`

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ०३ पैसा र बिक्री दर १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ २८ पैसा र बिक्री दर १६४ रुपैयाँ ०२ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

तीन युवकविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता

तनहुँ – तनहुँमा तीन युवकविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ । म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्व मुद्दा दर्ता गरिएको हो ।

गत आइतबार म्याग्दे गाउँपालिका–६ अकलास्थित म्याग्दे खोलामा साथिहरुसित करेन्ट लगाएर माछा मार्ने क्रममा म्याग्दे–६ का २१ वर्षीय विमल थापाको ज्यान गएको थियो । उनको मृत्यु भएपछि उक्त कार्यमा संलग्न तीनैजनाविरुद्व प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो । सोही दिन प्रहरीले तीनै युवकलाई पक्राउ गरेको थियो ।

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार पक्राउ गरिएका तीनै जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ ।

गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा

इनरुवा – दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । 

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो ।

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले आजदेखि २४ गते बुधवारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको उहाँले बताउनुभयो । 

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिनुभयो । 

उक्त गाउँपालिकाले समेत आजदेखि २३ गते मङगलबारसम्मका लागि विद्यालयमा बिदा दिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी इटहरी उपमहानगरले समेत दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ । प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको भन्दै जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

अहिले सञ्चालन भइरहेको परीक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रवार विद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको सुवेदीले बताउनुभयो । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।

भारतसित जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग

पाँचथर- पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक्षसँग छलफल गर्न माग गरिएको हो ।

नाका खोल्न माग गर्दै याङवरक गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ । नाका सञ्चालनमा नआउँदा नेपाल–भारत (सिक्किम) आवतजावत गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले बताउनुभयो । स्थानीय उत्पादन भारत निकासी रोकिएको, चिवाभञ्ज्याङ हुँदै नेपाल आउन चाहने पर्यटक र तीर्थयात्रीले बाटो प्रयोग गर्न नपाएकाले यथाशीघ्र नाका सञ्चालनको व्यवस्था गर्न माग गरिएको उहाँले बताउनुभयो ।

नेपालले चिवाभञ्ज्याङमा एक दशकअघि नै सडक पुर्याएको थियो । मध्यपहाडी लोकमार्गको ट्र्याक खोलिएसँगै यहासम्म सवारीका साधन पुग्न थालेका थिए । दुई वर्षअघि भारतको सिक्किम राज्य सरकारले पनि चिवाभञ्ज्याङसम्म सडक विस्तार गरेको छ । अहिले सिक्किमबाट नियमितजसो पर्यटक चिवाभञ्ज्याङ आउन थालेका छन् । तर सीमानाका नभएका कारण सिक्किमबाट चिवाभञ्ज्याङ हुँदै सीमावर्ती क्षेत्र, नेपालका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलसम्म जान चाहने पर्यटकले यो बाटो प्रयोग गर्न पाएका छैनन् । “विशेषतः सिक्किमबाट पाथीभरा मन्दिरको दर्शन गर्न र पूर्वी पहाडका विभिन्न स्थानमा रहेका आफन्त भेट्न जान चाहने भारतीयले बाटो प्रयोग गर्न पाएका छैनन्”, याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङले भन्नुभयो, “यहाँबाट सिक्किम जान चाहनेले पनि बाटो प्रयोग गर्न पाएका छैनन् ।”

पाँचथर र ताप्लेजुङका हजारौँ परिवारको सिक्किमसँग पारिवारिक सम्बन्ध छ । अहिले पनि वारिपारि बिहेवारी हुने गरेको छ । प्रहरीको पास बोकेर आफन्त भेट्नुपर्ने स्थानीयवासीको बाध्यता छ भने सरसामान ल्याउन तथा लैजान उत्तिकै कठिन छ । चिवाभञ्ज्याङको सीमा क्षेत्रमा सिक्किम भारतमा गाभिएसँगै सीमा सुरक्षा बल तैनाथ छ भने नेपालका तर्फबाट तीन वर्षअघि बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । सुरक्षा व्यवस्था भइसकेको अवस्थामा नाका स्थापना सहज रहेको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)को भनाइ छ ।

नाका सञ्चालन भएका पाँचथर र ताप्लेजुङका सीमावर्ती गाउँपालिका याङवरक, फालेलुङ, सिरिजङ्घा, सिदिङ्वाका ग्रामीण क्षेत्रमा उत्पादन हुने घ्यू, छुर्पी, राडी, ऊन, गलैँचालगायतले सिक्किममा बजार पाउने स्थानीयवासी बताउँछन् । सिक्किममा प्रशस्तै बजार रहेका यी सामग्री नाका नभएकै कारण लैजान नसकिएको वडाध्यक्ष राईको भनाइ छ ।

अर्कोतर्फ मध्यपहाडी लोकमार्गसँग याङवरक–६ गणेशचोकमा मेची राजमार्ग र हिलिहाङ–१ फेदापामा तमोर करिडोर जोडिन्छ । नाका खुलेमा नाकाका माध्यम हुँदै सामग्री आयात सहज हुने, यसले राजस्व सङ्कलन वृद्धि हुने गाउँपालिका अध्यक्ष योङ्या बताउनुहुन्छ । चिवाभञ्ज्याङबाट याङवरक–४ दारिम्बासम्म मध्यपहाडी लोकमार्गको ५१ किलोमिटर सडक कालोपत्र बाँकी रहे पनि कालोपत्रको ठेक्का लागिसकेकाले नाका सञ्चालन सहज रहेको उहाँको भनाइ छ ।

सीमानाका सहज सञ्चालनमा आएमा विशेषत भारतीय पर्यटक भित्र्याउन सकिनेमा यहाँ स्थानीय तहहरू आशावादी देखिन्छन् । अहिले पनि दैनिक सयौँको सङ्ख्यामा सिक्किमका दर्शनार्थी पाथीभरा मन्दिर पुग्दछन् । तर उनीहरूले काँकरभिट्टा नाका हुँदै निकै लामो फेरो मारेर पाथीभरा पुग्नु पर्दछ । नाका खुलेको अवस्थामा यो दूरी दुईतिहाइभन्दा बढी घट्नाले पर्यटकको सङ्ख्यामा वृद्धि हुने आशा यहाँका स्थानीय तहहरूको छ । अझ सिक्किमसँग सीमा जोडिएका तिम्बुपोखरीबाट तीनसिमान (फालोट)सम्मको निकै फराकिलो क्षेत्र भारतभन्दा नेपालतर्फ बढी रमणीय छ । जसको फाइदा पनि नेपालले लिन सक्ने अध्यक्ष योङ्याको भनाइ छ ।

अन्तर्राष्ट्रिय व्यापारलाई प्रवर्द्धन गर्दै पर्यटन विकासमा समेत टेवा पुग्ने नाका सञ्चालनका लागि भारत सरकारसँग सम्झौता गरी चिवाभञ्ज्याङलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न सङ्घीय सरकारबाट ठोस सहयोग आवश्यक रहेको भन्दै गाउँपालिकाले प्रधानमन्त्री दाहाललाई पत्र पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच आज भेटघाट हुँदै छ ।

हैदरावाद हाउसमा आज बिहान ११ः०५ बजेदेखि द्विपक्षीय भेटवार्ता तय भएको छ । हैदरावाद हाउसमा प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि साढे १० बजे महात्मा गान्धीको समाधि स्थल राजघाट जाने कार्यक्रम छ ।

आजै केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसी हितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको छ ।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गर्नुभएको छ । त्यसपछि प्रधानमन्त्री दाहालको भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने अन्तर्क्रियालाई आज नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

आज विश्व दूध दिवस मनाइँदै

काठमाडौँ – आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । 

राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दै छन् । 

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्‍याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो । 

आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि  विश्व दूध दिवस मनाउन थालेको हो ।

दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्‍याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

सद्भावना अभिवृद्धिमा केन्द्रित रहन्छ : प्रधानमन्त्री दाहाल

नयाँ दिल्ली –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बुधवारदेखि सुरु गरेको भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताउनुभएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रि भोजसहितको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आपसी विश्वासको तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रित रहने बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा आफूले भारत भ्रमण गरेको जानकारी दिँदै उहाँले यस अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने उल्लेख गर्नुभयो ।

नेपाल र भारतबीच सदिऔँ पुरानो र जनस्तरको सम्बन्ध रहेको दोहोर्‍याउँदै प्रधानमन्त्रीले यस भ्रमणपछि दुई देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भारतमा अध्ययन, रोजगारीलगायत अन्य काममा रहेका नेपाली आफैँमा सद्भावना दूत रहेको र नेपालको हितमा केन्द्रित रहेकामा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले भारतमा सिकेको सीप तथा ज्ञानलाई मुलुकको समृद्धिका लागि खर्चनसमेत आग्रह गर्नुभयो ।

नेपाली जहाँ रहे पनि नेपाल र नेपालीको हितमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न सरकार क्रियाशील रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले सरकारले हालै मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत सामाजिक सुरक्षाको अभियानमा संलग्न गराएकाले त्यसबाट लाभ लिन भारतमा रहेका नेपालीलाई आग्रह गर्नुभयो ।

कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र क्रमशः सुधारका क्रममा अगाडि बढेको जानकारी दिँदै उहाँले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्र सुधारका लागि दत्तचित्त भएर लागेको स्पष्ट पार्नुभयो । जनतालाई सेवा सुविधा प्रदान गर्दै अर्थतन्त्रको विकास र विस्तारका लागि सरकार अग्रसर भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले त्यसको परिणाम छिट्टै देखिने बताउनुभयो ।

सेवा प्रवाहलाई थप सरल र जन पक्षीय बनाउन सरकार लागिपरेको जानकारी दिँदै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सरकार पूर्ण प्रतिबद्धताका साथ लागिपरेको र शून्य सहनशीलताको नीति अख्तियार गरेको छ, भन्नुभयो ।

स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचनपछि नेपालको लोकतान्त्रिक प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको र वर्तमान सरकार त्यसको अधिकतम विस्तारमा लागिपरेको उहाँले बताउनुभयो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बुधवार अपराह्न भारतको राजधानी नयाँ दिल्ली आइपुग्नुभएको हो । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको थियो ।

बुधवार साँझ नै प्रधानमन्त्री दाहालसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । साथमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रासमेत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री दाहाल आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट जानुभई पुष्प गुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यस लगत्तै भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमा प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ ।  

केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसीहितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको छ ।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गर्नुभएको छ । त्यसपछि प्रधानमन्त्री दाहालको भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने अन्तर्क्रियालाई आज नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । रासस

मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकको अहिले सङ्ख्यात्मक रूपमा मात्र परिवर्तन भएकोले गुणात्मक परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

उहाँले गुणात्मक परिवर्तनका लागि अभियान सञ्चालन गर्नुपर्ने भनाइ राख्नुभयो । “यथार्थमा अहिलेसम्म नेपालको परिवर्तन केही मात्रामा गुणात्मक नभए पनि सङ्ख्यात्मक परिवर्तन मात्रात्मक रूपमा मात्र भएको छ,” उहाँले भन्नुभयो, “मुलुकमा शासक फेरिएका छन् । प्रणाली अलिकति फेरिए जस्तो भएको छ । खासमा प्रणाली उस्तै उस्तै देखिएको छ ।”

उहाँले मुलुकलाई सकारात्मक सोचसहित परिवर्तनतिर लैजान खोजे पनि बिथोलिएको भनाइ राख्नुभयो । अध्यक्ष ओलीले जनसाहित्यबाट अन्धविश्वास, कुरीति, अन्याय, असत्य, भेद्भाव र शोषण भत्काउन शब्दवाणमा गति दिनुपर्ने भनाइ राख्नुभयो । सङ्गीत कला, साहित्य भनेको बेग्लै संवेदना र भाव रहने भन्दै यसले बेग्लै खालको असर पार्ने बताउनुभयो । नेपाल धर्ती ज्ञान, सभ्यता, सङ्गीत, कला साहित्य शिक्षाको सुरुआत भएको उहाँको भनाइ थियो ।

उहाँले मुलुक राजनीतिकरूपमा अस्थिर र अन्योल रहेको बेला सामाजिकरूपमा अगाडि बढ्ने ठाउँ नभएको स्पष्ट पार्नुभयो । नेपाली समाजको सभ्यता र संस्कृति नै धरापमा परेको भन्दै पूर्वजले हजार वर्ष लगाएर मूल्यमान्यता विकास गरेर स्थापित गरेको उहाँको भनाइ थियो ।

उहाँले अर्थतन्त्र बिग्रियो भने केही समयमा सुध्रिने भए पनि समाज बिग्रियो भने सुध्रन धेरै समय लाग्ने बताउनुभयो ।

विदेशमा बस्ने नेपालीको मताधिकार प्रत्याभूत गर्न प्रतिवद्ध छौं : प्रधानमन्त्री प्रचण्ड

नयाँदिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा नेपाली दूताबासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकालाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।

भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिनसमेत उनको आग्रह थियो ।

बागमती प्रदेशसभाको बैठक : नीति तथा कार्यक्रममाथि छलफल

मकवानपुर – बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । उक्त बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षका २० जना सदस्यले नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी भई सरकारलाई विभिन्न विधामा सुझाव समेट्न आग्रह गर्नुभयो ।

उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममा सर्पको टोकाइबाट घाइते भएका बिरामीलाई उपचार गर्ने प्राविधिकसहितको अस्पताल स्थापना गर्ने कुनै नीति तथा कार्यक्रम नभएकाले अब आउने बजेटमा प्रदेशको विभिन्न जिल्लामा सर्पदंश अस्पतालको स्थापना र दक्ष चिकित्सक उपलब्ध गराउन माग गर्नुभयो ।

उहाँहरुले कृषि क्षेत्रलाई उत्पादन मुलुक एवं आत्मनिर्भर बनाउन प्रदेश सरकारले पायक पर्ने स्थानमा आगामी आर्थिक वर्षमा मलखाद्य कारखाना स्थापना गर्ने र मल र बीउविजन कृषकलाई उपब्ध गराउन प्रदेश सरकारले सम्बन्धित निकायलाई स्रोतसाधन परिचालन गरी सर्तकमा राख्नु सुझाव दिनुभयो ।

प्रदेशको १३ वटै जिल्लामा सडक सञ्जालसँग जोडिने कृषि सडक, खानेपानी, स्वास्थ्य उपचारको लागि दक्ष चिकित्सक र जनशक्ति उपलब्ध गराउन सरकारले दलीय स्वार्थभन्दा माथि उठेर प्रतिपक्षको आवाजलाई पनि कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो । बागमती प्रदेशको काठमाडौँमा अहिले निकै पानीको अभाव सिर्जना भएको र ती प्रत्येक टोलमा आवश्यकताअनुसार, खानेपानीको लागि वृद्धि योजनाका लागि बजेट र प्राविधिक जनशक्ति उपलब्ध गराउन आगामी बजेटमा समावेश गर्नेतर्फ माग गर्नुभयो ।

यस्तै प्रदेशको चितवनस्थित कृषि तथा वन विश्वविद्यालयलाई प्रदेश सरकारले सहकार्य र समन्वय गरेर प्रदेशको विभिन्न जिल्लामा कृषि उत्पादनका लागि अनुसन्धानात्मक परियोजनाको सञ्चालन, वातावरण संरक्षणका लागि गुरु योजना तर्जुमा गरी जैविक क्षेत्रको संरक्षणमा टेवा पु¥याउन नीति तथा कार्यक्रमले समेट्न नसकेकामा थप कार्यक्रमको तर्जुमा गरी लागू गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले अब नीति तथा कार्यक्रमलाई केबल औपचारिकरुपमा राखी प्रदेशको मूल स्रोतमा रहेको राजस्व सङ्कलन एवं आर्थिक सूचकलाई जनभावनाअनुसार व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याउन सरकारले आर्थिक उदारीकरणतर्फ ध्यान दिनुपर्ने र अनावश्यक मन्त्रालयको हेरफेर र यी सवारीसाधनलाई खरिदलाई नियन्त्रणमा राख्नुपर्ने सुझाव दिनुभयो ।

सरकारी विद्यालयमा पहुँच नभएका बालबालिका मात्रै अध्ययन गर्ने भएकाले निजी क्षेत्रबाट सञ्चालित विद्यालयमा विद्यार्थीको चाप बढ्दो भएकाले अब सरकारले सबै प्रकारको अभिभावकका बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्ने खालको नीतिगत तहमा शिक्षाको गुणस्तरलाई अगाडि बढाउन माग गर्नुभयो ।

सो बैठकमा प्रदेशसभाका सदस्य क्रमशः डा दिनेशचन्द्र देवकोटा, गोविन्द लम्साल, श्यामबहादुर खड्का, मातृकाप्रसाद भट्टराई, जयराम थापा, रामकुमार पहाडी, गिरबहादुर तामाङ, कुला धामी, यमुनादेवी श्रेष्ठ, ओमकुमारी श्रेष्ठ, उर्मिला सुनुवार, रमेशकुमार महत, शैलेन्द्र बज्राचार्य, भरतबहादुर केसी, समितादेवी खड्की, किरण थापामगर, सुना परियार, अमनकुमार मास्के, मधुकुमार श्रेष्ठ र मिना पराजुली पोखरेलले सुझाव प्रस्तुत गर्नुभएको थियो ।

बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको अर्को बैठक जेठ १८ गते बिहान १०ः३० बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो ।

बागमती प्रदेश प्रविधिमैत्री बन्नेछ : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने भएको छ ।

नीति तथा कार्यक्रममा नै समावेश भएको कार्यक्रमअनुसार प्रदेशलाई प्रविधिमैत्री बनाइने पक्का भएको प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेले बताउनुभएको हो ।

उहाँले सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नै दीगो विकासको अवधारणाअनुसार योजना निर्धारण गरिएको बताउनुभयो । मुख्यमन्त्री जमकट्टेले प्रदेश सरकारको भूमिका थप मजबुत बनाउन सङ्घीय सरकार र स्थानीय सरकारसँगको समन्वयलाई प्रभावकारी बनाउने जनाउनुभयो ।

आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने, प्रदेशको सन्तुलित विकासका लागि ठूला आयोजना छनोट गरी कार्यान्वयनमा ल्याइने सरकारको नीति तथा कार्यक्रम रहेको उहाँको भनाइ छ ।

बागमती सरकारले पूँजी निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारीका अवसर सिर्जनाका लागि लगानी केन्द्रित गर्ने नीति लिने उहाँको भनाइ थियो । योजना तथा कार्यक्रमको न्यूनतम लागत निर्धारण गरी सोभन्दा कमका आयोजना स्थानीय तहमा पठाइने नीति सरकारको रहेको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री स्वास्थ्यपरीक्षण कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रम, एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्य पनि प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको उहाँले जनाउनुभयो ।

सङ्कल्प प्रस्ताव स्वीकृत

बागमती प्रदेशसभामा नेकपा (एमाले) बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले पेस गर्नुभएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । आजको प्रदेशसभा बैठकमा उहाँले पेस गर्नुभएको एउटा सङ्कल्प प्रस्ताव स्वीकृत भएको हो ।

बैठकमा पौडेलले भारतले नेपालको लुम्बिनी र कपिलवस्तुलगायतका नेपालका भू–भाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकोमा प्रदेशसभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिकरूपमा नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै सङ्कल्प प्रस्ताव पेस गर्नुभएको थियो ।

उहाँले नेपाल कहिल्यै पनि कसैको अधिनमा नरहेको अवगत गराउँदै उक्त नक्सा सच्याउन सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उक्त सङ्कल्प प्रस्तावलाई दलगत रूपमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकाल, नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, राप्रपाकी सदस्य कुमारी तामाङ, नेकपा (एकीकृत समाजवादी) का सदस्य कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन गर्नुभएको थियो ।

सङ्कल्प प्रस्ताव पेस हुनुअघि प्रदेशसभा नियमावलीको नियम निलम्बन गरिएको थियो । सत्तारूढ दल माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक ढकालले प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ को नियम ८५, ८७, ९० र ९२ लागू हुनेगरी सोही नियमावलीको नियम २११ को उपनियम (१) बमोजिम निलम्बन गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।

नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य – लोसपा

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयक प्रमाणीकरण भएकामा स्वागत गरेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरणले नागरिकताविहीनको पीडामा मलहम लगाउने काम भएको उल्लेख गर्नुभएको छ ।

लोसपाले समग्रतामा समेत नागरिकतासम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ भन्दै यस प्रक्रियामा न्यासङ्गतरुपमा साथ सहयोग दिने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

सांसद पौडेलको प्रस्ताव सर्वसम्मत स्वीकृत

हेटौँडा – बागमती प्रदेशसभामा नेकपा (एमाले) का प्रमुख सचेतक मधुसुदन पौडेलले पेस गर्नुभएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । आजको प्रदेशसभा बैठकमा उहाँले पेस गर्नुभएको सो सङ्कल्प प्रस्ताव स्वीकृत भएको हो ।

बैठकमा पौडेलले भारतले नेपालको लुम्बिनी र कपिलवस्तुलगायत नेपालका भूभाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकामा प्रदेशसभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिकरुपमा नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै सङ्कल्प प्रस्ताव पेस गर्नुभएको थियो । उहाँले नेपाल कहिल्यै पनि कसैको अधीनमा नरहेको अवगत गराउँदै उक्त नक्सा सच्याउन सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उक्त सङ्कल्प प्रस्तावलाई दलगतरुपमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका मुख्य सचेतक ढकाल, नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, राप्रपाकी सांसद कुमारी तामाङ, नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन गर्नुभएको थियो ।

सङ्कल्प प्रस्ताव पेस हुनुअघि प्रदेशसभा नियमावलीको नियम निलम्वन गरिएको थियो । सत्तारुढ दल माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ को नियम ८५, ८७, ९० र ९२ लागू हुने गरी सोही नियमावलीको नियम २११ को उपनियम (१) बमोजिम निलम्बन गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।

अस्पताललाई विवरण पठाउन मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै अस्पताललाई विवरण पठाउन निर्देशन दिनुभएको छ ।

आज यहाँ विश्व धूमपानरहित दिवस, २०८० को अवसरमा आयोजना भएको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय तहको भूमिका विषयक कार्यक्रममा मन्त्री बस्नेतले सबै अस्पतालको अवस्था बुझ्नका लागि विवरण पठाउन निर्देशन दिनुभएको हो ।

मन्त्री बस्नेतले भन्नुभयो, “अहिले देशभरका सबै अस्पतालको अवस्था बुझ्नका लागि विवरण माग गरेको छु । जहाँ कुन अस्पतालमा कति भेन्टिलेटर छन्, सघन उपचार कक्ष (आइसीयु) कति छन्, कति प्रयोगमा छन्, कति प्रयोगविहीन छन् जस्ता विषयमा जानकारी सर्वसाधारणसम्म पु¥याउनका लागि विवरण माग गरिएको हो ।”

विवरण प्राप्त भएसँगै मन्त्रालयको वेबसाइटमा राखिने र वेबसाइटकै आधारमा सर्वसाधारणले सहजरूपमा नै अस्पतालको प्रयोग गर्नसक्ने कार्यक्रममा मन्त्रीले जानकारी गराउनुभयो ।

नियमित व्यायामका कारण धेरै किसिमका रोग न्यूनीकरण गर्न सक्ने भन्दै उहाँले सबै नागरिकलाई दिनको एक घण्टा अरु कसैको लागि नभई आफ्नो लागि छुट्याउन पनि आग्रह गर्नुभयो । अस्पताललाई नियमन र निर्देशित गर्नका लागि स्थानीय तहको ठूलो भूमिका हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा राज न्यौपानेले सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर, फोक्सो, पेट, फियो आन्द्रा, मूत्रनली, पाठेघर, आदिको क्यान्सर हुनुका साथै दम, दीर्घ श्वासप्रश्वास, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने जस्ता समस्या हुने बताउनुभयो ।

डा न्यौपानेका अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा जयान गुमाउनुपरेको छ । क्यान्सर रोग लाग्नुको मुख्य कारण सुर्तीजन्य वस्तुको प्रयोग भएको र जम्मा मृत्युको १३ प्रतिशत क्यान्सरकै हुने गरेको डा न्यौपानेले जानकारी दिनुभयो ।

नेपालमा हरेक वर्ष २० देखि ३० हजार मानिसलाई विभिन्न प्रकारका क्यान्सर हुने गरेको पनि बताइएको छ । वर्षमा एक पटक स्वास्थ्य परीक्षण गराउने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, नियमितरूपमा शारीरिक व्यायाम तथा योग गर्ने, सिर्जनशील तथा रचनात्मक काममा लाग्ने बानीले क्यान्सर रोगबाट बच्न सकिने बताइएको छ । नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा रहेको छ ।

पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उहाँहरूलाई ती पाँच देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिना, रुसी महासङ्घका राजदूत मिलनराज तुलाधरलाई बेलारुस, डेनमार्कका प्रा डा रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका राजदूत तापस अधिकारीलाई टर्कीका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घको आगामी साधारणसभामा नेपालको उपस्थितिबारे छलफल

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ ।

आवासीय संयोजक हान्ना र उपाध्यक्ष डा श्रेष्ठबीच आज यहाँ भएको भेटमा आगामी सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको साधारणसभामा नेपालको उपस्थितिबारे छलफल भएको छ ।

डा श्रेष्ठले छोटो समयमा लक्ष्य हासिल गर्नका लागि आवश्यकीय वित्तीय सहयोग, प्राविधिक सहयोग र पारस्परिक सहयोगका लागि छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दिगो विकासका लक्ष्य हासिलको प्रगति समीक्षापछि बाँकी रहेको अवधिमा दिगो विकासका लक्ष्यलाई कसरी अघि बढाउने र कसरी सकेसम्म धेरै लक्ष्य हासिल गर्ने भन्ने विषयमा छलफल भयो ।”

आवासीय संयोजक हान्नाले नेपालको हित र विकासका लागि संयुक्त राष्ट्रसङ्घले सधैँ सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घ सधँै नेपालको हित चाहन्छ । ” उहाँले दिगो विकास सम्मेलन तथा अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नतिको रणनीति तयारी गरिरहेको नेपालले विभिन्न चुनौतीका बाबजुद प्रशंसायोग्य काम गरेको भन्दै प्रशंसासमेत गर्नुभयो ।

नेपाल अति कम विकसित मुलुकबाट विकासशील मलुकमा स्तरोन्नति हुने क्रममा रहेको अवस्थामा आवश्यक सबै सहयोग र विकास साझेदारबीच समन्वय गर्न इच्छुक रहेको उहाँको भनाइ छ । “यसका लागि आवश्यक सहयोग जुटाउन संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय संयोजकको कार्यालयले नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय निकायसँग समन्वय र सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो ।

उपाध्यक्ष डा श्रेष्ठले भेटवार्तामा नेपालको विकासमा संयुक्त राष्ट्रसङघले हालसम्म पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै नेपालले तयार गरिरहेको ‘स्मुथ ग्र्याजुएसन स्ट्रेटिजी’ लाई अन्तिम रूप दिई सो को प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना तर्जुमाको प्रक्रिया सुरु गरिसकिएको जानकारी दिनुभएको थियो ।

बैठकमा आयोगका सदस्य डा रामकुमार फुँयालले नेपालमा दिगो रोजगारीको अवसरको सिर्जना र सामाजिक सुरक्षा कार्यक्रमको दिगोपनाको सुनिश्चितता गर्नु आवश्यक रहेको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घका तर्फबाट यस सम्बन्धमा सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

आयोगका सचिव केवलप्रसाद भण्डारीले नेपालले खाद्य प्रणालीमा कठिनाइ भोगिरहेको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घीय खाद्य सम्मेलनले नेपाल जस्ता मुलुकको समस्यालाई मूल्याङ्कन गरी आवश्यक सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकले समितिको बैठक सञ्चालनसम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा तयार पार्न एक उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

सांसद राजेन्द्रकुमार केसी संयोजक तथा ऋषिकेष पोखरेल, रामकृष्ण यादव, डा अमरेशकुमार सिंह र हरि ढकाल सदस्य रहनुहुनेगरी कार्यविधि मस्यौदा निर्माण उपसमिति गठन गरिएको समितिका सचिव एकराम गिरीले जानकारी दिनुभयो । कार्यविधिको मस्यौदा तयार पारेर समितिको अर्को बैठकमा पेस गर्न भनिएको छ ।

समितिको आजको बैठकमा बैठक सञ्चालन कार्यविधि तयार पार्ने, समिति सभापति चयन गर्ने र समितिमा विचाराधीन तथा फर्छ्र्योट हुन बाँकी रहेका उजुरीका विषयमा छलफल भएको थियो ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएका बेरुजु फर्छ्र्योट, आर्थिक सुशासन, सरकारी कोषको प्रभावकारी र मितव्ययी खर्च भए÷नभएको जाँच पड्ताललगायतका महत्त्वपूर्ण क्षेत्राधिकार पाएको लेखा समितिको सभापति चयनमा ढिलाइ गर्न नहुने धारणा समिति सदस्यहरूले राख्नुभएको थियो ।

ज्येष्ठ सदस्यका रूपमा समितिको सभापतित्व गर्नुभएका सांसद अर्जुन नरसिंह केसीले सार्वजनिक लेखा समितिका काम कारबाहीमा कुनै आग्रह पूर्वाग्रह तथा पक्ष विपक्ष नहुने बताउनुभयो । त्यस्तै, समिति अविछिन्न उत्तराधिकारीवाला संस्थाका रूपमा रहने भएकाले नयाँ सदस्य नियुक्त हुनुभन्दा अघिका उजुरीबारे पनि छलफल र छानबिन गरिनुपर्ने उहाँले बताउनुभयो ।

समितिको आजको बैठकमा २०७६ साल वैशाख ३ गतेयता दर्ता भएका एक सय २१ उजुरीमाथिको छलफल तथा छानबिन टुङ्गाउने विषयमा पनि छलफल भएको छ । समिति सचिव गिरीका अनुसार हालसम्म एक सय २१ उजुरी समितिमा दर्ता भएर विचाराधीन अवस्थामा रहेका छन् । त्यस्तै, नयाँ संसद् आएपछि गठन भएको लेखासमितिमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको शेयर स्वामित्व विवादसम्बन्धी उजुरी परेको छ ।

समितिका सदस्यहरू राजन केसी, अमरेशकुमार सिंह, रामकृष्ण यादव, गोकुलप्रसाद बाँस्कोटा, रामकृष्ण यादव, योगेश भट्टराई, विक्रम पाण्डे, जनार्दन शर्मालगायतले समितिमा परेका सबै उजुरीलाई छलफल र छानबिन गर्नुभन्दा महत्त्वपूर्ण विषयमाथिका उजुरीलाई पहिले समितिमा ल्याइनुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्रीलाई शंकर पोखरेलको प्रश्न : भारत भ्रमणअघि निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गर्न के बाध्यता आइलाग्यो ?

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारलाई के बाध्यता आइपर्‍यो भन्दै राष्ट्रपतिलाई गम्भीर प्रश्न सोध्नुभएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएपछि महासचिव पोखरेलले यस्तो प्रश्न सोध्नुभएको हो। विधेयकलाई लिएर पोखरेलले सर्वोच्च अदालतको फैसलालाई उपेक्षा गर्न मिल्छ भनेर पहिलो प्रश्न गर्नुभएको छ।

महासचिव पोखरेलले भन्नुभएको छ, ‘नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिक्टलाई उपेक्षा गर्न मिल्छ ? पूर्वराष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरूको उत्तर दिने कर्तव्यबाट सरकार र संसद भाग्न मिल्छ ?’

महासचिव पोखरेलले प्रमाणीकरणले तीन प्रश्न पनि उठाउनु भएको छ। उहाँको प्रश्न छ, ‘प्रादेशिक पहिचानसहितको नागरिकताको सम्वैधानिक प्रबन्धको ठाडो उलङ्घन गर्न मिल्छ? नयाँ जनादेशको उपेक्षा गरेर निष्क्रिय विधेकलाई प्रमाणीकरण गर्न मिल्छ? संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो ?’

महासचिव पोखरेलको धारणा जस्ताको तस्तै:

निष्कृय बनेको नागिकता विधेयकलाई भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणिकरण गर्नुपर्ने सरकारको बाध्यता के आइलाग्यो?
विधेयक प्रमाणिकरणले यी प्रश्नको उत्तर खोजेको छ:

नागरिकता सम्वन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिकलाई उपेक्षा गर्न मिल्छ ?

सम्माननीय पूर्वराष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरुको उत्तर दिने कर्तव्यवाट सरकार र संसद भाग्न मिल्छ ?

प्रादेशिक पहिचान सहितको नागरिकताको सम्वैघानिक प्रवन्घको ठाडो उलंघन गर्न मिल्छ  ?

नयां जनादेशको उपेक्षा गरेर निष्कृय विधेकलाई प्रमाणिकरण गर्न मिल्छ ?

संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो ? उत्तर दिनु पर्दैन र ?

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूद्वारा राजीनामा

विराटनगर  – जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छिन् । विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी हुन् ।

जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । 

यस्तै सोही बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो । पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिएकी हुन् ।

‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट सम्मानित

काठमाडौँ – विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट पत्रकार, स्वास्थ्यकर्मी एवं विभिन्न संस्थालाई पुरस्कृत गरिएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य कर कोष सचिवालयले पत्रकार, स्वास्थ्यकर्मी एवं संस्थालाई रु ५० हजारका दरले कदरपत्रसहित पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा स्वास्थ्यकर्मी प्राडा रिता थापा र डा भक्त केसी एवं पत्रकार पद्मराज जोशी हुनुहुन्छ । यस्तै विराटनगर महानगरपालिका, एक्सन नेपाल र नेपाल विकास अनुसन्धान प्रतिष्ठान पनि पुरस्कृत भएका छन् । सुर्तीजन्य पदार्थ आयात, उत्पादन, बिक्रीवितरण गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने, जनचेतना जगाउने, प्रचलित कानुन कार्यान्वयनमा महत्वपूर्ण सहयोग पु¥याउने एवं सो क्षेत्रमा कार्यरत उत्कृष्ट व्यक्ति, संस्था, तथा निकायलाई पुरस्कृत गरिएको हो ।

‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’

काठमाडौँ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ ।

सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बताउनुभयो ।

नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौँ गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको उहाँको भनाइ छ ।

“राष्ट्रपति पौडेलको यस कदमले ‘एक पटकको नेपाली सधँैको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौँ”, कार्यकारी अध्यक्ष डा केसी भन्नुभयो, “विश्वभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध गरेका छौँ ।”

विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपालीको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागिसमेत ठोस वातावरण तयार पार्ने उहाँको विश्वास छ । सङ्घले नागरिकता विधेयकालाई निष्कर्षमा पु¥याउन भूमिका निर्वाह गर्नुभएकामा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सम्पूर्ण राजनीतिक दललगायत कानुनविद्प्रति कृतज्ञता व्यक्त गरेको छ ।

राष्ट्रपति पौडेलले आज नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको थियो ।

प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव

राजविराज – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकका नागरिकलाई नागरिकता दिनका लागि लड्नुपर्ने अवस्था सधैँका लागि समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई विशेष धन्यवाद दिँदै मुलुकबाट नागरिकतासम्बन्धी समस्या हल हुने बताउनुभयो ।

विगतमा पनि लामो सङ्घर्षपछि मात्रै यहाँका नागरिकले नागरिकता पाएको उल्लेख गर्दै उहाँले नागरिकता विधेयकमा पनि ठूलै सङ्घर्ष गर्नुपरेको उहाँले बताउनुभयो । “मधेसमा देखिएका नागरिकतासम्बन्धी समस्या समाधानका निम्ति हामीले सडकदेखि सदनसम्म लामो समय सङ्घर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा नौ लाख नागरिकलाई नागरिकता दिलायौँ”, अध्यक्ष यादवले भन्नुभयो, “तर पनि थुप्रै नागरिकका सन्तान गैरनागरिक नै छन्, त्यसका लागि पनि ठूलै सङ्घर्ष गर्नुप¥यो ।

छ करोड ९२ लाखमा नर्सिङ भवन

अघिल्लो कार्यकालमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका अध्यक्ष यादवको संसदीय कोषको बजेटबाट निर्माण भएको नर्सिङ भवन उद्घाटन गरिएको छ । कूल रु छ करोड ९२ लाखको लागतमा निर्माण भएको दुई तले भवनको उद्घाटन गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको परिसरमा निर्माण भएको उक्त भवनमा आगामी वर्षदेखि नर्सिङको कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

ट्रोलप्रति ओलीको कटाक्षः औंठी पनि नलगाउनेलाई बोक्न नसक्ने गरी सुन भिराए

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीबारे आफूलाई ट्रोल बनाइएकोमा आपत्ति जनाउनुभएकाे  छ  ।

बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जीवनमै आफूले जम्मा पाँच दिन सुन लगाएको तर अहिले थेग्नै नसक्ने गरी सुन लगाएको फोटो ट्रोल गरिएको भन्दै बिराेध गर्नुभएकाे हाे ।

नेपालमा छाडापन र विकृति बढ्दो रहेको बताउँदै ओलीले भन्नुभयाे – ‘म सानो हुँदा मेरो आमाको औंठी चार दिन लगाएँ । एउटा साथीले दिएको औंठी बिहानदेखि बेलुकासम्म लगाएँ । त्योबाहेक सुन कहिल्यै लगाएको छैन ।’

ओलीले अगाडि भन्नुभयाे, ‘जसले औंठी पनि लगाउँदैन् त्यसमा मलाई रुचि नै छैन् । अहिले त मलाई बोक्न नसक्ने गरी सुन भिराइदिएका छन् । यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन् कस्तो नियत होला । यो कस्तो घटिया कुरा हो ?’

ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको जलहरी बनाउन लगाउँदा करिब ११ किलो सुन हराएको भन्दै ओलीमाथि सामाजिक सञ्जालमा ट्रोल गरिएको थियो । ओलीको तस्बिरमा सुनैसुनले ढाकिएको बनाएर भाइरल बनाइएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहभागी कार्यक्रममा हुल दङ्गा गर्ने पक्राउ

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मङ्गलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा नेता खनाल, नेकपा क्रान्तिकारी ९माओवादी० का सिपी गजुरेल र पूर्वगभर्नर डा दीपेन्द्र क्षेत्री सहभागी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्ने अन्यमा धादिङ सलाङ गाउँपालिका–४ घर भई काठमाडौँ बस्ने ३० वर्षीय सन्तोष राजावादी, बाँके कोहलपुर महानगरपालिका–१ का २८ वर्षीय सतिश राजावादी, रामेछाप सुनपाती–५ का २१ वर्षीय तारा राजावादी, सिन्धुली तिनपाटा–१० का २७ वर्षीय क्षितिज चौलागाई, पाल्पा रामपुर–५ का २० वर्षीय आकाशकुमार भट्ट, बारा निजगड–४ का २८ वर्षीय सुजन राजावादी, सोही ठाउँका २० वर्षीय अर्पण खड्का र २४ वर्षीय निश्चल राजावादी तथा रुपन्देही देवीनगर–१७ का ३१ वर्षीय रितेश केसी छन् ।

उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । कार्यक्रममा सन्तोष राजावादीले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गर्नुका साथै अन्यले सामूहिकरुपमा नाराबाजी गरेका थिए । 

पूर्वप्रधानमन्त्री खनालविरुद्ध उक्त समूहले आक्रोशित हुँदै नारावाजी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

‘नागरिकता विधेयक प्रमाणीकरणले संसद्को सर्वोच्चता कायम भयो’

जनकपुरधाम – राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएपछि सबैभन्दा बढी लाभान्वित हुने मधेस प्रदेशका शीर्ष नेताले संसदीय लोकतन्त्रको मान्यता र संविधानअनुसार संसद्को सर्वोच्चता कायम भएको प्रतिक्रिया दिनुभएको छ ।

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विधेयक प्रमाणीकरणको स्वागत गर्दै बुबा र आमा दुवै जना नेपाली नागरिक भएर पनि सन्तानले वर्षौंदेखि नागरिकता नपाएको समस्या समाधान भएको बताउनुभयो । उहाँले संसद्ले बनाएको कानुन प्रमाणीकरण नहुँदा अड्किरहेको अवस्थामा राष्ट्रपतिले प्रमाणीकरण गरेर ऐतिहासिक काम र संसदीय सर्वोच्चताको रक्षा गरेको बताउनुभयो ।

“संसद्बाट दुई/दुई पटक पारित भएको विधेयक प्रमाणीकरण गर्नैपर्ने काम थियो तर अहिलेसम्म अड्काएर राखियो । राष्ट्रपतिले मन्त्रिपरिषद्को निर्णयअनुसार संविधानसम्मत काम गर्नुभएको छ । यो खुसीको विषय हो । हामी खुसियाली बनाउँछौँ”, उहाँले रासससँग भन्नुभयो ।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कुनै पनि नागरिक नागरिकताविहीन हुनुहुँदैन भन्ने संविधानको भावना र प्रावधानलाई राष्ट्रपतिले रक्षा गरेको प्रतिक्रिया दिनुभयो । उहाँले नागरिकताविहीन जनता र आफ्नो पार्टीले वर्षौंदेखि उठाइरहेको आवाज सम्बोधन गरेकामा राष्ट्रपतिलाई विशेष धन्यवाद दिनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले संविधानले दिएको अधिकार कानुनको अभावमा वर्षौंदेखि कुण्ठित रहेकामा राष्ट्रपतिले त्यसको सुनुवाइ गरेको बताउनुभयो ।

“संविधानले नागरिकता दिने भने पनि कानुनको अभावमा वर्षौंदेखि लाखौँ नागरिकले नागरिकता पाउन सकेनन् । जसका कारण नागरिकताविहीनहरुले अध्ययन, रोजगार, उद्यमशीलता, सम्पत्ति आर्जनलगायत हरेक क्षेत्रमा अवरोध सामना गर्नुपर्‍याे”, ठाकुरले भन्नुभयो, “हाम्रो पार्टीले पनि नागरिकता समस्या समाधानका लागि विगतदेखि नै दबाब दिँदै आएको थियो । ठिलो गरी भए पनि यो प्रमाणीकरण भएको छ । यसलाई राजनीतिक विषय नबनाएर सबैले स्वागत गर्नुपर्छ ।”

राष्ट्रपति रामचन्द्र पौडेलले आज मात्रै नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण गर्नुभएको थियो ।

नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य : सङ्घर्ष समिति

काठमाडौँ – नागरिकताविहीन सङ्घर्ष समिति, नेपालले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ राष्ट्रपतिबाट प्रमाणीकरण भएकामा खुसी व्यक्त गर्दै छिट्टै कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेको छ ।

सङ्घर्ष समितिका अध्यक्ष इ इन्द्रजित सफिले विगत १६/१७ वर्षदेखि लाखौँ नागरिकताविहीनको अथक सङ्घर्षको प्रतिफलस्वरुप आज राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएको भन्दै सरकार, राष्ट्रपति र सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभयो ।

“डेढ दशकयता देशका करिब १४ लाख युवा नागरिकता नहुँदा सम्पूर्ण अधिकारबाट वञ्चित हुनुपरेको थियो । त्यसको भुक्तभोगी म आफैँ पनि हो । पच्चीस जिल्लाका १० हजारभन्दा बढी नागरिकताविहीन अधिकारका लागि आन्दोलन गरिरहेका थियाैँ”, सफिले रासससँग भन्नुभयो । उहाँले हजारौ साथीहरुको ऐक्यबद्धता, सङ्घर्ष र दबाब तथा लाखाैँ शुभचिन्तकको सद्भावका कारण उद्देश्य पूरा भएको बताउनुभयो । “यो क्षणमा खुसी व्यक्त गर्ने कुनै शब्द छैन । म सरकार र राष्ट्रपतिलाई धन्यवाद र अरुप्रति आभार व्यक्त गर्दछु”, उहाँले भन्नुभयो

धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ भरतपुरका २९ वर्षीय इन्द्रजित आफ्नो बुबासँग जन्मसिद्ध र आमासँग वंशजको नागरिकता भए पनि नागरिकताविहीन हुनुहुन्छ ।

“आमा र बुबा नेपालको नागरिक हुँदा पनि करिब १४ लाख सन्तान नागरिकताविहीन छन् । नागरिकताबिना केही गर्न नसकिने रहेछ, पढ्न, जागिर खान, विदेश जान र अरू सरकारी सुविधा लिनबाट वञ्चित हुनुपर्ने मात्रै होइन ती लाखौँ युवाको ऊर्जा त्यतिकै खेर गइरहेको अवस्था छ । अब त्यो अवस्था अन्त्य हुने हामीले अपेक्षा गरेका छौँ”, सफिले भन्नुभयो ।

नागरिकताविहीन युवा अनुराज झाले राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएपछि वर्षौंदेखिको सपना साकार हुन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । “हामी चार पुस्तादेखि नेपालमै छौँ । मेरो बुबाले जन्मसिद्ध नागरिकता र आमाले वंशजको नागरिकता लिनुभएको छ । आमाको नामबाट नागरिकता बन्दैन, बुबा जन्मसिद्ध नागरिक भएकाले सरकारले नागरिकता दिन मिल्दैन भन्छ”, झाले भन्नुभयो, “वर्षौंदेखि थन्किएर रहेको नागरिकता विधेयक प्रमाणीकरण भएपछि अब भने चाँडै नागरिकता पाउने आशा जागेको छ । प्रशासनले तत्काल प्रक्रिया अगाडि बढाउनेमा हामी आशावादी छौँ ।”

विसं २०४६ अघि जन्मेका अधिकांश नेपाली नागरिकलाई २०६३ सालमा जन्मका आधारमा नागरिकता दिइए पनि तिनका सन्तानले भने नेपालको संविधानअनुसार ऐन नबन्दा अझै नागरिकता पाउन सकेका छैनन् ।

विसं २०७२ मा जारी भएको नेपालको संविधानको धारा ११ (३) ले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका सन्तानले बालिग भएपछि वंशजको नागरिकता पाउने भनी स्पष्ट व्यवस्था गरे पनि राजनीतिक सहमति नहुँदा वर्षांैदेखि ऐन बन्न सकेको थिएन । त्यसविरुद्ध नागरिकताविहीनले सुुरुदेखि नै आवाज उठाइरहे पनि विसं २०७८ मा नागरिकताविहीन सङ्घर्ष समिति नेपाल गठन गरेर सङ्गठित आन्दोलन भइरहेको छ ।

“नागरिकता छैन । सक्षम भएर पनि केही गर्न पाउँदैनाँै । संविधानअनुसार नागरिकता ऐन अद्यावधिक नगरी लाखाँै नागरिकको जिन्दगीसँग खेलबाड भएको छ । त्यसैका विरुद्ध हामीले राजनीतिक दलका प्रमुख नेतादेखि सरकारका मन्त्री, प्रधानमन्त्री, बहालवाला र पूर्वराष्ट्रपतिलाई पनि ध्यानाकर्षण गराइरहेका थियौँ”, सङ्घर्ष समितिका अध्यक्ष साफीले भन्नुभयोे, “वर्षौदेखि राज्यविहीन हुनुको हाम्रो पीडा आज सरकार र राष्ट्रपतिले सुन्नुभएको छ । अब अक्षरशः कार्यान्वयनको पखाईमा छौ ।”

राष्ट्रपति रामचन्द्र पौडेलले आज मात्रै नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण गर्नुभएको थियो । सो विधेयक यसअघि विसं २०७९ साउन १५ गरे सङ्घीय संसद्का दुवै सदनबाट पारित भई तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले सोही मितिमा प्रमाणित गरी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पेश गर्नुभएको थियो ।

तत्कालीन राष्ट्रपति भण्डारीले भने केही विषयमा ध्यानाकर्षणसहित पुनर्विचारका लागि सङ्घीय संसद्मा फिर्ता पठाइएकोमा सङ्घीय संसद्का दुवै सदनमा छलफल गरी प्रमाणीकरणका लागि पुनः २०७९ भदौ २० गते राष्ट्रपतिसमक्ष पठाइए पनि हालसम्म प्रमाणीकरण भएको थिएन । सोही विधेयक प्रमाणीकरणका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले विसं २०८० जेठ १२ गते वर्तमान राष्ट्रपति पौडेललाई औपचारिकरुपमा आग्रह गरेको थियो ।

एमालेले डाक्यो शुक्रबार सचिवालय बैठक

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक बोलाएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले यही १९ जेठ शुक्रबार बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेगरी  सचिवालय बैठक आह्वान गरेका हुन् । 

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ । 

प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्रीले गरिन् स्वागत

​​​​​​काठमाडौं – चार दिने औपचारिक भ्रमणका सिलसिलामा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी  छन् । बुधबार दिउँसो करिब १२० सदस्यीय टोलीको नेतृत्व गर्दै  दाहाल दिल्ली गएका हुन् ।

दिल्लीस्थित नेपालका राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । विमानस्थल बाहिर सांस्कृति टोलीले झाँकी प्रदर्शन गरेको थियो ।

नेपालका प्रधानमन्त्रीको स्वागतका लागि विदेशमन्त्री विमानस्थलमा आउने पुरानो परम्परा रहेपनि एस जयशंकर प्रचण्डलाई स्वागत गर्न पुगेनन् ।

पछिल्लोपटक शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा पनि रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।

प्रचण्ड दोस्रोपटक भारत भ्रमणमा जाँदा विदेशमन्त्री सुस्मा स्वराज स्वागतका लागि विमानस्थलमा आएकी थिइन् । 
 

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर फेरी अर्को अलोकप्रीय र राष्ट्रघाती काम गरे : महेश बस्नेत

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता प्रमाणीकरण गरेको प्रति आपती जनएका छन् ।

उनले आज आफ्नो सामाजिक सञ्जालमा एक पोष्ठ गर्दै तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेर फेरी अर्को अलोकप्रीय र राष्ट्रघाती काम गरेको बताएका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्,

तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे र फेरी अर्को अलोकप्रीय र राष्ट्रघाती काम गरेका छन ।

संसद्का दुवै सदनले पारित गरेर दोस्रो पटक पठाउँदा समेत तत्कालीन राष्ट्रपति विद्या भण्डारीले अंगिक्रित नागरिकता दिने समय र अबधि लगायत कतिपय प्राबधान प्रति आपत्ति जनाएर प्रमाणीकरण नगरी फिर्ता गर्नु भएको थियो ।

तत्कालीन राष्ट्रपति भण्डारी पदबाट बिदा भएको तीन महिनामा मै नयाँ राष्ट्रपतिले नौ महिना पुरानो विधेयक संसदीय प्रणालीलाई समेत मिचेर प्रमाणीकरण गरेका छन।

टिकापुर घटनाका अपराधी भनेर सर्बोच्च अदालतले समेत सजाय तोकेको रेशम चौधरी लगायतलाई आम मफि दिने सरकारको निर्णयलाई प्रमाणीकरण गरेका राष्ट्रपति निर्बाचित भएको तीन महिनामै अपराधिक,राष्ट्रघाति र बिबादित काम गरेका छन ।

यस्तो कदमको घोर भत्सना गर्दै आवश्यकता अनुसार प्रतिबाद गर्न समेत आम जनसमुदायमा अनुरोध गर्दछु ।

सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“पुँजीगत बजेट केही घटे पनि त्यसको कार्यान्वयनमा सधैँ समस्या छ र यसलाई समाधान गर्नका उच्च प्राथमिकता दिएको छु । ”

नेपाल आर्थिक पत्रकार समाजले आज यहाँ आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा उहाँले
पुँजीगत खर्चलाई प्रभावकारी बनाउनका लागि बुँदागत रुपमै घोषणा गरेको र यसको कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । पुँजीगत खर्चको कार्यान्वयन राम्रो भयो भने वैदेशिक सहयोग पनि बढ्ने र यसले गर्दा स्रोतमा केही सहज हुने अर्थमन्त्री डा महतको भनाइ थियो ।

उहाँले कर निर्धारणमा आफूले अर्थतन्त्र तथा निजी लगानीलाई केन्द्रमा राखेर गरेको जनाउँदै राजस्वका कुनै पनि दरको हेरफेर कुनै पनि स्वार्थ प्रेरित नभएको प्रस्ट पार्नुभयो । विद्युतीय गाडीमा भएको हेरफेरले उभोक्तालाई निरुत्साहित नगर्ने उहाँको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारीले नेपाली अर्थतन्त्र पोलिसी ट्र्यापमा परेको बताउनुभयो । यो बजेट घाटाका कारणले गर्दा आन्तरिक ऋण बढ्दै जाने र यसले गर्दा फेरि मौद्रिक बजारमा असर गर्ने अधिकारीको भनाइ छ ।

अहिले नै दुई सय ७१ अर्ब बजेट घाटा पुगिसकेको उल्लेख गर्दै उहाँले यसको असर आन्तरिक ऋणमा देखिएको र जति धेरै घाटा बढ्छ त्यति ऋण विस्तार हुने उल्लेख गर्नुभयो ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले २०६३ सालपछिको शासकीय अभ्यासका कारणले गर्दा अर्थतन्त्र पोलिसी ट्र्यापमा परेको र त्यसको असर अहिले झन् बढ्दै गएको उल्लेख गर्नुभयो । उत्पादनभन्दा पनि वितरणमुखी कार्यक्रममा प्रतिस्पर्धा भएकाले यस्तो अवस्था आएको उहाँको भनाइ थियो ।

ऋण लिनका लागि ऋण लिनुपर्ने, विकास निर्माणका लागि बजेट घटाउँदै जानुपर्ने, साधारण खर्चको दायित्व बढ्दै जाने अवस्था अहिले रहेको र सुधार जतिसुकै भने पनि आगामी वर्षको बजेट यही अवधारणामा आएको उहाँको टिप्पणी थियो ।

राष्ट्रपति कार्यालयले भन्यो : नागरिकता विधेयक प्रमाणीकरण मन्त्रिपरिषदको निर्णय र पत्रबमोजिम प्रमाणीकरण गरिएको हो

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक आज प्रमाणीकरण गरेका छन् ।

नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै चैतर्फि आलोचना बढ्न थालेको छ । राष्ट्रपति पौडेलले कुनै पनि विधेयक प्रमाणीकरणका लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णय होइन संसदले पठाउने पर्ने विज्ञहरु बताउँछन् ।

विज्ञहरु भन्छन्, ‘यो आफैंमा त्रुटिपूर्ण रहेको छ । कुनै पनि विधेयक प्रमाणीकरणका लागि सरकारले होइन संसदले पठाउने हो । जुन सदनमा उत्पति भएको हो सोही सदनका सभामुख वा अध्यक्षले प्रमाणिकरणको लागि पठाउनुपर्ने व्यवस्था छ ।’

तर राष्ट्रपति कार्यालयको विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र पत्रबमोजिम प्रमाणीकरण गरिएको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट भारतको चार दिने औपचारिक भ्रमणमा जाँदैछन । प्रधानमन्त्रीको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मन्त्रिपरिषद् बैठकले नै निर्णय गरेर राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण : यस्ता छन् शङ्कर पोखरेल ९ सुझाव

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भारत भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ९ वटा सुझाव दिनुभएको छ । 

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई ९ वटा सुझाव दिनुहुँदै राष्ट्रिय शक्तिहरूका बीचमा बलियो समझदारी हुनुपर्ने बताउनुभएको हो । 

यस्तै उहाँले नेपालको हितका पक्षमा तयारीसहितको स्पष्ट अडान आवश्यक रहेको उल्लेख गर्नुभएको छ । 

‘यतिवेला नेपालको प्राथमिकता भारतसँगको विद्युत् व्यापार होइन, नेपालमै विद्युत्को खपत वृद्धि गर्ने परियोजनाहरूको विकासको कुरा हो’, उहाँले लेख्नुभएको छ,’ त्यसमा भारतको लगानी र सहयोगमा जोड दिनु राम्रो हुन्छ ।’ 

महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण भारतको चाहनामा होइन नेपालको राष्ट्रिय हितका विषयमा केन्द्रित हुन सक्नुपर्ने बताउनुभयो ।  

प्रधानमन्त्री प्रचण्ड आजदेखि यही जेठ २० गतेसम्मका लागि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । 

यस्ता छन् महासचिव पोखरेलका सुझाव:
​​​​​​​१ इपिजिको प्रतिवेदनलाई स्वीकार गरी त्यसको कार्यान्वयनको तयारी
२ गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका नयाँ एअर रुटको सुनिश्चितता
३ नयाँ (चुच्चे) नक्सामा आधारित भई सीमा समस्याको समाधानको थालनी
४ डुबान समस्याको समाधानका सन्दर्भमा विगतमा भएको सहमतिको कार्यान्वयन
५ भारतसँगको बढ्दो व्यापार घाटा कम गर्ने सन्दर्भमा ठोस पहल
६ खुला सीमालाई प्रभावकारी रूपमा नियमन गर्ने विषय
७ तेस्रो मुलुकसँगको व्यापारमा भारतीय बन्दरगाह र मार्गको प्रयोगमा सहजता
८ गङ्गा रिभरवेसिन हुँदै नेपालसम्मको जल यातायातको विकास
९ भारतीय प्रधानमन्त्रीबाट घोषणा गरिएको सहुलियतपूर्ण कर्जाको प्रयोगमा उत्पन्न जटिलताको समाधान ।

सर्वोच्च अदालतमा प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन माग गरिएको निवेदन दरपिठ

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै  परेको रिट निवेदनलाई सर्वाेच्च अदालत प्रशासनले दरपिठ गरिदिएको छ । 

गत शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई मंगलबार रजिष्ट्रार नारायाणप्रसाद पन्थीको आदेशमा दरपिठ गरिदिएको हो । 

‘द्वन्द्वकालको घटनालाई नियमित अदालतभन्दा पनि संक्रमणकालिन न्याय संयन्त्रले नै संबोधन गर्नु उपयुक्त हुने साथै यीनै घटनाको समग्र विषयलाई समेटेर सत्य निरुपण तथा मेलमिलाप आयोग नेपालमा उजुरी दिएको भनि निवेदक मध्येका लेनिन विष्टले निवेदनमा आफ्नो ब्यहोरा उल्लेख गरेको देखिएकोले प्रस्तुत विषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट संक्रमणकालिन न्याय पद्धतिअनुसार निरुपण हुने नै हुँदा यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत प्रस्तुत निवेदन लिई आएको देखिदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दर्ता गर्न मिलेन । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दरपीठ गरी दिइएको छ । कानून बमोजिम गर्नु,’ रजिष्ट्रार नारायाणप्रसाद पन्थीको आदेशमा उल्लेख गरिएको छ । 

आफूहरुलाई बालावस्थामा युद्धमा प्रयोग गरेको भन्दै प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाइनुपर्ने जिकीर गर्दै विष्टसहितले शुक्रबार रिट निवेदन दिएका थिए । आफूहरुलाई बाल सेनाको दर्जाबाट बञ्चित गर्ने किसिमका कार्य नगर्नु भनि विपक्षीहरुका नाममा परमादेशको आदेश जारी गर्न पनि उनीहरुले माग गरेका थिए । 

प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईसमेतलाई विपक्षी बनाई दिएको रिट निवेदनमा भनिएको थियो,  ‘सशस्त्र द्वन्द्वमा बाल सेना भर्ती गर्नु गराउनु हुन्न भन्ने तथ्य ढाँटी हामी जस्तालाई बालसैन्यको रुपमा भर्ती गरी हाम्रो सुन्दर भविष्य बरबाद गर्ने र युद्ध अपराधको भागीदार भै अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गर्ने विपक्षीद्वय पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईमाथि प्रचलित अन्तर्राष्ट्रिय कानुन बमोजिम कानूनको दायरामा ल्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आवश्यक पर्ने कार्य गर्नु र घरेलु रुपमा कानूनको दायरमा ल्याउन संयुक्त राष्ट्र संघको सुरक्षा परिषद संग समन्वय गरी संयुक्त राष्ट्र संघिय आयोग (उदाहरणका लागि रुवान्डा वा युगोस्लाभियामा स्थापित आयोग (Tribunal) स्थापित गरी कानूनी कार्यबाहीको प्रक्रिया अघि बढाउनु र सो को प्रगति विवरण सम्मानित सर्वोच्च अदालतलाइ नियमित रुपमा पेश गर्नु भनि परमादेशको आदेश जारि गरी पाउँ ।’ 

“अखण्ड भारत” को नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा केपी ओलीको आपत्ति

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको नयाँ संसद भवनमा राखिएको “अखण्ड भारत” को नक्सामा नेपालका भूभागहरू समेत समावेश गरिएकोप्रति आपत्ति जनाउनुभएको छ । 

मंगलबार पार्टी कार्यालय च्यासलमा अखिल नेपाल महिला सङ्घले आयोजना गरेको कार्यक्रममा ओलीले नेपालका भूभागहरूलाई समावेश गर्दै आफ्नो नक्सामा राखेर भारतले नेपालप्रति हेपाहा प्रवृत्ति देखाएको समेत बताउनुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा उक्त नक्सा हटाउन भन्नसक्नुपर्ने बताउनुभयो । राष्ट्रहितमा कुरा गर्न नसके प्रधानमन्त्रीको भारत भ्रमणको कुनै अर्थ नहुने उहाँको भनाइ छ । नेपालको भूमि आफ्नो नक्साभित्र हालेर भारतजस्तो नमुना लोकतन्त्र भनिएको देशले हेपाहा काम गरे त्यसलाई उचित भन्न नसकिने उहाँले बताउनुभयो ।  

ओलीले विश्वमै ठुला देशले साना देशलाई हेप्ने क्रमले निरन्तरता पाए पनि संयुक्त राष्ट्रसङ्घ निरीह रहेको बताउनुभयो । 

सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्योरो अवस्थामा आइपुगेको बताउनुभएको छ ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको बाह्रौँ कृति ‘कालपात्र’ सार्वजनिक गर्नुहुँदै उहाँले भ्रष्टाचार र कमिसनको साँठगाँठलाई तोडेर मात्र देश बनाउन सकिनेमा जोड दिनुभयो । नयाँ मूल्य स्थापित गरेर समाजलाई उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

“अहिले जीवन मूल्यमा ह्रास भएको छ, स्वार्थका निम्ति राज्यद्रोह गर्ने मानिस छन्, यस्तो अवस्थामा सफा राजनीतिले मात्र देशलाई परिवर्तन गर्न सक्छ, पार्टी र नेता नबदलिई देश बदलिँदैन, पुस्तकमा लेखकको आशय पनि यही छ, संसारका सुन्दरतम देशमध्ये औँलामा गन्न सकिनेमा नेपाल पनि पर्छ तर हामी अदक्ष कामदार खाडीमा पठाइ तिनले पठाएको विप्रेषणले देश चलाइरहेका छौँ”, उहाँले भन्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आफू मन्त्री हुँदा कर्मचारी राखेरमात्र निर्माण व्यवसायीसँग कुरा गरेको प्रसङ्ग पनि कार्यक्रममा उहाँले सुनाउनुभयो । यस्ता कामको सुरुआत नगरी नयाँ मूल्य स्थापित नहुने उपप्रम श्रेष्ठको भनाइ थियो ।

पुरुषोत्तम दाहालको बाह्रौँ कृति ‘कालपात्र’ सार्वजनिक उपन्यासका लेखक दाहालले राजनीतिमा अपराध भइरहेको पीडाले उपन्यासको जन्म भएको जानकारी गराउनुभयो । मसानघाटबाट सुरु भएर मसानघाटमै ‘कालपात्र’ उपन्यास सकिने उहाँले सुनाउनुभयो । देश, संस्था कुनै पनि तह र तप्काको नेतृत्व गर्नेले ‘कालपात्र’ उपन्यास पढ्नैपर्ने लेखक दाहालले बताउनुभयो ।

“सर्वाधिक विकृति पत्रकारिता क्षेत्रमा छ, हिजो प्रेस विरोधी बजेट आएको छ, प्रहरी, प्रशासन र न्यायालयमा पनि यस्तै विकृति छ, सरकारी अनुदान लिन कमिसन दिनुपर्छ, तर यो कसैले पनि भन्दैन”, उहाँले भन्नुभयो । गत वर्ष छ महिना अमेरिका बसेका बेला उपन्यास तयार पारिएको जानकारी पनि लेखक दाहालले गराउनुभयो । पूर्वसांसद शोभाकर पराजुलीले उपन्यास मानवतावादको उत्कृष्ट उदाहरण रहेको बताउनुभयो । राजनीतिका नाममा नैतिकता र मानिसको व्यापार भइरहेको उहाँको भनाइ थियो ।

“राजनीतिमा छरपस्ट यौनको प्रभाव पनि उपन्यासमा आएको छ, रुपको प्रभावले राजनीतिमा के गर्छ भन्ने स्वरुप उपन्यासमा पढ्न पाइन्छ, राजनीतिले धर्म छोडेको कुरा पनि उपन्यासले व्यक्त गरेको छ”, उपन्यासमाथि टिप्पणी गर्दै पूर्वसांसद पराजुलीले भन्नुभयो ।

खराब गर्नेहरु थोरै भए पनि सङ्गठित हुँदा समाज नै भ्रष्ट भएजस्तो देखिएको उल्लेख गर्नुहुँदै उहाँले असल मानिसको पुनरोदयका आशा उपन्यासले गरेको बताउनुभयो ।

उपन्यासमाथि समीक्षात्मक मन्तव्य व्यक्त गर्नुहुँदै प्रा डा ज्ञानु अधिकारीले वर्तमान राजनीति, पत्रकारिता र पूर्वीय दर्शनको त्रिकोणात्मक सम्बन्धले उपन्यासका कथानक अघि बढेको बताउनुभयो । उपन्यासको आरम्भ र अन्त्यमा दार्शनिक चिन्तन आएको उहाँले सुनाउनुभयो । उपन्यासका पात्रका नाम पनि मौलिक रहेको समीक्षक अधिकारीले सुनाउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले आजको नेपालको यथार्थ चित्र उपन्यासमा भेट्न सकिने बताउनुभयो । जन्मने, मर्ने र फेरि जन्मने पौरस्त्य दर्शनमा आधारित उपन्यासका रुपमा ‘कालपात्र’ आएको उहाँको विश्लेषण थियो ।

कार्यक्रममा पत्रकार रामजी दाहाल र कृष्ण भुसालले ‘कालपात्र’ उपन्यासले उठाएका विषयवस्तुका बारेमा प्रकाश पार्नुभएको थियो । दाहालको उपन्यास ‘कालपात्र’ इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रालिले प्रकाशन गरेको हो । दुई सय पृष्ठको पुस्तक एलाइन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रालिले मुद्रण गरेको हो । उपन्यासका मूल्य रु ५२५ तोकिएको छ ।

लेखक दाहालका यसअघि शान्ता उपन्यासको नेपाली र अङ्ग्रेजी संस्करण प्रकाशन भइसकेको छ । लेखकको यो दोस्रो उपन्यास हो । साँध, अन्धकारको यात्री, काला बादलमा उज्याला पाइला गरी तीनवटा कविता सङ्ग्रह एकलरुपमा प्रकाशन भएको छ । उहाँको केही कवि केही कविता भने संयुक्त कविता सङ्ग्रहका रुपमा प्रकाशन भएको छ ।

यसैगरी प्रक्षेपण विचार निबन्ध सङ्ग्रह, शिखरवृत्त कथा सङ्ग्रह, मेरो पत्रकारिता चार दशकको पत्रकारिता अनुभवका पहिलो र दोस्रो संस्करण, मानव अधिकार : लोकतन्त्र, शान्ति र अहिंसाको आधार सहलेखनका रुपमा सार्वजनिक भइसकेको छ ।

कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?

काठमाडौँ – सरकारले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो ।

आर्थिक विधेयकले भ्याट र अन्तःशुल्कमा दिँइदै आएको अधिकांश छुट कटौती गरेको छ । भ्याटका एक सय ७० र अन्तःशुल्कका तीन सय ४० छुटका दरहरू खारेज गरिएका छन् ।

आयकरतर्फ वार्षिक रु ५० लाखभन्दा बढीको आयमा लाग्ने आयकर बढाइएको छ । पाँचतारे क्षमताभन्दा माथिका होटल, विदेशी मदिरा र १० लाखभन्दा माथिको गरगहनामा विलासिता कर लगाइएको छ । विदेश पढ्न जाने विद्यार्थीले सटही सुविधा लिँदा तीन प्रतिशत सेवा शुल्क तिर्ने र वैदेशिक रोजगारीमा जानेले एक प्रतिशत सेवाशुल्क तिर्ने व्यवस्था ल्याइएको छ ।

अन्तःशुल्कतर्फ
सरकारले अन्तःशुल्कतर्फ मदिरा, पत्रु खाना (जङ्कफुड)देखि विद्युतीय सवारी साधनसम्ममा करका दर हेरफेर गरेको छ ।

आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टर ९६ बाट बढाएर प्रतिक्विन्टर रु एक सय पाँच बनाइएको छ । सख्खर (गुँड र भेलीसमेत), गुँडगट्टाको अन्तःशुल्क पनि प्रतिक्विन्टर रु एक सय पाँच पुर्‍याइएको छ ।

अन्डा मिसाइएका स्पागेटी, म्याक्रोनी, नुडल्स, लसान्या, नोकी, राभिओली, कुकु (उत्तर अफ्रिकी खाद्य पदार्थ) पास्तालगायतका वस्तुमा प्रतिकिलो रु १७ अन्तःशुल्क लाग्ने गरेकामा बढाएर प्रतिकिलो रु २० पुर्‍याइएको छ । कुरकुरे, कुरमुरे, लेज, चिजबल प्रतिकिलो रु १७ अन्तःशुल्क रहेकामा त्यसलाई बढाएर प्रतिकिलो रु २० पुर्‍याइएको छ । आलु चिप्स प्रतिकिलो रु १७ अन्तःशुल्क लाग्ने गरेकामा रु एक बढाएर रु १८ पुर्‍याइएको छ ।

सुन्तलाको रस (फ्रोजेन अरेन्ज जुस), भोगटेको रस, भुइँकटहरको रस, गोलभेँडाको रस (टमाटो जुस), अङ्गुरको रस, स्याउको रस, आँपको रस, क्यानबेरी जुस, म्याक्रोकार्पन जुसलगायत वस्तुमा प्रतिलिटर रु ११ बाट बढाएर रु १३ पुर्‍याइएको छ ।

सुर्तीरहित पान मसला प्रतिकिलो आठ सय २१ बाट बढाएर आठ सय ५० पुर्‍याइएको छ । त्यस्तै, सुर्तीरहित सुगन्धित सुपारी (गुटखा) को अन्तःशुल्क प्रतिकिलो रु तीन सय ५० बाट बढाएर रू तीन सय ६५ पुर्‍याइएको छ । अल्कोहलरहित बियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर ३५ र जौबाट बनेको वियर प्रतिलिटर रु दुई सय २८ बाट बढाएर रु दुई सय ३५ पुर्‍याइएको छ ।

एक्स्ट्रा न्युट्रल अल्कोहल (इएनए) प्रतिलिटर रु ८६ बाट बढाएर प्रतिलिटर रु ९० पुर्‍याइएको छ । ८० देखि ९९ प्रतिशतसम्म अल्कोहल भएको डिनेचर्ड स्प्रिटमा प्रतिलिटर रु ३० अन्तःशुल्क लाग्ने गरेकामा रु ३५ पुर्‍याइएको छ । वाइन र ब्रान्डीको कच्चा पदार्थका रुपमा प्रयोग हुने सबै प्रकारका स्प्रिटहरुको अन्तःशुल्क प्रतिलिटर रु दुई सय २८ बाट बढाएर रु दुई सय ३५ पुर्‍याइएको छ । १५ यु.पी शक्तिको (४८ दशमलव पाँच प्रतिशत अल्कोहलको मात्रा भएको) तयारी मदिरामा प्रतिलिटर रु एक हजार सात सय ५० बाट रु एक हजार आठ सय पुर्‍याइएको छ ।

त्यस्तै, ३० युपी शक्ति (३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको) तयारी मदिरामा प्रतिलिटर रु एक हजार दुई सय १५ बराबर अन्तःशुल्क लाग्ने गरेको थियो । त्यसलाई बढाएर प्रतिलिटर रु ३५ बढाएर रु एक हजार दुई सय ५० पुर्‍याइएकोछ । ह्विस्कीको कच्चा पदार्थका रुपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रु दुई सय २८ बराबर अन्तःशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर प्रतिलिटर रु दुई सय ३५ पुर्‍याइएको छ ।

त्यस्तै, रम र अन्य स्प्रिटहरुको कच्चा पदार्थका रुपमा प्रयोग हुने उखुको उत्पादनका स्प्रिटमा पनि प्रतिलिटर रु दुई सय २८ बाट बढाएर रु दुई सय ३५ पुर्‍याइएको छ । १५ युपी शक्तिको ह्विस्की (४८ दशमलव पाँच प्रतिशत) अल्कोहल मात्रा भएकोलाई प्रतिलिटर रु एक हजार सात सय ५० बराबर अन्तःशुल्क लाग्ने गरेकामा बढाएर रु एक हजार आठ सय पुर्‍याइएको छ । त्यस्तै, २५ युपी शक्ति (४२ दशमलव ८ प्रतिशत अल्कोहल) भएको ह्विस्कीमा प्रतिलिटर एक हजार तीन सय ६ बराबर अन्तःशुल्क लाग्ने गरेको त्यसलाई बढाएर रु एक हजार तीन सय ४५ पुर्‍याइएको छ । ३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको ह्विस्कीमा प्रतिलिटर रु एक हजार दुई सय १५ अन्तःशुल्क लाग्ने गरेकामा बढाएर रु एक हजार दुई सय ५० पुर्‍याइएको छ ।

जिन र जेनेभाको कच्चा पदार्थका रुपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रु दुई सय २८ बराबर अन्तःशुल्क लाग्ने गरेकामा बढाएर प्रतिलिटर रु दुई सय ३५ पुर्‍याइएको छ । ४८ दशमलव पाँच प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर एक हजार सात सय ५० बराबर अन्तःशुल्क लाग्ने गरेकामा प्रतिलिटर रु ५० बढाएर रु एक हजार आठ सय पुर्‍याइएको छ ।

त्यस्तै, ४२ दशमलव ८ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रु एक हजार तीन सय छ बाट बढाएर रु एक हजार तीन सय ४५ पुर्‍याइएको छ । ३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रु एक हजार दुई सय १५ बाट बढेर रु एक हजार दुई सय ५० पुर्‍याइएको छ ।

फिल्टर नभएको सुर्तीको चुरोटमा प्रतिएम रु सात सय १० अन्तःशुल्क रहेकामा त्यसलाई रु सात सय ३० पुर्‍याइएको छ । ७० मिमीसम्मको लम्बाइ भएको चुरोटमा एम एक हजार छ सय २५ बाट बढाएर रु एक हजार छ सय ९० पुर्‍याइएको छ । ७० देखि ७५ मिमीसम्म लम्बाइ भएकामा प्रति एम रु दुई हजार तीन सय, ७५ देखि ८५ मिमीसम्मकामा प्रतिएम रु दुई हजार नौ सय ७० अन्तःशुल्क तोकिएको छ ।

जर्दा, खैनी, नस, गुटखा र निकोटिनयुक्त पान मसला तथा सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलो रु आठ सय २१ अन्तःशुल्क लाग्ने गरेकामा त्यो बढेर प्रतिकिलो रु आठ सय ५० पुर्‍याइएको छ । मार्बल, ट्राभर टिन, इकोजिन र अन्य चुनद्वारा स्मारक वा भवन बनाउन प्रयोग हुने ढुङ्गामा पाँच प्रतिशत अन्तःशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

विद्युतीय सवारी साधनको अन्तःशुल्कमा पनि सरकारले हेरफेर गरेको छ । ‘स्पार्क इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन’ र धक्का दिन विद्युतीय मोटर दुवै भएको, विद्युत् शक्तिको बाह्य स्रोतमा प्लग जोडेर चार्ज हुन सक्ने किसिमका बाहेक अनएसेन्बल अवस्थाका सवारीको अन्तःशुल्क ४५ प्रतिशतबाट ६० पुर्‍याइएको छ । मोटरको पिक पावर ५० किलोवाटभन्दा बढी तर एक सय किलोवाट ननाघेको कार, जिप र भ्यानको अन्तःशुल्क ३० बाट घटाएर १० प्रतिशत पुर्‍याइएको छ ।

त्यस्तै, मोटर पिकपावर सय किलोवाटभन्दा बढी तर दुई सय किलोवाटभन्दा कम क्षमताका विद्युतीय कार, जिप र भ्यानको ४५ बाट घटाएर २० प्रतिशत बनाइएको छ । मोटरको पिक पावर तीन सय किलोवाटभन्दा माथिको कार, जिप र भ्यानको ६० प्रतिशत रहेकामा यथावत् राखिएको छ ।

मोटरसाइकलहरु (मोपेडसहित) र साइड काररहित वा सहित साइकलमा सहायक मोटर जडान गरिएका साइड कारहरुमा दुई सयदेखि दुई सय ५० सिसी क्षमतासम्मका लागि ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेकामा घटाएर ६० प्रतिशत बनाइएको छ । दुई सय ५० सिसीभन्दा बढी र चार सय सिसीसम्मको मोटरसाइकल तथा स्कुटरमा सडक निर्माण दस्तुर पनि घटाइएको छ । यस्तो मोटरसाइकलमा प्रतिगोटा रु ५० हजार सडक निर्माण दस्तुर लाग्ने गरेकामा रु २० हजारमा झारिएको छ ।

आयकरतर्फ :

विसं २०८५ चैत महिनासम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको ४० मेगावाटभन्दा माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजना र ती आयोजनासँग तादम्यता राखी सञ्चालन गरिने तल्लो तटीय जलविद्युत् आयोजनाको हकमा पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको छ वर्षसम्म ५० प्रतिशत आयकर छुट पाउने व्यवस्था आर्थिक विधेयकमा राखिएको छ ।

बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङलगायतका सूचना प्रविधिमा आधारित सेवा निर्यात गरी सोवापत विदेशी मुद्रा आर्जन गरेमा त्यस्तो व्यक्तिलाई आर्थिक वर्ष २०८४÷८५ सम्म विदेशी मुद्रा आर्जन गरेको आयको हदसम्म लाग्ने करमा ५० प्रतिशत छुट दिने व्यवस्था राखिएको छ ।

यसअघि वार्षिक रु २० लाखभन्दा माथिको आयमा ३६ प्रतिशत आयकर लाग्ने व्यवस्था थियो । यसवर्षको आर्थिक विधेयकमार्फत सरकारले ५० लाखभन्दा माथिको वार्षिक आयमा थप तीन प्रतिशत आयकर लाग्ने व्यवस्था ल्याएको छ ।

भन्सार करतर्फ ः  

ठोस रुपमा उखु र चुकन्दरबाट बनाइएको चिनी, सख्खर, गुँड, भेल, खाँडसारी चिनी, मिश्री, सुगर क्युबको भन्सार ३० प्रतिशतमा झारिएको छ । यी वस्तुमा १० प्रतिशत विन्दुले भन्सार कर घटाइएको हो । जाइफल, जाइपत्री, अलैँची, सुकुमेलमा १० प्रतिशत भन्सार लाग्दै आएकामा त्यसलाई बढाएर २० प्रतिशत बनाइएको छ । साबुदानामा यसअघि पाँच प्रतिशत भन्सार लाग्ने गरेकामा बढाएर १० प्रतिशत बनाइएको छ ।

लिक्विट प्याराफिन आयलमा लाग्ने भन्सार तीस प्रतिशतबाट २० प्रतिशत झारिएको छ । पत्रु फलाममा १४ मिमीभन्दा कम नापको ब्यास भएको वृत्ताकार तिर्यकच्छेद (क्रस सेक्सन) को ८ मिमी ननाघेको भन्सार १० प्रतिशत रहेकामा घटाएर पाँच प्रतिशत बनाइएको छ ।

बिलासिता शुल्क कर :

सरकारले पाँचतारे माथिका ठूला होटल, आयातीत मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा दुई प्रतिशत बिलासिता शुल्क लगाएको छ । पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातीत मदिरा, रु दश लाखभन्दा बढीका हिरा, मोती, पत्थर जडित सुनलगायत बहुमूल्य धातुका गहनामा दुई प्रतिशत विलासिता कर लगाइएको हो ।

पाँचतारे र सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले सेवा प्रदान गरेको बखत नै विलासिता कर लगाउनेछन् । त्यस्तै, आयातीत मदिरामा पैठारी हुने भन्सार विन्दुमा पैठारीका बखत विलासिता कर लाग्नेछ । रु १० लाखभन्दा माथिका पत्थर जडित धातुका गहना बिक्री गर्दा बिक्रेताले बिक्रीका बखत यस्तो कर लगाउनेछन् ।

विलासिता करबापत सङ्कलन गरेको रकम हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरणसहितको जानकारी सम्बन्धित राजस्व कार्यालयलाई पठाउनुपर्नेछ । कुनै व्यक्तिले विलासिता शुल्कबापतको रकम दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लगाई असुल गरिने व्यवस्था आर्थिक विधेयकमा राखिएको छ ।

त्यस्तै, विलासिता करसम्बन्धी विवरण पेस नगरेमा त्यस्तो व्यक्तिलाई विवरण पेस गर्नुपर्ने मितिबाट विवरण दाखिला नभएको मितिसम्म वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुन आउने रकम शुल्क लाग्नेछ । विलासिता शुल्कबापतको रकम असुल नगरेमा सो रकमको २५ प्रतिशत शुल्क लाग्ने आर्थिक विधेयकमा उल्लेख छ ।

विदेशबाट ल्याइएका मोबाइल फोनमा कर

नयाँ व्यवस्थाअनुसार विदेशबाट ल्याइएका आइफोन र एक लाखभन्दा माथिका मोबाइल फोनमा रु १० हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा रु तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रु दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ । २०८० साल जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आइआएमइआई नम्बरसमेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्नेछ ।

“आइफोन र रु एक लाखभन्दा बढी मूल्यका लागि प्रतिसेट रू १० हजार, अन्य स्मार्टफोनका लागि रु तीन हजार र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रतिफोनसेट रु दुई सय कर लाग्नेछ”, आर्थिक विधेयक २०८० मा भनिएको छ । तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई छ महिनाभन्दा बढी अवधि विदेशमा बसेर फर्केका नागरिकले सोको प्रमाण पेस गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेमा एक थान मोबाइल फोन दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता हुनेछ ।

वैदेशिक रोजगारीमा जानेलाई एक प्रतिशत सेवा शूल्य

सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई एक प्रतिशत सेवा शुल्क लगाएको छ । “वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारीमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नुपर्नेछ”, आर्थिक विधेयकमा भनिएको छ ।

त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिने आर्थिक विधेयकमा उल्लेख छ । यस्तो सेवा शुल्क वैदेशिक रोजगार व्यवसायीले हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सम्बन्धित राजस्व कार्यालयमा पठाइ सक्नुपर्नेछ । यस्तो शुल्क दाखिल नगरेमा १५ प्रतिशतका दरले ब्याज लगाई असुल गरिने आर्थिक विधेयकमा उल्लेख छ ।

सटही सुविधामा कर बढ्यो

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा लाग्ने कर बढेको छ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शूल्कबापत विदेशी सटही सुविधा दिँदा त्यस्तो सटही सटही रकममा लाग्ने शिक्षा सेवा शुल्क तीन प्रतिशत पुर्‍याइएको छ । यसअघि दुई प्रतिशत रहेकामा एक प्रतिशत विन्दुले बढाएर तीन प्रतिशत पुर्‍याइएको हो ।

निर्यातमा छुट

मुलुकमा आत्मनिर्भर भएका औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न भन्दै सरकारले केही वस्तुको आयातमा लाग्ने महसुल वृद्धि गरेको छ भने निर्यातमा लाग्ने भन्सारमा छुट दिएको छ ।

स्वदेशी उद्योगको उत्पादन प्रवर्द्धन गर्न २०८० साउन १ गतेपछि सम्झौता हुने आयोजनाका लागि आवश्यक पर्ने सिमेन्ट, फलामे डन्डी, फलामे पाइप तथा प्लास्टिकका पाइप, जस्तापाता, विद्युतीय केवल जस्ता स्वदेशमा पर्याप्त उपलब्ध हुने वस्तुको पैठारीमा लाग्ने महसुल छुट दिने गरी सम्झौता नगरिने पनि सरकारले बजेटमार्फत घोषणा गरेको छ ।

स्वदेशी उद्योगले यस्ता वस्तु आयोजनालाई बिक्री गर्दा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट दिएर बिक्री गर्न सक्नेछन् । लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्द्धनका लागि यस्ता उद्योगले आफ्नो उत्पादन प्रयोजनका लागि पैठारी गर्ने घरायसी प्रयोजन हुने बाहेकका मिल र मेशिनरीमा एक प्रतिशत भन्सार महसुल लगाइएको छ ।

क्यानडामा पहिलो पटक दोस्रो स्टार म्युजिक भिडियो अवार्ड सम्पन्न

काठमाडौँ – ग्रेट नटराज फिल्मस् प्रा.लि.को आयोजनामा स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण क्यानडामा सव्य र भव्य रूपमा सम्पन्न भएको छ ।

मे २८ तारिकमा भएको कार्यक्रममा नेपाल,अमेरिका र क्यानडामै रहेका कलाकर्मीलाई १९ वटा बिधामा अवार्ड प्रदान गरिएको छ भने अवार्ड समारोहमा वरिष्ठ नृत्य निर्देशक कबिराज गहतराज,कलाकार पल्पसा डंगोल,प्रस्तोता नरेश भट्टराई,निर्देशक उज्वल केसीसँगै झन्डै २०० जनाको सहभागिता रहेको थियो ।

स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण वितरण समारोहमा गम्भीर बिष्ट,सुवल थापा,सुरेन बस्याल,सुश्मा अधिकारी,दिपासा बि.सी.,मनोज बि।क।लगायतका कलाकारको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

नेपालबाट बाहिर कलाकार समेत लगेर अवार्ड गर्न निकै गाह्रो हुने परिस्थिति भएको बेला यसरी आफ्नो टिम सफल भएकोमा ग्रेट नटराज फिल्मस् प्रा.लि.का अध्यक्ष अशोक बि।क।ले खुसी व्यक्त गर्दै सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिएका छन् ।

आयोजक पक्षले अब छिट्टै अवार्डको तेस्रो संस्करण गर्ने पनि जनाएको छ ।

सांसदहरूलाई बालेनको प्रश्न-वडा अध्यक्षको काम गर्नेभए किन सांसद बन्नुभयो ?

​​​​​​​काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सरकारले सांसद विकास कोष ब्युँताएकोमा आपत्ति जनाउनुभएको छ ।   

अर्थमन्त्री डा प्रकाशशरण महतले हिजो आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै सांसदहरूलाई ५ करोड दिने घोषणा गरेका थिए । 

सांसद विकास कोषबारे व्यङ्ग्य गर्दै मेयर साहले सांसदहरू वडा अध्यक्षको लेबलमा आएको बताउनुभयो । 

‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो’, उहाँले भन्नुभयो, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू ?’ 

सरकारले सांसद विकास कोष ब्युँताएपछि त्यसको विरोध भइरहेको छ । 

लुम्बिनी र कपिलवस्तु किन समेटियो अखण्ड भरत भित्र

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतले आफ्नो नयाँ संसद् भवनमा राखिएको भित्ते चित्रमा अङ्कित भौगोलिक पहिचान प्रति चासो व्यक्त गर्नुभएको छ  । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद् भवनमा अङ्कित भित्ते चित्रमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमि झैँ दर्साउने गरी अङ्कित गरे पछि भट्टराईले चासो व्यक्त गर्नुभएको हो । 

उहाँले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमि झैँ उल्लेख गर्ने विषयले दुई देशका बीचमा आपसी कूटनीतिक सम्बन्धमा दरार आउने सक्ने जनाउनुभएको छ ।

‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भनेका छन्, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ।’

सम्पन्न हुने खालका आयोजनामा मात्रै बजेट दिएपछि ऊर्जा क्षेत्रको बजेट पनि घट्यो

काठमाडौं- सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालयतर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेट चालु आवको भन्दा २१ अर्ब रुपैयाँले कम हो। 

अर्थमन्त्री डा प्रकाशशरण महतले सम्पन्न हुने खालका रणनीतिक आयोजनालाई मात्रै बजेट व्यवस्थापन गरेपछि भौतिक पूर्वाधार र ऊर्जा जस्ता विकासे मन्त्रालयको बजेट कटौती भएको हो।

चालु आवका लागि ऊर्जातर्फ ७५ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यस्तै जलस्रोत तथा सिचाइतर्फ ३३ अर्ब ५० करोड रुपैयाँ विनयोजन गरिएको थियो।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए।