`

तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढ्यो

Nepal One HD २८ जेठ २०८३ १५:५०
अर्थ समाचार

काठमाडौं। यता नेपालमा गृहमन्त्री सुधन गुरुङको पुनर्बहालीले राजनीतिक माहौल तातेको छ भने विश्व बजार अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण तातिएको छ।

अमेरिका–इरानबीचको तनावको प्रत्यक्ष असर विश्वव्यापी तेल बजारमा देखिन थालेको छ। इरानले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेपछि बिहीबार कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य २.५ प्रतिशतले बढेर प्रति ब्यारेल ९५.४० अमेरिकी डलर पुगेको छ भने अमेरिकी डब्लुटिआई क्रुड २.९ प्रतिशतले बढेर प्रति ब्यारेल ९२.६३ डलरमा कारोबार भएको छ।

इरानको संयुक्त सैन्य कमान्डले पछिल्लो अमेरिकी आक्रमणपछि हर्मुज जलमार्ग तेल ट्याङ्कर तथा व्यावसायिक जहाजहरूका लागि बन्द गरिएको दाबी गरेको छ। साथै सो क्षेत्रबाट गुड्ने जहाजहरूलाई लक्षित गरी कारबाही गर्न सकिने चेतावनी पनि दिएको छ।

हर्मुज जलमार्ग विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक हो। यहाँबाट ठूलो मात्रामा कच्चा तेल विश्व बजारमा आपूर्ति हुने भएकाले कुनै पनि अवरोधले अन्तर्राष्ट्रिय बजारमा तुरुन्तै मूल्यमा असर पार्ने विश्लेषकहरूको भनाइ छ।

विश्लेषकहरूका अनुसार यदि तनाव अझै बढ्दै गएमा तेल आपूर्ति संकट गहिरिन सक्ने र मूल्य अझै बढ्ने सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *