`

पनौतीमा हिलेजात्रा : जात्रा सकिएपछि मात्र रोपाइँ

काभ्रे । काभ्रेपलाञ्चोकको पनौतीमा आज ज्येष्ठ त्रयोदशीदेखि हिलेजात्रा (ज्याःपुन्ही) सुरु भएको छ । तीन दिन पूर्णिमाको रात रहुन्जेल स्थानीयले हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरानो चलन हो ।

‘ज्येष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने स्थानीय बुढापाकाको भनाइमा उक्त जात्रामा सामेल हुनै पर्ने परम्परागत तथ्य पनि छ । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भन्ने गरिएको पाइन्छ ।

कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष औपचारिक पूजा अर्चना मात्रै गरी मनाइएको थियो । मान्यताअनुसार जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनै पर्छ र प्रत्येक वर्ष यस्तै हुँदै आएको स्थानीयसँग अनुभव छ । 

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लँदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकार बताउनुहुन्छ । 

करिब ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुई वटा बाँस तेर्स्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठुलो जात्राका रूपमा लिने गरिएको छ । जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजा अर्चना गरिन्छ । 

साथै इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी धूमधामकासाथ नगर परिक्रमा गराइन्छ । जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथको भागदौड गराउने र रथ भेटिँदा एकापसमा जुधाउने काम हुन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रूपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्दछ । 

स्थानीय वृद्ध वृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रूपमा रथ जुधाइन्छ । रथ जुधाइसँगै अबिर जात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रूपमा लिइएको हो । युवायुवती रथ जुधाउन तँछाडमछाड गर्छन् । 

इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिले–पहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआए पनि पछिल्ला केही वर्षदेखि देवता रुपी रथलाई दिउँसो जुधाउने गरिएको छ ।

जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरू सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठुलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ । 

अर्को रोचक प्रसङ्ग, मान्यताअनुसार जात्रामा चिउली र केरा खाएर घुम किन्नै पर्छ । यसपछि यी सामग्रीको बिक्री सुरु हुने पनि जनविश्वास छ । जात्रामा चिउली चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारकासाथ भोज गरिन्छ । भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम रहेको बताइन्छ । 

जात्रा अवधिभर स्थानीय फोटो पत्रकारले काभे्रपलाञ्चोकको सम्पदा, प्रकृति, संस्कृति तथा पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी गर्ने गर्छन् । स्थानीय मुख्य पर्व जनाउँदै पनौती हिलेजात्राको अन्तिम दिन नगरपालिका कार्यालयले नगरमा सार्वजनिक बिदासमेत दिने गरेको छ । 

किंवदन्तीअनुसार राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ । तीन नदीको सङ्गम स्थल त्रिवेणी घाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्त रूपमा बहिरहेको मान्यता छ ।

भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्त रूपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्त रूपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीलाई पद्मावती मानिँदै आइएको छ ।रासस

मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नति

भरतपुर – मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो ।

उनान्चालीस किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । पहिलो चरणमा पाँच किलोमिटरमा काम भइरहेको छ ।

चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ । बजार क्षेत्रमा भने चारदेखि छ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिनुभयो । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिने छ ।

यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै सुरु भइसकेको छ । मलेखुसम्म छ पुल निर्माण हुनेछन् । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन् । खटौटीमा पुल निर्माण अघि बढेको छ । यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन् । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने छन् ।

आयोजनाको यो खण्ड रु चार अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रुख काट्न बाँकी छ । यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन् । “यो सडकखण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “पहाड काट्दा सधैँ पहिराले दुःख दिने सम्भावना हुन्छ ।” सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्नका लागि आयोजनाले तीव्रगतिमा काम अघि बढाएको छ । विश्व बैंकको आर्थिक सहयोगमा यो राजमार्ग विस्तारको काम थालिएको हो । यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो । नागढु¬ङ्गा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ ।

खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सबै प्रकारको सहयोग गर्छ : प्रधानमन्त्री दाहाल

नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ । आज साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको विजनेश समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गर्नुभयो ।

सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको बताउनुभयो । उहाँले सरकारले लगानीकर्ताको हितका लागि एकल विन्दु सेवा केन्द्र, लगानीमैत्री कानुन तथा विशेष आर्थिक क्षेत्र निर्माण गरेर धेरैभन्दा धेरै सहजीकरण गरेको उल्लेख गर्नुभयो ।

निजी क्षेत्रलाई बलियो र शक्तिशाली सहयोगीका रुपमा सरकारले चित्रण गर्दैसँगै साथमा लिएर जाने प्रतिबद्धता गरेको तथा सोहीअनुसारको वातावरणसमेत बनाएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भारतीय कम्पनीले नेपालमा गरेको लगानीले दिएको प्रतिफलको बारेमा जानकारी गराउनुभयो ।

नेपालको ऊर्जा, भौतिक पूर्वाधार, उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आग्रह गर्दै उहाँले नेपालमा लगानीकर्ता प्रतिफल ल्याउन कुनै समस्या नपर्ने, भाषाको समस्या नरहेको र समान सांस्कृतिक एवं जनस्तरको सम्बन्धले थप सहज बनाउने बताउनुभयो ।

भारतीय कम्पनीको लगानी रहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना सफलरुपमा अन्तिम चरणमा पुग्न लागेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पश्चिम सेती, सेती नदी (एसआर ६), तल्लो अरुणलगायतका आयोजनाले दुवै देशको अधिकतम हित गर्ने बताउनुभयो ।

उहाँले आज बिहान आफ्ना भारतीय समकक्षीसँग नेपालको बृहत्तर हितका विषयमा महत्वपूर्ण छलफल भएको र त्यसले सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको उल्लेख गर्नुभयो । समग्र विषयमा खुला हृदयका साथ छलफल भएको र त्यसबाट दुई देशबीच रहेका साझा विषयमा समाधान धारणा बनेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । नेपाल र भारतबीचको सम्बन्ध कोही कसैसँग तुलना नै हुन नसक्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास र नेपालको समुन्नतिका लागि आफूहरु मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतका सङ्घीयमन्त्री पियूष गोयलले नेपाल र भारतबीचको सम्बन्ध अद्विप्तीय रहेको बताउनुभयो । सीमा, भूराजनीतिले दुई देशबीचको सम्बन्धलाई विभक्त गर्न नसक्ने उल्लेख गर्दै उहाँले आफूहरु एकै परिवारका सदस्यका रुपमा रहेको बताउनुभयो । उहाँले भारतीय प्रधानमन्त्रीले अगाडि सार्नुभएको छिमेक पहिले नीतिका साथ नेपाल र भारतबीच साझा दृष्टिकोणका साथसाथै समृद्धिको यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले व्यापार र वाणिज्यका लागि आज भएको सहमति आफैँमा महत्वपूर्ण भएको बताउनुभयो । उहाँले नेपाल सरकारले वैदेशिक लगानीका लागि अधिकतम सहज वातावरण बनाएकाले नेपालमा लगानीका लागि भारतीय उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रोजस्तो ठूलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज गन्तव्य रहेको स्पष्ट रहेको बताउनुभयो । उहाँले नेपालको ऊर्जा, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा लगानीका लागि भारतीय व्यवसायीलाई आग्रह गर्दै लगानी बोर्डमार्फत आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गरिरहेका भारतीय कम्पनीको सफल उदाहरण पेश गर्दै नेपाल र भारतका उद्योगी व्यवसायीको साझा सहकार्यका लागि आग्रह गर्नुभयो । उहाँले नेपालमा लगानी गरिरहेका डाबर, एभरेष्ट बैंक, एसबीआई बैंक, युनिलिभरलगायतका संस्थाले कमाएको नाफा सहजरुपमा भारतमा ल्याउन पाएको र नेपालमा समेत उत्कृष्ट सेवा प्रदान गरेर ठूलो करदाताका रुपमा समेत रहेको भन्दै अध्यक्ष ढकालले सम्पर्क सञ्जालको विस्तार तथा वर्तमान सरकारले लिएको नीतिका कारण पनि लगानीको थप वातावरण बनेको बताउनुभयो ।

भारतीय उद्योग परिसङ्घका सभापति आर दिनेशले नेपाल र भारतका उद्योगी व्यवसायीबीच साझा दृष्टिकोण निर्माण गरेर अगाडि बढ्ने उद्देश्यका साथ आज महत्वपूर्ण छलफलको आयोजना गर्न पाउँदा खुसी लागेको बताउनुभयो । कार्यक्रममा नेपाल र भारतका उद्योगी व्यवसायीको सहभागिता थियो ।

प्रधानमन्त्री प्रचण्ड पुग्नुअघि महाकालेश्वर मूल प्रवेशद्वार नै भत्कियो, मानवीय क्षति भएन

उज्जैन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्य प्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्न आउनुभन्दा एक दिनअघि ‘श्री महाकाल लोक’ करिडोरको मुख्य प्रवेशद्वार भत्किएको छ । 

हिजो पिलरको माथिल्लो भागमा सिमेन्टले बनेको सजावटी भाग खसेको हो । चार दिनअघि पनि हावाहुरीका कारण ‘श्री महाकाल लोक’ करिडोरका ६ वटा मूर्ति ध्वस्त भएका थिए । यसरी टुटेका मूर्तिहरू त्यहाँ स्थापित सात ऋषिहरू ६ वटा थिए, जुन लगभग ११ फिट उचाइका थिए ।

एबिपी लाइभका अनुसार हिजो मुख्य प्रवेशद्वार भत्किदा त्यहाँ उपस्थित भक्तजनमा त्रास फैलिएको थियो तर सो घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

मुख्य प्रवेशद्वारको छत टुटेको घटनाबारे सोध्दा महानगरका प्रहरी उपरीक्षक ओमप्रकाश मिश्रले भन्नुभयो, ‘कुनै मानवीय क्षति भने भएको छैन । भगवानलाई धन्यवाद, कुनै पनि अप्रिय घटना भएन।’  

महाकाल लोक करिडोरको मुख्य प्रवेशद्वार नन्दी द्वारमा उक्त घटना भएको हो । 

नेपालका प्रधानमन्त्री प्रचण्ड आज बिहान ११ः०० बजे उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्न आउँदै हुनुहुन्छ । उज्जैनमा अवस्थित महाकालेश्वर मन्दिर देशका १२ ज्योतिर्लिङ्ग मध्ये एक हो। यहाँ देश तथा विदेशबाट ठुलो सङ्ख्यामा भक्तजन जाने गर्दछन् ।

मध्य प्रदेशका गभर्नर मंगुभाइ पटेलले नेपालका प्रधानमन्त्रीलाई महाकाल मन्दिरको महाकाल लोकको नन्दी द्वारमा स्वागत गर्ने एक अधिकारीले जानकारी दिनुभयो । 

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ – नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । 

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार आज बिहान ११ः३० बजे सचिवालय बैठक बस्न लागेको हो । समसामयिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न सचिवालय बैठक बस्न लागेको उहाँले जनाकारी दिनुभयो । 

बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ । एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो । 

आजको मौसम : यी प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौँ– हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। देशको पहाडी भू–भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । 

दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०८० जेठ १९ गते (शुक्रवार)
दिउँसो
: देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती:  देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०८० जेठ २० गते (शनिवार)
दिउँसो:
  देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०८० जेठ २१ गते (आइतबार)
दिउँसो:  
देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
​​​​​​​राती: देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सरकारले पेश गरेको बजेटमा एमालेका १७ बुँदे ध्यानाकर्षण

काठमाडौं – सरकारले आगामी आर्थिक बर्षको लागि सरकारले पेश गरेको बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १७ बुँदे ध्यानाकर्षण सार्वजनिक गरेको छ ।

एमालेका सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै सरकारलाई बजेटले आम नेपालीलाई सम्बोधन गर्न नसकेको स्पष्ट पार्नु भएको छ ।

एमाले सरकारको पालामा सुरुवात भएका योजनाहरुलाई सरकारले प्राथमिकता नदिएकोमा भट्टराईको गम्भिर आपत्ती छ ।

विज्ञप्तिमा भनिएको छ, नेकपा एमालेको तत्कालिन सरकारको पालामा सुरु गरिएको वीर अस्पताल, शुक्रराज सरुवा रोग अस्पताल, शहीद गंगालाल हृदयरोग केन्द्र, शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, वीपी कोइराला क्यान्सर अस्पताल, प्रसुती गृह अस्पताल, त्रिवी शिक्षण अस्पताल लगायतका केन्द्रीय महत्वका अस्पतालको विशिष्टीकृत सेवा विस्तार गर्दै लग्ने तथा भौतिक संरचना विस्तार कार्यक्रमलाई बजेट तथा नीति कार्यक्रमले प्राथमिकताम राखेको देखिदैन ।’

‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई थप विस्तार गर्दै ‘एक औद्योगिक क्षेत्र एक नर्स’, ’एक वडा एक योग तथा व्यायमशाला’, जस्ता लोर्काप्रय र आधारभूत कार्यक्रमहरूलाई बजेटले नसमेटेकोमा रोस प्रकट गर्नुभएको छ ।

विज्ञप्तीमा सरकारको नीति तथा कार्यक्रम र बजेटबीच पनि समन्वय नभएको भट्राईले उल्लेख गर्नुभएको छ ।
हेर्नुहोस विज्ञप्ती-

सहिद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस विजयी

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । 

पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले निर्णायक गोल गरे । उनले खेलको ७५ औँ मिनेटमा गरेको एक गोल नै पुलिसको लागि निर्णायक गोल सवित भयो । त्यस जितसँगै पुलिसले २३ खेलमा ३४ अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको चौथो स्थानमा रहेको छ । समान खेल खेलेको एनआरटी २३ खेलमा २९ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ । 

सभामुखलाई अनेरास्ववियुको ज्ञापनपत्र

काठमाडौँ – नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोषको व्यवस्था हटाउन माग गर्दै आज प्रतिनिधिसभाका सभामुख देवराजव घिमिरेलाई नेकपा (एमाले) निकट अनेरास्ववियुले ध्यानाकर्षणपत्र बुझाएको छ ।

सो सङ्गठनका अध्यक्ष अध्यक्ष समिक बडालको नेतृत्वमा गएको टोलीले सिंहदरबारमा सो ज्ञापनपत्र बुझाएको हो ।

चुरे तथा पर्यावरण संरक्षणका लागि सरकार गम्भीर छ : वनमन्त्री महतो

जनकपुरधाम – वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले चुरे तथा पर्यावरण संरक्षणका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । चुरे तथा नदी प्रणाली सरोकार पत्रकार समाजका पदाधिकारीसँग आज सिरहामा भएको भेटघाटमा मन्त्री महतोले चुरे क्षेत्रको संवेदनशीलता र त्यसले तराई मधेसमा पार्ने प्रभावका विषयमा सरकार सचेत रहेकाले संरक्षणमा प्रतिकूल असर पार्ने गरी कुनै कार्य नहुने प्रष्ट पार्नुभयो ।

उहाँले पर्यावरण संरक्षणका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारको सकारात्मक भूमिकाले चुरे र चुरे हुँदै बग्ने खहरे एवं नदी प्रणालीको व्यस्थापनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै निरन्तर कलम चलाउन आग्रह गर्नुभएको समाजका अध्यक्ष अनिलकुमार कर्णले जानकारी दिनुभयो ।

भेटघाटका क्रममा चुरे तथा नदी प्रणाली सरोकार पत्रकार समाजका केन्द्रीय अध्यक्ष अनिलकुमार कर्णले संस्थाको उद्देश्यबारे जानकारी गराउँदै सञ्चारकर्मीलाई चुरे तथा नदी प्रणालीसम्बन्धी ज्ञान तथा संवेदनशीलता अभिवृद्धिका लागि वनमन्त्री महतोको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस अवसरमा मन्त्री महतोले पत्रकार समाजका अध्यक्ष कर्ण, उपाध्यक्ष अभरेन्द्रकुमार यादव र महासचिव विजयकुमार साहलगायतलाई सम्मान गर्नुभएको थियो ।

बागमती प्रदेशसभा बैठक : सरकारको नीति तथा कार्यक्रमाथि छलफल जारी

मकवानपुर – बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो र दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बैठकमा सत्तापक्ष र प्रतिपक्ष गरी ३५ जना प्रदेश सभाका सदस्यले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएका विभिन्न कार्यक्रमलाई परिमार्जन गरी आत्मनिर्भर बनाउने खालको योजनालाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो ।

उहाँहरुले प्रदेशको सबै जिल्लामा सरकारी अनुदानबाट सञ्चालित विद्यालयलाई गुणस्तरीय सेवा पुर्याउन शिक्षकको अपग्रेट गर्ने र नीति क्षेत्रका विद्यालयबाट राजनीतिक नेतृत्व, सरकारी कर्मचारी र विभिन्न अभिभावकबाट आफ्नो बालबालिकालाई सरकारी स्कुलमा पठाउनेतर्फ प्रदेश सरकारले नीतिगत कार्यक्रम तर्जुमा गरी आगामी आवदेखि लागू गर्न सुझाव दिनुभयो ।

यसैगरी, प्रदेशको काठमाडौँलगायत अन्य जिल्लामा खानेपानीको समस्या निकै कठिनाइ भोग्नुपरेको उल्लेख गर्नुहुँदै उहाँहरूले नीति तथा कार्यक्रमले दुर्गम बस्तीका बासिन्दालाई पिउने पानी र सिँचाइको लागि योजनामा ल्याउन माग गर्नुभयो । बैठकमा नीति तथा कार्यक्रममाथि आदिवासी जनजाति, दलित, महिला सीमान्तकृत वर्गलाई आत्मनिर्भर हुने आर्थिक प्याकेजको कार्यक्रम ल्याउन र त्यसक्षेत्रमा सिँचाइको प्रबन्ध गरी कृषि उत्पादनलाई बढुवा दिन जनमुखी योजना ल्याउनुपर्नेमा उहाँहरूको जोड थियो ।

उहाँहरूले सडक सञ्जाललाई राष्ट्रिय राजमार्गसँग जोड्न र विपन्न नागरिकलाई सस्तो उपचारको क्रममा जिल्ला अस्पतालसम्म ल्याउने एम्बुलेन्सको व्यवस्था गर्न र स्थानीय निकायलाई स्वास्थ्यचौकीमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरी उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले आगामी आर्थिक वर्षभित्र थप कार्यक्रम तर्जुमा गरी लागू गर्न आग्रह गर्नुभयो ।

बैठकको छलफलमा अधिकांश प्रदेश सभाका सदस्यले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउने, खाद्यान्न बालीलाई प्रदेशभित्र सबै सर्वसाधारणको पहुँचमा पु¥याउन पायक पर्ने स्थानमा मलखाद्य कारखानाको स्थापना गर्ने, कृषकलाई मौसमी तरकारीखेती गर्न वित्तीय क्षेत्रको बैंकबाट ऋण उपलब्ध गराउने र कृषकले उत्पादन गरेको तरकारी, फलफुल खाद्यान्नलाई बजारको व्यवस्थापन मिलाउने कार्यमा ध्यान दिन कृषि मन्त्रालयले समन्वय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइयो ।

काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा सम्पदाको संरक्षण गर्ने ऐतिहासिक जात्रालाई प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत संरक्षण एवं नियमित पूजाआजा प्रर्दशन गर्ने कार्यलाई प्रभावकारीरुपमा परिचालन गर्न प्रदेशसभा सदस्यले सुझाव दिनुभयो । बैठकमा पर्यटनको विकासको लागि गुरुयोजना तर्जुमा गरी क्रमशः लागू गर्दै लैजाने नीति अनुरुप सरकारले योजना बजेट तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै उहाँहरुले गणतान्त्रिक व्यवस्थालाई सुदृढ तुल्याउन प्रदेशमा सुशासनको अभ्यास गरिनुपर्ने एवं भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ प्रदेश सरकारले आवश्यक ऐन, कानुनको तर्जुमा गरी जुनसुकै दलको नेता तथा कार्यकर्ता भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने र दलगत स्वार्थमा हेर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

उक्त बैठकमा प्रदेशसभाका सदस्य क्रमशः सुरेन्द्रराज गोरसाईँ, दिलकृष्ण महर्जन, रघुनाथ महर्जन, आशा लामा, राजेन्द्र प्रजापति, नेत्रप्रसाद गोतामे, आनन्द श्रेष्ठ, उर्मिला खनाल, रामप्रसाद ढुङ्गाना, उर्मिला तामाङ, प्रभात तामाङ, दीपेन्द्र श्रेष्ठ, क्षेत्रबहादुर भोमजन, माइली तामाङ, कुमारी लामा, भुवनेश्वरी श्रेष्ठ, कञ्चन बादे श्रेष्ठ रहेका छन् ।

यसैगरी, रुकु चौलागाईं, प्रेमबहादुर पुलामी (छिन्तु), कुमारी तामाङ, ईश्वर सापकोटा, सुरेश श्रेष्ठ, गीता काफ्ले, सरल सहयात्री पौडेल, मोनिका श्रेष्ठ, श्रीराम लामिछाने, विनु राइमाझी पौडेल, कृष्णकुमार तामाङ, हरिप्रसाद सापकोटा, सृजना सैजू, धनश्याम प्रजापति, प्रेमभक्त महर्जन, सुकुमाया तामाङ, केशवप्रसाद पोखरेल, युवराज चौलागाईं हुनुहुन्छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक भोलि जेठ १९ गते बिहान साढे १० बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो । नीति तथा कार्यक्रम भोलि हुने बैठकबाट पारित हुने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

जुस खुवाएर भारतीयले गरे लुटपाट

कञ्चनपुर – कञ्चनपुरमा कोठा भाडामा बस्न आएका दुई जना भारतीय नागरिक चोरी गरेर फरार भएका छन् ।

भीमदत्त नगरपालिका-४, गोबरीयाकी खगेश्वरी प्वालीको घरमा भाडामा बस्न आएका भारतीयले चोरी गरेका हुन् । दुई दिन अगाडि प्वालीको घरमा कोठा भाडामा लिएर बसेका भारतीयहरूले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बुधबार राति घरमा छोरा भएको भन्दै सबैलाई जुस खुवाएर बेहोस बनाइ लुटपाट गरेको प्रहरीले बताइएको छ ।

जुस खाएर बेहोस भएका उक्त परिवारका सातै जनालाई महेन्द्रनगरस्थित महाकाली अस्पताल लगिएको प्रहरीले जनाएको छ । अहिले सबैजनालाई होस आइसकेको र ४ हजार नगदसहित १० आनाको सुनको तिलहरी चोरी भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

चोरीको पूर्ण विवरण भने आइ नसकेको प्रहरीले बताएको छ । प्वाली परिवारलाई भाडामा बस्न आएका भारतीयको नाम ठेगाना केही पनि थाहा छैन । कञ्चनपुर प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

चुरोट, सुर्तीको लत छुटाउन अब वीर अस्पताल जाऔँ

काठमाडौँ – के तपाईँ चुरोट, सुर्ती खैनीलगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहानुहुन्छ ? यही हो भने त वीर अस्पतालले चुरोट, खैनीको लत छुटाउनका लागि उपचार सेवा सञ्चालन गरेको छ ।

अस्पतालले विश्वभर नै विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर ‘निकोटिन रिप्लेसमेन्ट थेपारी’ उपचार पद्धति सुरु गरेको छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले चुरोट, खैनी, सुर्तीको कुलतमा फसेका लागि छुटाउनका लागि ‘निकोटिन रिप्लेसमेन्ट थेपारी’ सुरु गरिएको जानकारी दिनुभयो ।

थेरापीमा चुरोट सुर्ती खैनीको लतमा फसेकालाई छुटाउनका लागि निकोटिन चुइगम दिइन्छ र सोही चुइगमको सहयोगले लत छुटाउने उहाँले बताउनुभयो । थेपारीमा चुरोट, खैनी र सुर्तीको सट्टा मानिसलाई निकोटिन चुइगम दिइन्छ । “मानिसले कति चुरोट सुर्ती सेवन गर्दछ । सोहीअनुसार मात्रामा निकोटिन चुइगम दिइन्छ”, उहाँले भन्नुभयो, “चुइगममा निकोटिन हुन्छ । मानिसलाई लत लगाउने काम निकोटिनले गर्दछ । सोही लत हटाउनका लागि मानिसलाई चुइगम दिइन्छ ।”

उहाँले चुरोट सुर्ती र खैनीमा निकोटिनबाहेकका तत्व हुन्छन् र ती तत्वले क्यान्सर रोग गराउने भन्दै तर निकोटिन मात्र भएको चुइगमले शारीरिक मानसिक असर गर्ने भए पनि क्यान्सर रोग नगराउने बताउनुभयो । उहाँले मानिसमा इच्छाशक्ति भएपछि चिकित्सको परामर्शमा लत छुटाउने व्यक्तिलाई विस्तार निकोटिन चुइगमको माध्यमबाट लत छुटाउन सकिने बताउनुभयो ।

“चुरोट, सुर्ती र खैनीको सट्टा चुइगम खान दिइन्छ । चुइगमले लत केही हदसम्म घटाउँछ । अनि विस्तारै ति मानिसलाई चुइगमको कारणले चुरोट, सुर्ती र खैनी खाऊ, खाऊ भन्ने बानी हराउँदै जान्छ”, उहाँले भन्नुभयो, “अनि विस्तार मानिसको लत हटाउन सकिन्छ ।” अस्पतालले थेरापीमा दन्त विभाग, क्यान्सर विभाग र मेडिसिन विभागका चिकित्सकको समन्वयमा लत छुटाइने गरिन्छ ।

दन्त विभागमा सुर्ती खाएको थाहा हुने गर्दछ । क्यान्सर विभागमा बिरामीले चुरोट खाने गरेको थाहा हुन्छ । र मेडिसिन विभागमा चुरोटले गर्दा बिरामीलाई दम भएको हुन्छ । ती विभागले समन्वयमा अस्पतालले सुर्तीजन्य पदार्थको लत छुटाउन थालेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अस्पताललाई सुर्तीजन्य पदार्थको लत हटाउनका लागि ४५ हजार निकोटिन चुइगम उपलब्ध गराएको छ ।

निकोटिन चुइगम चिकित्सकले दिइसकेपछि निश्चित अवधिपछि पुनः अस्पतालमा बोलाएर बिरामीको अवस्था हेरेर चुइमग खान फेरि दिइने उहाँले बताउनुभयो । यसैगरी अस्पतालमा सुर्तीजन्य पदार्थ कति खाइरहेको छ त्यसको आधारमा पनि लत छुटाउनका लागि परामर्श सेवा पनि उपलब्ध गराइएको अस्पतालका निर्देशक डा पौडेलले जानकारी दिनुभयो ।

अस्पतालले क्यान्सर विभागमा परार्मशका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । सुर्तीजन्य पदार्थ सेवन गर्दा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु रोग, क्यान्सर रोग, दीर्घ रोगलगायतका समस्या देखिने गर्दछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव ९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ । तीमध्ये ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् । डब्लुएचओको सन् २०२२ को तथ्याङ्कअनुसार विश्वमा २२ दशमलव ३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । सुर्तीजन्य पदार्थको प्रयोग महिलाभन्दा पुरुषमा बढी हुने गरेको छ । महिलाको ७ दशमलव ८ प्रतिशत र पुरुषमा ३६ दशमलव ७ प्रतिशत रहेको छ ।

दुई देशबीच उल्लेख्य उपलब्धि हासिल भएका छन् : प्रधानमन्त्री मोदी

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताउनुभएको छ ।

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले भारत–नेपाल सम्बन्धलाई हिमाल जतिकै उचाइ प्रदान गर्नका लागि काम गरिरहने उल्लेख गर्नुभयो

“यही भावनाअनुसार सबै मुद्दा, चाहे सीमाका हुन्, या अन्य कुनै विषय सबै समाधान गर्छौं”, उहाँले भन्नुभयो, “यो सुन्दर सम्बन्धलाई थप प्रगाढ बनाउन प्रधानमन्त्री दाहाल र मैले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्र गतिमा अगाडि बढाउन चाहेका छौँ ।”

नौ वर्षअघि सन् २०१४ मा आफूले भारतीय प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको तीन महिनाभित्र नेपालको पहिलो भ्रमण गरेको स्मरण गर्दै उहाँले नौ वर्षमा दुवै देशबीच अनेकौँ क्षेत्रमा कयाँै उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो ।

“वीरगञ्जमा नेपालको पहिलो एकीकृत जाँचचौकी (आइसिपी) बनेको छ, भारत–नेपालका बीचमा पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण भएको छ । ‘ब्रोडगेज’ रेललाइन स्थापित भएको छ, सीमा क्षेत्रमा नयाँ प्रसारण लाइन निर्माण भएको छ । नेपालबाट चार सय ५० मेगावाट बिजुली आयात गरिरहेका छौँ”, भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो ।

उहाँले भारत–नेपाल ‘पार्टनरसीप’ लाई ‘सुपरहिट’ बनाउन दुवै देशका प्रधानमन्त्रीले महत्त्वपूर्ण निर्णय लिएको उल्लेख गर्नुभयो । “आज पारवहन सम्झौता सम्पन्न भएको छ । यसमा नेपालीका लागि नयाँ रेलमार्गका साथ भारतको जलमार्गको सुविधा प्राप्त हुनेछ । नयाँ रेल लिङ्क स्थापना गरेर भौतिकरूपमा सम्पर्क सञ्जाल जोडिएको छ”, प्रधानमन्त्री मोदीले भन्नुभयो ।

भारतीय रेल संस्थानमा नेपालका रेलकर्मीलाई प्रशिक्षण प्रदान गर्ने निर्णय लिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले अन्तरदेशीय डिजिटल भुक्तानीसम्बन्धी सम्झौतासँगै हजारौँ विद्यार्थी, लाखाँै पर्यटक अथवा तीर्थयात्रीका साथ स्वास्थ्योपचारका लागि भारत आउने नेपालीले लाभ लिने उल्लेख गर्नुभयो । उहाँले थप तीनवटा एकीकृत जाँचचौकी निर्माणबाट आर्थिक कनेक्टिभिटी सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

“पछिल्लो वर्ष हामीले ऊर्जा क्षेत्रमा सहयोगका लागि एक ‘ल्याण्डमार्क भिजन’ दस्तावेज बनाएका छौँ । यसलाई अगाडि बढाएर नेपाल र भारतबीच दीर्घकालीन ऊर्जा व्यापार सम्झौता (लङट्रम पावर ट्रेड एग्रिमेन्ट) सम्पन्न भएको छ”, उहाँले भन्नुभयो । यसअन्तर्गत आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखेको प्रधानमन्त्री मोदीले घोषणा गर्नुभयो । फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको सम्झौताबाट विद्युत् क्षेत्रमा सहयोगका लागि बल मिलेको उहाँको भनाइ थियो ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाले सकारात्मक प्रभाव परेको जनाउँदै उहाँले उक्त पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म लैजान निर्णय गरिएको बताउनुभयो । “यसका अलावा सिलीगुडीबाट पूर्वी झापासम्म एक अर्को पेट्रोलियम पाइपलाइन बनाउन लागेका छौँ”, उहाँले भन्नुभयो, “यसका साथै चितवन र झापामा नयाँ भण्डारण ट्याङ्की निर्माण गर्न लागेका छौँ ।” नेपालमा एक रासायनिक मल कारखाना स्थापना गर्न दुई देशबीच आपसी सहयोगका लागि सहमति भएको उहाँले जानकारी दिनुभयो ।

भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो : प्रधानमन्त्री दाहाल

नयाँदिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताउनुभएको छ ।

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उहाँले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि सामाजिक, सांस्कृतिकको बलियो जगमा बहुआयामिक रहँदै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको बीचको सम्बन्ध र सहयोगलाई अझ बलियो बनाउनका लागि लिइएको छिमेकी पहिलो नीतिको म प्रशंसा गर्न चाहन्छु ।”

प्रधानमन्त्री दाहालले भेटवार्तामा दुई देशबीच व्यापार, पारवाहन, सम्पर्क सञ्जाल, लगानी, जलविद्युत्, विद्युत् व्यापार, सिँचाइ, कृषि, रेल्वे, पुल, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत भन्सार जाँचचौकीका साथै अतिरिक्त हवाई प्रवेश विन्दुलगायत बहुआयामिक क्षेत्रलाई अझ बलियो बनाउने विषयमा छलफल भएको बताउनुभयो ।

उहाँले भेटवार्तामा नेपालमा निर्माण भइरहेका जलविद्युत् परियोजना तथा अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा पनि छलफल भएको जानकारी दिनुभयो । “नेपालको जलविद्युत् क्षेत्र नेपालको आर्थिक उन्नति र ऊर्जा सुरक्षाको आधार मात्रै नभई यो वातावरण संक्षणका लागि पनि महत्त्वपूर्ण छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

भारतले हाल नेपालबाट चार सय ५० मेगावाट विद्युत् आयात गरिरहेकामा प्रशंसा गर्दै उहाँले आगामी दिनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित चार सय ५६ मेगावाट विद्युत्सहित थप एक हजार दुई सय मेगावाट विद्युत् आयात गर्ने प्रधानमन्त्री मोदीको सकारात्मक प्रतिक्रियाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रधानमन्त्री दाहालले दीर्घकालीन विद्युत् व्यापार सम्झौताअन्तर्गत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालबाट आयात गर्ने सहमति भएको बताउनुभयो । यो सन् २०२२ अप्रिलमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिका आधारमा सम्भव भएको उहाँको भनाइ छ ।

उहाँले नेपालबाट भारत हुँदै बङ्गलादेशसम्म दैनिक ५० मेगावाट विद्यत् पु¥याउनका लागि गरेको सहयोगको प्रशंसासमेत गर्नुभयो । उहाँले विद्युत् व्यापारका सन्दर्भमा नेपाल–भारत–बङ्गलादेशबीच छिट्टै त्रिपक्षीय सम्झौता हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना र चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको सम्झौताले विद्युत् विकास र अन्तरदेशीय प्रसारण लाइनको विकासमा नयाँ सुरुआत भएको बताउनुभयो । उहाँले दुई प्रधानमन्त्रीबीच तीन महिनाभित्र बहुउद्देश्यीय पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र डिपिआर स्वीकृत भएको एक वर्षभित्र कार्यान्वयनको ढाँचा तयार गर्ने सहमति भएको जानकारी दिनुभयो ।

उहाँले टनकपुर नहरबाट नेपालतर्फको सिँचाइ, मनसुन सुरु हुनुअघि नै नेपालको तराई क्षेत्रमा हुनसक्ने बाढीको जोखिम न्यूनीकरणका लागि द्विपक्षीय संयन्त्रले काम गर्ने विषयमा छलफल भएको जानकारी गराउनुभयो । उहाँले भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि निर्यातमा सहजीकरण गर्न आग्रह गरेको बताउनुभयो । उहाँले नेपालको जुटजन्य वस्तुको सामग्रीमा एन्टिडम्पिङ हटाउन आग्रह गरेको बताउनुभयो ।

व्यापार सहजीकरणका लागि एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसमा सहजीकरणका लागि भारतसँग आग्रह गर्नुभयो । उहाँले व्यापार र पारवाहनसम्बन्धी सम्झौता पुनरावलोकन गरिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौताले दुवै देशका विद्यार्थी, व्यापारी, पर्यटक र तीर्थालुका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मोतिहारी–अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने, भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्म नयाँ पेट्रोलियम पाइपलाइन निर्माण तथा भण्डारण गृह निर्माण गर्ने विषयमा सम्झौता भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहालले अतिरिक्त हवाई प्रवेश विन्दुका लागि आफूले छलफल गरेको र सोसम्बन्धमा भारत सकारात्मक पाएको बताउनुभयो । “भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु । यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ”, उहाँले भन्नुभयो । उहाँले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले दुई देशबीचको सीमाका विषयमा आफूहरूबीच द्विपक्षीय कूटनीतिक संयन्त्रका माध्यमबाट समाधानका लागि पहल गर्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले नेपालमा संयुक्त साझेदारीमा रासायनिक मलको कारखाना स्थापना गर्ने विषयमा पनि छलफल भएको बताउनुभयो ।

भारत नेपालको नजिकको विकास र समृद्धिको साझेदार भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकाले भारतको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।

सो अवसर प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको सौहार्दपूर्ण भ्रमणका लागि निम्तो दिँदै आफू स्वागत गर्न आतुर रहेको बताउनुभयो ।

यसअघि नेपाल र भारतबीच विभिन्न परियोजना निर्माण गर्ने सम्झौता भएको छ । प्रधानमन्त्री दाहालले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

सहसचिव शर्मासहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ – विशेष अदातलले सहसचिव चुडामणि शर्मासहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।  

कर फर्स्योट आयोगका सहसचिव शर्मा, तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई अख्तियारले  दोषी ठहर गरेको छ । गैरकानुनी सम्पत्तिमा सफाइ पाएपनि राजश्व चुहावटमा भने उनीहरु दोषी ठहर भएका छन् । राजश्व चुहावट मुद्दामा सजाय तोक्नका लागि जेठ २५ मा पेसी तोकिएको छ ।

२०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले गठन गरेको कर फर्छ्योट आयोगले बक्यौता (नउठेको कर) का रूपमा रहेको ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो  । नक्कली भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरूलाई कर छुट नदिने भनिए पनि उनीहरूले छुट पाएका थिए । उनीहरुले क्षेत्राधिकार बाहिर गई बदनियतपूर्वक करदाताहरूसँग कर फर्छ्योट गरी सम्झौता गर्दा राज्यकोषमा नोक्सानी गरेका थिए ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा छ जना पक्राउ

काठमाडौँ – बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने कार्यमा सम्लग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारीका अध्यक्षसहित छ जना पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, सोही नगरपालिका–८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका–९ बस्ने गोरखा पालुङटार नगरपालिका–७ घर भएका ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।

उक्त संस्थाका बचतकर्ताबाट मुद्दती तथा बचत खातामा करोडौँ रुपैयाँ निक्षेप सङ्कलन गरी संस्थाका सञ्चालकले व्यक्तिगत लाभका लागि प्रयोग गरी सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धराशायी बनाई बचतकर्ताले बचत गरेको रकम फिर्ता नदिएको बताइएको छ । उनीहरू बचत लिन जाँदा मुद्दती खातामा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी संस्थाले गरेको ठूलो धनराशिको अपचलन गरी ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्नलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाबाट पत्राचार भएपछि केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त ठगी कार्यमा संलग्नलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाउपर जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट डब्ल्यूएचओको मान्यताविपरीत: एमाले

काठमाडौं- नेकपा एमालेले स्वास्थ्य क्षेत्रमा सरकारले बिनियोजन गरेको बजेट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मान्यताविपरीत भएको बताएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा उल्लेखित स्वास्थ्य क्षेत्रको बजेट न्यून हुनाका साथै डब्ल्यूएचओको मान्यताविपरीत भएको बताएको हो।

नेकपा एमालेका सचिव एवं स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गरी सरकारले विगत पाँच आर्थिक वर्षको तुलनाका आगामी आर्थिक वर्षका लागि अत्यन्त न्यून बजेट विनियोजन गरेको र विनियोजित रकम डब्ल्यूएचओको मान्यताविपरीत भएको उल्लेख गर्नुभएको छ।

‘विश्व स्वास्थ्य संगठनले कुनै पनि मुलुकको कुल बजेटको न्यूनतम १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने मान्यता अघि सारेको छ। सरकारले आर्थिक वर्ष २०५०/०८१ का लागि प्रस्तुत गरेको बजेटले उपरोक्त मान्यतालाई आत्मसात् गर्न सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘आगामी वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड १८ लाख छुट्याइएको छ जुन संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट रकम हो । यो विनियोजन चालू वर्षभन्दा करिब १९ अर्बले कमी हो। नेकपा (एमाले)को सरकारले प्रस्तुत गरेको बजेटमा ८६ प्रतिशतसम्म आर्थिक वर्ष २०७८/०७९) पुगेको बजेटलाई क्रमश: बढाउनुपर्नेमा घटाएर हाल ४.८ प्रतिशतमा सीमित गरेको छ।’

आर्थिक वर्ष २०७५/०७६ मा ५.२ प्रतिशत, २०७६/०७७ मा ५.८ प्रतिशत, २०७७/०७८ मा ७.३ प्रतिशत, २०७८/०७९ मा ८.६ प्रतिशत र २०७९/८० मा ५.७ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको विज्ञप्तिमा उल्लेख छ। अहिले सरकारले जम्मा ४.८ प्रतिशत मात्रै बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नु दु:खद् पक्ष भएको एमालेको भनाइ छ।

प्रस्तुत बजेटले विगत नेकपा एमालेको सरकारले पालिकास्तरमा ५, १० र १५ शैय्याका आधारभूत अस्पताल निर्माणका लागि बजेटको सुनिश्चिततासहित कार्यआरम्भ गरेको भए पनि हालको बजेट अवस्थालाई हेर्दा ती योजनाहरू अगाडि बढान नसकिने देखिएको एमालेको ठहर छ।

ती अस्पतालहरू बनाउन सरकारले आगामी आर्थिक वर्षका बजेटमा ८ अर्ब मात्रै छुट्टयाएको छ। तर विगतमा सम्झौता भएका, निरन्तर काम भएका र सम्पन्न भएका अस्पतालहरूलाई करिब १० अर्ब रुपैयाँ भुक्तानी दिनै बाँकी छ । यसबाट काम सुरू भएका र थप पालिकामा आधारभूत अस्पताल बनाउन असम्भव रहेको बताइएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो

काठमाडौँ – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आइएलएस) सञ्चालनको बाटो खुलेको छ ।

भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको कार्यालय हैदराबाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुलेको जानकारी दिनुभएको हो ।

“भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु । यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । उहाँले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई देशबीचको उडानको सम्भावना भएको र भारतबाट अतिरिक्त हवाई प्रवेश विन्दु दिन सकारात्मक रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “भैरहवा विमानस्थलबाट एटीआर एयरक्रयाफ्टको उडान सम्भव भइसकेको छ । अब, महेन्द्रनगरबाट हवाई प्रवेश विन्दुको अनुमतिका लागि हामीले भारत सरकारसमक्ष अनुरोध गरेका छौँ ।”

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान भए पनि लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन । यो प्रणाली सञ्चालनमा आउने वित्तिकै जुनसुकै मौसममा पनि जहाजले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका हंशराज पाण्डेले बताउनुभयो । यसअघि यो प्रणाली जडान भए पनि नेपाल भारत सीमाका कारण भारतबाट सञ्चालनको अनुमति नआउँदा जाडो याममा हुस्सु लाग्दा जहाजले उडान नै रद्द गर्नुपरेको थियो ।

हाल विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि एक हजार पाँच सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर आइएलएस कार्यान्वयन हुँदा कम्तीमा आठ सय मिटरको भिजिविलिटीमा पनि विमान अवतरण गराउन सकिन्छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ देखि व्यावसायिकरूपमा सञ्चालनमा आएको हो ।

राष्ट्रिय महत्त्वका अभिलेख तथा दस्तावेज संरक्षण गर्न सांसदको माग

काठमाडौँ – राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सांसदहरूले राष्ट्रिय महत्त्वका अभिलेख तथा दस्तावेज संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय महत्त्वका अभिलेख तथा दस्तावेज संरक्षणका सम्बन्धमा राष्ट्रिय अभिलेखालयका महानिर्देशकसँग आज आयोजित छलफल कार्यक्रममा सांसदहरूले महत्त्वका अभिलेखको सुरक्षा गर्नुपर्नेमा जोड दिनुभएको हो । समिति सभापति मायाप्रसाद शर्माले अभिलेख संरक्षणका लागि प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरेर सम्पत्तिका रूपमा स्थापित गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अभिलेखालयमा कानूनअनुसार आउनुपर्ने अभिलेख नआएको, यसका लागि बजेट एवं जनशक्तिको अभाव रहेकोलगायत विषयमा परराष्ट्र, कानून, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरी सहजीकरण गर्ने पनि उहाँले बताउनुभयो । अभिलेख संरक्षण ऐन संशोधनसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पुगेको जानकारी पनि सभापति शर्माले गराउनुभयो । ऐन संशोधन भएपछि धेरै समस्याको समाधान हुने विश्वास गरिएको छ ।

सांसद गोपाल भट्टराईले मन्त्रालयले अभिलेख व्यवस्थापनलाई महत्त्व नदिने गरेको उल्लेख गर्नुहुँदै २५ वर्ष पुगेका महत्त्वपूर्ण अभिलेख अभिलेखालयमा पठाउने व्यवस्थाका लागि समितिले निर्देशन दिनुपर्ने भनाइ राख्नुभयो । सांसद विना पोखरेलले देशभरका अभिलेख संरक्षण गर्ने जिम्मेवारी पाएको विभागस्तरीय सरकारी संरचनाका लागि ३० कर्मचारीको दरबन्दी, त्यसमध्येमा पनि २० जना मात्र कार्यरत हुनु लाजमर्दो विषय भएको बताउनुभयो ।

सांसद नरबहादुर विष्टले इतिहास गौरव भएकाले यसको संरक्षणका लागि बजेट, जनशक्तिलगायत व्यवस्थामा कमी हुनु नहुने बताउनुभयो । सांसद तुलसाकुमारी दाहालले समितिको यसअघिकै बैठकले मन्त्रालयलाई अभिलेख अधिकृतको व्यवस्था गरी महत्त्वपूर्ण अभिलेख चुस्तदुरुस्त गरी अभिलेखालयमा पठाउन दिएको निर्देशन अझै कार्यान्वयन नभएकाले यसको कार्यान्वयनका लागि कडा कदल चाल्नुपर्नेमा जोड दिनुभयो ।

सांसद सुमित्रा बिसीले अन्तर्राष्ट्रिय मञ्चमा अभिलेखालयले भाग लिन बजेटको व्यवस्था नहुनुले महत्त्वपूर्ण विषयमा राष्ट्रको ध्यान नगएको देखिएको बताउनुभयो । सांसद गोमादेवी तिमल्सिनाले समग्र नेपालकै तस्बिरका रूपमा रहेको अभिलेखालयले अन्तर्राष्ट्रिय अभ्यास र सिकाइका बारेमा शिक्षा लिन जाने गरी व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद युवराज शर्माले स्थापना कालमा अभिलेखालयका १० शाखा रहेकामा हाल घटेको, सन् १९५० को सन्धिको मूलप्रति अभिलेखालयमा नहुनुमा कमजोरी गर्ने निकायले महसुस गरेर सच्याउनुपर्ने बताउनुभयो । सांसद मोहम्मद खालिदले अभिलेखालयलाई कानूनका साथै बजेट र जशक्तिको पनि अभाव रहेको बताउनुभयो ।

अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्गले देशका महत्त्वपूर्ण अभिलेख संरक्षण कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्थापित गर्न समितिको सहयोग आवश्यक रहेको बताउनुभयो । मन्त्रिपरिषद्का निर्णय र संसद् सचिवालयका महत्त्वपूर्ण अभिलेखसमेत अभिलेखालयमा नआएको जानकारी उहाँले समितिलाई गराउनुभयो ।

“मूलप्रति नभएका दस्तावेजको प्रमाणित प्रतिलिपि भए पनि अभिलेखालयलाई पठाउनुपर्छ, यसका लागि समितिले निर्देशन दिनुपर्छ, कर्णाली प्रदेश सरकारले प्रदेशस्तरमा अभिलेखालयको स्थापना गरी अभिलेख संरक्षणको काम सुरु गरेको छ, यस्तो काम अन्य प्रदेशले पनि गर्नुपर्छ, यसमा स्थानीय सरकारको पनि सहयोग हुनुपर्छ”, महानिर्देशक प्रधानाङ्गले भन्नुभयो ।

संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्छ : नेम्वाङ

काठमाडौँ – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्ने बताउनुभएको छ ।

रासस केन्द्रीय कार्यालयमा गणतन्त्र दिवसका अवसरमा आयोजित ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक फोटो प्रदर्शनी अवलोकनका क्रममा उहाँले नेपाललाई एकतामा बाध्ने नेपाली संस्कृति र सम्पदा नै भएको हुनाले त्यसको संरक्षण राज्यले गर्नुपर्ने बताउनुभयो ।

“राष्ट्रिय समाचार समितिद्वारा गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजि फोटो प्रदर्शनी र यसले गरिरहेका काम कारबाहीको अवलोकन गर्ने अवसर मिल्यो”, उहाँले भन्नुभयो, “गणतन्त्रपछि नेपालमा भएका सबै जाति, भाषा, संस्कृतिको झल्को दिने फोटो प्रदर्शनीले निरन्तरता पाओस् ।”

उहाँले राससको कामलाई प्रविधिमैत्री बनाउँदै लगिएको आफूले पाएको उल्लेख गर्दै भन्नुभयो, “रासस सूचना प्रविधिमा धेरै अघि बढेछ, मलाई खुसी लाग्यो, मलाई पहिलाको बुलेटिनको याद थियो तर अहिले सूचना प्रविधिको राम्रो प्रयोग गरिरहेको रहेछ ।”

समावेशी र समानुपातिक संविधान जनताले जनताकै लागि बनाएकाले त्यसको अक्षरश कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड थियो । फोटो प्रदर्शनीका साथै उहाँले राससबाट सेवा प्रवाह हुने विषयमा समेत चासोपूर्वक अवलोकन गर्नुभएको थियो । उहाँका साथमा संविधानसभा सदस्य कृष्णभक्त पोखरेलले पनि हुनुहुन्थ्यो ।

सांसद विकास कोष खारेजकाे माग गर्दै रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजीका लागि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ।

बिहीबार पार्टी संसदीय दलको बैठकले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ ब्युँताउने सरकारको निर्णयविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो।

पार्टी बैठकपछि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता भएको रास्वपा सांसद हरि ढकालले जानकारी दिनुभयाे। 

दुई वर्षअघि एमाले नेतृत्वको सरकारले खारेज गरेको ‘सांसद विकास कोष’ भनेर पनि चिनिने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ ब्युँताउँदै वर्तमान सरकारले प्रत्यक्ष निर्वाचित हरेक प्रतिनिधिसभा सदस्यलाई आफ्नो क्षेत्रमा विकासका लागि ५ करोड रुपैयाँ दिने घोषणा आगामी आर्थिक वर्षको बजेटमार्फत गरेको छ।

पार्टी सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका कारण कार्यवहाक दलका नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा संसदीय दलको बैठक बसेको थियो।

वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन

मोरङ – सीमावर्ती भारतको कटिहार जिल्लाको वथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्म कार्गो रेल सेवा आजदेखि सञ्चालनमा आएको छ ।

विभिन्न ध्वजापताकाले सजाइएको उक्त कार्गो रेल विभिन्न उद्योगको कच्चा पदार्थ बोकेर विराटनगर आइपुगेको हो ।

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्तरूपमा नयाँदिल्लीबाट हरियो झण्डा देखाएर उद्घाटन गर्नुभएपछि वथनाहाबाट छुटेको रेल आठ किलोमिटर दूरीमा रहेको विराटनगर बुधनगरस्थित नेपाल कस्टम यार्डमा आइपुगेको हो ।

वथानाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँचचौकीको कस्टम यार्ड रेलमार्गमा कार्गो रेलसेवा सञ्चालन भएको हो । कार्गो रेल विराटनगर आएपछि उद्योगपति, व्यापारी एवं सर्वसाधारणले स्वागत गरेका छन् ।

यसअघि भारतको वथनाहासम्म उद्योगका कच्चापदार्थ रेलमार्फत आउने गरेको र त्यहाँबाट मालवाहक सवारी साधनमार्फत उद्योगमा ल्याइने गरिएको थियो । कार्गो रेल सेवा सञ्चालनले भारतलगायत तेस्रो मुलुकबाट आएका कच्चापदार्थ अब सोझै विराटनगरको एकीकृत भन्सार जाँच आइपुग्दा व्यापारीलाई सहज एवं ढुवानी भाडामा समेत खर्च कम लाग्ने भएको छ ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले उद्यमी व्यापारीको वर्षौंदेखिको चाहना पूरा भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा कच्चा पदार्थको ढुवानी सस्तो भई उपभोक्तासमेतलाई राहत पुग्ने धारणा राख्नुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले कार्गो रेल सेवा सञ्चालनले प्रदेशको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।

कार्गो रेल सेवासरह आगामी दिनमा राज्यले यात्रुवाहक सेवा पनि सञ्चालन गर्नुपर्नेमा स्थानीयवासीको भनाइ छ । उक्त आयोजनाको निर्माण लागत भारु तीन अर्ब ७३ करोड रहेको छ । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सो रेल निर्माण भएको हो ।

भारतको वथनाहादेखि मोरङको कटहरी गाउँपालिकाको महेशपुरसम्म १८ किलोमिटर रेल सञ्चालनका लागि १२ वर्ष अगाडि सम्झौता भई काम सुरु भए पनि जग्गा मुआब्जाको विवादले बाँकी खण्डमा काम रोकिएको छ । अहिले आठ किलोमिटर रेलमार्गमा मात्र सेवा सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री प्रचण्डले भारतले चाहेको विषयमा आँखा चिम्लेरै सहमति जनाए : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेको महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणप्रति असन्तुष्टि जनाउनुभएकाे  छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको चाहनाको सम्बोधन हुन नसकेको उहाँको भनाइ छ।

‘भारत भ्रमणका क्रममा नेपालको चाहनाको खासै सम्बोधन हुन सकेन । भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनायो’ उहाँले फेसबुकमा लेख्नुभएकाे  छ, ‘तर, पनि भ्रमण सफल भएको भन्नुपर्ने नेपाल सरकारको विवशता।’

प्रधानमन्त्रीको भ्रमणको क्रममा नेपाल भारतबीच ७ वटा सम्झौता भएका छ।

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट

नयाँदिल्ली – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । आजै प्रधानमन्त्री दाहाल र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली पुग्नुभएको थियो ।

कांग्रेस पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्छ : महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

कांग्रेसको शुभेच्छुक संस्था नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक सङ्घले आज यहाँ आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा उहाँले पार्टी रूपान्तरणका लागि गुटहरू भत्काउनुपर्ने बताउनुभएको हो ।

“कांग्रेसलाई सुधार्नका लागि सबै गुटहरू भत्काउनुपर्छ, कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेबीच प्रतिस्पर्धा हुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले कांग्रेसले युवालाई भविष्यप्रति आशावादी बनाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कांग्रेस बनाउने जिम्मा कांग्रेसको काँधमा आएको उहाँको भनाइ थियो ।

“कांग्रेसले आजका दिनमा कुशासन, बेथिति र भ्रष्टाचार म हटाउँछु, मुलुकलाई आजभन्दा भोलि राम्रो बनाउँछु, राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्न सक्नुपर्छ”, महामन्त्री थापाले भन्नुभयो । कांग्रेस कमजोर नभएको र पुनःनिर्माण सम्भव भएको उहाँको भनाइ थियो ।

अन्नपूर्ण म्याराथनमा ५६ धावक सहभागी बन्दै

गण्डकी – अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा तेस्रो संस्करणको ‘अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव’अन्तर्गत अन्नपूर्ण म्याराथनमा यस पटक ५६ धावक सहभागी हुने भएका छन् ।

बुधबारदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा सुरु भएको उक्त महोत्सवको अन्तिम दिन यही जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवस (जुन ३)का अवसरमा ‘अन्नपूर्ण म्याराथन’ हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त दिन अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (४२ दशमलव १९५ किमी) को म्याराथनमा ५६ जना धावक सहभागी हुनेछन् ।

म्याराथनमा विदेशी नागरिक पनि सहभागी हुने समितिका संयोजक गुरुङले बताउनुभयो । उहाँका अनुसार म्याराथनमा सहभागी हुनेहरू मङ्गलबारबाट नै अन्नपूर्ण आधार शिविरतर्फको यात्रा थालेका र उनीहरू मङ्गलबार छोम्रोङ, बुधबार हिमालय हुँदै आज माछापुच्छ्रे आधार शिविरमा पुग्ने कार्यक्रम छ । माछापुच्छ्रे आधार शिविरबाट भोलि बिहान ७ बजे धावक अन्नपूर्ण आधार शिविर पुगी म्याराथनका लागि पूर्वाभ्यास गर्नेछन् । जेठ २० (जुन ३) का दिन अन्नपूर्ण आधार शिविरबाट बिहान ७ बजे म्याराथन सुरु भई घान्द्रुकमा आई समापन हुने समितिका संयोजक गुरुङले जानकारी दिनुभयो ।

उहाँका म्याराथनका सहभागी धावकलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइँदै आइएको छ ।

म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले रू एक लाख ५० हजार, द्वितीय हुनेले रू एक लाख र तृतीय हुनेले रू ७५ हजार प्राप्त गर्ने छन् । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रू ७५ हजार, रू ५० हजार र रू २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्याश

नयाँदिल्ली – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्रीकोे कार्यालय हैदरावाद हाउसबाट उहाँहरुले सो जाँचचौकीको उद्घाटन गर्नुभएको हो । सहजरुपमा व्यापार प्रवद्र्धनका लागि सो जाँचचौकी महत्वपूर्ण मानिएको छ । यस्तै, सोही अवसरमा भैरहवामा निर्माण हुने एकीकृत जाँचचौकीकोसमेत शिलान्याश गरिएकोे छ । नेपाल र भारतबीचको व्यापार प्रवद्र्धन तथा सहजीकरणका लागि त्यस्ता संरचना महत्वपूर्ण मानिएको छ ।
यसअघि विरानटगरमा त्यस्तै जाँचचौकी निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको छ । सवारी साधनको सहज पार्किड., सामान आयात तथा निर्यातका लागि त्यस्ता संरचनाले महत्वपूर्ण सहयोग गर्नेछ । उद्योगी व्यवसायीले एकीकृत संरचनाको माग गर्दै आएका थिए ।

यस्तै, बैतडीको झुलाघाट नाकामा दुई पक्की पुल निर्माण हुने भएको छ । सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतका नागरिकको सहजताका लागि झुलाघाट नाकामा दुई पुल बनाउने जानकारी दिनुभएको थियो । बैतडीवासीले भारत भ्रमणमा झुलाघाटमा मोटरेवल पुल निर्माणका लागि भारतसँग प्रधानमन्त्रीले छलफल गर्नुपर्ने माग गर्दै आएका थिए ।

यो सहमतिले स्थानीयवासीलाई खुसी बनाउनेछ । झुलाघाटमा मोटरेवल पुल नहुँदा समस्या झेलिरहेकाले प्रधानमन्त्रीको भ्रमणमा क्रममा भएको यो घोषणा आफैँमा महत्वपूर्ण छ । झुलाघाट नाकामा करिब दुई सयवर्ष अघि निर्माण भएको झोलुङ्गे पुलबाट आवतजावत हुँदै आएको छ ।

त्यस्तै, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा भारतको सहयोगमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ । सो स्थानमा भारतको सहयोगमा सुख्खा बन्दरगाह निर्माण गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा सहमति भएको हो ।
पछिल्लो सम्झौताअनुसार सुक्खा बन्दरगाह भारतले निर्माण गर्नेछ । सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । गत फागुन १ गते नै कञ्चनपुर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले सो सुक्खा बन्दरगाह निर्माणको काम सुरु हुने बताउनुभएको थियो ।

बन्दरगाह निर्माणका लागि २०६४ सालमै प्रस्ताव गरिएको थियो । बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसमेत भइसकेको छ ।

क्षति न्यूनीकरणमा एकीकृत विपद् व्यवस्थापन प्रणाली

काठमाडौँ – नेपाल सरकार एकीकृत विपद् व्यवस्थापन प्रणाली अपनाएर यसको पूर्वतयारी, उद्धार र पुनःस्थापन कार्यक्रम सञ्चालनमा अग्रसर भएको छ । विपद् र यसबाट हुने क्षति न्यूनीकरणका लागि नेपाली मोडलकै एकीकृत विपद् व्यवस्थापन प्रणालीमा नेपाल अघि बढेको हो । विगतमा विपद् व्यवस्थापन प्रणालीमा एकरुपता नभएको र आआफ्नै तरिकाले व्यवस्थापन गर्दा विविध समस्या आइपरेकाले अब भने सबै सरोकारवालाको संयुक्त प्रयासमा विपद् व्यवस्थापन कार्य अघि बढाउने प्रयास थालिएको हो ।

गृहमन्त्रालय एकीकृत प्रणालीका कतिपय काम अघि बढिरहेका छन् भने कतिपय काम अघि बढाउने चरणमा रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एकीकृत विपद् व्यवस्थापनका लागि नीति, कानुन, नियम तथा कार्यविधिहरु बनाएर अघि बढ्न थालिएको छ ।

विपद्को पूर्वतयारी, विपद् न्यूनीकरण, खोज, उद्धार र विपदपछिको अस्थायी आश्रयस्थल तथा पुनस्थापनका काम छिटो, छरितो र प्रभावकारी हुने विश्वास गरिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल प्राकृतिक प्रकोपलगायतका घटनामा सरकारी गैरसरकारी तथा संस्थाहरु सबै मिलेर एउटै कार्ययोजना बनाउने र त्यही कार्ययोजनाका आधारमा सरोकार राख्ने सबै निकाय संयुक्तरुपमा परिचालन हुने गरी एकीकृत प्रणाली अपनाइएको बताउनुहुन्छ ।

उहाँले यो वर्षको मनसुनका लागि पनि कार्ययोजनाको ड्राफ्ट तयार भएको । आउँदो साता कार्यकारी समितिबाट पारित गरेर लागू गर्ने तयारी रहेको उहाँले बताउनुभयो । “यो मोडल दक्षिण एसियाकै नमूना मोडल हो, हाम्रो आफ्नै अनुभवका आधारमा तयार पारिएको छ, यसलाई ‘एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ भनिएको छ”, कार्यकारी प्रमुख पोखरेलले भन्नुभयो, जनशक्ति र स्रोत साधनको परिचालन पनि सोही आधारमा गरिने छ ।”

आउँदो मनसुनका समयमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरिएको छ । यसका साथै तापक्रम बढ्ने अनुमान पनि गरिएको छ । तर पनि निश्चित क्षेत्रमा अधिक र निश्चित क्षेत्रमा कम वर्षा हुनसक्ने अबस्थालाईसमेत मध्यनजर गरी आवयक तयारी गर्नुपर्ने जरुरी छ । औषतमा थोरै पानी पर्ने भए पनि त्यो पानी एकै ठाउँमा पर्यो भने अन्य ठाउँमा सुख्खा हुँदा पनि कुनै ठाउँमा ठूलो जोखिम भएर आइदिन्छ । विगतमा मेलम्चीमा भएको त्यही थियो ।

प्राधिरणका अनुसार विगतको विपद् र त्यसबाट सिर्जित असरको अवस्था, देशको भौगोलिक अवस्था, जलवायु परिवर्तनको असर, सम्भावित जोखिम क्षेत्र पहिचानका आधारमा सोहीअनुसारको विपद् व्यवस्थापनको पूर्वतयारी थालिएको छ । विपदको पूर्वतयारी, अस्थायी आश्रयस्थल व्यवस्थापन र खाद्यान्नको आवश्याक व्यवस्थापनका पूर्व तयारी पनि सँगसँगै थालिएको छ । विपद्पछिको उद्धार तथा पुनःस्थापनमा आलोचना हुने गरेकाले त्यसलाई मध्यनजर गर्दै विशेष ध्यान दिन गृह मन्त्रालयले सम्बद्ध निकायसँग समन्वय भइरहेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष उपप्रधानमन्त्री एबं गृहमन्त्री नारायणकाजी श्रेष्ठ यसपटक तयारी नपुगेर विपद व्यवस्थापनमा चुक्नुपर्यो भन्ने कुरा सुन्न नपरोस् भनिसक्नुभएको छ । त्यसका लागि कानुन, नियम संसोधन गरेरै भए पनि कुनै कमजोरी हुन नदिन उहाँले सचेत नै गराउनुभएको छ । वैशाख २९ गते बसेको कार्यकारी समितिको बैठकले मातहत र सरोकार राख्ने सबै निकायलाई आआफ्नो विषयगत क्षेत्रको तयारीमा जुट्न निर्देशन नै दिइसकेको छ ।

यस्तै विपद् व्यवस्थापनका लागि अति आवश्यक पर्ने नीति, नियम तथा कार्यविधिहरु तर्जुमाका आवश्यक प्रक्रियाहरु पनि तीब्र रुपमा अघि बढाइएको छ । नेपालमा मुख्यगरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ (संशोधन २०७५), विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली २०७६ कार्यान्वयनमा छ । ऐनको प्रस्तावनामै विपद व्यावस्थापनका सबै क्रियाकलाप एकीकृत र प्रभावकारी रुपमा व्यवस्थापन गरी नागरिकको जीउधनको सुरक्षाका लागि भनिएको छ । ऐनको दफा १७ मा स्थानीय तहका प्रमुखको नेतृत्वमा विपद व्यवस्थापन समिति निर्माण गरेर कार्य गर्नुपर्ने उल्लेख छ ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य निर्देशिका २०८० निर्माण गरिँदैछ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन साझेदार संस्था परिचालन कार्यविधि २०८० स्वीकृतिको चरणमा पुगेको छ । छिट्टै त्यसका बाँकी तयारी पुरा गरेर कानुनसम्वत् बनाउँदै लागूगर्ने चरणमा सरकार अघि बढेको गृहमन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत बताउनुहुन्छ । यस वर्षको मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायहरुले गर्नुपर्ने कार्यसमेत उल्लेख गरी एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार पार्ने जिम्मेवारी प्राधिकरणलाई दिइएको छ ।

जिम्मेवारीअनुसार देशका विभिन्न स्थानमा हुने सक्ने जोखिमलाई मध्यनजर गरी सम्बन्धित निकाय, प्रदेश तथा स्थानीय सरकारहरुले गर्नुपर्ने पूर्वतयारी, उद्धारलगायतका कार्यहरुका लागि उपलब्ध एवं आवश्यक साधन स्रोतको विवरणसहितको कार्ययोजनाको मस्यौदा तयार पारेको छ । पारित भएपछि त्यसको कार्यान्वयनको चरणमा स्थानीय तहमा ठोक्किन पुग्छ । घटना हुने वित्तिकै कार्यस्थलमा खटिने स्थानीय तह नै हो । त्यसैले संविधानले नै जिम्मेवार दिएको स्थानीय तहलाई सीप र स्रोत साधन सम्पन्न गराउने कार्यमा प्राधिकरणको भूमिका हुन्छ ।

विगतमा पनि राहत, पुनःस्थापना तथा आवश्यक खाद्यान्नका लागि स्थानीय तहको भूमिका प्रशंसनीय थियो तर आवश्यक भौतिक संरचना, आवश्यक सीप, अनुभव तथा उद्धार उपकरणको अभावमा स्थानीय तहले सोचेअनुसार काम गर्न नसकेको कुरालाई मध्यनजर गर्दै त्यसतर्फ ध्यान दिइएको छ ।

यस्तै गृह, अर्थ, परराष्ट्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयहरु, राष्ट्रिय योजना आयोग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र समाज कल्याण परिषद्का प्रतिनिधिबीच बैठकबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन साझेदार संस्थापरिचालन कार्यविधि, २०८० तयार तयार पार्न कार्ययोजना बनाइएको छ ।

यो एकीकृत विपद् व्यवस्थापन प्रणालीको अर्काे नमुना अभ्यास हो । यसले साझेदार निकायलाई जिम्मेवार बनाउँछ भने कार्य विभाजन पनि गरिदिने प्राधिकरण भनाइ छ ।

सोही आधारमा मन्त्रालयगत निकायले काम पनि थालिसकेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार पूर्वाधारका क्षेत्रमा विपद्बाट हुने असरलाई कम गर्न आवश्यक तयारी थालिसकेको छ । मन्त्रालययले मनसुनजन्य विपद्का कारण सडक अबरुद्ध भएका ३० मिनेटभित्र सम्बन्धित ठाउँमा पुग्ने र दुई घन्टाभित्र सञ्चालन गर्न सक्ने गरी १२६ स्थानबाट मेसिनहरु परिचालनको योजना बनाएको छ । यस्तै ११६ वटा मेसिनहरु र १३ वटा बेलिब्रिज पनि तयारी अवस्थामा राखिएको छ ।

नेपाली सेनाले देशका विभिन्न क्षेत्रलाई समेट्ने गरी हेलिकप्टरसहितको उद्धार टिम तायारी अवस्थामा राख्ने, ससस्त्र प्रहरीले गोताखोर सहितको टिम तथा आवश्यक यन्त्र उपकरण व्यवस्थापन र नेपाल प्रहरी पनि सोही अनुसारको जनशक्ति तयार पारी एकीकृत रुपमै परिचालन हुने गरी आवश्यक व्यवस्थापन गरिएको छ । विपद् व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटा पछिल्ला वर्षमा पहिराबाट हुने विपद् थप चुनौतीपूर्ण बन्दै गएकाले भरपर्दो सूचना सङ्कलन, सम्भावित जोखिम र क्षतिको आँकलन, समयमै आवश्यक सूचना प्रवाह र त्यसबाट उत्पन्न हुने परिस्थितिको सामनाका लागि गर्नुपर्ने तयारी चुस्त बनाउन सक्नुपर्ने सुझाव दिनुहुन्छ ।

उहाँको सुझाव झैँ गृहमन्त्रालय मातहत रहेको प्राधिकरणले योजना बनाएको छ । सोही योजना नै एकीकृत विपद् व्यवस्थापन प्रणालीको एउटा स्वरुप हो । तर पनि अझै धेरै चुनौतीहरु भने कायमै रहेको छ । यसपटक एक लाख स्वयंसेवकहरु समेत तयारी अबस्थामा राखिएको छ । उनीहरु हरेक पालिकामा रहने छन् र आवश्यकता आधारमा परिचालन गरिनेछ । त्यसका लागि कार्यविधि नै तयार पारेर काम अघि बढाउन खोजिएको छ ।

यसपटकको कहाँ कसरी परिचालन हुने कुन षेत्रको विपदमा कुन कहाँ व्यवस्थानप गर्ने राहत सामग्री तथा खाद्यान्न कुन गोदामबाट लैजाने भनेर डेटाहरु तयार पारेको र कहाँ कति सामग्रीहरु केके छन् भनेर पनि तयारी अबस्थामा राखिएको प्राधिकरणको दाबी छ । यस्तै विपद् व्यवस्थापन कोष संघ, जिल्ला, पालिकामा छुट्टाछुट्टै बनाइएको छ ।

स्वयंसेवक परिचालन, गोदाम तथा अस्थायी आवास, आश्रयस्थल पुनस्थापनका कार्यक्रम, सुरक्षित स्थानको म्यापिङ, चुस्त पूर्व सूचना प्रणाली, एसएसमएस प्रणाली, आवास निर्माण, सङ्घसंस्था परिचालनका सबै गतिविधिको आवश्यक तयारी गरिएको र यो सबै एकीकृत कर्यायोजना अनुसार परिचालन गरिने जनाइएको छ । कानून निर्माण गरी नीति तथा योजनाहरुलाई पालिकासम्म पु¥याउन काम भएको छ । तर पनि अझै चुस्त पार्न नसकिएको उद्धार तथा राहतमा केही कमजोरीहरु रहेका छन् सुधार गर्दै जानुपर्ने छ ।

सरकारको नीतिमा विपद् व्यवस्थापन

यसपटक सरकारले मानवीय र भइपरिआउने विपद्हरु आगालगी, डढेलो, दुर्घटना र आपराधिक क्रियाकलापबाट घाइते भएकाहरुलाई शिघ्र उद्धार गरी उपचार गर्न राष्ट्रिय एकीकृत आकस्मिक सेवा प्रणाली सञ्चालन गर्न लागेको छ । सरकारको नीति तथा कार्यक्रममा उक्त विषयले स्थान पाएको छ । यस्तै एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी एकीकृत रुपमा सञ्चालन हुने गरी उक्त प्रणाली स्थापना गरी सञ्चालनमा ल्याइने योजना सरकारको छ ।

जलवायु परिवर्तनका असर र प्रभावलाई सामना गर्न उत्पादनशीलता वृद्धि गरिने तथा विपद व्यवस्थापन र जलवायु अनुकुलनका क्रियाकलापलाई एकीकृत गरी विपद् व्यवस्थापन गरिने पनि सरकारले नीति लिएको छ । यस्तै बाढी पहिरो तथा जलवायुजन्य जोखिममा रहेका वस्ती तथा विस्थापित परिवारलाई सुरक्षित स्थान राख्ने, विपद्मा सूचना प्रविधिको प्रयोगलाई बढाउन, विपद पूर्वतयारी, जोखिम आँकलन, पूर्वचेतावनी, पूर्वप्रतिकार्यको तयारी तथा पुनर्लाभका क्रियाकलापलाई समन्वयात्मक ढङ्गबाट सञ्चलन गर्न विद्यमान संरचनालाई चुस्त र सुदृढ गराइने योजना अघि सारिएको छ ।

विपद्पश्चात्को क्षतिपूर्ति, पुनर्भरण र राहत व्यवस्थापन र पुनःनिर्माणका लागि बीमालगायत जोखिम हस्तान्तरणका सम्भाव्यका उपायहरुको अवलम्बन गरिने सरकारले नीति लिएको छ । सरकारले बहुतले भवनमा हुनसक्ने आगलागी, वन डढेलोलगायत नियन्त्रणका लागि उपयुक्त आधुनिक उपकरणको व्यवस्था गर्ने र विपद् प्रतिकार्यमा संलग्न निकायलाई अन्तर्राष्ट्रिय खोज तथा उद्धारको सहयोगी समूहको मान्यता दिलाउन प्रक्रिया अघि बढाउने योजना सरकारले समावेश गरेर एकीकृत प्रणालीलाई अझै व्यवस्थित बनाउन खोजेको छ । रासस

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

ताप्लेजुङ – कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् ।

आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर हुनुहुन्छ । उहाँहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि जानुभएको थियो ।

यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार आरोहीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजङ्घा जानुभएको थियो । यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले सफल आरोहण गरेका थिए ।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता शुरु

नयाँ दिल्ली – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो ।

सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यस लगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गर्नुहुनेछ ।

प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन

काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले भारतसँग आँखामा आँखा जुधाएर कुरा गर्न नसक्ने ठोकुवा गर्नु भएको छ ।

एमाले जिल्ला कमिटी सिरहाले गोलबजारमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बाउनु भएको हो । उहाँले भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर नबस्ने चेतावनी दिनु भयो।

उहाँले आफ्नो पार्टी सच्चा राष्ट्रवादी भएको बताउँदै राष्ट्रको हित विपरित हुने कुनैपनि सहमति सम्झौता मान्य नहुने बताउनु भयो । नेता पोखरेलले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी बृहत र व्यवस्थित पार्टी बनाउन कार्यकर्ताहरुलाई आव्हान गर्नु भयो ।

जनता समावादी पार्टीका प्रदेश सदस्य विना शर्मा, टीका लामा, जिल्ला सदस्य कृष्णा सिंह ज्ञान कुमार सिंह सहित विभिन्न पार्टी परित्याग गरी सयौँको संख्यामा एमालेमा प्रवेश गरेका छन् ।

बुधबार जिल्लाकै सखुवानन्कारकट्टी गाउँपालिकामा नेकपा ९एकीकृत समाजवादी० केन्द्रीय सदस्य सागरदेवी चौधरी, पार्टीका नेता तथा पूर्व प्रदेश सभा सदस्य अशोक यादवलगात जिल्ला स्तरका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

प्रवेश कार्यक्रममा नेता पोखरेलले पार्टीका नेता कार्यकर्ताले केही समयको लागि बाटो विराए पनि अहिले सही ठाउँमा आएको बताउनु भयो । उहाँले सवैको भविष्य यहि पार्टीमा भएकाले बाटो विराएकाहरुलाई मूलघरमै पुनः स्वागत गर्नु भयो।

तीन हजार दुई सय बिघा जग्गा सिञ्चित

चितवन – चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्याएको छ । जिल्लामा सिँचाइ अभावका कारण बाँझो रहेका जमिनलाई लक्षित गर्दै सिँचाइका कार्यक्रम लागू भएको तीन वर्ष पूरा हुनलाग्दा सो क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको हो ।

आर्थिक वर्ष २०७७÷७८ मा स्थापना भएको यस आयोजनाले पाँच वर्षसम्म काम गर्ने छ । चितवन र मकवानपुर क्षेत्रमा गरी यस कार्यालयले हालसम्म तीन हजार छ सय १० बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको कार्यालयका संयोजक देवकुमार स्याङ्वोले जानकारी दिनुभयो । चितवनको छवटा पालिका र मकवानपुरका तीन पालिकामा अहिले कार्यक्रम लागू भइरहेको छ । यस क्रममा चितवनमा तीन सय ६० स्थानमा स्यालो ट्युबेल र ५२ वटा डिप ट्युबेल स्थापना गरी सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । मकवानपुरमा १० वटा डिप ट्युबेल सञ्चालनमा ल्याइएको छ ।

आयोजना १० हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइ गर्ने योजनाका साथ स्थापना भएको हो । तीन वर्षमा गरेको प्रगति र बजेटको अवस्था हेरेर कार्यक्रम सञ्चालन गर्दै आएको स्याङ्वोले बताउनुभयो । अहिलेसम्म रु ६० करोड बराबरको काम भएको उहाँले जानकारी दिनुभयो । अहिले आयोजनाले बाह्र महिना नै सिँचाइको व्यवस्था हुने गरी सुक्खा क्षेत्रमा काम गर्दै आएको छ ।

स्याङ्वोले भन्नुभयो, “सिँचाइ अभावका कारण खेती गर्नबाट बञ्चित कृषकलाई लाभ हुने गरी काम गरिरहेका छौँ ।” आयोजनाले विशेषगरी भरतपुर महानगरपालिकाका क्षेत्रमा काम गरेको छ । यस आर्थिक वर्षबाट आयोजनाले बर्दघाट–सुस्तापूर्व नवपलपरासीसमेत समेट्ने गरी काम गर्न लागेको छ । विसं २०८१÷८२ सम्मका लागि यस आयोजनामा रु चार अर्ब ६४ करोड बजेट स्वीकृत भएको थियो ।

बलेवा विमानस्थल : जहाज चढ्न कहिले पाइने टुङ्गो छैन

ढोरपाटन – बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन । विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो । विसं २०४८ मा बागलुङ–पोखरा–राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि विमानस्थल बन्द भयो ।

छब्बीस वर्षदेखि बन्द भएको विमानस्थल बागलुङ नगरपालिकाले २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा ल्यायो । त्यसबेला नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना नियमित उडान भरे । धावनमार्ग कच्ची हुँदा विमान उडाउन समस्या आएपछि उडान रोकिएको थियो । लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालनका लागि धावनमार्ग कालोपत्र गरेपछि स्थानीयमा नियमित विमान सञ्चालन हुने आश पलाएको थियो । तर अहिलेसम्म सञ्चालनका लागि कुनै पहल नहुँदा उनीहरु निराश छन् ।

विसं २०७८ चैतमा विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिएको थियो । धावनमार्ग कालोपत्रसँगै पेन्टिङ र छेउछाउ तारबारसमेत गरिएको छ । धावनमार्ग नागरिक उड्डयन प्राधिकरणको रु सात करोड लागतमा काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी बल्खुले कालोपत्र गरेको थियो । लामो समयसम्म पनि विमानस्थलमा जहाज नआउँदा प्रयोग नभई जीर्ण बन्ने जोखिम छ । राज्यले चासो नदिँदा करोडौँ रुपैयाँका पूर्वाधार प्रयोगविहीन बनेका स्थानीय कुमार पौडेलले बताउनुभयो ।

पछिल्लो समय बलेवा क्षेत्रबाट बसाइँसराइ तीव्ररूपमा भइरहेकाले विमानस्थल सञ्चालनमा आए त्यो क्रम रोकिने पौडेलको भनाइ छ । उहाँ भन्नुहुन्छ, “विमानस्थल सञ्चालन गर्नकै लागि राज्यले यति ठूलो रकम खर्चेको छ, तर जहाड उडानको कुनै टुङ्गो छैन ।” बलेवा बजारका रूपमा विकास भएको छ । पर्यटकीय हिसाबले उत्तिकै फड्को मार्दैछ, तर जहाज नचल्दा यहाँका स्रोतसाधान गुमानाम छन्, यस क्षेत्रका स्रोत र साधानको प्रयोग गरी आर्थिक उपार्जन, पर्यटन विकास र अन्य सुविधाका लागि विमानस्थल सञ्चालन गर्न जरुरी छ ।

बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले धवनमार्ग बनेको यतिका समयसम्म विमान सञ्चालन नहुनु दुःखद् भएको बताउनुभयो । विमानस्थल सञ्चालनका लागि मन्त्री, सांसदहरूसँग पटक–पटक माग गरे पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । यहाँदखि नियमित विमान सञ्चालनमा आए बलेवावासीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका बन्दै रोजगारका अवसर सिर्जना हुने र धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ छ ।

“पहिले यहाँका स्थानीयले खनेरै यति ठूलो विमानस्थल बनाए, उतिबेला अहिलेको जस्तो मेसिन आएका थिएनन् तर पनि विमान चलेको थियो, अहिले मेसिन आए काम पनि भयो तर विमान आएन”, अध्यक्ष खत्रीले भन्नुभयो । विमानस्थलबाट २०४८ सालसम्म काठमाडाँै, पोखरा, भैरहवा र जोमसोमका लागि जहाजले उडान भर्ने गरेको थियो । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का सातामा एकपटक भए पनि उडानको योजना रहेको बताउनुहुन्छ ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट १२ किलोमिटर सडक कच्ची छ । कालीगण्डकी करिडोर कालोपत्र हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने उहाँको भनाइ छ । विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई यातायातमा सहज पहुँच हुनुका साथै यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल

काभ्रेपलाञ्चोक – काभ्रेको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ । विपी राजमार्गको छेउमा रहेको जिल्लाको ग्रामीण भेगका नागरिकले सेवा प्राप्त गर्ने एकमात्र सरकारी अस्पताल मेथिनकोट अस्पताल अभावकै बीच पनि सेवा प्रवाह गरिरहेको छ ।

मुख्यतया तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका नागरिकलाई सेवा प्रदान गर्न सो अपस्ताल स्थापना गरिएको हो । अस्पतालले चौबीसै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, एक्सरे फार्मेसी सेवा, विगत एक महिनादेखि हरेक दिन भिडियो एक्सरे सेवासमेत दिँदै आएको छ । तर विशेषज्ञ चिकित्सक अभावका कारण सेवाग्राहीको रोजाइको केन्द्र भने बन्नसकेको छैन । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालमा अब छिट्टै डायलायसिस, शल्यक्रिया सेवा र ब्लड बैंक सेवा सञ्चालन हुने अस्पतालका डा आनन्दमणि उपाध्यायले बताउनुभयो । “आइसीयू र एनआइसीयू सेवा सञ्चालनसमेत गर्ने तयारी छ”, उहाँले भन्नुभयो ।

प्रदेश सरकारबाट प्राप्त पाँचवटा डायलायसिस मेसिन जडान गर्ने काम भइसकेकाले अब छिट्टै सो सेवासमेत सुरु हुने भएको छ । यी सबै सेवा सञ्चालनका लागि भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभाव मुख्य चुनौती बनेको छ । पचास शय्याको अस्पताल सञ्चालनका लागि पर्याप्त भौतिक संरचना आवश्यक भए पनि अहिले पूरानै संरचनाबाट सेवा दिनुपर्ने बाध्यता रहेको डा उपाध्याय बताउनुहुन्छ । “दैनिक ७०–७५ जनाले सेवा लिइरहेका छन्”, उहाँले भन्नुभयो ।

अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा मधुकर दाहालले अस्पतालको सेवालाई चुस्तदुरुस्त गर्न कोसिस गरिरहेको बताउनुभयो । जनशक्तिको अभाव तथा शल्यक्रियाका लागि आवश्यक लठ्याउने औषधि नहुँदा सेवा सुरु गर्न नसकेको उहाँको भनाइ छ । अस्पतालका सुपरिटेण्डेन्ट डा सारग जर्गामगर अध्ययन बिदामा गएपछि करिब १० महिना स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा पुरुषोत्तमराज सेढाईँले हेर्दै आउनुभएको थियो । अहिले दुई महिनादेखि निमित्त सुपरिटेण्डेन्ट डा दाहालको नेतृत्वमा अस्पताले सेवा प्रवाह गर्दै आएको छ ।

मेथिनकोट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले सेवा प्रवाहमा वृद्धि भए पनि भौतिक संरचनाको अभावका कारण सोचेजस्तो सेवा दिन नसकेको बताउनुभयो । बजेट र जनशक्ति अभावले गर्दा भएको उपकरण सञ्चालनमा ल्याएर सेवा दिन नसकेको उहाँ बताउनुहुन्छ । विसं २०५४ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएर २०६६ मा १५ शय्याको जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो । विसं २०७७ मा सङ्घीय सरकारले ५० शय्याको अस्पतालमा रुपान्तरण गरेर प्रादेशिक जिल्ला अस्पतालका रूपमा सेवा प्रवाह गर्दै आएको छ । अस्पतालमा हाल करिब ७० जनशक्ति कार्यरत छ ।

एमालेको सचिवालय बैठक भोलि बस्ने

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक भोलि शुक्रबार बस्ने भएको छ ।

गत वैशाख २८ गते देखि ३० गतेसम्म भएको केन्द्रीय कमिटी बैठकका निर्णयहरूलाई कार्यान्वयन गराउने रणनीति बनाउन सचिवालय बैठक बस्न लागेको पार्टीका केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारी जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ ।

बजेटमा सुदूरपश्चिम : स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि सुक्खा बन्दरगाहसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमका महत्वपूर्ण आयोजना तथा कार्यक्रम समेटिएका छन् । कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने सरकारले बजेटमार्फत उक्त विषयलाई सम्बोधन गरेको छ ।

एकीकृत जाँचचौकी, सुक्खा बन्दरगाह, कन्टेर यार्ड निर्माण, प्रयोगशाला स्तरोन्नतिलगायत व्यापार पूर्वाधार निर्माण र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन भएको हो । डेढ दशकअघि प्रस्ताव भएको दोधारा चादँनी सुक्खा बन्दरगाहको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा समेत सुक्खा बन्दरगाह निर्माणका लागि भारतीय पक्षसित सम्झौता (एमओयु) मा हस्ताक्षर गर्ने एजेण्डा छ । सुक्खा बन्दरगाह निर्माणको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) हालै सरकारले स्वीकृत गरिसकेको छ ।

सुक्खा बन्दरगाह र महाकाली नदीमा पक्की पुल बनेपछि सीमा जोडिएको भारतीय क्षेत्रमा समेत अन्तरदेशीय आर्थिक क्षेत्र निर्माणका लागि पहल सुरु भएको छ । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाकाका रूपमा विस्तार गर्ने उद्देश्यका साथ अघि बढेको महाकाली करिडोरलाई समेत सरकारले बजेटमार्फत सम्बोधन गरेको छ ।

बजेटमा महाकाली करिडोरको बह्मदेव–झुलाघाट–दार्चुला र दार्चुला–तिङ्कर सडक खण्डको स्तरोन्नतिका लागि रु ४५ करोड विनियोजन गरिएको छ । करिडोरअन्र्तगत हाल कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा सडक निर्माण अघि बढेको छ । केही समय रुख कटानलगायत प्रक्रियागत उल्झनमा ढिलाइ भएको उक्त आयोजना निर्माणको गाँठो सरकारले खोलिसकेको छ ।

त्यसैगरी सेती राजमार्गको टीकापुर–लोडे–चैनपुर र चैनपुर–तक्लाकोट खण्ड निर्माण गर्न रु ३० करोड विनियोजन गरिएको छ भने कैलालीको खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडकलाई प्राथमिकताका साथ अघि बढाउन रु २५ करोड बजेटको व्यवस्था गरिएको छ । लामो समयदेखि अलपत्रजस्तै रहेको कञ्चनपुरको दैजी–जोगबुढा–डडेल्धुरा सडक स्तरोन्नतिका लागि रु ३० करोड रकम छुट्याएको छ । तर विगतमा यहाँ निर्माण कम्पनीको लापरबाहीले काममा ढिलासुस्ती हुँदै आएको छ ।

सरकारले प्रस्तुत गरेको रु १७ खर्ब ५१ अर्ब ३१ करोड बजेटमा सुदूरपश्चिमको पर्यटन, जलविद्युत् र जडीबुटीलाई प्राथमिकतामा नराखिएको गुनासो छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले औद्योगिक क्षेत्रको स्थापनाका साथै यहाँका आर्थिक गतिविधिलाई बढावा दिने खालका योजना बजेटमा नसमेटिएको गुनासो गर्नुभयो ।

“यसअघि नै केही वर्षअघि प्रधानमन्त्रीस्तरबाट शिलान्यास भएको दैजी–छेला औद्योगिक क्षेत्र स्थापनाका लागि बजेट विनियोजन गरिएको पाइएन”, वरिष्ठ उपाध्यक्ष मल्लले भन्नुभयो, “यहाँका पर्यटन, ठूला जलविद्युत् र जडीबुटीको विषयले सधैँ चर्चा पाउने तर निर्माण अघि बढाउनका लागि बजेट विनियोजन नगरिनु दुःखद् कुरा हो ।” पञ्चेश्वर र सेती जलविद्युत् परियोजना चर्चामै सीमित रहनु सुदूरपश्चिमका लागि नोक्सानको विषय भएको उहाँको भनाइ छ । सुदूरपश्चिम प्रदेशका सम्भाव्य स्थानीय तहमा गुणस्तरीय बिरूवा उत्पादन र पकेट क्षेत्र विकास गर्न बजेट छुट्याएको भए पनि विगतमा पनि बजेट कार्यान्वयनको अवस्था फितलो थियो ।

त्यसैगरी कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने भनिएको छ । गेटा अस्पताललाई एक सय शय्याको अस्पतालका रूपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट विनियोजन भएको छ भने डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न समेत बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी कञ्चनपुर र कैलालीको केही भू–भागमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई गति दिइने भएको छ । उक्त सिँचाइ आयोजनाको कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको दुई हजार नौ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन शाखा नहर निर्माणकार्य अगाडि बढाउने बजेटमा उल्लेख छ । सिँचाइ आयोजना तेस्रो चरणका लागि सरकारले आगामी वर्षका लागि रु एक अर्ब १७ करोड बजेटको व्यवस्था गरेको छ । महाकाली सिँचाइ आयोजना सुदूरपश्चिमबाट राष्ट्रिय गौरवको आयोजनामा समेत समेटिएको छ ।

त्यसैगरी खेलकुदतर्फ बैतडीको दशरथ चन्द क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माण कार्य अघि बढाउन बजेटको व्यवस्था गरिएको छ । यता सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको महेन्द्रनगरमा निर्माण गर्ने भनेको बहुउद्देश्यीय कभर्डहल शिलान्यासको अझै सुरसार देखिएको छैन ।

त्यसैगरी यहाँको धार्मिक पर्यटनको क्षेत्र बडिमालिका, घटालथान, खप्तड र मणिका मन्दिरको संरक्षण तथा पूर्वाधार विकास एवं सौन्दर्यीकरण गर्ने विषय बजेटमा समेटिएको छ । यहाँका वरिष्ठ समाजसेवी लीलाध्वज बस्नेतले सुदूरपश्चिमका ठूला परियोजनादेखि जनजीविकाका सवाल अगाडि बढाउन जनप्रतिनिधिदेखि नेता एकजुट हुनुपर्नेमा जोड दिनुभयो । “जहिल्यै सुदूरपश्चिम पिछिएको भनेर गीत गाएर मात्रै भएन”, उहाँले भन्नुभयो, “सुदूरपश्चिमलाई जहिल्यै पनि बजेटमा पछाडि पारिनु राम्रो विषय होइन ।”

त्यसैगरी सुदूरपश्चिमका पर्यटन व्यवसायी अमरबहादुर शाहीले यहाँका मुख्य पर्यटकीय गन्तव्य खप्तड, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, अपि र साइपालको टे«किङको विषय बजेटमा उच्च प्राथमिकतामा आउनुपर्ने बताउनुभयो । “बजेटमा पर्यटकीय गन्तव्य अटाएर मात्रै विकास र पर्यटकको ओइरो लाग्दैैन”, उहाँले भन्नुभयो, “बजेट नतिजामुखी भए मात्रै त्यसले सार्थकता पाउँछ ।”

सुदूरपश्चिमका मुख्य पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमै जोड दिनुपर्ने शाहीको भनाइ छ । “अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय क्षेत्रको बजारीकरण पनि त्यत्तिकै आवश्यक हुन्छ”, उहाँले भन्नुभयो, “तर त्यसका लागि सबै सरोकारवाल निकाय जाग्नुपर्छ ।”

झापामा गर्मी बढेपछि विद्यालय बन्द

झापा – झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन् ।

कचनकवलले आजदेखि जेठ २२ गतेसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवद्वारा जारी सूचनामा उल्लेख छ । आजदेखि सो गाउँपालिकाका सबै सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिइएको छ ।

यसैगरी मेचीनगर नगरपालिकाले पनि गर्मीकै कारण दुई दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिनुभयो । झापामा बुधबारको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो ।

वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबाटै पक्राउ गरिएको हो । वन्यजन्तु चोरी सिकार गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रजाको घरबाट दुई थान भरुवा बन्दुकसमेत बरामद गरिएको तिवारीले जानकारी दिनुभयो । हातहतियार खरखजनासम्बन्धी मुद्दाका लागि हतियार जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको छ । वन्यजन्तुसम्बन्धी कसुरमा निकुञ्ज कार्यालयले अनुसन्धान थालेको छ ।

कालोसूचीमा परेका कम्पनीले ल्याए मल

काठमाडौं – समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडको कालोसूचीमा परेका सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले विश्व बजारमा मूल्य घटेपछि चीनबाट मल ल्याएका छन् ।

आफैले कारबाही गरेर कालोसूचीमा राखेका कम्पनीले मल ल्याएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेड मल नबुझ्ने अडानमा छ । यसअघि पटकपटक ताकेता गर्दा पनि मल नल्याएको र सो कम्पनीले चारपटक म्याद थप्दा पनि मल ल्याउन सकेका थिएनन् । अहिले विश्व बजारमा मूल्य घटेका बेला कृषि सामग्रीसँग अनुमति नलिई मल ल्याएको कृषि सामग्री कम्पनी लिमिटेडको भनाइ छ ।

२०७९ सालमा तीन वर्षका लागि कालोसूचीमा परेका कम्पनीले मल ल्याएकाले आफूहरूले नबुझ्ने अडानमा रहेको कृषि सामग्री कम्पनीले जनाएको छ ।

‘कृषि सामग्री कम्पनीको इजाजतबिनै कम्पनीले मल ल्याएकाले बुझ्न सकिँदैन,’ एक अधिकारीले भने, ‘हामीले पटकपटक मल ल्याउन ताकेता गर्‍यौं तर कम्पनी सम्पर्कविहीन भयो ।’

मलको अभावले किसान छटपटाइरहेका बेला मल ल्याउने ठेक्का पाएका कम्पनी सम्पर्कविहीन भएपछि कृषि सामग्री लिमिटेडले बाध्य भएर चारवटा कम्पनीलाई कालोसूचीमा राखेको ती अधिकारीको दाबी थियो । आजको राजधानी दैनिकमा खबर छ ।