`

चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू

Nepal One HD २१ असोज २०८३ १२:२१
प्रशासन

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय पर्साले आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ।

चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

चाडपर्वका अवसरमा हुने आवतजावत, बजार तथा व्यापारिक क्षेत्रमा बढ्ने भीड, सार्वजनिक यातायातमा हुने चाप तथा धार्मिक-सांस्कृतिक गतिविधिलाई ध्यानमा राख्दै प्रहरीले विशेष निगरानी, गस्ती र चेकजाँचलाई प्रभावकारी बनाएको जनाएको छ।

प्रहरीले सम्भावित आपराधिक गतिविधि तथा शान्ति सुरक्षामा खलल पुग्ने घटनालाई नियन्त्रण गर्न सुरक्षा योजना कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ। साथै, सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी नचलाउन, जुवातास नखेल्न तथा आतसबाजी नगर्न आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालयले सबै नागरिकलाई सुरक्षित र मर्यादित रूपमा चाडपर्व मनाउन तथा आपराधिक गतिविधिमा संलग्न व्यक्ति वा घटनाबारे समयमै प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ। साथै, सुरक्षित समाज निर्माणमा नागरिक र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *