`

प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति गठन गरिएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले प्रस्ताव गरिएका समिति सदस्यहरुको नामलाई बहुमतले सहमति जनाएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् । 

समिति सदस्यमा ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल,  पदम गिरी, पशुपतिशमशेर जबरा, प्रकाश अधिकारी, महेशकुमार बर्ताैला, रमेश लेखक, लिलानाथ श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । उनीहरुको नामलाई प्रतिनिधिसभाले बहुमतसहित सहमति जनाएको हो । 

विराटनगरमा पहिचान आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौँ – कोशी प्रदेशको नामकरण विषयमा असहमति जनाउँदै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ ।

आजबाट सुरु हुने प्रदेशसभाको बैठकलाई अवरोध गर्ने उद्देश्यले भएको सो आन्दोलनमा पक्षधर र प्रहरीबीच विराटनगरस्थित देवकोटा चोकमा दिउँसो झडप भएको हो ।

आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि झडपको स्थिति बनेको प्रहरीले जनाएको छ । प्रहरीले भिड नियन्त्रणमा लिन पानीको फोहरा हानेको छ भने अश्रुग्याँस समेत प्रहार गरेको छ ।

प्रदेश नामकरणपछि आज पहिलोपटक प्रदेश सभा बैठक बस्दै छ । त्यसैलाई लक्षितगरी उनीहरूले आन्दोलन चर्काएका हुन् ।

तर, यसअघि शनिवारदेखि नै स्थानीय प्रशासनले विराटनगरमा निषेधाज्ञा जारी गरिसकेको छ ।

अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो

काठमाडौँ – नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित निकाल्यो ।

हारसँगै उज्वेकिस्तान भने चौथो स्थानमा रह्यो । त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटाँै, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ स्थानमा रह्यो ।

खेलमा पहिलो सेट उज्वेकिस्तानले २५-२० ले आफ्नो पक्षमा पा¥यो । त्यसपछि नेपालले खेलको दोस्रो सेट २५-१६ ले जितेर खेलमा फर्किएयो । यसैगरी खेलको तेस्रो सेट २५-१५ र चौथो सेट २५-१३ ले जित्यो ।

प्रतियोगिताको उपाधिका लागि आज भारत र काजकिस्तानबीच भिडन्त हुनेछ । उक्त खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

इजाजत बिना सवारी साधान चलाउनेमाथि यातायात व्यवस्था कार्यालयको निगरानी

जाजरकोट – भेरी करिडोर तथा अन्य सडकमा इजाजत बिना यातायात सेवा सञ्चालन गरेको पाइएपछि यातायात व्यवस्था सेवा कार्यालयले निगरानी बढाएको छ । 

रुकुमपश्चिम, जाजरकोट, सल्यान र डोल्पालाई केन्द्रमा राखी चौरजहारीमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि तीव्ररुपमा सेवा दिन थालिएको हो । भेरी करिडोरको जाजरकोट–डोल्पा खण्ड, जाजरकोट खलङ्गा हुँदै कुशे, नलगाड हुँदै बारेकोट, सल्लीबजार कैनकाँडा हुँदै चौरजहारी, मुसिकोट राडीज्यूला सडक, मध्यपहाडी लोकमार्गलगायत आधा दर्जन सडकमा गुड्ने यातायातका साधनमा निगरानी गर्न थालिएको छ । ठाउँठाउँमा कार्यालयको टोली पुगेर सडकसम्बन्धी सचेतना जगाउने कामसमेत गरिरहेको कार्यालय प्रमुख आनन्द चपाइँले बताउनुभयो । 

कार्यालय स्थापना भएपछि चौरजहारीबाट सबै खालका सेवा सञ्चालन हुन लागेको उहाँको भनाइ थियो । कार्यालय प्रमुख चपाइँका अनुसार भेरी करिडोरभित्र रहेको जाजरकोट खलङ्गाबाट तल्लुसम्म ६५ किलोमिटरमा चल्ने सवारीसाधनमा चालकले  अनुमति नलिइ चलाएको अवस्था छ । तल्लुबाट डोल्पासम्म चल्ने सवारीसाधनसमेत अनुमति बिनानै सञ्चालन भएको उहाँले बताउनुभयो । सवारीसाधनमा आलोपालो लगाएर यात्रुलाई हैरान बनाएको अवस्था छ । कार्यालय प्रमुख चपाइँ डोल्पा जाँदा उहाँकै  गाडीलाई समेत निगरानी गरिएको थियो । कसको अनुमतिमा डोल्पा आएको भन्दै युवाले धम्की दिएका थिए । अहिले पछिल्लो समय चारै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर यातायातमा देखिएको मनोमानी रोक्ने अभियानमा आफू लागेको कार्यालय प्रमख चपाइँले बताउनुभयो ।

इजाजतपत्र  नै नलिएर अधिकांश ठाउँमा सवारीसाधन चलिरहेको उहाँको भनाइ थियो  । योभन्दा अगाडि सुर्खेत गएर सवारीसाधन दर्ता, नामसारी, लाइसन्स नवीकरणका काम गर्ने गरिएकामा अब चौरजहारीबाटै सबै काम हुने गरेको छ । भेरी करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गको बीचमा रहेको चौरजहारीमा कार्यालय सञ्चालनमा आएपछि सेवा लिनेको ठूलो भीड लागेको छ । अब ट्रायल दिने कामसमेत छिटै सञ्चालन हुने बताएको छ ।
 
नयाँ सहर निर्माण कार्य जारी रहेको चौरजहारीबाट यातायात व्यवस्था कार्यालय स्थापनासँगै सबैलाई सेवा लिन सहज भएको छ । धेरै खर्च गरेर सुर्खेत जानुपर्ने अवस्था अन्त्य भएको छ । यातायात सेवामा जथाभावी गर्नेविरुद्ध निगरानी बढिरहेको छ । 

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित

काठमाडौँ – संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ ।

संघीय संसदको आज बसेको संयुक्त बैठकले बहुमतले नियमावली पारित गरेको हो । नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले आजको संयुक्त बैठकमा उक्त नियमावली पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो ।

आजै संघीय संसदको संयुक्त बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल भएको थियो । दफाबार छलफलका क्रममा संशोधन प्रस्ताव गर्नुभएका सांसदहरु खिमलाल देवकोटा, जितेन्द्र नारायण देवले राख्नुभएको संशोधन प्रस्ताव फिर्ता लिनु भएको थियो भने अमरेशकुमार सिंह, प्रभु साह, सुमना श्रेष्ठ, प्रेम सुवाल, डा विमला राई पौड्यालले आफ्नो संशोधन फिर्ता लिनुभएन ।

संयुक्त सदनबाट नियमावली पारित गर्नका लागि निर्णयार्थ प्रस्तुत भएकोमा बहुमतले पारित भएको घोषणा सभामुखले गर्नुभएको हो ।

‘साना दल र स्वतन्त्र सांसदलाई संसद्मा उपेक्षा गरियो’

काठमाडौँ – सङ्घीय संसद्मा प्रस्तुत भएको सङ्घीय संसद् संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदाले साना दल र स्वतन्त्र सांसदलाई उपेक्षा गरेको सांसदहरुले बताउनुभएको छ ।

‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफलका क्रममा सांसदहरुबाट यस्तो धारणा आएको हो ।

सांसद खिमलाल देवकोटाले साना र स्वतन्त्र दलहरुलाई निषेध गर्ने गरी यो नियमावली आउन लागेकाले त्यसलाई संशोधन गर्न आवश्यक रहेको बताउनुभयो । “यो नियमावली स्वतन्त्र र साना दललाई निषेध गर्ने गरी त आएको छ नै, राष्ट्रियसभालाई पनि नजरअन्दाज गरिएको छ । परिमार्जित यो नियमावली साविकको भन्दा उत्कृष्ट हुनुपर्ने हो । तर मैले त्यस्तो देख्दिन”, उहाँले भन्नुभयो ।

नियमावलीको नियम २६ मा बिना संसदीय सुनुवाइ संवैधानिक परिषद्का पदाधिकारी लगायतको नियुक्ति स्वतः सदर हुने किसिमको पुरानै व्यवस्था कायम गरिएकोमा त्यसलाई पनि संशोधन गरिनुपर्ने बताउनुभयो ।

“बिना सुनुवाई नियुक्ति हुनसक्ने भन्ने नियमावलीको व्यवस्थाले हाम्रो शासन व्यवस्थालाई कमजोर बनाएको छ । विगतमा यो विषयमा सबैभन्दा बढी भएको थियो । अहिले दलहरुले ध्यान पु¥याएको देखिएन”, सांसद देवकोटाले भन्नुभयो । सङ्घीयता कार्यान्वयनको प्रभावकारीता देखिने गरी संसद्का क्रियाकलाप सञ्चालन गरिनुपर्ने पनि उहाँले जोड दिनुभयो ।

सांसद अमरेश कुमार सिंहले संसद्मा सबै व्यक्ति र विचारको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । सरकारको उपस्थिति र जनतालाई सेवा सुविधा दिने विषयमा एकाधिकार जस्तो चल्दा त्यस्तो विषयमा संसद्मा पनि कुरा उठाउन दलहरुले बन्देज लगाउने गरेको उहाँले बताउनुभयो ।

“संसद सङ्ख्याको मात्र प्रतिनिधित्व गर्ने मात्र गर्ने थलो होइन, यो विचारको पनि प्रतिनिधित्व गर्ने थलो हो । दलहरुले आफ्ना सांसदलाई कसरी बोल्न रोक्छन् भन्ने म भुक्तभोगी हुँ । जनताको सांसद होइन दलको सांसद बन्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । संसदीय समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व हुने गरी गठन गरिनुपर्ने उहाँको भनाइ छ ।

नियमावली मस्यौदामाथि संशोधन प्रस्ताव राख्नुहुँदै सांसद जीतेन्द्रनारायण देवले बढी प्रजातान्त्रिक, समावेशी र संविधानसम्मत बनाउन राष्ट्रियसभामा प्रतिनिधित्व रहेका सबै दलका सांसदबाट संयुक्तरुपमा संशोधन प्रस्ताव राखिएको बताउनुभयो ।

“प्रतिनिधिसभा र राष्ट्रियसभाको एकीकृत स्वरुप संघीय संसद हो । यो कुरालाई हामीले संसदका सबै गतिविधि र क्रियाकलापमा स्थापित गर्ने गरी नियमावली बनाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले संसदीय सुनुवाई समितिमा १२ र तीन जना सदस्यको अनुपात कायम गरिएकोमा त्यो गणितीय रुपमा राम्रो नभएको बताउनुभयो । “त्यो राजनीतिक, दलगत र क्लस्टरगत रुपमा पनि राम्रो भएन । यो समितिमा ११ र चार हुने गरी सदस्यहरुको अनुपात कायम गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

संघीय संसदको संयुक्त बैठकमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले आलोपालो गर्नसके त्यसले दुवै सभालाई उत्तिकै महत्व दिएको सन्देश जाने उहाँको भनाइ छ । यो व्यवस्थालाई पनि नियमावलीमा राख्नुपर्ने सुझाव उहाँको छ ।

सांसद प्रभु साहले नियमावलीको मस्यौदामा राखिएको समिति गठनसम्बन्धी व्यवस्थामा साना दललाई उपेक्षामा राख्ने गरी विषय समावेश गरिएको बताउनुभयो । “कुन दल र कुन व्यक्ति सहभागी हुन्छ भन्ने प्रश्नसँग मात्र यो विषय सीमित छैन । साना दल त्यसमा नपर्ने भएपछि मैले संशोधन हालेको भन्ने धेरैलाई लागेको होला । तर यो प्रश्न व्यक्ति र कुनै साना दलको मात्र होइन । प्रश्न भनेको हामीले अभ्यास गरिरहेको व्यवस्थाको हो”, साहले भन्नुभयो । उहाँले प्रतिस्पर्धा भनेको लोकतन्त्रको आत्मा भएको भन्दै निषेधको राजनीति निरंकुशताको रुप भएको बताउनुभयो । उहाँले योग्य र राम्रो व्यक्ति भए साना दलका सांसद पनि समावेश हुनुपर्ने माग गर्नुभयो ।

आज पनि घट्यो सुनको मूल्य

काठमाडौ – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य घटेको छ । 

नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य घटेको हो । गतसाताको बिहीबारदेखि घट्न थालेको सुनको मूल्य आज आइतबारसम्म जारी रहेको छ । 

आज आइतबार तोलामा २०० रुपैयाँले सुनको मूल्य घटेर  छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६०० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख ७ हजार ८०० रुपैयाँ कायम थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा भइरहेको छ ।

 रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौँ – कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई आममाफीका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीको लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
चौधरीलाई सजाय माफी गर्ने वा नगर्ने भन्नेबारे गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त सिफारिस गरेको हो । चौधरीलाई सजाय माफी दिने विषयमा सत्ता गठबन्धनमा यसअघि नै सहमति भइसकेको थियो ।

चौधरीले टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका छन् ।

जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ । धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

सर्वोच्च अदालतले २ जेठ, २०८० मा मात्र रेशमलाई जन्मकैद सजाय गर्ने उच्च अदालत, दिपायलले गरेको फैसला सदर गरेको थियो । सर्वोच्च अदालतको फैसलालगत्तै त्यसविरुद्ध पुनरावलोकनमा जाने भनी वक्तव्य दिएका चौधरीले संविधानको धारा २७६ अनुसार माफी मिनाहाको बाटोबाट कैदमुक्त हुने बाटो रोजेका थिए ।

कोसी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने ३० जना पक्राउ  

विराटनगर –  प्रदेश नं १ को नाम कोसी प्रदेश राखेको विरुद्धमा प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने ३० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आजबाट सुरु हुने प्रदेशसभाको बैठकलाई अवरोध गर्ने उद्देश्यले भएको सो आन्दोलनलाई निस्तेज पार्न प्रहरीले आन्दोलनकारीलाई पक्राउ गरेको हो ।

कोसी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार प्रदेशसभा सचिवालय आसपास, देवकोटा चोक र अस्पताल चोकबाट आन्दोलनकारीलाई पक्राउ गरिएको हो ।

निषेधित क्षेत्र तोडेर अघि बढ्ने प्रयास गरेपछि उनीहरूलाई रोक्नका लागि पक्राउ गरिएको हो । पक्राउ परेकाको साथबाट गुलेली र ढुङ्गा बरामद भएको प्रहरीले जनाएको छ ।

संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु

काठमाडौँ – ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सुरु भएको छ । आज बसेको संघीय संसदको संयुक्त बैठकमा नियमावलीको उक्त मस्यौदामाथि छलफल सुरु भएको हो ।

नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले आजको संयुक्त बैठकमा मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सदनमा गरियोस् भनि प्रस्ताव पेस गर्नुभएको छ । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै नियमावलीको मस्यौदा माथिको छलफल सुरु भएको हो ।

सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा तयार पार्न समिति गठन गर्न प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई समर्थक रहेको मस्यौदा समिति गठन प्रस्ताव प्रतिनिधिसभाबाट जेठ १ गते पारित भएको थियो ।

नियमावली मस्यौदा तयार पार्ने प्रयोजनका लागि प्रतिनिधि सभाबाट १६ जना सदस्य रहनुभएको थियो । त्यस्तै, जेठ ५ गतेको राष्ट्रियसभाको बैठकले तीन जना सदस्य थपेर समितिलाई पूर्णता दिइएको थियो । सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०७५ लाई समयानुकूल परिमार्जन गरी मस्यौदा तयार पार्न मस्यौदा समितिलाई काम शुरु गरेको मितिले सात दिनको समय तोकिएको थियो ।

योगेश भट्टराईको आरोप : मन्त्रिपरिषद्ले संसद्को अधिकारमाथि हस्तक्षेप गर्न खोज्यो

काठमाडौँ – नेकपा एमाले सचिव योगेश भट्टराईले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय संसद्को अधिकारमाथि हस्ताक्षेप भएको बताएका छन् ।

आइतबार आफ्नो सामाजिक सञ्जालमा एक पोष्ठ गर्दै उनले कानुन निर्माणको सबै अधिकार संसद्को हुने हुँदा मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडलसमक्ष सिफारिस गर्ने निर्णयले संसद्‌को अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘विधेयक सरकारले संघीय संसद्‌मा पेस गर्ने हो । संसद्‌बाट पास भएपछि सभामुख वा अध्यक्षले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले प्रमाणीकरणको सूचना संसद्लाई दिनुपर्छ । यसरी विधेयक ऐन बन्छ । विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार संविधानको कुनै पनि धाराले मन्त्रिपरिषद्लाई दिएको छैन । धारा ११४ अनुसार अध्यादेशको हकमा मात्र त्यो अधिकार सरकारलाई छु ।’

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन्,

नागरिकता बिधेयक र राष्ट्रपतिको भूमिका

हालै मन्त्रिपरिषदले नागरिकता सम्बन्धि पुरानो बिधेयकलाई नै प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेपछि बिधेयक प्रमाणीकरणको संबैधानिक पक्षका बारेमा बहस शुरू भाएको छ ।

नेपालको संबिधानको धारा ११३ को उपधारा १-५ मा बिधेयक उत्पत्ति हुने र प्रमाणीकरण गरिने प्रकृयाका बारेमा उल्लेख भाएको छ ।

बिधेयक सरकारले संघीय संसदमा पेश गर्ने हो । संसदबाट पास भएपछि सभामुख वा अध्यक्षले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्ने र राष्ट्रपतिले प्रमाणीकरणको सूचना संसदलाई दिनुपर्छ । यसरी बिधेयक ऐन बन्छ ।

बिधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार संबिधानको कुनै पनि धाराले मन्त्रिपरिषदलाई दिएको छैन । धारा ११४ अनुसार अध्यादेशको हकमा मात्र त्यो अधिकार सरकारलाई छ ।

बिधेयक र अध्यादेश अलग हुन र तिनको उत्पत्ति र प्रमाणीकरण गर्ने प्रकृया र कार्यक्षेत्र अलग रहेको कुरा बुझ्नु पर्दछ ।

सरकारले संसदमा पेश गरेपछि बिधेयकको प्रकृयामाथि सम्पूर्ण अधिकार संसदको हुन्छ । यहाँसम्म की सरकारले आफू खुशी बिधेयक फिर्ता लिन पनि पाउदैन त्यसका लागि पनि संसदको अनुमति चाहिन्छ । सरकारले हालै गरेको निर्णय संसदको अधिकारमाथिको हस्तक्षेप हो ।

प्रधानमन्त्रिलाई राष्ट्रपतिको सल्लाहकारका रुपमा पनि बुझिन्छ । स्वंयम प्रधानमन्त्रिले राष्ट्रपतिलाई असंबैधानिक काम गर्न उक्साउनु आँफैमा गम्भिर बिषय हो ।

संबिधानको धारा १११ को उपधारा १० अनुसार संसदको कार्यकाल सकिएर अर्को संसद आएपछि अधिल्लो कार्यकालमा रहेका सम्पूर्ण बिधेयकहरु स्वत: निष्क्रिय हुन्छन । संबिधानको यो ब्यबस्था राष्ट्रपति महोदयले बुझ्नु भएकै होला ।

नागरिकता जस्तो संबेदशिल बिषयमा राजनीतिक धुर्बिकरण गर्नु हुन्न । वास्तविक नेपाली नागरिकताबाट बन्चित हुनुहुदैन र कुनै पनि गैर नेपालीले नेपालको नागरिकता पाउनु हुँदैन यो एमालेको स्पस्ट धारणा हो । आमाको नामबाट नागरिकता र संघीय पहिचान खुल्ने कुरालाई कानुनी प्रबन्ध गर्न एमालेले खोजेको हो । बैबाहिक अंगीकृतका हकमा समय सीमा तोकौ भन्ने हाम्रो कुरा हो । यि लगायत तत्कालिन राष्ट्रपतिले संसदको ध्यानाकर्षण गराइएका १५ बुंदामा मजाले छलफल गर्ने हो भने नागरिकताको बिषयमा राष्ट्रिय सहमति बन्न सक्छ । एमाले त्यसका लागि तयार छ र पहल पनि लिने छ ।

तसर्थ:

राष्ट्रपतिलाई असंबैधानिक काम गर्न नउक्साउ ।

राष्ट्रपतिलाई बिबादभन्दा माथि राखौ ।

सरकारले नागरिकता बिधेयक संसदमा पेश गर ।

बिगतमा भएका छलफलका बिषय र तत्कालिन राष्ट्रपतिद्वारा ध्यानाकर्षण गरेका बिषयमा सहमति निर्माण गरौ ।

सहमति बनाएर संसदको छोटो प्रकृयाबाट नागरिकता बिधेयक परित गरौ ।

सरकार यसरी आउँछ भने एमाले सहयोग गर्न तयार छ ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ –  मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ ।  

बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने बताइएको छ ।  

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाँदै छन् ।  

भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि लिदैँ

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि लिने तयारी भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा आरोपीहरूको बयान लिने तयारी गरीएको हो । यसअघि शुक्रबार केशव प्रसाद दुलाल र सागर राईको बयान सकिएको थियो ।

अदालतमा बयान पुरा हुन कम्तीमा ६ दिन लाग्ने बताइएको छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा १७ जना थुनामा छन् ।

आर्थिक समस्या समाधानमा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : शर्मा

काठमाडौँ – सांसद विश्वप्रकाश शर्माले मुलुकको आर्थिक चुनौतीलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शर्माले भन्नुभयो, “हिजो परिवर्तनका लागि एक ठाउँमा उभिएका राजनीतिक दलहरू आजको आर्थिक चुनौतीलाई पार लगाउन एक ठाउँ उभिन जरुरी छ । गणतन्त्र १५ वर्ष पुग्दै गर्दा आत्मसमीक्षा गरेर हामीले यसलाई आत्मसाथ गर्नुपर्छ।”

उहाँले नीति तथा कार्यक्रमले नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । “भौतिक प्रगतिको रटानले मात्रै हामीलाई भ्यूटावर खडा गर्न उस्काउँछ तर मान्छे बिर्साउँछ । भ्यूटावरका लागि रु डेढ अर्ब छुट्याउँदै गर्दा धनुषामा डेढ सय रुपैयाँको स्लाइनपानी लाउनसमेत नपाएर राजु सदाको मृत्यु भइरहेको छ”, उहाँले भन्नुभयो ।

सांसद शर्माले २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोली अनुसन्धान सुरु गर्नुभयो । सांसद शर्माले झापाको दमकमा रहेको सुकुम्बासीको समस्या समाधान गर्न आग्रह गर्नुभयो । उहाँले सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउन मागसमेत गर्नुभयो ।

पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै सो सम्बन्धमा सरकारको धारणा राख्दै उहाँले यस विषयमा आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने बताउनुभयो । छानबिनमा सरकारको सहयोग रहने उहाँको भनाइ छ ।

“कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सदनमा व्यक्त विचार हुनु उचित होइन, यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन पनि रहेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । जलहरीलगायत क्षेत्रमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोष भएकाले सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद नरहेको उहाँको भनाइ छ ।

बैठकमा सभामुख देवराज घिमिरेले यही जेठ १० गते नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद लेखनाथ दाहालले प्रयोग गर्नुभएको विचारभित्र ‘स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनुभयो ।

डेङ्गुबाट बच्न मन्त्रालयको आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो । 

मन्त्रालयले एक सूचना जारी गर्दै डेङ्गुको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । 

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनसमेत आग्रह गरेको छ । “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा भएर निस्कन्छ र वयस्क लार्भा लामखुट्टे बन्छ”, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले भन्नुभयो ।

उहाँले अहिले पानी परिरहेकाले सचेत रहन सबैलाई आग्रह गर्नुभयो । “दैनिक पानी परिरहेको छ । पानी जम्मा भई लामखुट्टेले फुल पार्दछ”, उहाँले भन्नुभयो, “सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ । डेङ्गुको सङ्क्रमणबाट बच्न सरसफाइ गर्न आवश्यक छ ।”

 रोग नियन्त्रण शाखाका प्रमुख डा दाहालका अनुसार सन् २०२२ सम्ममा ५४ हजार छ सय ३० जनामा डेङ्गु देखिएकामा ८८ जनाको मृत्यु भएको थियो । गत पुस १५ देखि हालसम्म सात सय एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । 

मन्त्रालयले हरेक शुक्रबार डेङगी विरुद्धका अभियान सञ्चालन गर्न पनि आग्रह गरेको छ । मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरिपरि सरसफाइ अभियान सञ्चालन गर्न आग्रह गरेको हो । 

सामान्य प्रकारको डेङ्गुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि जस्ता लक्षण देखा पर्दछन् । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ ।  

मन्त्रालयका अनुसार सन् २००६ मा ३२,  सन् २०१० मा नौ सय १७, सन् २०१३ मा छ सय ८६, सन् २०१६ मा एक हजार पाँच सय २७, सन् २०१७ मा दुई हजार एक सय ११, सन् २०१८ मा आठ सय ११ र सन् २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । सन् २०२० मा पाँच सय ३० र सन् २०२१ मा पाँच सय ४० जना डेङ्गुका बिरामी देखिएका थिए ।

मकालु बेस क्याम्पमा एकको मृत्यु

किमाथाङ्का – सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए । विष्टले विदेशी टोलीको भरिया काम गर्दै आउनुभएको थियो । “उहाँ मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिडेका थिए”, वडाध्यक्ष शेर्पाले भन्नुभयो । विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिनको पैदल दूरीमा पर्दछ । घटनाका बारेमा आज बिहान ११ बजे जिल्ला प्रहरी कार्यालमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताउनुभयो ।

हेटौँडामा मिटरब्याजीविरुद्ध साठी उजुरी

बागमती – मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालय हेटौँडामा मिटरब्याजविरुद्ध ६० उजुरी परेका छन् । सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिने आह्वान गरेपछि ६० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

कार्यालयका सहायक प्रजिअ नेत्रप्रसाद शर्माका अनुसार हेटौँडा उपमहानगरपालिकाबाट २६, मकवानपुरगढी गाउँपालिकाबाट छ, भीमफेदीबाट १२, कैलाश गाउँपालिकाबाट तीन, इन्द्रसरोवर गाउँपालिकाबाट तीन र जिल्लासँग सम्बन्धित काठमाडौँबाट दुई र ललितपुरबाट एकजनाको उजुरी परेको छ ।

“मिटरब्याजको धन्दा सञ्चालन गर्ने समूहबाट पीडित भएको भन्दै सर्वसाधारणले उजुरी गरेका छन्”, उहाँले भन्नुभयो । उजुरी दर्ता गर्ने समय यही जेठ १४ गते सम्म तोकिएको छ । उजुरी दर्ता अवधि सकिएपछि दुवै पक्षलाई बोलाएर छलफल सुरु गरिने जिल्ला प्रशासन कार्यालयको मुद्दा दर्ता शाखाले जनाएको छ ।

सिके राउत र भाजपा बिदेश प्रमुख बिच भेटवार्ता

काठमाडौं – जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीकाविदेश विभाग प्रमुख विजय चौथाइवाले बिच भेटवार्ता भएको छ ।

केन्द्रिय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत शनिवार भारतको राजधानी नयाँदिल्ली पुग्नुभएकाे  थियाे । 

अध्यक्ष राउत र भाजपा बिदेश बिभाग प्रमुख बिच आपसी सबन्धका बारेमा भेटवार्ता भएको जनाईएको छ । सो भेटमा दुई देश बिचको सबन्ध र दुई पार्टी बिचको सबन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो । सो भ्रमण सकेर राउत सोमवार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।  

शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन्। राउत भारत भ्रमणका लागि शनिबार जानुभएकाे हाे।

युवराज सफलमाथि बानेश्वरमा कुटपिट

काठमाडौं – अधिवक्ता युवराज सफलमाथि काठमाडौंको नयाँ बानेश्वरमा कुटपिट भएको छ ।

सोम शर्मा र विप्लव खड्का लगायतको समूहले सफलमाथि कुटपिट गरेको हो ।

स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी खड्का लगायतको समूहले नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई जिस्काएका थिए । उनीहरूले जिस्काएपछि सफल जंगिएका थिए ।

आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको बताइएको छ । अहिले खड्का लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय रवि लामिछानेविरुद्ध सर्वोच्च मुद्दा हालेका सफल सामाजिक सञ्जालमा निकै भाइरल बनेका छन् ।

सरकारले निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउनु पर्छः उपसभामुख राना

काठमाडौं- प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै महिलाहरुलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नु भएको छ।

शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताउनु भएको हो।

त्यस अवसरमा उहाँले महिला सांसदहरुका लागि सङ्घीय संसद भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागिपर्ने समेत बताउनुभयो। उपसभामुख रानाले सबै विद्यालयहरुमा पनि सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।

उहाँले महिलाहरुलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गर्नुभयो । आजको युगमा आएर पनि नेपालमा महिला हिंसाको घटना नघटेकाले त्यसको विरुद्ध महिलाहरुले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाई थियो।

‘‘यो राष्ट्रिय प्रोग्राम नै हुनु प¥यो कि महिला दिदीबहिनीहरुलाई, छोरीहरुलाई सुरक्षित राख्नु पर्छ भन्ने प्रोग्राम हाम्रो नेशनल प्लानिङ भित्र, बजेट भित्र यो आउनु प¥यो । बजेट भित्र आएर हरेक स्कुलमा स्यानिटरी प्याड, जसले इन्भारोमेन्टलाई असर गर्दैन । त्यस्तो प्याडहरुको व्यवस्था गर्नु प¥यो । र, हामीले यो संसद भवनमा पनि त्यहाँ सेनिटरी प्याडहरु राखिएको छैन । सूरुवात माथि नै छैन भने तलसम्म पुग्छ भन्ने हुँदैहुँदैन ।,’’ उपसभामुख रानाले भन्नुभयो, ‘‘म यसमा के भन्न चाहन्छु भने हाम्रा माननीयज्यहरुलाई पनि, महिला माननीयज्यूहरुलाई सेनेटरी प्याडको लागि जोडदार ढङ्गले कुरा गर्ने र यसलाई राष्ट्रिय योजना भित्र राखेर हरेक ठाउँमा यो सेनिटरी प्याडको व्यवस्था गर्नु पर्छ भनेर म भन्दा सिनियर सम्मानितज्यहरुसँग त्यो कुरा गर्ने भनाई राख्न चाहन्छु । यहाँ एक्सपोज नेपालले धेरै कुराहरु गर्नु भएको छ । घरेलु हिंसादेखि लिएर बलात्कारहरुको विषयमा पनि मुद्दा उठाइरहनु भएको रहेछ । यसका लागि म यस संस्थालाई धन्यवाद दिन चाहन्छु । र, अव महिलाहरुले चुप लागेर बस्ने बेला छैन।’’

उपसभामुख रानाले महिलाहरुको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै एक्सपोज नेपालको प्रशंसा पनि गर्नु भयो ।

बेंग्लोर उडेको निगमको जहाज चरासँग ठोक्किएको आशंका

काठमाडौँ – काठमाडौंबाट बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्किएको छ ।

४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको हो । धावनमार्गमा चरा नभेटिएको र  अहिले प्राविधिकहरुले उक्त जहाजको परीक्षण गरिरहेका  त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयाे ।

ढोल र घण्टीहरु अराजकताको संकेत हुन् : झलनाथ खनाल

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै घण्टी अराजकताको संकेत भएको बताउनुभएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान् ती सबै अराजकताका संकेतहरु भएको बताउनुभयो । नेता खनालले  गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरुको समीक्षा गर्ने बेला आएको बताउँदै उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ। यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ। कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्। यो प्रकारको एउटा अवस्था आउँछ। ढोल र घण्टीहरु भनेका अराजकताका संकेतहरु हुन्।’

नेता खनालले आन्दोलनमा ठूलो भूमिका खेलको पार्टीहरुले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएकोदाबी गर्नुभयो  ।  

हामीले चेकलिष्ट अनुसार काम गर्छौँ, चेकलिष्टको एक नम्बरमा ‘भ्रष्टाचार अन्त्य’ लेखेका छौँ : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा जनताको आवश्यकताको कारण जन्मिएको पार्टी भएको दाबी गरेका छन् ।

आज रास्वपाको ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा पार्टीले के कामलाई कति प्राथमिकताका साथ अगाडि बढाउने विषयमा ‘चेकलिष्ट’ नै तयार पारेको उनले बताए । हामीले तयार पारेको ‘चेकलिष्ट’ को पहिलो नम्बरमा नै भ्रष्टाचार अन्त्य भनेर लेखिएको लामिछानेको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पहिला के गर्ने र पछि के गर्ने भन्ने कुराको चेकलिष्ट राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ र त्यो चेकलिष्टको बुँदा नम्बर १ मा भ्रष्ट्राचार अन्त्य भनेर लेखेका छौँ । हामीले चेकलिष्ट अनुसार काम गर्छौँ । तपाईँले दिनु भएको चेकलिष्ट समाजले दिएको चेकलिष्ट, हाम्रो मूल काम भ्रष्टाचारको जरो उखाल्नु नै हो । हामी हाम्रो चेकलिष्टमा भएका सबै काम गर्छौँ । तर जत्ति भोक लागे पनि थाल खान सकिन्न खाने भनेको गाँस नै र हाम्रो पहिलो गाँस भ्रष्टाचारको अन्त्य हो।’

उनले अर्को प्रशंग जोड्दै भने, शरणार्थी प्रकरणमा मुछिएकाहरू जरा नभई हाँगा मात्रै हुन् । ‘अहिले शरणार्थी प्रकरणमा मुछिएका मानिसहरू देखेर तपाईँहरूलाई ओहो कत्रा कत्रा मान्छे समातिए भन्ने तपाईँहरूलाई लागेको होला तर म भन्छु अहिले जो देखिएका , ठुला भनिएका नेताहरू जो समातिए ती भ्रष्टाचारका जरा होइनन् हाँगा मात्र हुन् । अहिले जरा सम्म पुग्न सकेको अवस्था छैन । त्यसैले जरा सम्म पुगोस् भनेर रास्वपाले आवाज उठाउन थालिस्यो । उनले भने ।’

‘हाम्रो ठमेल, सफा ठमेल’ अभियान

काठमाडौँ – ‘हाम्रो ठमेल सफा ठमेल’ नाराका साथ राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सरसफाइ अभियान सुरु गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन सरसफाइ अभियान थालिएको हो । परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, पर्यटक प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले आज ठमेलमा सरसफाइ गरेका परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिनुभयो । 

 “सफा र पर्यटकमैत्री ठमेल बनाउने अभियान निरन्तर रुपमा अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो ।

परिषद्का उपाध्यक्ष सहदेव धमलाले व्यवसायी र घरधनीबाट सुरु भएको ठमेल सरसफाइ अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो । ठमेललाई सफा र सुन्दर बनाउन सबैको सक्रियता आवश्यक भएको उहाँको भनाइ छ । अभियान निरन्तर अघि बढ्ने उपाध्यक्ष धमलाको भनाइ छ ।  

खडेरी र फौजी किरोको प्रकोपले मकै बालीमा क्षति

गलेश्वर – समयमा नै पानी नपर्दा ढिलो गरी मकै रोपेका म्याग्दीका किसान मकै उम्रेदेखि नै फौजी किरोको प्रकोप देखिएपछि उत्पादन घट्ने चिन्तामा छन् ।

विगतका वर्षको तुलनामा यसवर्ष म्याग्दीमा मकैको उत्पादन घट्ने चिन्ताले किसान निराश बनेका हुन् । जिल्लाको पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी तटीय क्षेत्रका किसानले लगाएको मकै बालीमा रोग तथा फौजी किरोको प्रकोप देखिनुका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोटसमेत फस्टाउन नपाएका बाबियाचौरका किसान मणिलाल कँडेलले बताउनुभयो ।

जिल्लाको लेकदेखि बेँसीसम्मका अधिकांश खेतीयोग्य जमिनमा मकैको खेती हुन्छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार जिल्लाको ११ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३७ हजार आठ सय १७ टन मकै उत्पादन हुन्छ । यहाँबाट करिब २५ टन मकैको बीउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लालगायत ठाउँ जाने गर्छ ।

 “म्याग्दी मकै खेतीमा आत्मनिर्भर छ, तर यस वर्ष भने समयमै वर्षा नहुँदा र रोग किरोको प्रकोप देखिएको हुँदा विगतको जस्तो उत्पादन हुँदैन कि भन्ने आशङ्का छ”, कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो  । उहाँले खानाबाहेक बीउ मकै उत्पादन गरी बाहिर जिल्ला पठाइने गरेको जानकारी दिनुभयो ।

 जिल्लामा मकै खेती कूल ६० प्रतिशत खेतीयोग्य भू–भागमा गरिएको कृषि ज्ञान केन्द्रको एक तथ्याङ्कले देखाएको छ । म्याग्दीको खेतीयोग्य भू–भागमा मकै खेतीप्रति हेक्टरमा तीन हजार दुई सय ८० किलोका दरले उत्पादन हुने गर्दछ ।

जिल्लाको एक हजार ६ सय मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना–१, ३, देउती, शीतला र उपल्लो क्षेत्रमा अरुण–१, २, हिलपुल सेतो र स्थानीय जातका मकै खेती गरिन्छ । पोसिलो मकै रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार, बाबियाचौर क्षेत्रमा बढी खेती गरिन्छ । 

त्यसैगरी, उत्पादन राम्रो भए पनि राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र रामपुरले ‘गरिबका लागि’ भनी सिफारिस गरेको पोसिलो–१ मकै कृषकले नरुचाएको कृषि प्राविधिकको भनाइ छ । जिल्लामा उत्पादन भएको कूल मकै खेतीको ३७ हजार आठ सय १७ मेट्रिकटनमध्ये २२ हजार सात सय ८४ मेट्रिकटन मकै प्रशोधित तथा खानका लागि योग्य मानिन्छ ।

कृषकहरूले समयमै मल र बीउ प्राप्त गर्न नसक्नु, समयमै वर्षा नहुनु तथा मकै हुर्कंदै जाँदा रोग किरोको प्रकोप देखिनुजस्ता कारणले यस वर्ष मकै उत्पादन घट्ने अनुमान कृषि प्राविधिकको छ । म्याग्दीमा मकै माघ–फागुनमा लगाई असारदेखि भदौसम्म थन्क्याउने गरिन्छ । हिउँदेबाली असोज र कात्तिकमा लगाइ फागुन र चैतमा थन्क्याउने गरिन्छ ।

प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्नुहुने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जानलाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँसँग भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसैगरी प्रधानमन्त्री दाहालले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ ।

वार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नुहुने छ । भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उहाँको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।

प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नाका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी भई भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नुहुनेछ । उहाँले जेठ २० गते काठमाडौँ फर्कनुअघि मध्यप्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका रुपमा दाहालको यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

नेपालगञ्जका अस्पतालमा रगतको अभाव

नेपालगञ्ज – बिरामीको चाप बढेसँगै नेपालगञ्जका अस्पतालमा रगतको अभाव भएको छ । नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक अनपेक्षित रुपमा रगत आवश्यकता पर्न थालेपछि अस्पतालमा रगतको अभाव भएको हो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले नेपालगञ्जमा पछिल्लो समयमा रगतको अभाव भएको बताउनुभयो । “पछिल्लो समयमा नेपालगञ्जका अस्पतालमा बिरामीको चाप बढेको देखिन्छ, जसले गर्दा अस्पतालका बिरामीलाई दैनिक रुपमा चाहिने रगत उपलब्ध गराउन हामीलाई निकै कठिनाइ भइरहेको छ ।”

रेग्मीले भन्नुभयो, “केन्द्रमा रतगको मात्रा अभाव हुन नदिनलाई सामाजिक सङ्घसंस्था वा सङ्गठनले गर्ने रक्तदान कार्यक्रमको भर पर्नु परेको छ ।” नेपालगञ्जमा अचेल रक्तदानसम्बन्धी कार्यक्रम कम मात्रामा हुने गरेकाले पनि रगत अभाव हुन थालेको क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रेग्मीको भनाइ छ । 

रक्तसञ्चार केन्द्रमा रगत अभाव हुन नदिन र रगत आवश्यक भएका बिरामीलाई उपलब्ध गराएर जीवनदान गर्न उहाँले सामाजिक सङ्घसंस्था वा सङ्गठनलाई रक्तदान कार्यक्रम गर्न आग्रहसमेत गर्नुभयो । 
 

राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने

जानकी – मानव अधिकार उल्लङ्घनका घटना तथा मानव अधिकारका पक्षमा राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिकोत्सवका अवसरमा मानव अधिकार आयोग नेपालगञ्जले आज यहाँ आयोजना गरेको कार्यक्रममा नागरिकले आफ्नो अधिकारको प्रत्याभूति गर्न नपाइरहेको अवस्थामा आयोगले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा प्रमुख अथिति उच्च अदालत तुल्सीपुरका न्यायाधीश भानुभक्त शर्मा न्यौपानेले मानव अधिकार संरक्षण र संवर्द्धनमा जनतालाई अझै पनि सचेत र सजग गराउन आवश्यक रहेको बताउनुभयो । “मानव अधिकार उल्लङ्घनका घटना के हुन् र कस्ता हुन्छन् भन्ने विषयमा जनता अझै पनि अन्योलमा छन् । यसले गर्दा घटना घट्ने सम्भावना हुने हुँदा यस विषयमा जनतालाई सचेत गराउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

न्यायाधीश शर्माले मावन अधिकारका घटना आयोगमा जति दर्ता हुनुपर्ने हो त्यति दर्ता हुन नसकेको उल्लेख गर्दै घटना दर्ता प्रक्रियामा पनि गम्भीर हुन आयोगलाई सुझाव दिनुभयो । उहाँले समग्रमा मानव अधिकारको संरक्षणमा आयोगको भूमिका महत्वपूर्ण भएकाले पारदर्शी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकार उल्लघङ्नको कानुन नहुँदा पनि उच्च र सर्वोच्च अदालतले यस क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै न्यायाधीश शर्माले अहिले समयसापेक्ष कानुन भएकाले नागरिकका पक्षमा गम्भीर भएर काम गर्न आयोगलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा आयोगका कार्यालय प्रमुख द्वारिका शर्मा अधिकारीले सकारात्मक कुरालाई आत्मसात् गर्दै आगामी दिनमा आफ्ना कमी कमजोरीलाई सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “विगतमा हामीबाट अन्जानमा भएका गल्तीहरुलाई समीक्षा गरेर आत्मसात् गर्दै ती गल्तीलाई कमजोरीका रुपमा स्वीकार गरेका छौँ”, उहाँले भन्नुभयो, “आगमी दिनमा तीनै कमजोरीलाई सुधार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

कार्यक्रमका सहभागीहरुले तीनै तहको सरकारले मानव अधिकारसम्बन्धी कार्यक्रमको आयोजना बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बाँकेका मावन अधिकारकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखलगायत विभिन्न सङ्घसंस्थामा आबद्ध अभियन्ताहरुको सहभागिता थियो ।

प्रेस युनियनको स्थापना दिवस मनाइँदै

काठमाडौँ – नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रमसहित ३२औँ स्थापना दिवस आज मनाइरहेको छ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था युनियनको स्थापना २०४८ सालमा भएको थियो ।

स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा ‘प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचार गोष्ठीको आयोजना गरिएको महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो ।

“स्थापना दिवसका अवसरमा ‘अस्पतालका बिरामीलाई फलफूल वितरण, प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचार गोष्ठी, रक्तदान तथा खेलकुद कार्यक्रम गरी मनाउने निर्णय गरेको छौँ”, महसचिव पौडेलले भन्नुभयो ।

युनियनले पत्रकारको ट्रेड युनियन अधिकार, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, पत्रकारको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा यादव

काठमाडौँ – सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाट जारी भएको संविधान लोकतन्त्रको मूलबाटो भएकाले दायाँबायाँ नसोची सजग भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।

उहाँले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त समावेशी संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल र जनता सजग रहेकाले गणतन्त्रमा आउनसक्ने जस्तोसुकै चुनौतीलाई सहजरुपमा पार लगाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रथम राष्ट्रपति डा यादवले भन्नुभयो, “हामीले अभ्यास गरिरहेको लोकतन्त्र सुन्दर र सही छ, अहिलेको संविधान लोकतन्त्रको मूल बाटो हो । हामी सबै लोकतन्त्रवादी यो मूलबाटोभन्दा बाहिर जान हुन्न । सजग भएर हिँड्नुपर्छ ।”

मुलुकमा १० वर्षे लामो सशस्त्र विद्रोह अन्त्य गर्न तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)बीच विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्तिसम्झौता भएको थियो । शान्ति सम्झौताअनुरुप संविधानसभाको निर्वाचन र तत्कालका लागि अन्तरिम संविधान जारी गर्दै द्वन्द्व व्यवस्थापन गर्न दुवै पक्ष सहमत भए ।

उक्त सहमतिअनुसार, विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो भने विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाह वंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गर्यो ।

राजतन्त्र अन्त्यको घोषणापछि भएको राष्ट्रपति निर्वाचनमा नेपालको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्याउनुभएका तराई–मधेसमा मध्यमवर्गीय परिवारमा जन्मनुभएका डा रामवरण यादव नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित हुनुभयो ।

उहाँले मुलुकको अभिभावक र नागरिक समाजको अगुवाको भूमिकामा रही संविधान र सङ्घीयता कार्यान्वयनलगायत देशमा भइरहेका घटना तथा परिघटनालाई नजिकबाट नियाल्दै आउनुभएको छ ।

मुुलुकका जल्दाबल्दा विषयवस्तु र घटनाक्रममा केन्द्रित रही गणतन्त्र दिवसका अवसरमा उहाँसँग राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाताद्वय नारायण न्यौपाने र भीष्मराज ओझाले लिएको अन्तरवार्ताको सम्पादित अंश :

-अहिले यहाँको दिनचर्या कसरी अघि बढिरहेको छ ?

उम्मेरका कारण हुने रोग र समस्याले चुनौती खडा गर्छ । राष्ट्रपतिको जिम्मेवारीबाट अलग भएको केही महिनामै बिरामी परे । त्यसको उपचार भयो । त्यो अहिले ठीक छ । दिनचर्याको रुटिन छ । तापनि पेटको रोग, मधुमेह, उच्च रक्तचाप छ । बिहान उठेर ५ बजेदेखि हिँड्छु, शारीरिक व्यायाम गर्छु । खाना खान्छु । औषधि खान्छु । समाजका विभिन्न क्षेत्रका मानिससँग भेटघाट हुन्छ । देशको समसामयिक विषयमा कुराकानी हुन्छ । समय पाएँ भने किताब पढ्छु । यसरी नै बितिरहेको छ, जीवन ।

-मुुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश भएपछि डेढ दशकको अवधिमा भएको अभ्यासलाई कसरी हेर्नुभएको छ ?

जनताका हकअधिकारको लडाईंको इतिहास लामो छ । विसं २००७, २०४६ र ०६२/६३ को परिवर्तनपछि र लामो सङ्क्रमणपछि संविधानसभाबाट संविधान बनाएर अहिले अघि बढिरहेका छाैँ, यो सुखद पक्ष हो । सकारात्मक पक्ष भनेको सङ्घ, प्रदेश र स्थानीय तहको दुई पटक चुनाव भए । नियम, कानुनअनुसार शक्तिको बाँडफाँट क्रमशः संस्थागत भइरहेको छ । संविधानको मर्म र भावनाअनुसार स्थानीय तहलगायत तीन तहमै समानुपातिक र समावेशी सिद्धान्तअनुरुप प्रतिनिधित्व भएको छ । देशमा हिमाल, पहाड र तराई भएजस्तो धर्म, जातजाति र समुदायको विविधता छ, लोकतन्त्रमा सबैलाई समेटेर जाने सकारात्मक पक्ष हो । तथापी केही कुरा व्यवस्थित भएको छैन, आर्थिक अनुशासन कायम हुन सकेको छैन ।

जनतालाई लोकतन्त्रमा खेल्न दिनुपर्छ, अहिले हामीले बनाएको संविधान लोकतन्त्रको मूल बाटो हो । जनताको आर्शिवादले राजनीतिक दलले बुद्धि पुर्याए एउटा संविधान बनाए यो सुखद पक्ष हो । अहिलेको अभ्यासमा सबैखाले शक्तिले आत्मसात गरिसकेको छ । जनता शिक्षित भइसकेका छन्, सजग छन् । संसद्बाट कानुन तथा केन्द्रीय सरकारले स्थानीय तहमा कर्मचारी दिनुपर्छ ।

मुख्य राजनीतिक दलले संविधान पूर्ण लागू गर्ने विषयमा विशेष ध्यान पुर्याउनुपर्छ । चुनावमा विकृति छ धेरै खर्च भइरहेको छ । अभ्यास गर्दै देखिएका कमीकमजोरलाई सच्याउँदै अघि जानुपर्छ । कुनै पनि संविधानको सफलता कार्यान्वयन गर्ने व्यक्तिमा भरपर्छ । नेपालको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, समावेशी र समानुपातिक भएकाले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी राजनीतिक दलको हो भने त्यसको अभ्यासबारे नागरिक समाजले खबरदारी गर्नुपर्छ ।

-गणतन्त्रलाई थप सुदृढ तुल्याउन समाजका क–कसको थप मुख्य भूमिका आवश्यक पर्छ ?

संसदीय प्रणालीमा कार्यपालिका, न्यायपालिका र विधायिका शक्ति पृथकीकरणका आधारमा हुन्छ । सरकार कानुन विधि प्रक्रियाअनुरुप काम गर्दै संसद्प्रति उत्तरदायी हुनुपर्छ । बेलायतमा हेर्नुभयो भने जति समस्या पर्छ त्यो सबै संसद्ले हल गर्छ । नेपालमा पार्लियामेन्टलाई जहिले पनि अवरोध गर्ने प्रयास गरिन्छ । संसदीय प्रणालीमा जनता सार्वभौम हुन्छन् । जनप्रतिनिधिले नै मुलुकको समस्या समाधान गर्नुपर्छ भन्ने मान्यता हो । सरकार जहिले पनि संसद्प्रति उत्तरदायी हुनुपर्छ । अहिले नयाँ संसद् छ, पहिलेभन्दा भाइब्रेन्ट छलफल भइरहेको छ । त्यहाँको छलफल र बहसले जनता शिक्षित हुन्छन्, सुधारको ठाउँ पनि रहन्छ । छलफल र बादविवादले नै विषयवस्तुलाई निष्कर्षमा पुर्याउँछ । साथै अदालतलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न दिनुपर्छ । तीनवटै निकायको आ–आफ्नो कार्यक्षेत्र र परिधि छ । सबैले सीमाभित्र बसेर कार्यजिम्मेवारी पूरा गर्नुपर्छ । राज्यलाई क्षमता बाहन व्यक्ति छनोट गरिनुपर्नेमा भागबण्डमा छान्ने प्रवृत्ति विकृति हो । यस्ता गतिविधि संसदीय व्यवस्थामा जनताको दबाबले सुधार हुँदै जान्छ ।

-मुलुकमा गणतन्त्र स्थापना अघि र पछिको समयलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

गणतन्त्र स्थापनापछि समाजका विभिन्न जातजाति समुदाय र क्षेत्रबाट हुने प्रतिनिधित्वमा तुलनात्मक सुधार भएको छ । सङ्घीयतालाई खर्चिलो भयोभन्दा पनि व्यवस्थित र राम्रो बनाएर लैजानुपर्छ भन्ने जिम्मेवारी सरकार र राजनीतिक दलको छ । चुनाव खर्चिलो छ, यसले योगदान पुर्याएका असल मान्छे आउन सकेका छैनन् । त्यस्ता विकृति हटाउनुपर्छ । अहिले अर्थतन्त्र कमजोर छ, देश सुन्दर भए पनि हामीले कृषिलाई प्राथमिकता, पर्यटन र औद्योगिक क्षेत्रको विकास र विस्तार गर्न सकेनौँ । अर्थतन्त्र रेमिटेन्सबाट मात्र धान्ने अवस्था हुनु भनेको कहीँ गल्ती भएको छ भन्ने हो । यस्ता विषयमा समाजका विभिन्न क्षेत्रका विज्ञसँग बहस गरी समाधानका उपाय खोज्नुपर्छ । देशको एकता र अखण्डतालाई कायम गर्दै छिमेकीसँगको सम्बन्धलाई विस्तार गर्नुपर्छ ।

-गणतन्त्र स्थापनापछि सामान्य जनताका सेवासुविधा र हकअधिकारको पाटोलाई कसरी नियाल्नुभएको छ ?

गणतन्त्र स्थापना र नेपालको संविधान जारीपछिलगत्तै मुलुकमा विभिन्न चुनौती आइपरे । यसबीचमा कोभिड महामारी, महाभूकम्पजस्ता विपत्ति झेल्नुप¥यो । अन्तर्राष्ट्रियरुपमा पनि देशदेशबीच लडाईं, महँगी भइरहेको छ । त्यसले संसारमै गरिबी बढेको छ । यस्तो अवस्थामा सामान्य जीवनयापनमा कठिनाइ छ । तथापी, सडक, प्रविधि, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारका क्षेत्रमा ठूलो परिवर्तन भएको छ । लोकतान्त्रिक व्यवस्थामा जनताको बोल्न पाउने अधिकार हो । अहिले पनि दलीत र पछि परेको वर्ग समुदायलाई सबै क्षेत्रमा समेट्न नसके पनि सबैका आवाज सम्बोधान गर्न कानुन भने निर्माण भएका छन् । तीन तहको सरकारको मुख्य जिम्मेवारी भनेको जनताका समस्या र मागलाई सम्बोधन गर्नु नै हो । आशा गरेअनुरुप नभए पनि केही काम अघि बढेको छ । लोकतान्त्रिक प्रणाली र पद्धतिमा विस्तारै परिणाम प्राप्त हुन्छ ।

-मुलुकको जिम्मेवार पदमा रहेका व्यक्ति नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका र उनीहरुको अनुसन्धान जारी भइरहेकै बेला मुलुकको पश्चिमी क्षेत्रमा अभिनन्दन कार्यक्रम भएको घटनालाई कसरी हेर्नुहुन्छ ?

देशका कानुन निर्माण र लागू गर्ने ठाउँमा बस्नेबाटै विकृति देखियो, यसले मुलुकका अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बिग्रियो । गलत मान्छेका कारण राज्य पद्धतिमा यस्ता घटना कहिलेकाहीँ हुन्छन् । त्यसलाई विधानअनुसार कारबाही गरिनुपर्छ । जनप्रतिनिधिले इमान्दारपूर्वक काम गरे÷नगरेको जनताले खबरदारी गरिरहेको हुन्छ, यही हो नै लोकतन्त्र हो । देशभर र काठमाडाैँका सडक विरोध अनि मिडियामा हेर्नुस् त त्यसबारे कति लेखिएको छ । त्यस्ता घटना भएपछि जो कोही भए पनि अनुसन्धान गर्न बाधा पुर्याउन हुन्न । बाधा पुर्याउन खोजियो भने जनताले गर्ने खबरदारीले त्यसमा दबाब पर्छ, छिटो अनि शतप्रतिशत कारबाहीमा परुन् भन्ने जनताको चाहना हुन्छ तर ९० प्रतिशत भयो भने पनि हामीले त्यसलाई सकारात्मकरुपमा लिनुपर्छ । बाँकीको त त्यसै सातो गइहाल्छ नि । विस्तारै नतिजा हासिल हुने लोकतन्त्रको पद्दती नै हो ।

अब रह्यो अभिनन्दनको कुरा संसारमा परम्परावादी शक्ति अहिले पनि छन् । उदाहरणका लागि जर्मनीमा हिटलरका कार्यकर्ता अझै पनि सलमलाएकै देखिन्छ । अमेरिकामै पनि लोकतन्त्रको ठूलो इतिहास अर्थात् भाइब्रेन्ट डेमोक्रेसी छ, तर पनि कहिलेकाहीँ कस्ताकस्ता मान्छे चुनिन्छन् देखिरहेकै छौँ । कुनै मुलुकमा कहिले धार्मिक कुरा उठाएर त्यस्ता शक्तिले जनतालाई दिग्भ्रमित तुल्याउन खोज्छन् । यस्ता कुरा आए, भए भनेर आत्तिन हुन्न घरबराउनु हुन्न । हतियार उठाएर देशै विभाजन गर्छु भन्ने शक्तिसमेत लोकतन्त्रको अभ्यासमा आइसकेको अवस्थामा केही कतै पुराना अतिवादी शक्तिलाई धेरै महत्व दिएर चर्चामा ल्याउनुको कुनै औचित्य छैन । जनता धेरै शिक्षित भइसकेका छन् । लोकतान्त्रिक प्रणालीमा राजनीतिक दलले इमान्दारीकासाथ काम गर्नुपर्छ । अरु विषयमा धेरै चिन्ता लिनुपर्दैन ।

-पछिल्ला समय सङ्घीयता अर्थात् प्रदेशसँग जोडेर अलि खर्चिलो भयो, मुलुकले धान्न सक्दैन कि भन्ने पाटोबाट प्रश्न उठाइएको छ, यसलाई यहाँले कसरी र्हेनुभएको छ ?

हाम्रो विविधतालाई समेटेर एकता कायम गर्न सङ्घीयता ल्याइएको हो । अभ्यास गरेको भर्खर आठ वर्ष भएकाले सङ्घीयताबारे अहिले नै सफल असफल भनेर मूल्याङ्कन गर्ने बेला भएको छैन । सफलतातर्फ लैजान नै हामी सबैको प्रयास हुनुपर्छ । तीन तहका लागि चाहिने आवश्यक कानुन निर्माण गर्नुपर्यो । समाञ्जस्यता हुनुपर्यो । विकृतिलाई कम तुल्याउँदै गइयो भने खर्चिलो भए पनि जनताको हितमा रहेकाले उनीहरुले ग्रहण गरेकै छन् । हिमाल, पहाड, तराई र दूरदराजमा जहाँ गए पनि जनताले सङ्घीयताको अभ्यासलाई कही कतै प्रश्न उठाएको देखिन्न । कार्यान्वयन गर्न संविधानअनुरुप के–कस्ता कानुन बनाउनपर्ने हो, त्यसतर्फ बढी ध्यान दिनुपर्छ ।

-गणतन्त्र, लोकतन्त्र र सङ्घीयताको अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा भइरहेको अभ्यासलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

संसारका हरेक विषयमा सकारात्मक र नकारात्मक पाटो दुबै हुन्छ । २१औँ शताब्दीमा संसारका घटना र परिघटनाको अनुभव लिएर हामी अघि बढिरहेका छौँ । यो व्यवस्थाको विकल्प छैन । लोकतन्त्रपछि कुन शासन पद्धति ल्याउने त ! विगतका आन्दोलन सफल भएर नै लोकतन्त्र र गणतन्त्र ल्याएका छाैँ । संसारका सभ्य समाज र देशले अवलम्बन गरेको लोकतान्त्रिक प्रणालीमा हामी छौँ । लोकतन्त्रको विकल्प भनेको सुधारसहितको लोकतन्त्र मात्रै हो । अझै समावेशी भने गर्न सकिन्छ । हामीले ल्याएको लोकतान्त्रिक गणतन्त्रसहितको संसदीय व्यवस्था हो, यो समावेशी र समानुपातिक छ, यसमा सबै धर्म, समुदाय र वर्ग समेटिको छ । यो ठूलो कुरा हो, यो उन्नत पनि छ । मुलुक चलाउने मुख्य जिम्मेवारीमा रहने कार्यकारी प्रमुख प्रधानमन्त्रीले यो व्यवस्थालाई बलियो तुल्याउने र अभ्यासमा लैजान अत्यन्त जरुरी छ, त्यो प्रभावकारी भइरहेको महसुस भएन । सरकारको नेतृत्वले इमान्दारीपूर्वक सही व्यक्तिको छनोट गर्नुको सट्टा शिक्षा, स्वास्थ्य, प्रशासनमा राम्रोभन्दा आफ्नो मान्छे छान्ने प्रवृत्ति छ, त्यस्तो विकृतिलाई हटाउनुपर्छ ।

-यो राजनीतिक प्रणालीलाई स्थापित गर्ने तथा लोकतन्त्रलाई सुदृढ तुल्याउने सन्दर्भमा राष्ट्रपतिको भूमिका कस्तो रहन्छ ?

संविधानको रक्षक, पालक, एकताको प्रतिक र देशको अभिभावककारुपमा राष्ट्रपतिलाई लिइएको छ । राष्ट्रपतिको जिम्मेवारी यसअघि दुई जनालाई सम्हाल्ने अवसर प्राप्त भयो । सङ्क्रमणकाल रहेकाले संविधानको परिधिभित्र रही मैले आफ्नो क्षमताअनुसार काम गरे । तत्कालीन अवस्थामा रहेको शान्ति प्रक्रिया र सङ्क्रमणकालको अवस्थामा लोकतन्त्रलाई जोगाउन भूमिका निर्वाह गरे भन्ने लाग्छ । त्यसपछि राजनीति दलले एउटा साझा प्रधानमन्त्री दिन नसक्ने अनि अदालतले संविधानसभाको समयसीमा तोक्ने जस्ता काम भए । दलले पनि संविधान बनाएर दिन नसक्ने अवस्था भयो । राजनीतिक दलको त्यो कमजोरी राष्ट्रपति संस्थामा ठोकियो । त्यसपछि प्रधानन्यायाधीशलाई चुनाव गराउने जिम्मेवारी दिनुपर्यो । साधन नराम्रो भए पनि साध्य अर्थात् गन्तव्य ठीक हुन्छ भनी जोखिम लिएर अप्ठ्यारो परिस्थितिमा प्रधानन्यायाधीशलाई जिम्मेवारी दिएर चुनाव गराइयो । जनसहभागिता राम्रो रह्यो । त्यसपछि सबै शक्ति एकै ठाँउमा उभिएर संविधान जारी गर्ने वातावरण बन्यो, के त्यो सुखद पक्ष होइन र ! अर्काे राष्ट्रपतिको समयसम्म आइपुग्दा समय बेग्लै र जनता धेरै शिक्षित र जानकार भइरहेको अवस्था रह्यो । अहिले रामचन्द्रजी भर्खर राष्ट्रपति हुनुभएको छ, उहाँको लामो राजनीतिक सङ्घर्षको इतिहास छ, सविधानको रक्षाका लागि चनाखो भएर बस्नुपर्छ, त्यो सजगता गर्नुहुने विश्वास छ ।

-पूर्व राष्ट्रपति मुलुकको प्रतिष्ठित चिकित्सक भएकाले सरकारी अस्पतालमा गएर स्वास्थ्यको पाटोबाट जनतालाई सेवा गर्नु उपयुक्त हुन्छ कि भन्ने जनताको सुझाव छ, यसमा यहाँको दृष्टिकोण के छ ?

मप्रतिको सुझाव, जनताको सही चाहना हो । वास्तविकरुपमा भन्नुपर्दा राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि बिरामी परेँ । शल्यक्रिया गर्न पर्यो, लामो नियमित उपचारमा रहनु पर्यो । केही वर्ष त्यसैमा बित्यो । अहिले पेटको रोग छ, समयमा खाने, सुत्ने, ढाड र गोडाको व्यायाम गर्नेजस्ता नियमित गर्नुपर्छ । शरीरले काम गर्न दिइरहेको छैन, इच्छा भएर पनि यो अवस्थामा मैले बिरामीलाई न्याय गर्न सक्दिन । बिरामीप्रति न्याय गर्न सकिने भने त्यो देखावटी मात्र हुन्छ । स्वास्थ्य ठीक रहेका बेला १२ घन्टासम्म नियमित काम गरेको कुरा जो कोही जनकपुरवासीलाई सोधे हुन्छ । जनताको चाहनालाई सम्मान गर्छु ।

-गणतन्त्र दिवसका अवसरमा नेपाली जनतालाई यहाँको केही सुझाव वा सन्देश छ ?

हामी जुन लोकतन्त्रमा छौँ, त्यसमा मिडिया भाइब्रेन्ट छ, जनता सचेत छन्, कहाँ अनियमिता र गलत छ भन्नेमा पनि सामान्य जनता भइरहेको अभ्यासलाई राम्रोसँग बुझिरहेका छन् । लोकतन्त्रलाई सुदृढ तुल्याउन जनता सजग भइरहनुपर्छ । समावेशी सिद्धान्तलाई आत्मसात गरेपछि महिला, दलित, मधेसी, आदिवासी जनजातिलगायत विभिन्न समुदायका हजारौँहजार व्यक्ति स्थानीय तहमा निर्वाचित भएको अवस्था छ । सबैलाई लिएर हिँड्ने लोकतन्त्रको जहाज अलिअली ढलमल गरे पनि सहीरुपमा समयमै सुरक्षित साथ गन्तव्यमा पुग्नेछ । अहिले जनता सजग छन् जस्तोसुकै चुनौतीलाई पनि पार गर्छन् । हामीले अभ्यास गरिरहेको लोकतन्त्र सुन्दर र सही छ, संविधान लोकतन्त्रको मूल बाटो हो । यो मूलबाटोभन्दा बाहिर जान हुन्न । सजग भएर हिँड्नुपर्छ ।

तीन दलका शीर्ष नेताहरूको बैठक : जलहरीबारे सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति

काठमाडौँ – तीन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । 

पशुपतिनाथको जलहरीका विषयमा संसद्मा उठेको विवादपछि अवरुद्ध संसद् खुलाउन बसेको बैठकले सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने  समझदारी गरेको छ । 

यो सहमतिसँगै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिन सम्बोधन गर्ने सहमति शीर्ष नेताहरुबीच भएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पार्नुभएको  एमालेका सचेतक पदम गिरीले जानकारी दिनुभयो । 

बैठकमा आगामी दिनमा पनि यस्ता तथ्यहीन आरोपहरू संसद्मा नलगाउन प्रधानमन्त्रीले सांसदहरूलाई अनुरोध गर्ने सहमति भएको गिरीले बताउनुभयो ।

जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने

काठमाडौँ – प्रमुख तीन दलबीच पशुपतिमा राखिएको सुनको जलहरीका सम्बन्धमा सरकारका तर्फबाट सदनलाई प्रष्ट पार्ने सहमति भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज शीर्ष नेताबीच भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधनका क्रममा पशुपतिमा राखिएको सुनको जलहरीका विषयमा प्रष्ट पार्ने सहमति भएको हो ।

जलहरीका सम्बन्धमा संसद्मा प्रकट भएको अभिव्यक्तिलाई संसद्को ‘रेकर्ड’बाट हटाउने सहमति भएको बैठकपछि नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक गिरी सहभागी हुनुहुन्थ्यो ।

इजिप्सियनलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल र इजिप्टबीच द्विपक्षीय पर्यटन विकासका लागि आवश्यक सहयोग गर्न सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल र इजिप्टबीच पर्यटन क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दुवै देशका ट्राभल र टुर अपरेटरबीचको छलफल कार्यक्रममा उहाँले पर्यटन क्षेत्र मुलुकको विकासको प्राथमिकता प्राप्त क्षेत्र भएकाले विकास र विस्तारका लागि सरकार तयार रहेको उल्लेख गर्नुभयो ।

  इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपाल र इजिप्ट  सांस्कृतिक र प्राकृतिक वैभवले सुशोभित प्राचीन सभ्यतावाहक मुलुक भएका कारण दुई देशबीच पर्यटन क्षेत्रको साझेदारीका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।

उहाँले पर्यटन विकासका लागि निजी क्षेत्रको अहम् भूमिका रहने भएकाले दुवै देशका ट्राभल र टुर अपरेटरबीच निरन्तर संवाद तथा सहकार्यका लागि मञ्च उपलब्ध होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।

इजिप्ट पर्यटन प्राधिकरणका महाप्रबन्धक अहमद अलिले नेपाली ट्राभल एजेन्सीलाई जानकारीमूलक भ्रमण ९फ्याम ट्रिप० मा स्वागत गर्न प्राधिकरण इच्छुक रहेको उल्लेख गर्नुभयो । 

नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक सुनिल शर्मा र नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्टसका महासचिव कुमारमणि थपलियाले नेपालको पर्यटकीय सम्पदा र नेपाल–इजिप्ट पर्यटन सम्भावनाका बेग्लाबेग्लै प्रस्तुति गर्नुभयो । कार्यक्रममा नेपाल र इजिप्टका २० भन्दा बढी ट्राभल टुर कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।

यसअघि इजिप्टमा आयोजना भएका नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रममा इजिप्सियन नागरिकको उल्लेखनीय सहभागिता रहँदै आएको छ । केही समयअघि एक विश्वविद्यालयमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा नेपालको परम्परागत कला, संस्कृति तथा प्राकृतिक विविधताबारे जिज्ञासा राख्दै प्रदर्शनमा रहेका विभिन्न वस्तु अभिरुचिपूर्वक अवलोकन गरेका थिए । विशेष गरी खुकुरी र सिङ्गिङ बाउलप्रति धेरै इजिप्सियन युवा आकर्षित हुने गरेको पाइएको छ ।

खुकुरीको इतिहास एवं प्रयोगबारे जानकारी लिने एवं सिङ्गिङ बाउलको अवलोकन तथा प्रयोगात्मक अभ्यास गरी नेपालको आध्यात्मिक सम्पदासँग साक्षात्कार गर्न धेरै सहभागी इच्छुक रहने गरेको त्यहाँस्थित दूतावासले जनाएको छ । 

अबरुद्ध संसद खुलाउन प्रमुख तीन दलको बैठक सुरु

काठमाडौं – अबरुद्ध संसद सुचारु गर्ने बिषयमा प्रमुख तीन दल छलफलमा जुटेका छन् ।सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा जारी बैठकमा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शिर्ष नेतासहित प्रमुख सचेतकहरुको सहभागिता रहेको छ । 

नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले ओली सरकारमा पशुपतिनाथमा राखिएको सुनको जलहरीमा अनियमितता भएको र त्यसमा ओलीको संलग्नता रहेको भन्दै बिषय उठाए पछि एमालेले सो बिषयमा माफी माग्नु पर्ने तथा छानबिन गर्नुपर्ने माग अडान राखिरहेकाे छ ।

माओवादीले अनावश्यक आरोप लगाएको भन्दै एमालेले संसद अबरुद्ध गरे पछि हिजो २० मिनेटका लागि स्थगित भएको बैठक  पुनः सुचारु नै हुन नसके पछि आज ४ बजेका लागि बोलाईएको छ । जसकाकारण सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसुची भए पनि एमालेको अबरोधका कारण हिजो सम्भव हुन सकेको थिएन । आज अबरुद्ध संसद खुलाउनका लागि कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालसहित बैठक सुरु भएको हो ।  

जडियाले जाड खाएको तालमा पनि त्यस्तो कुराहरु बोलेर हिन्दैन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले, पशुपतिमा सुनको जलहरी चढाएको विषयमा आफूमाथि निराधार आरोप लगाइएको प्रष्टिकरण दिएका छन् ।

नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई दुई दिने अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रममा उनले आधारहिन, असत्य र जनतालाई भ्रमपार्ने आरोप आफूमाथि लगाइएको भन्दै प्रमाण पेश गर्न चुनौति दिए ।

आफूले जीवनभर भ्रष्टाचार विरुद्धको अभियान चलाउँदै आएको जिकिर गरेका उनले पार्टीमाथि यस्तो प्रकारको आरोप जडियाले जाड खाएको तालमा पनि बोल्न नसक्ने आरोप लगाइएको टिप्पणी गरे ।

उनले भने, ‘ आज संसद अवरुद्ध भईरहेको छ, अस्तिका दिन एक जना माओवादीले कोभिडको औषधीमा २ अर्ब खायो, पशुपतिमा सुनको जलहरी चढाउछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्याे भनेर बोल्यो आज त्यस विषयमा संसद अवरुद्ध छ, हुनै पर्छ । किनभने यस्तो बक्वास यो त एउटा जडियाले जाड खाएको तालमा पनि त्यस्तो कुराहरु बोलेर हिन्दैन् ।’

उनले सम्पूर्ण हिसाबले एमाले तर्फ चौतर्फि रुपमा घेराबन्दि भएको भन्दै भ्रष्टाचारको विरोधी, स्वच्छताको पक्षमा उभिएको एमालेलाई बदनाम गर्न खोजेकाे टिप्पणी गरेका छन् । ‘आधारहिन, असत्य र जनतालाई भ्रमपार्ने खालका कुराहरु पशुपतिमा सुन भनेर पित्तलको जलारी चढाएर भ्रष्टाचार गर्याे भन्ने यस्तो खालको कुरा संसद जस्तो गरिमामय स्थानमा त्यसको पुष्टि हुनुपर्यो । पुष्टि हुने सम्भावना नै छैन्, मैले जसले जिन्दगिभर भ्रष्टाचार विरुद्धको अभियान चलाउँदै आएको छु, यो त इमानका शत्रुहरुले गर्ने काम हो ।’

‘सुन हो कि पित्तल, आजै छानबिन समिति गठन गर्नुपर्छ’

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन्। 

शुक्रबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा उनले आजै छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन्। 

उनले भने, ‘त्यो सुन हो कि पित्तल हो भन्ने कुरा छुट्याउन सरकारले आजै छानबिन समिति गठन गर्नुपर्छ । र, सरकारले आजै जवाफ दिनुपर्छ। हाम्रो धारणा के हो भने समिति गठन हुनुपर्‍यो। यो विषयवस्तु टुंगिएको छैन, यो विषयवस्तु तब मात्र टुंगिन्छ वास्तवमा सुन हो कि पित्तल हो त्यो सरकारले जवाफ दिनुपर्छ । समिति गठन गरेर हुन्छ कि संवैधानिक आयोग गठन गरेर हुन्छ कि ? अख्तियारलाई सक्रिय गराएर हुन्छ कि ? धार्मिक आस्थामाथिको प्रहार पनि हो। सरकारले भोलि छानबिन गरौँला भनेर हामी मान्दैनौँ। प्रधानमन्त्रीले आज नै छानबिन गर्नुपर्छ।’

उनले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा संसदमा प्रश्न उठाएर धार्मिक आस्थामाथि प्रहार भएको प्रतिक्रिया दिनुभयाे। 

केपी ओलीले भने : जलहरीको विषयमा पुष्टि हुने कुनै आधार छैन, संसद चल्न दिँदैनौं

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले जिन्दगीभर भ्रष्टाचारविरोधी अभियान चलाउदै आएको बताउनु भयो ।

पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले सधै‌ भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउने खोजेको आरोप लगाउनु भयो।

उहाँले भन्नुभयो, ‘आज संसद अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्‍यो भनेर बोले । त्यसै विषयमा पुष्टि हुने कुनै आधार छैन । त्यसैले संसद अवरुद्ध हुनैपर्छ ।’

उपप्रमुख र उपाध्यक्षलाई वैकल्पिक जिम्मेवारीको पदका रूपमा हेरिन्छ: सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले स्थानीय तहका उपप्रमुख र उपाध्यक्षलाई कुनै पनि निर्णायक भूमिका नदिइएको बताउनुभएको छ। 

शुक्रबार नेकपा एमालेले केन्द्रीय कार्यालयमा आयोजना गरेको स्थानीय तहको जनप्रतिनिधिको अनुशिक्षण कार्यक्रममा बोल्दै उपप्रमुख डङ्गोलले आफूहरूलाई विकल्पको रूपमा मात्र हेरिएको गुनासो गर्नुभयो।

उपप्रमुख र उपाध्यक्षलाई धेरै काम दिएको भए पनि देखिने कामको भूमिका नदिइएको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘यो वैकल्पिक जिम्मेवारीको पद हो भनेर हेरिने गरेको हामीले पाएका छौँ।’

स्थानीय तहका उपप्रमुख र उपाध्यक्षको प्रमुख काम न्यायिक समितिको काम भएको उहाँले बताउनुभयो। सो काम अत्यन्त संवेदनशील काम भएकोले सानो कुरामा त्रुटि हुँदा पनि न्यायको सट्टा अन्याय हुने कुरामा सचेत हुनु पर्नेमा उहाँले जोड दिनुभयो। कानुनी र व्यावहारिक दुवै कुरालाई ख्यालमा राखेर न्यायिक समितिले काम गर्नुपर्ने उहाँले बताउनुभयो । 

अहिले पनि कतिपय स्थानीय तहमा कानुन पढेका कर्मचारी नै नभएकाले न्यायिक समितिलाई काम गर्न निक्कै समस्या भएको उहाँले बताउनुभयो। न्यायिक समितिलाई सहज रूपमा काम गर्ने वातावरण सिर्जना गर्न आवश्यक जनशक्ति व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। 

न्यायिक समितिले गरेको निर्णय कार्यान्वयन हुन नसक्नु अर्को प्रमुख चुनौती रहेको डङ्गोलले बताउनुभयो। त्यसैले निर्णय कार्यान्वयन गराउने कुरामा गम्भीर हुनु पर्ने उहाँले बताउनुभयो। 

बजेट तर्जुमा समितिको संयोजक उपप्रमुख र उपाध्यक्षलाई बनाइएको भए पनि संस्थागत प्रणाली नहुँदा बजेट उपप्रमुख वा उपाध्यक्षले होइन अरू कसैले बनाउने गरेको उहाँले बताउनुभयो । यसका लागि दक्ष कर्मचारी समेत नभएको उहाँले प्रष्ट पार्नुभयो । दक्ष कर्मचारी नहुँदा बजेट बनाउँदा जटिलता आउने र परम्परागत शैलीमा नै काम हुने उहाँले बताउनुभयो। 

उपप्रमुख र उपाध्यक्षको अर्को प्रमुख जिम्मेवारी अनुगमन भएको बताउँदै अधिकांश स्थानीय तहमा त्यसको स्पष्ट कानुन नै नभएको डङ्गोलले बताउनुभयो । प्राविधिक र उपप्रमुख भूमिका कति बेला हो भन्ने कुरा अस्पष्ट भएको उहाँको भनाइ छ। अनुगमनका लागि प्राविधिक व्यक्तिलाई प्रमुख जिम्मेवार बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो। 

डङ्गोलले मेयरले उपमेयर र उपमेयरको अस्तित्व स्विकार्नु आवश्यक रहेको उहाँले बताउनुभयो।

राष्ट्रपतिद्वारा रेशमको आम माफीसम्बन्धी प्रस्ताव फिर्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आम माफी सम्बन्धित प्रस्ताव फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार चौधरीको आम माफीसम्बन्धी  फाइल गृहमन्त्रालयमा फिर्ता गरेको  हो ।

राष्ट्रपतिको रामचन्द्र पौडेलको सचिवालयकाअनुसार कानुन नपुगेको भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो ।

रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरि कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको उनकाे सचिवालयले जनाएको छ ।

आजै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा बुझाएको निवेदनलाई राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ ।