`

त्रिवि सभाको बैठक असोज २२ गते, बजेटदेखि ६४औँ ग्रेस लिस्टसम्म छलफल हुने

Nepal One HD २१ असोज २०८३ १३:१९
शिक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभाको साधारण तथा वार्षिक दिवस बैठक असोज २२ गते बिहीबार बिहान ९ बजे बस्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिविका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बैठक बस्न लागेको हो।

बैठकमा त्रिविको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरी स्वीकृत गर्ने मुख्य कार्यसूची रहेको छ। रजिष्ट्रार डा. रवीन्द्र शिवाकोटीले नीति, कार्यक्रम तथा बजेट सभासमक्ष प्रस्तुत गर्नेछन्।

त्यस्तै, त्रिविका विभिन्न नियम, विनियम, कार्यविधि, कार्यव्यवस्थापन प्रणाली तथा निर्देशिका अनुमोदनसम्बन्धी प्रस्तावमाथि पनि छलफल हुनेछ।

सभाले त्रिवि कार्यकारी परिषद्को सदस्यमा भएको मनोनयन समर्थन तथा पुनरावेदन आयोगका अध्यक्ष र सदस्य मनोनयनसम्बन्धी प्रस्तावमा समेत निर्णय गर्नेछ।

वार्षिक दिवस बैठकअन्तर्गत विभिन्न अध्ययन संस्थान तथा सङ्कायका डीनको सिफारिसमा विद्यार्थीलाई उपाधि प्रदान गर्ने र त्रिविको ६४औँ ग्रेस लिस्ट स्वीकृत गर्ने कार्यसूचीसमेत राखिएको छ।

बैठकको सुरुवातमा उपकुलपति प्रा.डा. भोला थापाले स्वागत मन्तव्य दिनेछन् भने सहकुलपति तथा मन्त्री पोखरेलले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। बैठकको सञ्चालन शिक्षाध्यक्ष एवं सभाका सदस्य–सचिव प्रा.डा. अन्जना महर्जन सिंहले गर्नेछिन्।

साथै, अन्त्यमा शिक्षाध्यक्ष सिंहले कृतज्ञता ज्ञापन गर्ने र सहकुलपति पोखरेलको मन्तव्यपछि सभा विसर्जन गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *