`

रुसमा प्रयोगशाला कर्मचारीको मृत्युबारे डब्लुएचओले माग्यो थप जानकारी

Nepal One HD २१ असोज २०८३ २१:३५
विश्व

काठमाडाैँ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले रुसमा प्लेगसम्बन्धी खबर सार्वजनिक भइरहेका बेला प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर निमोनियाबारे थप जानकारी उपलब्ध गराउन रुसी अधिकारीसँग आग्रह गरेको छ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सम्भावित जनस्वास्थ्य जोखिमको सही मूल्याङ्कन गर्न समयमै, पूर्ण र पारदर्शी रूपमा सूचना आदानप्रदान आवश्यक रहेको बताएका छन्। उनले आवश्यक परे मस्कोलाई प्राविधिक सहयोग उपलब्ध गराउन डब्लुएचओ तयार रहेको बताए।

टेड्रोसले सामाजिक सञ्जाल ‘एक्स’मा डब्लुएचओले इर्कुत्स्कस्थित एन्टी–प्लेग रिसर्च इन्स्टिच्युटमा प्रयोगशालाका एक कर्मचारीको मृत्युबारे अनुसन्धान गरिरहेको उल्लेख गरे। उनका अनुसार ती कर्मचारीलाई अक्टोबर २ मा गम्भीर निमोनियाका कारण अस्पताल भर्ना गरिएको थियो र पछि उनको मृत्यु भएको थियो।

प्रारम्भिक सञ्चारमाध्यमका खबरमा प्रयोगशालामा भएको भनिएको दुर्घटनात्मक सम्पर्कपछि ती कर्मचारीमा ‘न्युमोनिक प्लेग’ सङ्क्रमण भएको हुन सक्ने उल्लेख गरिएको थियो। तर, डब्लुएचओले यसबारे थप आधिकारिक जानकारी मागेको छ।

डब्लुएचओले शनिबार अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन (आइएचआर) अन्तर्गत रुसी अधिकारीसँग घटनाबारे जानकारी मागेको थियो । आइएचआर सीमापार फैलिन सक्ने जनस्वास्थ्य जोखिम तथा आपत्कालीन अवस्थाको व्यवस्थापनका लागि देशको अधिकार र दायित्व निर्धारण गर्ने कानुनी रूपमा बाध्यकारी अन्तरराष्ट्रिय ढाँचा हो । यसअन्तर्गत देशले आइएचआरका अनुरोधमा समयमै जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ । रुसले मङ्गलबार आइएचआरलाई जवाफ दिएको थियो।

टेड्रोसका अनुसार आइएचआरले गम्भीर निमोनियाको कारण, जनस्वास्थ्यका लागि जोखिम उत्पन्न गर्न सक्ने रोगजनकको सम्भावित पहिचान तथा अज्ञात कारणले निमोनिया भएका भनिएका अर्का कर्मचारीबारे थप स्पष्टीकरण मागेको छ।

उपलब्ध सूचनाका आधारमा आइएचआरको प्रारम्भिक जोखिम मूल्याङ्कनले इर्कुत्स्क क्षेत्रमा जोखिम मध्यमदेखि न्यून, समग्र रुसमा न्यून र युरोपमा अति न्यून रहेको जनाएको छ।

मङ्गलबार तान्जानियामा विश्वभरका सांसदलाई सम्बोधन गर्दै टेड्रोसले स्वास्थ्य क्षेत्रमा अन्तरराष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभएको थियो । “भाइरसले सीमा मान्दैनन्,” उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *