कांग्रेसको परराष्ट्र नीति : राष्ट्रिय हित र स्वाधीन निर्णयलाई प्राथमिकता
काठमाडौं । नेपाली कांग्रेसले नेपालको परराष्ट्र सम्बन्धलाई राष्ट्रिय हित, सार्वभौमिक समानता र स्वतन्त्र निर्णय क्षमतामा आधारित बनाउनुपर्ने नीति अघि सारेको छ।
महाधिवेशनमा सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई आपसी सम्मान र हितका आधारमा अघि बढाउँदै आर्थिक साझेदारी विस्तार गर्ने उल्लेख छ। साथै, नेपाललाई विश्व समुदायमा शान्त, स्वाभिमानी र स्वतन्त्र राष्ट्रका रूपमा स्थापित गर्ने दिशामा परराष्ट्र नीति केन्द्रित गर्नुपर्ने प्रस्तावमा जोड दिइएको छ।
थापाले पछिल्लो समय बढिरहेको भूराजनीतिक प्रतिस्पर्धाले नेपालको आर्थिक सम्बन्ध, नागरिकको सुरक्षा र स्वतन्त्र निर्णय क्षमतामाथि दबाब बढाएको उल्लेख गरेका छन्। यस्तो चुनौतीलाई तत्कालीन प्रतिक्रियाभन्दा दीर्घकालीन रणनीतिबाट सम्बोधन गर्नुपर्ने उनको प्रस्तावमा भनिएको छ।
प्रस्तावमा विदेशमा रहेका नेपालीको सुरक्षा, सम्मान र अवसर सुनिश्चित गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। विदेशमा रहेका नेपालीको ज्ञान, सीप, लगानी र आर्थिक सम्बन्धलाई नेपालको राष्ट्रिय विकाससँग जोड्नुपर्ने धारणा कांग्रेसले अघि सारेको छ।
कांग्रेसका अनुसार राष्ट्रिय स्वाधीनता केवल सीमा सुरक्षा वा कूटनीतिक स्वतन्त्रतामा सीमित विषय होइन। ऊर्जा, वित्त, प्रविधि, आपूर्ति प्रणाली र कूटनीतिमा आफ्नै निर्णय कार्यान्वयन गर्न सक्ने क्षमता विकास गर्नु पनि स्वाधीनताको महत्वपूर्ण आधार हो।
त्यस्तै, कूटनीतिक सेवामा योग्यता, क्षमता र इमानदारीका आधारमा नियुक्ति गर्ने तथा प्रविधि, ज्ञान र वित्तीय सम्बन्धमा नेपालको विकल्प र निर्णय क्षमता बलियो बनाउने विषय पनि राजनीतिक प्रस्तावमा समेटिएको छ।
कांग्रेसको प्रस्तावले बदलिँदो भूराजनीतिक परिस्थितिमा राष्ट्रिय हित, आर्थिक साझेदारी र स्वाधीन निर्णय क्षमतालाई परराष्ट्र नीतिको प्रमुख आधारका रूपमा अघि सारेको छ।
