशन दिएको बताउनुभयो । “अस्पतालले आफ्नो वेबसाइट शय्याको विवरण राख्ने गर्दछन्”, उहाँले भन्नुभयो, “सोही आधारमा जनुसुकै मानिसले आफूलाई चाहिएको बेला अस्पतालको शय्या पाउने व्यवस्था गर्दछौँ ।” 

मन्त्री बस्नेतले अस्पतालले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा जोड दिएको पाइएको भन्दै उहाँले नचलेको उपकरणलाई मर्मत सम्भार गरेर चलाउन निर्देशन दिएको बताउनुभयो । 

उहाँले निजी अस्पतालको उपचार सेवाको शुल्क फरक रहेकाले एकरूपता कायम गर्ने बताउनुभयो । “अस्पतालले  कति सेवा शुल्क लिन पाउने हो । अहिलेको अवस्था हेरेर विज्ञको सल्लाहमा निजी अस्पतालको सेवा शुल्कमा एकरूपता कायम गर्नेछाँै”, उहाँले भन्नुभयो, “सुविधा राम्रो दिएको छ भने फरक पर्दैन । तर सुविधा नदिइकन धेरै शुल्क लिएको छ भने एकरूपता ल्याउछौँ ।”

मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थको लाग्ने कर बढाउन आफूले पहल गर्ने बताउनुभयो । गङ्गालाल अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले अस्पतालले दिने सेवा सुविधाबारे मन्त्री बस्नेतलाई जानकारी गराउनुभएको थियो ।  

वैवाहिक बन्धनमा बाँधिइन् रास्वपाकी सांसद सोविता गौतम

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले हालै आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग गुपचुपमा विवाह गरेकी हुन् ।

माओवादीमा आवद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा रहेको स्रोत बताउँछ । चितवन घर भएका गृहेन्द्र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा पर्छन् । घरमा पूजा लगाएका बेला सानो जमघटमा उनीहरुले लगनगाँठो कसेको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा गत साता बैबाहिक विधि पूरा गरिएको हो । यद्यपि, दुवै पक्षले विवाहका तस्विरहरु सार्वजनिक गरेका छैनन् ।

सोविता गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं–२ बाट विजयी सांसद हुन् ।

३२ वटा विभागको संयोजन गर्ने जिम्मेवारी पार्टीका वरिष्ठ उपाध्यक्षसहित ७ जनालाई  दिने एमालेको निर्णय

काठमाडौँ – नेकपा एमालेले ३२ वटा विभागको संयोजन गर्ने जिम्मेवारी पार्टीका वरिष्ठ उपाध्यक्षसहित ७ जनालाई दिएको छ ।

आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।

उहाँले साझा नीति बनाएर सरकारलाई दबाब दिने, विज्ञसँग परामर्श गर्ने बताउनु भयो ।

देशभर जनचेतना र अनुगमन सञ्चालन गरिएको छ : अध्यक्ष पराजुली

काठमाडौँ – राष्ट्रिय महिला आयोगले लैङ्गिक, घरेलु, महिला, मानसिक र आर्थिक हिंसा न्यूनीकरणका विषयमा मुलुकभर सकेसम्म समान हिसाबले जनचेतना तथा अनुगमन कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएको छ ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सदस्यको प्रश्नको जवाफमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले सुदूरपश्चिम र कर्णालीसहित देशका अधिकांश जिल्लामा जनचेतना र अनुगमन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आयोेग राजधानी केन्द्रित गतिविधिमा मात्र सीमित छैन, यसै आर्थिक वर्षमै पनि मेरै नेतृत्वमा सुदूरपश्चिमका नौ र कर्णालीका सबै जिल्लामा पुगेर अनुगमन एवं सचेतनाका कार्यक्रम गरेको छ ।” एकद्वार सङ्कट व्यवस्थापन केन्द्र, जिल्ला प्रहरी कार्यालय र सुरक्षित आवासगृहको अनुगमन गरेको बताउँदै अध्यक्ष पराजुलीले कार्यक्रममा जाने क्रममा र तत्काल घटनाका आधारमा अनुगमन गर्दैआएको जानकारी दिनुभयो ।

आयोगका सचिव कमलबहादुर राजलवटले आयोगको क्षेत्राधिकार, कार्यक्रम, सफलता, परिणाम हासिल गर्न देखिँदै आएको चुनौती र नयाँ कार्यक्रमबारे समितिलाई जानकारी गराउनुभयो । महिलाको हक अधिकार संरक्षण र संवर्द्धन गरी विकासको मूल प्रवाहमा महिलाई प्रभावकारीरूपमा समाहित गर्न तथा महिलाको समग्र विकास गर्ने उद्देश्यले आयोग स्थापना भएको हो ।

लैङ्गिक समानता प्रवर्द्धन, महिला सशक्तीकरण र महिला हिंसा निवारणको क्षेत्रमा स्थापनाकालदेखि नै आयोग क्रियाशील रही आएको छ । आयोगलाई महिलाको हकहितसँग सरोकार राख्ने नीति तथा कार्यक्रमको तर्जुमा गरी कार्यान्वयनका लागि सरकारसमक्ष पेश गर्ने कार्यादेश छ ।

आयोगको मुख्य कार्यक्षेत्र भनेको सचेतना जागरण, अध्ययन, अनुसन्धान, अनुगमन, समन्वय र सहकार्य, उजुरी व्यवस्थापन तथा सेवा प्रवाह र सुझाव तथा सिफारिस हो । आयोगले महिला उद्यमशीलता विकासका लागि सरोकारवालासँग अन्तक्र्रिया, महिला हक, हित र अधिकारका विषयमा मुद्दा पहिचान तथा उठान गर्न विभिन्न सरोकारवाला निकायसँग समन्वय बैठकलगायतका कार्य गर्दैआएको छ ।

आयोगले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, स्थापना दिवस, योगमाया स्मृति दिवस, राष्ट्रिय महिला अधिकार दिवस, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा हेल्पलाइन स्थापना दिवसमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको थियो ।

खबर गरौँ ११४५ हेल्पलाइन सेवामार्फत २४ घण्टा हिंसा पीडितको उजुरी लिने, पीडितलाई कानूनी परामर्श, मनोसामाजिक परामर्श तथा निःशुल्क कानूनी सहायता प्रदान तथा असहाय पीडितलाई आश्रयस्थल राख्ने कार्य पनि आयोगले गरिरहेको छ । आयोगमा पछिल्लो समय वार्षिकरूपमा घरेलु हिंसासम्बन्धी एक हजार तीन सय १८ र मानसिक हिंसाका एक सय ४६ दर्ता भएको सो अवसरमा जानकारी दिइयो ।

सो अवधिमा चार सय १८ मनोसामाजिक परामर्श, नौ सय ६४ कानूनी परामर्श, ३९ उद्धार तथा सुरक्षित आश्रयस्थल, एक सय ५० मेलमिलाप र एक सय ५२ अदालत प्रतिनिधित्व प्रदान गरिएको आयोगले जनाएको छ । आयोगको मुख्य समस्याका रूपमा आफ्नै भवन नहुँदा कार्यसम्पादनमा कठिनाइ भएको उल्लेख गरेको छ ।

दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय

काठमाडौं – वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ । 

विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गरेकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो । 

विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, “भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन ।”

मानव बेचबिखन तथा गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले एक सय ५० भन्दाबढी व्यक्तिबाट लाखौँ रुपैयाँ सङ्कलन गरिरहेको र सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन गरिरहेकाले त्यो गिरोहले पर्यटक भिसामा पठाउने र त्यहाँ पुगेपछि काम लगाइदिने प्रलोभन दिने गरेको तथा पर्यटक भिसामा गएर कुनै पनि किसिमको रोजगारमा संलग्न हुने कार्यलाई गैरकानुनी मानिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार दक्षिण अफ्रिकाले दक्ष जनशक्तिका लागि बाहिरी देशबाट श्रमिक ल्याउँदैन । दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगस्ट २०२२ मा प्रकाशित सूचनाअनुसार विशेष ज्ञान, सीप आवश्यकपर्ने एक सय ४० किसिमका दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारीमा लैजाने कानुनी व्यवस्था छ । ती पदका लागि जाँदा पनि नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जानुपर्ने हुन्छ । 

कुनै पनि देश जानका लागि सम्बन्धित देशको भिसा आवश्यकपर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकालगायतका देशमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले त्यस्ता कुराको विश्वास नगर्न पनि विभागद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । भिसासम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग वा ती देश हेर्ने विदेशमा रहेको नेपाली नियोगमा सम्पर्क गरी आधिकारिक जानकारी लिन सकिने निर्देशक तथा सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ता, आइतबार पेसी

काठमाडौं – प्रमाणीकरण नभएर थन्किएर बसेको नागरिकता विधेयक मन्त्रिपरिषदको सिफारीसमा नै राष्ट्रपतिले प्रमाणिकरण गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

गत बुधबार अघिल्लो प्रतिनिधिसभाले पठाएको र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको उक्त विधेयकलाई गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए ।

उक्त प्रमाणीकरणविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीसमेतले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि आइतबारलाई पेसी तोकिएको छ ।

नेपाल–चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल : उपाध्यक्ष सापकोटा

काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत केही आयोजना अनुदानमा निर्माण गरिदिन प्रस्ताव गरेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वमा चीन पुगेको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँगको भेटमा प्रधानमन्त्री दाहालको सन्देशसहित उक्त प्रस्ताव गरेका हुन् ।

सस्तो ब्याजमा नभई केही आयोजना अनुदानमा निर्माण गरिदिए आर्थिक विकासमा फड्को मार्न सजिलो हुने प्रधानमन्त्रीको सन्देश आफूहरुले चिनियाँ पक्षसँग राखेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका उपाध्यक्ष सापकोटाले जानकारी दिनुभयो । भ्रमण अगाडि आफूले प्रधानमन्त्रीसँग भेट गरेको र कुनकुन विषयमा छलफल गर्ने भनेर परामर्श लिएको उहाँले बताउनुभयो ।

“प्रधानमन्त्रीले जुलाई अन्तिम तथा अगष्टमा चीनको भ्रमण हुन्छ भन्नुहोला, बिआरआईअन्तर्गत सस्तो व्याजमा ऋण भनिएको छ, केही योजना अनुदानमा निर्माण गरिदिए आर्थिक विकासमा फड्को मार्न सजिलो हुन्छ भन्ने थियो”, उपाध्यक्ष सापकोटाले भन्नुभयो, “मैले प्रधानमन्त्री सन्देश जोड दिएर राखेँ ।”

उक्त सन्देशलाई चिनियाँ पक्षले सकारात्मक रुपमा लिएको र राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिन फिङसम्म पुर्याउने विश्वास दिलाउनुभएको उपाध्यक्ष सापकोटाले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय व्यापारिक नाका निर्वाधरुपमा सञ्चालन गर्ने विषयमा पनि आफूहरुले कुरा राखेको उहाँको भनाइ छ । “अहिले केही नाका खुलेका छन्, तर तीनलाई व्यवस्थित र सुचारु गर्न बाँकी छ । तातोपानी, केरुङ, कोरला, यारीलगायत नाका सञ्चालन गर्न आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “उहाँहरु सकारात्मक हुनुहुन्छ ।”

उपाध्यक्ष सापकोटाले काठमाडौँ–ल्हासा सिधा उडान गर्न आफूहरुले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताउनुभयो । “हामीले एक चीन नीतिका दृढताका साथ समर्थन गर्यौँ, असंलग्न परराष्ट्र नीतिमा पनि प्रतिबद्ध रहेको र त्यहीअनुसार पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको बडापत्रप्रति हामी प्रतिबद्ध छौँ भनेर विश्वास दिलायौँ”, उहाँले भन्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले नेपालमा कम्युनिष्ट पार्टीको पुनःगठन भए आफूहरुलाई खुसी लाग्ने सन्देश दिएको उपाध्यक्ष सापकोटाले जानकारी दिनुभयो । “एउटा कम्युनिष्ट पार्टीले अर्को मित्र कम्युनिष्ट पार्टीलाई वाम एकता होस्, कम्युनिष्ट पार्टीका पुनःगठन होस् भन्ने सद्भाव राख्ने कुरा त भइहाल्यो”, उहाँले भन्नुभयो, “तर उहाँहरुले बारम्बार के भन्नुहुन्थ्यो भने निर्णय गर्ने तपाईँहरुले हो, त्यसो भए हामीलाई राम्रो लाग्छ, खुसी लाग्छ, भनेर भन्नुभएको छ ।”

अहिलेको पस्थितिमा नेपाल र चीनको सम्बन्धलाई प्रगाढ र मैत्रीपूर्ण बनाउने आवश्यकता रहेको उल्लेख गर्दैै उहाँले दुई देशको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको बताउनुभयो । “चीनले आर्थिक क्षेत्रमा धेरै प्रगति गरेको छ, चीनबाट धेरै सिक्न सक्ने विषय छन् । नेपाल–चीन सम्बन्धलाई मैत्रीपूर्ण, सुदृढ र घनिष्ठ बनाउँदा नै हामीले विश्व राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्छौँ”, उहाँले भन्नुभयो ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुखलगायत विभिन्न प्रान्तका पार्टी प्रमुख र सेक्रेटरीसँग छलफल भएको उहाँले जानकारी दिनुभयो । “अहिले छलफलमा आवश्यक भएका विषय र मिलेर अगाडि बढ्ने विषयमा बृहत कुराकानी भयो”, उहाँले भन्नुभयो, “भ्रमण उपलब्धिमुलक र फलदायी रह्यो ।”

‘अखंड भारत’ अनावश्यक दावी, संशोधनवादी र विस्तारवादी मानसिकता : पाकिस्तानी विदेशमन्त्री

काठमाडौँ – पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले ‘अखंड भारत’ अनावश्यक दावी, संशोधनवादी र विस्तारवादी मानसिकता भएको बताउनुभएको छ ।

इराक भ्रमणमा रहनुभएका विदेशमन्त्री जरदारीले पत्रकारहरुसँगको भेटघाटमा ‘अखंड भारत’ को अनावश्यक दावी संशोधनवादी र विस्तारवादी मानसिकताको अभिव्यक्ति हो जसले यसको पहिचान र संस्कृतिलाई वशमा पार्न  खोजेको बताउनुभएको हो ।

विदेशमन्त्री जरदारीले भन्नुभयो, “हामीले नयाँ दिल्लीको नयाँ संसद भवनमा स्थापित भित्तिचित्रको बारेमा रिपोर्टहरू देखेका छौं। भित्तिचित्रमा तथाकथित प्राचीन भारतलाई चित्रण गरिएको छ, जसमा अहिले पाकिस्तान र अन्य क्षेत्रीय देशहरू समावेश छन्। एक केन्द्रीय मन्त्री लगायत भाजपाका केही राजनीतिज्ञहरूले भित्तिचित्रलाई ‘अखंड भारत’ (एकीकृत बृहत्तर भारत)सँग जोड्दै। ‘अखंड भारत’ को अनावश्यक दावी संशोधनवादी र विस्तारवादी मानसिकताको अभिव्यक्ति हो जसले यसको पहिचान र संस्कृतिलाई वशमा पार्न खोज्छ।”

विदेशमन्त्री जरदारीले भन्नुभयो अखण्ड भारतको विचारलाई भारतमा सत्तारुढ दलका व्यक्तिहरूले बढ्दो रूपमा झुटो प्रचार गरिरहनु गम्भीर चिन्ताको विषय हो। उहाँले भारतीय राजनीतिज्ञहरूलाई भाषणबाजीमा नलाग्न सल्लाह समेत दिनुभएको छ ।

भारतले आधिपत्यवादी र विस्तारवादी महत्वाकांक्षालाई पोषण गर्नुको सट्टा आफ्ना छिमेकीहरूसँगको विवाद समाधान गर्नुपर्छ र शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया निर्माण गर्न उनीहरूसँग मिलेर काम गर्नुपर्ने विदेशमन्त्री जरदारीले बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्घाटन गरेको  नयाँ दिल्लीस्थित नयाँ संसद भवनको भित्तिचित्रमा तथाकथित प्राचीन भारतलाई चित्रण गरिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालसहित तिब्बत, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, थाइल्यान्ड, सिंगापुर, मलेसिया, श्रीलंका, म्यानमार, भुटान, पाकिस्तान, बंगलादेश, इरान, अफगानिस्तान लगायतका देशहरू समावेश छन्।

विवादास्पद भित्ते चित्रले नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेत समेटेको छ ।भारतको विवादास्पद भित्तेचित्रले अनावश्यक र घातक कूटनीतिक विवाद निम्त्याउने विश्लेषकहरु बताउछन् ।

उज्जैनस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहालको पूजा

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेका छन् । प्रधानमन्त्री दाहालले सो मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष समेत चढाएका छन् ।

महाकालेश्वर मन्दिर भारतको बाह्र ज्योतिर्लिंग मध्ये एक हो।

भारत भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल मध्य प्रदेश पुगेका हुन् । मध्य प्रदेशको इन्दौरमा प्रधानमन्त्री दाहाललाई त्यहाँका मुख्यमन्त्री शिवराज चौहानले स्वागत गरेका थिए । इन्दौरको फोहोर व्यवस्थापनको विषयमा पनि अवलोकन भ्रमण गर्ने प्रधानमन्त्री दाहालको कार्यक्रम रहेको छ ।

दाहाल  शुक्रबार इन्दौरको होटल मेरियटमा बस्नेछन् । त्यहाँ उले  मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग  भेट गर्नेछन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको पनि आयोजना गर्नेछन् । दाहाल शनिबार दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण

काठमाडौँ – पौरखी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सम्बन्धित मुलुकमा पुगेपछि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ ।

उक्त संस्थाद्वारा आज आयोजित ‘वैदेशिक रोजगारमा जाने श्रमिक र प्रवासी महिला श्रमिकको स्वास्थ्य तथा एचआइभीबाट प्रभावितका सन्र्दभमा नेपालको विद्यमान कानुन, नीति, कार्यक्रम तथा तिनमा गर्नुपर्ने सुधारसम्बन्धी’ अन्तक्र्रिया कार्यक्रमका सहभागीले अभिमुखीकरण कार्यक्रम गरिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा संस्थाका संस्थापकअध्यक्ष मञ्जु गुरुङले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य अवस्था तथा उनीहरुका लागि सम्बन्धित मुलुकको विद्यमान कानुनी व्यवस्थाबारे सचेतना गराउन जरुरी रहेको बताउनुभयो । गन्तव्य मुलुकको कार्यप्रकृति, स्वास्थ्यमा देखापर्ने समस्या र समाधानका उपायका बारेमा अवगत हुनुपर्ने भएकाले रोजगारपूर्व श्रमिकलाई अभिमुखीकरण तालिम खाँचो पर्ने उहाँको भनाइ थियो ।

पत्रकार सुनिल न्यौपानेले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि नेपालमा भइरहेका व्यवस्था, त्यहाँ गर्नुपर्ने काम, रणनीतिक योजनालगायत विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा वैदेशिक रोजगारीमा पुगेका श्रमिकमा देखापर्नसक्ने मानसिक अवस्थाको जाँच गराउनुपर्ने, सुरक्षित आप्रवासीसम्बन्धी कार्यविधि ठाउँअनुसार फरक–फरक हुनुपर्ने, स्वदेश फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग समन्वयन गरी व्यवस्था मिलाउनु पर्नेलगायत विषयमा छलफल भएको थियो ।

त्यस्तै नेपालमा एचआइभी एड्स सङ्क्रमणको सबैभन्दा जोखिमा दोस्रो वर्ग अर्थात् प्रवासी श्रमिक वा तिनका श्रीमती हुने भएकाले सोसम्बन्धी रणनीतिक योजना प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने, पोषणयुक्त खानाको अभावले श्रमिक महिलाको प्रजनन् स्वास्थ्यमा देखापर्ने समस्या, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको मृत्यु हुनाको कारण तथा गन्तव्य मुलुकमा सामाजिक सुरक्षासम्बन्धी भएका व्यवस्थाबारे कार्यक्रममा समावेश हुनुपर्नेलगायत विषयमाथि छलफल भएको थियो ।

‘अखण्ड भारत’ को नयाँ नक्साविरुद्ध दूतावास अगाडि विरोध

काठमाडौं – राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालले भारतबाट नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार भएको भन्दै विरोध प्रदर्शन गरेको छ । 

लैनचौरस्थित नेपालका लागि भारतीय दूतावास अगािड शुक्रबार प्रदर्शन गरेको संगठन संयोजक सुजित केसीले जानकारी दिए । भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख गररेर भारतले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार गरेको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको उनले बताए । सोही क्रममा ‘अखण्ड भारत’ नक्सासमेत जलाएको संयोजक केसीले जानकारी दिए । 

यसअघि संगठनले विज्ञप्तिमार्फत् सो नक्सा सच्याउन माग गरेको थियो भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । तर, भारतले सो नक्सा नसच्याएपछि आन्दोलनमा उत्रिनुपरेको संयोजक केसीले बताए । 

सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट

काठमाडौं – नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीले रिट दायर गरेका हुन् ।

नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि शुक्रबार राजपत्रमा प्रकाशित भएको थियो । नागरिकता विधेयक बारे प्रारम्भिक सुनुवाइका लागि आईतबार पेशी तोकिएको अधिवक्ता भण्डारीले जानकारी दिए।

मिटरब्याजीविरुद्ध थुप्रै उजुरी

धनुषा – मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ ।

उजुरीका लागि सुरुमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म समय तोकिएकामा उजुरी आउने क्रम जारी रहेकाले सात दिन म्याद थप गरी जेठ ७ गतेसम्मका लागि बढाइएको थियो । जेठ ७ गतेसम्म पनि उजुरी आउने क्रम नरोकिएकाले पुनः जेठ १४ गतेसम्म समय थपिएको थियो ।

जिल्लामा दुई हजार छ सय ११ वटा उजुरी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो । यसैगरी महोत्तरी जिल्लामा दुई हजार तीन सय ३६ उजुरी प्राप्त भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्न गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितबाट निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएपछि पीडितले आफूसँग उपलब्ध रहेका प्रमाणसहित निवेदन दिएका थिए । निवेदन फारम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले निःशुल्क भरिदिने प्रबन्ध मिलाइएको थियो ।प्रदेशको आठवटै जिल्ला प्रशासन कार्यालयमा दैनिक सयौँको सङ्ख्याका मिटरब्याज पीडितले उजुरी दर्ता गराएका थिए ।

कालापानी छोडेर बंगलादेश जाने  बाटोबारे सोच्न सकिन्छ : प्रधानमन्त्री

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र छाडेर पूर्वी नाकाबाट सिधा बंगलादेश जाने बाटो लिन सकिने विकल्प नेपालसँग रहेको बताएका छन्।

भारतको चार दिने भ्रमणमा रहेका उनले शुक्रबार दिल्लीमा नेपालका सञ्चारकर्मीहरुसँग उनले सीमा समस्या समाधानका लागि यो विकल्पमा कुरा सुरु भएको बताएका हुन्।
‘दुई देशबीच रहेको सीमा समस्याबारेमा यस पटक अलिक गम्भीर कुरा भएको छ। भारतीय मिडियामा पनि कालापानीबारे चर्चा भएको छ। त्यसको समाधान गर्नुपर्छ भनेर त लेखेकै छन्’, उनले भने, ‘हामीले भारतीय पक्षसँग छलफल गर्दा विभित्र विकल्पमा कुरा भएको छ। एउटा त बंगलादेशको जस्तै विकल्प छ। बंगलादेश र भारतबीच लामो समयदेखि समस्या थियो, तर उनीहरूले हल गरे। एउटा त्यो मोडेल हुन सक्छ।’

प्रचण्डले भने , ‘अर्को चाहिँ बंगलादेशसम्म सिधै जाने बाटो हामीलाई चाहिएको छ भन्ने कुरा नेपालले उहिल्यैदेखि उठाइरहेको छ। त्यो हाम्रो आवश्यकता पनि हो र चाहना पनि हो’, उनले भने, ‘त्यसबारेमा कहीँ म्यानेज गर्न सक्ने हो भने पनि एउटा हल हुन सक्छ। हाम्रा विज्ञहरूको सुझाव त्यो आउने पनि गरेकै छ। नेपालमा विज्ञहरूले त्यतापट्टी ९पूर्वी नाका० पाउने हो भने पनि ठीकै छ भनेका छन्, त्यो पनि विकल्प हुन सक्छ। अथवा अरू विकल्प पनि हुन सक्छन्।’

पश्चिमी क्षेत्रको सीमा समस्या हल गर्न सकेमा अरु विषयमा अघि बढ्न सकिने पनि उनले बताए। ‘यसलाई हल गर्यो भने अरू इकोनोमिक, कल्चरल सम्बन्ध त छँदैछ हामीबीच’, उनले भने, ‘यसकारण हिजोबाट विकल्पहरू के के हुन सक्छन् त भन्नेमा गइसक्यो। अथवा त्यहीँ ९कालापानी० पनि केही गर्न सकिन्छ त भन्ने पनि छँदैछ। हिजोबाट बाउन्ड्रीबारे सकारात्मक, कन्सट्रक्टिभ डिबेक्ट सुरू भयो।’

सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास

झापा – नेपाली सेनाको अगुवाइमा झापामा विपद् व्यवस्थापन नमूना अभ्यास गरिएको छ । अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको सहभागिता थियो ।

अर्जुनधारा नगरपालिका–९ स्थित सहिद स्मृति उद्यानको जलाशयमा उक्त अभ्यास गरिएको हो । बाढी र डुबानबाट निम्तिने विपद्का बेला सर्वसाधारणले अपनाउनुपर्ने सावधानी, बस्तीमा बाढी पसेपछि गरिने उद्धार कार्य, घाइतेको उपचार र राहत वितरणलगायतको कार्यको कृत्रिम अभ्यास प्रदर्शन गरिएको थियो ।

झापा मुलुककै बाढी तथा डुबानको उच्च जोखिम क्षेत्रमा पर्दछ । जिल्लाका १५ पालिकामध्ये भद्रपुर, अर्जुनधारा, मेचीनगर, कनकाई, शिवसताक्षी, दमक, गौरादह, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्ज र कमल पालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल बताउनुहुन्छ ।

बाढी र डुबानको उच्च जोखिममा रहेको हुँदा समुदायलाई सम्भावित क्षतिबाट जोगाउन सरोकारवाला निकायले बर्सेनि यस्तो अभ्यास गर्दै आएको र यसबाट उद्धारमा खटिने जनशक्तिको क्षमता अभिवृद्धि हुने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।

नमूना अभ्यास क्रममा बाढी आएर बस्ती डुबानमा परेपछि कोलाहल मच्चिएको, वडाध्यक्षले आपत्कालीन उद्धार निकायमा सूचित गरेको, प्रमुख जिल्ला अधिकारीले उद्धारमा खटिन सुरक्षाकर्मी परिचालन गरेको, सावधानीका लागि साइरन बजेको, उद्धारमा खटिएका सुरक्षाकर्मीले रबरबोट तथा केराका थामको डुङ्गा बनाई पीडितको उद्धार गरेको, रेडक्रसकर्मीले घाइतेको प्राथमिक उपचार गरेको र राहत सामग्री वितरण गरिएकोलगायतका दृश्य देखाइएको थियो ।

झापामा प्रत्येक वर्ष बाढीबाट १० हजार परिवार प्रभावित हुँँदै आएको रेडक्रसको तथ्याङ्कमा उल्लेख छ । नेपाली सेनाको २१ नम्बर बाहिनीका सहायक रथी धनबहादुर थापा, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोमदेन, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाली सेनाको अरिदम गण चारआलीका प्रमुख सेनानी इमेशमेहर श्रेष्ठ, सशस्त्र प्रहरी २ नं गणका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजाललगायतले सामुदायिक विपद् व्यवस्थापनका लागि गरिएको नमूना अभ्यासको अवलोकन गर्नुभएको थियो ।

अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई सय जना र रेडक्रसकर्मी ५० जनाले भाग लिएका थिए । स्थानीय स्वस्तिका शिशु सदन र महारानीगञ्ज माविका विद्यार्थीलाई विपद्को अवस्था र जोखिम न्यूनीकरणबारे सुरक्षाकर्मीले प्रशिक्षण दिएका थिए ।

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ ।

महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो । जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गर्दै महानगरले व्यवसायीलाई सवारीसाधान गोँगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।

काठमाडौँ महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउन आग्रह गरेको छ । “काठमाडौँबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँग आग्रह गरिन्छ”, महानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।

बैठकले निर्णय गरिसकेपछि पनि अनाधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको महानगरले जनाएको छ । धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले जनाएको छ । सूचनाको अटेरी गरे असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीले नियमानुसार कानुनी कारबाही गर्नेसमेत महानगरको सूचनामा उल्लेख छ ।

विपद् उद्धारका लागि गोताखोर तयार

काठमाडौँ – सरकारको उद्देश्यअनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर तयार पारेका छन् । यसपटक १९ सशस्त्र प्रहरी कर्मचारी र एक नेपाल प्रहरी गरी २० गोताखोर तयार गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता राजेन्द्र खड्काका अनुसार पाँच हप्ताको उक्त तालिम त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोसी नदीमा दिइएको थियो । यस वर्ष गण्डकी प्रदेश सरकारको सहयोगमा गत वैशाख १० गतेदेखि सशस्त्र प्रहरीले २० प्रहरी कर्मचारीलाई पाँच हप्ते गोताखोर तालिम दिएको हो । योसँगै सशस्त्र प्रहरी बल नेपालमा हाल ७४ गोताखोर तालिमप्राप्त जनशक्ति तयार भएको खड्काले बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपालले गोताखोर परिचालन गरी हालसम्म दुई सय ७३ घटनामा आठ सय दुई जनाको जीवितै उद्धार तथा तीन सय १७ शव निकालेको उहाँले जानकारी दिनुभयो । यसअघि सशस्त्र प्रहरी बलले २५ सशस्त्र प्रहरी कर्मचारीलाई युएनडिपीको सहयोगमा बङ्गलादेशमा २०६९ वैशाखमा तीन महिने गोताखोर तालिम दिलाएको थियो ।

गोताखोर तालिमप्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्यअनुरुप सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह बाहिनी मुख्यालयमा सुनसरीमा २०७६ असोज ९ गतेदेखि कात्तिक २५ गतेसम्म १९ सशस्त्र प्रहरी कर्मचारीलाई नेपालमै पहिलोपटक गोताखोर तालिम प्रदान गरिएको थियो । यस्तै सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयमा २०७९ वैशाख २५ देखि जेठ २९ गतेसम्म उनीहरूलाई गोताखोर तालिम प्रदान गरिएको थियो ।

स्थानीय तहले करको दरमा एकरुपता ल्याउने

वीरगन्ज – वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा पर्ने तीनैवटा स्थानीय तहले अगामी आर्थिक वर्ष २०८०÷८१ देखि करको दरमा एकरुपता ल्याउन गृहकार्य थालेका छन् ।

वीरगन्ज महानगरपालिकाको पहलमा औद्योगिक करिडोर क्षेत्रमा पर्ने वीरगन्ज महानगरपालिकासँगै पर्साको परवानीपुर गाउँपालिका र बाराको जितपुर सिमरा उपमहानगरपालिकाले अगामी आव २०८०÷८१ देखि करको दरमा एकरुपता ल्याउने सहमति गरेका हुन् । तीन स्थानीय तहका प्रमुखबीच भएको बैठकले करको दर र आयका शीर्षकमा एकरुपता ल्याउने निर्णय गर्दै त्यसका लागि कार्यदल बनाइएको छ ।

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले औद्योगिक करिडोरमा पर्ने तीनैवटा सरकारले यहाँका उद्योगी–व्यवसायी तथा स्थानीयको सहजताका लागि करको दरमा एकरुपता ल्याउन खोजिएको बताउनुभयो । संयुक्त बैठकले आयका शीर्षक र करको दरमा एकरुपता ल्याउन वीरगन्ज महानगरपालिकाका राजस्व शाखा प्रमुख मनोज कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

समितिमा जितपुर सिमरा उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख रामप्रसाद शर्मा र परवानीपुर गाउँपालिकाका राजस्व शाखा प्रमुख कृष्णप्रसाद यादव सदस्य छन् । कार्यदलले यस क्षेत्रमा कुन विषयमा कति कर लगाउन मनासिव देखिन्छ भन्नेबारे अध्ययन गरेर तीन दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ । कार्यदलले अध्ययन गरेर प्रतिवेदन दिएपछि पुनः बैठक बसेर त्यसबारेमा निर्णय लिइने महानगर प्रमुख सिंहले बताउनुभयो ।

महानगर प्रमुख सिंहको अध्यक्षतामा बसेको बैठकमा जितपुर सिमराका प्रमुख राजन पौडेल, वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, जितपुर सिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी, परवानीपुर गाउँपालिकाका प्रमुख राछत्रीप्रसाद कुर्मी, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललगायत सहभागी थिए ।

भारतले नेपालको भू-भागसहितको नक्सा संसद्मा राखेपछि त्यसको प्रतिवाद गर्न अध्यक्ष ओलीको निर्देशन  

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालको भू-भागसहितको नक्सा संसद्मा राखेपछि त्यसको प्रतिवाद गर्न निर्देशन दिनुभएको छ । 

बिहीबार साँझ एमालेका राष्ट्रियसभामा सदस्य सबै १८ जना सांसदहरूसँगको छलफलमा अध्यक्ष ओलीले अखण्ड भारतको नक्साको प्रतिवाद गर्नुपर्ने बताउनुभएको हो । 

भारतले नयाँ संसद् भवनमा राखेको अखण्ड भारत नक्सामा नेपालका लुम्बिनी, कपिलवस्तु र विराटनगरलगायतका भू-भाग समेटिएको छ । त्यसको नेपालमा चौतर्फी विरोध भइरहेको छ । 

राष्ट्रियसभा सदस्यहरूसँग अध्यक्ष ओलीले अखण्ड भारतको नक्साको सदन र सडकबाट प्रतिवाद गर्न निर्देशन दिनुभएको हो ।  

छलफलमा सहभागी एक सांसदका अनुसार नेपाली भूमि समेटेर भारतले नक्सा जारी गर्नु आपत्तिजनक रहेको अध्यक्ष ओलीको भनाइ थियो । उहाँले राष्ट्रियसभामा यस विषयलाई एमालेका तर्फबाट खुलेर प्रतिवाद गर्न सांसदहरूलाई निर्देशन दिनुभएको छ । 

साँझ साढे ६ बजेदेखि करिब दुई घण्टा बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले राष्ट्रियसभामा हाल भइरहेका गतिविधिका बारेमा जानकारी लिनुभएको थियो । 

”अध्यक्षज्यूले राष्ट्रियसभामा के भइरहेको छ, कुनु कुन विधेयकमा छलफल चलिरहेको छ आदि विषयमा जानकारी लिनुभयो”, एमाले राष्ट्रियसभा दलका नेता देवेन्द्र दाहालले भन्नुभयो,”वर्तमान सरकार नेपालको लागि भन्दा अरू कसैको हितमा काम गर्न उद्धत रहेकोले एमालेले सबै मोर्चाबाट प्रतिवाद गर्नुपर्छ भन्ने उहाँको निर्देशन छ ।”

राष्ट्रियसभामा छलफलमा रहेका नेपाल विश्वविद्यालय विधेयक, राष्ट्रिय मर्यादा कायम गर्न बनेको विधेयक आदिका बारेमा अध्यक्ष ओलीले जानकारी लिनुभएको दाहालले जानकारी दिनुभयो ।

गण्डकीका खेलाडीको लगत राखिने

गण्डकी – प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको लगत सङ्कलन गर्ने भएको छ । परिषद्ले हालसम्म राष्ट्रिय खेलकुद प्रतियोगितादेखि ओलम्पिकसम्म पुगेका खेलाडीको तथ्याङ्क जुटाउन लागेको हो ।

परिषद्का सदस्यसचिव श्रीधर शर्माले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिलाई जिल्ला तहमा रहेका खेलाडीको व्यक्तिगत विवरणसहितको लगत पठाउन परिपत्र गरिसकेको बताउनुभयो ।

“प्रतियोगितामा पाएको पदकसहित खेलाडीको विवरण सङ्कलन गर्दैछौँ, आउँदो असारभित्र सबै राष्ट्रिय खेलाडीको तथ्याङ्क तयार हुन्छ”, उहाँले भन्नुभयो, “खेलाडी भनेको हाम्रो सम्पत्ति हो, सम्मानका लागि पनि खेलाडीको नाम र योगदानलाई लिपिबद्ध गर्नुपर्छ ।”

सदस्यसचिव शर्माले प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका खेलाडी कति छन् भन्ने यकिन तथ्याङ्क अहिलेसम्म नरहेको उल्लेख गर्नुभयो । खेलाडीको लगत लिँदा प्रदेशमा कुन खेलको अवस्था र सम्भावना कस्तो छ भनेरसमेत थाहा पाउन सकिने परिषद्ले जनाएको छ । गण्डकी प्रदेशमा विश्व खेलकुदको महाकूम्भ ओलम्पिकसम्म भाग लिएका खेलाडी छन् ।

प्रधानमन्त्री दाहाल इन्दौर प्रस्थान

नयाँ दिल्ली – भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री दाहालले इन्दोरमा अवस्थित महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा मध्यप्रदेशका राज्यपालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले सम्पादन गरेको कामको बारेमा उहाँले जानकारी लिने कार्यसूची छ ।

फोहर व्यवस्थापनमा सकारात्मक परिणाम देखिएको इन्दोरको असल र सफल अभ्यासको अवलोकनपछि प्रधानमन्त्री दाहालकोे सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

शनिबार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले ‘टिसीएस इन्फोसिस’ विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । बिहीबार प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको थियो । प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल

नयाँ दिल्ली – भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताउनुभएको छ । नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताउनुभयो ।

नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।

“जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ”, उहाँले भन्नुभयो, “नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भयो ।”

महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । “यीलगायत विभिन्न कारणबाट मेरो भारत भ्रमण महत्वपूर्ण रह्यो, प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक भएको ‘वान टु वान’ छलफलबाट यो सहमति भएको हो”, उहाँले भन्नुभयो ।

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री दाहालले बताउनुभयो । सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौँ भनेर आफूले प्रस्ताव गरेको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पारवहन सम्झौताको पुनरावलोकन र नवीकरण, अन्तरदेशीय प्रसारणलाइन निर्माण, पेट्रोलियम पाइपलाइन निर्माण र विस्तार, एकीकृत जाँच चौकी निर्माण, महाकाली नदीमा पक्की पुल निर्माण, अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यही जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा बिहीबार प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल आज मध्यप्रदेशको इन्दोर जाने कार्यक्रम छ । त्यहाँ रहँदा उहाँले मध्यप्रदेशका राज्यपालसँग भेटवार्र्ता तथा फोहोर व्यवस्थापन अभ्यासको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको भ्रमणले भारतीय लगानीको ढोका खोलेको छ : चन्द्रप्रसाद ढकाल

नयाँ दिल्ली – नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहुन्छ । प्रतिनिधिमण्डलमा यसअघिजस्तै नेपालका उद्योगी व्यवसायीको पनि सहभागिता छ । हिजो साँझ नेपाल र भारतीय उद्योगी, व्यवसायीको संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको महत्व र विशिष्टताको प्रशंसा र आवश्यकता दर्शाउनुभएको छ । भ्रमणका क्रममा बिहीबार केही महत्वपूर्ण सहमति वा समझदारीपत्रमा हस्ताक्षर पनि भएका छन् । त्यसले नेपालको दीर्घकालीन विकास र समृद्धिका लागि भारतीय लगानीको मार्गप्रशस्त पनि गरेको छ । यसपटकको प्रधानमन्त्रीको भ्रमणमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घले नै समग्र निजी क्षेत्रलाई भ्रमणको क्रममा प्रतिनिधित्व गराएको थियो ।

महासङ्घ र भारतीय उद्योग परिसङ्घको आयोजनामा हिजो साँझ भएको नेपाल बिजनेस समिटका क्रममा दुवै देशका उद्योगी व्यवसायीले नेपालमा लगानीका सम्भावना र क्षेत्रका बारेमा पनि चर्चा गरेका थिए । समिटमा ठूलो सङ्ख्यामा दुवै देशका उद्योगी व्यवसायीको सहभागिता थियो । प्रधानमन्त्री प्रचण्ड, नेपालबाट भ्रमणमा सहभागी अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत तथा भारतीय सङ्घीयमन्त्री पियुस गोयललगायत नेपाली उच्च सरकारी अधिकारीको पनि सहभागिता रहेको समिट आफैँमा उदाहरणीय नै बन्न पुगेको थियो । यस भ्रमण, निजी क्षेत्रको अपेक्षा र नेपालमा भारतीय लगानीको आयाममा केन्द्रित रहेर नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग नयाँ दिल्लीमा राससका समाचारदाता रमेश लम्सालले गरेको अन्तरवार्ताको सम्पादित अंश ः

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ अध्यक्षको तर्फबाट कसरी हेर्नुभएको छ ?

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा निजी क्षेत्रको तर्फबाट सबैभन्दा ठूलो प्रतिनिधिमण्डल यसपटक सहभागी छ । यो आफैँमा पनि महत्वपूर्ण छ । निजी क्षेत्रलाई महत्व दिएर सहभागी गराउनुभएकामा प्रधानमन्त्रीज्यूलाई हामी निजी क्षेत्रका प्रतिनिधिहरूले धन्यवाद दिन चाहन्छौँ । भ्रमणमा भएका केही सहमतिहरू आफैँमा पनि महत्वपूर्ण रहेका छन् । भारत सरकारले १० वर्षमा १० हजार मेगावाट बिजुली लिने निर्णय स्वयं प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभयो, यो आफैँमा महत्वपूर्ण छ । यसले निजी क्षेत्रलाई पनि थप लगानीका लागि मार्गप्रशस्त गरेको छ भन्ने हाम्रो बुझाइ हो । यसले नेपालको समग्र क्षेत्रको लगानीलाई थप विविधिकरण गर्ने छ भन्ने हामीले अनुमान गरेका छौँ । यसले लगानीको सुनिश्चितता पनि गर्नेछ । समग्र अर्थतन्त्रमा यसले ठूलो सहयोग गर्नेछ ।

सँगसँगै भ्रमणका क्रममा भएका अन्य सहमति तथा समझदारीले नेपालको विकास र समृद्धिको प्रक्रियालाई पनि गति दिनेछ । नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनाम अभिव्यक्त भएका धारणा आदिबाट पनि यो भ्रमण सफल भयो भन्ने मेरो ठहर छ । पत्रकार सम्मेलनका क्रममा उहाँहरूमा देखिएको आत्मविश्वासले पनि आगामी दिनमा द्विपक्षीय हितका विषयमा थप सहजता देखिँदै जाने अपेक्षा गर्न सकिन्छ । यसले आमरूपमा प्रष्ट सन्देश दिएको छ भन्ने मेरो बुझाइ छ । जलविद्युत् क्षेत्रको विकासका कुरा, सडक सञ्जालको विकास, डिजिटल भुक्तानीको विषयका अलावा रेल्वे लाइन विस्तार, एकीकृत जाँचचौकीको निर्माण, सञ्चालनलगायतका विषयले पनि थप स्पष्ट पारेको छ । यी विविध कारणले गर्दा भ्रमण सफल भयो भन्ने मेरो ठहर छ ।

उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको विजनेश समिटको अन्तर्य के थियो ? प्रधानमन्त्रीको भ्रमणको क्रममा यस्तो कार्यक्रमको आयोजना गरेर यहाँहरूले के सन्देश दिन खोज्नुभएको हो ?

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नै हामीले यस खालको उद्योगी–व्यवसायीको साझा प्रयासबाट नेपाल बिजनेस समिटको आयोजना गर्यौँ । यो आफैँमा महत्वपूर्ण अवसर पनि हो । यसबाट दुवै देशका उद्योगी व्यवसायीको साझा मत, साझा चासोलाई एकै ठाउँमा राख्ने अवसर पनि पायौँ । भारतका उद्योगी व्यवसायीलाई पनि एकै स्थानमा भेला गरायौँ । सो समिटमा हाम्रा प्रधानमन्त्रीका अलावा भारतका उद्योगमन्त्री पियूष गोयलको पनि सहभागिता रह्यो । उहाँले सो कार्यक्रममा दिनुभएको अभिव्यक्ति पनि हाम्रा लागि महत्वपूर्ण रहेको छ । नेपालमा लगानीका लागि भारतीय निजी क्षेत्रलाई उहाँले गर्नुभएको आग्रह निकै सकारात्मक र अर्थपूर्ण छ । भारतीय व्यवसायीहरूलाई नेपालमा लगानीका लागि उहाँले सार्वजनिकरूपमा अभिप्रेरित गर्नुभएको विषय हामी नेपाली व्यवसायीहरूका लागि पनि महत्वपूर्ण छ ।

सोही अवसरमा प्रधानमन्त्रीले नेपालमा लगानी गर्ने अवसर छ, त्यसमा सरकारले जुन खालको सहयोग गरेको छ र सहजीकरण गरेको छ भनेर प्रस्तुत गर्नुभएका धारणाले मलाई लाग्छ भारतीय साथीहरूलाई केही न केही प्रभावित पारेकै होला । सरकारले निजी क्षेत्रलाई लगानीका लागि अभिप्ररित गरेको छ र निजी क्षेत्रबिना विकासको प्रक्रिया अगाडि बढ्न सक्दैन भनेर हामीलाई उत्साहित गर्ने काम पनि प्रधानमन्त्रीज्यूले गर्नुभएको छ । यो पक्ष दुवै देशका व्यवसायीका लागि खुसीको विषय हो । निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी जुन योगदान छ, त्यसले पनि हाम्रो भूमिका के–कति हदसम्म महत्वपूर्ण छ भन्ने देखाएको छ । आन्तरिक र बाह्य लगानीलाई थप सहजीकरण नगर्दासम्म मुलुकको विकास र समृद्धिले अपेक्षित गति लिन सक्दैन भन्ने कुरा त स्पष्ट नै छ र यो बुझाइ आमरूपमा नै सतहमा आएकै छ । यसबाट हामी उत्साहित पनि छौँ र देश निर्माणमा हामीले आफूलाई जिम्मेवार महसुस पनि गरिरहेकै छौँ । प्रधानमन्त्री प्रचण्डले बिजनेस समिटमा भारतीय लगानीकर्तालाई जसरी खुल्ला हृदयका साथ नेपालमा लगानी गर्न आउनुहोस् भन्नुभयो, त्यसले मलाई लाग्छ पक्कै पनि केही न केही प्रभावित पारेको छ भन्ने लागेको छ । कतिपय भारतीय व्यवसायी साथीहरूले यस विषयमा हामीसँग पनि जिज्ञासा राखेका छन् र हामीले पनि विश्वस्त तुल्याउने प्रयास गरिरहेका छौँ ।

यहाँले हिजो समिटमा सम्बोधनका क्रममा नेपालमा लगानी गरेका भारतीय कम्पनीले राम्रो नाफा कमाएको दृष्टान्त प्रस्तुत गर्दै नेपालमा लगानीका लागि आमन्त्रण गर्नुभयो । यसबाट भारतीय लगानीकर्ता कत्तिको आश्वस्त हुनसके भन्ने ठान्नुहुन्छ ?

पक्कै पनि नेपालमा लगानी गरेका भारतीय कम्पनीले गरेको प्रगति सबैले थाहा पाएकै विषय हो । मैले त यहाँका उद्योगी, व्यवसायीहरूलाई त्यो उदाहरण प्रस्तुत गरेर नेपालमा आउनुहोस् र लगानी गरेर नाफा कमाउनुहोस् भनेको हो । निजी क्षेत्रको छाता सङ्गठनको हिसाबले पनि यो विवरण हामी आफैँमा पनि उदाहरणीय छ र हुनुपर्छ । सबैभन्दा बढी कर तिर्ने नेपालका पाँच ठूला कम्पनीमध्ये तीनवटा भारतीय लगानीकै छन् । भारतीय लगानीका कम्पनीले राम्रो प्रतिफल दिएका छन्, नेपालमा ठूला करदाता नै भएका छन् । त्यसमा एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, डाबर नेपाल, युनिलिभरलगायत छन् । कुल राजस्वमा योगदान गर्नेमा पनि विदेशी कम्पनी छन् । यसबाट के देखिन्छ भने नेपालमा लगानीका लागि अवसरै अवसर छन् । यो भावना त हिजोको कार्यक्रममा भारतीय उद्योगमन्त्रीले दिनुभएको अभिव्यक्तिमा पनि देखिन्छ ।

मलाई के लाग्छ भने नेपालमा अवसरै अवसर, धेरै सम्भावना छ । हरेक क्षेत्रमा सहजै लगानी गर्न सकिन्छ भन्ने स्पष्ट छ । जलविद्युत्, पर्यटन, सेवा क्षेत्र, भौतिक पूर्वाधार जहाँ लगानी गरे पनि हुन्छ । कृषि वा सेवा क्षेत्र जताततै लगानी गर्न सकिन्छ । वास्तवमा भन्ने हो भने हाम्रोमा जलविद्युत् क्षेत्रमा जुन खालको लगानीको अवसर छ, त्यसमा हालसम्म एक प्रतिशत पनि काम भएको छैन । हाम्रो वातावरणमा पनि उत्तिकै विविधता छ । प्रकृतिले दिएको अवसर पनि उत्तिकै महत्वपूर्ण छ । धार्मिक तथा सांस्कृतिकरूपमा पनि हामी उत्तिकै सम्पन्न छौँ । पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनीजस्ता क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउन सकिन्छ । अर्कातर्फ भारतबाट नेपालमा सामान बिक्री गर्ने हिसाबले हेर्दा पनि ११औँ ठूलो देशका रूपमा हामी छौँ । नेपाल र भारतबीचको जुन व्यापार तथा पारवहन सम्बन्ध छ, त्यो अर्को विशिष्ट पाटो छ । नेपालमा सामान उत्पादन गरेर भारतमार्फत निर्यात गर्दा पनि विश्वबजारमा प्राप्त भएका अनेकन लाभका हिसाबले पनि सहज छ । ड्युटी फ्रिका हिसाबले पनि उत्तिकै विशिष्ट छ । भारतीय लगानीकर्ताले नेपालमा लगानी गरे भने त असाध्यै ठूलो अवसर छ नि । यो कुरा हामीले उनीहरूलाई पनि बुझाउन सक्नुपर्छ । यी सम्भावनाका कुरा यहाँका लगानीकर्ताहरूलाई पनि थाहा दिनुपर्छ । यस्तै कार्यक्रमहरूबाट नै वातावरण बन्दै जान्छ भन्ने मलाई लाग्छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा उद्योगी व्यवसायीका के–कस्ता अपेक्षा थिए, ती विषय सम्बोेधन भए कि भएनन् ?

सबैभन्दा ठूलो विषय भनेकै व्यापार घाटाको विषय थियो । जुन विषयलाई पछिल्लो भएको सहमतिले ठूलो राहत दिन्छ । यस्तै जलविद्युत् क्षेत्रमा जुन खालको सहमति भयो त्यसले अन्ततः निजी क्षेत्रको माग सम्बोधन गर्छ भन्ने लाग्छ । भारत सरकारले १० वर्षमा १० हजार मेगावाट बिजुली ल्याउने जुन सहमति गरेको छ, त्यसले समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको छ । अन्तरदेशीय प्रसारण लाइनको निर्माणका हिसाबले एकदमै राम्रो भयो । यस्तै हवाई सञ्जाल र मार्गका विषयमा पनि कुरा राम्रैसँग उठान भएको मैले बुझेको छु र त्यसको परिणाम पनि राम्रै निस्किएला भन्ने नै लाग्छ । त्यसमा दुवै देशका प्रधानमन्त्री सहमत हुनुभएको सूचना मैले पाएको छु । यस्तै डिजिटल पेमेन्टका सम्बन्धमा भएको सहमतिले अर्को आयाम स्थापित गरिदिएको छ । एकीकृत जाँचचौकी, रेलमार्ग, पाइप लाइन, झुलाघाटमा पुल बनाउने सहमतिले धेरै राम्रो परिणाम दिन्छ र निजी क्षेत्रको मागलाई पनि यसले सम्बोधन गर्छ भन्ने लाग्छ ।

नेपालको विद्युतीय भुक्तानी सेवा प्रदायक र भारतीय कम्पनीबीच भएको सहमतिले विद्युतीय भुक्तानीमा के–कस्तो सहयोग पुग्छ भन्ने यहाँलाई लाग्छ ?

अन्तरदेशीयरूपमा भुक्तानीमा जुन खालको जटिलता थियो, त्यसलाई यस खालको सहमतिले सहज बनाइदिएको छ । यसभन्दा पहिले निजी क्षेत्रका अन्य कम्पनीसँग यस खालको सहमति भए पनि सरकारीस्तरमा नहुँदा त्यसले गति लिनसकेको थिएन । आगामी दिनमा निजी क्षेत्रका अन्य कम्पनीलाई पनि यसमा थप काम गर्न सहज बनाएको छ । समग्रमा डिजिटल भुक्तानीका लागि सहज भएको छ । भारतमा अध्ययन गर्न आउने विद्यार्थी, उपचारका लागि आउने बिरामी, भ्रमणमा आउने नेपाली तथा यहाँ काम गरिरहेका नेपाली नागरिकलाई थप सहज बनाउने छ । हाम्रो प्रधानमन्त्री र भारतीय मन्त्रीले समेत यसको महत्वका बारेमा स्पष्ट पार्नुभएको छ । यसले पनि समग्ररूपमा सीमानाकामा नगद लिएर हिँड्दा भोग्नुपर्ने जटिलता हटाइदिएको छ । यो सहमतिले ठूलो भूमिका प्रदान गर्छ । प्रधानमन्त्रीज्यूको भ्रमणको यो अर्काे महत्वपूर्ण उपलब्धि हो भन्ने मलाई लाग्दछ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा निजी क्षेत्रको स्थान तथा सरकारले निजी क्षेत्रलाई दिएको महत्वलाई कसरी लिनुहुन्छ ?

नेपालका प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा नेपाली उद्योगी व्यवसायीलाई पनि राख्ने त पहिलेदेखि नै गरिएकै हो । हामी पनि कैयौँपटक आएका छौँ यस्ता भ्रमणमा । तर मलाई लाग्छ यसपालि सम्भवतः पहिलोपटक यति ठूलो प्रतिनिधिमण्डल सहभागी भएको हो । यो सबै प्रक्रियाको नेतृत्व नेपाल उद्योग वाणिज्य महासङ्घका तर्फबाट हामीले गरेका थियौँ । यो हिसाबले पनि जति पनि निजी क्षेत्रका छाता सङ्गठन छन्, त्यसलाई संयोजन गरेर निजी क्षेत्रको प्रतिनिधिमण्डलका रूपमा लिएर आउनु पनि आफँैमा महत्वपूर्ण छ । हामीले यहाँ राखेको धारणा, हामीले प्रस्तुत गरेका योजना र एजेण्डाका हिसाबले पनि यो भ्रमण दीर्घकालीन सोचसहितको छ र भयो भन्ने लाग्छ । अर्काे कुरा हामी आफैँले पनि यहाँका उद्योगी, व्यवसायी तथा लगानीकर्ताहरूसँग भेटेरै प्रत्यक्ष अन्तक्र्रिया गर्न पाउँछौँ र आफ्ना तर्फबाट लगानीका कुरा पनि गर्न पाउँछौँ । उहाँहरूसँग बसेर नेपालमा लगानीका लागि आवश्यक सूचना तथा वातावरण सेयर गरेर आश्वस्त पनि पार्न सक्छौँ । यो सब आखिर हामीले देशमै लगानीका लागि गरिरहेको प्रयास न हो । त्यसैले प्रतिनिधिमण्डल ठूलो भएर के फरक पर्छ र ? म त झनै राम्रो हुन्छ भन्ने ठान्छु ।

नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि आह्वान त गरियो, तर हामीले लगानीको वातावरण बनाउन आन्तरिकरूपमा के–कस्ता विषयमा सुधार गर्नुपर्ने छ ? निजी क्षेत्रको नेतृत्वको रूपमा के भन्नुहुन्छ ?

हेर्नुहोस् हामीकहाँ धेरै ठूलो झन्झट कागजी प्रक्रियामै छ । यो प्रक्रियागत झन्झटलाई तत्काल हटाइहाल्नुपर्छ । प्रक्रियामा अल्झिएर बस्दा हामी कहीँ पनि पुग्न सक्दैनौँ । हामीले बाहिर नभने पनि केही निश्चित जटिलता छन्, अप्ठ्यारा छन् । त्यसलाई सच्याउनुपर्छ । हाम्रो समग्र व्यवस्थामा सुधार गर्नुपर्छ । लगानीकर्ताले सहजरूपमा वातावरण बनोस् र बिनाझन्झट काम होस् भन्ने चाहन्छ । सरकारका निकायले पनि स्पष्टसँग बुझ्नुपर्छ । सरकारको पूर्ण संयन्त्रले धारतलीय यर्थाथलाई बुझ्नुपर्छ । तीनवटै तहका सरकारले लगानीका लागि अभिप्ररित गर्नुपर्छ, सहयोग गर्नुपर्छ । त्यसो भएमात्रै मुलुकको समग्र प्रगति हुनसक्छ । हाम्रोमा लगानीको अवसर पनि छ, निजी क्षेत्र तयार पनि छ । वैदेशिक लगानी पनि ल्याउन सकिन्छ भनेपछि त सहजीकरण त हुनुपर्यो नि । त्यसैले हाम्रो सरकारी संयन्त्र सहज र सहयोगी बन्नुपर्छ । यसबाट छोटो समयमा धेरै काम गर्न सकिन्छ । जस्तो कि हेर्नुस् न हामीले कुनै संरचना निर्माण गर्दा नै भोगेका छौँ कि हामीले भौतिकरूपमा निर्माण थालेपछि वर्ष दिन, दुई वर्षमा सकिने कामका लागि कम्तीमा पाँच–सात वर्ष प्रक्रियागत झन्झटमै समय खेर फाल्नुपर्छ । हामीले वैदेशिक लगानीलाई आकर्षित गर्ने हो भने हो यस्ता प्रावधान हटाउनै पर्छ । यस्तो उनीहरू सहन सक्दैनन्, जुन हामीले सहीरहेका छौँ ।

यतिबेला मुलुकको अर्थतन्त्र सङ्कटमा छ । यस्तो बेला निजी क्षेत्रको साझा सङ्गठनको प्रमुखको हैसियतले भन्नुपर्दा अब हाम्रा प्राथमिकतालाई कसरी निर्धारण गर्नुपर्ला भन्ने ठान्नुहुन्छ ?

हाम्रो अर्थतन्त्रमा समस्या देखिनुको पछाडि कोभिड, रसिया युक्रेन युद्धजस्ता समस्या प्रमुख कारणका रूपमा रहेको छ । नीति निर्माणमा रहेको समस्याका कारण पनि जटिलता छ । यसबाट बाहिर निस्कनका लागि सरकार, निजी क्षेत्र दुवैले सहकार्य गर्नु जरुरी छ । निजी क्षेत्र र सरकारका तर्फबाट, नियामक केन्द्रीय बैंक सबैले ध्यान दिनुपर्छ । कुनै एउटा संस्था राम्रो भएर मात्र भएन, समग्र क्षेत्रले यसमा ध्यान दिनुपर्छ । समग्र प्रणालीले इमान्दार प्रयास गर्नुपर्छ । समग्र क्षेत्र ठीक भए मात्र मुलुक ठीक दिशामा अगाडि बढ्छ । साझा समस्या हो भन्ने ठानेर अगाडि बढे मात्र समस्याको समाधान छोटो समयमा गर्न सकिन्छ भन्ने लाग्छ । यो सङ्कटबाट मुक्ति पाउनका लागि हामीले महासङ्घमार्फत केही भिजन अघि सारेका पनि छौँ । निजी क्षेत्रको आत्मबल थप उकास्नका लागि हामीले भिजनमार्फत काम गरिहेका पनि छौँ । त्यसमा सरकारको अझै धेरै साथ र सहयोग अपेक्षित छ ।

शरणार्थी प्रकरण : बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजबाट

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजबाट सुरु हुदैँछ ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पूर्व गृहमन्त्री खाँड र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो । 

सो प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री टोप रायमाझी, पूर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले बिहीबार बयान लिइएका थियो ।  

आज खाण, रिजाल र हरिभक्त महर्जनको बयान लिने कार्य आजबाट सुरु हुनेछ । महर्जनले बिहीबार मात्रै आत्मसमर्पण गरेका थिए । सो प्रकरणमा मुछिएकाहरूको बयान गत जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।

नेमकिपा सचिवालय बैठकले भन्यो: नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक

​​​​​​​भक्तपुर  – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण अविलम्ब खारेज गर्न माग राखेको छ ।

साथै, भारतले नेपालको लुम्बिनी र कपिलवस्तु समेत गाभेर तयार गरेको र यही जेठ १४ गते भारतको संसद् भवनमा राखेको नक्सा नेपालको सार्वभौमिकता र भू-अखण्डतामाथि भारतीय विस्तारवादको हस्तक्षेप भएको जनाएको छ । भारतको यो हस्तक्षेपलाई नेपाल मजदुर किसान पार्टी विरोध एवम् भर्त्सना गरेको छ । 

पार्टी सचिव प्रेम सुवालले प्रेस विज्ञप्तिमार्फत नागरिकता विधेयकमा भएको प्रमाणीकरणको विरोध एवम् भर्त्सना गरिएको हो ।

पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)को अध्यक्षतामा बसेको पार्टी केन्द्रीय सचिवालयको बिहीबारको बैठकले देशघाती नागरिकता विधेयकको प्रमाणीकरण र नेपालको लुम्बिनी र कपिलवस्तु गाभेर तयार गरिएको भारतको नक्साको विरोध एवम् भर्त्सना गरिएको वक्तव्यमा उल्लेख छ । 

”राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक लाई संसद्को अनुमति बिना वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेको संसद्को सर्वोच्चता र संसदीय परम्परा विपरीत हो”, विज्ञप्तिमा अगाडि भनिएको छ, ”गत मङ्सिर ४ को संसदीय निर्वाचनपछि गठन भएको माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रीपरिषद्ले २०८० जेठ १२ गते संसद् छलेर सो विधेयक प्रमाणीकरणको लागि वर्तमान राष्ट्रपतिसमक्ष अनुरोध गरेको अनाधिकार र प्रजातन्त्र विपरीत हो ।”

विज्ञप्तिमा अघिल्लो राष्ट्रपतिबाट अस्वीकार भएको विधेयकलाई संसद्को अनुमतिविना पछिल्लो राष्ट्रपतिबाट प्रमाणीकरण हुँदैमा त्यसलाई अहिले वैधानिक मान्न नसकिने पनि नेमकिपाको भनाइ छ । 

साथै, २०७२ असोज ३ अघि जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका विदेशीका सन्तानले र विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका विदेशी व्यक्तिले समेत वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने विधेयकको प्रावधान नेपालीको हितमा नभएको पनि विज्ञप्तिमा उल्लेख छ । 

नेपाली काँग्रेस, माओवादी समेतको समर्थनमा बनेको पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले भारतको यो नयाँ नक्सा खारेज गर्न गराउन जरुरी छ । यो नक्सा खारेज नभएसम्म देशभक्त नेपाली जनताले भारतीय विस्तारवाद विरुद्ध सङ्घर्ष चालू राख्ने पनि नेमकिपाले भनेको छ ।

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

इनरुवा – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा बगाडी बढिरहेको बताउनुभएको छ । नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उहाँले उल्लेख गर्नुभयो ।

सुनसरीको सदरमुकाम इनरुवामा बिहीबार जसपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बधाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै अध्यक्ष यादवले देशको परिर्वतनकारी आन्दोलन र सङ्घर्षले सङ्घीयता, पहिचानसहितको मधेस प्रदेश, सुशासन र समृद्धि सम्भव भएको बताउनुभयो ।

नागरिकलाई शिक्षा, स्वास्थ्यसहित रोजगार दिलाउन लागिपरेको उल्लेख गर्दै उहाँले जसपा समावेशिता, पहिचान, समानुपातिक समावेशी, जातीय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीको रूपमा स्थापित भएको बताउनुभयो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५६ पैसा र बिक्री दर १३२ रुपैयाँ १६ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ ८० पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ८१ पैसा र बिक्री दर १६४ रुपैयाँ ५५ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell
 USD (U.S. DOLLAR)1131.56132.16
 EUR (EUROPEAN EURO)1140.8141.44
 GBP (UK POUND STERLING)1163.81164.55
 CHF (SWISS FRANC)1144.75145.41
 AUD (AUSTRALIAN DOLLAR)185.7686.16
 CAD (CANADIAN DOLLAR)196.9897.43
 SGD (SINGAPORE DOLLAR)197.397.74
 JPY (JAPANESE YEN)109.419.46
 CNY (CHINESE YUAN)118.518.59
 SAR (SAUDI ARABIAN RIYAL)135.0835.24
 QAR (QATARI RIYAL)136.1136.27
 THB (THAI BAHT)13.783.8
 AED (UAE DIRHAM)135.8235.98
 MYR (MALAYSIAN RINGGIT)128.5228.65
 KRW (SOUTH KOREAN WON)1009.9610.01
 SEK (SWEDISH KRONER)112.1312.18
 DKK (DANISH KRONER)118.9118.99
 HKD (HONG KONG DOLLAR)116.816.87
 KWD (KUWAITY DINAR)1427.59429.54
 BHD (BAHRAIN DINAR)1348.95350.54

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

महेन्द्रनगर – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयु) मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह गर्नुभएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३२औँ वार्षिकोत्सव तथा साधारणसभाको बिहीबार महेन्द्रनगरमा उद्घाटन गर्दै पूर्वमन्त्री लेखकले अब तीन वर्षमा बन्दरगाह बनेर भारतसित जोडिने बताउनुभयो ।

“भारतबाट सामान ल्याउने मात्रै नभई यहाँबाट पठाउने विषयमा पनि तपाईँहरू सोच्नुहोस्”, उहाँले भन्नुभयो, “भारत भ्रमणका क्रममा प्रधानमन्त्रीज्यूसित भएका सम्झौता कार्यान्वयन हुनेछन् ।” उहाँले सुदूरपश्चिमको डडेल्धुरास्थित शिर्ष र बैतडीको झुलाघाटमा महाकाली नदीमा पक्की पुल बनाउने घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट हुनु सुखद् विषय भएको बताउनुभयो ।

“सुक्खा बन्दरगाह तीन वर्षमा सम्पन्न गर्न सबैको जोड हुनुपर्छ”, उहाँले भन्नुभयो, “निर्णय कार्यान्वयका लागि पूर्णरूपले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” प्रमुख सचेतक लेखकले त्रिदेशीय नाकाका रूपमा कञ्चनपुर नाकालाई विकास गर्न खोजिएको उल्लेख गर्दै महाकाली करिडोरमार्फत चीनसित जोड्ने काम पनि अघि बढिरहेको बताउनुभयो ।

“आगामी दसैँ–तिहार सेरोफोरोमा ब्रह्मदेवबाट डडेल्धुराको जोगबुढा करिडोर बनाएर पु¥याउने प्रयास हुँदैछ”, उहाँले भन्नुभयो, “यहाँको मझगाउँ विमानस्थलका बारेमा पनि प्रक्रियागतरूपले जग्गा प्राप्तिको विषय अघि बढेको छ ।” विमानस्थलका लागि नेपाली सेना र प्रति जमिन अधिग्रहणका लागि मन्त्रालयहरूबीच समन्वय भइरहेको नेता लेखकले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तारालामा तामाङ, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललगायतले सुदूरपश्चिमको विकास, आर्थिक तरलताका कारण व्यापारी, व्यवसायीले झेल्नुपरेको समस्यालगायत विषयमा आफ्ना धारणा राख्नुभएको थियो । नेता लेखकले मझगाउँस्थित निर्माणाधीन विमानस्थलको स्थलगत निरीक्षणसमेत गर्नुभयो ।

गर्मी बढेपछि पाँच दिन विद्यालय बन्द

राजविराज – सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानिय तहले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भिर असर पर्न सक्ने देखिएको आजदेखि यही जेठ २३ गतेसम्म बिदा दिइएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै कञ्चनरूप नगरपालिकाले पनि नगरभित्रका विद्यालयमा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेणुका साहले बिहीबार सूचना जारी गर्दै आजदेखि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो ।

यसैगरी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजले पनि यही जेठ २१ देखी असार ८ गतेसम्म २० दिनका लागि क्याम्पस बन्द गर्ने निर्णय गरेको क्याम्पस प्रमुख राजिवकुमार मिश्रले जानकारी दिनुभयो । एक सातायता मधेश प्रदेशका सबैजसो जिल्लामा गर्मी ह्वात्तै बढेको छ । सर्वसाधारण अत्यावश्यक काम बाहेक घर बाहिर निस्किन छाडेका छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।