किन हामी सधैं भारत र चीनलाई हेरर नेपाललाई हेर्छौं ?


डा.युवराज संग्रौला ।
१. ‘देउवालाई २ पटक सभापति बनाएको भारत अहिले उनलाई असहयोग गर्न चाहान्छ।’ यो भनाइ हो अमरेश सिंहको एउटा टिभीमा ।
२. ‘योगीले राजासँग माफी मागे।’ अर्को टिभीम ।
३. ‘भारत नेपाल चीनको नजिक गएको देख्न चाहन्न।’ थुप्रै नेपाली टिभीमा ।
४. यी र यस्तै छलफल नेपालमा हुन्छन् । किन हामी सधैं भारत र चीनलाई हेरर नेपाललाई हेर्छौं ? हामीले हेर्ने त नेपाल हो नि ? किन हामी नेपालमा उभिएर विश्वलाई हेर्न चाहन्नौं ? किन हामी अरुलाइ हेरेर आफ्नो अस्तित्व बिर्सन्छौं ? शासकले मात्र होइन नागरिकले पनि देश प्रतिको कर्तव्य छोडेको किन दख्दैनौं ? किन हामी सधैं नेपाल स्वतन्त्र होइन कि भन्ने मनोविज्ञानबाट ग्रस्त छौं ?
हाम्रो इतिहास लामो छ।
यलम्बरले नेपाल राज्यलाई संगठित गरे । न्याय प्रणाली, करप्रणाली र कृषिको शुभारम्भ गरे । मानदेवले टुक्रिन लागेको नेपाल एकीकरण गरे, र शक्तिशाली बनाए । अंशुबर्माले नेपालको शासनमा दख्खल गर्न पुगेका मगधबाट आएका गुप्तहरुको दख्खल समाप्त गरि दक्षिणको प्रभावबाट मुक्त गरे नयाँ संवत् पनि चलाए । उनले नेपालको राष्ट्रवादलाई प्रवद्र्धन गरे । नरेन्द्रदेवले चीनसँग व्यापार शुरु गरे र उतर र दक्षिणसँग व्यापारमा प्रतिस्पर्धा गरेर धनी हुन सकिने देखाए । सिंजाका राजाले कैलाशसम्म नेपालको सभ्यता पुर्याए । सिम्रौनगढका राजा शिवदेवले गयासुद्धिनसँग लडेर काठमाडौं जोगाए । प्रताप मल्लले काठमाडौंलाई उन्नत बनाए । भुपतेन्द्र मल्लले बास्तुकलाको अनुपम वैभव निर्माण गरे । पृथ्वीनारायणले आधुनिक नेपालको जग हाले । भिमसेन, अमरसिंह, भक्ति थापाले नेपालको स्वतन्त्रता कायम राख्न अनुपम योगदान गरे । जंगबहादुरले पनि योगदान गरे । बिपी, केआई सिंह, टंक प्रसादले, पुष्पलाल र मनमोहन अधिकारीले निरंकुश राणा शासनबाट जनतालाई मुक्त गर्न योगदान गरे । अर्थात् नेपालको यो लामो इतिहासमा अनेक व्यक्तिको भूमिका छ । हाम्रो आफ्नै पहिचान छैन र ?
५. तर ००७ सालमा आएको परिवर्तनले जनताको स्वतन्त्रता ल्याएपनि राष्ट्रको स्वतन्त्रतामा बादल लाग्यो, नेपालको शासनमा भारतको अधिनले । क्याबिनेटमै भारतीय सचिव अनि राजा त्रिभुवनका पिए पनि भारतीय । राजा महेन्द्रले यो क्रम भङ्ग गरे । नेपालको सम्बन्धमा अन्तर्राष्ट्रियकरण भयो । तर उनको यो गौरव दरवारले कायम गर्न सकेन । २०४६ सालमा बहुदल आयो, तर यसले त कुलिनतन्त्र जन्मायो ।
६. आजसम्म ७० वर्ष ज्यादा भयो, तर जनताको अवस्था उस्तै छ । उद्योग छैनन् । कृषि समाप्त भयो । नागरिक श्रम निर्यात गरेर देश बाँचेको छ। आजसम्म आइपुग्दा ‘राज्यको स्वनिर्णयको क्षमता ध्वस्त भएको छ।’ अर्थतन्त्र पनि ध्वस्त भएको छ।
७. हामीले देशको स्वाधीनता जोगाउन कसरी सकिन्छ होला भन्ने कुरामा छलफल गर्नै चाहेनौं । देशको अर्थतन्त्र समृद्ध पार्न उत्पादनमा क्रान्ति ल्याउन कसरी सकिन्छ भन्ने कुरामा छ्लफल गर्नै चाहेनौं । काठमाडौंमा सीमित रहेको नेपाललाई कसरी मधेसमा, पूर्वमा पश्चिममा सुदूरपश्चिममा पुर्याउन सकिन्छ भन्ने छलफल गर्नै चाहेनौं ।
बस हाम्रो छलफल भारत र चीनकाबारेमा केन्द्रित गर्यौं । हामी नेपालमा बस्ने मान्छे मात्र किन भयौं ? किन नागरिक हुन सकेनौ ? किनभने हामीले भूराजनीतिको चुनौतीलाई कहिल्यै महशुस गरेनौं । आज हरेक मान्छे अभियानमा छन् । उनीहरु वर्तमान शासक बदल्न चाहन्छन् । पुरानाले विचार, देशभक्ति र राजनीतिक संस्कार त्यागी दिए । तर परिवर्तन खोज्नेलाई पनि विचारको कुनै चासो छैन । कसरी बनाउन सकिन्छ देश ? यही प्रश्नको छलफलले नेपालको भविष्य निर्माण गर्नेछ ।