बागलुङ कालिकाको प्रसाद पाक्ने डम्मरको अँगेना (फोटो-फिचर)
बागलुङ। बागलुङ कालिका मन्दिरको प्रवेशद्वार छेउमा झिसमिसेमै आगो बल्छ। दसवटा अँगेनामा एकैपटक रोट पाक्न थाल्छ।
घ्यूको बास्नासँगै दिनभर भक्तजनको आवतजावत चलिरहन्छ। यही अँगेनामा सात वर्षदेखि स्थानीय डम्मर मल्लले कालिका मन्दिरको प्रसादका रूपमा रोट तयार गर्दै आएका छन्।
आयातित मिठाइ र नरिवल चढाउने चलन बढ्दै गएपछि स्थानीय परिकारलाई प्रसादका रूपमा स्थापित गर्ने उद्देश्यले मल्लले रोट बनाउन थालेका हुन्। सुरुका दिनमा ग्राहक नपाउँदा व्यवसाय छाड्ने सोचसमेत आएको उनी बताउँछन्। तर, अहिले भक्तजन आफैँ रोट खोज्दै पसलमा पुग्न थालेका छन्।
चामलको पिठोमा चिनी, नरिवल, बदाम र काजु मिसाएर घ्यूमा पकाइने रोट स्वादसँगै परम्पराको पुनरागमन बनेको छ। कालिका मन्दिरमा दुई दशकअघिसम्म रोट चढाउने चलन रहे पनि बीचमा आयातित मिठाइ र नरिवलले त्यसलाई विस्थापित गरेको थियो। मल्लले पुरानो चलनलाई फेरि फर्काउने प्रयास गरेका हुन्।
पहिले भक्तजन घरबाटै रोट बनाएर मन्दिर लैजाने गर्थे। अहिले धेरैले मल्लकै पसलबाट किनेर चढाउने गरेका छन्। बागलुङमा रोट बनाउने व्यवसायी आफू एक्लै रहेको उनको भनाइ छ। रोटलाई शुद्ध र चोखो प्रसादका रूपमा लिन थालेपछि यसको माग बढ्दै गएको उनले बताए।
मल्लका अनुसार एउटा रोट चारदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री हुन्छ। वार्षिक करिब आठ लाख रुपैयाँ बराबरको रोट बिक्री हुँदै आएको छ। दसैँ र चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड बढ्दा रोटको कारोबार पनि उकालो लाग्छ।
यस वर्ष कालीगण्डकी पुलको पहुँचमार्ग बाढीले क्षति पुर्याउँदा दसैँमा भक्तजन कम आए र व्यापारमा असर परेको मल्ल बताउँछन्। तर, स्थानीय परिकारलाई प्रसादका रूपमा प्रोत्साहन गर्ने उनको प्रयास रोकिएको छैन।
आयातित मिठाइको विकल्पमा आफ्नै ठाउँको रोट चढाउने चलन बढ्दै जाँदा डम्मरको अँगेनाले परम्परा र स्थानीय उद्यम दुवैलाई निरन्तरता दिएको छ।










