`

रुपाताल परियोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई मन्त्री श्रेष्ठको ताकेता

Nepal One HD १२ मंसिर २०८३ ९:५३
प्रमुख खबर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । परियोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति ६५ प्रतिशतभन्दा बढी पुगेपछि मन्त्री श्रेष्ठले बाँकी कामलाई तीव्रता दिन कर्मचारी र निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् ।

परियोजनाको अनुगमनका क्रममा आयोजना पक्षले चालू आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण अघि बढिरहेको जानकारी गराएको थियो । त्यस क्रममा मन्त्री श्रेष्ठले रुपाताल संरक्षण तथा पर्यापर्यटनका दृष्टिले महत्वपूर्ण परियोजना भएकाले निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए ।

उनले रुपातालमा अपनाइएको विकासको मोडल सफल भए अन्य तालमा पनि यस्तै प्रकृतिका परियोजना सञ्चालन गर्न सकिने बताए । निर्माणमा देखिएका समस्या समाधान गर्दै कामलाई तीव्रता दिन सम्बन्धित कर्मचारी तथा निर्माण व्यवसायीलाई उनले निर्देशन दिएका छन् ।

कुल ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा हालसम्म २ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ । यो कुल अनुमानित लागतको ६५.४८ प्रतिशत हो ।

आर्थिक वर्ष २०७३÷७४ मा स्थापना भएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७४ साउनमा स्वीकृत भएको थियो । पोखरा महानगरपालिकाका वडा नम्बर ३१ र ३२ तथा रुपा गाउँपालिकालाई समेटेर सञ्चालन गरिएको परियोजनाको मुख्य उद्देश्य रुपाताल संरक्षण, जलाधार व्यवस्थापन, बाढी तथा भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवद्र्धन गर्नु हो ।

परियोजनाअन्तर्गत ६३५ मिटर लामो बाँध, स्पिलवे तथा पुल, तालमा थुप्रिएको माटो व्यवस्थापन, सडक, पदमार्ग, पर्यापर्यटन बगैँचा, कृत्रिम टापु र मन्दिरलगायत संरचना निर्माण गर्ने योजना छ ।

हाल बाँध तथा स्पिलवेको निर्माण अघि बढिरहेको छ । २८ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त काममा हालसम्म १६ करोड ४७ लाख रुपैयाँ खर्च भएको छ । स्पिलवे कम ब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ भने मुख्य बाँध र कार्यालय भवन निर्माण पनि जारी रहेको आयोजनाले जनाएको छ ।

तालको बायाँ किनारमा ७.९ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ । त्यस्तै, तालमा थुप्रिएको माटो व्यवस्थापन तथा ड्रेजिङको काम ७५ प्रतिशत सम्पन्न भएको छ । ३९ करोड ६७ लाख रुपैयाँ लागतको उक्त कामअन्तर्गत हालसम्म ५ लाख २ हजार ४४० घनमिटरभन्दा बढी माटो व्यवस्थापन गरिएको छ ।

जलाधार संरक्षणतर्फ निर्माण गर्ने लक्ष्य राखिएका तीनवटै सिल्ट ट्रयाप, १२ वटा जलाधार संरक्षण पोखरी र १०६ वटा बेड बार तथा चेक ड्याम निर्माण सम्पन्न भएका छन् । दुईवटा पक्की पुलमध्ये एउटा निर्माण सकिएको छ । त्यस्तै, आठ किलोमिटर नदी नियन्त्रण गर्ने लक्ष्यअनुसार ६ किलोमिटर तटबन्ध निर्माण भएको छ ।

परियोजनाका संरचना निर्माणका लागि जग्गा अधिग्रहणको काम पनि भइरहेको छ । स्वीकृत डीपीआरअनुसार १ हजार ४७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भए पनि तत्कालका लागि १ हजार २०० रोपनी आवश्यक रहेको आयोजनाले जनाएको छ । हालसम्म १ हजार ३४ कित्ताको १ हजार १८ रोपनी जग्गा अधिग्रहण गरिएको छ । यस क्रममा २३ वटा घरटहरा व्यवस्थापन गरिएको छ भने मुआब्जा तथा जग्गा अधिग्रहणमा करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ ।

परियोजनाका लागि ५६९ वटा रुख कटान गर्नुपर्नेमा हालसम्म २२२ वटा कटान गरिएको छ । तर, इको फुटट्रेल निर्माणमा वनसम्बन्धी प्रक्रिया र रुख कटानको विषयले चुनौती सिर्जना गरेको छ ।

यसैबीच, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले चालू आर्थिक वर्ष २०८३÷८४ मा विभिन्न कार्यक्रम सञ्चालन गर्न ६८ करोड ९४ लाख ४९ हजार रुपैयाँ बजेट पाएको छ । आयोजना प्रमुख कृष्णप्रसाद डुम्राकोटीका अनुसार जलस्रोत संरक्षण, टारबजार संरक्षण, नदी नियन्त्रण, पहिरो व्यवस्थापन, एकीकृत नदी बेसिन सिँचाइ तथा जलस्रोत व्यवस्थापन र सिँचाइ संस्थागत विकास यस वर्षका प्रमुख कार्यक्रम हुन् ।

आयोजनाको कार्यक्षेत्र कास्कीसहित स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा र मनाङ गरी छ जिल्लामा फैलिएको छ । आगामी दिनमा तनहुँको चुँदी खोला नियन्त्रण तथा मनाङका तालबजार र चामे बजार संरक्षणका आयोजना अघि बढाउने तयारीसमेत गरिएको डुम्राकोटीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *