`

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो, स्थानीयस्तरमै भरपर्दो स्वास्थ्य सेवा दिने लक्ष्य

काठमाडौँ – सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट रु १४ अर्बले बढाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै स्वास्थ्य मन्त्रालयतर्फ रु ८३ अर्ब ९९ करोड विनियोजन गरिएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि चालु आवमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको थियो । प्रदेशतर्फ रु छ अर्ब २६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

गत वर्षसम्म कोभिडका कारण स्वास्थ्य मन्त्रालयको बजेट ह्वात्तै बढाइएको थियो । स्वास्थ्य क्षेत्रलाई स्थानीय स्तरमै भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्यतर्फको बजेट बढाएको अर्थमन्त्री डा महतले बताउनुभयो ।

बजेट पाएको नौ महिनासम्म ठेक्का नलागे रद्द गरिने

काठमाडौँ – सरकारले राष्ट्रिय गौरवका आयोजनाबाहेक अरु आयोजनामा तीन वर्षभन्दा बढी समयका लागि स्रोत सुनिश्चितता नदिने र स्रोत सहमति दिएको मितिले नौ महिनाभित्रमा काम सुरु नभए ठेक्का सम्झौता स्वतः रद्द गर्ने भएको छ ।

सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । त्यस्तै यसअघि स्रोत सहमति दिएर नौ महिना पूरा भई हालसम्म ठेक्का नलागेका तथा आगामी आवको बजेटमा विनियोजन प्रस्ताव नगरिएका आयोजनाको स्रोत सहमति खारेज गरिएको पनि अर्थमन्त्री डा प्रकाशशरण महतले बताउनुभयो ।

स्रोत सहमति माग गरेको आवमा आयोजनाका लागि विनियोजित बजेटको अधिकतम चार गुणाभन्दा बढी नहुने गरी स्रोतको सहमति दिने गरी व्यवस्था मिलाइनेछ पनि बजेटमा उल्लेख छ ।

सार्वजनिक खरिद प्रक्रिया र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृतिको प्रक्रिया सहज बनाउने घोषणा पनि सरकारले गरेको छ । वातावरण प्रभाव मूल्याङ्कन लागि रीतपूर्वक आएका प्रस्ताव ३० दिनभित्रमा स्वीकृत गरिसक्ने व्यवस्था गरिने बजेटमा राखिएको छ । त्यस्तै, वातावरण प्रभाव मूल्याङ्कनको तुलनामा १० प्रतिशतभन्दा बढी रुख तलमाथि भएका पूरक इआइएका गर्नु नपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

खरिद प्रक्रियामा देखिएका समस्या समाधान गरी सार्वजनिक खरिदलाई पारदर्शी र प्रभावकारी बनाउन ऐन र नियमावलीमा परिमार्जन गरिने विषयमा पनि बजेटमा राखिएको छ ।

कात्तिक मसान्तसम्ममा ठेक्का अघि नबढेका आयोजना र कार्यक्रममा विनियोजन रकम रोक्का गर्न सकिने, आगामी आवको सुरुआती तीन महिना अवधिमा रकमान्तर स्रोतान्तर नगरिने र सो अवधिमा कार्यक्रम संशोधन नगरिने पनि बजेटमा जनाइएको छ । कुनै योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आयोजना प्रमुखलाई जिम्मेवार बनाइने बजेट वक्तव्यमा जनाइएको छ ।
निर्माण व्यवसायीले मुलुकभर लिएका ठेक्काको विवरण र कार्यप्रगतिको अवस्था आवधिकरुपमा प्राप्त हुने गरी सूचना प्रणाली विकास गरिनेछ । यस प्रणालीको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का सम्झौताको प्रगति अनुगमन गर्नेछ ।

अनुगमनबाट गम्भीर प्रकृतिका लापरबाही देखिएमा सम्बन्धित आयोजनाले पेश गरेको प्रतिवेदनसमेतका आधारमा निर्माण व्यवसायीको इजाजतपत्र रद्दसम्मका कारबाही गर्न सकिने गरी कानुनी व्यवस्था गरिने बजेट वक्तव्यमा जनाइएको छ ।

निर्माण सामग्रीको आपूर्ति सहज बनाउन वातावरणीय अध्ययनबाट उपयुक्त भनी पहिचान भएका खानीबाट तोकिएको समयमा ढुङ्गा गिट्टी बालुवा निकालिने पनि बजेटमा उल्लेख छ । त्यस्तै, ऋण र अनुदानको रकम विकास कार्यक्रममा मात्रै खर्च गरिने बजेटमा उल्लेख छ । रु एक अर्बभन्दा बढी विनियोजन भएका आयोजना तथा कार्यक्रमको कार्यान्वयनको प्रभावकारिता अभिवृद्धि गर्न राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयको पदाधिकारी रहेको अनुगमन समिति बनाइने बजेटमा जनाइएको छ ।

विगतमा टुक्रे आयोजना, स्रोत सुनिश्चितता नभएका बहुवर्षीय आयोजना र सम्भाव्यता अध्ययन नै भएका आयोजनामा ठूलो बजेट राख्ने गरिएकोमा यस वर्षको बजेटमा यस्ता कार्यक्रम नराखिएको अर्थमन्त्री महतले संसद्मा बताउनुभयो ।

“सरकारले ठूलो सङ्ख्यामा आयोजना र कार्यक्रम समावेश गरी स्रोत साधन छर्ने प्रवृत्तिमा सुधार गर्न क्षेत्रगत प्राथमिकताभित्र पनि ठूला तथा रणनीतिक महत्वका, छिटो प्रतिफल दिने र बहुसङ्ख्यक जनताले लाभ प्राप्त गर्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकताका साथ बजेट छुट्याइएको छ”, उहाँले भन्नुभयो ।

विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता फागुन मसान्तभित्रमा संसद्मा पेश गरिसक्ने व्यवस्था मिलाइने पनि बजेटमा उल्लेख छ । आगामी आवको बजेट कार्यान्वयन कार्ययोजना असार मसान्तभित्रमा तर्जुमा गरिसक्ने योजना सरकारको रहेको छ । कार्ययोजनाको नियमितरुपमा अनुगमन गरिने पनि बजेटमा जनाइएको छ ।

संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट, एक वर्षभित्रै सम्पन्न हुने

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् । 

भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गरेका छन् ।

त्यस्तै स्थानीय तहका पालिकाकाको भवन पनि लागत साझेदारीमा निर्माण गरिने उनले बताए । लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए ।

विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्रम

काठमाडौँ – सरकारले बालशिक्षालाई उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै आधारभूत शिक्षाअन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने बताउनुभयो ।

प्रारम्भिक बालविकास केन्द्रको नक्साङ्कन गरी पुनःवितरण गरिने उहाँले बताउनुभयो । बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिनेछ । बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने बजेटमा उल्लेख छ । अर्थमन्त्री डा महतले हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने, मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो ।

बजेटमा रुपन्देहीको कृषि उपज केन्द्र

रुपन्देही – बुटवलमा निर्माणको तयारी गरिएको कृषि उपज केन्द्रलाई सरकारले बजेटमा समावेश गरेको छ । बुटवल उपमहानगरको सेमलारमा रु दुई अर्बभन्दा बढी लगानीमा आधुनिक कृषि बजार निर्माण हुन लागेको हो ।

स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल उपमहानगर–१५ र १६ मा पर्ने सेमलार क्षेत्रमा कृषि बजार निर्माणको प्रक्रिया अघि बढाउन बजेट विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताउनुभयो ।

रुपन्देहीको सैनामैना र बुटवलको बीचमा एकीकृत थोक कृषि बजार निर्माण हुने भएकोे छ । बुटवलमा रहेको कृषि थोक बजार केन्द्र साँँघुरो भएपछि बुटवल–१६ र सैनामैना–१ को बीच भागमा पर्ने डहरगाउँ कर्साघाटमा ग्रिनपार्क बनाइने भएको हो । सङ्घीय सरकारले दुई नगरसँगको सहकार्यमा अत्याधुनिक एकीकृत कृषि बजार निर्माण लागेको हो ।

नदी उकास क्षेत्रको ४२ बिघा जमिनमा बन्ने केन्द्रमा कृषि उपज सङ्कलन, प्रशोधन, बिक्री वितरण र भण्डारणका लागि वातावरणीय जोखिम मूल्याङ्कन गर्ने काम भइरहेको बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।

नेपाल सरकारले नेदरल्यान्डस् सरकारलाई आधुनिक प्रविधियुक्त थोक कृषि बजार निर्माणका लागि अनुरोध गरेपछि सन् २०१९ डिसेम्बर १७ मा पहिलो र दोस्रो चरणको सम्भाव्यता अध्ययनका लागि अनुदान सम्झौता भएको थियो ।

सो बजारमा एक लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम राख्ने योजना छ । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर, खाद्य, तरकारी, फलफूलको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिने प्रस्ताव छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड बढ्यो

काठमाडौँ – सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु आठ अर्ब ७१ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो ।

चालु आवमा सञ्चारमा रु आठ अर्ब ५९ करोड बजेट विनियोजन गरिएको थियो ।

मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै पानी आउने गरी स्थायित्व दिइने

काठमाडौँ – सरकारले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाबाट १२ महिना नै पानी उपलब्ध गराउने गरी स्थायित्व दिइने बजेट वक्तव्यमा उल्लेख गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आव २०८०÷८१ को बजेट वक्तव्यमा सबैलाई गुणस्तरीय खानेपानी, एक घर, एक धाराको सेवा दिइने उल्लेख गरिएको छ । सरकारले आगामी आवमा खानेपानी र सरसफाइका लागि रु २८ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ ।

मेलम्चीको आयोजनाको दोस्रो चरणका रूपमा याङ्री र लार्के खोलाबाट पानी ल्याउन पनि आगामी आवदेखि नै काम सुरु गरिने भएको छ । तीनवटै नदीबाट १७÷१७ करोड लिटर गरी दैनिक ५१ करोड लिटर पानी राजधानी ल्याउन काम भइरहेको छ ।

राजधानीका खानेपानी समस्या समाधानका लागि मकवानपुरको सिस्नेरी र ललितपुरको महादेवखोलाबाट अस्थायीरूपमा खानेपानीको व्यवस्था गर्न पनि बजेट विनियोजन गरिएको छ । काठमाडौँको डाँछीलगायत खानेपानी आयोजनालाई सम्पन्न गर्न रु दुई अर्ब बजेट विनियोजन गरिएको छ ।

पानीको सतह, भूमिगत स्रोत संरक्षण, ढुङ्गेधारालगायत परम्परागत पानीका स्रोतको संरक्षण गर्ने कामलाई पनि सरकारले प्राथमिकतासाथ बजेट विनियोजन गरिएको छ । फोहर पानी व्यवस्थापनलाई पनि सरकारले निरन्तरता दिएको छ । धोबीघाट र गोकर्णमा निर्माण भइरहेको फोहर पानी प्रशोधन केन्द्र सम्पन्न गरी सञ्चालनमा ल्याइने भएको छ ।

आगामी आवमा एक सय स्थानीय तहको सरसफाइ गुरुयोजना बनाइने भएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायत निकायको क्षमता वृद्धिका लागि पनि सरकारले प्राथमिकतासाथ काम गर्ने भएको छ ।

‘क्षयरोग मुक्त नेपाल अभियान’का लागि एक अर्ब १५ करोड

काठमाडौँ – सरकारले ‘क्षयरोग मुक्त नेपाल अभियान’अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि रु एक अर्ब १५ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शय्यामा विस्तार गरिने बताउनुभयो ।

पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ बजेटमा उल्लेख छ । सरुवा रोग अस्पताल निर्माण एवम् विस्तारका लागि बजेटमा रु ४६ करोड विनियोजनसमेत गरिएको छ ।

पाँच जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

काठमाडौँ – सरकारले बूढानीलकण्ठ स्कुल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कुलको सञ्चालन मोडालिटी अवलम्बन गरी पाँच जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने बताउनुभयो ।

उहाँले शैक्षिक गुठीमार्फत नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्वतयारीका कार्य अगाडि बढाइने जानकारी दिनुभयो ।

शिक्षामा झण्डै एक अर्ब बजेट वृद्धि

काठमाडौँ –आगामी आर्थिक वर्ष २०८०/८१ का लागि शिक्षा क्षेत्रमा चालु आर्थिक वर्षको तुलनामा करिब एक अर्ब बजेट वृद्धि हुने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु एक खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा रु एक खर्ब ९६ अर्ब ३८ करोड विनियोजन भएको थियो ।

बजेटमा शिक्षालाई जीवनोपयोगी, आधुनिक, प्राविधिक र अनुसन्धानमुखी बनाइने, प्रारम्भिक बालविकासलाई पुनः व्यवस्थित गर्ने, विद्यालयमा बालबालिकालाई ल्याउने, सिकाउने र टिकाउने कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने, विद्यालय स्रोत केन्द्रलाई पुनःस्थापना गर्ने, स्वदेश र विदेशमा प्राप्त गरिएको सीप परीक्षण र प्रमाणीकरण गर्ने, लक्षित छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज थप गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।

यस्तै, १० लाख छात्राहरुलाई केन्द्रित गरी निःशुल्क सेनेटरी प्याड वितरण र दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइएको छ । रु आठ अर्ब ४५ करोडको बजेट विनियोजित दिवा खाजा कार्यक्रममा जङ्क फुड (पत्रु खाना) निधेष गरी रैथाने र स्थानीय कृषि उपजबाट उत्पादित खाजाका लागि प्रोत्साहन गरिने बजेटमा प्रस्ताव गरिएको छ । यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ । शैक्षिकसत्र सुरु हुनु अगावै निःशुल्क पाठ्यपुस्तक वितरणका लागि रु तीन अर्ब दुई करोड विनियोजन गरिएको छ ।

बजेटमा सङ्घीय शिक्षा ऐन ल्याइने उल्लेख छ भने त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रका लागि रकमको प्रबन्ध गरिएको छ । विश्वविद्यालय अनुदान आयोगको पुनः संरचना गर्दै शैक्षिक नतिजा, क्रियाकलाप र स्रोत परिचालन आदिका आधारमा विश्वविद्यालयमा अनुदान दिइने, राष्ट्रिय पुस्तकालयहरुलाई डिजिटलाइजेसन गर्ने र सामुदायिक पुस्तकालयलाई प्रोत्साहन गर्ने विषय पनि प्राथमिकतामा परेका छन् ।

अर्थमन्त्रीबाट प्रस्तुत बजेटमा आधारभूत तहका शिक्षकलाई माथिल्लो तहको रिक्त दरबन्दीमा समायोजन गर्ने, खुल्ला प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्तिका लागि स्थानीय तहलाई प्रोत्साहन र शिक्षकको कार्यसम्पादनस्तर वृद्धि गर्ने उल्लेख छ । यस्तै, मदन भण्डारी प्राविधिक विश्वविद्यालय र विदुषी योगमाया विश्वविद्यालय सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

बजेटमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ, गणित र कलाजस्ता विषयमा विद्यालय तहदेखि नै अनुसन्धान कार्य अघि बढाइने, गुरुकुल, मदरसा, गुम्बा अलगायतलाई औपचारिक शिक्षामा मूल प्रवाहीकरण गरिने, साङ्केतिक भाषा र ब्रेललिपिका पाठ्यक्रम तर्जुमा गरिने र शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षामा सबै विषयमा अध्ययन गरेकाले सहभागी हुन पाउने कानुनी आधार निर्माण गरिने उल्लेख गरिएको छ ।

कोटेश्वर, सातदोबाटो, एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण गरिने

काठमाडौँ – नेपाल सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा एक सय ५० वटा पुल निर्माण सम्पन्न गर्ने भएकोे छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त पुल निर्माणका लागि रु दुई अर्ब आठ करोड विनियोजन गरेको बताउनुभयो ।

त्यस्तै, सूर्यविनायक धुलिखेल सडकखण्डको विस्तार अघि बढाउन आवश्यक रकमसमेत सरकारले विनियोजन गरेको छ । काठमाडौँ चक्रपथको कलङ्की वसुन्धरा खण्डको सडक विस्तार तथा निर्माणलाई तीव्रता दिन रु दुई अर्ब सात करोड छुट्टयाइएको छ ।

सरकारले राष्ट्रिय राजमार्गमा आवश्यकता अनुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिने, ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने जनाएको छ । त्यस्तै कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण सुरुआत गरिनेसमेत बजेटमा छ ।

पूर्व-पश्चिम राजमार्ग बिस्तारलाई रु ३१ अर्ब

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने बताउनुभएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आवमा सम्पन्न गरिने उल्लेख गर्नुभयो ।

कमला-ढल्केवर-पथलैया, बुटवल-गोरुसिङ्गे, काँकडभिट्टा-लौकही, पथलैया-नारायणगढ र लमही-भालुवाङ सडकखण्डको स्तरोन्नति सुरू गरिने भएको छ ।

यसैगरी नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरू गरिने उहाँले बताउनुभयो । पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि रु ३१ अर्ब दुई करोड विनियोजन गरेको अर्थमन्त्री डा महतले जानकारी दिनुभयो ।

नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उहाँले बताउनुभयो । दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने बजेटमा उल्लेख छ ।

सामाजिक सुरक्षामा डेढ खर्बभन्दा बढी रकम विनियोजन, चालु आवभन्दा २३ अर्ब बढी

काठमाडौँ – सरकारले ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु एक खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट आज सङ्घीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गर्दै गत वर्षको भन्दा २३ अर्ब बढी रकम यो शीर्षकमा छुट्याएको बताउनुभयो ।

चालु आर्थिक वर्षदेखि ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक रु चार हजार भत्तालाई निरन्तरता दिइएको छ । यसैगरी, ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको छ ।

छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमालगायत क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको छ । चालु आवमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि रु एक खर्ब ३४ अर्ब एक करोड विनियोजन गरिएको थियो ।

उक्त रकम पनि अपुग भएपछि सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नु परेको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताउनुभयो ।

३० अर्बले घट्यो भौतिक पूर्वाधारको बजेट, खुद्रे आयोजना हटाइयो

काठमाडौं- सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्बले घटेको हो।

चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए।

नेपालको स्वास्थ्य सूचकमा उल्लेखनीय सुधार

काठमाडौँ – नेपालमा स्वास्थ्य सूचकमा उल्लेखनीय सुधार आएको छ । सरकारले यही आइतबार जारी गरेको आर्थिक सर्वेक्षण २०७९/८० मा स्वास्थ्य क्षेत्रमा बढ्दै गएको सार्वजनिक तथा निजी लगानी र स्वास्थ्यसम्बन्धी नागरिक चेतना वृद्धिसँगै विगत वर्षदेखि नै स्वास्थ्य सूचकमा उल्लेखनीय सुधार भएको जनाइएको छ ।

बालमृत्यु दर र मातृमृत्यु दर घट्दै गएको सर्वेक्षणमा उल्लेख गरिएको छ । नवजात शिशुमृत्यु दर प्रतिएक हजारमा २१ (जन्मेको २८ दिनभित्र) र शिशुमृत्यु दर प्रतिहजारमा २८ जना (जन्मेको एक वर्षभित्रमा) रहेका छन् । यस्तै, पाँच वर्ष मुनिको बालमृत्यु दर प्रतिएक हजारमा ३३ जना रहेका सर्वेक्षणमा उल्लेख गरिएको छ । यसैगरी, कम्तीमा चार पटक जाँच गराउने गर्भवती महिला ८० दशमलव ५ प्रतिशत रहेको छ ।

यसैगरी, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवतीको सङ्ख्या पनि बढ्दै गएको सर्वेक्षणमा उल्लेख गरिएको छ । दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवती ८० दशमलव १ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ । स्वास्थ्य संस्थामा प्रसूति गराउने महिला ७९ दशमलव ३ प्रतिशत र पूर्ण रुपमा खोप लगाउने बालबालिका ८० प्रतिशत रहेको सर्वेक्षणमा जनाइएको छ ।

यसैगरी, सर्वेक्षणमा पछिल्लो वर्ष नेपालको कूल प्रजनन दर घटेका कारण जनसङ्ख्या वृद्धिदरसमेत घट्दै गएको उल्लेख गरिएको छ । नेपालका जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालको कूल प्रजजन दर २ दशलव १ रहेको छ । हाल कूल प्रजनन दर जनसङ्ख्याको प्रतिस्थापन दरसँग बराबर रहेको सर्वेक्षणमा बताइएको छ ।

सर्वेक्षणमा आागामी वर्षमा कूल प्रजनन दर जनसङ्ख्याको प्रतिस्थापन दरभन्दा न्यून हुँदै जाने जोखिम रहेको छ । सहरी क्षेत्रमा कूल प्रजनन दर प्रतिस्थापन प्रजनन दरभन्दा कम (२.०) र ग्रागीण क्षेत्रमा बढी (२.४) रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

यसैगरी, सर्वेक्षणमा २०७९ असारसम्म १२ वर्ष वा सोभन्दा माथिका करिब ९६ प्रतिशतले कोरोना भाइरस विरुद्धको दोस्रो मात्रा खोप र ५ देखि ११ वर्षसम्मका उमेर समूहले ८३ प्रतिशतले बालबालिकाले दोस्रो मात्रा खोप लगाएको जनाइएको छ ।

यसैगरी, सर्वेक्षणमा नेपालमा एक हजार जनसङ्ख्या बराबर एक दशमलव १५ चिकित्सक र दुई दशमलव ५४ जना नर्स रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको प्रतिहजार जनसङख्या एकजना चिकित्सक हुनुपर्ने न्यूनतम मापदण्ड छ । यद्यपि, नेपालमा उत्पादित स्वास्थ्य क्षेत्रका जनशक्ति देशमै खपत नहुनु, उत्पादित जनशक्तिको समान वितरण हुन नसक्नु र सीप मिश्रित दक्ष जनशक्तिको उत्पादन न्यून हुनु स्वास्थ्य क्षेत्रको चुनौतीका रुपमा रहेको जनाइएको छ ।

दिवा खाजालाई आठ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने

काठमाडौँ – नेपाल सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा आठ अर्ब ४५ करोड विनियोजन गरिएको बताउनुभयो ।

स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने र उक्त कार्यक्रमबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बजेटमा उल्लेख छ ।

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

काठमाडौं – सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री महतले मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएका हुन ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले साे कुरा जनाएका हुन । औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

कार्यक्रम अन्तर्गत स्वदेशमा ‍नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने समेत बताएको छ । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने समेत बताएको छ ।

नवजात शिशुका लागि ‘मिल्क बैंक’ सञ्चालन गरिने

काठमाडौँ – सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने बताउनुभयो ।

उहाँले बिपी कोइराला क्यान्सर अस्पताल, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

काठमाडौँ – नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु एक खर्ब ९७ अर्ब बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु एक खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको बताउनुभयो ।

चालु आवमा शिक्षातर्फ सङ्घमा रु ७० अर्ब पाँच करोड बजेट विनियोजन गरिएको थियो । त्यस्तै प्रदेशमा रु पाँच अर्ब ३२ करोड र स्थानीय तहमा रु एक खर्ब २१ अर्ब एक करोड बजेट हस्तान्तरण गरिएको थियो ।

बजेटमा सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०÷८१ को बजेट तयार पारेको उल्लेख छ ।

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने

काठमाडौँ – सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै, सामाजिक सुरक्षा कोषलाई दिगो र प्रतिफलमुखी बनाउन कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाइने बताउनुभयो ।

उहाँले कोषको रकम कामदारको स्वास्थ्य उपचार, सन्ततिको शिक्षा तथा परिवारको बीमा, व्यवसाय सञ्चालन र व्यावसायिक सीपसम्बन्धी तालिम सञ्चालनमा उपयोग गरिने बताउनुभयो ।

वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत

काठमाडौँ – सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै सो जनाउनुभएको छ ।

गौतम बुद्ध र पोखरा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने व्यवस्था मिलाई यी विमानस्थलमा उडान भर्ने अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिइने बजेटमा उल्लेख गरिएको छ ।

पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान चलाइने’

काठमाडौँ – नेपाल सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसार गरिने बताउनुभयो ।

बजेटमा ‘अतिथि देवो भव’ भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिने र सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पु¥याइने उल्लेख छ ।

त्यस्तै, मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने जनाएको छ भने पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिनेसमेत बजेटमा उल्लेख छ ।

बजेटमा सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने, हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने जनाएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनाैँ, भन्ने नारासहित अभियान सञ्चालन गरिनेसमेत बजेटमा उल्लेख छ ।

स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र अन्तर प्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहित गरिने बजेटमा छ ।

हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

काठमाडौँ – नेपाल सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताउनुभयो । उहाँले नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेकोसमेत बताउनुभयो ।

श्रम तथा रोजगार क्षेत्रको बजेट कटौती

काठमाडौँ – सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि रु आठ अर्ब आठ करोड बजेट विनयोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा रु नौ अर्ब १३ करोड बजेट विनियोजन गरिएको थियो । आगामी आवका लागि बजेट घटाइएको छ ।

वातावरणलाई असर नपर्ने गरी ढुङ्गा र गिट्टी निर्यात गरिने

काठमाडौँ – सरकारले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुङ्गा र गिट्टी निकासी गर्न आधार तयार पार्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै ढुङ्गा र गिट्टी निर्यातको आधार तयार पार्ने उल्लेख गर्नुभयो । ढुङ्गा गिट्टी निर्यातको कुरा बहसमा आए पनि कार्यान्वयन हुन नसक्दा नेपालले विदेशी मुद्रा भित्र्याउने अवसरको प्रयोग गर्न सकेको छैन ।

इ–कमर्सबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानून व्यवस्था गरिने

काठमाडौँ – सरकारले इ–कमर्सको माध्यमबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानून व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै इ–कमर्सको माध्यमबाट हुने नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानून व्यवस्था गरिने र विद्युतीय हाटबजारमार्फत लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको बजारीकरण गरिने बताउनुभयो ।

सहकारीको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरिने

काठमाडौँ – सरकारले बचत तथा ऋण सहकारी संस्थाको कार्य क्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन तथा सुपरीवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टीकृत नियामकीय निकाय स्थापना गरी सञ्चालनमा ल्याइने बताउनुभयो ।

यसबाट सहकारी क्षेत्रमा पारदर्शिता र सुशासन कायम हुने सरकारको विश्वास छ । अर्थमन्त्री महतले सहकारी क्षेत्रको बचतलाई उद्यम विकास तथा रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने बताउनुभयो । घरेलु तथा साना उद्योग सञ्चालन गर्ने सहकारी संस्थालाई उत्पादन, भण्डारण र बजारीकरणमा सहयोग उपलब्ध गराइनेछ ।

सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि रु सात अर्ब २४ करोड विनियोजन गरेको छ ।

सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने

काठमाडौँ – सरकारले सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै दुर्गम तथा ग्रामीण क्षेत्रलगायत मुलुकभर अत्यावश्यक वस्तुको सहज र निर्वाध आपूर्ति सुनिश्चित गर्न उत्पादन, भण्डारण र वितरण प्रणालीमा सुधार गरिने बताउनुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायातलगायत आधारभूत सेवाको गुणस्तरीयता सुनिश्चित गरिनेसमेत बताउनुभयो । उपभोक्ताको हित संरक्षण गर्न सम्बन्धित निकायलाई सशक्त बनाई बजार अनुगमन तथा नियमनलाई सुदृढ गरिने बजेटमा उल्लेख गरिएको छ ।

देशभर उपलब्ध अत्यावश्यक खाद्य पदार्थ उत्पादन, मौज्दात तथा आपूर्तिको अद्यावधिक सूचना प्राप्त हुने प्रणाली विकास गरिने बजेटमा उल्लेख छ । सहुलियत मूल्यमा खाद्य वस्तु बिक्री वितरण गर्ने पसल सञ्चालन गर्न सहकारी संस्थालाई प्रोत्साहित गरिने नीति सरकारले लिएको छ ।

उत्पादन र रोजगार समृद्धिको आधार

काठमाडौँ – नेपाल सरकारले ‘उत्पादन र रोजगार : समृद्धिको आधार’को नारालाई आत्मसात् गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवं मानव संसाधन विकास गर्ने उल्लेख गर्नुभयो । उहाँले असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन, उत्पादकत्व वृद्धि गरिने र उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पूँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

महानगर र उपमहानगरमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गरिने

काठमाडौँ – सरकारले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै यसका लागि ‘भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली’ कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

वातावरणीय प्रभाव मूल्याङ्कन कार्य छरितो बनाइने

काठमाडौँ – सरकारले विस्तृत परियोजना प्रतिवेदन, वातावरण प्रभाव मूल्याङ्कन जग्गा प्राप्तिलगायत कुरा सम्पन्न भई ‘साइट क्लियरेन्स’ भएका तथा खरिद योजना मात्रै सम्झौता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै वातावरणीय प्रभाव मूल्याङ्कन गर्न वन क्षेत्रमा प्रवेश गर्दा कटान हुने रुखको सङ्ख्या तथा जात अनुमानित वनको क्षेत्रफल एकीन गर्नेलगायत कार्य एकै पटक सम्पन्न गर्ने गरी व्यवस्था मिलाइने बताउनुभयो ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि रीतपूर्वक पेश भएका आयोजना एक महिनाभित्रै वातावरण मन्त्रालयले निर्णय दिनुपर्ने व्यवस्था गरिने छ । अर्थमन्त्री महतले वातावरणीय प्रभाव मूल्याङ्कनमा १० प्रतिशत फरक परेमा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन नगरिने व्यवस्था कार्यान्वयन गर्ने बताउनुभयो ।

केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?

काठमाडौँ – आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ रु एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब छुट्याइएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु ८७ अर्ब ३५ करोड गरी जम्मा रु एक खर्ब ४६ अर्ब दुई करोड वित्तीय हस्तान्तरण गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले बताउनुभयो ।

आगामी आर्थिक वर्ष २०८०/८१ मा ससर्त अनुदानतर्फ प्रदेशलाई रु ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई रु एक खर्ब ९१ अर्ब ८९ करोड गरी जम्मा रु दुई खर्ब २७ अर्ब ६१ करोड विनियोजन भएको छ ।

त्यसैगरी, समपूरक अनुदानतर्फ प्रदेशलाई रु ६ अर्ब २२ करोड र स्थानीय तहलाई रु सात अर्ब पाँच करोड गरी जम्मा रु १३ अर्ब २७ करोड विनियोजन गरिएको छ । विशेष अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः रु चार अर्ब ४६ करोड र रु आठ अर्ब ७३ करोड विनियोजन गरिएको छ ।

राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा जम्मा रु एक खर्ब ७३ अर्ब ९२ करोड रकम हस्तान्तरण हुने अर्थमन्त्री डा महतले बताउनुभयो । ससर्त, समपूरक र विशेष अनुदान कार्य प्रगतिका आधारमा मात्रै हस्तान्तरण हुने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

वन र वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट

काठमाडौँ – सरकारले वन तथा वातावरण क्षेत्रमा रु १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै वन, जैविक विविधता र जलाधार व्यवस्थापनमार्फत वातावरणीय सन्तुलन कायम गरिने बताउनुभयो ।

वन सम्पदाको दिगो उपयोग र वनजन्य उद्यम विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाइने उहाँले बताउनभुयो । संरक्षित क्षेत्र र सामुदायिक वनलाई पर्यापर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उल्लेख छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत सङ्घ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षणको गुरुयोजना कार्यान्वयन गरिने अर्थमन्त्री महतले बताउनुभयो । यसअन्तर्गत जल र जमिन संरक्षण गर्न बाँस रोपण, रिचार्ज पोखरी, गल्छी, पहिरो नियन्त्रणलगायत कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने

काठमाडौँ – नेपाल सरकारले विदेशी लगानीकर्ताहरूको समेत सहभागितामा पूर्वाधार फन्ड स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापनाका लागि कानूनी व्यवस्था गरिने बताउनुभयो ।

उहाँले पूर्वाधार आयोजनामा निजी पूँजी परिचालन गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापनासम्बन्धी कानूनी व्यवस्था गरिएको बताउनुभयो ।

राष्ट्रिय महत्त्वका आयोजनामा ‘भाएबिलिटी ग्याप फन्डिङ’ को व्यवस्था गरी निजी क्षेत्रलाई आकर्षित गरिनेछ । त्यस्तै राष्ट्रिय महत्त्वका ठूला पूर्वाधार आयोजनामा सार्वजनिक निजी साझेदारीअन्तर्गत ‘हाइब्रिड एन्युटी’ मोडलबाट निर्माण गर्न सक्ने गरी कानूनी व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा

काठमाडौँ – सरकारले कृषकका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन उक्त कार्यक्रम ल्याइएको बताउनुभयो ।

‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने उहाँले बताउनुभयो । बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदानबाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने बजेटमा उल्लेख छ ।

यसबमोजिम अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन मसान्तभित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । यसबाट कृषिमा प्रदान गरिँदै आएको अनुदान सदुपयोग नभएको भन्ने आम गुनासो सम्बोधन हुने र वास्तविक किसान लाभान्वित भई कृषि उत्पादन बढाउन सघाउ पुग्ने सरकारको अपेक्षा छ । प्रदेश तथा स्थानीय तहले समेत उत्पादनमा आधारित कृषि अनुदान प्रणाली अवलम्बन गर्नसक्ने अर्थमन्त्री डा महतले बताउनुभयो ।

साथै सबै सरकारी सेवा, नियामक निकाय र सार्वजनिक संस्थानमा आगामी आर्थिक वर्ष नयाँ संरचना र दरबन्दी सिर्जना नगरिने भएको छ । सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरावलोकन गरी छरितो बनाइनेछ । सम्बन्धित मन्त्रालय र निकायले आगामी आर्थिक वर्षको मङ्सिर महिनाभित्र सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण सम्पन्न गर्नुपर्ने भएको छ ।

सरकारका नियमित संरचनाबाट सम्पादन हुने कामका लागि अलग्गै संरचना वा निकाय सिर्जना गर्न र परामर्श सेवा लिन तथा स्वीकृत दरबन्दीभन्दा बढी सङ्ख्यामा सेवा करार लिन नपाइने व्यवस्था गरेको अर्थमन्त्रीले जानकारी दिनुभयो ।

पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने

काठमाडौँ – नेपाल सरकारले पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्ष विभिन्न रोगका करिब छ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको बताउनुभयो ।

पूर्वाधार आयोजना चाँडो सक्ने गरी बजेट विनियोजन, २० वटा संस्था खारेज

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत चाँडो सम्पन्न हुने विकास आयोजनालाई प्राथमिकतामा राखेको छ ।

सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको बताउनुभयो । सम्पन्न हुने खालका आयोजनामा आवश्यकताअनुसार बजेट विनियोजन गरिएको र सुरू नै हुन नसक्ने खालका आयोजनामा बजेट कटौती गरिएको उहाँले बताउनभुयो ।

विगतमा टुक्रे आयोजना, स्रोत सुनिश्चितता नभएका बहुवर्षीय आयोजना र सम्भाव्यता अध्ययन नै भएका आयोजनामा ठूलो बजेट राख्ने गरिएकोमा यस वर्षको बजेटमा यस्ता कार्यक्रम नराखिएको उहाँले बताउनुभयो ।

“सरकारले ठूलो सङ्ख्यामा आयोजना र कार्यक्रम समावेश गरी स्रोत साधन छर्ने प्रवृत्तिमा सुधार गर्न क्षेत्रगत प्राथमिकताभित्र पनि ठूला तथा रणनीतिक महत्त्वका, छिटो प्रतिफल दिने र बहुसङ्ख्यक जनताले लाभ प्राप्त गर्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकताका साथ बजेट छुट्याइएको छ”, उहाँले भन्नुभयो ।

पूर्वाधार आयोजनाको सबै विवरण एकै ठाउँमा ल्याउन एकीकृत सूचना प्रणाली विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ । निर्माण व्यवसायलाई सक्षम, पारदर्शी र व्यवस्थित बनाउन एकीकृत सूचना प्रणाली विकास गर्ने विषय बजेटमा राखिएको हो । अर्थमन्त्री डा महतले आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै निर्माण व्यवसायीले मुलुकभर लिएको ठेक्का सम्झौताको विवरण र कार्य प्रगतिको आवधिक विवरण एकीकृतरूपमा प्राप्त हुने गरी सूचना प्रणाली विकास गरिने बताउनुभयो ।

यस प्रणालीको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का सम्झौताको प्रगति अनुगमन गर्नेछ । अनुगमनबाट गम्भीर प्रकृतिका लापर्बाही देखिएमा सम्बन्धित आयोजनाले पेश गरेको प्रतिवेदनसमेतका आधारमा निर्माण व्यवसायीको इजाजतपत्र रद्दसम्मका कारबाही गर्न सकिने गरी कानूनी व्यवस्था गरिने उहाँको भनाइ छ ।

त्यस्तै, सरकारले २० वटा सरकारी संस्थालाई खारेज गर्ने र उस्तै प्रकृतिका संस्थालाई एकापसमा गाभ्ने भएको छ ।

२५ लाखसम्मका सहायक राजमार्गको काम प्रदेशबाटै

काठमाडौँ – नेपाल सरकारले रु २५ लाखसम्म रकम विनियोजन प्रस्ताव भएका वैकल्पिक सहायक राजमार्गतर्फका कार्यक्रम सम्बन्धित प्रदेशबाट कार्यान्वयन गर्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै सघन सहरी विकास तथा बस्ती विकासतर्फका कार्यक्रम सम्बन्धित स्थानीय तहबाट कार्यान्वयन हुने गरी सशर्त अनुदान हस्तान्तरण गरेको बताउनुभयो ।

साथै, सरकारले मुलुकको आर्थिक रूपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने भएको छ ।

डिजिटल अर्थतन्त्रका लागि सञ्चार पूर्वाधारको विकास, डिजिटल बैंकको स्थापना, सूचना प्रविधि उद्योगको प्रवर्द्धन तथा आर्थिक क्रियाकलापमा इन्टरनेट, मोबाइल एप्लिकेशन र अन्य नेटवर्कको प्रयोगलाई बढावा दिने बताउनुभयो ।

यसबाट आर्थिक कारोवारको लागत घट्ने, समय बचत हुने, कार्यकुशलता वृद्धि हुने तथा पारदर्शिता र सुशासन प्रवर्द्धन भई प्रतिस्पर्धी क्षमताको विकास हुने अपेक्षा सरकारले गरेको समेत बजेटमा छ ।

उखु उत्पादन प्रवर्द्धन गर्न ८० करोड विनियोजन

काठमाडौं – सरकारले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ । 

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको जानकारी दिए । 
 

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा गाँजा खेतीको सम्भाव्यताको अध्ययन गर्ने भएको छ । 

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यताको अध्ययन गरिने जानकारी दिएका हुन् ।