`

घलेगाउँमा देखियो गुरुङ समुदायको मौलिक ‘प्ला सेबा’ नाच (तस्वीरहरू)

Nepal One HD १२ मंसिर २०८३ १६:२३
फोटोफिचर
लमजुङ । गुरुङ समुदायको मृत्यु संस्कारसँग जोडिएको परम्परागत सांस्कृतिक नाच ‘प्ला सेबा’ (डुकुर, डुक्रा वा डुगुरा) लमजुङको घलेगाउँमा प्रदर्शन गरिएको छ।
अर्घुम अर्थात् पैँ/घेवा संस्कारका क्रममा नाचिने यो नाच गुरुङ समुदायको मौलिक संस्कृति, धार्मिक विश्वास र पुर्ख्यौली परम्पराको महत्वपूर्ण हिस्सा हो।

क्होंलासोथर गाउँपालिका–३ घलेगाउँमा स्थानीयले परम्परागत विधि र संस्कारअनुसार प्ला सेबा नाच प्रस्तुत गरेका हुन्।

गुरुङ समुदायमा मानिसको मृत्यु भएपछि गरिने अन्तिम संस्कार अर्घुमका क्रममा मृतकको प्रतीकका रूपमा पुत्ला तयार गरी विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्ने चलन छ।

पुत्ला लिन जाने क्रममा बाटो खुलाउने उद्देश्यले पार्का बजाउने र चार दिशाका देवताको पूजा गर्ने परम्परा रहेको स्थानीय बताउँछन्। पुत्ला नाच्ने स्थानमा ल्याएपछि प्रेतको पाइला भए–नभएको हेर्ने, बाटोमा रहेका छेकबार काट्ने सांकेतिक विधि गर्ने तथा पुत्लालाई निर्धारित स्थानमा राखेर धर्ती पूजा र ढोग्ने गरिन्छ। त्यसपछि पार्का बजाउँदै पुत्लालाई फकाउने, समात्ने र नचाउने विधि पूरा गरिन्छ।

पार्काको ताल र नाचका विभिन्न चरणलाई मृतकको आत्माको यात्रासँग जोडेर हेर्ने गरिन्छ। स्थानीयका अनुसार प्ला सेबाका प्रत्येक विधिको आफ्नै धार्मिक र सांस्कृतिक महत्व छ।

यसपटक घलेगाउँमा एकै दिन तीन जनाको अर्घुम संस्कार परेकाले गाउँको खेल मैदानमा परम्परागत संस्कारसहित नाच प्रस्तुत गरिएको थियो। संस्कार अवलोकन गर्न स्थानीयवासीसँगै घलेगाउँ घुम्न आएका पर्यटकसमेत सहभागी भएका थिए।

गुरुङ समुदायको मृत्यु संस्कृतिसँग जोडिएको यस्तो परम्पराले पर्यटकलाई स्थानीय धार्मिक विश्वास र सांस्कृतिक जीवन बुझ्ने अवसर दिएको छ।

सांस्कृतिक पहिचानका रूपमा परिचित घलेगाउँमा प्ला सेबा नाचको प्रदर्शनले मौलिक परम्परा संरक्षण गर्नुका साथै नयाँ पुस्तामाझ यसको महत्व चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *