डा. सुनिल शर्माद्वारा डोल्पाका विद्यार्थीलाई १ करोड १४ लाखको छात्रवृत्ति घोषणा
काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई लक्षित गर्दै १ करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन्।
शुक्रबार डोल्पाको दुनैमा आयोजित निःशुल्क स्वास्थ्य शिविरका क्रममा डा. शर्माले डोल्पाबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका ६ विधामा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका हुन्। काठमाडौँ मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेज, विराटनगरमार्फत छात्रवृत्ति प्रदान गरिने उनले बताए।
कर्णालीका दुर्गम बस्तीमा स्वास्थ्य सेवा पुर्याउने अभियानअन्तर्गत आयोजित शिविरमा उनले स्वास्थ्य सेवासँगै चिकित्सा शिक्षामा पनि विपन्न समुदायको पहुँच विस्तार गर्न आवश्यक रहेको बताए।
सोही क्रममा शर्माले स्वास्थ्य शिविरमा सहभागी हुन नसकेका थप १०० जनाको केएमसीमा निःशुल्क उपचार गर्ने तथा पाँच जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने प्रतिबद्धता जनाए। काठमाडौँमा उपचारका लागि आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि आफ्नै खर्चमा उपलब्ध गराउने घोषणा पनि उनले गरे।
त्यस्तै, आर्थिक अवस्था कमजोर भएका र काठमाडौँमा उपचारका क्रममा खानाको व्यवस्था गर्न नसक्ने बिरामीलाई अस्पताल भर्ना भएको दिनदेखि डिस्चार्ज हुँदासम्म निःशुल्क खानाको व्यवस्था गरिने उनको भनाइ छ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना तथा केएमसीको समन्वयमा सञ्चालित स्वास्थ्य शिविरमा एकै दिन करिब दुई हजार नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा तथा चिकित्सकीय परामर्श लिएका थिए। भौगोलिक विकटता र आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो।
शिविरमा सहभागी हुन कतिपय स्थानीय बासिन्दा तीनदेखि चार दिनसम्म पैदल यात्रा गरेर दुनै पुगेका थिए। डा. शर्माले बिरामीसँग प्रत्यक्ष भेट गरी उनीहरूका स्वास्थ्य समस्या र उपचारका क्रममा भोग्नुपरेका कठिनाइबारे जानकारी लिएका थिए।
कर्णाली प्रदेशमै उपचार सम्भव नभएका बिरामीको पहिचान गरी काठमाडौँ ल्याएर उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको उनले बताए। दुर्गम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि समेत तीन–चार दिन पैदल हिँड्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले सडक तथा यातायातको पहुँच विस्तारमा राज्यले ध्यान दिनुपर्ने धारणा राखे।
शिविरमा १०३ जनाको ईसीजी, १६३ जनाको प्रयोगशाला परीक्षण, ३४९ जनाको भिडियो एक्स-रे र २०४ जनाको इको परीक्षण गरिएको थियो। त्यस्तै, २७ जनाको दाँत निकालिएको र थप उपचार आवश्यक देखिएका ८२ जनालाई केएमसीमा रिफर गरिएको आयोजकले जनाएको छ।
केएमसीमा रिफर गरिएका बिरामीको मिर्गौला प्रत्यारोपण र ओपन हार्ट सर्जरीबाहेक अन्य प्रकारका शल्यक्रिया निःशुल्क गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ। तर, आर्थिक अवस्था कमजोर भएका बिरामीलाई औषधि तथा खानाको व्यवस्थामा सहयोग गर्ने प्रतिबद्धता डा. शर्माले जनाएका छन्।
यसअघि पनि डा. शर्माको स्वामित्वमा रहेका केएमसी र नोबेल मेडिकल कलेजमार्फत असहाय, आदिवासी, दलित तथा विपन्न परिवारका एक हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएको जनाइएको छ। छात्रवृत्तिमा अध्ययन गरेका कतिपय विद्यार्थी अहिले चिकित्सक, ल्याब टेक्निसियन, रेडियोग्राफर तथा नर्सका रूपमा स्वास्थ्य क्षेत्रमा कार्यरत छन्।
साथै, यसै अभियानअन्तर्गत मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-राडी बजार तथा मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।
