बाजुरा ट्र्याक्टर दुर्घटना : तीनको मृत्यु, चार जना घाइते
काठमाडौं । बाजुरामा शुक्रबार राति भएको ट्र्याक्टर दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। अनियन्त्रित ट्र्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेपछि दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरुप शाही, ३५ वर्षीय धर्म शाही र ५२ वर्षीया नामसरा देवी शाहीको दुर्घटनामा मृत्यु भएको छ।
सुुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गर्दा दाउणामा दुर्घटनामा परेको थियो। ट्र्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए।
दुर्घटनामा जगन्नाथ–३ मनिकाँडाका ४० वर्षीय बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया सङ्गीता शाही र चालक २१ वर्षीय नवीन बोहरा घाइते भएका छन्। घाइते सबैको कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ट्र्याक्टर चालक बोहरा अछामको रामारोसन गाउँपालिका–४ का हुन्। प्रहरीले ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जनाएको छ।
