`

सातै प्रदेशमा पर्यटकीय पूर्वाधार विस्तार गर्दै आइएमई ग्रुप

Nepal One HD ४ कार्तिक २०८३ १०:१६
व्यापार

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ।

अन्तरराष्ट्रिय ब्रान्डमा नेपालमा चलेका अन्य होटलको आधा शुल्कमा सोहीस्तरको सेवा उपलब्ध गराउँदै आएको आइएमई हस्पिटालिटीले जनाएको छ।

हस्पिटालिटीले नवलपुरको गैँडाकोटमा ६५ कोठाको इला रिसोर्ट, हर्कपुरमा ३५ कोठाको इला कम्फर्ट र बागलुङ बजारमा ३० कोठाको इला कम्फर्ट सञ्चालन गरिरहेको छ। कैलालीमा सुरुमा २० कोठा र पछि ६५ कोठा थप गर्ने गरी इला लज सञ्चालनमा आउँदैछ भने पाल्पाको वसन्तपुरमा १२० कोठाको इला रिसोर्ट सञ्चालनमा ल्याइँदैछ।

पोखरामा ३५ कोठाको ‘द लेक साइड रिट्रिट’ सञ्चालनमा छ भने काठमाडौँको लाजिम्पाटमा एक सय कोठाको इला होटल सञ्चालनमा आउने तयारीमा छ। आइएमई समूहको चन्द्रागिरि हिल्स रिसोर्ट भने १२० कोठासहित लामो समयदेखि सञ्चालनमै रहेको छ।

नवलपुरको गैँडाकोटस्थित इला रिसोर्टमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा कामको अनुभव लिएका ३० प्रतिशतभन्दा बढी कर्मचारी आफूहरूसँग रहेको जानकारी दिए। उनले ‘अन्तरराष्ट्रियस्तरको सेवा हामी सर्वसुलभ रूपमा दिएका छौँ’ भन्दै नेपालमा अन्तरराष्ट्रिय ब्रान्डले लिने शुल्कभन्दा आधा मूल्यमा सोभन्दा राम्रो सेवा दिएको बताए।

हस्पिटालिटीले आफ्नै प्राविधिक तालिम केन्द्र ‘काठमाडौँ टेक्निकल स्कुल’ सञ्चालन गरेर तालिमप्राप्त कुक, वेटर र हाउसकिपिङ उत्पादन गर्दै आएको छ। अध्यक्ष ढकालले ‘दक्ष जनशक्तिकै कारण हाम्रा होटलहरू अन्तरराष्ट्रियस्तरका अन्य ब्रान्डसँग प्रतिस्पर्धी बन्न सकेका छन्’ भन्दै उच्च गुणस्तर र कम शुल्कमा सेवा दिन सकिएको बताए।

अधिकांश होटलहरू प्रमुख पर्यटकीय गन्तव्यहरूमा रहेका छन्। सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरका पर्यटकीय पूर्वाधार तथा चेन होटल विकास गर्न सके नेपाल आउने पर्यटकको बसाइ अवधि हालको भन्दा दोब्बर बनाउन सकिने सोचका साथ केवलकारसँगै होटलहरू सञ्चालन गर्न थालिएको उनले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *