मोटरसाइकल दुर्घटनामा एकजनाको निधन
समाचार
जनकपुरधाम । जनकपुरधाममा जेसीबी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरीको मनरा सिसवा नगरपालिका–बथनाहा निवासी ६५ वर्षीय विपिनकुमार झा रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार बिहान करिब ९ बजेतिर दुर्घटना भएको हो।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया स्थित जनकपुर डिजेल सेन्टर पेट्रोल पम्पबाट तेल हालेर निस्किँदै गरेको जेसीबीमा विपिनकुमार झाले चलाएको मोटरसाइकल ठोक्किएको थियो। उनी महेन्द्रनगरतर्फबाट जनकपुरतर्फ आउँदै थिए।
दुर्घटनापछि गम्भीर घाइते भएका झालाई तत्काल जनकपुरस्थित साइ ट्रमा अस्पताल लगिएको थियो। तर उपचारका क्रममा बिहान ९:३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
