`

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो

काठमाडौँ – आज १६औँ अन्तरर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा दिवस मनाइएको हो । दिवससँगै सगरमाथामा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ पनि मनाइएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ ।

सोह्रौँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रममा सगरमाथा आरोहीलाई सम्मान गरिएको थियो । नेपाल पर्वतारोहण सङ्घको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटनसँग आबद्ध संस्थाहरुको समन्वयमा भएको कार्यक्रममा आरोहिलाई सम्मान गरिएको हो ।

सो अवसरमा एकसय सगरमाथा आरोहीलाई सगरमाथाको विशेष लोगो ‘सगरमाथा स्पेसल ब्याच’ प्रदान गरिएको थियो । कूल २८ पटक सगरमाथाको सफल आरोहण गरे विश्वकीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, विश्वका १४ वटा अग्ला हिमाल दुई पटक आरोहण गर्ने कीर्तिमानी आरोही सानु शेर्पालगायत अन्य स्वदेशी तथा विदेशी आरोहीलाई लोगो प्रदान गरिएको हो ।

त्यसैगरी, कीर्तिमानी आरोही सानु शेर्पा, सगरमाथा नेशनल अवार्ड तथा सगरमाथाको २७ पटक आरोहण गर्ने पासाङ दावा शेर्पा, किशोर अधिकारी र पासाङ शेर्पालाई तेन्जिङ हिलारी अवार्ड प्रदान गरिएको थियो । पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले आरोहीलाई अवार्ड वितरण गर्नुभएको थियो ।

सोही अवसरमा पर्यटन राज्यमन्त्री ठकुरीले ‘नेपाल पर्वत’ नामक स्मारिका विमोचन गर्नुभएको थियो । कार्यक्रममा वसन्त ऋतुमा सगरमाथा आरोहणमा ‘रोप फिक्सिङ टिम’ डोरी टाग्ने समूह र उत्कृष्ट कम्पनीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

सो अवसरमा पर्यटन राज्यमन्त्री ठकुरीले सगरमाथा आरोहीलाई आरोहण ब्याच वितरण गरेर आरोहीप्रति सम्मान प्रकट भएको बताउनुभयो । उहाँले पर्यटन उद्योगमा हिमालको महत्वपूर्ण भूमिका रहेको भन्दै हिमाल आरोहणलाई अझै व्यवस्थित र सुरक्षित बनाउनका लागि सगरमाथा बेस क्याम्पमा आधारभूत सुविधाको व्यवस्थापन, सडक, सञ्चार एवम् आपत्कालीन स्वास्थ्य उपचार लगायतका आधारभूत सुविधाहरु व्यवस्थित गरिनुपर्नेमा जोड दिनुभयो ।

पर्यटन विभागको तथ्याङ्कअनुसार अहिलेसम्म सात हजार आठ सय ५० भन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका छन् । विश्वका १४ अग्ला हिमालमध्ये विश्वको सर्वोच्च हिमाल सगरमाथासहित आठवटा हिमाल नेपालमा रहेका छन् ।

पर्यटन राज्यमन्त्री ठकुरीले स्वदेशी र विदेशी पर्वतारोहीहरुको मागलाई ध्यानमा क्रमशः नयाँ हिमाल आरोहणका लागि खोल्दै गएको र यस वर्ष सिन्धुपाल्चोकको जुगल हिम शृङ्खला अन्तर्गतका पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको जानकारी दिनुभयो ।

अर्थतन्त्रलाई टेवा दिन र पर्वतारोहण व्यवसायलाई व्यवस्थित पार्नसमेत मन्त्रालय लागेको उहाँको भनाइ छ । पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले आठ हजार मिटर अग्लो हिमालका आरोहीको प्रोत्साहनका लागि सरकारले विशेष सम्मान कार्यक्रम आयोजना गर्ने जानकारी दिनुभयो ।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मुलुकको पर्वतारोहणलाई व्यवस्थित रुपमा सञ्चालनका लागि सबै संयन्त्रलाई सक्रिय रुपमा परिचालन गरिएको बताउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतीय पर्यटन प्रवद्र्धन र दक्ष जनशक्ति उत्पादनमा संस्थाले भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोला, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालको दिगो पर्वतीय पर्यटन विकास र प्रवर्द्धनमा जोड दिनुभयो ।

सरकारले लगानी सम्मेलन गर्ने

काठमाडौं– सरकारले २०८० सालमा लगानी सम्मेलन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले २०८० मा लगानी सम्मेलन गरिने जानकारी दिए ।

उनले विदेशी लगानीका लागि लगानी पूर्वाधार तय गरिनेसमेत प्रस्ट पारेका छन्। स्थानीय मुद्रामा आधारित हरित फन्ड र ऊर्जा फन्डबाट पुँजी जुटाइने उनको भनाइ छ।
 
यस्तै द्रूत मार्ग, सुरुङमार्ग, जलाशय र जलविद्युत लगायतमा वैदेशिक लगानी खोजिने महतले बताए।

संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने

काठमाडौँ – नेपाल सरकारले अर्थतन्त्रको संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाउने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै सङ्घ व्यवसायको लागत घटाई अर्थतन्त्रमा प्रतिस्पर्धात्मक क्षमताको विकास, कार्यकुशलता अभिवृद्धि, संस्थागत सुदृढीकरण, स्वदेशी र विदेशी लगानीमा वृद्धि, हरित अर्थतन्त्रको विकास, सूचना प्रविधि तथा नवप्रवर्तन, चौथो पुस्ताको औद्योगिकीकरण तथा डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा केन्द्रित बजेट ल्याएको बताउनुभयो ।

उहाँले निजी क्षेत्रलाई आर्थिक विकासको संवाहक बनाउनेतर्फ सुधार निर्देशित हुने उल्लेख गर्दै व्यवसायमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रको मनोबल बढाइने तथा स्वदेशी एवं विदेशी पूँजी र प्रविधि आकर्षित गरिने बताउनुभयो ।

लगानी विस्तार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न क्षेत्रगत रूपमा नीतिगत र प्रक्रियागत सुधारको प्रस्ताव गरेको अर्थमन्त्री महतले बताउनुभयो ।

रसायनिक मलका लागि ३० अर्ब अनुदान : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री प्रकाशशरण महतले रसायनिक मलका लागि ३० अर्ब बिनियोजन गरेका छन
 आर्थिक बर्ष २०८० ८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सो जानकारी दिएका हुन । उनले स्वदेशमा नै रसायनिक मल कारखाना खोल्नका लागि पहल गर्ने पनि जनाएका छन् ।

मार्सिलगायतका चामलहरुको ब्रान्डिङ गरिने पनि उनले जनाएका छन् । 

दोस्रोपटक बजेटको आकार घटाइयो, यसवर्ष पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०७९/८० को बजेट खर्चको लक्ष्य घटाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत पनि बजेट खर्चको अनुमान संशोधन गरेको थियो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशण महतले चालु आर्थिक वर्षमा रु १५ खर्ब चार अर्ब ९९ करोड अर्थात् सुरुआती विनियोजनको ८३ दशमलव ९० प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक गर्नुभएको हो ।

कूल सरकारी खर्चमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ४९ करोड अर्थात् विनियोजनको ८८ दशमलव १८ प्रतिशत र पूँजीगत खर्च रु दुई खर्ब ५८ अर्ब ३४ करोड अर्थात् विनियोजनको ६७ दशमलव ९१ र वित्तीय व्यवस्था तर्फ दुई खर्ब तीन अर्ब २६ करोड अर्थात् विनियोजनको ८८ दशमव २९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब ४४ करोड बराबर हुने संशोधित अनुमान छ । यो वार्षिक लक्ष्यको ८४ प्रतिशत हो भने गत वर्षको तुलनामा पाँच प्रतिशतले न्यून हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेकामा दुई दशमलव १६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल हुने अनुमान छ ।

लक्ष्यअनुसार आएन वैदेशिक सहायता

काठमाडौँ – चालु आर्थिक वर्षका लागि सरकारले राखेको वैदेशिक सहायता प्राप्ति निकै न्यून देखिएपछि सरकारले यसको लक्ष्य घटाएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा सरकारले पाउने वैदेशिक सहायताको लक्ष्य संशोधन गरिएको बताउनुभयो ।

“सरकारले आगामी आवका लागि वैदेशिक सहायतातर्फ रु ३८ अर्ब ४६ करोड अनुदान र ऋण रू १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संशोधित अनुमान राखेको छ ”, अर्थमन्त्री डा महतले भन्नुभयो ।

आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वैदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको अर्थमन्त्री उहाँले बताउनुभयो । चालु आवमा वैदेशिक सहायतातर्फ रू ५५ अर्ब ४६ करोड अनुदान र रू २ खर्ब ५६ अर्ब ऋण उठाउने अनुमान गरिएको थियो ।

दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत सुधारको नारासहित बजेट ल्याइएको अर्थमन्त्री महतले बताउनुभयो ।

अब प्रदेशलाई पौने ३६ अर्ब, स्थानीय तहलाई २ खर्ब विनियोजन

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरिरहेको छ ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सशर्त वित्तीय हस्तान्तरणमा प्रदेश र स्थानीय तहलाई २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरेको जानकारी दिए । 

जसमध्ये प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब र ८९ करोड विनियोजन गरेको अर्थमन्त्री महतले जानकारी दिए ।

युवालाई स्वदेशमै रोक्ने बजेट ल्याएको छु : अर्थमन्त्री

काठमाडौ– अर्थमन्त्री प्रकाशशरण महतले हरित अर्थतन्त्र विकास गर्ने र युवालाई मुलुकभित्र व्यवसाय गर्न उत्प्रेरणाा गर्ने उन्मुख बजेट ल्याइएको बताएका छन्।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले उक्तकुरा बताए।

उनले बजेट निर्माण गर्दा समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्ने कुरा ध्यान दिइएको प्रस्ट पारे। जनअपेक्षा सम्बोधन गर्ने र अर्थतन्त्रमा देखा परेको समस्या समाधान गर्ने बजेट आफूले बनाएको उनको भनाइ छ।

आगामी आवको बजेटमा सबै खालका प्रोत्साहन भत्ता खारेज

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सबै खालका प्रोत्साहन भत्ता खारेज गरेको छ ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महत आगामी बजेटमार्फत सबै खालका भत्ता खारेज गरिएको बताए ।

यस्तै सवारी साधन खरिदमा पनि निरुत्साहित गरिने, सरकारी कर्मचारीलाई सवारी साधनको सट्टा एकमुष्ट रुपमा नगदै प्रदान गरिने व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

साथै सबै सार्वजनिक संस्थानमा नयाँ संरचना र दरबन्दी प्रस्तावना नगरिने पनि बताइएको छ ।

सोमबार संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अनावश्यक खर्च घटाउने बताए ।

साधरण खर्चमा मात्रै कुल बजेटको ७३.१० प्रतिशत खर्च: अर्थमन्त्री महत

काठमाडौं – अर्थमन्त्री प्रकाशशरण महतले साधारण खर्च अत्याधिक हुन जाँदा बिकास निमार्ण कार्यलाई अघि बढन नसकेको जनाएका छन् ।

आ.ब २०८०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले ऋण तिर्न, सामाजिक सुरक्षा खर्च, प्रशासनिकजस्ता साधारण खर्चमा मात्रै राज्यको बजेट जानु पर्दा विकास निमार्णको प्रक्रिया अघि बढाउन गार्‍हो भएको जनाएका हुन ।

‘ऋण तिर्न, सामाजिक सुरक्षा खर्च, प्रशासनिकजस्ता साधारण खर्च जस्ता शिर्षकमा मात्रै १२ खर्ब ८० २५ करोड खर्च गर्नु परेको छ, यो भनेको कुल बजेटको ७३.१० हो, यसले विकास निमार्णको काम ठप्पै पारेको अवस्था छ,’ उनले भने, ‘गत आर्थिक बर्षमा लक्ष्य अनुसारको राजश्व पनि उठन सकेको अवस्था छैन ।’

९ महीनाभित्र ठेक्का सम्झौता नभएमा सहमति स्वतः रद्द हुने

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय गौरवका आयोजनाबाहेकका योजनाको हकमा स्रोत सहमतिको अवधि बढीमा ३ वर्षको रहने बताउनु भएको छ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री महतले ९ महिनाभित्र ठेक्का सम्झौता नभएमा सहमति स्वतः रद्द हुने व्यवस्था गर्ने जनाउनु भयो ।

उहाँले यसअघि सहमति दिएकामध्ये ९ महिना पूरा भई हालसम्म बोलपत्र आह्वान नभएका आयोजनाको स्रोत सहमति खारेज गरिने पनि बताउनु भयो ।

आयोजना कार्यान्वयनका लागि कार्तिकभित्र ठेक्का व्यवस्थापन गरिसक्नुपर्ने तथा सो अवधिभित्र ठेक्का प्रक्रिया अघि नबढेको कार्यक्रममा विनियोजित रकम रोक्का गरिने अर्थमन्त्री महतले बताउनु भयो ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुनमै संसदमा छलफल हुने

काठमाडौं – विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुनमै छलफल हुने भएको छ । 

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संघीय संसदमा फागुन महिनामा छलफल गर्ने व्यवस्था गरेको जानकारी दिएका हुन् । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले समृद्धि, शुसासन आर्थिक वृद्धितर्फ आगामी बजेट लक्षित भएकोे बताएका छन् । जन अपेक्षालाई संम्बोधन गर्ने प्रयास गरेको महतले बताए । अर्थमन्त्री डा. महतले अर्थतन्त्र लयमा फर्काउन दृढ संकल्प गरिएको उल्लेख गरे ।

फराकिलो र दिगो आर्थिक बृद्धि हासिल गर्ने, कृषि उर्जाको विकास, पूर्वाधार निर्माण, रोजगारी सृजना लगायतलाई बजेटले जोड दिएको छ ।

सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित रहेको छ : अर्थमन्त्री महत

काठमाडौं- अर्थमन्त्री डा प्रकाश शरण महतले आगामी आर्थिक वर्ष फराकिलो आर्थिक वृद्धिसहितको सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित रहेको बताएका छन्। 

आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएका समस्या एवम् चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशील बनाइने बताए।

निजी क्षेत्रको मनोबल उच्च पार्ने र उच्च दिगो र फराकिलो आर्थिक वृद्धिसहतिको सबल अर्थतन्त्र निर्माण गर्ने तर्फ आगामी बजेट निर्देशित गरको उनले प्रस्ट पारे।

आगामी वर्षको आर्थिक वृद्धि २.१६ मात्रै हुने आकलन

काठमाडौं– सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ मात्रै हुने आकलन गरेको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष आर्थिक वृद्धिदर २.१६ बताएका हुन् ।

विश्व अर्थतन्त्रमा आएको शिथिलता र आन्तरिक कारणले न्यून रुपमा आर्थिक वृद्धि हुने आंकलन गरिएको उनले बताए।

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्‍बाट पारित, आजै संसद्‍मा प्रस्तुत गरिने

काठमाडौं – मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट स्वीकृत गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको सोमबार दिउँसो बसेको बैठकले बजेट स्वीकृत गरेको हो।

बजेटमा आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक हुन्छन्। ती चारवटै विधेयक संसदमा प्रस्तुत गरिँदैछ। यी चार विधेयकको समरीका रुपमा अर्थमन्त्री  डा. प्रकाशशरण महतले संसदमा वाचन गर्दै हुनुहुन्छ।

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत

काठमाडौं – मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डको भारत भ्रमणलाई स्वीकृत गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको १७ जेठदेखि ६ दिन हुने भारत भ्रमणलाई स्वीकृति दिएको सरकारकी प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा पाँच मन्त्री सहभागी हुने पनि उनले बताइन् । प्रवक्ता शर्माका अनुसार टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसहित पाँचजना मन्त्री सहभागी हुनेछन् । 
 

रास्वपाकी बिन्दबासिनी कंसाकारले लिइन् सांसद पदको शपथ

काठमाडौं – रास्वपाकी बिन्दबासिनी कंसाकारले प्रतिनिधिसभा  सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । 

सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख देवराज घिमिरेसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सभामुख घिमिरेले शपथ ग्रहणपछि उनलाई संघीय संसदको लोगो प्रदान गरेका थिए । 

व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न आफूलाई दुई करोड रुपैयाँ चाहिएको भन्दै मागेको फोन संवादको अडियो सार्वजनिक भएपछि ढाकाकुमार श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यबाट हटाएर रास्वपाले कंसाकारलाई सांसद बनाएको हो । 

गणतन्त्रको विकल्प सदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – देशभर आज १६ औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सरकारले यसपटक परम्पराभन्दा बाहिर निस्केर जनताको सहभागितामा गणतन्त्र दिवस मनाउने निर्णय गर्‍यो । नेपाली जनताले खास अर्थमा अधिकार पाएको दिनका रुपमा आजको दिनलाई स्मरण गरिन्छ । गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत अधिकार स्थापित गर्न दशवर्षे जनयुद्धको नेतृत्व गर्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला मुलुकको कार्यकारी प्रमुखको रुपमा हुनुहुन्छ । नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने र आमूल परिवर्तनको नेतृत्व समेत गर्नुभएका प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठक र समाचारदाता रमेश लम्सालले गरेको अन्तरवार्ताको सम्पादित अंशः

प्रधानमन्त्री ज्यू , आज हामी १६ औँ गणतन्त्र दिवस मनाइरहेका छौँ । यस दिवसका सन्दर्भमा केही मानिसले यसका बिकल्पमा अनेकन विषय उठाइरहेका छन् । तपाईं आफैँ गणतन्त्र स्थापनाका लागि भएको सङ्घर्ष र आन्दोलन तथा जनयुद्धको नेतृत्व समेत गर्नुभएको व्यक्तित्वका हिसाबले तपाईंको सन्देश के छ ?

गणतन्त्र दिवसका अवसरमा आमनेपाली दाजुभाई तथा दिदीबहिनीप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । हिजो गणतन्त्र विरोधी एकात्मक एकीकृत सामन्ती राज्यका पक्षधरले त्यसखालको केही प्रयास गरेका छन् । उनीहरुले वातावरण बनाउन खोजेका मात्रै हुन् । यो नागरिक तहबाट उठेको प्रश्न होइन भनेर म प्रष्ट पार्न चाहन्छु । राजनीतिक नेतृत्व मुख्यतः राजनीतिक परिवर्तनका बाहक शक्ति, नेता, दलले केही समीक्षा गर्नुपर्ने पक्कै पनि छ । जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट जेजस्तो परिवर्तनको अपेक्षा गरेका थिए, त्यो रुपमा पूरा हुन सकिरहेको छैन । त्यसकारण पनि इतिहासमा पछि परिसकेका, पराजित भइसकेका र इतिहासले मिल्काइसकेका तत्व पनि एकपटक सल्बलाउनुको कारण राजनीतिक नेतृत्वले जनअपेक्षा अनुरुप काम गर्न नसकेको कमी कमजोरीको कारण हो । त्यसकारण गणतन्त्र दिवसका अवसरमा सबै राजनीतिक दल तथा नागरिक समाजलाई यो परिवर्तनका बहाकलाई गम्भीर आत्मसमीक्षासहित जनतालाई सुशासन, न्याय र समृद्धि दिने काममा केन्द्रित हुनुपर्छ । मैले आज बिहान पनि गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमको सम्बोधनमा पनि भने पनि लोकतन्त्रको विकल्प अझ राम्रो सुदृढ लोकतन्त्र मात्रै हुनसक्छ । गणतन्त्रको बिकल्प अझ राम्रो र सदृढ गणतन्त्र हुनसक्छ । यो विश्व इतिहासले पटकपटक प्रमाणित गरेको तथ्य हो । त्यसकारण कतिपयले प्रश्न उठाउने गरेको भए पनि इतिहासको चक्का भने पछाडि फर्कँदैन । यो अगाडि नै जान्छ । लोकतन्त्रबाट नै सुशासन र समृद्धि दिन सकिन्छ भन्ने कुरा मैले यो पटक सरकारको एवम् कार्यकारी प्रमुखको रुपमा नेतृत्व गर्दै गर्दा जनताको पक्षमा काम गर्ने र प्रमाणित गर्ने पूराका पूरा प्रयास गरेको छु । घटनाक्रमले लोकतान्त्रिक गणतन्त्रले नै सुशासन दिन सक्ने र समृद्धितिर लान सक्ने व्यवस्था हो भन्ने पुष्टि हुँदैछ ।

दशवर्षे जनयुद्धको नेतृत्व गर्दै गर्दा प्रधानमन्त्री ज्यू तपाईंले कस्तो गणतन्त्रको परिकल्पना गर्नुभएको थियो ?

हामीले जनयुद्धका क्रममा वा विस्तृत शान्ति सम्झौता हुँदै संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै गर्दा जेजस्तो परिकल्पना गरिएको हो सबै त त्यही रुपमा स्थापित हुन सकेको छैन । किनकी, हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायलाई पूर्ण समानुपातिक र समावेशी अधिकारको परिकल्पना गरेका थियौँ । आर्थिक रुपले जनवादी अर्थतन्त्रको कुरा गरेका थियाँै । हामीले पूर्ण समानुपातिकताको मात्रै होइन, हामीले आर्थिक क्रान्तिको कुरा गरेका थियौँ । तर, सबैलाई थाहा भएकै कुरा हो, त्यतिबेला हामी शान्ति सम्झौतामार्फत संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गएका थियौँ । त्यतिबेला जानुपर्ने इतिहासको आवश्यकता थियो । राजनीतिक दलका बीचमा सम्झौता गरेर लचिलो तरिकाले शान्ति प्रक्रियामा नआएको भए यो देश के हुन्थ्यो होला भन्यो भने बढो कहाली लाग्दो अवस्था थियो । सम्झाौता गरेर हामीले ठिक ग¥यौँ भन्ने नै इतिहासले पुष्टि गरेको छ । तर, त्यसरी सम्झौता गर्दा कतिपय हाम्रा माग छुट्न गए या हामीले थाँती राख्नुपर्ने स्थिति आयो । अरुका माग स्वीकार गरिदिनुपर्ने अवस्था आयो । त्यो अवस्था आएको हुनाले संविधान बनाउने बेलामा पनि हाम्रा केही ‘रिजर्भेसन’ राख्दै सहमतिले संविधान बनाइयो । यतिबेला जनतालाई राम्रो न्याय दिने र अधिकारसम्पन्न बनाउनेमा कतिपय विषयमा संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ । निर्वाचन प्रणालीका बारेमा पनि समीक्षा गर्नुपर्ने जरुरी छ । निर्वाचन प्रणाली बढी खर्चिलो, भड्किलो र साधारण जनताले व्यहोर्न नै नसक्ने खालको छ । यो सबैलाई महसुस भएको छ । शासकीयस्वरुपका बारेमा पनि अझ प्रतयक्ष जनताको शासन हुने गरी प्रत्यक्ष कार्यकारी हुने गरी सोच्नु जरुरी छ ।

भ्रष्टाचार विसङ्गतिको चाङ लाग्न खोजेको छ । त्यसलाई बढार्नका निम्ति गम्भीर कदम जरुरी छ । मलाई लाग्छ, यो परिवर्तन तपाईंले शुरुमा गर्नुभएको प्रश्न जस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन र त्यसलाई स्थापित गर्न प्रमुख भूमिका खेल्ने नेतृत्वमध्ये एक प्रमुख व्यक्ति भएको नाताले वा त्यो अवसर प्राप्त गरेको हुनाले यसलाई सुदृढ गर्ने, यसलाई अझ राम्रो बनाउने, बढी संवेदनशील जिम्मेवारी मेरो छ भन्ने हिसाबले पनि समाजिक न्याय, सुशासनका निम्ति नयाँ सङ्कल्पसहित अगाडि बढेको छु ।

जनयुद्ध र शान्ति प्रक्रियाको नेतृतवकर्ताको हिसाबले तपाईं १६ वर्ष अगाडि वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग हात मिलाउँदै गर्दा र हाल तेस्रो पटक कार्यकारी प्रमुखको रुपमा नेतृत्व गर्दै त्यो दिनलाई कसरी स्मरण गर्नुहुन्छ र कसरी समीक्षा गर्नुहुन्छ ?

यो १६ वर्षलाई हेर्दा कतिपय घटनाक्रम महत्वपूर्ण छन्, ऐतिहासिक छन् । कयौँ उपलब्धि यसबीचमा भएका छन् । कतिपय गम्भीर कमजोरी पनि भएका छन् । विस्तृत शान्ति सम्झौता आफैँमा ऐतिहासिक परिघटना थियो । संविधानसभाको निर्वाचन हे¥यौँ भने दशकौँदेखि थाँती रहेको नेपाली जनताको मुद्दा थियो । संविधानसभाको निर्वाचन भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । यो आफैँमा ठूलो कुरा हो । शान्ति सम्झौताका असाध्यै जटिल र निक्कै नै संवेदशील कामलाई हामीले असाध्यै सफलताका साथ सम्पन्न ग¥यौँ । हतियारको व्यवस्थापन र सेना समायोजन तथा जनमुक्ति सेनाका योद्धाको व्यवस्थापन गर्ने सामान्य कुरा थिएन । धेरै देशमा शान्ति भइसकेपछि युद्ध भड्किएको र समाधान गर्न नसकेको र बिथोलिएको तथा ठूलो रक्तपात भएको विश्व इतिहासमा थुपै्र देखिन्छ । तर, हामी कहाँ सफलतापूर्वक सम्पन्न ग¥यौँ । यसलाई सामान्य कुरा भन्न मिल्दैन । आज त्यसलाई बिर्सेर सामान्य केही पनि थिएन, भन्या जस्तो गरेर कतिपय मान्छेले भन्न खोज्छन्, त्यो सत्य होइन । सदनमा पनि नेपाल सरकारको तर्फबाट तथ्याङ्कलाई अगाडि सारेर २०६४ मा स्थिति के थियो, अहिले २०७९÷ ८० मा आइपुग्दा स्थिति के छ, शिक्षाको अवस्था के छ, स्वास्थ्यको स्थिति के छ ? भौतिक पूर्वाधारको अवस्था के छ ? यो सबै हेर्दा, धेरै सूचकाङ्क निक्कै राम्रो अवस्थामा छ । नेपाली जनताको अवस्थामा धेरै ठूलो सुधार आइराखेको छ भन्ने तथ्याङ्कले देखाएको छ । मान्छेले भ्रम छरेर मात्रै त हुँदैन । यथार्थ धरातलमा टेकेर हेर्दा निक्कै नै प्रगति भएको छ ।

अर्कोतर्फ संविधानसभाबाट मौलिक अधिकारका रुपमा राखेका शिक्षा, स्वास्थ्य, रोजगारीलाई घोषणा गरिसकेपछि र सबै उत्पीडित वर्ग समुदायको हक अधिकारको व्यवस्था गरिसकेपछि त्यहीअनुसारको केही ऐन कानुन, समयमा बनाउन समय लागेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई साँँच्चै सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुरुप छ कि छैन भन्ने कुरा छ त्यसअनुसार ऐनहरु अनिवार्य रुपमा बनाउनुपर्ने छ । अझै पनि ती ऐन, बन्न सकेका छैनन् । सङ्घीयताले जनतालाई प्रत्यक्ष राहत दिन जसरी अगाडि बढ्नुपर्दथ्यो त्यो जान सकिरहेको छैन । जसरी हामीले अधिकारको सूची बनाएका छौँ, स्थानीय तह, प्रदेश र सङ्घको भनेर त्यसअनुरुपको अन्य ऐन सङ्घीय शिक्षा ऐन, प्रहरी समायोजन ऐन, स्वायत्त प्रदेश र विशेष क्षेत्रको व्यवस्था गरिएको छ, संविधानमा । यी कुरा पूरा गरिएका छैनन् । यी कुरा नगरेपछि सङ्घीयताले जति राम्रो प्रतिफल जनतालाई दिनुपर्ने जनतालाई दिन सकिराखेको छैन । अनि त्यसैलाई टेकेर सङ्घीयता ठिक छैन या गणतन्त्र ठिक छैन भन्ने खालको प्रचारबाजी गर्ने दुस्साहस भइरहेको छ । मैले यसलाई ‘हलो अड्काउने, गोरु चुट्ने’ जस्तो, आफू आवश्यक ऐन चाँही नबनाउने त्यसलाई ढिलाढाला गर्ने, अनि त्यसले राम्रो कामसँग जनतालाई ‘डेलिभरी’ गरेन भनेर प्रणालीको विरोध गर्ने, वातावरण बनाउनु गल्ती भएको छ । त्यसकारण मैले यतिबेला सङ्घीय निजामति ऐन, प्रहरी समायोजन ऐन, सङ्घीय शिक्षा ऐन, विशेष प्रदेश, स्वायत्त प्रदेशद्वारा जनतालाई दिनुपर्ने सेवा सुविधाको विषयलाई अगाडि सङ्कल्पका साथ अगाडि बढेको छु । यस पटक मैले त्यो गर्नैपर्छ, त्यसबाट जनताले थाहा पाउनैपर्छ, वास्तवमा यो प्रणाली त हाम्रो पक्षमा रहेछ भन्ने हो । पार्टी र नेताले राम्रो समीक्षा नगरेर, ऐन नबनाएर, राम्रो कार्यक्रम नगरेर, राम्रो व्यवहार नगरेर भएको रहेछ । प्रणालीको त दोष रहेनछ भन्ने मैले सावित गर्नुछ । म त्यसैमा लागेको छु ।

प्रधानमन्त्री ज्यू, तेस्रो पटक मुलुकको कार्यकारी प्रमुखका रुपमा शपथ ग्रहण गरिरहँदा यहाँले यसपटक मैले देखिने गरी काम गर्छु, जनताका समस्या देखेको भोगेको छु र देख्ने गरी काम गर्छु भनेर जुन अठोट गर्नुभएको छ । ती काम कसरी शुरु भएका छन् र अहिले कुन चरणमा छन् भन्ने यहाँलाई लाग्छ ?

तपाईंले महत्वपूर्ण र ठिक प्रश्न गर्नुभयो । पहिलो पटक प्रधानमन्त्री हुँदा मलाई यो प्रक्रियाको जति अनुभव आवश्यक पर्ने थियो, त्यो थिएन । भर्खर क्रान्तिबाट आएको हुनाले अलिक बढी क्रान्तकारी रोमान्स नै मभित्र थियो । त्यो रोमान्सका कारण मैले छोटो अवधिमा छाड्नुप¥यो । म यर्थाथ धरातलमा नै टेक्न सकेको भए, ततिबेला म पाँचै वर्ष प्रधानमन्त्री हुने पूरै सम्भावना थियो । त्यति ठूलो पार्टी, देशको सबैभन्दा शक्तिशाली पार्टी थियो । तर, हामी कहीँ न कहीँ, अलिक बढी आर्दशवादी अलिक बढी मनोगत भएकै हो । म सधैँ सम्झन्छु, मेरो त्रुटि भयो भनेर मैले इतिहासमा भन्छु, मैले गिरिजाप्रसाद कोइरालालाई नै राष्ट्रपति बनाउनु नै पर्दथ्यो । त्यसो गरेको भए चिज अर्कै ढङ्गले जान्थ्यो । संविधान समयमै बन्थ्यो, शान्ति प्रक्रिया टुङ्गो लगाउन सकिन्थ्यो । मेरो ‘इन्टेसन’ राम्रो गरौँ, गलत प्रवृत्तिलाइँ परास्त गराँै भन्ने नै थियो । नियतले मात्रै त काम गर्दैन । नीति, योजना र कार्यक्रम पनि वस्तुवादी हुनुपर्छ भन्ने ज्ञान त्यसबाट लिइयो । दोस्रो कार्यकाल अली अनुभवी यो प्रक्रियाभित्र भए । त्यसभित्र पनि चुनौती त थिए । त्यसबेला धेरै महत्वपूर्ण काम भयो छोटो समयमा भन्ने लाग्छ । राष्ट्रलाई एकताबद्ध बनाएर लेजाने, हिमाल, पहाड, तराईलाई एकताबद्ध बनाउने, सहमति कार्यान्वयन गराउने समयमा मैले उदाहरण पेश गरेको छु ।

म जस्तो प्रधानमन्त्री देख्नुभएको छ, भनेर संसद्मा सम्बोधन गर्नुभएको थियो, छोड भनेका दिन छाड्छु भन्नभएको थियो, तर संसद्ले छाड्न भनिरहेको छैन भन्नुभएको थियो नि ?

तेस्रो पटक म आफ्नो पार्टीको सङ्ख्याको तागतमा होइन, देशको आवश्यकता, आफ्नो अनुभव, हाम्रो राजनीति ‘एजेण्डा’प्रति जनताको अझै पनि भरोसा रहेका कारणले प्रधानमन्त्री बन्ने अवसर पाएँ । यसलाई मैले सुरुदेखि यो ठूलो अवसर र चुनौती पनि हो भन्दै आएको छु । पहिलो दिनदेखि नै यसपटक कुनै पनि कमिकमजोरी हुन दिन हुँदैन, राम्राबाहेक नराम्रा काम गर्नेतिर कसैलाई पनि छुट दिन हुँदैन, आफुले पनि सोच्न हुँदैन भन्ने सङ्कल्प लिएको छु । तपाईंहरुले देख्नुभयो, म प्रधानमन्त्रीका रुपमा आउँदै गर्दा सबैतिर निराशा, गुनासा र असन्तुष्टि थिए नै । स्थापित राजनीतिक पार्टी र नेताप्रति वितृष्णा फैलाउने तथा मुलुकमा अराजकता फैलाउने कसरत पनि भइरहेको थियो । तर मैले पहिलो दिनदेखि नै सेवा प्रवाहमा देखिएको सास्ती हटाउन लागि परेँ । सवारी चालक अनुमति पत्र, राहदानी वितरणमा लाग्ने हैरानीलाई कम गर्ने, निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीच समन्वय गराएर अर्थतन्त्रलाई सुधार गर्ने, विदेशमा रहेका लाखौँ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएर उनीहरुको भविश्यलाई सुन्दर बनाउने, पाठ्यपुस्तक नपाएर हैरान भएका लाखौँ विद्यार्थीका बीचमा समयमै पाठ्यपुस्तक पु¥याउनेलगायत विषयमा काम भएका छन् । पटकपटक मैले मौद्रिक नीति र वित्तीय नीतिका बीचमा सामञ्जस्य ल्याउने कोसिस गरेँ । बैङ्कको ब्याजदर घटाउने, राजस्व बढाउनका लागि कठोर ढङ्गले कदम चाल्ने, विप्रेषण बढाउन कसरत गर्ने काम भएका छन् । अर्थतन्त्रको भयावह स्थितिको चर्चा गरिन्थ्यो, तर भयावह स्थिति चै होइन, अहिले पनि समस्या पनि छन्, तर समाधान गर्न सकिन्छ भन्ने नयाँ आशा पलाएको छ । मैले हिजोका गलत ‘सेटिङ’ धेरैतिर भत्काएको छु । ठूल्ठूला अरबौँका सेटिङ भत्काएको छु । जनताको पक्षमा त्यसलाई बनाउने पहल सुरु गरेको छु । सम्पत्ति शुद्धीकरण तथा राजस्वमा देखिएका बेथितीलाई नियन्त्रण गर्न अगाडि बढिसकेको छु । यसक्रममा भ्रष्टाचार नियन्त्रणका निम्ति सरकारले कडा कदम चालेको छ । खासगरी नक्कली भुटानी शरणार्थी बनाएर पठाउने प्रक्रिया आएको रहेछ, त्यसलाई चै सुशासनतर्फै देशलाई लैजाने राम्रो अवसरका रुपमा सदुपयोग गरेँ । गम्भीर र दृढ कदमद्वारा यो सम्भव भयो । वर्तमान सरकार आएपछिको परिस्थितिमा म सन्तुष्ट छु । यहाँसम्म आइपुग्दा धेरै तलमाथि भए । म एउटा गठबन्धनबाट प्रधानमन्त्री भएँ, फेरि अर्को गठबन्धनको प्रधानमन्त्री भएर एक खालको राष्ट्रिय सहमति बनाउने कोसिस अहिले पनि गरिरहेको छु । देशका अगाडि रहेका चुनौतीको सामना गर्न यो जरुरी छ । अब हामी सहि ट्र्याकतिर जाँदै छौँ । एकाथरी मानिसलाई छटपटी भएको हुन सक्छ । नेतृत्वले यसरी देशलाई अनुशासन, विकास र समृद्धितर्फ लाने अठोट गर्ने कडा ढङ्गले प्रस्तुत गरेको कतिपयलाई त मन पर्दैन । उनीहरु कुनै न कुनै रुपले अनेक चलखेल गर्नेतर्फ लागेका पनि छन् । मैले पहिलो पटक प्रधानमन्त्री हुँदा जति दिन बस्छु राम्रो काम गर्छु, जनताले देख्ने गरी राम्रो काम गर्न बल गर्छु, मैले राम्रो काम गर्दागर्दै हटाउन खोजियो भने फैसला त जनताले नै गर्ने हो, जनताले फैसला गर्छन् भन्थेँ । आज पनि त्यही भनिरहेको छु । म राम्रो गर्छु, राम्रोबाहेक नराम्रो गर्दिन, राम्रो गर्दा पनि कहीँकतै जालझेल, चलखेल हुन्छ भने फैसला चै जनताले गर्ने हुन्छ । अहिले सरकार र जनता एक ठाउँमा आइएको छ । सरकारको काम गर्ने र सोच्ने तरिका जनताको चाहनाको बीचमा यतिबेला एकरुपता देखिएको छ । यसलाई सुदृढ गर्ने जिम्मेवारी छ । यसलाई जनतासम्म पु¥याइदिने जिम्मेवारी सञ्चारमाध्यमको हो ।

भारत भ्रमणको पूर्वसन्ध्यामा हुनुहुन्छ । यसपटकको भ्रमणको एजेण्डा के छन् ?

भ्रमणको एजेण्डाबारे दुवै देशका बीचमा छलफल भइरहेको छ । तयारी अगाडि बढिरहेको छ । हाम्रो अपेक्षा के छ भने, यसपटक राष्ट्रिय हितका पक्षमा र नेपाल–भारत दुवैको आपसी हितको पक्षमा केही राम्रा निर्णय होउन् भन्ने चाहनाका साथ दुवैतर्फबाट पहल भएको मैले महसुस गरेको छु । ऊर्जासँग सम्बन्धित केही समझदारीका कुरा छन् । दीर्घकालीन विद्युत् व्यापारसँग सम्बन्धित केही विषयलाई भ्रमणका क्रममा उठाउनेछौँ । जुन नेपालका लागि दूरगामी महत्वको रहेको छ । धेरै वर्षदेखि नेपाली जनताले खोजिरहेको पनि यही हो । हामीले ऊर्जा उत्पादन गरिसकेपछि त्यसको बजार भनेजस्तो भएन भने ठूलो लगानी आउँदैन भन्ने महसुस गरेका छौँ । मेरो आशा र अपेक्षा छ की यसपठक त्यो गाँठो फुक्छ, र नेपालको ऊर्जा व्यापार गर्नेमा बढी नै सकारात्मक वातावरण प्राप्त गर्नेछौँ । हामी नेपालीले पहिलेदेखि नै सोचेको कुरा नेपाल, भारत र बङ््गलादेशका बीचमा त्रिपक्षीय ऊर्जा व्यापार गर्ने वातावरण बनोस् भन्ने नै हो । अहिलेसम्म आउँदा सैद्धान्तिक सहमति भएको छ । अब नेपाल नेपाल, भारत र बङ्गलादेशका बीचमा झण्डै ५० मेगावाट जति भारतीय ग्रीड हुँदै बङ्गलादेशमा नेपाली विद्युत् पु¥याउने सैद्धान्तिक सहमति भएको छ । यस पटकको भ्रमणमा हामी एक कदम अगाडि बढ्छौैँ । यो पनि नेपालका निम्ति ठूलो कुरा हुन्छ भन्ने लाग्छ । व्यापार पारवहनसँग सम्बन्धित कुरा पनि तीन चार वर्षदेखि थाँती रहेको थियो । यसपटक त्यो अगाडि बढ्छ भन्ने विश्वासका साथ हामी जाँदैछौँ । दोधरा– चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्नेमा अगाडि बढ्छौँ । यीबाहेक अन्य थुप्रै कुराहरु छन्, जो सकारात्मक र नेपालको राष्ट्रिय हितमा हुन्छ भन्ने विश्वास मैले लिएको छु । हाम्रा बीचमा रहेका केही समस्याका बारेमा पनि सकारात्मक छलफल हुन्छ । जनताको तहमा उठिरहेको सीमा विवाद के होला ? प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) प्रतिवेदन के हुन्छ ? भन्ने छ, यी विषयमा पनि कूटनीतिक तहमा संवाद गरेर समाधान गर्ने प्रयास गर्छौँ ।

हवाई रुटका कुरा पनि आइरहेको छ, यसमा सरकारको पहलकदमी कस्तो हुन्छ ?

हवाई रुटबारे हामीले गम्भीर रुपले छलफल गरिरहेका छौँ, यसपटक अलिकति सकारात्मक वातावरण बन्छ भन्ने अपेक्षा छ । यद्यपि, अहिले निर्णय भइसकेको छैन, भ्रमणका क्रममा हुने छलफलबाट सकारात्मक परिणाम आउँछ ।

चुरे संरक्षणको विषयलाई सरकारले ध्यान नदिएको भन्ने विषय बाहिर आइरहेका छन्, यसलाई सरकारले कसरी लिएको छ ?

यो अतिरञ्जित हो । एकाथरीले नेपालको आर्थिक विकास र समृद्धिको बाटो होइन, अनावश्यक भ्रम र आशङ्काबाट वातावरण झन् बिथोल्ने प्रयास गरेका छन् । चुरेको गिटी बालुवा भारतलाई दिने कहीँकतै न नीति, न कार्यक्रममा छ, कहीँकतै छैन् । चुरेलाई संरक्षण गर्ने, गिटी बालुवाको व्यवस्थापन गर्ने बारेमा चुरे संरक्षणसम्बन्धी प्रतिवेदनसमेत हेर्दा यस बारेमा नयाँ ढङ्गले सोच्ने भनेको हो । बेच्ने भनेको पनि छैन, खोज्ने भनेको पनि छैन, चुरे संरक्षण गर्ने प्रतिबद्धता यो सरकारको अझ ठूलो छ । तराईलाई मरभूमिकरणबाट कसरी बचाउने भन्ने चिन्ताका साथ नीति कार्यक्रममा राखिएको हो । तर होहल्ला गरेका छन्, बेच्न लाग्यो भनेका छन् । चुरे संरक्षण गर्ने, तराईलाई मरभूमिकरणबाट रोक्नुबाहेक यो सरकारको कुनै उद्देश्य छैन ।

टिकापुर घटनामा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्छ : रेशमलाल चौधरी

काठमाडौँ – आम माफी पाएर कारागारबाट रिहा भएका रेशमलाल चौधरीले टिकापुर घटनामा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले टिकापुर घटना दुर्भाग्यपूर्ण घटना भएकाले यसलाई सामान्य घटनाको रूपमा लिन नहुने भन्दै उच्चस्तरीय छानबिन आयोग गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउनुभएको हो । यसका लागि धरातलमा गएर नागरिकसँग बुझेर घटनाका बारेमा विस्तृत जानकारी लिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले टिकापुर घटनामा कथा एउटा, पटकथा अर्को र फिल्म फरक देखाइएको टिप्पणी गर्नुभयो । त्यही फिल्मको रणभूल्लमा जनता परे पनि वास्तविकता भने फरक रहेको उहाँले बताउनुभयो । चौधरीले टिकापुर घटनाको वास्तविकतालाई छिटै बाहिर ल्याउनका लागि आफूले पनि केही पहलकदमी लिने जिकिर गर्नुभयो । उहाँले आम माफी पाएर आफू रिहा भए पनि आफूहरू हार्‍यो कि जित्यौ भन्ने कुराको अनुभूत जनतामाझ गराउनुपर्ने धारणा राख्नुभयो । चौधरीले टिकापुर घटनालाई कस्तो रूप दिने भन्ने कुरा राज्यले नै निक्र्यौल गर्नुपर्ने जिकिर गर्नुभयो ।

उहाँले टिकापुर घटनालाई राजवन्दीहरुलाई आफूजस्तै छिटो रिहा गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिनुभयो । चौधरीलाई उहाँका समर्थकले नेपालगन्जमा भव्य स्वागत गरेका थिए ।

अझै १५ दशमलव १ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि

काठमाडौँ – आइतबार सार्वजनिक भएको ‘आर्थिक सर्वेक्षण २०७९/८०’ अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुखी रहेको जनसङ्ख्या १५ दशमलव एक प्रतिशत बराबर देखिएको छ । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८ दशमलव ७ प्रतिशत रहेकामा अहिले उक्त जनसङ्ख्या १५ दशमलव १ प्रतिशत रहेको अनुमान छ ।

बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या भने १७ दशमव चार प्रतिशत छ । प्रदेशगत जनसङ्ख्यामध्ये बहुआयामिक गरिबीमध्ये कर्णालीमा सबैभन्दा बढी ३९ दशमलव पाँच प्रतिशत र बागमतीमा सबैभन्दा कम सात प्रतिशत रहेको छ । आर्थिक सर्वेक्षणअनुसार नेपालको मानव विकास सूचकाङ्क शून्य दशमलव छ सय दुई पुगेको छ । मानव विकास प्रतिवेदन, सन् २०२१ मानव विकासको विश्व श्रेणीमा नेपाल एक सय ४३औँ स्थानमा छ ।

पछिल्ला वर्षमा मानव विकासका सूचकमा क्रमशः सुधार हुँदै गएको आर्थिक सर्वेक्षणमा जनाइएको छ । “शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सामाजिक क्षेत्रमा बढ्दै गएको लगानीका कारण सामाजिक क्षेत्रका परिसूचकमा क्रमिक सुधार हुँदै गई मानव विकास सूचकाङ्क सन् १९९० देखि २०२१ सम्म वार्षिक औसत एक दशमलव ३४ प्रतिशतले बढेको छ”, आर्थिक सर्वेक्षणमा भनिएको छ । सरकारी तथा निजीस्तरबाट सञ्चालित कार्यक्रमबाट निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या घट्दै गए पनि आन्तरिक रोजगारीमा पर्याप्त अवसर नहुँदा उचित अवसरको खोजीमा युवाशक्ति वैदेशिक रोजगारमा जाने प्रवृत्ति बढ्दो छ ।

विसं २०७९ फागुनसम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ५५ लाख २६ हजार सात सय चार रहेको आर्थिक सर्वेक्षणबाट देखिन्छ । वैदेशिक रोजगारीमा गएकामध्ये पुरुष ९४ दशमलव चार प्रतिशत र महिला पाँच दशमलव छ प्रतिशत छन् । चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि फागुनसम्म मात्रै तीन लाख ३७ हजार १ सय ४४ ले श्रम स्वीकृति लिएका छन् । सोही अवधीसम्म वैदेशिक रोजगारीका लागि ईपिएस प्रणालीमार्फत् ८५ हजार आठ सय चार कामदार दक्षिण कोरिया गएका छन् ।

सीप विकास तालिम प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत आव २०७९/८० को फागुनसम्म नौ सय २५ जनालाई विभिन्न क्षेत्रमा वैदेशिक रोजगारसम्बन्धी व्यावसायिक तथा सीप विकास तालिम दिइएको छ । ठूलो सङ्ख्यामा युवाहरु वैदेशिक रोजगारीमा जानुको मुख्य कारण नेपालभित्र बढ्दो बेरोजगारी हो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यस आवको फागुनसम्म सात सय ३५ स्थानीय तहले ८ लाख ४१ हजार तीन सय ७८ बेरोजगार व्यक्ति सूचीकृत गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमबाट उक्त अवधिमा एक लाख ३१ हजार चार सय ७१ व्यक्तिले आंशिक रोजगारी र एघार हजार तीन सय ३३ व्यक्तिले पूर्ण रोजगारी प्राप्त गरेको सर्वेक्षणमा उल्लेख छ ।

संसदीय समितिका सभापति सात दिनभित्र चयन गर्न सभामुखको निर्देशन

काठमाडौं – सभामुख देवराज घिमिरेले सात दिनभित्र संसदीय समितिका सभापति चयन गर्न निर्देशन दिएका छन् । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिन नसकेको भन्दै सात दिनभित्र चयन गर्न निर्देशन दिएका हुन् ।

संसदीय समितिको नेतृत्वबारे दलहरुको ध्यानाकर्षण गराउँदै उनले समिति र उपसमिति ज्येष्ठ सदस्यले नै नेतृत्व गरिरहेको भए पनि सभापति चयन नहुँदा विधेयकमाथिको छलफलले गति लिन नसकेको जानकारी गराएका हुन् ।

‘संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिएको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ,’ बैठकमा सभामुख घिमिरेले भने, ‘सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिएको छैन । तपाईंहरुले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रिया (निर्वाचन)बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस् ।’

गत १९ चैतमा प्रतिनिधि सभा नियमावली २०७९ पारित भएपछि १५ वैशाखमा प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन गरिएको थियो । यसपछि २ जेठमा प्रतिनिधिसभाका १० वटा विषयगत समितिको पहिलो बैठक बसेको थियो भने बैठकको सभापतित्व ज्येष्ठ सदस्यले गरेका थिए ।

गगन थापाले भने- अदालतलाई हेप्यौं, यो राजाको शासन होइन

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरेका रेशम चौधरीलाई आममाफी दिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

दुई साताअघि २ जेठमा सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको थियो । तर, सर्वाेच्च अदालतको फैसलाको पूर्णपाठ आउनुअघि नै उनलाई आममाफी दिने कार्यले अदालतलाई हेपेको थापाको भनाइ छ । 

सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी सोमबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन् । ७ भदौ २०७२ मा सात सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा चौधरीलाई तीन तहकै अदालतबाट दोषी ठहर गरेको हो । 
यही विषयलाई दिएर सोमबार नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अदालतलाई हेप्न नहुने बताए । आफूलाई अफ्ठ्यारो पर्दा विधिभन्दा बाहिर गएर निर्णय गर्न नहुने उनको भनाइ छ । 

‘यो राजाको शासन होइन। यहाँ हुकुम चल्दैन यो गणतन्त्र हो। गणतन्त्रमा केबल कानुन मात्रै चल्छ। कानुनको शासन मात्रै चल्छ,’ उनले भने, ‘हामीलाई सरकार चलाउन गाह्रो भयो भनेर कानुनलाई मिचेर थिचेर बलमिच्याइँ गरेर हामी कुनै निर्णय गर्छाैं। अदालतको पूर्णपाठ भएको छैन । हतार हतार निर्णय गर्छाैं । हामीले अदालतलाई हेप्यौं । हामीले जे गरे पनि हुन्छ भन्यौं ।’

शिक्षा क्षेत्र सुधारका लागि पहल गर्न नेविसंघद्धारा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

काठमाडौँ – नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले शिक्षा क्षेत्र सुधारका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । 

सोमबार सिंहदरबारमा नेविसंघका पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति , नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने लगायतका ३३ बुँदे ज्ञापन पत्र बुझाएको हो । नेविसंघले सङ्घीय शिक्षा ऐन यथाशीघ्र निर्माण गर्नुपर्ने, शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने शिक्षा क्षेत्रमा हुने राजनीति र भागवण्डाको अन्त्य गर्नुपर्ने लगायतका माग राखेका छन् । त्यस्तै सडक, हवाई यातायात र मनोरञ्जन क्षेत्रमा विद्यार्थीहरूलाई ४५ प्रतिशत सहुलियत प्रदान गर्नुपर्ने, नीति तथा कार्यक्रममा छुट भएका अन्य विषयहरूलाई समावेश गर्नुपर्ने लगायतका माग राखिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिनुभयो । 

सुशासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै नेविसंघले सरकारको भ्रष्टाचार विरोधी अभियानमा साथ रहेको बताएको छ । सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताउनुभयो । साथै, शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविश्कार र अनुसन्धानको केन्द्रको रूपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोसिस भइराखेको उहाँले बताउनुभयो ।

रेशम चौधरीको आममाफी संवैधानिक सर्वोच्चता र विधिको शासनविपरीत : नेपाल बार

काठमाडौं – नेपाल बार एशोशिएशनले टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिनु संवैधानिक सर्वाेच्चता र विधिको शासनविपरीत भएको प्रतिक्रिया दिएको छ । सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट आममाफी पाएका चौधरी सोमबार कारागारमुक्त भएका छन् । 

तर, टीकापुर घटनासँग सम्बन्धित् सर्वाेच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ नआउँदै सरकारको सिफारिसमा आममाफी दिइनु संवैधानिक सर्वोच्चता, विधिको शासन एवं आममाफी सम्बन्धि अवधारणाविपरीत भएको र यसले दण्डहिनतालाई प्रशय दिने नेपाल बारले भनेको छ । 

पीडितको न्यायप्रति गम्भीर हुने आग्रह गर्दै बार महासचिव अधिवक्ता अन्जिता खनालले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न अदालतबाट भएको सजायलाई माफी दिन सिफारिस हुँदा २०७२ सालको टीकापुर कैलाली घटनासँग सम्बन्धित व्यक्तिहरुलाई समेत सम्मानित सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ नआउँदै नेपाल सरकारको सिफारिस बमोजिम सम्माननीय राष्ट्रपतिज्यूबाट माफी दिइनु संवैधानिक सर्वोच्चता, विधिको शासन एवं आममाफी सम्बन्धि अवधारणा विपरित भई यस्तो कार्यले अन्ततः दण्डहिनताले प्रशय पाउँदछ । तसर्थ, नेपाल बार एशोसिएशन नेपाल सरकार, राज्यका मुख्य अङ्ग र सोका प्रमुखलाई अदालतबाट भएका सजाय माफी र पीडितको न्यायका विषयमा गम्भीर हुन ध्यानाकर्षण गराउँदछ ।’

विज्ञप्ति :

मिति : २०५० जेठ १५ गते

नेपाल बार एशोसिएशन स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको मूल मर्म र ध्येयलाई आत्मसाथ गर्दै उदेश्य प्राप्तिको लागि निरन्तर क्रियाशील रहँदै आएको छ। यस एशोसिएशन लोकतान्त्रिक पद्धतिमा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको सिद्धान्तको आधारमा राज्यका अङ्ग र निकायहरु स्वतन्त्ररुपमा क्रियाशील हुनसकेमा मात्र सामाजिक न्याय, मानव अधिकारको संरक्षण तथा सम्बर्द्धन हुनसक्दछ भन्ने आफ्नो मान्यतामा सदैव दृढ छ । तत् सन्दर्भमा नेपाल सरकार मन्त्री परिषद्को मिति २०८० जेठ १२ र १४ गतेको निर्णयबाट गणतन्त्र दिवशको सन्दर्भमा विभिन्न अदालतबाट भएको सजायलाई माफी गर्नको लागि सिफारिश भए बमोजिम सम्माननीय राष्ट्रपतिज्यूबाट ४८२ जनालाई माफी दिएको सन्दर्भमा यस एशोसिएशनको गम्भिर ध्यानाकर्षण भएको छ ।

नेपालको संविधानको धारा २७६ ले राष्ट्र प्रमुखको हैसियतले अदालत, न्यायिक वा अर्धन्यायिक वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी परिवर्तत वा कम गर्न सक्ने संवैधानिक प्रावधान रहेकोमा सोको प्रयोग कानूनको परिधि भित्र रही गर्न पर्ने निर्दिष्ट गरेको छ । सो सम्बन्धमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा २४ र ३७ द्वारा निर्दिष्ट प्रावधानको प्रतिकूल सजायको माफी मिनाहा हुन सक्ने परिकल्पना गरेको छैन। कानूनको गलत व्याख्या र प्रयोग गर्ने छुट कसैलाई छैन। कानूनको सहि प्रयोगमा नै कानूनी शासनको मूर्तता अन्तरनिहित हुन्छ। अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरण तथा कानूनी शासनको विपरितको कार्य प्रति यस एशोसिएशनले सदैव खबरदारी गर्दै आएको छ ।

संवैधानिक सर्वोच्चता, कानूनी शासन, लोकतान्त्रीक मूल्य मान्यताको पूर्ण अनुशरण र परिपालना भएमा मात्र लोकतन्त्र, सुशासन, सामाजिक न्याय, सम्बुद्धि र पीडितले न्याय पाउने हकको सुनिश्चितता हुनेमा यस एशोसिएशन विश्वस्त छ । नेपाल सरकारबाट गणतन्त्र दिवशको अवसरमा विभिन्न अदालतबाट भएको सजायलाई माफी दिन सिफारिश हुँदा २०७२ सालको टीकापुर कैलाली घटनासँग सम्बन्धित व्यक्तिहरुलाई समेत सम्मानित सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ नआउँदै नेपाल सरकारको सिफारिश बमोजिम सम्माननीय राष्ट्रपतिज्यूबाट माफी दिइनु संवैधानिक सर्वोच्चता, विधिको शासन एवं आममाफी सम्बन्धि अवधारणा विपरित भई यस्तो कार्यले अन्ततः दण्डहिनताले प्रशय पाउँदछ । तसर्थ, नेपाल बार एशोसिएशन नेपाल सरकार, राज्यका मुख्य अङ्ग र सोका प्रमुखलाई अदालतबाट भएका सजाय माफी र पीडितको न्यायका विषयमा गम्भिर हुन ध्यानाकर्षण गराउँदछ ।

अधिवक्ता अन्जिता खनाल
महासचिव

नेपालको वार्षिक औसत तापक्रम वृद्धि

काठमाडौँ – नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ ।

बढ्दो मानवीय क्रियाकलापका कारण वायुमण्डलमा हरितगृह ग्यासको उत्सर्जनमा वृद्धि हुन गई विश्वव्यापी रूपमा तापक्रम वृद्धि भएको हो । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकायको प्रतिवेदनअनुसार पृथ्वीको औसत तापक्रम सन् १८५०–१९०० को तुलनामा एक दशममलव एक डिग्री सेल्सियसले बढेको छ ।

जलवायु परिवर्तनजन्य विपद्बाट नेपालले वर्सेनि मानवीय र आर्थिक नोक्सानी व्यहोर्दै आएको छ । सन् १९९० देखि २०१९ सम्मको नेपालले उत्सर्जन गरेको हरितगृह ग्यासको प्रवृत्ति हेर्दा सन् २००० पछि हरित ग्यास उत्सर्जनको वृद्धिदरमा कम देखिए पनि सन् २००८ पछि उच्च दरले बढेको छ ।

यसैगरी सन् १९९० मा दुई करोड मेट्रिक टन हरितगृह ग्यास उत्सर्जन हुने गरेकामा सन् २०१९ सम्म आइपुग्दा यस्तो ग्यास उत्सर्जन चार करोड ८४ लाख मेट्रिक टन पुगेको सरकारी तथ्याङ्क छ । जलवायु परिवर्तनका सवाललाई सम्बोधन गर्नका लागि संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धी, क्योटो प्रोटोकल, पेरिस सम्झौता लगायतका संरचना स्थापना भएका छन् ।

हरेक मुलुकले जलवायु परिवर्तनको असरलाई कम गर्ने गरी नीति, कानुन तथा कार्यविधि तर्जुमा गर्ने र सोही अनुसार कार्यान्वयन गर्दै गएका छन् । नेपाल पनि यी सन्धि सम्झौताको पक्ष राष्ट्र भई जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका क्षेत्रमा काम गर्दै आएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

विश्वको हरितगृह ग्यास उत्सर्जन सन् १९९० मा ३२ अर्ब ५२ करोड मेट्रिक टन रहेकामा सन् २०१९ मा यस्तो उत्सर्जन ४९ अर्ब ७६ करोड मेट्रिक टन पुगेको छ । सन् १९९० देखि २०१९ सम्मको अवधिमा विश्वको हरितगृह ग्यास उत्सर्जन औसत एक दशमलव ४५ प्रतशितले वृद्धि भएको छ ।
‘क्लाइमेट वाच’को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देशमा चीन, संयुक्त राज्य अमेरिका, भारत, युरोपियन युनियनका मुलुक, इन्डोनेसिया, रुस, ब्राजिल, जापान, इरान, जर्मनी र क्यानाडा छन् । विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा सबैभन्दा बढी अंश चीनको २४ दशमलव दुई प्रतिशत रहेको छ भने संयुक्त राज्य अमेरिकाको ११ दशमलव छ प्रतिशत रहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्र (कोप) को २७औँ सम्मेलन सन् २०२२ मा इजिप्टको शर्म एल–शेखमा सम्पन्न भएको थियो । हिमाली क्षेत्रका मुद्दा, अनुकूलन, न्यूनीकरण, कृषि तथा खाद्य सुरक्षा, जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिका विषयलाई समेटेर नेपालले राष्ट्रिय अवधारणापत्र तयार गरी सम्मेलनमा पेस गरेको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख डा बुद्धिसागर पौडेलका अनुसार सो सम्मेलनमा हानीनोक्सानी कोष स्थापना गर्ने, “स्यान्टीयागो नेटवर्क” कार्यान्वयन गर्न संस्थागत व्यवस्था गर्नेलगायतका विषयमा विकसित राष्ट्र कोप–२८ सम्म अनुकूलन वित्त दोब्बर गर्नेसम्बन्धी प्रतिवेदन तयार गर्न सहमति भएको थियो । हाल नेपालमा भौगोलिक सन्तुलन र सङ्कटासन्नताको अवस्थाका आधारमा जलवायु नमुना गाउँलाई थप स्थानीय तहमा विस्तार गर्न आठ स्थानीय तहमा जलवायु नमुना कार्यक्रम सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षमा स्थानीय तहलाई जलवायु अनुकूलन योजनाका विकासमा सहयोग गर्न कुल रू १० करोड विनियोजन भएको छ ।

जलवायु परिवर्तनका लागि प्रत्यक्ष लाभ पुग्ने बजेटको अंश पछिल्ला वर्षमा वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७५÷७६ मा कुल बजेटको चार दशमलव छ प्रतिशत बजेट जलवायु परिवर्तनका लागि प्रत्यक्ष लाभ पुग्ने गरी विनियोजन गरिएकामा चालु आर्थिक वर्षसम्म आइपुग्दा यो अनुपातमा वृद्धि भई पाँच दशमलव नौ प्रतिशत पुगेको छ ।

वन तथा वातावरण मन्त्रालयद्वारा सन् २०२१ मा प्रकाशित सङ्कटासन्नता र जोखिम विश्लेषण प्रतिवेदनअनुसार समष्टिगत जलवायु परिवर्तन सङ्कटासन्नतास्तरमा अति उच्च २४, उच्च २६, मध्यम ११, न्यून १५ र अति न्यून एक जिल्ला रहेका छन् ।

यसैगरी, उक्त प्रतिवेदनअनुसार जोखिमस्तरमा अति उच्च आठ, उच्च १३, मध्यम २०, न्यून २१ र अति न्यून १५ जिल्ला रहेका छन् ।

प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी

भालुवाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसारको अधिकार दिन नसकेको बताउनुभएको छ ।

आज लुम्बिनी प्रदेशले राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको १६औँ गणतन्त्र दिवसका अवसरमा उहाँले प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती थपिँदै जाने खतरा रहेको प्रष्ट्याउनुभयो ।

गणतन्त्र संस्थागत नहुँदासम्म जनताको अधिकार प्राप्तिका लागि सरकार लडिरहने पनि उहाँले बताउनुभयो । उहाँले केन्द्रले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार आफैँ केन्द्रमा थमौती गरेर राख्दा कति असर गरेको छ भन्ने कुरा देखिएको बताउनुभयो । “यो कुरा आएर केन्द्र सरकारले स्थानीय नागरिकलाई सोधोस् अनि बल्ल जनताले जवाफ दिनेछन्”, उहाँले भन्नुभयो ।

अहिले पनि तहगतरुपमा संविधानले तोकेको अधिकार प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्री चौधरीले गणतन्त्र संस्थागत हुन नसक्दा जनताका अपेक्षा पूरा गर्न नसकिने हुँदा आआफ्नो दायित्व पूरा गर्न नसक्ने जस्ता समस्या देखिएको औँल्याउनुभयो ।

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहकै सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो । अधिकार बाँडफाँटमा केन्द्र सरकारले हस्तक्षेप नगर्न उहाँको आग्रह थियो । अधिकार प्रदेशमा दिन उहाँले केन्द्र सरकारको ध्यानाकर्षण गराउनुभयो । गणतन्त्रको उपलब्धिलाई तल्लो तहसम्म पु¥याएमात्र गणतन्त्रमा सबैको अपनत्व बढ्ने उहाँको धारणा छ ।

लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाहीको तयारी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ ।

पहिलो चरणमा शय्या नछुट्याउने अस्पताललाई कारबाही स्वरुप केन्द्र तथा प्रदेश मातहत अस्पतालको नाम सार्वजनिक गर्ने तयारी रहेको र नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेलाई थप कारबाहीका लागि सङ्घ तथा प्रदेश सरकारलाई लेखेर पठाइने महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यति गर्दा पनि अटेर गर्ने स्वास्थ्य संस्थाको प्रशासन नै बन्द गरिने महानगरले जनाएको छ । लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने केन्द्र र प्रदेशअन्तर्गतका करिब ७२ अस्पतालको नाम आएको बताइएको छ ।

यही जेठ २ गते महानगरले एक सूचना प्रकाशित गरी लक्षित वर्गका बिरामीले निःशूल्क सेवा लिएको विवरण टाँस गरेर विवरण प्रत्येक महिनाको १० गतेभित्र पठाउन आग्रह गरेको थियो । अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या छुट्याएर निःशूल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ को स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार स्थानीय तहलाई रहेको छ । सोही व्यवस्था बमोजिम अतिरिक्त लक्षित वर्गको विवरण पठाउन महानगरले आग्रह गरेको थियो ।

सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता

मलङ्गवा – सर्लाहीमा मिटरब्याजी (अनुचित लेनदेन) विरुद्ध एक हजार नौ सय २० उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिने आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

उजुरी परेका साहुकारहरुलाई मङ्गलबारदेखि जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धिकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

“मिटरब्याजी साहुले लिएको ऋण भन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि पीडितले काठमाडौँमा पुगेर आन्दोलन गरेका थिए”, उहाँले भन्नुभयो ।

सरकारले अध्यादेशमार्फत अनुचित लनेदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो । मधेश प्रदेशको राजधानी जनकरपुरधाममा अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएपश्चात् आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदीले वैशाख २० गते यहाँका मिटरब्याज पीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग आवश्यक छलफल गर्नुभएको थियो ।

सञ्चारमन्त्री शर्मा : गणतन्त्र दिवसको शुभकामना सन्देश

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राप्त हक, अधिकारको संरक्षण गर्न गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

गणतन्त्र दिवसको उपलक्ष्यमा आमनागरिकलाई शुभकामना व्यक्त गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री शर्माले जनताको सर्वाेच्चता कायम गर्ने गणतन्त्रलाई अझ सुदृढ र संस्थागत तुल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले गणतन्त्रका कारण राजनीतिक, सामाजिक, सांस्कृतिकरूपमा पछाडि पारिएका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, उत्पीडित तथा पिछडा वर्ग, अल्पसङ्ख्यक, सिमान्तकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका सबै नेपाली नागरिकले विशिष्ट अधिकार प्राप्त गर्न सफल भएको बताउनुभयो ।

वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै सुरु गरेको सुशासन र सहज सेवा प्रवाहको अभियानबाट विस्तारै नतिजा प्राप्त हुन थालेको उल्लेख गर्दै सञ्चारमन्त्री शर्माले शुभकामना सन्देशमार्फत भ्रष्टाचारविरुद्ध सरकारले आफ्नो दृढता प्रस्तुत गरिरहेको छ भन्नुभयो । विभिन्न सेवा प्रवाहका क्षेत्रलाई जनतामैत्री बनाउँदै लगेको, सडक, सदन तथा सञ्चारमाध्यममार्फत सार्वजनिक हुने समस्या तत्काल सम्बोधन गर्ने गरी सरकार अघि बढेको र सुशासन, समृद्धि र सामाजिक न्याय वर्तमान सरकारको प्राथमिकतामा रहेकाले यस्ता काम अझै प्रभावकारीरूपमा अघि बढ्दै जाने उहाँको भनाइ छ ।

तमाम् बेथितिको अन्त्य गर्दै थालिने यस प्रकारका अभियानबाट राज्यप्रति जनताको विश्वास वृद्धि भई नयाँ आशाको सञ्चार हुने विश्वास व्यक्त गर्दै सञ्चारमन्त्री शर्माले हामी जो जहाँ छौँ देश र जनताको पक्षमा इमान्दार भएर लागौँ भनी सबैसँग अनुरोध गर्नुभयो । सम्पूर्ण नेपालीमा बधाईसहित शुभकामना व्यक्त गर्दै महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि भएका तमाम आन्दोलनमा अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात, अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते योद्धासहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज एवं आमजनसमुदायप्रति उच्च सम्मान छ”, मन्त्री शर्माद्वारा गणतन्त्र दिवस, २०८० का अवसरमा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौ – सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइबारकै मूल्यमा साेमबार सुनचाँदीको कारोबार भइरहेकाे हाे ।

 मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ र तेजावी सुन १ लाख ७ हजार ६ सय रुपैयाँ पर्नेछ । 

यता, चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ – सङ्घीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहनुभएको छ । नेपालको वाम–लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेर राष्ट्रको सर्वाेच्च पदमा पुग्नुभएका पूर्वराष्ट्रपति भण्डारी गणतन्त्रको संस्थागत विकास, समृद्ध नेपाल र स्वाधीन अर्थतन्त्र निर्माणका लागि अहिले पनि उत्तिकै चिन्तित देखिनुहुन्छ । 

गणतन्त्र दिवस–२०८० का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयमा आयोजना गरिएको फोटो प्रदर्शनीपछि पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्रका विशेषता, संविधानको कार्यान्वयन र यसमा देखिएका चुनौतीका बारेमा अन्तर्वार्ता दिनुभएको छ । राष्ट्रपतिबाट अवकाशपछि सम्भवतः पहिलोपटक उहाँले यस प्रकारको अन्तर्वार्ता दिनुभएको हो । प्रस्तुत छ, पूर्वराष्ट्रपति भण्डारीसँग राससका आलेख शाखा प्रमुख कृष्ण अधिकारी, उपप्रमुख समाचारदाता नारायण न्यौपाने र वरिष्ठ समाचारदाता प्रकाश सिलवालले गरेको कुराकानीको सम्पादित विवरण : 

मुलुकको सर्वाेच्च पद राष्ट्रपतिको कार्यकाल पूरा गरी अवकाशको जीवनमा रहनुभएको छ । आजभोलि यहाँको दिनचर्या कसरी बितिरहेको छ ?

राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि सर्वप्रथमतः राष्ट्रिय समाचार समितिको कार्यालयमै आएर संवादमा रहेको यो मेरो पहिलो अवसर हो । करिब सात वर्ष लामो अवधि देशको राष्ट्रपतिको जिम्मेवारीमा रही  काम र कर्तव्य पूरा गर्ने अवसर पाएँ । मैले आफ्नो देश, जनता र आफ्नो जिम्मेवारीलाई बोध गर्दै काम गरेँ र मेरो कार्यकाल त्यस अर्थमा सफल भयो भन्ने लाग्छ । सफलतालाई समय सान्दर्भिकताका आधारमा हेर्नुपर्छ । राष्ट्रपति केबल व्यक्ति नभएर एउटा संस्था हो । 

काम गर्ने क्षेत्राधिकारका हिसाबले राष्ट्रपतिको कार्यकालमा समय व्यस्तता थियो । राष्ट्रको त्यो जिम्मेवारी पूरा गरेर पुरानै  नागरिक जीवनमा फर्केको छु । फर्किएको पनि करिब तीन महिना भयो । यस बीचमा मैले अग्रसरता लिएर विशेष केही काम गरेको छैन । कार्यकाल सकेर बाहिर आउँदा औपचारिकतामा बाहेक अरु खासै फरक महसुस भएको छैन । देशका लागि जिम्मेवारीमा गर्नुपर्ने काममा कमी आएको जस्तो लाग्दैन । अझ जिम्मेवारी बढेको जस्तो लाग्छ । योजनाबद्ध ढङ्गले सार्वजनिक क्रियाकलापमा भाग लिइसकेको छैन । अब विस्तारै नागरिक समाजका तर्फबाट राष्ट्रिय मुद्दामा अहिलेसम्मका अनुभवलाई लिएर अघि बढ्नुपर्छ भन्ने सोचेको छु । अहिले म त्यस्तो धेरै व्यस्त छैन तर फुर्सदमा पनि छैन । म बेरोजगार भएँ भन्ने जस्तो पनि लागेको छैन ।

मुलुकमा अहिले भइरहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासलाई कसरी हेर्नुहुन्छ ?

देश हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीमा प्रवेश गरेको करिब १५ वर्ष भयो । यो अवधिलाई हेर्दा राष्ट्रपतिले गर्नुपर्ने जिम्मेवारी निर्वाहका विषय ठीक गतिमै रहेको अनुभव मेरो छ । नयाँ प्रणालीमा प्रवेशपछि जुन गतिमा परिवर्तन र विकासका काम अघि बढ्नुपर्ने हो, त्यो भने धिमा भएको हो कि भन्ने छ । यसबीचमा जनताका इच्छा र आकाङ्क्षालाई पूरा गर्न तीव्रता दिनुपथ्र्याे, त्यो नभएको हुनसक्छ । हामी बहुदलीयता र बहुलवादसहितको खुला समाजमा छौँ । यसमा एउटा पार्टी र संस्थाले चाहेर मात्र गति तय नहुने भएकाले सबैको सहयोग आवश्यक पर्छ । समग्रमा भन्नुपर्दा मैले बिताएको राष्ट्रपतिको कार्यकाल र  गणतन्त्र कार्यान्वयनको अवस्था ठीक दिशातर्फ नै उन्मुख छ भन्ने मेरो अनुभव छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रणाली सुदृढीकरणका लागि क–कस्को कस्तो भूमिका आवश्यक पर्छ ?

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थापम विश्वमै एक उत्कृष्ट राजनीतिक प्रणाली हो । यसलाई सुदृढ तुल्याउन खासगरी मूलधारका राजनीतक दलको सुझबुझ र सहकार्य आवश्यक रहन्छ । उनीहरूले नै राष्ट्रिय एकता र जनताको आकाङ्क्षा पूरा गर्ने सन्दर्भमा जिम्मेवारी निर्वाह गर्न सक्छन् ।

मुलुक हालको शासन प्रणालीमा प्रवेश गर्नुअघि र पछिको स्थितिलाई तुलनात्मकरूपमा कसरी मूल्याङ्कन गर्न सकिन्छ ?

गणतन्त्र भनेको पूर्ण लोकतान्त्रिक पद्धतिको एउटा प्रतीक हो । आवधिक निर्वाचनमा जनताबाट निर्वाचित भई शासन संरचनामा जाने व्यक्ति र व्यक्तित्वहरूको चयन हुने भएकाले हिजो र आजमा धेरै फरक छ । हामी पूर्ण लोकतान्त्रिक परिपाटीमा प्रवेश गरिसकेका छौँ । यो परिवेशलाई देशको आवश्यकता र जनताको आकाङ्क्षाअनुसार अहिलेको विश्व समुदाय र विश्वको विकासको गतिअनुसार हामी अघि बढ्नु सक्नुपर्छ ।

अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा नेपालमा गणतन्त्रपछि जनताले प्रयोग गरेका विभिन्न क्षेत्रका हक अधिकारको उपयोग कस्तो अवस्थामा पाउनुहुनछ ?

हरेक चिज परिपक्क र विकास हुन समय लाग्छ नै । हामी गणतन्त्रात्मक पद्धतिमा प्रवेश गरेको छौँ । यो प्रणालीमा प्रवेश गर्नासाथ जनताका सबै इच्छा, आकाङ्क्षा एउटै आवधिक निर्वाचनमा पूरा भइहाल्छ भन्न पनि सकिन्न । औपचारिकरुपमा २०७२ सालमा संविधान जारी भएपछि मात्र अहिलेको प्रणाली सुरु भएको हो । त्यसअघि सङ्क्रमणकालीन अवस्थाबाट गुज्रनुपरेको थियो । राज्यका आधिकारिक संरचनाले यसको लक्ष्य प्राप्तिका लागि पहल गर्नुपर्छ  । त्यो भनेको सरकार नै हो । यहाँ राज्यका विभिन्न अङ्ग छन् । उनीहरूले जिम्मेवारीसाथ त्यो काम गर्नुपर्छ । कोरोना महामारीभन्दा अघिको विकासको गतिलाई हेर्ने हो भने झण्डै सात प्रतिशत विकासको दर पुगेको थियो । त्यो  भनेको निकै राम्रो नतिजा हो । महामारीले त्यसमा गतिरोध ल्यायो । त्यसमा राजनीतिक अस्थिरताले पनि प्रभाव पार्यो । त्यसकारण त्यही गतिमा जाने स्थिति रहेन । लामो समयदेखिको इतिहासलाई फर्केर हेर्ने हो भने आधुनिक नेपाल निर्माण गर्न पनि केही समय लाग्यो । निर्माणपछि जोगाउन पनि केही समय लाग्यो । लामो समयसम्म भौगोलिक सार्वभौमिकता र राष्ट्रिय अखण्डताको प्रतिरक्षाकै लागि लाग्नुपर्यो । 

त्यही क्रममा निरङ्कुश जहानियाँ शासन ब्यहोर्नपर्यो, त्यो व्यवस्था मनपरी ढङ्गबाट चल्थ्यो । जनताले दुःख पाए । जनताकै सङ्घर्षको प्रतिफलबाट २००७ सालपछि मात्र राज्य र व्यवस्था के हुन्, शासन प्रशासन कसरी चल्नुपर्छ भन्ने कुरा रेखाङ्कन हुँदै आज हामी यो ठाउँमा आइपुगेका हौँ । वास्तवमा राज्य, राज्यव्यवस्था, शासन प्रणाली र सुशासन कसरी गर्ने भन्ने सन्दर्भमा अब मानिसको दृष्टिकोण स्पष्ट भइसकेको छ । निरङ्कुशताको ‘लिगेसी’ र हिजोको सोच बोक्नेले परिवर्तनलाई अझै आत्मसाथ नगरेको अवस्था पनि छ । संसदीय मान्यताअनुसारको राज्य प्रणालीका सबै संरचना अघि बढिसकेका छन् तर पनि पुरानो सोचलाई परिवर्तन हुन त समय लाग्छ । परिवर्तनलाई हामीले समृद्ध राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्छ ।  राजनीतिक अस्थिरतका कारण विकासको गति ढिलो हुँदा जनताको आकाङ्क्षालाई पूरा गर्न समय लागेको हो । 

अहिले पनि लोकतान्त्रिक गणतन्त्रको अहिले कुनै विकल्प छैन । मुलुकका ठूलो रानीतिक दलले यसलाई नेतृत्व गरेर जानुपर्छ । समाजमा अनुशासनहीनता र प्रतिगमनकारी सोचलाई लोकतान्त्रिक पद्धति र जनमतबाटै निस्तेज गर्दै जानुपर्ने आवश्यकता छ । यो माध्यमबाटै समृद्धि हासिल गर्न सकिन्छ । यसका लागि आधिकारिक संरचनाहरू छन् । ती निकायले जिम्मेवारीपूर्वक सहकार्यका साथ काम गर्नुपर्छ ।

यहाँले भनेजस्तै गणतन्त्रको यात्रा एउटा गतिमा छ तर सुशासनको पाटो कमजोर छ । यसकारण कतै यो प्रणालीकै कमजोरी त होइन भन्ने टिप्पणी सुनिएको छ । प्रणालीलाई बलियो बनाउन सुशासन कायम गर्न के गर्नुपर्ला ?

प्रणाली आफैँमा गलत नभए पनि कहिलेकाहीँ काम गर्ने व्यक्तिहरूका कारण जानेर वा नजानेर नकारात्मक कुराहरू भएका हुन सक्छन् । परिवर्तन हुुनुभन्दा पहिला लामो समयदेखि मुलुक एक प्रकारले थङ्थिलो अवस्थामा थियो । हाम्रो शिक्षा प्रणाली कस्तो थियो र छ ? मानिसहरू शिक्षा र रोजगारीका कारण किन विदेश पलायन भए ? स्वदेशमा रोजगारी र उत्पादनको अवस्था कस्तो छ ? ती सबैलाई मूल्याङ्कन गरेर हेर्नुपर्छ । त्यसैले हामी कुनै एक व्यक्तिले कामका सन्दर्भमा गल्ती गरे भन्दैमा प्रणाली नै खत्तम हो भन्ने निचोडमा जानु हँुदैन । एक जना आमाका १२ जना छोराछोरी होलान्, कुनै एकले केही गल्ती गरे भन्दैमा आमा नै गलत भन्ने सोचमा पुग्नुहुन्छ र ?

अहिले युवाहरूमा नयाँ सोच देखिएको छ । नयाँ नयाँ राजनीतिक दल पनि उदाएका छन् । कतै हामीले गणतन्त्रको प्रतिफल युवाहरूलाई दिन सकेनौैँ कि ?

यो त यस्तो हुन्छ नि, मैले सुन्तलाको बोट रोपेको थिएँ । अहिले फल्न थालेको छ, अनि दानाचाहिँ मैलेमात्रै खानुपर्छ भन्ने सोच कसैले पनि राख्नु हुँदैन । हिजो २००७ सालको आन्दोलनमा आजका युवा थिएनन् । २०३६ साल र २०४६ सालको आन्दोलनमा म थिएँ होला, २००७ सालमा म पनि थिइनँ । अनि अगाडिका कोही होइन भनेर मैले भन्न मिल्छ र ? पुर्खाको इतिहासलाई भुल्न हँुदैन । 

लोकतान्त्रिक गणतन्त्रमा सबैले आफ्ना आवाज बुलन्द गर्न पाउँछन् । राजनीतिमा आजका पुस्ता आउन पाउँछ । आउँछ । तर अग्रज कोही होइनन्, हामी नै विकल्प हो भन्ने सोच राख्नु हुन्न । कोही एकाएक गड्यौलाजस्तो आजको आजै निस्किएको भन्ने पनि सोच्नु हुँदैन । राजनीतिमा विभिन्न खालका तरेलीहरू आउँछन् । नयाँ उदयमान शक्तिहरूले मातृभूमिलाई शिरमा राखेर देशको हितमा काम गर्छन् भने उनीहरूलाई जनताले साथ दिन सक्छन् । लोकतन्त्र भनेकै यहाँ सबैको उपस्थिति हुनु हो । 

लोकतान्त्रिक प्रणालीमाथि कुनै कमजोरी र गुनासो देखिए यही प्रणालीका माध्यमबाट परिमार्जन गर्दै जान सकिन्छ । मुख्य कुरा हामीले समृद्ध नेपाल बनाउनुपर्छ । आधुनिक नेपाल बनाउनुपर्छ । गणतन्त्रको सार यसमै छ । विगतको जस्तो भाइभाइमा देश अंश लाउने प्रणालीमा त हामी छैनौँ नि ।

सङ्घीयता खर्चिलो भयो भन्ने छ । विकास र समाजिक सेवाका क्षेत्रमा राज्यले ध्यान दिन नसकेको हो कि ?

हामीले राज्य प्रणालीको सञ्चालनका क्रममा कसरी नीति कार्यक्रम र बजेट विनियोजन गरेका छौँ भन्ने हेर्नुपर्छ । राज्यलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने गरी शिक्षाको विकास र आधुनिक प्रविधिको उपयोग गर्न सकेका छौँ कि छैनौँ ? कर्मचारी संयन्त्रमा भएका जनशक्तिलाई उचित व्यवस्थापन गरी कार्यसञ्चालनमा प्रविधिको प्रयोग गरी कामका नयाँ क्षेत्रमा कर्मचारीलाई लगाउनुपर्ने हुन्छ । त्यसमा हाम्रो ध्यान जानुपर्छ ।

हामीले भौगोलिक अवस्थितिअनुसार उचित नीति निर्माण गरेर उत्पादनमा जोड दिनुपर्छ । हामी भूपरिवेष्टित र भूजडित देशको अवस्थामा छौँ । यस स्थितिमा आत्मनिर्भतरता र स्वावलम्बी हुने वातावरण सिर्जना गर्नुपर्छ । हामीले उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्छ । हाम्रो उत्पादन महँगो भएको छ, त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने समस्या हो । त्यसैले मेरो विचारमा प्रदेश वा प्रणाली नै खर्चिलो भयो भन्ने लाग्दैन । उत्पादन वृद्धि र जनताका आकाङ्क्षालाई सम्बोधन गरेर जान सक्नुपर्छ ।

प्रदेश संरचना अनावश्यक भन्ने टिप्पणी त छ नि ?

करिब तीन करोड जनसङ्ख्या भएको मुलुकका हरेकका आफ्ना सोच भएका हुन सक्छन् । सञ्चारमाध्यमबाट ती कुराहरू आएका हुन सक्छन् । उत्पादनमा लाग्ने र काम गर्ने गर्ने हो भने त्यस्ता गुनासा आउँदैनन् । हामी हाम्रो कृषिप्रधान देश अनुकूलको उत्पादनमा जान सक्नुपर्छ । नेपालको धन हरियो वन भन्ने पनि छ । कृषि र वन क्षेत्रबाट हामी गुणस्तरीय उत्पादन गरेर विश्व समुदायलाई सेवा दिन सक्ने अवस्थामा पुग्नुपर्छ । वास्तवमा हाम्रो कृषि र वनमै व्यापार घाटा चुलिँदो छ । त्यसलाई कम गर्न सक्नुपर्छ ।

जलस्रोतका सन्दर्भमा कुरा गर्दा, अहिले विश्वमा जलवायु परिवर्तनको जोखिमको जुन स्थिति छ, हामीले त्यसको असरलाई सन्तुलनमा ल्याउन कोसिस गर्नुपर्ने हुन्छ । हामीसँग त आराध्यादेव पशुपतिनाथको अनुकम्प भनौँ, यस्ता जलधाराहरू छन्, हामीलाई त्यो खानेपानी, कृषि, बिजुली उत्पादन अनेक काममा उपयोग गर्न सकिन्छ । त्यसअनुसार हामीले उपयोग गर्नुपर्ने हुन्छ । त्यसको हामीले उपयोग नगर्ने अनि प्रणालीलाई दोष दिएर हुन्छ र ?

यसबीचमा देश विकासका लागि कसले के–के योगदान गरे ? त्यो हेर्नुपर्छ । आज कोही फुत्त राजनीतिमा निस्किएर प्रणालीलाई गाली गरेर मात्रै हुँदैन । देशमा सशस्त्र द्वन्द्वको अवस्था हुँदा को–को कहाँ थिए, त्यसको आत्ममूल्याङ्कन गर्नुपर्छ । कसले गल्ती गरे ? कसले राम्रो गरे ? त्यसको मूल्याङ्कन हुनुपर्छ । म पद बहालमा हुँदा मैले भेटघाट गर्ने क्रममा राज्यका महत्वपूर्ण पदाधिकारीलाई अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र भौगोलिक अवस्थितिअनुसारको नीति योजना बनाएर काम गर्न सधँै भनिरहन्थेँ । हामीले प्रणालीलाई बलियो र जनतालाई प्रतिफल दिन सबैले पहल गर्नुपर्ने हुन्छ ।

गणतन्त्रको संस्थागत विकास गर्दै आर्थिक समृद्धिका लागि जोड दिने गर्नुहुन्थ्यो तर राष्ट्रपति पद संवैधानिक हैसियतमा हुने भएकाले कामको परिणामबारे राज्यका निकाय जिम्मेवार हुने गर्छ । यस अर्थमा गणतन्त्रको सुदृढीकरणमा राष्ट्रपति संस्थाको भूमिका कस्तो हुन्छ ?

महत्वपूर्ण हुन्छ । राष्ट्रपति संस्था भनेको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको उच्च रुप हो । ती सबैको कामको परिणामको जस अपजस राष्ट्रपति संस्थालाई पनि जान्छ । जो घरको मुली छ, उसलाई जस अपजस जानु अन्यथा होइन । हामी सबैले आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्छ । 

अन्त्यमा, सोहौँ गणतन्त्र दिवसका अवसरमा आम नेपालीलाई के सन्देश दिन चाहनुहुन्छ ?

म गणतन्त्र दिवसका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु । सङ्घीय लोकतान्त्रिक गणतन्त्र लोकतन्त्रको उच्चतम् रुप हो । आजको देशको आवश्यकता समृद्व राष्ट्र, सुखी राष्ट्र र अनुशासित राष्ट्र निर्माणका लागि सबैको साथ, सहयोग र सहकार्यको आवश्यकता छ । म सबैलाई एकजुट भएर अघि बढ्न शुभकामना दिन चाहन्छु । रासस

१६ औँ गणतन्त्र दिवसमा सैनिक मञ्चमा बिशेष समारोह (फोटोफिचर)

काठमाडौं – गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले बिशेष प्रदर्शन गरेको छ ।

 १६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिशेष प्रदर्शन गरेको हो । 

सो बिशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो ।

आर्थिक सर्वेक्षण : ‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा ६ हजार सात सय ४३ वडामा

काठमाडौँ – सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै लगेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेस गर्नुभएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार २०७९ फागुनसम्म रेडियो नेपालको प्रसारण पहुँच ९२.० प्रतिशत जनसङ्ख्यामा पुगेको छ ।

इन्टरनेट ग्राहकको घनत्व १३०.६४ प्रतिशत पुगेको छ भने डिजिटल टेलिभिजनको पहुँच ७२.० प्रतिशत घरधुरीमा पुगेको छ । २०७९ फागुनसम्म विभिन्न भाषाका गरी सात हजार ९४४ पत्रपत्रिका दर्ता भएका सर्वेक्षणमा उल्लेख । त्यसैगरी, नेपालको पुरानो सरकारी दैनिक पत्रिका गोरखापत्रबाट विभिन्न ३८ भाषामा साप्ताहिक रुपमा समाचार÷लेख रचना प्रकाशन भइरहेको छ ।

सूचना तथा सञ्चारको पहुँच वृद्धि गर्न सबै स्थानीय तहमा इन्टरनेट सुविधा पु¥याउने उद्देश्यले सुरु गरिएको ब्रोडब्यान्ड इन्टरनेट सेवा गत फागुनसम्ममा सबै स्थानीय तहका कार्यालय र ६ हजार सात सय ४३ वडा कार्यालयमा पुगेको छ । त्यसैगरी, चार हजार तीन सय ९० स्वास्थ्य केन्द्र र पाँच हजार तीन सय १८ सामुदायिक माविमा समेत ब्रोडब्यान्ड इन्टरनेट जडान कार्य सम्पन्न भएको छ । मध्यपहाडी राजमार्ग र आसपासका जिल्ला सदरमुकाम जोड्ने गरी सूचना महामार्ग निर्माण गर्ने कार्यअन्तर्गत फागुनसम्मका १२ हजार दुई सय ३८ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको छ ।

सगरमाथा आधार शिविर पदमार्ग, बराह क्षेत्र, अन्नपूर्ण पद मार्ग, मुक्तिनाथ मन्दिर परिसर, जानकी मन्दिर परिसर, पाथीभरा मन्दिर, हलेसी मन्दिर, गुरुद्वार, बाराको गढिमाई मन्दिर परिसर र पञ्च कास्मिरी (ताकिया मस्जिद) लगायतका धार्मिक तथा पर्यटकीयस्थलहरुमा निःशुल्क वाइफाइ हटस्पट सञ्चालनमा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । त्यसैगरी, नागरिक एपमा ५५ सरकारी सेवा आबद्ध हुनाका साथै एकीकृत एसएमएस गेटवेमार्फत ३७ निकायद्वारा जम्मा ६८ लाख २७ हजार दुई सय ७८ एसएमएस पठाइएको छ ।

रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका दोषी  रेशम चौधरीलाई गणतन्त्र दिवसको उपलक्क्षमा आममाफि दिने सरकारी तयारी विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको  छ ।

टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत)ले सर्वोच्च अदालतमा रिट दिएकी हुन् । बोहराले रिट सर्वोच्च अदालतमा पेस गरेको र अदालत प्रशासन अध्ययनको क्रममा रहेको जनाइएको छ । बोहराले यसअघि राष्ट्रपति कार्यालयलाई पनि चौधरीलाई आम माफी नदिन भन्दै निवेदन दिएकी थिइन् ।

चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिने गरी आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सार्वजनिक संस्थान : २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य

काठमाडौँ – सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ ।

सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८/७९ मा अस्तित्वमा रहेकामध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल भएका छन् भने १७ वटा संस्थानले घाटा व्यहोरेका छन् । दुईवटा संस्थानको कारोबार शून्य रहेको छ ।

हाल जनकपुर चुरोट कारखाना लिमिटेड बन्द छ भने विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय शुरुवाती अवस्थामै रहेको छ ।

समीक्षा प्रतिवेदनअनुसार नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरिण्ड म्याग्नासाइट प्रालि र बुटवल धागो कारखाना लिमिटेडको व्यावसायिक कारोबार भएको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले पनि व्यवस्थित रूपले गति लिन सकेको छैन । व्यावसायिक कारोबार नभए पनि यी तीन कम्पनीको प्रशासनिक खर्च हुने भएकाले नोक्सानी व्यहोरिरहेका छन् ।

गत आर्थिक वर्षसम्ममा नाफामा सञ्चालित २५ वटा संस्थानको खुद नाफा ३३ दशमलव ६५ प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी छ सय १० दशमलव ९६ प्रतिशतले बढेको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा दुई दशमलव चार प्रतिशतले कमी आएको देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय रू ४ खर्ब २२ अर्ब ४४ करोड १७ लाख रहेकोमा गत आर्थिक वर्ष २०७८/७९ मा ३६ दशमलव २२ प्रतिशतले वृद्धि भई रू ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ९४ दशमलव १५ प्रतिशतले कमी आई आर्थिक वर्ष २०७८/७९ मा नोक्सानी समेतलाई समायोजन गर्दा रू १ अर्ब ५४ करोड २० लाख कायम भएको छ । नाफा भएका संस्थानबाट आर्थिक वर्ष २०७८/७९ मा जम्मा रू ६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा आठ दशमलव ४३ प्रतिशतले कम हो ।

सार्वजनिक संस्थानहरुको सञ्चित नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा शून्य दशमलव ७४ प्रतिशतले कमी आई रू १ खर्ब १२ अर्ब ७२ करोड ७१ लाख पुगेको छ । सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा एक सय ७६ दशमलव ८ प्रतिशतले बढेर रू ६० अर्ब ३१ करोड ९२ लाख कायम भएको छ । सबै संस्थानको सञ्चित नाफामा ४२ दशमलव ९० प्रतिशतले कमी आई रू ५२ अर्ब ४० करोड ७८ लाख पुगेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा शेयरधनी कोष र नेटवर्थ अघिल्लो आर्थिक वर्षको तुलनामा शून्य दशमलव ७४ प्रतिशतले वृद्धि भई रू सात खर्ब ६१ अर्ब ३३ करोड २५ लाख पुगेको छ ।
समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा आठ दशमलव ९७ प्रतिशतले वृद्धि भई रू ६ खर्ब १८ अर्ब १६ करोड ४६ लाख पुगेको देखिन्छ ।

गत आर्थिक वर्षको तुलनामा शेयर लगानी चार दशमलव ५४ प्रतिशतले वृद्धि भई रू ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख पुगेको छ भने ऋण लगानी १४ दशमलव ४९ प्रतिशतले वृद्धि भई रू २ खर्व ८९ अर्व २३ करोड ७१ लाख पुगेको छ ।

सबै हिसाबले थलियो अर्थतन्त्र (पूर्णपाठ)

काठमाडौं – आइतबार संसदको दुवै सदनमा  अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले देशको अर्थतन्त्र  सबै हिसाबले थलिएकाे देखाएको छ ।

चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको विस्तार न्यून रहने अनुमान छ।  संघ र प्रदेशको चुनाव तथा बढ्दै गएको अनिवार्य दायित्वबाट चालु खर्चमा भएको वृद्धि र राजस्व असुलीमा आएको कमीको कारण स्रोत व्यवस्थापनमा कठिनाई थपिएकोले आर्थिक गतिविधिमा अपेक्षाकृत विस्तार हुन नसकेको डा. महतले बताएका छन् ।

चालु आवमा निर्माण, थोक तथा खुद्रा व्यापार लगायत औद्योगिक उत्पादनमा आएको कमीका कारण नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष ५.४६ प्रतिशतले आर्थिक वृद्धि भएको थियो ।

खासगरी रुस/युक्रेन युद्धको कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले नेपालको समग्र मूल्यस्तर उच्च रहन गएको सर्वेक्षणले भनेको छ ।

तीनै तहका सरकारको पुँजीगत खर्चमा आशातित वृद्धि हुन नसक्दा पुँजी निर्माण, रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिमा सुधार हुन सकेको छैन ।

वर्षे धानको उत्पादनमा भएको वृद्धिसँगै कृषि उत्पादनको वृद्धि सन्तोषजनक रहेतापनि हिउँदे वर्षा समयमा नहुँदा हिउँदे वालीमा प्रतिकुल प्रभाव पर्न गएको छ । थोक तथा खुद्रा व्यापार, निर्माण र घरजग्गाको कारोबारमा आएको शिथिलतासँगै सम्पूर्ण आर्थिक गतिविधिमा कमी आएको हुनाले उद्योग तथा सेवा क्षेत्रको विस्तार कम हुने अनुमान छ ।

नेपालको अर्थतन्त्रको संरचनामा परिवर्तन हुँदै गएको छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ भने गैर कृषि क्षेत्रको योगदान बढ्दै गएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत र गैर कृषि क्षेत्रको योगदान ७५.९ प्रतिशत रहने अनुमान छ ।

चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा सरकारी क्षेत्रको उपभोगको अनुपात घटेर पछिल्लो एक दशककै न्यून हुने अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादनमा सरकारी क्षेत्र र निजी क्षेत्रको उपभोगको अनुपात क्रमशः ५.४ प्रतिशत र ८६.३ प्रतिशत र गैरनाफामूलक संस्थाको उपभोगको अंश १.९प्रतिशत रहने अनुमान छ ।

सरकारी क्षेत्र, निजी क्षेत्र र गैरनाफामूलक संस्थाको उपभोगको संरचनामा खासै परिवर्तन आएको छैन् । चालु आर्थिक वर्षमा सरकारी क्षेत्रको उपभोग घट्ने र निजी क्षेत्र तथा गैरनाफामूलक संस्थाको उपभोग बढ्ने अनुमान रहेको छ ।

कोभिड १९ शुरु भएसँगै कुल ग्राहस्थ्य उत्पादनमा कुल राष्ट्रिय बचतको अनुपात क्रमशः घट्दै गएकोमा चालु आर्थिक वर्षमा भने सामान्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ३१.७ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्षमा यस्तो अनुपात २९ प्रतिशत रहेको थियो ।

अख्तियार आयोग प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गरिनुपर्छ

काठमाडौँ – सांसदहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि अख्तियार अनुसन्धान आयोग र सम्पत्ति सुद्धिकरण आयोगमा निष्पक्ष र स्वतन्त्र व्यक्ति नियुक्त गरिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले सुशासन कायम गर्न दुबै आयोगलाई अधिकार सम्पन्न कानुन बनाएर प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने उहाँहरुको भनाइ थियो ।

सांसद नरबहादुर विष्टले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष स्वतन्त्र व्यक्ति नियुक्त हुनुपर्ने बताउनुभयो । उहाँले निजामति कर्मचारीबाट अख्तियार प्रमुख नियुक्त हुन नहुने तथा सम्पत्ति सुद्धिकरणमा पनि स्वतन्त्र व्यक्ति नियुक्त गरेर अधिकार सम्पन्न बनाइनुपर्ने बताउनुभयो ।

सांसद रामचन्द्र राईले सार्वजनिक संस्थान सधैँ घाटामा हुने गरेको भन्दै ती संस्थालाई प्रभावकारी रुपमा सञ्चालन गरी नतिजामुखी बनाइनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले नेपाल टेलिभिजन स्याटेलाइटमा गइसक्दा पनि दूरदराजका गाउँसम्म पुग्न नसकेको उल्लेख गर्दै ध्यानाकर्षण गराउनुभयो ।

सांसद कमला पन्तले संसद्लाई मर्यादित र प्रतिस्पर्धी बनाई मुलुकको सुशासन प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिनुभयो । सांसद उदयबहादुर बोहोराले भ्रष्टाचार देशको सङ्क्रामक रोग हो भन्दै भ्रष्टाचार र अनियमितताको चुनौती तोडेर सुशासनको दिशामा मुलुकलाई अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले हालसम्म भएका सबैखाले भ्रष्टाचारको छानबिन गर्न माग गर्नुभयो ।

सांसद वामदेव गौतमले नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा जोडिएका सबैलाई छानबिन गरेर कानुनी दायरामा ल्याउन माग गर्नुभयो । सांसद भगवती न्यौपानेले स्वास्थ्यकर्मीले लामोसमयदेखि तलब भत्ता नपाएको गुनासो आएको भन्दै उनीहरुलाई तलब भत्ताको व्यवस्था गर्न अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद युवराज शर्माले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक दलहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सांसद गोमादेवी तिमिल्सिनाले मुलुकको हित र सुशासन प्रवर्द्धनमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । सांसदहरु भुवनबहादुर सुनार, तुलसाकुमारी दाहाल, गङ्गाकुमारी बेलबासेले नीति तथा कार्यक्रममार्फत समेटिएका कार्यक्रमलाई व्यवहारिक कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता

काठमाडौँ – आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ । मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएको कारण वित्तीय पहुँच वृद्धि हुँदै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । शाखा विस्तारसँगै बैंङ्कि कारोबार गर्ने जनसंख्या उल्लेख्य बढेको देखिएको छ ।

“विक्रम सम्वत २०७९ फागुनसम्ममा बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता चार करोड ९२ लाख पाँच हजार, कर्जा खाता १८ लाख ५४ हजार, मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ६५ हजार र इन्टरनेट बैंकिङ सेवाका प्रयोगकर्ता १७ लाख ७९ हजार पुगेको छ”, आर्थिक सर्वेक्षणमा भनिएको छ, “चालु आर्थिक वर्षको फागुनसम्म २५ हजार कर्जा खाता र ४२ लाख ३३ हजार निक्षेप खाता थप भएका छन् ।”

पछिल्ला वर्षमा मर्जर तथा प्राप्तिमार्फत बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि शाखा विस्तार र वित्तीय पहुँच बढ्दै गएको छ । डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

क्युआर कोडमार्फत गरिने भुक्तानीमा उल्लेख्य वृद्धि भएको छ भने विद्युतीय भुक्तानीका अन्य उपकरणमार्फत हुने कारोबारमासमेत बढोत्तरी भएको छ । कोभिड–१९ को असरबाट अर्थतन्त्र क्रमिक रूपमा पुनरूत्थान हुँदै गइरहेकोमा रुस–युक्रेन युद्धको असर र गत आर्थिक वर्ष आयातमा तीव्र वृद्धि हुँदा चालु आर्थिक वर्षमा नेपालको बैकिङ प्रणालीमा तरलता तथा लगानीयोग्य साधनमा कमी आई ब्याजदर बढेको छ ।

वित्तीय प्रणालीमा २०७९ फागुन मसान्तमा २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बंैक गरी कूल एक सय २० बंैक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् । यसैगरी, दुई पुनरबीमा कम्पनीसहित ३६ बीमा कम्पनी, ३१ हजार तीन सय ७३ सहकारी संस्थाका साथै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, सामाजिक सुरक्षा कोष, हुलाक बचत बैंक र म्युचुअल फण्डसमेत सञ्चालनमा छन् ।

गत फागुन मसान्तसम्ममा लघुवित्तसमेत बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार छ सय २९ पुगेको छ । बैंक तथा वित्तीय संस्थाको शाखाका आधारमा प्रति शाखा औसत जनसङ्ख्या दुई हजार पाँच सय १० रहेको छ । यस्तो जनसङ्ख््या २०७८ फागुनमा दुई हजार पाँच सय ७२ रहेको थियो ।

नेपालको वित्तीय प्रणालीको सम्पत्ति तथा दायित्व संरचनामा बैंकिङ क्षेत्रको हिस्सा उच्च रहेको छ । २०७९ पुस मसान्तमा वित्तीय क्षेत्रको कूल सम्पत्ति तथा दायित्व संरचनामा बैंक तथा वित्तीय संस्थाको अंश ८६ दशमलव छ प्रतिशत रहेको छ ।

वित्तीय क्षेत्रअन्तर्गत नेपाल राष्ट्र बैंकको अंश १४ दशमलव ७ प्रतिशत र वाणिज्य बैंकको अंश ५८ दशमलव ८ प्रतिशत रहेको छ भने अन्य वित्तीय संस्थाको अंश १३ दशमलव एक प्रतिशत प्रतिशत रहेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात २०७८ पुसमा एक दशमलव ३१ प्रतिशत रहेकोमा २०७९ पुसमा दुई दशमलव ६३ प्रतिशत रहेको छ ।

विसं २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कूल निक्षेपमा तरल सम्पत्तिको अंश २४ दशमलव ३० प्रतिशत, नगद तथा बैंक मौज्दातको अंश सात दशमलव १६ प्रतिशत र कुल निक्षेप तथा प्राथमिक पुँजीमा कर्जाको अंश ८५ दशमलव ६० प्रतिशत रहेको छ । जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पुँजी र कुल पुँजीको अनुपात क्रमशः १० दशमलव ०९ प्रतिशत र १२ दशमलव २९ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिको प्रक्रिया जारी रहेको छ । बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति हुने प्रक्रिया सुरु भएपश्चात् २०७९ फागुनसम्म दुई ५७ बंैक तथा वित्तीय संस्था यस प्रक्रियामा सामेल भएका छन् ।

सोमध्ये एक सय ८४ संस्थाको इजाजत खारेज भई ७३ संस्था कायम भएका छन् । चालु आर्थिक वर्षको फागुनसम्म १० वाणिज्य बैंक मर्जर तथा प्राप्तिको प्रक्रियामा संलग्न भई वाणिज्य बैंकको सङ्ख्या २०७९ फागुनसम्म २६ बाट २१ मा झरेको छ । कोभिड-१९ को प्रभाव न्यून भएसँगै आर्थिक वर्ष २०७७/७८ देखि तीव्ररूपमा बढ्दै गएको निजी क्षेत्रतर्फको कर्जाको विस्तार पछिल्लो समय न्यून दरमा वृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा २६ दशमलव ३ प्रतिशतले बढेको निजी क्षेत्रतर्फको कर्जा आर्थिक वर्ष २०७८/७९ मा १३ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ भने आर्थिक वर्ष २०७९/८० को फागुनसम्म चार दशमलव छ प्रतिशतले वृद्धि भएको छ ।

प्रभु साहद्धा शान्ति सुरक्षा कामय गर्न माग

काठमाडौं – प्रतिनिधिसभा सदस्य प्रभु साहले रौतहटमा लगातार व्यक्ति हत्या भएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उनले रौतहत सदमुकाम गौरमा गौर नगरपालिका–७ सिसवाका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको पाँच दिनमैै देवाही गोनाही नगरपालिका करुनियाका शेखÞ तैयबको गोली प्रहारबाट हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

शान्ति सुरक्षाको माग गर्दै उनले दोषी पत्ता लगाई कानुनी कारबाही गर्न पनि माग गरेका छन् । 

सगरमाथाको कीर्तिमानी आरोही बुढामगरलाई एमालेको सम्मान

काठमाडौँ – नेकपा एमालेले दुई खुट्टा गुमाएर सगरमाथाको कीर्तिमानी आरोही गर्नुभएका हरि बुढामगरलाई सम्मान गरेको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बिच एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले बुढामगरलाई सम्मान गरेका हुन् । बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेक्नुभएको थियो । उहाँले सगरमाथा आरोहणमा घुँडाभन्दा मुनी अङ्ग बिच्छेद भएका व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गर्नुभएको छ ।

बुढामगरलाई सम्मान गर्दै एमाले अध्यक्ष ओलीले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गर्नु सबैको प्रेरणाको स्रोत भएको बताउनुभयो । मानिसले साहस र संल्कप गर्‍यो भने असम्भव विषय पनि सम्भव हुने उहाँले बताउनुभयो । उहाँले सरोकार नै स्थानमा गएर काम गर्नुपर्ने र खुट्टा गुमाउनुपर्ने अवस्था रहेको भन्दै विदेशको सैनिकमा भर्ना भएका नेपालीहरूका विषयमा सरकारले गम्भीरताका साथ वार्ता गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कीर्तिमानी आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिहरूलाई दयामाया भन्दा पनि अवसर दिनुपर्ने बताउनुभयो । उहाँले सगरमाथा आरोहणसँगै नेपाल र नेपालीको शिर सगरमाथा जस्तै उच्च राख्न सकेको अनुभव भएको धारणा राख्नुभयो । अपाङ्गता जागरणका लागि आगामी दिनमा काम गर्ने उहाँको भनाइ छ ।

बुढामगरले बाध्यताका कारण १५ वर्ष ब्रिटिसको जागिर खानुपरेको भन्दै अव देशको सेवा गर्ने बताउनुभयो । रोल्पा घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाउनुपरेको थियो ।