महोत्तरीमा फलफूलको क्षेत्रफल बढ्यो, उत्पादन भने घट्दो
काठमाडौं । महोत्तरीको माटो र हावापानी आँप, लिची र केराका लागि अनुकूल मानिन्छ। तर फलफूल खेतीको क्षेत्र विस्तार भइरहे पनि उत्पादन र व्यावसायिक आकर्षण भने अपेक्षाअनुसार बढ्न सकेको छैन।
किसानका अनुसार रोग, सिँचाइको अभाव, सुक्खा र ‘अफ इयर’का कारण आँपको उत्पादनमा ठूलो उतारचढाव आउने गरेको छ। बर्दिबास-५ चेरुका किसान होतराज घिमिरेले करिब २०० आँपका रुखमा तीन वर्षयता उत्पादन घटिरहेको बताए।
कृषि ज्ञान केन्द्र, जलेश्वरको तथ्याङ्कले पनि आँप उत्पादनमा ठूलो अन्तर देखाउँछ। आव २०८०/८१ मा ४ हजार ५०० हेक्टरमा ४७ हजार २५० मेट्रिक टन आँप उत्पादन भएकोमा २०८१/८२ मा उत्पादन घटेर १३ हजार ४६० मेट्रिक टनमा झरेको थियो।
आव २०८२/८३ मा क्षेत्रफल बढेर ४ हजार ५६० हेक्टर पुगे पनि उत्पादन २९ हजार ७०० मेट्रिक टनमा सीमित भयो। चालु आवमा आँपखेती करिब ५ हजार हेक्टर पुग्ने अनुमान छ।
बागवानी विज्ञ अविरलकुमार महतोका अनुसार आँपमा दुई–तीन वर्षको अन्तरमा आउने ‘अफ इयर’, सुक्खा-खडेरी र फूलमा लाग्ने मधुवा रोग उत्पादन घट्नुका प्रमुख कारण हुन्।
आँपको तुलनामा लिची खेतीमा भने क्षेत्रफल र उत्पादन दुवै बढेको देखिन्छ। आव २०८०/८१ मा १०५ हेक्टरमा १ हजार ५० मेट्रिक टन उत्पादन भएकोमा २०८१/८२ मा १२० हेक्टरबाट १ हजार २२५ मेट्रिक टन उत्पादन भएको थियो।
आव २०८२/८३ मा लिचीखेती १४० हेक्टरमा विस्तार हुँदा उत्पादन १ हजार ४५० मेट्रिक टन पुगेको छ। चालु आवमा क्षेत्रफल करिब २०० हेक्टर पुग्ने अनुमान गरिएको छ। यद्यपि बोटको सङ्ख्याको तुलनामा उत्पादन अझै कम रहेको विज्ञहरू बताउँछन्।
केराको बजार वर्षभरि नै रहने भए पनि महोत्तरीमा व्यावसायिक केराखेतीले अपेक्षित गति लिन सकेको छैन। आव २०८०/८१ मा ३०० हेक्टरमा गरिएको खेती २०८१/८२ मा घटेर २८० हेक्टरमा पुगेको थियो। २०८२/८३ मा २९० हेक्टर पुगेको केराखेती चालु आवमा करिब ४०० हेक्टर पुग्ने अनुमान छ।
तर उत्पादनमा भने ठूलो सुधार देखिएको छैन। २०८०/८१ मा ४ हजार ७२९ मेट्रिक टन केरा उत्पादन भएकोमा २०८१/८२ मा ४ हजार ४८० र २०८२/८३ मा ४ हजार ४९५ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ।
जिल्लाका बजारमा केरा वर्षभरि बिक्री हुने भए पनि स्थानीय उत्पादनले बजारको माग धान्न सकेको छैन। अन्य जिल्लासँगै भारतबाट समेत केरा आयात हुने गरेको व्यापारी बताउँछन्।
महोत्तरीमा करिब ७१ हजार हेक्टर खेतीयोग्य जमिन रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ। अन्य बाली राम्रो नहुर्कने पाखा तथा ढड्यान क्षेत्रमा समेत व्यवस्थापन गरेर फलफूल खेती गर्न सकिने सम्भावना रहेको विज्ञहरू बताउँछन्।
बागवानी विज्ञ रामबहादुर भुजेलका अनुसार जिल्लाको माटो र हावापानी फलफूलका लागि उपयुक्त भए पनि नियमित आम्दानीको सुनिश्चितता नहुँदा किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन सकेका छैनन्।
उनका अनुसार फलफूल खेती विस्तारका लागि बजारको सुनिश्चितता, सिँचाइ, रोग-कीरा नियन्त्रण र प्राविधिक सहयोगलाई एकसाथ अघि बढाउन आवश्यक छ। उत्पादनसँगै बजार व्यवस्थापन बलियो बनाउन सके महोत्तरीमा आँप, लिची र केराको व्यावसायिक खेती विस्तारको सम्भावना अझै ठूलो रहेको उनको भनाइ छ।
